Category: समाचार

  • सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल

    सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छः संयोजक दाहाल

    गण्डकी, १४ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै संयोजक दाहालले सरकारले निर्वाचनको वातावरण बनाउन जनाधार भएका पार्टीसँग छलफल गरेर चुनावी वातावरण थप सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने, “चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ । त्यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्दछ । जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन ।”

    देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिष्ट शक्ति एकजुट हुनु अत्यावश्यक भएको संयोजक दाहालले बताए । उनले अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमण्ड गर्दा राष्ट्रले ठूलो क्षति बेर्होनु परेको जिकिर गरे । “हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ । तर सरकारबाट हटाइयो । अघिल्लो पटक हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन । आगामी निर्वाचनमा पहिलो शक्ति बनेर राष्ट्रियता र सुशासनका लागि विगतका कमीकमजोरी सच्याएर नेपाली कम्युनिष्ट पार्टीले काम गर्नेछ ।”

    संयोजक दाहालले विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उल्लेख गरे । “हामीले सुरु गरेको पार्टी एकता अभियान चुनाव जित्ने उद्देश्यका लागि मात्र होइन । राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण तथा समृद्धिको आधार निर्माणका लागि हामीले कम्युनिष्ट एकता र लोकतान्त्रिक शक्तिसँगको सहकार्यमा जोड दिएका छौँ,” उनले भने । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक अस्थिरताको अन्त्यका लागि निर्वाचन हुनै पर्ने बताए । उनले देशको रक्षा गर्ने जिम्मेवारी नेकपाको रहेको बताए । उनले भने, “राष्ट्रका सामु अहिले ठूलो सङ्कट सिर्जना भएको छ । यसको अन्त्यका लागि निर्वाचनको विकल्प छैन । देशको रक्षाका लागिसमेत बृहत् र बलियो कम्युनिष्ट पार्टी आवश्यक छ ।”

    पूर्वप्रधानमन्त्री एवम् पार्टीका नेता झलनाथ खनालले नेकपालाई नेताप्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने बताए । “हामीले विधि र पद्धतिलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अब विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन,” उनले भने । नेकपाका नेता भीम रावलले विगतका गल्तीमा माफी माग्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । “विगतका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर मात्र बलियो र एकताबद्ध पार्टी निर्माण गर्न सकिन्छ । स्वाधीनता बलियो भएको नेपाल बनाउन सकिन्छ । त्यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्तामा त्याग र समर्पण आवश्यक छ,” उनले भने ।


    नेता नारायणकाजी श्रेष्ठले रुपान्तरित एकीकृत पार्टी आवश्यक रहेकाले सबैले आफूले आफैँलाई बदल्नुपर्ने विचार राखे । उनले भने, “नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अझै पूरा भएको छैन । त्यसका लागि पार्टीको रुपान्तरण गर्नुपर्दछ ।” सभामा नेताहरू देव गुरुङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, राजु थापा, डा लक्ष्मी ओली, दीननाथ शर्मा, गायत्री गुरुङ, श्रीनाथ बराललगायतले जनताको आवश्यकता र अपेक्षा पूरा गर्ने पार्टी निर्माणको आवश्यकता आँैल्याए ।

  • एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित

    एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँको जित

    काठमाडौँ, १५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे ।

    कर्णालीका नन्दन यादवले तीन, पवन सराफले एक विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे । बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । काठमाडौँ यो जितसँगै आठ अङ्क जोड्दै ‘प्लेअफ’ नजिक पुगेको छ । कर्णालीको भने यो चौथो हार हो ।

  • डिजेल-मट्टितेलको मूल्य घट्यो

    डिजेल-मट्टितेलको मूल्य घट्यो

    काठमाडौँ, १४ मङ्सिरः नेपाल आयल निगमले डिजेल\मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल-मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल-मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
    निगमले हवाई इन्धन (आन्तरिक र अन्तरराष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ ।

    निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु छ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु १३४ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल\मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ

    ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, १४ मङ्सिरः काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड गर्ने दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौँ–६ बौद्धका ४२ का दावा शेर्पा र बूढानीलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रन्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेको रकम चोरी गर्ने तथा संरचना तोडफोड र आगजनी गरी फरार रहेका उनीहरुलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ परेका दुवैमाथि चोरी तथा डाँकासम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • कुलमान र बालेनबीच भेट

    कुलमान र बालेनबीच भेट

    १४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । मन्त्री घिसिङले आज भेटवार्ताको पुष्टी गर्दै भनेका छन्, देश बनाउने अभियानमा हामीसँगै छौँ।’ पछिल्लो समय नयाँ दलहरुबीच आगामी चुनावका लागि सहकार्यको चर्चा चलिरहेको समयमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    अहिअले पार्टीहरुबीच तीव्र ध्रुविकरण जारी छ । ठूला दलहरुसमेत एकता प्रक्रियामा छन् । जेन जी पुस्ताले भने साना र नयाँ दलहरुलाई आगामी निर्वाचनमा सहकार्य गर्न सुझाव दिइरहेका छन् । बालेन र कुलमानको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

  • गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछ : प्रधानमन्त्री

    गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछ : प्रधानमन्त्री

    काठमाडौँ, १४ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताएकी छिन् । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन् ।


    प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन् । “विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ । तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ । शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ । यसको मूल्याङ्कन गर्नुपर्ने भएको छ । मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।”

    उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्कोपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन् ।

  • गैरआवासीय नेपाली संघको बृहत् एकता घोषणा

    गैरआवासीय नेपाली संघको बृहत् एकता घोषणा

    १४ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई कमिटीबीच एकता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा आइतबार अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठको समूहबीच एकता घोषणा भएको हो। एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने, महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने, निर्वाचन र मोनिटरिङ समिति बन्ने लगायतका सहमति भएको छ। त्यसमा १३ जना राखेर सर्वोच्चले घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्नुपर्ने जिम्मेवारी दिएको थियो।

    १० औं महाधिवेशनको फैसला आउँदा ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भइसकेका थिए। यस सहमतिको कार्यन्वयन एघारौँ अन्तराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री के.सी. र एकताको महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वमा रहेको कार्यसमितिको सहअस्तित्वको आधारमा गरिनेछ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै, उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्य राखिएको छ । संघले ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको बताएको छ ।


    संघले भनेको छ, ‘हामी विगत चार वर्षदेखिको संक्रमणकाल अन्त्य गर्न सफल भएका छौँ यस ऐतिहासिक उपलब्धिका लागि सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । हामी सबै एकै मन, एकै भावना र साझा उद्देश्यका साथ यहाँ उपस्थित छौँ। संघलाई सबल, सशक्त र एकताबद्ध बनाउने हाम्रो प्रतिवद्धता हिजो पनि थियो, आज पनि त्यत्तिकै दृढ छ। असन्तुष्टिहरू, मतभेद र मतभिन्नताहरू हरेक संस्थाको स्वाभाविक प्रक्रिया हुन्, तर ती सबैलाई सहमति र संवादको माध्यमबाट समाधान गर्दै हामी आज यहाँ एकताको ऐतिहासिक अध्याय लेख्न सफल भएका छौँ।’

    भद्र सहमतिमार्फत बृहत एकताका लागि तय गरेका मुख्य सहमति यस्तो छ

    सहमतिका बुँदाहरूः
    १. मिति २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री के.सी.को नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने। त्यसैगरी संघका पूर्व अध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा मिति २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने।


    २. गैरआवासीय नेपाली संघको बाह्रौँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले ६ महिना भित्र सम्पन्न गर्ने। उक्त मितिभित्र बाह्रौँ महाधिवेशन सम्पन्न गर्दा मिति २०२५ मे ३–४ मा आयोजित एकताको महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पनि मध्यनजर गर्दै, उक्त समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिनेछ।


    ३. यस सहमति अनुसार बाह्रौँ महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्नका लागि आगामी बाह्रौँ महाधिवेसनमा उम्मेदवार नहुने व्यक्ति हरु सम्मिलित गरी एक ११ सदस्यीय स्टेयरिङ कमिटी ९क्तभभचष्लन ऋयmmष्ततभभ० गठन गर्ने।


    ४. पारदर्शिता र निष्पक्षताका लागि महासचिव गौरीराज जोशी र वावुराम लामालाई सिष्टम व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार रहने गरी एक सिष्टम व्यवस्थापन समिति गठन गर्ने। उक्त समितिले आवश्यकता अनुसार विज्ञहरूलाई समितिमा राखी सिष्टम व्यवस्थापन गर्न सक्नेछ।


    ५.संघका विगत दशौँ र एघारौँ महाधिवेशनका सन्दर्भमा विभिन्न परिस्थितिका कारण कुल आचार्य, रबिना थापा, डा। वद्री केसी, विनोद कुँवर र राजेन्द्र कुमार शर्माको अध्यक्षतामा गठित कार्यसमितिहरूलाई पूर्व कार्यसमितिको रुपमा अभिलेखिकरण गर्ने।


    ६.आगामी बार्हौँ महाधिवेशनका अवसरमा, एघारौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गरी महाधिवेशनबाट अनुमोदन गराई, एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा। बद्री केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई हस्तान्तरण गर्ने।
    त्यसैगरी, संघको एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेश गरी महाधिवेशनबाट अनुमोदन गराई, बार्हौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अध्यक्ष महेश कुमार श्रेष्ठले पदभार हस्तान्तरण गर्ने।
    ७. एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने।


    ८. यो सहमति सम्माननीय प्रधानमन्त्रीज्यु तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिज्युको रोहवरमा हस्ताक्षर गर्ने र उक्त सहमति पत्रलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने। यो सहमतिको कार्यान्वयन संघको विधान र कार्यविधि अनुसार गर्ने ।कुनै विषयमा विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने। साथै यस सहमतिका सवै वुंदाहरुलाई संघको आगामी वार्हौं महाधिवेसनवाट अनुमोदन गराउने ।


    ९. गैरआवासीय नेपाली संघका दुबै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराउने।


