Category: समाचार

  • संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

    संसदमा सांसद सिंहले पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि….

    ८ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिएका थिए ।

    सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिनुभएको मुख्य सचेतक बर्तौलाले बताए । सांसद सिंहले बोलिरहँदा पटकपटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिए ।

  • तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान दोस्रो पटक भाँचियो

    तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान दोस्रो पटक भाँचियो

    ८ असार, मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आज दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो ।

    मर्मत भइरहेको अवस्थामा आज दिउँसो पुलको स्पान एक्कासी पूरै भाँचिएको स्थानीय लेखनाथ ढुङ्गेलले बताए । गुणस्तरहीन सामग्री प्रयोग गरेर वा अन्य कारणले यसरी पटकपटक स्पान भाँचिएकाबारे खोजी हुनेपर्नेमा उनलेृ जोड दिए । भाँचिएको स्पान पूर्ण रूपमा पिल्लरबाट भत्किएर भुइँमा झरेको मन्थली–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईंले जानकारी दिए । पुल भत्किएको थाहा पाउनासाथ उक्त ठाउँमा स्थानीय घुइँचो लागेको थियो ।

    आगामी भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहेको थियो । निर्माणाधीन उक्त पुल भत्केपछि लामो प्रतीक्षामा रहेका स्थानीय बासिन्दा चिन्तित छन् । सडक विभागले आर्थिक वर्ष २०७७–७८ मा कूल रु २२ करोड ५५ लाख चार हजारमा ठेक्का सम्झौता गरेको थियो । चार वटा स्पानसहित कूल दुई सय ३० मिटर लामो उक्त पुल ११ मिटर चौडाइको थियो । कूल सम्झौता रकमको झण्डै ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेका छन् ।

    पुल सञ्चालनमा आएपछि मन्थली–खुर्कोट सडकखण्डभन्दा पकरबास गोगनपानीबाट सित्खा हुँदै सिन्धुलीको सुनकोसी गाउँपालिकाको मुल्कोट निस्केर छोटो दूरीमा काठमाडौँ आवतजावत गर्न सकिनेछ । सदरमुकाम मन्थलीबाट जिल्लाका तीन वटा पालिका जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई लिइएको थियो ।

  • मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

    ८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ ।

    त्यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने कम्पनीले जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम÷स्टिल उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम÷स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिए । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट गरे । छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरुलगायत सहभागी थिए ।

  • पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

    ८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । कोषका सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीउपर पशुपति क्षेत्र विकास कोष-सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना-हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार पशुपतिमा विद्युतीय शवदाहगृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध रु १० करोड ३३ लाख ९१ हजार ३० बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरिएको हो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरमा संलग्न प्रतिवादीहरू उपर सजायको मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

  • इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

    इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

    ८ असार, इलाम । इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए ।

    घाइतेमध्ये बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरीको झापास्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

    एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

    ८ असार, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम ओभलमा भर्खरै भएको टसमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्दैछ । एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

  • पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

    पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

    ८ असार, काभ्रेपलाञ्चोक । यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको रु २५ लाख र पाँचखाल नगरको रु नौ लाखको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन ९आइपीएम० प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    “केन्द्रमा सङ्कलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ”, खरेलले भने । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उनको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताए ।


    केन्द्रको जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार शुभारम्भ गरे । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताए ।


    नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अग्र्यानिक हुँदै गएको जनाइएको छ् । केन्द्रमा १८ महिने आइपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी सङ्कलन हुने अपेक्षा गरिएको छ ।

  • इरानमा बम खसालेपछि ट्रम्पको धम्की, के भने ?

    इरानमा बम खसालेपछि ट्रम्पको धम्की, के भने ?

