Category: समाचार

  • गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवा बेपत्ता

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवा बेपत्ता

    १२ साउन, काठमाडौं । गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

    गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ।

  • काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा जारी, मधेशमा देला राहत ?

    काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा जारी, मधेशमा देला राहत ?

    १२ साउन, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको छ । पछिल्लो १२ घण्टामा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ ।

    सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पनि पर्याप्त पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार पछिल्लो १२ घण्टामा सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा भने हल्का मात्र वर्षा भएको छ ।

    आगामी दिनमा मधेश प्रदेशमा वर्षाको मात्रा बढेर मध्यमसम्म पुग्नसक्ने पूर्वानुमान छ । तर धान रोप्नका लागि पनि त्यो पर्याप्त नहुने अनुमान छ । गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा भएको छ । त्यहाँ १२३।४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९।६ मिलिमिटर वर्षा मापन भएको छ । भक्तपुरमा १८ मिलिमिटर वर्षा भएको छ । ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३.४ मिलिमिटर वर्षा भएको छ ।

  • साताको पहिलो दिन घट्यो सेयर बजार

    साताको पहिलो दिन घट्यो सेयर बजार

    ११ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.४४ अंकले घटेको छ । गत बिहीबारको तुलनामा शून्य दशमलव ६१ प्रतिशतले घटेपछि नेप्से २९ सय ६४ दशमलव २० विन्दुमा ओर्लिएको छ । कुल ६३ कम्पनीको सेयर मूल्य बढ्यो भने १८६ कम्पनीको मूल्य घट्यो । कुल २ लाख ३ हजार ६५८ पटकको किनबेचबाट ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    नेप्सेका अनुसार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूहहरू घट्यो । समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो ।

  • एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

    एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

    ११ साउन, काठमाडौं । एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो ।

    यसैगरी गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ । जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका हुन् । अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ छन् । प्रहरीमा दैनिक रूपमा मात्रै १ सय ६० मुद्दा दर्ता हुने गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी गराए ।
    गत आर्थिक वर्ष आत्महत्या गर्नेको संख्या मात्रै ६ हजार ८ सय ५२ रहेको छ । साइबर अपाधका मुद्दा १ सय १२ मुद्दा दर्ता भएको छ । यस वर्ष रेड नोटिस जारी भएका ३४ जना र विभिन्न देशबाट पक्राउ गरी ल्याइएका २० जना रहका छन् ।

  • कंगोमा सशस्त्र आक्रमण, कम्तिमा ३५ मारिए

    कंगोमा सशस्त्र आक्रमण, कम्तिमा ३५ मारिए

    ११ साउन, काठमाडौं । कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको सशस्त्र आक्रमणमा कम्तीमा ३५ जना नागरिकको ज्यान गएको छ । स्थानीय बासिन्दा र अगुवाहरूका अनुसार, रातको करिब ९ बजेतिर नगरको एक मन्दिरमा प्रार्थनामा संलग्न मानिसहरूलाई लक्षित गर्दै सशस्त्र समूहले भीषण आक्रमण गरे । आक्रमणपछिका दृश्य निकै हृदयविदारक थिए, जहाँ ३५ जना मृत शरीर भेटिएका छन् । धेरैजसो मृतक युवा धार्मिक सेवामा आवद्ध रहेका थिए ।

    बेपत्ता भएका केही युवाहरूको हालसम्म कुनै पत्तो लाग्न सकेको छैन । मन्दिरका प्रमुख पूजारीका अनुसार, कम्तीमा ६ जना गम्भीर घाइते छन् र केहीको अवस्था चिन्ताजनक छ । घटनास्थलमा सुरक्षा बलहरू परिचालन गरिएको भए तापनि पूर्वी कंगोमा सक्रिय चरमपन्थी समूहहरूले पुनः आक्रामक गतिविधि थालेको संकेत देखिएको छ । केही वर्षअघिदेखि यस क्षेत्रमा कंगो र छिमेकी मुलुकले संयुक्त रूपमा सुरक्षा अभियान सञ्चालन गर्दै आएका छन् । तर, यसप्रकारको घटनाले सुरक्षा चुनौती अझ बढाएको प्रष्ट भएको छ ।

    यस आक्रमणको जिम्मेवारी लिने पक्षको औपचारिक पुष्टि नभए तापनि, स्थानीय प्रशासनले यसलाई लामो समयदेखि हिंसात्मक गतिविधिमा संलग्न रहेको एक सशस्त्र समूहसँग जोडिएको अनुमान गरेको छ । यस घटनाले स्थानीय वासिन्दाहरूमा पुनः त्रास फैलिएको छ । मानव अधिकार समूहहरूले सरकारलाई तत्काल राहत, उद्धार र सुरक्षा प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।

  • पोखरामा ७६ लाख नगद सहित तीन जना पक्राउ

    पोखरामा ७६ लाख नगद सहित तीन जना पक्राउ

    ११ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरी ७६ लाख नगदसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको कास्की प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर १३, हाटबजारका रेस्टुरेन्ट व्यवसायी महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४, घर भई हाल पोखरा–६, बैदाम बस्ने हिलारी मनिचेन्जरका सञ्चालक राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका सगरमाथा मनिचेन्जरका सञ्चालक खेमराज पौडेल रहेका छन् ।

    उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि सङ्गठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए । राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनिएक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ । सबै जनालाई राष्ट्र बैँक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैँकबाट इजाजत पत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक ओलियाले बताए ।


    नेपाल राष्ट्र बैँकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार मनिचेन्जर विदेश जाने नागरिकलाई दुई सय डलरसम्म बिक्री गर्न सक्छ । त्यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका दुई वटा मनिचेन्जर रहेका छन् । अन्य मनिचेन्जरले भन्सार प्रमाणित नभएकोमा ५ हजार र भन्सार प्रमाणित भएकोमा जति पनि विदेशी मुद्रा खरिद गर्न पाउँछन् । उनीहरूले सो वापतको कमिसन लिएर सटाई सुविधा दिएका हुन्छन् । मनिचेन्जरले त्यसरी खरिद गरेको विदेशी मुद्रा दुई दिन भित्र नेपाल राष्ट्र बैँकमा अनिवार्य दाखिला गर्नुपर्ने हुन्छ ।

    प्रहरीले सोही कानुनको बर्खिलाप गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले यसरी सटही भएका विदेशी मुद्राहरू भारत हुँदै अन्य विदेशी मूलकमा जाने गरेको आशङ्का गरेको छ । प्रहरीका अनुसार यसले अवैध सुनदेखि अन्य वस्तुहरू खरिद गर्ने र राज्यलाई ठुलो नोक्सानी पुर्‍याउने अनुमान छ ।यस्तो अवैध विदेशी मुद्राको कारोबार गर्नेलाई बिगो जफत गरी सो बराबरको तिन गुणा जरिवानाका साथ ७ वर्ष जेल सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

  • मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

    मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

    ११ साउन, काठमाडौं । मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना राहत र सहयोग कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो। खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका १० वटा पालिकामा लागू हुने उक्त कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुने मधेश प्रदेशका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

    परियोजनाबाट आठ हजार ३५५ घरका करिब ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्। कार्यक्रमका लागि कुल रु दुई करोड ६० लाख ३३ हजार ४७६ बजेट विनियोजन गरिएको छ। कार्यक्रमलाई तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा खडेरीग्रस्त क्षेत्रमा आपत्कालीन रूपमा पानी वितरण, दोस्रो चरणमा गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, सिँचाइ प्रणालीको सुधार तथा दिगो पानी प्रणाली निर्माणमा जोड दिइनेछ। तेस्रो चरणमा जीविकोपार्जन पुनःस्थापनालाई प्राथमिकता दिइने र यसअन्तर्गत ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत तथा वैकल्पिक बाली प्रवर्द्धनमा प्राविधिक सहयोग प्रदान गर्ने जानकारी आएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले बताए ।

  • सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी सम्पर्कविहिन

    सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी सम्पर्कविहिन

    ११ साउन, नेपाल प्रहरीका तीन सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ। तीन जना प्रहरी सहायक हवलदार, एक जना प्राविधिक प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    सम्पर्कविहीन भएका सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू छन्। उनीहरू जेठको विभिन्न मितिदेखि गैरहाजिर छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

  • खडेरीग्रस्त मधेशमा आज पनि छैन वर्षाको सम्भावना

    खडेरीग्रस्त मधेशमा आज पनि छैन वर्षाको सम्भावना

    ११ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

    यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । खडेरीग्रस्त मधेशले यतिबेला वर्षा कुरिरहेको छ ।

  • समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र जरिवाना छुट

    समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र जरिवाना छुट

    ११ साउन, काठमाडौं । आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जारी गरेको सूचना अनुसार समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीले भदौ ३१ गतेसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा ब्याज र हर्जना छुट पाउने भएका हुन् ।

    समस्याग्रस्त सहकारी संस्थाका ऋणी सदस्यले संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानेर भदौ मसान्तसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा त्यसपछिको ब्याज र हर्जना नलाग्ने सूचनामा उल्लेख छ । भदौ मसान्तसम्म पनि ऋणको साँवाब्याज भुक्तानी गर्न नआउने ऋणीको हकमा साँवाब्याज र हर्जना रकमसमेत गणना गरी ऋण असुली गर्ने कार्यालयले जनाएको छ ।

    हालसम्म बागमती प्रदेश कार्यक्षेत्र भएका पाँच सहकारी संस्था समस्याग्रस्त घोषित छन् । जसमध्ये सिभिल सहकारी २०८० भदौ २१ गते, दर्शन सहकारी २०८१ कात्तिक २१ गते र नेसनल नमोबुद्ध, लालीगुँरास तथा सुमेरु सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषित भएका हुन् ।

