Category: समाचार

  • अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

    अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

    १२ असार, टक्सार । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन । उनीहरुको खोजी कार्य भने जारी राखिएको छ । हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का बिद्यार्थी हुन् । आफ्ना छोरीहरु बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

    आफन्तले खबर गरेसँगै बालिकाहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ ।

  • काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

    काठमाडौंमा ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

    १२ असार, काठमाडौं । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पाति नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो । काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

    काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिइन् ।


    कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिइन् ।


    यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उनले बताइन् । तीनदिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ । यी तीनवटै रेस्टुरेन्टले महोत्सवलाई आकर्षक बनाउने गरी तयारी भइरहेको जनाएका छन् ।

  • ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

    ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

    १२ असार, सुदूरपश्चिम । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरे । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए ।

    पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । पन्चानब्बे प्रतिशत माथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषाण गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलब १९ प्रतिशत साक्षर भइसकेका छन् ।

    उनले भने, “साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा गरेमा सम्बन्धितलाई साक्षरताको प्रमाणपत्र दिन सकिन्छ, वडा, पालिका, जिल्लालाई क्रमशः साक्षर घोषणा गरिसकेपछि आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।” प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो ।

    सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो । यो उमेर समूह (१५ देखि ६० वर्ष) प्रदेशको कैलालीमा ९६ दशमलब २०, कञ्चनपुरमा ९६ दशमलब २१, अछाममा ९५ दशमलब ५५, डोटीमा ९६ दशमलब ५५, बाजुरामा ९७ दशमलब ३१, बझाङ ९५ दशमलब ६०, डडेलधुरामा ९६ दशमलब आठ, बैतडीमा ९६ दशमलब ५३ र दार्चुला जिल्लामा ९५ दशमलब ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    यसअघि प्रदेशका सबै नौ जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारको साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्र बमोजिम साक्षर वडा, स्थानीय तह र जिल्ला तथा प्रदेश साक्षर घोषणा गर्ने नीतिअनुरुप २०७१ असारमा साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धपाञ्चोक हो । देश भरी हालसम्म ६६ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

  • विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    १२ असार, काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरे । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।

    यो विवरण प्राप्त भएपछि नेपाली नागरिक रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाको तत्कालै उद्धार गर्नसमेत सहज हुनेछ । परराष्ट्र मन्त्री डा राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपाली सूचना कै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासा मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताए ।
    साथै श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकालाई पनि सम्बद्ध देशको नेपाली दूताबासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उहाँहरुलाई सहज हुने मन्त्री डा राणाले बताइन् ।

    उनले भनिन्, “विशेषगरी श्रम स्वीकृति बिना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो ‘वैधानिकीकरण श्रम स्वीकृति’को व्यवस्था सम्बन्धित दूताबासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रूपमा जानेलाई प्रोत्साहन गरेको भने होइन ।”

    मन्त्री डा राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीका समस्या धेरै आउन थालेकाले उहाँहरुको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको जानकारी दिइन् । श्रममन्त्री भण्डारीले आज सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए ।

    उनले नेपाली को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजबिहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि बञ्चित भएका नेपाली श्रमिकलाई यसले ठूलो सहायता प्रदान गर्ने उनको भनाइ छ । परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको उक्त एज्पलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । सो एपमा ती देशमा रहेका नेपालीले आफ्नो विवरण भने भर्नुपर्नेछ ।

  • कमला नदीमा पुल निर्माण चाँडै

    कमला नदीमा पुल निर्माण चाँडै

    १२ असार, सिरहा । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा रु एक करोड विनियोजन गरेको छ । बर्खायाममा कमला नदीमा पुल नहुँदा आवत–जावतमा कठिनाई व्यहोर्दै आएका थिए । यहाँ १४ वर्षदेखि पुल निर्माणाधिन थियो । सर्वसाधारणले जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता थियो । मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा यो योजना अघि बढाइएको हो ।


    उनले भने, “कमला नदीमा पुल निर्माण गर्नु धनुषा–सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशको आवश्यकता हो । हामी यो कार्य दृढताका साथ अगाडि बढाउँछौँ ।” रु एक करोडले मात्र पुल निर्माण सम्भव नभएको उनले बताए । मुख्यमन्त्री सिंहका अनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा थप बजेटको व्यवस्था गरिनेछ ।

    सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले भने, “थोरै बजेट राखेर भएपनि प्रदेश सरकारले कमला पुललाई समेटेको छ । पुल बनाउन यो रकम पर्याप्त छैन । सङ्घीय सरकारले पनि यसका लागि सहयोग गरोस् ।” निर्माणाधिन अवस्थामै भासिएको यो पुल विगत लामो समयदेखि जीर्ण छ । वर्षा याममा नदी पार गर्न बाँसको अस्थायी संरचना बनाइएको छ ।

  • अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

    अष्ट्रेलियाको मुद्रास्फीतिमा क्रमिक कमी

    एजेन्सी
    १२ असार, काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २।१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४ अक्टोबरमा सबैभन्दा कम वार्षिक रेकडै हो ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मे महिनामा २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए। अस्ट्रेलियाको रिजर्भ बैंक अफ अस्ट्रेलियाको आन्तरिक मुद्रास्फितिको प्राथमिकताको मापन, वार्षिक कटौती गरिएको औसत दर अप्रिलमा २.८ प्रतिशतबाट घटेर मे सम्मको १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले यस वर्ष मे महिनामा उपभोक्ता मूल्य सूचकाङ्क २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।
    अष्ट्रेलियाको रिजर्भ बैङ्कको अन्तर्निहित मुद्रास्फीतिको वार्षिक औसत मापन यस वर्षको अप्रिलमा २.८ प्रतिशतबाट घटेर १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ । एबीएसका तथ्याङ्क प्रमुख मिचेल माक्र्वार्टले नोभेम्बर २०२१ पछि वार्षिक छाँटकाँट गरिएको औसत मुद्रास्फीतिको सबैभन्दा कम दर हो ।


    एबीएसले मे महिनामा खाद्य, मादक पेय पदार्थ, आवास, रक्सी र सुर्र्तीजन्य पदार्थले सिपिआईको वृद्धिमा सबैभन्दा ठूलो योगदान दिएको बताएको छ । अप्रिलमा ३.१ प्रतिशत रहेको खाद्य र मादक पदार्थको मूल्य गत बर्षको १२ महिनाको अवधिमा थप २.९ प्रतिशतले बढेको छ ।

    गत बर्षको अप्रिलमा ५.० प्रतिशत कायम रहेको भाडा मे महिना अर्थात् बितेका १२ महिनामा ४.५ प्रतिशत कायम भएको छ र यो डिसेम्बर २०२२ पछि सबैभन्दा कम वार्षिक वृद्धि हो । वृद्धिहरूमा १२ महिनामा बिजुलीको मुल्यमा ५.९ प्रतिशतले गिरावट आएको थियो, जुन सरकारी छुटहरूद्वारा सञ्चालित थियो । मोटर तथा इन्धनको मूल्य समान अवधिमा १० प्रतिशतले घटेर सेप्टेम्बर २०२२ पछि सबैभन्दा कम अवस्थामा पुगेको छ ।

  • विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा

    विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा

    एजेन्सी
    १२ असार, काठमाडौं । विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ । बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर खर्च हुने अनुमान गरेको थियो ।

    “विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरूको सबैभन्दा जरुरी मर्मत र पुनर्निर्माण तथा द्वन्द्व प्रभावित क्षेत्रहरूमा भग्नावेशषको दिगो व्यवस्थापनलाई सहयोग गर्न २५ करोड अमेरिकी डलरको आर्थिक सहयोग स्वीकृत गरेको छ”, बैंकले एक विज्ञप्तिमा भन्यो ।

    विश्व बैंकको मध्यपूर्व विभागका डिभिजन निर्देशक जिन–क्रिस्टोफ कार्रेटले भने, “लेबनानको ठूलो पुनर्निर्माण आवश्यकतालाई ध्यानमा राख्दै परियोजनालाई विश्व बैंकबाट प्रारम्भिक २५ करोड डलर योगदानका साथ एक अर्ब डलरको स्केलेबल फ्रेमवर्कको रूपमा संरचित गरिएको छ ।” लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस निर्णयलाई स्वागत गर्दै यस परियोजनालाई ‘युद्ध प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण पूर्वाधार र आवश्यक सेवाहरूमा भएको क्षतिको जवाफ दिएर पुनर्निर्माणको महत्त्वपूर्ण कदम’ भनेका छन् ।


