काठमाडौँ, १९ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।
Category: समाचार
-

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब
नयाँदिल्ली, १९ मङ्सिर (रासस–एएफपी) । रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाउनुभएको छ ।
यस्तै संवेदनशील पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार नयाँदिल्ली आइपुग्नुभएको छ । सन् २०२१ डिसेम्बरयता उहाँको यो पहिलो भारत भ्रमण हो । राष्ट्रपति पुटिनले यसअघि सेप्टेम्बरमा चीनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुभएको थियो ।
दुवै देशबीचका सहयोग र तनावका पाँच प्रमुख क्षेत्र निम्नानुसार देखिएका छन् —
– तेल र ऊर्जा –
युक्रेन युद्धपछि भारत रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुग्यो । सन् २०२४ मा भारतले कूल कच्चा तेल आयातको करिब ३६ प्रतिशत—दैनिक १८ लाख ब्यारेलभन्दा बढी—रूसबाट ल्यायो । यसले भारतलाई अर्बौं डलर बचत गरायो भने मस्कोको युद्ध कोषलाई पनि बलियो बनायो । यही कारणले भारतको पश्चिमी साझेदारीमा तनाब बढ्यो र ट्रम्पले शुल्क वृद्धि गर्ने निर्णय गर्नुभयो ।
ट्रम्पले सम्भावित अमेरिकी व्यापार सम्झौताअन्तर्गत मोदीले रूसी तेल आयात कटौती गर्ने सहमति जनाउनुभएको दाबी गरे पनि नयाँदिल्लीले यसबारे कुनै पुष्टि गरेको छैन । तथापि, भर्खरका व्यापार तथ्याङ्कले भारतको रूसी तेल खरिद घट्दै गएको सङ्केत दिन्छ ।
– रक्षा –
रुस ऐतिहासिक रूपमा भारतको प्रमुख हतियार आपूर्तिकर्ता बने पनि पछिल्ला वर्षमा नयाँदिल्लीले अमेरिका, फ्रान्स र इजरायलबाट खरिद बढाउँदै निर्भरता कम गर्न थालेको छ । साथै, भारतले घरेलु उत्पादनमा पनि गति बढाएको छ ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई– सिप्री) का अनुसार सन् २००९–१३ मा ७६ प्रतिशत रहेको भारतको रूसी हतियार आयातको हिस्सा सन् २०१९–२३ मा ३६ प्रतिशतमा झरेको छ ।
यस सन्दर्भमा उन्नत रूसी एस–४०० हवाई रक्षा प्रणालीको सम्भावित थप खरिद तथा रूसको सु–५७ लडाकू विमान भारतसँग सह–उत्पादन गर्ने प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ । भारतसँग तीन एस–४०० युनिट छन्, तर पश्चिमी प्रतिबन्धका कारण बाँकी दुईको डेलिभरी रोकिएको छ ।

