Category: समाचार

  • विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ

    विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ

    १७ साउन, काठमाडौं । वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा जानकारी गराइएको हो ।

    फाउन्डेसनको कार्यालय सिफलमा हुँदादेखि यस्तो यज्ञ आयोजना हुँदै आएकामा चम्पादेवीमा आफ्नै भवन निर्माण गरी सरेपछि पनि यसलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए । उनका अनुसार दुई महिनादेखि जर्मनीको शान्तिको सङ्कल्पले ५१ जना वैदिक पण्डितबाट यज्ञ गराइरहेको हो ।

    आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार मठमध्ये ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका चेला महर्षि महेश योगीका जर्मनस्थित भक्तको सहयोगमा त्यहाँको शान्तिको सङ्कल्प गर्दै यज्ञ भइरहेको बाँस्कोटाले उल्लेख गरे । “यज्ञमा ५१ जना पण्डित दुई महिनादेखि पूजापाठ, जपलगायत कर्म गरिरहेका छन् भने अन्य विदेशीको पनि यज्ञ भइरहेको छ । ब्रह्मानन्द सरस्वती ग्राममा हाल १८१ पण्डितले यज्ञ गरिरहेका हुन्”, उनले भने ।
    युरोप र अमेरिकाका महर्षिका अन्य भक्तले ज्योतिषीले दिएको सल्लाहअनुसार नेपाली पण्डितबाट यज्ञ हुँदै आएको जनाउँदै उहाँले यहाँ यज्ञ गर्ने पण्डितले बिहान नित्य कर्म सकेर भावातित् ध्यानपश्चात् यज्ञ गर्ने भएकाले यस्तो यज्ञ प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको बताए । महर्षि महेश योगीले भावातित् ध्यान र यज्ञमा उच्चारण हुने वैदिक मन्त्रले कसरी प्रभाव पार्छ भनी वैज्ञानिक अनुसन्धान गराउनुभएको थियो । ब्रह्मानन्द सरस्वती ग्राम २६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    यहाँ बनाइएका भवन एवं यज्ञशाला स्थापत्यवेदको वास्तुशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नियम पालना गरी बनाएका वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । उनका अनुसार भौगोलिक वास्तु अनुसार पनि पूर्व र उत्तर भिरालो रहेको, पश्चिम र दक्षिणतर्फ अग्लो रहेको यो भूभाग पवित्र मानिने र यस्ता स्थलमा गरिएको यज्ञलगायत कर्म सफल हुने वास्तुशास्त्रीय ग्रन्थहरूमा वर्णन गरिएको छ ।

    ग्राममा गौशाला पनि स्थापना गरी तीन वटा गाई पालिएको छ । यज्ञका लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर यहाँ पालिएका गाईबाट प्राप्त हुने गरेको संस्थाका अध्यक्ष बाँस्कोटाले जानकारी दिए । उनका अनुसार गौशालासँगै फाउन्डेसनले १५ रोपनी जग्गा भाडामा लिएर वैदिक खेती पनि गरिरहेको छ । “जहाँ विषादी प्रयोग गरिँदैन । गाईको मल हाल्ने गरिएको छ । यहाँ उत्पादित तरकारी विषादीरहित हुन्छन्”, उनले भने ।
    अन्तरक्रियामा फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले धर्म, संस्कृतिलगायत सकारात्मक विषयको पत्रकारिता कम भइरहेका बेला स्थापना भएको विधागत पत्रकारको संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाजले उदाहरणीय काम गरेर देखाउनुपर्नेमा जोड दिए । धार्मिक, सांस्कृतिक पत्रकारले शुद्धीकरण आफैँबाट गर्न नियमित बिहान, बेलुका ध्यान गर्नुपर्ने उनले सुझाव दिए । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीद बागचन्दले अहिले समाजमा सकारात्मक पत्रकारिता आवश्कता रहेको बताउँदै त्यसको नेतृत्व धार्मिक, सांस्कृतिक विधाका पत्रकारले गर्नसक्ने धारणा राखे । यसका लागि ठूला सञ्चार गृहमा धार्मिक, सांस्कृतिक पत्रकारको संस्था पुग्नुपर्ने उनले सुझाव दिए ।

  • मधेशमा भयो वर्षा, किसानलाई राहत

    मधेशमा भयो वर्षा, किसानलाई राहत

    १७ साउन, धनुषा । लामो समयको पर्खाइपछि वर्षा हुँदा यहाँका किसानलाई राहत भएको छ । पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो । क्षीरेश्वरनाथ नगरपालिका—४ हरैयाका किसान दिपो यादवले रोपाइँको बेला वर्षा नहुँदा समस्या भएकामा हाल केही राहत भएको बताए । धनुषामा ४८ हजार सात सय ६० हेक्टर जमिन धानखेती योग्य भएकामा पछिल्लो समय ४२ हजार हेक्टरमा मात्र खेती हुने गरेको छ ।

    कृषिज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवका अनुसार ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ । शुक्रबारदेखि पानी परेकाले अब रोपाइँमा सुधार हुने उनले बताए । जिल्ला समन्वय समिति धुनषाका पूर्वसभापति रहेका ६५ वर्षीय रामदेव यादवले पछिल्लो समय धानखेती महँगो भएको र त्यसमा पनि मौसम चुनौतीपूर्ण रहेको बताउँछन् । धानखेती महँगो भए पनि लागतअनुसार उत्पादन र त्यसको बजार मूल्यसमेत पाइने नगरेको उनको गुनासो छ ।

    जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेकामा त्यसमध्ये ७० प्रतिशत किसान धानखेतीमा संलग्न छन् । कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएको छ । जिल्लाको १८ पालिकामध्ये गणेशमान चारनाथ, मिथिला र क्षीश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रुपमा धानखेती गर्दै आएका छन् ।

  • विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान

    विकल झाको एभियसन यात्रा-नझुक्ने सपना, नरोकिने उडान

    १७ साउन, काठमाडौं । मधेश प्रदेशको महोत्तरी जिल्लाको गोनरपुरा गाउँमा जन्मिएका विकल झा अहिले ओमानमा ‘एभियसन’ तथा ‘एयरपोर्ट म्यानेजमेन्ट’का एक स्थापित अन्तर्राष्ट्रिय विज्ञ हुन् । नयाँ–नयाँ प्रविधिका कारण तीव्र गतिमा दौडिरहेको हवाई उडड्यन क्षेत्रभित्र आफूलाई दक्ष, प्रभावकारी र सफल नेपालीका रुपमा स्थापित गर्न सक्नु आफैंमा गौरवको विषय हो । र, विकल झा त्यही गौरवको नाम हो, जसले गाउँदेखि गल्फसम्मको यात्रा संघर्ष, संकल्प र सपनाको बलमा तय गरेका छन् ।


    गोनरपुराको ब्राह्मण परिवारमा जन्मिएका झाको बाल्यकाल जनकपुरको जानकीचोकमा बित्यो । आर्थिक अवस्था सीमित थियो, परिवारको मुख्य आयस्रोत कृषि नै थियो । कक्षा ६ सकिएपछि आफन्तसँग दाङको घोराही पुगे । बाल्यकालमै साथी, खेल, परिवेश सबै छोडेर अर्को नयाँ ठाउँ र परिवेशमा जाने निर्णय उनलाई सजिलो थिएन । तर, अभाव र बाध्यताले मानिसलाई समयभन्दा अगाडि बढ्न सिकाउँछ । झाले त्यही सहने, सिक्ने र अघि बढ्ने बाटो रोजे ।

    आफन्त शिक्षक भएका कारणले पनि उनलाई दाङमा सहज ढंगले बस्न र पढ्न सजिलो भयो । एसएलसी दाङबाट उत्तीर्ण गरेपछि काठमाडौंको क्यापिटल कलेजबाट उनले प्लस टू अध्ययन पूरा गरे । त्यसपछि विकलको जीवनले नयाँ मोड लियो । पाइलट बन्ने बाल्यकालदेखिको सपना बोकेर उनी भारतको नयाँ दिल्लीतर्फ लागे । भारतमा सैद्धान्तिक ज्ञान लिए पनि अभ्यासमा भने नेपालबाट आएका विद्यार्थीप्रति प्राथमिकता नदिएको उनले अनुभूत गरे । त्यसैले उनले त्यहीं ब्याचलर डिग्री लिन थाले ।

    नेपाल फर्किने सपना, विदेशको बाटो
    सन् २००५ मा नेपालमा शिवानी एयर सुरु भएपछि उनी स्वदेश फर्किए । तर, त्यसले दीर्घकालीन करिअर सुनिश्चित गरेन । त्यसपछि उनी फिलिपिन्स पुगे, जहाँ पाइलट कोर्स पूरा गरे । त्यही समयमा उनले ब्याचलरको अध्ययन पनि पूरा गरे । थप व्यावसायिक अनुभव हासिल गरे । १९० घण्टा उडान अनुभवसहित उनले आफ्नो नयाँ करिअरका लागि मातृभूमि नै रोजे । जीवनमा अनुभव, ज्ञान र परिश्रमको त्रिकोण बनाएर अघि बढिरहेका झालाई जहाँ गए पनि मातृभूमि नेपालको मायाले तानिरहन्थ्यो । उनी सन् २०१० मा फेरि नेपाल फर्किएर काम गर्ने अठोटसहित स्वदेश फर्किए ।


    नेपाल फर्किए पनि हवाई क्षेत्रभित्र कामको सन्दर्भ र अवसरको अभावले उनी फेरि विदेशिन बाध्य भए । लण्डन पुगेर उनले मास्टर इन एभियसन म्यानेजमेन्टको अध्ययन पूरा गरे । अहिले उनी ओमानस्थित ‘मोडर्न कलेज अफ बिजनेस एण्ड साइन्स’मा एभियसन र एयरपोर्ट म्यानेजमेन्टका विषयमा अध्यापन गर्छन् । साथै, ‘रिक्स म्यानेजमेन्ट’ र ‘अपरेटिङ सेफ्टी’जस्ता गहन विषयमा तालिम पनि दिन्छन् । पाइलट भइसकेकाहरुलाई उनी एभियसन व्यवस्थापन सिकाइरहेका छन् । उनी एभियसन म्यानेजमेन्टमा मास्टर्स डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् । यो उपलब्धिले उनी न केवल आफन्त, गाउँ या क्षेत्रको मात्र होइन, सम्पूर्ण नेपाली समुदायको शीर उच्च पार्ने प्रेरणादायी पात्र बनेका छन् ।


    नेपालको मधेश क्षेत्रको एउटा गाउँबाट सुरु भएको यात्रा अहिले विश्वभर फैलिएको छ । कहिले सरकारी जागिरको खोजी, कहिले कम तलबमा असन्तुष्टि, कहिले देश फर्कने मन, कहिले फेरि विदेशिनुको बाध्यता –यी सबै मोडले जीवनमा थप गहिराइ र उचाइ थपिदिएका छन् । जो अहिले अन्तर्राष्ट्रिय एभियसन क्षेत्रमा एक सशक्त र स्थापित नाम बनेका छन् ।

    सरकारी जागिरको सपना
    लण्डनबाट पढाइ पूरा गरेपछि पनि उनी फेरि एक पटक नेपाल फर्किएर नेपालमै काम गर्ने योजना बनाएका थिए । सरकारी सेवामा लाग्ने सोच बोकेर काठमाडौं पसेका झाले प्रयास गरे, तर त्यो सपना सफल हुन सकेन । तर, हार मान्ने स्वभाव थिएन उनको । असफलताको पीडालाई पढाइको भोकमा रूपान्तरण गरे । र, त्यसले उनलाई नेपालबाट हजारौं माइल टाढाको लण्डनसम्म पु¥याएको थियो । सन् २०१३ मा उनले एभियसन म्यानेजमेन्टमा मास्टर्स पूरा गरे । र, यिनै विकल झा यो विषयमा स्नातकोत्तर तह पूरा गर्ने पहिलो नेपाली हुन् ।


    उच्च शिक्षासँगै उनी स्वदेश फर्किए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जागिरको प्रस्ताव पनि आयो, तर त्यो करारमा सीमित थियो– तलब करिब २०–२५ हजार रुपैयाँ मात्रै । राजधानी काठमाडौंमा न्यूनतम जीवनयापनका लागि पनि त्यो तलब अपुग हुने देखिएपछि उनी निजी क्षेत्रमा लाग्न बाध्य भए । उनले सिम्रिक एयरमा एभियसन सेफ्टी विज्ञका रुपमा काम सुरु गरे, त्यसपछि सौर्य एयरसँग जोडिए ।

    अन्तर्राष्ट्रिय अवसर र फेरि विदेशको बाटो
    यसैबीच सन् २०१४ मा लण्डनको एक कम्पनीमार्फत ओमानका लागि उनलाई आकर्षक जागिरको प्रस्ताव आयो । सुरुमा फ्याकल्टी मेम्बरका रुपमा बोलाइएका उनले सन् २०१५ देखि ओमान पुगेर त्यसपछि कहिल्यै पछाडि फर्किनुपरेन । उनले मात्र आफ्नो परिवारको भविष्य सुनिश्चित गरेनन्, देशको इज्जत पनि बोकिरहे ।
    विकल झाको काम ओमानमा सीमित छैन । नेपालको एभियसन क्षेत्रका विषयमा उनले थुप्रै अनुसन्धान पेपरहरु प्रकाशित गरेका छन् । रसिया, यूएई, सिंगापुर लगायत दर्जनौं देशहरुमा आयोजित हवाई सुरक्षासम्बन्धी सेमिनारहरुमा उनी प्रशिक्षक तथा वक्ताका रुपमा भाग लिइसकेका छन् । अहिले उनी यही क्षेत्रको अझ गहिरो अध्ययन गर्दै विद्यावारिधि अर्थात् पीएचडी गर्ने तयारीमा रहेका छन् ।

    समाजसेवामा समर्पित
    ओमानको राजधानी मस्कटमा बसोवास गर्ने विकल झाको नाम आज त्यहाँको नेपाली समुदायमा मात्र होइन, सामाजिक सेवा, व्यवसाय, परोपकार र प्रवासमा नेतृत्वको पर्याय बनेको छ । एकजना सफल पाइलट, एभियसन तथा एयरपोर्ट व्यवस्थापन विज्ञ भएर पनि विकलको परिचय त्यसमा सीमित छैन । उनी आज हजारौं नेपालीको दुःखसुखको अभिभावक, संकटका बेलामा सम्झिने अनुहार र सपना साकार पार्न प्रेरणादायी पात्र भएका छन् ।


    विकल झा गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी ओमान)को दुई कार्यकाल अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । नेतृत्वसँगै उनले व्यावसायिक सफलता पनि प्राप्त गरेका छन् । ट्राभल्स सेवा तथा ओमानको निर्माण क्षेत्रमा लगानी गरेर ओमानमा व्यवसाय बिस्तार गरेका उनले आफैंलाई व्यावसायिक भूमिकामा पनि सशक्त रुपमा उभ्याएका छन् । ओमानमा सीमित व्यवसायीमध्ये झा पनि एक हुन् । गल्फका अन्य देशमा धेरै नेपालीले व्यवसायमा हात हाले पनि ओमानमा भने थोरै नेपालीले मात्रै व्यवसाय गर्छन् ।


    तर, विकल झा यति मात्रै होइनन् । उनी समाजका लागि बाँच्न जान्ने व्यक्ति हुन् । ओमानमा कुनै नेपाली आपतमा परे, सम्झिने पहिलो अनुहार उनी नै हुन् । चाहे पासपोर्ट हराए, काम गर्दा दुर्घटना होस्, चाहे गम्भीर बिरामी परे– विकल बिना समाधान अधुरो देखिन्छ । हरेक नेपालीले उनलाई सम्झिन्छन् ।

    जहाज चार्टर गरेर नेपालमा अक्सिजन
    कोभिड महामारी विकराल बन्दै गएको थियो । नेपालमा अक्सिजन अभावले मानिसहरु ज्यान गुमाइरहेका थिए । त्यही बेला एनआरएनएको तर्फबाट विकल झाको संयोजकत्वमा ओमानबाट चार्टर्ड जहाजमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइयो । उनी भावुक हुँदै भन्छन्, ‘नेपाली आमाबाबु, दाजुभाइ र दिदीबहिनीहरुलाई अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले जुनसुकै सम्भव उपाय अपनायौं, त्यो मेरो जीवनकै स्मरणीय सेवा हो ।’


    कामका लागि ओमान पुगेका नेपालीको मृत्यु भएमा शवको व्यवस्थापन तथा नेपाल पठाउने काममा पनि उनी निरन्तर खटिरहेका हुन्छन् । कामको सिलसिलामा ज्यान गुमाउने नेपालीहरुको शव व्यवस्थापन गर्ने, परिवारसँग समन्वय गरेर नेपाल पठाउने जिम्मेवारी पनि उनी आफैं लिन्छन् । नेपाली दूतावास र नेपाली समुदायसँगको समन्वयमा उनले यी परोपकारी काम गर्दै आएका छन् । यति मात्र होइन, उनले नेपालमा प्राकृतिक बिपत्ति, बाढीपहिरो, आगलागी वा अन्य संकट परेका बेला आर्थिक तथा भौतिक सहायता गर्दै आएका छन् ।


    दर्जनौं विद्यालयमा आवश्यक सामग्री र संरचना निर्माणमा सहयोग गरेका छन् । नेपालमा रहेका एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने काममा पनि उनको सहयोग उल्लेखनीय छ । यी सबै कामहरु उनले कुनै प्रचारका लागि होइन, निष्कलंक निष्ठाका साथ गरिरहेका छन् । ओमानमा ज्यान गुमाउने नेपालीका नेपालमा आश्रित परिवारका लागि पनि उनकै अगुवाइमा सहयोग गरिएको छ । ओमानमा ज्यान गुमाउने नेपालीका नेपालस्थित एकल महिलालाई स्वरोजगार बनाउनका लागि सिलाइकटाइको तालिम तथा सिलाइ मेसिन लगायतका सामग्री प्रदान गर्ने काम पनि उनकै अगुवाइमा भएको छ ।


    विकलका बुबाआमा हाल जनकपुरधाममा बसोवास गर्छन् । उनी आफू भने मस्कटमा श्रीमती, दुई छोरी र एक छोरासहित बसोवास गर्छन् । परिवार र मातृभूमिबीच सन्तुलन राख्दै विकल झा ‘नेपाली हुनुको सार’लाई जीवित राखिरहेका छन् ।

    मध्यपूर्वको प्रेरणाको स्रोत
    विकल झाको यात्रा एउटा प्रेरणाको कथा हो । साधारण परिवार, मधेशको गाउँ, टाढाको दाङ, काठमाडौंको भीड, भारतको संघर्ष, फिलिपिन्सको अनुभव अनि ओमानको सफलता– यी सबै मिलेर उनको जीवनलाई विविधता, चुनौती र विजयको संगालो बनाएको छ । सही दिशा, मार्गदर्शन र अवसर पाइयो भने ‘गाउँले छोराहरु’ पनि अन्तर्राष्ट्रिय स्तरका विज्ञ बन्न सक्छन् भन्ने प्रमाण हुन् विकल झा ।


    उनको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ– अभाव र कठिनाइ बाधा होइनन्, बरु उचाइ चुम्ने भ¥याङ हुन् । सरकारी जागिर नपाएको पीडालाई पढाइ र प्रतिबद्धतामा बदलेर, कम तलबको असन्तुष्टिलाई अन्तर्राष्ट्रिय अवसरमा परिणत गरेर, विकल झाले आफूलाई नहिच्किचाई फरक पहिचानमा रूपान्तरण गरे । उनी एउटा यस्तो पात्र हुन् जसले नेपालको शिक्षा, अनुभव, संघर्ष र सपनालाई बोक्दै संसारमा प्रतिस्पर्धा गर्न सकिने प्रमाणित गरेका छन् ।


    विकल झाको कथा केवल व्यक्तिगत सफलताको होइन, यो नेपाली आत्मा, संस्कृति र संवेदनशीलताको कथा पनि हो । यो कथा हो– विदेशमा बसेर पनि देश र जनताप्रति समर्पित रहने मनको । उनको जीवनबाट सिक्न सकिने मूल मन्त्र हो– ‘जहाँ नेपाली छन्, त्यहाँ विकल झा जस्ता नेपालीको खाँचो सदैव रहन्छ ।’ साँच्चै, ओमानमा मात्र होइन, प्रवासमा रहेका सम्पूर्ण नेपालीका लागि विकल झा भरोसा, समर्पण र सेवाको जीवित प्रतीक बनेका छन् ।

  • दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू

    दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू

    १६ साउन, लोथर । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो । राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ । आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ । अमलेखगन्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १.।७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।

    परियोजना प्रमुख प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजना आजदेखि सुरू भएको बताए । “सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको छ, अब कार्यान्वयन सुरू भयो”, उनले भने, “भोलिबाट सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम सुरू हुन्छ, तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउछौँ ।” यादवले पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने उनको भनाइ छ । निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारीलगायत व्यवस्था गरिने बताए ।
    पाइपलाइनबाट दुई सय ७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ ।

    ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिए । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिट पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ । भारतको मोतिहारीदेखि अमलेखगन्जेसम्म सञ्चालनमा ल्याइएको अन्तरदेशीय पेट्रोलियम पाइप २०८१ जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो ।

    सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो । सोही समझदारीअनुसार गत असोज १७ गते इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच बिटुबी सम्झौता भएको थियो । सो सम्झौतामा निर्माण कार्य सुरू भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याउने उल्लेख छ । इण्डियन आयल कर्पोरेशनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरिसकेको छ ।

    भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ सालदेखि सञ्चालनमा आएको हो । सुरूआती चरणमा डिजेल र मट्टितेल पाइपलाइनमार्फत आयात गरिएकामा केही समय अघिदेखि पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याइएको छ । सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सजह हुने विश्वास व्यक्त गरिएको छ । विसं २०२७ सालमा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण कार्यका लागि निगमको स्थापना भएको थियो ।

  • पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

    पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

    १६ साउन, त्रिशूली । विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान)मार्फत छाना (झिङ्गटी) निकाल्ने कार्य सकिएर माथिल्लो तला हटाउन थालिएको छ ।

    “पुरातात्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितिमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य भइरहेको छ”, उनले भने, “भत्काउने क्रममा दरबारमा प्रयोग भएका झिङ्गटी, झ्याल, बुर्जा, बार्दलीलगायत सामग्रीको संरक्षणका लागि सोहीअनुसार प्रबन्ध मिलाइएको छ ।” नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि १८०१ सालमा विजयी हासिल गरेका थिए । त्यसपश्चात उनले निर्माण गर्न लगाएका उक्त साततले दरबार १० वर्षअघि २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको हेरचाह कार्यालयका प्रमुख पाण्डेले बताए ।


    साततले दरबार पुनर्निर्माणका क्रममा पुनर्निर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र एकिन हुने चिनियाँ पक्षले जनाएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । “अहिलेको प्राविधिक अध्ययनअनुसार दरबारको जग सतहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययनपश्चात् दरबार पूरै भत्काउने वा जोखिम भएका तलाहरू हटाई सोही ठाउँबाट पुनर्निर्माण गरिने भन्ने विषयमा आगामी दिनमा निर्णय लिने चिनियाँ पक्षले जानकारी गराएको छ”, उनले भने ।


    भूकम्पपछिको पुनर्निर्माणका क्रममा चिनियाँ सहयोगअन्तर्गत चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित आठवटा संरचनाको पुनर्निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुनर्निर्माणअन्तर्गत भूकम्पले पूर्णक्षति बनाएको लिच्छविकालीन तुलजा भवानी (तलेजु)को मन्दिर पूरै भत्काइएको छ । हाल उक्त स्थानमा भेट्टिएका पुरातात्विक सम्पदासँग सम्बन्धित विषयमा अध्ययन भइरहेको दरबार हेरचाह कार्यालयका प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त अध्ययनपश्चात् तलेजु मन्दिरको नयाँ निर्माण पहिलाजस्तो थियो सोहीअनुसार हुनेछ ।

    साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण विसं २०८३ असोजभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी निर्माण गरिने चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले प्रतिबद्धता जनाएको छ । बाँकी छवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक संरचनाको निर्माण त्यसपछि सुरु हुने समझदारी भएको छ । ती सबै पूर्णक्षति भएकाले नयाँ निर्माण गर्न लागिएको हो । भूकम्पले क्षति पुगेको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, नारायण र विष्णु मन्दिरको पुनर्निर्माण चीन सरकारको सहयोगमा भइरहेको पाण्डेले जानकारी दिए ।

  • इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

    इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

    १६ साउन, फिक्कल । आर्थिक वर्ष २०८१–८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनालाई एवं जिल्ला प्रशासन कार्यालयबाट तीन र इलाका प्रशासन कार्यालयले दुई जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको आज जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रजिअ नेपालले बताए ।


    उनले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता वितरण गर्न सहज भने नभएको बताए । आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्तालगायत कुनै पनि कागजपत्रमा बुबाको नाम नखुलेको सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको उनले बताए । बुबाको पहिचान नभएका, बुबा पत्ता नलागेका आमामात्र भएका सन्तानका हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यतालगायत कागजपत्रका आधारमा आमाको नामबाट नागरिकता दिइँदै आएको उनले बताए ।

    बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनी व्यवस्था रहेकाले सोहीबमोजिम गरिँदै आएको भए पनि कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रजिअ नेपालले बताए ।

  • चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

    चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

    १६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज अधिकारीले राससलाई जानकारी दिए ।

    उनले भने, “घरेलु हातहतियार बोकी सार्वजनिक स्थलहरूमा समूह बनाएर हो–हल्ला गर्दै समाजमा शान्ति सुरक्षा बिथोल्ने तथा सार्वजनिक आवागमन अवरोध हुने गरी आम नागरिकमा त्रास उत्पन्न गराउने खालका अवाञ्छित क्रियाकलापमा संलग्न हुने निज १९ जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।” प्रहरीले गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट ४७ जना पक्राउ गरेको भएपनि कतिपय असंलग्न व्यक्ति भएको पाइएकाले छाडिएको र बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति मागेको थियो ।

  • नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    १६ साउन, काठमाडौँं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज यहाँ र बेइजिङमा विविध कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

    शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले राससलाई बताए । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उनी बताउँछन् ।

    विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ यहाँ आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

  • उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    १६ साउन, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

    आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।


    प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

  • भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

    भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

    १६ साउन, ढोरपाटन । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए ।


    झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमै बित्ने गरेको छ । उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्छन् । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो घाँस काट्ने र भेडा चराउन जाने गर्छन् । टेकध्वजले यसरी लेकमा बसेर भेडा पाल्न थालेको ५० वर्षभन्दा बढी भयो । ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आएका छन् ।


    उमेरले बुढ्यौली लागे पनि घतान अझै हट्टाकट्टा छन् । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा अझै पनि उत्साहका साथ उनी काम गर्छन् । धेरै भेडा हुँदा हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्छ । बाह्रै महिना एउटै ठाउँमा राखेर भेडालाई घाँस पुर्याउन नसकिने हुँदा लेकबेँसी गर्नुपर्ने बाध्यता छ । टीकाधारा बुकीपाटन क्षेत्र हो । यहाँ अरु पनि थुप्रै गोठाला बस्छन् । लेकमा बढी चिसो हुने हुँदा गर्मीयाममा पनि बाक्लो कपडा लगाएर बस्नुपर्ने अवस्था छ । पाँच दशक बढी समय भेडापालनमा खर्चिए पनि अहिलेसम्म कतैबाट अनुदान पाउन नसकेको घतान गुनासो गर्छन् ।


    उनले भने, “यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गोठको अवस्था यस्तो छ, गतिलो त्रिपाल दिए पनि हुन्थ्यो, बेलाबेलामा आएर कर्मचारीहरूले नाम टिपेर जान्छन्, तर दिने बेला केही पनि दिँदैनन्, समाचारले सरकारले किसानलाई अनुदान दिन्छ भन्छन्, हामीले अहिलेसम्म केही पनि पाएनौँ, बाउबाजेले यही पेसा गरे, हामीहरू पनि यसैमा लागियो अहिलेसम्म यहीबाटै परिवार चलाएका छौँ ।”

    बुकीपाटनमा रहेका भेडीगोठ अब असोज लागेपछि मात्रै बेँसी झर्छन् । यतिबेला टीकाधारा क्षेत्रमा बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट गोठालाहरू भेडा लिएर आएका छन् । बुकीपाटनभरि छरिएर रहेका गोठ र त्यहाँ बस्ने गोठालाको आ–आफ्नै कथाव्यथा र पीडा छ । तर उहाँहरूको गुनासो भने एउटै छ– सरकारले सहयोग गरेन । रुकुमपूर्वका सत्यराम विश्वकर्माले गोठालाका लागि राज्यले गोठ निर्माणका लागि चाहिने सामग्री दिए पनि आफूहरूका लागि ठूलो टेवा पुग्ने बताए ।


    “हाम्रो अघिल्लो पुस्ताले पनि भेडापालन गर्नुभयो, अहिले मैले पनि यही पेसा समाएको छु, अहिले मेरा तीन सयको हाराहारीमा भेडा छन्, गाउँमै बसेर यति धेरै भेडा पाल्न सकिँदैन, ठाउँठाउँमा पुगेर भेडाको स्याहारसुसार गर्नुपर्छ”, विश्वकर्माले भने, “एउटा बर्खामा तीनचार ठाउँमा गोठ सारेर बस्नुपर्छ, गोठ बनाउनका लागि एउटा गतिलो त्रिपाल, रातिमा बाल्ने सोलार दिए हुन्थ्यो ।”

    बुकीपाटनमा यतिबेला भेडीका बथान र गोठालाको चहलपहल छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीडभाडनै हुने गरेको छ । पर्यटकले भेडाको बथानमा छिरेर दुःख दिने गरेको भेडीगोठाला लेकबहादुर विकले बताए । पर्यटक बथानमा छिरेर नाच्ने र दौडिने गर्दा भेडा भाग्ने गरेको उनको भनाइ छ । “घुम्न आएका पाँच–सात जना एकैपटक भेडाको बथानमा छिरेर नाच्छन्, चिच्याउँछन्, त्यो गर्दा भेडा डराएर टाढाटाढा भाग्छन्, भागेका भेडालाई जम्मा गर्न धेरै समय लाग्छ, यसरी बथानमा नपस्नु भन्दा उल्टै हामीहरूलाई गाली गर्छन् ।”

  • नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

    नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

    १६ साउन, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताए ।

    दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यसनिम्ति हालसम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गर्नुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

    “बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन घटाउने जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्नेमा जोड दिनेछु”, उनले भने । आगामी वर्षको लागि अल्जेरिया, स्पेन, डोमिनिकन गणराज्य र आर्मेनिया ाद्को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

  • आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    १६ साउन, काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

    कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१–८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

    दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

  • दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

    दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

    १६ साउन, वाशिङ्टन डिसी । नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ । ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।

    यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिए । डिसीस्थित दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डेको प्राविधिकसहितको टोलीले शिविरमा सेवा दिएको थियो ।

    यसैगरी गत आइतबार र सोमबार केन्टकी राज्यमा सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थियो । विगत केही वर्षदेखि नेपालीहरूको जनघनत्व बढी भएको राज्यमा दूतावासले शिविर सञ्चालन गर्दै आएको छ, यसबाट सेवाग्राही खुसी भएका छन् ।

  • पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    १६ साउन, वीरगञ्ज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरे ।

    वीरगञ्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनःभरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगञ्ज आएको बताए । “अमलेखगञ्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ”, उनले भने, “अमलेखगञ्जको जस्तै प्रविधि अपनाएर वीरगञ्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।”

    प्रमुख सिंहले वीरगञ्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताए । “अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,” उनले भने, “वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।”

    अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए । “पहिला यहाँ पनि खानेपानीको चर्को अभाव थियो । पानीकै लागि यहाँका जनता भौतारिँदै आइरहनुभएको थियो”, उनले भने, “पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगञ्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताए ।


    राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए ।“भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ”, उनले भने, “अमलेखगञ्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ”, उनले भने, “पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगञ्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।”

    इञ्जिनियर सिन्हाले अमलेखगञ्जको असल अभ्यासलाई पर्सामा पनि अनुशरण गर्न सकिने बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरको प्राविधिकसहितको टोलीले विहीबार नै वीरगञ्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो ।

    समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगञ्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताए । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजीकार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताए ।

  • आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

    १६ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…

    अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…

    १६ साउन, काठमाडौं । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ । मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ।”

    यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित सक्रिय आक्रमणकारी (शूटर) को रिपोटबारे सुरक्षा प्रतिक्रिया दिइरहेको छ र अस्पतालका गतिविधिमा व्यवधान आएको छ।” विशाल वाल्टर रीड मेडिकल सेवामा घाइते सैनिकको उपचार गरिन्छ । यसलाई अमेरिकी राष्ट्रपतिहरूको उपचार गर्न र उनीहरूको वार्षिक स्वास्थ्य परीक्षण गर्न समर्पित गरिन्छ ।

  • प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

    प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

    १५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरे ।

  • निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

    निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

    १५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । “निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुङ्ग्याउने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ”, उनले भने ।


    पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले ती विमानस्थलमा यात्रु सङ्ख्या वृद्धिका लागि विभिन्न योजना अघि बढाइएको स्पष्ट पारे ।“कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रुको सङ्ख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्”, उनले भने, “यात्रु सङ्ख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षणलगायत सुविधा सो क्षेत्रमा पु¥याउनुपर्छ ।” नेपाल एयरलाइन्सको छवटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी काम गर्न निर्देशन दिइएको बताए । प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना जहाज चलाउने तयारी भइरहेको उनको भनाइ छ ।

    आगामी दशकलाई पर्यटन प्राथमिकता दशक घोषणा गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री पाण्डेले सङ्घीय मन्त्रालय र निकाय, तीनै तहका सरकार निजी क्षेत्रलाईसँगै राखेर पर्यटन संवाद कार्यक्रम गरिएको बताए । नीतिगत तथा कानुनी सुधारलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न विभिन्न योजना अघि सारिएको बताए । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको प्रयास भइरहेको जानकारी दिए ।


    छलफलमा सांसदहरुले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी टुङ्गो लगाउन, पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको योजना बनाउन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाउनुपर्ने, राष्ट्रिय गौरवको आयोजनाको मापदण्ड बनाउन सुझाव दिए ।

  • विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने

    विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले आयोजना गर्ने

    १५ साउन, काठमाडौं । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ । उक्त प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ । आगामी सन् २०२६ मा हुने उक्त प्रतियोगिताको छनोट खेल आगामी जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीबाट शीर्ष चार स्थान हासिल गर्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

    यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगिताको एसिया क्षेत्रबाट थाइल्याण्ड र नेपाल छनोट भइसकेका छन् । नेपालले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो । प्रतियोगितामा आयरल्यान्ड र बङ्गलादेश सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः छनोट भएका हुन । त्यस्तै अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका छनोट भएको छ । बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन् । जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी नै छ ।

  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

    नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

    १५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुको आह्वानमा काठमाडौँमा यही असार १४ र १५ गते पार्टीको राष्ट्रिय भेला आयोजना गरिएको हो । पार्टीलाई अनिर्णयको बन्दी बनाएको र डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको तथा पार्टीलाई चलायमान बनाउन नसकेकाले नयाँ निर्णय लिनुपरेको सांसद चौधरीले बताए ।

    यसैबीच पार्टीको अध्यक्ष पदको जिम्मेवारीबाट हटाइएकी रञ्जिता श्रेष्ठले भने पार्टी विधानविपरीत भएको निर्णय आफूलाई मान्य नहुने बताइन् । उनले भनिन्, “मलाई जानकारीसमेत नदिइ राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरिएको छ । यो विधानविपरीत हो । अब मैले कानुनी उपचार खोज्छु ।” लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी रेशम पत्नी रञ्जितालाई बुधबार पार्टीले अध्यक्ष पदबाट हटाएको थियो ।

    विसं २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । तत्कालीन समयमा रेशम चौधरी जेलभित्र भएका बेला उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशनबाट रेशम पार्टीको अध्यक्ष बनेका थिए ।यद्यपि, निर्वाचन आयोगले वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्केको थियो । रेशम निर्वाचन आयोगको उक्त निर्णय विरूद्ध सर्वोच्च अदालत जानुभयो । हाल उक्त मुद्दा विचाराधीन छ ।

  • कागतीले बजार नपाउँदा निराश

    कागतीले बजार नपाउँदा निराश

    १५ साउन, दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, “बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।”

    स्थानीयस्तरमा बजार नपाएपछि काठमाडाँैस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले बताए । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौँ पुग्नुपरेको उनको भनाइ छ । “उत्पादित कागती काठमाडौँसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु”, मल्लले भने । “गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।”

    एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ । यसले देशमै केही गरौँ भन्ने सोच लिएर सात वर्षअगाडि देखि कागतीखेतीमा लागेका मल्ल थप निराश बनेका छन् । उनले ५०० भन्दा बढी बोट कागती लगाएका छन् । हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पु¥याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ ।

  • ‘पर्यटक बढेपछि गोठमै आम्दानी’

    ‘पर्यटक बढेपछि गोठमै आम्दानी’

    १५ साउन, गलकोट । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो ।
    पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ ।

    बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । “पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन, मोहीसमेत बिक्री हुन्छ”, उनले भने, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।”

    बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए । उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो ।

    “बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन”, उनले भने, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ ।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो ।

    ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।

  • विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

    १५ साउन, तानसेन । तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ । जेसीजले बुधबार विद्यार्थीलाई झोला, कपी, कलम वितरण गरेको हो । तानसेन नगरपालिकाका प्रमुख तथा जेसीजका पूर्वअध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन–११ का वडाध्यक्ष यादवसिंह कार्की, तानसेन–१ का वडाध्यक्ष तथा जेसीजका पूर्वअध्यक्ष जेसीज सुनिलकुमार बस्याल, जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्कीलगायतका जेसीज पदाधिकारीले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरे ।

    “विपन्न वर्गका विद्यार्थी झोलालगायत शैक्षिक सामग्रीका कारण पढाइबाट वञ्चित हुन नपरोस्, भनेर एक वर्षलाई पुग्ने शैक्षिक सामान उपलब्ध गराएका छौँ”, जेसीजका अध्यक्ष जेसी विवेककाजी शाक्यले भने । त्यस अवसरमा नगर प्रमुख श्रेष्ठले उक्त विद्यालयका विद्यार्थीलाई सघाउन रु ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गरे ।
    रासस

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १५ साउन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

  • वनमन्त्री शाही नर्वेमा : उच्चस्तरीय कार्यक्रममा सहभागी

    वनमन्त्री शाही नर्वेमा : उच्चस्तरीय कार्यक्रममा सहभागी

    १५ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरेको गरिरहेको छ । मन्त्री शाहीसँगै रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले मन्त्री शाही नेतृत्वको टोलीले युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनको आतिथ्यतामा ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर र आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकनसमेत गरेको बताए ।


    त्यस अवसरमा नर्वेमा सफल ‘आर्कटिक फक्स पुनःस्थापना कार्यक्रम’ र ‘रेनडियर पारिस्थितिकीय पद्धति’बारे विज्ञहरूले जानकारी गराएको उनले जानकारी दिए । कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले पाँचवर्षे नोरपार्ट परियोजनाका उपलब्धिहरूको समीक्षा पनि गरेका थिए । यस परियोजनाले काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ । हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधी अध्ययनरत छन् ।

    भ्रमणका दौरान मन्त्री शाही र नर्वेका विदेश मन्त्रालय तथा जलवायु तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूबीच पनि भेटवार्ता भएको थियोे । त्यस अवसरमा भविष्यका सहकार्य, क्षमता विकास र नेपालमा संरक्षण परियोजनाहरूका लागि वित्तीय सहयोग विस्तारबारे छलफल भएको थियो । नर्वेजियन विकास सहयोग संस्था नोराडसँग दीर्घकालीन संरक्षण पहलहरूबारे छलफल भएको कोषका सदस्य–सचिव सुवेदीले बताए । भ्रमणले नेपाल–नर्वे सम्बन्धलाई संरक्षण र अनुसन्धानका क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ । शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएका मन्त्री शाही आज स्वदेश फर्कने कार्यक्रम छ ।

  • आज साउन १५ : यस्तो छ खीरको महत्व

    आज साउन १५ : यस्तो छ खीरको महत्व

    १५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।

    संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने ।


    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । ।

    चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।

  • कक्षमा पुग्ने असफल प्रयासमा १४ सेकेन्डको उडानपछि अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त