    ८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरे लगत्तै एक सम्बोधन गरेका छन् । ट्रम्पले ती हमला निकै सफल भएको दावि गरेका छन् । यसबाट इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको फूल पेलोड खसालिएको उनले बताए । इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग शत्रुको आक्रमणमा परेको जनाएका छन् ।


    बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई कूटनीतिक रूपमा सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको जनाएको थियो।
    ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथ सोसल लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्।
    कैयौँ रिपब्लिकनहरूले डोनाल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया गरेका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।


    हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताए। यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुने चेतावनी उनले दिए । चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले इजरेलका लागि यस भयानक खतरा मेट्न एकसाथ काम गरेको बताए।

    त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ, इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने। याद रहोस्, धेरै निशानाहरू बाँकी छन्। आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ। उनले भने ।


    अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्। अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग पूर्ण समन्वयमा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई ुसाहसिक निर्णयु बताउँदै त्यसको प्रशंसा गरेका छन् । उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।


    ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी २ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्। ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्। ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्। यसअघि अमेरिकी सेनाले आफ्ना बी २ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो। त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए। बीबीसी

  • देशैभरी फैलियो मनसुन : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    देशैभरी फैलियो मनसुन : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    ८ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ ।

    वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागको धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    त्यसैगरी, महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

  • लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

    लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

    ८ असार, म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो ।

    विसं २०८२ असार १५ गतेसम्म ठेक्काको म्याद भएको योजनाको ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको आयोजनाका इञ्जिनियर वीरबल सुनारले बताउनुभयो । “सम्झौताअनुसारको परिणाममा नाली, पर्खाल निर्माण र ढलान गर्ने काम सकिएको छ”, उनले भने “प्राविधिक नापजाँच पनि भइसकेको छभने भुक्तानी दिन बाँकी छ ।”

    बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडक निर्माण गरिएको छ । रङरोगन भएको सडकमा ‘आइ क्याट’ राखिएको छ ।

    निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएका म्याग्दीका अन्य दुई योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका छन् ।

    बेनी नगरपालिकाले सञ्चालन गरको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्यभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ । विसं २०८१ पुस १९ गते रु दुई करोड नौ लाखमा निर्माण कम्पनीबीचमा ठेक्का सम्झौता गरेको योजना २०८२ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशबिन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति गर्ने काम चैतमा नै सकिएको थियो ।

    बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत तीन किलोमिटर दूरीको बेनी–गलेश्वर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता एक वर्षअघि नै सम्पन्न गरेका थिए । निर्माण कम्पनीले २०७९ पुस १७ गते रु १२ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको उक्त योजना २०८० पुसमा सकिएको थियो । “लक्ष्यअघि नै काम सम्पन्न गरे पनि भुक्तानी समयमा नपाउँदा समस्या भएको छ”, उनले भने, “झल्झट र झमेलामा पारेर भुक्तानीमा ढिलासुस्ती गरिदिदाँ निराश भएको छु ।”

    नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथै आकर्षक देखिएको छ । नदी किनारको सडकमा साँझ बिहान पैदलयात्रा गर्न र गर्मी छल्न बजारवासीको चहलपहल बढेको छ ।

    प्राविधिकहरूका अनुसार अन्तिमपटक ढलान भएको २१ दिनपछि सडकमा यातायात सञ्चालन गर्न सकिनेछ । क्रमागत योजनाअनुसार आगामी वर्ष दरवाङ बसपार्क ढलान र टर्मिनल भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा योजना प्रस्ताव गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

    “सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत बेनीबजारस्थित चक्रपथ स्तरोन्नति गरिएको हो”, उनले भने, “बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज, बजार क्षेत्रको भित्री भागमा सवारीको चाप र दुर्घटनाको जोखिम घटेको छ ।”

    बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत पक्की पर्खाल निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएपछि किनारमा माटो राखेर फिलिङ गरेर सडक बनाइएको थियो ।

  • इजरायल र इरान युद्धमा अमेरिका घुस्यो, तीन आणविक केन्द्रमा बम आक्रमण

    इजरायल र इरान युद्धमा अमेरिका घुस्यो, तीन आणविक केन्द्रमा बम आक्रमण

    ८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ।

    यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भने, सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन्। फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो। उनले थपे, सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो।

    यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्‍याएको हो। राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले प्रतिक्रिया दिने तयारी गरिरहेको देखिन्छ।

  • नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

    नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

    एजेन्सी
    ८ असार, काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस) ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र २०० भन्दा बढी मोटरसाइकल प्रयोग गरेका थिए ।