    १०. यो सहमति पत्रको कार्यान्वयन र बाह्रौ अन्तर्राष्ट्रिय महाधिवेसन र निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निश्पक्षताको सुनिश्चितताका लागि यो सहमति पत्रको अभिन्न अङ्ग हुने गरी सहमतिको कार्यविधि तयार गरिनेछ ।

  • बनेपा-हेटौँडा बस सञ्चालन, आवागमन सहज

    बनेपा-हेटौँडा बस सञ्चालन, आवागमन सहज

    काभ्रेपलाञ्चोक, १४ मङ्सिरः काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ । जिल्लावासीको मागलाई ध्यानमा राखी काभ्रे–पुन्यवती यातायात प्रालि पनौतीले यही मङ्सिर १ गतेदेखि बस सेवा सञ्चालन गरेको हो । बनेपा–हेटौँडा करिब एक सय १० किलोमिटर लम्बाइको दूरीमा अधिकांश सडक कच्ची छन् । यो सेवा प्रभावकारी देखिएपछि बस थप्ने योजना बनाइएको प्रालिले जनाएको छ ।

    स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको उक्त क्यूबसले बनेपाबाट पनौती हुँदै धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिँदै आएको बेथानचोक गाउँपालिका १ का वडाध्यक्ष मधुसुधन तिमल्सिना जानकारी दिए । यातायात प्रालिलाई पत्र पठाएर बस सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेपछि बनेपा–हेटौँडा सेवा सञ्चालनमा ल्याइएको हो । प्रालिले सेवाको आवश्यकता र प्रभावकारिता हेर्दै आगामी पुसदेखि बस थप्ने योजना बनाएको छ”, उनले भने ।


    वडाध्यक्ष तिमल्सिनाका अनुसार बागमती प्रदेशअन्तर्गतको चितवनस्थित नारायणी यातायात सेवाले समेत बनेपा–हेटौँडा खण्डमा थप बस सेवा सञ्चालन गर्न प्रक्रिया थालेको छ । जिल्लाका जनप्रतिनिधिले सम्बन्धित निकायलाई उक्त खण्डमा अनुमति दिनेलगायत आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गर्दै आएका छन् । यसैबीच, बस सेवा सञ्चालन गरेसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्न सहज भएको स्थानीय बताउँछन् ।

    च्याम्राङबेँसीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रेपलाञ्चोक र हेटौंँडाबीचको आवतजावत सहज बनाएको च्याम्य्राङ्बेँसीका सन्तोष दाहालले बताए । उनले भने, “यसअघि, च्याम्य्राङ्बेँसीबाट हेटौँडा जान चार वटासम्म यातायात फेर्नुपर्ने बाध्यता थियो । यसले समय र खर्च पनि बढी लाग्थ्यो । अहिले बससेवा सञ्चालनपछि आवागमन सहज हुनुका साथै समय र खर्चको बचत भएको छ ।”

  • गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो

    गोली हानाहानपछि अमेरिकामा अफगान पासपोर्टधारीको भिसा तथा शरण निर्णय रोकियो

    वासिङ्टन, १४ मङ्सिर रासस–एपी) । ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोकेका छन् । यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको सामना गरिरहेका छन् ।

    लकानवाल अफगानिस्तान युद्धका दौरान सिआइएसँग काम गरेका पूर्व सहकर्मी भएको बताइन्छ । उनले बाइडेन प्रशासनका क्रममा शरणका लागि निवेदन दिएका थिए र चालु वर्ष ट्रम्प प्रशासनको समयमा यो शरण स्वीकृत भएको अफगानइभाक नामक सहायता समूहले जनाएको छ । ट्रम्प प्रशासनले कानूनी आप्रवासन कठोर बनाउने, केही गरीब राष्ट्रबाट प्रवेशमा रोक तथा अमेरिकामा रहेका अफगान र अन्य कानूनी आप्रवासीहरूको पुनःसमीक्षा गर्ने नीति अघि बढाउँदै आएको छ ।

    बुधबारको गोलीकाण्डमा २० वर्षीया विशेषज्ञ सारा बेकस्ट्रोमको मृत्यु भएको थियो भने २४ वर्षीय स्टाफ सार्जन्ट एन्ड्र्यु वोल्फ गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । दुवैजना वेस्ट भर्जिनिया नेसनल गार्डसहित राष्ट्रपतिको अपराध–विरोधी अभियानअनुसार वासिङ्टन डिसी क्षेत्रमा तैनाथ भएका थिए । अन्य सहरहरूमा पनि नेसनल गार्ड परिचालन गर्ने राष्ट्रपतिको प्रयास न्यायिक अवरोधसँग जुधिरहेको छ ।


    युएस एटर्नी जेनिन पिर्रोको कार्यालयका अनुसार लकानवालमाथि सशस्त्र अवस्थामा मार्ने उद्देश्यले आक्रमण गरेका दुई अतिरिक्त आरोप पनि जोडिएको छ । पिर्रोले फक्स न्युजमा ‘थप आरोपहरू आउन बाँकी छन्’ भनी उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘आतङ्कवादी हमला’ भन्दै बाइडेन प्रशासनले अमेरिकी सेनालाई सहयोग गर्ने अफगानहरूलाई प्रवेश गराएको निर्णयको कडा आलोचना गर्नुभएको छ ।

    यसबीच युएस नागरिकता तथा अध्यागमन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समा प्रत्येक विदेशीको अधिकतम तहमा छानबिन भएको सुनिश्चित नभएसम्म शरणसम्बन्धी सबै निर्णयहरू स्थगित गरिने घोषणा गर्नुभएको छ । विज्ञहरूका अनुसार यतिखेर पनि शरण प्रक्रियामा कठोर सुरक्षा जाँच प्रणाली कायम छ र युएससीआइएसमा दाबीहरूको ठूलो ब्याकलग रहेको छ, जुन ट्रम्प प्रशासनमै अझ बढेको आलोचकहरूले बताउँदै आएका छन् ।

    शुक्रबार विदेशमन्त्री मार्को रुबियोले पनि अफगान पासपोर्टमा यात्रा गर्ने सबै व्यक्तिका लागि भिसा जारी प्रक्रिया रोकिएको जानकारी दिए । सो निर्णयप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै अपगानइभाकका अध्यक्ष शन भ्यानडाइभरले ‘एक व्यक्तिको हिंसात्मक कार्यलाई बहाना बनाएर प्रशासनले लामै समयदेखि योजना बनाएको नीति लागू गर्न लागेको’ आरोप लगाए ।


    सन्दिग्ध लकानवाल वासिङ्टन राज्यको बेलिङहममा पत्नी र पाँच सन्तानसँग बस्दै आएका थिए । स्थानीयहरूले उनलाई विनम्र, शान्त र थोरै अङ्ग्रेजी बोल्ने व्यक्ति बताएका छन् । छिमेकीहरूले काम खोज्न कठिनाइ भएको सुनेको र करिब दुई सातादेखि बेपत्ता रहेको बताएका छन् । लकानवालले यसै वर्ष अमेजन फ्लेक्समा छोटो समय स्वतन्त्र ठेकेदारका रूपमा काम गरेको पुष्टिको जानकारी पनि आएको छ ।

    अनुसन्धानकर्ताहरू वासिङ्टन राज्य तथा देशका विभिन्न भागमा वारेन्ट कार्यान्वयन गरिरहेका छन् । लकानवाल सन् २०२१ मा बाइडेन प्रशासनको ‘अपरेसन एलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिकामा प्रवेश गरेका थिए । खोस्तका एक नातेदारका अनुसार लकानवालले सन् २०१२ देखि सिआइए समर्थित अफगान विशेष ‘शून्य युनिट’ मा सुरक्षा गार्ड, पछि टोली नेता तथा जिपिएस विशेषज्ञका रूपमा सेवा गरेका थिए ।

    उता, वेस्ट भर्जिनिया नेसनल गार्डका अनुसार बेकस्ट्रोम सन् २०२३ मा उच्च विद्यालय स्नातक भएपछि सैन्य सेवामा भर्ना भएकी थिइन् । गार्डका अनुसार उनी ‘नेतृत्व, समर्पण र व्यावसायिकताको उत्कृष्ट उदाहरण’ थिइन् र डिसी तैनाथीका लागि आफैँले स्वेच्छा व्यक्त गरेकी थिइन् ।

  • आज देशका अधिकांश भागमा आंशिक बदली

    आज देशका अधिकांश भागमा आंशिक बदली

    काठमाडौँ, १४ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

  • उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी

    काठमाडौँ, १४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स ९युएई०को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी भए । नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगपति, कामको सिलसिलामा यहाँ रहेका युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल शाम्सीले युएई र नेपालबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको तथा दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको लडाइँमा एकै स्थानमा रहेका बताए ।

    विसं २०७२ को भूकम्प, कोभिड–१९ महामारीका साथै बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला नेपाललाई आफ्नो मुलुकले सहयोग गर्दै आएको उनले बताए । युएईमा रहेका धेरै नेपालीले नेपालका साथै आफ्नो मुलुकको आर्थिक विकासमा योगदान गरेका चर्चा गर्दै राजदूत अल शाम्सीले नवीकरणीय ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधन विकासका क्षेत्रमा नेपाललाई मद्दत गर्दै आएको बताए ।

  • नेवारी कला, संस्कृति जोगाउन पाल्पामा यःमरी महोत्सव

    नेवारी कला, संस्कृति जोगाउन पाल्पामा यःमरी महोत्सव

    तानसेन, १४ मङ्सिरः तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ ।

    नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताए ।

    यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । ‘य’ भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी अर्थात् मनपर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलो पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ । महोत्सवमा २५ कक्ष रहेका थिए । जहाँ दर्शकले स्वादअनुसारका विभिन्न परिकारको उपभोग गरेका थिए ।

  • रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

    रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

    काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • देशभैरी बढे आगलागी घटना

    देशभैरी बढे आगलागी घटना

    काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो । कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए ।

    त्यसदिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक÷एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा बृद्धि भएको छ ।

    प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपदमा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, सर्पामा दुई, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ,पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यसदिन कूल १९ लाख ९६ हजार बराबरको क्षति भयो ।

    प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपदमा घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपदका कारण १८ लाख ४३ हजार बराबरको क्षति भयो ।

    यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपदका घटना भए । त्यसदिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए । सर्लाहीमा तीन, गुल्मीमा दुई तथा मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए । त्यसदिन रु ५० लाख आठ हजार बराबरको क्षति भएको थियो ।

    सुक्खा मौसम शुरु भए लगत्तै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

  • एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    काठमाडौँ, १४ मङ्सिरः त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ ।

    दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

  • श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा

    श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा

    कोलम्बो, १४ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ ।

    यसैबीच श्रीलङ्काली प्रहरीले प्रहरी महानिरीक्षक (आइजीपी) को प्रत्यक्ष पर्यवेक्षणमा प्रहरी मुख्यालयमा विशेष अपरेसन युनिट स्थापना गरेको बताएको छ । युनिटले सार्वजनिक सहायताका लागि समर्पित ल्यान्डलाइन र ह्वाट्सएप हटलाइनहरू खोलेको जनाएको छ । राष्ट्रव्यापी प्रहरी अधिकारीहरूलाई उनीहरूको डिभिजन भित्र मौसम–सम्बन्धित आपतकालिन व्यवस्थापन गर्न द्रुत–प्रतिक्रिया टोलीहरूमा नियुक्त गरिएको छ । डुङ्गा, ड्राइभिङ उपकरण र अन्य उद्धार उपकरणहरू तत्काल तैनातीका लागि तयार छन् । विपद् व्यवस्थापन केन्द्र, सशस्त्र बल र अन्य एजेन्सीहरूलाई संयुक्त आपतकालीन अपरेसनमा एकीकृत गरिएको प्रहरीले जनाएको छ ।

    विस्थापित परिवारका घर र सम्पत्तिहरूको सुरक्षाका लागि थप सुरक्षा उपायहरू लागु गरिएको अधिकारीहरूले बताएका छन् । अस्थायी आश्रयमा बसोबास गर्ने मानिसहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई निर्देशन दिइएको छ । यसैबीच, अध्यागमन तथा आप्रवासन विभागले उडान रद्द र मौसम सम्बन्धी यात्रामा अवरोधका कारण फसेका विदेशी नागरिकहरूका लागि विशेष भिसा सुविधा उपायहरू सुरु गरेको छ ।

    नोभेम्बर– २८ पछि प्रस्थान गर्न असमर्थ यात्रुहरूलाई भिसा विस्तार शुल्क र पेनाल्टी छुट दिइनेछ । पर्यटक, व्यापार र निवास भिसा भएकाहरुलाई समय थप गर्न सात दिनको अवधि प्रदान गरिएको छ । विभागले अल्पकालीन रुपमा भिसा अवधि अनलाइन बाटै थप गर्न सकिने र थप अद्यावधिकहरू जारी गरिने बताएको छ ।

  • क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह

    क्यानबेरामा प्रधानमन्त्री अल्बानिजको गोप्य विवाह

    मेलबर्न, १४ मङ्सिर (रासस–एपी) । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरेका छन् । अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता बनेका छन् ।
    दिउँसो द लजको हरियाली मैदानमा सम्पन्न उक्त समारोहमा केही क्याबिनेट मन्त्रीहरूसहित करिब ६० जना विशिष्ट पाहुना उपस्थित रहेका थिए । नागरिक सेलिब्रेन्टद्वारा सम्पन्न विवाह समारोह प्रायः गोप्य राखिएको थियो र घटना सम्पन्न नहुँदासम्म कुनै पनि मिडिया संस्थालाई जानकारी दिइएको थिएन ।

    दम्पतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रो परिवार तथा निकटतम प्रियजनहरूको सामुन्ने हाम्रो प्रेम, प्रतिबद्धता र भविष्यको संयुक्त जीवनलाई साझा गर्न पाउँदा अनन्त खुशी छौँ। ” दुवैले आफ्ना प्रतिज्ञास्वरूपका शब्दहरू स्वयं लेखेका थिए । साथै, उनीहरुले कुकुर ‘टोटो’ औँठी वाहकको भूमिकामा आकर्षक रूपमा प्रस्तुत भएको र जोडी हेडनकी पाँच वर्षीय भतिजी एला फूलको माला लगाएर सहभागी भएकी उल्लेख गरिएको छ ।

    ६२ वर्षीय अल्बानिज पहिले वैवाहिक सम्बन्धविच्छेद भोगिसकेका व्यक्ति हुन् । उनका एक वयस्क छोरा छन् । गत वर्ष भ्यालेन्टाइन डेका दिन उनले द लजमै ४६ वर्षीय हेडनलाई विवाहको प्रस्ताव राखेका थिए । यस वर्ष मे महिनामा सम्पन्न सङ्घीय चुनावअगाडि ठूलो मात्रामा विवाह समारोह आयोजना गर्ने प्रारम्भिक योजना भए पनि प्रधानमन्त्रीले एक रेडियो कार्यक्रममा भनेजस्तै उनल क्यानाडाका पूर्वप्रधानमन्त्री तथा व्यक्तिगत मित्र जस्टिन ट्रुडोलाई समेत आमन्त्रित गर्ने विचार राखेका थिए ।
    तर सत्तारूढ केन्द्र–वामपन्थी लेबर पार्टीका रणनीतिकारहरूले जीवनयापन खर्च सङ्कटले जनजीवन प्रभावित भइरहेको समयमा भव्य समारोहले सरकारको दोस्रो कार्यकालमा जनसमर्थनमा नकारात्मक प्रभाव पर्न सक्ने मूल्याङ्कन गरेका थिए । त्यसैले चुनाव सम्पन्न नभएसम्म विवाह स्थगित गर्ने निर्णय गरिएको थियो । प्रधानमन्त्री अल्बानिजले आफ्नो सन् २०२५ भित्र विवाह हुने बताएका भए पनि मिति गोप्य राखेका थिए ।
    अन्ततः बिहीबार संसद्को कार्यकाल समाप्त भएको दुई दिनपछि दम्पतीले शान्त, सानो तर भावनात्मक समारोहमार्फत वैवाहिक जीवन प्रारम्भ गरेका हुन् । फाइनान्स क्षेत्रमा कार्यरत हेडनले सन् २०२० मा मेलबर्नमा आयोजित एक व्यापारिक रात्रिभोजमा पहिलोपटक अल्बानिजलाई भेटेका थिए ।

  • इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो

    जकार्ता, १४ मङ्सिर (रासस–क्यूएनए) । इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्नुका साथै ७९ जना बेपत्ता मानिसहरूको खोजी जारी रहेको जनाइएको छ । बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्क उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेको इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

    इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी)ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ । एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिएका छन् । उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको बताए ।


    उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मङ्गलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नागेका थिए भने बाढीले धेरै पाहाडी गाउँहरू बगाएको छ । बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परे पछि लगभग उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएको जनाइएको छ । बाढीले धान बाली , गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरे पछि मानिसहरुको दिन चर्या नै तहस नहस बनाएको जनाइएको छ ।

  • जीवित छन् इमरान खान

    जीवित छन् इमरान खान

    नयाँदिल्ली, १३ मङ्सिर (रासस–एएनआई) । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सिनेटर खुर्रम जिशानले पूर्व प्रधानमन्त्री इमरान खानको मृत्यु भएको भन्ने अफवाहलाई पूर्णतः खारेज गर्दै उनी जीवित रहेको र हाल अदियाला जेलमै राखिएको स्पष्ट गरेका छन् । उनका अनुसार इमरान खानलाई पाकिस्तान छोड्न दबाब सिर्जना गर्ने रणनीतिअनुरूप एकान्तवासमा राखिएको छ ।

    पाकिस्तानबाट एएनआईसँग कुरा गर्दै पिटिआईका सिनेटर जिशानले इमरान खानको लोकप्रियताले वर्तमान शासन व्यवस्थालाई चुनौती दिइरहेको र यही कारणले उनको कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्न नदिइएको दाबी गरे । उनले भने, “उहाँको प्रभाव र जनसमर्थनबाट डराएका कारण नै सत्ताधारीहरूले उनलाई पूर्ण रूपमा आइसोलेसनमा राखेका छन् ।”

    गत सातादेखि अफगानिस्तानका विभिन्न सामाजिक सञ्जाल खाताहरूमा रावलपिन्डीस्थित जेलभित्र इमरान खानको हत्या भएको दाबी फैलिएको थियो । त्यही समयमा, अदालतको निर्देशन हुँदाहुँदै पनि पाकिस्तानी अधिकारीहरूले उनका बहिनीहरूलाई गत एक महिनादेखि भेट्न नदिएको समाचारसँग उक्त अफवाह जोडिएको थियो, जसले थप शङ्का उत्पन्न गरेको थियो ।

    सिनेटर जिशानले भने, “उहाँलाई लगभग एक महिनादेखि एकान्तवासमा राखिएको छ । उहाँको परिवार, कानून व्यवसायी तथा पिटिआई नेतृत्वलाई समेत भेट्न नदिइनु अत्यन्तै दुःखद र मानवीय अधिकारको स्पष्ट उल्लङ्घन हो । उहाँलाई कुनै न कुनै सम्झौताको दबाबमा ल्याउन खोजिएको जस्तो देखिन्छ ।”
    अफवाह अन्त्य गर्दै उनले भने, “पछिल्ला केही दिनमा हामीलाई आधिकारिक रूपमा आश्वासन दिइएको छ— इमरान खान जीवित हुनुहुन्छ, अदियाला जेलमै हुनुहुन्छ र उहाँको अवस्था स्थिर छ ।”

    पाकिस्तान सरकारले कस्तो प्रकारको सम्झौता गर्न खोजिरहेको छ भन्ने प्रश्नमा सिनेटर जिशानले भने, “उहाँलाई देश छोडेर विदेशमा चुपचाप बस्न भनिएको छ । यदि उहाँ देश बाहिर बस्न सहमत हुनुभयो भने छुट दिन सकिने सङ्केत दिइएको छ । तर इमरान खानले कहिल्यै यस्ता शर्तहरू स्वीकार गर्नुहुन्न । उहाँको राजनीतिक विश्वास र स्वभावले यस्तो सम्झौता सम्भव नै छैन ।” जेलमा भए पनि इमरान खानको प्रभाव घट्नुको सट्टा बढ्दै गएको सिनेटर जिशानको दाबी छ । उनले भने, “पिटिआईको जरो पाकिस्तानका युवाहरूमा अत्यन्त बलियो छ । इमरान खानको विचारधारा पुस्तौँ पुस्तासम्म प्रतिध्वनित हुन थालेको छ । कठिन परिस्थितिले असल नेतृत्वलाई अझ उजागर गरिरहेकाले पार्टीको भविष्य उज्ज्वल छ ।”

    इमरान खानको कुनै फोटो वा भिडियो किन बाहिर नआएको भन्ने प्रश्नमा पनि सिनेटर जिशानले स्पष्ट पार्दै भने “सत्ताधारीहरूलाई थाहा छ— एउटा मात्रै तस्बिरले पनि विशाल जनसमर्थन उत्पन्न गर्न सक्छ । यही डरका कारण उहाँको कुनै दृश्य सार्वजनिक हुन दिइएको छैन ।”

  • अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा

    अपराजित सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा

    काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले पराजित गर्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गरको हो । यस जितमा विनोद भण्डारी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहरा बलिङ चम्किए । जितका लागि १४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७ दशमलव चार ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो ।

    एक रन जोड्दा दुई विकेट गुमाएपछि धर्मराएको सुदूरपश्चिमलाई विनोद र इशानले सम्हाले । यी दुवै ब्याटरबीच ९२ रनको साझेदारी भयो । इशान ५६ तथा विनोद ४२ रनमा आउट भए । बलिङमा जनकपुरका सदाकतले दुई तथा सञ्जय र आदित्यले समान एक–एक विकेट लिए । यसअघि जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।

    सुदूरपश्चिमले लगातार पाँच जितसहित १० अङ्क बनाएको छ । जनकपुरको यो लगातार चौथो हार हो । अङ्कको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ । अब उसको ‘प्लेअफ’ को सम्भावना गणितीय आधारमा मात्र बाँकी छ ।

  • ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईको मृत्यु

    ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुईको मृत्यु

    मङ्गलबारे, १३ मङ्सिरः मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम नगरपालिका—९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापा मगर र माईजोगमाई गाउँपालिका नयाँबजार घर भई हाल इलाम—७ चोकबजारमा बस्ने १९ वर्षीय छेवाङ शेर्पा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनालगत्तै उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । ट्रक चालक इलाम—५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएका भण्डारीले जानकारी दिए ।

  • गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

    गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

    काठमाडौँ, १३ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेका छन् । आज उनले भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिए । अवलोकनका क्रममा गृहमन्त्री अर्यालले मुलुकमा शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

    उनले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिकस्तरबाट नेपाल प्रहरीले ठूलो सद्भाव पाएको बताउँदै अब प्रहरीले शान्तिसुरक्षासँगै सुशासन प्रवर्द्धन लाग्नुपर्नेमा जोड दिए । गृहमन्त्री अर्यालसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पनि उक्त क्षेत्रको अवलोकन गरे ।

  • पोखरामा दाइँ महोत्सव सम्पन्न

    पोखरामा दाइँ महोत्सव सम्पन्न

    राष्ट्रिय समाचार समिति (रासस)
    गण्डकी, १३ मङ्सिरः ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ आज पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको छ । स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा दाइँ महोत्सव गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो ।

    कृषि पर्यटनमार्फत नेपालको पर्यटन क्षेत्रलाई अझ फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पु¥याउन उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

    यसैबीच महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धसँगै भावी पुस्तालाई परम्परागत कृषि प्रणालीको जानकारी गराउँदै कृषिप्रतिको आकर्षण बढाउन महोत्सव उपयोगी बन्ने विश्वास व्यक्त गर्नुुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने यस किसिमका गतिवधिले पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुग्ने धारणा राख्नुभयो ।

    महोत्सवका कार्यक्रम संयोजक हरि भुजेलले कृषिका माध्यमबाट आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, कृषकलाई प्रोत्साहन गर्ने, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनेलगायत उद्देश्य राख्दै महोत्सव आयोजना गरिएको जानकारी गराउनुभयो । परिषद्को आयोजनामा हरेक वर्ष असारे रोपाइँ महोत्सवसमेत आयोजना गर्दै आइएकामा उक्त महोत्सवमा सहभागी विदेशी पर्यटकले उत्पादनका प्रक्रियाबारे चासो राख्ने गरेकाले परम्परागत कृषि प्रक्रियाबारे जानकारी गराउन दाइँ महोत्सव गर्न लागिएको उहाँको भनाइ छ ।

    महोत्सवका अवसरमा पोखरा महानगरभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने पोखरा–२३ का कृषक फवेन्द्रकुमार गुरुङलाई सम्मान गरिएको थियो । उहाँलाई महानगरप्रमुख आचार्यले रु १० हजार र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । उहाँले करिब २०० रोपनीमा धानखेती गरी ५०० मुरी उत्पादन गर्दै आएको जानकारी दिनुभयो । दाइँ महोत्सवमा आएका विदेशी पर्यटकले यो महोत्सव आफ्ना लागि रमाइलो अनुुभूति भएको बताउँदै परम्परागत शैलीबाट गरिने कृषि प्रणालीलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

    कार्यक्रममा उत्कृष्ट गोरुपालक किसान, उत्कृष्ट धान उत्पादक, धान चुट्ने, परालको भारी बाँध्ने, गुन्द्री बुन्नेलगायत प्रतियोगिता आयोजना गरी प्रत्येक विधाका विजयीलाई पुरस्कृत गरिएको परिषद्का सचिव नारायण सुवेदीले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाभित्र यस वर्ष ११ हजार २५० हेक्टरमा धानखेती गरिएकामा ४० हजार मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

  • वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

    वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान

    काठमाडौँ, १३ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एकता, ध्रवीकरण र सहकार्यको प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गरेको छ । नेकपाले आज एक अपिल जारी गर्दै विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनःगठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएकाले ध्रुवीकरण अभियानमा समाहित हुन आह्वान गरेको हो ।

    श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र माक्र्सवाद–लेनिनवाद भएकाले पार्टीको मार्गनिर्देशक सिद्धान्त पनि सोही भएको उल्लेख गर्दै नेकपाले सही विचार, राजनीतिक कार्यक्रम, सबैखाले अनुभव र ऊर्जाको सङ्केन्द्रण पार्टी एकताको सार भएको जनाएको छ ।

    “नेपाली पूँजीवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद पार्टीको रणनीतिक कार्यक्रम हो”, उक्त अपिलमा भनिएको छ, “यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आधारमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने सङ्कल्प हाम्रो एकताका मुख्य आधार हुन् ।”

    गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा तथा सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने अभिभाराका साथ विभिन्न १५ कम्युनिष्टसहित समाजवादी पार्टीबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको अपिलमा उल्लेख गरिएको छ ।

  • एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताए । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उनले भने, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।”

    उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए । उनका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट भएका प्रतिनिधि विवरण यही मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ । एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ ।

  • एनपिएलः पोखरा तीन विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

    एनपिएलः पोखरा तीन विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

    काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जीतसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ ।

    लुम्बिनीसँग हार बेहोरे पनि पोखराको प्लेअफमा पुग्ने सम्भावना भने जीवितै छ । पोखराले हालसम्म चार खेलमध्ये एकमा जीत निकालेको छ । अहिले पोखरासँग दुई अङ्क मात्रै छ । लुम्बिनीले पोखराले दिएको १५१ रनको लक्ष्य १९ दशमलव चार ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए भने निरोशन दिकवेल्लाले महत्वपूर्ण ३७ रन बनाए । साथै सन्दीप जोराले २५ रनको योगदान दिए ।

    पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, खत्री मार्क टेलर र सागर ढकालले दुई÷दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराले पारीको सुरुआत राम्रो गरेन । उसले १५ रन बनाउँदा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो ।

    त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । तर सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी ग¥यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुईरदुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।

  • बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

    बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

    गण्डकी, १३ मङ्सिर । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए । चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।

  • आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

    आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

    काठमाडौँ, १३ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक, के भयो छलफल ?

    नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक, के भयो छलफल ?

    काठमाडौँ, १३ मङ्सिरः नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।

    बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली सङ्घबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरेका थिए । बैठकमा सङ्घका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन, जवाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको प्रशंसा गरेको थियो ।

    नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी प्रवद्र्धनमा यूरोपेली सङ्घ तथा नेपालबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेको थियो । नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई कानुनअनुसार शिघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोर्होयाएको थियो ।

    यूरोपेली सङ्घले नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्न तयार पारिएको सङ्क्रमणकालिन रणनीतिलाई स्वागत गर्दै यसअघि नै लागू भएको बहुवर्षीय कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेको छ । दुवै पक्षले विभिन्न क्षेत्रका विकास परियोजनामा भइरहेको प्रगतिमाथि पनि समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

    हवाई सुरक्षा सुधारलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यूरोपेली सङ्घको सन २०२३ को सेप्टेम्बरमा भएको मूल्याङ्कन भ्रमणमा उठेका विषय समाधान गर्ने प्रतिबद्धता दोर्होयाएको छ । नेपालले युरोपियन युनियन एयर सेफ्टी सूचीबाट नेपाली एयरलाइन्सलाई हटाइदिन पुनः अनुरोध गरेको छ ।

    आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा पारस्परिक सहमतिमा तय हुने मितिमा आयोजना गरिनेछ । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र यूरोपेली सङ्घकातर्फबाट एशिया प्रशान्त विभागका कार्यवहाक प्रबन्ध निर्देशक पाओला पाम्पालोनीले सहअध्यता गरेका थ्रिए ।

  • तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

    तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

    गलकोट (बागलुङ) । १३ मङ्सिरः एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ ।

    सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । विसं २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ ।

    “एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्” घर्तीले भने, “भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।”

    भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो ।

    नगरपालिकाकै नमूना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उनको भनाइ छ । जनताले चन्दा उठाएर रु २१ लाख सङ्कलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए ।