Category: समाचार

  • रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन परिषद्को निर्देशन

    रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन परिषद्को निर्देशन

    २४ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आजको बैठकले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनामा जीवन गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा संलग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति धन्यवाद दिएको छ ।

    बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ । सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ भने चीनसँगका वैकल्पिक नाकाहरूको सुसञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।

    यस्तै क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ । व्यवसायीका कन्टेनर, सवारीसाधन र अन्य सामग्रीहरूको क्षतिको बिमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    परिषद्को बैठकले घटनामा मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ । परिषद्ले घटनाको कारण पहिचानका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

    यसैगरी यसवर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान आएकाले पूर्व तयारी तथा प्रतिकार्यका लागि सजग एवं तयार रहन बैठकले सम्बन्धित निकायलाई निर्देश गरेको छ । क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनबाट फर्किएलगत्तै राखिएको परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पूर्वानुमान र कल्पनाभन्दा बाहिरको अप्रत्याशित विपद् उत्पन्न भई क्षति भएको देखिएको बताए ।


    उनले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको तत्काल गर्नुपर्ने उद्धारका काममा सुरक्षा निकायबाट भइरहेको कामलाई निरन्तरता दिन आग्रह गरे । उनले बगाइएको मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो सुचारु गर्न नेपालका लागि चिनियाँ राजदूतलाई आफूले आजै आग्रह गरेको जानकारी गराउँदै मुस्ताङको कोरला नाकालगायत वैकल्पिक मार्गलाई व्यवस्थित सञ्चालनको तयारी गर्नुपर्नेमा जोड दिए ।

  • रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

    रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

    २४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा आज आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ । बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै आज आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ भनेर पत्ता लगाउन भूउपग्रहका तस्बिरको अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले जल ताथा मौसम केन्द्रहरूले दिएको विवरण र प्रारम्भिक अवलोकनका आधारमा भोटेकोशीको बाढी ठूलो पानी परेका कारण आएको भन्ने नदेखिने दाबी गरे ।


    उनले भने, “नेपालका चीन नजिकै रहेको क्यान्जिङ मौसम केन्द्र र धुन्चेमा भएको केन्द्रले त्यहाँ फाटफुुट पानी परेको देखाएको छ । पाल्पामा रहेको मौसमी राडारले रसुवाको सीमावर्ती क्षेत्रमा पानी परेको दखोएको छैन । विश्व मौसम सङ्गठनको गाइडेन्स सिष्टमको भूउपग्रहमा आधारित वर्षा अनुमानका अनुसार पनि भोटेकोसी लजाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेकोलगायत कारणले वर्षाका कारण बाढी आएको भन्ने देखिँदैन ।”

    आज बिहान ३ बजेतिर तिब्बतबाट भोटेकोशी नदीमा एक्कासि बाढी पसेको थियो । पानीको सतह रसुवाको टिमुरेमा साढे तीन मिटर बढेको देखिएको पनि उनले बताए । रसुवामा भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको, नुवाकोटमा मध्यम र धादिङको बेनीघाटसम्म सामान्य प्रभाव परेको पनि उनले जानकारी दिए । बाढी घट्दो क्रममा रहे पनि सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे । उक्त बाढीका कारण हालसम्म मालवाहक गाडीसहित ६४ वटा सवारीसाधन बगाएको छ । पचपन्न जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सात जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता रहेका छन् ।

  • नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार

    नुवाकोटको त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार

    काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सो स्थानमा ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।

    पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । आज रसुवा र चीनतर्फ आएको ठूलो बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा भयानक बाढी आएको छ । यसले तटिय क्षेत्रमा वितण्डा मच्याइरहेको छ ।

  • रसुवामा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

    रसुवामा बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

    २४ असार, काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ ।

    खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ ।

    प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ । रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।

  • रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो

    रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो

    २४ असार, रसुवा । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए ।

    हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।

  • संकटमोचक होमनाथ –खाडीका नेपालीको हिम्मत

    संकटमोचक होमनाथ –खाडीका नेपालीको हिम्मत

    २४ असार, काठमाडौं । पोखरा महानगरपालिका–३३ बाघमारामा जन्मिएका होमनाथ गिरीको जीवन यात्रा संघर्ष, बलिदान र अन्ततः सफलतासँग जोडिएको छ । सामान्य ग्रामीण परिवेशमा हुर्किएका उनले बाल्यकालमै जिम्मेवारीको भारी काँधमा बोक्न थालेका थिए । गिरीले माध्यमिक शिक्षा परीक्षा ‘एसएलसी’ सकेपछि आइए अध्ययन थाले । तर, पढाइभन्दा बढी उनको ध्यान घरको आर्थिक अवस्थाले तान्यो । उनका बुवा खाडी मुलुक साउदी अरेबियामा लेबरको रुपमा काम गर्न पुगेका थिए । यही कारणले उनले आफ्नै पढाइ रोकेर बुवालाई स्वदेश फर्किन आग्रह गरे । बुवा घर फर्किएपछि भने होमनाथले नयाँ निर्णय गरे– संघर्षको बाटो समात्दै राजधानी काठमाडौं जाने ।

    काठमाडौंको त्यो संघर्ष
    काठमाडौंमा प्रारम्भिक दिनहरु खासै सहज थिएनन् । केही समय आफन्तकहाँ बसे पनि चाँडै उनले आत्मनिर्भर बन्ने निर्णय गरे । उनले घर–घरमा जार बोकेर पानी पु¥याउने, ग्याँस सिलिन्डर तथा अन्य सामग्री डेलिभरी गर्नेजस्ता शारीरिक श्रमका कामहरु गर्न थाले । दुई वर्षसम्म निरन्तर त्यही काम गर्दै घर खर्च धान्न थाले । तर, धेरै आम्दानी नहुँदा पेट भर्ने भए पनि पर्याप्त भएन ।
    विदेश जाने सपना मनमै राखेर उनले धेरैजनासँग सम्पर्क गरे । तर, सपना बेच्ने दलालहरुसँग धोका खाँदा मन कुँडिन्थ्यो । यस्ता धोखापछि पनि उनले हार मानेनन् । भित्री दृढता अझ बलियो बन्दै गयो ।

    एक विज्ञापनले मोडिदियो जीवन
    शाही शासनको अन्त्यतिरको असहज वातावरणबीच उनले एक दिन दैनिक पत्रिकामा एउटा विज्ञापन देखे, इराक–कुवेत युद्धपछि कुवेतमा सेक्युरिटी कम्पनीमार्फत रोजगारीको अवसर खुलेको थियो । उनले आवेदन दिए, तर मनमा शंका थियो, ‘५२ किलो मात्र तौल भएको यो शरीरले सुरक्षा गार्डको काम गर्न सक्ला र ?’
    तर आशा जिन्दगीको मूल कुरा हो । लामो प्रतीक्षापछि सन् २००४ मा १९ वर्षको कलिलो उमेरमै उनलाई अलअमाना सेक्युरिटी कम्पनीमा सामान्य सुरक्षा गार्डको रुपमा नियुक्ति मिल्यो । तलब थियो करिब ३२ हजार नेपाली रुपैयाँ, जुन त्यसबेलाका लागि राम्रो मानिन्थ्यो । यहींबाट उनको नयाँ जीवन सुरु भयो । कुवेत जानका लागि उनले सयकडा ५ रुपैयाँ ब्याजमा १ लाख ८० हजार रुपैयाँ तिरेर भिजिट भिसामा कुवेत पुगेका थिए । कुवेत पुगेपछि मात्रै वर्किङ भिसा लागेको थियो ।
    समयसँगै गिरीले आफ्नो दक्षता, लगनशीलता र इमानदारीको बलमा कम्पनीभित्रै प्रगति गर्न थाले । कठिन परिश्रम र लगानशीलताले उनलाई कम्पनीको उच्च व्यवस्थापन तहसम्म पु¥यायो । अहिले उनी असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत छन् । सन् २०२५ सम्म आइपुग्दा उनका अधिनमा २ हजार ४ सय ५३ जना कर्मचारी कार्यरत छन्, जसमा १ हजार ५ सय ५४ जना नेपाली छन् । ३२ हजार तलबबाट सुरुआत गरेका गिरी आज कुवेतमा लाखौं रुपैयाँ आम्दानी गर्ने सीमित नेपालीहरुमध्ये एक हुन् ।

    सहयोगी मन, नेपाली आत्मा
    होमनाथ गिरी केवल एक व्यावसायिक व्यक्ति मात्र होइनन् । उनी कुवेतस्थित नेपाली समुदायबीच एक सहयोगी, परोपकारी र संवेदनशील पात्रको रुपमा स्थापित छन् । चाहे कुवेतस्थित नेपालीहरुको समस्या होस् वा नेपालमा आएको कुनै प्राकृतिक विपत्ति– गिरीको मन कहिल्यै चुप लाग्दैन ।
    उनले नेपालका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा सहयोग पु¥याउँदै आएका छन् । नेपाली राजदूतावास, स्थानीय प्रशासन र कुवेती समाजले पनि उनलाई विश्वासिलो नेपाली प्रतिनिधिको रुपमा हेर्छन् ।

    संघर्षबाट समृद्धितर्फ
    सानो कद, ५२ किलोको शरीर, तर आँखामा ठूलो सपना बोकेका थिए– होमनाथ गिरी । कास्कीको पोखरा महानगरपालिका–३३, बाघमाराबाट सुरु भएको उनको जीवन यात्रा आज कुवेतको ठूलो कर्पोरेट कार्यालयसम्म आइपुगेको छ । त्यो पनि कुनै सौभाग्यले होइन, निरन्तरको संघर्ष, इमानदार श्रम र असल मनले हो ।

    अभाव र जिम्मेवारीको शुरुआत
    जब उनका बुबा साउदी अरेबियाबाट फर्किए, परिवारको आर्थिक अवस्था कमजोर थियो । उमेरले जवान तर काँधमा अभावको भारी बोकेका गिरीले आफ्ना व्यक्तिगत आकांक्षा त्यागे– परिवारका लागि । तर भित्रै कतै गहिरो सपना लुकेको थियो, एउटा राम्रो घर बनाउने, परिवारलाई सुरक्षित जीवन दिने र अझ परे अरुको जीवनमा पनि केही योगदान पु¥याउने ।
    कुवेत पुगेपछि उनको जीवनले नयाँ मोड लियो । सामान्य सुरक्षा गार्डको रुपमा सुरु भएको करियर उनले इमानदारी, मेहनत र नेतृत्व क्षमताबाट उचाइतर्फ डो¥याए । विभिन्न तह पार गर्दै अहिले उनी कम्पनीमा मालिकपछि दोस्रो स्थान अर्थात् असिस्टेन्ट म्यानेजिङ डाइरेक्टर पदमा कार्यरत छन् । उनको मातहतमा आज २० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । जसमध्ये १५ सयभन्दा बढी नेपाली छन् । सामान्य तलबबाट सुरु गरेको करियरले अहिले उनलाई कुवेतमै उच्च आम्दानी गर्ने सफल नेपालीमध्ये एक बनाएको छ ।


    आज गिरीको परिवार फुर्सदमा कुवेत र नेपाल दुवै स्थानमा बसोवास गर्छ । आमा, श्रीमती, दुई छोरी र एक छोरासँग कुवेती बसोवास अनुमति कार्ड छ । परिवारका सबै सदस्यलाई जुनसुकै समयमा नेपाल आउने र कुवेत जाने सुविधा हुन्छ । नेपालमा उनले शैक्षिक क्षेत्रमा लगानी पनि गरेका छन् । आफ्नै सुन्दर घर पनि बनाएका छन् । तर त्योभन्दा ठूलो कुरा हो, उनी आफै नेपालीका लागि संकटमा परेका बेला भरपर्दो साथी बनेका छन् ।

    विपतमा सँगसँगै होमनाथ
    बाढीपहिरो, डुबान, भूकम्प, जब–जब नेपालमा विपत्ति आउँछ, गिरीको मन थिचिन्छ । उनलाई लाग्छ, ‘यो मेरो पीडा नै हो ।’ त्यसैले उनी चुप बस्दैनन् । धरानका दृष्टिविहीन ५ वर्षीय बालकको आँखामा ज्योति फर्काउन उनले पहल गरे, आर्थिक सहयोग जुटाए र शल्यक्रिया सम्पन्न गराए । बालकले अहिले देख्न थालेका छन् । एक नेपाली फूटबल खेलाडीको मेरुदण्डमा चोट लागेपछि शल्यक्रिया आवश्यक प¥यो, त्यसबेला पनि उनी नै अगाडि सरे ।
    कास्कीमा बाढीले घर बगाएको पीडित परिवारका लागि उनी आफैं नेपाल आएर घर बनाइदिए । त्यो परिवारका लागि उनी भगवान साबित भए । पाल्पाको अपाङ बालबालिकाका लागि सञ्चालित विद्यालयमा पनि उनले नियमित सहयोग पु¥याउँदै आएका छन् । यी त केही उदाहरण मात्रै हुन्, नेपालभरिका धेरै क्षेत्रहरुमा गिरीको सहयोग पुगेको छ ।

    आत्मसन्तुष्टि सबैभन्दा ठूलो उपलब्धि
    ‘आत्मसन्तुष्टि नै ठूलो कुरा रहेछ । रोएको अनुहारमा मुस्कान ल्याउँदा प्राप्त हुने खुसी शब्दमा व्यक्त गर्न सकिँदैन’, उनी भन्छन्– ‘असहज परिस्थितिमा कसैलाई साथ दिन पाउनु नै मेरो सौभाग्य हो ।’ होमनाथ गिरी कुवेत र इराकमा रहेका हजारौं नेपालीका लागि यो नाम संकटमा परेका बेला सम्झिने पहिलो नाम हो । नेपालमा बाढी, भूकम्प, पहिरो होस् वा खाडी मुलुकमा मृत्यु, भोक, अलपत्र अवस्था, समस्या जहाँ भए पनि उनले टाढाबाट पनि आफ्नो कर्तव्य नबिर्सने आत्मीयता देखाउँदै आएका छन् ।


    कुवेतमा कोही नेपालीको दुर्घटनामा परेर मृत्यु भयो भने सम्बन्धित निकायले पहिला सम्झिने व्यक्ति उनी नै हुन् । नेपाली संघसंस्था, स्थानीय प्रशासन र यहाँसम्म कि नेपाली दूतावाससमेत उनलाई संकटमोचकका रुपमा अगाडि राख्छन् । नेपाली दूतावासको सहकार्यमा कुवेतमा ज्यान गुमाएका नेपालीको शव स्वदेश फर्काउने कार्यमा होमनाथको भूमिका सबैभन्दा प्रमुख रहँदै आएको छ । यस्तो काममा उनी आर्थिक मात्र होइन, प्रशासनिक समन्वयमा पनि उत्तिकै सक्रिय हुन्छन् ।
    कुवेतजस्तो इस्लामिक देशमा गैरमुस्लिमको अन्तिम संस्कारको वैधानिक विकल्प छैन । यदि मृत्यु हुने व्यक्ति वैधानिक कामदार भए भने कम्पनीले खर्च बेहोर्छ । तर, अवैधानिकरुपमा बस्ने नेपालीको मृत्युपछि भने खर्च उठाएर शव नेपाल पठाउनु निकै चुनौतीपूर्ण हुन्छ । यही चुनौतीमा होमनाथले सामुदायिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण दिएका छन् ।

    दाता मात्र होइन, सहारा पनि
    घर फर्किन चाहने, तर टिकट नहुने नेपालीहरुलाई पनि उनले भुल्दैनन् । प्रतिमहिना सरदर ३–४ जनाको हवाई टिकट उनी आफैंले बेहोर्छन् । कुनै संघसंस्था नभईकन, कुनै प्रचारबिना– सिर्फ मानवीय मूल्य र अपनत्वको भावनाले ।
    इराक र कुवेतमा अलपत्र परेका सयौं नेपालीहरुको उद्धारमा पनि उनले मुख्य भूमिकामा काम गरेका छन् । यो काम उनको आफ्नो काम होइन, उनी सरकारी कर्मचारी पनि होइनन् । न त उनमा यो काम गर्नका लागि कुनै औपचारिक दायित्व रहेको छ । तर, उनले यो काम वर्षौंदेखि निरन्तर गरिरहेका छन् ।
    पछिल्ला वर्षहरुमा घरेलु कामदारका रुपमा धेरै नेपाली महिलाहरु कुवेत पुगेका छन् । तर, केही नेपाली महिला श्रम शोषण, तलब नपाउने, दुव्र्यवहार र सम्पर्कविहीन अवस्थाको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुको पहिलो फोन पुग्ने व्यक्ति पनि होमनाथ नै हुन् । उनले दूतावाससँग समन्वय गरेर महिलाहरुको उद्धार, आवास, उपचार र स्वदेश फिर्र्तीसम्मका काम आफैं सक्रिय भएर गरेका छन् ।

    कोभिड महामारीमा बने ‘जीवनदाता’
    सन् २०१९ को कोभिड महामारीले खाडी मुलुकका कामदारहरुलाई सबैभन्दा ठूलो असर पु¥यायो । हजारौं नेपाली कामविहीन, आम्दानीविहीन र बसोवासविहीन भए । यही बेलामा होमनाथ गिरीले आफ्नो कम्पनीलाई ‘सेन्टर अफ होप’ बनाइदिए । दैनिक १०० जनासम्मलाई महिनौंसम्म खाना खुवाए, आवासको व्यवस्था गरे । घर भाडा तिर्न नसक्ने नेपालीहरुलाई फ्री सेल्टरमा राखे ।


    कम्पनीको उच्च पदमा पुगेकाले उनले कुवेती प्रशासनसँग सिधा समन्वय गर्दै सयौं नेपालीको उद्धार, परीक्षण, औषधि र सुरक्षित फिर्तीको व्यवस्थासमेत गरे । यस्तो काम गर्ने सरकारी संयन्त्र थिएनन्, त्यसैले गिरी आफैं अघि सरे ।
    इराकका नेपाली कामदारहरुका समस्या हेर्ने जिम्मेवारी पनि कुवेतस्थित नेपाली दूतावासकै भएकाले गिरी इराकमा फसेका नेपालीको पनि जीवनरक्षाका लागि पनि खटिने गरेका छन् ।

    कोभिडको बेलामा मात्र इराकबाट झण्डै ५० नेपालीको उद्धारमा उनको भूमिका प्रमुख रह्यो । उनीबारे थाहा पाएका अधिकांश नेपालीले एउटै कुरा भन्छन्, ‘हामीले गाह्रो पर्दा कसैको नम्बर बुझ्नुपरेन, सबैले एउटै नाम दिए, गिरी सर ।’ धेरैपटक कुवेतका अस्पताल, थानामा फसेका, वा काम पाएका तर तलब नपाएका नेपालीहरुलाई दूतावासले नभ्याए पनि होमनाथ गिरी एक्लैले सम्हालिरहेका हुन्छन् ।


    कुवेत, मध्यपूर्वको एउटा शान्त, कानूनी रुपले कडाइ गरिएको देश, जहाँ अन्य धेरै इस्लामिक राष्ट्रसरह रक्सीको सेवन, बिक्री र ओसारपसार पूर्ण रुपमा निषेध गरिएको छ । तर, यथार्थ यो पनि हो, गोप्य तरिकाले कच्चा पदार्थ ओसारपसार गर्ने र घरेलु मदिरा उत्पादन गर्ने गिरोह बेला–बेलामा सक्रिय भइरहन्छ । चिन्ताको कुरा के छ भने यस्ता गिरोहमा नेपाली कामदारहरुलाई अघि सार्ने प्रवृत्ति बढ्दो छ । कानूनी चेतनाको अभाव, भाषा नबुझ्ने कमजोरी र आर्थिक लोभका कारण धेरै नेपाली अनजानमा आपराधिक जालोमा फस्ने गरेका छन् ।


    यही समस्यालाई देखेपछि होमनाथ गिरीले केवल समस्या देखेर चुप बस्ने होइन, समाधानतर्फ सक्रिय हुने निर्णय गरे । उनले कुवेतमा जनचेतनामूलक अभियान सुरु गरेका छन् । जहाँ नेपाली कामदारहरुलाई कुवेती कानुनको जानकारी दिइन्छ, रक्सीको निषेधको अर्थ बुझाइन्छ र आपराधिक गिरोहबाट कसरी जोगिने भन्ने विषयमा सरल भाषामा बुझाउने काम गरिन्छ । निशुल्क कानूनी परामर्श दिइन्छ ।
    जब कोही नेपाली रक्सीसम्बन्धी मुद्दामा फस्छ ।

    उनी कम्पनी, प्रहरी प्रशासन र नेपाली दूतावाससँग समन्वय गरेर त्यस्ता व्यक्तिलाई न्यूनतम सजाय वा उचित प्रक्रियामार्फत उद्धार गर्न सक्रिय हुन्छन् । ‘धेरै नेपाली यस्ता छन्, जो आफ्नो गल्ती नबुझीकन मात्रै हैन, कसैले फसाएर पनि कारबाहीमा पर्छन्,’ उनी भन्छन्– ‘कानुनी जानकारी नहुनु नै ठूलो दुर्भाग्य हो । त्यसैले चेतना र परामर्श दुवै आवश्यक छन् ।’

    मानव–सेवाको आत्मगौरव
    होमनाथको यिनै उदाहरणीय कार्य मानवीय सेवा, कानुनी चेतना, आप्रवासीको सुरक्षा लगायतका कारण उनी कुवेतमा नेपाली समुदायबीच सम्मानित व्यक्तिका रुपमा स्थापित भएका छन् । नेपाली दूतावास, कुवेती निकाय र विभिन्न संघसंस्थाले उनलाई पटक–पटक सम्मानित गरेका छन् । उनीसँग दर्जनौं सम्मानपत्र छन्, तर त्यो देखाउन कहिल्यै उनी इच्छुक छैनन् । उनी भन्छन्, ‘कसैको दुःखमा साथ दिन पाउनु सम्मानपत्रभन्दा धेरै ठूलो कुरा लाग्छ मलाई । आफैंलाई काम लाग्नेभन्दा अरुलाई काम लाग्ने कार्य गर्नु नै जीवनको साँचो अर्थ हो ।’ नेपालमै पनि उनले विभिन्न निकायबाट प्रशंसा–पत्र र सामाजिक कार्यका लागि सम्मान पाएका छन । तर, त्योभन्दा ठूलो पुरस्कार उनले आफैंलाई दिएका छन्, आत्मसन्तुष्टि र मानव–सेवाको आत्मगौरव ।
    संघर्षबाट उठेका होमनाथको भूमिका केवल उद्धारमा सीमित छैन, आफ्नो कर्मभूमिमा बसेर कर्म मात्र होइन, कर्तव्य, संवेदना र सामाजिक उत्तरदायित्वको अनुकरणीय मिसाल बनिरहेका छन् । उनको जीवन कथा हजारौं नेपाली युवाका लागि प्रेरणा हो । जहाँबाट उनी हिंडे त्यो गाउँ, त्यो संघर्ष, त्यो अभाव, यही सब उनको ऊर्जा बन्यो । गिरी केवल सफल व्यावसायिक व्यक्ति मात्र होइनन्, संकटमा परेका नेपालीका लागि एउटा भरपर्दो काँध, आत्मीय साथी र उज्यालो विश्वास पनि हुन् । उनी विदेशमा बसेर पनि आफ्ना देशका नागरिकको दुःख–सुखमा साथ दिन सक्ने नेपालीपनको असल प्रतीक हुन् ।

  • टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    २३ असार, काठमाडौं । टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ ।

    नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसँै–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल गरिएको हो । टोखा–छहरेखोला सुरुङमार्गको वातावरणीय अध्ययन प्रतिवेदन निर्माण र स्वीकृतिका सम्बन्धमा देखापरेका समस्या र परियोजनाको सम्भाव्यताका सम्बन्धमा चिनियाँ पक्षले गर्नुपर्ने कार्य र उत्पन्न असमझदारी हल गर्न वन मन्त्रालय तथा अन्य निकायले गर्नसक्ने आवश्यक सहजीकरणका निर्देशन दिइएको प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुवँरले जानकारी दिए ।


    नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि भौतिक प्रगति ९२ प्रतिशत पुगिसकेको र निर्माण सम्पन्नपश्चात् सञ्चालन गर्नुपर्ने हुनाले सञ्चालनको कानुनी प्रबन्ध, ढाँचा र त्यसमा देखिएका समस्याका विषयमा छलफल गरिएको छ । यो विषय नेपालकै पहिलो अभ्यास हुन लागेका कारण यसको विस्तृत तयारी गर्न जोड दिइएको थियो ।

    चीन सरकारको अनुदानमा निर्माण भइरहेको स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिमा कूल लम्बाइ ८२ किमीमध्ये हालसम्म ३८ किमी कालोपत्र सम्पन्न भएको तथा नयाँ आर्थिक वर्षमा ठेक्का लगाउन बाँकी १९ किमी पनि ठेक्का लगाउने प्रबन्ध मन्त्रालयले गरिरहेको छलफलमा अवगत गराइएको छ । कुनै सहजीकरण आवश्यक भएमा प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ ।

    छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलगायतको सहभागिता थियो ।

  • तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

    तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

    २३ असार, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपिनकुमार पाण्डेयमार्फत रु तीन लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

    बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

    २३ असार, जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिए । कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिएका थिए ।

    त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह परार रहेका प्रहरी उपरीक्षक रेग्मीले बताए । साहलाई आजै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।

  • थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    २३ असार, कञ्चनपुर । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ । सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । “वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै सङ्कलन गर्थे,” स्थानीय हवलदार चौधरीले भने,, “अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ ।”

    वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उनको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन् । स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारु समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन् ।

    थारु समुदायमा कुन च्याउ खान योग्य छ, भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउनुहुन्छ । बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो रु चार सयदेखि रु एक हजार तीन सयसम्म पुगेको बन्धुराम चौधरीले बताउनुभयो ।

    “प्रकृति पूजक थारु समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका वस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्”, उनले भने, “तर अहिले वन क्षेत्रमा यी स्रोतहरू घट्दो छ ।” थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो । बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।

    थारु समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुटकी चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ । “फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रुपमा रहेको छ”, थारु अगुवा रेवन चौधरीले भने, “जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।”

  • काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    २३ असार, काभ्रेपलाञ्चोक । काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बागमती प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लाका रुपमा आइतबार सदरमुकाम धुलिखेलमा घोषणा गरियो ।

    जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतम, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झाले काभ्रेलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्लास्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे ।


    चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका चार हजार दुई सय ४१ बलबालिका तथा १५ महिनासम्मका चार हजार दुई सय ५० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनाइएको छ । यसअघि विभिन्न मितिमा जिल्लाका १३ तहलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो ।

    जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिका अनुसार नमोबुद्ध नगरका चार सय १७, भुम्लुका एक सय ४२, मण्डनदेउपुर नगरका दुई सय ३६, महाभारतको चार सय ६५, पाँचखालका चार सय ४३, पनौतीका ६ सय १० तथा तेमाल गाउँपालिकाको एक सय १३ बालबालिकाले पूर्णखोप पाएका छन् ।

    यसैगरी धुलिखेल नगरका चार सय २८, बनेपाका सात सय ५८, खानीखोलाका दुई सय २५, रोशीका एक सय ९१, बेथानचोकका एक सय ४६ र चौँरीदेउरालीका ६७ बालबालिकाले पूर्णखोप पाएको कार्यालयले जनायो ।

    कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए । कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा जनस्वास्थ्यकर्मीलाई सम्मानसमेत गरियो । सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो ।

  • ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना

    ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना

    २३ असार, फुङ्लिङ । सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ । स्थानीय असलबहादुर राईले भने, “पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढङ्गे भनेर चिनिन्छ । बाजाबजाए जस्तो आवाज आउँछ ।”

    ढङ्ढङ्गे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । स्थानीय अब बाह्यपर्यटक पनि आकर्षित हुने आशामा छन् । स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन् । “हामी त पर्खिराखेका छौँ । बाहिरबाट पनि पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर ।” स्थानीय नारायणप्रसाद राई बताउँछन् ।

    झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ । दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उहाँहरूले व्यक्त गरेका छन् ।“नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मुखमै मुस्कान आयो । यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो ।” अन्तरिक पर्यटक साहारा लिम्बूले बताए । झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ । झरनासम्म पुग्न ढुङ्गाका गोरेटो बाटो बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ । आगामी नीति तथा कार्यक्रममा ढङ्ढङ्गे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङवागाउँपालिका उपाध्यक्ष बन्दना कडरीयाले बताइन् ।


    तर अझै पनि झरनाको आधिकारिक लम्बाइमापन गरिएको छैन । वैज्ञानिक दृष्टिकोणले यसको अध्ययन आवश्यक छ । प्रचारप्रसारलाई तीव्रता दिन सकिएमा यो झरना जिल्लाको अर्को पर्यटकीय परिचय बन्न सक्छ । जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ । साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढङ्गे झरना सम्मपुग्न सकिन्छ । झरनासम्म नै सहजरुपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहजरुमा झरनासम्म पुग्दै आएको छ । ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ । मिक्वाखोलाको फुङफुङगे झरनाको चर्चा धेरैले सुनेका छन् ।

  • प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका

    प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदै टीकापुर नगरपालिका

    २३ असार, भजनी । यहाँको टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन २०८० निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी थालेको हो । “वातावरणीय हिसाबले प्लास्टिक हानिकारक छ”, नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले भने, “यसको नियमनले नगरपालिकालाई ठूलो राहत हुनेछ भने प्लास्टिककै कारण हुने जोखिम कम हुँदै जाने छ ।”

    बजार क्षेत्रमा प्लास्टिकको अत्यधिक प्रयोगले ढलको निकास रोकिने र वर्षातको समयमा बाढी र डुबानको जोखिम निम्त्याउने कारक प्लास्टिक बन्दै आएको नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढा बताउँछन् । उनले भने, “प्राकृतिक विपद्बाट बच्नका लागि प्लास्टिक जन्य वस्तुमा रोक लगाउन लागेका हौँ ।” नगरपालिकाले नागरिकस्तरमा जनचेतना फैलाउने काम गर्दै आएको छ ।

    स्थानीय व्यापारीहरुले त्यसलाई सकारात्मक रुपमा लिएका छन् । “सधैँ प्लास्टिक प्रयोग गरेको बानीले सुरुमा अप्ठ्यारो लागे यसलाई सकारात्मक प्रयासको रुपमा लिएका छौँ”, व्यापारी पुष्पराज देवकोटाले भने, “नगरपालिकाले सूचना आह्वान गरेपछि त्यसको विकल्प व्यापारीहरुले खोज्न थालिसकेका छन् ।”


    प्लास्टिकका झोला प्रतिबन्ध लगाएपछि स्थानीय गार्मेन्ट उद्योगले थप काम पाउन विश्वास गरिएको छ । प्लास्टिकका झोलाको विकल्पमा कपडाको झोलाले बजार पाउन आशा गार्मेन्ट व्यवसायीको छ । “जनस्वास्थ्यका हिसाबले हानिकारक प्लास्टिकलाई बन्द गर्दा स्थानीय उद्योगले काम पाउने स्थिति देखिएको छ”, गार्मेन्ट व्यवसायी मातृकाप्रसाद तिमिल्सिनाले भने, “यसबाट स्थानीय स्तरमा रोजगारीका सम्भावना बढ्ने देखिन्छ ।”


    नियम पालना नगर्नेलाई जरिवानाको व्यवस्था गरिएको छ । जसमा प्लास्टिकको झोला बिक्रेतालाई पहिलोपटक एक हजार, दोस्रोपटकमा तीन हजार र तेस्रो पटकदेखि पाँच हजार जरिवाना हुने व्यवस्था छ । त्यसैगरी प्लास्टिकको झोला प्रयोग गर्नेलाई पनि ऐनमा जरिवानाको व्यवस्था छ । जसअनुसार प्रथम पटक १० रुपैयाँ, दोस्रो पटक ५० रुपैयाँ, तेस्रो पटक एक सय रुपैयाँ र त्यति गर्दा प्रयोग गर्न नछोडेको खण्डमा नाम सार्वजनिक गरेर दण्ड र सजायको व्यवस्था हुने भनिएको छ ।

