Category: समाचार

  • छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल

    छठ बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल

    ११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ को स्थिर रह्यो ।

    विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत बढ्यो । बैंकिङ १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशत बढे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सल डेभलपमेन्ट बैंक छन् ।

    राधि विद्युतका् ९.६०, लुम्बिनी विकास बैंकको ९.३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१, फस्र्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशत मूल्य बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । युनिलिभरको ३.८८, बोटलर्स नेपाल बालाजुको ३.७७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

  • टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?

    टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?

    टोकियो, कात्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका छन् । उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले मलेसियाको २४ घण्टे भ्रमणको समापन गर्दै त्यहाँका अधिकारी र जनताप्रति धन्यवाद ज्ञापन गरे ।


    उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेखेका छन्, “अभिनव र जीवन्त देश मलेसिया छोड्दैछु । व्यापार र दुर्लभ पृथ्वी तत्वसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरियो, साथै थाइल्यान्ड र कम्बोडियाबिच ऐतिहासिक शान्ति सन्धि सम्पन्न भयो । युद्ध होइन, शान्ति । लाखौँको जीवन बच्यो, यो कार्य गर्न पाउनु मेरो लागि गर्वको विषय हो । अब, जापानतर्फ यात्रामा निस्किएँ ।”

    एसियाली राष्ट्रको सम्मेलन (आसियान शिखर सम्मेलन) का क्रममा राष्ट्रपति ट्रम्पले अक्टोबर २५ मा जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीसँग पहिलो पटक टेलिफोन वार्ता गर्नुभएको थियो । जापानी प्रधानमन्त्री कार्यालयका अनुसार करिब १० मिनेट लामो संवादमा दुवै नेताले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता र सहयोग विस्तारमा जोड दिएका थिए ।


    राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री ताकाइचीलाई ऐतिहासिक विजयका लागि बधाई दिँदै जापान–अमेरिका गठबन्धनलाई सुदृढ पार्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पुनः पुष्टि गरेका थिए । उनले भने, “जापान हाम्रो इन्डो–प्यासिफिक रणनीतिक भागीदारीको केन्द्रमा रहेको मित्रराष्ट्र हो ।” प्रतिक्रियामा प्रधानमन्त्री ताकाइचीले अमेरिकासँगको सम्बन्धलाई ‘इन्डो–प्यासिफिक क्षेत्रमा अपरिहार्य साझेदारी’ भनेर वर्णन गर्दै स्वतन्त्र र खुला इन्डो–प्यासिफिक (एफओआइपी) दृष्टिकोण साकार पार्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरिन् । साथै, उनले पश्चिम एसियाको शान्ति सन्धि सम्भव गराउन ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै अपहरण पीडितहरूको मुद्दामा अमेरिकी सहयोग निरन्तर रहोस् भन्ने आग्रह गरिन् ।


    दुवै नेताले आगामी भेटप्रति उत्साह प्रकट गरेका छन् । प्रधानमन्त्री ताकाइचीले ट्रम्पलाई जापानमा स्वागत गर्न आतुर रहेको बताए । राष्ट्रपति ट्रम्पले पनि उनीसँग प्रत्यक्ष भेटको प्रतीक्षा गरिरहेको जनाए । राष्ट्रपति ट्रम्पको हालको तीनदिने जापान भ्रमण लगभग छ वर्षपछि हुन लागेको पहिलो भ्रमण हो ।

    क्योदो न्युजका अनुसार यो भ्रमणले द्विपक्षीय सहयोग र दीर्घकालीन गठबन्धनलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ताकाइचीले यस महिनाको सुरुमा जापानको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रचेकी थिइन् । उनले अक्टोबर ४ मा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व जित्नुभयो र त्यसपछिको संसदीय मतदानमा ४६५ मध्ये २३७ मत प्राप्त गरी आधिकारिकरूपमा प्रधानमन्त्री निर्वाचित भएकी हुन् ।

    मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा जापानका सम्राट नारुहितोलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उनले यस अवसरलाई ‘जापान–अमेरिका गठबन्धनलाई अझ सुदृढ पार्ने ऐतिहासिक क्षण’ भनेर वर्णन गरेका छन् । रूढीवादी विचारधारा र दृढ सुरक्षा नीतिका लागि चिनिएकी प्रधानमन्त्री ताकाइचीलाई स्वर्गीय पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग तुलना गरिन्छ ।