In this pool photograph distributed by the Russian state agency Sputnik, Russia’s President Vladimir Putin is welcomed by Indian Prime Minister Narendra Modi upon the Russian leader’s arrival at Palam Air Force Base in New Delhi on December 4, 2025, the first day of his two-day state visit to India. (Photo by Grigory SYSOYEV / POOL / AFP) – व्यापार –
रुस भारतको चौथो ठूलो व्यापारिक साझेदार बनेको छ । सन् २०२४–२५ मा दुवै देशबीच व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको थियो । तर भारत–रुस व्यापार अत्यन्त असन्तुलित छ—यसको ९० प्रतिशतभन्दा बढी हिस्सा ९६३ अर्ब ८० करोड डलर० रूसबाट भारतमा आयात हुने इन्धन तथा तेल हो ।
भारतले रूसलाई औषधि, मेसिनरी तथा केही आणविक उपकरण निर्यात गर्छ । विश्लेषकका अनुसार १५–२५ प्रतिशतजति व्यापार अवैध वा ‘छाया शिपिङ नेटवर्क’ मार्फत हुने गरेको आकलन छ, जसमा केहीले रणनीतिक इलेक्ट्रोनिक्स तथा दोहोरो प्रयोगका वस्तुहरू पनि पर्ने बताउँछन्, जसले पश्चिमी प्रतिबन्ध छल्न सहयोग गर्न सक्छ ।
– युक्रेन युद्ध –
भारतले युक्रेन युद्धमा रूसको प्रत्यक्ष आलोचना नगर्ने नीति अख्तियार गरेको छ । पश्चिमी राष्ट्रहरूसँग सम्बन्ध मजबुत बनाउँदै रुससँग ऐतिहासिक साझेदारी जोगाउने भारतीय नीति यसमा झल्किन्छ ।
सन् २०२२ मा उज्बेकिस्तानमा भएको मोदी–पुटिन भेटमा प्रधानमन्त्री मोदीले युद्ध ‘छिटोभन्दा छिटो’ अन्त्य हुनुपर्ने चाहना व्यक्त गर्नुभएको थियो । साथै, केही भारतीय नागरिकलाई ठगीसमेत गरेर युद्धमा लगिएको आरोपले भारत–रुस सम्बन्धमा थप संवेदनशीलता थपेको छ ।
– ‘गुटनिरपेक्षता’ नीति –
भारतको परम्परागत ‘गुटनिरपेक्षता’ तथा रणनीतिक स्वतन्त्रताको नीति हालको जटिल भू–राजनीतिक परिदृश्यमा पनि केन्द्रविन्दु बनेको छ । विशेषतः चीनसँगको चुनौती व्यवस्थापन गर्न अमेरिका र युरोपसँग सन्धि सुदृढ गर्दै भारतले रूससँग पुरानो साझेदारी जोगाउने प्रयास गरिरहेको छ ।
इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीले भन्नुभयो, “भारतले रुससँगको पुरानो सम्बन्ध कायम राख्न चाहन्छ, किनकि यो केवल चीनसँगको चुनौतीपूर्ण सम्बन्धलाई सन्तुलनमा राख्ने उपाय मात्र होइन, भारतको दीर्घकालीन रणनीतिक स्वायत्तताको आधार पनि हो—त्यही यसको विदेश नीतिको मूल सिद्धान्त हो ।”
-

बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
लन्डन, १९ मङ्सिर (रासस–एएफपी) । बेलायतको मिडिया वाचडगले वेबसाइटमार्फत् यौन गतिविधिबारे सामग्री प्रशारण गर्दै आएको एभिएस ग्रुपलाई उसका १८ ‘पोर्नोग्राफी वेबसाइट’हरूमा सशक्तरूपमा उमेर जाँच सुनिश्चित गर्न असफल भएको आरोपमा १० लाख पाउन्ड (झण्डै १३ लाख अमेरिकी डलर) जरिवाना गरेको छ। एवीएस समूहको बिरूद्ध जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐन अन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठूलो सजाय हो । बेलायतको अनलाइन सुरक्षा ऐन गत जुलाईदेखि लागू भएको थियो । ऐनमा बच्चाहरूलाई हानिकारक यौन सामग्री अनलाइनबाट पहुँच गर्नबाट रोक्ने उद्देश्यले उमेर समूह अनुसार ती सामग्रीमा पहुँच पाउने व्यवस्था गर्न उक्त समूहलाई निर्देशन गरिएको थियो ।
नयाँ नियमअनुसार पोर्न साइटहरुले उमेर प्रमाणिकरण गर्नुपर्ने वा चर्को जरिवानाको सामना गर्नुपर्नेछ । यस उपायको उद्देश्य युवाहरूलाई आत्महत्या, आत्म–हानि र विकारसँग सम्बन्धित अखाद्य सामग्रीको पहुँचबाट जोगाउनु पनि हो। “एभिएसले उमेर प्रमाणीकरणको रूपमा उल्लेख गरेको कुरा लागू गर्न स्वीकृति जनाएको छ तर हामीले यसलाई अत्यधिक प्रभावकारी रूपमा लागू भएको पाएका छैनौँ र कम्पनीलाई १० लाख पाउण्ड जरिवाना लगाएका छौँ,” अफकमले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
वाचडगले अगाडि चेतावनी दिएको छ, “यदि समूहले ७२ घण्टा भित्र उपयुक्त उमेर–जाँच प्रणाली लागू गरी बालबालिकाबीच पुग्ने यौन सामग्री (गतिविधि)लाई नियन्त्रण गरेन भने यसले थप दैनिक जरिवानाको सामना गर्नुपर्नेछ।” अफकमको सूचना र अनुरोधको जवाफ नदिएकोेमा एभिएसलाई थप ५० हजार पाउण्ड जरिवाना पनि लगाइएको छ ।
बेलायतको अनलाइन सुरक्षा ऐन अन्तर्गत जुलाई २५ देखि सम्भावित हानिकारक सामग्री प्रकाशन वा प्रशारण गर्ने वेबसाइट, सामाजिक सञ्जाल र भिडियो प्लेटफर्महरूले अनुहारको आकृति वा क्रेडिट कार्ड नम्बरको जाँचजस्ता उपायमार्फत उमेर प्रमाणिकरणलाई कडारूपमा लागू गर्न आवश्यक गरिएको थियो ।
कुनै पनि फर्म वा कम्पनीले नियमलाई पालना नगरेको पाइएमा एक करोड ८० लाख जरिवाना वा योग्य विश्वव्यापी राजस्वको १० प्रतिशत (जुन योभन्दा बढी हुन्छ) सम्म जरिवानाको सामना गर्नुपर्नेछ। अफकमले संयुक्त राज्य अमेरिकाबाट सम्बन्धित साइट वा प्लेटफर्ममा पहुँच रोक्न कानुनी कारबाही गर्न सक्छ।
नयाँ शासनलाई अभियानकर्ताहरूले कडा नियमहरूको लागि वर्षौं लामो लडाइँमा कोसेढुङ्गाको रूपमा स्वागत गरेका छन् तर केही (विशेष गरी राजनीतिक दक्षिणपन्थी) ले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा आलोचना गरेका छन् । यो निर्देशनले कथित रूपमा भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) सफ्टवेयरको डाउनलोडका लागि ठूलो समूहलाई प्रेरित गरेको छ, जसले केही वेबसाइट प्रतिबन्धहरूलाई बेवास्ता गर्दै ब्राउजरहरूलाई अर्को देशमा जस्तो देखिन अनुमति दिन्छ । नियमहरू लागू भएलगत्तै अफकमले सम्भावित अनुपालन असफलताहरूको बारेमा एभिएसद्वारा सञ्चालित सहित ३४ पोर्न वेबसाइटहरूमा अनुसन्धान सुरु गरेको अफकमले बिहीबार जनाएको छ।
-

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँ, १८ मङ्सिरः काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।
उनले भने, “राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।” यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । “ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ”, उनले भने ।
ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए । उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ ।
-

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
रासस
काठमाडौँ, १८ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताउनुभएको छ । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गर्नुभयो । “सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “त्यसैले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्णरूपमा तयारीमा जुटिरहेको छ । यस अभियानलाई सफल बनाउन सबै नेपालीको सहयोग अपेक्षा गर्दछु ।”
उहाँले ५०० भन्दा बढी गुठीहरूले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा–पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । त्यसका लागि सरकारले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
-

एनपिएल : काठमाडौँ प्लेअफमा सुरक्षित
काठमाडौँ, १८ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ । आजको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो । काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो । पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित छ विकेट लिए ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । काठमाडौँका बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले । बेन ६४ र भीम ५५ रनमा आउट भए । पोखराका धनञ्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे । यो जितसँगै काठमाडौँ १० अङ्कसहित प्लेअफमा पुग्दा पोखराले छ खेलबाट चार अङ्क जोडेको छ । पोखराले अब एक खेल खेल्न बाँकी छ ।
-

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
त्रिवेणी (नवलपरासी), १८ मङ्सिरः नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए । उनका अनुसार अहिले पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ ।
गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ । लामो पुलमा चोरमारा र अरुणखोला मात्र सञ्चालनमा आउन बाँकी रहेकाले सो क्षेत्रमा समेत काम चलिरहेको सूचना अधिकारी खनालले बताए । कालोपत्र सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने काम समेत चलिरहेको छ । त्यसबाहेक सडकबीचको डिभाइडर सफा गर्ने, यस अघि तोकिएकोभन्दा पातलो कालोपत्र गरिएको स्थानमा थप कालोपत्र गर्ने कार्य जारी राखिएको छ ।
पूर्व खण्डमा दाउन्ने क्षेत्रमा समेत प्राथमिकता दिएर काम अघि बढाइएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरण रहेको उनले बताए । चैतसम्ममा काम सक्नेगरी कल्भर्ट निर्माणसहित सडक ढलानको काम चलिरहेको उनले बताए । “दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजनाको बाँकी चौध प्रतिशत कामसमेत सकिन्छ”, सूचना अधिकारी खनालले भने । नारायणगढ–बुटवल सडक विस्तार विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको चौध किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।
-

सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित
काठमाडौँ, १८ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ ।
जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो । ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन् । उसका लागि रवि बोपाराले २९, देव खनालले २८ रन बनाए । साथै अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमको जीतमा पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट लिए । तीन जना ब्याटर रनआउट भए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए । ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे । ओपनर बिनोद भण्डारीले २१ रनको योगदान दिए । इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके । आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४र२४ रन बनाए । चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक÷एक विकेट लिए ।
-

विश्व व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित
जेनेभा, १८ मङ्सिर (रासस–सिन्ह्वा) । विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो । बढ़्दो वित्तीय अस्थिरता र भू–राजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावका कारण यस वर्ष वृद्धि सुस्तिने संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युन्क्टाड) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । युन्क्टाडको व्यापार तथा विकास प्रतिवेदन सन् २०२५ अनुसार, वित्तीय बजारमा हुने उतार–चढावले विश्व व्यापारलाई वास्तविक आर्थिक गतिविधिले जत्तिकै प्रभाव पार्ने भएकाले विकासशील तथा विकसित दुवै अर्थतन्त्रका सम्भावित अवसरमा सीमितता देखिएको छ ।
प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिबाट केही लाभ भए पनि सन् २०२६ मा पनि विश्व वृद्धि २.६ प्रतिशतमै रहने सम्भावना रहेको बताएको छ । युन्क्टाडका अनुसार प्रस्तुत गरिएको अनुमान बजार विनिमय दरलाई आधार बनाएर गरिएको हो, जबकि ओइसीडीले उपयोग गर्ने क्रयशक्ति समता आधारित मापनले विश्व वृद्धि दर त्यसभन्दा केही उच्च देखाउँछ । ओइसीडीले पनि सन् २०२५ मा ३.२ प्रतिशत आर्थिक वृद्धि २०२६ मा २.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।
युन्क्टाडकी महासचिव रेबेका ग्रिन्स्पानका अनुसार वित्तीय अवस्थाले अहिले विश्व व्यापारको दिशा निर्धारण गर्ने मुख्य कारकको रूपमा काम गरिरहेको छ । “व्यापार केवल आपूर्तिकर्ताहरूको जालो मात्रै होइनस यो ऋण, भुक्तानी प्रणाली, मुद्रा बजार र पूँजी प्रवाहको जटिल संरचना पनि हो,” उहाँले भन्नुभयो ।
प्रतिवेदनले सन् २०२५ मा विकासोन्मुख अर्थतन्त्रहरू ४।३ प्रतिशतले विस्तार हुने देखाएको छ, जुन विकसित अर्थतन्त्रको तुलनामा धेरै उच्च हो ।
तर, उच्च ऋण लागत, पूँजी प्रवाहमा अचानक हुने उतार–चढाव, तथा जलवायुसम्बन्धी जोखिमले विकासोन्मुख अर्थतन्त्रलाई आवश्यक वित्तीय क्षमता तथा लगानी विस्तारको अवसरमा बाधा पु¥याइरहेको उल्लेख गरिएको छ । साना वित्तीय बजार भएका धेरै देशहरूले ७ देखि ११ प्रतिशतसम्मको महँगो ब्याजदरमा बाह्य ऋण लिनुपर्ने बाध्यता छ, जबकि प्रमुख विकसित अर्थतन्त्रले एक देखि चार प्रतिशत ब्याजमै ऋण पाउँछन् ।चरम मौसमका घटनाबाट बारम्बार प्रभावित हुने देशहरूले हरेक वर्ष करिब २० अर्ब बराबर बढी ब्याज तिर्नुपरेको अनुमानले जलवायु जोखिमले वित्तीय दबाब झनै बढाएको प्रतिवेदनले बताएको छ । युन्क्टाडले वित्तीय जोखिम घटाउने, स्थिरता बढाउने र व्यापार, वित्त तथा विकासबीचको तालमेल मजबुत पार्ने उद्देश्यसहित सुधारहरूको विस्तृत श्रृङ्खला अघि सारेको छ । यीमा व्यापार नियम अद्यावधिक गर्ने, तथ्याङ्क पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय मुद्रा संरचना सुधार गर्ने तथा पूँजी बजार विकास गर्ने जस्ता कदम समावेश छन् ।
-

आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
काठमाडौँ, १८ मङ्सिरः आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।
एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो । यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।
तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ -

होटेलको छतबाट खसेर किशोरीको मृत्यु
चितवन, १८ मङ्सिरः रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् ।
-

धोबी खोलामा साइकलसहित शव भेटियो
काठमाडौँ, १८ मङ्सिरः धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।
-

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना
काठमाडौँ, १८ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताउनुभएको छ ।
“विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु”, सन्देशमा उहाँले भन्नुभएको छ ।
उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।
किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।
उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ । रासस
-

एनपिएलः आज दुई खेल हुँदैै
काठमाडौँ, १८ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ ।
प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।
-

म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता
बेइजिङ, १८ मङ्सिर (रासस–एपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन–रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुग्नुभएको छ । उहाँले बेइजिङलाई रुसमाथि दबाब दिई युक्रेनमा युद्धविरामको वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।
फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले दुवै पक्षका लागि फाइदाजनक, दिगो र ठोस आर्थिक विकास सुनिश्चित गर्ने उद्देश्यसहित व्यापारिक तथा आर्थिक सहकार्य सन्तुलित गर्ने एजेन्डा अघि सार्नुहुनेछ । फ्रान्सले चिनियाँ लगानी आकर्षित गर्ने तथा फ्रान्सेली उत्पादित सामानका लागि बजार पहुँच सहज बनाउने लक्ष्य पनि राखेको छ । भ्रमणमा ऊर्जा, खाद्य उद्योग तथा उड्डयन क्षेत्रसम्बन्धी धेरै महत्त्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा छ ।
म्याक्रोन ‘निष्पक्ष र पारस्परिक बजार पहुँच’ को पक्षमा दृढ भएर उभिनुभएको फ्रान्सेली अधिकारीहरूले बताएका छन् । म्याक्रोन दम्पती बुधबार बिहानै बेइजिङको अत्यन्त जाडोमा विमानस्थल पुगेको थियो । विमानस्थलमा उहाँहरूलाई चिनियाँ विदेशमन्त्री वाङ यीले औपचारिक स्वागत गर्नुभएको थियो । विमानबाट ओरालिएपछि रातो गलैँचाबाट हिँड्दै उहाँहरू लिमोजिनमा सवार हुनुभएको थियो । दिनको अन्त्यमा उहाँहरूले नयाँ सजाइएको फरबिडन सिटीभित्र रहेको १८औँ शताब्दीको कियानलोङ गार्डन अवलोकन गर्ने कार्यक्रम छ ।
फ्रान्सले सन् २०२६ मा सातवटा सबैभन्दा विकसित अर्थतन्त्रहरूको शिखर सम्मेलन (जी–७) को आयोजना गर्दैछ भने चीनले २१ सदस्यीय एपेक फोरम को अध्यक्षता गर्नेछ, जसमा अमेरिका, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र रुससमेत सहभागी छन् । गत वर्ष मात्र युरोपेली सङ्घ ९इयु० ले चीनसँग तीन खर्ब युरोभन्दा बढी व्यापार घाटा बेहोरेको थियो, जसमा फ्रान्सको कुल व्यापार घाटाको ४६ प्रतिशत चीनकै कारण भएको थियो । इयुले चीनलाई साझेदार, प्रतिस्पर्धी तथा प्रणालीगत प्रतिद्वन्द्वी तीनवटै रूपमा व्याख्या गरेको छ ।
यसबीच इयुले चिनियाँ विद्युतीय सवारी साधनमा दिएको सब्सिडीबारे अनुसन्धान थालेपछि दुवैबीच कयौँ व्यापारिक विवादहरू देखा परेका छन् । त्यसको प्रतिक्रिया स्वरूप चीनले युरोपेली ब्रान्डी, सुँगुरको मासु र दुग्ध उत्पादनहरूमा अनुसन्धान थालेको थियो । गत जुलाईमा चीनले अधिकांश कोग्नाक उत्पादकलाई दिएको कर–छुटलाई फ्रान्सले सकारात्मक सङ्केतका रूपमा लिएको थियो । फ्रान्स चीनको वाइन र स्पिरिट आपूर्तिकर्तामध्ये पहिलो स्थानमा छ ।
राष्ट्रपति म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीचको वार्ताको प्रमुख एजेन्डामा युक्रेन–रुस युद्ध पनि रहनेछ । सोमबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग युद्धविरामका सम्भावित आधारहरूबारे छलफल गरेपछि म्याक्रोन चीनसँग ठोस सहयोगको अपेक्षामा हुनुहुन्छ ।
फ्रान्सका एक शीर्ष कूटनीतिक अधिकारीका अनुसार पेरिस चीनले रुसलाई सकेसम्म चाँडो युद्धविरामका लागि राजी गराउने प्रयास गरोस् र वार्ताबाट प्राप्त हुने सहमतिको आधारमा युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टी निर्माण गर्न मद्दत गरोस् भन्ने चाहन्छ । साथै, बेइजिङले रुसलाई युद्ध जारी राख्न सहयोग पुर्याउने कुनै पनि कार्यबाट टाढा रहने अपेक्षा फ्रान्सले व्यक्त गरेको छ ।
यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङले सधैँ संवाद, वार्ता र शान्तिपूर्ण समाधानलाई समर्थन गर्दै आएको र युक्रेन सङ्कट समाधानमा ‘रचनात्मक भूमिका’ खेलेको दाबी गर्नुभएको थियो । म्याक्रोनले बिहीबार ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सीसँग भेट्नुहुनेछ । त्यसपछि दुवै नेता फ्रान्को–चिनियाँ व्यापार मञ्चमा सहभागी हुनुहुनेछ । उहाँले राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजी तथा प्रधानमन्त्री ली किआङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
फ्रान्सेली राष्ट्रपति दम्पती त्यसपछि सिचुआन प्रान्तको चेङ्डु प्रस्थान गर्नुहुनेछ । त्यहाँ शुक्रबार राष्ट्रपति सीसँग दुजियाङ्ग्यानको विश्वकै सबैभन्दा पुरानो सिँचाइ प्रणाली अवलोकनस्थलमा विशेष वार्ता हुनेछ । म्याक्रोनले त्यहाँ सिचुआन विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट गर्नुहुनेछ । चेङ्दु अवस्थित विशाल पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रमा अहिले फ्रान्समा जन्मिएको पहिलो पाण्डा युआन मेङ बस्छ, जसको नामकरण प्रथम महिला ब्रिजिट म्याक्रोनले गर्नुभएको थियो । फ्रान्सले गत महिना चीनमा १३ वर्ष बसोबास गर्दै तीन छोराछोरी जन्माएका स्टार पाण्डाहरू फिर्ता पठाएको थियो ।
-

पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल
किएभ, १७ मङ्सिर (रासस–एपी) । अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन् । यद्यपि, वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले पुटिनले ‘विश्वको समय बर्बाद गर्न बन्द गर्नुपर्ने’ कठोर टिप्पणी गर्नुभयो । यसैगरी, बेलायतका विदेशमन्त्री यभेट कुपरले पनि पुटिनलाई ‘ब्लस्टर र रक्तपात अन्त्य गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि वार्ता टेबलमा आउन तयार हुन’ आग्रह गर्नुभयो । मङ्गलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जारेड कुशनरसँग पुटिनले भेटवार्ता गर्नुभएको थियो । जनवरीमा ट्रम्प पुनः पदमा फर्किएपछि उहाँले शान्ति सम्झौता वार्तामा देखिएको असहजतालाई तोड्न यो भेट अर्को प्रयासका रूपमा हेर्नुभएको वासिङ्टनको तर्क छ ।
रूसी र अमेरिकी पक्षबीच वार्ताको संवेदनशील विषयवस्तु गोप्य राख्ने सहमति भए पनि प्रमुख अड्को भने त्यही रहेको छ—फेब्रुअरी २०२२ को आक्रमणपछि रुसले कब्जामा राखिरहेको युक्रेनी भूभाग उसैका लागि कायम रहने कि न रहने । पुटिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभले क्षेत्रीय मुद्दामा ‘अहिलेसम्म कुनै सहमति भएको छैन’ भन्दै क्रेमलिनलाई हालको सङ्कटको कुनै छिटो समाधान देखिन नसकेको टिप्पणी गर्नुभयो । युक्रेनले पनि कब्जा गरिएका भूभाग कुनै हालतमा नछोड्ने दृढतामा अडिग रहँदै आएको छ ।
उसाकोभका अनुसार अमेरिकी टोलीसँगको संवाद ‘बरु उपयोगी, रचनात्मक र ठोस’ रह्यो । तर, अमेरिकी शान्ति प्रस्तावका ‘विशिष्ट शब्दहरू’ अझै छलफलको चरणमै रहेको उहाँको भनाइ थियो । वार्ताअघि नै पुटिनले युरोपेली मुलुकहरूमाथि शान्ति प्रयास विफल बनाउन खोजेको आरोप लगाउँदै कडा चेतावनी दिनुभएको थियो । ‘हामी युरोपसँग लड्न चाहँदैनौँ, तर यदि युरोप आफूले नै युद्ध सुरु गर्न चाहन्छ भने हामी पूर्ण रूपमा तयार छौँ’ भन्ने उहाँको टिप्पणीले करिब चार वर्षदेखि जारी युद्ध रोक्ने प्रयासमा अझ तनाव थपिएको थियो ।
– युरोपेली सहयोग थप सुदृढ –
ब्रसेल्समा बसेको युरोपेली नाटो देशका विदेशमन्त्रीहरूको बैठकमा पुटिनप्रति धैर्य लगभग समाप्त भएको सङ्केत देखियो । एस्टोनियाका विदेशमन्त्री मार्गस साहकनाले ‘पुटिनले कुनै मार्ग परिवर्तन नगरी उल्टै युद्धभूमिमा थप आक्रामकता देखाइरहेको’ आरोप लगाउँदै ‘उहाँ शान्ति नै चाहनुहुन्न’ भन्ने टिप्पणी गर्नुभयो । फिनल्यान्डकी विदेशमन्त्री एलिना वाल्टोनेनले पनि रुसबाट ‘कुनै छुट वा लचकता नदेखिएको’ भन्दै पूर्ण युद्धविराम नै विश्वास निर्माणको प्रारम्भिक आधार हुनुपर्ने बताउनुभयो ।
नाटोका महासचिव मार्क रुटले युक्रेनका साझेदार राष्ट्रहरूले मस्कोमाथि दबाब कायम राख्दै सैन्य सहयोग बढाउँदै जाने स्पष्ट पार्नुभयो । “शान्ति वार्ता चलिरहनु सकारात्मक हो, तर वार्ता कहिले निष्कर्षमा पुग्छ भन्ने अनिश्चितताबीच युक्रेन सबैभन्दा बलियो अवस्थामा रहनु आवश्यक छ”, उहाँले भन्नुभयो । क्यानाडा, जर्मनी, पोल्यान्ड र नेदरल्यान्ड्सले युक्रेनलाई प्रदान गर्न अमेरिकी हतियार खरिदका लागि करोडौँ डलर खर्च गर्ने घोषणा गरेका छन् ।
गत अगस्टदेखि युरोपेली नाटो मुलुकहरूले ‘पियुआरएल’ नामक वित्तीय संरचनामार्फत युक्रेनका प्राथमिकताका आधारमा अमेरिकी हतियारहरू खरिद गर्दै आएका छन् ।
– रातारात तीव्र आक्रमण, मानव क्षति बढ्दै –उता, युद्धभूमिमा रुस र युक्रेन दुवैले ड्रोन तथा मिसाइल प्रयोग गरेर अग्रपङ्क्ति पछाडिका क्षेत्रहरूमा एकअर्कामाथि तीव्र आक्रमण जारी राखेका छन् । रुसबाट प्रहार गरिएको ड्रोन आक्रमणले युक्रेनको ड्निप्रोपेट्रोभस्क क्षेत्रअन्तर्गत टेर्निभ्का सहरमा दुई जनाको मृत्यु र तीन जनाको घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भ्लादिस्लाव हाइभानेन्कोले बुधबार जानकारी दिनुभयो । आक्रमणले एउटा घर पूर्ण रूपमा ध्वस्त भएको तथा अन्य छवटा क्षतिग्रस्त भएको बताइएको छ ।
युक्रेनी वायु सेनाले रातारात रुसले १११ वटा स्ट्राइक र डिकोय ड्रोन प्रक्षेपण गरेको जनाएको छ । यसैबीच, रुसको रक्षा मन्त्रालयले आफ्नो हतियार प्रणालीले १०२ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । खसेका ड्रोनका भग्नावशेषका कारण मस्कोबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको टाम्बोभ क्षेत्रको तेल डिपोमा भीषण आगलागी भएको स्थानीय अधिकारी येभ्गेनी पेरिभिसोभले पुष्टि गर्नुभएको छ ।
-

उज्यालो नेपाल पार्टी घोषणा, कुलमानको सम्बोधन
१८ मंसिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधबार सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए । “नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने समृद्धितर्फ अघि बढ्छ”, मन्त्री घिसिङले भने । सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उनले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताए ।
राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गरे । उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे ।“आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ । अब पविर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ”, मन्त्री घिसिङले भने । “यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्छ ।”
पूर्वमन्त्री सुमना श्रेष्ठले बैकल्पिक शक्ति एकताबद्ध हुन नसक्दा निर्वाचनमार्फत पूरानै राजनीतिक दलहरू हाबी हुनसक्ने औँल्याउँदै अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड दिइन् । उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले देश र जनताले परिणाम दिनसक्ने नेतृत्व खोजिरहेको जनाउँदै क्षमतावान् व्यक्तित्वले राजनीतिमा हस्तक्षेप बढाउनुपर्ने बताइन् । त्यसक्रममा मन्त्री घिसिङले सो पार्टीको आधिकारिक वेवसाइट शुभारम्भ गरेका थिए ।
-

कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता
काठमाडौँ, १७ मङ्सिर । कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहनेछ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।
ती संरचना निर्माणको उद्देश्य काठमाडौँ, ललितपुर, भक्तपुर तथा विपी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन सहज बनाउने तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने राखिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित अवधारणापत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गर्नुभयो । त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवं सहसचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।
हस्ताक्षर समारोहमा अर्थमन्त्री खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानी राजदुत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजनाबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।
अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौँ उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीको उपस्थिति थियो । -

बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ
काठमाडौँ, १७ मङ्सिर । नेपाल प्रहरीले बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा शाक्यलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले प्रभु बैँक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको मुद्दाको अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको जानकारी दिए । ब्यूरोले यसअघि प्रभु बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई पक्राउ गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरूपयोग गर्नेरगराउने कसुरमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
शाक्यलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत, पाटन ललितपुरबाट पक्राउ अनुमति लिई आज ललितपुरको जावलखेलस्थित भनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
-

प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ
काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नीरज चित्रकार विरुद्धमा यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरीवृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ । पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए ।
-

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग छनोट
काठमाडौँ, १७ मङ्सिर । एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो । प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।
प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ । नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।
-

एनपिएलः लुम्बिनीको तेस्रो जीत
काठमाडौँ, १७ मङ्सिरः लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०मा तेस्रो जीत निकालेको छ । जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर् यो । जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २–२ र बसिर अहमदले १ विकेट हात पारे ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे । लुम्बिनीका शेर मल्लले ३ विकेट झारे । यो जीतसँगै छ अङ्क जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ । छ खेलबाट आठ अङ्क रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ ।
-

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
काठमाडौँ, १७ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् । सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए । सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरे ।
सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे । सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्ण, नेविसङ्घका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, नवीन राई, नेविसङ्घका पूर्वमहामन्त्री दीपक भट्टराई, नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमाल, कांग्रेसका युवा नेताहरू बद्री अर्याल, दिलीप ढुङ्गाना पुगेका हुन् ।
-

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना
काठमाडौँ, १७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए । प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते भएका छन् ।
प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।
गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ । प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका काररण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भएपनि असावधानी र जनचेतनाको अभाव देखिन्छ ।
-

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
काठमाडौँ, १७ मङ्सिरः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो । बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ । यसैगरी अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजनक नखुलेका व्यक्तिगत कर्जा रु एक करोडसम्म प्रवाह गर्न सक्नेछन् । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै, इजाजतप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था बमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ । यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो । केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संसथालाई पनि कर्जाको पुनरतालिकीकरण एव्म पुनरसंरचनाका सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ । विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिव्यक्ति रु १५ लाख बराबरको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ । यसअघि त्यस्तो कर्जा रु सात लाख बराबर मात्रै उपलब्ध गराउन सकनिे व्यवस्था थियो । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।
-

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ, १७ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
-

अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, १७ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।
यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ । अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।
-

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति
काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताउनुभयो ।
उहाँले भन्नुभएको छ, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।”
अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पु¥याउने मैले विश्वास लिएको छु ।”
अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।
राससबाट -

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, १७ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गर्नुभएको छ ।
अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।
नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उहाँले बताउनुभएको छ ।
आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपाङ्गता भएका व्यक्ति एवं तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गर्नुभएको छ । राससबाट
-

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
काठमाडौँ, १७ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
