Category: समाचार

  • संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

    संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

    २६ असार, काठमाडौं । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन् ।

    उनका अनुसार “सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ । यही असार २४ गते बिहान ९ः३० बजे सङ्घीय संसद भवन (उडान निशेधित क्षेत्र) को दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको र टेकस्पायर कलेजको लोकेशनबाट सो ड्रोनले उडान सुरु गरेको देखिएको प्रहरीले जनाएको छ ।

    कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले प्राध्यापक एवं विद्यार्थीहरुलाई उक्त ड्रोन निर्माण गरी परीक्षण गर्न भनि यही असार १३ गते लिखित रुपमा सेमेस्टर कार्य दिइएको भन्ने बुझिएको प्रहरी प्रवक्ता बोहराले बताए ।

  • मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु

    मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु

    गोरखा, २६ असारः मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन् । गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैचामा काम गर्दैआएका थिए । स्याउ बगैचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

  • पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

    पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

    २६ असार, वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए । अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २६ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी,वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । सातै प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

    २६ असार, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
    गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :।
    गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।

    माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

    गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

    आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

    व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–
    ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
    परोपकार पुण्याय, पापाय परपीडनम् ।।

    अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।

  • बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

    बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

    २६ असार, गलकोट । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पु¥याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पु¥याएको छ ।


    जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए। आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । बाढीले सोही ठाउँमा मात्रै रु ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पु¥याएको छ ।

    यस्तै, त्यस ठाउँको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताए । बाढीका कारण छ घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको बताइएको छ । बाढीले ठेउलेका पाँच घर जोखिममा परेका छन्, दुई गोठमा पूर्ण क्षति भएको छ ।

    टेकबहादुर र खड्कबहादुरको गोठमा क्षति पु¥याएको छ । टेकबहादुरको गोठमा रहेको एक गोरु मरेको छ । बाढीले कुश्मीसेरा–पैयुँथन्थाप–राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ । त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब रु एक अर्ब चार करोड बराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले बताए ।

  • सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    २६ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पु¥याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् ।

    बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ ।

    अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरुमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले बताए । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ ।

    पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए । “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्”, अध्यक्ष गुरुङले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।”

    ्लोमान्थाङ—२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उनको भनाइ छ ।

    “यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन”, उनले भने । यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गरे ।

  • पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

    पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग

    २६ असार, काठमाडौं । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था भएकामा सो नगरी कानुन उल्लङ्घन गरिएको भन्दै संसद्बाट पारित बजेटका सन्दर्भमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सम्मानित सर्वोच्च अदालतबाट मर्यादाक्रमअनुसारको तलबमान निर्धारण गर्न परमादेश जारी भएकाले सो आदेश यथाशीघ्र कार्यान्वयन गर्न र राष्ट्रिय श्रम आयोग गठनलगायतका विषय सम्बोधन गर्न आग्रह गरेको छ । बैठकले आगामी छ महिनाको अर्धवार्षिक कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट पास गर्ने निर्णयसहित समसामयिक विषयका प्रस्ताव पारित गरेको छ ।

    सहकारी घोटाला, भिजिट भिसालगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कडा कारबाहीको माग गर्दै बैठकले सङ्घीय निजामती सेवा ऐन प्रतिनिधिसभाबाट पारित हुँदा सार्वभौम संसद्ले पारित गरेको विषयलाई तोडमोड गरी थपघट गर्ने कार्यको आवश्यक छानबिन गरी कारबाहीको दायरामा ल्याउन तथा सङ्घीय शिक्षा ऐनमा शिक्षक महासङ्घसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

