Category: समाचार

  • मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

    मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

    लिस्बन (पोर्चुगल), २१ मङ्सिरः पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन थालेको हो । घुम्ती सेवा सुरु भएसँगै शिविरस्थलमा सेवाग्राही आउने क्रम चलिरहेको र झण्डै २० नेपालीले सेवा लिइसकेको टोलीले जनाएको छ ।

    राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुुुुरु गरिएको राजदूत पौडेलले बताए । दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए । आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे ।


    शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ । यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो ।

    घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइराबासी नेपालीलाई राहत मिलेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए । मदेइरामै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन पाउँदा मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियोे ।

  • निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    काठमाडौँ, २१ मङ्सिरः प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् ।

    आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ ।

    यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।

    प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

  • एनपिएलः लिग चरणको अन्तिम खेल आज

    एनपिएलः लिग चरणको अन्तिम खेल आज

    काठमाडौँ, २१ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् ।

    छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

  • ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा

    ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा

    ओखलढुङ्गा, २१ मङ्सिरः ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।

    गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए । केही समय अगाडि गृहमन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए । बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ ।

    ओखलढुङ्गाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनको भनाइ छ । “अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए । लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृहमन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ”, विव्यस अध्यक्ष भण्डारीले भने, “जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौँ ।”

    उनका अनुसार सुनकोशी पारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ ।

    विद्यार्थी ओसारपसारका लागि सुनकोशीमा बोट चलाउन फिक्कल गाउँपालिकाले सुरुदेखिनै एक जना कर्मचारी राखेको थियो । सुनकोशी गाउँपालिकाले पनि एक जना कर्मचारी राखेर तलब दिने आश्वासन दिएको छ ।

    बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ ।

    “हाम्रो बाध्यता र कार्यक्षेत्रभित्रको समस्या होइन यद्यपी छिमेकी जिल्ला भएपछि र विगतदेखि हाम्रै विद्यालयका विद्यार्थी भएकाले ती अबोध बालबालिका लामो समय पढाइबाट वञ्चित भएको देखेर वैकल्पिक व्यवस्था गरी विद्यालय ल्याउने र घर फर्काउने गरिएको छ”, उपाध्यक्ष बरालले भने, “तीनखण्डेमा पुल निर्माणको पहल गरिरहेका छौँ । सबैको काम पनि भइसकेको छ तर सरकार परिवर्तन भएसँगै यो योजना ओझेलमा परेको छ ।” पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।

    सुनकोशी नदी किनारमा बिहान ५ः०० बजेदेखि नै विद्यार्थीहरू भेला हुन्छन् । बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसइईको तयारीमा रहेका विद्यार्थीहरू बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ः०० बजे सुनकोशी किनारमा आउने गरेका छन् । विद्यार्थी तार्न तीन वटा बोट राखिएको छ । जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लीन, नचल्न निर्देशन दिएर नदी तारिन्छ ।

    बाढीले पुल बगाएपछि १० मिनेटको बाटो दुई घण्टा लगाएर छिमेकी जिल्ला विद्यार्थीहरू घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए । बोटमा आउने कोशीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उनको भनाइ छ ।

    रबर बोट (डुङ्गा) सञ्चालन भए पनि बर्सातको समयमा भने जोखिम हुने भएकाले तत्काल पुल निर्माण गर्न स्थानीयले माग गरिरहेका छन् । छोराछोरी विद्यालय पठाउन सुनकोशी नदी किनारसम्म आएका अभिभावक विद्यार्थी बोटचढेपछि पारी नपुग्दासम्म र साँझ फर्किने बेला वारी नआउँदासम्म पिरमा बस्ने गरेका छन् ।

    “नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ”, जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन्, “ढुङ्गामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन् कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ । भगवान् पुकार्दै छोराछोरी पढाउन पठाउँछौँ ।” पुल नहुँदा यस क्षेत्रका नागरिकको दैनिकी पनि प्रभावित भएको छ । घरायसी सामान किन्न डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ । सिन्धुली क्षेत्र सुगम र नजिकै सुनकोशी नदीपारि रहेको ओखलढुङ्गा क्षेत्र दुर्गम छ ।

  • गगन भन्छन् : पार्टीको १५औँ महाधिवेशन र निर्वाचन तयारी सँगसँगै

    गगन भन्छन् : पार्टीको १५औँ महाधिवेशन र निर्वाचन तयारी सँगसँगै

    मलङ्गवा (सर्लाही), २० मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताए ।


    महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गरे । उनले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहति पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राखे ।

    महामन्त्री थापाले भने, “हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ । अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ । जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौँ । सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ ।”

    उनले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराउनुका साथै सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे । महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताए । उनले आफू आगामी निर्वाचनमा पनि काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे ।

  • १४ वर्षदेखि अलपत्र कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

    १४ वर्षदेखि अलपत्र कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

    सिरहा, २० मङ्सिरः १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयले चन्दा उठाउने अभियान सुरु गरेका छन् । आज कमला पुलमा उपस्थित भई अभियानका अगुवाहरूले अभियान औपचारिक रूपमा सुरुआत गरेका सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिए ।

    “यहाँ १४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ । विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ । पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ”, उनले भने ।


    अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन सुरु गरिएको बताए । पटक–पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उनको भनाइ छ ।

    मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ । त्यसैले कमला पुल निर्माणमा करिब रु दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा सङ्कलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको बताइएको छ । यस अभियानका लागि प्रतिपरिवार रु १० हजारका दरले चन्दा सङ्कलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाउने बताइएको छ ।

  • एनपिएल : रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

    एनपिएल : रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

    काठमाडौँ, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गमाउँदै पूरा ग¥यो ।

    पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे । उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे ।


    पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए । पोखराका धनन्जय लक्षनले ३ विकेट लिए । लिग चरणको अन्तिम खेल आइतबार दिउँसो ३ः३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।

  • धादिङको चालिसेमा ७ वटा गाडी ठोक्किए, ३५ जना घाइते

    धादिङको चालिसेमा ७ वटा गाडी ठोक्किए, ३५ जना घाइते

    मलेखु (धादिङ), २० मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

    काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी ९डिब्बा०, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए ।

    घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

    टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

    काठमाडौँ, २० मङ्सिरः काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २।५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैंक ९एडिबी०को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत रु तीन अर्ब १८ करोड छ । केन्द्रको निर्माण आगामी मङ्सिरमा पूरा गर्ने लक्ष्य छ ।

    टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन्भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन । ललितपुरमा विद्युत् उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा निर्माणधीन छन् ।

    मन्त्री घिसिङले आज निर्माणधीन प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए । त्यस क्रममा उनले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरे ।

    उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

    दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

    जोहानेसबर्ग, २० मङ्सिर (रासस–एएफपी) । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उनले बताए । तीन जना बन्दुकधारीहरू बिहान ४ः३० बजे छात्रवास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ ।

    उनले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकिएको उल्लेख गर्दै अहिले सम्म कसैलाई पनि पक्राउ नगरिएको बताए । दक्षिण अफ्रिकाको सबैभन्दा औद्योगिक राष्ट्र दक्षिण अफ्रिका सङ्गठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचार सँग जुझिरहेको जनाइएको छ । मुलुकमा धेरै मानिसहरूसँग व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेको जनाइएको छ । प्रहरीका अनुसार आक्रमणका कारण गत अप्रिल देखि सेप्टेम्बर सम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु भएको थियो ।

  • एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश

    एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश

    काठमाडौं, २० मंसिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले ।

    साम ५१ र फाफ ५० रनमा आउट भए । सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे ।

    विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे । आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो । इलिमिलेटरमा काठमाडौं र लुम्बिनी खेल्नेछन् । आजै ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

  • गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

    गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौँ, २० मङ्सिर । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

  • एनपिएल :आज दुई खेल हुँदै

    एनपिएल :आज दुई खेल हुँदै

    काठमाडौँ, २० मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन ।

    आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ । विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् । दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार÷चार अङ्क मात्रै रहेको छ ।

  • काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

    काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

    काठमाडौँ, २० मङ्सिरः नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ । मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

    यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

  • ‘निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ’

    ‘निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ’

    काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका द्धन् । निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताए ।

    उनले प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताए । “हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भने, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।”

    निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ । आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ । यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।

    यसैबीच राससले आफ्ना नियमित बुलेटिनमा निर्वाचनको दिनगणना (काउण्टडाउन) सहित समाचार र सामग्रीहरु महत्व दिन थालेकामा आभार व्यक्त गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण सृजनाका लागि राससजस्ता सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

  • रुस भारतका लागि ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन

    रुस भारतका लागि ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन

    नयाँदिल्ली, १९ मङ्सिर (रासस–एएनआई) । भारतको द्रुत बृद्धि भइरहेको अर्थतन्त्रका लागि रूस एक स्थिर र निर्बाध आपूर्तिकर्ता रहने घोषणा भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त प्रेस सम्बोधनका क्रममा उनले भने, “रुसले ऊर्जाको क्षेत्रमा भारतसँग सफल साझेदारीको सम्भावना देखिरहेको छ । भारतको ऊर्जाको विकासका लागि आवश्यक तेल, ग्यास, कोइला र सबै चीजको भरपर्दो आपूर्ति रूसले गर्नेछ । हामी द्रुत बृद्धि भइरहेको भारतीय अर्थव्यवस्थाको लागि इन्धनको निर्बाध ढुवानी जारी राख्न तयार छौँ।

    परम्परागत इन्धन सहयोगभन्दा धेरै क्षेत्रमा सहयोग विस्तार भइरहेको छ । पहिले नै भइरहेको प्रमुख संयुक्त आणविक ऊर्जा पहलको प्रकाश पार्दै उनले भने, “रूसले ‘भारतमा सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्ट निर्माण गर्न एक प्रमुख परियोजना’ सञ्चालन गरिरहेको छ।” उनले थपे, “दुबै देशहरूले ‘साना ‘मोड्युलर रिएक्टर’हरू र तैरिरहेका आणविक ऊर्जा प्लान्टहरूको निर्माण, र आणविक प्रविधिहरूको गैर–ऊर्जा अनुप्रयोगका लागि चिकित्सा वा कृषिमा पनि अन्वेषण गर्न सक्ने सम्भावनाको उद्घोष गरे ।

    उनले ‘उद्योग, मेशिन निर्माण, डिजिटल प्रविधि, अन्तरिक्ष अन्वेषण र अन्य विज्ञानको क्षेत्रमा गहन सम्भावनाबारे’ पहल गर्दै उच्च प्रविधि र औद्योगिक क्षेत्र’हरूमा बढ्दो सहयोगमा पनि लगानी भइरहेको र यसलाई विकास गरिने बताए । उनले थपे, “रूसले भारतको घरेलु उत्पादन ढाँचामा आफ्नो भूमिका विस्तार गर्नेछ । “रूसले मेक इन इन्डिया कार्यक्रमको ढाँचामा औद्योगिक उत्पादनहरूको उत्पादन पनि स्थापित गर्नेछ, जुन प्रधानमन्त्री मोदीको पहिचानको प्रतिष्ठित परियोजना हो।

    रणनीतिक र आर्थिक सम्बन्धबाहेक दुई देशबीचको सांस्कृतिक र मानवीय सम्बन्धको गहिराइलाई प्रकाश पार्दै पुटिनले भने, “सहयोग ‘बहुआयामी’ छ र भारतीय र रूसी जनता ‘शताब्दीयौँदेखि एक अर्काको परम्परा, इतिहास र आध्यात्मिक मूल्यहरूमा इमानदारीपूर्वक चासो राख्छन्।” उनले युवा र जनताबीच वैज्ञानिक र शैक्षिक सम्पर्क र आदानप्रदान पनि सक्रिय रूपमा विकसित भइरहेको बताए ।

  • युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी

    युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी

    नयाँदिल्ली, १९ मङ्सिर (रासस/एएनआई) :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहो¥याएका छन् । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उनले बताए । रूसी राष्ट्रपति पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उनले भने, “भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी यस मामिलाको शान्तिपूर्ण र स्थायी समाधानको लागि गरिएका सबै प्रयासहरूको स्वागत गर्दछाँैं। भारत आफ्नो योगदान दिन सधैँ तयार छ र भविष्यमा पनि रहनेछ।”

    उनले भने, “भारत र रुस आतङ्कवादविरुद्धको लडाइँमा लामो समयदेखि काँधमा काँध मिलाएर उभिएका छन् । पहलगाममा भएको आतंकवादी आक्रमण होस् वा क्रोकस सिटी हलमा कायरतापूर्ण आक्रमण होस्, यी सबै घटनाको जड एउटै हो । भारतको अटल विश्वास यो छ कि आतङ्कवाद मानवताको मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो र यसको विरुद्ध विश्वव्यापी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो।” प्रधानमन्त्री मोदीले भने, “मलाई पूर्ण विश्वास छ आगामी दिनमा हाम्रो मित्रताले हामीलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न शक्ति दिनेछ र यही विश्वासले हाम्रो साझा भविष्यलाई समृद्ध बनाउनेछ।”

    यसअघि राष्ट्रपति पुटिनसँगको द्विपक्षीय भेटका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रिय राजधानीमा रूसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यमा भारत युक्रेनी शान्तिको पक्षमा उभिएको साथै युद्धबारे भारतको मत तटस्थ नरहेको बताएका थिए । उनले भने, “हालैका दिनहरूमा मैले विश्व समुदायका नेताहरूसँग युक्रेनबारे व्यापक छलफल गरेको छु, मैले सधैं भनेको छु कि भारत युद्धबारे तटस्थ छैन। भारतको स्पष्ट अडान छ र त्यो अडान शान्तिको पक्षमा छ । हामी शान्तिको लागि हरेक प्रयासको समर्थन गर्दछौँ। भारत शान्तिको पक्षमा छ र विश्व शान्तिमा फर्कनु पर्छ।”

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त वक्तव्यमा प्रधान मन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई गहिरो बनाउनमा पुटिनको दूरदर्शी नेतृत्वको प्रशंसा गर्नुभयो र विश्वव्यापी चुनौतीहरूको बाबजुद मित्रता दृढ रहेको बताए । उनले भने, “देशहरूले सन् २०३० सम्म ‘आर्थिक सहयोग कार्यक्रम’ को बारेमा छलफल गरेका छन् र ‘यूरेसियन इकोनोमिक युनियन’ सँग स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निष्कर्षमा पुर्याउने दिशामा काम गरिरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि पुटिन चार वर्षपछि पहिलो पटक भारत भ्रमणमा छन् ।

  • प्रधानमन्त्रीको आह्वानमा दलहरुको संयुक्त बैठक, के भयो कुराकानी ?

    प्रधानमन्त्रीको आह्वानमा दलहरुको संयुक्त बैठक, के भयो कुराकानी ?

    काठमाडौँ, १९ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”

    यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उनको भनाइ छ । मन्त्री खरेलले सरकारका तर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताए ।


    “विगतका निर्वाचनहरूमा जेजस्ता चुनौतीहरू देखिएका थिए, ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’, ‘डिसइन्फरमेसन’बारे खुलेर कुराकानी भएको छ”, उनले भने, “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएका छन्, सरकार त्यसप्रति सचेत छ ।”

    मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताए । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो ।

  • जेन जी आन्दोलनपछि पहिलो पटक सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

    जेन जी आन्दोलनपछि पहिलो पटक सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिए । जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

  • मधेस प्रदेशका मुख्यमन्त्री पदमा कांग्रेसका यादव नियुक्त

    मधेस प्रदेशका मुख्यमन्त्री पदमा कांग्रेसका यादव नियुक्त

    जनकपुर, १९ मङ्सिर । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई आज मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित छ राजनीतिक दलका ७७ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको पत्रमा उल्लेख छ ।

  • आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

    आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

    रासस
    काठमाडौँ, १९ मङ्सिर । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्न राजनीतिक दललाई आज निर्देशन दिएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता कायम रहेका राजनीतिक दललाई आज निर्देशन दिएको हो ।

    नेपालको संविधानको मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थालाई स्मरण गरी निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवं लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नलगायत विषयमा आयोगले दिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रत्येक राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनको लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन आयोगले भनेको छ ।

    निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न, राजनीतिक दलको घोषणापत्रलगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न, महिला, दलित वा अल्पसङ्ख्यक समुदायको लागि आरक्षण गरिएका पदहरू बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तीमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्बित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्न आयोगले निर्देशन दिएको छ ।

    राजनीतिक दलले आफ्ना सदस्यहरूलाई लैङ्गिक तथा समावेशिताका सवालहरूमा संवेदनशील बनाउन आवश्यक सहजीकरण तथा प्रशिक्षणको व्यवस्था गर्ने।साथै तालिम तथा प्रशिक्षणका पाठ्यक्रम, पाठ्यसामग्री, निर्वाचनसम्बन्धी स्रोत सामग्री तयार गर्दा तथा कार्यक्रमस्थल छनोट गर्दा लैङ्गिक तथा अपाङ्गमैत्री र समावेशी बनाउन आग्रह गरिएको छ ।

    राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चित गर्न, कुनै कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्ग, क्षेत्र र समुदायको सहभागिता र प्रतिनिधित्व हुनेगरी कार्यक्रम सञ्चालन गर्न, निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवं समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवं कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य हुन नदिन सम्पूर्ण सतर्कता अपनाउन आयोगले निर्देशन दिएको छ ।

    ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवं प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता प्रदान गर्न, सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्न, निर्वाचनमा लैङ्गिक तथा समावेशिता, निर्वाचनको महत्व र मतदान गर्ने तरिकालगायत विषयमा मतदाताहरूलाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउन आयोगले स्मरण गराएको छ ।

    यसैगरी निर्वाचन आचारसंहिताको पालना गर्न, समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गरेपछि त्यसरी पेस गरेको बन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

    राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवं जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, सरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पतिको तोडफोड हानी नोक्सानी वा क्षति पु¥याउने वा पु¥याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य गर्नेलगायत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा उल्लेख भएका निषेधित कुनै पनि कार्य नगर्ने र नगराउने व्यवस्था गर्न आयोगले भनेको छ ।

  • प्लेअफमा लुम्बिनी : जनकपुर, पोखरा र चितवन एकसाथ बाहिरिए

    प्लेअफमा लुम्बिनी : जनकपुर, पोखरा र चितवन एकसाथ बाहिरिए

    काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो । लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका छन् ।

    आजको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टाएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन हिर्काएका छन् । बलिङमा जनकपुरका सङ्गीथ कुरेले तीन विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेकामा जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरेका छन् । लुम्बिनीका कप्तान पौडेल र शेर मल्लले समान दुई–दुई विकेट झारे ।

  • हेटौँडाको मुख्य सडक विस्तार सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    हेटौँडाको मुख्य सडक विस्तार सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    बागमती, १९ मङ्सिर । सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
    सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडाका नाममा आदेश दिएको छ ।

    यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सोसमेत खुलाइ यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनिभत्र प्रत्यर्थी नं १, ३, ४, ५ र ६ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र प्रत्यर्थी नं २ को हकमा आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी अदालतले आदेश दिएको छ ।

    अदालतले अन्तरिम आदेश माग भएको सन्दर्भमा विचार गर्दा निवेदकहरूको बसोबास र सम्पत्तिको हकको विषय निवेदनमा उठाइ आएकाले विषयवस्तुको प्रकृति हेर्दा अन्तरिम आदेश जारी हुने वा नहुने के हो, दुवै पक्षहरु राखी छलफल गरी निष्कर्षमा पुग्नु मनासिव देखिएको अदालतको आदेशमा उल्लेख छ । छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकिएको छभने छलफल भई अन्तरिम आदेश जारी हुने÷नहुने विषय टुङ्गो नलागेसम्म प्रत्यर्थी सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र सडक डिभिजन कार्यालय मकवानपुर हेटौँडाको मिति २०८१ मङ्सिर ५ को सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भनी अदालतको आदेशमा उल्लेख छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै धनीबाटै असुलउपर गर्ने जनाएको थियो ।

  • पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

    पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

    भोजपुर, १९ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख सङ्कलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो ।

    ‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रमअन्तर्गत बालबालिकालाई पाँच वर्षसम्म मासिक पाँच सयका दरले सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यसले अभिभावकलाई बालबालिकाको पठनपाठनमा प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ ।

    “सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन हामीले विशेष जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, विद्यालय छाड्नुका कारण पत्ता लगाउने र तत्काल समाधान गर्ने प्रक्रियालाई निरन्तर सञ्चालन गरिरहेका छौँ ।” यो अभियानमार्फत विद्यालय बाहिर रहेका १० जना विद्यार्थी पुनः भर्ना गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयलाई छाड्ने दर शून्य बनाउन गाउँपालिकाले सचेतनासँगै खोजी अभियान सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार हाल गाउँपालिकामा रहेका ३२वटै सामुदायिक विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन् । “विद्यालय सुधार, सिकाइको गुणस्तर वृद्धि र बालमैत्री वातावरण निर्माणमा हामी निरन्तर केन्द्रित छौँ”, भट्टराईले भने ।
    शैक्षिक सुधारसँगै गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन भइरहेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयलाई सम्मान तथा आर्थिक प्रोत्साहन प्रदान गरिँदै आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

    यो गाउँपालिकालाई २०८१ सालमा बालश्रममुक्त स्थानीय तहसमेत घोषणा गरिएको छ । बालमैत्री स्थानीय तह निर्माण गर्न बालश्रमुक्त स्थानीय तह पहिलो शर्त रहेकाले गाउँपालिकाले अहिले यसमा जोड दिएको गाउँपालिकाका रोजगार संयोजक तथा बालश्रमसम्बन्धी विषयका स्रोतव्यक्ति टेकराज खड्काले बताउए । गाउँपालिकाले बाल उद्धार कोष निर्माण गरेर आवश्यक कदम अघि बढाएको छ । स्थानीयवासीले गाउँपालिकाले सञ्चालन गरेको यो अभियानले विद्यालय फर्कने विद्यार्थीको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरेका छन् । राससबाट

  • बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

    बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

    म्याग्दी, १९ मङ्सिर । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिइन् । “गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ”, उनले भनिन्, “पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।”

    पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन् । खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन् । एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ । घरका कोठाबाटै हिमाल देख्न सकिन्छ । तोरीपानी प्रकृति र संस्कृतिका साथै जैविक विविधता र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ । विभिन्न जातजातिको मिश्रित बसोबास छ ।

    उनीहरूको संस्कार, रहनसहन र ग्रामीण जीवनशैलीमा रमाउन सकिन्छ । पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पीठोको ढिडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक युव गिरीले बताए ।


    “गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य उत्पादनको परिकारको स्वाद चखाउँछाँै”, उनले भने, “पर्यटकले यानीमाया, पञ्चेबाजा र भजनमा नाच्न पाउँछन् ।” पाहुनाका लागि होमस्टे सञ्चालकहरूले आफैँ तरकारीखेती, कुखुरा र गाईभैँसीपालन गरेका छन् । तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो । टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताइन् । रु एक हजार ५०० खर्चमा एक रात बास बस्न सकिन्छ ।

    होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर रु ७० हजारबराबरको सामग्री र समूहलाई रु दुई लाख सहयोग गरेको जानकारी दिनुए । इको हिमालयले तोरीपानीमा टिमुरखेती विस्तार, गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ ।

    समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी हिमशृङ्खला देखिन्छ । सूर्योदय र सूर्यास्तको समयमा हिमालको मनमोहक दृश्य देखिन्छ । बेनी बजारदेखि नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानीमा बेनीदेखि करिब ३० मिनेट सवारीसाधनमा यात्रा गरेपछि पुगिन्छ । बेनीदेखि अर्थुङ्गे, जामुनाखर्क हुँदै किराखोरसम्म पाँच किलोमिटर सडक पक्की छ । किराखोरदेखि नेप्टेचौर जोड्ने करिब दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । नेप्टेचौरदेखि तोरीपानी जोड्ने थप दुई किलोमिटर सडक ग्राभेल गर्न पूर्वाधार निर्माणाधीन अवस्थामा छ ।

    तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् । ढोलथानामा बाइसेचौबिसे राज्यका पालामा बर्खायामको राजधानी थियो । दरबारका भग्नावशेष अझै देख्न सकिन्छ । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्तिक्षेत्रको प्रवेशद्धारका रूपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।

  • भूजीखोलाका बाढीपीडित ६ वर्षदेखि राहतको पर्खाइमा

    भूजीखोलाका बाढीपीडित ६ वर्षदेखि राहतको पर्खाइमा

    रासस
    ढोरपाटन (बागलुङ), १९ मङ्सिर । भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू । विकासले विस्तारै जोडिदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी आयो । उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो । दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो ।

    आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन् । सैतीस जनाको ज्यान जानेगरी आएको बाढीले पुर्याएको क्षति बेहिसाब छन् । त्योभन्दा बढी बेहिसाब छन्, बाढीपीडितको दुःख । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । बाढी गएपश्चत सरकारले पीडितको पुनःस्थापनलाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान नपुग्न नसकेको उनीहरूको गुनासो छ । घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन् ।

    बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का एक सय ३१ घर बगाएको थियो । पीडितले ऋणधन गरेर अहिले घर बनाइसके । तर राहत अझै पाएका छैनन् । ढोरपाटन–९ का बाढीपीडित लालबहादुर विकले घर बनाउन सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गरे । बाढीले उहाँको जेठो छोरा र भएभरको घरसम्पत्ति बगाएको थियो । राहत आउँछ भन्दाभन्दै पाँच वर्ष बितिसकेको भन्दै अब पाउन आशासमेत मरिसकेको उनी बताउँछन् ।


    विकले भने, “बाढीले भएभरको सम्पत्ति बगायो, छोरो बगायो, कति समय त पालमुनि बस्यौँ, सधैँभरि पालमुनि बसेर जीवन चल्दोरैनछ, सरकारले पनि राहत दिन्छ घर बनाउ भनेपछि गाउँमा ऋण काढेर घर बनायौँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो, हामीहरू धेरै पीडामा पर्यौँ, राज्यले राहत देला भनेका थियौँ आहत दियो ।”

    अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको रु चार लाखमध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाए । बाढीमा आमा र घर बगाएको भन्दै अहिले घर निर्माण गरिसकेको बताए । केही आफ्नो कमाइ र केही रकम ऋण गरेर घर बनाएको उहाँको भनाइ छ । नेताहरूले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउँछन् । “हामी राम्रोसँग कुरा राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनुपर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्नेगरी घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ”, उनले भने ।


    सोही ठाउँका बाढीपीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताए । बाढीले घरजग्गासहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको विकले सुनाए । आफूले जम्मा रु दुई लाख ५० हजार पाएको भन्दै घर बनाउँदा रु पाँच लाख खर्च भएको उनको भनाइ छ ।

    “बाढीले परिवार नै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छन्, आफूलाई बिहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ, अहिले ऋणले डुबायो, के गरेर तिर्ने ?, गाउँका अरु धेरै बाढी पीडितहरूको अवस्था मेरोजस्तै छ”, उनले भने ।


    बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनःनिर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । सङ्घीय सरकारले १८ जना बाढीपीडितलाई घर बनाउन सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ताबाहेक अरु रकम नपाएको उनको भनाइ छ ।

    उपप्रमुख कायतले भने, “पीडितहरूले प्राविधिक स्टिमेटअनुसार घर बनाउनुपर्ने हो, विभिन्न कारण उनीहरूले सकेनन्, तर घरचाहिँ सबैको बनेको छ, सरकारले दिने रकम एकतिहाइले पनि पाउन सकेका छैनन्, यसका लागि हामीहरूले पहल गरिरहेका छौँ, बाढीले बगाएका विद्यालय, स्वास्थ्य संस्था, पुल र सडक पुनःनिर्माण भएर सञ्चालनमा आइसके ।”

  • स्वरसम्राट् नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइदैं

    स्वरसम्राट् नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइदैं

    काठमाडौँ, १९ मङ्सिरः प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए, कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्….’, ‘अल्झेछ क्यारे पछ्यौरी..’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् । मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

  • एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

    एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

    काठमाडौँ, १९ मङ्सिरः नेपालले अल्पविकसित राष्ट्रहरू ९एलडिसी०को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ ।

    अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा परराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिए ।


    परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताए । त्यस अवसरमा उनीहरुबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो ।

  • कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

    कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

    काठमाडौँ, १९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । छुटेका सबैलाई २६ गते सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
    सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स_ मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’, ‘टोटल बडी वाटर’को प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।

    सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय, कार्यस्थलको वातावरणसम्बन्धी विवरण सङ्कलन हुने न्यौपानेले जानकारी दिए ।

    मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरू धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

    कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना रहेको छ ।

  • प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

    प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

    काठमाडौँ, १९ मङ्सिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

    आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ ।

    यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

    सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।