    आक्रमणपछि सेनाले उक्त क्षेत्रलाई सुरक्षित गर्न हवाई र स्थलबाट सर्वेक्षण सुरु गरेको बताइएको छ । आइएसले आफ्ना तर्फबाट जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको जिम्मेवारी लिएको छ । मन्त्रालयले थप विवरणहरू पर्खिरहेको बताएको छ । यस घटनाले क्षेत्रीय सुरक्षा अवस्थाको गम्भीरता झल्काउँछ भने सुरक्षा बलहरू अझ सर्तक बन्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।

  • इरानमा रहेका नेपालीको भारतीय सहयोगमा उद्धार गरिँदै

    इरानमा रहेका नेपालीको भारतीय सहयोगमा उद्धार गरिँदै

    ७ असार, काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राससलाई बताइन् । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् । परराष्ट्रमन्त्री डा राणाले भनिन्, “इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।”

    सरकारको निर्देशनअनुसार भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्मा पनि इरानमा रहेका नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा रहेको बताइएको छ । तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।

  • प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

    प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

    ७ असार, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल हरेक दिन जसो जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।

    यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनःबैठकमा आउने गर्छन् । कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरु बैठकबाट बाहिरिएको बताए । “सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवन मै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ”, उनले भने ।

  • कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

    कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

    ७ असार, गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताए ।

    “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौ,” प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

  • दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

    दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

    ७ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ । आज सङ्घीय मामिला तथा समान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकमा छलफल भएको हो ।

    छलफलमा सांसदहरू डा चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मिना तामाङ, लालप्रसाद साँवा लिम्बु, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी भए । सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र सचिवालयको विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफका लागि यही असार ८, ९ र १० गतेका लागि समय निर्धारण गरिएको जानकारी गराए ।


    सभामुखले प्रतिनिधिसभाको भोलिको बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहरी विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार ८ गते बिहान ११ बजे बस्नेछ ।

  • चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

    चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते

    ७ असार, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

  • डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

    डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

    ७ असार, सिरहा । यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ । विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो । उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो ।

    निर्धारित समयसीमा अगाडीनै काम सम्पन्न भएर उदाहरणीय आयोजना बनेको धनगढीमाई नगरप्रमुख शिव शंकर महतोले बताए । नगरभित्रका अन्य खानेपानीको आयोजनाहरु लामो समय व्यतित हुँदा निर्माणाधिन अवस्थामै जीर्ण हुँने गरेको जनाउँदै उनले भने, “मलाई त आश्चर्य लागेको छ । समयसीमा अगावै काम सम्पन्न हुनु गौरवको विषय हो । अन्य निर्माणाधिन आयोजना पनि समयमै सम्पन्न गर्न यसले सकरात्मक सन्देश दिएको छ ।” खानेपानी आयोजनालाई राजनीतिकरण गरिने र प्रतिष्ठासँग जोड्ने प्रवित्तिले आम जनता वाक्क भएको अनुभूति आफूले गरेको उनको भनाइ थियो ।

    यस खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्नका लागि ‘डावरटोल नैनपुर टोल खानेपानी तथा सरसफाई उपभोक्ता समिति’ले काम गरेको थियो । समितिका अध्यक्ष श्रवण ठकुरी भने, हामीले गत जेठमै काम सम्पन्न गरिसकेका थियौँ । जेठबाटै परीक्षणका रुपमा पानी उपभोक्तालाई वितरण गरिसकेका थियौँ । निरन्तरको सक्रियता, लगनशीलता र मिहिनेतले यो सम्भव भएको हो ।”

    कूल रु १० करोड छ लाख ५८ हजार लागत रहेको यस आयोजनाबाट वडा नं १३, १२ र ११ का एक हजार चार सय ४७ घरधुरीका आठ हजार छ सय ४२ भन्दाबढी जनसंख्या लाभान्वित भएका जनाइएको छ । स्थानीयले खोला, कुवा र पोखरीको दूषित पानी खानुपर्ने दिनहरु अब सदाका लागि अन्त्य भएको छ ।

  • डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

    डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

    ७ असार, ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो ।

    योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती भएको हो ।

    विसं २०७२ मा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् । यहाँको झण्डै १०० घरधुरीको घर घरमा धारा निर्माण भएका छन् ।

    घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उनको भनाइ छ ।

    अध्यक्ष पुनले भने, “यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ, आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ ।”

    करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउँछन् । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउँछन् । वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताए ।

    अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ । बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउँछन् ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताए । आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पुर्‍याउने उहाँको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले बताए । रासस

  • दुम्कीबास दाउन्ने सडकमा निरन्तर सास्ती

    दुम्कीबास दाउन्ने सडकमा निरन्तर सास्ती

    ७ असार, मध्यविन्दु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् । बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो ।

    उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।” एकतीस वर्षीय शिवनारायण थारु काठमाडौँबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फसेका थिए । उनी बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाए । “त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,” शिवनारायणले भने ।


    सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् । यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रवार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिए ।

    प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताए । “स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको छ”, उनले भने, “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ ।”

    विसं २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ ।

    सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ ।

  • बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

    बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

    ७ असार, मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ ।
    गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको हो । गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाए पछि पुनःडाइभर्सन निर्माण नगरिने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।जेठको अन्तिम हप्तादेखि लगातार वर्षा भई रहेकाले पटक–पटक डाइभर्सन बगाउने समस्या बढे पछि सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।


    “जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उनले भने, “दुम्कीवास पुल असार १६ गतेदेखि सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ त्यसैले त्यो समयसम्म वैकल्पिक सडक नै प्रयोग गर्नुपर्ने हुन्छ ।” यस सडकखण्डअन्तर्गत दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ ।

    तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ । वर्षा सुरू भएसँगै दाउन्ने क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा सवारी गुड्न नसकेकाले त्यो क्षेत्रमा पनि अवरोध कायम रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । “दाउन्ने खण्डमा वर्षाका कारण भने अहिलेको अवस्थामा सवारी चलाउन सकिँदैन, त्यसलाई मर्मत गर्नुपर्छ, मर्मत कार्य यथाशीघ्र अगाडि बढाउनुपर्छ, अन्यथा अहिलेको अवस्थामा ठूला सवारीसाधन यो बाटो चलाउन सकिँदैन”, उनले भने, “रातिको समयमा ठूला साना कुनै पनि सवारीसाधन चलाउन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छाँै । यो दाउन्ने सडक मर्मत हुनुपर्यो, पुल सञ्चालन भएपछि मात्रै पूर्ववत् रूपमा सवारी चलाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो । यही निर्णय हामीले माथिल्लो निकायमा पठाएका छौँ ।”

    यस सडकखण्डमा विगत पाँच दिनदेखि मालवाहक सवारीसाधनबीच बाटोमा रोकिएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्ने पहाडमा रोकिएका छन् । अहिलेको अवस्थामा मालवाहक सवारी चलाउन सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे ।

    देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सिर्जना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापार्वाहीले समस्या चर्किएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ ।

  • राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

    राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

    एजेन्सी
    ७ असार, काठमाडौं । थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गरेकी छिन् । उनले आफ्नो सरकारलाई अपदस्थ गर्ने धम्की दिने सङ्कटलाई कम गर्न सङ्घर्ष गर्दा लिक भएको फोन कलमा ती कमान्डरको आलोचना गरेकी थिइन् । विवादास्पद अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी एवं एक वर्षभन्दा कम समयदेखि पदमा रहेकी पेटोङटार्नले पूर्व कम्बोडियाली नेता हुन सेनसँगको कलका कारण राजीनामा दिन वा चुनावको घोषणा गर्न दबाब सामना गरिरहेकी छिन् ।


    उनको मुख्य गठबन्धन साझेदार, रूढिवादी भुमजाइथाई पार्टी बुधबार सरकारबाट बाहिरिएको छ । उक्त पार्टीले पेटोङटार्नले देश र सेनाको अपमान गरेको र उनको सरकारलाई पतनको विन्दुमा छाडेको बताएको छ । उनले प्रधानमन्त्री पदबाट नहटेसम्म गठबन्धनको अर्को साझेदारले पद छोड्ने धम्की दिएको खबर सार्वजनिक भएपछि शुक्रबार उनलाई अर्को झट्का लागेको छ ।

    यो सङ्कटले थाई सेयर बजारलाई पाँच वर्षको तल्लो तहमा झारेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीसहितको व्यापार भन्सार शुल्कका साथ राज्यले आफ्नो सुस्त अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ । हुन सेनसँगको कुराकानीमा लेफ्टिनेन्ट जनरल बुन्सिन प्याडक्लाङलाई ‘प्रतिद्वन्द्वी’ का रूपमा अपमान गरेको फोन कल लिक भएपछि सम्बन्ध सुधार्न ३८ वर्षीया पेटोङटार्नले शुक्रबार उत्तरपूर्वी थाइल्यान्डमा सेनाको भ्रमण गरी लेफ्टिनेन्ट जनरल बुन्सिन प्याडक्लाङसँग भेट गरेकी छिन् ।


    लामो समयदेखिको विवाद गत महिना घातक झडपमा बदलिएको कम्बोडियासँगको सिमानामा बुन्सिनले थाई सेनाको कमान्ड गर्छन् । पेटोङटार्नका बारेमा आलोचनाले दक्षिणपन्थी राष्ट्रवादी आलोचकहरूबाट अविश्वासको आरोप ल्याएको छ । उनीहरुको भेटपछि पेटोङटार्नले मामिला समाधान भएको बताइन् ।
    “यो धेरै राम्रो भयो । मैले कमान्डरसँग कुरा गरेको छु र अब कुनै समस्या छैन”, उनले पत्रकारहरूलाई भनिन् । आफ्नो पक्षबाट बुन्सिनले भने, “सबै कुरा सामान्य छ ।”

  • इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

    इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै

    एजेन्सी
    ६ असार, काठमाडौं । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोकाको बारेमा छलफल गरेका हुन् । इजरायलले शङ्कास्पद इरानी आणविक अनुसन्धान केन्द्रलगायत लक्ष्यमा रातभर दर्जनौँ आक्रमण गरेपछि इरानले इजरायलविरूद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानका विदेशमन्त्री आबास अराघचीसँग जेनेभामा भएको वार्तामा युरोपका उच्च कूटनीतिज्ञले युद्धको ‘कूटनीतिक समाधान’ दिन चाहेको बताएका छन् ।

    वार्ताअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले वार्तामा फर्कन ‘प्राथमिकता दिनु आवश्यक’ भएको र युरोपेली शक्तिराष्ट्रहरूले इरानलाई ‘कूटनीतिक समाधान’ दिने बताएका थिए। बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्री तथा युरोपेली सङ्घका उच्च कूटनीतिज्ञले तनाव कम गर्न आग्रह गरेका छन् भने बेलायती विदेशमन्त्री डेभिड ल्यामीले कूटनीतिक समाधान खोज्नका लागि आगामी केही दिन पहल गरिने बताए । इजरायलले वार्तामा इरानसँग ’दृढ अडान’ अपनाउन युरोपेली राष्ट्रहरूलाई दबाब दिँदै आफू उक्त बैठकमा सहभागी नहुने बताएको छ ।

    “हामी आशा गर्दछौं, युरोपेली विदेश मन्त्रीहरूले, आणविक कार्यक्रम पूर्ण रूपमा फिर्ता लिन, ब्यालेस्टिक क्षेप्यास्त्र शस्त्रागार र कार्यक्रमलाई अन्त्य गर्न, इरानको क्षेत्रीय आतङ्कवादी गतिविधिहरू अन्त्य गर्न माग गर्नेछन्,” जेनेभाका लागि इजरायली राजदूत डेनियल मेरोनले पत्रकारहरूसँग भने । जर्मन पत्रिका बिल्डलाई दिएको अन्तर्वार्तामा इजरायलका उच्च कूटनीतिज्ञ गिदोन सारले आफू इरानसँगको कूटनीतिमा विश्वास नगर्ने बताए । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र प्रमुख शक्तिराष्ट्रबीच भएको आणविक सम्झौता त्याग्ने निर्णयलाई समर्थन गरेका सारले भने, “अहिलेसम्मका सबै कूटनीतिक प्रयास असफल भएका छन् ।”

    यसअघि संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्सँग कुरा गर्दै अराघचीले इरान र अमेरिकाबीच आणविक वार्ता भइरहेका बेला इजरायलले सैन्य कारबाही गरेको भन्दै निन्दा गरेका थिए । इरानी मन्त्रीले भने, “जारी कुटनीतिक प्रक्रियाका बीच हामीमाथि आक्रमण भएको हो ।” सुरक्षा परिषद्ले शुक्रबार युद्धबारे छलफल गर्ने तयारी गरिरहँदा संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले सबै पक्षलाई ‘शान्तिलाई अवसर दिन’ आग्रह गरे ।

    इजरायलको सेनाले इरानमा क्षेप्यास्त्र प्रहार गरेको शुक्रबार जनाएको छ । इजरायलमा शुक्रबार दोस्रो पटक इरानबाट क्षेप्यास्त्र प्रहार गरिएपछि दिउँसो साइरन बजाइएको थियो र उद्धारकर्ताहरूले १६ वर्षीय एक किशोरसहित दुई जना घाइते भएको जानकारी दिएका थिए। एक सैन्य अधिकारीका अनुसार पछिल्लो समयमा इजरायलतर्फ करिब २० वटा क्षेप्यास्त्र प्रहार गरिएको छ ।

    इजरायली अधिकारीहरुका अनुसार युद्ध सुरु भएयता इजरायलमा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ । इरानले आइतबार इजरायली आक्रमणमा सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको जनाएको छ । त्यसपछि अधिकारीहरूले मृतकको सङ्ख्यालाई अद्यावधिक गरेका छैनन्। इरानी राजधानी र अन्य शहरमा शुक्रबार साप्ताहिक प्रार्थनापछि हजारौं मानिस इजरायलविरुद्ध प्रदर्शनमा सामेल भएका थिए र आफ्ना नेताहरूको समर्थनमा नाराबाजी गरेका थिए।

    सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सङ्केत गर्दै एक प्रदर्शनकारीको ब्यानरमा लेखिएको थियो, “म मेरो नेताको लागि आफ्नो जीवन बलिदान गर्नेछु।”
    छिमेकी मुलुक इराकमा शक्तिशाली धर्मगुरु मोक्तादा सदरका हजारौँ समर्थकले पनि बग्दाद र अन्य शहरमा युद्धको विरोधमा ¥याली निकालेको एएफपीका संवाददाताले बताएका छन् ।

    प्रदर्शनकारी अबु हुसेनले इजरायललाई इरानमाथि आक्रमण गर्ने कुनै अधिकार नभएको बताउँदै भने, “यो अन्यायपूर्ण युद्ध हो।” द्वन्द्व चर्किएपछि बेलायतले इरानबाट आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको बताएको छ भने स्विट्जरल्याण्डले आफ्नो दूतावास अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको छ ।


    “वर्तमान सुरक्षा स्थितिको कारण, हामीले इरानबाट हाम्रा बेलायती कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता गर्न सावधानीको उपाय अपनाएका छौँ”, बेलायती विदेश मन्त्रालयले भनेको छ, “हाम्रो दूतावासले टाढाबाट काम गरिरहेको छ ।” स्विट्जरल्याण्डले इरानी भूमिबाट ‘जमीनमा अत्यधिक अस्थिर स्थिति’ को हवाला दिँदै दूतावास अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको छ भने उसले इरानमा अमेरिकी हितको प्रतिनिधित्व गर्ने आफ्नो भूमिकालाई निरन्तरता दिने बताएको छ ।

  • मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

    मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

    एजेन्सी
    ७ असार, काठमाडौं । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ । अक्टोबरमा उनले पदभार सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेका कारण आंशिक रूपमा जीवनयापनको लागतमा निराश भएपछि संसद्को माथिल्लो सदनका लागि चुनाव इसिबाका लागि महत्त्वपूर्ण छ ।

    आक्रोशको मुख्य स्रोतहरू मध्ये एक खाद्य पदार्थको बढ्दो लागत हो । यो आपूर्ति शृङ्खलामा समस्या लगायत विभिन्न कारणहरूले गर्दा अभावका कारण महिनौँदेखि आकाश छुँदै गएको छ । मे महिनामा चामलको मूल्य एक सय एक प्रतिशतले बढेको छ । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशतले र मार्चमा ९२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

    अस्थिर ताजा खानाको मूल्यलाई समावेश नगर्ने यसले मुख्य मुद्रास्फीति पूर्वानुमानलाई उछिनेर तीन दशमलव सात प्रतिशतमा पुर्‍याउन मद्दत गरेको छ । यो सन् २०२३ जनवरीपछिको सबैभन्दा उच्च स्तर हो भने अप्रिलको तीन दशमलव पाँच प्रतिशतबाट बढेको हो । चामलको सङ्कटले सरकारलाई फेब्रुअरीदेखि आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चाल्न बाध्य बनाएको छ । यो सामान्यतया प्राकृतिक प्रकोपका बेला मात्र गरिन्थ्यो ।

    तर चामल मात्र मुद्रास्फीति बढाउने कुरा होइन । शुक्रबारको डाटाअनुसार मे महिनामा बिजुलीको बिल ११ दशमलव तीन प्रतिशत बढ्यो भने ग्यासको शुल्क पाँच दशमलव चार प्रतिशत बढ्यो । ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्यहरू तीन दशमलव तीन प्रतिशत बढेको छ । यो अप्रिलको तीन प्रतिशतको तुलनामा बढी थियो ।

  • बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

    बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

    ६ असार, काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ । काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

    मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।

    गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा भने सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आवतजावत गर्छन् ।

    बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ ।

  • संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

    संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

    ६ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाए ।

    त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिनुभएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेका थिए । सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए ।


    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो । त्यसपछि दुवै दलका सांसद बैठक छोडेर निस्किए । सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइयो ।

    यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ । दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।


    प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुसँग सरसल्लाह नगरी कार्यसुचीबाट हटाइएको विषयमा असहमति जनाए । उनले सम्बन्धित मन्त्रीको अनुपस्थितीमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारण राखेपछि ती मन्त्रालयमाथिको छलफलको कार्यसूची हटाइएको हो ।

    बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

  • अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

    अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

    ६ असार, काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् । आज यहाँ कमलपोखरीस्थित एक चलचित्र भवनमा चलचित्रमा समावेश शिर्ष गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक प्रतीकले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने संदेश प्रवाह गर्ने बताए ।


    उनले भने, “मेरो जानकारीमा भएसम्म विसं २०७९ सम्म देउकी प्रथा चलेको छ । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिका माथि हुने गरेको हिँसालाई बन्देज गर्नुपर्छ भन्ने संदेश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो ।” उनले चलचित्रका माध्यमले धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङ्ग शाही, मिस पबि लगायतका कलाकारले अभिनय गरेका छन् ।

    सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ ले दर्शकलाई निराश बनाउने अभिनेत्री शाहले बताइन् । “यसले मनोरञ्जनसँगै हाम्रो एउटा दुःखद परम्परालाई समेटेको छ । यो चलचित्र हेरेपछि महिला वा बालिकालाई हुने हिँसा थोरै भएपनि घट्छ भन्ने विश्वास छ”, उनले भनिन् । चलचित्रमा भुपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

  • स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

    स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

    ६ असार, काठमाडौं । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ । स्कटल्याण्डको ग्लासगोमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका छ्न । आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई आराम दिँदै रिजन ढकाललाई मौका दिएको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

    त्यसैगरी स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने बिहीबारको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो । नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।

  • मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

    मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

    ६ असार, सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

    देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री

    ६ असार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे । काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्को फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो ।

    इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्मित् उक्त फ्लाई ओभर नेपालको पहिलो हो । कुल पाँच सय मिटर ‘अप्रोच’ सडक रहेको यसमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

    “हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुआत गरेका थियौँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमा फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ”, प्रधानमन्त्री ओलीले भने, “यसरी विकास हुँदा विदेश जाने मुद्रा स्वदेशमा रहन्छ । ठूलो आर्थिक लाभसहित रोजगारी सृजना हुन्छ । अरु खनिजको उत्खनन, कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ ।”

    सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची–महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताए । उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिइरहेका उल्लेख गरे ।