Category: समाचार

  • दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत निर्यात

    दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत निर्यात

    १७ असार, काभ्रे । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौं लगायत जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लामा वार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

    दुग्धमा आत्मनिर्भर यस जिल्लामा एक लाख ४७ हजार ८७४ गाई र एक लाख ३८ हजार ४९९ भैँसीबाट उक्त परिमाणमा दूध उत्पादन भएको जनाइएको छ । कार्यालयका अनुसार कुल गाईमध्ये हालको अवस्थामा ४३ हजार १०७ दूधालु गाई र ५९ हजार ३२० दूधालु भैँसी रहेका छन् । यस्तै जिल्लामा रहेका दूधालु गाईमध्ये २३ हजार ८३५ स्थानीय र १९ हजार २७२ उन्नत जातका छन् ।

    जिल्लाका कुल दूधालु भैँसीमध्ये ३४ हजार ३४० स्थानीय र २४ हजार ९८० उन्नत जातको रहेको कार्यालयले जनाएकोे छ । कार्यालय प्रमुख डा सृजा वाग्लेका अनुसार पछिल्लो समय जिल्लामा दुग्धको बिक्रीबाट जिल्लामा भित्रने रकमबारे आधिकारिक तथ्याङ्क सङ्कलन भइरहेको छ । जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दूध उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

    विसं २००९ देखि दूध बिक्री हुँदै आएको इतिहास रहेको काभ्रेपलाञ्चोकलाई २०७३ साल साउनमा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषणा गरिएको थियो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार जिल्लामा उत्पादित कुल दूधमध्ये ७० प्रतिशतको हाराहारीमा अन्य जिल्लामा आपूर्ति भइरहेको छ । “उत्पादित दूध तथा दुग्धजन्य पदार्थमध्ये ३० प्रतिशत जिल्लामा खपत हुने गरेको र बाँकी काठमाडाँैलगायत अन्य जिल्लामा पनि दूध पठाइन्छ”, सङ्घका अध्यक्ष नारायणप्रसाद बडालले भने ।


    काभ्रेमा दैनिक करिब पाँच लाख लिटर दूध उत्पादन हुने गरेको बजारमा तीन लाख लिटर दूध बिक्रीका लागि पठाइने गरिएको छ । १३ स्थानीय तहमध्ये डाडाँपारिका खानीखोला, महाभारत र कोशीपारिस्थित चौँरीदेउराली तथा भुम्लु गाउँपालिकाबाट तरल दूध बजारमा आउने गरेको छैन । तरल दूध नआउने स्थानीय तहबाट मख्खन, छुर्पी, खुवा, पनिरलगायत दुग्धजन्य पदार्थ बजारमा आउने गरेको सङ्घले जनाएको छ । सङ्घका अनुसार जिल्लाबाट विशेषगरी काठमाडौँमा दूध पठाइनुका साथै पाण्डर बनाउन पोखरा, चितवन, हेटौँडामासमेत दूध पठाइने गरिएको छ ।

    यसैबीच सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको पटकपटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायीले अझै प्लाष्टिककै भाँडामा दूध ढुवानी गरिरहेका छन् । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन ।

  • रुपन्देही क्षेत्र नं ३ मा १७ कात्तिममा उपनिर्वाचन तय

    रुपन्देही क्षेत्र नं ३ मा १७ कात्तिममा उपनिर्वाचन तय

    १७ असार, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड ९च० बमोजिम प्रतिनिधिसभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई जानकारी गराएको थियो । प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै स्थान रिक्त भएमा जुन निर्वाचन विधिबाट रिक्त भएको हो सोही प्रणालीबाट पूर्ति गरिने कानुनी प्रावधान छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको नयाँ उपनिर्वाचन मिति घोषणा गरेको हो ।

    आयोगका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकार भएका सबैलाई आग्रह गरिएको बताए । आयोगले निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता मङ्गलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्तासम्बन्धी कार्य स्थगन हुने कानुनी प्रावधानअनुसार तत्कालका लागि नामावली सङ्कलन कार्य रोकिएको प्रवक्ता अर्यालले बताए ।

  • स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

    स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

    १७ असार, सेभिल्ला । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भए । प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच आइतबार दुईपक्षीय भेटवार्ता भएको थियो ।

  • वायुसेवा निगम ६७ वर्षमा

    वायुसेवा निगम ६७ वर्षमा

    १७ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६७ वर्षमा प्रवेश गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

    निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

    आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ । निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा पछिल्ला वर्षमा सामान्य कार्यक्रम मात्र गर्दै आएको छ । स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन । निगमको ऋण दायित्व करिब रु ५० अर्ब पुगेको जनाइएको छ ।

    वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तरराष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ ।

    निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

    निगमका प्रवक्ता सुवास डाँगीले निगमले अन्तरराष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको दाबी गरे । आन्तरिक बजारमा विमानको सङ्ख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको उहाँले बताए । अन्तरराष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पहल भइरहेको प्रवक्ता डाँगीले बताए ।

  • ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

    ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

    १७ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हँुदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

    ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए ।दुर्घटनामा घाइते सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार जारी छ ।

  • असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

    असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

    १७ असार, काठमाडौं । प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गे । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यस्तो घोषणा गरिएको उनले जानकारी दिए ।

    ‘६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसको घोषणा गरेका छौँ । यसले नेपाली चलचित्रको इतिहासलाई उत्सवको रूपमा मनाउने क्रमलाई निरन्तरता दिनेछ ।” त्यस अवसरमा बोर्ड स्थापना भएको वर्ष विसं २०५७ सालदेखि हालसम्म प्रदर्शन भएका सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गरिएको थियो ।

  • दरवारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

    दरवारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

    १७ असार, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    मृत्यु हुनेमा कैलालीका ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी रहेका छन् । आज साँझ ५ बजेतिर उनीहरु चौथो तलामा लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा फलामको सिक्री चुँडिएर गम्भीर घाइते भएका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि

    १७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

  • अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

    अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

    १६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताएका छन् । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनलेआफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्दै यसबाट सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे ।

    अतिकम विकसित देशहरूको समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै उहाँले एक दशकअघि ‘अदिस अबाबा’मा विश्वले अतिकम विकसित देशहरूप्रति ऐक्यबद्धता जनाउने वाचा गरेको उल्लेख गर्नुभयो । उक्त प्रतिबद्धता सन् २०३० को कार्यसूचीमा पनि प्रतिविम्बित भएको जनाउँदै उनले भने, “हामीले कसैलाई पनि पछाडि नछोड्ने वाचा गर्‍यौँ र सबैभन्दा पछाडि परेकालाई पहिले माथि उठाउने प्रतिबद्धता जनायौँ । दश वर्षपछि विश्वले प्रगति गरिरहेको छ ।”

    यस अवधिमा विश्वको कूल गार्हस्थ्य उत्पादन बढेर लगभग ७५ ट्रिलियनबाट ११५ ट्रिलियन पुगेको जनाउँदै प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूबीच र राष्ट्रभित्रै असमानता बढिरहेको उल्लेख गरे । जुन समयमा ऐक्यबद्धताको सबैभन्दा बढी आवश्यकता छ, त्यहीबेला आधिकारिक विकास सहायता (ओडिए) घटिरहेको उल्लेख गरे ।


    उनले ऋणले दक्षिणी गोलार्ध निसास्सिएको र विशेषगरी अतिकम विकसित देशहरूको ऋण पछिल्लो दशकमा तीनगुणाले बढेको जानकारी गराए । प्रधानमन्त्री ओलीले भने, “व्यापार खण्डित छ । वृद्धि असमान छ । लगानी कमजोर छ र गरिबी यथावत छ । विकसित देशमा प्रविधि र नवप्रवर्तनले तीव्र गतिमा फड्को मारिरहेको छ । तर अतिकम विकसित देशहरूले भने गहिरो प्राविधिक र डिजिटल खाडलको सामना गरिरहेका छन् ।” यसले उनीहरूको आर्थिक र सामाजिक प्रगतिमा गम्भीर बाधा पुर्‍याएको उनले बताए ।


    प्रधानमन्त्री ओलीले कमजोर र अपर्याप्त पूर्वाधारले अतिकम विकसित मुलुकको सम्भावनालाई निरन्तर बाधा पुर्‍याइरहेको बताउँदै विश्वव्यापी विकास मञ्चमा, अतिकम विकसित देशहरू सीमान्तकृत हुनुका साथै आवाज उचित रूपमा सुनुवाइ नभएको उल्लेख गरे । “जलवायु परिवर्तनले अतिकम विकसित देशहरूलाई सबैभन्दा बढी असर गरिरहेको छ, यद्यपि उनीहरूले एक प्रतिशतभन्दा कम हरितगृह ग्यास उत्सर्जन गर्छन् । ‘अदिस अबाबा’पछि केबल चार वटा अतिकम विकसित देशहरू मात्र स्तरोन्नति भएका छन्”, उनले भने ।


    बहुआयामिक चुनौतीहरूको बाबजुद अतिकम विकसित देशहरू आफ्ना जनताको शक्ति र सिर्जनशीलताका साथै विकास साझेदारहरूको सहयोग र ऐक्यबद्धताबाट चुनौतीहरूलाई पार गर्न दृढ रहेको उनको भनाइ छ । यो कुरा स्तरोन्नतितर्फ अघि बढिरहेका १४ वटा अतिकम विकसित देशहरूले पनि देखाएका उहाँले जानकारी दिए । यस पृष्ठभूमिमा, आज पारित गरेको ‘सेभिया प्रतिबद्धता’ले सबैलाई मार्ग परिवर्तन गर्ने अवसर दिएको उनले बताए ।


    यसले सन् २०३० को दिगो विकास कार्यसूचीको कार्यान्वयनका लागि एक नवीकृत विश्वव्यापी वित्तीय ढाँचाको वाचा गरेको उल्लेख गर्दै विकासशील देशहरू, विशेषगरी अतिकम विकसित देशहरू, यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च भावनाका साथ दृढतापूर्वक आग्रह गर्दछन्, प्रधानमन्त्री ओलीले भने ।
    उनले विश्वव्यापी आर्थिक तथा वित्तीय प्रणालीमा न्याय र निष्पक्षताको माग गर्दै आफूहरू विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा रहेको बताए । “हामी हाम्रा विकास साझेदारहरूलाई विकासशील देशहरूका लागि शून्य दशमलव सात प्रतिशत ओडिए प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ र अतिकम विकसित देशहरूका लागि शून्य दशमलव दुई प्रतिशतको लक्ष्य पूरा गरी सोभन्दा माथि जान अनुरोध गर्दछौँ”, प्रधानमन्त्री ओलीले भने ।


    उनले आफूहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेको बताउँदै नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले यसमा सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे । “हामी यस्तो जीवन्त निजी क्षेत्रको पक्षमा छौँ जसले विश्वको उत्तरी र दक्षिणी गोलार्धलाई मूल्य शृङ्खलामार्फत जोड्दै सबैका लागि साझा समृद्धि ल्याओस् । हामी संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा करसम्बन्धी महासन्धिको पक्षमा छौँ । हामी पर्याप्त जलवायु वित्तको माग गर्दछौँ जुन सहुलियतपूर्ण, अनुमानयोग्य र पहुँचयोग्य होस्”, प्रधानमन्त्री ओलीले भने, “सेभिया प्रतिबद्धता सबै अति कम विकसित देशहरूको विकास र प्रगतिका लागि एक महत्त्वपूर्ण उत्प्रेरक बन्नुपर्छ । यसले सहज, अपरिवर्तनीय र दिगो स्तरोन्नति पनि सुनिश्चित गर्नुपर्छ ।”

    सो अवसरमा उहाँले नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको अवगत गराउँदै हाम्रो सङ्कल्प दृढ भए पनि हाम्रा विकास आकाङ्क्षा साकार पार्न विकाश साझेदारबाट बलियो सहयोगको आवश्यकता औँल्याए । “नेपाल ‘सेभिया प्रतिबद्धता’ को सहसहजकर्ताका रूपमा नर्वे, जाम्बिया र मेक्सिकोसँगै काम गर्न पाएकामा गर्व गर्दछ । हामी सबै सदस्य राष्ट्रहरूलाई उहाँहरूको विश्वासका लागि धन्यवाद दिन्छौँ”, उनले भने ।

    प्रधानमन्त्री ओलीले निराशालाई जित्न र आशालाई पुर्नजागृत गर्न ‘सेभिया कार्यसूची’लाई तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै यसले सबैको आवाजलाई सम्मान गर्ने एक निष्पक्ष विश्वव्यापी शासन प्रणालीको स्थापना हुने बताए। उनलेयसबाट ऐक्यबद्धतामा आधारित साझेदारी, जनता र पृथ्वीमा विवेकपूर्ण लगानी तथा कुनै पनि देश पछाडि नछुट्ने एक उत्कृष्ट संसारको आशा जाग्ने उल्लेख गरे ।

  • प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

    प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

    १६ असार, सेभिया । ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको सकारात्मक परिणाम सृजनामा नेपालले सक्रिय भूमिका खेलेकामा प्रशंसा गरे ।

    उनले विश्वमा शान्ति स्थापनार्थ नेपालले राष्ट्रसङ्घीय शान्ति मिसनमा दिएको योगदानको उच्च मूल्याङ्कनका साथै नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गो लगाउन लागेकामा खुसी व्यक्त गरेको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए । महासचिव गुटेरेसले नेपालको विकासमा राष्ट्रसङ्घको निरन्तर साथ र सहयोग रहने पनि विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आजै सम्मेलनलाई सम्बोधन गरेका छन् ।

  • असार १५ः रोपाइँसहित दहीचिउरा खाएर मनाइयो

    असार १५ः रोपाइँसहित दहीचिउरा खाएर मनाइयो

    १५ असार, काठमाडौं । प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ ।

    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दहीचिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ ।

    मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । यसबेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ गत सांस्कृतिक पर्व मनाएका छन् ।

    हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

    पखाला लागेका बेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । यसैले दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । परम्परादेखि असार धान रोप्ने महिनाका रुपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसै अनुसार आज २२औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।
    असार १५ बितिसक्दा पनि देशका सबै भागमा पानी नपरेका कारण हुनुपर्ने जति धान रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएपनि कतै कतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् । रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाइएको छ । स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरिएको छ । सहकारीले व्यवस्थित रुपमा मल वितरण नगर्दा किसान मर्कामा परेका हुन् ।

  • एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

    एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

    १६ असार, काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् ।

    लाओसले एउटा आत्मघाती गोल गरेको थियो । नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको थियो । सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओस विरुद्ध २–० गोलको अग्रता लिएको छ । नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो । खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन् । यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन् ।


    दोस्रो हाफमा नेपालले थप ६ गोल गरेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै नेपालका लागि सरु लिम्बूले गोल गरिन् । यस्तै खेलको ५५औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले खेललाई ४–० गोलको अवस्थामा पुर्याइन् । लगत्तै रश्मीकुमारी घिसिङले गोल गरिन् । नेपालले खेलको ७५औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । त्यसको एक मिनेटपछि साम्बाले नै व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ६–० गोलको अग्रता दिलाइन् ।

    यस्तै खेलको ८३औँ मिनेटमा नेपालका लागि अनिता केसीले गोल गरिन् । नेपालले ८–० गोलको अग्रता बनायो । खेलको ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो । योसँगै नेपालले तीन अङ्क जोडेको छ । आजको खेल नेपालले १००औँ अन्तर्राष्ट्रिय खेल हो । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको थियो । नेपाल रहेको समूह ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।

  • अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

    अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

    १६ असार, सेभिया । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिए । उनले विकास सहयोग, ऋण दिगोपना र अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताए ।


    “तपाईंहरु यस सम्मेलनका सहभागी मात्रै होइन, परिवर्तनका लागि उत्प्रेरक र सशक्त आवाज पनि हो । तपाईंहरुको वकालत र आवाजले देखिने प्रकारको परिणामका लागि योगदान दिन सक्नेछ”, प्रधानमन्त्री ओलीले भने, “नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको छ । यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको म प्रशंसा गर्दछु ।”

    नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने बताउँदै उनले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन आह्वान गरे । स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवर्द्धन र परिचालन एवं विकासका लागि स्रोतहरुको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताए । नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ले स्वीकार गर्नेछ ।

  • स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

    स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

    १६ असार, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि स्पेनका नरेश फिलिप द्वितीयले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।

    सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भए । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

  • विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ

    विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ


    १४ असार, काठमाडौँ, १४ असारः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उहाँले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।” उनले एमाले एक रहेको र एक रहने उल्लेख गरे ।
    प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पु¥याएको योगदान र गर्नुभएको दिशानिर्देश नेपालको राजनीतिक विकासक्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए । “जतिबेला विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक सङ्कट पैदा भएको थियो, त्यसबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले नयाँ विचार अगाडि सारेको थियो”, उनले भने, “तत्कालनि परिस्थिति कसरी सामना गर्ने भन्ने अवस्थामा मदन भण्डारीले सोचबुझका साथ समयानुकूल ढङ्गले पार्टीलाई अगाडि बढ्नुभएको थियो ।” आफूहरुले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएकोसमेत उल्लेख गरे ।
    मदन भण्डारीले आफूलाई समयानुकूल ढङ्गले अगाडि बढाउँदै जनताको बहुदलीय जनवाद (जबज)को विचार निर्माण गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आज पनि नेपाल सोही विचारलाई मियो मानेर अगाडि बढेको बताए । आफूहरुले एमालेको पाँचौँ महाधिवेशनमा जबज सूत्रीकृत गरे पनि यसका सम्पूर्ण आधार भने चौथो महाधिवेशमै बनाएको उल्लेख गरे । “एमालेको चौथो महाधिवेशनले नेपालको राजनीतिक आन्दोलनमा दुई वटा असाधारण योगदान पु¥याएको थियो, ती जबजको बाटो आत्मसात् र मदन भण्डारीलाई महासचिव बनाउने निर्णय थिएँ”, उनले भने ।
    प्रधानमन्त्री ओलीले एमालेको चौथो महाधिवेशनले लिएको नीतिले पञ्चायती व्यवस्था ढालेकोसमेत उल्लेख गरे “चौथो महाधिवेशनले लिएको नीतिले वाममोर्चा निर्माण भयो, नेपाली कांग्रेससँग सहकार्यको नीति अगाडि सघन वार्ता भयो, फलस्वरुप संयुक्त आन्दोलन भई छ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरंकुश राजतन्त्र संवैधानिक भयो”, उनले भने । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू आज स्पेनको औपचारिक भ्रमणमा जान लागेको उल्लेख गर्दै त्यहाँबाट फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने बताए । “कर्णालीमा पुल बनेको छ, म स्पेनबाट फर्किएपछि पुल उद्घाटन हुन्छ, त्यसपछि हुम्लाको सदरमुकाम मोटर चढेर जान सकिन्छ, अब नेपालका कुनै पनि सदरमुकाम दुर्गम रहँदैनन्, यो पनि जबजको सफलता हो”, उनले भने ।
    उहाँले महाकाली सन्धी पक्षमा अहिले पनि एमाले रहेको उल्लेख गर्दै सम्झौता कार्यान्वयन गरिने बताए । “यो सम्झौता कार्यान्वयन गर्नुपर्नेछ, सोही सम्झौताअनुसार हामीले बिजुलीको पैसा र पानी लिएका छौँ, अब पनि दोधारा–चाँदनीबाट थप पानी ल्याउनेछौँ”, उनले भने ।

  • दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

    दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

    काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र।३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई आज पक्राउ गरिएको हो ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङलाई पक्राउ गरिएको हो ।

  • प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

    प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने

    १४ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन आज साँझ त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

    राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन प्रस्थान

    १४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे ।

    प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधि सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायत छन् । प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

    १४ असार, दमौली । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो । उक्त कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले कालोपत्रको मुख्य काम सकिएसँगै अनौपचारिक रुपमा कार्यक्रम गरी खुसी साटासाट गरिएको जानकारी दिए । उनले भने, “पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको चार लेनमा ‘डबल’ लेनमा कालोपत्र सकिएको छ, मुख्य काम सकिएको खुसियालीमा निर्माण कम्पनीले अनौपचारिक हिसाबले कार्यक्रम गरेको हो ।”

    पाण्डेका अनुसार पूर्वी खण्डमा अब स–साना काम मात्रै बाँकी छ । ४१ दशमलव पाँच किलोमिटर दूरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम पनि भइरहेका छन् । सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको उनको भनाइ छ । यो खण्डको अन्तिम म्याद आगामी असार २९ गतेसम्म रहेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

  • पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुईको मृत्यु, एक घाइते

    १४ असार, वीरगञ्ज । पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्रयाक्टर आज दिउँसो १ः३० बजे भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए ।

    मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८ बगहीका शिवु पटेल र सोही ठाउँका आकाश पटेल छन् । सोही समयमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवै जनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

  • एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

    एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

    १४ असार, काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए । प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको बताए । “यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ ।

    गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहिनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन आउने छ । सबै भाइबहिनीहरूलाई बधाई ” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् प्रधानमन्त्री ओलीले विद्यार्थी नानीबाबुको मेहिनत सफल भएको र अब भविष्य निर्माणको अर्को यात्रा सुरू गर्न आग्रह गरेका छन् ।

