Category: समाचार

  • आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

    आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

    ३ साउन, गलकोट । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो । बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास (होमस्टे)मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् ।

    बागलुङ बजारबाट पदयात्रामार्फत एक घण्टामा पुग्न सकिने बागलुङ नगरपालिका–१० स्थित बराहताल पर्यटकीय पूर्वाधार निर्माण गरिएपछि व्यवस्थित र आकर्षक बनेको स्थानीय सोमबहादुर थापा मगरले बताए । साविकको जिल्ला विकास, अहिलेको सङ्घीय पर्यटन मन्त्रालय, प्रदेश मन्त्रालय र बागलुङ नगरपालिकाको करिब रु ५० लाखमा यहाँ पूर्वाधार निर्माण भएका नगर कार्यालयले जनाएको छ ।

    अव्यवस्थित ताल वरपर व्यवस्थित पर्खाल, संरक्षण तथा रेलिङसहितको पदमार्ग निर्माण भएपछि बराहताल मनमोहक देखिएको थापा मगरले उल्लेख गरे । बराहतालमा पर्यटकको चहलपहल सदाबहार एकैनासको भइरहने भन्दै उनले वर्षामा ताल थप आकर्षक देखिने बताए । तालबाट देखिने धौलागिरि हिमालको छाँया र आँखै अघि देखिने बागलुङ बजारले पर्यटकलाई मोहित बनाउँदै आएको उनको भनाइ छ ।

    “वर्षामा केही पर्यटक घटेका छन्, बिदाको दिन पर्यटकको बढी चाप हुन्छ, यहाँका घरबास पर्यटकीय चहलपहल बढ्न थालेपछि फष्टाउँदै गएका छन्”, थापाले भने, “अन्य जिल्लाबाट पर्यटकहरू गर्मी छल्न र जिल्लाका पर्यटकको बजारको कोलाहल छल्न यहाँ आउने गरेका छन्, नजिकैको गन्तव्य भएर होला पर्यटकको चहलपहल भइरहन्छ ।”

    पहिला ताल व्यवस्थित नहुँदा ताल वरपर घाँसले भरिने गरेकामा अहिले सुन्दर देखिन थालेको थापाले उल्लेख गरे । तालले दृश्यालोकनका साथै यो क्षेत्र ऐतिहासिक तथा धार्मिक रूपमा पनि महत्त्वपूर्ण रहेको जनाउँदै उहाँले बैकुण्ठ पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गरेको बताए । बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाका साँढ बलि दिएर पूजा गर्ने परम्परा रहेको संविधानसभा सदस्य एवं स्थानीय अगुवा नरबहादुर थापाले बताए ।

    “ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराहताल उपयुक्त गन्तव्य मानिन्छ”, उनले भने । दुई हजार ८२६ वर्गमिटरमा फैलिएको यो तालमा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर बढाउन रु ५० लाखभन्दा बढी लगानी गरी पूर्वाधार निर्माण गरिएको संविधानसभा सदस्य थापाले बताए । एक हजार ३०० मिटर उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदलमार्फत एक घण्टाम पुग्न सकिन्छ । भकुण्डेको घरबास, भ्युटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको अवलोकन गर्ने गरेका उनले भने ।


    बराह मन्दिर पुनर्निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायत काम सम्पन्न भइसकेका छन् । बागलुङ बजारबाट तित्याङ हुँदै यहाँ पुग्ने सडक अहिले स्तरोन्नति भइरहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको संविधानसभा सदस्य थापाले बताए ।


    विसं २०६८ मा जिल्लाकै पहिलो घरबास सुरु भएको भकुण्डे पर्यटन प्रवर्द्धनमा अघि बढ्दै गएको छ । बराहताल हुँदै मुलाबारीमा रहेको भ्युटावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्दै घरबासमा पर्यटक आउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले जानकारी दिए । बराहताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएकाले आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ । यो तालको गहिराइ कति छ भन्ने हालसम्म एकिन नभएको स्थानीय बताउँछन् ।

  • एमाले पोलिटब्यूरो बैठक सकियो, के भयो निर्णय ?

    एमाले पोलिटब्यूरो बैठक सकियो, के भयो निर्णय ?

    ३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका थिए ।

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान संशोधन प्रतिवेदनमा ६८ जना पोलिटब्यूरो सदस्यले आफ्नो राय राखेको प्रचार विभाग प्रमुख गौतमले बताए । विधानमा पार्टीभित्र सङ्गठित सदस्यता र पार्टी सदस्यता गरी दुई व्यवस्था राख्ने, ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने व्यवस्थालाई खारेज गर्ने प्रावधान राखिएको उनले जानकारी दिए । जिल्ला कमिटी कार्यकारी कमिटीकै रूपमा लैजाने विधानमा सहमति भएको छ ।

    पूर्वराष्टपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए । “पूर्वराष्ट्रपति भण्डारीको विषयमा बैठकमा छलफल भए पनि अहिले नै हामी ठोस् निष्कर्षमा पुगेका छैनौँ”,उनले भने, “अधिकांश साथीहरूको भनाइ राजकीय उच्च तहमा पुगेका र संविधानको संरक्षक भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुने कुरा गम्भीर विषय हो भन्नुभएको छ । यसमा पार्टीले आवश्यक परामर्श गरेर उचित समयमा निष्कर्ष दिनेछ ।”

    पूर्वराष्ट्रपति भण्डारीका विषयमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरिने उनले जानकारी दिए । “पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीले आग्रह र पूर्वाग्रह राख्नुपर्ने कुनै कारण छैन । उहाँलाई जुन सर्वोच्च पदमा पार्टीले पठायो, यसबारे गम्भीर र सकारात्मक रूपमा छलफल भयो”, प्रचार विभाग प्रमुख गौतमले भने, “अब यस विषयमा आगामी बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्नेछ ।”

