Category: समाचार

  • लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    ४ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।

    लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताए । “घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले भने ।


    गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । मङ्गलबार एक समारोहका बीच नवनिर्मित खानेपानी आयोजनालाई समुदायमा हस्तान्तरण गरिएको छ । गत चैत २९ गतेदेखि निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिए ।


    उनका अनुसार खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु ५० लाख ५४ हजार ३०४ र स्थानीयवासीको १० लाख ९२ हजार ८०० बराबरको श्रमदान गरी कूल रु ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ । आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायतका पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ ।

    आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरुपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिए ।

    “हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरुप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छाँै”, उहाँले भन्नुभयो । यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरुमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।

    आयोजना निर्माण सुरु भएको दुई महिनाको अवधिमै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् । गाउँको शिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र छ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिए ।

    यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरुको संरक्षण गरिएको छ । योजनाका दिगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।

  • स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

    स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

    ४ असार, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।

    बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । साथै ललितनारायण राजवंशीले एक विकेट लिए । करण केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् । खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए ।

  • आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    ४ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

  • किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    ४ असार, काठमाडौं । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ । “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था र महत्त्वपूर्ण पूर्वाधार सुविधाहरू“ सबै प्रभावित भएका छन् । मृतकको सङ्ख्या १४ पुगेको छ । अहिलेसम्म किएभमा ४४ जना घाइते भएका छन् ।” ओडिसामा अन्य छ जना र चेर्निगिभमा अर्का एक जना घाइते भएको उनले जानकारी दिए ।

    किएभका मेयर भिटाली क्लिट्स्कोले यसअघि राजधानीको सोलोम्यान्स्की जिल्लामा रुसी आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएका थिए । “किएभमा भएको आक्रमणका क्रममा। घाइतेहरूलाई चिकित्सकले सहयोग गरिरहेको ठाउँको विपरीत घरमा ६२ वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो”, उनले भने । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकले ‘किएभमा आवासीय भवनहरू’ मा नयाँ रूसी आक्रमणको निन्दा गर्दै टेलिग्राममा मस्कोले ‘नागरिकहरू विरुद्धको युद्ध जारी राखेको’ बताए ।

    संयुक्त राज्य अमेरिकाले युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरे तापनि मस्कोले युक्रेनमाथि आक्रमण जारी राखेको छ । वार्ता रोकिएको छ । मस्कोले किएभ र उसका युरोपेली सहयोगीहरूले माग गरेको ‘बिना शर्त’ युद्धविरामलाई अस्वीकार गरेको छ भने युक्रेनले रुसको मागलाई ‘अल्टिमेटम’ भनेर खारेज गरेको छ । सोमबार जेलेन्स्कीले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जी–७ शिखर सम्मेलनको छेउमा कुरा गर्ने आशा गरेको बताए । तर युक्रेनी नेता अमेरिकी राष्ट्रपतिको प्रस्थानपछि जी–७ मा आइपुग्ने अपेक्षा गरिएको थियो । तर इजरायलले इरानमा आक्रमण बढाउँदा ट्रम्पले आफ्नो बसाइ छोटो पारेका छन् ।

  • इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए

    इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए

    ३ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो ।

    “शुक्रबारको आक्रमणपछि सङ्कलन गरिएको स्याटेलाइट तस्वीरको निरन्तर विश्लेषणको आधारमा आइएइएले नतान्जमा भूमिगत संवर्धन कक्षहरूमा प्रत्यक्ष प्रभावहरू सङ्केत गर्ने थप जानकारी पहिचान गरेको छ,” आइएइएले एक्समा सम्प्रेषित एक विज्ञप्तिमा भनिएको छ। आईएईएले यस विषयमा थप विवरण उपलब्ध गराएको छैन । नातान्जले आफ्ना दुई संवद्र्धन प्लान्टहरूमा युरेनियम संवद्र्धन गर्न प्रयोग गरिने ७० वटा उपकरणहरूलाई पू्रयोगमा ल्याएको छ । तीमध्ये एउटा प्लान्ट भूमिगत छ ।

    तेहरानले आणविक अस्त्र विकास गर्न लागिेको भनी गरिएका दावीहरूको खण्डन गर्दै आएको छ तर ६० प्रतिशतसम्म युरेनियमलाई संवद्र्धन गर्दै आएको छ । यो मात्रा सन् २०१५ मा अमेरिका र इरानले प्रमुख शक्तिराष्ट्रहरूसँग गरेको सम्झौताले निर्धारण गरेको ३.६७ प्रतिशतको सीमाभन्दा निकै बढी हो ।

    एरानले तीनदेखि पाँच प्रतिशतसम्म प्रवद्र्धित युरेनियमको प्रयोग आणविक ऊर्जा प्लान्टलाई विद्युत् उत्पादनका लागि प्रयोग गरिएको २० प्रतिशतसम्म संवर्धित युरेनियमलाई चिकित्सा प्रयोग (क्यान्सर रोगको निदान) का लागि आइसोटोप उत्पादन गर्न प्रयोग गरिएको जनाउने गरेको छ। आणविक बम निर्माण गर्न संवर्धनलाई ९० प्रतिशतमा धकेल्नुपर्छ । आईएईएका प्रमुख राफेल ग्रोसीले आफू तत्काल इरान जान इच्छुक रहेको बताएका छन् ।

  • चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

    चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

    ३ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।
    चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

    नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । उक्त सेवा सुरु हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार ३३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । यस अवधिको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब रु २५ लाख बढी आम्दानी भएको उनले बताए । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

    हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई रु २००, विद्यार्थीलाई रु १३५, ज्येष्ठ नागरिकलाई रु १००, बालबालिकालाई रु ७५, ‘सार्क’ मुलुकका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार प्रवेश शुल्कको व्यवस्था गरेको छ । चिडियाखानामा हाल जम्मा ७० कर्मचारी रहेका र दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् ।

    यसैगरी, अवलोकनकर्ताको आकर्षणका लागि वन्यजन्तुको उचित व्यवस्थापनका साथै हरियाली प्रवद्र्धन र सरसफाइ बढाइएको छ । चिडियाखानामा रहेको एक मात्र दुर्लभ ‘रेडपाण्डा’ केही दिनअघि मरेको छ । उक्त रेडपान्डा गत जेठ ३१ गते मिर्गौला फेल भएर मरेको प्रमुख साहले बताए । विसं २०७२ सालमा ल्याइएको रेडपान्डा अवलोकनकर्ताको मुख्य आकर्षक थियो । चिडियाखाना व्यवस्थापनले रेडपान्डा पाइने गौरीशङ्कर संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र इलाम क्षेत्रबाट एक जोडी रेडपान्डा चिडियाखानामा ल्याउनका लागि प्रक्रियाअघि बढाइसकेको जनाएको छ ।

    त्यसैगरी, चिडियाखानामा एउटा मात्रै गैँडा रहेको अवस्थामा विश्व वातावरण दिवसका अवसर पारेर गत जेठ २२ गते चितवनबाट ल्याइएको एक जोडी गैँडा थप गरिएको छ । वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पहलमा ती गैँडा थप गरिएका हुन् । चिडियाखानामा हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामसलगायत ठूला वन्यजन्तुदेखि दुर्लभ जीवजन्तु रहेका छन् ।

    हाल चिडियाखानामा पाँचवटा वयस्क पाटेबाघ रहेका छन् । खोरको कमीले ती बाघको व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । व्यवस्थापनले दुई जोडी बाघलाई मात्र पालैपालो फरकफरक स्थानमा अवलोकनका लागि राख्ने र बाँकी एक बाघलाई भने खोरको अभावका कारण ‘होल्डिङ’मा राख्ने गरेको छ । दुई भाले बाघसँगै राख्दा आपसमा लडेर मर्नसक्ने खतराका कारण जोडी बाघलाई मात्रै सँगै राख्ने गरिएको हो ।

    तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । जावलाखेलस्थित सदर चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ । पहिलो ३० वर्षको अवधि समाप्त भएपछि वन मन्त्रालयले हालै मात्र अर्को थप ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी प्रदान गरिसकेको छ । करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल ११७ प्रजातिका एक हजार ३०० वन्यजन्तु तथा पक्षी रहेका छन् ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    ३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।

  • रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    ३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    नौकुण्ड गापा वडा नं ५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा आज फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्य गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

    शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ ।

  • राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

    राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

    ३ असार, लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

    शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका र हराएका गरी कूल दुई सय ५२ जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको म्याड्रिडस्थित नेपाली दूतावासका सहचारी विपीन चन्दले राससलाई जानकारी दिनुभयो ।

    नयाँ राहदानी बनाउनका लागि आवेदन दिनेमा राहदानी क्षति भएका र नष्ट भएकाको सङ्ख्या धेरै रहेको उनले बताए । शिविरबाट करिब ३५ हजार यूरो अर्थात् झण्डै रु ५५ लाख राजस्व सङ्कलन भएको चन्दले बताए । आलिकान्ते क्षेत्रमा बसोबास गर्ने नेपालीको सहजताका लागि राहदानी विभागसँगको समन्वयमा घुम्ती शिविर सञ्चालन गरेर राहदानी सेवा प्रदान गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवालाई नेपाल समाज एसोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्का लगायतका नेपाली सङ्घ संस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

    घुम्ती शिविरमार्फत बेनिड्रोमै सेवा पाउँदा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीहरूले राहत मिलेको भन्दै खुसी व्यक्त गरेको शिविर संयोजक असिम लोप्चनले बताए । शिविरमा काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, मुर्सिया, टोरटोसालगायतका क्षेत्रमा बस्ने नेपालीले सेवा लिएको उनले बताए ।