    आबेले सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालका क्रममा उनीसँग घनिष्ठ सम्बन्ध कायम गरेका थिए । जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएका राष्ट्रपति ट्रम्पले अन्तिम पटक सन् २०१९ मा ओसाकामा आयोजित जी–२० शिखर सम्मेलनमा सहभागी हुन जापान भ्रमण गरेका थिए ।


    ताकाइची नेतृत्वको नयाँ प्रशासनसँग राष्ट्रपति ट्रम्पको यो प्रत्यक्ष सम्पर्कले जापान(अमेरिका सम्बन्धमा नयाँ उचाइ थप्ने र क्षेत्रीय स्थिरता तथा रणनीतिक साझेदारीलाई निरन्तर बलियो बनाउने सङ्केत गरेको छ । रासस-एएनआई

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

    ११ कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

    काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । यस वर्ष गुह्येश्वरी–गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ । नेपालको तराई भेगका सबैजसो तलाउ आकर्षक रुपमा सजाइएका थिए । जहाँ भक्तिपूर्व यो पर्व मनाउने गरिन्छ ।

  • आजबाट मौसम परिवर्तन, पदयात्रा नगर्न र बाली नकाट्न आह्वान

    आजबाट मौसम परिवर्तन, पदयात्रा नगर्न र बाली नकाट्न आह्वान

    ११ कात्तिक, काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।

    २०८२ कात्तिक ११ गते

    दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

    गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा–हिमपातको पनि सम्भावना रहेको छ ।

    राति : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

    गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

    गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षारहिमपातको पनि सम्भावना रहेको छ ।

    २०८२ कात्तिक १२ गते

    दिउँसो: कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    राति : देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    मौसमविदहरुका अनुसार विहीबारदेखि फेरि बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना छ । यसको प्रभाव नेपालको मध्य भागदेखि पूर्वी भागसम्म पर्ने पूर्वानुमान छ ।

  • “उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”

    “उद्योग व्यवसायमा आगजनी र लुटपाट गर्नेहरू विरूद्ध प्रहरीले जाहेरी लिन मानेन”

    १० कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा घुसपैठ भई उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड तथा आगजनी गर्नेलाई कारबाही अगाडि बढाउन माग गरेको छ । ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको भनी सदस्यहरूबाट गुनासो आइरहेको महासंघले जनाएको छ । यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साहित हुने उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

    महासंघले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पुर्‍याएको जनाएको छ । ‘घटनाका दोषीविरुद्धका जाहेरी दर्ता नलिने र कारबाहीमा उदासिनता देखिएको सदस्य व्यवसायीबाट जानकारी प्राप्त भइरहेकाले यस्तो अवस्था कायम रहे दण्डहिनता बढ्न गइ लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दिर्घकालीन असर पार्ने छ ।’

    यस्तै निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला, नगर, उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । यसबारे औपचारिक आग्रह गर्दैै महासंघले गृहमन्त्रालयमा पत्राचार समेत गरिसकेको छ । सबै तहमा सरकार र निजी क्षेत्रको समन्वय जरुरत रहने महासंघले जनाएको छ । मुख्यगरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले आग्रह गरेको छ ।

    आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समितिरफोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभइ स्थायित्व नहुने, स्थायित्व नभइ उद्यम व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य शर्त भएको बताए ।

    उनले दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्ने बताए । समाजमा थप अन्यौल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहिनताको अन्त्यका लागि दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।

    महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना सरकारको सक्रियता अपेक्षा गरिएको बताए । उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको बताए ।

    छलफलका क्रममा देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्वाध रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको थियो ।

    छलफलमा उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य सहित स्थायी समिति तथा समितिफोरमका सभापतिहरू सहभागी थिए ।

  • आन्दोलनको निसाना बनाइएको सर्वोच्चको डिजिटल सिस्टम पूर्ण रूपमा रिकभर

    आन्दोलनको निसाना बनाइएको सर्वोच्चको डिजिटल सिस्टम पूर्ण रूपमा रिकभर

    १० कात्तिक, काठमाडौं । भदौ २४ मा भएको जेन–जी प्रर्दशनका क्रममा भएको तोडफोड र आगजनीपछि क्षतिग्रस्त भएको सर्वोच्च अदालतसहित देशभरका अदालतको सर्भर पूर्ण रूपमा ‘रिकभर ’ भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार २४ भदौमा भएको आगजनीमा सर्वोच्च अदालत र हेटौंडामा रहेको डेटा सेन्टरमा आगलागी र तोडफोड भएको थियो । सर्वोच्च अदालतको मुख्य भवनको तेस्रो तलामा रहेको डेटा सेन्टरमा आगलागी हुँदा सम्पूर्ण सिस्टम जलेको थियो ।

    हेटौंडा उच्च अदालतमा आक्रमण हुँदा केही क्षति भएको थियो । सर्वोच्चमा सबै सिस्टम जलेकाले रिकभरीका लागि समय लागेको थियो । करिब डेढ महिनादेखि डिजिटल रिकभरीका लागि आईटी टोली खटिएको थियो । प्रवक्ता कोइरालाका अनुसार मंगलबारदेखि मुद्दाका सबै डिजिटल जानकारी दिन सक्ने अवस्थामा अदालत तयार भएको बताए ।

    यसअघि बन्दीप्रत्यक्षीकरण र केही निवेदन म्यानुअल रूपमा चलाउँदै आएको थियो । गत शुक्रबार अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ म्यानुअल रूपमा गरेको थियो । जेन–जी आन्दोलनका क्रममा ९ लाख ३३ हजार मिसिल जलेका थिए । त्यस्तै डिजिटल रूपमा रहेका फाइल पनि के हुने भन्ने अन्योल भएपछि सर्वोच्चले फुलकोर्ट बैठकबाटै निर्णय गरेर रिकभरी थालेको थियो । ‘अब सबै अदालतको डिजिटल सिस्टम रिकभरी भएको छ । डिजिटल इन्ट्री भएका सबै विवरणमा सुरक्षित पाइएको छ,’ उनले भने ‘डिजिटल इन्ट्री भएका विवरण अब पहुँचमा आएको छ ।’

  • मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु

    मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु

    १० कात्तिक, काठमाडौं । पछिल्ला दुई दिनमै लेक लागेर मनाङ र मुस्ताङमा चार जनाको मृत्यु भएको छ । कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको हो । यस्तै, एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

    जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आगामी मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षारहिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सो सम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

    हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पर्वतारोहण, पदयात्रा लगायतका उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेको सन्दर्भमा उल्लिखित मौसम पूर्वानुमान र लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

    त्यसैले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं त्यसको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरणले अपिल गरेको छ ।

  • महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

    महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

    १० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतमाथि सानदार जित निकालेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले हरायो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

    सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिष्मा श्रीरभोइकारले गोल गरिन् । ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितिसकेको छ । भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् । पहिलो खेलमा नेपाल इरानसँग ३–० ले हारेको थियो । त्यसअघि भारत इरानसँग २–० ले हारेको हो ।

  • छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

    छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

    १० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
    छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

    छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’

  • अबको केही दिन मौसम प्रतिकुल बन्दै, सूचना लिएर मात्र पदयात्रामा जान आह्वान

    अबको केही दिन मौसम प्रतिकुल बन्दै, सूचना लिएर मात्र पदयात्रामा जान आह्वान

    १० कात्तिक, काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ ।

    पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । लेक लागेर जीवन गुमाएकाप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
    साथै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै लेक लागेर बिरामी परेका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

  • आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै

    आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै

    १० कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । यसले सामाजिक सद्भाव र एकता कायम गरेको छ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा पनि स्थापित भएको छ ।

  • सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति

    सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति

    १० कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो।

    ६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरीका लागि किन्न स्रोत सहमति दिएको अर्थ मन्त्रालयले जनाएको छ । जेनजी प्रदर्शनपछि बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकेको छ। निर्वाचन र सुरक्षाका लागि आवश्यक पर्ने बजेटमा सम्झौता नहुने अर्थको प्रतिवद्धता छ । अर्थले अन्य निकायलाई भने नयाँ गाडी खरीदमा कडाई गरेको छ ।

  • विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

    विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

    ९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

    गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ । गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रजिअमा सरुवा गरिएको छ भने झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअमा पदस्थापन गरिएको छ भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेललाई सिरहामा सरुवा गएिको छ । यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअमा सरुवा गरिएको छ भने मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ ।

    गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रजिअमा पठाइएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरेलाई सोही विभागमा ल्याइएको छ । रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअको सरुवा गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ । रासस

  • सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो

    ९ कात्तिक, काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो ।

    असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २. ४३ तोला हुन्छ । नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन ।

    यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।

  • भैरहवामा थाई एयर एसियाले थाल्यो नियमित उडान

    भैरहवामा थाई एयर एसियाले थाल्यो नियमित उडान

    ९ कात्तिक, काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ ।

    आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् ।

  • अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको ज्यान गयो

    अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको ज्यान गयो

    ९ कात्तिक, काठमाडौं । जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ ।

    ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । उपचार क्रममा उनको ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ ।

    यसैगरी ८के एक्सपिडिसन मार्फत गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको छ । उनको अमादब्लम आरोहण गर्ने क्रममा क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको हो । विभागका अनुसार दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।

  • अमेरिकासँग नेपालको लज्जाष्पद हार

    अमेरिकासँग नेपालको लज्जाष्पद हार

    ९ कात्तिक, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए । यस्तै आशिफ शेखले ३७, भिम सार्कीले २० र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङमा अमेरिकाका हर्मित सिंह एक्लैले ६ विकेट लिए । शुभम् रन्जनेले दुई तथा रसिल उर्गकरले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेल र मिलन्दु कुमारले शानदार अर्धशतक बनाए । पट्टेलले सय बलको सामना गर्दा नौ चौकाको मद्दतमा ७५ रन बनाएर अमेरिकी इनिङ् उकासे । मिलन्दुले ५० बलको सामना गर्दा नटआउट ७० रन बनाए ।


    सुरुको १० ओभर कसिलो बलिङ गरेको नेपालले त्यसपछि अमेरिकालाई रन दिएको हो । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी एकएक विकेट हात पारे । त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १७ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कका साथ रन रेटका आधारमा शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।

    लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा कूल ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • चर्चा चार जनाको, तर दुई मन्त्री मात्र नियुक्त

    चर्चा चार जनाको, तर दुई मन्त्री मात्र नियुक्त

    ९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गरे । स्वास्थ्यमन्त्री शर्मा पूर्व सचिव हुन् भने खेलकुदमन्त्री गुप्ता सामाजिक अभियन्ता हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।


    कार्की नेतृत्वको मन्त्रिपरिषदमा भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास कुलमान घिसिङ र गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल मन्त्री बनेका थिए । असोज ६ गते महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका थिए ।

    आइतबार स्वास्थ्य र खेलकुद मन्त्रीको शपथ ग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि आइतबार चार जनालाई मन्त्री नियुक्ति गर्ने चर्चा थियो । अभियन्ता खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम पनि मन्त्रीका रुपमा चर्चामा थियो । उनीहरुको नाम अन्तिम समयमा आएर काटिएको छ । सुनारको नाममा भने विभिन्न विवाद सार्वजनिक भएका थिए ।

  • विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै

    विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै

    ९ कात्तिक, काठमाडौं । नेपाल र अमेरिकाबीच विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला अन्तर्गत आज पहिलो भिडन्त हुँदैछ । खेल यूएईको दुबईमा आयोजना भएको छ । यस श्रृङ्खलामा नेपाल र अमेरिकासहित घरेलु टोली यूएईले प्रतिस्पर्धा गर्दैैछ । दुबई क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो दिनको खेलमा नेपाल र अमेरिका आमने सामने हुँदैछन् । नेपालले ओमानमा गएर ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट जित्दै तेस्रो पटक विश्वकपमा पुगेलगत्तै दुबई पुगेको हो । आईसीसीले गत महिना अमेरिकाको क्रिकेटलाई निलम्बन गरेको थियो ।

    आईसीसीले पटकपटक सुधारका लागि चेतावनी दिँदा पनि अमेरिकी क्रिकेट बोर्डले त्यसको सुनुवाइ नगरेपछि निलम्बन गरेको थियो । तर टोलीले भने प्रतियोगिता खेल्न पाउनेछ । त्यसयता अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । अमेरिका २० खेलमा २८ अंक लिएर लिग २ को अंक तालिकामा दोस्रो स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३० अंक जोडि शीर्ष स्थानमा छ । नेपाल १६ खेल खेली १२ अंकसहित सातौं स्थानमा छ । यूएई १३ खेलमा ६ अंक जोडी पुछारमा रहेको छ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ ।

  • सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार

    सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार

    ९ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

    तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने रु भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

    उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ । ठेक्का व्यवस्थापनमा अहिले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ कडा एक्सनमा उत्रिएका छन् ।

  • एक्सनमा कुलमान, सरकारले तोड्यो सिंचाइका १२ रुग्ण ठेक्का

    एक्सनमा कुलमान, सरकारले तोड्यो सिंचाइका १२ रुग्ण ठेक्का

    ९ कात्तिक, काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्ने तयारी अनुसार ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।

    कार्यालयबाट पटक पटकको अनुरोध तथा सर्वाजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ । साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम् बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ । रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८\६९, २०६९\७०, २०७३\०७४ र २०७४\०७५मा सम्झौता गरिएका थिए ।

  • मनसुन लगत्तै बढ्न थाले आगलागीका घटना

    मनसुन लगत्तै बढ्न थाले आगलागीका घटना

    ९ कात्तिक, काठमाडौं । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।

    प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालीकोट र पर्सामा दुई आगलागीका घटना भएका थिए । यस्तै पाल्पामा तीन आगलागीका घटना घटेका थिए । कात्तिक ५ गते १७ आगलागीका घटना घटेका थिए । प्राधिकरणको उपलब्ध गराएको तीन दिनको विवरणमा अधिकांश विपद्का घटनामा आगलागी देखिएको छ । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ ।

    आगलागीबाट जोगिनका लागि विशेष सावधानी अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ । कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा परेर ६ जना घाइते भएका छन् । ती घटनामा परेर रु ७७ लाख ९१ हजारबराबरको अनुमानित क्षति भएको छ । यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एकएक घटना घटेका थिए । रासस

  • छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    ९ कात्तिक, जनकपुरधाम । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् ।

    यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।

    भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ । छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडीलगायत सामग्री चढाउने गरिन्छ । प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल चढाइन्छ ।

    अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा रहेको छ । सबै परिकार र विधिहरू पूर्ण अत्यन्त नियम निष्ठाका साथ तयार गर्नुपर्ने गर्नुपर्ने भएकाले छठलाई अत्यन्तै निष्ठाको कठोर पर्वका रूपमा मानिन्छ ।

  • जेन-जी आन्दोलनका दौरान साँखु  चौकी आगजनी र प्रहरी कुटपिट गर्ने दुई जना पक्राउ

    जेन-जी आन्दोलनका दौरान साँखु चौकी आगजनी र प्रहरी कुटपिट गर्ने दुई जना पक्राउ

    ९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

    यसैबीच प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ छन् । उनलाई यही कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • प्रधानमन्त्रीसहित सुरक्षा प्रमुखको बैठकमा के भयो छलफल ?

    प्रधानमन्त्रीसहित सुरक्षा प्रमुखको बैठकमा के भयो छलफल ?

    ८ कात्तिक, काठमाडौं । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुख थिए । बैठकमा सुरक्षा प्रमुखले वर्तमान अवस्थाबारे जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन् ।” उनले राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको र सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने बताए ।

  • सडकमा प्रदर्शन नगर्न गृहमन्त्रीको आग्रह

    सडकमा प्रदर्शन नगर्न गृहमन्त्रीको आग्रह

    ८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको बताए । “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने। लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।

    “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भने । बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

  • निर्माणाधीन संसद भवन समयमै नसके ठेकेदारमाथि कारवाहीको चेतावनी

    निर्माणाधीन संसद भवन समयमै नसके ठेकेदारमाथि कारवाहीको चेतावनी

    ८ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन गरेका छन् । मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल,शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायत सम्मिलित टोलीले निर्माणस्थलको अनुमगन गरेको हो । सो क्रममा निर्माण सम्पन्न हुन समय तालिकाका विषयमा छलफल गरिएको छ ।


    संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो। पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ। आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ। इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।

    मन्त्री घिसिङले दुवै निर्माण व्यवसायीलाई निर्माणस्थलमै सम्पन्न हुने तालिकाका विषयमा प्रतिवद्धता माग गरेका छन् । उनले नेपालमा निर्माण भइरहेको भवनहरुमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरे ।

    धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै उनले निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताए ।

