Category: समाचार

  • भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    नयाँ दिल्ली, २९ असोज (रासस\सिन्ह्वा) । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।

    अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रुहरू बसमै फसे । केही घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

  • बङ्गलादेशको कपडा कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

    बङ्गलादेशको कपडा कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

    ढाका, ३० असोज (रासस\क्यूएनए) । बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताए । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले जनाए ।


    नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताए । यस अघि बङ्गलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

  • पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौँ, २९ असोजः जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोे हो ।

    जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउन आदेश दिएको हो । यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियोे । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रू आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो ।

    पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो ।

  • पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    काठमाडौँ, २९ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू १५८ अन्य क्षेत्रमा रू १५६.५० कायम गरिएको छ ।

    “इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ”, निगमले भनेको छ ।

  • सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

    सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

    काठमाडौँ, २९ असोजः जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनले भने, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पु¥याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।”

    पक्राउ परेका परियारबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज पाँचको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टराईले बताए । साथै निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूर जस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।

  • मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

    मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

    महेन्द्रनगर, २९ असोजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकिएकोमा बिहान कांग्रस एमालेबाहेकको छ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरिन् ।


    सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पु¥याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

  • उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

    उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

    चितवन, २९ असोज । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए ।

    उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो ।

    यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

  • एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

    एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

    ललितपुर, २९ असोजः नेकपा ९एमाले०को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए । उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । बैठकमा अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

    यसअघि यही असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ । बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराए । बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराए ।

  • सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

    सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

    काठमाडौँ, २९ असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो ।

  • बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौँ, २९ असोजः यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

    क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

    काठमाडौँ, २९ असोजः नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

    गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो । साथै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो । नेपाल र ओमानले हाल तीन खेलबाट ६ अङ्क जोडेका छन् । युएईको चार अङ्क रहँदा जापान र कतारको समान दुई अङ्क छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ । आजै हुने सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ ।

  • मेडागास्करमा सेनाले गर्यो ‘कू प्रयास’, रजोएलिना अझै पदमा रहेको घोषणा

    मेडागास्करमा सेनाले गर्यो ‘कू प्रयास’, रजोएलिना अझै पदमा रहेको घोषणा

    अन्तानानारिभो, मेडागास्कर, २९ असोज (रासस÷एएफपी) । मेडागास्करको राष्ट्रपतिको कार्यालयले मंगलबार एक विशिष्ट सैनिक इकाइले सत्ता कब्जा गरेको दाबीलाई ‘कू प्रयास’ भन्दै कडा निन्दा गरेको छ । केही हप्तादेखि सरकारविरुद्ध चलिरहेको प्रदर्शनबीच आएको यो घटनालाई असंवैधानिक भन्दै राष्ट्रपति एन्ड्री रजोएलिना अझै पदमा रहेको पुष्टि गरिएको छ ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति महल अगाडि सशस्त्र सैनिकहरूको उपस्थिति स्पष्ट रूपमा कू प्रयास हो ।” त्यसैगरी, विज्ञप्तिमा भनिएको छ,“राष्ट्रपति गणतन्त्रका प्रमुखको रूपमा पूर्ण रूपमा पदमा रहनु भएको छ र संविधान र राष्ट्रिय स्थिरता कायम राख्न प्रतिबद्ध हुनुहुन्छ ।” गत केही हप्तादेखि सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका बेला ‘सीएपीएसएटी’ नामक विशेष सैनिक समूहले सत्ता कब्जा गरेको दाबी गरेको थियो ।

  • बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

    बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

    रासस
    मुस्ताङ, २९ असोजः मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए । यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ ।

    यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा रु ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको छ । ७६३ मेट्रिकटन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ । यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

    यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु २०० मा बिक्री भइरहेको छ । यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ ।

    यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए ।
    यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।

  • काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

    काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

    रासस
    काठमाडौँ, २९ असोजः जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ ।

    सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

  • बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

    बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

    काठमाडौँ, २९ असोजः बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ ९दोस्रो संशोधन०’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ । केन्द्रीय बैंकले मागर्दशनमा संशोधन गर्दै भनेको छ, “जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च’ गर्न सकिनेछ ।”

    यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्घि गर्न सहयोग पु¥याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ । रासस

  • बझाङमा भूकम्पको धक्का महसुस

    बझाङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ, २९ असोजः बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

  • महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

    महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

    काठमाडौँ, २९ असोजः सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरिएको जनाएको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रुपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ ।


    काठमाडौँ, ललितपुर, विराटनगर, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाभित्र हुने घरजग्गाको कारोबार गर्दा अब अनुमति लिनुपर्नेछ । यस्तै, धरान, इटहरी, जनकपुरधाम, जीतपुरसिमरा, कलैया, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाभित्र पनि सोही व्यवस्था बमोजिम नै घरजग्गाको कारोबार हुने जनाइएको छ । घरजग्गाको कारोबार गर्ने क्षेत्रफल जतिसुकै भएपनि हुने र एक पटकमा रु तीन करोडभन्दा माथिको कारोबार गर्दा अनुमति लिनुपर्ने भएको हो । त्यसका लागि भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई सम्वद्ध अधिकारी तोकिएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले सोमबार राजपत्रमा सूचना प्रकाशित भएको जानकारी दिए । यस्तै, मन्त्रालयले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ र सो आदेश बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लामा गठन भएका समिति समेत खारेज गर्ने निर्णय भएको जानकारी दिए । रासस

  • इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

    इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

    रासस
    फिक्कल, २९ असोज । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । “जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ”, उनले भने, “बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं ।”

    उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो । एघार दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ ।

    इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालनका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताए । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

    वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू–संरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।

  • उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो

    उत्तर म्यासेडोनियाको नाइटक्लबमा आगलागीः मृतक सङ्ख्या ६३ पुग्यो

    स्कोप्जे, उत्तर म्यासेडोनिया, २९ असोज (रासस\एएफपी) । उत्तर म्यासेडोनियाको कोचानीस्थित एक नाइटक्लबमा गत मार्चमा भएको आगलागीमा गम्भीर घाइते भएका एक सङ्गीतकर्मीको मङ्गलबार निधन भएपछि मृतक सङ्ख्या ६३ पुगेको छ । देशको अभियोजन कार्यालयका अनुसार, ४६ वर्षीय भ्लादिमिर ब्लाजेव–पान्चो स्कोप्जेस्थित अस्पतालमा सात महिनादेखि उपचाररत थिए । यो भीषण दुर्घटना मार्च १६ मा कोचानीमा आयोजना गरिएको हिप–हप कन्सर्टका क्रममा भएको थियो । क्लबमा भएको भीडभाड, सुरक्षा उपायको अभाव र कन्सर्टकै बीचमा प्रज्वलित आतिशबाजीका कारण आगलागी हुँदा भागदौड मच्चिएको थियो ।

    उक्त घटनामा करिब २०० जना घाइते भएका थिए भने आठ सङ्गीतकर्मी सहित दर्जनौँको ज्यान गएको थियो । घटनापछि गरिएको अनुसन्धानले क्लबले प्रायः कुनै पनि सुरक्षा मापदण्ड पालना नगरेको देखाएको छ । अभियोजन पक्षका अनुसार, क्लब सञ्चालकदेखि लिएर सरकारी अधिकारीहरू सम्मकै लापरवाहीले घटना भएको हो । यसै महिनाको सुरुमा अदालतले ३४ जना विरुद्ध अभियोग दर्ता गर्न अनुमति दिएको छ । अभियुक्तहरूमा एकजना सरकार मन्त्री, दुई पूर्वमन्त्री, क्लब सञ्चालक, भवन निरीक्षक तथा कोचानीका तीन जना पूर्व नगरप्रमुखसमेत रहेका छन् ।

    अलग अनुसन्धान अन्तर्गत, भ्रष्टाचार र सङ्गठित अपराधसँग सम्बन्धित मुद्दामा धेरैजसो प्रहरी र अधिकारीहरू पनि घटनामा संलग्न रहेको आशङ्का गरिएको छ । पीडित परिवारका अनुसार, मृतक र घाइतेमध्ये अधिकांश १६ देखि २६ वर्ष उमेर समूहका थिए । उनीहरूका अभिभावकहरू न्यायको माग गर्दै प्रत्येक सप्ताह शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन् ।

  • पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

    पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

    महेन्द्रनगर, २८ असोजः महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपीनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपीनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध)मा व्यस्त थिए ।


    तीन दाजु÷भाइमा महानन्द कान्छा हुन् । “उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपीन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो”, जोशी परिवारका एक सदस्यले भने, “कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।” सोमबार बिहान विपीनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’मा विपीन नरहेको विषयमा छलफल भए पनि विपीनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए । तर विपीन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ ।

    भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपीनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिए । “विपीन जिवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन”, वडा सदस्य ठगुन्नाले भने, “हिजोदेखिको विपीनको खबरले सबैतिर सन्नाटा छाएको छ ।” उनले विपीनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिए । विपीनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरु अझै स्वदेश फर्किसकेका छैनन् ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

    काठमाडौँ, २९ असोजः सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् ।
    गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुनःस्थापनाका लागि उत्प्रेषण, परमादेशको माग गर्दै १० वटा रिट निवेदन पेस भएका छन् । पेस गरिएका रिट निवेदनहरू दर्ताका लागि अध्ययन भइरहेको छ ।

    रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, खडकबहादुर शाह, आभाष पोखरेल, आयुष भण्डारी, डम्बरप्रसाद शिवाकोटी, अनिल कार्की, अधिवक्ता दलबहादुर धामीसमेत रहेका छन् । यही असोज २६ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित बसेको पूर्ण बैठक (फुल कोर्ट)ले रिट निवेदन दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

  • विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

    विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

    काठमाडौँ, २९ असोजः विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्ेटर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।

    मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

    मंगलबार अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेको र उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको यद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ ।

    सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका इजरायलको सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरू गरेको थियो ।

    इजरायल र हमासबीच युद्धविराम भएपछि सन् २०२५ अक्टोबर १३ का दिन इजरायली सेनाले त्यहाँस्थित नेपाली राजदूत, विपिनका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उहाँको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै यस दुःखद् घडीमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

  • चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

    चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

    २८ असोज, काठमाडौं । यस्तै, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । यस्तै, भदौ मसान्त सम्ममा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब २० करोड रहेको छ भने रु एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ ।

    गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा सात दशमलव छ प्रतिशतले बढेर रु २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ९८ अर्ब ९७ करोड बराबर रहेको छ । गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ । चालु आवको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव सात महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

  • मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

    मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

    काठमाडौँ, २८ असोजः गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव ०६ प्रतिशत र तीन दशमलव १९ प्रतिशत रहेको थियो ।

    गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ७४ प्रतिशत, मरमसलाको छ दशमलव ३१ प्रतिशत र दाल तथा गेँडागुडीको तीन दशमलव ५८ प्रतिशतलेघटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ७७ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ ।

    बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७३ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ९९, मधेसको एक दशमलव ७४, बागमतीको एक दशमलव ७२, गण्डकीको एक दशमलव ४७, लुम्बिनीको एक दशमलव ७६, कर्णालीको एक दशमलव ८५ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।

    त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २१, तराईको एक दशमलव ७०, पहाडको एक दशमलव ६८ र हिमालको दुई दशमलव ५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)

    सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)

    २८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सार्वजनिक स्थलमा देखा परेका छन् । जेन जी आन्दोलनका दौरान देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन उनी आन्दोलनमा जलाइएको पार्टी कार्यालय पुगे । त्यहाँ उनले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए ।


    उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गरे । आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उनले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पु¥याउन कांग्रेस सफल भएको बताए ।

    “अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु” , सभापति देउवाले भने, “त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नुपर्दछ ।”

    मुलुकको यो विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको उल्लेख गर्दै उनले यसले पक्कै पनि सबैलाई स्तव्ध बनाएको उल्लेख गरे । उनले भने, “म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

    ‘घुसपैठले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गयो’ गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गएको बताउँदै सभापति देउवाले यस घटनाले आफूलाई मर्माहित बनाएको उल्लेख गरे । गत भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयलगायत राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको अकल्पनीय घटनाको निन्दा गरे । यसबाट जनधनको अपूरणीय क्षति भएको र सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनका रुपमा लिपिबद्ध हुने उनको भनाइ थियो ।

    केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कांग्रेस पार्टी कार्यालय र करिब एक सय २५ जना नेता साथीहरुको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको सभापति देउवाले जानकारी गराए । नेपालको प्रजातान्त्रिक क्रान्ति, सङ्घर्ष र आन्दोलनका ऐतिहासिक स्थानका रुपमा परिचित विराटनगरस्थित कोइराला निवास, काठमाडाँै चाक्सीबारीस्थित गणेशमानसिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत बनाएको उनले बताए । नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको बताउँदै उहाँले यी दुबै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

    सभापति देउवाले गत भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नुभएकामा राष्ट्रपति रामचन्द्र पौडेललाई बैठकमार्फत धन्यवाद दिए । त्यो प्रतिकूल समयमा उनको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को सङ्कट टरेको उनले बताए । जेनजी पुस्ताले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने उनको धारणा थियो । उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्ने र यस विषयमा पनि कांग्रेसको बैठकमा छलफल हुने सभापति देउवाले जानकारी दिए ।


    यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेका सभापति देउवाले बताए । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने र यो अनुसन्धान कसैलाई तत्कालीन नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए । देशमा सबै महत्वपूर्ण अङ्गहरुको मनोबल गिरेको अवस्थामा देशका सबै अङ्ग वा निकायको मनोवल उच्च राख्ने गरी काम गर्नुपर्ने र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोवल साथ काम गर्न आह्वान गरे ।


    सभापति देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताए । उनले कांग्रेसको एकता आजको आवश्यकता भएको बताउँदै देशमा सङ्कट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्राबीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर एकतावद्ध हुनुपर्ने बताए ।
    उनले अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण भएको बताउँदै पार्टीका सबै साथीहरुलाई विषयवस्तुमा व्यापक छलफल गर्न, एकमतका साथ निर्णयमा पुग्न र ठोस् ढङ्गले निर्णयको कार्यान्वयन गर्न आग्रह गरे ।

    सभापति देउवाले भने, “पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकै जना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैनन् । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।” आगामी १५औँ महाधिवेशनबाट आफूबाहेक अरु कुनै साथी सभापति बन्नुहुने र त्यसमा द्विविधा नभएको उनले बताए ।


    उनले देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकतावद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए । संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको उल्लेख गर्दै सभापति देउवाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए ।

    सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको बताउँदै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार हुनुपर्नेमा जोड दिए । “निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्ने र शान्तिपूर्ण निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्तरुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो” उनले भने । यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उनले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास व्यक्त गरे ।


    बहुदलीय लोकतान्त्रिक व्यवस्थाकावाहक राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उल्लेख गर्दै उनले यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्नुपर्ने आवश्यकता आँैल्याए । मुलुकमा सङ्कट आएका बेला त्यसको निकास पनि कांग्रेसले दिनेगरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढ्न उनले आग्रह गरे ।


    आफू किशोर अवस्थादेखि नै राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि अनवरतरुपमा सङघर्षरत रहेको उल्लेख गर्दै उनले भने, “म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ । सांसद, मन्त्री, प्रधानमन्त्री वा कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।”

    देशमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको उल्लेख गर्दै सभापति देउवाले आफूले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको बताए । देशमा सङ्कट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले अझै पनि देश र जनताका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । “मैले कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने प्रयास गरेँ, चाहे पार्टीभित्र ‘कदमजम’को नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम् समावेशी बनाउने अभियान नै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु” सभापति देउवाले भने ।


    उनले आफूले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएको र पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय रहेको स्पष्ट पारे । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको बताउँदै उनले त्यसका बावजुद पनि कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको अवगत गराए । “सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुतमुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाई गर्व महसुस हुन्छ” , सभापति देउवाले भने, “नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ ।

    नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो ।” सभापति देउवाले आफू प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरेको बताए ।

    केन्द्रीय समितिको बैठक ललितपुर, २८ असोजः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठक । तस्बिरः गोपाल दाहालरासस

    सभापति देउवाले गत भदौ २४ गते सिङ्गो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरिएको र घरमा तोडफोड, लुटपाट र आगजनी भएको, सुरक्षाकर्मीको अथक प्रयासपछि उद्धार गरिएको जानकारी गराए । उनले आफू र आफ्नो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपरेको र त्यतिले नपुगेर कृतिम बौद्धिकता प्रविधिका माध्यमले आफूहरुको प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको भनी दुःख व्यक्त गरे ।


    “मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ”, उनले भने, “यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।”

    सभापति देउवाले आक्रमणकारीहरुको कब्जाबाट आफूलाई बचाउने घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै उहाँहरूको भूमिका जीवनभर स्मरण गरिरहने उल्लेख गरे । सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको बताए ।

    यसलाई ध्यानमा राखी आफ्नो पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ थियो । देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरुसँग पनि वार्ता, संवाद गर्ने उनले बताए । उनले आफ्नो स्वास्थ्यका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको घोषणा गरे । उनले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास पनि व्यक्त गरे ।

  • सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००

    सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००

    काठमाडौँ, २८ असोजः स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

  • तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

    तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

    काठमाडौँ, २८ असोजः गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

  • नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

    नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

    काठमाडौँ, २८ असोज स् राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको समेत निगमले जनाएको छ ।

    निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ जना यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ जना यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।

    निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएका र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ ।

    निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ ।

  • दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

    दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

    जोहनस्बर्ग,२८ असोज (रासस÷एएफपी) । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको एक भीषण बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् । दुर्घटना आइतवार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।

    लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार,“हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।” मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिइन् । उक्त दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन्, जसलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उद्धार टोलीले अझै पनि बाँकी यात्रुहरूको खोजी गरिरहेको छ ।


    दुर्घटनाको सम्भावित कारणबारे मन्त्री माथ्येले भनिन्, “चालकको थकान वा गाडीमा आएको यान्त्रिक खराबीका कारण दुर्घटना भएको हुन सक्छ ।” दक्षिण अफ्रिका आधुनिक सडक सञ्जाल भएको मुलुक भए पनि दुर्घटनाको दर निकै उच्च छ । यहाँको सडक दुर्घटनामा प्रायः अतिवेग, लापरवाहीपूर्ण ड्राइभिङ र असुरक्षित सवारीसाधनहरू जिम्मेवार हुने गरेको बताइन्छ ।

  • अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

    वाशिङटन डिसी, २८ असोज । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरे । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित रहेको थियो ।

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका हुन् ।