    “यो सहयोगले राज्यको नेतृत्वमा रहेको कार्यान्वयन ढाँचाभित्र पुनर्प्राप्ति प्रयासहरूलाई बलियो बनाउँछ र धेरै आवश्यक अतिरिक्त वित्तपोषणको लाभ उठाउँछ”, उनले भने । लेबनानी समूह हिजबुल्लाह र इजरायलबीच सेप्टेम्बरमा सुरु भएको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुता नोभेम्बरको अन्त्यमा युद्धविराम सम्झौतामा समाप्त भएको थियो ।

    द्वन्द्वले लेबनानभर व्यापक विनाश गर्‍यो । विशेष गरी देशको दक्षिण र पूर्वमा हिजबुल्लाहको गढ र बेरुतको दक्षिणी उपनगरहरूमा ठूलो विनाश ल्यायो र सन् २०१९ मा सुरु भएको आर्थिक सङ्कटले गर्दा आर्थिक सङ्कटलाई अझ बढाएको छ । पुनर्निर्माण लेबनानको सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो । बेरुतले युद्धपछिको पुनर्प्राप्तिको वित्तपोषणका लागि विदेशी सहायता खोजिरहेको छ ।

  • दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    १२ असार, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए ।
    मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।” मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनले भने, बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएका छाँै, जिआइ पाइप जडान कार्य भइरहेको, पाइप जडानपछि क्रङ्क्रिट गरेपछि मात्रै पानी सुचारु गरिनेछ ।”

  • खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

    खोल्सामा आएको बाढीले बगाएर ललितपुरमा सवइञ्जिनियरको मृत्यु

    १२ असार, पाटन । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

    “खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उनले भने ।

  • आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

    १२ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

  • गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

    गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

    एजेन्सी
    १२ असार, काठमाडौं । इजरायली सुरक्षाकर्मीहरूले गाजा क्षेत्रमा गरेको हवाई आक्रमण तथा गोली प्रहारका कारण बुधबार कम्तीमा ३८ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाका स्वास्थ्य स्रोतहरूले जानकारी दिएका छन् । गाजाको दक्षिणी भागमा भएको झडपका क्रममा इजरायली सेनाका सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि इजरायली सेनाले जानकारी गराएको छ ।

    स्थानीय प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीहरूका अनुसार, गाजाको केन्द्रमा रहेको नेतजारिम गलैंचामा अमेरिकी सहयोग प्राप्त खाद्य सहायता वितरण केन्द्र नजिकै खाना लिन पर्खिरहेका नागरिकहरूलाई लक्षित गरी गोली चलाइएको थियो । अल–अव्दा अस्पतालले १० वटा शवहरू प्राप्त भएको र ५३ जना घाइतेको उपचार गरिएको जनाएको छ ।

    त्यसैगरी, गाजाको दक्षिणी क्षेत्रमा पर्ने राफाहको उत्तरतर्फको अल–शकुश क्षेत्रमा भएको अर्को घटनामा इजरायली फायरिङबाट एक जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार गाजा सहरको पूर्वी क्षेत्रमा रहेको अल–शुजैय्या क्षेत्रमा एक इन्धन स्टेशननजिक रहेको भवनमा भएको हवाई आक्रमणका कारण एउटै परिवारका सात सदस्यहरूको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । त्यस्तै, देर अल–बालाह, अल–नुसेरात शरणार्थी शिविर र जबालियामा भएका अन्य आक्रमणहरूमा पनि कम्तीमा १५ जनाको मृत्यु भएको तथा अरू केही हराइरहेका जनाइएको छ ।

    गाजाको पश्चिमी क्षेत्रमा रहेको अन्सार सरकारी भवन नजिक भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ, जसमा एक महिला र एक बालक पनि परेका छन् । यी घटनाहरूमा इजरायली पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन। यसैबीच, इजरायली सेनाले मंगलबार गाजाको दक्षिणमा एक सशस्त्र सवारीसाधन विस्फोटमा परेको घटनामा सात जना आफ्ना सैनिकको ज्यान गएको पुष्टि गरेको छ ।

    इजरायलले मार्च १८ देखि गाजामा पुनः सैन्य कारबाही सुरु गरेको हो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, त्यसयता पाँच ७५९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने १९ हजार ८०७ जना घाइते भएका छन्। युद्ध सुरु भएको सन् २०२३ को अक्टोबर यता गाजामा कूल ५६ हजार ७७ जनाको मृत्यु भएको र एक लाख ३१ हजार ८४८ जना घाइते भएको जनाइएको छ ।

  • अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा एमालेलाई बुझाए मासिक २५ हजार लेबी

    अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा एमालेलाई बुझाए मासिक २५ हजार लेबी

    १२ असार, ललितपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् ।

    अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाए । एमालेमा प्रधानमन्त्री पदमा रहेका व्यक्तिले मासिक २५ हजार बुझाउनु पर्ने नियम बनाइएको छ । सामाजिक संजालमा भने राज्यको तलव कोष पार्टीलाई बुझाएको भन्दै आलोचना हुने गरेको छ ।

  • हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

    हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

    ११ असार, काठमाडौं । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन् । भारतीय पर्यटकहरु सिमकोटदेखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शनका लागि जान्छन् । काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा यहाँबाट सहज हुने भएकाले भारतीय पर्यटक यो मार्ग रोज्नेगर्छन् ।

    सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए । उहाँका अनुसार यही असार २ गतेयता कैलाश मानसरोवर जानका लागि ३६२ भारतीय यात्री हवाई मार्ग हुँदै हुम्ला आएका छन् । यहाँबाट यात्रुहरु सडक र हवाईमार्ग हुँदै हिल्सा जान्छन् भने त्यहाँबाट सडकमार्ग हुँदै चीन प्रवेश गर्छन् ।

  • एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

    एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

    ११ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरूलाई छ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्वन गरेको थियो । उपमहासचिव ज्ञवालीले पार्टीमा उहाँहरू दुवै जनालाई पार्टी काममा खटाउने निर्णय गरेको बताए । पार्टीभित्र राख्नुपर्ने कुरा सार्वजनिक गरेपछि स्थायी कमिटी सदस्य पाण्डे र तिमिल्सेनालाई कारबाही गरेको थियो ।

  • पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    ११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । आजै थुनछेक बहस भएको थियो । पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

    भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो । भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।

    १८ माघ, २०६६ मा माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्‍यो । कानूतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालिन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

  • पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

    पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

    ११ असार, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।
    आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएसँगै अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिए ।

    उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरे । पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो । आदेश आजै आउने तयारी भएको जनाइएको छ ।

  • भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ११ असार, कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।
    नागरिक संस्था किन नेपाल,किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

    रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको उनले बताए । उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पु¥याइएको थियो । रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

    सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ९डिआइजी० डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए । सुदूरपश्चिमका युवालाई आजै घर जाने व्यवस्था मिलाइएको छ भने अन्य जिल्लाका युवालाई बस्नका लागि प्रबन्ध गरिएको छ । उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।

  • भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    ११ असार, चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमान्सँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् ।

    लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

    शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

    ११ असार, काठमाडौं । शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।

    गमिरा साहको छोरा एक वर्षीय रन्जे साह र जगदिश साहको एक वर्षीया छोरी खुश्बु साह खेल्ने क्रममा शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मङ्गलबार राति दुवै बालबालिकाको खोजी गर्दा हृदय नारायण पासवानको घरको शौचालयको सेफ्टी ट्याङ्कीमा प्लाइले ढाकेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

  • पाँच महानगरको आयो बजेट, बालेनले ल्याउन सकेनन्

    पाँच महानगरको आयो बजेट, बालेनले ल्याउन सकेनन्

    ११ असार, काठमाडौं । संवैधानिक प्रावधानअनुसार सङ्घीय सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने गरेको छ । यस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मङ्गलबार अधिकांश स्थानीय तहले आगामी आवका लागि वार्षिक बजेट पेस गरेका छन् । केहीले निर्धारित मितिभन्दा अघि नै बजेट प्रस्तुत गरेका थिए । केही स्थानीय तहमा आन्तरिक विवादका कारण बजेट रोकिएको छ भने केहीमा प्राविधिक कारण देखाइएको छ । कूल छ वटा महानगरमध्ये काठमाडौँ महानगरको बजेट तोकिएको समयमा प्रस्तुत हुन सकेन ।

    विराटनगर, वीरगञ्ज, ललितपुर, भरतपुर र पोखरा महानगरले बजेट प्रस्तुत गरिसक्दा सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरले भने आन्तरिक विवादका कारण समयसीमाभित्र प्रस्तुत गर्न सकेन । सङ्घीय सरकारका केही मन्त्रालयको भन्दा बढी बजेट चलाउने काठमाडौँ महानगरको बजेटका बारेमा आम चासो रहने गरेको छ । काठमाडौँ महानगरको नगरसभा लामो समयदेखि बस्न सकेको छैन । नगरसभा बस्न नसकेको र बजेट प्रस्तुत हुन नसकेको सन्दर्भमा महानगरको तर्फबाट कुनै पनि आधिकारिक धारणा सार्वजनिक हुन सकेको छैन ।

    सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहकाबीचमा केही असमझदारी रहेको अनुमान गरिएको छ । महानगरको नीति तथा कार्यक्रम र बजेटकाबारेमा सम्बद्ध पदाधिकारीका बीचमा छलफल हुन सकेको छैन । यस्तै, देशका अन्य केही स्थानीय तहमा नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको छैन ।

  • थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलको भेट

    थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलको भेट

    ११ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन् । जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैङ्कक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन् ।

    नेपाली राजदूतावासको आयोजनामा बैङ्ककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ । दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे । “हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ”, मन्त्री पौडेलले भने ।


    थाइल्याण्डका लागि नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरु चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उहाँहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए ।

    अन्तक्र्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताए । साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराए । मन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउने कार्यक्रम छछ ।

  • देशभर मनसुनी वायुको प्रभाव

    देशभर मनसुनी वायुको प्रभाव

    ११ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ । सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही स्थानमा र बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने छ । सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

    रासस
    ११ असार, चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ ।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ । सङ्घले आजबाट लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको हो ।

    व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट)को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने पोखरेलले बताउनुभयो । चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको पोखरेलले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेका छैनन् ।

    विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनी बताँछन् । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।

  • इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

    इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या

    ११ असार, काठमाडौं । गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ । यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो । मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य एक सय ५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताए ।


    गाजा पट्टीमा मिडियामा इजरायली प्रतिबन्ध र केही क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ प्यालेस्टिनी क्षेत्रमा उद्धारकर्ता र अधिकारीहरूले प्रदान गरेको सङ्ख्या र विवरणहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न असमर्थ भएको बताइएको छ । बिहान गाजा सहरको एउटा घरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको र धेरै घाइते भएको बासलले बताए । बीस महिनाभन्दा बढीको युद्धपछि क्षेत्रभरि अनिकाल परेका कारण हजारौँ प्यालेस्टिनी गाजामा खाद्यान्न रासन प्राप्त गर्ने आशामा दैनिक भेला हुने गरेका छन् ।

    हमासद्वारा सञ्चालित गाजा पट्टीमा स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनाको अन्त्यदेखि सहायता माग्दै गर्दा इजरायली आक्रमण्मा कम्तीमा चार सय ५० जनाको मृत्यु भएको र करिब तीन हजार पाँच सय जना घाइते भएका छन् । उद्धारकर्ताहरूका अनुसार तीमध्ये धेरै गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित साइटहरू नजिकै रहेका छन् ।

    गाजामा निजी रूपमा सञ्चालित फाउन्डेसनको सञ्चालन अराजक दृश्यहरूले बिगारेको छ । संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र प्रमुख सहायता समूहहरूले यसलाई इजरायली सैन्य उद्देश्यहरू पूरा गर्न डिजाइन गरिएको चिन्ताका कारण सहयोग गर्न अस्वीकार गरेका छन् । इजरायलले इरानसँग युद्धविराम गर्न सहमत भएको घोषणा गरेपछि इजरायलका विपक्षी नेताले मङ्गलबार गाजामा युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । “अनि अब गाजा । यो त्यहाँ पनि समाप्त गर्ने समय हो । बन्धकहरूलाई फिर्ता ल्याउनुहोस्, युद्धको अन्त्य गर्नुहोस्”, यायर लापिडले एक्समा लेखे ।

  • सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

    सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

    एजेन्सी
    ११ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गरेका छन् । प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ । उनले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गरे । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन र सिङ्गापुरलाई ‘इतिहासको सही पक्षमा र निष्पक्षता र न्यायको पक्षमा उभिन’ काम गर्न आग्रह गरे ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष चीन र सिङ्गापुरलगायत देशहरूमा करको अवरोध सुरु गरेपछि संयुक्त राज्य अमेरिकामाथि परोक्ष रूपमा प्रहार गर्दै सीले भने, “विश्व आधिपत्यमा फर्किन सक्दैन वा जङ्गलको कानूनमा फिर्ता तानिन सक्दैन ।” बदलामा वोङले सीलाई ‘विश्वव्यापी अशान्ति र अनिश्चितता’ को समयमा सिङ्गापुर–चीन सम्बन्ध ‘पहिलेभन्दा बढी महत्त्वपूर्ण’ भएको विश्वास गरेको बताए । “हामी घनिष्ठ सम्बन्ध स्थापना गर्न सँगै काम गर्न सक्छौँ, सबै देशको फाइदाका लागि बहुपक्षवाद र नियम–आधारित विश्वव्यापी व्यवस्थालाई बलियो बनाउन जारी राख्न सक्छौँ”, वोङले भने ।


    सन् २०२४ मा संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको उत्तराधिकारी बनेका वोङले व्यापारमा निर्भर सहर–राज्यलाई ट्रम्पको करबाट नराम्रो असर पर्नसक्ने चेतावनी दिएका छन् । यद्यपि ट्रम्पले सिङ्गापुरमा आधारभूत १० प्रतिशत शुल्क लगाए पनि देश अन्तर्राष्ट्रिय व्यापारमा भारी निर्भरताका कारण दर्जनौँ अन्य देशमा लगाइएको धेरै उच्च करले गर्दा हुने विश्वव्यापी आर्थिक मन्दीको जोखिममा छ । बेइजिङमा आफ्नो बैठकपछि वोङ विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन उत्तरी चिनियाँ सहर तियान्जिन जानेछन् ।

  • इजरायल र इरानद्वारा युद्धविराम स्वीकार, १२ दिने युद्ध थामियो

    इजरायल र इरानद्वारा युद्धविराम स्वीकार, १२ दिने युद्ध थामियो

    एजेन्सी
    ११ असार, काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
    दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताए । नेतान्याहुले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई इरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको खतरा हटाउन लगायत इरान विरुद्धको १२ दिने अपरेसनमा इजरायलले आफ्ना सबै युद्ध लक्ष्यहरू हासिल गरेको बताए । इजरायलले इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटहरूलाई पनि क्षति पुर्‍याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको उनले बताए ।


    “इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ”, उनले भने । इरानी सहरहरूमा भारी इजराइली हमलाहरू बिहान ४ बजे (स्थानीय समय) को केही समय अघिसम्म जारी रहेको थियो । त्यसपछि इरानी आक्रमणले इजराइलीहरूलाई सूर्योदय हुँदा बम आश्रयमा हतारमा पठायो । इरानी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र आठ जना घाइते भएको इजराइलको मागेन डेभिड आदोम (एमडिए) उद्धार सेवाले बताएको छ ।

    इरानले आफ्ना आक्रमणहरू रोक्नका लागि समयसीमा पार गरेको एक घण्टाभन्दा बढी समयपछि ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “युद्धविराम अब प्रभावमा छ । कृपया यसलाई उल्लङ्घन नगर्नुहोस् ।’इरानी राज्य टेलिभिजनले युद्धविराम ७ः३० बजे (स्थानीय समय) मा लागू भएको तर इरानी अधिकारीहरूले ट्रम्पको घोषणापछि कुनै टिप्पणी नगरेको बताएको छ । केही घन्टाअघि इरानका शीर्ष कूटनीतिज्ञले देश हवाई आक्रमण रोक्न तयार रहेको बताएका थिए ।

