Category: समाचार

  • घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    ३१ असार, काठमाडौं । घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको बताएका छन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।

    उनले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

    केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् । उनी नेकपा एमालेबाट पर्सा ३ बाट प्रतिनिसभामा निर्वाचित हुन् ।

  • पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

    ३१ असार, अर्घाखाँची । यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका डिएसपी मल्लले बताए । ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।

  • डिजेल र पेट्रोलको मूल्य घट्यो

    डिजेल र पेट्रोलको मूल्य घट्यो

    ३१ असार, काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ । इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    काठमाडौँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

    ३१ असार, काठमाडौं । काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एक जनाको निर्माणाधीन सेफ्टीट्याङ्कीको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो, भने अर्का एकजना भीमसेनथान मन्दिर नजिक रहस्यमयरूपमा मृत भेटिएका हुन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्लाको कीर्तिपुर नगरपालिका–५ जाखास्थित निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने रसुवा घर भएका पाँच वर्षीय अभिषेक मगरको मृत्यु भएको छ ।

    डुबेर बेहोस अवस्थामा भेटिएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आजै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । यसैबीच काठमाडौँ महानगरपालिका–२० भीमसेनथान मन्दिर नजिक एक व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको छ । मृत भेटिएका अन्दाजी ५०–५५ वर्षीय पुरूषको पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

    रासस
    ३१ असार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । “घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ”, उनले भने, “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।”

    उनका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्”, उनले भने ।


    अर्को सुनौलो तोपचरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि यस चराको सङ्ख्या घट्नुमध्येको एक कारण हुनसक्ने बताउँछन् । निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउँछन् ।


    उनका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको छ । यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताए ।


    “रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ”, उनले भने, “तोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ ।

    निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ । निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् ।

    निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् ।

  • सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    सुदूरपहाडमा पाइन छाड्यो डोको, डालो र भकारी

    ३१ असार, अमरगढी । प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन् । केही वर्षअघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् ।

    यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले पुस्तौँदेखि डोको डालो, सुप्पा र भकारी बुनेर विभिन्न ठाउँमा मेला, पर्व तथा गाउँघरमा बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता कृषिजन्य आयातीत सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको पाटन नगरपालिका–१० का वीरभान विकले बताए ।
    उनका अनुसार गाउँगाउँमा यातायातका साधन सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोगले बाँस र निगालो सङ्कलनमा समस्या हुन थालेपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो । एकदशक अघिसम्म पनि बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–७ तिलाडी, कैनी टोल, छचोडा आलितालको डोला, हन्तड, नवदुर्गा गाउँपालिकाका विभिन्न ठाउँमा यही पेसाकाभरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् ।

    “बाँस र निगालो पाउन छाडेपछि आयआर्जनको बाटो बन्द भएको छ”, अमरगढी–७ का टीका पार्कीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको उनले बताए । गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताए । सो समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु ४०० देखि रु ६०० सम्म बिक्री गर्ने आएका छन् । त्यस्तै, डालो, भकारी, मानो र नाङ्लो रु एक हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

    युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो । निर्माण गरिएका सामग्रीको पनि बिक्री गर्न बजारकोसमेत अभाव छ । नजिकैका गाउँबस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भए पनि उचित मूल्य पाउन सकेका छैनन् । रासस

  • कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

    ३१ असार, कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो । “छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

    पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ । तीन दिनअघि कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

  • धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    धरान–चतरा खण्डका तीन पुल निर्माण अन्तिम चरणमा

    ३१ असार, धरान । मदनभण्डारी राजमार्गअन्तर्गत धरान(चतरासडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

    उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।


    “रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इञ्जिनियर श्रेष्ठले भने । कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो । तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।


    उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।” उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ ।
    रासस

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ३१ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    पहिरोले बिपी राजमार्गमा पहिरै-पहिरो, यातायात अवरुद्ध

    ३१ असार, काभ्रे । बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

    सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

    उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

  • सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप, ८९ जनाको मृत्यु

    सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप, ८९ जनाको मृत्यु

    ३१ असार, काठमाडौं । सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी जातीय झडपमा कम्तीमा ८९ जनाको ज्यान गएको छ । मृतकमध्ये ४६ जना ड्रुज, १८ जना बेदुइन लडाकू, चार जना सर्वसाधारण र सात जना सैनिक पोशाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानव अधिकार निगरानी संस्थाले जनाएको छ । हिंसा आइतबार सुरु भएको थियो, जब बेदुइन समूहले डामास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरे । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको श्रृङ्खला र त्यसपछिको सशस्त्र भिडन्तलाई निम्त्यायो ।