    राहदानीसम्बन्धी समस्या परेका आलिकान्ते क्षेत्रका नेपालीको सहजताका लागि दूतावासलाई आग्रह गरेर घुम्ती शिविर सञ्चालन गरिएको संयोजक लोप्चनले बताए । शिविरमा दूतावासका द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपीन चन्द, राहदानी विभागका नायब सुब्बा ज्योत्सना काफ्ले, दूतावासका कर्मचारी लक्ष्मण शर्मा खटिएका थिए । एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, नेपाल समाज एसोसिएसनका अध्यक्ष केसरबहादुर थापालगायतले शिविरको समन्वय र सहजीकरण गरेका थिए ।

  • चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

    चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

    ३ असार, बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ ।

    जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख एक हजार तीन सय ७४ मेट्रिक टन उत्पादन भएको हो । गतवर्ष १७ हजार ६ सय ७० हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार सात सय ५५ हेक्टर पुगेको कृषि ज्ञान केन्द्र मोरङको प्रमुख दिपा देवले बताए ।


    अघिल्लो साल चैते धानको मूल्य प्रतिमन रु एक हजार दुई सयसम्म पुगेकोमा यस वर्ष आघा घटेर प्रतिमन ६०० मा कारोबार भइरहेको बेलबारी–९ का धान काँटा व्यवसायी हरेराम शाहले जानकारी दिए । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ११ भाङबारीका किसान वीरेन्द्र खत्रीले भने, “भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूस रु आठ सय मन हुँदा चैते धान ६ सय छ ।”

    कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् । चैते धानमा हर्दिनाथ १, चैते ५, चैते ६ र राम धान किसानले रोप्ने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

  • एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो

    एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो

    काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो।

    दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। मारिएकाहरूको पहिचानलाई डीएनएको माध्यमबाट पुष्टि गर्ने कामलाई निकै समय लाग्ने बताइएको छ। शुक्रवार घटनास्थलबाट ब्ल्याक बक्स भेटिएको थियो। भारतका नागरिक उड्डयन मन्त्री राममोहन नायडुले दुर्घटनाको कारण पत्ता लगाउन त्यो निकै सहायक हुने बताए।

    अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ६० सेकेन्ड नबित्दै उक्त विमान बीजे मेडिकल कलेज तथा सिभिल अस्पतालका चिकित्सकहरूको आवास रहेको भवनमा बज्रिएको थियो। शनिवार सो कलेजका जुनिअर डक्टर्स असोसिएसनका अध्यक्ष डा. धवल गामाटीले अस्पतालमा २७० शव पुष्टि भएको बताए। तिनमा २४१ शव विमानका यात्रु तथा चालक दलका सदस्यहरूको भएको विश्वास गरिएको छ।

    आफन्तहरूले दिएका डीएनएका नमुनामा आधारित भएर परीक्षण गर्दा ३० जनाको शव पहिचान भइसकेको बताइएको छ। आइतवार लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय अगाडि करिब १०० मानिस भेला भएका थिए। उनीहरूले मारिएकाहरूको सम्झनामा मैनबत्ती बालेका थिए। उक्त समुदायका एकजना अगुवाले आफ्ना प्रियजन गुमाएका परिवार उनको पहिचान गर्न भारत गएको र अस्पतालमा डीएनए परीक्षणको नतिजा कुरिरहेको बताए।

    त्यहाँ भेला भएका धेरैले यो दुर्घटना किन र कसरी हुन गयो भन्ने जबाफ खोजिरहेको ती अगुवाले बताए। भारतको विमान दुर्घटना अनुसन्धान निकाय (एएआईबी)ले अनुसन्धानको नेतृत्व गरिरहेको छ भने उसलाई अमेरिका र यूकेका टोलीहरूले सघाइरहेका छन्। हवाई यात्रा ट्र्याक गर्ने वेबसाइट फ्लाइटरेडार२४को डेटा अनुसार, उक्त बोइङ ड्रिमलाइनर ७८७(८ करिब ११ वर्ष पुरानो विमान थियो। उसले गत दुई वर्षमा अहमदाबाद र लन्डनको ग्याटविक विमानस्थलबीच २५ वटा उडान भरेको थियो।

    बिहीवारको दुर्घटनापश्चात् भारतको उड्डयन नियामक निकाय डीजीसीएले एअर इन्डियाका बोइङ ७८७-८ अनि ७८७-९ विमानहरूमा थप सुरक्षात्मक परीक्षणको आदेश दिएको छ। शुक्रवार भारतीय प्रधानमन्त्रीले दुर्घटनास्थलको निरीक्षण गरेका थिए भने एकमात्र जीवित यात्रु विश्वासकुमार रमेशसहित घाइतेहरूलाई भेटेका थिए।

  • वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी

    वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी

    ३ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए ।

    उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ ।”

    वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङमार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकावासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिए । उनले भने, “यो व्यवस्थाले उपत्यकावासीको खानेपानीसम्बन्धी समस्या दिगो रूपमा समाधान हुने अपेक्षा गरिएको छ । आगामी दिनमा काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन । हामीले जनताका प्राथमिकता बुझेर जिम्मेवारीपूर्वक समाधान खोजिरहेका छौँ ।”

    रिबर्माको पानी परीक्षण गरिएसँगै वर्षाका बेला मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै वर्षायाममा पनि काठमाडौँमा नियमित पानी आउने सुनिश्चित भएको मन्त्री यादवले उल्लेख गरे । वर्षात्को समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिबर्माबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरणको सम्भावना रहेको अनुगमनपछि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले प्रतिक्रिया दिए ।


    उनले भने, “त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परीक्षण गरिएको छ । अब वर्षात्को समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।” विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताए ।


    मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू यहाँ २४सै घण्टा खटिएका छन् भने बाढी, पहिरोलगायत मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको छ । विसं २०७८ को बाढीले मेलम्चीको मुहानमा पुर्‍याएको क्षतिपछि वर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न हुँदै आएको थियो ।

  • सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

    सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

    ३ असार, काठमाडौं । टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो ।

    पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो ।


    तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो ।

    त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो ।

    नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् ।

    त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।

  • आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    ३ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै

    इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै

    एजेन्सी
    ३ असार, काठमाडौं । अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो ।

    भियतनामी सरकारका एक अधिकारीले एएफपीसँग कुरा गर्दै युएसएस निमित्जमा जुन २० मा आयोजना हुने भनिएको स्वागत समारोह रद्द गरिएको पुष्टि गरेका छन् । ती अधिकारीले अमेरिकी दूतावासको पत्र शेयर गर्दै रक्षा मन्त्रालयले ‘आपतकालिन परिचालन आवश्यकता’का कारण कार्यक्रम रद्द गर्न लागेको जानकारी दिएका छन्। हनोईस्थित अमेरिकी दूतावास र निमित्जका प्रवक्ताले एएफपीसँग यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् ।

    इजरायल र इरानबीच बढ्दो हवाई युद्धको चौथो दिन तनाव कम गर्न अन्तर्राष्ट्रिय आह्वानको बावजुद विश्वको सबैभन्दा ठूलोमध्येको एक युद्धपोत मध्यपूर्वतर्फ प्रस्थान गरेको हो । इरानी अधिकारीहरुका अनुसार इजरायलले गरेको आक्रमणमा परी उच्च सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ इरानीको मृत्यु भएको छ ।

    त्यसको जवाफमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको र ’प्रभावकारी, लक्षित र थप विनाशकारी कारबाही’ गर्न सक्ने चेतावनी दिएको छ ।
    इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले इरानको क्षेप्यास्त्र आक्रमणले तेल अभिभस्थित अमेरिकी दूतावासको भवनमा हल्का क्षति पुगेको बताए ।

  • अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

    अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

    २ असार, काठमाडौं । काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनीरसञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।


    प्रवक्ता श्रेष्ठले उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शत्प्रतिशत जरिवानासमेत गरी रु एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिए । मतियारका रूपमा काम गरेकाले उप–कार्यकारी निर्देशक सङ्गम पौडेलको हकमा भने अन्य आरोपीको भन्दा आधा सजायको मागदाबी गरिएको छ ।

    विभागले उक्त कम्पनीको कारोबारस्थलमा गरेको आकस्मिक निरीक्षणबाट आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिई आव २०७६–०७७ देखि आव २०८१र८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्सलगायत महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू रितपूर्वक बरामद गरी अनुसन्धान गर्दा कम्पनीले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको मूल्यअभिवृद्धि कर आय विवरणमा नदेखाई बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको पाइएको जनाएको छ ।

    उक्त करछलीका सम्बन्धमा अनुसन्धान गर्दा शेयरधनीरसञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ । दायर अभियोजनमा प्रस्तुत मुद्दामा कार्गो तथा कुरियर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यावसायिक कारोबार गन एनसिएम पोर्टल आव २०७६–७७ देखि नै सञ्चालनमा ल्याएकामा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउनेरछिपाउने कार्य गरेको दाबी गरिएको छ ।

    अनुसन्धानका क्रममा उक्त कम्पनीले अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरू सुदीप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत)लाई विभागले पटकपटक ताकेता गर्दासमेत उपस्थित नभई फरार रहेको विभागले जानकारी दिएको छ । कम्पनीले सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको पाइएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरित कार्य गरी विभिन्न तवरले रु ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको विभागको दाबी छ ।

    प्रतिवादीहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलसमेतले एकापसमा मिलोमतो गरी उक्त कम्पनीको सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरेर नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेको तथ्य प्रमाणि भएको विभागले जनाएको छ ।

    विभागल भनेको छ, “उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिमको कसुर गरेको देखिएकाले प्रतिवादी शेयरधनी÷सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य र मिठु पौडेलसमेतलाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिकाअनुसार बिगो रकम असुल गर्ने तथा बिगोको शत्प्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुलउपर गरी त्यसबाट कानुनसम्मत् ब्याजसमेत लगाई कैद सजायको मागदावी लिइएको छ ।”

    यता कम्पनीका उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मतियारका रूपमा काम गरेको दाबीसहित विभागले मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट क्षतिपूर्ति शुल्क भराउने मागदाबी लिई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को अनुसूची २० बमोजिम उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।

  • बजेटका कारण कांग्रेस र एमालेबीच सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

    बजेटका कारण कांग्रेस र एमालेबीच सहकार्यमा असर पर्दैनः अर्थमन्त्री पौडेल

    २ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीचको सहकार्यमा असर नपर्ने बताएका छन् । आगामी आवको बजेटबारे प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले बजेटलाई देखाएर एमाले र कांग्रेसबीच दूरी बढाउने प्रयास भइरहेको बताउँदै त्यसले द्विदलीय साझेदारीमा फरक नपर्ने उल्लेख गरे ।

    “कांग्रेस र एमालेका बीचमा कहीँकतै दूरी सिर्जना गरेर खेल्न सकिन्छ कि भनेर प्रयास भइरहेका छन् । त्यो व्यर्थको प्रयास नगर्न म आग्रह गर्न चाहन्छु । एमालेले कांग्रेसको जस्तो बजेट ल्याएको र कांग्रेसले एमालेको जस्तो बजेट ल्याएको भनेर दुई दलबीच दूरी सिर्जना गर्न प्रयास गरेको देखिन्छ”, अर्थमन्त्री पौडेलले भने, “त्यो व्यर्थको प्रयास छोडिदिए हुन्छ । त्यो ऊर्जा र समय अरु कुनै रचनात्मक काममा लगाउँदा हुन्छ । बजेटभित्र छिरेर कांग्रेस र एमालेका बीच फुट ल्याउने प्रयास नगर्दा हुन्छ ।”

    सरकारले संसद्मा पेस गरेको वार्षिक आय र व्ययको अनुमानमाथि उठेको प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र बिग्रनुमा अहिलेको नभई पूर्ववर्ती सरकार जिम्मेवार रहेको आरोप लगाए । अघिल्लो सरकारले लिएका खराब नीतिलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्ने उनले बताए ।

    चालु आवको बजेटमार्फत सरकारले करका सिद्धान्तभन्दा विपरीत रहेको अग्रिम आयकरको व्यवस्था हटाएको अर्थमन्त्री पौडेलले बताए । आम्दानी नगर्दै आयकर लगाउने विगतको अभ्यासलाई सच्च्याइएको उनले बताए । सम्पत्ति शुद्धीकरण निवारणमा वित्तीय कारबाही कार्यदलको‘ग्रेलिष्ट’मा पर्नुको कारण पूर्ववर्ती सरकार भएको आरोप अर्थमन्त्री पौडेलले लगाए ।

    “देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने छ । त्यसका लागि रणनीति, कार्ययोजना बनेका छन्”, उनले भने, सघन निगरानी सूचीबाट चाँडै बाहिर निस्कन र भविष्यमा यस्तो अवस्था आउन नदिन रणनीति बनाएर अघि बढ्ने गरी बजेट ल्याएको उनले बताए । सम्पत्ति शुद्धीकरण निवारणको मामिलामा अनुसन्धान र अभियोजनका काम कमजोर हुँदा ग्रेलिस्टमा परेकामा अब त्यसलाई प्रभावकारी बनाइने अर्थमन्त्रीले बताउनुभयो ।

    आगामी आवको बजेटको स्रोत र खर्चको अनुमान कार्यान्वयन हुने प्रकृतिको रहेको, बजेटको आकार यथार्थपरक रहेको बताउँदै अर्थमन्त्रीले स्रोतको व्यवस्थापन हुन सकेन भने बजेट कार्यान्वयन हुन सक्दैन भन्नुभयो । उहाँले आय र व्यय दुवैको अनुमान यथार्थपरक भएको भएको बताउनुभयो ।

    “यसपटकको बजेटमा म सबैभन्दा बढी प्रस्तावित विनियोजन मात्र होइन स्रोत पनि यथार्थपरक र कार्यान्वयनयोग्य हुनुपर्छ भन्नेमा सचेत थिएँ । बजेटमा राजस्व परिचालन, अन्तरराष्ट्रिय सहयोग र आन्तरिक ऋणको तथ्यपरक अनुमान भएको छ”, अर्थमन्त्रीले भन्नुभयो ।

    अघिल्लो सरकारले महत्वाकाङ्क्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यो सम्भव देखिएको उहाँले उल्लेख गर्नुभयो । “विगतमा ४१ प्रतिशतसम्म राजस्व बढ्नसक्ने अनुमान गरेर बजेट ल्याएका उदाहरण हामीसँग छन् । तर आगामी आवको बजेट चालु आवको संशोधित राजस्व अनुमानको तुलनामा १७ प्रतिशत मात्रै बढ्ने भनेर आन्तरिक राजस्वको अनुमान गरिएको छ”, उनले भने, “चुहावट नियन्त्रण गर्ने, करका दायरा विस्तार गर्ने, कर प्रशासन चुस्त बनाउनेजस्ता कार्यबाट हामी १७ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य पूरा गर्छौं ।”

    वैदेशिक स्रोतको अनुमान गर्दा पनि पूर्वतयारी सकिएका र कार्यान्वयनको चरणमा जान योग्य आयोजना र कार्यक्रम हेरेर मात्रै अनुमान गरिएको अर्थमन्त्री पौडेलको भनाइ छ । बजेटको परीक्षण कार्यान्वयनका क्रममा हुने पनि उनले बताए । सार्वजनिक ऋण बढेको र ऋणको पासोको चुनौती थपिएको भनिए पनि सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आन्तरिक र बाह्य ऋणको अनुमान गरेको अर्थमन्त्रीले बताए ।

    आगामी आवको बजेट बनाउँदा आर्थिक अनुशासन कायम गर्न साना तथा खुद्रा आयोजना छर्ने र आर्थिक अनुशासनबाट विचलित हुने गरी बजेट पेस नभएको उनले बताए । भूमि बैंकको प्रयोग, प्रभाव र नतिजा विश्लेषण नगरिकन विरोधका लागि मात्रै विरोध नगर्न पनि उनले प्रतिपक्षी दलहरुलाई आग्रह गरे । बाँझो जमिन सदुपयोग गर्ने र उत्पादकत्व बढाउनका लागि भूमि बैंकको अवधारणा आएको उनले बताए ।

  • रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक स्वीकृत

    रास्वपाको नाराबाजीका बीच विनियोजन विधेयक स्वीकृत

    २ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस गरेका हुन् ।

    त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसद दामोदर पौडेलले निर्वाचनका बेला मतदातासमक्ष गरिएका वाचाअनुसार विकास–निर्माणका काम गर्न नसकिएको बताए । नेपाल कम्युनिष्ट पार्टी (एस)का मेटमणि चौधरीले सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयक कुन क्षेत्रमा कति बजेट छुट्याउँदा मुलुकको गार्हस्थ्य उत्पादन बढ्छ, अर्थतन्त्रको आकार बढ्छ र उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल हुन्छ भन्ने स्पष्ट नभएको बताए ।

    नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका हितराज पाण्डेले सङ्घीयताको मर्मअनुसार वित्त हस्तान्तरण हुन नसकेको बताए । वित्तीय समानीकरण अनुदान बढाएर सशर्त अनुदानको हिस्सा घटाउँदै जानुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए ।

    सोही पार्टीका रामकुमार राईले मुलुकभित्र पर्याप्त सङ्ख्यामा रोजगारी सिर्जना गर्न उद्योग, कृषिलगायत क्षेत्रलाई बजेटले प्राथमिकतामा राख्न नसकेको बताए । सोही पार्टीका छिरिङडम्डुल लामाले कर्णाली प्रदेश र हुम्ला जिल्लालाई बजेटमार्फत विकासमा सरकारले विभेद गरेको आरोप लगाए । नेपाली कांग्रेसकी कान्तिका सेजुवालले स्थानीय तहका आफ्नै ऐन, नियम, कानूनसमेत भएकाले सङ्घ सरकार बाट बजेट मात्र पठाएर उनीहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताए ।


    विभिन्न मन्त्रालयको बजेटमाथिको छलफल यही असार ५, ६ र ७ गत हुने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम असार ६ गते हुने सभामुख देवराज घिमिरेले बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

  • स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु

    स्कुल भ्यानले ठक्कर दिँदा काठमाडौंमा छात्राको मृत्यु

    २ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यानले ठक्कर दिँदा आज एक छात्राको मृत्यु भएको छ । काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त भ्यानको ठक्करबाट घाइते भएका छ जनामध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

    तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

    २ असार, दमौली । गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मङ्गले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा आज शव फेला परेको छ । नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो । नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

    २ असार, पाल्पा । यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

    दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित

    इजरायल–इरानबीच भीषण युद्ध जारी, हवाई उडान प्रभावित

    २ असार, काठमाडौं । इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्। इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द गरिएको छ । कुनै पनि आगमन वा बहिर्गमन उडानहरू सञ्चालन भइरहेका छैनन् ।”

    इजरायली सेनाले इरानमा सैन्य र आणविक लक्ष्यमा आक्रमण गर्न थालेपछि शुक्रबारदेखि हजारौँ इजरायली नागरिक विदेशमा अलपत्र परेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इरानले इजरायललक्षित जवाफी कारबाहीमा इजरायली शहरहरूमा सयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा आवासीय भवनहरू ध्वस्त भएका थिए र तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको थियो।

    इजरायलको विमानस्थल प्राधिकरणका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा तेल अभिभ नजिकै रहेको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने पुष्टि गर्दै भनिएको छ, “कम्तीमा छ घण्टाको पूर्व चेतावनीसहित यसलाई पुनः सञ्चालन गर्ने सूचना दिइनेछ ।” “इजरायलका लागि उडान पुनः सुरु गर्ने निर्णय सुरक्षित ठानेपछि मात्र हुनेछ,” विज्ञप्तिमा भनिएको छ।


    यसैबीच, जोर्डन र इजिप्टको सिनाई प्रायद्वीपमा इजरायलको सीमा नाका खुला रहेको छ । उता आइतबार रातभर एक अर्का मुलुकमा आक्रमण जारी राखेका यी दुई मुलुकमा ठूलो मानवीय क्षति निम्तिसकेको छ ।

  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

    २ असार, काठमाडौं । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको पु्ष्टि गरे । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

    विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २७९ जनाको शव गणना गरिएको र ४७ जनाको शव पहिचान गरिएको छ । विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा ३७ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए । मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको बजेट कस्तो ?

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको बजेट कस्तो ?

    रासस

    २ असार, काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले रु एक अर्ब ७५ करोड र मधेस प्रदेशले रु दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।

    कर्णाली प्रदेश
    प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेशसभा बस्न नसकेपछि वार्षिक राजस्व र व्ययको अनुमान पेस गर्ने कार्यसूची प्रभावित भएको थियो । आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुभयो ।

    कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो । कूल विनियोजनमध्ये चालुतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १।६६ प्रतिशत बजेट छुट्याइएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।

    उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट रु ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट रु पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने रु १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट रु १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट रु चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट रु ५३ करोड ९७ लाख र विशेष अनुदानबाट रु ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि रू ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुभयो । यो प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको कूल बजेटमध्ये चालुतर्फ रू १० अर्व २० करोड ८१ लाख ४२ हजार अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ रू १९ अर्व ८३ करोड दुई लाख छ हजार अर्थात् ५९.२५ प्रतिशत र अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत रु तीन अर्व ४२ करोड ७७ लाख अर्थात् १०.२४ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रू एक करोड छुट्याएको छ ।

    सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरेको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रू एक अर्व ६५ करोड, सङ्घ सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने रू नौ अर्व ८७ करोड २५ लाख, सङ्घीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने रकम रू आठ करोडलाई बजेटको स्रोत देखाइएको छ ।

    त्यसैगरी सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रू आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित रकम रू सात अर्व ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रू चार अर्व १६ करोड ३० लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रू ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने रू ५१ करोड ६० लाखलाई आगामी आर्थिक वर्षको व्ययको स्रोत अनुमान गरिएको छ ।

    लुम्बिनी प्रदेश
    लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभयो । लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । जसमध्ये, चालुतर्फ रु १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ रु २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत छ ।

    लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रु सात अर्ब ७८ करोड ४ लाख नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी रु ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व रु दुई अर्ब ८२ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट रु चार अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट रु ५१ करोड ४० लाख, विशेष अनुदानबाट रु ४० करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट रु दुई अर्ब परिचालन गर्नेगरी बजेटको स्रोत देखाइएको छ ।

    गण्डकी प्रदेश
    आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले रू ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ । आइतबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेस गर्नुभयो ।

    आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चमध्ये चालुतर्फ रू १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कूल विनियोजनको ३९.५ प्रतिशत रहेको छ । पूँजीगततर्फ रू १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कूल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कूल विनियोजनको ०.८ प्रतिशत छ । यो प्रदेशले आगामी वर्षमा रू एक करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।

    गण्डकी प्रदेशका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटको स्रोतमध्ये केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट रू नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ रू तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ रु ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ रू ४९ करोड ८६ लाख प्राप्त हुने गरी स्रोतको अनुमान गरिएको छ ।

    यो प्रदेशले आगामी आर्थिक वर्ष आन्तरिक राजस्व रू पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार उठाउने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने रकमलाई पनि बजेटको स्रोत देखाइएको छ । बाँकी रु एक अर्व ७५ करोड आन्तरिक ऋण उठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।

    बागमती प्रदेश
    बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गर्नुभयो । बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि प्रस्तावित सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट छुट्याएको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ रु ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । कूल विनियोजन मध्ये चालुतर्फ ३८.६० प्रतिशत र पुँजीगततर्फ ६१.४० प्रतिशत हुन आउँछ ।

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट रु २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट रु ६ अर्ब ७९ करोड चार लाख १३ हजार उठाउने लक्ष्य राखेको छ । सङ्घीय वित्तीय हस्तान्तरणबाट प्राप्त हुने रु १४ अर्ब ८१ करोड ९३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तिबाट रु १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार व्यहोरिने अनुमान गरिएको छ ।

    मधेस प्रदेश
    मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले आइतबार मधेस प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । यो प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल रु ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ रु ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको बजेटको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

    मधेस प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट रु नौ अर्ब ५० करोड ८३ लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । सङ्घ सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदानबाट रु चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान बाट रु ३९ करोड ४५ लाख र समपुरक अनुदानबाट रु ३५ करोड ८२ लाख गरी जम्मा रु १२ अर्ब ७३ करोड ६४ लाख बराबर वित्तीय हस्तान्तरणमार्फत जाने रकमलाई आगामी आर्थिक वर्षको बजेट स्रोतका रूपमा देखाइएको छ ।

    सङ्घीय राजस्व बाँडफाँटवाट रु १२ अर्ब ३५ करोड ८४ लाख प्रापत हुने र गत वर्षको नगद मौज्दातबाट रु १० अर्ब ३८ करोड दुई लाख ५१ हजार बराबर स्रोत व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग रु दुई अर्ब रकम आन्तरिक ऋण उठाएर पूर्ति गर्ने गरी मधेस प्रदेशले बजेट स्रोत देखाएको छ ।

    कोशी प्रदेश
    कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि रू ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पूँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०.३ प्रतिशत रहेको छ । कोशी प्रदेशको यो बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा १।७ प्रतिशतले बढी हो । कूल विनियोजनमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणतर्फको रकम रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये कोशी प्रदेश सरकारको आन्तरिक राजस्वबाट रू पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रू १२ अर्ब ३९ करोड ६० लाख र सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू चार अर्ब ९८ करोड ३४ लाखलाई बजेट स्रोत देखाइएको छ । सशर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट रु ३९ करोड़ १७ लाख र विशेष अनुदानबाट रू ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रू ३२ अर्ब ७४ करोड र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड ९९ लाखलाई बजेट स्रोत देखाइएको छ ।

    बाँकी अपुग रकम नगद चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको बजेट मौज्दातबाट रू तीन अर्ब १३ करोड ब्यहोर्ने गरी स्रोतको अनुमान गरिएको छ । कोशी प्रदेशसभामा त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो । कोशी प्रदेशले आगामी आर्थिक वर्ष ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटमार्फत् राखेको छ ।

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल

    २ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२\८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन् । यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

  • ढोरपाटन सडक सञ्जालमा जोडियो

    ढोरपाटन सडक सञ्जालमा जोडियो

    २ असार, म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।

    चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
    “मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो,” उनले भने, “डोजर जलजला पुगेपनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।”

    बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरिया–मरेनी हँुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताए ।


    उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

    बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

    मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

  • रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    १ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

    रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो । उता, सरकार भने विपक्षीलाई पेलेर अगाडी बढेको छ । खासगरी माओवादी केन्द्र सहमतीमा आएसँगै साना दललाई पेल्ने रणनीतिमा सरकार पुगेको हो । संसदमा सभामुखले आजबाट बजेटसँग सम्बन्धित विषय छलफलमा अगाडी बढाएका छन् ।

  • बूढानीलकण्ठमा दुईजना मृत फेला

    बूढानीलकण्ठमा दुईजना मृत फेला

    काठमाडौँ, १ असारः काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अन्जनाको टाउकामा चोट रहेको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अन्जना सो घरमा काम गर्ने गर्थिन् ।

  • कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

    कोशी प्रदेश सरकारले ल्यायो करिब ३६ अर्बको बजेट

    १ असार, विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२–८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात् शून्य दशमलव तीन प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा एक दशमलव सात प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको जनाइएको छ । कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ९८ करोड ३४ लाख हुने जनाइएको छ । साथै ससर्त अनुदानबाट रु चार अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट रु ३९ करोड १७ लाख र विशेष अनुदानबाट रु ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्त हुने रकमबाट रु ३५ करोड छ लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम नगद मौज्दातबाट रु तीन अर्ब १३ करोड व्यहोरिने मन्त्री मगरले बजेटमार्फत जानकारी दिएका छन् ।


    प्रस्तुत भएको बजेट कार्यान्वयनबाट प्रदेशको समग्र आर्थिक आधारहरुको सबलीकरण भई आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने अनुकूल अवस्था सिर्जना हुने अपेक्षा गरिएको छ । यो बजेटले निजी क्षेत्रको लगानी वृद्धि गर्दै रोजगारीका अवसरको सिर्जना गर्न महत्वपूर्ण योगदान गर्ने, आन्तरिक राजस्व परिचालन सुदृढ गर्न, बजेट अनुशासन कायम गर्न र प्रदेश सरकारको लगानी प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्न सफलता मिल्ने बजेटले विश्वास लिएको छ । यसबाट सार्वजनिक वित्त व्यवस्थापना थप सुधार भई विकासमा तीव्रता आउनाका साथै प्रस्तावित बजेटको कार्यान्वयनबाट आर्थिक वर्ष २०८२÷८३ मा आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

  • इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

    इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

    १ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएकी छिन् ।

    मन्त्री डा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीलाई निरन्तर सुसूचित गर्न निर्देशन दिइन् ।

    हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपालीहरु रहेको र उहाँहरु सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयले नेपाली राजदूतावास, तेल अभिभमा नियोग उप(प्रमुखरप्रवक्ता कुमारबहादुर श्रेष्ठलाई फोन नं ९७२–५३५३६०७४८, ०३५१००१११ र इ–मेलः [email protected] नेपाली राजदूतावास, दोहामा मिनिष्टर काउन्सेलर\नियोग उप=प्रमुख कुमार राईलाई फोन नं ं९७४–५५६१६०४०, ,९७४४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२ र इ–मेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।