    “अहिलेसम्म कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको अन्त्यमा कुनै ‘सम्झौता’ भएको छैन”, इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एक पोस्टमा लेखेका छन्, “यद्यपि इजरायली शासनले इरानी जनता विरुद्धको आफ्नो अवैध आक्रमण तेहरान समय बिहान ४ बजे भन्दा पछि रोक्छ भने, हामीसँग पछि हाम्रो प्रतिक्रिया जारी राख्ने कुनै मनसाय छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ ।”

  • इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

    इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

    ११ असार, काठमाडौं । इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्राष्ट्रिय हवाई उडानहरूका लागि हवाई मार्ग पुनः खोलिएको घोषणा गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जारी गरेको विज्ञप्तिमा यो निर्णय सुरक्षाको व्यापक मूल्याङ्कन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँगको समन्वय पश्चात् गरिएको जनाएको छ ।

    प्राधिकरणका अध्यक्ष बाङ्गिन रेकार्नीका अनुसार, इराकको हालको सुरक्षा स्थिति हवाई उडान सञ्चालनका लागि पर्याप्त विश्वसनीय रहेको छ । उनले भने, “हवाई मार्ग पुनः सञ्चालनमा आएसँगै इराकको भौगोलिक महत्व थप मजबुत हुने विश्वास गरिएको छ, जसले पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो मार्गको रूपमा इराकको भूमिका बढाउनेछ । साथै, यसले वैश्विक उडानहरूको समय र इन्धन खर्च पनि घटाउनेछ ।”

    इराकले यसअघि जुन १३ मा सुरु भएको इजरायल–इरान द्वन्द्वपछि सम्भावित जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरूका लागि हवाई मार्ग अस्थायी रूपमा बन्द गरेको थियो । हाल सुरक्षात्मक मूल्याङ्कनका आधारमा सकारात्मक सुधार देखिएको भन्दै प्राधिकरणले हवाई मार्ग पुनः सञ्चालनमा ल्याउने निर्णय लिएको हो ।

  • भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

    भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

    १० असार, काठमाडौं । सरकारले अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसदहरुले समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले उक्त समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहेको जानकारी दिए ।

    व्यवस्थापन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानुन र संरचनात्मक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरेबमोजिम समिति गठन गरिएको मन्त्री लेखकले जानकारी दिए । यो विषयमा प्रतिपक्ष र सत्तापक्षबीच सहमति भएको थियो ।

    सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिमा प्रतिपक्षी दुई दलले असहमति जनाएका छन् । गृहमन्त्री लेखकपछि धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा गठित उक्त समितिलाई आफूहरुले अस्वीकार गर्ने बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणका सन्दर्भमा विगत १८ वर्षमा नियुक्त भएका १४ जना गृहमन्त्री उपर छानबिनको माग गरे । “अहिले गठित समितिमा हाम्रो असहमति छ, यो समितिले न्याय दिन सक्दैन, यो राजनीतिक र सत्तास्वार्थभन्दा माथि हो, यस प्रकरणमा जो सुकै दोषी भए पनि कारबाही गर्नुपर्छ”, उनले भने । बैठकमा आफ्ना धारणा राखेपछि दुई दलले बैठक बहिस्कार गरेका छन् ।

  • धुलिखेल–खावा  : ४ किलोमिटर सडकमा ४ वर्षदेखिको सास्ती

    धुलिखेल–खावा : ४ किलोमिटर सडकमा ४ वर्षदेखिको सास्ती

    १० असार, काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । चार किलोमिटर लम्बाईको यो सडक करिब चार वर्षसम्म सडक नबनेको र निर्माणले गति नलिएपछि ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले स्पष्ट गरेको छ । निर्माण सम्झौता रद्द भएको सो सडकखण्डको स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भए पनि नयाँ ठकेकेदारमार्फत काम थाल्न अझै केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ ।

    उक्त सडकखण्डको स्तरोन्नतिको काम तोकिएको समयसीमाभित्र पूरा नभएपछि नियमानुसार ठेक्का रद्द भएसँगै सम्बद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनाभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ठेक्का लिएको थियो ।
    ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशत निर्माण कार्य भएको थिएन । सम्झौता अनुसारको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको ‘गौरी–पार्वती निर्माण सेवा’सँगको ठेक्का रद्द गरेको थियो ।

    उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले ‘निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी रकम जफतलगायत कारबाही नगर्न तथा हाल जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश जारी गरेपछि सडकखण्ड निर्माणका काम अवरुद्ध भएको हो ।

    स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा अझै केही महिना लाग्ने भएकाले सवारीसाधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सिडिई सुमन योगेशले केही दिनमै नयाँ ‘स्टिमेट’ तयार गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउने जानकारी दिए । “नयाँ ठेक्काका लागि दुईदेखि साढे दुई महिना लाग्छ, भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्नेगरी तयारी हुन्छ,” उनले भने, सो सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का खोल्न रु ४२ करोड स्रोत सुनिश्चित भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अदालतको आदेशबाट पुनः ठेक्का प्रक्रिया अघि बढाउन कुनै बाधा पर्दैन । यसअघि लिखित स्पष्टीकरण दिए पनि सन्तोषजनक र विश्वसनीय जवाफ नआएकाले बाध्य भई ठेक्का रद्द गर्नु परेको हो । सो सडक निर्माण कार्यअन्तर्गत अहिलेसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा काट्ने काम मात्रै भएको छभने केही स्थानमा नाली तथा ‘ड्रेन–वाल’ लगाउने काम पनि भएको छ । जिपलाइनदेखि तल खावासम्म सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा ‘कटिङ’ गर्न बाँकी रहेको छ । अघिल्लो जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षाले बगाएर खण्डहरझैँ बनाएको थियो ।

    समयमै निर्माणसम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीसाधनका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सवारीसाधन दुर्घटना परी कैयौँ यात्रु घाइते हुनाका साथै उनीहरूले सास्ती व्यहोर्नु परेको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डको राजमार्ग १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।

    उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सो कार्यालयले नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको ‘डिबिएम र आस्फाल’ कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै छिमेकी मित्रराष्ट्र चीनसँगको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीसहित दोलखा, रामेछाप जिल्ला पुग्ने यो सडकखण्डको निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

  • भिजिट भिसाबारे गठित उच्चस्तरीय छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

    भिजिट भिसाबारे गठित उच्चस्तरीय छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

    १० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराएका हुन् ।

    उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ ।”

    अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण एवं तथ्यगत छानबीन गरी देखिने सशया समाधान गर्न नीतिगत, कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्ताव गर्ने गृहमन्त्री लेखकले बताए ।

    उनले अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सो को मस्यौदासहितको सुझाव पेश गर्ने पनि बताए ।


    “अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेश गर्ने र अध्यागमन व्यवस्थापन र नागरिकको आगमन तथा प्रस्थानमा समस्या सृजना हुन नदिन सम्बद्ध निकायबीचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्था बारेमा सुझाव पेश गर्नेछ”, कार्यादेशमा उल्लेख छ । अध्यागमन व्यवस्थापन र नागरिकको यात्रा सहजीकरण सम्बन्धमा अन्तरराष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेश अनुरुप कार्यान्वयन गर्न सकिने सुझाव पेश गरिने छ ।

    “भिजिट भिसा, श्रम भिसालगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिले बेहोर्नुपरेको समस्या तथा विदेशमा अवैधरुपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथाम गर्न अपनाउनुपर्ने उपायका सम्बन्धमा सुझाव पेश गरिने छ”, कार्यादेशमा भनिएको छ । समितिले अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज र छिटो छरितो बनाइ सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने र विदेश प्रस्थान तथा आगमन गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेश गर्ने कार्यादेशमा भनिएको छ ।

    समितिले अध्यागमनको आगमन र प्रस्थानको अभिलेखलाई सुरक्षित, दुरुस्त राख्न अपनाउनुपर्ने उपायका बारेमा सुझाव दिने र आफ्नो कार्यविधि आफैँ निर्धारण गर्ने, समितिले आवश्यकताअनुसार सरकारी, गैरसरकारी संस्थाका पदाधिकारीलाई आमन्त्रण गरी सुझाव लिन सक्ने छ । समितिले तीन महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ ।

    पूर्वमुख्य सचिव शङ्करदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको छ । गृहमन्त्री लेखकले समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहनुभएको जानकारी दिए ।समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र) प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।