Category: समाचार

  • आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

    आलेखः एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

    राजकुमार पराजुली\रासस
    काभ्रेपलाञ्चोक, २१ असोजः सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढीपहिरोले पुनःथिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ ।

    वर्षायाममा केही भागमा क्षति पु¥याए पनि अघिल्लो साताको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको हो । यस वर्ष पनि असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिनेगरी, पैदलसमेत हिँड्न नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदियो ।

    गत साल असोजमा क्षत्विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेकाबेला राजमार्ग पुनःथिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर सडक बगाएको छ ।

    पुनःअस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरोपछि बनाइएको डाइभर्सन पूर्ण रुपमा कटान गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो ।

    विसं २०७२ असार १८ गते औपचारिक रुपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १७ र १८ मा वर्षाले पुनःक्षति गराएको हो ।

    सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।

    गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्ण रुपमा बगाएका थियो । गत सालको बर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो ।

    यही असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । इञ्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रुपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । हिजो सोमबारदेखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ ।

    कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्र्याक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुनेछ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।

    कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।

    क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । “स्थायी पुनःनिर्माणबारे त्यसपछि के गर्ने भन्ने विषयमा मन्त्रालय र विभागको निर्णयअनुसार अघि बढिनेछ”, योगशेले भन्नुभयो ।

    यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले काम गर्नेछ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताउनुभयो । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उहाँको भनाइ छ ।

    यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।

    यस राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आइएको थियो । पुनःमनसुन सक्रिय रहने भएपछि असोज १६ गतेदेखि रातको समयमा १२ घण्डा रोक लगाइए पनि असोज १८ र १९ गतेको बाढीपहिरोले यस राजमार्गको सडक सम्पर्कबिच्छेद पारिदिएको छ ।

    दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई रु एक अर्ब उपलब्ध गराएको थियो । त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिपरले २५ टनसम्म गिटीबालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

    बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।

  • लाङ्टाङ क्षेत्रबाट बाह्र जनाको सकुशल उद्धार

    लाङ्टाङ क्षेत्रबाट बाह्र जनाको सकुशल उद्धार

    रसुवा, २१ असोजः लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् । पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो । सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् ।

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    काठमाडौँ, २१ असोजः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

    सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ९३० मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै

    क्षतिग्रस्त बिपी राजमार्गमा अस्थायी सडक बनाइँदै

    काभ्रेपलाञ्चोक, २१ असोजः यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।

    डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो ।सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनःक्षतिग्रस्त बनाउँदै बगाएको थियो ।

    राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन÷चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर बिन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनःनिर्माण गरिनेछ ।

    शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबारदेखि नै पुनःडाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।

    सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ आवतजावत भइरहेका छन् ।

    बिपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले जनाएको छ ।

    कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोशी खोला तथा मङ्गलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्सेकुनामा हिँड्ने बाटोसमेत छैन ।

    सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मङ्गलटार तथा सुरक्षित स्थानमा राखिएको थियो ।
    जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बिपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।

    शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गको विभिन्न स्थानमा लेदासहितको सानासाना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारीसाधन होल्डसवारी साधन ‘होल्ड’ गरिएको थियो ।
    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

  • प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

    प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

    काठमाडौँ, २१ असोजः जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।

    त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् ।

    गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।

    मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।

    प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधार गृहबाट नौ सय ६३ बालबन्दी भागेका थिए ।

    सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरुले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार कैदीबन्दीलाई प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागको भनाइ छ ।

    कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र पूर्वी रुकुममा कारागार छैनन् ।

  • बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौँ, २१ असोजः पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल एक्समार्फत उनले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प्रकट गरे उनले भनेका छन्, “यस कठिन समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरुसँग उभिएका छन् ।”

  • कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

    काठमाडौँ, २१ असोजः धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

    शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्ति पनि आजै समापन गरिएको हो । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिनेक्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आमनेपालीले आआफ्नो गच्छेअनुसार मनाएका छन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिइ सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

    लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई ‘कौमुदी’ पनि भनिन्छ । आज सोमबार जुवा खेल्ने विधानसमेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा आराधना गरिएको छ ।

  • मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै

    मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै

    नारायण न्यौपाने र प्रकाश सिलवाल/रासस

    काठमाडौँ, २० असोजः अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५ जनाको मुत्यु भएको जनाएको छ ।

    कोसी प्रदेशको इलाममा मात्रै पहिरोमा परी ३७ जनाको निधन भएको छ । सो प्रदेशमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ । विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको होलीकोप्टरबाट उद्धार गरिएको छ ।


    सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाअनुसार गए रातिसम्मको विवरणमा सवारी दुर्घटनासमेत गरी कोसी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक बेपत्ता र १७ जना घाइते भएका छन् । झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।

    कोसी प्रदेशको जनजीवन सामान्य बन्दै

    अविरल वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको कोसी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । सो प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पूर्वतयारी र विपद्पश्चात उद्धार तथा सहयोगका काम गरेको थियो । जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाका आधारमा सरकारको पूर्वतयारी प्रभावकारी भएकाले थप मानवीय क्षति हुन पाएन् ।

    सुरक्षा निकायले मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राखेर उद्धारका काम गरेको र पानी रोकिएकाले अहिलेसम्म उद्धारका काम पूरा भएको सुरक्षा निकायका कोसी प्रदेशका प्रमुुखहरुले बताएका छन् । झापाको आयरल्याण्डमा परेकालाई तथा पाँचथर र सङ्खुवासभाबाट गर्भवतीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । कोसीमा पानीको बहाव आइतबार प्रतिसेकेण्ड पाँच लाख ३३ हजार क्युसेक रहेकामा आज दुई लाख ७७ क्युसेकमा झरेको छ ।

    नेपाली सेनाका उपरथी एवं पूर्वीपृतनापति गौरवकुमार केसीका अनुसार पानी पर्न रोकिएकाले जनजीवन सामान्य हुँदै गएको र प्रभावित क्षेत्रमा आवश्यकतानुसार उद्धारको काम भइरहेको राससलाई जानकारी दिनुभयो ।

    “इलामको दुर्गम र सदरमुकामबाट टाढा रहेको स्थानमा पहिरोले पुरानो घर भत्किएर बढी मानवीय क्षति भयो । इलाममा पनि यहाँ बढी मानवीय क्षति भएको छ”, उपरथी केसीले भन्नुभयो, “सप्तकोसीको जल सतह अहिले घटेको छ । ठाउँठाउँमा पहिरो गएकाले मेची राजमार्ग पूर्णतःबन्द छ । एकै कमाण्डस्थलबाट धेरै ठाउँमा संयुक्त सुरक्षा टोलीबाट काम भएकाले सूचना आदानप्रदान र उद्धारमा सहजता आएको छ ।”

    नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जनजीवन समान्यतर्फ उन्मुख भएको बताउनुभयो । उहाँले आज इलामबाट घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको र अबको काम इलामको लाइफलाइनका रूपमा रहेका सडकलाई पुनःसञ्चालन गराउन केन्द्रित भएको बताउनुभयो । उहाँले प्रदेशका अन्य जिल्लामा पनि पहिरोबाट प्रभावित सडकलाई खुलाउन प्रहरी केन्द्रित भएको बताउनुभयो । उक्त क्षेत्रमा बाढीबाट मानवीय क्षति हुन पाएको छैन । राहत वितरणको काम कानुनबमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।

    सशस्त्र प्रहरी बलका कोसी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्धारका काम सकिएपछि पुनःस्थापनाका लागि काम भइरहेको बताउनुभयो । उहाँले सशस्त्रकै युनिटसमेत पनि प्रभावित भएको स्थितिमा आफूहरु उद्धार र पुनःस्थापनाको कामलाई सँगसँगै गर्दै अघि बढेको बताउनुभयो ।

    “पहिरोबाट इलाममा धेरै घर ध्वस्त भएका छन् । पुनःनिर्माणका लागि सरकारले नीति बनाउँछ होला । सप्तकोसीको जल सतह घटेकाले खतराको सङ्केत हटिसकेको छ । हामी जनजीवन समान्य बनाउन तल्लिन छौँ”, उहाँले भन्नुभयो ।

    सडक अवरुद्ध हुँदा केन्द्रीय टोली जान सकेन

    इलाममा बाढी तथा पहिरोबाट सात ठाउँमा सडक अवरुद्ध भएकाले गृहमन्त्री ओमप्रकाश अर्यालसहितको केन्द्रीय टोली आज स्थलगत अवलोकनका लागि त्यसतर्फ जान सकेन । सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले केन्द्रीय टोली आउने तय भए पनि सडक अवरुद्ध भएकाले सम्भव नभएको जानकारी दिनुभयो ।

    “हामी सबै मिलेर विपद्को डटेर सामना गर्र्नु र धैर्य राख्नु नै अहिलेको विकल्प हो । हामी संयुक्त सुरक्षा कमाण्डमा रहेर कोसी प्रदेशको विपद्पश्चात्को उद्धार र सहायोगमा जुटेका छौँ । यसमा नागरिकसँगको सहकार्य पनि आवश्यक छ”, उहाँले भन्नुभयो ।

  • आलेखः विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी

    आलेखः विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी

    प्रगति ढकाल / रासस

    काठमाडौँ, २० असोज । नेपालीहरूको महान् चाड दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारणहरू दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टीका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टीका थाप्न जानै बाँकी नै थियो होला । यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो ।

    जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो । त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुशरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सोमबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन तीन दिनसम्म रोक्ने निर्णय ग¥यो ।

    यस निर्णयले यसपटक बाढी–पहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङले सरकारको पूर्वतयारीका कारण भौतिक पूर्वाधारमा क्षति भए पनि विगतमा जस्तो सडकमा यात्रा गरिरहेका यात्रुहरूको धनजनको क्षति हुन नपाएको बताए । गत वर्षको असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो ।

    रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना४ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा३ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको थियो ।

    गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा गर्न नहुने भन्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता ग¥यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारीसाधन बन्द गर्न सके । यस वर्षजस्तो न त कडाइका साथ सवारीसाधन आवागमनमा रोक लगाइयो । गत वर्ष सरकार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीमा चुकेको सम्बन्धित विज्ञहरुले टिप्पणी गरेका थिए ।

    गत वर्षको असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यकाको अधिकांश भाग डुबाउनमा परेको थियो । यहाँका बासिन्दाले नसोचेको विपद् बेहोर्नुप¥यो । काठमाडौँ उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै पनि कयौँलाई तर्साइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । अठार जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।

    गत असार २८ गते पनि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको डेब्रिज बहावका कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमस्तिष्कमा नमीठो सम्झना बनेर रहेको छ । यस पटक सरकारको राम्रो पूर्वतयारीका कारण अप्रिय घटनाहरू हुन पाएन ।

    पूर्वसूचनाको वेवास्ता गर्दा मानवीय क्षति

    जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्वसूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चार जना बेपत्ता हुने थिएनन् ।

    पदयात्रा त पछि पनि जान सकिन्थ्यो नि । खतरा छ भन्ने सूचना आउँदा आउँदै त्यसरी घरबाट निस्किनु हुन्थेन । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा भक्तपुर जिल्ला ठिमी नगरपालिका–३ एकै परिवारका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ र सङ्गीता श्रेष्ठसहित भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ वेपत्ता छन् । यस्ता अप्रिय घटनाका उदाहरणले अब भने सबैलाई पाठ सिकाओस् ।

    पहिरोको पनि पूर्वसूचना आवश्यक

    जल तथा मौसम विज्ञान विभागले बाढीको प्रभाव पर्ने सम्भावित क्षेत्रहरूमा पूर्वसूचना दिएर सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा बस्न सहयोग ग¥यो । तर बाढीको जस्तै पहिरोको पनि पूर्वसूचना प्रणालीको विकास नभएकै कारण पछिल्ला वर्षहरूमा पहिरोबाट हुने धनजनको क्षति बढ्दै गएको बताउँछन्, पहिरोविद् डा। सुवोध ढकाल ।

    इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ जना, माङ्सेवुङ गाउँपालिका–१ मा तीन, देउमाई नगरपालिका–५ मा आठ, जोगमाई गाउँपालिकामा आठ, सन्दकपुर गाउँपालिकामा छ र फाकफोकथुम गाउँपालिकामा एक जनाको ज्यान गएको उनले जानकारी दिए ।
    पहिरोविद् ढकालले पहिरोको जोखिम न्यूनीकरण गर्न पहिरो जानसक्ने स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्नुपर्ने, त्यस्ता स्थानमा नबस्न सूचना दिनुपर्ने, पहिरोको पूर्वसूचनामा राज्यको लगानी बढाउनुपर्ने, समयमा खोज तथा उद्दार कार्यलाई प्राथमिकता दिनुपर्ने, जथाभावी रूपमा खनिने सडक पूर्वाधार रोक्नुपर्ने, वातावरणमैत्री विकासमा जोड दिनुपर्ने, पहिरो रोकथामका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

    “नेपालजस्तो भौगोलिक मुलुकमा पहिरोको वर्षेनी जोखिम छ । कतिपय स्थानमा पुराना पहिरोमा बस्ती बसेका छन् । पुराना पहिरो दोहोरिएर जाने सम्भावना हुन्छ । तसर्थ, पहिरोको जोखिम भएको बस्ती तत्काल सुरक्षित स्थानमा सार्नुपर्छ,” उनले भने, “सडक यातायात आवागमनमा रोक लगाएर अझ ठूलो क्षति हुन पाएन । दीर्घकालीन समाधानका लागि जोखिम भएका स्थानमा सुरुङ निर्माण गर्नुपर्छ । नेपालजस्तो मुलुकमा सुरुङमार्ग उचित विकल्प हो ।”

    प्राधिकरणको तथ्याङ्क अनुसार गतवर्षको वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिरोका कारण तीन सय ५९ जनाले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र दुई सय ८७ जना घाइते भएका छन् । सो अवधिमा तीन हजार छ सय ९२ घर आंशिक र दुई हजार १३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । पहिरोका कारण ४० पुलमा क्षति पुगेको छ ।

    त्यसैगरी, बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् । भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मृत्यु र ४२ जना घाइते भएका छन् । हिउँपहिरोका कारण एक जना बेपत्ता भएका छन् । पहिरोको पूर्वसूचना नभएकै कारण क्षति बढी भएको प्राधिकरणको भनाइ छ ।

    विगतको घटनाबाट पाठ सिकेर अघि बढेका छौँ : प्राधिकरण

    गत वर्षको असोजमा मुलुकले बाढी, पहिरो र डुबानको अप्रिय घटना सामना गर्नुप¥यो । राजधानीकै जनताको समयमा उद्धार हुन सकेन । पूर्वसूचना प्राप्त भए पनि अन्तरसरकारी निकायबीचको समन्वयको अभाव देखियो । पूर्वतयारी पर्याप्त थिएन । त्यसबेला सरकारले आलोचना समेत खेप्नुपरेको थियो ।
    उक्त घटनाबाट पाठ सिक्दै यसवर्ष मनसुन सुरु हुनुअघि नै पूर्वतयारी र प्रतिकार्यका लागि अगाडि बढेको …

  • वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    काठमाडौँ, २० असोजः केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ ।

    उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छभने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ ।

    शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी र्दिए । उनले भने, “शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।”

    काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए । वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।

    वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताए । उनले भने, “शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।”

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

  • सेनाले यसरी गरिरहेको छ उद्धार

    सेनाले यसरी गरिरहेको छ उद्धार

    काठमाडौँ, २० असोजः इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पु¥याइएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङगाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षितस्थानमा राखिएको छ ।

  • दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन

    दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन

    कोलकाता, १९ असोज

    रासस\एएफपी । भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् । पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षाले ३०० मिलिमिटर (१२ इन्च) भन्दा बढी वर्षा हुँदा नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

    प्रचण्ड पानीको भेलले पुलहरू भत्काइदिएको छ र सडकहरू ध्वस्त पारेका छन् । “गत रात दार्जिलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्”, भारतको माथिल्लो सदनका सांसद हर्षवर्धन शृङ्गलाले भने ।
    प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै ‘ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार निरन्तर निगरानी गरिरहेको उनले बताएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, “हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन् ।”

    मुख्यमन्त्री बनर्जीका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन्, र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन् ।
    दक्षिण एसियामा मनसुनको समयमा बाढी र पहिरो सामान्य भए पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता प्राकृतिक विपद् हालका वर्षहरूमा झन् बारम्बार र घातक बन्दै गएका छन् ।

  • बङ्गलादेशः डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु

    बङ्गलादेशः डेङ्गु ज्वरोका कारण २१२ जनाको मृत्यु

    २० असोज, ढाका । बङ्गलादेशमा आइतबार डेङ्गु रोग सङ्क्रमित नौ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यो वर्ष एकै दिनमा सबैभन्दा धेरै डेङ्गु सङ्क्रमितको मृत्यु भएको हो । यो बर्ष कुल डेङ्गु सङ्क्रमितको मृतकको सङ्ख्या २१२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी दिएको छ ।


    तथ्याङ्क अनुसार बङ्गलादेशभर आइतबार यस वर्ष एकै दिनमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित उपचारका लागि भर्ना भएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा अस्पताल भर्ना भएका डेङ्गु सङ्क्रमित बिरामीहरूको सङ्ख्या एक हजार ४२रेकर्ड गरिएको छ । यससँगै यो वर्ष लामखुट्टेबाट सर्ने डेङ्गु रोगको कुल सङ्क्रमितहरूको सङ्ख्या ४९ हजार ९०७ पुगेको छ।

    डेङ्गुको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन दर रोक्न र लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन्। बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो । यो पछिल्ला केही बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु सङ्ख्या हो। सामान्यतया बङ्गलादेशमा मनसुनको मौसममा देखिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी फैलिरहेको पाइएको छ।

  • वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै

    वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दै

    इनरुवा (सुनसरी), २० असोजः अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ ।

    गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले जानकारी दिए । अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए । आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।

  • ‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

    ‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

    चितवन, २० असोजः नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । यो सडक लामो समयसम्म अवरुद्ध हुँदा हजारौं यात्रु बीच बाटोमै अड्किनु परेको थियो ।

  • आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

    आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

    काठमाडौँ, २० असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन \चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा पछिल्लो एक सातामा बाढी र पहिरोका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।

  • आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

    काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।
    आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

    आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन ।


    माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

    कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मङ्गलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मङ्गलबार साँझदेखि नै सुरु गरिँदैे छ ।

  • भारी वर्षाका कारण रौतहटका विभिन्न गाउँ डुबानमा

    भारी वर्षाका कारण रौतहटका विभिन्न गाउँ डुबानमा

    चन्द्रपुर (रौतहट)

    २० असोज । भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ ।

    पानीले धानबालीमा पनि क्षति पुगेको उनले बताए । विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५.० मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ । रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिलिटर वर्षा भएको उनको भनाइ छ । उनका अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् ।

    अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् । झाझ नदीमा आएको बाढीका कारण गौर गङ्गापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उनको भनाइ छ ।


    राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । गुजरा नगररपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताए ।

    वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

  • बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

    बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

    २० असोज, पाँचथर । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।
    फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।

    जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते छन् । फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएको प्रहरीले जनाएको छ । फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।


    वर्षाका कारण अधिकांश सडकहरु क्षतिग्रस्त हुँदा घाइतेहरु सुविधासम्पन्न अस्पताल जान पाएका छैनन । सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन् ।

  • काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु

    काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु

    काठमाडौँ, १९ असोजः काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा सरसफाइ सुरु गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित बल्खु, टेकु, विष्णुमती करिडोरलगायत क्षेत्रमा नगर प्रहरी र सफाइकर्मीको सहायताले सफाइ तथा हिलो व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ ।

    नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका एक सय जना कामदार, तीन वटा जेसिभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा काम भएको छ ।

    बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडि, टेकु दोभान, बङ्सीघाट, च्यासल, शङ्खमूल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा बाढीजन्य सफाइको काम गरिएको थापाले जानकारी दिए । बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको उनले बताए ।


    “हिलो पूरै पानी पानी भएको छ । साबेलले निकाल्न र मेसिनले समेत सोहोर्न नसक्ने अवस्था छ । त्यसैले आज केही ठाउँमा काम गर्न सकिएको छैन । घाम लागेमा भोलिदेखि बाँकी रहेका सबै काम गर्ने तयारी छ”, थापाले भने ।

  • वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

    वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

    काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

    बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आज बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।

  • नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

    नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

    काठमाडौँ, १९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताए । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

  • नेपाल एयरलायन्सले भैरहवा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौँ लैजाने

    नेपाल एयरलायन्सले भैरहवा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौँ लैजाने

    लुम्बिनी, १९ असोजः नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ । “यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् ।

    यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौँ जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ ।”

    चार्टर्ड फ्लाइटका लागि सो एयरलायन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधारण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौँ चार्टर उडान गर्न थालेको हो ।

  • इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत

    इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत

    १९ असोज, फिक्कल । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिउ ।
    पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् ।


    यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् ।

    यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ । पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ ।

    पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् । यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ ।

    यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए । “सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ”, कोइरालाले भने, “सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ ।”

  • सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

    सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

    १९ असोज, इनरुवा । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बाली रातो भण्डासमेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरी सवारीसाधान सञ्चालनमा समेत रोक लगाइएको छ ।

    यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ ।

  • रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

    रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका

    १९ असोज, भादगाउँ । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्षीया सनिता श्रेष्ठ रहेका छन् ।

    संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिए । उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताए । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।


    बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए । यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरु थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

  • मौसम खुलेसँग आन्तरिक उडान सञ्चालन

    मौसम खुलेसँग आन्तरिक उडान सञ्चालन

    काठमाडौँ, १९ असोजः अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए । उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित उडान तथा अवतरण भइरहेका छन् ।”


    जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलको आन्तरिकतर्फ यात्रुहरुको चाप बढेको जनाइएको छ । शनिबार आन्तरिकतर्फका सबै उडान तथा अवतरण स्थगन भएपछि रोकिएका यात्रु गन्तव्यतर्फ गइरहेका छन् । आज बिहान मौसम अनुकूल भएसँगै नेपालगञ्ज र भद्रपुरमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भइसकेको तथा पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि मौसम अनुकूल रहेकाले आन्तरिक उडान सुरु गरिएको महाप्रवन्धक पाण्डेले बताए । विमानस्थलको अन्तरराष्ट्रियतर्फका उडान तथा अवतरण भने शनिबार बेलुकीदेखि नै नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान : देशभर वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान : देशभर वर्षा

    काठमाडौँ, १९ असोजः हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ९मनसुनी वायुको० प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

    कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    चितवन, १९ असोजः अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ ।
    शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो ।

    शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उहाँका अनुसार काठमाडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।

    धादिङ, तनहुँलगायतका जिल्लाहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनले जानकारी दिए ।

  • पाँचथर बोलेरो दुर्घटना : मृतक ६ जनाकै पहिचान

    पाँचथर बोलेरो दुर्घटना : मृतक ६ जनाकै पहिचान

    पाँचथर, १९ असोजः तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मोरङको उर्लाबारी नगरपालिका–८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका–२ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका–४ का २१ वर्षीया गीता हाङगाम छन् ।

    घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमा मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका–४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाइँ रहेका छन् । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।