    आज पारित गरिएको विधान संशोधन प्रस्ताव यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राख्ने तय भएको छ ।

  • अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार

    अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार

    एजेन्सी
    ३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।
    ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लुएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया सुरु गरेका थिए । तर परराष्ट्र मन्त्रालयले भनेका अनुसार, अघिल्लो वर्ष पारित भएका नियमहरू अमेरिका सदस्य नरहे पनि बाध्यकारी बन्न सक्ने थिए ।

    परराष्ट्र मन्त्री मार्को रुबियो र स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले संयुक्त वक्तव्य जारी गर्दै ती नियमले अमेरिकाको आफ्नै स्वास्थ्य नीति बनाउने अधिकार, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत स्वतन्त्रतामा असर पार्न सक्ने भएकाले अस्वीकार गरिएको बताए । यता, डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेयससले अमेरिकी निर्णयप्रति खेद व्यक्त गर्दै ती संशोधनले सदस्य राष्ट्रहरूको संप्रभुतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने र डब्लुएचओले कुनै पनि देशमा लकडाउन वा यस्तै उपायहरू जबर्जस्ती लाद्न नसक्ने बताए ।


    ती नियम संशोधनमा सबै सदस्य राष्ट्रबाट सहकार्य र समानताको प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ र भविष्यमा महामारीको अवस्थामा विकासोन्मुख राष्ट्रहरूको आवश्यकता बुझ्न एक छुट्टै संयन्त्र बनाउने प्रावधान पनि समावेश गरिएको छ । यद्यपि, अमेरिका लगायतका केही देशले यसलाई भविष्यमा डब्लुएचओमार्फत हुने नीतिगत हस्तक्षेपको जोखिमका रूपमा हेरेका छन् । नयाँ नियमप्रति असहमति जनाउनका लागि राष्ट्रहरूले जुलाई २० भित्र आपत्ति जनाउनु पर्ने व्यवस्था छ ।

    यसैबीच, ब्रिटेन र अष्ट्रेलियामा रहेका केही कट्टरपन्थी समूह र खोपप्रति शङ्का राख्ने नागरिकहरूले पनि तिनै नियमविरुद्ध जनमत निर्माणका अभियान चलाएका छन् । धेरैजसो राष्ट्रले यस वर्षको मे महिनामा नयाँ महामारी सम्झौतामा हस्ताक्षर गरे पनि अमेरिका त्यसमा सहभागी भएन, किनभने त्यतिबेला डब्लुएचओबाट हट्ने प्रक्रिया अघि बढिरहेको थियो ।

    सन् २०२४ को मे र जुन महिनामा भएका छलफलहरूमा सहभागी रहे पनि अमेरिकाले खोपसम्बन्धी बौद्धिक सम्पत्तिको अधिकारलाई पर्याप्त सुरक्षा नदिएको भन्दै सहमति जनाउन अस्वीकार गरेको थियो । ट्रम्प सरकारभन्दा अगाडिका विदेश मन्त्री एन्टोनी ब्लिन्कनले भने ती नियमलाई सकारात्मक प्रगति मानेका थिए, तर हालका मन्त्री रुबियो र केनेडीले ती नियमहरूमा चीनको राजनीतिक प्रभाव देखिएको आरोप लगाउँदै अस्वीकार गरे । डब्लुएचओ प्रमुख डा. टेड्रोसले भने “डब्लुएचओ निष्पक्ष संस्था हो र हामी सबै राष्ट्रसँग मिलेर जनस्वास्थ्यको सुधारका लागि काम गर्छौं ।”

  • इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

    इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

    ३ साउन, काठमाडौं । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।

    कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भन्नुभयो, “शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

    इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् । इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार मार्चसम्म एक बर्षको अवधिमासडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ ।

  • बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

    बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

    ३ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो ।

    “इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,”, इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।”

    पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ । पूर्वीनेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ । साउन ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौँ उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुने र साउन ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च हुने विज्ञप्तिमा भनिएको छ ।

    “यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देहीलगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ”, विज्ञप्तिमा भनिएको छ । साथै पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना भएको र महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि साउन ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जलतथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ ।

    मौसमसम्बन्धी पूर्वसूचनाहरु लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ ।

    गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जन भन्दा बढी जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति पु¥याएको घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत् आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौसम्म विद्युत् उत्पादन बन्द गर्नुपरेको घटनालाई स्मरण गराउँदै आगामी दिनमा यस्ता घना दोहोरिन नदिन इप्पानले आग्रह गरेको छ ।

  • ‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू

    ‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू

    ३ साउन, तानसेन । पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरू भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरे ।

    ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउँदै आएको नगर प्रमुख श्रेष्ठले बताए । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेञ्जले साइकलयात्रीलाई प्रोत्साहन गर्नुको साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याएको उनले चर्चा गरे ।


    सङ्घले गत वर्ष दुई दिने ‘हेरिटेज राइड–२०८१’ सञ्चालन समेत गरेको थियो । यस वर्ष ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५ सुरू गरिएको सङ्घका अध्यक्ष रूपेश महर्जनले बताए । उनले भने, “पाल्पामा दोस्रो पटक व्यवस्थित ढङ्गले कोरा आयोजना गरेका हौँ । यसले यहाँको पर्यटन, स्वास्थ्य, र वातावरणीय सचेतनामा नयाँ ऊर्जा ल्याउने छ ।” यो वर्षको कोरा यात्रा ऐतिहासिक र प्रभावशाली हुने विश्वास लिइएको उनको भनाइ छ ।

