Category: समाचार

  • एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

    एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

    ५ साउन, काठमाडौं । नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राखे । प्रचार विभाग प्रमुख गौतमका अनुसार आज गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन् ।

    अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

    बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो । बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ । बैठक भोलि पुनः ११ बजे बस्ने जनाइएको छ ।

  • एक वर्षमा एक लाख २२ हजार पर्यटकले गरे गोरखा दरबार सङ्ग्रहालय अवलोकन

    एक वर्षमा एक लाख २२ हजार पर्यटकले गरे गोरखा दरबार सङ्ग्रहालय अवलोकन

    ५ साउन, गोरखा । गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए । आव २०८०–८१ मा एक लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । उनले भने, ‘‘पछिल्लो तथ्याङ्क हेर्दा सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।’’ गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

    सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । उनका अनुसार सङ्ग्रहालयका खुला गरिएदेखि हालसम्मको तथ्याङ्कमा यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । विसं २०६५ मा सङ्ग्रहालय सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको थियो ।

    सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् । करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ । सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् ।

  • कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

    कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

    ५ साउन, काँक्रेविहार । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए ।


    सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेको छ । हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ । यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ । दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्ष २०८२–८३ मा उक्त शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

  • खानेपानीमन्त्री यादवले रातमा गरे छड्के अनुगमन तथा निरीक्षण

    खानेपानीमन्त्री यादवले रातमा गरे छड्के अनुगमन तथा निरीक्षण

    ५ साउन, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आज राति अनुगमनमा निस्किएका छन् । आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।


    बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमिं, २८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङ्ग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताए ।
    उनले भने, “मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।”

    पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेष्ट)को तयारी तथा सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेष्ट सफलतापूर्वक सम्पन्न भएपछि ‘डिएमए एच–२’, ‘आई– ३’, ‘आई–४’ र ‘आई–५’ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।


    उनका अनुसार पानी वितरण पश्चात उक्त क्षेत्रका करिब तीन हजार पाँच सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए ।

  • रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

    रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

    ५ साउन, काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ ।

    नेपाल इन्स्योरेन्स कम्पनीमा रु एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा रु ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा रु ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी युनाइटेड अजोडमा रु ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख बराबरको सात वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

    रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

  • राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी, यस्ता छन् नयाँ प्रावधान

    राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी, यस्ता छन् नयाँ प्रावधान

    ५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।
    लाभांश वितरणलाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायका साथ उक्त मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । आर्जन गरेको मुनाफाको बाँडफाड तथा लाभांश वितरणलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यका साथ केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो । उक्त मार्गदर्शन कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमता वृद्धि हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

    केन्द्रीय बैंकको मार्गदर्शनलाई आधार मानेर लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ । यस्तो नीति सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ । नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र शेयर लाभांशसम्बन्धी नीति, अनुमतिप्राप्त संस्थाले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था गर्नुपर्नेछ । त्यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनुपर्ने र अप्रत्यासित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनका लागि उक्त कोषको रकम प्रयोग गर्न सकिनेछ । कोषबाट भएको खर्चको विवरण केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्नेछ ।

    मार्गदर्शन अनुसार, भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ । लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको बर्षको वित्तीय विवरणका आाधारमा मात्र लाभांश घोषणा गर्नुपर्नेछ । नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, कर्जासँग स्म्बन्धित शर्तहरुले लाभांश वितरणमा बन्देज नगरेको अवस्था हुनुपर्ने जनाइएको छ ।

  • राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध : सेवाग्राही समस्यामा

    राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध : सेवाग्राही समस्यामा

    ५ साउन, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।
    राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले दावि गरे ।

    उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर÷जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् ।

    विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

    राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अफलाईनमार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराएको छ । अफलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाईन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँको दावि छ ।

  • साउने सोमबारमा पशुपतिमा भीड, चारै ढोका खुला गरियो

    साउने सोमबारमा पशुपतिमा भीड, चारै ढोका खुला गरियो

    ५ साउन, काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको बताए । साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

    साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।

  • इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    एजेन्सी
    ५ साउन, काठमाडौं । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन्। विशेषगरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव एक प्रमुख मुद्दा हो । खानेपानी अभावको लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठह¥याइएको छ। शनिबार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो।

    तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले भने, “नागरिकहरूले पानीको मागको दबाब कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ।” इरानका अधिकारीहरूले हालैका दिनहरूमा यस्तै अपील जारी गर्दै धेरै प्रान्तका बासिन्दाहरूलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।

    तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ। तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ। अधिकारीहरूले सङ्कटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिबारको समाचारमा जनाएको छ।

  • मधेश प्रदेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

    मधेश प्रदेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

    ४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।” पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आजै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए ।

  • धरहरा चढ्ने दोब्बरले बढे

    धरहरा चढ्ने दोब्बरले बढे

    ४ साउन, काठमाडौं । धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । यही साउन १ गतेदेखि बिहान ८ः०० देखि बेलुकी ८ः०० बजेसम्म धरहरा खुल्ला गरिएको छ । समय थप भएपछि यहाँ आउनेको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । “बिहान ८ः०० देखि बेलुकी ७ः०० बजेसम्म टिकट खुल्छ । समय थप हुँदा निकै राम्रो भएको छ । यहाँ आउनेहरू विगतमा निकै बढेका छन्”, उनले भने ।


    त्यसअघि दैनिक बिहान १०ः०० देखि बेलुका ४ः०० बजेसम्म मात्र धरहरा खुला हुने गरेको थियो । त्यसबेला दैनिक करिब एक हजार २०० ले अवलोकन गर्ने गरेकामा पछिल्लो तीन दिनमा आठ हजार ६३८ जनाले अवलोकन गरेका छन् । साउन १ गते दुई हजार ५००, २ गते दुई हजार ६३१ र ३ गते तीन हजार ५०७ जनाले धरहरा अवलोकन गरेका राईले बताए । उनका अनुसार साउन १ देखि ३ गतेसम्ममा रु १५ लाख ५६ हजार ६५० सङ्कलन भएको छ । विसं २०८१ मङ्सिरदेखि २०८२ असार मसान्तसम्ममा रु पाँच करोड १२ लाख ६२ हजार ९९५ सङ्कलन भएको एकाइले जनाएको छ ।

  • नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री

    नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री

    ५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गरेका हुन् ।

    “गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई ” प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन् । सिङ्गापुरमा आज भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

  • प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी

    प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी

    ४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उनको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ–आफ्नो तयारी सुरु गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिए । भ्रमणको मिति भने मन्त्रालयले उपयुक्त समयमा सार्वजनिक गर्ने उनले बताए । स्रोतहरुका अनुसार उनी भदौ अन्तिम साता भारत जानेछन् ।

  • नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते

    नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते

    ४ साउन, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भारतको आग्रह बस्ने ४२ वर्षीय रतेन्द्र यादव, सोही स्थानका ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय हितेन्द्र यादव घाइते भएका जानकारी दिए ।

    उनका अनुसार घाइते तीनै जनाको अवस्था खतरामुक्त छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि आज दिउँसो ढुङ्गा खसेर लागेको थियो । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

  • पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    ४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम भने करिब साढे २१ अर्ब हाराहारी पुगेको छ ।
    आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा रू २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक शून्य दशमलव ०८, वित्त दुई दशमलव २६, जलविद्युत् शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, उत्पादन तथा प्रशोधन एक दशमलव १२, लघुवित्त शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन समूह एक दशमलव २४, जीवन बीमा एक दशमलव ४०, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बीमा एक दशमलव ३७ र अन्य समूह तीन दशमलव ३६ प्रतिशतले बढेको छ ।

    उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९८ करोड ५५ लाख ५२ हजार ९८९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख सात हजार २०० कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

    लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

    ४ साउन, झापा । खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रुपमा हेरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा ५५९ जनालाई लागुऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता भएका छन् । बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०–८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो सङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको छ । ‘की जेलमा की सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । विगत एक वर्षमा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पु¥याइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले लागुऔषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्‍ याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबीच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । समुदायसँग मिलेर दुव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । त्यसअन्तर्गत ‘दुव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेस्न्ट नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाइ छ ।

    उनका अनुसार आव २०८१–८२ मा झापामा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागुऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ । कोशी प्रदेशमा आव २०८१–८२ मा लागुऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको छ । यसैगरी २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    जिल्लाका मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको छ । पूर्वी नाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागुऔषधसहित कारोबारी र प्रयोगकर्ता पक्राउ गर्दै आएको छ । प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरुले विर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ ।

    विर्तामोड नगरपालिका– ५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध र प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए । औषधि पसलले नै लागुऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो । स्थानीयले लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा ‘सनलाइट फर्मा’नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

    अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ । भारतसँग १४४ किलोमिटर लामो खुला सीमाना भएका झापामा लागुऔषधको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागुऔषध भित्र्याउने र कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाजसमेत चिन्तित पाइएको छ ।

  • खोलामा डुबेर दुई बालकको मृत्यु

    खोलामा डुबेर दुई बालकको मृत्यु

    ४ साउन, इटहरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी–३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् ।

    इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार खोलामा डुबेका दुवै जनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको केहीबेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका भण्डारीले जानकारी दिए ।

  • एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, के भयो कुराकानी ?

    एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट, के भयो कुराकानी ?

    ४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको
    छ । अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा करिब डेढ घण्टा भेटवार्ता भएको थियो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउन मिल्ने नमिल्ने बहसका बीच उनीहरु बीच भएको छलफलले बहसलाई निचोडमा लिन सहयोग पुग्ने ठानिएको छ ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीले शनिबारको पोलिटब्यूरो बैठकमा दिएको जानकारीबमोजिम पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गरेका र यो सकारात्मक रहेको पत्रकारहरूलाई बताए । उनले पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सदस्यता नवीकरण गरेको कुरा पार्टी महासचिवबाटै सार्वजनिक भइसकेको जिकिर गरे । एमालेको केन्द्रीय कमिटी बैठक सोमबारदेखि हुने भएकाले पनि त्यसको अघिल्लो दिन उनीहरु बीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

    पार्टी सचिव योगेश भट्टराईले पार्टीभित्र यो कित्ता र त्यो कित्ताका हिसाबले गरिने व्यवहार उचित नहुने भन्दै बाहिर विवाद बढाउनुभन्दा पार्टी नेतृत्व र पूर्वराष्ट्रपतिबीच सौहार्द छलफलबाट विषयको टुङ्गो लाग्नुपर्नेमा जोड दिए । केन्द्रीय कमिटी बैठकमा आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनसहितका प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।

  • साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

    साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

    ४ साउन, काठमाडौं । यस वर्ष साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताए । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको उनले बताए ।


    सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको सदस्य सचिव जोशीले बताए । “पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइनेछ । साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्”, उनले भने ।


    मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमबारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ राख्ने छ । साउने सोमबारको सुव्यवस्थाका लागि कोषले सञ्चालक परिषद् सदस्यलाई पनि बिहान ३ः०० बजेदेखि नै परिचालन गर्नेछ । त्यस अवसरमा कोषले पशुपतिनाथ मन्दिरमा रु सात हजार ५०० भन्दा माथिका मात्र विशेष पूजा गर्ने जनाएको छ ।

    साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ । यहाँ सुरक्षाका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा दिइएको छ । छलफलमा समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले साउने सोमबारलगायत ठूला पर्वमा पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकारलाई सहज रूपमा सूचना दिने र पशुपति क्षेत्रमा ‘मिडिया सेन्टर’ को व्यवस्था गर्न माग गरे ।

  • वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

    वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

    ४ साउन, भरतपुर । चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ ।

    बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए । सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्थित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि पाठशालामा सिकाइएको छ ।

