Category: समाचार

  • उज्वेकिस्तानसँग जितका लागि प्रधानमन्त्रीको शुभकामना

    उज्वेकिस्तानसँग जितका लागि प्रधानमन्त्रीको शुभकामना

    २१ असार, काठमाडौँ । श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो । स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहनुभएका प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिइरहँदा खेलाडीहरु उज्वेकिस्तानबाट जोडिएका थिए ।

    जितका लागि शुभकामना दिइसकेपछि प्रधानमन्त्री ओलीले खेलाडीको ध्यानाकर्षण गराउँदै हात हल्लाएर ‘हेल्लो (साम्बा एन्ड टिम विस यु अल द बेस्ट’ भनेपछि उताबाट टिमका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उठेर नमस्कार गर्दै हात हल्लाउन थालिन् । अरू खेलाडीले ताली बजाएर जितको शुभकामना ग्रहण गर्दै शुभकमनाप्रति आभार व्यक्त गरेका थिए ।
    भर्चुअल रुपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित थिए । प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेकामा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गरे । “देशको गौरव बढाउन तपाईंहरुले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु ।

    नेपाली महिला फुटबलको ४० वर्षे सङ्घर्षपूर्ण इतिहासमा अर्को स्वर्णिम नतिजा प्राप्त हुनेछ । तपाईंहरुमा जितको मनोबल देखिएको छ । तपाईंहरुले जित्नैपर्छ । हामी जित्नेछौँ । यसलाई हामीले टर्निङ पोइन्टका रुपमा लिनेछौँ ।” खेलाडीलाई उत्साहित पार्दै प्रधानमन्त्री ओलीले भने, “म तपाईंहरुको खेलसँगै हुनेछु । खेल क्षेत्रको विकासका लागि सरकारका तर्फबाट गरिनुपर्ने काम हुनेछ ।”

    हालै सम्पन्न आफ्नो स्पेन भ्रमणका बेला रियल म्याड्रिडको रङ्गशालाको अवलोकन गरेको र मुलुकमा पनि त्यस्तै रङ्गशाला निर्माण कसरी सकिन्छ भन्ने सोचिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कम स्रोत, साधनबीच देशको खेलक्षेत्र सुदृढ हुँदै गएको बताए । उनले खेल क्षेत्र खर्च हुने क्षेत्रका रुपमा नभई आम्दानी गराउने क्षेत्रका रुपमा पनि लिइनुपर्नेमा जोड दिए ।

  • टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

    टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

    २१ असार, काठमाडौं । अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् । केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ ।


    टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन्। उहाँले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट ९करिब ८ मिटर०ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् ।

    शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ। उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।

    स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् । विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।

  • एसिसी इस्ट जोन कपको उपाधि नेपाललाई, अपराजित रहँदै सानदार प्रदर्शन

    एसिसी इस्ट जोन कपको उपाधि नेपाललाई, अपराजित रहँदै सानदार प्रदर्शन

    २१ असार, काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए । साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए ।

    सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए । साथै भेदान्स गुप्ता र आकाश तेजाले एकरएक विकेट लिए ।
    सामान्य लक्ष्य पछ्याएको नेपालले १३ रन बनाउँदा पहिलो विकेट गुमायो । त्यसपछि शिवान्स बजगाईँले एक छक्का र दुई चौकाको प्रहार गर्दै आक्रामक ब्याटिङ गर्दै पारीलाई अगाडि बढाए । नेपालले ४० रन बनाउँदा लगातार दुई विकेट गुमाएपछि दबाबमा पर्‍यो । नेपालले ५८ रन छँदा थप दुई विकेट गुमायो । छैटौ विकेटका लागि नेपालले जोय थापा र सुभास खनालले महत्वपूर्ण ३३ रनको साझेदारी गरे । नेपालले ९१ रन छँदा छैटौ र ९२ रन छँदा सातौ र आठौ विकेट गुमाएको थियो ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीनतीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए । नेपाल खेल अवधिमा अपराजित रहन सफल भयो ।

  • पर्यटक आकर्षित गर्दै बुकीपाटनका भेडीगोठ

    पर्यटक आकर्षित गर्दै बुकीपाटनका भेडीगोठ

    २१ असार, ढोरपाटन । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

    हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

    भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

    नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ । ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताए ।

    पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उनले सुनाए । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उनको भनाइ छ । पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताए । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उनी बताउँछन् ।
    “हामीहरू रहरले बुकीमा बसेका हैनौँ, तर अहिले त मान्छेहरू रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं, पहिले गाठाला मात्रै हुन्थ्यो, बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ”, उनले भने, “सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, हामीहरूलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई÷तीन दिननै यही बस्छन् ।”

    दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ । रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आउनुभएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाए ।


    आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उनको भनाइ छ । रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताए । आफूले झण्डै एक हजार ७०० भेडा पाल्दै आएको उहाँको भनाइ छ । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउँछन् । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उनले बताए ।


    बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बँेसी झर्ने गर्छन् ।

  • नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

    नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

    २१ असार, काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

    उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

    हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।

  • सिङ्गापुर विरुद्धको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्दै

    सिङ्गापुर विरुद्धको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्दै

    २१ असार, काठमाडौँ । एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ । मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छ्न । यससँगै नेपालले पहिले बलिङ गर्दैछ ।

    घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    २१ असार, गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ ।

    “प्रत्येकलाई किसानलाई रु २०र२० हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो”, वडाध्यक्ष खत्रीले भने, “तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।” कृषकलाई वितरण गरिएको ट्र्याक्टर छ हर्जपावर क्षमताको रहेको उनले बताए ।


    वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१–८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको हो । परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भए पनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको सङ्ख्या न्यून हुँदै गएकाले गोरुको अभावमा खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाइ छ ।

    अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख रानामगरले जानकारी दिए ।

  • मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने

    २१ असार, दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो ।

    मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । मानुङकोटको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जग्गाधनीहरू र नगर विकास कोषसँग सहकार्य गरिने न्यौपानेले बताए


    न्यौपानेले भने, “मानुङका मगरहरूले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न खोजेका हौ ।” नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ स्थित शिशाघाट नयाँ सहर आयोजनामा एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ । मानुङकोट पछिल्लो समय दृश्यावलोकन केन्द्रको रूपमा विकास भइरहेको छ । यहाँबाट देखिने सूर्योदय र कुहिरोको दृश्यले पर्यटकलाइै लोभ्याउने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ ।

    राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेको होटल व्यवसायी चूडामणि दाहालले उल्लेख गरे । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

    मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

  • अमेरिकातर्फ क्यानाडाको निर्यात घट्दै, अन्य देशसँगको व्यापार नयाँ उचाइमा

    अमेरिकातर्फ क्यानाडाको निर्यात घट्दै, अन्य देशसँगको व्यापार नयाँ उचाइमा

    एजेन्सी
    २१ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको छ । क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिका तर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो । यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ – जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो ।

    अमेरिका बाहेक अन्य देशहरूसँगको क्यानाडाको व्यापार भने तीव्र रूपमा बढेको छ । निर्यात ५.७ प्रतिशतले बढेको छ र कुल व्यापार ४७.६ अर्ब क्यानाडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो पटकको रेकर्ड हो । साथै, क्यानाडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानाडियन डलर पुगेको छ भने आयात १.६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानाडियन डलरमा झरेको छ ।

  • भारतमा मनसुनी वर्षा र बाढीपहिरोले ६९ जनाको मृत्यु

    भारतमा मनसुनी वर्षा र बाढीपहिरोले ६९ जनाको मृत्यु

    एजेन्सी
    २१ असार, भारतको उत्तरी हिमालय क्षेत्रमा गत दुई हप्तादेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ६९ जनाको मृत्यु हुनुका साथै एक सय १० जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभर आकस्मिक बाढी र पहिरोका कारण हरेक वर्ष वर्षाको मौसममा धेरै मानिसहको मृत्यु हुने गरेको छ । यस क्षेत्रको हिमनदीको चुचुरोबाट सुरु हुने शक्तिशाली ब्याससहित भारी वर्षाले बगाएका नदीहरूले हिमाचल प्रदेश राज्यका धेरै मार्ग अवरुद्ध गरेका छन् ।

    भारतको मौसम विभागले बिहीबार भारतीय पर्यटकहरूमा लोकप्रिय अर्को सुरम्य हिमाली राज्य हिमाचल प्रदेश र छिमेकी उत्तराखण्डमा ‘भारी वर्षा’ का लागि नयाँ चेतावनी जारी गरेको थियो । भारी मनसुनी वर्षाले जुनमा भारतको दुर्गम उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान लिनुका साथै र दर्जनौँ घाइते भएका थिए । अधिकारीहरूले भारतीय सेनालाई राहत र उद्धार कार्यमा सहयोग गर्न दबाब दिएर अरुणाचल प्रदेश, मिजोरम र मणिपुर राज्यहरूमा पनि पहिरो र आकस्मिक बाढीका अन्य घटनाहरू रिपोर्ट गरिएका छन् ।

    दक्षिण एसिया तातो हुँदै गइरहेको छ र हालैका वर्षहरूमा मौसमको ढाँचा परिवर्तन भएको देखिएको छ, तर वैज्ञानिकहरू जलवायु परिवर्तनले मनसुनलाई कसरी असर गरिरहेको छ भन्ने बारे स्पष्ट छैनन् । गत महिना, भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी वर्षा भएको थियो । यो सामान्यभन्दा दुई हप्ता पहिले सुरु भएको थियो । मौसम पूर्वानुमानकर्ताहरूका अनुसार यो लगभग एक चौथाई शताब्दीको सबैभन्दा प्रारम्भिक हो ।

  • साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

    साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

    २० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो । योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

    अहिले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनानामा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् । जसअनुसार २०७५ सालदेखि योगदानमा आधारित समाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो ।

  • मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

    मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

    २० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तासँग आज मन्त्रालयमा भएको भेटमा उहाँले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरे ।

    अर्थमन्त्री पौडेलले भने, “निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । हाम्रा नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान गरी अघि बढनुहोस्, सरकार आवश्यक सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।” प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत् , पूर्वधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए ।

  • गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

    गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

    २० असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो ।”

    राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर गिरिजाप्रसादले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्त्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको स्पष्ट पार्नुभयो । जीवनको उत्तरार्द्धमा गिरिजाप्रसाद कोइराला नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयोे जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहनुभएको राष्ट्रपति पौडेलले भनाइ थियो ।

    उहाँले आफ्नो निर्णयमा जस्तोसुकै जोखिम मोल्ने आँट राख्ने कोइरालामा आत्मविश्वास अजेय भएको बताउँदै भने, “त्यसैले उहाँ निरन्तर लोकतन्त्रको लडाइँमा लागिरहनुुभयो । काममा नथाक्ने र साथीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने उहाँको बानी थियो । अप्ठ्यारोमा पनि उहाँभित्रको लोकतन्त्रको दियो कहिल्यै निभेन ।”

    राष्ट्रपति पौडेलले शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने बताए । उनले भने, “जनता आफैँले बनाएको संविधान हामीले पाएका छौँ । जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो । शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र यो लक्ष्य पूरा हुन्छ ।”

    उनले आर्थिक विकासको मोडेलमा दार्शनिक मतभिन्नता रहँदारहँदै पनि पुँजीवादी र कम्युनिष्ट चिन्तनबीच मध्यमार्गी धार समाएर गिरिजाप्रसदको कार्यकालमा आर्थिक विकासको मोडेलले संसारभर विभिन्न नकारात्मक आर्थिक झड्का आउँदा पनि नेपालको अर्थतन्त्र केही हदसम्म जोगिएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र राजनीतिक दलहरूले जनताको सेवाका लागि विश्वास र भरोसा बढाउन केन्द्रित हुनुपर्ने बताए । उनले अहिले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै सबैको अपनत्व बढाएर जनताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।


    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व गिरिजाप्रसाद कोइराला सबैले मानेका अविभावक भएकामा सबैको सहमति रहेको उल्लेख गरे । उनले शान्ति प्रक्रियापछिका घटनाले स्व कोइराला परिपक्वता बढाएर देश र जनताको सेवामा नेतृत्व गर्ने सामथ्र्य बढाएको नेता भएको बताए ।


    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व कोइराला दृढ इच्छाशक्ति, क्रियाशीलता र सक्रियता भएका नेता रहेको बताउँदै उनका योगदानको चर्चा गरे । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समानता र समावेशितासहितको लोकतन्त्रलाई अघि बढाउन स्व कोइरालाको योगदान रहेको भन्दै प्रसंशा गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू महेश आचार्य र सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको अतुलनीय योगदान चर्चा गरे ।

  • बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक

    बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक

    २० असार, काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।

    कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ । यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।

    मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।

    गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् । बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।

  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

    मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

    २० असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ । विभागले कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको अद्यावधिक विवरण सार्वजनिक गरेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिए ।


    यसअघि विभागले गत जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने आकलन सार्वजनिक गरेको थियो । अहिले फेरि मनसुनको हावापानीको अवस्था अद्यावधिक गर्दै विभागले नयाँ आकलन सार्वजनिक गरेको हो । जसअनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकीको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना विगतको आकलनझैँ ५५ देखि ६५ प्रतिशत रहेको छ ।

    सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिए । सुदूरपश्चिमको उत्तरी भूभाग, लुम्बिनीको दक्षिणपूर्वी भूभाग, बागमतीको दक्षिणी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छभने मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखिदेखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

    उक्त अद्यावधिक आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना तथा उत्पादन गर्ने केन्द्रको हावापानीको प्रारुपहरूको आकलन र साउथ एसियन सेसन क्याइमेट आउटलुक फोरकको आकलनका आधारमा गरिएको हो ।

    यस्तै नेपालको मनसुन ऋतुको जलवायु प्रभाव पार्ने पूर्वी प्रशान्त महाशाखामा विकसित हुने एल्निनो र साउदर्न ओसिलिएसन तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिपोलको हालको अवस्था तथा जलवायु प्रारुपको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुन ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनका कारकहरूका आधारमा आकलन गर्ने गरिएको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिए ।

  • प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

    प्रधानमन्त्री ओली स्पेनमा सम्पन्न राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

    २० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे ।

    त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी यही असोज १४ गते त्यसतर्फ गएका हुन् ।

    स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिपे छैटौँसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राखेको थियो । सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा केन्द्रित थियो ।

    प्रधानमन्त्री ओलीका साथ उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायतको नेपाली प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किए ।

  • पौराणिक कथामा जस्तै नारी–पीडाको निरन्तरता कायमै

    पौराणिक कथामा जस्तै नारी–पीडाको निरन्तरता कायमै

    प्रेमकृष्ण श्रेष्ठ
    २० असार, काठमाडौं । हालै एक ग्रामीण समाजमा एक निकै दुःखदायी घटना घट्यो । श्रीमानले बाहिर अर्कै स्त्रीसँग प्रेम गरेर हिंडन थालेपछि श्रीमतीले त्यस्तो नगर्न आग्रह गरिन् । श्रीमान्लाई यो कुरा पाच्य भएन । उनी हिंसामा उत्रिन थाले । सहन नसकी श्रीमती दुईचार निलडाम लिएर माइत गइन् । छोरीलाई आमाले ‘श्रीमान् भनेको भगवान् हो । तिम्रो कर्मघर नै अब तिम्रो घर हो । अब तिमी त्यही घरमा मिलेर बस्नुको विकल्प छैन’ भनेर सम्झाई पठाएको एक हप्ता नबित्दै छोरीले जीवनसित हार खाई ।

    जन्मघर र कर्मघरले पनि वास नदिएपछि सडकमा वास लिन पुगिन् । दिनभरि त सडकमा वास बसी । साँझ सडकले पनि लेखेटेपछि त्यही सडकको तल बगिरहेको खोलामा आफ्नो प्राण फाल्यो । यो एक प्रतिनिधि घटना थियो । यस्तो घटना कति घटिरहेको होला, हामी सहजै अनुमान गर्न सक्छौं ।घर–घरमा स्वस्थानीको कथा वाचन हुन अब केही महिना मात्र बाँकी छ । फेरि सुरु हुन्छ गोमा ब्राहणीको कथा । गाउँघरमा आमाहरुका आँखा चिसा हुने दिन फेरि आएको छ ।

    यस्तो कथाको गहिरो प्रभाव पर्दछ, हाम्रो समाजमा । ‘जे भोग्यो, त्यो ईश्वरको देन हो’ भनी यो संसारमा पीडा थाप्ने कोही छ त, त्यो नारी नै हो । यसैको फलस्वरुप, हिंसाको भोगाइ पनि कर्ममा मिसाउँदै आएको छ, धेरै नेपाली सोझासिधा नारीले ।
    एक शताब्दीअघिसम्म नेपालमा सतिप्रथा थियो । एक पुरुषको मरणमा बीस, तीस नारीसम्म लहरै सति गएको हामीले सुनेका छौं ।

    राजा योगनरेन्द्र मल्लको एक मृत्युमा २४ उनका रखौटीसहित अरु ९ जना निर्दोष महिलाहरुको सतिको नाममा स्वेच्छिक र अस्वेच्छिक हत्या भयो । जङ्गबहादुर राणाको मृत्युमा ४२ जना, पार्थिवेन्द्र मल्लको मृत्युमा २४ जना, राजा श्रीनिवासको मृत्युमा ९ जना, प्रताप मल्लको मृत्युमा ९ जना, नृपेन्द्र मल्लको मृत्युमा ९ जना स्त्रीहरु तथा राजा महेन्द्र मल्ल र जगतप्रकाश मल्लको मुत्युमा पनि धेरै स्त्रीहरु सति गएका थिए भनी इतिहासमा वर्णित छ ।

    त्यो कालो युग खोतलेर, सतिको गिन्ती गरेर साध्य छैन । त्यो बेला मानौं, पुरुषको अस्तित्व नहुँदा नारीको अस्तित्वको कुनै अर्थ थिएन । लेखाजोखा छैन, तर यही कुसंस्कारलाई आस्थाको नाममा पछ्याउँदै लाखौं नारीहरु जिउँदै चितामा डढे होलान्, हामी अनुमान लगाउन सक्छौं । पछि आएर चन्द्र शम्शेरले यो विकृति हटाए पनि पुरुषप्रधान समाजले नारीलाई सेतो वस्त्रमा गुट्मुटाएर जीवनभर रंग वर्जित बस्नुपर्ने अवस्थाको आजपर्यन्त साक्षी छौं ।


    हिजोको भन्दा आजको समय परिवर्तन भइसकेको छ । शिक्षाको पहुँचले सहरमा बसोवास गर्ने धेरैजसो नारीले महिला हिंसाको पूर्णतः परिभाषा बुझिसकेका छन् । त्यसैले उनीहरुलाई पुरुषबाट थोपरिने कुनै पनि अन्याय र अत्याचार मान्य छैन । तर, अझै पनि नेपाली ग्रामीण भेगमा बसोवास गर्ने नारीलाई हिंसाको बारेमा जानकारी छैन । जानकार भएर पनि पिछडिएको समाजको दबाब छ उनीहरुलाई ।

    उनीहरु आज पनि पुरुष हिंसालाई सहन्छन् र सहिष्णुताकी देवी बनिरहेकी छन् ।
    आज निकै प्रचारित शब्दावली हो– महिला हिंसा । वास्तवमा महिला हिंसा के हो ? व्यक्तिअनुसार परिभाषा फरक हुन्छ । महिलामाथि हुने हिंसा नै महिला हिंसा हो भनेर परिभाषालाई सरलीकृत गर्न सकिन्छ । आजको समयमा महिला हिंसाको बारेमा बुझाएर मात्र पुग्दैन, त्यसको संवैधानिक र कानुनी उपचार पनि नारीलाई बुझाउनु पर्छ । केवल ब्यानर बनाएर भित्तामा टाँस्दैमा, दुईचार नारीलाई महिला हिंसाको नारा लेखेको टोपी ओढाउँदैमा अभियानले सार्थकता पाउँदैन । अभियान तब सफल हुन्छ, जब कोही रजस्वला भएको महिलालाई गोठमा चितुवाले खाँदैन । गलत छुवाई मात्र होइन, गलत नजरले पनि हेर्दैन ।


    महाभारतकालीन समयमा महिलाहरु बच्चा जन्माउने मेसिन मात्र थिए । पुरुषहरु युद्ध गरी सन्ध्यामा घर आउँथे र युद्धको सारा तनावलाई महिलाको शरीर भोग गरी हल्का हुन्थे । महिलामाथि जस्तो अत्याचार हुँदा पनि सहनु पथ्र्यो । त्यतिबेला नारीमाथि शोषण गर्न पल्केका केही पुरुषले ‘जहाँ स्त्री, त्यहाँ श्री’ भनी नारीलाई पूजाको थाली समाउन दिई, नारीभित्र धार्मिक आस्था हुर्काई पञ्चकन्याको कथा श्रवण गराइयो । आज पनि सोझासिधा नारीमाथि हिंसाले मलजल पाउनुमा त्यही धार्मिक आस्थाले जरो गाडेर बसेको छ ।


    उनीहरुले थुप्रै्र धार्मिक आस्थाका पात्रहरुका कथा पढेका छन् । धृतराष्ट्रले संसार देख्न नसक्दा जीवनभरि कपडाको टालोमा आँखा बाँधेकी गान्धारीको कथा मात्र होइन, पतिव्रतामा लागेको दाग धुन अग्नीमा दहन भएकी सीताको कथा, यज्ञको बोकाको टाउकोरुपी आफ्नो पति स्वीकार गर्ने विरणीको कथा, सात वर्षकी कन्या भएर पनि सतरी वर्ष बुढोसँग विवाह—बन्धनमा बाँधिएर पनि मेरो कर्म यस्तै हो भनी आफ्नो कर्मलाई दोष दिने गोमा ब्राहाणीको कथा, आफ्नो पतिको जुवामोहका कारण दरबारको सभामा लज्जित बनेकी द्रौपदीको कथा, यस्तै थुप्रै कथाले गर्दा महिलाको निम्ति ‘पति नै सर्वस्व हो, उनीहरुले जे गर्दा पनि त्यसको प्रतिफल नारीले भोग्नुपर्छ’ भनी सन्देश लिइरहेका छन् । धर्मप्रति चरम आस्थाका कारण पतिव्रता धर्मका सम्पूर्ण शर्तहरु उनीहरुलाई मान्य छन् । यसकारण आज पनि कैयन नारीले सीता, द्रौपदी, गोमा र विरणीका कथाहरु दो¥याइरहेका छन् ।


    त्यो समयमा पुरुषसँग समान हुन नारीले सबै असमानता चुँड्नु पर्ने, तर पुरुषले केही गर्नु नपर्ने । फलस्वरुप, आज पनि विधवा महिलाले एक वर्ष सेतो सारी लाउनुपर्ने, पुरुष रंगीचंगी भएर हिंड्न पाउने व्यवस्था त्यसैको अवतरण हो । यो हो धार्मिक आस्थाको बलमा नारीमाथि पुरुषको पहिलादेखिको शोषणको अनुपम नमुना । आजका एक्काइसौं शताब्दीका नारीले हिजोका नारीसँग पुर्पुरो जोड्नु ठीक होइन । उनीहरुले भोगेको शोषण आजका नारीले भोग्नुपर्छ भन्ने छैन ।
    आज पनि गाउँघरतिर सानैमा कुनै कन्याको विवाहबारी भएको छ भने गाउँलेहरु ‘के गरुँ गोमा ब्राहाणीको कर्म लिएर आएकी रहिछ’ भनेर मन बुझाउने छन् । सबैले बालविवाह गर्नु अपराध हो भनेर त्यस्तो विवाहलाई निषेध गरेको भए के आज पनि कुनै बालिका गोमा बन्थी ?

    गोमाको कर्मसँग ती बालिकाहरुको कर्म जोडिएरै आज पनि थुपै्र गोमाहरुको शिवशर्मा ब्राहाणहरुसित लग्न जुरिरहेको छ । फेरि अर्को कुरा, पतिव्रता धर्मपतिको पाउमा रसिएर आउने जल होइन यो सबैले बुझेको कुरा हो । धार्मिक आस्थाले कतिपय महिलाले अझै पनि तीजको दिन पतिको पाउको पानीलाई गङ्गाजल नै सम्झेर सेवन गर्नेहरु छन् । यस्तो आस्थाको कारण पतिहरुबाट हुने हरेक अन्याय र अत्याचार नेपाली महिलाका लागि सह्य बन्छ । पत्नीले पतिलाई सम्मान गर्नुपर्छ, तर खुट्टा पखालेको पानीलाई गङ्गाजल सम्झेर होइन ।


    धार्मिक कथामा आशंका छैन । त्यो युगयुगान्तरको कथा थियो । आज समय परिवर्तित छ । त्यसैले आज धार्मिक आस्थाले कमजोरी पाल्ने होइन, शक्ति सँगाल्ने यत्न गर्नुपर्छ । नारीले पुरुषको अस्तित्वको मोल बुझेजस्तो पुरुषले पनि नारीको अस्तित्वको मोल बुझ्नुपर्ने आजको समयको शर्त हो । नारीको अस्तित्वबिना पुरुषको अस्तित्व सम्भव छैन । भगवानले एउटा पुरुषको जीवनमा आमा, पत्नी र छोरीको अस्तित्व त्यत्तिकै सृजना गरेको होइन । आजको समयमा नारीको अस्तित्व केवल भोगका लागि होइन भन्ने कुरा बुझ्नुपर्छ, बुझाउनुपर्छ ।

  • भोजपुरको चिरखुवा खोलामा बन्यो पक्की पुल

    भोजपुरको चिरखुवा खोलामा बन्यो पक्की पुल

    २० असार, भोजपुर । चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

  • माछा मार्न गएका युवकलाई गोहीले मार्यो

    माछा मार्न गएका युवकलाई गोहीले मार्यो

    २० असार, भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।

  • ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

    ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

    २० असार, काँक्रेविहार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए ।

    नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए । प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए ।

  • कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

    २० असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

    त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • प्रधानमन्त्री ओली स्वदेश फर्किदै

    प्रधानमन्त्री ओली स्वदेश फर्किदै

    २० असार, काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

    यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

    विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । बिहीबार मात्र उहाँले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गर्नुभयो । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए । केहीबेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन् ।

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    २० असार, बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

  • पुटिन र ट्रम्पबीच फोनवार्ता हुने

    पुटिन र ट्रम्पबीच फोनवार्ता हुने

    २० असार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार फोनमा कुराकानी हुने भएको छ । यसैगरी, राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि शुक्रबार फोनवार्ता गर्ने युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपी जानकारी गराएका छन् । गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्प दुवै नेतासँग नियमित सम्पर्कमा छन्, र उनले करिब साढे तीन वर्ष लामो द्वन्द्व अन्त्यका लागि दबाब दिइरहेका छन् ।

    पुटिन र ट्रम्प दुवैले बिहीबारको वार्तामा के छलफल गर्ने भन्नेबारे केही बताएका छैनन् । यसअघि युक्रेन द्वन्द्व र आर्थिक सहयोगजस्ता विषयमा छलफल गरेका दुई नेताबीच बिहीबार के बिषयमा छलफल हुनेछ भन्नेबारे ती देशका प्रशासनले जानकारी गराएका छैनन् । मस्कोको एक प्रदर्शनी केन्द्रको भ्रमणका क्रममा पुटिनले ट्रम्पसँग फोनवार्ता हुनलागेको भन्ने कुराको पुष्टि गर्दै संक्षिप्तमा भने, “हो, म आज अमेरिकी राष्ट्रपतिसँग कुरा गर्नेछु ।”

    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेकोे आह्वानलाई पुष्टि गर्दै अमेरिकी समयअनुसार बिहान १० ः०० बजे वार्ता सुरु हुने बताइएको छ । मस्कोले युक्रेनमाथि जारी आक्रमणका बावजुद यी दुईले हालैका हप्ताहरूमा एकअर्काको प्रशंसा गरेका छन्। पुटिनले गत हप्ता ट्रम्पप्रति आफ्नो ठूलो सम्मान रहेको र केही कठिनाइका बाबजुद पनि अमेरिकी सम्बन्धमा सुधार भइरहेको बताएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनको प्रतिक्रिया ‘निकै राम्रो’ भएको बताएका थिए ।

  • फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

    फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

    एजेन्सी
    २० असार, काठमाडौं । फिनल्याण्डको टाम्पेरे शहरको एक व्यापारिक केन्द्र नजिकै बिहीबार केही व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा केही घाइते भएका छन् तर शङ्कास्पद आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको छ । यो अवस्थाले अब बाहिरी मानिसका लागि खतरा पैदा गर्दैन । पीडितको उपचार सु भइसकेको छ । विज्ञप्तिमा भनिएको छ, “पीडितको सङ्ख्यालगायत थप विवरण सङ्कलन भइरहेको छ । थप जानकारी प्राप्त भएपछि पुन घटनाबारे जानकारी गराइनेछ ।” स्थानीय सञ्चार माध्यमका अनुसार हिंसात्मक घटनापछि प्रहरी कार र एम्बुलेन्स घटनास्थलमा पुगेका छन् ।

    स्थानीय समयअनुसार अपराह्न ४ः२३ बजे छुरा प्रहार भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले रतिना सपिङ सेन्टर बाहिरको क्षेत्रलाई घेराबन्दी गरेको एक घण्टाभन्दा बढी समय अनुसन्धानका लागि प्रहरीलगायत अनुसन्धान अधिकारीहरूले प्रत्यक्षदर्शीसँग कुरा गरिरहेको प्रहरीले जनाएको छ । करिब दुई लाख ६० हजार जनसङ्ख्या भएको टाम्पेरे शहर हेलसिन्कीबाट लगभग १८० किलोमिटर उत्तरमा अवस्थित छ ।

  • एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

    एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

    १९ असार, काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । उक्त खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे सुरु हुने छ । नेपालले आज भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । यस्तै सिङ्गापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको एक सय ६९ रनको लक्ष्य सिङ्गापुरले ३८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालले यसअघि समूह चरणको खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । समूह चरणमा नेपालले भुटानलाई दुई सय ९८ रनले तथा इन्डोनेसियालाई तीन सय ७० रनले पराजित गरेको थियो । यसैगरी सिङ्गापुरले समूह चरणका खेलमा भुटानलाई दुई सय २६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई नौ विकेटले पराजित गरेको थियो । नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए ।

    नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो । एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए ।

  • चोभार गल्छीका ऐतिहासिक चट्टान हटाउने योजना नरहेको सरकारको स्पष्टीकरण

    चोभार गल्छीका ऐतिहासिक चट्टान हटाउने योजना नरहेको सरकारको स्पष्टीकरण

    १९ असार, काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने बताएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नभएको उल्लेख गर्दै अनावश्यक रुपमा भ्रम फैलाउने काम भएको बताए ।

    “गल्छी वरपरको क्षेत्रमा विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी रोकथाम गर्ने र दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययनसहित कार्ययोजना तयार गर्ने हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो, “मन्त्रालयले चोभार गल्छी चौडा पार्ने वा प्राकृतिक रूपमा रहेका ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नरहेको स्पष्ट पार्दै यस्ता कार्यको भ्रम फैलाउनु अनुचित हो ।”

    मैनालीका अनुसार चोभार गल्छी उपत्यकाको प्रमुख जलनिकास बिन्दु हो जहाँ सहरभरिका खोलानाला भएर बगेका पानीहरू भेला हुने र वर्षाको समयमा पानीको निकास अवरुद्ध हुँदा सहरका विभिन्न क्षेत्रहरू डुबानमा पर्ने जोखिम बढ्दो छ । उनले यस क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले आफ्नो उद्देश्य स्पष्ट पार्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको चोभार गल्छीको मौलिक स्वरूपलाई जोगाउँदै डुबान न्यूनीकरण गर्न फोहोरको व्यवस्थापन गरिने बताए ।


    यही असार १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औँ बैठकबाटे चोभार गल्छीमा सम्भावित डुबान न्यूनीकरण गर्न नेपाली सेनासँग समन्वयमा आवश्यक कदम चाल्न निर्देशन दिइएपछि सामाजिक सञ्जाल र विभिन्न राजनीतिक वृत्तहरूमा यस विषयलाई लिएर विभिन्न धारणा सार्वजनिक भएको भन्दै मन्त्रालयले असन्तुष्टि जनाएको छ । विपद् न्यूनीकरणसँग सम्बन्धित निर्णयहरूमा जनचासो बढ्दो रहेको बेला मन्त्रालयको यो स्पष्टिकरणले विवादको निराकरण गर्ने अपेक्षा गरिएको छ ।

  • प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

    प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

    १९ असार, मेड्रिड । स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेड्रिडस्थित प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका छन् । युरोपकै पुरानो मध्येको सो कला सङ्ग्रहालयका अध्यक्ष जाबियर सोलानेले प्रधानमन्त्री ओलीलाई स्वागत गरे ।

    सङ्ग्रहालयमा युरोप र स्पेनका इतिहास, संस्कृतिसँग सम्बन्धित घटना क्रमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अवलोकनका क्रममा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी थिए ।

    स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको विकासका लागि लगानीसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली मेड्रिडका कार्यक्रममा सहभागी थिए । प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

  • रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

    रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने

    १९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति आपत्ति जनाएको छ । रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले प्रतिनिधिसभाबाट पारित निजामती सेवा विधेयकमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरमा संलग्नको छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो ।

    बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले विधायिकी प्रक्रियामाथि चलखेल वा बदमासीपूर्ण गतिविधि असह्य र संसद्को गरिमा जोगाउने पक्षमा पार्टी स्पष्ट रहेको बताउनुभयो । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेद्वार छनोटका विषयमा छलफल भएको थियो ।

    आगामी आइतबारको सचिवालय बैठकमा उम्मेद्वार छनोट कार्यविधि अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसैगरी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागलाई यथावत् राख्दै संसद्मा चलिरहेको प्रतिरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकले पार्टीका केन्द्रीय विभाग सक्रिय बनाउने निर्णय गरेको छ । विभाग प्रमुखहरूले रिक्त पदपूर्ति र असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन आगामी साउन ७ भित्र पेस गर्न निर्देशन दिएको प्रवक्ता झाले जानकारी दिए । बैठकले केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनीत गर्ने निर्णय गरेको छ । केन्द्रीय सङ्गठन विभाग सदस्यहरुमा प्रमीला भुसाल, मानकुमार लामा र सुशील अधिकारीलाई मनोनीत गरेको हो ।

  • पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

    पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

    १९ असार, कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ । हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको बताए ।


    उनका अनुसार यसअघि भारतीय आयल निगमको सहयोगमा हवाई इन्धन डिपो निर्माण हुँदै आएकामा पहिलोपटक यस डिपो निर्माणमा निगमको आफ्नै लगानी रहेको छ । पोखरामा आन्तरिक र अन्तरराष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै एक हजार २०० किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह ९कूल तीन हजार छ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क० निर्माण गरिएको हो । भर्टिकल स्टोरेज ट्याङ्कको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको निगमले जनाएको छ ।

    “स्वदेशी प्राविधिक र स्वदेशी निर्माण कम्पनीले निर्माण गरेकाले पनि निगमको ५५ वर्षे इतिहासमा यो डिपो ऐतिहासिक भएको छ । यसअघि लगानी मात्र विदेशीको र्होन, प्राविधिक र निर्माण कम्पनी पनि विदेशी नै हुन्थे । त्यसलाई तोड्दै शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट बनाउन सक्षम भएका छौँ”, आयोजना प्रमुख यादवले भने ।

    आयोजना प्रमुख यादवले तोकिएको समयभित्रमा नै डिपो निर्माण सम्पन्न भएको जानकारी दिए । सो डिपो निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ७५ करोड खर्च भएको छ । विसं २०८० साउन १ गते निर्माण कार्यको शिलान्यास गरिएको थियो । सो डिपोेबाट आगामी साउन दोस्रो साताबाट इन्धन भर्न सुरु हुन्छ ।

    डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको ‘फायर फाइटिङ’ संरचनालाई आबद्ध गरिएकाले उच्च सुरक्षा प्रदान गर्ने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले बताए ।

    “हवाई इन्धन जस्तो प्रज्ज्वलनशील पदार्थको नियमित रुपमा कारोबार हुँदा आगलागीको जोखिम हुनसक्ने विषयलाई मध्यनजर गर्दै चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्याङ्कसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ”, पराजुलीले भने ।

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि आवश्यक इन्धनका लागि आयल निगमले विमानस्थल परिसरमा नौ हजार २१५ वर्गमिटर क्षेत्रफल जग्गा नागरिक उड्डयन प्राधिकरणसँग ‘लिज’ सम्झौता गरी निगमले उपयोग गर्दै आएको जनाएको छ ।