Category: समाचार

  • एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

    एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

    वासिङ्टन, २३ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रभुत्व कायम राख्न केन्द्रीकृत नियम निर्माण महत्त्वपूर्ण रहेको तर्क गर्दै बढ्दो कृत्तिम बुद्धिमत्ता (एआई) उद्योगलाई नियमन गर्ने अधिकार राज्यहरूलाई नदिइने बताएका छन् । “यदि हामी एआईको नेतृत्व गर्न चाहन्छौँ भने त्यहाँ केवल एक नियमन पुस्तिका हुनुपर्दछ,” उनले एक कार्यकारी आदेश जारी गर्ने घोषणा गर्दै आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् ।


    राष्ट्रपति ट्रम्पले अर्थव्यवस्थाको काम गर्ने तरिकादेखि सैन्य प्रविधिसम्म सबै कुरा रूपान्तरण गर्ने भविष्यवाणी गरिएको संयुक्त राज्य अमेरिकालाई एआई उपकरण निर्माण र नियन्त्रण गर्ने विश्वव्यापी दौडको शीर्ष स्थानमा उभ्याउन प्रमुख भूमिका खेल्ने भूमिकाका लागि यो आवश्यक हुने बताए । अमेरिकी संसद् (कङ्ग्रेस) र उहाँको आफ्नै मेगा आन्दोलनप्रति वासिङ्टन विश्वस्त छैन । धेरै आलोचकहरू प्रविधिको सम्भावित आर्थिक र सामाजिक हानिबाट सावधान हुनुपर्ने बताउँछन् ।

    उनको एआई नियमन केन्द्रीकृत गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा काङ्ग्रेसले एआईमा राज्य–स्तरीय कानूनलाई निर्णय गर्न अनुमति दिन दुई पटक मतदान गर्न अस्वीकार गरेपछि आएको हो। ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “हामी दौडको यस बिन्दुमा सबै देशहरूलाई हराइरहेका छौँ तर यदि हामीसँग नियमनका लागि ५० राज्यहरूलाई नै अधिकार दिइयो भने यो लामो समय टिक्ने छैन।

    उनले भने, “यसमा कुनै शङ्का हुन सक्दैन (एआई यसको शैशवकालमा नष्ट हुनेछ) म यसै हप्ता एक नियम कार्यकारी आदेश गर्नेछु।” यो आदेशले थप राजनीतिक विरोध र कानुनी चुनौतीहरू निम्त्याउने सम्भावना छ, यद्यपि यसले के भन्छ भन्ने बारेमा कुनै विवरण थाहा छैन। गत महिना ‘द हिल’ले प्राप्त गरेको एक मस्यौदा आदेशले राज्य एआई कानूनलाई चुनौती दिन समर्पित एक कार्यदल सिर्जना गरेको थियो र एआई कानूनहरू भएका राज्यहरूको लागि निश्चित ‘ब्रोडब्यान्ड’ कोषलाई सीमित गरेको थियो।

    उद्योग मालिकहरूले हाल एक हजारभन्दा बढी एआई–सम्बन्धित बिलहरू हाल राज्यको विधायिकाहरू मार्फत अघि बढिरहेका छन्। “तपाईं कसरी ती विविध नियमहरूको सामना गर्नुहुन्छ र चीनजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्नुहुन्छ जुन यस प्रविधिमा द्रुत गतिमा अघि बढिरहेका छन्” गुगलका कार्यकारी प्रमुख सुन्दर पिचाईले फक्स न्युज सन्डेलाई बताए ।

  • सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, २३ मङ्सिर ः प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छिन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरिन् ।


    “झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ”, उनले सन्देशमा उल्लेख गरेकी छिन् ।


    प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताएकी छिन् । खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनले बताइन् ।


    उनले हालका अध्यक्षको रूपमा, नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गरेकी छिन् । संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पु¥याउन सकिने प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भनी शुभकामना गरेकी छिन् ।


    सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो ।

    सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ ।

    सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो । त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन । सङ्गठनका सबै तहका निर्णयहरू सर्वसम्मतिका आधारमा गरिने, साथै द्विपक्षीय तथा विवादास्पद विषयहरूलाई सङ्गठनको छलफलबाट बाहिर राखिनेलगायत सार्क चार्टरका उद्देश्य रहेका छन् ।

  • एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

    एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

    काठमाडौँ, २३ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

    सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

  • निर्वाचन ८६ दिन बाँकी : समानुपातिकतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन ८६ दिन बाँकी : समानुपातिकतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौँ, २३ मङ्सिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् । उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

    कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गरे । उनले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबैपक्षको भरोसा रहने उल्लेख गरे ।

    सो कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर रसगुन शम्शेर जबरा एवं आयोगका कर्मचारीको उपस्थिति थियो । यस्तै, सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका छन् । छलफलमा अर्थमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।


    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक कानुनी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोध गरे । छलफलबाट प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप मद्दत पुगेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

  • टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    तुलसीपुर (दाङ), २३ मङ्सिरः नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार हाल टरिगाउँबाट हप्तामा चार दिन उडान भइरहेको छ ।

    आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान भइरहेको जनाउँदै उहाँले यात्रुको सङ्ख्या भने न्यून हुने गरेको छ । दैनिक चार–पाँच जनाभन्दा बढी यात्रु नहुने गरेको उनले बताए । कात्तिकसम्म यात्रुको सङ्ख्या हुने गरे पनि अहिले यात्रु न्यून हुने गरेका प्रमुख सुनारले उल्लेख गरे । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

    विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने समस्याले यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटरको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल विसं २०११ मा स्थापना भएको हो ।

  • गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

    गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

    नयाँदिल्ली, २ ३मङ्सिर (रासस–एएफपी) । भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त गर्दै नेपालका राजदूत शङ्कर शर्माले विज्ञप्ति जारी गरेका छन् ।

    उनले विज्ञप्ति मार्फत शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेका छन् । मृतकहरू मध्ये अधिकाशं भारतीय नागरिक रहेको र मुख्यतया नाइट क्लबका कर्मचारीहरू, साथै नयाँ दिल्लीबाट छुट्टी मनाउन आएकाहरू रहेको जनाइएको छ ।

    गेवाको उत्तरमा रहेको अर्पोराको एउटा क्लबमा आगलागी भएको जनाउदै अधिकारीहरूले “विद्युतीय पटाखाहरूले आगलागी गराएको हुन सक्ने बताएका छन् । क्लबको काठका भागहरू बाट सुरु भएको आगलागीले फैलिए पछि अधिकांशको मृत्यु भएको जनाइएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको तथा अन्य नाइट क्लबहरूमा अनुसन्धानको आदेश दिएको बताएका छन् ।

  • सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु

    सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु

    जेनेभा, २३ मङ्सिर (रासस–एएफपी) । सुडानको दक्षिणी कोर्डोफान राज्यमा गत हप्ता एक अस्पताल र शिशु विद्यालय (किन्डरगार्टन स्कूल) मा भएको आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जनाएको छ । कलोगी प्रशासनिक एकाइका प्रमुख स्थानीय अधिकारी इसाम अल–दिन अल–सइदले एएफपीलाई बताएअनुसार सेनाको नियन्त्रणमा रहेको शहरमा बिहीबार भएको ड्रोन आक्रमण पहिले एउटा शिशु विद्यालय, त्यसपछि अस्पताल र तेस्रो पटक बालबालिकालाई उद्धार गरिरहेको स्थानमा आक्रमण खोजेका थिए ।

    सन् २०२३ अप्रिलदेखि सुडानको सरकारी सेना र विद्रोही निकट अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच द्वन्द्व भइरहेको छ । द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको छ र लगभग एक करोड २० लाख विस्थापित भएका छन् । पश्चिमी सुडानमा सेनाको अन्तिम गढ अल–फासरमाथि अक्टोबरको अन्त्यतिर कब्जा गरेपछि आरएसएफले तीन राज्यमा विभाजित तेलको धनी कोर्डोफान क्षेत्रमा आक्रमण बढाएको छ।

    “‘किन्डरगार्टेन’ र नजिकैको कलोगी ग्रामीण अस्पतालमा कम्तिमा तीन पटक आक्रमण गर्दा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन्,” विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले सुडानी अधिकारीलाई उद्धृत गर्दै एक्समा उल्लेख गरेका छन् ।

    उनले भने, “बिहीवारको आक्रमणमा बाँचेकाहरूलाई उपचारका लागि दक्षिण कोर्डोफानको अबु जेबैहा अस्पतालमा लगिएको छ । एकै पटक ठूलो सङ्ख्यामा मानिसहरू हताहत भएपछि उपचारका लागि रक्तदान र अन्य चिकित्सा सहयोगका लागि तत्काल सहयोग गर्न नागरिकहरूलाई सूचना गरिएको छ।” महानिर्देशक घेब्रेयससले भने, “घाइतेलाई विद्यालयबाट अस्पताल लैजाने क्रममा पनि स्वास्थ्य कर्मी र उद्धारकर्तामाथि व्यापक आक्रमण भएको देखिन्छ । यो अमानवीय र घृणस्पद हो ।


    नागरिक र स्वास्थ्य संस्थाहरूमा हुने यस्ता मूर्खतापूर्ण आक्रमणहरूको डब्लुएचओले स्पष्ट शब्दमा निन्दा गर्दछ र हिंसा अन्त्य गर्न र स्वास्थ्य लगायत मानवीय सहायतामा पहुँच बढाउन फेरि आह्वान गर्दछ ।” उनले भने, “सुडानीहरूले धेरै पीडा भोगेका छन्। अब युद्धविरामको विकल्प छैन ।” डब्ल्यूएचओले स्वास्थ्य सेवामा भएका आक्रमणहरूको गणना र पुष्टि गर्दछ, यसले कसैलाई दोष दिँदैन किनकि यो एक अनुसन्धानमुलक संस्था हो । डब्लुएचओले बिहान ६ बजेदेखि दिउँसोसम्म भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामी प्रभावित भएको जनाएको छ ।

    आक्रमणकारीले विद्यालय र स्वास्थ्य सेवामा अवरोध र ‘मनोवैज्ञानिक हिंसा’ र चेतावनी दिएको सङ्गठनको रिपोर्टमा उल्लेख छ। सङ्गठनले यस वर्ष सुडानमा स्वास्थ्य सेवामा ६३ वटा आक्रमण गरेको र यसबाट एक हजार ६११ जनाको मृत्यु भएको छ र २५९ जना घाइते भएको जानकारी गराएको छ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार भएको आक्रमणको आफु स्तब्ध भएको बताउनुभएको प्रवक्ता स्टेफेन डुजारिकले बताए । उनले भने, “महासचिवले राजनीतिक दलको प्रभावमा नागरिक तथा निहत्था बालबालिकामाथि आक्रमण गर्ने सम्बन्धित सबैलाई तत्काल कारबाही गर्न र लडाइँ रोक्न र द्वन्द्वलाई बढावा दिने हतियारको प्रवाह रोक्न आफ्नो शक्ति प्रयोग गर्न आह्वान गर्दछ।”

  • नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

    नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च

    चितवन, २२ मङ्सिरः विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

    देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु ४०० मा झरेको थियो ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु २० ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।


    उनले भने, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाई छ । सङ्घका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उनले बताए ।


    अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलव ५७ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उनले बताए । पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहनुभएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउँछन् ।


    उनको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।

  • गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

    गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

    काठमाडौँ, २२ मङ्सिरः पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।

    आज ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १२, जीवन बिमा शून्य दशमलव ५०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, निर्जीवन बिमा शून्य दशमलव शून्य पाँच र व्यापार समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।

    अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ११, वित्त शून्य दशमलव ५७, होटल तथा पर्यटन शून्य दशमलव २३, लगानी शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव २९, म्युचुअल फण्ड शून्य दशमलव शून्य चार र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

    अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १६ प्रतिशतले घटेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५५ करोड ८६ लाख ६७ हजार ८७४ बराबरको १३ लाख ४८ हजार ८६१ कित्ता शेयर किनबेच भएको छ ।

  • नेपाली कम्युनिष्ट पार्टीले ५ पुसमा काठमाडौंमा एकता सभा गर्ने

    नेपाली कम्युनिष्ट पार्टीले ५ पुसमा काठमाडौंमा एकता सभा गर्ने

    काठमाडौँ २२ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

    बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो पार्टीका नेता ताज मोहम्मद मियाँले जानकारी दिए । पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिष्ट शक्तिबीच एकताको प्रारम्भ गरेको छ ।

  • प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबीच भेट, के भयो कुराकानी ?

    काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छिन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो । तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा छ ।
    प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ ।

    अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरेका थिए । यता, प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको बताए । उनले प्रधानमन्त्री कार्कीले आगामी पौष २ गतेसम्म त्यसबारे निर्णय गर्ने आश्वासन प्राप्त गरेको समेत बताए ।

  • सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

    सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

    काठमाडौँ, २२ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी ‘प्रदर्शन’ का क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्व पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

    यस्तै, आर्थिक वर्ष २०८२–८३ का लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु ६२० तोकिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान कायम गरेको छ । यस्तै, विभिन्न दश जिल्लाका गरिब परिवारको सूचीसमेत स्वीकृत गरिएको प्रवक्ता खरेलले बताए ।

    तेह्रथुम, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व र पश्चिम), पर्वत, मोरङ र सुनसरीलगायत गरी २७ गरिब परिवारको सूची स्वीकृत गरिएको हो ।
    यस्तै, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोश्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने र नेपाल प्रशासन सेवाको समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

  • पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौँ, २२ मङ्सिर । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

  • पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

    पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

    रासस
    खलङ्गा (जुम्ला), २२ मङ्सिरः चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित जोखिम उच्च बन्दै थियो ।

    पसलको सामुन्नेकै चोकमा ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ भर्खरै जडान गरिएको थियो । तत्काल स्थानीयवासी, चन्दननाथ नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी, स्वयंसेवकका सहयोगमा तत्काल चोकमा राखिएकोे ‘फायर हाइडे«न्ट’मार्फत् आगलागी नियन्त्रणमा लिइयो । सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्रलाई जोगाइयो । चन्दननाथ–५ का स्थानीयवासी अकवरनाथ क्षेत्रीले त्यसदिनको घटनाका बारेमा भने, “चोकमा ‘फायर हाइड्रेन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त नै हुने सम्भावित जोखिम थियो । फायर हाइड्रेन्टको उपयोग गरेर आगो नियन्त्रणमा आयो र बजार क्षेत्र जोगियो ।”

    दमकल जान नसक्ने साँघुरा स्थान, चोक\गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट ’ पाइप लाइनका ठाउँठाउँका राखिएका ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडेर यसको उपयोग गरिन्छ ।

    स्वीस रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकामा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडान गर्न सहयोग पु¥याएको छ । विशेष गरेर आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५मा ‘फायर हाइड्रेन्ट’ पाइपलाइन राखिएका छन् । यस्ता ‘फायर हाइड्रेन्ट’लाई कसरी उपयोग गर्ने भन्ने कुरा स्वयंसेवकमार्फत समुदायलाई जानकारीसमेत गराइएको छ । नेपाल रेडक्रसका स्वयंसेवक लालबहादुर भण्डारीले आपत्कालीन विपद् प्रतिकार्यकाबारेमा समुदायलाई जानकारी दिएको जानकारी दिए ।

    चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले भनिन्, “हालै चन्दनाथ–५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा लागेको आगलागीलाई निभाउन ‘फायर हाइड्रेन्ट’ले सहयोग ग¥यो । यो नभएको भए अकल्पनीय क्षति बेहोर्नु पर्दथ्यो ।” उनका अनुसार चन्दननाथ नगरपालिका क्षेत्रसहित खलाङ्गा बजार क्षेत्र विपद्जोखिम अन्तर्गत आगलागीको उच्च जोखिममा रहेको छ ।

    बर्सेनि आगलागीबाट मानवीय एवं धनजनको क्षति हुने गरेको छ । ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकासँगका सहकार्यमा आगलागीको उच्च जोखिम क्षेत्रका ती वडा ‘फायर हाइड्रेन्ट’ जडान गरेको हो । साथै दुईवटा अग्नि नियन्त्रक मोटसाइकल पनि तयारी अवस्थामा राखेको छ । आगलागीको जानकारी पाउनासाथ नगर प्रहरीले सो मोटसाइकललाई घटनास्थलमा पुगेर उपयोगमा ल्याउँदछन् ।

    परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भनिन्, “विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन गर्न जोड दिइराखेका छौँ । यही ध्येय पूरा गर्न हाम्रा गतिविधि केन्द्रित छन् ।”

    यस्तो छ नेपालमा ‘फायर हाइड्रेन्ट सुरुआती चरण

    नेपाल रेड्क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडाँै महानगरपालिकासँगका सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि ‘फायर हाइडे«न्ट’को पहिलो प्रयोग गरेको थियो । काठमाडाँै महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र व्रिटिश रेड्क्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रमका तत्कालीन जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाको संयुक्त पहलमा सो वडाको मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीमा आगलागी नियन्त्रणका लागि ‘फायर हाइडे«न्ट’ को अवधारणालाई कार्यान्वयनमा उतारिएको थियो ।

    साँघुरा गल्लीका कारण ती स्थानमा आगलागी हुँदा अहिले पनि दमकल छिर्नसक्ने अवस्था छैन । सहज रुपमा दमकल छिर्न नसक्ने यस्ता स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय ‘फायर हाइडे«न्ट’ का पाइप लाइन नै हुन् । ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’ले मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीमा जडान भएको ‘फायर हाइडे«न्ट’ लाई विसं २०७६ पुस २६ गते दिउँसो परीक्षण गरेको थियो ।

    तत्कालीन ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’का जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाले भन्नुभयो“दमकल छिर्न नसक्ने स्थानमा सम्भावित आगलागी नियन्त्रणको उपाय भन्नु नै ‘फायर हाइडे«न्ट’ हो । यही उपायलाई कार्यान्वयनमा ल्याइएको हो । तत्कालीन समयमा हामीले मांसगल्ली –केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्मको ‘फायर हाइड्रन्ट’ को उपयोगिताका लागि वास्तविक घटनामा आधारित अभ्यासमार्फत सफल परीक्षण पनि गरेका थियौँ ।” सो परीक्षण सफल भएपछि स्थानीयवासी र व्यापारी खुसी भएका थिए ।

    काठमाडौँ महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष वरिष्ठ कलाकार शाक्यले भने, “मेरो वास्तविक जीवनसँगको अनुभव र पीडालाई सम्बोधन गर्न साँघुरा गल्लीमा आगलागी नियन्त्रण गर्न ‘फायर हाइड्रेन्ट’ को अवधारणा ल्याएका हाँै ।”यसका लागि ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रमले रु पाँच लाख, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिले रु दुई लाख, सङ्घ संस्था र उपभोक्ताको रु दुई लाख ४० हजार ६१२ गरी कूल रु नौ लाख ४० हजार ६१२ मा ‘फायर हाइड्रन्ट’ जडानको काम सम्पन्न गरिएको थियो । दमकल छिर्न नसक्ने स्थानमा आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकासहित अन्य नगरपालिकाले हाल ‘फायर हाइड्रेन्ट’ को अवधारणलाई कार्यान्वयनमा ल्याइरहेका छन् ।

    नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपद् जोखिम न्युनिकरण गर्न आफ्ना गतिविधि केन्द्रित रहेको जानकारी दिँदै एक स्थानका सफलताका सिकाइ अन्य स्थानमा पनि कार्यान्वयन गरिराखेको बताए । उनले भने, काठमाडौको सफलता जुम्लामा ‘फायर हाइड्रेन्ट’ प्रयोग गरिएको हो ।”

    घामडाँडामा ‘साइरन’ जडान

    ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजनाले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा चन्दननाथ–६ स्थित घामडाँडामा अत्याधुनिक ‘साइरन’समेत जडान गरेको छ । गत भदौ २१ गतेदेखि शुभारम्भ गरिएको सो ‘साइरन’ले विपद्का पूर्वका सम्भावित जोखिमका सूचना तथा समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पु¥याइरहेको छ ।

    चन्दननाथ नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढाथापाले भन्नुभयो,“विपद्का पूर्वका सम्भावित जोखिमका जानकारी,नगरपालिकाका अन्य जनचेतनाका सूचना र समुदायका लागि आमचासोका विषयलाई नगरवासीसमक्ष पु¥याउन ‘साइरन’ले कोशेढुङ्गाको काम गरिरहेको छ । हालै चन्दननाथ– ५ स्थित जुम्ला बजारको एक मोबाइल पसलमा एकाएक आगलागी समयमा पनि साइरनमार्फत् समुदायलाई जानकारी गराएका थियौँ । यसबाट थप क्षति हुनबाट जोगिएको थियो ।”

    उहाँका अनुसार नगरपालिकाले साइरनसहित विभिन्न माध्यम (मोबाइल म्यासेस, एप पोर्टल)मार्फत् पनि विपद्का पूर्व सूचना एवं अन्य सूचना नगरवासी समक्ष पु¥याइरहेको छ । ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’का जिल्ला कार्यक्रम संयोजक सुवेदीले भन्नुभयो “विपद् प्रतिकार्यका लागि समुदायलाई ‘अलर्ट’ राख्न चन्दननाथ नगरपालिकाको समन्वयमा घामडाँडामा ‘साइरन’ जडान गरिएको हो । यसबाट विपद् लगायतका अन्य आम चासोको पूर्व सूचना एवं जानकारी नगरवासी समक्ष पु¥याउन सहयोग मिलेको छ ।”

  • सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    हेमन्त जोशी\रासस
    काठमाडौँ, २२ मङ्सिर । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन ।

    राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो भन्ने जवाफ भेटिँदैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न संस्थानमा शेयरतर्फ रू २६ अर्ब ३४ करोड २१ लाख र ऋणतर्फ रू २० अर्ब ५३ करोड १८ लाख गरी कुल रू ४६ अर्ब ८७ करोड ३९ लाख सरकारी बराबर लगानीको हिसाब मिल्न सकेको छैन । सरकारले धेरै लगानी गरेको भन्छ, तर संस्थानहरुले कम भन्छन् । दशकौं अघिदेखिको हिसाबी गडबडीबारे जिम्मेवार को हो ? भन्ने प्रश्न पनि अनुत्तरित छ ।

    जलविद्युत् आयोजना, विमानस्थल निर्माण, दूरसञ्चार र खानेपानी जस्ता पूर्वाधार परियोजना सञ्चालन गर्ने भन्दै सार्वजनिक संस्थानमा सरकारले ऋण तथा शेयर लगानी गर्दै आएको छ । तर सार्वजनिक संस्थानमा आन्तरिक नियन्त्रण प्रणालीको अभाव र लेखाजोखासम्बन्धी एकीकृत मापदण्डसमेत नहुँदा नेपाल सरकारले गरेको शेयर तथा ऋण लगानीको यथार्थ आकलन हुन नसकेको हो ।

    यही समस्यालाई सम्बोधन गर्न ‘शेयर तथा ऋण लगानी नीति, २०८१’ जारी गरिएको भएपनि यो नीति कार्यान्वयन हुनुभन्दा अगावैको हिसाब मिलानमा समस्या छ । स्पष्ट कानूनी तथा नीतिगत मार्गदर्शन र ऋण भुक्तानी अवधि, ब्याजदर एवम् सेवा शूल्क निर्धारणको ठोस आधारबिनै सरकारले गरेका पटके निर्णयबाट करिब रू ४७ अर्ब बराबरको लगानीको हरहिसाब नमिलेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम, खानेपानी संस्थानजस्ता निकायको हिसाबी गडबडीको आँकडा उच्च छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ग्रामीण विद्युतीकरण कार्यक्रममा हालसम्म कति लगानी भएको हो ? भन्ने स्पष्ट तथ्याङ्क हालसम्म भेटिन सकेको छैन । विद्युत् प्राधिकरणमा नेपाल सरकारले गरेको वैदेशिक अनुदानअन्तर्गत प्राप्त सहायतालाई शेयर लगानीका रुपमा कायम गर्न २०६८ पुस १२ गते मन्त्रिपरिषदबाट निर्णय भएको देखिन्छ ।

    त्यस्तै, ग्रामीण विद्युतीकरणका लागि दिइने रकमलाई ऋणको साटो शेयर लगानी मान्ने गरी २०७४ साल जेठ ९ गते मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । तर ग्रामीण विद्युतीकरणअन्तर्गत साविक कुन कार्याक्रममा कति लगानी भएको हो र कुन कार्यक्रमको स्रोत वैदेशिक अनुदान हो भन्ने यकिन अभिलेख भेटिँदैन । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना हुँदा साविकको हवाई विभागको सम्पत्ति मूल्याङ्कन कति हो भन्नेबारे प्राधिकरण र कार्यालयका विवरणमा एकरुपता छैन ।

    सरकारी लगानीको हिसाब नमिलेको विषयमा राससले जिज्ञासा राख्दा नेपाल विद्युत् प्राधिकरणले केही प्रक्रियागत त्रुटी भएको र आवधिक रुपमा हिसाब मिलान भइरहेको प्रतिक्रिया दिएको छ । “पछिल्लो समय विद्युत् प्राधिकरणको पुनर्संरचना भएको छ । तर सरकारले त्यसको फरक–फरक हिसाब राखिसकेको छैन । कतिपय निर्णयहरु हामीले तत्काल कार्यान्वयन गर्छौँ तर सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले त्यसमा ढिलाइ गरेका कारण समस्या भएको हुनसक्छ”, प्राधिकरणले भनेको छ, “आवधिक रुपमा हिसाब मिलानको काम भइरहेको छ । कतिपय निर्णय मन्त्रिपरिषद्बाट गर्नुपर्ने छन् ।”

    ऋण लगानीको ब्याजदरमा फरक पर्दा र भुक्तानी तालिकामा परिमार्जन हुँदा पनि समस्या देखिएको ऋण व्यवस्थापन कार्यालयको भनाइ छ । सरकारले विकास साझेदारसँग ऋण लिने र त्यही ऋण पुनःसंस्थानमा प्रवाह गर्दा सहायक ऋण सम्झौता गर्ने चलन देखिन्छ । यस्तो अवस्थामा सरकारले विकास साझेदारसँग तोकिएको समयमै ऋणको साँवा ब्याज भुक्तानी गर्दा सरकारसँग सहायक ऋण सम्झौता गरेका संस्थानहरुले भने तोकिएको समयमा साँवा ब्याज तिर्दैनन् । उल्टै आयोजना निर्माणमा ढिलाइ भएको भन्दै ऋण तालिका परिमार्जनको माग गर्ने गरेको देखिन्छ ।

    सरकार र संस्थानबीच ऋण सम्झौता हुँदा तोकिएको समयअनुसार काम सम्पन्न नभएपछि ऋण तिर्ने समय तालिका परिमार्जन हुनुपर्ने भन्दै विभिन्न निकायहरुले पत्र पठाउने गरेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । “एकातर्फ नेपाल सरकारले वैदेशिक ऋण सहायता स्रोत रहेको रकम ऋण लगानी गरेको मूल सम्झौता बमोजिम अन्तरराष्ट्रिय विकास साझेदारलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी तालिकाअनुसार अनिवार्य तिर्नुपर्ने र तिर्ने गरेको छ । अर्कोतर्फ भुक्तानी तालिका परिमार्जनको कार्यविधिगत अस्पष्टता रहेको अवस्थामा भुक्तानी तालिका परिमार्जन गर्न जटिलता भएको छ”, नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन–आर्थिक वर्ष २०८१–८२’ मा भनिएको छ ।

    प्रतिवेदनअनुसार विकास साझेदारले संस्थानहरुलाई सोझै भुक्तानी गरेका ऋण लगानीको विवरणमा अस्पष्टता छ । सार्वजनिक संस्थानमा भएको सरकारी ऋण लगानी नउठेको अवस्थामा के गर्ने भन्ने कानूनी स्पष्टतासमेत देखिँदैन । सरकारद्वारा विभिन्न संस्थामा ऋण लगानी गर्नुअघि गरिने तमसुकमा भने जायजेथा बेचेर भएपनि असुल गरिने उल्लेख भएको देखिन्छ । तर त्यतिको भरमा मात्रै सम्पत्ति र जायजेथा बेचेर ऋण असुली गर्नसक्ने अवस्था नरहेको कार्यालयको तर्क छ ।

    सरकार जमानत बसेको दायित्वको हिसाबमा स्पष्टता छैन । नेपाल सरकारले सार्वजनिक संस्थानलाई दिएको जमानत तथा बैंक–वित्तीय संस्थाबाट ऋण लिएको स्वीकृतिको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग छैन । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणलाई अल्पकालीन ऋण लिनका लागि सरकारले दिएको स्वीकृतिको जानकारीसमेत कार्यालयलाई गराइएको छैन । महालेखा नियन्त्रक कार्यालयबाट २०७६ सालमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई हस्तान्तरण भएको शेयर तथा ऋण लगानीको अभिलेख नमिलेको बारे अध्ययन गर्न सम्बन्धित संस्थान, विषयगत मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधि रहनेगरी कार्यदल गठनको माग कार्यालयले गर्दै आएको छ ।

    ऋण लिने निकाय र खर्च गर्ने निकाय फरक हुँदा हिसाबमा नमिलेको ऋण व्यवस्थापन कार्यालयको बुझाइ छ । उदाहरणका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयबीच ऋण तथा लगानीको हिसाब कसले राखेको भन्ने स्पष्टता छैन । सरकारले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सहायक ऋण सम्झौता गरी रकम निकासा गरेको देखिन्छ । तर बोर्डले उक्त रकम काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सोअन्तर्गतका आयोजना कार्यान्वयन निर्देशनालयलाई दिने गरेको देखिन्छ । “ऋण लिनेले पाइप विस्तारको काम गर्दैन, पाइप विस्तार गर्नेले पानी वितरण गर्दैन, पानी विवरण गरी आयआर्जन गर्नेले ऋण तिर्ने दायित्व वा जिम्मेवारी राख्दैन”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ ।

    अनुदानको रकमलाई ऋणको रुपमा गणना गर्दा हिसाब फरक देखिएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बराल बताउँछन् । “विभिन्न आयोजनाका लागि ५० देखि ८० प्रतिशतसम्म अनुदान र बाँकी रकम ऋणका रुपमा आएको भए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यसको हिसाब राख्दा अनुदान र ऋण रकम कति भन्ने नछु्टयाएकाले समस्या देखिएको हो”, बरालले भने, “विगतमा महालेखापरीक्षकको कार्यालयले यो विषय उठाएको रहेछ । अहिले हामीले यसबारे स्पष्ट पारेर कार्यालयलाई जानकारी गराइसकेका छौँ ।”

    ऋण व्यवस्थापन कार्यालयले संस्थानहरुलाई लगानीको हिसाब मिलाउन पटक–पटक भन्ने गरेको सूचना अधिकारी मोहनसिंह बस्नेत बताउँछन् । “कुन संस्थानमा सरकारको कति लगानी भएको छ भनेर हेर्ने पहिलो जिम्मेवारी सम्बन्धित विषयगत मन्त्रालय र संस्थान आफैँको हो । हामीले हिसाब मिलानका लागि निरन्तर ताकेता गर्ने गरेका छौँ”, बस्नेतले रासससँग भने, “जबसम्म हिसाब मिल्दैन, तबसम्म सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग भएको विवरण नै आधिकारिक हो ।” कार्यालयले यही मङ्सिर ८ गते खानेपानी संस्थान र मङ्सिर ९ गते नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेर मङ्सिर मसान्तभित्र हिसाब मिलाउन भनेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन–आर्थिक वर्ष २०८१–८२’ अनुसार यस अवधिसम्ममा नेपाल सरकारले विभिन्न १५९ वटा सार्वजनिक संस्थान तथा निकायहरुमा सेयर तथा ऋणका रुपमा रू नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । जसमध्ये सेयर लगानी ११६ संस्थानमा रू चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ । गत आर्थिक वर्षसम्मको सरकारको कुल ऋण लगानी रू पाँच खर्ब २६ अर्ब छ करोड ६३ लाख १० हजार रहेको छ । जसमध्ये आन्तरिक स्रोतबाट रू एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट रू तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रहेको कार्यालयले जनाएको छ ।

    विभिन्न संस्थान र निकायहरुमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायहरुले समयमा सरकारलाई साँवा ब्याज भुक्तानी नगर्दा त्यसको दायित्वसमेत क्रमशः बढ्दै गएको देखिन्छ । “आर्थिक वर्ष २०८१र८२ सम्ममा भाका नाघेको साँवा रू दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख तीन हजार १२६ र भाका नाघेको ब्याज रू एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ गरी कूल भाका नाघेको रकम रू चार खर्ब ८ करोड २० लाख ९९ हजार २९५ रहेको छ”, प्रतिवेदनमा उल्लेख छ ।

    सार्वजनिक संस्थानको वित्तीय उत्तरदायित्व, अनुशासन, संस्थागन सुशासन र समग्र कार्यसम्पादनको सुनिश्चितता गर्ने र पारदर्शिता कायम गर्ने प्रमुख औजार लेखापरीक्षण हो । कानुनले तोकेको प्रक्रिया र समयभित्र लेखापरीक्षण सम्पन्न गर्नु संस्थानको अनिवार्य दायित्व भए पनि उनीहरुले नियमित लेखापरीक्षण गरेको देखिँदैन ।

    अघिल्लो आर्थिक वर्ष २०८०–८१ सम्ममा २१ वटा संस्थानले मात्र नियमित रुपमा अन्तिम लेखापरीक्षण गरेका छन् । उदयपुर सिमेन्ट, सार्वजनिक सेवा प्रशारण नेपाल र गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७८–७९ सम्मको मात्रै लेखापरीक्षण गराएको देखिन्छ । त्यस्तै, जनकपुर चुरोट कारखाना र राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६–७७, विशालबजार कम्पनी लिमिटेडले आव २०७५–७६, राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडले आव २०७३–७४ र नेपाल ओरियन्ट म्याग्नेसाइट प्राईभेट लिमिटेडले आव २०६४–६५ यताको लेखापरीक्षण गराएका छैनन् ।

    “तमसुक, निर्णय तथा सम्झौता प्राप्त हुन नसकेका कतिपय ऋण तथा ब्याजको बक्यौता रकमहरु गणना गर्न सकिएको छैन । जसका कारण यस्तो लगानीको साँवा मात्र समावेश गरिएको छ भने बक्यौता राजस्व आर्थिक विवरणमा उल्लेख गरिएको छैन”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदनमा भनिएको छ ।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर खुला

    वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर खुला

    काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म बढीमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    साधारण शेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो शेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले जारी पूँजी रु एक अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशत रु १९ करोड २६ लाख ६० हजारको बराबरको १९ लाख २६ हजार ६०० कित्ता मध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । साधारण शेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण शेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।

  • नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौँ, २२ मङ्सिर । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।

    ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ ।

    सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ । सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडी व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।

    सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ । मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ ।

    साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचना अनुसार सीतापाईला भिमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ । रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।

  • नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

    नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

    नेपालगञ्ज, २२ मङ्सिर ः निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगञ्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे ।

    अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उनले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए । “राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन”, उनले भने ।

    नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए । सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

  • प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    काठमाडौँ, २२ मङ्सिर स् निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।

    १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।

    आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् । त्यसैगरी कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

    आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्र्वाचन चिन्हका रुपमा प्रयोग हुनेछन् ।

    बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछ । दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कलो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् ।

  • जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

    जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

    रासस
    त्रिशूली (नुवाकोट), २१ मङ्सिरः सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शीताको विरुद्धमा जेनेरेसन–जेड (जेनजी) युवाहरूले गत भदौ २३ मा काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । उनीहरूको माग थियो ‘युवा पुस्ताको आवाजको सम्मान गरियोस्, देशमा पारदर्शीतासहित नागरिक अधिकार सुनिश्चित होस् ।’

    आन्दोलनको पहिलो दिनमै राज्यले बर्बर दमन गर्‍यो । शान्तिपूर्ण विरोध प्रदर्शनका लागि विद्यालयरकलेज पोसाकमा सहभागी विद्यार्थीमाथि गोली चलाइँदा १९ युवाको मृत्यु भयो, सयौँ घाइते भए । यही दृश्यलाई नजिकबाट नियालिरहनुभएका नुवाकोट तादी गाउँपालिका–३, खरानीटारका २५ वर्षीय धीरज श्रेष्ठले भदौ २४ मा बालाजुमा प्रहरीको गोलीबाट शहादत प्राप्त गर्नुभयो । हाल काठमाडौँ तारकेश्वर नगरपालिका–४ नयाँ गणेशस्थान बसोबास गर्दै आउनुभएका श्रेष्ठ जेनजी आन्दोलनका अमर सहिद हुनुहुन्छ ।

    उहाँ सामाजिक कार्यमा सक्रिय र साहसी युवा हुनुहुन्थ्यो । बुबा नारायण श्रेष्ठ र आमा मेनुकाको दुई सन्तानमध्येका धीरज कान्छो छोरा हुनुहुन्थ्यो । जेठो धीरन नौ वर्षदेखि अष्ट्रेलियामा हुनुहुन्छ ।आत्मविश्वासी र निडर स्वभाव धीरजको सानैदेखिको विशेषता थियो । “जे भन्छु, पूरा गरेरै देखाउँछु” भन्ने धीरजको स्वभाव थियो । कुनै पनि काममा कहिल्यैपछि हट्दैन्थो” बुबा नारायण सम्झनुहुन्छ । “अन्यायको सधैँ विरोध गर्थे, दुःखीको पक्षमा उभिन्थे, बोलीमा शिष्टता थियो । त्यसैले परिवार, साथीभाइ र छरछिमेक सबैको मनमा उनले छुट्टै स्थान बनाएका थिए,” नारायणले भावुक हुँदै सुनाउनुभयो ।

    जुत्ता–कपडा व्यापारमार्फत आत्मनिर्भर बन्नुभएको थियो । सरकारले सामाजिक सञ्जाल बन्द गराएपछि उहाँले गर्दै आएको अनलाइन व्यापार प्रभावित बन्यो । यही कारण भदौ २३ गते बानेश्वरमा भएको जेनजी युवाको आन्दोलनमा उहाँ सहभागी हुनुभयो । नागरिक स्वतन्त्रता र सामाजिक अभिव्यक्तिको पक्षमा समर्थन गर्नुभयो । प्रदर्शनकै क्रममासँगै गएको साथीलाई गोलीको छर्रा लागेपछि उहाँको प्रतिबद्धता झनै बलियो बन्यो ।

    भदौ २३ को आन्दोलनलाई उहाँले नजिकैबाट नियाल्नुभएको थियो । न्यायको माग गर्दै सडकमा उत्रिएका युवामाथिको दमन देखेपछि धीरज थप पीडित हुँदै गर्दै घर फर्कनुभयो । घरमा बुबा–आमासँग बोल्दा उहाँको शान्त अनुहारमा असह्य अन्यायप्रति उब्जिएको आक्रोश स्पष्ट देखिन्थ्यो । “अन्यायको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा भएको ज्यादती सहन हुन्न ।” घर फर्केपछि उहाँले भनेका यी र यस्तै आक्रोशका शब्द आमा मेनुकालाई अझै स्मरण छ । अन्याय सहनु हुँदैन भन्ने दृढ विश्वास उहाँमा जागेको थियो । चुप बसेर हुन्न, उठ्नै पर्छ, धीरजले बारम्बार भन्ने गर्नुहुन्थ्यो । “आफ्नो र देशको भविष्यको लागि अन्याय सहेर घरभित्र बस्ने होइन, न्याय खोज्न सडकमा उत्रनुपर्छ ।”

    उहाँको त्यो अठोटले घरपरिवारमा युवा पुस्ताको आन्दोलनमा ऐक्यबद्धता जुट्दै गएको थियो । आन्दोलनको दोस्रो दिन भदौ २४ गते दिउँसो १ बजेतिर उहाँ घरबाट निस्कन लाग्नुभयो । अघिल्लो दिन घाइते भएका साथीलाई भेट्न अस्पताल जान्छु भन्दै बाहिर निस्कँदै गर्नुभएको बेला आमा मेनुकाले सम्झाउन खोज्नुभयो “देशभर अशान्त छ बाबु, भिडभाडमा केही हुनसक्छ ।” तर, उहाँको जवाफ थियो “म धेरै टाढा जान्न, अवस्था हेर्छु । मिल्यो भने साथीलाई भेट्न जान्छु, होइन भने बालाजु चोकसम्म पुगेर आउँछु ।” छोराको क्रान्तिप्रतिको प्रतिबद्धता र भविष्यप्रति देखाएको भरोसाले शान्तिपूर्ण आन्दोलनप्रति घरमा एकमत बनेको थियो । धीरजको जोश, आशा र आदर्शप्रति बुबाआमाले मनले गर्व गर्नुहुन्थ्यो । शब्दले भन्दा पनि गहिरो साथ थियो त्यो समर्थनमा ।

    निर्दोष विद्यार्थीमाथि गोली चलाइएको घटना उहाँका लागि असह्य थियो । ‘‘यस्तो बेला चुप लागेर बस्न हुँदैन । अन्यायको प्रतिकार गर्नैपर्छ’’ धीरजले अघिल्लो दिन भनेको यो तर्कले आमा मेनुकाको मन डराइरहेको थियो । आँखा दृढ, स्वर शान्त, तर हृदयमा आगो बोकेको जोशमा बिरामी साथी भेट्न उहाँ निस्कनुभयो । सत्य, न्याय र परिवर्तनको यात्रामा उहाँका पाइला अगाडि बढे । धीरजले न्यायका लागि आफ्नो मनलाई बलियो मात्र बनाउनु भएन परिवारलाई पनि साहस सिकाउनुभयो । उहाँका यी शब्द र कर्महरू आम युवाका लागि प्रेरणाको स्रोत बन्यो ।

    अन्यायविरुद्धको आवाजलाई जेनजी युवाले घरघरबाट यसैगरी बुलन्द बनाएका थिए । धीरजको उज्यालो अनुहार सबैलाई मन छुने खालको थियो । सफा र सुग्घर देखिने उहाँका चालचलनमा सरलता, अनुशासन र दयालु स्वभाव झल्किन्थ्यो । देख्नेहरू एकदमै राम्रो र नम्र व्यक्तिको रूपमा चिन्दथे । भदौ २४ को दिउँसो नयाँ गणेशस्थानस्थित घरबाट निस्कँदा धीरजको अनुहार शान्त देखिन्थ्यो तर अनुहारमा अन्यायप्रति आक्रोश र परिवर्तनप्रतिको दृढ सङ्कल्प झल्किन्थ्यो ।

    जेनजी युवाले उठाएको आवाजमाथि देशभर भएको बर्बरतापूर्ण दमनले धीरजको मन आहत बनेको थियो । अघिल्लो दिनको आन्दोलनमा गोलीको छर्रा लागेको साथीको अवस्था थाहा पाउन जान लागेका धीरजको मनभित्र साथीप्रतिको चिन्ता मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता पनि थियो ।घरको गेटसम्म आइपुगेका धीरज अचानक फर्कनुभयो “ममी, मेरो चस्मा छुट्यो १” आमा मेनुका चस्मा लिएर ढोकामा निस्कनुभयो । छोराको हातमा थमाउँदै मुस्कान दिनुभयो । अनि धीरजले गलाको सुनको सिक्री फुकालेर आमाको हातमा राखिदिँदै भन्नुभयो “भिडभाडमा हराउन सक्छ ममी, तपाईं राख्नुस् ।”त्यति बेलाको धीरजको अनुहार शान्त, ममता र चिन्ताले भरिएको थियो ।

    आमा मेनुकालाई अहिले बारम्बार झल्किरहन्छ । त्यो पल जहाँ आफ्नो धनसम्पत्तिको हिफाजत मात्र होइन, छोराको सजगता, जिम्मेवारी र आमाप्रतिको माया मिसिएको थियो । तर, त्यो नै आमाले छोरालाई स्पर्श गर्न पाएको अन्तिम क्षण बन्यो । त्यसपछि ती पल कहिल्यै फर्किएनन् । चस्मा दिंँदा र सिक्री समाउँदा आमाछोराको हातको स्पर्श । त्यो क्षण आज सहिद धीरजको अन्तिम सम्झना बनेर हरेक पल आमाको आँखाबाट आँशु झर्दछ ।