    कार्यक्रममा ७० जना साइक्लिङ सहभागी रहेका सङ्घका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । कार्यक्रममा सहभागी हुने साइकलयात्रीले यहाँका विभिन्न प्रमुख धार्मिकस्थल तथा पर्यटकीयस्थललाई घडीको दिशामा परिक्रमा गरी ५५ किलोमिटरको यात्रा पूरा गर्ने उनको भनाइ छ । स्वास्थ्यका लागि साइक्लिङको महत्व बुझाउन, धार्मिकस्थलको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न कोरा साइक्लिङ च्यालेञ्ज महत्त्वपूर्ण हुने उपाध्यक्ष शाक्यले विश्वास लिए । उनले भने, “कोरा केवल साइकलयात्रीको जमघट मात्र होइन, यो समाजका लागि योगदान गर्ने एक महान अवसर पनि हो । पाल्पावासीको उत्साह देख्दा हामी अत्यन्त उत्साहित छौँ ।”

    यात्राका क्रममा कुनै स्वास्थ्य समस्या आए स्वास्थ्यकर्मीको टिम समेत तयारी अवस्थामा राखिएको सङ्घका सचिव विज्ञान बज्राचार्यले बताए । बिहान ८ बजेदेखि टुँडिखेलबाट निस्केको साइकल र्‍याली दरबार परिसरमा गई यात्रा सुरु गरेको थियो । त्यहाँबाट बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडर टावर, डुम्रे, प्रभास हुँदै जिल्लाका विभिन्न स्थान परिक्रम गरी पुनः पाल्पा दरबार परिसरमा आएर कार्यक्रम समापन हुने सङ्घका सदस्य शान्ता थैवाले जानकारी दिए ।

  • एमाले पोलिटब्युरो बैठक सुरु

    एमाले पोलिटब्युरो बैठक सुरु

    ३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्ने तालिका छ ।

    प्रचार विभाग प्रमुख गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरुले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राख्नेछन् । शुक्रबार सात जना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

    प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो । विधान महाधिवेशन केन्द्रीत पोलिटब्युरो बैठक आजै समापन गर्ने कार्यतालिका उहाँले जानकारी दिए । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ ।

  • जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

    जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

    ३ समउा, कैलाली । वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८१÷८२ मा ८१ हजार २४२ वटा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका प्रमुख गङ्गादत्त भट्टले जानकारी दिए । जसमा चिउँरी, नीम, तेजपात, शितल चिनी, कुरिलोलगायत बोटबिरुवा रहेका छन् ।

    अनुसन्धान केन्द्रले वार्षिक ५० हजार विभिन्न प्रजातिका जडीबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य भए पनि लक्ष्यभन्दा बढी बिरुवा वितरण गरिरहेको उनको भनाइ छ । केन्द्रले मापदण्ड बनाएर प्रत्येक आर्थिक वर्षमा जडीबुटीका बिरुवा वितरण गर्दै आएको छ भने प्रदेशमा जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिँदै आएको छ । गत आर्थिक वर्षमा कैलालीको चुरे गाउँपालिका—३ मा २९ जना र वडा नं ४ को गर्भामा २५ जना गरी जम्मा ५४ जनालाई जडीबुटी खेतीसम्बन्धी तालिम दिइएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । त्यस्तै कैलाली र कञ्चनपुरका पाँच वटा जडीबुटी समूह सहकारीहरुलाई सम्बन्धी तालिम दिएको छ ।

    तालिम दिने क्षेत्रमा पाइने जडीबुटीको अवस्था के छ, खेती गर्न सकिन्छ की सकिदैन, त्यसको सम्भावना के छ, माटोको उर्बरा शक्ति कस्तो छ , अध्ययन गरी पहिचान गरेर मात्रै तालिमको तय हुने गरेको उनले बताए । कार्यालयले अघिल्लो आव २०८०÷८१ मा बाजुराको बुढीगङ्गा र अछामको मेल्लेखमा त्यहाँ उत्पादन हुने जडीबुटीको पहिचान गरी ६० जनालाई जडीबुटी खेती विस्तारसम्बन्धी तालिम दिएको थियो । यी क्षेत्रमा रिठ्ठा उत्पादन हुने गरेको र अछामको रामारोशनमा सतुवा, डालेचुक उत्पादन हुन्छ सोहीलाई आधार बनाएर तालिम दिने गरिएको छ ।

    गत आवमा करिब १० हजार चिउरीका बिरुवा उत्पादन गरिएकोमा त्यसमध्ये सात हजार ९०० बिरुवा वितरण गरी चुरे क्षेत्रका सामुदायिक वनमा रोपी सकेको उनले बताए । चिउरीको फूल माहुरीका लागि लाभदायिक हुन्छ भने यसको दानाबाट ध्यू उत्पादन गर्न सकिन्छ । जडीबुटीखेती गर्ने समूह सहकारीलाई अनुसन्धान केन्द्रले अनुदानको व्यवस्था पनि गर्दै आएको कार्यालय प्रमुख भट्टले बताए । प्राकृतिक हराभरा भएको वनस्पति अनुसन्धान केन्द्रअन्र्तगत देवहरिया वनस्पति उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसभित्र जखौर, मुरफुट्टा र मुरफुट्टी गरी तीन वटा प्राकृतिक तालहरु रहेको छन् । पर्यटक, पर्यावरणीय हिसाबले यो उद्यानको छुट्टै महत्व छ ।

  • चक्रपथको  दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

    चक्रपथको दोस्रो खण्डको निर्माण अघि बढाउन समितिको निर्देशन

    ३ साउन, काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

    समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए । बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की(महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे । ७ दशमलव २ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।

  • एक वर्षमा कामको खोजिमा विदेशिए आठ लाख ३९ हजार युवा

    एक वर्षमा कामको खोजिमा विदेशिए आठ लाख ३९ हजार युवा

    ३ साउन, काठमाडौं । गत एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए ।


    उनले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उनका अनुसार वैैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् ।

    व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उनले जानकारी दिए । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् ।

    वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताए । उनले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिए ।

    अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उनले बताए । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्न्पर्ने आवश्यकता देखिएको पनि उनले बताए । उनले वैैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिए ।

    यस्तै वैैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।

  • नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

    नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

    ३ साउन, काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ । यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानको अनुसार उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले सहयोग गरेको हो ।

    शिविरमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन् । त्यसैगरी रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् । अन्य खेलाडीले नेपालमै नियमित प्रशिक्षण गर्ने जनाइएको छ ।

  • सगरमाथा आरोहणको वैकल्पिक मार्ग खोजिँदै

    सगरमाथा आरोहणको वैकल्पिक मार्ग खोजिँदै

    २ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहण मार्ग जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी तथा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मन्त्रालयमा आज मन्त्री पाण्डेको उपस्थितमा भएको उक्त छलफलमा खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीहरूका लागि अत्यन्तै जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको हो ।

    मन्त्री पाण्डेले बैठकमा बोल्दै भने, “सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो । हरेक वर्ष यहाँ हजारौँ विदेशी र नेपाली आरोहीको चाप रहन्छ । उनीहरूको जीवनरक्षाका लागि हामीले सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधानको मार्ग खोज्नैपर्छ ।” बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली आरोही स्पिड काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

    बटार्ड र शेर्पा सन् २०१८ देखि नै नयाँ मार्ग पहिचानको अभियानमा क्रियाशील छन् । २०८१ सालमा पनि उहाँहरूले नेपाल सरकारको समन्वयमा परीक्षण आरोहणमार्फत नयाँ सम्भावनाहरूको अध्ययन गरेका थिए ।

  • लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री

    लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री

    काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरूको अन्तरराष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने बताए ।

    “हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तरराष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ ।”, प्रधानमन्त्री ओलीले भने, “हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधानार्थ लाग्नेछौँ । गरिबीको अन्त्यविना मानवअधिकार स्थापना हुन सक्दैन । त्यसका लागि सीमान्तकृत समुुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ ।’’ उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरूलाई सरकारले ग्रहण गर्ने विश्वास दिलाए ।

  • मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

    मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

    २ साउन, मुस्ताङ । यहाँको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि मेला आयोजना गरेको हो । हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रुपमा छ ।

    प्राकृतिक उपचार पद्दति मध्येको एक मानिने चाँैरीको आलो रगत खाँदा मानिसको पेट सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ । समूद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समुहका १० वटा गोठ रहेको समुहका सदस्य सोजन हिराचनले जानकारी दिए ।


    हिउँदमा बेंसी र गर्मीयाममा मार्चे लेक पु(याएर याक र चौँरी पालन गर्ने प्रचलन छ । मार्चे लेकमा १० घरको करिब ८०० बढी याक तथा चाँैरी छन् । यहाँ थाक सात सय क्षेत्र अन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरुको गोठ रहेका छन् । यो लेक निलगिरी हिमालको फेंदैमा अवस्थित छ । रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ । हिउँदयाममा भने बेंसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नु अघि वैशाखमा थासाङको घट्टे खोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ ।

    बर्खायाममा उच्चलेकको चरनक्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेकका याक तथा चौँरीले प्राकृतिक जडिबुटी सेवन गर्ने भएकाले रगत स्वास्थ्यवद्र्धक मानिन्छ । याक तथा चौँरीले यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, सतुवा ,चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनि रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन् ।

    यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य सङ्ख्यामा मानिसहरु आउने गरेको समुहका सदस्य सोजन हिराचनले बताए । मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ । मेला सञ्चालन पूर्व गत बुधबार मार्चे लेकमा सामुहिक गोठ पुजा गरिएको मार्चे याक नाक कृषक समुहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए । यसवर्ष याक र चौँरीको आलो रगत प्रति गिलास २५० रुपैयाँमा बिक्री गरिएको छ ।

    “यसवर्ष पनि विगतकाझैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ—आफ्ना गोठहरुमा टहरा बनाएर होटल पनि चलाएका छौँ,” अध्यक्ष गौचनले भने, “करिव तीन सय भन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ ।” मार्चे लेक पुग्न बेनी—जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकी पूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ सौरु र चिमाङबाट पनि आइपुग्न सकिने दुई वटा गोरेटो छन् ।

  • गगन भन्छन् : सङ्घीयता कार्यान्वयनमा गम्भीर समीक्षा गर्नुपर्छ

    गगन भन्छन् : सङ्घीयता कार्यान्वयनमा गम्भीर समीक्षा गर्नुपर्छ

    २ साउन, पाटन । कांग्रेस महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री थापाले सङ्घीयता कार्यान्वयनका उपलब्धि र कमीकमजोरीका विषयमा सबै गम्भीर भएर समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीय सरकारले प्रभावकारी काम गर्न नक्दा प्रदेश सरकारहरू सङ्घको प्रतिलिपि जस्तो मात्रै भएका भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।


    “प्रदेश सरकारले नयाँ र सृजनात्मक कार्यमा जोड दिनुपर्छ । सङ्घ र प्रदेशको संसद्लाई अहिलेको भन्दा बढी समावेशी बनाउनुपर्छ, निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ । यो बहसमा कांग्रेसले नेतृत्व गर्नुपर्छ । हाम्रो काम जिम्मेवारी लिने हो, यसका लागि आदिवासी जनजाति महासङ्घको महत्त्वपूर्ण भूमिका हुन्छ”, उनले भने ।


    नेपाल जस्तो विविधतायुक्त देशमा समुदाय, समूहको अधिकारका विषयमा अन्तरिम संविधान बनेको र त्यसको मर्म अनुसार विसं २०७२ को संविधान बनेको भन्दै महामन्त्री थापाले संविधानले सबैको अपनत्वको कल्पना गरेकाले यसका लागि सबैको पहलकदमी आवश्यक रहेको धारणा राखे ।

    “काँग्रेसले खुट्टा कमाउने हो भने आदिवासी जनजातिका मुद्दा सङ्कटमा पर्छन्, अब इतिहासको मात्रै कुरा गरेर पनि हुँदैन, इतिहासको चर्चा गर्दै प्रेरणा लिएर अगाडि बढ्नुपर्छ”, उनले भने, उनले जलवायु परिवर्तनको असरबाट आदिवासी जनजाति समुदाय सबैभन्दा बढी पीडित भएका भन्दै नेपालको जलवायु परिवर्तनको असरका विषयमा जनजाति समुदायले आफ्नो मुद्दा बनाएर उठाउनुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले समयमा महाधिवेशन सम्पन्न गरेर पार्टी नेतृत्वलाई भरोसा दिँदै अरु भातृसंस्थाको व्यवस्थापनका सन्दर्भमा मार्गसहित विश्वास दिलाएको उल्लेख गरे ।


    नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले समग्र मुलुक, नेपाल र नेपालीका लागि सङ्घर्ष गरेको आदिवासी जनजाति समुदायले आफ्नै अधिकारका लागि लड्नुपर्नेमा जोड दिए । उनले संविधानसभाबाट बनाइएको संविधानसँग हरेक जातजातिको जीवन जोडिएको बताउँदै मुलुक र संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र नेपाललाई स्थिरताको दिशामा लैजानुपर्ने धारणा राखे ।

  • एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

    एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

    एजेन्सी
    २ साउन, काठमाडौं । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ ।
    मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ । “युद्धका क्रममा मारिएका एक हजार सैनिकको शब रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,” युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही लडाकू गैरसैनिकलाई फिर्ता गरिएको दाबी गरेको छ । यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । यसअघि रुसले युक्रेनी भेषमा रहेको बेलाय मारिएका रुसी सैनिकको शवलाई रूसले सुपुर्दगी गरेको आरोप लगाएको थियो । रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको अवशेष फिर्ता पठाएको बताए ।
    दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलहरूमध्ये कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र अवशेषहरूको स्वदेश फिर्ती द्वन्द्वको दौडान नियमित रूपमा हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद रुसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ र दुई पक्ष तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि सहमत हुने सम्भावनाको नजिक पुगेका छैनन् ।

    गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका कडा मागहरूको सूची पेश गरेको थियो । किएभले रूसी अडानहरूलाई अस्वीकार्य मागको रूपमा व्याख्या गर्दै ती मागलाई खारेज गरेको छ र यदि मस्को लचक बन्न इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि प्रश्न उठाएको छ ।

  • राहुघाटको म्याद तेस्रोपटक थपियो

    राहुघाटको म्याद तेस्रोपटक थपियो

    २ साउन, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स ९जेपी०ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।

    हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावर का प्रबन्ध सञ्चालक गणेश केसीले बताए । उनका अनुसार परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको हो । कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ ।

    बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन । भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ ।

    यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।

  • कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    २ साउन, काठमाडौं । कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ ।

    साउने सङ्क्रान्ति लुतो फाल्ने दिनमात्र नभएर देउडा पर्वका रूपमा पनि कर्णालीमा भव्य रूपमा मनाइने पर्व हो । विशेषतः जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा आफ्ना सम्मुखका छिमेकीहरूलाई असभ्य शब्दले गाली गरेर मनाइने अनौठो पर्वलाई पछिल्लो समयमा केही हदसम्म सभ्य ढङ्गले मनाउन थालिएको छ ।

    पाँच वर्षयता यो पर्व कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा समेत राँको बाल्ने, साथीसङ्गी मिलेर देउडा खेल्ने, सुखदुःख साटासाट गर्ने र सेवाभावका काम गरेर सम्पन्न गरिँदै आएको छ । बिहीबार जुम्ली एकता सेवा समाजको सहकार्यमा सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, शिक्षाप्रेमी, बुद्धिजीवी र स्थानीय नागरिकको सहभागिता तथा प्रहरी प्रशासनको समन्वयमा साउने सङ्क्रान्ति सम्पन्न गरिएको छ ।

    सामाजिक बेथिति, विकृति र भ्रष्ट कार्य निराकरणको प्रेरकका रूपमा लिइने यस पर्वले सामाजिक सद्भाव, आपसी मेलमिलाप तथा भाइचारा सम्बन्ध कायम गर्दै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिए । उनका अनुसार यो साउने सङ्क्रान्ति पर्व नेपालभरि नै मनाइन्छ । यसमा कण्डारकको लुतो फाल्ने चलन छ । लुतो फाल्नका लागि विभिन्न औषधिमुलो, जडीबुटी, फलफूल र गेडागुडी आदि मिसाएर एउटा उल्का (राँको) बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन रहिआएको छ ।

    आचार्यका अनुसार जुम्लामा यस दिन जुम्लामा धेरै उज्यालो हुन्छ । सर्वत्र हरेक घरमा १२–१५ वटा राँका बालिन्छन् । सारा गाउँ उज्यालो हुन्छ, वारिपारि सब देखिन्छ । यसरी राँको बाल्ने र फाल्ने चलन छ । एउटा वल्लो गाउँकाले पल्लो गाउँकालाई गाली गर्छन्, तर कुनै व्यक्तिको नाम तोकेर होइन । गाउँलेले अर्को गाउँलाई सम्बोधन गर्दै भन्छन्, “ए फलाना गाउँका, लुतो लैजा, पाब्डो (सडेको चिज) लैजा, हिलाउने, चिलाउने बिझाउने, खाइदे, खर्लप्पै सब लैजा, नातिदेखि धुनिया, भिनाजु यताउती सब लैजा’ भनेर भन्ने, पुकार्ने चलन छ ।” यो एउटा आपसी मनोविनोद, हाँसोठट्टा र खेलठट्टाको कुरा पनि हो ।

    सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रका सल्लाहकार मक्कबहादुर बुढाक्षेत्रीले कर्णालीको जीवन बोल्ने देउडा र यहाँको मौलिक पर्व साउने सङ्क्रान्तिबीच अन्तरसम्बन्ध रहेकाले एकसाथ मनाइएको बताउनुभयो । जुम्ला एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले मौलिक संस्कृति र परम्पराको संरक्षणले हरेक भेग, क्षेत्र र समुदायको पहिचान कायम भइरहने बताए ।

    देउडा गायिका सुनसरा शाहीले देउडा सुखदुःखका व्यथा ओकल्ने मात्र नभई समाजमा भएका बेथिति, विकृति, विसङ्गति र अनियमितताको आवाज भएको बताइन् । सबै खाले कुराको सङ्गम र मूल स्रोत देउडा भएकाले यसको संरक्षण तथा विकासका लागि राज्यले उच्च प्राथमिकता राखेर काम गर्नुपर्ने उनले सुनाइन् । करिब पाँच हजार सर्वसाधारण सम्मिलित रहेको सुर्खेतमा मौलिक देउडा र सांस्कृतिक पर्व साउने सङ्क्रान्ति देउडा खेल्दै लुतो फालेर सम्पन्न गरिएको छ ।

  • बामदेव गौतमको पार्टी राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

    बामदेव गौतमको पार्टी राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

    २ साउन, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि दुवै पार्टीका शीर्षनेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो । राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो ।

    नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ ।
    नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकीकरणको तयारी पूरा भएको छ । एकतासभाको कार्यसूची तथा नेताहरूको वरियताक्रम व्यवस्थापन कार्यसम्पन्न भएको हो ।

    उक्त सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।

  • नेपालमा तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    नेपालमा तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    २ साउन, काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।
    प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए ।


    प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो ।

    यस्तै पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए । अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

    बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

  • गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

    गत आवमा धितोपत्र कारोबारमा कीर्तिमान, २१ अर्ब नाघ्यो

    २ साउन, काठमाडौं ।अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१–८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०\८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१\८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०\८१ को तुलनामा एक सय ८९ दशमलव २३ प्रतिशतले बढी हो । यसअघि आव २०७७\७८ मा सबैभन्दा धेरै ९अर्थात् रु १४ खर्ब ५४ अर्ब ४४ करोड०को कारोबार भएको थियो ।

    त्यसैगरी वर्ष २०८१ को असार मसान्तमा रु ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई रु ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ । आर्थिक वर्ष २०८१\८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या दुई सय ७२ पुगेको छ । सो आवमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् ।

    त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आव २०८१\८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजी बजारका सरोकारवाला सबैलाई धन्यवाद दिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

    २ साउन, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो ।

    “करिब रु एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ”, लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने । जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ ।

    उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर रु ९०० देखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा रु ४० करोड लगानी भएको छ । यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए ।

  • मध्यराती सकियो एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

    मध्यराती सकियो एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

    २ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


    उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक ११ः०० बजे बस्ने कार्यसूची छ ।

    पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्को सङ्गठित सदस्य भएको बताए । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।

  • बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

    बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

    एजेन्सी
    २ साउन, लण्डन । बेलायत सरकारले बिहीबार १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गत वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो । यो बेलायतमा यो सरकारको पालामा भएका थुप्रै योजनाबद्ध परिवर्तनहरूमध्ये एक हो । यद्यपि, आलोचकहरूले यो निर्णयलाई सङ्केत गर्दै बेलायतको लोकतन्त्र ‘सङ्कटमा’ रहेको तर्क गरेका छन् ।

    मतदानको उमेर परिवर्तन विवादास्पद छ । तथापि, आलोचकहरूले नयाँ–मताधिकार प्राप्त किशोरहरूले लेबर पार्टीलार्ई समर्थन गर्ने सम्भावना बढी हुने बताएका छन् । प्रधानमन्त्री केइर स्टार्मरले भने, “उनीहरू काम गर्न बाहिर जानको लागि योग्य छन् कर तिर्न योग्य छन् त्यसैले उनीहरूले कर भुक्तान गर्छन् । मलाई लाग्छ, १६÷१७ वर्षका किशोरकिशोरीले मतदान गर्न पाउनु स्वभाविक हुन्छ। “

    स्टार्मरले भने, “मेरो विचारमा यदि कसैले कर तिर्छ भने उसले आफ्नो पैसा केमा खर्च गर्न चाहन्छ र सरकार कुन दिशामा जानुपर्छ भन्ने कुरा बताउने अवसर पाउनुपर्छ।” यो घोषणा कार्यान्वयनमा लानका लागि सरकारले संसद्बाट कानुनी प्रावधान ल्याउनुपर्छ । अहिलेको सरकारसँग कानुन परिवर्तनका लागिसहज बहुमत छ । अनलाइन तथ्याङ्कका अनुसार विश्वमा थोरै देशहरूले मात्र १६ वर्षका किशोरकिशोरीलाई राष्ट्रिय चुनावमा मतदान गर्न अनुमति दिन्छन्।

    यसपहिले इयू सदस्य राष्ट्रअष्ट्रियाले सन् २००७ मा मतदानको उमेर १६ वर्ष बनाएको थियो । यो १६ बर्षमा मताधिकार दिने इयूको पहिलो राष्ट्र हो । यसबाहेक अर्जेन्टिना, ब्राजिल, इक्वेडर र क्युबाले पनि यो अभ्यास गर्दै आएका छन् । स्कटल्यान्ड र वेल्समा क्षेत्रीय संसद्को निर्वाचनका लागि विद्यमान मतदान उमेरसँग आम निर्वाचनलाई जोड दिँदै लेबर मन्त्रीहरूले यो परिवर्तन ‘बेलायतको लोकतन्त्रको आधुनिकीकरण’ गर्ने उद्देश्यले गरिएको बताएका छन् ।

    यसपहिले अष्ट्रेलिया र क्यानाडामा प्रयोग भइरहेको स्वचालित मतदाता दर्ता लागू गर्ने प्रावधान सरकारले अघि सारेका अन्य योजनाबद्ध परिवर्तनहरू हुन् । बेलायतद्वारा जारी गरिएको बैंक कार्डहरू मतदान केन्द्रहरूमा आईडीको एक स्वीकृत फारम बनाउने पनि सरकारले नयाँ योजनामा ल्याएको छ । पूर्ववर्ती कन्जरभेटिभ सरकारले ल्याएको चुनावी कानुनमा गरिएको परिवर्तनपछि मतदाताले फोटो आइडी देखाउनुपर्ने व्यवस्था थियो । निर्वाचन आयोगका अनुसार गत वर्षको निर्वाचनमा करिब सात लाख ५० हजार मतदाताले मतदान गरेका थिएनन् ।

    इन्स्टिच्युट फर पब्लिक पोलिसी रिसर्च थिङ्क ट्याङ्कका कार्यकारी निर्देशक ह्यारी क्विल्टर–पिनरले सन् १९६९ पछिको बेलायतको निर्वाचन प्रणालीमा भएको यो सबैभन्दा ठूलो सुधार भएको बताए । उनले मतदानको उमेर घटाउने र स्वचालित मतदाता दर्ता लागू गर्दा मतदाता नामावलीमा ९५ लाखभन्दा बढी व्यक्ति थपिने बताए । “हाम्रो लोकतन्त्र सङ्कटमा छ, र हामी यस्तो बिन्दुमा पुग्ने खतरा छ जहाँ राजनीतिले आफ्नो वैधता गुमाउँछ,“ उनले परिवर्तनको समर्थन गर्दै भने ।

    प्रमुख कन्जरभेटिभ विपक्षीले लेबर पार्टीले १६ र १७ वर्षका युवाले अझै पनि चुनावी उम्मेदवारका रूपमा उभिन, चिट्ठाको टिकट वा रक्सी किन्न वा विवाह गर्न नसक्ने दावी गरेको छ । “यो लेबर पार्टीको निर्लज्ज प्रयास हो, जसको अलोकप्रियताले उनीहरूलाई परामर्श बिना नै ठूलो संवैधानिक परिवर्तन गर्न तर्साइरहेको छ,” पार्टीका समुदायका प्रवक्ता पल होम्सले भने ।

  • बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

    बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

    एजेन्सी
    २ साउन, ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ । पूर्व प्रधानमन्त्री हसीनाको गृहनगर गोपालगञ्जमा उनको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी) को ¥यालीलाई विफल पार्न खोजेपछि बुधबार झडप भएको प्रहरीले बताएको छ ।

    झडप भएको क्षेत्रमा इँटा, ढुङ्गा र फुटेका झ्यालका सिसाहरू थुप्रिएका देखिन्थ्यो । कफ्र्यू लागू गर्न जिल्लामा एक हजार ५०० भन्दा बढी प्रहरी, सैनिक र सीमा रक्षक परिचालन गरिएको छ । “गोपालगञ्जमा कानूनी व्यवस्थाको स्थिति अहिले सामान्य बनेको छ र शान्तिपूर्ण छ,” प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको गृहनगर गोपालगञ्ज हो भने मा उनकी छोरी हसिनाले पनि यस जिल्लाबाट चुनाव लड्नुभएको थियो ।

    गोपालगञ्ज जिल्ला अस्पतालका निर्देशक जीवितेश विश्वासले बिहीबार झडपपछि चार जनालाई मृत अवस्थामा ल्याइएको बताएका छन् । विश्वासका अनुसार अस्पतालअगाडि पनि गोली चलाइएको थियो र कम्तीमा १८ जना घाइतेलाई पनि ल्याइएको थियो । “तीमध्ये तीनजनाको छाती, टाउकोको पछाडिको भाग र खुट्टामा चोट लागेको छ,” उनले भने ।


    १८ वर्षीय मिस्त्री रामजन शेखको गोली लागेर मृत्यु भएको उनको परिवारका सदस्यले एएफपीलाई बताए । रम्जनका काका मोहम्मद कलिम मुंशीले भने, “तिनीहरूले उनको छातीमा कुल्चेका थिए। जब हामी अस्पताल पुग्यौँ, उनको मृत शरीर रगतले लतपतिएको भेट्टायौँ ।” एएफपीले उक्त दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेन । बङ्गलादेशी सेनाले ‘अनियन्त्रित भीड’लाई नियन्त्रण गर्न प्रहरीसँगै आफ्ना सैनिकले हस्तक्षेप गरेको बताएको छ ।

    “तर, सुरषाकर्मीको हस्तषेपपछि भीड थप आक्रामक भयो, डुङ्गा र इँटासहितका सामान फ्याँकेर सेनालाई आत्मरक्षाका लागि बल प्रयोग गर्न बाध्य बनायो,” विज्ञप्तिमा भनिएको छ । नाम नबताउने शर्तमा गोपालगञ्जका २४ वर्षीय एक युवकले भने, “रहमानप्रति कुनै पनि अनादर स्वीकार्ने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।”

    “सरकारको संरक्षणमा नेताहरूले मुजिबुर रहमानविरुद्ध लगातार मानहानि गरिरहेका छन् । उनी कुनै पनि अनादर स्वीकारिने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।” मानव अधिकारवादी संस्था ऐन ओ सलिश केन्द्रले गोपालगञ्जका जनतामाथि अत्यधिक बल प्रयोग गर्नु र उनीहरूमाथि गोली चलाउनु मानव अधिकारको मापदण्ड र संविधानको ठाडो उल्लङ्घन भएको बताएको छ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले एनसीपीको ¥यालीलाई असफल पार्ने प्रयास ‘उनीहरूद्वारा भएको जनताको मौलिक अधिकारको लज्जास्पद उल्लङ्घन’ भएको बताए ।

  • आवको पहिलो दिनमै नेप्से परिसूचक ७५ अङ्कले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

    आवको पहिलो दिनमै नेप्से परिसूचक ७५ अङ्कले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ, १ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ विन्दुमा कायम भएको छ । आर्थिक वर्ष २०८२–८३ को पहिलो दिन आज नेप्से परिसूचक दुई दशमलव ७१ प्रतिशतले बढेको हो । आज तीन सय ११ कम्पनीको तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर एक लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५ दशमलव १७ को कारोबार भएको छ । आज दुई सय ४० कम्पनीको शेयर मूल्य बढ्दा नौ कम्पनीको घटेको छभने कारोबार रकम पनि बढेको छ ।

    आज कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी ‘अन्य’ समूह पाँच दशमलव शून्य नौ प्रतिशतले बढेको छ । लगानी समूह तीन दशमलव १७ प्रतिशत, जीवन बिमा तीन दशमलव १४ प्रतिशत, हाइड्रोपावर तीन दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको छ ।

    बैंकिङ एक दशमलव ७६, विकास बैंक एक दशमलव ९५, फाइनान्स दुई दशमलव ८०, होटल तथा पर्यटन दुई दशमलव ६०, उत्पादन तथा प्रशोधन दुई दशमलव ९४, माइक्रोफाइनान्स दुई दशमलव ५०, निर्जीवन बिमा दुई दशमलव १८ र व्यापार एक दशमलव ७६ प्रतिशतले बढेका छन् । आज ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआबिएल स्टेबल फण्डको शेयर शुल्य सबैभन्दा बढी सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

  • रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

    रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

    १ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ । रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो । र्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सहमहामन्त्री विपिन आचार्यले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सोही कार्यविधिका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए ।


    “रुपन्देहीलाई प्रस्थानबिन्दु मानेर पार्टीले उम्मेदवार छनोट विधि पारित गरेका हो”, उनले भने, “पार्टीले छान्ने उम्मेदवार पार्टीको गतिविधिमा संलग्न, पदाधिकारीदेखि सदस्यहरुले रुचाएको र क्षमतावान व्यक्ति जसले देश र जनताका लागि योगदान दिन सक्षम हुनुहुन्छ, यस्तो उम्मेदवारलाई छनोट गर्ने गरी कार्यविधि बनाएका हौ ।” पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको स्वीकारत्व, व्यक्तित्व र क्षमता सधै हाबी हुने स्पष्ट पारे । रास्वपाले पार्टी स्थापना भएयता आन्तरिकरुपमा प्रारम्भिक निर्वाचन विधिबाट उम्मेदवार चयन गर्दै आएको बताउदै आएको छ । सोही विधिमा थप परिमार्जन र परिस्कृत गर्दै नयाँ कार्यविधि बनाइएको जनाइएको छ ।

    “लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प्राक्सेमिटीमा २० प्रतिशत, समावेशितामा पाँच प्रतिशत र प्रारम्भिक निर्वाचनको नतिजामा ५० प्रतिशत अङ्कभार निर्धारण गरिएको छ”, प्रवक्ता झाले भने, पार्टीले एक साताभित्र उम्मेदवार छनोटको तालिका सार्वजनिक गर्ने बताएको छ ।

  • वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

    वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

    १ साउन, काठमाडौँ । नेपाल वायुसेवा निगमले असार मसान्तसम्म्को ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ख्णको किस्तावापत कूल रु ५३ करोड ९ लाख ५५ हजार भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

    निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । यसमध्ये न्यारो बडी जहाजको पूरै र न्यारो बडी जहाजको आंशिक किस्ता तिरेको निगमले उल्लेख गरेको छ । जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असार मसान्तसम्म रु सात अर्ब ९२ करोड १४ लाख ६३ हजार किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।

  • एमाले सचिवालय बैठक ७ घण्टादेखि जारी

    एमाले सचिवालय बैठक ७ घण्टादेखि जारी

    १ साउन, काठमाडौं । नेकपा ९एमाले० को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो पौने दुई बजेदेखि बैठक सुरु भएको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा दोस्रो विधान महाधिवेशनको तयारीको सन्र्दभमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनबारे सचिवालयका सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

    विधान महाधिवेशनका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनमाथि सचिवालयका सवै सदस्यले आ–आफ्नो धारणा राखिरहेका छन् ।


    सचिव योगेश भट्टराईका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले सम्मानजनक रुपमा व्यवस्थापन गर्ने जानकारी दिए । शुक्रबार पार्टीको पोलिटव्युरो बैठक बस्ने भएकाले विधान महाधिवेशनको तयारीका सन्र्दभका छलफल भइरहेको उनले बताए । एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ । एमालेले महाधिवेशनका लागि तयारी गर्न यही साउन २ गते पोलिटब्युरो तथा साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठक डाकेको छ ।

  • महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

    १ साउन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ । बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलङ्कालाई समान ७–० गोल अन्तरले नै हराएको थियो । योसँगै नेपालले चार खेलबाट ९ अङ्क जोडेको छ । चार खेल खेलेको श्रीलङ्का भने अङ्कविहीन छ ।

    श्रीलङ्विरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई÷दुई गोल गरे । पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे । खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन् । त्यस्तै खेलको ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन् । खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् ।

    मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५० गोलको अग्रता दिलाइन् । खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गरिन् । खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दैै ७–० गोलअन्तरले विजयी दिलाइन् । नेपालले अब शनिबार भुटानसँग खेल्नेछ ।