    वन, नदी र जलाधार क्षेत्रमा प्लाष्टिकजन्य फोहरमैलाको कारणले सृजना गरेका नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको घिमिरेले बताए । उनले कार्यक्रमलाई निरन्तरता दिँदै मध्यवर्ती क्षेत्रका सबै बालबालिकालाई यो कार्यक्रममा सहभागी गराइने जानकारी दिए । सचेतना कक्षा विषय प्रशिक्षकसहित विज्ञहरूलाई समेत सहभागी गराइने उनको भनाइ छ ।

  • चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

    चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

    रासस
    ४ साउन, नारायणगढ । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ सय ६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

    गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा चार सय ६७, खैरहनी नगरपालिकामा दुई सय २३, राप्ती नगरपालिकामा एक सय २४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गुका कारण गत आवमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

    जिल्लामा गत आव १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको बताए । उनका अनुसार अघिल्लो आवमा एक हजार आठ सय ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो, जुन २३ हजार आठ सय ४० जनाको परीक्षणबाट पुष्टि भएको थियो ।

    आव २०७४÷७५ मा एक हजार २९१ परीक्षण ५९ सङ्क्रमित, २०७५÷७६मा एक हजार ९५१ परीक्षण ३१ सङ्क्रमित, २०७६÷७७ मा १९ हजार २३० परीक्षण चार हजार ८०३ सङ्क्रमित, २०७७÷७८ मा एक हजार ७१७ परीक्षण २४३ सङ्क्रमित, २०७८÷७९ मा १४ हजार ९७८ परीक्षण, तीन हजार ३३६ सङ्क्रमित, २०७९÷८० मा पाँच हजा ४५४ परीक्षण, ३०३ सङ्क्रमित भएको कार्यलयको तत्याङ्मा उल्लेख छ ।

    जिल्लाको मुख्य बजार क्षेत्रमा डेङ्गु जोखिम बढी हुने गरेको छ । सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफल गर्दै डेङ्गु नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए । डेङ्गु फैलाउने लामुखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उनले बताए ।


    नेपालमा डेङ्गु ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा सङ्क्रमण देखिएको थियो । सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

    भेक्टर कन्ट्रोल केसीका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उहाँले बताउनुभयो । डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए ।
    डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको भेक्टर कन्ट्रोल केसीले बताए ।

  • ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध

    ब्राजिलका न्यायाधीशमाथि अमेरिकाले लगायो प्रतिबन्ध

    ४ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए ।


    राष्ट्रपति लुलाले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेका छद्धन्, “मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशहरूप्रति रहन्छ । उहाँ अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित हुनुभएको छैन ।” “एक देशको न्याय प्रणालीमा अर्को हस्तक्षेप अस्वीकार्य छ र यसले राष्ट्रहरूबीचको सम्मान र सार्वभौमिकताको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दछ।”

    बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोले इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए । त्यसको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मोरास र उहाँका ‘सहयोगी’ र उनीहरूका परिवारका सदस्यहरूको भिसा रद्द गरेको थियो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमा भनेका छन्, “ब्राजिलको सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले जायर बोल्सोनारोविरुद्ध गरेको ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ उत्पीडन र सेन्सरसिपले जटिलता सिर्जना गरेको छ । यसले ब्राजिलियालीहरूको आधारभूत अधिकारको उल्लङ्घन मात्र गरेको छैन, अमेरिकीहरूलाई लक्षित गर्न ब्राजिलको सीमाभन्दा बाहिर पनि फैलिएको छ ।” ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्दै आएका छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशहरूमाथि बारम्बार मौखिक आक्रमण गर्ने गरेका छन्।

  • कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    ४ साउन, काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।

    विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ । यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।

    यस्तै, विभागले आज बिहान ५ः३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

  • यस्तो आज नेपालको मौसम पूर्वानुमान

    यस्तो आज नेपालको मौसम पूर्वानुमान

    ४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

    यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

  • पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

    पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

    ४ साउन, पर्वत । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।

    उनका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।

  • यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

    यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

    ४ साउन, भोजपुर । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उनको भनाइ छ ।

    “गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा यो पदमार्गको विकास गरेका छौं , प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने, “पर्यटनको माध्यमबाट आर्थिक पक्षलाई जोड्ने लक्ष्य छ । यसले गाउँपालिकाको विकासमा टेवा पु्र्याउने अपेक्षा लिएका छौँ ।” यहाँ गाउँपालिकाको गौरवको आयोजनाका रूपमा पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।दूधकोशीको चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी, विराटनगरबाट ६५ किमी दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईको भनाइ छ ।

    “यो पदमार्ग गाउँपालिकाको गौरवको आयोजना हो, यो पदमार्गले गाउँपालिकाका मुख्य क्षेत्रलाई समेटेको छ । यसलाई हामीले छोटो दूरीको पदमार्गका रूपमा विकास गरेका छौँ”, अध्यक्ष राईले भने । पदमार्गलाई एक ऐतिहासिक पदमार्गका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको गाउँपालिकाले जनाएको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले घारबास सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

    हरियालीसँगै फाटिँला पहाडका चौरहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई सहर नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यावलोकन गर्दै दुईचार दिन बिताउन सक्नेगरी पदमार्गलाई व्यवस्थित गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।


    किँरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्गको प्रचारप्रसारको जोड दिइएको छ । हतुवागढीको सबैभन्दा अग्लो स्थान शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँट विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार ८६५ मिटर उचाइमा छ ।

  • बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन

    बङ्गलादेशमा जमात–ए–इस्लामीद्वारा बृहत् राजनीतिक प्रदर्शन

    ४ साउन, काठमाडौं । बङ्गलादेश आगामी वर्ष हुने निर्वाचनको तयारीमा रहेको बेला निर्वाचन प्रणालीमा आमूल परिवर्तनको माग गर्दै बङ्गलादेशको प्रमुख इस्लामी पार्टीका दशौँ हजार समर्थकले शनिबार जुलुश प्रदर्शन गरेका छन् । गत वर्ष भएको जनविद्रोहमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि जमात–ए–इस्लामी पार्टीले देशको राजनीतिमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । आफ्नो कार्यकालमा हसिनाले जमातविरुद्ध कडा अडान लिएका थिए र राजनीतिक दलको रूपमा यसको दर्तासमेत रद्द भएको थियो ।

    दशकौँदेखि जमातलाई सार्वजनिक प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । गत महिना सर्वोच्च अदालतले पार्टी दर्तालाई पुनस्र्थापित गर्दै आगामी अप्रिलमा हुने चुनावमा भाग लिन जमातलाई मार्ग प्रशस्त गरेको थियो । “विगत १५ वर्षमा हामीले धेरै दुःख भोगेका छौं । हामी जेल गयौँ, हाम्रो राजनीतिक अधिकार खोसिएको थियो,” २९ वर्षीय पार्टी कार्यकर्ता मोहम्मद अब्दुल मन्नानले एएफपीसँग भने ।


    राजधानीमा चर्को गर्मीको सामना गरिरहेका प्रदर्शनकारीहरूले निर्वाचन क्षेत्रमा सिटको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शनमा सहभागिता जनाएका थिए । मन्नानले भने, “संसद्मा सहभागितामूलक प्रतिनिधित्वसहित हाम्रा सात बुँदे मागलाई दरिलो पार्न हामी यहाँ जनसमुदायबीच भेला भएका छौँ । उनले भने, “हाम्रा माग पूरा नभएसम्म निर्वाचन हुँदैन ।”

    स्वतन्त्रतापछि प्रतिबन्ध लगाइएको जमात पार्टीले सन् १९९१ मा १८ सिट जितेर आफ्नो उत्कृष्ट चुनावी प्रदर्शन गरेको थियो । यो पार्टी सन् २००१ मा गठबन्धन सरकारमा सामेल भएको थियो, तर स्थायी तथा लोकप्रिय समर्थन निर्माण गर्न असफल भएको थियो । मन्नानले भने, “हामी समानुपातिक प्रतिनिधित्व प्रणाली चाहन्छौं ताकि विजेताहरूले सबै लिन नसकोस् तर हामी पनि आवाजको हकदार छौँ ।” राजधानी ढाकास्थित सुहरावर्दी उद्यान स्मारकमा मध्याह्नदेखि नै दशौं हजार प्रदर्शनकारीको भीड लागेको थियो ।

    प्रदर्शनकारीले पार्टीको लोगो अङ्कित टिसर्र्ट, पार्टीको नाम अङ्कित ‘हेडब्यान्ड’ र पार्टीको चुनाव चिह्न स्केलको आकारको धातुको बिल्ला लगाएका थिए ।
    पार्टीका नेता ५८ वर्षीय मोहम्मद शफिकुल इस्लामले बङ्गलादेश नेशनलिस्ट पार्टीको गढ मानिने बोगुरामा प्रदर्शनमा सहभागिता जनाए ।
    “मलाई लाग्यो, एक मुस्लिमको रूपमा उपस्थित हुनु मेरो कर्तव्य हो। जमात–ए–इस्लामीले इस्लामिक देश स्थापना गर्ने वाचा गरेको छ, त्यसैले म आएको हुँ,” शफिकुलले एएफपीसँग भने । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा जमात–ए–इस्लामीले इस्लामाबादलाई समर्थन गरेको थियो।

    बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जमात–ए–इस्लामीका कैयौँ वरिष्ठ नेतालाई युद्धमा भूमिका खेलेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
    धेरै बङ्गलादेशीहरू जनताको विश्वास पुनः प्राप्त गर्न र एक व्यवहारिक चुनावी शक्ति बन्नका लागि पार्टीले आफ्नो विगतलाई स्वीकार्नु पर्दछ भन्ने विश्वास गर्छन्। तर जुलुशका सहभागिहरूले भने फरक धारणा राखेका थिए । नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै ३३ वर्षीय एक निजी सेवाधारीले भने, “जमातलाई अन्यायपूर्ण तरिकाले दोष लगाइएको छ । यसले राष्ट्रको अखण्डतालाई कायम राख्नेबाहेक केही गरेन ।”

  • नहरमा डुबेर एक जनाको मृत्यु

    नहरमा डुबेर एक जनाको मृत्यु

    ४ साउन, लम्की । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए । रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए ।

    केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो । सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो ।

  • मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु

    मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एकवर्षमा पाँच जनाको मृत्यु

    ४ साउन, बेलबारी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् । बिहीबार बिहान बेलबारी १० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गरिन् ।


    आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एकरएक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका(९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उनको भनाइ छ ।

    गत पुस ५ गते सुन्दरहरैचा १० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा ५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताए । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए ।
    दुई वर्षदेखि मोरङको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए । “हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्”, उनले भने । जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

  • हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन

    हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन

    ३ साउन, सिन्धुपाल्चोक । यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । हल गोरु पाल्ने दुई सय ४० किसानलाई रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पछिल्लो समय प्रविधियुक्त ट्र्याक्टर भित्रिने क्रम बढेपछि हल गोरु पाल्ने प्रचलन हट्दै गएको भन्दै प्रोत्साहन गरिएको उनले बताए ।

    “खेत जोत्ने नयाँ नयाँ प्रविधि आइरहेका छन्, जसले गोरु पाल्ने चलन नै लोप हुने अवस्था आउनसक्छ । त्यसैकारण नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनको नीति लिएका हौँ”, नगरप्रमुख तामाङले भने । नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले अनुदान रकमका लागि पशु बिमा गर्नका लागि आग्रह गरिएको बताए ।

    यसरी बिमा भएका किसानलाई बैंक खातामार्फत र बिमा भएको तर बैंक खाता नभएका किसानलाई भरपाई गरेर रकम उपलब्ध गराइएको उनले जानकारी दिउ ।
    यस कार्यक्रमले किसानलाई प्रोत्साहन मात्र नभई प्राङ्गारिक मल उत्पादन गरी माटो सुधार र जैविक विविधता संरक्षणमा समेत सुधार ल्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।