    संविधानप्रदत्त ट्रेड युनियन अधिकार, पेसाकर्मीको वृत्तिविकास, सेवासुविधा र राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारको ‘ग्यारेन्टी’ गर्नेगरी सेवा सञ्चालन गर्ने ऐनहरू जारी गर्नसमेत महासङ्घले सरकारसँग आग्रह गरेको छ । यस्तै, सरकारी निकाय तथा विद्यालय, क्याम्पस, स्वास्थ्य सेवा तथा सार्वजनिक संस्थाहरूमा अस्थायी, करार, आउटसोर्सिङमा काम गर्ने कर्मचारीलाई सामाजिक सुरक्षाको सुविधा प्रदान गर्न र आवश्यक स्थानमा दरबन्दी निर्धारण गरी स्थायी नियुक्तिका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    सेवा निवृत्त राष्ट्रसेवकहरूको जीवनस्तर सुधार गर्न राज्यका यातायात, औषधि उपचारलगायत क्षेत्रमा कम्तीमा ५० प्रतिशत छुट सुविधा प्रदान गर्न र महँगी भत्ता प्रदान गर्न, मूल्यवृद्धि नियन्त्रण गर्दै आमश्रमिक पेसाकर्मीको जीवनस्तर सहज बनाउने योजना ल्याउनसमेत आग्रह गरिएको छ । यस्तै, युवा श्रमशक्ति पलायन हुनबाट रोक्न स्वदेशमा रोजगारी सृजना र विदेशमा मृत्युवरणमा परेका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

  • टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    एजेन्सी
    २६ असार, टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिएका छन् । “केर काउन्टी क्षेत्रमा मात्रै एक सय ६१ जना बेपत्ता भएको थाहा छ”, उनले मङ्गलबार गम्भीर खोजी जारी रहँदा पत्रकारहरूलाई भने, “त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ ।”

    उनले यो आँकडा साथीहरू, आफन्तहरू र छिमेकीहरूले बेपत्ताका रूपमा रिपोर्ट गरेका व्यक्तिहरूमा आधारित रहेको बताए । मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ । यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा २७ केटी र सल्लाहकारहरू समावेश छन् । शुक्रबार बिहान सबेरै जुलाई चौथो बिदाको सुरुआत हुँदा नदीमा बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए । सयौँ मानिस सुतिरहेका बेला क्याबिनहरूलाई बगाएको थियो र पानीको धाराले क्याम्पलाई बगाएको थियो ।

    एबटका अनुसार मङ्गलबार साँझसम्म पाँच जना क्याम्पर र एक सल्लाहकार अझै बेपत्ता छन् । साथै क्याम्पसँग सम्बन्धित नभएको अर्को बच्चा पनि बेपत्ता भएका छन् । “हाम्रो हृदय र दिमागमा यस समुदायका मानिसहरू, विशेष गरी अझै हराएका मानिसहरूभन्दा महत्त्वपूर्ण अरू केही छैन”, एबटले भने । राज्यका अन्य ठाउँमा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ । टेक्सास गेम वार्डन्सका बेन बेकरले पानी र माटोका कारण हेलिकप्टर, ड्रोन र कुकुरहरू सम्मिलित खोजी र उद्धार प्रयासहरू अत्यन्त कठिन भएको बताए ।


    “जब हामी यी उद्धार गर्ने प्रयास गरिरहेका हुन्छौँ, यी ठूला थुप्रोहरू धेरै अवरोधकारी हुन सक्छन्, र यी थुप्रोहरूमा गहिरो प्रवेश गर्न, यो धेरै खतरनाक हुन्छ”, बेकरले भने, “यो अत्यन्त विश्वासघाती, समय खपत गर्ने हो । यो फोहोर काम हो, पानी अझै छ ।” अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले मङ्गलबार छिमेकी राज्य न्यु मेक्सिकोको अल्बुकर्कबाट एक सय ८४ माइल ९दुई सय ९६ किलोमिटर० दक्षिणमा रहेको सानो सहर रुइडोसोमा आकस्मिक बाढी आपत्काल घोषणा गरेको छ ।

    अधिकारीहरूले रिपोर्ट गरे कि धेरै व्यक्ति अचानक आएको बाढीले फसेका छन्, धेरै घरमा क्षति भएको छ । एनडब्लुएसले रियो रुइडोसो २० फिट (छ मिटर) भन्दा बढी उचाइमा पुगेको हुनसक्ने बताएको छ । विपद्को केन्द्रविन्दु हन्ट सहरमा, एएफपी टोलीले उद्धारकर्मीहरूलाई हेलिकप्टरहरू माथि उडिरहेको अवस्थामा भग्नावशेषका थुप्रोहरूमा खोजी गरिरहेको देख्यो । चौबिस वर्षीय जेभियर टोरेस आफ्ना हजुरबुबाको शव फेला पारेपछि आफ्नी हजुरआमाको शव खोज्दै हिलोमा खनिरहेका थिए ।

    उनले नदीले बगाएका दुई बालबालिकाको शव पनि फेला पारे । अधिकारीहरूले आगामी दिनहरूमा थप भारी वर्षाको चेतावनी दिएका छन् । यसले खोजी कार्यलाई प्रभावित पार्न सक्छ । यद्यपि बेकरले यसले खोजी प्रयासहरूलाई ‘नरोक्ने’ बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रथम महिला मेलानिया ट्रम्पसँग टेक्सास भ्रमण गर्ने कार्यक्रम छ ।

    “हामीले चारैतिरबाट धेरै हेलिकप्टर ल्यायौँ, तिनीहरू वास्तविक पेशेवर थिए, र तिनीहरू धेरै मानिसलाई बाहिर निकाल्न जिम्मेवार थिए”, ट्रम्पले भने । यसैबीच, ट्रम्प सरकारको कोष कटौतीले चेतावनी प्रणालीलाई कमजोर पारेको र उद्धार अभियानको व्यवस्थापनलाई लिएर प्रश्नहरू बढेका छन् । कहिलेकाहीँ तनावपूर्ण प्रेस सम्मेलनका क्रममा बेकरले आपत्कालीन प्रतिक्रियाको गतिमाथिको प्रश्नलाई छाडे । “अहिले, यहाँको यो टोली मानिसहरूलाई घर फर्काउनमा केन्द्रित छ”, उनले भने ।


    क्लाइमेट सेन्ट्रल रिसर्च समूहका मौसम विज्ञ शेल विङ्क्लेले सुक्खा माटोले कम वर्षा अवशोषित गर्दा भूगोल र असाधारण खडेरीमा प्रकोपको सीमालाई दोष दिए । “टेक्सासको यो भाग, कमसेकम केर काउन्टी बाढीमा विशेष गरी, चरमदेखि असाधारण खडेरीमा थियो।।। हामीलाई थाहा छ कि मेदेखि तापक्रम औसतभन्दा माथि छ”, विङ्क्लेले पत्रकारहरूलाई भने । सङ्गठनका मिडिया निर्देशक टम डि लिबर्टोले राष्ट्रिय मौसम सेवामा कर्मचारी अभावले प्रकोप निम्त्याएको बताए । “तपाईँले त्यो अनुभवलाई प्रतिस्थापन गर्न सक्नुहुन्न”, उनले भने ।

  • पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबार भेटवार्ता गर्ने

    पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबार भेटवार्ता गर्ने

    एजेन्सी
    २६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएका छन् ।
    एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् ।
    अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरुबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने अपेक्षा गरिएको छ ।

    भेटका लागि ह्वाइट हाउसको रूचीबारे केही ठोस विवरण बाहिर आएका छैनन् । ट्रम्प प्रशासनले कर र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरिरहेको र महत्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न खोजिरहेको बेला यो बैठक हुन लागेको हो । यद्यपि, यी पाँच राष्ट्रमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता अन्य अफ्रिकी मुलुकहरूमा जस्तो अत्यधिक खनिज सम्पदा भने छैन । ट्रम्प प्रशासनले अमेरिकी वैदेशिक सहायता एजेन्सी युएसएआईडीको औपचारिक बन्दको औपचारिक थालनी भएको केही दिनपछि यो भेला हुने भएको हो ।

    एएफपीसँग कुरा गर्ने पाँच देशका अधिकारीहरू ह्वाइट हाउसको रूचीबारे जानकारजस्तो देखिन्थे । लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईका प्रेस सचिव कुला फोफानाका अनुसार लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईले निमन्त्रणा स्वीकार गर्नुभएको र यस्ता भेट राष्ट्रको हितमा लगानी गर्न चाहने जोकोहीसँग पनि गर्न सकिने बताए । उनले भने, “हाम्रो चासो लगानी गर्ने व्यापार र संलग्नता साझेदारहरूलाई महत्व दिने हो ।” भेटबारे गाबोनी राष्ट्रपतिका प्रवक्ता थियोफेन बियोगेले भने, “यो बैठकले ‘हाम्रो अर्थतन्त्रको औद्योगीकरणमा केन्द्रित’ सहकार्यको अवसर प्रदान गर्नेछ ।

  • भारतीय वायुसेनाको विमान दुर्घटना स् दुईजना पाइलटको मृत्यु

    भारतीय वायुसेनाको विमान दुर्घटना स् दुईजना पाइलटको मृत्यु

    २६ असार, काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।


    भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ,“सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै पाइलटहरूले ज्यान गुमाउनुभएको छ । यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।” यस दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।

  • कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

    कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

    २५ असार, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।

  • ‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

    ‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

    २५ असार, काठमाडौं । सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका विषयमा उहाँहरूले उत्पादन र रोजागारी बढाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था लागु गर्न सुझाव दिए ।

    बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले घरजग्गाको धितो बाहेक परियोजना कर्जा सहज रूपमा दिने व्यवस्था गर्न सुझाव दिए । उनले कुल कर्जाको हाल ६५ प्रतिशत ऋण घरजग्गा धितोमा दिइएकाले त्यसमा पुनःविचार गर्न सल्लाह दिए । बैंकिङ क्षेत्रको साधन–सोत सार्वजिक सम्पत्ति भएकाले हाल रु ७० खर्ब निक्षेप हुँदा लगानीकर्ताको पुँजी रु ४ खर्ब ४ अर्ब मात्र प्रयोग भएको अवस्थालाई ध्यान दिई सन्तुलित विकास हासिल गर्न विवेकशील लगानीको अभ्यास सुरू गर्नुपर्ने उनको भनाइ थियो ।

    विदेशी मुद्राको हालको विनिमय दर व्यवस्था पुनरावलोकन गर्न अध्ययन र पूर्व तयारी गरी अघि बढ्न सुझाव दिदै उनले बैंकिङ क्षेत्रबाट हुने आन्तरिक र बाह्य कारोबारको निगरानी गरी अवैध र अवाञ्छित क्रियाकलाप रोक्ने प्रभावकारी व्यवस्थाको खाँचो औंल्याए । अर्का अर्थविद नरबहादुर थापाले अधिकतम तरलता र ब्याजदर न्यून हुँदासमेत लागनी नभइरहेको अवस्थालाई ध्यान दिएर विनियोजन विधेयकलाई मेल खानेगरी आगामी मौद्रिक नीति तर्जूमा गर्न सुझाव दिए ।

    उनले भने, “अर्थतन्त्र चलायमान नहुनु भनेको निराशाको परिस्थिति सिर्जना हुनु हो । सहरी क्षेत्रका घडेरी सर्वसाधारणको पहुँचभन्दा माथि छ । वैज्ञानिकरूपमा कृषि क्षेत्रका विकासका लागि लगानी ज्यादै न्यून भएकाले बढाउनुपर्छ ।”

    बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले श्रोत कम भएको नाममा बजेट सानो आकारको घोषणा गर्ने कार्यले आर्थिक नीतिलाई सङ्कुचन गर्ने धारणा राखे । उनले भने, “मौद्रिक नीति खुकुलो, संयमित, अनुशासित र अर्थतन्त्र चलायमान भएर अघि बढने खालको हुनुपर्छ । खास गरी साना र मझौला उद्योगको मनोवल बढाउनुपर्छ ।”

    पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले अब आउने मौद्रिकक नीतिले विगतमा हतारिएर गरिएका कामकारवाही सच्याउने विश्वास व्यक्त गरे । उनले भने, “उच्च व्यावसायिकता र दीर्घकालीन सोचका साथ मौद्रिक नीति आउनुपर्छ । कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी व्यावसायिक गर्न चाहलेलाई केन्द्रमा राखेर मौद्रिक नीति बनाइनुपर्छ ।”

    समिति सदस्य एवं अर्थविद् डा स्वर्णीम वाग्लेले मुलुकका आर्थिक संरचना र प्रक्रिया पनि राजनीतिक चङ्गूलको चपेटामा परेको प्रतिक्रिया दिए । सांसद विनोद चौधरीले अहिले भइरहेको लगानी निस्प्रभाविको अवस्थामा सुधार ल्याउन लगानीकर्ता प्रोत्साहन गर्ने तथा बैँकलाई पनि कर्जा फर्कने सुनिश्चिताको वातावरण बनाउन आवश्यक रहेको बताए । त्यसअवसरमा अहिले मुलुकको शोधानान्तर बचत र ४ खर्ब ९१ अर्ब तथा विदेशी मुद्रा सञ्चिति रु २५ खर्ब ६९ अर्ब उच्च रहेको तथ्याङक प्रस्तुत गरियो ।

