Category: समाचार

  • कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

    कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

    काठमाडौँ, कात्तिक ४ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने पूजाकोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अविरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाउँदै लक्ष्मीपूजा गर्ने परम्परा छ ।

    दीपमालिकासमेत गरेर मनाइने यो पर्वमा दीपावली गरिसकेपछि पूजाकोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसा पूजा गर्नुका साथै फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरेर दक्षिणासमेत दिने गरिन्छ । सोमबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत छ ।

    घरका साथै व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकासहित प्रमुख सहर उज्यालोले झिलिमिलि बनेको छ । उज्यालोले घरबाहिरको वातावरण उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी चहलपहल तिहारमा देखिएको छ । यसैले लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।

    सोमबार साँझ युवायुवतीहरूले समूह बनाई घरघरमा भैलो खेलेका छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उहाँले भन्नुभयो ।

    कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । यो पर्वमा भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा नकारात्मक असर गर्ने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको प्राडा गौतमले बताए ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा सोमबार बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मीपूजा गरिएको प्राडा गौतमले जानकारी दिए ।


    उनका अनुसार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने जनविश्वास रहेकाले सोहीअनुसार लक्ष्मीपूजा गरिएको हो । रासस

  • मुस्ताङमा पर्यटकको घुइँचो, एक महिनामै साढे ७५ हजार पुगे

    मुस्ताङमा पर्यटकको घुइँचो, एक महिनामै साढे ७५ हजार पुगे

    ४ कात्तिक, काठमाडौं । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् ।

    असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।

    प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी पर्यटक रहेका थिए । गत वर्ष असोजमा कूल ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा ४७ हजार २९३ आन्तरिक र १२ हजार ५३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

    मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०.८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार ६८९ पर्यटक भित्रिएका थिए । साउनदेखि असोजसम्ममा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।

    आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ । रासस

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    ४ कात्तिक, काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार मङ्गलबार दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । रासस

  • कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

    कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

    ४ कात्तिक, काठमाडौं । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका –६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

    उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बाप्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका –३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने, “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।” ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • दिपावलीकै दिन विपिनको घरमा शव, परिवारजनमा बज्रपात

    दिपावलीकै दिन विपिनको घरमा शव, परिवारजनमा बज्रपात

    ४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको शव उनको घरमा पु¥याइएको छ । सोमबार इजरायलबाट काठमाडौं पुगेको शव सोही दिन नै उनको घर लगिएको हो । नेपाली सेनाको स्काइ ट्रकमा काठमाडौंबाट धनगढी ल्याइएको शव धनगढी विमानस्थलबाट धनगढी उपमहानगरपालिकाको शव बाहनमा राखेर भीमदत्त नगरपालिका–३ जोशीको घरमा लगिएको थियो । नेपाल प्रहरीको स्कर्टिङमा शव लगिएको थियो । शव घरमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सबैतिर तिहारको रमझम चलेको बेला छोराको शव पुगेपछि जोशी परिवार शोकमा डुबेको छ । टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत ११ महिनासम्म इन्टर्नका लागि विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो । बन्धक बनाइएको विपिनको दुई वर्ष अगाडि नै हत्या गरिएको इजरायलले पुष्टि गरेको छ । विपनको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिँदैछ ।

  • भरतपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    भरतपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

    ४ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित एयरपोट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति २ बजे बा.प्र.०६–००३ प ०६९२ नं।को स्कुटर आफैँ अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा परी स्कुटर चालक भरतपुर म.न.पा.२१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको हो । उनिहरु दुबै जनाको टाउकोमा गम्भीर चोट थियो ।

  • महावीरले मन्त्री भएपछि गरे पहिलो पत्रकार भेटघाट, के भने ?

    महावीरले मन्त्री भएपछि गरे पहिलो पत्रकार भेटघाट, के भने ?

    ३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए ।

    “त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ”, मन्त्री पुनले भने ।

    त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उहाँले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताए । समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ ।

    यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उनले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताए । मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिए । सो अवसरमा उनले पत्रकारसँग थुप्रै विषयमा अन्तरंग कुराकानी गरेका थिए ।

  • प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजिनामा

    प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजिनामा

    ३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा ९माओवादी केन्द्र०का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छिन् ।

    पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने पनि उनले बताएकी छिन् । ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेकी छिन् । आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको दाबी गर्दै उनले ध्यानाकर्षण पनि गराएकी छिन् ।

  • लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन फिल्डमै कुलमान

    लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन फिल्डमै कुलमान

    ३ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन् । ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरु, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।


    विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

  • विपिनलाई श्रद्धान्जली दिन प्रधानमन्त्रीसहित क्याविनेट टिम विमानस्थलमा

    विपिनलाई श्रद्धान्जली दिन प्रधानमन्त्रीसहित क्याविनेट टिम विमानस्थलमा

    ३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । उनको साथमा क्याविनेट टिम सहभागी थियो । सो क्रममा उनले केहीबेर सम्बोधन गरिन् । उनले हमासको आक्रमणमा पर्ने बेलामा त्यतिबेला विपिनसहित नेपाली युवाहरूलाई परेको दुस्ख र संघर्ष हामीले यहाँ बसेर अनुभव गर्न नसकिने बताइन् ।
    ‘त्यहाँ अपहरणको शिकार हुँदा कति दुःख खेपे होलान् । कति कष्ट खेपे होलान् । के भएको थियो होला त्यो युवाको मनमा,’ उनले भनिन् ।


    साथै, उनले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको बताइन् । हामीलाई त लाग्छ नि, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो । प्रत्येक नेपाली आमाको छोरो । अब कसैले विपिनलाई बिर्सन सक्दैन । उसले गरेको संघर्ष, हिम्मत साहसको गौरव छ,’ उनले भनिन्, ‘तर पनि विपिन छ हाम्रो लागि । उसलाई सशरीर नदेखे पनि हाम्रो मनमा छ । विपिन कहिल्यै पनि मर्ने छैन ।’

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

    उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमानस्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको अव आजै कञ्चनपुरस्थित घरमा लगिएको छ ।

  • विपिन जोशीको शव नेपाल ल्याइयो, परिवारलाई हस्तान्तरण

    विपिन जोशीको शव नेपाल ल्याइयो, परिवारलाई हस्तान्तरण

    ३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

    आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिएको छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

    इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

  • महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज

    महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज

    ३ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ।

    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी विकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ ।

    नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमासमेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

    विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । वर्तमान नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएको अविस्मरणीय देन हो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

    चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

  • तिहारको तेस्रो दिन आज कुकुर पूजा

    तिहारको तेस्रो दिन आज कुकुर पूजा

    ३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

    कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिए । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

    आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।


    यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । तिथि घटबढका कारण लक्ष्मी पूजा पनि आजै गरिँदैछ । बिहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मी पूजा गरिँदैछ ।

    रासस

  • विपिन जोशीको शव आज नेपाल ल्याइदै

    विपिन जोशीको शव आज नेपाल ल्याइदै

    ३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

    उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

  • सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, २ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ । निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी÷गराई भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डा मिश्रा, विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटाविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरिएको छ ।

    यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इञ्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । मिश्राको नाम वर्तमान अन्तरिम सरकारको मन्त्रीका रुपमा सिफारिस भएको थियो । अन्तिम समयमा आएर उृनको नाम काटिएको थियो ।

  • प्रहरी माथि आक्रमण र हतियार लुट्ने घिसिङ पक्राउ, फरार अभियुक्त रहेको पुष्टी

    प्रहरी माथि आक्रमण र हतियार लुट्ने घिसिङ पक्राउ, फरार अभियुक्त रहेको पुष्टी

    २ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

    घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता भएको थियो ।

  • प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने

    प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने

    काठमाडौँ, २ कात्तिकः बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौंँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए । सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छिन् ।

    निर्णयमा लेखिएको छ, “२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको, सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौँलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ‘ब्लक बी’ भवन दुई पक्ष (काठमाडौँ जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौंँ जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिने ।” काठमाडौँ जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आजगनीका कारण क्षतिग्रस्त छन् ।

  • बुद्धशान्तिमा नवजात शिशु फेला

    बुद्धशान्तिमा नवजात शिशु फेला

    भद्रपुर, २ कात्तिकः यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् । आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए ।


    सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

    सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

    सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।
    गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

    घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

  • पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    लिस्बन, २ कात्तिकः वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए ।

    गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।
    सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन”, तामाङले भने ।

    पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् ।

    पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए ।

  • डेढ महिनामा सात हजार पर्यटक मनाङमा

    डेढ महिनामा सात हजार पर्यटक मनाङमा

    २ कात्तिक, मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ ।

    डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अष्टे«लियाका चार सय ४१ जनाले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् ।

    “ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भने । जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, “मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।”

    जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यावसायीको भनाइ छ ।

    बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीनविक्रम सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमनचाहिँ भएको छ ।” विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उनको भनाइ छ ।

    यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ ।

    विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।

  • कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो ।

    त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजाआराधना हुने गर्छ ।

    आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।

    कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । कोरोना र डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग तीव्र भएको छ । गुर्जोजस्तै जडीबुटीबाट बनेका अन्य औषधिको माग पनि कोरोना एवं डेङ्गु रोगकालमा बढिरहेको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।

  • कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए ।


    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

    ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।

    दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

  • सडकका थप ५० ठेक्का तोड्दै सरकार

    सडकका थप ५० ठेक्का तोड्दै सरकार

    २ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर, दमौली लगायतका कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एउटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले सबैभन्दा धेरै २१ वटा ठेक्का किन तोड्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

    यसैगरी काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँचरपाँच, दमौली र पाल्पाले चाररचार वटा ठेक्का किन तोड्ने भन्दै सूचना जारी गरेका छन् । धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले पनि त्यही व्यहोराको सूचना जारी गरेका छन् । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

    सार्वजनिक सूचनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लंघन गरेको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।

    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

  • अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु

    अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु

    काबुल, २ कात्तिक (रासस\सिन्ह्वा) । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ । स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन् ।

    वार्ताका लागि रक्षामन्त्री मावलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति मार्फत जनाएका छन् । स्थानीय मिडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन् ।

  • बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

    बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

    ढाका, १ कात्तिक (रासस\एएफपी) । बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेपनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवद्ध बनेका छन्। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको छ।

    द डेली स्टार पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ। अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रण गरेसँगै विमानस्थल केही घण्टाभित्रै सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ। स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

  • एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

    एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

    महेन्द्रनगर (धनुषा), १ कात्तिकः जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको प्रदर्शन गर्नुका साथै नगरका विभिन्न भागमा परिक्रमा गराइएको हो ।

    जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको थियो ।

  • आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या

    आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या

    काठमाडौँ, १ कात्तिकः काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले अहिले समस्या भएको हो ।

    ट्राफिक प्रहरीले हाल उपलब्ध भएका ब्रेथलाइजर मेसिन विभिन्न क्षेत्रमा खटिएका ट्राफिक प्रहरीको टोलीबीच आलोपालो प्रणालीअनुसार प्रयोग भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    उनका अनुसार यसअघि करिब तीन सय वटा ब्रेथलाइजर मेसिन भए पनि हाल २७ वटा मात्रै बाँकी रहेको उनको भनाइ छ । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने, “हामीसँग पहिले तीन सय वटा मेसिन थिए, जसको प्रयोग गरेर नियमित रूपमा सवारी चालकमा मादक पदार्थको सेवन भए÷नभएको परीक्षण गर्न सकिन्थ्यो । तर आन्दोलनका क्रममा ती मेसिनहरू नष्ट भएपछिको अवस्थाले अहिले हामीलाई समस्या भएको छ ।”

  • जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

    जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

    काठमाडौँ, १ कात्तिकः ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए ।


    ‘जेनजी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए । “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनाँै”, उनले भने, “देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ । आर्थिक समृद्धिलाई साझा सङ्कल्प बनाउन सबैलाई हाम्रो आग्रह छ ।”

    स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ । “बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्छ”, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, “छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।”

  • जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

    जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

    काठमाडौँ, १ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रममा उनले अहिलेको राजनीतिक समस्या समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए ।


    संयोजक दाहालले भने, “हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।”

    अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गर्न गम्भीर रहेको आफूले पाएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले अन्तरराष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलनको भावना सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ । जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ ।” आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै संयोजक दाहालले मुलुकमा थप अराजकता सिर्जना हुन नदिन राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु अपरिहार्य रहेको बताए ।


    समाजवादी मोर्चामा आबद्ध वामशक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँदै संयोजक दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्ति पनि एक हुनुपर्ने आवश्यकता औँल्याए । जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हो भन्दै उनले भने, “भदौ २३ गते भएको आन्दोलनमार्फत युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ । उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन् ।”

    माओवादी नेता वर्षमान पुनले जेनजी युवाको चाहना र भावना सम्बोधन गर्नुको कुनै विकल्प नरहेको जनाउँदै जेनजी आन्दोलनपछि आफ्नो पार्टीले सोचविचार र नीति बदलेको बताए । उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।