Category: समाचार

  • विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

    विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

    भक्तपुर, १३ मङ्सिरः मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रदर्शनीको समापनमा एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिए ।
    प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीले भोट गरेको आधारमा प्रदर्शनरत उपकरण एवं सामग्रीमध्येबाट एभरेष्ट इङ्लिस स्कुलले रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ । भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा एवं प्रदर्शनी गरेवापत् प्रत्येक सहभागि ६७ विद्यालयलाई रु ६ हजारका दरले नगद प्रदान गरिएको थियो ।

    प्रदर्शनीमा उपत्यकाभित्रका ६७ विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ उपकरण एवं सामग्री राखिएका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य ऊर्जा, स्वास्थ्य, भवन निर्माणलगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरिएको थियो ।

    दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनीको १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामग्री प्रदर्शन गरेका थिए ।

  • चिसो पहाडबाट झरेर तराई जडीबुटी व्यावसाय

    चिसो पहाडबाट झरेर तराई जडीबुटी व्यावसाय

    धरान (सुनसरी), १३ मङ्सिरः सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

    भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उहाँले निरन्तरता दिइरहनुभएको बताउनुभयो । भोटेले भन्नुभयो, पहाडमा पहिला अस्पताल र सडक सुविधा नहुँदा बिरामी पर्दा हामीले यही जडीबुटी प्रयोग गर्ने गरेका थियौँ । यही ज्ञानलाई निरन्तरता दिँदै तराई झरेर यही व्यवसाय सुरु गरेकी हुँ ।”

    पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दिन हाटबजारमा बिक्री गर्दै तराई झर्नुहुन्थ्यो । अहिले भने सडक यातायातको पहुँच पुगेसँगै गाउँमै पनि व्यापार गर्न सहज भएको छ । सुरुमा शहरको बसाइ र गर्मीको मौसम निकै गाह्रो भए पनि विस्तारै बानी पर्दै गएपछि व्यवसाय वृद्धि हुदै गएको उहाँको भनाइ छ । अहिले दैनिक रूपमा रु ६ हजारदेखि रु १० हजारसम्म आम्दानी हुने गरेको छ । आइतबार हटियाको दिन भने रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने गरेको भोटेले जानकारी दिनुभयो ।

    भोटेको पसलमा हाल १०० भन्दाबढी जडीबुटी बिक्रीका लागि राखिएका छन् । रु ५ देखि रु २० हजारसम्मका जडीबुटी बिक्रीका लागि उपलब्ध छन् । रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक तथा सांस्कृतिक प्रयोजनका सामग्रीसम्म बिक्रीमा छन् । किरात समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसमेत उहाँले बिक्रीका लागि राख्नुभएको छ ।

    भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बासहित विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, अहिलेसम्म कुनै पनि ग्राहकबाट नकारात्मक प्रतिक्रिया आएको छैन, एकपटक सामन किनेर गएपछि अर्को पटक फर्केरै आउनुहुन्छ, यही मेरो सफलताको आधार हो । अहिले धेरैजसो काठमाडौँ, विराटनगर, वीरगञ्ज, मोरङ, झापालगायत स्थानबाट फोनमार्फत धेरै अर्डर आउने गरेको छ ।

    सोही ठाउँमा जडीबुटी व्यवसाय सञ्चालन गर्दै आउनु भएकी पासाङ् ल्यामु भोटियाले पनि १५ वर्षदेखि यही पेशालाई आत्मनिर्भरताको आधार बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरखर्चदेखि बालबच्चाको पढाइलेखाइसम्म सबै खर्च यही व्यवसायबाट धानिँदै आएको छ जडिबुटी व्यवसायबाट राम्रो भएको छ आम्दानी मेरो आम्दानीको श्रोत नै यही हो ।”

    लेकमा जन्मेर तराई झरेको पहाडी भेगको चिसो हावापानीसँग खेलेर हुर्केको सुरुमा गर्मी ठाउँमा झरेर व्यापार गर्दा निक्कै गाह्रो भएको थियो । अहिले भने घाम सहन बानी परिसक्यो व्यापारमा पनि सहज भएको छ । भोटियाले भन्नुभयो, यो जडिबुटी भनेको हाम्रो पुर्खौली पेसा नै हो । अन्य पेसामा ज्ञान नभएका कारणे पुर्खौली पेसा जडीबुटी व्यवसाय नै रोजेको उहाँले बताउनुभयो । बिक्रीका लागि जडिबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको भोटियाले बताउनुभयो ।

    सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोलालगायत हिमाली क्षेत्रका शेर्पा तथा भोटे समुदायमा आज पनि जडीबुटी सङ्कलन तथा बिक्री परम्परागत पेसाका रूपमा चलिआएको छ । विगतमा महिनौँ यात्रा गर्दै बर्कीका कुम्लो बनाएर बोकेर गाउँ शहर डुल्ने परम्परा रहे पनि अहिले यातायात तथा आपूर्तिको सहजताले गाउँमा पनि व्यवसाय गर्न सहज भएको व्यापारीको भनाइ छ ।
    राष्ट्रिय समाचार समिति (रासस)

  • एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

    एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

    काठमाडौँ, १३ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ ।

    लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ । यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

    यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ । यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

  • निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

    काठमाडौँ, १३ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए । नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उनले उल्लेख गरे । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा शीघ्र जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने जनाए ।

    उनले एकीकृत सुरक्षा योजना तथा म्यादी प्रहरी छनोटको मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेकाले थप हुने मतदान केन्द्रका आधारमा जनशक्ति स्पष्ट हुने बताए । निर्वाचनका क्रममा कूल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउनेसरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिए ।


    केन्द्रीय सुरक्षा समितिले निर्वाचनभन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ । निर्वाचनका लागि सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार नेपाली सेना परिचालनको स्वीकृति भइसकेको छ । निर्वाचनको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सघाउनेछन् ।

    यही मङ्सिर ५ गते सम्पन्न भएको मतदाता नामावली सङ्कलन कार्यमा फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नयाँ मतदाता मतदान नामावलीमा दर्ता भएसँगै कूल मतदाता एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ ।

    आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिएपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । त्यसबेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए ।

  • मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

    मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

    काठमाडौँ, १२ मङ्सिरः यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिए । पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

    नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सो पार्टीका सैद्धान्तिक दृष्टिकोण रहेका छन् । सो पार्टीको अवधारणा मन्त्री कुलमान घिसिङको हो । कार्यक्रममा उनी प्रमुख अतिथिका रुपमा रहने छन् ।

  • अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

    अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

    काठमाडौँ, १२ मङ्सिर । अध्यागमन विभागले आगामी पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत असोज १ गतेदेखि लागू हुने गरी कार्य योजना तयार पारेको भए पनि मुलुकको विभिन्न घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको जनाएको छ ।

    यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसाइ तथा उनीहरुको गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपत्कालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ । यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदान प्रक्रियालाई सरल र प्रभावकारी बनाइ पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालमा भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ९फरेन नेश्नल्स म्यानेजमेन्ट इन्फमेशन सिस्टम० को विकास गरिएको हो । सो प्रणालीलाई पहिलो चरणमा पुस १७ गतेदेखि काठमाडाँै उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ । दोस्रो चरणमा फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने बताइएको छ ।

  • नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

    नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

    काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज यहाँ नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला आयोजना गरेको छ । उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत भेला आयोजना गरेका हुन् । भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए ।


    कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताए । उनले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे । उनले भने, “पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक छैन । वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक छ ।”

    अधिकांश वक्ताहरुले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

  • नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम

    नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम

    सुदूरपश्चिम, १२ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश स्तरीय एकता सभा सुरु गरेको छ । आज धनगढीमा पहिलो सभा आयोजना गरिएको छ । सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता भीम रावलसहितका नेताले सम्बोधन गरे । कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताए ।

    दाहालले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरु केन्द्रित भएर अटाउन सक्ने बताए । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको जानकारी दिए । हिजो भए गरेका कमीकमजोरीको समीक्षा गरी महान उद्देश्य बोकेर नेकपाको निर्माण सुरु गरिएको स्पष्ट पार्दै उनले भने, नेकपाले कोरेको गोरेटो बाटोमा देश अघि बढ्दै छ, नेपालको एक नम्बर पार्टी नेकपा भइ छाड्छ ।”

    देशभरका क्रान्तिकारीले नेकपालाई नयाँ आशा र भरोसाका साथ हेरिरहेको उल्लेख गर्दै उनले बृहत शक्ति निर्माणका लागि पार्टीमा ध्रुविकृत हुन सबैलाई अपिल गरे । हाल उत्पन्न सङ्कटको निकासका लागि निर्वाचनको विकल्प नदेखिएकाले निर्वाचनको वातावरण बनाउने काममा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।


    पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी पार्टीहरुमा विगतमा भएका टुटफुटबाट शिक्षा लिएर नेपाली राजनीतिलाई स्वच्छ बनाउँदै नेकपा अघि बढ्न लागेको बताए । समाज रुपान्तरणका लागि पार्टीमा समाहित भएर अगाडि बढ्नमा सहयोग गर्न आग्रह गर्दै उनले भने, “नयाँ क्रान्तिकारी पार्टी बनाउने सोचले गठन भएको नेकपाले भ्रष्टाचार र बेथितिको अन्त्य र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको छ ।”

    सो पार्टीका नेता भीमबहादुर रावलले देशको मुहार फेर्न गठन भएको नेकपाले देशलाई रुपान्तरण र परिवर्तन गर्न चाहेको बताए । उनले देशको स्वाधिनता र समृद्धिको यात्रालाई अगाडि बढाउन पार्टी क्रियाशील रहेको उल्लेख गरे । सन्देश सभामा पार्टीका नेता प्रकाश शाह, गिरीराजमणि पोखरेल, भानुभक्त जोशीलगायतले पार्टी गठन र समसामयिक राजनीतिका बारेमा बोलेका थिए ।


    झण्डै एक दर्जनभन्दा बढी वाम घटक मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता सन्देश आज पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरेको हो । सन्देश सभास्थलमा अशान्ति हुन नपाओस् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो ।

  • पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

    पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

    काठमाडौँ, १२ मङ्सिरः पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । आज रास्वपाले उनलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ । रास्वपाले आजै अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ । त्यसैगरी पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजनमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्रसमेत रहने उम्मेदवार छनोट अडिट समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी, विभिन्न केन्द्रीय विभाग तथा आयोगमा पनि १५ जनाको नयाँ मनोनयन गरिएको छ ।

    आजै रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणाको तयारी अघि बढाइएको जनाएको छ । सो पार्टीको आजको सचिवालय बैठकले पार्टी एकता घोषणा कार्यक्रमबारे छलफल गर्न आजै केन्द्रीय समितिको बैठक डाकिएको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार उच्च संवाद समितिले प्रस्तुत गरेको प्रगतिसहित परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूलाई एउटै ध्रुवमा ल्याउने प्रक्रियामा उल्लेख्य उपलब्धि नजिकिएको बैठकमा जानकारी गराइएको थियो ।

  • खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

    खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

    काठमाडौँ, १२ मङ्सिर । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ । निगमले आज विज्ञप्ती जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ ।’

    सो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट सेवा लिन सक्ने जनाइएको छ । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।

  • एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

    एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

    काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान २१÷२१ तथा सोहेल तनभिरले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । काठमाडौँका राशिद खानले तीन, कप्तान करण केसी, साशब आलम र मिलिन्द कुमारले दुई÷दुई विकेट झारे ।

    यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भएको हो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई विकेट हात पारे ।

  • कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

    कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

    काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो । कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।

    विराटनगरको सुरुआत भने राम्रो रहेन । ओपनर लोकेस बमले ६ रन र जर्ज मुन्से शून्यमा आउट हुँदा दबाबमा परेको विराटनगरका लागि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन मात्रै बनाए । त्यसपछि आएका अहमलले उत्कृष्ट ६२ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । विराटनगरका लागि नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण योगदान दिए ।

    विराटनगर सामू जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । अहमदले पाँचौ बलमा छक्का प्रहार गर्दै विराटनगरको जीत सुनिश्चित गरे । १४औँ ओभरसम्म सुस्त गतिमा रन बनाएका विराटनगरले त्यसपछि भने गति बढाएको थियो । विराटनगरले अन्तिम पाँच ओभरमा दुई विकेट गुमाउँदै ७१ रन बनाएको थियो । कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई÷दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिए । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १–१ विकेट लिए ।

  • पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

    पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

    भोजपुर, १२ मङ्सिर । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।

    यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किबीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किबीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किबीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । यहाँ गाईपालनको कार्यक्रम सञ्चालन भइरहेकाले उत्पादित गोबरको मलको सदुपयोग गर्दै किसान किबीखेतीमा जुटेको उहाँको भनाइ छ ।

    “हाम्रो क्षेत्र किबीखेतीका लागि उपयुक्त भूगोल रहेको स्थान हो”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँ गाउँपालिकाको अनुदान सहयोगमा पशुपालनको कार्यक्रम पनि सञ्चालन गरेका छौँ । त्यही मलको सदुपयोग गर्दै किसानहरूले किबीखेती गर्दै आएका छन् ।”

    एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किबीखेतीमा जुटेका हुन् । गाउँपालिकाले किसानको दिगो आयस्रोतका रूपमा विकास गर्न किबीलगायत बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । प्रशस्त घाँस पाइने क्षेत्र भएकाले यहाँ उन्नत जातका गाईसमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

    “हामीले यहाँ पशुपालन र फलफूलखेतीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “पशुपालनबाट उत्पादन भएको मलको सदुपयोग गर्ने लक्ष्यले किबीखेतीमा पनि सहयोग गरेका छौँ । नागरिकलाई आर्थिकसँगै पोषणमा जोड्ने हाम्रो सोच हो ।”

    गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कृषिबाट आत्मनिर्भर बनाउने लक्ष्यका साथ किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न सहयोगका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।

    “किसानको मुख्य आम्दानीको श्रोत नै कृषि हो”, अध्यक्ष राईले भन्नुभयो, “श्यामशिलामा किबीको राम्रो सम्भावना रहेकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, आभोकाडोलगायत बालीका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले सहयोगका कार्यक्रम सञ्चालन गरेसँगै किसान आयआर्जनमा जोडिएका छन् ।”

    गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले किसानलाई आवश्यकता तथा मागका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । पशुपालनसँगै विभिन्न खेती प्रणालीमा जोडिएका किसानलाई आवश्यक तालिम तथा नियमित प्राविधिक सहयोग गर्दै आएको उहाँका भनाइ छ । राससबाट

  • बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

    बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

    म्याग्दी, १२ मङ्सिरः बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ ।

    नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

  • एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

    एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

    काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

    चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

  • नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

    नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

    रमेश लम्साल–रासस
    काठमाडौँ, १२ मङ्सिर । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको छ ।

    आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए । निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ढाकामा सम्पन्न भएको हो ।

    सो बैठकमा बुधबार (मङ्सिर १०)मा सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसमा छलफल गरेको थियो । संयुक्त कार्यदलको बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव देव र बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अलि रेजाको सहअध्यक्षता रहेको थियो ।

    निर्देशक समितिको बैठकमा विभिन्न छवटा विषयमा छलफल भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव देवले जानकारी दिए । बैठकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आआफ्नो प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति भएको छ । सो सम्झौताअन्तर्गत बङ्गलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्नेछ । यस्तै दुई देशबीच क्षमता अभिवृद्धि कार्यक्रमसमेत अगाडि बढाइनेछ ।

    विसं २०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो । सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बङ्गलादेश निर्यात भइरहेको छ । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतका तर्फबाट एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

    प्राधिकरणले बङ्गलादेशलाई छ दशमलव चार सेन्टमा प्रतियुनिटका दरमा बिजुली बिक्रीका लागि सम्झौता गरेको थियो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन, भारतीय प्रसारण प्रणाली र बहरामपुर (भारत) भेरामारा (बङ्गलादेश) अन्तरदेशीय प्रसारण लाइन हुँदै बिजुली प्रवाह भइरहेको छ । त्यसअघि २०८१ जेठ ११ गते नेपाल बङ्गलादेशबीच जलस्रोत क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्र, विज्ञ समितिको बैठकले जलस्रोत क्षेत्रको विकासमा साझा सहकार्य गर्ने सहमति भएको थियो ।

    विसं २०८० जेठ २ गते सम्पन्न पाँचौँ बैठकले नेपालमा उत्पादित ४० मेगावाट बिजुली निर्यातका लागि विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभीएनलाई बिजुली उपलब्ध गराएको छ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पुर्याइरहेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात भइरहेको छ ।

    कुल चार सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिँदै आएको छ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत ९बेहरामपुर भेरामारा० चार सय केभी बिजुली बङ्गलादेश गइरहेको छ ।

    प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेश बिजुली निर्यात गर्र्न गरी यसअघि नै सम्झौता भएको थियो । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको थियो ।

    विसं २०८० जेठ २ को ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच छ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सम्झौता भएको थियो । त्यसपछि हरेकजसो संयुक्त निर्देशक समितिको बैठकमा दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका बारेमा पनि उल्लेख हुने गरेको छ । यसपटक पनि निर्देशक समितिको बैठकमा सो आयोजनाको बारेमा उल्लेख गरिएको छ ।

    यसपटक पनि बैठकपछि जारी गरिएको वक्तव्यमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउनका लागि बङ्गलादेशले आयोजना मूल्यङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अगाडि बढाउने र संयुक्त उपक्रम निर्माणसम्बन्धी समझदारीलाई शीघ्र निष्कर्षमा पुर्याउने उल्लेख छ ।

    यसअघि नै दुई देशबीच सहकार्यपूर्ण सहभागिताका आधारमा सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठकअगावै टुङ्गो लगाउने सहमति भएको थियो ।

    नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति यसअघि भएको थियो । यस्तै, नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गर्ने सहमति पनि भएको थियो ।

    यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने सहमति भएको थियो । बिहीबार सम्पन्न बैठकमा समेत नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने उल्लेख छ ।

    बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता यसअघि नै भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । संयुक्त निर्देशक समितिको पाँचौँ बैठकमा नै दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो ।

    दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।

    त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । सो संयन्त्रमार्फत ऊर्जा क्षेत्रको विकास, ऊर्जा सहकार्य, यस क्षेत्रमा भएको विकासको अनुभव आदानप्रदान हुँदै आएको छ ।

  • एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

    एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

    गलकोट, १२ मङ्सिर । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।

    अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । विसं २०७२ मा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमा ल्याएर सुरुआत गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला एउटा साँढेसहित ५७ वटा गाई छन् ।

    स्थानीयको निःशुल्क प्राप्त ८२ रोपनी जमिनमा करिब आठ लाखका संरचना निर्माण गरिएको छ । स्थानीय प्रजातिका वैदिक गाई संरक्षणमात्र होइन, गाईको गहुँत प्रशोधन गरेर आयुर्वेद औषधि बनाउने तयारीसमेत गरिएको संरक्षण केन्द्रका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । संरक्षण केन्द्रका गाई बिहान एकपटक मात्र दुहिन्छ, त्यो पनि बाच्छाबाच्छी अघाएपछि, यहाँका बाच्छाबाच्छी दाम्लोमा बाँधिन्न, चौबीसै घण्टा खुला छोड्छौँ”, अध्यक्ष आचार्यले भने, “संरक्षण केन्द्रका परिकल्पनाकार मुक्तिनाथ बाबाको इच्छाअनुसार बाच्छाबाच्छी अघाएपछिमात्र बिहान एक छाक दूध दुहुने हो, साँझमा दुहुने चलन छैन ।”

    थोरैथेरै भएको दूध घ्यू पूजापाठमै प्रयोग हुन्छ । पछिल्लो समय गाउँघरमा जर्सी गाई पाल्नेहरू बढ्दैछन् । स्थानीय प्रजातिका गाई देख्नै मुस्किल छ । संरक्षण केन्द्रमा स्थानीय प्रजातिका गाई सङ्ख्या बढ्दै जाँदा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै छ । बागलुङको पञ्चकोट घुम्न जाने अधिकांश पर्यटक गौवंश संरक्षण केन्द्रमा समेत पुग्न थालेको पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताए ।

    संरक्षण केन्द्रका अध्यक्ष आचार्यले भने, “तिहारको गाईपूजामा गाई पुज्नेहरूको भीड नै लाग्यो, डेढ लाख त भेटीमात्र उठ्यो । एकैठाउँमा स्थानीय प्रजातिका धेरै गाई भएपछि तिहारमा मात्र होइन अन्य समयमा पनि पाठपूजा, वैतरणी गर्न आउनेहरूको सङ्ख्या बढ्न थालेको छ । गाईको गहुँतसमेत लिन आउनेको सङ्ख्या बढ्दो छ ।”

    उनका अनुसार यहाँका गाईलाई कृत्रिम गर्भाधान गराउन पाइँदैन । गाईको गोबरबाट निकट भविष्यमा धुप निर्माण गर्ने योजना रहेको अध्यक्ष आचार्यको भनाइ छ । गौवंश संरक्षण केन्द्र पञ्चाकोट विकास परिषद्को सहयोगमा चल्दै आएको छ । गाईको रेखदेख र हेरचाहका लागि पाँच जना गौसेवक खटिएका छन् ।

    घाँस काट्ने, गोबर सोर्ने, दानापानी खुवाउने काममा खटिने गौसेवकलाई पारिश्रमिक पञ्चकोट विकास परिषद्ले उपलब्ध गराउँदै आएको छ । संरक्षण केन्द्रका गाईलाई बागलुङ नगरपालिकासँगै काठेखोला, जैमिनी र पर्वतबाट समेत स्थानीयले निःशुल्क पराल उपलब्ध गराउँदै आएका छन् ।

  • ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

    ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

    ढाका, १२ मङ्सिर (रासस–एपी) । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

    अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो । अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले विस्तृत क्षेत्रलाई प्रभाव पारेको र पीडितको सङ्ख्या अत्यधिक रहेको बताए ।


    करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार ००० परिवार बसोबास गर्छन्, जसमा जलवायु–प्रभावित शरणार्थीहरूको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।

    आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दाहरू आफ्ना घरका भग्नावशेषबीच डुल्दै जले–नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकहरूले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको बताए ।

    सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी, रोजगारीको अभाव तथा जलवायु–प्रेरित प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ, जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् । अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

  • हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

    हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

    हङकङ, १२ मङ्सिर (रासस–एएफपी) । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् । सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ ।

    बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरवाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

    एएफपी पत्रकारहरूले बिहीबार बिहानसम्म केही फ्ल्याटहरू अझै पनि जलेको देखे पनि आगोको तीव्रता घट्दै गएको थियो । बाँसको मचानमा लागेको आगोले ठूलो आवाज निकाल्दै धुवाँ र खरानी आकाशसम्म उडेका थिए । ६५ वर्षीय निवासी युएनले झ्यालहरू मर्मतका कारण बन्द भएकाले धेरै बासिन्दालाई आगो लागेको थाहा पाउन ढिलाइ भएको र छिमेकीहरूले फोन गरेर मात्र खाली गर्न आग्रह गरेको बताए ।
    हङकङ अग्निशमन विभागका निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि छन् । उनी सहकर्मीहरूसँग सम्पर्क विच्छेद भएको केही समयमै गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका थिए । सरकारी प्रवक्ताका अनुसार ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।

    सहरका नेता जोन लीले करिब २७९ जनासम्म बेपत्ता भएको प्रारम्भिक अनुमान रहेको बताउँदै ९०० भन्दा बढी बासिन्दाले अस्थायी आश्रय लिएर बस्नुपरेको जानकारी दिए । तर राहतकर्मीहरूले रातभरै बेपत्ता सूची अद्यावधिक गरिरहेकाले वास्तविक सङ्ख्या पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

    फायर सर्भिसका उप निर्देशक डेरेक आर्मस्ट्रङ चानले ‘घटनास्थलको ताप अत्यन्तै उच्च भएकाले केही तलासम्म पुग्न कठिन भएको’ बताउँदै उद्धार प्रयास निरन्तर जारी राखिने जनाए । हावा र खसेका भग्नावशेषका कारण आगो एक ब्लकबाट अर्कोमा फैलिएको सम्भावना पनि उनले उल्लेख गरे ।


    चिनियाँ राष्ट्रपति सी जिनपिङले मृतक तथा घाइतेप्रति समवेदना व्यक्त गर्नुभएको छ भने सहरका नेता लीले आफू ‘गहिरो दुःखी’ रहेको बताउँदै प्रभावित बासिन्दालाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिए । स्थानीय मिडियाका अनुसार आसपासका केही ब्लक पनि खाली गरिइरहेका छन् ।

    राजमार्गका केही भाग बन्द गरिएका छन् भने राहत टोली ठूलो सङ्ख्यामा परिचालन गरिएको छ । विगतमा हङकङका घना बस्तीहरूमा यस्ता आगलागी बारम्बार देखिन्थे, तर पछिल्ला दशकहरूमा कडा सुरक्षा मापदण्डले जोखिम घटाएको भए पनि यस पटकको दुर्घटनाले सहर पुनः शोकमा डुबेको छ ।

  • श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

    श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

    कोलम्बो, १२ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् ।

    डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ भने एक हजार १५८ परिवारका करिव चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । डिएमसीले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाउदै कम्तिमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको उल्लेख गरेको छ ।

    डिएमसीका अनुसार वाढीका कारण पुर्ण प्रभावित बदुल्ला जिल्लामा सबै भन्दा बढी १८ जनाको मृत्यु भएको छ भने केगालेमा ७ र नुवारा एलियामा ४ जनाको मृत्यु भएको छ । यसै गरी हम्बनटोटा र कुरुनेगलामा एक–एक जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाले मध्य र पाहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

    मौसमी अवस्था बिग्रँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ । भारी वर्षाले गर्दा थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ भने प्रमुख सडकहरू बन्द छन् । आपतकालीन टोलीहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा खोजी र उद्धार कार्यहरू जारी राखेका छन् भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ ।

  • चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

    चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

    बेइजिङ, १२ मङ्सिर (रासस–एएफपी) । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा प्रवेश गरेका कामदारहरूसँग ठोक्किएको कुनमिङ रेलवे ब्युरोले विज्ञप्तिमा जनाएको छ ।

    उक्त दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको र सुरक्षासम्बन्धी प्रक्रियाहरू पूर्णरूपमा मूल्याङ्कन गरिने जनाइएको छ । बिहीबार दिउँसोसम्म प्रभावित रेलमार्गमा यातायात सामान्य रूपमा सञ्चालनमा आएको थियो । चीनमा अस्पष्ट कार्य–नियम तथा कमजोर सुरक्षा मापदण्डका कारण यस्ता औद्योगिक दुर्घटनाहरू बारम्बार हुने गरेको उल्लेख गर्दै अधिकारीहरूले आगामी दिनमा कडाइका उपायहरू अपनाइने आश्वासन दिएका छन् ।

  • पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    काठमाडौँ, ११ मङ्सिरः उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।

    पूर्वसभामुख महराविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो । “तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ”, उच्च अदालत पाटनले आज गरेको आदेशमा भनिएको छ ।

  • राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

    राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

    काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ साल मङ्सिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था गर्न सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

  • प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

    प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

    काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र निर्वाचनको निष्पक्षताबारेमा ढुक्क हुनुपर्ने विषय राखेका थिए ।


    छलफलमा सहभागी एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले देशमा भइरहेका विभिन्न घटनाले पनि निर्वाचनको वातावरण बनिनसकेको प्रधानमन्त्रीलाई स्मरण गराइएको बताए । एमालेले आफूहरु निर्वाचनबाट डराएर भाग्ने पक्षमा भने नरहेको पनि स्पष्ट गरेको छ । सर्वोच्च अदालतमा एमालेका तर्फबाट र अन्य अधिवक्ताहरुका तर्फबाट परेका रिट विचाराधीन रहेको छ भने आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन सरकार र निर्वाचन आयोग जुटिसकेको छ ।

    निर्वाचनको तयारीलाई घनिभूत बनाउन प्रमुख दलसँग संवाद बढाउने क्रममा आज प्रधानमन्त्री कार्कीले एमालेका नेतहरुलाई बोलाएकी हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनको विश्वसनीयतामा शङ्का नगर्न आग्रह गर्दै जेनजी आन्दोलनको मूल मर्म नै नयाँ जनादेश रहेकाले चुनावमा केन्द्रित हुनु सबैको दायित्व भएकामा जोड दिनुभएको उनको सचिवालयले जनाएको छ ।

    एमालेले सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिनु, फरार कैदी पक्राउ नपर्नु र लुटिएका सबै हतियार फिर्ता नहुनुजस्ता घटनाले पनि निर्वाचनको वातावरणमा प्रश्न उठेको जनाएको थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई स्थान हद गरिनु पनि लोकतान्त्रिक अभ्यास नभएकामा एमाले नेताहरुले ध्यानाकर्षण गराएको नेता बर्तौलाले जानकारी दिए ।

  • एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

    एनपिएलः सुदूरपश्चिम प्लेअफ नजिक

    काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो ।

    लुम्बिनीद्वारा जितका लागि पाएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । आजको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जोडे । सुदूरपश्चिमले ३९ रन जोड्दा दुई विकेट गुमाउँदा विनोद र शेखले ९९ रनको साझेदारी गर्दै जित दिलाएका हुन् । विनोद प्लेयर अफ द म्याचसमेत चुनिएका छन् ।

    यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रनमा अलआउट भयो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले तीन, हर्मित सिंहले तीन, हेमन्त धामीले दुई विकेट झारे ।

    दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने चारमध्ये एक खेल मात्रै जितेको छ । दुई अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । प्लेअफमा पुग्न बाँकी रहेका तीन खेल जित्नैपर्ने दबाब लुम्बिनीलाई बढेको छ ।

  • एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

    एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

    काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्स आजको खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो ।

    एक सय ५६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले नौ विकेटको क्षतिमा एक सय ३० रन मात्र बनाउन सक्यो । जनकपुरका लागि वायने पर्नेलले अर्धशतकीय पारी खेले । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र दुई चौका प्रहार गरे । यस्तै सञ्जय कृष्णमूर्तिले २५ तथा माज सदाकतले २० रन बनाए । बलिङतर्फ पोखराका विपिन खत्रीले चार, सुमित बर्माले दुई तथा कुशल भुर्तेल र जिम्मी निसमले एक एक लिए ।

    यसअघि पोखराका लागि सुमित बर्माले अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बल खेल्ने क्रममा चार छक्का र दुई चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै दिनेश खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्ग्टनले २४ रन बनाए । बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले तीन तथा कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

    यसअघि जनकपुर काठमान्डू गोर्खाजसँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो । पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको थियो । यसअघि आजै सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले परारिजत गरेको थियो ।

    एनपिएलमा शुक्रबार पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

  • जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

    प्रेमनारायण आचार्य–रासस
    अर्घाखाँची, ११ मङ्सिरः समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु हुनुभएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ ।

    परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी रु परिवार आज पनि यही प्रश्नले तड्पिएको छ । बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ ।

    सहिद माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए । बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि भविष्य खोज्दै काठमाडौँ धाउनुभयो । पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय युवाका रूपमा टोल–समुदायमा सबैले चिन्थे उहाँलाई । बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । परिवर्तनका लागि सडकमा उत्रने निर्णय उहाँको अन्तिम यात्राको कारण बन्न पुग्यो ।

    आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदैछ, राज्यले जति सुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन माधवका बुबा चन्द्र भन्नुहुन्छ, “तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए । अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् ।”

    पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किनुभयो । सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ भएपछि घरको आर्थिक भारले थिचिएर उहाँ फेरि विदेशिन बाध्य हुनुभएको छ । रोजगारीको लागि र घरमा रहेका श्रीमती तथा छोरा, छोरी पाल्नका लागि केही दिनअघि फेरि रोजगारीको लागि कतारमा जानुभयो । परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन् । छोराले कक्षा ७ मा र छोरीले कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

    आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको परिवारको गुनासो छ । माधवकी आमा मधु सारु भने अझै पनि शोकबाट उठ्न सन्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन् ।” उहाँको मौनता र आँसु घरैभरि छ । पीडाको प्रत्यक्ष प्रमाण बनेर बसेको छ ।

    पुत्र शोकको पीडा सहँदै आमा मधु भन्नुहुन्छ, “देशका लागि जसले ज्यान दियो, त्यहीका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने रु” उहाँको गुनासो छ । “देश बदल्ने सपनामा लागेका छोरालाई हामी गुमायौँ तर त्यो सपनालाई मर्न दिनुहुँदैन । जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहन्छ ।” गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

    परिवारको जेठो छोरा माधव परिवारकै मुख्य सहारा थिए । बुटवलको कान्ति माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरी रोजगारी र पढाइका लागि काठमाडौँ जानुभएका उहाँ परिवर्तन, सुशासन र प्रणाली सुधारको सपना बोकेर जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो । तर निहत्था आन्दोलनकारी माथि गोली प्रयोग हुँदा उहाँको कलिलो उमेरमै जीवन समाप्त भयो ।

    उहाँका साथी पुस्कर पौडेल भन्नुहुन्छ, माधव एउटा व्यक्ति मात्र होइन, युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि थिए । उनको मृत्युले परिवर्तन खोज्ने पुस्ता कति असुरक्षित छ भन्ने सन्देश दिएको छ । जबसम्म उनीहरुको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन ।” माधवको बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्नुहुँदैन उहाँ भन्नुहुन्छ ।

  • सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, के भयो निर्णय ?

    सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, के भयो निर्णय ?

    काठमाडौँ, ११ मङ्सिरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताए ।


    यहाँस्थित सार्क सचिवालयका अनुसार त्यस अवसरमा सार्कका महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट निरन्तर प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वको चर्चा गरे । साथै उनले दक्षिण एसियाली मुलुकहरूको उन्नयनको साझा उद्देश्यका खातिर सार्क स्थापना भएको बताउँदै सामूहिक रूपमा सार्कले धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।


    बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट तथा गतिविधिका वार्षिक तालिकाहरूको समीक्षाका साथै त्यसलाई अन्तिम रूप दिएको छ । नेपालको अध्यक्षतामा भएको समितिको बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखका साथै सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।

  • देशभरको मौसम सफा रहने पूर्वानुमान

    देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ, ११ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ, उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।

  • साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

    साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

    काठमाडौँ, ११ मङ्सिर । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो ।

    श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापित कोषको नेतृत्वमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा छन् । सबै श्रमिकलाई यस योजनामा आबद्ध गराई आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक व्यवस्थालाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित रहेका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए ।

    ‘बढ्दै दायरा, लाभान्वित हुँदै श्रमिक’

    कोषले औपचारिक क्षेत्रका साथै वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइरहेको छ । बुधबारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका कोषले जनाएको छ । त्यसमा औपचारिक क्षेत्रका छ लाख ४९ हजार ५११, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार ५७९, अनौपचारिक क्षेत्रका ७९९ र स्वरोजगार क्षेत्रका ५८२ श्रमिक छन् ।

    कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । यी योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा तथा सहुलियत प्राप्त गर्दै आइरहेको कार्यकारी निर्देशक अधिकारीले बताए ।

    कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ । दुई लाख ५३ हजार एक सय ४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिइसकेका छन् । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाका अतिरिक्त बचतको ब्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।