    मुद्रास्फ्रिति ४ दशमलव २ प्रतिशत मात्र रहेको तथा बैकिङ क्षेत्रमा रु ७ खर्बभन्दा बढी कर्जायोग्य रकम रहेको र कर्जाको ब्याजदर एकल अङ्कमा झरेको तथ्याङक प्रस्तुत गरियो । पछिल्लो समय आयात तथा निर्यातमा बृद्धि हुन थालेको तथा जलविद्युत्, सडक सञ्जाल, सूचना तथा सञ्चार प्रविधि र पर्यटन पूर्वाधार निर्माणमा उल्लेखनीय कार्य भएको जानकारी दिइयो ।

  • झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

    झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

    २५ असार, झापा । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित सवारी दुर्घटनामा परी आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम थर खुल्न नसकेको अर्का एक व्यक्ति रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खड्गबहादुर खड्काका अनुसार खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालक गम्भीर घाइते भएका थिए ।

    उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारकै क्रममा उनीहरू दुवैको मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए । मृतकहरूको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चालकको अझै पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यसैगरी स्कुटीको पछाडि सवार राजवंशीको २७ वर्षीया बुहारी उर्मिला राजवंशी र उनका तीन वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते छन् । उनीहरूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

  • भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

    भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

    २५ असार, म्याग्दी । धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

    दिउँसो १२ः३० देखि पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बाँसबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताए । करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उनले बताए ।
    आज बिहान म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा भारी वर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिङ्गा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्ती हुन् ।

    धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरे पनि तटीय क्षेत्रका बासिन्दालाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गरेका छन् ।

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताए । बाँसबोटमा पाँच घरपरिवारको बसोबास छ । पहिरोका कारण धवलागिरि गाउँपालिका–४ खिवाङ, बगर र नाउरा जोड्ने सडक अवरुद्ध भएको छ ।


    सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी १ र ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।

  • रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

    रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

    २५ असार, काठमाडौं । रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । एक जनाको भने सनाखत भएसँगै आजै अन्त्येष्टि गरिएको पनि उनले जानकारी दिए । उक्त बाढीमा परेर रसुवाबाट बेपत्ता एक जना प्रहरी प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । उनको आज परिवारले शव बुझेर आजै अत्येष्टि गरिएको हो ।

    रसुवा बाढीमा अझै १९ जना बेपत्ता रहेका छन् । अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो की होइन भनेर पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । भेटिएका शवमध्ये पाँच शव मात्रै सनाखत गर्न सकिने खालका रहेको छ । चार वटा मानव अङ्गहरूमात्रै फेला परेको हो । ती शवको डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ ।

    उक्त बाढीमा अझै दुई प्रहरी, ६ चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । अहिले बेपत्ताहरूको विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । यस्तै रसुवाका विभिन्न क्षेत्रमा अलपत्र रहेका नागरिकहरूको उद्धार कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

  • निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता- कार्यकर्तालाई कांग्रेसले गर्यो कारवाही

    निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता- कार्यकर्तालाई कांग्रेसले गर्यो कारवाही

    २५ असार, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक सञ्जाल, अडियोरभिडियोलगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणका आधारमा निस्काशनरनिलम्बन गर्ने निर्णय गरेको हो ।

    समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकमार राई, पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेत विरुद्ध परेको उजुरीमा समितिले स्पष्टीकरण सोधिएको थियो ।

    निजहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणका आधारमा कांग्रेसको विधानअनुसार उहाँहरूलाई एक वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई छ महिनाको लागि कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरिएको हो । केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उपलब्ध प्रमाणको आधारमा कांग्रेसको विधानअनुसार उनीहरुलाई छ महिना र कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निलम्वन गर्ने निर्णय गरिएको संयोजक ढुङ्गानाले जानकारी दिए ।

  • चन्दा उठाएर प्रहरी चौकी निर्माण

    चन्दा उठाएर प्रहरी चौकी निर्माण

    २५ असार, सिरहा । यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग र चन्दा सङ्कलन गरी अस्थायी प्रहरी चौकीको पक्की भवन निर्माण गरेका छन् । करिब रु २५ लाखमा निर्माण गरिएको सो भवनको आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश–प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे । नगरप्रमुख चौधरीले स्थानीयवासीको एकता, सहयोग र प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।
    उनले भने, “समाजका अगुवाहरूले जग्गा दान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि बरदान सावित भएको छ ।

    यहाँका जनताले प्रहरीप्रति विश्वास राखेकाले शान्ति सुरक्षाको प्रत्याभूति पनि गरेका छन् ।” त्यसैगरी प्रहरी नायब महानिरीक्षक चतुर्वेदीले प्रहरी र समुदायको सहकार्य अपराध न्यूनीकरणका लागि महत्त्वपूर्ण हुने बताए ।प्रहरीले सेवाग्राहीलाई दिने सेवाबारेमा स्पष्ट पार्दै उनले भने, “प्रहरी सेवा निःशुल्क हो । हामी विचौलियाविहीन, पारदर्शी र समुदायमैत्री सेवामा प्रतिबद्ध छौँं ।”

    कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भने, “शान्ति र सुव्यवस्थाका लागि प्रहरी सबैभन्दा नजिकको सरकारी संयन्त्र हो । यस भवन निर्माणले नागरिक र सुरक्षाकर्मीबीच सुमधुरसम्बन्ध स्थापित गरेको छ ।”

    जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनन्तराम सर्माले समुदायसँगको सहकार्यलाई शान्ति सुरक्षाको स्थायित्व र जनविश्वासको बलियो आधार भएको धारणा राखे । भवन निर्माण समितिका अध्यक्ष तथा समाजसेवी अस्मिनकुमार राउतका अनुसार विसं २०६७ मा गृहमन्त्री भीम रावलको पालामा गाउँमा डकैती जस्ता आपाराधिक घटनाले सताएको बेला पक्कीटोलमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो ।

    अहिले जीर्ण संरचनालाई स्थानीयले सहयोग जुटाएर पक्की भवनमा रूपान्तरण गरेका हुन् । अब उक्त अस्थायी प्रहरी चौकीलाई स्थायी रुप दिन उनले माग गरे । यस कार्यमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि आर्थिक सहयोग रहेको जनाइएको छ ।

  • बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    २५ असार, बलेवा ।जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।
    आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले राससलाई बताए । गत वर्ष रु ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताउनुभयो ।

    बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ । पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ ।

  • बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    २५ असार, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।


    प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले यात्रु तथा सवारीमा क्षति हुन नदिन सुरक्षाका लागि अर्को निर्णय नभएसम्म बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

    चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न नपाइने व्यवस्था गरिएको छ । ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने छ । कूल ६५ किलोमिटर रहेको यस सडकमध्ये ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर सडक मनाङमा पर्छ । बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले विंसं २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।

  • बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

    बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

    २५ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ ।


    यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति नभएको बताए ।


    बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (.बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको उनले उल्लेख गरे । त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    २५ असार, काठमाडौं । आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०÷२०८१) पेस गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । यसैगरी उनले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ ।


    बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ । सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्ने जनाइएको छ । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

  • गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान

    गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान

    २५ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधरणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • चट्याङ लागेर एक जनाको मृत्यु

    चट्याङ लागेर एक जनाको मृत्यु

    २४ असार, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।

    त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

  • पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

    पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

    २५ असार, ढोरपाटन । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उहाँले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।

  • ब्राउन सुगर बोक्नेलाई गोली हानेर समात्यो प्रहरीले

    ब्राउन सुगर बोक्नेलाई गोली हानेर समात्यो प्रहरीले

    २५ असार, बनियानी । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ । भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    २५ असार, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिनसमेत आदेश गरेको छ ।

    यो आदेशसँगै गभर्नर पौडेललाई तत्कालका लागि काम गर्न अवरोध हुने छैन । अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेललगायतले गत जेठ १३ गते गभर्नर नियुक्ति गैरकानुनी भएको उल्लेख गर्दै नियुक्ति बदरको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

  • रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता

    रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता

    २४ असार, काठमाडौं । रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।

    कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

  • यस्तो छ रसुवा र नुवाकोटमा बाढीबाट भएको क्षति विवरण, २० वेपत्ता

    यस्तो छ रसुवा र नुवाकोटमा बाढीबाट भएको क्षति विवरण, २० वेपत्ता

    २४ असार, रसुवा । गत रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

    यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

    यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताए । “ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ”, उनले भने ।

  • प्रधानमन्त्रीसहित उच्चस्तरीय सरकारी टोलीले गर्यो रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

    प्रधानमन्त्रीसहित उच्चस्तरीय सरकारी टोलीले गर्यो रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

    २४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । उक्त विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् ।

    तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र र २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएको छ । बाढीले ल्हेन्दे खोलाको मितेरी पुल बगउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।