    प्लास्टिकको झोला उत्पादनकर्तालाई ऐनले जरिवाना तोक्ने भनेको छ । जसमा प्रथम पटकमा उत्पादनकर्ताको हकमा दुई हजार, दोस्रो पटक चार हजार, तेस्रो पटक छ हजार र त्यसपछि अटेर गरे नाम सार्वजनिक गर्दै अन्य दण्ड सजायको प्रक्रिया अगाडि बढाइने उल्लेख छ । त्यति मात्र नभई, निषेधित प्लास्टिकजन्य वस्तुहरु उत्पादन, बिक्री वितरण, निर्यात तथा भण्डारण तथा प्रयोग गरेको सूचना गर्ने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा अन्य कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत रकम दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

  • स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार

    स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार

    २३ असार, खोटाङ । यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ १२ मा स्तरोन्नति गर्ने निर्णय गरेपछि आज कोशी प्रदेश सरकारका स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गरे । अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शय्याको उद्घाटन गर्नुपर्ने बाध्यता भएको मन्त्री राईले बताए ।

    “१५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई स्तरोन्नति गर्न मन्त्रालयले पर्याप्त बजेट उपलब्ध गराएको छ । सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन”, उनले भने, “अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ । आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ ।”

    मन्त्री राईले औषधि प्रशोधन केन्द्र, उपकरण तथा औषधि खरिदलगायतका लागि मन्त्रालयबाट पर्याप्त बजेटको व्यवस्था गरिएको बताए । मन्त्रालयबाट स्वास्थ्य क्षेत्रका लागि खोटाङमा रु १६ करोड बजेट विनियोजन गरिएको छ । निर्माणाधीन अस्पताल भवन सम्पन्न नभए पनि सेवा सुविधा विस्तार गर्न ५० शय्याको सेवा शुभारम्भ गरेका छौँ” उनले भने ।


    विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पताल विस्तार गरिएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउने गरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको मन्त्री राईको भनाइ छ । निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

    अस्पताल भवन निर्माणको ठेक्का रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको छ । ठेकेदार कम्पनीले ३० महिनाभित्र सक्नेगरी विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ । ठेकेदारसँग सम्झौता गरिएअनुसार विसं २०८० पुस–२४ गते भवन निर्माणको म्याद नाघेपछि पुनः थप गरिएको म्याद आगामी मङ्सिरसम्म छ ।

  • टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

    टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

    एजेन्सी
    २३ असार, काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।

    बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भने, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ ।

    टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा वेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् । उनले भने, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ ।” टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताए ।
    उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’ को संज्ञा दिएका छन् । टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताए । मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भनेका छन् ।

    राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो ।

  • एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

    एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

    एजेन्सी
    २३ असार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन गरेको कुरालाई चुनौती दिन संयुक्त राज्य अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरेको बताएका छन् । संसारका सबैभन्दा धनी व्यक्ति तथा सन् २०२४ को चुनावमा ट्रम्पका सबैभन्दा ठूला राजनीतिक दाता मस्कसँग तथाकथित सरकारी दक्षता विभाग (डिओजिई) को प्रमुखका रूपमा खर्च कटौती र सङ्घीय जागिरहरू घटाउने ट्रम्पको प्रयासको नेतृत्व गरेपछि राष्ट्रपतिसँग तीतो मतभेद भएको थियो ।

    मस्कले राष्ट्रपतिको विशाल घरेलु खर्च योजनालाई लिएर ट्रम्पसँग झगडा गरेका थिए । यसले अमेरिकी ऋण विस्फोट गराउनेछ भन्दै उनले यसका लागि मतदान गर्ने सांसदहरूलाई पराजित गर्न आफ्नो शक्तिमा सबै गर्ने वाचा गरेका छन् । अब उनले कथित ‘अमेरिका पार्टी’ आफ्नै राजनीतिक ढाँचा सिर्जना गरेका छन् । यसमार्फत त्यो हासिल गर्ने प्रयास गर्ने बताएका छन् ।
    “हाम्रो देशलाई बर्बादी र भ्रष्टाचारले दिवालिया बनाउने कुरामा हामी एक–दलीय प्रणालीमा बाँचिरहेका छौँ, लोकतन्त्रमा होइन”, स्पेस एक्स र टेस्लाका मालिकले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरे, “आज, अमेरिका पार्टी तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिन गठन गरिएको छ ।”


    मस्कले शुक्रबार, अमेरिकी स्वतन्त्रता दिवसमा अपलोड गरिएको एउटा सर्वेक्षणलाई उद्धृत गरे । उक्त सर्वेक्षणमा उनले हाँले उत्तरदाताहरूलाई ‘लगभग दुई शताब्दीदेखि अमेरिकी राजनीतिमा प्रभुत्व जमाएको दुई–पार्टी (कोहीले एक–पार्टी भन्छन्) प्रणालीबाट स्वतन्त्रता चाहन्छन् कि’ भनेर सोधेरेका थिए ।
    यस सर्वेक्षणले १२ लाखभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको थियो ।

    “दुईदेखि एकको अनुपातले, तपाईंहरू नयाँ राजनीतिक दल चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ,” उनले शनिबार पोस्ट गरे, मस्कले दुई टाउको भएको सर्पको चित्र र ‘एक–दलीय प्रणालीको अन्त्य गर’ भन्ने क्याप्सन भएको मिम पनि साझा गरे । नयाँ पार्टीले सन् २०२६ को मध्यावधि चुनाव वा त्यसको दुई वर्षपछि हुने राष्ट्रपतीय निर्वाचनमा कति प्रभाव पार्नेछ भन्ने स्पष्ट छैन ।

    ट्रम्पले कांग्रेसका रिपब्लिकनहरूलाई आफ्नो ठूलो घरेलु एजेन्डा ‘वन बिग ब्युटिफुल बिल’ का रूपमा पारित गर्न दबाब दिएपछि ट्रम्प–मस्क विवाद गत महिनाको अन्त्यमा नाटकीय रूपमा पुनः सुरु भयो । मस्कले कानूनको कडा विरोध गर्नुभयो र ‘ऋण दासत्व’ लाई समर्थन गरेकामा यसका रिपब्लिकन समर्थकहरूलाई निर्दयतापूर्वक आक्रमण गरे । उनले विधेयकको पक्षमा मतदान गर्न सङ्घीय खर्च घटाउन अभियान चलाउने कानून निर्माताहरूलाई चुनौती दिन नयाँ राजनीतिक पार्टी सुरु गर्ने प्रतिज्ञा गरे । विज्ञहरूले यसले अमेरिकी घाटामा एक दशकमा थप ३४ खर्ब डलर थप्ने बताएका छन् ।

    “यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम भयो भने पनि तिनीहरूले अर्को वर्ष आफ्नो प्राथमिक चुनाव हार्नेछन्”, मस्कले यस हप्ताको सुरुमा भने । मस्कले मुख्य खर्च विधेयकको कडा आलोचना गरेपछि ट्रम्पले प्रविधि व्यापारीलाई निर्वासन गर्ने र उहाँका व्यापारहरूबाट सङ्घीय कोष रोक्ने धम्की दिए । उक्त विधेयक अन्ततः कांग्रेसबाट पारित भएर कानूनमा हस्ताक्षर भयो ।

    दक्षिण अफ्रिकामा जन्मिएका र सन् २००२ देखि अमेरिकी नागरिकता लिएका मस्कलाई निर्वासन गर्नेबारे विचार गर्ने हो कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपतिले पत्रकारहरूलाई भने, “हामीले हेर्नु पर्नेछ ।” सर्वेक्षण पोस्ट गरेपछि शुक्रबार मस्कले जोखिममा रहेका सदन र सिनेटका सिटहरू छान्न र मुख्य कानूनहरूमा ‘निर्णायक भोट’ बन्न सम्भावित राजनीतिक युद्ध योजना प्रस्तुत गरे ।

    “यसलाई कार्यान्वयन गर्ने एक तरिका केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० सदन जिल्लामा लेजर–फोकस गर्नु हो”, मस्कले एक्समा पोस्ट गरे । अमेरिकी सदनका सबै चार सय ३५ सिट प्रत्येक दुई वर्षमा कब्जा गरिन्छ भने सिनेटका एक सय सदस्यमध्ये छ वर्षको कार्यकाल पूरा गर्ने लगभग एक तिहाइ प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन् ।

    केही पर्यवेक्षकहरू कसरी तेस्रो–पार्टी अभियानहरूले ऐतिहासिक रूपमा मत विभाजन गरेको छ भनेर औँल्याउन सङ्कोच गरेनन् । व्यापारी रस पेरोटको स्वतन्त्र राष्ट्रपति उम्मेदवारीले सन् १९९२ मा जर्ज डब्लु बुसलाई पराजित गर्न मद्दत गरेको थियो । बुसको पुनः उम्मेदवारीका कारण डेमोक्रेट बिल क्लिन्टनको विजयी भए । “तपाईँले रस पेरोट तान्दै हुनुहुन्छ र मलाई यो मनपर्दैन”, एक एक्स प्रयोगकर्ताले मस्कलाई लेखे ।

  • सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

    २२ असार, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ । समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको रु ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार ७३० बचत हिनामिना, अपचलन र दुरुपयोग भएको भनी उजुरी दिएका थिए ।

    समितिका अनुसार अब रु ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार ७६ बचत फिर्ता गर्न बाँकी छ । सहकारीको सिद्धान्त, मर्म र उद्देश्य विपरीत बचतकर्ताको बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिले लिँदै आएको छ ।

    त्यस क्रममा समितिले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेकामा तीनवटा सहकारीको रकम फिर्ता र हिसाब राफराफ गरिरहेको छ । सोही क्रममा समितिले गत कात्तिकदेखि यही असार १५ गतेसम्म सङ्कलित रु २९ करोड ८२ लाख आठ हजार १२८ सहकारीका ५६ हजार १०६ जनालाई बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरेको छ । सङ्कलित रकम बचतकर्ताको बचतको तुलनामा ४१ देखि ५७ प्रतिशत मात्रै भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    समितिको हालसम्मको अध्ययनबाट बचतकर्ताको अपचलन भएको शत्प्रतिशत रकम फिर्ता दिनसक्ने सम्भावना ज्यादै न्यून भएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले जानकारी दिए। समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताका अधिकतम बचत फिर्ता गर्न हरसम्भव प्रयत्न भइरहेको उनको भनाइ थियो । समितिसँग रकम अपचलन गर्ने सहकारीको स्वामित्व आफूले लिई सञ्चालकको सम्पत्ति र कारोबार रोक्का गर्ने अधिकार छ ।

    समितिले सहकारीको ऋण असुली, सम्पत्ति बेचबिखन र सङ्कलित रकम फिर्ता गर्ने कार्यलाई योजनाबद्ध रुपमा अघि बढाइरहेको सदस्य काशिचन्द्र बरालले बताए । ओरेन्टल कोअपरेटिभ लि, स्ट्यान्डर्स सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि, प्रभु बचत तथा ऋण सहकारी संस्था लि, सोसाइटल बचत तथा ऋण सहकारीसंस्था लि, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लि, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि, शिवशिखर बहुउद्देश्य सहकारी संस्था लि र तुलसी बहुमी सहकारी लिमिटेड समस्याग्रस्त सहकारीको सूचीमा सूचीकृत छन् ।

    समितिका अनुसार हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, लालीगुराँस बहुउद्देश्यीय सकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका समेत गरी ५६ हजार १०६ जनाको फिर्ता गर्न बाँकी बचत रकम रहेको जानकारी दिइयो । विसं २०७४ पुसमा स्थापना भई २०७५ असार १८ गतेदेखि क्रियाशील समितिले सङ्घीय सरकार मातहतका समस्याग्रस्त सहकारीमा नागरिकले बचत गरेको रकम फिर्ता गर्न विभिन्न रणनीतिक योजना बनाएर काम गर्दै आएको छ ।

  • करेन्ट लागेर एक मजदुरको मृत्यु

    करेन्ट लागेर एक मजदुरको मृत्यु

    २२ असार, जलेश्वर । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एक मजदुरको आज साँझ करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामगोपालपुर–५ बस्ने ३२ वर्षीय मजदुर छटु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

    औरही नपा–७ भोयल निम्किया गाउँको कृषि सडकमा कल्भर्ट निर्माण गर्दै गरेको मजदुर छटुको शरीरमा बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय रोशनकुमार यादवले बताए । स्थानीय तथा पीडित परिवारले विद्युत् प्राधिकरणको लापरबाहीको कारण घटना घटेको आरोप लगाएका छन् । प्रहरीले घटनास्थलमा पुगेर सर्जमिन मुचुल्का तथा शवपरीक्षणका लागि अस्पताल पठाउने तयारी गरिहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

  • त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    २२ असार, कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

    निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

  • भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

    भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

    २२ असार, टक्सार । शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न यहाँ ल्याइएको हो । भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए । जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम बिवाह भएको थियो ।

    झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन् । भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरु आएपश्चात् मात्र दास संस्कार गरिने प्रहरीले जनाएको छ ।

  • राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

    राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

    २२ असार, म्याग्दी । राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि रु तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो ।

    राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ ।

    रु चार करोड ७२ लाख ३७ हजार ४६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए । बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताउ ।

  • जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

    जोखिम बन्दै बेँसीसहर–चामे सडकयात्रा

    २२ असार, लमजुङ । चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर–चामे सडक ।

    सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाँै सवारीसाधन लमजुङ–मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बँेसीसहर–चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताए ।

    जीप चालक सोमराज मगरातीले भने, “विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।” अर्का चालक रामबहादुर तामाङ भन्छन्, “सडकबाट खसिहाल्यो भने सिधै मस्र्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।” यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उहाँको भनाइ छ ।

    डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ ।

    विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

    विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो । यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरूमात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् ।

    बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६ घण्टा लाग्छ । बर्खालागेसँगै यो सडकमा पटकपटक पहिरो खस्ने र सडक अवरुद्ध हुँदा यात्रीहरू हैरानीमा छन् ।

  • घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

    घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

    २२ असार, वीरगञ्ज । ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन् । यस्तो अवस्थामा उनले आफ्ना सन्तानको समेत नागरिकता बनाउन सकेकी थिइनन् । जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि कुमारीमा खुसीको कुनै सीमा नै छैन ।

    “इलाका प्रशासन कार्यालय सुपौली पुगेर नागरिकता लिन सक्ने अवस्था थिएन”, उनले भनिन्, “घरदैलोमा आयोजित एकीकृत सेवा सञ्चालनमार्फत नागरिकता प्राप्त गर्दा खुसीको कुनै सीमा नै छैन ।” पर्साको विकट तथा ग्रामीण भेग शिकारीबासकी पुनिया कुमारीले मात्र नभएर आवश्यक कागजात पुगेका ठोरी गाउँपालिका–३ शिकारीबासका अन्य आठ जनाले आफ्नै घरदैलोमा नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विकट ग्रामीण भेगका जनतालाई घरदैलोमा सेवा प्रवाह गर्न शिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमअन्तर्गत नागरिकता वितरण गरिएको जानकारी दिए ।

    “इलाका प्रशासन कार्यालय सुपौली र जिल्ला प्रशासन कार्यालय वीरगञ्ज धाउन नसक्नेलाई गाउँघरमै नागरिकता वितरण गरेका छौँ”, उनले भने, प्रशासन कार्यालयसम्म धाउन नसक्ने सर्वसाधारणलाई घरदैलोमै सेवा गर्ने कार्य प्रशासनले थालेको प्रजिअ अर्यालले बताए । जिल्ला प्रशासनकै अगुवाइमा शनिबार शिकारीबासमा जनता आवास कार्यक्रमअन्तर्गत स्थानीय पाँच जनासँग आवास निर्र्माणको सम्झौता पनि भएको छ ।

    पूर्वाधार विकास कार्यालय वीरगञ्जको अगुवाइमा प्रतिघर रु तीन लाख ७२ हजारको लागतमा घर निर्माणको कार्य शुभारम्भ गरिएको छ । शिकारीबासमा घरविहीन भएका पाँच परिवारका लागि आवास निर्माणको प्रबन्ध मिलाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए । यसले आवासविहीन परिवारलाई राहत मिल्ने छ ।

    नारायणी अस्पताल वीरगञ्ज, स्वास्थ्य कार्यालय वीरगञ्ज, रुगटाँ वेलफेयर सोसाइटी, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, सूर्या हस्पिटल, इम्प्याक्ट्र नेपाल रुगटाँ वेलफेयर नाक कान उपचार केन्द्रलगायतको साझेदारीमा शनिबार नै शिकारीबासमा बृहत स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा एक सय ५० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।

    त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका योजना प्रमुख तथा इञ्जिनियर राकेश साहले शनिबार नै ठोरीको शिकारीबासमा नदी कटान क्षेत्रमा करिव रु १० लाख लागतको नदी तटबन्धसहितको तारजालीको व्यवस्था गर्न लागेको जानकारी दिए । उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशीलकुमार साहले कार्यालयले आगामी आवमा उद्यमशीतलताको विकास गर्न आवश्यक पर्ने तालिमको प्रबन्ध गर्न लागेको बताए ।
    कपर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सदैव सहज र सुलभ सेवा प्रदान गर्न आवश्यक सहजीकरण गर्दै आएको बताए । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एकीकृत शिविर सञ्चालन गरेर जनतालाई सहज सेवा उपलब्ध गराउने सराहनीय कार्य गरेको बताए ।

  • कस्तो रहनेछ नेपालको आजको मौसम ?

    कस्तो रहनेछ नेपालको आजको मौसम ?

    २२ असार, काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

  • सेफ्टी ट्याङ्कीमा खसेर चितवनमा महिलाको मृत्यु

    सेफ्टी ट्याङ्कीमा खसेर चितवनमा महिलाको मृत्यु

    २२ असार, चितवन । सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

    आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

    २२ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

    चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

  • ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

    ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

    २२ असार, काभ्रे । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो । भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् ।

    गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो ।

    यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।

    पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो । हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।

  • भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

    भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

    २२ असार, भोजपुर । भोजपुरमा एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेको स्थानीय सञ्चामाध्यमले पुष्टी गरेका छन् ।
    त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो । घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन । श्रीमती १६ वर्ष र सालो १० वर्षका छन् ।
    राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ । राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बयान दिएका छन् । उनले करिब एक वर्ष अघि प्रेम विवाह गरेका थिए ।

  • उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित

    उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित

    २२ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ ।
    उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन् । यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन् । सावित्रा भण्डारी ‘साम्बा’को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् । जितसँगै उज्वेकिस्तानले पहिलोपटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।

    त्यसअघि खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडी परेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरी गर््यो । पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन् । यस्तै नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले एक गोल गरिन् । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो । उसका लागि खाबीबुलेएभाले गोल गरिन् ।

    यस्तै खेलको १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन् । खेलको ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन् ।

    मध्यान्तरपछिको खेलको ७०औँ र ७१औँ मिनेटमा साम्बाले लगातार गोल गरिन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि खेलको पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहन पुगेको थियो ।

  • ‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

    ‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

    २१ असार, काठमाडौं । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई–दुई तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एकरएक जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश हुनेछ ।

    यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने निर्णय भएको उनले जानकारी दिए । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयकमा दुई वर्षका लागि कुलिङ पिरियड राख्ने सहमति भएकामा सभाबाट पारित भइसकेपछि सोसम्बन्धी व्यवस्था फरक ढङ्गले प्रस्तुत भएको भन्ने विषयमा छानबिनका लागि समिति गठन गर्न लागिएको हो ।