Category: समाचार

  • नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

    नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

    १ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए ।


    “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको सम्भाव्यता अध्ययन गरौँ । अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्न सरकार तयार छ”, उनले भने ।


    हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास थियो । कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषकोे वित्तीय स्रोतका रूपमा रु सात अर्ब स्वःपुँजी (इक्विटी) रहेको, एसियाली विकास बैंकमार्फत रु पाँच अर्ब १९ करोड, विश्व बैंकबाट रु १२ करोड र नेपाल सरकारबाट रु दुई अर्ब ऋणका रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले रु १६ अर्ब ऋण प्रवाह गरेको उनले बताए ।


    कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण÷अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ । हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिनेबारे पनि त्यसअवसरमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

  • पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    अशोक घिमिरे\रासस
    काठमाडौँ, १ कात्तिकः नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    “नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ”, प्रमुख आचार्यले भन्नुभयो । पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याउन सकिन्छ । तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था बनेको छैन । “दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भने ।


    पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्रयाङ्क, अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र दुई हजार २०० किलोलिटर मट्टितेल राख्न सकिने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक रहेको छ । पूराना र नयाँ गरी अमलेखगन्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने भएको छ ।

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगञ्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

    अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोकिलटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले अहिले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

    पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गर्दा सडक मार्गमा आउने अवरोध अन्त्य भएको छ । “टयाङ्कर दुर्घटनामा पर्नेदेखि सडक मार्गमा आउनसक्ने समस्याको जोखिम कम भएको छ”, प्रमुख आचार्यले भने, “इन्धन चोरी तथा मिसावटको प्रश्न उठ्ने नै भएन ।” पाइपलाइनबाट इन्धन ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम पर्ने उहाँको भनाइ छ ।

    पेट्रोलियम पदार्थ ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ । पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक रु तीन अर्ब ढुवानी खर्च बचत भएको छ । ढुवानी खर्च वचत भएपछि निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ ।

    सरकारले सिलगुडी ९भारत०–चारलआली (झापा) र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकी निर्माणको काम अघि बढाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको छ । निगमले गत साउन १६ गतेदेखि दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम थालेको हो ।

    राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इञ्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ । उक्त परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । बासठ्ठी किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ ।

    पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।

  • सातवटा सवारीसाधन एकापसमा ठक्कर खाएको घटनामा २१ घाइते

    सातवटा सवारीसाधन एकापसमा ठक्कर खाएको घटनामा २१ घाइते

    चितवन, १ कात्तिक : भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् ।

    सवारीहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

  • सरकारले काठमाडौँका विभिन्न स्थानमा भेला प्रदर्शनमा लगायो रोक

    सरकारले काठमाडौँका विभिन्न स्थानमा भेला प्रदर्शनमा लगायो रोक

    १ कात्तिक, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्क सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म निषेध गरिएको छ ।

    हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा भेला प्रदर्शन गर्न निषेध गरिएको छ । त्यसैगरी केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि निषेध गरिएको छ । सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म भेला प्रदर्शन निषेध गरिएको आदेशमा उल्लेख छ ।

    पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, पुरातत्व विभागको चोकदेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म कुनै पनि भेला प्रदर्शन गर्न निषेध गरिएको छ ।

    जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेध गरिएको छ । राष्ट्रियसभा अध्यक्षको निवास, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास तथा राष्ट्रबैङ्क चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म भेला प्रदर्शन निषेध गरिएको आदेशमा उल्लेख छ ।

  • मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

    मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

    १ कात्तिक, काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे दुर्घटना भएको हो ।

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् । दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।

    घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।

  • सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

    सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

    १ कात्तिक, काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।

    यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ ।

    कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।

    कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

    गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म ९म्ह० पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।

    कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

    सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ ।

    बडादसैंसम्म सुनसान प्रायः हुने काठमाडौं उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।
    कौडा, लंगुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन ।

  • प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

    प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

    १ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७०औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो । भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले सहयोग गरेकाले सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले श्रेष्ठलाई कदर प्रत्र प्रदान गरेका थिए । अध्यक्ष श्रेष्ठले सडक सुरक्षाका लागि एनआरएनएले योगदान गरेको बताउँदै आउँदा दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने बताए । एनआरएनएले अहिले ट्राफिक कन्ट्रोलरुम पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । उक्त कार्यका लागि करिब ८० लाख बढी लागत लाग्ने अनुमान गरिएको छ । उपत्यका ट्राफिक कन्ट्रोल रुममा आवश्यक पर्ने उपकरणहरु जोड्ने काम भइरहेको एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

    विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका मनोजकुमार श्रेष्ठले काम अन्तिम चरणमा पुगेको र केही दिनमै ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने बताए ।
    सम्मान समारोहमा एनआरएनएका पूर्वअध्यक्षहरु विनोद कुँवर, राजेन्द्रकुमार ९आरके० शर्मा, पूर्वमहासचिव जानकी गुरुङ, वर्तमान कार्यसमिति उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, विश्वदीप तिगेला, महासचिव बाबुराम (बीआर) लामा, सचिव तिलक गैरे, महिला संयोजक रश्मी थापा, युवा संयोजक भिमसेन थापा, युवा उद्यमी नारायण भण्डारी (समाजसेवी), विपद् व्यवस्थापन समितिका सदस्यसचिव धर्मराज गिरी, एनआरएनएका कार्यकारी निर्देशक रविकिरण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

  • कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

    कुटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको व्रिफ्रिङ, चुनाव गराएर सत्ता हस्तान्तरण

    ३१ असोज, काठमाडौं । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निष्पक्ष निर्वाचन गएर निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । उनले भनिन्, “यो गैर राजनीतिक संक्रमणकालीन् सरकारको एउटै लक्ष्य आगामी फाुगन २१ गतेलाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नु रहेको छ । त्यसपछि हामी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्नेछौं ।”

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिइन् ।

    उनले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारिन् । उनले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको बताइन् । सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको छ भनिन् । सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्रीले प्रस्तुत गरिन् । विदेशमा बस्ने नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा पनि छलफल भइरहेको सो अवसरमा प्रधानमन्त्री कार्कीले बताइन् । लोकतान्त्रिक व्यवस्थालाई अझ थप बलियो बनाउन रचनात्मक तरिकाले लाग्न जेन जेड समूहलाई अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई समेत जेन जेड समूहको भावनालाई बुझ्न अनुरोध गरिन् ।


    मुलुकमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउँदै प्रधानमन्त्री कार्कीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरिएको पनि सो अवसरमा जानकारी दिइन् । साथै, हालै भएको विध्वंसनात्मक घटनाका विषयमा छानबिन गर्न आयोग गठन गरर काम भइरहको पनि उनले जानकारी गराइन् ।


    उनले आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी चौकीमध्ये धेरै ठाउँमा स्थानीय आफैँले मर्मत गर्न थालिसकेको तथा हराएका वा चोरी भएका हतियार तथा उपकरण पुनःप्राप्त गर्न पनि तदारुकतासाथ काम भइरहेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनले सबैलाई सुन्ने, प्रतिक्रिया दिने, सुधार गर्ने र परिणाम दिने सामूहिक जिम्मेवारीको गहिरो ढङ्गबाट बोध गराएको उल्लेख गर्दै यसले सुशासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीका लागि जनताको आकाङ्क्षालाई झल्काउने बताइन् । यस आन्दोलनले सबैलाई ढिलो नगरी जनअपेक्षाअनुसार परिणाम दिन प्रेरित गरेको उनको भनाइ थियो ।

    वर्तमान सरकार गठन भएको करिब एक महिनाको यसअवधिमा राज्यसंयन्त्रभित्रका भ्रष्टाचार, कुशासन र चुनौती मात्र होइन, सुधारको विशाल सम्भावनासमेत पत्ता लगाएको उल्लेख गर्दै उनले यो नै विश्वास पुनःस्थापना गर्ने, संस्थाहरू सुदृढ पार्ने र शासन व्यवस्थालाई पारदर्शिता र सेवामुखी दिशातर्फ डो¥याउने उपयुक्त क्षण भएको स्पष्ट पारिन् । यो आन्दोलन पारदर्शिता र जवाफदेहिताको मागमा आधारित रहेको उनको भनाइ थियो ।

  • जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

    जेन जी आन्दोलनबारे सेनाको पत्रकार सम्मेलन, विविध आरोपको यसरी गरियो खण्डन

    ३१ असोज, काठमाडौं । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो। सेनाका उपरथी अनुपजंग थापाले जेनजी आन्दोलन विश्वव्यापी तरङ्ग देखिएकामा यहाँ भने अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिए ।


    त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सन्तुलित ढङ्गले कार्य गर्दै आएको उनले बताए । सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुगतढङ्गले आवश्यक पहल गरेको स्पष्ट पारे ।


    आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियो भन्ने आकलन गर्न सकिने बताउँदै उनले स्थिति सामान्यीकरण गर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढङ्गबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिए । सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको स्पष्ट पार्दै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महसुस गरेर नै विभिन्न समूहसँग छलफल गरेको बताए ।


    उनले देश र जनहितका लागि अरु सबै सुरक्षा फौजसँग हातेमालो गरी काम गरिरहेको पनि जानकारी गराए । सञ्चारकर्मीको प्रश्नको जवाफमा सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भएपनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दै जाने विश्वास उनको थियो। चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायकरथी थापाले स्पष्ट पारे ।


    सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा, विश्वशान्ति, वन्यजन्तु तथा पर्यावरण संरक्षण, पूर्वाधार विकास, ऐतिहासिक धरोहरको संरक्षण तथा आपत्कालीन उद्धारजस्ता कार्यमा सेनाले महत्त्वपूर्ण कार्य गर्दै आएको बताए । उनले गौरवमय इतिहास, पहिचान, परम्परा तथा संस्कृतिसँग गहिरोसँग जोडिएको सेनाले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र एकताको रक्षा गर्दै आएको बताए ।


    त्यसअवसरमा यस वर्षको मनसुन विपद् व्यस्थापनका क्षेत्रमा संलग्न सबै सरोकारवाला पक्षसँगको सहकार्य, सहयोग र समन्वयमा प्रभावकारी कार्य भएकाले विगतका तुलनामा जनधनको क्षति न्यून गर्न सकिएको जानकारी दिइयो। मुुलुकको सर्वाधिक महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस दू्रतमार्गको हालसम्मको समग्र प्रगति करिब ४३ प्रतिशत रहेकाले तोकिएको मिति र बजेटमा आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरियो। सेनाले आन्दोलनका दौरान २३ गते २२ जनाको मात्र निधन भएको र अन्य व्यक्तिको मृत्युको कारण २४ गतेको घटना भएको निष्कर्ष समेत निकालेको छ । जसमा सुरक्षाकर्मी समेत रहेका छन् ।

  • एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

    एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न, के भयो निर्णय ?

    ३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिए ।

    उनले भने, “आगामी दिनमा समग्र नेतृत्वको पुनर्गठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयको सन्दर्भमा मंसिर २७, २८ र २९ गते पोखरामा ११ औं महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको छ ।” उनले बैठकमा २२ वटा प्रस्ताव पारित भएको जानकारी दिए । बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोतर्फ नभएको निस्कर्ष निकालेको छ ।


    उनले भने, “निर्वाचनको कार्यदेश प्राप्त गरेको सरकार निर्वाचनको बाटोतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्धत देखिन्छ । निर्वाचनको मूख्य पक्षका रुपमा दलहरुसँग परामर्श, सहकार्य गर्नुपर्नेमा सम्पर्क समेत गर्न चाहिरहेको छैन ।” उनका अनुसार बैठकले मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरेको छ ।

    उनले भने, “निर्वाचन पनि हुन नसक्ने, प्रतिनिधि सभा पनि कायम नरहने वर्तमान अवस्थाले राजनीतिक अस्थिरता र रिक्तताको भाव सिर्जना हुनाले नै नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ माग गर्छ । यसले मात्र मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्छ ।”

    उनले बैठकमा उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिनिधि सभाको पुनस्र्थापनाको विषयलाई प्रचारात्मक बनाउनु पर्ने विषयमा राय राखेको जानकारी दिए । त्यसमा अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समर्थन गर्नुभएको उनले बताए । एमाले बैठक असोज २९ देखि ३१ गतेसम्म ललितपुरमा आयोजना भएको थियो ।

  • नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया  छनोट उपाधि

    नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया छनोट उपाधि

    ३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए ।


    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए । लोकेश बमले ११ बलमा ३९ रन बनाएर फिनिसिङ गरे । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए । सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए । नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

    पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

    त्यसपछि दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकालेपछि नेपाल विश्वकपमा छनोट हुने लगभग पक्का भइसकेको थियो । त्यसपछिको खेलमा अनुकुल नतिजा आएपछि नेपाल २ खेल खेल्नुअगावै विश्वकपमा छनोट भएको थियो । तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो । छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् ।

  • आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

    आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

    ३१ असोज, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् ।

    तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका एक सय ३७ स्थानीय तहमध्ये एक सय १३५ वटाले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिको बजेट प्रस्तुत नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मधेश प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय दुई वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । मन्त्रालयका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, छिन्न्मस्ता गाउँपालिका, बलान बिहुल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    सिराहाको कल्याणपुर, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, हंपसुर नगरपालिका र धनौजी गाउँपालिकाले चालु आवको बजेट सार्वजनिक गरेका छैनन् ।

    महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् ।

    यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । बागमती प्रदेशको धादिङको खनियाबास गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् ।

    लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिकाले चालु आवको बजेट प्रस्ुतत नगरेको मन्त्रालयको विवरणमा समावेश छ । कर्णाली प्रदेशअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् ।

    मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा कुल ९४ दशमलव २९ प्रतिशत तहले बजेट प्रस्तुत गरेको पाइएको छ । यस्तै, पाँच दशमलव ७१ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ । रासस

  • सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

    सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

    काठमाडौं, ३१ असोज २०८२ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।
    सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच\पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने रु भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । ठेक्का सम्झौता टोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ ।


    पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७÷६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । मन्त्री घिसिङले २६ असोजमा उक्त पुल निर्माणबाट छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए ।


    ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ ।
    विभिन्न मितिमा लिखित तथा मौखि रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइको ठेक्का समझौता उल्लंघन गरिएको जनाइएको छ ।


    सूचना प्रकाशित भएको १५ दिनभित्र का सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।


    उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

  • कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

    कान्छा शेर्पाको निधनमा प्रधानमन्त्रीबाट दुःख व्यक्त

    ३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सगरमाथाको पहिलो सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको निधनले सतब्ध बनाएको बताएकी छन् । उनले शेर्पाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
    दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका शेर्पाको ९२ वर्षको उमेर हिजो काठमाडौंको कपनस्थित निवासमा निधन भएको थियो ।

    ‘हामीले ऐतिहासिक आरोहणका प्रत्यक्ष साक्षी मात्र होइन, एक जीवित धरोहर गुमाएका छौं,’ प्रधानमन्त्री कार्कीले एक्समा लेखेकी छन्, ‘करिब साढे ७ दशक उहाँले उतिबेला मानवजातिकै एउटा विशेष उपलब्धि मानिएको घटनाको अनुभव पछिल्ला पुस्तालाई साटिरहनुभयो ।’ हालैका वर्षहरुमा उनी हिमालमा जलवायु परिवर्तनको असर देखिन थालेकोमा चिन्तित भएको भन्दै प्रधानमन्त्री कार्कीले त्यसप्रति संवेदनशील भएर काम गर्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेकी छन् । ‘अहिले हामी सबैको अभिभारा पनि त्यही नै हो,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन् ।

  • एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

    एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

    ३१ असोज, काठमाडौं । नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् । एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरु रहेका छन् । ‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेट कै समय उपलब्ध हुन्छ’ प्रमुख गौतमले भने ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’

    बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिने गौतमले जानकारी दिए । ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिन अघिदेखि केन्द्रीय कमिटीको बैठक जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको जनाएको छ । बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । आजको बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले समसामयिक प्रस्तावहरू पनि प्रस्तुत गर्नेछ ।

  • कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    ३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए ।

    २९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो । दोस्रो बैठकमा सात जना नेताले आआफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए ।

  • सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

    ३१ असोज, काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए ।

    उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए । उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

  • खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु

    खोलामा डुबेर झापामा तीन बालिकाको मृत्यु

    झापा, ३१ असोजः गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

    निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताए ।
    राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्ययले निर्वाचन घोषणा भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गरे । “युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छ”, उनले भने, “त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ ।”

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिए । “चुनावमार्फत भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन् । त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । युवाहरू बाध्याताले विदेशपलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ”, राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने ।
    राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान विश्वास व्यक्त गरे ।

    उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।
    राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उमेर र स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गरेको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन् । उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर सङ्घर्ष गरेको परिपक्क नेता पनि भएको उल्लेख गर्दै उनको भनाइलाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।

    जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि र कुशासन तथा भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारे । उनीहरुले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे । त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आफ्ना मागहरू पूरा हुनुपर्ने बताए ।


    बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए । बैठकमा ‘जेनजी’ प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।

  • ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान

    ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान

    ३० असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने कम्तीमा पनि दुई सयभन्दा बढी मोटरसाइकलहरू नियन्त्रणमा लिइएको छ । भारी आवाज निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “हामी सबैको जीवनशैलीमा ध्वनि प्रदूषणले प्रत्यक्ष असर पारिरहेको छ । मोटरसाइकलबाट आउने चर्को आवाजका कारण राति निद्रा लाग्न नसक्ने, तनाव हुने र समाजमा त्रासको वातावरण सिर्जना हुने अवस्था देखियो । रमाइलोको नाममा अरूलाई पीडा दिने प्रवृत्तिविरुद्ध अब कडा निगरानी गरिन्छ ।”

    सवारी तथा यातायात व्यवस्था ऐनले कम्पनीले तोकेको मापदण्ड अनुसार मात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि पछिल्लो समय धेरै मोटरसाइकल चालकले यो नियम उल्लङ्घन गर्दै मनपरी साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने गर्न थालेपछि कडाइ गर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

  • अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौँ, ३० असोजः सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    चीनमा प्रा डा कृष्णप्रसाद ओली, जर्मनीमा डा शैल रुपाखेती, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्तअधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी कार्यरत छन् ।


    बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले इनरुवा(पूर्णिया र दोधारा(बरेली ४०० केभी अन्तदेशीय प्रसारण लाइन निर्माण गर्न ‘नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ लिमिटेड’को संयुक्त लगानीमा नेपाल र भारतमा दुई वटा संयुक्त कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणबाट क्रमशः रु एक अर्ब र दुई अर्ब रकम बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।


    बैठकले नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपालले अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताका लागि प्रस्ताव गर्न स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष प्र्रस्ताव पठाउन स्वीकृति दिने निर्णय गरेको छ ।

    बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । सो योजनाबमोजिमको बाँकी कार्यका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृत दिने निर्णय पनि भएको छ । नेपालले क्रिकेटमा प्राप्त गरेको सफलता र उक्त आयोजना पनि सँगसँगै अघि बढेको मन्त्री खरेलले बताए । सरकारले नेपाल न्यायसेवा समूहको राजपत्राङ्कीत प्रथम श्रेणीका राजिष्टार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कीत विशिष्ट श्रेणीमा बढुवा गरी न्यायपरिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

    सोही सेवाका सरकारी वकिल समूहका कामु नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । रासस

  • समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड

    समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड

    चितवन, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।


    संयोजक दाहालले भने, “यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौैँ”, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ ।” सामाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता एमालेसम्म पुगेर रोकिने उनको भनाइ छ ।

    संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को सङ्केतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने धारणा राखे । उनले भने, “युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो ।”

  • २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

    २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

    काठमाडौँ, ३० असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला रु तीन हजार २४० मा किनबेच भएको थियो ।

  • निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

    निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

    काठमाडौँ, ३० असोजः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

    छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।

    छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो । छलफलमा पार्टीहरुले अहिले निर्वाचनको वातावरण नबनेको बारे ध्यानाकर्षण गराएका छन् ।

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    अर्घाखाँची, ३० असोज : यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रासस
    गुल्मी, ३० असोजः गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् ।

    रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ९०२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशतभन्दा बढी चरा फेला परेका अधिकृत भट्टराईले जानकारी दिए । नेपाल पंक्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेकोे पंक्षी सर्भेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजातिका चरा फेला परेका हुन् । जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षणअनुसार रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा गरी ३२५ प्रजातिका चराहरुको तथ्याङ्क रेकर्ड गरिएको छ । यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार हाल ३५ प्रतिशतभन्दा बढी रहेको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।

    विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा समेत पाइने भएको कारण यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाले जोड दिएका छन् । सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै तिनीहरुको संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

    सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गुल्मीमा धार्मिक पर्यटन सँगैसँगै चरा पर्यापर्यटनको समेत प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । यसबाट जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै यसले स्थानीयको जीविकोपार्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

    दुर्लभ प्रजातिका चरा संरक्षणका लागि पछिल्लो समयमा मुख्य चुनौतीको रुपमा वासस्थान विनास, पानीको अभाव, वन–डढेलो, अवैध शिकार, जनचेतनाको अभावजस्ता कारण रहेको सङ्घले जनाएको छ । सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

  • एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    काठमाडौँ, ३० असोजः नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।

    पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।

    बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिने तयारी छ ।

  • एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

    एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

    काठमाडौँ, ३० असोजः ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का सम्झौता गरेको थियो । छ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । आयोजनाले पटकपटक सूचना प्रकाशन गर्दासमेत सम्झौताबमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ ।

    ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ । पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये छ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

  • विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

    विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

    काठमाडौँ, ३० असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई\दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

    त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

    ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुईरदुई विकेट लिए । यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

  • इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

    इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

    जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक प्रवक्ताले यस विषयमा सोधिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ध्वस्त प्यालेस्टाइन क्षेत्रमा आवश्यक राहतका लागि सहयोग गर्न नसकेकोमा निराशा व्यक्त गरे । “हमासले बन्धकका सबै शव तत्काल फिर्ता गर्न कडा प्रयास गर्ने सहमति जनाएको छ ।

    मलाई गाजामा हमासबाट भएको नागरिकहरूविरुद्धको हिंसाले पनि गम्भीर रूपमा चिन्तित बनाएको छ,” फ्लेचरले भने । इजरायलले हप्तामा हजारौं ट्रकहरू पुग्ने गरी मानवीय सहायताको व्यापक वृद्धि गर्न अनुमति दिनुपर्छ,”उनले भने ।
    उनले भने, “इजरायलले यसका लागि सहमति जनाएको छ । अहिले धेरै मानिसहरूको जीवन सहायता निर्भर छ र यसमा विश्वले जोड दिएको छ। हामीलाई थप खुला नाका चाहिन्छ।”

    A convoy of Red Cross vehicles transports the bodies of deceased Palestinians held by Israel during the war, after their release, in Deir al-Balah, Gaza, Wednesday, Oct. 15, 2025. (AP Photo/Abdel Kareem Hana)

    –मानवीय जोखिम –

    यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले बुधबार अप्रत्यासितरूपमा अवरोध हुनपुगेको ट्रम्प योजना अन्तर्गत युद्धविराम सम्झौतामा सहमति भएको मानव अवशेषको आदानप्रदानलाई इजरायल र हमासले जारी राख्ने अपेक्षा गरिएको छ । यो आदानप्रदानले हमासले बन्धक बनाइ लगेका अन्तिम २० जीवित बन्धकहरू प्यालेष्टिनी लडाकूहरूको नियन्त्रणबबाट मुक्त भइसकेका छन् भने बदलामा इजरायली जेलबाट मुक्त भएका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरू रिहा भएका छन् ।

    सम्झौताले लडाई र बमबारीमा रोक लगाइएको छ। हमासले अहिलेसम्म आठ शव फिर्ता गरिसकेको छ, जसमध्ये सातको पहिचान भइसकेको छ । अन्य २० जनाको अवशेष गाजामा रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई शवहरूलाई स्वदेश ल्याउन घरेलु दबाब छ। फिर्ता भएकामध्ये आठौँ शव पूर्व बन्धकको नभएको र यसको पहिचान हुन नसकेको इजरायली सेनाले बताएको छ। यस घटनालाई लिएर केही इजरायली राजनीतिज्ञहरूले हमासलाई युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।

    इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गिभरले हमासले गाजामा रहेका सैनिकको अवशेष फिर्ता नगरेमा सहायता आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्। यसैबीच, इजरायलले आफ्नो हिरासतमा रहेका थप ४५ प्यालेस्टिनी शवहरू दक्षिणी गाजाको नासिर अस्पतालमा स्थानान्तरण गरिएसँगै अहिलेसम्म ९० जनाको अवशेष फिर्ता भइसकेको हमास नियन्त्रित गाजाका स्वास्थ्य मन्त्रालयले जनाएको छ। ट्रम्पको योजना अन्तर्गत इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ प्यालेस्टिनीको मृत शरीर फिर्ता गर्नेछ।