    ‘जेन—जी आन्दोलनका क्रममा पुरानो संसद भएन क्षतिग्रस्त भएको छ, राष्ट्रिय सभाको बैठक चलाउनु पर्नेछ, आगामी २१ फागुनको चुनावपछि प्रतिनिधि सभा पनि चलाउनु पर्ने हुन्छ, संसद भवनको निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिएन भने धेरै असर पर्ने देखिएको छ, आजको निर्माण गति हेर्दा तोकिएको समयमा सम्पन्न गर्न गाह्रो देखिएको छ, दुवै निर्माण व्यवसायी एक आपसमा समन्वय गरेर काम गर्नुहोस्,’ मन्त्री घिसिङले भने । ‘कामको गति बढाउनतर्फ लाग्नु भएन भने ठेक्का सम्झौता बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ, त्यसको सम्पूर्ण दायित्व निर्माण व्यवसायीले बहोर्नुपर्नेछ, त्यसैले सबै गम्भीर भएर लाग्नुहोला ।’

    उनले संसद भवन निर्माण राष्ट्रिय महत्वको परियोजना भएकाले यसको प्रगति बारे नियमित रुपमा खवरदारी गर्न सञ्चारमाध्यमसहित आम नागरिकलाई आग्रह गरे । सचिव सिग्देले तोकिएको समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयकातर्फबाट आवश्यक सहयोग, समन्वय सहजीकरण र अनुगमन गरिने बताए । निर्माण व्यवसायीका प्रतिनिधिबाट तोकिएकै समयका काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताइएको थियो । उनीहरुबाट तालिकाभन्दा केही पछाडि भएता पनि अहिले देखिएको ढिलाइलाई पूर्ति गरी काम गर्ने प्रतिबद्धता जनाइएको थियो ।

    राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालन लगायतका काम बाँकी रहेका छन् ।

  • क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

    क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

    ८ कात्तिक, क्वालालम्पुर चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।
    अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ ।

    बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहनेछ । एएफपीका संवाददाताहरूले हे लिफेङ र उनको टोलीलाई विश्वकै दोस्रो अग्लो भवन ‘मर्डेका ११८’ मा प्रवेश गर्दै देखेका थिए । उनीहरु पत्रकारहरूसँग कुनै टिप्पणी नगरी भवनको लबी हुँदै माथिल्लो तलातर्फ गएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले भने छुट्टै प्रवेशद्वार प्रयोग गरेको थियो । भवनका कर्मचारीहरूका अनुसार दुई देशका प्रतिनिधिहरू ९२औँ तलामा औपचारिक बैठकमा सहभागी छन् ।

    विश्वका दुई ठुला अर्थतन्त्र पछिल्ला वर्षहरूमा चलेको प्रतिशोधात्मक कर युद्धबाट थप हानि बेहोर्नु नपरोस् भनेर सहमतिको खोजीमा छन् । राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीचको भेट आगामी बिहीबार दक्षिण कोरियामा आयोजना हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुने अपेक्षा गरिएको छ ।

    राष्ट्रपति ट्रम्पले केही दिनअघि उक्त बैठक रद्द गर्न सक्ने चेतावनी दिनुभए पनि उहाँले पुनः चीनसँग ‘राम्रो सम्झौता’ गर्न चाहने र व्यापार युद्ध अन्त्य गर्ने आशा प्रकट गरेका थिए । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले शनिबार वार्ता औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरे । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दुई देशका प्रतिनिधिमण्डलबीच ‘बैठक भएको’ उल्लेख गरेको छ ।

    यसैबिच, बेइजिङले हालै आफ्नो दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा व्यापक नियन्त्रण लगाउने निर्णय गरेपछि वासिङ्टनले त्यसको प्रतिकारमा चीनबाट आयात हुने सामानमा १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएको थियो । दुवै देशले एकअर्काका जहाजहरूमा आगमन शुल्क लगाउन थालेका छन् । अमेरिकी ‘धारा ३०१’ अनुसन्धानले उक्त उद्योगमा चीनको प्रभुत्व अनुचित भएको निष्कर्ष निकालेपछि तनाव झनै बढेको हो । रासस\एएफपी

  • हायात होटेलको सेवा बन्द भएकोबारे प्रधानमन्त्रीको चासो

    हायात होटेलको सेवा बन्द भएकोबारे प्रधानमन्त्रीको चासो

    ८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिकार बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग जानकारी लिएका हुन् । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको बताइएको छ ।

    खनालले भनेका छन्, ‘‘तपाईँहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’’यसबारे भोलि (आइतबार) होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने बताइएको छ ।

  • बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    ८ कात्तिक, काठमाडौं । पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् । सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता हुनुभएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले उनको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै उनले सो बारेमा अनुसन्धान भइरहेको बताए ।
    बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले सो क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।