    अब सहकारी सङ्घ संस्थाको ऋण असुलीमा समस्या भए संस्थाले कर्जा असुली न्यायाधिकरणमार्फत प्रक्रिया अगाडि बढाउन सक्ने भएका छन् । सरकारले केही समयअघि गठन गरेको कर्जा असुली न्यायाधीकरणमार्फत सहकारी सङ्घ संस्थालाई ऋण असुलीका लागि वैधानिक बाटो खुलेको हो । सङ्घ संस्थाले ऋण असुलीका लागि यथेष्ट प्रयास तथा कारबाही गर्दा समेत ऋण असुली हुन नसकेमा कर्जा असुली न्यायाधिकरणमार्फत प्रक्रिया अगाडि बढाउन सहकारी विभागले जनाएको छ ।

    विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ मा संस्था स्वयम्ले ऋण असुलीको प्रयास गर्दा पनि असुली हुन नसकेको अवस्थामा ऋण असुलीका लागि न्यायाधिकरण समक्ष उजुरी दिन भनिएको छ । सहकारीबाट ऋण लिएर समयमा ऋणको साँवाब्याज भुक्तानीमा आलटाल गर्ने सदस्यलाई प्रचलित कानुन अनुसार कारबाही गरी ऋण असुली गर्न समेत विभागको निर्देशनमा उल्लेख छ । त्यसै गरी सहकारी संस्थाबाट ऋण लिएका सदस्यले ऋण लिँदाका बखतमा तोकिएको सर्तबमोजिम साँवाब्याजको किस्ता तोकिएकै समयमा तिनुपर्ने छ ।

  • फिलिपिन्समा आँधी, कम्तिमा ३० जनाको मृत्यु

    फिलिपिन्समा आँधी, कम्तिमा ३० जनाको मृत्यु

    १० साउन, काठमाडौं । फिलिपिन्समा गत सातायता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ । तीमध्ये १३ जनाको पहिचान भइसकेको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ । यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ । घटनामा परी १० जना घाइते भएका छन् ।

    उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन् । नागरिक सुरक्षा कार्यालयका अनुसार देशभरका ८८ सहर तथा नगरपालिकाले विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रकोपको अवस्था घोषणा गरिसकेका छन् । हाल टाइफुन विपा, फ्रान्सिस्को र को–मे नामक आँधीहरू देशको भूभागबाट बाहिरिइसकेका छन् । तर, मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । फिलिपिन्समा प्रत्येक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले व्यापक जनधनको क्षति पुर्‍याउने गरेको छ ।

  • एनपिएल खेलाडी अक्सन साउन २४ मा

    एनपिएल खेलाडी अक्सन साउन २४ मा

    १० साउन, काठमाडौ. । दोस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार विज्ञप्ती जारी गर्दै एनपिएलको अक्सनको मिति उल्लेख गरेको हो । क्यानकाअनुसार असार २८ देखि साउन ६ गतेसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा चार सय ५८ खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम एनपिएलका आठवटै फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ ।

    एनपिएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने पनि क्यानले जनाएको छ । दोस्रो संस्करणको एनपिएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ ।

  • सिरहामा प्रहरीले गोली प्रहार गरी भारतीयलाई लागूऔषध कारोबारी समात्यो

    सिरहामा प्रहरीले गोली प्रहार गरी भारतीयलाई लागूऔषध कारोबारी समात्यो

    १० साउन, काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोजेको थियो । तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डीएसपी पासवानले बताए । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

  • खडेरी व्यहोरिरहेको मधेशका जनप्रतिनिधि र सीडीओसँग गृहमन्त्रीले गरे ‘भर्चुअल’ छलफल

    खडेरी व्यहोरिरहेको मधेशका जनप्रतिनिधि र सीडीओसँग गृहमन्त्रीले गरे ‘भर्चुअल’ छलफल

    १० साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय तहका प्रमुखरअध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज ‘भर्चुअल’ रूपमा आयोजित समन्वयात्मक बैठकमा उनले नागरिकको पीडामा सरकार गम्भीर भन्दै गृह मन्त्रालयको प्रस्तावमा मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । मन्त्री लेखकले खानेपानी र सिँचाइको समस्याग्रस्त स्थानका साथै प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने स्थानको पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

    उनले पानीको स्रोत नभएका वा स्रोत सुकेका स्थानमा ट्याङ्करबाट पानी वितरणलाई निरन्तरता दिनुपर्ने भन्दै यसका लागि सुरक्षा निकायसहित निजी क्षेत्रका ट्याङ्करको समेत उपयोग गर्न निर्देशन दिए । गृहमन्त्री लेखकले भने, ‘सरकारी कार्यालय, विद्यालय, अस्पताल, गैरसरकारी संस्थाका कार्यालयमा पानीको स्रोत रहेको छभने पानी खानका लागि तिनको पनि उपयोग गरियोस् । सङ्कटको अवस्थाको फाइदा उठाएर कसैले ‘कार्टेलिङ’ र कालोबजारी गर्नसक्ने भएकाले सख्त अनुगमन गर्न पनि आवश्यक छ । यसमा ध्यान दिनुहोला ।’

    बैठकका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम हालेको आवश्यकताअनुसार परिमार्जन गरी मधेशमा केन्द्रित गर्न अनुरोध गरिसकेको जानकारी दिए । बैठकमा मधेश प्रदेशलगायत सुक्खाग्रस्त जिल्लाका स्थानीय तहका प्रमुख एवं अध्यक्ष र प्रमुख जिल्ला अधिकारीहरूले आफ्ना स्थानीय तह एवं जिल्लाको अवस्थासहित समस्या समाधान गर्न भइरहेका पहलबारे जानकारी गराए ।

    मन्त्रिपरिषद्ले यही साउन ८ गते मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि, पानीको स्रोत तथा मुहान सुकी खानेपानी तथा सिँचाइ कार्यमा समस्या उत्पन्न भएपश्चात् असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

  • काभ्रेमा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

    काभ्रेमा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

    १० साउन, काभ्रे । काभ्रेपलान्चोकको पनौती नपा–३ कुशादेवीको बगुवामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् र छोरा घाइते भएका छन् । कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

    दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएका छन् । चालक विजय थापाको देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने ५ वर्षीय छोरा बिएन्सको निधारमाथि टाउकोमा चोट लागेको छ । दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • बागमती प्रदेश सरकारमा कांग्रेसका मूख्यमन्त्रीविरुद्ध कांग्रेसकै विद्रोह, चार मन्त्रीले दिए राजीनामा

    बागमती प्रदेश सरकारमा कांग्रेसका मूख्यमन्त्रीविरुद्ध कांग्रेसकै विद्रोह, चार मन्त्रीले दिए राजीनामा

    ९ साउन, काठमाडौं । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष राजीनामा दिएका हुन् ।

    मन्त्रीहरुले छुट्टाछुट्टै राजीनामा दिएका हुन् । एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो। उता मूख्यमन्त्रीले चार वटै मन्त्रीलाई पदमुक्त गरेको समेत उल्लेख गरेका छन् । लामालाई पदबाट हटाउने तयारी कांग्रेस भित्रैबाट भएको छ ।

  • किन भिड्दैछन् थाइल्याण्ड र क्याम्बोडिया ?

    किन भिड्दैछन् थाइल्याण्ड र क्याम्बोडिया ?

    ९ साउन, काठमाडौं । थाईल्यान्डका नेताले थाईल्यान्ड र क्याम्बोडियाको सीमामा भिडन्त भइराखे युद्ध हुन सक्ने चेतावनी दिएका छन्। बिहीवार तनाव बढेपछि सुरु भएको भिडन्तमा परी अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको तथा दुवै देशमा गरी हजारौँ मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन्।
    थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले अहिले विभिन्न १२ स्थानमा सङ्घर्ष भइरहेको र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएको बताएका छन्।

    थाईल्यान्डले क्याम्बोडियाली पक्षले गैरसैनिक क्षेत्रहरूमा गोली प्रहार गरेको आरोप लगाउँदै सीमापारिबाट प्रहार गरिने रकेट पुग्न सक्ने सबै गाउँहरू खाली गरिएको बताएको छ। क्याम्बोडियाले थाईल्यान्डलाई क्लस्टर म्यूनिशन प्रहार गरेको आरोप लगाएको छ। सर्वसाधारण मानिसलाई नराम्रो असर पुग्ने भएकाले विश्वका अधिकांश भागमा क्लस्टर म्यूनिशनमा प्रतिबन्ध लगाइएको छ।

    थाईल्यान्डले उक्त आरोपबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। विभिन्न पक्षले क्याम्बोडिया र थाईल्यान्डबीच तत्काल सङ्घर्षविराम गराउन वार्ताका लागि सघाउने प्रस्ताव गरेको भए पनि थाईल्यान्डको विदेश मन्त्रालयले समाचारसंस्था रोएटर्सलाई क्याम्बोडियासँगको द्वन्द्वमा तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको प्रतिक्रिया दिएको छ। दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन ुआशियानुको अध्यक्षता गर्ने मलेशियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुई देशबीच वार्ताका लागि मध्यस्थता गर्ने बताएका थिए।

    ूब्याङ्कक र नोम पेन दुवैले अगाडि जाने यो बाटोमा हिँड्न देखाएको सकारात्मक सङ्केत तथा रुचिको स्वागत गर्छु, अन्वरले बिहीवार राति फेसबुकमा लेखेका थिए। तर थाई विदेश मन्त्रालयका प्रवक्ताले रोएटर्सलाई अहिलेको परिस्थिति द्विपक्षीय माध्यमबाट समाधान गर्नुपर्ने र नोम पेनले आक्रामक कदम रोक्नुपर्ने बताए। मलाई अहिले नै तेस्रो देशको मध्यस्थता चाहिन्छ जस्तो लाग्दैन, प्रवक्ता निकोन्देच बालान्कुरले भने। भिडन्तमा हताहत हुनेहरूको सङ्ख्याबारे दुवै देशले नयाँ विवरण दिएपछि थाई अधिकारीको भनाइ पनि सार्वजनिक भएको हो।