  • शुक्लाफाँटामा पाटेबाघको आतङ्क

    शुक्लाफाँटामा पाटेबाघको आतङ्क

    कञ्चनपुर, १४ असार : शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्कने बयस्क पाटेबाघले बस्तीमा पसेर गाईभैँसीजस्ता घरपालुवा जनावरको खान थलेपछि जनजीवन प्रभावित भएको हो । गएराति मात्र स्थानीय हेमा धामीको ब्याउने गाईलाई पाटेबाघले गोठबाट तानेर दुई सय मिटर पर लगेर खाएको घटना सार्वजनिक भएको छ । यसअघि देवकी पाण्डेयको लैनो भैँसी र कञ्जडो धामीको गाईलाई पनि गोठमैबाट तानेर बाघले खाएको थियो ।

    केही महिना पहिले गोठमै गाई दुहुँदै गरेकी मानमती धामीमाथि बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । वडा सदस्य जयराज पाण्डेयले बाघ साँझ पर्न नपाउँदै बस्तीमा देखा पर्न थालेको बताए । बाघ अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उनका अनुसार पाटेबाघको निगरानीका लागि निकुञ्ज कार्यालयले चारवटा स्वचालित क्यामेरा जडान गरेको छ । जसमा वयस्क बाघ देखिएको पुष्टि भएको छ । बाघको जोखिम न्यूनीकरणका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली गस्तीमा छ भने वन रक्षकहरूले पनि निगरानी बढाएका छन् ।

    स्थानीय शिवी लुहार भन्छन्, “बाघ हिजो पनि देखिएको थियो, अस्ति पनि, अहिले त बस्तीमा राति हिँडडुल गर्न पनि डर लाग्न थालेको छ, कहिले मानवीय क्षति हुन्छ भन्ने चिन्ता बढेको छ ।” बाघमात्र होइन, हात्तीजस्ता अन्य जङ्गली जनावरहरूले पनि अन्नबालीमा क्षति पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । त्यसमा पनि बाघले गोठमै बाँधिएका चौपाया खाइदिन थालेपछि समस्या झन् जटिल बनेको छ ।

    स्थानीय बासिन्दाहरूको माग छ, “निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीमा विद्युतीय मेसवायर जडान गरियोस, जसले गर्दा जङ्गली जनावरको मानविय बस्तीमा प्रवेश रोक्न सकियोस ।” वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार निकुञ्ज छेउमै बस्ती भएकाले स्थानीय किसानले बर्सेनि हैरानी खेप्नुपर्छ, विद्युतीय तार जडानका लागि पटकपटक माग गरिरहेका छौँ, तर अझै काम अगाडि बढ्न सकेको छैन, बढ्ने अश्वासन पाइएकाले काम अघि बढनेमा विश्वस्त छौँ ।

    उनका अनुसार वडाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको छ । यसै आर्थिक वर्षभित्र केही क्षेत्रमा मेसवायर जडान हुने जानकारी पाइएको छ । जङ्गली जनावर नियन्त्रणका लागि स्थायी समाधानका लागि प्रभावकारी सुरक्षामूलक संरचना र सक्रिय निकुञ्ज प्रशासनको समन्वय अपरिहार्य भएको उनले बताए ।

  • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

    काठमाडौँ, १३ असार । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारीगरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।

    विभागले भनेको छ, “असार १४ गते शनिबार साँझदेखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमासमेत भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको छ ।”

    महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ । यस प्रणालीको प्रभावले यही शनिबार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।

    तसर्थ, सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

    यस मनसुन प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने विशेष बुलेटिनमा उल्लेख छ । तसर्थ यस महाशाखाबाट जारी हुने तीनदिने मौसम बुलेटिन नियमित हेर्नुहुन र अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि भनिएको छ ।

  • एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    एसइई परीक्षाको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    भक्तपुर, १३ असारः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।

    परीक्षामा दुई लाख ७१ हजार २९९ परीक्षार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छ्न् । जसमध्ये ३।६ देखि ४ जीपीए अर्थात विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ जना रहेका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८९ हजार १२४ जना, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र २ जीपीएभन्दा कम ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।

    नन् ग्रेडेड अर्थात परीक्षामा अनुतीर्ण हुने एक लाख ६७ हजार ५९७ परीक्षार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । परीक्षामा सहभागिमध्ये १२६ जनाको परीक्षा रद्ध गरिएको छ । परीक्षामा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबभन्दा बढी एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।


    त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा शर्माले बताए । पर्रीक्षार्थी कोशी प्रदेशमा २३ हजार ६३१ जना, मधेस प्रदेशमा ४२ हजार ७७९ जना, वागमति प्रदेशबाट २० हजार ९४६, गण्डकी प्रदेशबाट ११ हजार ३२८, लुम्बिनी प्रदेशबाट २८ हजार २७४ जना कर्णाली प्रदेशबाट १३ हजार ७६५ जना र सुदुरपश्चिम प्रदेशबाट २६ हजार ८७६ जना परीक्षार्थी उनुत्तीर्ण भएका छन् ।


    एसईइको नतिजा गत वर्षभन्दा यस वर्ष नतिजामा सुधार भएर आएको छ । बोर्डका अध्यक्ष डा शर्माले विगतका वर्षमा भन्दा यसवर्ष नतिजामा सुधार आएको बताउदै गतवर्ष अर्थात २०८० सालको एसइईको नतिजामा ४७ दशमलव ८६ प्रतिशत मात्रै उत्तीर्ण भएकोमा यसवर्ष २०८१ कोे नतिजामा १३।९५ प्रतिशतले सुधार भएर ६१।८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । नतिजा प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गर्दै उत्तीर्ण विद्यार्थीलई शुभकामा व्यक्त गर्नु भएको छ ।
    एसइईका आज सार्वजनिक भएको नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा शर्माले यसवर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएको बताए ।

    समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद् भएको छ । विद्यार्थीलाई अंग्रेजी विषय पनि उस्तै गाह्रो भएको उहाँले बताउनुभयो । अंग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको उनले बताए । बोर्डका अनुसार, ऐच्छिक विषयमा पनि धेरै विद्यार्थी एनजीमा परेका छन् । ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० विद्यार्थी ननग्रेडिङमा परेका छन् । त्यस्तै ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी असफल भएका छन् ।

    एसइईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । बिहीबारदेखि हुने र तालिका पछि प्रकाशित गर्ने बताउनुभयो । विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुन परीक्षण गर्न सकिने उनले जानकारी दिनुभयो । यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने भएको छ ।

  • भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बैतडी, १४ असारः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

  • पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    १३ असार, मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

    “हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उनले भने । समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।

    “अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उनले भने । जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा-जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए । बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।

  • इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

    इरानले अवरूद्ध हवाई सेवा क्रमशः सञ्चालन गर्दै

    १३ असार, काठमाडौं । इरानले बुधबार आन्तरिक तथा बाह्य उडानका लागि आफ्नो पूर्वी हवाई क्षेत्र खुला गर्ने घोषणा गरेको छ। इरानको सडक तथा सहरी विकास मन्त्रालयले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको नागरिक उड्डयन सङ्गठनको स्वीकृति र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा मूल्याङ्कन पूरा भएपछि यो निर्णय गरिएको हो ।” मन्त्रालयका प्रवक्ता माजिद अखवानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो कदमले हवाई यातायातलाई क्रमशः द्वन्द्वपूर्वको स्तरमा फर्काउने लक्ष्य इरान सरकारले लिएको छ ।”

    इजरायलसँगको पछिल्लो द्वन्द्वपछि यात्रुको सुरक्षाको कारण देखाउँदै इरानले बिहीबार दिउँसोसम्मका लागि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानस्थगन गरेको अखवानले बताए । उनले भने, “हालैका घटनाक्रमलाई ध्यानमा राख्दै र यात्रु र उडानहरूको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको हो।” इजरायलले तेहरान र अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणपछि इरानले जुन १३ मा आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

  • उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

    उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दावी

    एजेन्सी
    १३ असार, काठमाडौं । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन सम्भवतः जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन्। उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनस्र्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए । उनको भनाइ एक सातापछि पुष्टि भएको हो ।

    “उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुस्र्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौं,” दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले गुप्तचर निकायको जानकारीलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भने । “गत वर्षको अक्टोबरमा ११ हजार सैनिक पठाएपछि रुसले कुस्र्कको पुनर्निर्माणमा सहयोग गर्न चार हजार सैनिक र थप छ हजार निर्माणशक्ति परिचालन गर्ने घोषणा गरिसकेको छ,” लीले भने ।


    राष्ट्रिय गुप्तचर सेवाको आँकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको सुरुमा हुन सक्छ’। “यसको प्रमाण के हो भने शोइगुले अघिल्लो तैनाथीको समयमा पनि लगभग एक महिना अघि प्योङयाङको भ्रमण गर्नुभएको थियो र अहिले पनि त्यो देखिन्छ,” लीले भने । तयारी पहिले नै चलिरहेको सङ्केत गर्दै उनले भने, “उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारीहरू चयन गर्न सुरु गरिरहेको जानकारी छ।”

    तीन वर्षभन्दा लामो युक्रेनी आक्रमणका क्रममा उत्तर कोरिया रुसको प्रमुख सहयोगी बनेको छ र कुस्र्कबाट युक्रेनी सेनालाई पछि हटाउन क्रेमलिनलाई सहयोग गर्न हजारौं सैनिक र कन्टेनरभर हतियार पठाएको छ । “उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौं तोपका गोला उपलब्ध गराएको विश्वास गरिन्छ,” लीले भने । गत वर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्ति सम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

    दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भने, “अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।” प्योङयाङले गत अप्रिलमा पहिलो पटक युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना तैनाथ गरेको पुष्टि गरेको थियो ।
    उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजनाको पुष्टि गरेका छन्, तर विस्तृत विवरण भने दिएका छैनन् ।

  • सिंगापुरको उत्पादन क्षेत्र वार्षिक रूपमा ३.९ प्रतिशतले वृद्धि

    सिंगापुरको उत्पादन क्षेत्र वार्षिक रूपमा ३.९ प्रतिशतले वृद्धि

    एजेन्सी
    १३ असार, काठमाडौं । सिंगापुरको उत्पादन क्षेत्रले मे महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले वृद्धि गरेको छ। सिंगापुरको आर्थिक विकास बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अघिल्लो महिना अर्थात् वैशाखमा यो वृद्धिदर ५.९ प्रतिशत रहेको थियो। मौसमी रुपमा मिलाइएको मासिक आधारमा हेर्दा, कुल उत्पादन ०.४ प्रतिशतले घटेको देखिएको छ। तर, औषधिजन्य उत्पादनलाई बाहिर राख्दा, उत्पादनमा ०.७ प्रतिशतको वृद्धिदर देखिएको छ।

    उत्पादन वृद्धिमा यातायात प्रविधि क्षेत्र सबैभन्दा अगाडि रहेको छ, जसमा वार्षिक रूपमा २५.६ प्रतिशतको वृद्धि देखिएको छ। यस क्षेत्रभित्र हवाई प्रविधि उपक्षेत्रले ४३.६ प्रतिशतले वृद्धि गरेको छ, जुन हवाई जहाजका भागपुर्जा उत्पादन र वाणिज्यिक विमानहरूमा मर्मत, जाँच र सुधारका कार्य बढेका कारण भएको हो। जल तथा अपतटीय प्रविधि उपक्षेत्रमा पनि पानीजहाज कारखानाहरूमा गतिविधि बढेसँगै ५.३ प्रतिशतको वृद्धि भएको छ।

    यन्त्रनिर्माण, औषधिजन्य उत्पादन, विद्युतीय सामग्री निर्माण, र रासायनिक उत्पादन क्षेत्रहरूमा पनि वार्षिक रुपमा सकारात्मक वृद्धि देखिएको छ। तर, सामान्य उत्पादन क्षेत्र भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

  • लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

    लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

    १२ असार, काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ। यो जानकारी स्थानिय सञ्चार माध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार, इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको हो।

    त्यसैगरी अर्को घटनामा, शक्रा र बराचित गाउँहरूबीच सडक निर्माणका लागि प्रयोग भइरहेको एक बुलडोजरलाई अर्को ड्रोन आक्रमणले लक्षित गर्दा एक जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन स्वास्थ्य कार्य सञ्चालन केन्द्रले जनाएको छ।

    लेबनानी सुरक्षाकर्मीले सिन्ह्वालाई दिएको जानकारीअनुसार, दुबै मृतकहरू हिजबुल्लाहसँग सम्बद्ध थिए। यी घटनाहरू इजरायल र हिजबुल्लाहबीच नोभेम्बर २७, २०२४ देखि लागू भएको युद्धविराम सम्झौताका बावजुद भएका हुन्। सो सम्झौताले गाजा क्षेत्रमा भएको युद्धपछि करिब एक वर्ष लामो संघर्ष अन्त्य गराएको थियो। यद्यपि, इजरायली सेनाले हिजबुल्लाहबाट हुने सम्भावित खतरा हटाउने उद्देश्यले छिटपुट रूपमा लेबनानमा आक्रमण जारी राखेको दाबी गर्दै आएको छ।