    देशको अवस्था रेडियो र टेलिभिजनबाट नियाल्दै आउनुभएका धीरजका बुबा नारायण र आमा मेनुकाले जेनजी युवाहरूको माग जायज लागिसकेको थियो । भदौ २३ मा काठमाडौँमा र भदौ २४ गते बिहानैदेखि देशभर फैलिएको शान्तिपूर्ण प्रदर्शन माथिको दमनले उहाँहरूको मनमा गहिरो पीडा छाएको थियो ।

    धीरज घरबाट निस्केको करिब १५ मिनेटमै तारकेश्वर अस्पतालबाट फोन आयो ‘धीरज घाइते भएका छन्, तुरुन्त आउनुहोस् ।’ केही बेरमै बुबाआमा अस्पताल पुग्नुभयो तर धीरजको प्राण सकिसकेको रहेछ । यो खबरले परिवारमा अपूरणीय क्षति र गहिरो शोकको बादल मडारियो । धीरजको अनुहार अझै पनि आँखामा ताजा छ, जसले सबैलाई न्यायको आवाज बुलन्द गर्न उक्साएको थियो । ‘अन्यायको लागि चुप बस्नु हुन्न’ भन्ने धीरज गोली लागेका साथी भेट्न अस्पताल जाँदै गर्दा बालाजु चौकी अगाडि पुग्दा प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर घटनास्थलमा नै शाहादत प्राप्त गर्नुभएको थियो ।

    घाँटीमा लागेको गोलीले धीरजको शरीर रक्ताम्य भएको थियो । आमाले छोरालाई बेस्कन अँगालोमा कसेर बोलाउनुभयो तर उहाँ सधैँका लागि मौन भइसक्नु भएको रहेछ । “देशका लागि बोल्नुपर्छ, जाग्नुपर्छ” भन्ने धीरज नै परिवर्तनको आवाज सुन्न नपाउँदै चुप लाग्नुभयो । अस्पताल पु¥याइए पनि चिकित्सकले घटनास्थलमै उहाँको प्राण गइसकेको पुष्टि गरेका थिए । धीरज अष्ट्रेलिया जाने अन्तिम तयारीमा हुनुहुन्थ्यो । भदौ २७ गते शुक्रबार दूतावासले उहाँलाई बायोमेट्रिकका लागि बोलाएको थियो । तर भदौ २४ गते सोमबार नै उहाँले देशको लागि शहादत प्राप्त गर्नुभयो । घरबाट निस्कनु अगाडि, बुबाले हुलदङ्गामा परेर विदेश जाने प्रक्रियामा असर पर्नसक्छ भनेर सम्झाउन खोज्नुभएको थियो ।

    तर, “देशका लागि केही गर्नुपर्छ । यो शान्तिपूर्ण प्रदर्शन हो । साथ दिनुपर्छ । देश रह्यो भने न विदेश जाने हो १” दृढताका साथ उहाँले भनेको तर्कले बुबालाई पनि आन्दोलन प्रतिको ऊर्जा दिएको थियो । धीरजको अनुहारमा शान्ति, क्रान्ति र न्यायको प्रतिबिम्व झल्कन्थ्यो । समाज बदल्ने जिम्मेवारी युवाको काँधमा छ । युवालाई देशमा रोजगार दिनुपर्छ, ब्यापार, व्यवसाय र उद्यम गर्ने वातावरण सुनिश्चित हुनुपर्छ । देश निर्माणको लागि युवा पुस्ताको माग र शान्तिपूर्ण प्रदर्शन आम नेपालीको आन्दोलन हो भनेर उहाँले घरदेखि समाज र साथीभाइलाई बुझाउन सक्ने हुनुभएको थियो ।

    गाउँमा ४ कक्षासम्म पढेर, धीरज बुबा–आमासँगै काठमाडौँ जानुभएको थियो । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका उहाँलाई होटल क्षेत्रमा विशेष रुचि थियो । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण पश्चात होटल म्यानेजमेन्ट अध्ययन गरेर, धीरजले खुमलटारमा बर्गर हाउस सञ्चालन गर्नुभयो । आफ्नो रुचि पूरा गर्दै, युवालाई रोजगारी दिनु उहाँको ठूलो लक्ष्य थियो । सोचेअनुसार ठूलो प्रगति नहुँदा पनि बर्गर हाउस सञ्चालनमा उहाँ सन्तुष्ट हुनुहुन्थ्यो ।

    तर, परिवारसँगै बस्न चाहने धीरजले नयाँ गणेशस्थानदेखि खुमलटारसम्मको दैनिक यात्रामा थकाई महसुस गर्न थाल्नुभयो । बुबा नारायण दिनभर घरबाहिर व्यस्त हुने हुँदा, घरको जिम्मेवारी धीरजमाथि थियो । दिनभर घरमा आमा एक्लै हुनुभयो भनेर धीरजले बर्गर हाउस बिक्री गर्नुभयो । घरमा प्रशस्त समय पनि दिन सकिने र आम्दानीको स्रोत पनि हुने देखेपछि उहाँले पछिल्लो डेढ वर्षदेखि अनलाइन व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । उज्यालो अनुहार, कोमल स्वभाव र घरपरिवारप्रतिको माया–धीरजको यही उपस्थिति घरका लागि उज्यालो बत्ती जस्तै थियो ।

    दिनभर घरमै रहँदा उहाँको हाँसो, बोली र आत्मियताले घरमा अलगै ऊर्जा भरिन्थ्यो । घरमा छोरी नभएको अभाव कहिल्यै महसुस नहोस् भनेर धीरजले आमा मेनुकासँगको सम्बन्धलाई विशेष आत्मियताले भरिपूर्ण बनाउनुहुन्थ्यो । उहाँ सधैँ आमासँगै रमाउनुहुन्थ्यो–भान्सादेखि बजारसम्म । तरकारी किनेर ल्याउनु मात्र होइन, केलाउन, पकाउन, स्वाद मिलाउनसमेत आमासँगै समय बिताउन उहाँलाई अत्यन्तै मनपथ्र्यो । घरमा जुठा भाँडा रहन नदिने, फोहर देख्नासाथ कुचो समाउने उहाँको स्वभावले छोराको बदलामा छोरीको जस्तै जिम्मेवारी मिलेको थियो ।

    सफाइमा सजग, व्यवहारमा अनुशासित र हरेक काममा ममतालु साथ दिने धीरजको बानीले घर सधैँ उज्यालो र जीवन्त बनाइरहेको थियो । आमा मेनुका भन्नुहुन्छ “बाबु ९धीरज० छोरा मात्र होइन, छोरी झैँं न्यानो साथ दिने मेरो हरकुरामा ध्यान दिने । कहीँकतै जाँदासँगै लैजाने–ल्याउने साथी थियो । बाबुको अभावले अहिले मनमात्र होइन घर नै अध्यारो भएको छ । धीरजको सहयोगी स्वभाव, न्यानो मनोवृत्ति र निरन्तर सक्रियता केवल परिवारभित्र मात्र सीमित थिएन, उहाँको स्नेह र समर्पणले मामाघरदेखि आफन्तसम्म सबैको मन जितेको थियो ।

    धीरजको बाल्यकाल पनि त्यत्तिकै स्मरणीय रह्यो—जहाँ उहाँको सरलता, भावुकता र जिम्मेवारीको बीउ सानै उमेरदेखि नै पलाइसकेको थियो । खरानीटारमा जन्मनुभएका धीरज साथीभाइसँग असाध्यै मिलनसार, मिठो बोल्ने र सहजै मन जित्ने स्वभावका हुनुहुन्थ्यो । बाल्यकालमै उहाँभित्रको संवेदनशीलता, मानवीयता र सबैलाई साथ–सहयोग गर्न चाहने गुणहरूले सबैको प्रिय बनाएको थियो ।

    खरानीटारस्थित उहाँको दाइ (ठूलोबुबाको छोरा) राजीव सम्झनुहुन्छ, “धीरज सानैदेखि निकै मायालु थियो । स्कुल जाँदा सधैँ मेरो साथ चाहिन्थ्यो । धीरजभन्दा सानो घरको भाइलाई हिँडाएर उसलाई मैले नै काँधमा राखेर लैजानुपथ्र्यौ ।” राजीव थप्नुहुन्छ, “त्यसबेला लाग्थ्यो, धीरजले मलाई सास्ती दियो । तर, अहिले सम्झिँदा लाग्छ, त्यो त उसको ममता रहेछ । हरेक दिन आधा घण्टा काँध बोकेर स्कुल लैजानु, ल्याउनु–त्यो समय आज मेरो जीवनको अमूल्य स्मृति बनेको छ ।” परिवार, साथी र समाजप्रति धीरजको त्यो निःस्वार्थ प्रेम नै आज सबैको मनमा अविस्मरणीय बनाइदिएको छ ।

    देशको अवस्था परिवर्तनका लागि कलिला युवाको नेतृत्वमा चलेको जेनजी अभियानमा भएको राज्यको बर्बरतापूर्ण दमनले भदौ २३ र २४ मा आम–नेपालीका लागि कालो दिन साबित भयो । धेरै आमाको काख खाली भयो, बुढेसकालको साहारा खोसियो । धीरजका बुबाआमाको मनमा अहिले एउटै चाहना बाँकी छ– छोराले देखेको सपना अधुरो नहोस् । देशमा परिवर्तन होस् । त्यो परिवर्तन, जसको लागि धीरजले ज्यानसम्म दिए ।

    “छोराले बारम्बार भन्थ्यो, ‘देश परिवर्तन गर्न हामीले नगरे कसले गर्छ रु” भन्दै आमा मेनुकाको आँखामा आँशु टिलपिलाउँछ । “त्यो आवाज अझै कानमा गुञ्जिरहेजस्तो लाग्छ ।” उहाँलाई विश्वास छ– धीरजजस्ता हजारौँ जेनजी युवाको बलिदानबाट स्थापित अहिलेको सरकारले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नेछ । देशमा सकारात्मक परिवर्तन आउनेछ ।

    “जेनजीले उठाएका माग हाम्रो घरको, हाम्रै समाजकै आवाज हो । ती माग सुन्नु, बुझनु र सम्बोधन गर्नु अहिलेको सरकार र राजनीतिक नेतृत्वको कर्तव्य हो” आमा मेनुकाको यही भनाइ छ । उहाँ थप्नुहुन्छ, “अब हुने आम निर्वाचनमा जेनजीको बलिदान, भावना र प्रतिनिधित्व अनिवार्य रूपमा समेटिनुपर्छ । परिवर्तनका लागि बीउ रोपिएको छ, त्यसलाई हुर्काउन सबैले आफ्नो ठाउँबाट साथ दिन जरुरी छ ।” उहाँको यो आशा आज देशभरका सहिद परिवारको साझा आवाज बनेको छ ।

    जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका ४२ जना सहिदका परिवार मिलेर ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ गठन गरिएको छ । उक्त समाज गत कात्तिक २४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको हो । अध्यक्ष भोजविक्रम थापाको नेतृत्वमा रहेको समाजमा सहिद धीरजका बुबा नारायण सदस्य र प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । सरकारले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारलाई राहतस्वरूप रु १५ लाख प्रदान गरिसकेको छ । ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’को भनाइ छ–सरकारी सहयोग केबल क्षतिपूर्ति होइन, यो ऐतिहासिक बलिदानको सम्मानसँग जोडिनु पर्दछ । “बलिदानको बदलामा पैसा चाहिएको होइन” प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ “हामीलाई न्याय चाहिएको हो ।

    परिवर्तनका लागि ज्यान दिने छोराछोरीको सपना अब व्यवहारमा देखियोस् ।” समाजले बर्बरतापूर्वक दमनमा संलग्न दोषीलाई कानुनी कारबाही, सहिद परिवारका सदस्यहरूको स्वास्थ्य बिमा, शिक्षा, रोजगारीको अवसर लगायतका माग गर्दै सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ ।समाजको मुख्य माग सङ्घीय संसद् भवन परिसरमा जेनजी सहिदहरूको सालिक स्थापना गर्नुपर्ने भन्ने छ ।

    “सांसद्हरूले संसद् प्रवेश गर्दा ती छोराछोरीको अनुहार हेरेर सम्झिउन–कसले र किन बलिदान दिए । उनीहरूको अधुरो सपना पूरा गर्ने सङ्कल्प गरून्” उहाँको आग्रह छ । उहाँ थप्नुहुन्छ, “अब कुनै नेपालीले यही मागमा दोहो¥याएर अर्को आन्दोलन गर्न नपरोस्, अनाहकमा नेपालीले ज्यान गुमाउन नपरोस् । जेनजी युवाको बलिदान इतिहासमा मात्र सीमित नहोस्, प्रणालीमै परिवर्तनको आधार बनोस् । परिवर्तन शब्दमा होइन, कर्ममा देखियोस्–त्यही हो हाम्रो चाहना ।

  • हेटौँडाको मुख्य सडक विस्तार रोकियो

    हेटौँडाको मुख्य सडक विस्तार रोकियो

    बागमती, २१ मङ्सिरः सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वोच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ । सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको आदेशबारे पत्र आज कार्यालयमा प्राप्त भएकाले सडक विस्तार कार्य रोकिएको प्रमुख अधिकारीले बताए ।


    पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।

    तोकिएको समय सीमाभित्र घरधनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चौक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचनाहरु डोजर प्रयोग गरी भत्काएका थिए । यही मङ्सिर १९ गते सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडामा नाममा आदेश दिएको थियो ।

  • मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

    मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

    काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ सामुदायिक वनभित्र शव फेला परेको थियो । घटनास्थलमा बरामद भएका कपडा हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अनुसन्धान गर्दै जाँदा अधिकारीलाई पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।


    पक्राउ परेका अधिकारीले बालिकालाई विभिन्न प्रलोभन देखाएर घरभन्दा चार दशमलव पाँच किलोमिटर पर रहेको उक्त जङ्गलमा लगेर हसियाँले घाँटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको सहप्रवक्ता भट्टले बताए । उक्त घटनाका सन्दर्भमा प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्तागरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ । बलात्कार प्रतिकार गर्दा बालिकाको हत्या गरेको आरोपितले स्वीकार समेत गरेका छन् ।

  • प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

    प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

    रासस
    काठमाडौँ, २१ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गर्नुभएको छ । आज सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गर्नुभएको हो ।

    गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उहाँले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले हालको परिस्थितिको निकासका लागि निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

  • एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

    एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित

    काठमाडौँ, २१ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए ।

    बलिङतर्फ जनकपुरका लागि आदित्य महता र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए । यसैगरी जनकपुर बोल्ट्सका लागि ब्याटिङ गर्ने क्रममा सञ्जय कृष्णमुर्तिले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि विलियम विसिस्टोले २ विकेट लिए ।

  • कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

    कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

    मुस्ताङ, २१ मङ्सिरः उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ ।

    आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए । उनका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका–४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको उल्लेख गरे । यहाँका पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ ।

    कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ । त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ–३ स्थित लेतेखोला, सेतोखोला पुल, थासाङ–२ स्थित छाक्ताङ खोला, घरपझोङ–२ स्थित मार्फाखोला पुल, घरपझोङ–३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ–३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर–१ स्थित चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ ।

    त्यसैगरी, आयोजना कार्यालयअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाका इन्जिनियर चापागाईँको भनाइ छ । यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालयमार्फत ठेक्का सम्झौता भएकामध्ये ६ पुल गत आवमा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण गरिएका थिए । इन्जिनियर चापागाईँका अनुसार मुस्ताङ खण्डको थासाङ–३ लेतेमा निर्माणाधीन सेतोखोला, घरपझोङ–२ स्थित मार्फाखोला, वारागुङ–३ छुसाङस्थित नरसिंह खोला, लोघेकर दामोदरकुण्ड–१ स्थित चराङखोला र लोमान्थाङ गाउँपालिकास्थित किम्लिङ र भर्माखोला पुल गत आव २०८१\८२ मा सम्पन्न भएका हुन् ।

    आयोजना कार्यालयअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन थासाङ–४ स्थित कैकुखोला, थासाङ–२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड–२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका इन्जिनियर चापागाईँले बताउनुभयो । यहाँ निर्माणाधीन तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आवभित्र आयोजना कार्यालयलाई हस्तान्तरण भइसक्ने इन्जिनियर चापागाईँको भनाइ छ ।

    निर्माणाधीन रहेका तीन पुलको फाउन्डेसन र स्ल्याप ढलान भइसकेको र एप्रोज सडकसहित पुल फिनिसिङलगायतका कार्य बाँकी रहेको उहाँले बताउनुभयो । आयोजनाले कोरला सडकमा छवटा बेलिब्रिज निर्माण गरेको जनाएको छ । आयोजनाले म्याग्दीको बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला र पहिल्यै निर्माण गरेको थासाङ–२ घट्टेखोला र थासाङ–१ टुकुचेस्थित थापाखोलामा बेलिब्रिज स्थापना गरिसकेको जनाइएको छ । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की पुल गरी १९ पुल निर्माण गरिसकेको जनाएको छ ।

    त्यसैगरी, कोरला सडक आयोजनाले कार्यान्यवन गरेका बाहेक पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म आठवटा पक्की पुल निर्माण भइसकेको छ । पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भई निर्माण तथा मर्मतसम्भार भएका आठ पुल सम्पन्न भएका हुन् । जसअन्तर्गत आयोजनाबाहेक निर्माण भएका पर्वतको दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला र म्याग्दीको बेनीस्थित कालीगण्डकी खोला, बेगखोला, कालीगण्डकीस्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला पुल निर्माण भएका हुन् । त्यसैगरी, मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल यसअघि नै सम्पन्न भइसकेका छन् । यहाँको जोमसोमस्थित पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।

  • बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

    बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

    महोत्तरी, २१ मङ्सिरः महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् ।

    “मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ”, बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि नवलपरासीको पिठौलीका ईश्वरी चौधरीले भने, “हामीले यहाँको चुरे क्षेत्रको अवलोकन गर्यौ, यो त प्राकृतिक पर्यटनको भण्डार रहेछ ।” राइमण्डलडाँडास्थित गिद्धबास संरक्षण गर्न मुख्यतः आहाराको व्यवस्थापनमा जुट्न उनले बर्दिबास नगरपालिका र नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई सुझाव दिए ।


    आफ्नो ठाउँको पिठौली सामुदायिक वन क्षेत्रमा स्थापित गिद्ध संरक्षण उद्देश्यको जटायु रेष्टुरेन्ट स्थापना भएयता बढेको पर्यटकीय चहलपहलको अनुभव साट्दै चौधरीले बर्दिबासको यो क्षेत्र अझ मनोरम रहेको बताए । “यहाँको चुरे क्षेत्र सम्पदाले भरिपूर्ण रहेछ”, उनले भने, “यहाँ पर्यटकीय सम्भावनाका प्रशस्त आधार रहेछन् ।”

    राइमण्डलडाँडाको गिद्धबास, राइमण्डल क्षेत्रकै मध्य पाषण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, मधेसको जिल्ला भएर पनि सुन्तला, जुनार फल्ने चनौटेडाँडा र यहाँका टुटेश्वर, पञ्चधुरा माईस्थान र राइमण्डलधामसहितका आदिकालदेखिका धार्मिकस्थल पर्यटकीय विकासका लागि महत्त्वपूर्ण आधार रहेको अवलोकनकर्ताको प्रतिक्रिया छ ।

    त्यसैगरी, वातावरण र पर्यावरण संरक्षणका क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डल आफूले महोत्तरीको चुरे क्षेत्रको अवलोकन गर्दा लोपोन्मुख पन्छी गिद्धसँगै अनेकौ चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान रहेको देखिएको बताउनुभयो ।

    “यहाँको चुरे क्षेत्रमा अहिले सघन वन रहेछ । यहाँ बहुमूल्य वनस्पति तथा बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलसहितका वन्यजन्तु बाक्लै रहेछन्”, मण्डल भन्छन्, “यसका अतिरिक्त अन्य पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थलले यहाँको परिचय विशिष्ट बन्ने आधार छन्, यिनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न सक्नुपर्छ ।”

    अवलोकनकर्ताको सुझाव मनन गरेर नै बर्दिबास नगरपालिकाले संस्थागत प्रयत्नबाटै सम्भावना चिन्हित गर्न र तदनुरुप योजनाबद्ध काम अघि बढाउन नगरमा संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउँछन् । “पर्यटकीय सम्भावनाका क्षेत्र पहिचान गर्न र यी क्षेत्रमा गर्न सकिने कामको खाका बनाउन जिम्मेवारीसहितको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेका छौँ”, क्षेत्री भन्छन्, “समितिले विभिन्न क्षेत्रको काम हेर्नेगरी उपसमिति बनाएर अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको पहिचान र योजनाबद्ध काम अघि बढाउने कुरालाई प्राथमिकतामा राखिएको उनले बताए ।

    नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले मध्य पाषाण युगकालीन हतियार कारखानाको विज्ञहरूबाट पहिलो चरणको अन्वेषण कार्य र गिद्ध संरक्षणका काम पहिल्याउन काम सुरु गरेको जनाएको छ । “हामीले मध्य पाषाण युगकालीन हतियार कारखानाको पुरातत्वविद्बाट पहिलो चरणको अन्वेषण कार्य सम्पन्न गराएका छौँ, त्यसबाट प्राप्त विज्ञहरूको निष्कर्षले हामी उत्साहित छौँ”, समितिका अध्यक्ष हीरालाल गौतम भन्छन्, “पुरातत्व विभागका विज्ञ र भारतीय पुरातत्वविद्ले गर्नुभएको प्रारम्भिक अन्वेषणबाट यहाँ १० हजार वर्ष पहिलेको ढुङगे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको छ ।” यस काममा अझ योजनाबद्ध ढङ्गले अघि बढ्न सङ्घीय सरकारको चासो बढाउन प्रयत्न गरिएको गौतमको भनाइ छ ।

    त्यसैगरी, समितिले गिद्ध संरक्षण र पर्यापर्यावरणको कामलाई व्यवस्थित गर्न उपसमिति बनाएर काम अघि बढाइएको गौतमको भनाइ छ । यस क्रममा गिद्धको आहारा दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर मिहीन तवरले काम थालिएको गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेत बताउँछन् । “हामीले पहिलो चरणमा पिठौली वनको गिद्ध व्यवस्थापनको अवलोकन गरेर केही सिक्दैछौँ, अब राइमण्डलडाँडाको गिद्धबासको पायक पर्नेगरी गिद्धको आहारा व्यवस्थापनको काम अघि बढाउने तरखरमा छौँ”, बस्नेत भन्छन्, “यसका लागि समुदायसँग छलफल भइरहेको छ ।” यसका लागि दिगो काम गर्नुपर्ने हुँदा तयारीमा समय लागेको उनको भनाइ छ ।

    बर्दिबासको चुरे क्षेत्रमा पर्यटन सम्भावना पहिल्याउन दुई वर्ष पहिले ९२०८०० बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० वटा सामाजिक संस्थाले गरेका चुरे पदयात्राका क्रममा राइमण्डलडाँडामा गिद्धको समूह देखेपछि यहाँ यसबारे चासो बढेको हो । पदयात्रा गर्ने १० सामाजिक संस्थाले नगरक्षेत्रका ३८ ठाउँको परिचयसहित यिनलाई पर्यटकीय क्षेत्र बनाउन पहल गरिनुपर्ने सुझावसहितको पदयात्रा प्रतिवेदन त्यतिबेलै बर्दिबास नगर कार्यपालिकाको कार्यालयलाई बुझाएको थियो । आफूहरूले सुझाएका क्षेत्रमा काम गर्नेगरी नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति बनाए पनि सम्बद्ध पदयात्री संस्थासँग समन्वय भने नगरेको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काको गुनासो छ ।

    अहिले मुलुकका विभिन्न भेगबाट आउने अवलोकनकर्ताले आफ्नो नगरको चुरेक्षेत्रमा पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना औँल्याएका कुराले बर्दिबास नगरवासी पनि उत्साहित बनेका छन् । “जिल्लाको सबै चुरे क्षेत्र हाम्रै नगरमा पर्छ, बाहिरबाट आउने अवलोकनकर्ताले हाम्रो ठाउँको पर्यटन विकासको सम्भावना औँल्याएर देखाएका छन्”, बर्दिबास–११ का नीलहरि गौतम भन्छन्, “अब तीनै तहका सरकारले हामी जनतालाई केही हुँदैछ भन्ने अनुभूति दिनेगरी यस क्षेत्रको काम अघि बढाउनुपर्छ ।” यसका लागि मुख्यतः स्थानीय सरकारले योजनाबद्ध काम अघि बढाउँदै प्रादेशिक र सङ्घीय सरकारलाई जोड्न पहल लिनुपर्ने उनको सुझाव छ।

  • बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    २१ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो ।


    हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडिनै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।


    कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे । उनले भने, ‘आयोजनाबाट विद्युत उत्पादन सुरुभएपछि हिउँदयामको विद्युत माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’


    बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठूल्ठूला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रुपमा डुबेको थियो ।


    उक्त दिन जलविद्युत आयोजनामा कार्यरत २२ जना कर्मचारीहरुलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रुपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।


    आयोजनाबाट १६ पुस २०८१ बाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द थियो । आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।

  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    दशरथचन्द (बैतडी), २१ मङ्सिरः दार्चुलामा भूकम्प गएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राससलाई जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

  • आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

    आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

    काठमाडौँ, २१ मङ्सिर । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको हो ।

    अन्तरराष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आइकाओको भूमिकाको यो दिवसमा स्मरण गरिन्छ । आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढेको आइकाओले जनाएको छ ।

  • यस वर्ष कति आयात भयो रासायनिक मल ?

    यस वर्ष कति आयात भयो रासायनिक मल ?

    काठमाडौँ, २१ मङ्सिरः सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार यही मंसिर महिनाको दोस्रो सातासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले एक लाख ८० हजार चार सय ९१ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरशेनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ ।

    कृषि सामग्री कम्पनीले ८८ हजार दुई सय १३ मेट्रिक टन युरिया, ९२ हजार दुई सय ७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट टे«डिङ कर्पोरेशनले २४ हजार चार सय ९८ मेट्रिक टन युरिया, ५३ हजार सात सय ९५ मेट्रिक टन डीएपी र सात हजार सात सय २५ मेट्रिकटन पोटास आयातको क्रममा रहेको जनाएको छ । यस्तै, कूल ८६ हजार तीन सय ३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार आठ सय १८ मेट्रिकटन र साल्ट टेडिङ कर्पोरेशनमा २८ हजार पाँच सय १४ मेट्रिक टन उपलब्ध छ ।

    यस्तै, आयातको क्रममा बाह््य मुलुकका विभिन्न मार्गमा एक लाख २० हजार पाँच सय ९७ मेटिकटन रहेको मन्त्रालयले जनाएको छ । खेतीपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अबलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।