    झडप सोमबारसम्म जारी रहँदा गाउँहरूमा ‘मोर्टार’ प्रहार भएको र दर्जनौँ मानिस घाइते भएको समाचार संस्था ‘स्वेइदा २४’ ले जनाएको छ । स्वेइदाको सडक सुनसान छन्, पसल बन्द छन् र अन्त्येष्टि समारोहको बीचमै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    ५१ वर्षीय स्थानीय बासिन्दा अबु तयमले भने, “हामी अत्यधिक त्रासमा थियौं । गोला बारुद अनियमित रूपमा खसिरहेका थिए ।” इजरायली सेनाले घटनालाई मध्यनजर गर्दै स्वेइदामा केही ट्याङ्कहरूमा आक्रमण गरेको दाबी गरेको छ, तर विस्तृत विवरण दिएको छैन । यहीबीच, सिरियाली सरकारका रक्षा र गृहमन्त्रालयले सेनाको परिचालन, सर्वसाधारणका लागि सुरक्षित मार्ग र हिंसा चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।


    स्वेइदाका आध्यात्मिक ड्रुज नेताहरूले स्थिति नियन्त्रण गर्न दमास्कसलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । तर प्रमुख धार्मिक नेता शेख हिक्मत अल–हिज्रीले सुरक्षा निकायको प्रवेश अस्वीकार गर्दै ‘अन्तर्राष्ट्रिय संरक्षण’ को माग गरे । देशमा १४ वर्ष लामो युद्धपछि बनेको अन्तरिम सरकार नेतृत्वकर्ता अहमद अल–शराअका लागि यो अवस्था चुनौतीपूर्ण बनेको छ ।

    शिक्षा मन्त्रालयले सोमबार स्वेइदा प्रान्तमा हुने भनिएका माध्यमिक तहका परीक्षा स्थगित गरेको छ । सिरियाको नागरिक युद्धअगाडि करिब सात लाख ड्रुज समुदाय रहेको अनुमान गरिएको थियो, जसको मुख्य बसोबास स्वेइदा प्रान्तमै छ । ड्रुज र बेदुइन समुदायबीचको पुरानै द्वन्द्वले यदाकदा हिंसात्मक रूप लिँदै आएको छ ।

  • शिक्षण अस्पतालको विस्तारित सेवा भवन बनाउन भाटभटेनीको सहयोग, प्रधानमन्त्रीबाट उद्घाटन

    शिक्षण अस्पतालको विस्तारित सेवा भवन बनाउन भाटभटेनीको सहयोग, प्रधानमन्त्रीबाट उद्घाटन

    ३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी नहुने गरी आहार, विहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताए ।

    उनले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरे । “कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन् । क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस् ।”

  • मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

    मुग्लिन-पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

    ३० असार, दमौली । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१।५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ ।

    उनले भने, “कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।” पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो । विसं २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

  • प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल

    प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल

    ३० असार, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन सो दलसँग छलफल गरेको हो ।

  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ३० असार, देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

  • एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

    एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ३५ अङ्कले घट्यो

    ३० असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो । आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव ४८, वित्त एक दशमलव १३, होटल तथा पर्यटन शून्य दशमलव २५, लगानी एक दशमलव २५, जीवन बीमा एक दशमलव ३६ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

    त्यस्तै, लघुवित्त एक दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव १७, निर्जीवन बीमा एक दशमलव ०५, व्यापार शून्य दशमलव ६४ र अन्य समूह एक दशमलव २४ प्रतिशतले घटेको छ । माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै पाँच दशमलव ९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४६ प्रतिशतले घटेको छ ।

  • घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

    घुस काण्डमा मुछिएका मन्त्री सँगै राखेर बस्यो मन्त्रिपरिषद् बैठक

    ३० असार, काठमाडौं । सोमबार अबेर मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी भए । मन्त्री गुप्ताले भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा घुस लेनदेन गरेको अडियो अलिे सार्वजनिक भएको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् । उनै मन्त्री गुप्तालाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेको भन्दै आलोचना भइरहेको छ ।

  • संसदमा प्रचण्ड : सरकारलाई प्रश्नै प्रश्न

    संसदमा प्रचण्ड : सरकारलाई प्रश्नै प्रश्न

    ३० असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुन्दर र उन्नत बनाएर जनताका सपना पूरा गर्नका लागि संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरु समग्र राजनीतिक परिवर्तन र उपलब्धिको संस्थापन पक्ष भएको हैसियतले संविधान संशोधनबारे सदनमा स्पष्ट धारणा राख्न चाहेको बताए ।

    “हामी १० वर्ष संविधान कार्यान्वयनमा जाऔं, त्यसपछि यसको गम्भीर समीक्षा गरेर संशोधन गरौँ भन्दै आएका हौँ, यद्यपि संविधान अझै पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन,” अध्यक्ष दाहालले भने, “संविधान कार्यान्वयनका लागि अति आवश्यक ऐनहरू बन्न सकेका छैनन् । तरपनि नेपाली जनताको अपेक्षाअनुरूप जसरी शासन प्रणाली सञ्चालन हुनुपर्ने हो, जनतामा व्यवस्थाप्रति जसरी भरोसा बढ्नुपर्ने हो, त्यसको गम्भीर समीक्षा भने गर्नैपर्ने अवस्था आइलागेको छ ।” उनले यो असन्तुष्टि निर्वाचन प्रणाली, शासकीय संरचना, कार्यशैली र प्रणालीकै कारण त बढेको होइन भन्ने प्रश्न पनि गर्नुभयो ।

    संविधान संशोधनले नेपाली जनताका अधिकार अझै संस्थागत गर्नुपर्नेमा जोड दिँदै उनले उपेक्षित, उत्पीडित जाति, वर्ग, भूगोल तथा समुदायको पहिचान र अधिकार संरक्षणका लागि हुनुपर्ने बताए । उनले भने, “संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी, संविधानको अग्रगामी संशोधन गर्ने, शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नामाङ्कन, सिमाङ्कन, पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय सङ्घीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने हो भने दुईतिहाई बहुमत जुटाउने काम म प्रतिबद्धता जनाउँछु ।”

    आफूहरूले तुलनात्मरूपमा अहिलेको उत्कृष्ट संविधानमा समेत फरक मत राखेर आएको स्मरण गर्दै टालटुले र कर्मकाण्डी सुधारबाट नेपाली समाजको रुपान्तरण नहुने अध्यक्ष दाहालले बताए । उनले भने, “म प्रतिपक्षी दलको नेताका हैसियतले फेरि जोड दिएर के भन्न चाहन्छु भने लाखौं जनताले यसै गणतन्त्रलाई सुन्दर र उन्नत गणतन्त्र बनाएर आफ्ना सपना पूरा गर्न चाहेका छन् । जनता गणतन्त्रका पक्षमा, अग्रगमनका पक्षमा छन् । उनीहरु यही गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा सर्भिसिङ गर्न चाहन्छन् ।”

    दलहरूबीच थुप्रै मतभेद भए पनि शान्ति सम्झौताका सबै सहयात्री भएको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, “गणतन्त्रका हामी सहयात्री हौँ । हामीले आत्मसमीक्षा र आफूलाई सच्च्याउने कठोर सङ्कल्प नगर्ने भने अन्यथा जनताको धैर्यताको सीमा सधैं रहीराख्ने भन्ने हुन्न विष्फोट हुन्छ र सबैलाई त्यसको निम्ति सतर्क हुन अपील गर्दछु ।” उनले आजको बैठकमा सरकारलाई दर्जनौं प्रश्न राखे । पछिल्लो समय घुस काण्ड बाहिरिँदा समेत प्रधानमन्त्री नबोलेको विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाए । उनले विगतमा घुस खानेको अनुहार पनि हेर्दिन भनेर भनेको विषय स्मरण गराए ।

  • नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

    नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

    ३० असार, दाङ । यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो । आज बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

    इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए ।
    हाल दुवैको शव तुलसीपुर ल्याउने तयारी भइरहेको छ । मृतक दुवै जना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए । उनीहरु साथीहरुसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ । छ जना साथीहरु पुरन्धरा झरना अवलोकनका लागि पुगेका थिए । नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो ।

    साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशल पनि बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो । स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

  • यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

    यमनमा पुनः फैलिँदै पोलियो, खोप अभियान सुरु

    ३० असार, काठमाडौं । यमनले लामो समयदेखि जारी द्वन्द्वका बीच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी सञ्चार माध्यमले जानकारी दिएको हो । यो अभियान अन्तर्गत झन्डै सात हजार स्वास्थ्य टोलीले घर–घरमा गएर पोलियो खोप प्रदान गर्नेछन् ।

    अभियान १२० अत्यधिक जोखिमयुक्त जिल्लामा केन्द्रित छ ।
    सरकारको नियन्त्रणमा रहेका १२ क्षेत्रमा सञ्चालन भइरहेको अभियानको आवश्यकता बढ्दो सङ्क्रमण दरले देखाएको छ । बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य निकायका अनुसार सन् २०२० यता यमनमा पोलियोका २८२ नयाँ सङ्क्रमण भेटिएका छन्, जसमा ९८ प्रतिशत पाँच वर्षमुनिका बालबालिका छन् । युद्धका कारण सन् २०२३ मा देशभर पोलियो खोप दिने दर ४६ प्रतिशतसम्म झरेको थियो ।

    विश्व स्वास्थ्य संगठनको यमन प्रतिनिधि फेरीमा कुलबिबाली जेर्बोले भने, “यमनमा लामो द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र खोपको न्यून पहुँचका कारण पोलियो पुनः फैलिने ठूलो जोखिममा छ । यस्तो अवस्थामा खोप अभियान अत्यावश्यक छ ।” त्यसैगरी बाल संरक्षण संस्था युनिसेफका प्रतिनिधि पिटर हकिङ्सले भने, “खोप नलगाइएका बालबालिकाका लागि पोलियो अझै गम्भीर खतरा हो। खोपमार्फत हाम्रा बालबालिकालाई सुरक्षित राख्न सकिन्छ।”

    यमन सन् २०१४ यता गृहयुद्धमा फसेको छ । विद्रोही समूहले राजधानी साना र देशको उत्तरी भूभाग नियन्त्रणमा लिएपछि सन् २०१५ मा छिमेकी मुलुकहरूको गठबन्धनले मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गरेको थियो । युद्धका कारण यमन हाल विश्वकै एक गम्भीर मानवीय संकटमा परेको मुलुक बनेको छ, जहाँ करोडौँ नागरिक भोक, गरिबी र सेवा सुविधाको अभावमा जीवन यापन गरिरहेका छन् ।

  • बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

    बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

    ३० असार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो ।

    विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।

    “धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाडेर तरकारीखेती गरेका हुन,” उनले भने, विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्राबासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

    बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्नेगरी भाडामा लिएका छन् ।

    विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनउपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमूना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए । छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    ३० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरस्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • साफ च्याम्पियनसिपः अन्तिम मिनेटको गोलले नेपाल बङ्गलादेशसँग पराजित

    साफ च्याम्पियनसिपः अन्तिम मिनेटको गोलले नेपाल बङ्गलादेशसँग पराजित

    २९ असार, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालले अन्तिम समयमा सम्हालिएर खेल्न नसक्दा पराजित हुन पुग्यो ।

    खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता बनाएको थियो । खेलको १३औँ मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता बनायो । उसका लागि सिना जहान शिखाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी सागोरिकाले गोल गरिन् ।

    खेलको दोस्रो हाफको सुरुआतमै दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । नेपालकी ‘डिफेन्डर’ सिम्रन राई र बङ्गलादेशकी सागोरिकाले एकअर्कामाथि मुक्का प्रहार गरेपछि ‘रेफ्री’ले दुवैलाई रातो कार्ड देखाएको थियो । नेपालले त्यसको केही समयमा ‘पेनाल्टी’ पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याइन् । त्यसपछि खेलको पाँच मिनेट बाँकी रहँदा ‘काउन्टर अट्याक’मा नेपालले बराबरी गोल ग¥यो ।

    पूर्णिमा राईको क्रसमा मीना देउवाले गोल गर्दै नेपाललाई २–२ को स्थितिमा पु¥याइन् । तर, बङ्गलादेशले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा विजयी गोल ग¥यो । बङ्गलादेशकी तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् । जितसँगै बङ्गलादेशले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ९–१ गोलअन्तरले हराएको थियो । यसैगरी, नेपालको भने यो पहिलो हार हो । पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले हराएको थियो ।

  • सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

    सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

    २९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिन माग गरे ।

    कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले कर्मचारीहरुबाट भइरहेको सेवाग्राहीको हितविपरीतको गतिविधि तत्काल बन्द गर्न र जरिवाना छुटको प्रबन्ध गर्न आग्रह रे । जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले झापाको झापा गाउँपालिकामा अवस्थित लसुना नाकालाई थप व्यवस्थित गर्न भन्सार कार्यालय स्थापना गरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन र भौतिक पूर्वाधारको यथोथित संरक्षण गर्न माग गरे ।

    जनमत पार्टीका सांसद अब्दुल खाँनले रसुवागढीमा काम गर्न गएका बर्दियाका नागरिक बाढीमा परी बेपत्ता भएको उल्लेख गर्दै उनीहरुको खोज गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरे । बाढीपहिरोका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगेको, दर्जनौँ सवारीसाधन बगाएको तथा जनधनको क्षति भएकाले तत्काल पुनः निर्माणको काम गर्न आग्रह गरे ।


    जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले तराई–मधेसका विभिन्न जिल्लामा खानेपानीको समस्या विकराल बन्दै गएकाले यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसलाई जलसङ्कट क्षेत्र घोषणा गर्न माग गरे । उनले पर्याप्त वर्षा नहुँदा सिँचाइ नहरबाहेकका क्षेत्रमा रोपाइँ हुन नसकेको बताए ।
    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चालु आर्थिक वर्षको पुँजीगत खर्च न्यून हुनु दुःखद् रहेको धारणा राखे ।

    मुलुकमा व्यापारघाटा चुलिँदै गएको, दाल, चामल, खाद्य पदार्थसमेत विदेशबाट आयात गरिँदा घाटाको ग्राफ बढेको उनको भनाइ छ । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले सरकारमा बस्नेहरुले देश र जनताको हितमा काम नगर्दा व्यवस्थाकाविरुद्ध आवाज उठ्ने गरेको तर्क गरे । उनले सरकार प्रमुख र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति प्रकट गरे ।


    आमजनता पार्टीका सांसद प्रभु साहले काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा खानेपानीको उपलब्धता हुन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई–मधेसमा खानेपानीको चरम अभाव देखिएको भए पनि सरकारकोतर्फबाट कुनै सार्थक प्रयास नभएकामा गुनासो गरे ।


    स्वतन्त्र सांसद योगेन्द्र मण्डलले विराटनगर रङ्गेलीमा निर्माणाधीन हुलाकी राजमार्गको काममा भइरहेको ढिलासुस्तीबारे चर्चा गर्दै स्थानीयवासीलाई धुलो र हिलोको समस्या समाधान गर्न माग गरे । नेपाली कांग्रेसका सांसद नागिना यादवले केही दलका सांसदले सदनमा अप्रमाणित विषयमा पटकपटक धारणा राखेका कारण सांसदहरुको मर्यादा र गरिमामाथि प्रश्न उठेको बताइन् । नेकपा(एमालेंका सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

  • अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

    अब सबै प्रकारका सरकारी भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

    २९ असार, काठमाडौं । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो ।

    केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको हो । आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । परिपत्र सँगै अब चेक वा नगदबाट हुने कारोबार बन्द हुनेछ ।

  • काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

    काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड बराबरको बजेट ल्यायो

    २९ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ ।
    महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् । “

    आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च रु २५ अर्ब ११ करोड ४३ लाख ११ हजार र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम रु ६५ करोड सञ्चित कोषमा भार नपर्ने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरिएको छ”, उपप्रमुख डङ्गोलले भनिन् ।


    बजेटको स्रोतमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैङ्क मौज्दातबाट रु २० अर्ब १२ करोड ६४ लाख व्यहोरिने जनाइएको छ । यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रु चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ ।

    आगामी आवका लागि राजस्व सङ्कलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्नेलगायत नीति अवलम्बन गरिने जनाइएको छ । महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।

  • गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

    गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

    २९ असार, काठमाडौं । गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानतः कार्यरत रहेको सो समूहले जनाएको छ । सङ्घले सदस्यता सूचना प्रणाली ९एमआइएस० प्रणालीमार्फत सदस्यता वितरण भइरहेको र हालसम्म ७२ हजार सदस्य बनिसकेका जनाएको छ ।

    पत्रकार सम्मेलनमा अध्यक्ष केसीले लगभग पाँच हजार सदस्यको सदस्यता स्वीकृत हुन बाँकी रहेको बताए । उनले भने, “जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य बनेका छन् । विभिन्न देशमा अझै सदस्यता थप्ने कार्य जारी छ र यो सङ्ख्या अझ्र बढ्दै छ ।” अहिले राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मा राष्ट्रिय महाधिवेशन भइरहेको उल्लेख गर्दै अध्यक्ष केसीले हालसम्म १५ एनसिसीको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

    उनले बाँकी देशमा अधिवेशन हुने क्रममा रहेको र विधानतः जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यात्मक प्रावधान रहेको उल्लेख गरे ।
    एनसिसीको अधिवेशनले १२औँ महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने अवगत गराउँदै अध्यक्ष केसीले त्यसका लागि अन्तरराष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति पनि गठन भइसकेको बताए ।

    अन्तरराष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल)को तीन महिना मात्रै बाँकी रहेको जिकिर गर्दै उनले सङ्घले स्थापनाकालदेखिका मुद्दालाई मुखरित गर्न नछाडेको उल्लेख गरे । सङ्घले हालको कार्यकालमा रु चार करोडभन्दा बढी रकम विभिन्न परोपकारी र मानवीय सहयोग कार्यमा खर्च गरेको जनाएको छ ।

    यसैगरी, वैदेशिक रोजगारमा समस्यामा परेका श्रमिकको उद्धार तथा सामाजिक सुरक्षा र प्रवासी नेपालीको हितमा सङ्घले भूमिका निर्वाह गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घका अध्यक्ष डा केसीलाई सरकारले लगानी प्रवद्र्धन समिति र वैदेशिक रोजगार बोर्डमा आमन्त्रित सदस्य चयन गरेपछि सङ्घ र सरकारबीचको औपचारिक सहकार्य अझ बलियो भएको तथा यसले सङ्घको वैधानिकता र प्रभावकारिता थप सुदृढ बनाएको सङ्घले जनाएको छ ।

  • खडेरीले सुक्न थाल्यो बेतना सिमसार

    खडेरीले सुक्न थाल्यो बेतना सिमसार

    रासस
    २९ असार, बेलबारी । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन ।

    सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुुने गरेको भए पनि यस वर्ष सिँचाइ हुन नसकेको बेलबारी–४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बूू बताउँछन् । सिमसारको पानी ड्याम गरेर राख्ने हो भने किसानले धान रोप्न नपाउने भएकाले ड्याम खुुला गरेर धान रोप्न पानी लगिएको अध्यक्ष लिम्बू बताउँछन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन् । दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन् ।

    पोखरीमा रहेको पानीको सतह घटेपछि सोही पोखरीबाट ६ पैनी हुँदै बाह्र सय बिघा बढी खेतीमा गरिएको सिँचाइसमेत नहुँदा धानलगायत बालीनाली सुक्न थालेका छन् । किसानले लगाएको धानलगायत बालीनालीमा पानी नहुँदा बालीनाली सुक्न थालेको बेलबारी–४ का किसान हरिप्रसाद मिश्रले बताउनुुभयो । पोखरीमै रहेका जरुवा पानीका मूल र अन्यत्रबाट बगेर आउने पानीसमेत सुकेका छन् ।

    लामो समयसम्म पानी नपरेपछि पानीको मुहान सुक्न थालेको जानकारहरू बताउँछन् । पछिल्लो एक महिनायता पानी नपरेपछि सबै मूलहरू सुकेका र पोखरीमा पानीको सतह घटेपछि थप चिन्ता थपिएको बेतना सिमासार सामुदायिक वन उपभोक्ता समूहका सहसचिव राजन प्रसाईँ बताउँछन् । उनले पोखरीमा पानीको सतह घट्दै जानु र माछाहरू मर्न थालेपछि समस्या समाधानका लागि पहल भइरहेको बताए ।


    राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृतसमेत रहनुभएका सिमसार अध्येता गोविन्दप्रसाद पोखरेलका अनुसार सिमसार क्षेत्रमा पानीको मात्रा सुुक्दै जानुमा अधिक मात्रामा पानीको प्रयोग, संरचना निर्माण, जथभावी रूपमा पानीको प्रयोग, खेती प्रणालीमा अधिक मात्रामा पानीको प्रयोगजस्ता मानवीय कारणहरू हुनसक्ने बताए ।


    मोरङका सबै सिमसारहरूको अध्ययनसमेत गर्नुभएका संरक्षण अधिकृत पोखरेलका अनुसार बेतना सिमसार क्षेत्रमा आसपासका जङ्गल तथा ससाना खोल्साबाट आउने पानी भण्डारण गरेर बनाइएको हो । पानीलाई भण्डारण गरेर आसपासका क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ । कङ्क्रिटका संरचना निर्माणले पानी अडिन गाह्रो हुने उनले बताए । उनका अनुुसार भू तथा जलसतहमा हुने नकरात्मक प्रभावका कारण पनि पानी सुक्नसक्ने हुन्छ ।

    यस्तै, पछिल्ला वर्ष वर्षभरि पर्ने पानी एकै समयमा पर्ने र अन्य महिनामा सुक्खा हुँदा जमिन रसाउने र पानी भण्डारण हुने क्रम घट्दा पनि पोखरी तथा जलासय क्षेत्रमा पानीको मात्रा कम हुने पोखरेलले बताए । यद्यपि यस विषयमा अनुसन्धान गरिनुपर्ने उनले जोड दिए ।

    अनुसन्धानकर्ता पोखरेलले आसपास पानीका मुहानहरू सुक्दा पनि बेतना सिमसारको जलासय क्षेत्रको पानी घट्न सक्ने अर्को कारणका रूपमा लिन सकिने उनले बताए । उनले पारस्थितीकीय प्रणालीहरूको पुनःस्थापना, पानी पुनःभरण, जलासय क्षेत्रको सुधार, पानीको दिगो उपयोगमा जोड दिए समस्या समाधान गर्न सकिने सुझाव दिए ।

  • आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

    आकाशको पानी भरपर्दा सर्लाहीमा भएन रोपाइँ

    २९ असार, बरहथवा । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन् । “असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो”, उनले भने, “तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।” सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि पर्खिँदापर्खिँदै समय घर्किन लागेको उनको गुनासो छ ।

    सिँचाइको व्यवस्था नभएको एक बिघा खेतमा उनले अकासे पानीका भरमा धान रोप्दै आएका छन् । यसरी अकासे पानीका भरमा खेती गर्न केही समययता साह्रै सकस हुन थालेको उनले सुनाए । “यस वर्ष धानको बीउ राख्ने समय पनि खडेरीमै गयो”, उनले भने, “पानीको पर्खाइमा बीउ ढिलो भयो, अहिले धान रोप्न उस्तै समस्या छ ।”

    मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । तर मधेसका जिल्लामा खडेरी बढ्दै गएको किसान बताउँछन् । असारको दिनमा समेत पानी नपरेपछि धान लगाउन ठिक्क पारेका खेत अहिले बाँझै बसेका छन्भने केही स्थानमा समयमै रोप्न नपाउँदा धानको बीउ छिप्पिन थालिसकेको छ ।

    पटकपटक मौसम बदली हुँदै टर्दै गर्न थालेपछि यस वर्ष धान रोप्न नपाइने चिन्ताले सताएको जिल्लाको लालबन्दी नगरपालिका–५ जब्दीका दीपक घिमिरेको भनाइ छ । “पानी बन्दै पर्न छाड्यो”, उनले भने, “खेतमा पटाउन नहर कुलोको सुविधा छैन । आकाशको पानीको भर हो । यस वर्ष यस्तै होला जस्तो छ ।” झण्डै डेढ बिघा खेतमा वर्षामा अकासे पानी र हिउँदमा डिपबोरिङको भरमा उनले खेती गर्दै आएका छन् ।


    “डिपबोरिङले सुक्खा समयमा खेतमा पानी भरेर धान रोप्न सकिँदैन”, घिमिरेले भने “सामान्य तरकारी वा अन्य बालीको जराजरामा हाल्नमात्र पुग्छ ।” समयमै वर्षात् नहुँदा बीउ राख्न नपाएका किसान फेरि धान रोप्ने समयमा पानी नपर्दा समस्यामा छन् । यसरी समय घर्किएर रोपेको धानले राम्रो उत्पादन दिनेमा समेत किसानहरूलाई शङ्का छ ।

    गत वर्ष यही समयमा ८० प्रतिशत धान रोपाइँ सकिएको सर्लाहीमा यस वर्ष मुस्किलले ३५ प्रतिशत पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए । धान रोपाइँ ढिलो हुनुमा सिँचाइ प्रमुख कारण रहेको उनको भनाइ छ । “अर्कातर्फ धेरै किसानले समयमा बीउ राख्न पाएनन्”, उनले भने, “राखेको बीउ धेरैको खडेरीले खायो, फेरि राखेको तयार हुन बाँकी छ ।”

    यसले धानको उत्पादनमा समेत ह्रास आउने उनले बताए । जिल्लाको बागमती, बरहथवा, धन्कौल, हरिवन, लालबन्दी, हरिपुरलगायत सिँचाइ सुविधा भएका केही क्षेत्रमा मात्र रोपाइँ भएको प्रमुख कुशवाहाको भनाइ छ । सिँचाइ सुविधा नभएका स्थानका किसान पानी नभएको भन्दै छट्पटाइरहेका छन् । यस क्षेत्रमा बागमती, सोती, मनुसमारालगायतको सिँचाइको व्यवस्था छ ।

    छयालीस हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा झण्डै आधा ५० प्रतिशत भूभागमा सिँचाइको सुविधा पुगेको छैन । यस क्षेत्रका किसान सधैँ अकासे पानीका भरमा खेती गर्छन् । इनार, डिपट्युबेल, रोअलपम्पबाट अन्य खेती गर्ने गरेका भए पनि धान रोप्न सम्भावना नरहेको किसानको भनाइ छ । मानो रोपेर मुरी फलाउने र वर्षभरिको अन्नको गर्जो टार्ने योजना तुहिने चिन्ता रहेको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटाको भनाइ छ ।

    यसैबीच यस वर्ष प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुक्खाग्रस्त क्षेत्र घोषणासँगै सङ्घ सरकारसँग सोहीअनुसारको राहत माग गर्ने निर्णय प्रदेशस्तरको मन्त्रिस्तरीय बैठकले गरेको छ । किसान भने सुक्खाग्रस्त क्षेत्र घोषणाले के हुन्छ भन्ने कुरामा अन्योलमा देखिएका छन् ।

  • आलु बिक्री गर्न कोसेली घर

    आलु बिक्री गर्न कोसेली घर

    २९ असार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।

    गाउँपालिकाले वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिए ।


    उत्पादित आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुला गरेको छ । स्थानीय राजस्व परामर्श समितिको यही असार १६ गते बसेको बैठकले आलुको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरेर कोसेली घरबाटै तोकिएको मूल्यमा सुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।“

    भण्डारण गरिएको आलु कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई कुपनका आधारमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म एक हजार १०६ केजी आलु बिक्री भइसक्यो”, उनले भने, “आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने योजना बनाएका छौँ । बाँझो जमिन उपयोग गरेर सुरु गरिएको आलुखेती प्रवर्द्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ ।”

    आलुखेती प्रवर्द्धनअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको रु १५ लाख बजेटमध्ये रु आठ लाखमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । किसानको मागका आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको रु सात लाख बजेटका साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलुखेती लगाएको हो ।

    वर्षौँदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाउनका लागि गाउँपालिकाको दुईवटा मिनीटिलर प्रयोग गरिएको थियो । यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो ।

    गाउँपालिकाले सञ्चालन गरेको आलुखेतीमा रु तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन् । “भज्याङखर्कमा खुमल सेतो प्रजातिको र स्थानीय जातको आलु रोपिएको थियो, आलुसँगै मकैखेती पनि लगाइएको छ”, उनले भनिन्, “उत्पादित आलुलाई ग्रेडिङ गर्दै सानासाना दानालाई भने बीउका रूपमा राख्छौँ । आलुको बीउलाई चिसापानीमै निर्माण गरिएको आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डार गर्ने तयारी गरिएको छ ।”

    छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूल्ठूला घाँसेमैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।


    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर १७औँ गाउँसभाबाट आव २०८२÷८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमको नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए ।