Category: समाचार

  • पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन नहुने

    पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन नहुने

    मलेखु (धादिङ)

    १९ असोज । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् ।
    सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्रायः शून्यजस्तै बनेको छ ।

    वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको जनाइएको छ । आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ ।

    त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने, “सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ । विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ । पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन ।”

    प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो ।

    पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् । वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

  • सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

    सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

    धरान ९सुनसरी०, १९ असोज । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । जलवहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् । सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।

    आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो । उनले भने, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन् ।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ । बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गरेका छन् ।

  • यसरी गरिन्छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

    यसरी गरिन्छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन

    १९ असोज, काठमाडौं । गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन सार्वजनिक गरिसकेको छ ।

    कोशी प्रदेशका केही जिल्ला अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रमा पर्ने साना ठूला नदीहरुमा बहाव उल्लेख्ने बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिए । इलामलगायत पहाडी जिल्लामा बढी वर्षा हुँदा पहिरोको पनि उत्तिकै जोखिम रहेको उनले पूर्वानुमान गरे । यो बेलामा धेरै प्रयोग गरिने शब्दहरु हुन् हल्कादेखि मध्यम , भारी , धेरै भारी र अति भारी वर्षा । यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो ।

    जल तथा मौसम विज्ञान विभागले आफ्ना सूचनाहरुमा उक्त शब्द नियमित रुपमा प्रयोग गर्दै आएको छ । मौसमसम्बन्धीका जानकारहरुले यी शब्दहरु बुझ्न सक्छन् तर आम सर्वसाधारणले यस्ता प्राविधिक शब्दहरु नबुझेका हुनसक्छन् । तपाइँ पनि यी शब्दबारे दोधारमा हुनुहुन्छ भने अब प्रष्ट हुनुहुन्छ ।

    यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन

    जल तथा मौसम विज्ञान विभागले ती शब्दहरुको परिभाषित नै गरेको छ । यस्ता प्राविधिक शब्द र भनाइलाई उसले अथ्र्याएर जानकारी दिने गरेको छ ।

    बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रुपमा परिभाषित गर्ने गरिएको छ । दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर उल्लेख गर्ने गरिएको छ । ५० मिलिमिटरदेखि माथि १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षाका रुपमा मापन गर्ने गरिएको छ ।

    यस्तै १०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ । यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिने गएिको विभागले जनाएको छ ।

    हल्का बदली, अधिकांश बदली र पूर्ण बदली

    यस्तै बदलीका बारेमा पनि बुझ्न जरुरी छ । विभागले वर्षाको जस्तै बदलीको बारेमा समेत परिभाषित गरेको छ । बादल नभएको अवस्थालाई मौसम सफा भनिन्छ । आकाशको २५ प्रतिशत भागमा बादल लागेको अवस्था छ भने त्यसलाई मुख्यतया सफा भनेर भन्ने गरिएको छ ।

    छब्बीसदेखि ५० प्रतिशतसम्म बादल लागेको अवस्थालाई आंशिक बदली भनिन्छ । साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशत बादल लागेको अवस्थालाई जनाउँछ ।

    यस्तै ७६ प्रतिशतमाथि ८८ प्रतिशतसम्म आकासमा बादल लागेको छभने अधिकांश क्षेत्रमा बदली भन्ने गरिएको छभने १०० प्रतिशत बादल लागेको अवस्थालाई भने पूर्ण बदली भनेर परिभाषित गर्ने गरिएको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभएको छ ।

  • अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

    अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

    काठमाडौँ, १८ असोजः शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।
    पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोले आवात–जावत बन्द छ ।

    यसैगरी फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ ।

    यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताउनुभयो । प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

  • काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी

    काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी

    काठमाडौँ, १८ असोजः शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारियो । यस्तै, नदी किनारका सडकमा राखिएका सवारीसाधनलाई पनि त्यहाँबाट सुरक्षित स्थलतर्फ लगियो । फस्न लागेका मोटरसाइकललाई हतार हतार डुबान क्षेत्रबाट निकालिएको दृष्यले काठमाडौँमा बाढीको असर पर्न थालिएको अनुभूति भइसकेको छ । केही सञ्चारकर्मी र यात्रुले डुबानको दृश्यलाई कैद गरिरहेका थिए ।

    पानी परिरहेको र थप जोखिम हुन सक्ने भएकाले डुबान भइरहेको बस्तीभित्र कोही पस्ने कुरा भएन । त्यही बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, हरी विकास सचिव गोपालप्रसाद सिग्देलसहितको टोली त्यहाँ पुगेको देखियो । उहाँहरूले मानवीय र भौतिक क्षति हुन नदिन सतर्कता अपनाउन सम्बन्धित निकाय र स्थानीय प्रशासनलाई निर्देशन गर्नुभयो ।

    मन्त्री घिसिङसहितको टोलीले आज काठमाडौँभित्रको धोवीखोला करिडोर, मनोहरा, विष्णुमतीर, बागमती करिडोर, चोभार–गल्छीलगायत क्षेत्रमा निरीक्षण गरेको थियो । लतिपुरतर्फका करिडोरमा ललितपुर महानगरपालिका प्रमुख चिररिबाबु महार्जनसहितले पनि निरीक्षण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा जुटिरहेको देखियो ।

    यहाँ रहेका नौ वटा स्वचालित बाढीमापन केन्द्रमध्ये बागमती खोकना केन्द्रमा तीन दशमलव पाँच मिटरको सतर्कता विन्दु रहेकामा साँझ ६ बजेसम्ममा तीन दशमलव ५८ मिटर पानीको सतह भइसकेको थियो । यस्तै, मनहरा खोला, बालकुमारी केन्द्रमा चार दशमलव चार मिटरसम्म खतरा तह मानिएकामा चार दशमलव ४३ मिटरको तह पुगिसकेको छ र यो बढ्दो क्रममा रहेको छ । यो बढ्दो क्रमले टेकु, बल्खु र सानेपास्थितका क्षेत्रमा खतराको घन्टी बजेको अनुभव गरिएको छ । च्यासलस्थित नेकपा ९एमाले०को केन्द्रीय कार्यालय र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को खेल मैदानमा बाढी पस्न थालेको छ ।

    गत वर्ष असोजको दोस्रो साता पनि यस्तै गरी दुई दिनसम्म लगातार परेको वर्षाले ठूलो मानवीय र भौतिक क्षति गरेकाले यस वर्ष जल तथा मौसम विज्ञान विभागले हरेक तीन तीन दिनको मौसम पूर्वामानुमान प्रणाली सार्वजनिक गरी सतर्क रहन अनुरोध गर्दै आएको थियो । त्यसले पूर्वतयारीमा जुट्न राज्यका निकाय र जनसमुदायलाई केही सहज भएको छ । विभागको पूर्वानुमान अनुसार नै बागमती, गण्डकी, मधेस र लुम्बिनीका विभिन्न क्षेत्रमा आज बिहानदेखि पानी परिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म रहने छ । अनुमानका कारण लामो र जोखिमयुक्त मार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मुलुकभित्रका आन्तरिक उडान सबै बन्द गरिएका छन् ।

    रातिको समयमा अझ धेरै पानी पर्ने भएकाले तीनै तहका सरकार, सुरक्षा निकायसमेत परिचालन भई ती क्षेत्रमा मानवबस्तीलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र सुरक्षाका अन्य उपाय अपनाउने क्रम जारी छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत् बागमती नदी वरिपरिका बासिन्दालाई बाढीले विस्थापन गर्ने ठुलो सम्भावना रहेकाले बाढी नघटुञ्जेलसम्म अस्थायी रूपमा बस्न व्यवस्था उपलब्ध गराउन त्यहाँ वरपरका विद्यालय र कलेजलाई आव्हान गर्नुभएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको आग्रहमा आफूले त्यहाँका विद्यालय र कलेजलाई आवश्यक निर्देशन दिन शिक्षा मन्त्रालयका सम्बन्धित शाखामार्फत निर्देशन दिएको उहाँले जनाउनुभएको छ ।

    यस्तै, काठमाडौँ महागरपालिकाको विपद् व्यवस्थापन विभागले जोखिम भएका नदी किनार छेउछाउका बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न थालिसकेको छ ।

    यही असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्मका काभ्रे, सिन्धुपाल्चोक, रसुवा मकवानपुर, बरा पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा मध्यमदेखि अति भारी वषौको पूर्वानुमान छ । त्यसबाट उत्पन्न हुनसक्ने विपद्को सामना गर्न सरकारी संयन्त्रहरू तयारी अवस्थामा देखिएका छन् । वर्षाका कारणले आउन सक्ने जोखिम व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनाका छ वटा हेलिकप्टर, अन्य निजी हेलिकप्टर, ड्रोन, तीन वटै सुरक्षा निकाय र प्रत्येक स्थानीय तहमा आवश्यक स्वयंमसेवकलाई तयारी अवस्थामा राखेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

    अविरल वर्षापछि आउन सक्ने सम्भावित जोखिमका लागि सरकारी र गैरसरकारी निकायसँगको समन्वयमा सबै संयन्त्रलाई परिचालन गरिएको सरकारले सार्वजनिक रूपमा जनाइसकेको छ । विभिन्न राजनीतिक दलले पनि विज्ञप्ति जारी गरी विपद्पछिको अवस्था सामना र मानवीय सहयोगका लागि तयारी अवस्थामा रहेका जनाएका छन् ।

  • तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्यो पानी ?

    तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्यो पानी ?

    काठमाडौँ, १८ असोजः देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ । बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

  • राजमार्गमा रोकिएका सवारीलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

    राजमार्गमा रोकिएका सवारीलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ, १८ असोजः गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पु¥याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्‍याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिए । बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले सुनाए ।


    प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ । बाढी, पहिरोका सन्दर्भमा गरिएका कामको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनाअनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने सवारीसाधनको आवतजावत आजदेखि असोज २० गते सोमबारसम्म बन्द गर्न÷गराउन पनि मन्त्रालयले पत्राचार गरेको छ । त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिइएको छ ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि असोज २० सम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्देशन गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । विभागको पूर्वानुमानअनुसार हाल देशभर वर्षा भइरहेकाले मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आह्वान गरेको जनाइएको छ ।

  • बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

    बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

    काठमाडौँ, १८ असोजः काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।

    बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिए ।

  • राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

    राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

    काठमाडौँ, १८ असोजः प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छिन् । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरिन्
    प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी हुन् ।

    “हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन् । राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्, जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्”, उनले भनिन् । प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न सबैलाई अनुरोध गरिन् ।

  • मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

    मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

    रबात (मोरक्को), १८ असोज (रासस/एपी)
    पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो ।

    प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् । राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका छन् ।

    – आन्दोलनको माग र नाराहरू –

    प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही ठाउँमा हिंसात्मक घटनामा परिणत भएका छन् । बुधबार मात्रै, बैंकहरू लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट गरिएका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो ।

    मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष प्रायः सरकारतर्फ नै केन्द्रित हुँदै आएको छ । बिहीबारको प्रदर्शनमा सहभागी सयौँ युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

    – प्रधानमन्त्रीको प्रतिक्रिया –

    प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै मृतकहरूको निधनमा शोक व्यक्त गर्नुभयो । उहाँले सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गर्नुभयो ।

    “संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशले सामना गर्ने समस्याहरूलाई समाधान गर्ने एक मात्र सही बाटो हो”, अखान्नोचले भन्नुभयो ।

    – हिंसा र क्षतिको विवरण –

    गृह मन्त्रालयका अनुसार तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सानो सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा तीन युवाको मृत्यु भयो । मन्त्रालयले उनीहरू प्रहरी हतियार खोस्ने प्रयासमा मारिएको दाबी गरेको छ, तर प्रत्यक्षदर्शीहरूले यसलाई पुष्टि गर्न सकेका छैनन् ।

    उक्त भिडन्तमा ३५४ जना घाइते भएको बताइएको छ, जसमा अधिकांश सुरक्षाकर्मी रहेको मन्त्रालयको दाबी छ । तेइस वटा प्रान्तमा सयौँ कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएका छन् । मन्त्रालयले देशभर करिब ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको अनुमान गरेको छ ।

    – ‘जेन जेड २१२’ आन्दोलन –

    कथित जनरेशन जेड २१२ नामक नेतृत्वविहीन आन्दोलनले यी प्रदर्शनहरू आयोजना गरेको हो । इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ ।

    प्रदर्शनकारीहरूले दैनिक जनताका लागि आवश्यक स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोड्दै आलोचना गरेका छन् । उनीहरूले सन् २०३० को विश्वकप आयोजनाका लागि अर्बौं डलर खर्च भइरहे पनि विद्यालय र अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन् ।

    स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सडकमा सबैभन्दा लोकप्रिय बनेको छ । अर्को चर्चित नारा थियो – ‘स्टेडियमहरू तयार छन्, तर अस्पतालहरू कहाँ छन ?’

    हालै अगादिरको एक सार्वजनिक अस्पतालमा आठ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको छ ।

    – व्यापक असमानताप्रति आक्रोश –

    मोरक्को द्रुत विकासतर्फ अघि बढिरहेको भए पनि समाजमा गहिरो असमानता रहेको तथ्य प्रदर्शनहरूले उजागर गरेका छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था निकै कमजोर छ, रोजगारीको अवसर न्यून छ र यही कारण युवाहरू आक्रोशित भएका छन् ।

    जनरेशन जेड २१२ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकार केवल नारा होइन, यो गम्भीर माग हो ।”

    – गिरफ्तारी र झडप –

    देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । केहीलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरूले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिएको देखिएको छ ।

    प्रदर्शनका आयोजकहरूले बारम्बार आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे पनि कतिपय सहरमा स्थिति नियन्त्रण बाहिर गएको छ । डिस्कोर्डमार्फत जारी एक सन्देशमा आयोजकहरूले ‘दमनकारी सुरक्षा दृष्टिकोण’ को निन्दा गर्दै प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका थिए ।

    तर विभिन्न सहरका प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार, धेरै स्थानमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरे, गाडीमा आगो लगाए र सरकारी भवनहरूमा तोडफोड गरे ।

    – अन्तर्राष्ट्रिय तुलना –

    विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई नेपाल, केन्या र मेडागास्कर जस्ता मुलुकहरूमा हालै देखिएका युवानिर्देशित आन्दोलनसँग तुलना गरेका छन् ।

    यी सबै आन्दोलनहरूको केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष, असमानता र आधारभूत सेवाप्रतिको माग रहेको देखिन्छ ।

  • भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु हुने

    भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु हुने

    बेइजिङ, १७ असोज (रासस/एपी)
    भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुने भएको छ । दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै जाँदा दुवै देशले पुनः प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् । सन् २०२० मा कोभिड–१९ महामारी सुरु भएपछि दुवै मुलुकबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो । त्यसपछि पनि बेइजिङ र नयाँदिल्लीबीच सीमा विवादका कारण सम्बन्धमा तनाव रहँदा उडान सेवा निरन्तर निलम्बित रह्यो ।

    चीनका लागि भारतीय दूतावासले सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित एक विज्ञप्तिमा तोकिएका केही प्रमुख सहरहरूबीचको प्रत्यक्ष उडान अक्टोबर महिनाको अन्त्यसम्ममा पुनः सुरु हुने उल्लेख गरेको छ । तर यो निर्णय कमर्सियल विमान सेवाहरू अर्थात् एयरलाइनहरूको अन्तिम सहमति र तयारीमा आधारित हुने जनाइएको छ ।

    दूतावासले यसलाई भारत सरकारले अवलम्बन गरेको ‘भारत–चीन सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण गर्ने नीति’ अन्तर्गतको महत्त्वपूर्ण कदम भएको पनि स्पष्ट गरेको छ । यसबीच, भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी इन्डिगोले बिहीबार घोषणा गर्दै अक्टोबर २६ देखि भारतको कोलकाता र चीनको ग्वान्झाउबीच प्रत्यक्ष उडान सेवा पुनः सञ्चालन गर्ने बताएको छ ।

    यो विकास हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सात वर्षपछि चीन भ्रमणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ । प्रधानमन्त्री मोदीले गत महिना एक क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी हुन चीनको यात्रा गर्नुभएको थियो, जसलाई दुई देशले आपसी सम्बन्धलाई पुनः सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।

    स्मरणीय छ, सन् २०२० मा भारत–चीन सीमा क्षेत्रमा हिमाली क्षेत्रमा भएको झडपपछि दुवै देशबीचको सम्बन्धमा गम्भीर गिरावट आएको थियो । त्यस घटनामा चार जना चिनियाँ सैनिक र २० जना भारतीय सैनिकको ज्यान गएको थियो, जुन दशकमै भएको सबैभन्दा भीषण हिंसात्मक झडप मानिएको थियो । त्यसपछिका वर्षहरूमा उच्चस्तरीय राजनीतिक सम्पर्क र सहकार्यमा ठप्प अवस्था देखिएको थियो ।

  • मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

    मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

    कोलम्बो, १७ असोज (रासस\सिन्ह्वा)

    मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरुले शुक्रबार जनाएका छन् । श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै, नेशनल अथोरिटी अन टोब्याको एन्ड अल्कोहलका अध्यक्ष डा आनन्द रत्नयाकाले रक्सीको प्रयोग देशमा सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण खतरा बनेको उल्लेख गर्दै २१ प्रतिशत जनसङ्ख्याले रक्सी पिउँने गरेको बताउनु भएको छ ।

    श्रीलङ्कामा मदिरा सेवनका खतराहरूबारे चेतना जगाउने र स्वस्थ जीवन शैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रव्यापी कार्यक्रमहरूको श्रृङ्खलाका साथ देश भरि विश्व समानुभूति दिवस मनाइन्छ । यस पर्वको अवसरमा श्रीलङ्का भरिका सबै मदिरा पसलहरू शुक्रबार बन्द रहन्छन् ।

  • असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू : काठमाडौँ प्रशासन

    असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू : काठमाडौँ प्रशासन

    काठमाडौँ, १७ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ ।

    काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरु घट्न सक्ने सम्भावना भएको हुँदा आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताए ।


    उनले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न पनि अनुरोध गरे । उनले एक सूचना जारी गरी भनेका छन्, “काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।”

    विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नं. १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नं. २० (विपद उद्धार) गण, सिनामंगलको सम्पर्क नं. ९८५१२७२०३५, ०१– ४४७१३३७ र जिल्ला आपत्कालीन कार्य संचालन केन्द्रको सम्पर्क नं. ९८५१३६२९३७ मा सम्पर्क गर्न समेत प्रशासनले सूचना जारी गरी अनुरोध गरेको छ ।

    यसअघि नै ललितपुर प्रशासनले पनि कान्ति लोकथपका सवारी अवागमन रोक्ने निर्णय गरिसकेको छ । विहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ । अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ । शनिवार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ ।

  • शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

    शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

    काठमाडौँ, १७ असोज । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।

    विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।

    “शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,” उनले भने, “आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।”

    आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।
    (((

  • पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

    पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

    काठमाडौँ, १७ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।
    प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनस्र्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपद््बाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

    जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको जनाउँदै सचिवालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    “सम्भावित डुबान हुन सक्ने क्षेत्रका बासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पूर्वतयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न र आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानमा यात्रा नगर्नु हुन अनुरोध छ”, सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’


    काठमाडौँ, १७ असोज । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ ।

    सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो ।

    यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए ।
    विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो

    यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिए । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराउनुभएको सहप्रवक्ता थापाले जानकारी दिए ।

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

    राष्ट्रिय समाचार समिति
    बागमती, १७ असोज । हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।


    जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

    विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

  • नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकको बढी सम्भावना

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकको बढी सम्भावना

    रासस\एएफपी

    स्टकहोम, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता घोषणा हुने नोबेल शान्ति पुरस्कारका लागि आफ्नो चाहना खुलेर प्रकट गरेका छन् । तर, ओस्लोका विज्ञहरूका अनुसार उनको विभाजनकारी शैली र ‘अमेरिका फस्र्ट’ नीतिका कारण उनलाई भन्दा पर्दामुनि चुपचाप शान्ति स्थापना गर्ने ‘बिर्सिएका’ नायकहरूको सम्भावना बढी छ ।

    – पुरस्कार घोषणा मिति र प्रक्रिया –
    प्रतिष्ठित नोबेल पुरस्कारको घोषणा अक्टोबर १०, शुक्रबार हुने तय छ । यसअघि सोमबार चिकित्सा, त्यसपछि क्रमशः भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्रका विजेताहरूको नाम सार्वजनिक गरिनेछ । यसबीच, ट्रम्पको विज्ञानविरोधी नीतिबारे बहस पनि उठ्ने विज्ञहरूको अनुमान छ ।

    – ट्रम्पको दाबी र विज्ञहरूको प्रतिक्रिया –
    राष्ट्रपति ट्रम्पले हालै भनेका छन्, “यदि मैले नोबेल शान्ति पुरस्कार पाइनँ भने यो संयुक्त राज्य अमेरिकाप्रति अपमान हुनेछ ।” तर, पुरस्कारमा अनुसन्धान गर्ने इतिहासकार ओइभिन्ड स्टेनर्सनले भने, “यो कुरा पूर्ण रूपमा अकल्पनीय छ ।”

    उनका अनुसार, नोबेल शान्ति पुरस्कार बहुपक्षीय सहयोग र साझा प्रयासहरूको रक्षा गर्ने मूल्यमा आधारित छ, तर ट्रम्प एकतर्फी कदम चालेर त्यस मूल्य विपरीत जाने नेताका रूपमा परिचित छन् । ट्रम्पले धेरै युद्धहरू सुल्झाएको दाबी गरे पनि विज्ञहरूका अनुसार त्यो तथ्याङ्क अतिरञ्जित छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (एसआइपिआरआई) का प्रमुख करिम हग्गग भन्छन्, “नोबेल समितिले ठोस सफलताको प्रमाण खोज्छ, केवल दाबीमा भर पर्दैन ।”

    – मनोनयन र सम्भावित उम्मेदवार –
    यस वर्ष ३३८ जना व्यक्ति तथा संस्थाको नाम मनोनित भए पनि ती नाम ५० वर्षसम्म गोप्य राखिन्छन् । विज्ञहरूले भने पुरस्कार पर्दामुनि शान्ति स्थापना गर्ने स्थानीय मध्यस्थकर्ताहरूलाई दिइनुपर्ने बताउँदै आएका छन् । हग्गगका अनुसार, सुडान, साहेल, सोमालिया, इथियोपिया र इरिट्रियाजस्ता क्षेत्रमा द्वन्द्वका बीच जनताको जीवन जोखिममा पारेर सहयोग गर्ने स्वयंसेवकहरू वास्तविक शान्ति नायक हुन् ।

    त्यस्तै, गाजामा पत्रकारहरूको बढ्दो मृत्युबीच पत्रकारहरूको सुरक्षा समिति वा रिपोर्टर्स विदाउट बोर्डर्स जस्ता संस्थाहरू पनि बलिया उम्मेदवारका रूपमा देखिएका छन् । ओस्लो पिस रिसर्च इन्स्टिच्युटकी निना ग्रेगर भन्नुहुन्छ, “एकै वर्षमा यति धेरै पत्रकारको हत्या भएको इतिहासमा पहिलो पटक हो ।” यसैगरी, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीकी विधवा युलिया नाभाल्नाया पनि सट्टेबाजहरूको मनपर्ने सूचिमा पर्छिन् ।
    – साहित्य र विज्ञानतर्फ पनि उत्सुकता –
    नोबेल साहित्य पुरस्कार अक्टोबर ९ मा घोषणा हुनेछ । यसपटक स्विट्जरल्यान्डका चर्चित लेखक क्रिश्चियन क्राक्ट बलिया दावेदार हुन् । गोथेनबर्ग पुस्तक मेलामा स्विडिस एकेडेमीका सदस्यहरूको उपस्थिति यसलाई बलियो सङ्केतका रूपमा लिइएको छ । गत वर्ष दक्षिण कोरियाकी हान काङ्गलाई पुरस्कृत गरिएको थियो भने यस वर्ष जर्मन, फ्रान्सेली वा एङ्ग्लो–स्याक्सन भाषी लेखकमा पुरस्कार जान सक्ने अनुमान गरिएको छ ।

    नोबेल सिजन सोमबार सुरु हुने चिकित्सा पुरस्कारदेखि अक्टोबर १३ मा अर्थशास्त्र पुरस्कारसम्म जारी रहनेछ । यसपटक प्रतिरक्षा प्रणाली, क्यान्सर स्टेम सेल र भोक नियन्त्रणसम्बन्धी अनुसन्धानले सम्मान पाउने सम्भावना रहेको विज्ञहरूको भनाइ छ ।

    – पुरस्कारको महत्त्व –
    नोबेल पुरस्कार विजेताहरूलाई डिप्लोमा, स्वर्णपदक र करिब १२ लाख अमेरिकी डलरसहित सम्मान गरिन्छ । विज्ञहरूका अनुसार, यो पुरस्कार केवल व्यक्तिगत गौरव मात्र नभई विश्व शान्ति र विज्ञानलाई प्रेरित गर्ने महान प्रतीक हो । ट्रम्पले पुरस्कारको चाहना प्रकट गरे पनि विज्ञहरूको दृष्टिमा पर्दामुनि कार्यरत ‘बिर्सिएका शान्ति नायकहरू’ नै यस वर्षको प्रमुख दाबेदार देखिएका छन् ।

  • सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

    सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

    रासस\एएफपी

    जेनेभा, १७ असोज । २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै यो भन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । “हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्च देखि तीव्र हिंसा भएको संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर टर्कले बताए ।


    गरिबी समस्याले ग्रस्त देश हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरताको पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने हिंसात्मक आपराधिक गिरोहबाट पीडित रहेको छ । सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा उल्लेखित भन्दा बढी मानिस मारिएको तथा र करिब सात हजार मानिसहरू घाइते भएको जनाउदै गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरेको टर्कले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई बताए ।


    गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्स भन्दा बाहिर डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने“ खतरा रहेको उनले बताए । न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्ने जनाइएको छ । “यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको टर्कले बताए । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरू बिचको “हिंसाको चरमोउत्कर्ष“ को निन्दा गरेका छन् ।

    गत मार्च देखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको उनले बताए । सेप्टेम्बरको मध्य सम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको छ । यी अधिकांश ड्रोन आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने तुर्कले बताए ।


    तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय“ भएको उनले बताए । हाइटीका बालबालिकाहरू गिरोहद्वारा तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएको भन्दै उनले चिन्ता व्यक्त गरे । “हामी हाइटीका जनताका लागि यो अवस्थालाई परिवर्तन गर्न सक्छौँ र गर्नुपर्छ “टर्कले भने ।

  • फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते

    फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते

    रासस\क्यूएनए

    (फिलिपिन्स) मनिला, १७ असोज । मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ ।

    मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ हजार २२१ परिवारहरूको भूकम्पको कारण प्रभावित भएको जनाइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन आयोगले अझै पूर्वाधार र कृषिमा भएको क्षतिको परिमाण निर्धारण गर्न बाँकी रहेको जनाएको छ । फिलिपिन्स प्यासिफिक रिंग अफ फायरमा अवस्थित भएको कारण ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिममा रहेको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

  • एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

    एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

    वासिङ्टन, १६ असोज (रासस\एएफपी)
    विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार–चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोब्र्सको रियल–टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ ।

    मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् । पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे ।


    त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने । उनले कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याएका छन् ।


    विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोब्र्सले टिप्पणी गरेको छ ।

  • इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

    १६ असोज, जाकार्ता । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् ।

    स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको थियो । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति जारी गर्दै भने, न्नुभयो, “विद्यार्थी उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भवनको भग्नावशेषमुनि गाडिएको आशङ्का गरिएको छ ।”

    यसअघि प्रारम्भिक जानकारीअनुसार तीन जनाको मृत्यु भएको र ३८ जना बेपत्ता रहेको पुष्टि भएको थियो । तर पछिल्लो विवरणअनुसार मृत्यु हुनेहरूको सङ्ख्या ठूलो मात्रामा बढेको छ । अधिकारीहरूले बुधबार पत्रकार सम्मेलनमा बेपत्ता हुनेहरूको सही सङ्ख्या अझै पुष्टि गर्ने प्रयास भइरहेको बताए । यसबीच, उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पुर्‍याउन विशेष ध्यान दिएको छ ।

    राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अपरेसन प्रमुख एमी फ्रिजरका अनुसार सात वटा क्षेत्रमा जीवनको सङ्केत पाइएको छ र त्यहाँ केन्द्रित भएर उद्धार भइरहेको छ । “मुख्य संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ । हामीले प्राथमिकता ती व्यक्तिलाई दिएका छौँ जो अझै पनि प्रतिक्रियाशील अवस्थामा छन्”, फ्रिजरले भने ।

    बुधबार बिहानदेखि दर्जनौँ अभिभावकहरू ढलेको विद्यालयको भग्नावशेष नजिकै बस्दै आफ्ना छोराछोरीको सुरक्षाबारे चिन्तित मुद्रामा प्रतीक्षा गरिरहेका थिए । उद्धार टोलीले भारी मेसिनरी र हातैले भग्नावशेष हटाउँदै बाँचेका व्यक्तिहरूलाई जीवितै निकाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।

  • झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

    झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

    १६ असोज, बनियानी । बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

    विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

  • दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

    दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

    १६ असोज, काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने पाइएको छ । धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।

    घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

    त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

  • अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

    अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

    १६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी\अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ । कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरेका छन् ।


    उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ ।

    यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७–१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

    बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ ।

    यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाँचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ । “चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशुबस्तु मर्न सक्दछ । तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ”, बुलेटिनमा भनिएको छ ।

    खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।

    मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

    आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

    १६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ ।

    त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

    आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

    बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने गरी साइत तोकिएको छ । विजयादशमी आफैंमा शुभ दिन हो । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । तर राज्य सञ्चालकहरुले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको हो ।
    समितिका सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।

  • छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

    छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

    १५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात हप्तासम्म विस्तार गर्न डेमोक्रेटहरूको सहमति आवश्यक भएको दाबी गरेका छन् भने डेमोक्रेटहरूले आवश्यक सहुलियत बिना सिनेटमा कुनै कोषसम्बन्धी प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेका छन् ।

    डेमोक्रेटिक नेता हाकिम जेफ्रीज र चक शुमरले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूलाई दोषारोपण गरेका छन् । “महिनौँसम्म जनताको जीवन कठिन र महँगो बनाएपछि, डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले अब सङ्घीय सरकार बन्द गराउनुभएको छ किनभने उहाँहरू अमेरिकी जनताको स्वास्थ्य सेवाको रक्षा गर्न चाहनुहुन्न”, विज्ञप्तिमा उल्लेख छ।

    यो बन्द कति समयसम्म रहने भन्नेबारे गहिरो अनिश्चितता छ । सिनेटरहरू आज राति क्यापिटलबाट निस्कँदा समाधानबारे कुनै निश्चितता थिएन । भोलि बिहान फेरि रिपब्लिकनहरूले प्रस्तुत गरेको उही कोष योजनामाथि मतदान हुने बताइएको छ । रिपब्लिकन नेताहरूले आवश्यक सङ्ख्यामा डेमोक्रेटहरूको समर्थन नआएसम्म सो प्रस्ताव दैनिक रूपमा मतदानका लागि ल्याउने घोषणा गरेका छन् ।

    सरकारी बन्दले लाखौँ सङ्घीय कर्मचारीहरूलाई ‘अवकास’ मा पठाउनेछ, भने आवश्यक सेवामा पर्नेहरूलाई भने काम गर्नुपर्ने तर गतिरोध अन्त्य नभएसम्म तलब नपाउने स्थिति रहनेछ । तर, केही कर्मचारीले भने निरन्तर तलब पाउनेछन्, किनभने उनीहरूको जागिर कङ्ग्रेसको वार्षिक विनियोजनबाट प्रत्यक्ष वित्तपोषित हुँदैन । सामान्यतया, जीवन र सम्पत्तिको सुरक्षा जस्ता आवश्यक कार्यहरू भने जारी रहनेछन् । अघिल्ला बन्दहरूले अध्यागमन सुनुवाइहरू रद्द गरेका थिए, घर खरिदकर्ताहरू र साना व्यवसायहरूलाई संघीय ऋण उपलब्ध गराउन ढिलाइ गरेका थिए र विभिन्न क्षेत्रमा अवरोध ल्याएका थिए ।

  • प्रधानमन्त्री कार्कीले टीका नलगाउने

    प्रधानमन्त्री कार्कीले टीका नलगाउने

    १५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

  • सयपत्री फूलखेती विस्तार

    सयपत्री फूलखेती विस्तार

    १५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु उद्यमी समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् ।

    समूहमा आबद्ध महिला सयपत्री फूल खेतीतर्फ आकर्षित भएको उनले बताए । बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रुपमा फूलखेतीमा लागिरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले बताए । तिहार नजिकिँदै गरेकाले उत्पादित फूल टिप्न सुरु गरिएको उनले जानकारी दिए ।


    समूहमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरिरहेका छन् । गुरुङले भने, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस भनेर पालिकाले फूलखेती गर्ने अभियान सुरु गरेको हो ।” गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीपसमेत सिकाएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।

    उनले भनिन्, “फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलाहरुलाई प्रदान गरिएको छ ।” आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए ।