Category: समाचार

  • काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

    काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

    काठमाडौँ, २७ असोजः काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

  • खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

    खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

    रासस
    चन्द्रपुर, २७ साउन । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाको १५ वर्षीया छोरी मौसमीकुमारी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।


    घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टिस्थित भित्री सडक खण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर मुत्यु भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए । जसमध्ये चार जना सकुशल पानीको खाल्टो तरेको र बाँकी तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए ।


    सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेको उनले जानकारी दिए ।


    बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको उद्धार गरेको समेत उनले बताए ।


    उद्धारपछि बालिकाहरूको उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा चिकित्सकहरूले परीक्षण गर्दा तीनैजना बालिकाकलाई मृत घोषणा गरेको महतोले जानकारी दिए । केही दिन अगाडि पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

  • सुरक्षा परिषद् बैठक : अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

    सुरक्षा परिषद् बैठक : अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

    काठमाडौँ, २७ असोज । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भए ।

  • मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

    मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

    मेक्सिको सिटी, (रासस\क्यूएनए) । मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ । मेक्सिकन अधिकारीहरूले विशेष गरी पाहाडी क्षेत्रहरू, हिमश्रङ्खला लगायतका संरचना पानीको कारण प्रभावित भएको र राहतकर्मीहरू राहत वितरणका लागि हर सम्भव प्रयास गरिरहेको जनाएका छन् ।

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्स मार्फत मौसमी अवस्थाका कारण टाढा रहेका समुदायहरूमा एयरलिफ्ट गर्न अनुमति दिएको जनाए । फसेका बासिन्दाहरूलाई उद्धार गर्न र प्रभावित समुदायहरूमा खाना पुर्याउन लगभग दश हजार सेना तैनाथ गरिएको छ । मेक्सिकोले सन् २०२५ मा असामान्य प्रकृतीको भारी वर्षाको अनुभव गर्नुका साथै राजधानी मेक्सिको सिटीमा अहिले सम्मको सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो ।

    अधिकारीहरूले उष्णकटिबन्धीय आँधीबेहरी रेमण्ड र प्रिस्किल्लाका कारण प्रशान्त तटका क्षेत्रहरूलाई नजिकबाट निगरानी गरिरहेका छन् । आँधीबेहरी र बर्षा बाट संरचना कमजोर भएको र अझै पनि देशको पश्चिमी भागमा भारी वर्षा भइरहेकोले चियापास, ग्युरेरो, ओक्साका र मिचोआकन राज्यहरूमा क्षति पुरयाइरहेको जनाएका छन् ।

  • हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

    हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

    एजेन्सी
    २७ असोज, काठमाडौं । हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको पुष्टी गरेको छ । उनको शव आजै इजरेललाई बुझाइने भएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरेको छ ।

    मृत्यु भएको ठानिएका २८ जनाको शव सोमवारै हस्तान्तरण गरिने सम्झौता भएको इजरेली दाबी भए पनि जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ। इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरेली सेनाले सोमवार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ। इजरेलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको बताइएको छ ।


    राजदूत पण्डितले इजरेली सरकारले परिवारलाई औपचारिक जानकारी दिएपछि मात्रै उनको मृत्यु भए नभएको आधिकारिक पुष्टि हुने बताए। विपिनका ठूलोबुवाका छोरा (दाजु) किशोर जोशीले इजरेलबाट नराम्रो खबर आएको सोमवार बेलुका बताएका छन्। परिवारसँग सम्पर्कमा रहेका इजरेली अधिकारीहरूले विपिनको अवस्थाबारे परिवारलाई जानकारी दिइसकेको उनले बताएका छन्। परराष्ट्र मन्त्रालले बन्दीहरूको रिहाइ र शव हस्तान्तरण प्रक्रियबारे निरन्तर जानकारी अद्यावधिक गरिरहेको जनाएको छ।

    परिवारलाई इजरेल नै बोलाएर शव हस्तान्तरण गरिने भएका कारण हमासले बुझाएका विदेशी नागरिकको शव बुझ्न केही दिने लाग्ने बताइएको छ। दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी यसअघि इजरेली सेनाले परिवार र इजरेलस्थित नेपाली दूतावासलाई गराएको थियो।

    हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन। हमासले पहिलो चरणमा सात बन्धकलाई उत्तरी गाजाबाट र दोस्रो चरणमा १३ जनालाई दक्षिणी गाजाबाट मुक्त गरेको थियो। इजरेली सेनाले उनीहरू इजरेल पुगिसकेको जनाएको छ। ज्यान गुमाइसकेका बन्धकहरूको शव भने हस्तान्तरण हुन बाँकी नै छ।

    दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलको हिरासतमा रहेका १,७०० जना कैदी र २५० बन्धक मुक्त हुन लागेका छन्। बन्धकहरू मुक्त हुनुअघि हमासले मृत र जीवित बन्धकहरूको सूची इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशी र अर्का एक बन्धकको नाम दुवै सूचीमा थिएन। हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताएका थिए। सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए।

    इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो। अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए। कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

    अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए। विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए। तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।
    बीबीसीको सहयोगमा

  • हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

    हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

    जेरुसेलम, २७ असोज (रासस\एपी) । गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहनुभएका बेला उक्त अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिक रूपमा लागू भएको घोषणा गरिएको थियो । राष्ट्रपति ट्रम्पले यस सम्झौताले युद्धलाई ‘प्रभावकारी रूपमा समाप्त गर्दै क्षेत्रीय शान्तिको ढोका खोलेको’ बताए । सम्झौताअनुसार इजरायलले एक हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ र गाजामा खाद्य सामग्री तथा मानवतावादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिनेछ । यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ ।

    यसबीच, इजरायली सेनाले अन्तर्राष्ट्रिय रेडक्रस समितिमार्फत १३ जना बन्धक प्राप्त गरेको पुष्टि गरेको छ । यी बन्धकलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ । त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ । त्यसपछि हेलिकप्टरमार्फत तिनीहरूलाई इजरायलका विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गरिने योजना रहेको बताइएको छ ।

    हमासले पनि १३ जना जीवित बन्धकहरूलाई रेडक्रस अधिकारीहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ । इजरायली सेनाका अनुसार सबै बन्धकलाई सुरक्षित रूपमा इजरायलमा ल्याइनेछ र उनीहरूको स्वास्थ्य अवस्थाको परीक्षणपछि आवश्यक सहयोग प्रदान गरिनेछ ।

    गाजा युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु र व्यापक विनाश भएपछि यो सम्झौता शान्ति स्थापनातर्फको एक निर्णायक मोडका रूपमा देखिएको छ । सोमबारको रिहाइले युद्धविरामको व्यवहारिक कार्यान्वयनको सुरुवात गर्दै क्षेत्रीय स्थायित्वको नयाँ सम्भावना उजागर गरेको छ ।

  • अमेरिकाको टेनेसीमा विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु

    अमेरिकाको टेनेसीमा विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु

    वासिङ्टन, २७ असोज (रासस\एएफपी) । अमेरिकी राज्य टेनेसीस्थित एक विस्फोटक कारखानामा भएको भीषण विस्फोटमा १६ जनाको निधन भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । यसअघि बेपत्ता र मृत मानिएका दुई व्यक्तिलाई जीवित पाइएकोले मृतकको सङ्ख्या घटाइएको थियो । शुक्रबार बक्सनोर्ट सहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको हो । कम्पनीले सैन्य प्रयोजनका साथै विध्वंसका लागि समेत प्रयोग गरिने विभिन्न प्रकारका विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

    विस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको विशाल परिसरमा रहेका भवनहरू पूर्णरूपमा ध्वस्त पारेको, माइलौँ टाढाका घरहरू हल्लिएको र भग्नावशेष हावामा उडिरहेको दृश्यहरू प्रत्यक्षदर्शीहरूले देखेको जनाएका छन् । “प्रारम्भिक रूपमा १८ जनाको मृत्यु भएको जानकारी दिइए पनि हामीले खोजीपछि पत्ता लगाएका दुई जना विस्फोटको समयमा कारखानामा उपस्थित नभएको पुष्टि गरेका छौँ”, हम्फ्रीज काउन्टीका शेरिफ क्रिस डेभिसले पत्रकारहरूलाई भने । उनका अनुसार ती व्यक्तिहरूका सवारीसाधन र व्यक्तिगत सामान भने घटनास्थलमै भेटिएका थिए, जसका कारण सुरुमा उनीहरू पनि पीडित भएको अनुमान गरिएको थियो ।

    कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई ‘एउटा गहिरो दुःखद दुर्घटना’ का रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेको छ । तर, ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्सका वरिष्ठ अधिकारी ब्राइस म्याक््र्यानले ‘हामी अहिले पनि विस्फोटको वास्तविक कारण र उत्पत्तिबारे निश्चित नतिजामा पुग्न सकेका छैनौँ’ भन्दै अनुसन्धान अझै जारी रहेको जानकारी दिए ।


    शेरिफ डेभिसले भने, “यो घटनामा कुनै आपराधिक गतिविधि संलग्न छ कि छैन भन्ने प्रश्नको उत्तर अहिले दिन सकिँदैन । यसबारे निष्कर्षमा पुग्न केही दिन, हप्ता वा महिना पनि लाग्न सक्छ ।” अधिकारीहरूले अत्यन्त सावधानीपूर्वक घटनास्थलको परीक्षण गरिरहेका छन्। बम निष्क्रिय विशेषज्ञहरूलाई पनि बारम्बार खतराको सम्भावना देखिँदा बोलाइने गरिएको शेरिफले बताए । घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचानका लागि डिएनए परीक्षण गरिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।

  • अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

    अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

    पेशावर, २६ असोज (रासस\एपी) । अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ ।

    तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेको र यसमा ५८ जना पाकिस्तानी सैनिक मारिएका र करिब ३० जना घाइते भएका छन् । उहाँका अनुसार अफगान सुरक्षाबलले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा गरेको आक्रमण आफ्नो देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको बारम्बारको उल्लङ्घनको जवाफी कारबाही हो । यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव अझ गहिरो पारेको बताइएको छ ।

    अफगान राज्य सञ्चालित मिडियाले पनि एक दर्जनभन्दा बढी पाकिस्तानी सैनिक मारिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा ठूलो सङ्घर्ष भएको जनाएको छ । तर इस्लामाबादले भने घटनाबारे तत्काल कुनै पुष्टि गरेको छैन । तालिबान सरकारको रक्षा मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले सीमामा ‘जवाबी र सफल अपरेसन’ सञ्चालन गरेको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “यदि विपक्षी पक्षले पुनः अफगानिस्तानको क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने प्रयास गर्‍यो भने, हाम्रा सशस्त्र सेनाहरू सिमानाको रक्षा गर्न पूर्ण रूपमा तयार छन् र कडा जवाफ दिनेछन् ।”

    राज्य सञ्चालित मिडिया आरटिएका अनुसार ‘प्रतिशोधात्मक अपरेसन’ अन्तर्गत अफगान सेनाले तीनवटा पाकिस्तानी सैन्य चौकीहरू कब्जा गरेको र दक्षिणी हेलमन्ड प्रान्तको सीमाक्षेत्रमा १५ जना पाकिस्तानी सैनिक मारिएका छन् । यस घटनापछि दुई देशबीचको प्रमुख व्यापारिक नाका तोरखाम आइतबार बिहान ८ बजे खुल्नुपर्ने समयमा पनि बन्द रहेको बताइएको छ ।

    पाकिस्तानले अफगान सरकारमाथि प्रतिबन्धित समूह तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरूलाई आफ्नो भूमिमा शरण दिएको आरोप लगाउँदै आएको छ । पाकिस्तानको दाबी अनुसार सो समूहले पाकिस्तानी भूभागमा घातक आक्रमणहरू गर्दै आएको छ । तर काबुलले आफ्नो भूमि अन्य मुलुकविरुद्ध प्रयोग गर्न नदिने अडान लिँदै उक्त आरोप अस्वीकार गरेको छ।

    पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार राति भएको आक्रमणको कडा निन्दा गर्दै आफ्नो देशको सेनाले ‘अफगानिस्तानको उक्साहटको उचित जवाफ मात्र नदिई, उनीहरूको धेरै चौकीहरू पनि नष्ट गरी पछि हट्न बाध्य पारेको’ दाबी गरे । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले शनिबार रातिको गोलीबारीप्रति कडा आपत्ति जनाउँदै भन्नुभएको छ, “यस प्रकारको उक्साहटपूर्ण गतिविधिलाई भारतजस्तै उपयुक्त जवाफ दिइनेछ ।” उनले यस सन्दर्भमा यो वर्षको सुरुमा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच युद्धको नजिक पुगेको सङ्कटलाई स्मरण गर्नुभएको थियो ।

    कतारको विदेश मन्त्रालयले सीमा क्षेत्रमा बढ्दै गएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय सुरक्षा र स्थिरतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । कतारले दुवै देशलाई ‘संवाद, कूटनीति र संयम’ अपनाउन आग्रह गरेको छ । एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीले नाम नखुलाउने सर्तमा मिडियासँग कुरा गर्दै अफगान सेनाले चित्राल, बाजौर, मोहमण्ड, अङ्गुर अड्डा र कुर्रमसहित खैबर पख्तुनख्वा प्रान्तका उत्तरपश्चिमी सीमाक्षेत्रहरूमा गोली प्रहार गरेको जानकारी दिए । उनका अनुसार पाकिस्तानी सेनाले पनि खैबर जिल्लाको तिराह क्षेत्रमा र अफगानिस्तानको नङ्गरहार प्रान्ततर्फ भारी हतियार प्रयोग गरेर प्रत्युत्तर दिएको थियो ।

    अर्का पाकिस्तानी अधिकारीले कुर्रम जिल्लाको टिरी गाउँमा अफगान पक्षबाट प्रक्षेपण गरिएको मोर्टार शेल खस्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र अर्को व्यक्ति घाइते भएको बताए । दुवै देशले दुई हजार ६११ किलोमिटर (एक हजार ६२२ माइल) लामो डुरान्ड रेखा साझा गर्छन्, तर अफगानिस्तानले आजसम्म यस सीमालाई औपचारिक रूपमा मान्यता दिएको छैन ।

  • बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    राष्ट्रिय समाचार समिति
    ढोरपाटन, २७ असोज । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् ।

    यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष खेती गरेको क्षेत्री र उत्पादनमा कमी आएको उनको भनाइ छ ।

    उनका अनुसार गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा विक्री भएको अधिकारीले जानकारी दिए । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१÷८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

    “बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी छ, यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु उत्साहित भएर लाग्नुभएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु लागि रहेका छौँ”, अधिकारीले भने, “खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बीउ लगाइने छ, यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ ।”

    यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँमात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।

  • पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

    पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

    २७ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ । हालसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

    फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने जनाइएको छ । फरार कैदीबन्दीको विवरण विभागको बेवसाइटमा प्रकाशित गरिनेछ ।

    त्यसैगरी जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराउने र कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा पक्राउ गरिनेछ । फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको विभागले जनाएको छ ।

  • सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

    सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

    राष्ट्रिय समाचार समिति
    सिरहा, २७ असोज । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको हो ।

    बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम रहेको र प्लास्टिक बाहेक १५ ग्राम शुद्ध रहेको उहाँले जानकारी दिनुभयो । यस अभियोगमा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूसँगै मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध ९गाँजा० लैजाँदै गरेको समूह प्रहरी देख्ने बित्तिकै झोला फालेर भागेका थिए । घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

    भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए । प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको प्रनाउ पालले बताए ।

  • विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

    विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

    तेल अभिव, २७ असोज (रासस\एपी) । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । उनी जीवित रहेको विश्वास गरिएको छ ।

    चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।


    विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहेको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेकी छिन् । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गरिन् । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् ।

    विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किए भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’

  • सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

    सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

    काठमाडौँ, २६ असोजः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । “यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ”, सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, “साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

    यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियोे । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ ।

  • नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

    काठमाडौँ, २६ असोजः नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।

    तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ७० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्याङ्कन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ । नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

  • घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

    घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

    काठमाडौँ, २६ असोजः दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् । दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अधिकांश घटना रातिको समयमा दुर्घटना भएका छन् ।

    ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए । उनले भने, “हामीले दसैँ सुरु हुनुअघिदेखि नै सवारीसाधनको जाँचलाई कडाइ गरेका थियौँ, मापसे (मादकपदार्थ सेवन)जाँच, चालक अनुमतिपत्रको निरीक्षण तथा गति सीमामा ध्यान दिने कुरामा पनि ट्राफिक प्रहरी सक्रिय थियो ।”

    ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई विशेषगरी रातिको समयमा चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि सवारी जाँचलाई समर्थन गर्न आह्वान गरेको छ । रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने र कतिपय अवस्थामा नशाको अवस्थामा तीव्र गतिमा गाडी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको प्रवक्ता सुवेदीको भनाइ छ ।

    चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेको चाप, रमाइलो गर्ने उत्साह र समयको हतारोले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले उपत्यका ट्राफिक प्रहरीले नागरिकलाई अझ बढी सतर्क रहन आग्रह गरेको छ ।

  • आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

    आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

    २६ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए ।

    ध्रुव पराशरले ३८ रन बनाए । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराए । त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को रनआउट भयो साथै शर्ट रनका कारण यूएईले कुनैपनि रन जोड्न सकेन । १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो ।

    नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए ।

    गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए । जितसँगै नेपालले विश्वकप छनोटमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।

  • सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

    सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

    काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ ।

    विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ ।

    “उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।”

  • जेनजी आन्दोलन : तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

    जेनजी आन्दोलन : तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

    काठमाडौँ, २६ असोजः गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् ।

    बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ । हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कुल दाबीमध्ये सम्पत्ति बीमा छ सय ५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।

    त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बीमा दाबीको आवेदन परेको छ । प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो ।

    प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सर्वाधिक बढी अर्थात् रु पाँच अर्ब ६१ करोड ४४ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ । त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा रु पाँच अर्ब २४ करोड ४७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु पाँच लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ ।

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु दुई अर्ब ७५ करोड ९७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले रु ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ । शिखर इन्स्योरेन्समा रु दुई अर्ब ४० करोड ८६ लाखबराबरको बीमा दाबी भएको छ । सो कम्पनीले रु ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ ।

    मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ ।

  • अझै खुलेन मेची राजमार्ग

    अझै खुलेन मेची राजमार्ग

    राष्ट्रिय समाचार समिति
    फिक्कल, २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् ।

    सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए । “सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उनले भने, “तर सि¬ङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो ।” पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा एस्काभेटरको प्रयोग गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताए । राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ ।

    मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको छ । झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् ।

    इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

    वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन । बाढीपहिरोका कारण जिल्लाका अधिकाशं स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।

    जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । राजदुवाली सडकखण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् ।

    इलाममा हालैको सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र एक जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट दुई सय ७६ परिवार विस्थापित, एक सय ५१ घर पूर्ण र तीन सय २७ घर आंशिक क्षतिग्रस्त भएको बताए ।

  • अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ ।

    विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

    यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजारबराबरमात्र गर्न सकिनेछ । यो व्यवस्था अनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्र कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाखबराबरको कारोबार गर्न सकिन्थ्यो ।

    त्यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबरमात्र गर्न सकिनेछ । प्रतिदिन रु २० हजारबराबरमात्र कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ ।

  • तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

    तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

    राष्ट्रिय समाचार समिति

    काठमाडौँ, २६ असोजः तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ ।

    उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला ९दियो०, झिलीमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइमसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी भाइकाजी मर्हजनले बताए । उनले भने, “अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ । तिहारका लागि समग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो ।”

    यसैगरी तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ । विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको सुन्धारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आउनुभएकी शान्ति भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ लुगा किन्ने तथा झिलीमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । किनमेल गर्नेका कारण अहिले व्यापार पनि राम्रो चल्दै छ ।”

    भाइटीकाको दिनमा प्रयोग हुने भाइमसला प्याक, ढाकाटोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठले बताए । उनले भने, “अहिले विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा शृङ्गार सामग्री र तिहारमा चाहिने ढाकाटोपी, टीका सेटलगायत मिठाई पनि बढी बिक्री हुने गरेको छ ।”

    चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको व्यापारीहरू बताउँछन् । अहिले यहाँका व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन् ।

  • भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

    भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

    राष्ट्रिय समाचार समिति (रासस)
    भोजपुर, २६ असोजः पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ ।

    “दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ । ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ”, उनले भने । केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ ।

    विद्युत् विस्तारसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन् । “अब अँध्यारो हटेको छ”, स्थानीय हर्कराज राईले भने, “गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।” अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ ।

  • उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

    उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

    सियोल, २५ असोज (रासस÷एएफपी) । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए ।
    परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा नेतृत्व गर्नुभएको थियो । हालै युक्रेनमा भइरहेको युद्धले उहाँलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रुसको सेनासँगै लड्न हजारौँ सैनिक पठाइसकेको र त्यसको प्रतिफलस्वरूप रुसबाट महत्त्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।
    रूसी सुरक्षा परिषद्का उप–प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी हुनुभएको थियो । केसिएनएले प्रकाशित तस्बिरहरूमा सबैजना किमको छेउमै बसेका देखिनुभएको थियो ।

    उक्त परेडमा देशका अत्याधुनिक हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा नयाँ ह्वासोङ–२० आइसिबिएम पनि समावेश थियो । केसिएनएले यस मिसाइललाई ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेको छ ।
    राजधानी प्योङयाङमा राति सम्पन्न सो कार्यक्रम अत्यन्त रङ्गीन बनेको थियो । परम्परागत पहिरनमा सजिएका हजारौँ नागरिकहरूले राष्ट्रिय झण्डा फहराउँदै उत्साहपूर्वक हर्षोल्लास प्रकट गरेका थिए । मुख्य सडकहरूमा आधुनिक हतियारहरू प्रदर्शन भइरहेका दृश्यहरू टेलिभिजन प्रसारणमार्फत देखाइएका थिए ।
    केसिएनएका अनुसार लामो दूरीका रणनीतिक क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन, भूमि–देखि–हावा र भूमि–देखि–भूमि मिसाइललगायत विशेष हतियारहरू क्रमशः परेडमा देखाइएका थिए ।
    नेता किम जोङ उनले सम्बोधन गर्दै देशको ‘अजेय’ सेनाले हरेक कठिनाइ पार गरेर उज्ज्वल भविष्यको निर्माणमा पार्टीका प्रयासलाई दोब्बर शक्ति थपेको बताउनुभयो । उहाँले युक्रेनविरुद्धको युद्धमा रुसको सेनासँगै लडिरहेका उत्तर कोरियाली सैनिकहरूको वीरता र बलिदानको खुलेर प्रशंसा गर्नुभयो ।

    “अन्तर्राष्ट्रिय न्यायका लागि विदेशी भूमिमा हाम्रा क्रान्तिकारी सशस्त्र सेनाले प्रदर्शन गरेको अदम्य लडाइँको भावना र जितले वैचारिक तथा आध्यात्मिक पूर्णता देखाएको छ”, उहाँले भन्नुभयो । दक्षिण कोरियाको दाबीअनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।

    केसिएनएले परेडलाई ‘देशको अतुलनीय रक्षा प्रविधि क्षमता र तीव्र विकासगत प्रगतिको प्रदर्शन’ भनेर वर्णन गरेको छ । यसले विश्वलाई अब उत्तर कोरियालाई बेवास्ता गर्न नसक्ने सन्देश दिएको जनाइएको छ । दक्षिण कोरियाले यस वर्षको एपेक शिखर सम्मेलनको अवसरमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच सम्भावित बैठकलाई ‘अस्वीकार गर्न नसकिने’ बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो र एकपटक ‘हामी प्रेममा पर्‍यौँ’ भन्दै असामान्य टिप्पणी गर्नुभएको थियो । तर ती भेटघाटहरूबाट स्थायी आणविक सम्झौता हुन सकेन । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक राज्य’ घोषित गरेको छ ।

    गत महिना बेइजिङमा आयोजित विशाल सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ उपस्थित हुनुभएको थियो ।

    यसै हप्ता केसिएनएले मस्को र प्योङयाङबीच जारी संयुक्त वक्तव्यमा रुसको सत्तारूढ पार्टीले उत्तर कोरियाको रक्षा क्षमता विस्तारका लागि चालेका कदमहरूलाई दृढ समर्थन जनाएको उल्लेख गरेको थियो ।

    हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका भिजिटिङ स्कलर सेओङ–ह्योन लीका अनुसार यो परेडलाई पृथक घटनाको रूपमा नभई, क्षेत्रीय भूराजनीतिक संरचनामा भइरहेको गहिरो परिवर्तनको चरम रूपका रूपमा बुझ्न जरुरी छ ।

    उहाँ भन्नुहुन्छ, “यो परेड वासिङ्टन र सियोलबीचको बलियो गठबन्धनलाई प्रत्यक्ष चुनौती दिने कडा चेतावनी हो, किनभने अब यसको ढोकामा चीन, रुस र उत्तर कोरियाको समेकित तथा शक्तिशाली त्रिपक्षीय ब्लक तयार भइसकेको छ ।”

  • गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

    गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

    गाजा, २५ असोज (रासस–सिन्ह्वा) । सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ। नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गर्नुभएको छ ।

    “इजरायल र हमासबीच शुक्रबारदेखि युद्धविराम सम्झौता लागू भएदेखि नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शवहरू फेला पारेका छन् र सीमित उपकरणका कारण खोजी कार्यमा चुनौतीहरूको सामना गरिरहेका छन्,” बासालले भन्नुभयो।

    उहाँले भन्नुभयो, “अस्थायी आश्रयहरूको ‘लगभग पूर्ण अनुपस्थिति’ भए पनि युद्धविरामपछि तीन लाखभन्दा बढी विस्थापित बासिन्दाहरू गाजाको दक्षिणी सीमाबाट गाजा शहर र उत्तरी क्षेत्रमा फर्किएका छन्।

    गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमले गाजामा करिब ३० हजार आवास एकाइहरू ध्वस्त भएको र ९० प्रतिशतभन्दा बढी नागरिक पूर्वाधारहरू प्रभावित भएको जनाएको छ।

    यसले गाजा क्षेत्रमा लगाइएको नाकाबन्दी तत्काल हटाउन र मानवीय कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ।

    इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार अबेर टेलिफोन वार्ता गरेका र दुवैले इजिप्टको रेड सीको सामुद्रिक शहर शर्म अल शेखमा हुने शिखर सम्मेलनको विस्तृत व्यवस्थाबारे छलफल गरेका थिए ।

    सम्मेलनकोसह–आयोजक इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले गर्नेछन्।

    इजिप्टको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब्देलाट्टी र रुबियोले शिखर सम्मेलनमा विश्वव्यापी सहभागिताका साथै गाजा युद्धविराम सम्झौताको पहिलो चरणको कार्यान्वयनको व्यवस्थाबारे पनि छलफल गरेका थिए।”

  • जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

    जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

    काठमाडौँ, २५ असोजः जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।


    जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए । “निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबैजना आउनुहोस्”, उनले भने । ढुङ्गानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पु¥याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताए ।


    राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।

  • कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

    कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ मा

    रासस
    पाटन । २५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते हुने भएको छ । असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।


    “हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल भएको छ । भदौ २३ र २४ को घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो । घोषित निर्वाचन र संसद् पुनःस्थापनाका विषयमासमेत छलफल भएको छ”, उनले भने, “पार्टी महाधिवेशन पनि विधिसम्मत रूपमा प्रक्रिया पु¥याएर युवाहरूलाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ ।

    निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न सकेको छैन भन्ने हाम्रो बुझाइ छ । निर्वाचनका सन्दर्भमा अन्योलता धेरै छन् ।” पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गरिने पनि प्रवक्ता डा महतले बताए ।

  • रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

    रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु

    रासस
    रसुवा, २५ असोजः स्याफ्रु(रसुवागढी खण्डमा करेन्ट लागेर आज एक जना स्काभेटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

    टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताए ।

    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

    लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

    काठमाडौँ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो ।

    राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ ?’ भन्ने सोच्न पनि सबैलाई आग्रह गर्नुभयो । सबै राजनीतिक पार्टीले अन्योल सृजना नगरी जेनजी समूहको माग पूरा गर्ने उद्देश्यसहित जनतामाझ जान उहाँले अनुरोध गर्नुभयो ।

    बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गनुभएको थियो ।

    प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । उहाँले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।”

  • निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : प्रचण्ड

    निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : प्रचण्ड

    काठमाडौँ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रेस सन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाई प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि समाजका सबै तह तप्कासँग अनुरोध गरे । देश अहिले इतिहासकै अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले बदलिँदो राजनीतिक घटनाक्रमका बीच ‘जेनजी पुस्ता’को भावना र मागलाई समेत सम्बोधन गर्नेगरी मुलुकको स्वाधिनता र स्वतन्त्रताका पक्षमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने समय आएको बताए ।


    नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरू, मधेस केन्द्रित राजनीतिक दलहरूजस्ता इतिहास भएका लोकतान्त्रिक राजनीतिक दलहरूबीचको राष्ट्रिय सहमतिमा निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिए । जेनजी पुस्ताको मागलाई समेत समेटेर नेपालको संविधान संशोधन गरी समाजमा देखिएका निराशा र असन्तुष्टि सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासन कायम गर्ने तथा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनेतर्फ समग्र राष्ट्रको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।


    अध्यक्ष दाहालले अहिले पनि केही राजनीतिक दलका नेतामा अहङ्कार देखिएकामा आश्चर्य प्रकट गर्दै यसअघि गरेका कमीकमजोरीलाई सच्याएर जनतामाझ जानुको विकल्प राजनीतिक पार्टीहरूसँग नरहेको बताए । जेनजी आन्दोलनको भावनालाई आत्मसात् गरी पार्टीको अध्यक्ष पदबाट संयोजकका रूपमा आफू रूपान्तरित भएको स्पष्ट गर्दै उहाँले आवश्यक परे संयोजकबाट पनि पछि हट्न तयार रहेको जानकारी दिए । सो संवाद कार्यक्रममा मूलधारका छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यमका करिब ३० जना सम्पादकहरूको उपस्थिति थियो ।

  • सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

    सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

    काठमाडौँ, २४ असोज । चालु आर्थिक वर्षको बजेटमा समावेश आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुनेगरी गर्न आदेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सञ्चालन गर्नका लागि यस्तो निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न पनि बजेट रकमान्तर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

    सार्वजनिक आर्थिक व्यवस्थापनको सवलीकरण र सेवा प्रवाहको प्रभावकारितासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको मन्त्री खरेलले जानकारी दिनुभयो । आगामी कात्तिक ३ देखि ५ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्र«सङ्घीय व्यापार र विकाससम्बन्धी १६औँ सभामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

    शर्तहरू पालना गर्नेगरी नेपाल विद्युत् प्राधिकरणको स्रोत व्यवस्थापन गर्न रु २० अर्बबराबरको ऋणपत्र÷ऊर्जा बण्ड चरणबद्ध रूपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गरिएको छ । नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतको सरुवा गरिएको छ ।

    बैठकले पेरुको लिमामा आगामी मङ्सिर १० र ११ गते आयोजना हुने खाद्य र कृषि एवं बिरुवा वंशाणुसम्बन्धी अन्तरराष्ट्रिय सन्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई स्वीकृति दिने निर्णय गरेको छ । यही असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदालाई समर्थन गरिएको छ ।

    इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको स्वामित्वमा रहेको ४०९.५३ वर्गमिटर जग्गासँग साँध जोडिएको भारतीय रेल विकास निगम लिमिटेडको स्वामित्वमा रहेको ५२६.३४ वर्गमिटर जग्गासँग सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय भएको पनि उनले बताए ।


    आगामी कात्तिक १७ देखि २२ गतेसम्म फ्रान्समा आयोजना हुने सहरी केबलकार प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविलाल पन्थलाई स्वीकृति प्रदान गरिएको छ । राजपत्राङ्कित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गरी कामकाजमा खटाइएको छ । सहरी विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा नगर विकास कोषसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।