    थाईल्यान्डका अनुसार अहिलेसम्म आफ्नो पक्षमा १४ सर्वसाधारण मानिस र एक सैनिकको मृत्यु भएको छ। क्याम्बोडियाको सीमावर्ती प्रान्तका अधिकारीहरूका अनुसार क्याम्बोडियातिर कम्तीमा एक सर्वसाधारण मानिसको मृत्यु भएको छ। संयुक्त राज्य अमेरिकाले तत्काल सङ्घर्ष रोक्न, सर्वसाधारण मानिसलाई संरक्षण गर्न र शान्तिपूर्वक द्वन्द्व समाधान गर्न आग्रह गरेको छ। क्याम्बोडिया र थाईल्यान्ड दुवैसँग राजनीतिक र रणनीतिक सम्बन्ध भएको चीनले पनि अहिले चुलिएको द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। उसले दुवै पक्षले वार्ता र परामर्शमार्फत् विवाद समाधान गर्ने आशा व्यक्त गरेको छ।

    अस्ट्रेलिया, ईयू र फ्रान्सले पनि शान्ति कायम गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले उक्त द्वन्द्वबारे शुक्रवार बैठक गरेर छलफल गर्ने ठानिएको छ। सुरक्षा परिषद्लाई बिहीवार पठाएको पत्रमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मनेटले थाईल्यान्डको आक्रामकता रोक्न हस्तक्षेप गर्न आग्रह गरेका थिए।

    दुवै देशले पहिलो आक्रमण अर्को पक्षबाट भएको आरोप लगाउँदै आएका छन्। थाईल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको छ। क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर(हिन्दू मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो।

    दुई देशबीच १०० वर्षभन्दा अघिदेखि नै सीमा विवाद छ। फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि विवाद उत्पन्न भएको थियो। त्यसयता दुई देशका सैनिकहरूबीच फाट्टफुट्ट भिडन्त हुँदै आएको छ। दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन्। गत मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुई पक्षबीच तनाव चुलियो र एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध निम्न बिन्दुमा पुग्यो।

    थाईल्यान्डको सुरिन प्रान्तमा विभिन्न स्थानबाट ल्याएर एउटा खेलकुद कम्प्लेक्समा राखिएका मानिसहरूले अहिले पनि आफूहरू बिहीवार रकेट र गोलाबारुद प्रहार भएको घटना सम्झिएर तर्सिने गरेको बताएका छन्। तीमध्ये अधिकांश महिला र बालबालिका छन्। क्याम्बोडियामा सन् १९८० दशकमा भएको गृहयुद्ध देखेका पाका मानिसहरूले अहिलेको सङ्घर्ष त्यसपछाडि आफूले भोगेको सबैभन्दा डरलाग्दो घटना भएको बताएका छन्।
    बीबीसीबाट

  • अब काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा धुम्रपानमा कडाई, ५ सय जरिवाना तिराइने

    अब काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा धुम्रपानमा कडाई, ५ सय जरिवाना तिराइने

    ९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । महानगरभित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    ‘सार्वजिक स्थलमा धुम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धुम्रपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो,’ पाण्डेले भने, ‘हालैको नगरसभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ । निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धुम्रपान निषेध गरिएको छ ।’
    पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाइकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ ।

    सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिने उनले बताए । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिने उनले बताए । त्यस्तै, सबै किसिमका ठूला सवारी साधन, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ ।

    पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ । खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्विकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्‍याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन, के थियो सन्देश ?

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन, के थियो सन्देश ?

    ९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेकी छिन् । सो क्रममा उनले आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाइन् । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो । एमालेले भण्डारीलाई पूर्व राष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो । तर, उनले यसलाई अस्वीकार गरेकी छिन् ।

    पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्नेदेखि ४५ वर्षयता पार्टीमा आफ्नो सक्रियतासम्मको विषयलाई भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइन् । यसैबीच उनले आफूलाई पूर्वउपाध्यक्षको हैसियतमा राखेकी छिन् । पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् । २ पृष्ठ लामो आफ्नो वक्तव्यमा उनले भनेकी छिन्, ‘म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन ।’

  • नाइजेरियामा सेनाले मार्यो झण्डै १ सय डाकु

    नाइजेरियामा सेनाले मार्यो झण्डै १ सय डाकु

    ९ साउन, काठमाडौं । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ । नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठुलो हताहत भएको हो ।

    गरिबी र सरकारी उपेक्षाका बिच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् । उनीहरूले गाउँलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै वर्षभरि भइरहन्छन् ।

    मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।

    नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाले दर्जनौँ आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ । झडपमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।

    विगतमा आफ्नो उपलब्धिको प्रचार गर्ने र कहिलेकाहीं अतिरन्जित गर्ने गरेको नाइजेरियाली सेनाले धेरै डाकुहरू मारिएको घटनाप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले गाउँलेहरूमाथि भएको धेरै आक्रमणपछि कारबाही गरेको थियो । सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

  • चीनतर्फ लागे सञ्चारमन्त्री

    चीनतर्फ लागे सञ्चारमन्त्री

    ९ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

    साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गरेको उनको निजी सचिव सुरथ पोखरेलले बताए । भ्रमणमा मन्त्रीसँगै साथमा सूचना प्रविधि सल्लाहकार डा. शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत छन् । सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा. पराजुलीले बबताए । मन्त्री गुरुङ साउन १४ गते स्वदेश फर्कने छन् ।

  • संसद बैठक बस्दै, कके छन् एजेण्डा ?

    संसद बैठक बस्दै, कके छन् एजेण्डा ?

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।

    यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

    ९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनले एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी छ । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।

    राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।

  • खडेरीले कृषक आक्रान्त, मधेश झर्दै प्रधानमन्त्री

    खडेरीले कृषक आक्रान्त, मधेश झर्दै प्रधानमन्त्री

    ९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाने भएका छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उनी आफैंले फेसबुकमार्फत् यो जानकारी दिएका हुन् ।

    प्रधानमन्त्रीले लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’ हिजो व्यस्तताले बाहिर ननिस्किएको उनको भनाई छ । उनले भनेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।’ हिजो बाहिरका कार्यक्रममा सहभागी नभए पनि आज भने मधेश जाने उनको भनाइ छ ।

    मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसानहरु समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा प्रभाव परेको छ । नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । अन्न भण्डार मानिने मधेशमा खडेरीले गर्दा धान उत्पादन घट्ने चिन्ता छ । मन्त्रिपरिषद बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

  • रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

    रुसी विमान दुर्घटना, ४९ जनाको मृत्युको आशङ्का

    ९ साउन, काठमाडौं । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ। विमानमा सवार ४९ जनामध्ये सबैको ज्यान गएको आशङ्का गरिएको छ। टिन्डा विमानस्थलका निर्देशकका अनुसार, विमान जमिनमा ठोक्किएसँगै आगलागी भएको थियो।

    घटनापछि क्षेत्रको हवाई निगरानीका लागि परिचालित (एमआइ–८०) हेलिकोप्टर टोलीले कुनै पनि जीवित यात्रुको सङ्केत फेला नपरेको जानकारी दिएको छ। रुसी नागरिक सुरक्षा तथा आगो नियन्त्रण केन्द्रले राज्य समाचार संस्था ताससँग दिएको जानकारीमा भनिएको छ,“टिन्डा विमानस्थलका निर्देशकका अनुसार विमान जमिनमा ठोक्किएपछि आगो लागेको हो, र घटनास्थल माथिबाट उडिरहेको हेलिकोप्टरले कुनै पनि बाँचेकाको सङ्केत देखेन।”

    दुर्घटनास्थल अमुर क्षेत्रको टिन्डा नजिकै रहेको पहाडी र दुर्गम क्षेत्र हो। उद्धार कार्य अवरुद्ध भएको छ । प्रारम्भिक समाचारमा ५० यात्रु रहेको समाचार आए पनि एक जनाको अवस्थाका बारेमा स्पष्ट पारिएको छैन । यसको मुख्य कारण जङ्गलयुक्त भूगोल र कठिन मौसम रहेको अधिकारीहरूले बताएका छन्।

  • मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

    मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

    ८ साउन, काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भने, “मधेशमा मौसमी संकटका कारण समस्या भोग्नु परेकाछ। यसका लागि तत्काल समस्याको समाधान गर्न यो घोषणा गरिएको हो।”

    उनका अनुसार मधेशमा अहिले खेतीपातीमा खडेर पर्नु र अर्को १५ प्रतिशत घर धुरीमा खानेपानीको अभाव देखिएकोछ। सरकारले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल जनताको घरमा खानेपानी पुर्याउने र जनजीवनमा आएका समस्याको समाधान खोज्ने तर्फ अग्रसर हुने बताए । उनले मधेशको समृद्धि बिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र आवश्यक विकासका पुर्वाधार निर्माण गर्न जरुरी हुने प्रष्ट पारे । त्यस्तै, वातावरणको संरक्षण गर्दै विकासको समृद्धि हासिल गर्नु पर्ने पनि उनले बताए ।

  • राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

    राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

    ८ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । दुवै सदनबाट पारित भई आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।


    यस्तो छ राष्ट्रपतिले लिएको आधार

    संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सम्वत् २०८१ साल माघ २७ गते बसेको प्रतिनिधि सभाको बैठकले संशोधनसहित पारित गरेको साथै राष्‍ट्रिय सभाले सम्वत् २०८१ साल चैत्र ६ गते संशोधनसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको र सम्वत् २०८२ असार २५ गते प्रतिनिधि सभाले राष्‍ट्रिय सभाको संशोधन स्वीकार गरी नेपालको संविधानको धारा ११३ को उपधारा ९१० बमोजिम प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने लागेकोले देहायको सन्देशसहित नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम विधेयक उत्पति भएको सदन प्रतिनिधि सभामा फिर्ता पठाएको छु ः

    प्रतिनिधि सभामार्फत सम्मानित संघीय संसदसमक्ष प्रस्तुत सन्देशः

    १.नेपालको संविधानको धारा २८४ मा यस संविधानबमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने गरी एक संवैधानिक परिषद् रहने व्यवस्था रहेको छ। संविधानको उक्त धाराको उपधारा (४) मा संवैधानिक परिषद्‍को अन्य काम, कर्तव्य र अधिकार तथा प्रधान न्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भनी उल्लेख भएको विषयलाई आधार लिएर मौजुदा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ लाई संशोधन गर्न यो विधेयक तयार भएको देखिन्‍छ। नेपालको संविधानको धारा १२९(२) बमोजिम प्रधान न्ययाधीशको नियुक्तिका लागि सिफारिस गर्दा तथा धारा २८३ वमोजिमका संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति सिफारिस गर्दा संवैधानिक अपेक्षाअनुरुप समावेशी, सहभागितामूलक र गुणस्तरीय प्रतिनिधित्वको संवैधानिक सिद्वान्तलाई आत्मसात गर्न तथा सिफारिसको क्रममा हुन सक्ने स्वेच्‍छाचारिता नियन्त्रण गर्न, सुशासन एवं कानूनी शासन कायम गर्न एवं राज्य सञ्‍चालनमा शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई संस्थागत गर्ने उद्देश्यका साथ संविधानले परिकल्पना गरेको संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको लागि नियुक्तिको सिफारिस गरी संविधानको कार्यान्वयन गर्ने अहम् भूमिका संवैधानिक परिषद्‍मा रहेको विषयमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन।

    २.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को व्यवस्था र अहिले प्रस्तुत संशोधन विधेयकलाई तुलनात्मक रुपमा अध्ययन गर्दा प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको तथा यस्तो अभ्यासले संवैधानिकतालाई सीमित र संकुचित बनाउँछ कि भन्ने मेरो आशंका छ।

    ३. संवैधानिक परिषद्ले गर्ने निर्णयमा जो कोहीको चासो र सरोकार स्वभावैले रहने हुँदा यसप्रतिको जनविश्वास बलियो नै हुनुपर्छ। संविधानको धारा २८४ (१) मा उल्लिखित संवैधानिक परिषदको अध्यक्ष र अन्य सदस्यहरूलाई स्थायी रुपमा नै राखेको देखिन्छ। तर बहाल रहेका सदस्यहरू पनि कुनै अमुक वेलामा बहाल रहँदैनन् वा अनुपस्थित हुन सक्छन् भनी कल्पनातीत अवस्थालाई लक्षित गरी कानुन बनाउँदा त्यसले गम्भीर र जटिल परिस्थितिको सृजना नगरोस् भन्नेतर्फ पनि मेरो ध्यान आकृष्ट भएको छ।

    ४.संवैधानिक परिषदमा उल्लिखित कुल संख्याको सर्वसम्मतिबाटै सिफारिस र निर्णय हुनुपर्छ। कथङ्कदाचित् सर्वसम्मति हुन नसकेमा कुनैपनि तरहले कुल संख्याको बहुमत ओझेलमा पर्नु हुँदैन र बहुमतको आधार नै निर्णयको अन्तिम आधार स्तम्भ मानिनु पर्दछ। ऐनको दफा ६ को व्यवस्थालाई कुनै युक्तियुक्त आधार र कारण बिना कुनै विशेष परिस्थितितर्फ इंगित गरी प्रस्तुत संशोधन विधेयकमा कम्तीमा अध्यक्ष र बहाल रहेका सदस्यहरूको पचास प्रतिशत उपस्थित हुँदा कायम हुन सक्ने सदस्य मात्र सम्मिलित भएर परिषद्को तर्फबाट गर्ने निर्णयलाई मान्यता दिँदा स्वतः अल्पमत भन्ने बुझिने भएकोले त्यस्तो व्यवस्था रहेको विधेयकको पुनर्विचार हुनु आवश्यक छ भन्ने मेरो धारणा रहेको छ।

    ५.शासकीय सुविधालाई र व्यावहारिक आवश्यकतालाई बढी प्राथमिकतामा राखी संवैधानिक र कानूनी शासन व्यवस्थालाई प्रतिस्थापन गर्ने मनसाय देखिने गरी संविधान र कानूनका व्यवस्थालाई अनादर गरियो भने प्रकारान्तरमा यसले स्वेच्छाचारितालाई प्रशय दिन जान्छ भन्‍ने विषयलाई समेत सम्मानित संसदले विचार गर्नु पर्ने देखिन्‍छ।

  • साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

    साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

    ८ साउन, काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ । डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो । ५ मंसिर २०८१ मा भएको सम्झौता अनुसार तयार पारिएको डीपीआर कन्सल्टेन्सी सेवाले निगमलाई हस्तान्तरण गरेको छ ।

    नयाँ डिपो पूर्णरूपमा स्वचालित एल३ स्तरको अटोमेसनयुक्त हुनेछ । प्रस्तावित योजना अनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ । यसैगरी इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।

    निगमका अनुसार डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १ सय किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ । यसबाहेक प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मतसम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै आवासीय तथा कार्यकक्ष समेत निर्माण गरिने जनाइएको छ । यस्तै अन्तर्राष्ट्रिय स्तरका मापदण्ड एपीआई, आईएसडीको पूर्णपालना गरिने निगमले जानकारी दिएको छ । निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ अनुमान गरिएको छ । निगम कार्यालय प्रमुख प्रदीपकुमार यादवले गत आव मंसिरमा निर्माण कार्य सुरु गरी दुई वर्ष (२०८४ मंसिर) भित्र निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको जानकारी दिए ।

  • गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

    गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

    ८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुर्ब लामा शेर्पा छिन् । नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।

    उनका अनुसार बा ३ ख ४३४५नम्बरको मिनी ट्रकले घर अगाडि खेल्दै गरेकी बालिकालाई दिउँसो पौन ४ बजेतिर ठक्कर दिएको थियो । सो क्रममा बालिकाको घटनास्थलमै मृत्यु भएको हो । चालकलाई पक्राउ गरेर अहिले प्रहरी प्रभागमा राखिएको छ ।

  • अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’

    अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’

    ८ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका लागि तोकिएको छ । एनबीसी न्यूजका अनुसार यो शुल्क कहिलेदेखि लागू हुन्छ र फिर्ता गर्ने प्रक्रिया के हो भन्ने कुरा अझै अस्पष्ट छ ।

    सन् २०२५ को अमेरिकी आर्थिक वर्ष ९अक्टोबर १, २०२४ (सेप्टेम्बर ३०, २०२५० मा शुल्क कम्तीमा २५० डलर तिर्नुपर्नेछ । यो शुल्क होमल्याण्ड सेक्युरिटी नेतृत्वले अझ बढाउन सक्नेछन् । आगामी वर्षहरूमा यो शुल्क मुद्रास्फीतिअनुसार समायोजन गरिने बताइएको छ । यो शुल्क सबै गैरआवासीय भिसा ९नन(इमिग्रान्ट भिसा० लिने पर्यटक, व्यवसायी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लागु हुने उल्लेख छ । तर भिसा वेभर प्रोग्राम अन्तर्गत अमेरिका प्रवेश गर्न पाउने देशका नागरिकलाई यो लागु नहुन सक्छ। यी देशहरूमा अस्ट्रेलिया, जापान, केही युरोपेली देशहरू लगायत रहेका छन् ।

    एनबीसी न्यूजका अनुसार यो शुल्क भिसा जारी हुनेबेला तिर्नुपर्छ। तर भिसा अस्वीकृत भयो भने यो शुल्क तिर्नुपर्दैन । यो यसअघि भिसा शुल्कभन्दा थप अर्थात् अतिरिक्त शुल्क हो । उदाहरणका लागि, एच(वानबी आवेदनकर्ताले पहिल्यै २०५ डलर तिर्ने गरेकोमा अब ४५५ डलरसम्म तिर्नुपर्नेछ । एनबीसी न्यूजका अनुसार फर्म–१९४ को शुल्क ६ डलरबाट २४ डलरमा वृद्धि भएको छ । यो शुल्क अधिकांश आगन्तुकले तिर्नुपर्छ ।

    भिसा अवधि ननाघ्ने, अनधिकृत रूपमा काम नगर्ने लगायतका सर्तहरू पूरा गरिएमा यात्रा सकिएपछि शुल्क फिर्ता लिन सकिन्छ । तर फिर्ता कसरी, कहिले, कहाँबाट पाउने भन्ने अझै प्रस्ट छैन । यो शुल्क अहिलेसम्म कार्यान्वयनमा आएको छैन र कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल रहेको एनबीसी न्यूजले जनाएको छ । होमल्याण्ड सेक्युरिटीका प्रवक्ताका अनुसार यो शुल्क आप्रवासन प्रणालीमा इमानदारिता ल्याउने उद्देश्यले ल्याइएको हो ।

    सन् २०१६–२०२२ को बीचमा १–२ प्रतिशत मात्रै गैरआवासीय आगन्तुकहरू भिसाको म्याद नाघ्दासम्म बसेका थिए । तर, १ करोड १० मिलियन अनधिकृत आप्रवासीमध्ये करिब ४२ प्रतिशत कानुनी तरिकाले आएर म्याद नाघेर बसेको तथ्यांक छ । नयाँ शुल्कको व्यवस्थाले पर्यटक र विद्यार्थीहरू बढी प्रभावित हुनेछन् । अमेरिकामा सन् २०२६ मा अमेरिकाको २५० औँ वार्षिकोत्सव र फिफा वर्ल्ड कप जस्ता ठूला कार्यक्रम आयोजना गर्दैछ ।