Category: समाचार

  • बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, पुग्यो १९,५५०

    बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, पुग्यो १९,५५०

    १ साउन, काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको जानकारी गराएको छ अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । ३२ असारसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो । सरकार, रोजगारदाता र श्रमिकका संगठनहरूको समेत प्रतिनिधित्व रहने समितिले दिएको सिफारिसका आधारमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक तोकेको हो । श्रम ऐन अनुसार हरेक दुई–दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्छ ।


    नयाँ व्यवस्था अनुसार अब आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० रुपैयाँ हुनेछ । जसमा महँगी भत्ता ७ हजार ३ सय ८० हुनेछ । कुल जोड्दा १९ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक हुनेछ । अब दैनिक ७ सय ५४ रुपैयाँ ज्याला हुनेछ । प्रतिघण्टा १ सय १ रुपैयाँ ज्याला पाइने छ । आंशिक काम गर्नेका हकमा प्रतिघण्टा १ सय ७ रुपैयाँ ज्याला पुगेको छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ गरी १७ हजार ३ सय थियो । श्रमिकको दैनिक पारिश्रमिक ६ सय ६८ थियो ।

    आंशिक समयमात्र काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा थियो । सरकारले बढेको न्यूनतम पारिश्रमिकलाई सोही अनुपातमा तोकेको छ । पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य दिनुपर्छ । स्थानीय तहमा समेत सरकारले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक तोक्नुपर्छ । यो रकमभन्दा न्यूनतम हुने गरी अब पारिश्रमिक तोकेर रोजगार सम्झौता गर्न पाइँदैन ।

  • हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

    हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

    एजेन्सी
    १ साउन, काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो । एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८।१ प्रतिशत बजार हिस्सा लिएको छ । यो उन्नति हुवावेका लागि ठूलो सफलता मानिएको छ । कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो । साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ ।

    यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ । एक अनुसन्धानकर्ता आर्थर गुओका अनुसार, “चीन–अमेरिका व्यापार सहमति भए पनि आर्थिक अवस्था कमजोर छ ।” उनले भने, “मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन ।” यता, हुवावे र अमेरिका बीच लामो समयदेखि विवाद चलिरहेको छ ।
    अमेरिकाले हुवावेलाई जासुसीको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ । सन् २०१९ यता, अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो । यसैबीच, एप्पलको बिक्री घटेको देखिएको छ। पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३।९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो । एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ ।

  • धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

    धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

    १ साउन, रामपुर । र्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा दुई हजार ५६७ मिटर पैदलमार्ग निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्गअन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लामो पैदलमार्ग निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।


    “यस मार्गमा ढुङ्गा छाप्ने र ‘इन्टरलक’ लगाउने काम भइरहेको छ, नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पु¥याउनेछ”, नगर प्रमुख थापाले भने । यस मार्गमा आव ०८१–०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाइको इन्टरलक राखेर ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । वडा नं ३ स्थित केलादीमा ५५७ मिटर, ६ को ज्याग्दीपार्कमा १९१ मिटर, तिलकपुरमा ४३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा १९५ मिटर इन्टरलक, ८ स्थित भुजात क्षेत्रमा ६७८ मिटर ढुङ्गा छाप्ने र २१० मिटर इन्टरलक, १० को शालिकराम पार्कमा ११४ मिटर ढुङ्गा छाप्ने र नरमदेश्वर मन्दिरमा १९० मिटर इन्टरलक राख्ने र ढुङ्गा छाप्ने काम भएको छ ।

    यसैगरी, वडा भानघाट र तातोपानीघाटमा प्रतीक्षालय निर्माण गरिएको छ । यो परियोजना सङ्घीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हो । धार्मिक महत्वको कालीगण्डकी नदी रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटसँग जोडिएकाले पैदलमार्ग निर्माणबाट यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।

  • करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    १ साउन, मलङ्गवा । लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

    एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घाइते छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

    केरूङमा अलपत्र नेपालीलाई स्वदेश फर्काइँदै

    १ साउन, रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।

    केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् । कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।

  • साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व

    साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व

    १ साउन, काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

    अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

    लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

  • आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको पूर्वानुमान

    आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको पूर्वानुमान

    १ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ । सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • एक वर्षमा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

    एक वर्षमा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

    १ साउन, काठमाडौं । आर्थिक वर्ष २०८१\०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०\०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०\०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
    आर्थिक वर्ष २०८१\०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।


    अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने, तयारी सुरु गरिसकेका छौं । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं । चालू आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ ।


    आर्थिक वर्ष २०७१\७२ मा ४ खर्ब ५ अर्ब, २०७२\०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३\०७४ मा ६ खर्ब ९ अर्ब, २०७४\०७५ मा ७ खर्ब २६ अर्ब, २०७५\०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो । त्यसैगरी २०७६\०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७\०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८\०७९ मा १० खर्ब ६६ अर्ब, २०७९\०८० मा ९ खर्ब ५७ अर्ब र २०८०\०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

  • देवघाटमा साउने मेला, भक्तजनको भीड

    देवघाटमा साउने मेला, भक्तजनको भीड

    १ साउन, नारायणगढ । देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ ।

    सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

  • सुक्खाग्रस्त मधेशमा वारुणयन्त्रबाट खानेपानी आपूर्ति

    सुक्खाग्रस्त मधेशमा वारुणयन्त्रबाट खानेपानी आपूर्ति

    १ साउन, महेन्द्रनगर । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए ।

    खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए । साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।

  • नेपाल–भारत सीमानाका बन्द हुने

    नेपाल–भारत सीमानाका बन्द हुने

    १ साउन, बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।


    उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ ण्साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

  • चार लेनको मादीनदी पुलको काम अन्तिम चरणमा

    चार लेनको मादीनदी पुलको काम अन्तिम चरणमा

    ३२ असार, दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । “उक्त पुलमा छ वटा स्पान हुनेछ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो”, उनले भने ।


    पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए । “मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी-जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ”, उनले भने ।


    पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताए ।

  • महानगर यातायातले एकै पटक भित्रायो १२ विद्युतीय बस

    महानगर यातायातले एकै पटक भित्रायो १२ विद्युतीय बस

    ३२ असार, काठमाडौं । महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए । उनले भने, “सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो ।”

    कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए ।
    कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । सो कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवद्र्धन र सहरी यातायातको दिगो विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।

  • मन्त्रिपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने, अन्य कुन-कुन ?

    मन्त्रिपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने, अन्य कुन-कुन ?

    ३२ असार, काठमाडौँ । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिए ।

    उनका अनुसार सरकारले यही असार ३० गतेदेखि आगामी साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट रु एक हजार दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ ।

    त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १० दशमलव आठ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१\८२ का लागि उखु उत्पादक कृषकलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल रु तीन हजार ५०० कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, आगामी साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्भे टु स्ट्रेन्थन कोअपरेसन कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए ।

    रेस्टोरिडा रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका–६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडीबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका–४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि आगामी साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रिजनल वर्कसप अनक्लियर सेक्युरिटी रेस्पोन्स क्यापाविलिटी डेभलपमेन्ट फर बार्डरर्स एण्ड पोर्टस् कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने, नेपाल र जापान सरकारबीच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ देखि थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने निर्णय रहेको सरकारका प्रवक्ता गुरुङले उल्लेख गरे ।

    उनका अनुसार जल तथा ऊर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, ‘क्यासिनो नियमावली, २०८२’ स्वीकृत गर्ने, ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ स्वीकृत गर्ने, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखा परीक्षक नारायण एमसीलाई बढुवा गर्ने सरकारको निर्णय रहेको छ ।

    पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकको असार ३० गतेको निर्णयसमेत सार्वजनिक गरिएको बताए । आगामी साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेन्ड युएन फुड सिस्टम्स् समिट स्टक टेक (युएनएफएसएस प्लस फोर कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको जानकारी दिए ।


    उनका अनुसार नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्नेगरी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोक्ने निर्णय गरिएको छ ।

    निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन पाँच अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आगामी साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने ‘फस्ट ग्लोबल एसएमइ मिनिस्ट्रीयल मिटिङ’मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा कपिलमान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मा, रूपन्देहीलाई नियुक्ति गर्ने, फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि यही असार २९ गतेदेखि चार महिनाका लागि थप गर्ने सरकारको निर्णय छ ।

    नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी ९बर्दघाट–सूस्ता पूर्व० जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी–झ्यालबास–डण्डा–चौराहा–पनौती–वसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको तीन दशमलव ९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं १ लौकहीबाट परिवर्तन गरी वडा नं ३ बद्रीपुल कायम गर्ने, कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं ४ कट्टीबाट परिवर्तन गरी वडा नं ४ गहलाम कायम गर्ने सरकारको निर्णय रहेका सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।


    आगामी साउन १० गतेदेखि १२ गतेसम्म चीनको सङ्घाईमा आयोजना हुने ‘वल्र्ड आर्टिफिल इन्टेलिजेन्स कन्फ्रेन्स– २०२५’ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई स्वीकृति प्रदान गर्ने, साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जिएचएफ)–२०२५’ सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेका मन्त्री गुरुङले बताए ।

  • ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

    ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

    ३२ असार, काठमाडौं । सरकारले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेका छन् । मन्त्री पौडेलले साउनमा डेङ्गी सङ्क्रमण उच्च विन्दु पुग्ने तथा तीव्र हुने भएकाले साउनको सुरुआतदेखि नै सचेतना फैलाउनका लागि डेङ्गी सचेतना महिनाका रूपमा घोषणा गरिएको जानकारी दिए ।

    उनले साउनदेखि कात्तिकसम्म डेङ्गीको जोखिम हुने भएकाले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’अभियान सुरु गरिने उल्लेख गरे । “डेङ्गी साउन महिनामा उच्च सङ्क्रमण हुने सुरुवाती महिना हो”, उनले भने, “यस महिनामा सतर्कता अपनाउन सके सङ्क्रमण कम गर्न सकिन्छ । त्यसैले सम्भावित जोखिम नियन्त्रण गर्नका लागि साउनलाई सचेतना अभियान महिना घोषित गरिएको हो ।”

    मन्त्री पौडेलले डेङ्गी सरकारको एकल पहलले मात्र गर्न न्यूनीकरण गर्न नसकिने भन्दै नीजि क्षेत्र, समुदाय, टोल सबैको सहयोग र समन्वय आवश्यक पर्ने खाँचो औँल्याए । मन्त्रालयका सचिव डा विकास देवकोटाले साउनमा बढी पानी पर्ने भएकाले घर वरपर पानी जम्न नदिने उपाय अपनाउन सबैलाई अनुरोध गरे । उनले कम्तिमा साउनदेखि कात्तिकसम्म लामखुट्टे खोज र नष्ट गर अभियान हरेक कार्यलय, टोलमा संचालन गर्न सके डेङ्गी सङ्क्रमणलाई कम गर्न सकिने धारणा राखे ।
    “गत वर्ष सुरु भएको लामखुट्टे खोज र नष्ट गर अभियानका कारणले डेङ्गी सङ्क्रमण घटेको छ”, उनले भने, “यसपटक पनि यस अभियानलाई निरन्तरता दिएर सङ्क्रमण घटाउनु पर्छ ।” सचिव डा देवकोटाले डेङ्गी पूर्णरूपमा उन्मूलन गर्न नसकिने भन्दै मानिसको जीवनशैली परिवर्तन गरेर सङ्क्रमित हुनबाट जोगिनुपर्ने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेङ्गी सङ्क्रमण एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले उक्त लामखुट्टेलाई खोजेर नष्ट गर्नु उत्तम उपाय रहेको बताए ।


    विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश पाण्डवले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि बहुक्षेत्रको भूमिका तथा संलग्नता हुनुपर्नेमा जोड दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले डेङ्गीको जोखिम हुने क्षेत्र पहिचान गरी खोज र नष्ट अभियान सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी दिए । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी परेसँगै डेङ्गीको सङक्रमण बढ्ने बताए ।

    उनका अनुसार गत पुस १७ गतेदेखि असार ३१ गतेसम्म ७३ जिल्लाका एक हजार ९८३ जनामा सङ्क्रमण देखिएको छ । “डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी रोग लाग्दछ”, उनले भने ।

  • समयमा काम नसकेपछि त्रिवि मैदान बनाइरहेको ठेकेदारलाई दैनिक दुई लाख हर्जना

    समयमा काम नसकेपछि त्रिवि मैदान बनाइरहेको ठेकेदारलाई दैनिक दुई लाख हर्जना

    ३२ असार, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार क्षतिपूर्ति तिराइएको हो । सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक रु दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेको जानकारी दिए । “प्यारापिट बनाउन रु ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो”, उनले भने ।


    सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठले यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए ।


    “असार ३० गते निर्माण कम्पनीलाई पूर्वनिर्धारित क्षतिपूर्ति ९हर्जना०बारे जानकारी गराइसकेका छौँ । मङ्गलबारदेखि उहाँहरूले दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ । काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ”, उनले भने, “यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ ।”

    निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कंठले जानकारी दिनुभयो । उनका अनुसार चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लडलाइटमध्ये तीन वटा पोल आइसकेका न्छ । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको कंठले जानकारी दिए ।

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

    सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

    ३२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    ‘जनताका तमाम अपेक्षाको सम्बोधन हुन नसकेकाले वर्तमान सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नरहेकाले उक्त समर्थन फिर्ता लिई अब उप्रान्त विपक्षमा बस्ने निर्णय गरियो’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

    सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको, मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसकेको, सङ्घीयताको प्रभावकारी कार्यान्वयन नभएकोे जनाएको छ ।

  • काठमाडौं महानगरको बजेट पारित

    काठमाडौं महानगरको बजेट पारित

    ३२ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि गत आइतबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित भएको छ । कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलले ल्याउनुपर्ने समयसीमाभन्दा ढिलागरी कामपाले रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

    पारित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासका लागि तीन प्रतिशत बजेट ल्याइएको छ ।

  • नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

    नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

    ३२ असार, काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छिन् । उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरे ।

    पदबहाली गरेपछि उनले सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गरिन् ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ नीति तथा कार्यक्रममा सङ्घ प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

  • महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित

    महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित

    ३२ असार, काठमाडौं । मुलुकको अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न विधाका उद्योगी तथा व्यवसायीलाई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक कार्यक्रमकाबीच उद्योगी व्यवसायीलाई सम्मान गरेको हो ।

    उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताए । मन्त्री भण्डारीले निजी क्षेत्रको योगदानलाई सम्मान गर्नु सरकारको दायित्व भएको उल्लेख गरे । उनले भने, “यो सम्मान केवल सम्मानका लागि होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई प्रेरित र सम्मानित गर्न चाहन्छौँ ।”

    मन्त्री भण्डारीले सो सम्मानले उद्योगी तथा व्यवसायीको मनोबल उच्च बनाउने र उनीहरूलाई निर्यात प्रवर्द्धनतर्फ थप सक्रिय बनाउने विश्वास व्यक्त गरे । “निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास सम्भव छैन”, उनले भने, “देशको समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । त्यसैको दिशामा हामी अगाडि बढिरहेका छौँ ।”

    तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँचवस्तुहरु प्रत्येकबाट एक–एक जनालाई सम्मानित गरिएको छ । जसमा ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्राली, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोर्टस् प्राली, छुर्पीतर्फ मनराम हिमालयन हेण्डीक्राफ्ट प्राली र पश्मिना वस्तुतर्फ ट्राइकोट इष्डष्ट्रिज प्रालीलाई सम्मान गरिएको हो ।

    भारत बढी निर्यात गर्ने उत्कृष्ट तीन वटा संस्थाका रुपमा डाबर नेपाल लिमिटेड पहिलो, आरती स्ट्रिप्स दोस्रो र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड तेस्रो बढी निर्यात गर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ । चीनतर्फको निर्यातका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमङ्गल काठमाडौँलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो बढी निर्यातकर्ताका रुपमा सम्मानित गरिएको छ । नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताका रुपमा गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालीलाई सम्मानित गरिएको छ ।

    वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमकितामा राखेका निर्यात सम्भवनायुक्त वस्तुमध्ये कृषि क्षेत्रतर्फ नेपाल एभरेष्ट कार्डामम प्रडक्सन, जडीबुटी क्षेत्रतर्फ एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स सम्मानित भएका छन् । निर्यात व्यापारमा कूल रकमका आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताका रुपमा जनकपुर रिफाइनरिज, विप्रेषणतर्फ आइएमई लिमिटेड, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीका रुपमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडलाई सम्मानित गरिएको छ ।

    व्यवसायीका प्रतिनिधिमूलक संस्थालाई पनि सम्मान गरिएको छ । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्यगरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएकाले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलाई सम्मानित गरिएको हो । तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा रु एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीका रुपमा त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड, द साङ्ग्रिला कार्पेट एन्ड ह्याण्डीक्राफ्ट इन्डस्ट्री प्रालि र एभरेस्ट फेसन रहेका छन् ।

    व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत सङ्घतर्फ तेस्रो मुलुकमा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा कूल रू पाँच अर्ब वा सोभन्दा बढी निर्यात गर्ने वस्तुगत सङ्घका अध्यक्षलाई मानार्थ सिआइपी दिइनेछ । जस्ता सङ्घसंस्थामा नेपाली छुर्पी व्यवसायी सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाली तयारी पोशाक उद्योग सङ्घ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ रहेका छन् ।

    अघिल्ला दुई आर्थिक वर्षमा रू १५ अर्ब वा सोभन्दा बढी निर्यात गर्ने महासङ्घका अध्यक्षलाई पनि मानार्थ सिआइपी प्रदान गरिएको छ । जसमा नेपाल हस्तकला महासङ्घ र निर्यात व्यवसायी महासङ्घ छन् । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० अन्तर्गतको परिभाषा भित्र पर्ने र अघिल्लो दुई आर्थिक वर्षमा रु चार करोड वा सोभन्दा बढी वस्तु तथा सेवा निकासी गर्ने स्टार्टअपका रुपमा माइण्डफुल क्राप्ट प्रालीलाई सम्मान प्रदान गरिएको छ ।

  • पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

    पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

    ३२ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर पुर्दा वृद्धाको मृत्यु भएको छ । गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोले परिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्रै बसिरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

    प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए । पहिरोले फगामीको घरसमेत भत्किएको छ । सीताका श्रीमान् ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन् । पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् ।

  • पृथ्वीराजमार्गको वैकल्पिक नौ किलोमिटर सडक कालोपत्र

    पृथ्वीराजमार्गको वैकल्पिक नौ किलोमिटर सडक कालोपत्र

    ३२ असार, दमौली । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७।३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छभने १.९ किलोमिटर ढलान गरिएको छ ।

  • वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

    वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

    ३२ असार, तानसेन । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उनले बताइन् ।


    “यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ”, घर्तीले भनिन् । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ। पहिले मकैखेती लगाउँदै आएकी घर्तीले अहिले बारीमा ५० बोट टिमुरका बिरुवा लगाएकी छिन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुुरखेती गर्न थालेको उनी बताउँछिन् ।


    उनले भनिन्, “हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएकी हुँ”, टिमुरबाट राम्रो आम्दानीसमेत हुने घर्तीको भनाइ छ । उनी मात्र हैन यहाँका अधिकांश किसान अन्नबाली छाडेर टिमुरखेतीमा लागेका छन् ।

    यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती गर्न थालेका हुन् । रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो, त्यसपछि भने बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउँछन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका दुई हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ ।

    असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । टिमुरबाट वार्षिक रु दुई लाख आम्दानी गरेको रिब्दीकोट–६, ठिमुरेका किसान शिवबहादुर जिसीले बताए । चार वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको उनले बताए ।


    पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

    अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।


    उनले भने, “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।” एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ । टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरुवासमेत वितरण गर्ने गरेको उनले बताए । जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको उनको भनाइ छ ।

  • सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

    सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

    ३२ असार, पाँचथर । एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।

    सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्णरुपमा हुन सकेको छैन । “डेढ किलोमिटर लम्बाईको कुलो शिवादोभानका एक दर्जनभन्दा बढी परिवारका लागि खेतीको आधार थियो, यसबीचमा आयोजना मर्मतका लागि सरकारले रु १५ लाख र निर्माण कम्पनीले रु दुई लाख दिएका थिए, त्यसबाट पक्की कुलो बनाइएको थियो,” उनले भने, “तर बर्सेनि ट्रयाक खोल्दा माटोले कुलो पुरिने गरेको छ, यसको दीर्घकालीन समाधान हुन सकेको छैन ।”

    फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिंचाइको सुविधा हुँदा अहिले खेतीपाती हुन छाडेको स्थानीय ललितबहादुर सम्बाहाम्फेको भनाइ छ । “कुनै समय वर्षमा तीन बालीसम्म लगाइन्थ्यो, कुलोमा क्षति पुगेपछि मकै मात्रै लगाउँदै आएका थियौँ, अहिले त्यो पनि कम भएको छ ।” सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको उनको भनाइ छ । सम्बाहाम्फेकाअनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ । उहाँका अनुसार सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका(४ सरखण्डे, फिदिम(९ लुम्फाबुङ र कुम्मायक(४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन् ।

    कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताउँछन् । सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१–८२ मा कुम्मायक गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । यद्यपि काम भने नभएको उनको भनाइ छ ।

  • टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

    टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

    ३२ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ । स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन् । स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ । पुलको दुरावस्थाबारे नगरपालिकालाई जानकारी गराइएको उनले जानकारी दिए ।

    यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ । उक्त योजनाअन्तर्गत रु दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ ।

  • आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    ३२ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ ।

    देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाले आज बिहान ६ः ०० बजे जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

    सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

    सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

    ३२ असार, चितवन । भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।

  • राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका

    राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका

    ३२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गरेका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गरेका छन् ।
    रूसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “वाशिङ्टन तथा नेटोका राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनको रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, र त्यसको यथोचित विश्लेषण आवश्यक रहेको छ ।” यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा, राष्ट्रपति ट्रम्पले रूसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । जसको उद्देश्य रूसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नु हो ।

    हालसम्म रूसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यून तुल्याउँदै आएको देखिन्छ ।
    यसैबीच, डेनमार्क र नेदरल्यान्ड जस्ता युरोपेली राष्ट्रहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिका निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ ।

    रूसले शान्ति वार्ताका लागि खुला रहनुको साथै युक्रेनी पक्षबाट समय र स्थान सम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रूसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने धारणा व्यक्त गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चारवटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू राख्नुभएको थियो, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका छन् ।

    रूसी राजधानी मस्कोमा सर्वसाधारणहरूले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई विविध दृष्टिकोणबाट व्याख्या गरेका छन् । एभिएसन इन्जिनिय स्वेतलानाले भने, “यो एक रणनीतिक खेलजस्तै हो । उनले ५० दिन दिनेका थिए, त्यसपछि अर्को निर्णय आउनेछ । अब हामी हाम्रो राष्ट्रपतिको आगामी कदम प्रतिक्षा गरिरहेका छौँ ।” त्यस्तै, युक्रेनका अग्रपंक्तिमा रहेर डटेर लडिरहेका सुरक्षाकर्मीहरूले आशावादी भए पनि सतर्क प्रतिक्रिया दिएका छन् ।

    एक सैनिकले भने, “पछिल्ला अभिव्यक्तिहरूको आधारमा मात्र विश्वास गर्न गाह्रो छ । अतीतमा पनि यस्ता धेरै वाचा भएका थिए, तर सबै पूरा भएका थिएनन् ।” एक अन्य सुरक्षाकर्मीले भने, “यदि यी हतियार केही समयअघि आएका भए, हामीलाई धेरै सहयोग पुग्थ्यो । तर अहिले पनि यदि यसले स्थिति सुधार गर्न सघाउँछ भने, हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौँ ।”

  • मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    ३१ असार, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग मोही तल्सिङको मुद्दा मिलाउन भन्दै कार्यालय परिसरमै घुस लिएको रकम रु २४ लाख ५० हजार रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    आयोगको टोलीले राउतको साथबाट रकम बरामद गरेर कार्यालयमै मुचुल्का उठाई नियन्त्रणमा लिएको हो । उदयपुरका घर भएका कार्यालय प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुर निवासी राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत टोलीले बरामद गरी नियन्त्रणमा लिएको छ । घुस रकम माग गरेको गुनासो अख्तियारमा परेपछि टोलीले आज छापा मारेको अख्तियारले जानकारी दिएको छ ।

  • भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

    ३१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।