Category: समाचार

  • ढुङ्गा प्रहारबाट युवकको मृत्यु

    ढुङ्गा प्रहारबाट युवकको मृत्यु

    ६ असार, दमक । ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ । यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५ः३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो ।

    दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुङ्गा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए । घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए । लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    ६ असार, सिरहा । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा मगमगाइरहको छ । हरेक घरको आँगन, बगैँचाको कुना र बजारको छेउमा बगिरहेको आँपको सुगन्ध सिरहाको पहिचान हो । हावामा घुलिएको त्यो सुगन्ध, जुन स्वादमा बदलिन्छ । यही स्वाद अब व्यवसाय, रोजगारी र आत्मनिर्भरताको गाथा बन्न थालेको छ ।

    आँपको राजधानीका रूपमा लिइन्छ सिरहालाई । यद्यपि, यो उपाधि कुनै आधिकारिक निकायले दिएको नभएर जनमानसमा विकसित भएको उपमा हो । सिरहालाई ‘आँपको राजधानी’ भन्ने चलन यसको बृहत् उत्पादन, समथर भूभाग, गर्मी मौसम, विशिष्ट गुणस्तर र व्यापारिक महत्वजस्ता कारण मुख्य हुनसक्छ ।

    आँप केवल स्वादिलो फलमात्र होइन, यो पोषण, स्वास्थ्य, संस्कृति र अर्थतन्त्रसँग गाँसिएको फल पनि हो । त्यही भएर यसलाई ‘फलको राजा’ मात्र नभई ‘जीवनको फल’ पनि मानिन्छ । यसको खेतीमा जीवनयापन गर्ने हजारौँ व्यावसायिक किसानको आशा, मेहनत र भविष्य यसैमा गाँसिएको हुन्छ । आँप केवल स्वाद र सुगन्धको प्रतीकमात्र होइन, यो धेरैका लागि जीवनको आधार पनि हो ।

    गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले करिब सय बिघा क्षेत्रफलमा फैलिएको आँपको व्यवस्थित बगैँचा तयार गरेका छन्, जुन अहिले जिल्लाकै सबैभन्दा ठूलो व्यावसायिक आँपखेतीको नमूना बनेको छ । यो बगैँचाले केवल उत्पादनको मात्रामा मात्र योगदान दिएको छैन, जिल्लामा व्यावसायिक आँपखेतीतर्फ किसानको रुचि बढाउने प्रेरणा पनि प्रदान गरेको छ ।

    “पहिला परम्परागत रूपमा खेती गथ्र्यौँ, अहिले भने बजार, प्रविधि र व्यवस्थापनमा ध्यान दिएर व्यावसायिक बनाएका छौँ”, किसान निरज सिंहले भने, “आँपखेतीबाट दैनिक २५ देखि ३० जनाले रोजगारी पाउने गरेका छन् । सिजनमा दुई सयदेखि पाँच सय कार्टुनसम्म आँप टिप्ने, प्याक गर्ने र त्यसलाई काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुरसम्म लैजाने गरेका छौँ ।” बगैँचाबाट हरेक वर्ष लाखौँ रूपैयाँको आँप बिक्री हुने गरेको उनको भनाइ छ ।

    नेपालमा आँपको मुख्य मौसम सुरू नहुँदै बजार भारतीय आँपले भरिने क्रम यस वर्ष पनि दोहोरिएको किसान सिंहले दुःखेसो पोखे । उनका अनुसार, जेठ दोस्रो सातादेखि नै नेपालका सहरबजारमा भारतीय आँपको बर्चस्व देखिन्छ, जबकि स्थानीय आँप असारको पहिलो, दोस्रो हप्तामात्र परिपक्व हुन सुरू गर्छन् । “यसले गर्दा देशभरका व्यावसायिक किसान चिन्तित छन्”, उनले भने ।


    यहाँका आँप बजारमा आउनुअघि नै सस्तो दरमा भारतीय आँप बग्रेल्ती भित्रिएपछि यहाँका किसान प्रतिस्पर्धामा पछाडि परेका छन् । सिरहाको मुसहर्नियाका व्यावसायिक कृषक भरत यादव भन्छन्, “हामीले मेहनत गरेर आँप उत्पादन गर्यौँ, तर भारतीय आयातले हाम्रो उत्पादनलाई बजार नै नदिएपछि ठूलो घाटा सहनुपरेको छ । एकातिर आँपको उत्पादन घटयो, अर्कातर्फ बजार मूल्य उस्तै रह्यो ।”

    मधेस प्रदेश आँपखेतीका लागि उर्वरभूमि हो । यहाँको हावापानी, माटो आँप उत्पादनका लागि सुहाउँदो छ । प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँपखेती हुँदै आएको छ । आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव डा उमेश दाहालको भनाइ छ ।

    मन्त्रालयको तथ्याङ्कानुसार देशभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँपखेती हुन्छ । जसबाट वार्षिक उत्पादन हुने पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँपमा मधेस प्रदेशमा मात्र २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँपखेती हुने गरेको छ । जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ ।

    आँप उत्पादनका दृष्टिले सिराहा सबैभन्दा अगाडि छ । सिराहमा वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा चार हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ ।

    नेपालका विभिन्न सहरमा ‘लहानको माल्द आँप’ भनेर बिक्री हुने आँप स्वादका हिसाबले चर्चित त छ, तर पछिल्लो समय बजारमा ठगी, विषादी प्रयोग र नक्कली ‘लेबलिङ’का कारणले यसको बदनामी पनि उत्तिकै बढ्दो छ । लहानकै माल्दको स्वाद पाएकाहरूमाझ भने यो आँप नामी छ । विसं २०८१ चैत २६ गते मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोपलगायत मुलुकमा निर्यात गर्नुपर्ने बताएका थिए ।

    मधेसको आँपको रसलाई जुसका रूपमा ब्राण्डिङ गरेर मनग्य आम्दानी लिन सकिने प्रधानमन्त्रीको भनाइ थियो । तर आँपको भण्डारण गर्न आवश्यक पर्ने चिस्यान केन्द्र सिरहामा मात्र होइन, मधेस प्रदेशमै छैन । चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तहको स्रोतसाधनले नधान्ने लहान नगरप्रमुख महेशप्रसाद चौधरीको भनाइ छ । त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पटकपटक पहलकदमी गरेता पनि बेवास्ता गरिएको उनले बताए ।

  • दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प

    दव्ल्याङमा पहिरो, कालीगण्डकी करिडोर ठप्प

    ६ असार, बलेवा । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।

    करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए । करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।

    कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ । कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए ।

  • नवलपरासीमा बाढीले बस बगायो, यात्रु सकुशल

    नवलपरासीमा बाढीले बस बगायो, यात्रु सकुशल

    ६ असार, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए ।


    “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भने, “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।” बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए ।

    यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन् ।

  • नेपालकै पहिलो ‘फ्लाई ओभर’ आजबाट सर्वसाधारणका लागि खुला गरिँदै

    नेपालकै पहिलो ‘फ्लाई ओभर’ आजबाट सर्वसाधारणका लागि खुला गरिँदै

    ६ असार, काठमाडौं । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्ने तय भएको छ ।

    फ्लाई ओभर निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

    केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

    केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब रु एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए । “ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भयो”, उनले भने, “प्रारम्भिक डिजाइनअनुसार काम सुरू गरे पनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो ।

    त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको हो । साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामा सुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो । यो कामले अतिरिक्त समय र स्रोतको खपत गर्यो ।”

    त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताए । “त्यसको असरस्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल–४ र प्यानल–५ बीचको अन्तराल बढेको थियो । उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेको थियो । जसले कार्यअवधि थप लम्बिएको हो”, उनले भने ।

    भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको उनको भनाइ छ ।

    “बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ । यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ”, भण्डारीले भने, “यस पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको हो ।”

    केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा रु १४ करोड लागत थप भएको जानकारी दिए । “करिब रु १७ करोड छ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत रु ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ”, उनले भने, “ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।”

    भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुट सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताए ।

    “ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो । छोटाछोटाभन्दा पनि लामो फ्लाई ओभर निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ”, उनले भने, “ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन् । तर सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने र त्यो स्थानमा जाम बढ्ने छ । तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक छ ।”

    गिरीले भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य सहरका मुख्य चोकमा पनि यस्ता ओरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझावसमेत दिए । पूर्वाधारविद्समेत रहनुभएका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाले उपत्यकालगायत मुलुकका मुख्य सहरमा सवारीसाधनको चापका कारण ट्राफिक समस्या बढिरहेको अवस्थामा अन्डरपास र ओभरपास आजको आवश्यकता रहेको बताए ।

    “ग्वार्को फ्लाई ओभर निर्माणले मुलुकमा पूर्वाधार विकासको सकरात्मक पक्षलाई झल्काउँछ । निर्माणकार्य ढिला भए पनि यसले सकरात्मक सन्देश प्रवाह गरेको छ”, उनले भने, “ग्वार्कोमा मात्र नभएर अब कोटेश्वरर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल, सातदोबाटोलगायत क्षेत्रमा अन्डरपास र ओभरपासको योजना छिट्टै तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । अनि मात्र ट्राफिक व्यवस्थापन सहज हुन्छ ।”

    सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ग्वार्को ओभरपासको निरीक्षण गरेको थियो । उद्घाटनको पूर्वसन्ध्यामा गत बुधबार समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको थियो । ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको र जहाँ स–साना तर महत्त्वपूर्ण काम बाँकी रहेको बताउँछन् समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ।

    “ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम बाँकी छन्”, उनले भने, “जस्तै बत्ती जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसीक्यामेरा जडानलगायतका काम बाँकी छन् । मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई बोलाएर आवश्यक निर्देशन दिन छलफल गरिएको छ ।”

  • थाइ प्रधानमन्त्री पेटोङटार्नद्वारा क्षमा याचना, सरकार सङ्कटमा

    थाइ प्रधानमन्त्री पेटोङटार्नद्वारा क्षमा याचना, सरकार सङ्कटमा

    एजेन्सी
    ६ असार, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियाका पूर्व नेता हुन सेनसँग भएको टेलिफोन वार्ता सार्वजनिक भएपछि यस बिषयमा बिहीबार माफी मागेकी छिन् । टेलिफोन वार्ताप्रति असहमति जनाउँदै उनको मुख्य गठबन्धन साझेदारले राजीनामा दिएको छ । यसले उनलाई राजीनामा दिन वा मध्यावधि निर्वाचन गर्न दबाब परेको छ । उनले कम्बेडियाली वरिष्ठ नेता नेता हुन सेनलाई ‘अङ्कल’ भनेर सम्बोधन गर्दै देशको उत्तरपूर्वमा थाइ सेनाका कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वी बताएको सार्वजनिक श्रव्यसामग्रीलाई उद्धृत गर्दै थाई सञ्चारमाध्यमले जनाएका छन् ।

    थाइ सरकार आफ्नो अर्थव्यवस्थालाई सुधार गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अत्यधिक कर वृद्धिबाट पर्ने प्रभावबाट बच्न चाहेका समय सार्वजनिक भएको विवादास्पद संवादले राज्यलाई राजनीतिक अस्थिरताको नयाँ चरणमा धकेलेको छ । थाइल्याण्डको परम्परावादी भुमजाइथाई पार्टीले पेटोङटार्नको लिक भएको फोन कलमा व्यक्त बिषयले प्रधानमन्त्रीका रूपमा उनको राष्ट्रप्रतिको आचरण र देश र सेनाको गरिमामा चोट पुर्‍याएको भन्दै बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    बिहीबार दबाब बढेपछि पेटोङटार्नले पत्रकार सम्मेलन गरी सैन्य प्रमुख र आफ्नो फेउ थाई पार्टीका वरिष्ठ नेतालगायत शुभेच्छुकसँग माफी मागेकी छिन् ।
    पेटोङटार्नले सञ्चारकर्मीसँग भनिन्, “कम्बोडियाका एक नेतासँग भएको श्रव्य सामग्रीका लागि म माफी माग्न चाहन्छु।” थाइल्याण्डका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ पेटोङटार्न पूर्व प्रधानमन्त्री तथा अर्बपति नेता थाक्सिन सिनावात्राकी छोरी हुन् । सन् २०२३ मा पदबाट हटेपनि कम्बोडियामा अझै पनि शक्तिशाली रहेका हुन सेनसँग जारी सीमा विवादको बारेमा पेटोङटार्नले उक्त कलमा चर्चा गरेको सुनिन्छ ।

    थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार कम्बोडियाका राजदूतलाई बोलाएर उक्त फोन लिक भएकोबारे स्पष्टिकरण सोधेको छ । भुमजाइथाईका ६९ जना सांसदको समर्थन फिर्ता भएपछि पेटोङटार्नलाई संसद्मा बहुमत पुर्‍याउन मुस्किलले पर्याप्त मत पुग्नेछ तर विवाद चर्किँदै जाँदा अन्य सहयोगी दलले पनि समर्थन फिर्ता लिएमा मे २०२३ मा भएको मतदानको दुई वर्षपछि सत्ताबाट हट्नु वा मध्यावधि निर्वाचनको घोषणा गर्नुको विकल्प रहने छैन ।

    अन्य दुई गठबन्धन दल ‘युनाइटेड थाइल्याण्ड नेशन’ र ‘डेमोक्र्याट पार्टी’ले बिहीबार वा शुक्रबारसम्ममा स्थितिबारे छलफल गर्न बैठकहरू आयोजना गर्ने बताएका छन्। फोन कलले सार्वजनिक आक्रोश निम्त्याएको भन्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग गर्दै सयौँ सरकार विरोधी प्रदर्शनकारीहरू बिहीबार थाइल्यान्डको सरकारी भवन बाहिर भेला भएका छन् ।

    उक्त फोन प्रकरणले देशको अवमूल्यन गरेको र सेनाको मर्यादाको अपमान गरेको आरोप लगाउँदै प्रमुख साझेदार भुमजाइथाई पार्टी बुधबार सरकारबाट बाहिरिएपछि पेटोङटार्नको गठबन्धनलाई हल्लाएको छ । अत्यधिक गर्मीमा आयोजित विरोध प्रदर्शनले प्रायः पहेँलो सर्ट लगाएका वृद्ध प्रदर्शनकारीहरूलाई आकर्षित गरेको छ । यो रङ थाइल्यान्डको राजतन्त्रसँग दृढ रूपमा सम्बन्धित छ । प्रदर्शनकारीहरूले ३८ वर्षीया प्रधानमन्त्री पेटोङटार्नलाई ‘कूटनीतिक सीपको कमी’ र ‘राष्ट्रिय हितलाई खतरामा पारेको’ आरोप लगाएका छन् ।

    “जब मैले (लिक भएको) अडियो सुनेँ म धेरै निराश भएँ”, मन्दिरकी ६८ वर्षीया कार्यकर्ता कन्या हनोटीले भनिन्, “उहाँसँग वार्तालाप गर्ने कौशलको कमी छ । उहाँ आफूलाई के ठान्नुहुन्छ ? यो देश उहाँको होइन ।” प्रदर्शनकारीहरूले थाई झण्डा र पेटोङटार्नलाई ‘देशद्रोही’ भनेर लेबल गर्ने प्लेकार्डहरू फहराए र ‘सत्ता छोड१’ र ‘पेटोङ्टार्न मुर्दावाद’ भनेर नाराबाजी गरेका थिए । भिडमा रहेका धेरैजना परम्परागत शाही समर्थक ‘पहेँलो सर्ट’ आन्दोलनको लामो समयदेखि समर्थक थिए । ती समर्थकले सन् २००० को दशकदेखि सिनावात्रा राजनीतिक वंशको कडा विरोध गर्दै आएका छन् ।

  • इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

    एजेन्सी
    ६ असार, काठमाडौं । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन् ।

    “आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस ९आइडीएफ सीफोरआई० र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो,” अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ।

    ‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ। इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि आक्रमणबारे एक वक्तव्य जारी गरेको छ ।

    “यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर’लाई लक्षित गरिएको र क्षेप्यास्त्रको निशाना अत्यन्त सटिक र निर्देशित बनाइएको थियो,’ सरकारी टेलिभिजनद्वारा प्रशारित इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सेनाले इजरायलको हवाई क्षेत्र रक्षाविहीन रहेको र त्यहाँ कुनै पनि सुरक्षित स्थान नहुने चेतावनी यसअघि नै दिएको थियो ।

  • इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

    इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

    एजेन्सी
    ६ असार, काठमाडौं । बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् । “आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,” नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ । इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो।

    अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए । उनले भने, “धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ ।

  • अमेरिकी नीतिले विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ

    अमेरिकी नीतिले विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ

    एजेन्सी
    ६ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न अनिश्चितताका कारण सन् २०२५ का लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ऋणात्मक रहेको संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास निकाय युएनसिटिएडीले जनाएको छ । सन् २०२५ को विश्व लगानी प्रतिवेदनमा युएनसिटिएडीले भनेको छ, “धेरै युरोपेली अर्थतन्त्रहरूमार्फत अस्थिर वित्तीय प्रवाहलाई हटाउन आर्थिक सतर्कता अपनाउँदा गत वर्ष एफडिआई ११ प्रतिशतले घटेर १.५ ट्रिलियन डलरमा झरेको छ ।

    गुटेर्रेसले भने, “विश्वले सहयोगलाई प्रगाढ बनाउँदै र अवसर विस्तार गर्नुपर्ने समयमा हामीले यसको ठीक उल्टो भइरहेको देखिरहेका छौँ ।” “अवरोधहरू बढ्दै छन्। विश्वव्यापीकरण पछि हटेको छ र दिगो विकासको लागि परिणामहरू गम्भीर बनेका छन् । “बढ्दो व्यापार तनाव, नीतिगत अनिश्चितता र भूराजनीतिक विभाजनले लगानीको वातावरणलाई अझ खराब बनाउने खतरा छ,” उनले भने । युएनसिटिएडीकी प्रमुख रेबेका ग्रिनस्पानले पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यसले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) कमजोर रहेको स्पष्ट र अत्यावश्यक सन्देश दिएको बताइन् ।

    सन् २०२४ मा अन्तर्राष्ट्रिय तनाव, व्यापार विखण्डन र तीव्र औद्योगिक नीति प्रतिस्पर्धाका कारण लगानीको परिदृश्यलाई आकार दिइएको युएनसिटिएडीले जनाएको छ । “यी कारणहरूले ‘दीर्घकालीन लगानीकर्ताको विश्वासलाई कमजोर पारिरहेको छ’,” युएनसिटिएडीले भनेको छ। ग्रिनस्पानले कोभिड–१९ महामारीपछि पहिलो पटक गत वर्ष व्यापारमा सुधारको राम्रो सङ्केत देखिएको तर हालको अनिश्चितताले सन् २०२५ का लागि त्यो सम्भावनालाई समाप्त पारेको बताए ।


    उनले भने, “हामीसँग रहेको समस्या के हो भने हामीले अप्रिलमा ट्रम्पले सुरु गरेको व्यापार युद्ध अन्त्यको तत्काल सम्भावना रहेको कल्पना गरिरहेका छैनौँं ।”
    विकसित अर्थतन्त्रमा प्रत्यक्ष वैदेशिक लगानी एफडिआईमा २२ प्रतिशतले गिरावट आएको र युरोपमा ५८ प्रतिशतले गिरावट आएको युएनसिटिएडीले जनाएको छ । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा उत्तरी अमेरिकाले २३ प्रतिशतको वृद्धिको साथ यो प्रवृत्तिलाई कम गरेको छ । विकासशील देशहरूमा व्यापक रूपमा प्रवाह स्थिर देखिएको छ ।

  • दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    ५ असार, दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो ।

    त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।

    खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार नेपाल र चीनबीच २०१९ मा भएको जिटुजी सम्झौतापछि यो काम सुरु गरिएको थियो । “नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा ४५ रोपनी सरकारी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरेको हो, यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो”, नापितले भने ।

    उनका अनुसार हाल प्राप्त भएको प्रतिवेदन प्रारम्भिक हो । ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ । चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । सोपछि डिसेम्बर भित्रै व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारी योजना रहेको बताइएको छ ।

    दैलेखको जमिनले आफैँबाट बल्ने ग्यास र तेल जस्तै पदार्थ चुहिने दृश्य स्थानीयका लागि नयाँ होइन । तर, वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो । विसं २०७२ मा संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीले मुलुकभर इन्धन संकट सिर्जना ग¥यो । यसपछि स्वदेशी ऊर्जा स्रोतप्रति सरकार गम्भीर बन्न बाध्य भयो । त्यही पृष्ठभूमिमा दैलेख फेरि चर्चाको केन्द्रमा आयो ।

    यो सङ्कटले एउटा अवसर सिर्जना ग¥यो । नेपालले स्वदेशी स्रोत पहिचान र उत्खननको सम्भावनामा पहिलो पटक गम्भीर ध्यान केन्द्रित ग¥यो । विसं २०७५ माघमा नेपाल–चीन बीच पेट्रोलियम अन्वेषणका लागि हस्ताक्षर भएको सम्झौताले एक प्राविधिक प्रगति मात्र होइन, रणनीतिक सन्देश पनि बोकेको छ ।
    प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका छ–सात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरुको अनुमान रहेको छ ।

    धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो । अबको चरणमा त्यसको परिमाण र गुणस्तरबारे विस्तृत रूपमा यकिन गरिको छ । अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना (.पाइलट) परियोजना हो । यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित हो । त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो । कोभिड–१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो ।

    नेपाल सरकारको खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो । यसले गर्दा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र वा अन्य कुनै पक्षबाट अवरोध भएन ।

    परियोजनाले अन्तिममा सार्थकता पाएपछि दैलेखवासी तथा सरोकारवाला निकाय उत्साहित भएका छन् । उत्खनन, प्रशोधन, आपूर्ति श्रृंखला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीय स्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मुलुकको ऊर्जा सुरक्षाका लागि यो परियोजना एक ऐतिहासिक अवसर सावित हुन सक्ने विश्वास लिइएको छ । प्रारम्भिक अनुमान अनुसारको भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भर हुनुपर्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदै स्वदेशी स्रोतबाट नै ऊर्जा उत्पादन र वितरण गर्न सक्ने अवस्थामा पुग्ने बताइन्छ ।

  • समाचार हटाउन अदालतले दिएको आदेश खारेज

    समाचार हटाउन अदालतले दिएको आदेश खारेज

    ५ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी दिएको रिट निवेदन खारेज गरेको छ । अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले आज धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग गर्दै अदालतमा रिट दायर गरिएको थियो । अदालतका सूचना अधिकारी श्रेष्ठले यसअघि अदालतले बोर्डका अध्यक्ष श्रेष्ठकाबारेमा प्रकाशित समाचार हटाउन अन्तरिम आदेश दिएको भए पनि आज भएको आदेशमा रिट नै खारेज भएसँगै समाचार हटाउन नपर्ने भएको बताए ।

  • इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण

    इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण

    ५ असार, काठमाडौं । इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले नेपाल फर्किन चाहने र उद्धारको माग गर्ने नेपालीहरुसँग तत्काल सम्पर्क गरी सोहीअनुसार यी दुई देशसँग समन्वय एवं कूटनीतिक पहलकदमी बढाउन सभाअध्यक्षमार्फत परराष्ट्र मन्त्रालयको ध्यानार्कषण गराए ।

    विश्व शान्तिको कामना गर्दै राष्ट्रियसभा सदस्यहरुले यसबाट नेपाललाई पर्ने सम्भावित खतराबारे सरकारलाई सतर्कता अपनाउनसमेत आग्रह गरे । विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले इजरायल र इरान युद्धको मारमा नेपालीको स्थिति र सुरक्षाबारे सरकारलाई सदनसमक्ष जानकारी गराउन माग गरे । विशेष समयमा दलीय आधारमा उपलब्ध समयमा नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगर, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार र नेकपा (एमाले)का सांसद भगवती न्यौपानेले इजरायल र इरानयुद्धले नेपालमा पर्ने प्रभावबारे सरकारको ध्यानार्कषण गराए ।
    “इजरायलमा झण्डै सात हजार र इरानमा एक दर्जन नेपाली छन् । सरकारले उहाँहरुको सुरक्षाका लागि केही कदम पनि चालेको छ, कूटनीतिक पहलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल फिर्ता गरियोस”, सांसद न्यौपानेले भने । विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जितजङग बस्नेतले राजावादी र राजाका समर्थकले विद्यमान राजनीतिक व्यवस्थाप्रति गलत भाष्य निर्माण गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे ।

    “यो देश हामीले बनाउने हो । गणतन्त्र हामीले ल्याएका हौँ । हामीले राजा हटाएका हौँ, अब राजा आउन सक्दैन”, सांसद बस्नेतले भने । नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले राज्य सञ्चालनको नेतृत्वमा रहेका नेताहरु इमान्दार र नैतिकवान बन्न नसकेको राय व्यक्त गरे । मधेसका जनता सामाजिक न्यायको पहुँचबाट टाढा रहेकाले राज्यले अभिभावकत्व ग्रहण गर्न चुकिरहेको उनको भनाइ थियो ।

    “मधेशको अवस्था विकराल छ । सरकारको ध्यानार्कषण गराएँ, तर सरकार मौन छ । मधेशको समस्या ज्यूँका त्यू छ”, सांसद सुनारले भने, जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले कर्मचारी व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउन र स्थानीय तहको सेवा प्रवाह अवरुद्ध नहुने नीति निर्माणका लागि सङ्घीय सरकारको ध्यानार्कषण गराइन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद विष्णुबहादुर विश्वकर्माले कर्णालीलाई विकास पूर्वाधार निर्माण, विद्युत्, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र खाद्यान्नलगायत विषयमा जोडिदै जानु विद्यमान राजनीतिक व्यवस्थाको उपलब्धि भएको जिकिर गरे ।

  • आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    ५ असार, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताए ।


    अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका दृष्टिकोणले नयाँ उदाहरण स्थापित गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, “बजेट आकार, अनुमान र प्रस्तावका दुष्टिले मात्र होइन कार्यान्वयनमा दृष्टिले पनि उपयुक्त थियो भन्ने अभिलेख होस भन्ने सोच र सङ्कल्पका साथमा बजेट प्रस्तुत भएको छ ।” आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशतमा राख्न छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट कार्यानवयन हुने समेत उल्लेख गरे ।

    “बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ, बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा एक कदम अघि बढेको हुनेछौँ, सोही अठोट र सङ्कल्पसहित प्रस्तुत बजेट आएको छ”, अर्थमन्त्री पौडेलले भने । आगामी आवको बजेट नयाँ योजनाको भन्दा पनि विगतमा सुरु भएका योजना पूरा गर्ने गरी आएको उल्लेख गर्दै उनले विगतमा घोषणा गर्ने गरेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रि रहेको उल्लेख गरे ।

  • पहिरोले अरनिको राजमार्ग बन्द

    पहिरोले अरनिको राजमार्ग बन्द

    ५ असार, चौतारा । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।

    सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उनले जानकारी दिए । यसैबीच लगातारको अविरल वर्षासँगै भोटेकोसी–२ को लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ । पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

  • नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू

    नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू

    ५ असार, काठमाडौं । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

    त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।

    नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यू गरेका छन् । सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् । उनी टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालका ५२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गरेका थिए । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान ऐरी, कुशल भूर्तेल, लोकेश बम, आसिफ शेख, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।

  • झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

    झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज

    रासस
    ५ असार, दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो ।

    “खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,” कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन् । त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । पुल बनेपछि वर्खामा पनि विद्यार्थी नियमित रुपमा पढ्न जाने गरेका कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए ।


    विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ । त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए । अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको रु १८ लाख तथा स्थानीयको रु एक लाख २५ हजार बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

  • भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

    भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

    ५ असार, भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा ९हाब्रे०संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

    रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।

    गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित रु १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए । “हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ”, उनले भने, “रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति)को आठ हजार बिरुवा रोपन गरेका छौँ । रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षण गरिरहेका छौँ । रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।”

    राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए । मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । रेड पान्डाको वासस्थन संरक्षणको लागि विशेष रुपमा जोड दिएको छ । यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उनको भनाइ छ ।

    “हामीले रेड पान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भने, “यहाँ रेड पान्डा फेला परेको अवस्था छ । संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ । स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्नको लागि आवश्यक काम गरिरहेका छौँ ।” रेड पान्डाको सुरक्षाको लागि घुम्ती गस्ती गर्न तालिम दिएर सात वटा समूहलाई परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    स्थानीयवासीले रेड पान्डाको अवस्थाको जानकारीसँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने उनले जानकारी दिए । साथै पारिश्रमिक दिएर दुई जना वन अभिभावकसमेत नियुक्त गरिएको अध्यक्ष श्रेष्ठले बताए । वन अभिभावकले हेरालु समूहको परिचालनसँगै यहाँको रेड पान्डाको विषयमा समय÷समयमा अध्यावधिक गराउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

  • परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    ५ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो ।

    इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
    त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्न समेत सूचनामा उल्लेख छ ।

    इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको र निजहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।

    स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो मुलुक हुँदै नेपाल फर्कनु परेमा तेस्रो मुलुकको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


    इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर÷सेल्टरबाट बाहिर ननिस्क मन्त्रालयले अनुरोध गरेको छ । साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।

    मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ । सङ्कट आइपरेमा उद्धार तथा सहायता र ‘ट्रेकिङ’ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइट’मा राखिएको ‘अनलाइन लिङ्क’मा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न अनुरोध गरिएको छ ।

  • चैते धान थन्क्याउने चटारोमा किसान

    चैते धान थन्क्याउने चटारोमा किसान

    ५ असार, डुम्रे । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ । तर, भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले भने, “मनसुन सुरु भएसँगै चैते धानखेती थन्क्याउन किसान व्यस्त छन् । चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो हुन्छ । जिल्लाका चैते धानखेती हुने फाँटमा लगाइएका धान थन्क्याउन भ्याननभ्याई छ ।”

    मनसुन सुरु हुनासाथ वर्षेधान मात्रै हुने स्थानमा अहिले रोपाइँ सुरु भइसकेको उनले बताए । तनहुँ धानखेती हुने पहाडी जिल्लाकै रूपमा पर्ने गरेको उनको भनाइ छ । अधिकृत परियारका अनुसार उक्त क्षेत्रफलमा गरिएको धानखेतीबाट आर्थिक वर्ष २०८०÷८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको छ । त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान उत्पादन भएको जनाएको छ ।

    चैते धान प्रवद्र्धन कार्यक्रमले यसतर्फ किसान आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । थन्क्याउने कार्य चलिरहेकाले चालु आर्थिक वर्षको तथ्याङ्क आउन बाँकी रहेको उनले बताए । उनले भने, “सिँचाइ भएको क्षेत्रफल र केही क्षेत्रमा सिँचाइको व्यवस्थापन भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।”

    भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायतका विभिन्न पालिकाका फाँटमा धानखेती हुने गरेको छ । चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

  • आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

    आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

    ५ असार, काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा\हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ महाशाखाले जनाएको छ ।

  • वर्षाले नारायणघाट- बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    वर्षाले नारायणघाट- बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    ५ असार, नवलपुर । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताए ।

    लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गरे ।


    पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उनले आग्रह गरे । काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गरे । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उनको भनाइ छ।

  • सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता

    सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता

    एजेन्सी
    ५ असार, काठमाडौं । इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उनले बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले इजरायल छाड्न चाहने इटालियाली नागरिकका लागि उडान उपलब्ध गराइएको बताए । ग्रीसले आफ्ना १०५ जना नागरिक र केही विदेशी नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।

    इजिप्टको शर्म अल शेखबाट सी–१३० र सी–२७ ग्रीक वायु सेनाको विमानमार्फत एथेन्स पु¥याइएको दूतावासले जनाएको छ । विमानमा ग्रीक नागरिक र उनीहरूका परिवारका साथै अल्बानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, फ्रान्स, जर्मनी, जर्जिया, हङ्गेरी, इटाली, लिथुआनिया, रोमानिया, स्वीडेन, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका थिए ।

    पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले पोल्याण्डको पहिलो समूह आफ्नो देश फर्कन सफल भएको र बिहीबारका लागि अर्को उडान तय भएको बताए । सोफियामा ८९ जना बुल्गेरियालीसहित १४८ जनालाई उद्धार गरिएको एउटा निजी विमान बुधबार राति अवतरण गरेको छ । गत शुक्रबार इरानको आणविक र सैन्य केन्द्रलाई लक्षित गरी इजरायलले अकस्मात अवाइ आक्रमण चलाएपछि विदेशीहरू देश छोड्न हतारिएका छन् । युद्ध सुरु भएदेखि नै दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न कोसिस गरिरहेका छन्।

  • लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

    लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

    ५ असार, काठमाडौं । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ । गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना मात्र फेला परेको आइओएमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    समुद्रमा डुबेर मृत्यु हुनेमा इरिट्रिया, पाकिस्तान, इजिप्ट र सुडानका नागरिक रहेका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार दोस्रो दुर्घटना बन्दरगाह शहर तोब्रुकबाट करिब ३५ किलोमिटर टाढा भएको थियो, जहाँ कम्तीमा ३९ जनाको समुद्रमा डुबेर मृत्यु भएको थियो । मध्यपूर्व र उत्तर अफ्रिकाका लागि आईओएमका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले भने, “दर्जनौंको मृत्युको पीडामा रहेको अवस्थामा आईओएमले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायलाई खोजी र उद्धार कार्यबढाउन र बाँचेकाहरूलाई सुरक्षित र पूर्वानुमानयोग्य अवतरणको प्रत्याभूति दिन आग्रह गरेको छ।”

    विज्ञप्तिमा भनिएको छ, “भूमध्यसागर पार गरेर युरोप जाने क्रममा यस वर्ष अहिलेसम्म कम्तीमा ७४३ जनाको मृत्यु भएको छ । यो घातक मार्गमा बढ्दो खतरनाक मानव तस्करी अभ्यास, सीमित उद्धार क्षमता र मानवीय परिचालनमा बढ्दो प्रतिबन्धले बढ्दो समस्यालाई उजागर गरेको छ। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार जुन १५ सम्ममा इटालियाली तटमा आप्रवासीको अवतरण वर्षेनी १५ प्रतिशतले बढेको छ।

  • महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश

    महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश

    ४ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई जेठ २० गते छ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले बिहीबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए । निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ ।

  • तयार भयो ग्वार्को ओभरपास, पूर्वाधार विकास समितिबाट निरीक्षण

    तयार भयो ग्वार्को ओभरपास, पूर्वाधार विकास समितिबाट निरीक्षण

    ४ असार, काठमाडौं । सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको हो । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको बताए । “ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम बाँकी देखिएको छ,” उनले भने, “लाइट जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसी क्यामरा जडानलगायतका काम बाँकी छन् । मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई बोलाएर आवश्यक निर्देशन दिन छलफल गरिएको छ ।”

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी शुक्रबार ओभरपास उद्घाटन गर्ने जनाएको छ । पटक–पटक म्याद थप हुँदै आएकोमा अब भने ओभरपास निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ । विसं २०७८ फागुन १२ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको उक्त फ्लाइओभर परियोजना विभिन्न चरणमा म्याद थप गर्दै २०८१ साल पुस ८ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । ३० मिटर स्पान र चार लेनको पुलसहितको उक्त ओभरपास आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले निर्माण गरिरहेको छ ।

  • सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

    सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

    ४ असार, काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब रु २९ अर्ब ७२ करोड उपलब्ध हुनेछ ।

    त्यसैगरी विश्व बैंकबाटै पुल सुधार तथा कार्यक्रम तोस्रो चरणका लागि प्राप्त हुने करिब रु २० अर्ब ७९ करोड नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । साथै, उनका अनुसार दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब रु एक अर्ब आठ करोड ८० लाख नेपाली अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    यही असार २ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै उहाँले यही असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र माछा पालन सहुलियतका विषयमा विश्व व्यापार सङ्गठन हुने सम्झौता सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

    प्रवक्ता गुरुङका अनुसार वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश डा शान्ता सेढाइँ सापकोटालाई तोक्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरूवा गर्ने र सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको छ ।

    त्यसैगरी सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई दुई बिघा, १३ कट्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा एक सय शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

    त्यसैगरी, २०८२ असार ९ र १० गते भारतको पूणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) लाई ४०० केभी डवलसर्किट विद्युत् प्रसारणलाइन आयोजना निर्माणको लागि नवलपरासी (वर्दघाट सुस्ता–पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३ दशमलव ६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।

    त्यसैगरी यही असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुने वल्ड समिट अन द इन्र्फमेसन सोसाइटि (डब्लुएसआइएस) प्लस ट्वान्टी फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५ कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई स्वीकृति दिइएको छ ।

    यही असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने अर्ड मिनिस्टेरियल कन्फ्रेन्स अन सिभिल रजिस्टेशन एन्ड भाइटल स्टाटिस्टीक्स् ९थ्री एमसिसिआरभिएस० इन एसिया एन्ड ‘द’ पेसिफिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।

    त्यसैगरी मन्त्रिपरिषद्ले इन्टरनेश्नल विग क्याट अलाइन्स (आइविसिए) को सदस्यता प्राप्त गर्न स्वीकृति दिएको छ । नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने सरकारको निर्णय रहेको छ ।

  • नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    ४ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

    “पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमूलुक जान लागेको बताएका छन्”, सशस्त्र प्रहरी बल नेपाल विओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, “उनीहरुलाई भारत लैजान लागेको आशङ्कामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ ।”

    सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर आजै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

  • काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?

    काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?

    ४ असार, काभ्रे । काभ्रेका स्थानीय तहले औसतः प्रदर्शन गरिरहेको देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेले आर्थिक वर्ष २०८१–०८२को प्रगति समीक्षा सोमबार सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले, जिल्लामा रहेका १३ स्थानीय तह , संघ र प्रदेश स्तरीय विषयगत कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेको हो । धुलिखेल अस्पतालस्थित अडिटोरियम हलमा सम्पन्न समीक्षा कार्यक्रममा सो विवरण प्रस्तुत गरिएको हो ।


    कार्यक्रममा आर्थिक वर्ष २०८१–८२ मा जिसस काभ्रेले विपदबाट आक्रान्त नागरिक तथा पालिकाहरुलाई विनाशबाट पुगेको क्षतिपछि राहत र उद्दारमा सहयोग गरेको जानकारी दिइयो । विपद् अनुगमन गरि सम्बन्धि निकायमा जानकारी गराउने तथा खानी र गिट्टी बालुवाको निरीक्षण गरिएको समेत जानकारी गराइयो । यस वर्ष काठमाडौ विश्वविद्यालयमा विश्व युवा सम्मेलन आयोजना समेत गरिएको थियो , जिससको यस वर्ष ७७.४ प्रतिशत वित्तिय प्रगती देखिएको छ ।


    बनेपा नगरपालिकाले आफ्नो वडाहरुमा विपद व्यवस्था समिति गठन गरेका जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयमा दिवा खाजामा पाँच रुपैया थप गरेको कार्यक्रममा बताइयो । धुलिखेल नगरपालिकाले विद्यालयमा डिजिटल माध्यमबाट पढाउन सुरु गर्नुका साथै ५७.८ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइयो ।

    पनौती नगरले भैंसी सुत्केरि भत्तावितरण गरि कृषकलाई प्रोत्साहन गरेको बताएको छ । संरक्षित क्षेत्रलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल लिएको दावि गरिएको छ । नमोबुद्दले पर्यटन सुचना केन्द बनाएको र ११ हजार ६ सय ३३पशुको विमा गरेको तथ्यांक प्रस्तुत गरियो । अस्थाई आबासको रकम पूर्ण रुपमा वितरण गरेको दावि छ ।


    पाँचखाल नगरले १ हजार ५ सय ३१ व्यक्तिगत घटना दर्ता गरेको तथ्यांकले देखाएको छ। ५१ भन्दा बढि सामुदायिक वनमा फलफूल तथा जडिबुटी रोपेर आत्मनिर्भर बन्ने प्रयास गरेको बताएको छ । मण्डनदेउपुर नगरले जापानको एक नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरि शहर उन्मुख बन्ने प्रयास गरेको बताएको छ । विपदमा परेका नागरिकलाई ५० हजार नगद सहयोग गर्नुका साथै नगरले विद्यार्थीहरुको नाक, कान,घाँटीको निशुल्क जाँच सुरु गरेको दावि गरेको छ ।
    महाभारत गाउँ पालिकाले यस आजमा शून्य बेरुजु पालिका हुन सफल भई देशमा उदाहरणीय पालिकाको रुपमा प्रस्तुत भएको बताएको छ । बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्नुका साथै कफि राप्ने १ बोट हातमा २० को नोट अभियान मार्फत कृषकसँग सहकार्य गरिहेको बताएको छ । भुम्लु गाउँ पालिकाले डडेलो मुक्त पालिका घोषणा गरेको छ ।

    स्थानीय उत्पादन कोदो र फापरमा २० देखि ३० रुपैयाँ अनुदान दिएको बताइएको छ । प्रशाकिय भवन निर्माणका लागि जग्गा प्राप्तिको काम अगाडि बढेको बताइएको छ । पाँच पाण्डबको मुर्ति स्थापना गरि एसईईमा प्रथम स्थान हुने विद्यार्थीलाई १–१लाख रकम दिएर प्रोत्साहन गरिरहेको समेत जानकारी दिइयो ।
    बेथानचोक गाउँपालिकाले गत असोज १२–१३ गतेको विपद् डटेर सामना गरेको बताएको छ । यस गाउँपालिकाले ५३.५९ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।

    रोशीले ४४ जना कृषकलाई पशुपालनमा अनुदान दिएको थियो । पालिकाको न्यायिक समितिमा दर्ता भएका ९ मुद्दा मध्य ५ मुद्दा मेलमिलाप भइसकेको बताएको छ । खानिखोलाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताएको छ । चौरीदेउराली गाँउपालिकाले व्यावसायीक खेतिलाई प्राथमिकता दिएको रसामाजिक सुरक्षा भत्ता घर घरमा गएर बाँडने गरेको बताइएको छ ।

    तेमाल गाउँपालिकाले दक्ष जनशक्तिको अभावको बीचमा पनि सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर दिने गरेको जानकारी दिइयो । कार्यक्रममा सांसद गोकुल बास्कोटासहित काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत प्रसाद वाग्े समेत सहभागी थिए ।

  • तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प

    तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प

    ४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ। ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका थिए।

    त्यसबारे उनले थप विवरण दिएनन्। अमेरिकाले आफ्ना थप सैन्य स्रोतहरू उक्त क्षेत्रमा परिचालन गर्न लागेको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षास्थिति सुदृढ पार्न चाहेको बताए। तर बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएस न्यूजका अनुसार अधिकारीहरूले अमेरिका इजरेलको आक्रामक कारबाहीमा सामेल नहुने बताएका छन्। जी सेभेन देशका नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पको पूर्ण ध्यान तानेर कुराकानी गर्न चाहिरहेका थिए।

    तर राष्ट्रपति ट्रम्प पूर्व निर्धारितभन्दा एक दिन अगावै वाशिङ्टन फर्कने भएका छन्। ट्रम्प फर्किए पनि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई शिखर सम्मेलनका बाँकी बैठक आयोजना गर्नु पर्ने छ। जी सेभेन समूहमा अमेरिका, यूके, क्यानडा, इटली, फ्रान्स, जर्मनी, र जापान छन्। साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ। जी सेभेनको बैठकलाई बीचमै छाडेर ट्रम्प फर्किएको यो पहिलोपटक भने होइन।

    सन् २०१८ मा क्यानडामा नै भएको शिखर बैठकलाई पनि ट्रम्पले बीचमै छाडेर उत्तर कोरियाली नेता किम जङ् अनसँग भेट्न गएका थिए। यसपालि पनि उनी चाँडै बाहिरिने भएपछि प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले, यदि अमेरिकाले युद्धविराम गराउँछ भने त्यो राम्रो कुरा हुने बताए।

    माक्रोँका अनुसार ट्रम्पले केही बेर अगाडि कुराकानीहरू भइरहेको उनलाई बताएका थिए। इरानको सरकारी सञ्चार माध्यमले राजधानी तेहरानमा मङ्गलवार सबेरै विस्फोटनहरू भएका विवरण दिएको छ। इजरेलले त्यहाँको उत्तरपूर्वी क्षेत्रबाट मानिसहरूलाई घर छाडेर जान भने लगत्तै ती विस्फोटन भएका हुन्।

    इजरेलमा पनि इरानले क्षेप्यास्त्र प्रहार गरेको सङ्केत पाएपछि मानिसहरूलाई सुरक्षित रहन बजाइएका साइरनका आवाज आएका छन्। इजरेली सेनाले इरानबाट उत्पन्न खतरा निमिट्यान्न पार्न काम गरिरहेको बताएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले इरानविरुद्धको सैन्य कारबाहीले मध्यपूर्व बदलिइरहेको बताए। इरानको सत्ता बताइएको भन्दा कमजोर रहेको त्यहाँका मानिसहरूले चाल पाइरहेको उनले बताए। बीबीसी

  • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    ४ असार, वीरेन्द्रनगर । भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।


    गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइ–नभ्याइ छ । किसानहरु हरेक दिन भ¥याङ ठड्याएर लिचीका दान चिप्ने चटारो देखिन्छन । रामघाट–११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक रुपमा लाखौँको आम्दानी गर्दै आएकी छिन् । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र १५० वटा आँपका बोट रोपेकी छिन् । २५ वर्षअघि रोपेका लिची र आँप उहाँको आम्दानीको स्रोत हुन् । ‘‘यसपालि हावाहुरीले आँपमा असर ग¥यो तर लिची राम्रो फल्यो”, उनले बताइन् ।


    उनका अनुसार बोटमै प्रतिकिलो रु एक सयदेखि रु एक सय ५० सम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उनी बताउँछिन् । “वार्षिक रूपमा लिचीबाट मात्र एक लाखभन्दा बढी आम्दानी हुन्छ”, उनले भनिन्, “यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु ।”

    उनले थपिन्, ‘‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरु आफैँ बगैँचा मै आउने गर्नुभएको छ, यसले हामी किसानले बजार खोज्न जान पनि परेको छैन र मूल्य पाएका छौँ ।’’ रुपा जस्तै रामघाट–११ का किसान टेकबहादुर धमला अचेल लिची टिप्नमा व्यस्त हुनुहुन्छ । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आउनुभएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताए । “यो वर्ष कीरा लागेर लिची उत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन, तै पनि झण्डै एक लाख जति आम्दानी भयो”, उनले भने ।


    धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उनले भने, “पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।” रामघाटमा सबै जसो घरघरमा दुई÷चार वटा लिचीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन् । धमलाले थपे, “अहिले गाउँका धेरै किसान लिचीखेती गर्न थालेका छन् । सुरुवाती लगानी धेरै नपर्ने र बजार सहज भएकाले लिची आकर्षक बन्दै गएको हो ।” उनका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चितता गरिदिए लिचीखेतीमा किसान आकर्षित भएका हुन् ।

    हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिची बिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् । उनले भने, “रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’’

    रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ । कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    उनले भने, “कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । फलफूल बगैँचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौँ ।”