    कक्षमा पुग्ने असफल प्रयासमा १४ सेकेन्डको उडानपछि अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त

    एजेन्सी
    १५ साउन, काठमाडौं । देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ ।
    गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो । यसले बुधबार बिहान स्थानीय समयमा क्विन्सल्यान्ड राज्यको उत्तरी भागमा रहेको सानो सहर बोवेन नजिकको स्पेसपोर्टबाट परीक्षण उडानमा प्रक्षेपण गरेको थियो ।

    अस्ट्रेलियाली समाचार आउटलेटहरूद्वारा प्रकाशित भिडियोहरूमा २३ मिटर रकेट प्रक्षेपण टावरलाई खाली गरेको देखिन्छ र दृष्टिबाट बाहिर खस्नुअघि हावामा उडिरहेको देखिन्छ । घटनास्थल माथि धुवाँको लहरहरू उठेको थियो । हताहतको कुनै भएको खबर आएको छैन । कम्पनीले फेसबुकमा पोस्ट गरेको वक्तव्यमा प्रक्षेपणलाई सफलताको रूपमा स्वागत गरेको छ । एक प्रवक्ताका अनुसार सबै चार हाइब्रिड–चालित इन्जिनहरू प्रज्वलित भए र पहिलो उडानमा २३ सेकेन्ड इन्जिन बलेको समय र १४ सेकेन्डको उडान समावेश थियो ।

    गिलमोर स्पेस टेक्नोलोजीजले मे र यस महिनाको सुरुमा रकेटको अघिल्लो प्रक्षेपणहरूको योजना बनाएको थियो, तर प्राविधिक समस्या र खराब मौसमका कारण ती कार्यहरू रद्द गरेको थियो । सिइओ एडम गिलमोरले एक विज्ञप्तिमा रकेट लन्चप्याडबाट निस्किएकोमा खुसी भएको बताए । “निस्सन्देह म अधिक उडान समय मन पराउँथे तर यसबाट खुसी भएँ”, उनले लिङ्कडइनमा लेखे। गिलमोरले फेब्रुअरीमा एक निजी रकेट कम्पनीले आफ्नो पहिलो प्रयासमा सफलतापूर्वक कक्षमा प्रक्षेपण गर्नु ‘लगभग नसुनिएको’ कुरा थियो ।

    रकेटले जमिन छोडेमा प्रक्षेपणलाई सफल मान्ने कम्पनीले पहिले नै बताएको थियो । “प्रक्षेपण स्थलको पूर्वाधार ‘अक्षुण्ण रह्यो’”, विज्ञप्तिमा भनिएको छ । स्थानीय ह्विटसन्डे क्षेत्रीय काउन्सिलका मेयर राई कोलिन्सले यान कक्षमा नपुगे पनि पूरा भएको प्रक्षेपण ‘ठूलो उपलब्धि’ थियो भने । “यो हाम्रो क्षेत्रमा भविष्यको व्यावसायिक अन्तरिक्ष उद्योगको विशाल छलाङतर्फको महत्त्वपूर्ण पहिलो कदम हो”, उनले फेसबुकमा लेखे ।

    गिलमोर स्पेस टेक्नोलोजीजसँग निजी कोषकर्ताहरू छन् र यस महिना एरिस रकेटको विकासका लागि देशको सङ्घीय सरकारबाट ५० लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) अनुदान प्रदान गरिएको थियो । यसले अस्ट्रेलियामा नयाँ अन्तरिक्ष प्रविधिहरूको विकास र व्यावसायीकरणलाई अगाडि बढाउन सन् २०२३ मा सरकारसँग फर्मको पाँच करोड २० लाख अस्ट्रेलियन डलर अनुदान सम्झौतालाई पछ्याएको थियो ।

    एरोस्पेस समाचार प्लेटफर्म नासास्पेसफ्लाइटका अनुसार यो देश सयौँ उप–कक्षीय वाहन प्रक्षेपणको स्थल भएको छ तर अस्ट्रेलियाबाट कक्षमा दुईवटा मात्र सफल प्रक्षेपण भएको छ । पहिलो एरिस परीक्षण उडान ५० वर्षभन्दा बढी समयमा अस्ट्रेलियाबाट पहिलो कक्षीय प्रक्षेपण प्रयास थियो ।

  • चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

    चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

    एजेन्सी
    १५ साउन, काठमाडौं । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् । उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो भने अन्य शवहरू पछिल्ला खोजीहरूमा भेटिएका हुन् । यो साता उत्तरी चीनमा परेको भीषण वर्षा र बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्, गाउँहरू अन्धकारमा डुबेका छन् र सयौं घरमा पानी पसेको छ ।

    राजधानी बेइजिङमा मात्रै ३० जनाको मृत्यु भइसकेको छ, जसमध्ये सबैभन्दा बढी क्षति उत्तरपूर्वी उपनगर मियुनमा देखिएको छ । यस्तै, राजधानीलाई घेरेको हेबेइ प्रान्तमा पहिरोले ८ जनाको ज्यान लिएको छ र अझै ४ जना बेपत्ता छन् । प्रत्येक गर्मी याममा चीनमा यस्तो प्राकृतिक विपत्ति हुने गर्दछ । जलवायु परिवर्तनका कारण वर्षा, बाढी र गर्मी जस्ता चरम मौसमका घटनाहरू अझै तीव्र र बारम्बार हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक देश हो, तर चीनले सन् २०६० भित्र कार्बन–न्यूट्रल बन्ने लक्ष्य राखेको छ । नवीकरणीय ऊर्जा उत्पादनमा पनि चीन विश्वकै अगुवा मुलुकमध्ये एक हो ।

  • मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा

    मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा

    १४ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
    न्यायाधीश पिताम्बर शर्माको इजलासले आज यौन दुव्र्यवहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अदालतको उक्त आदेशसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

    यौन दुव्र्यवहारको कसुरमा यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । सोही विषयमा थप अध्ययनका लागि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश गरेको हो । मधेसवाणी साप्ताहिक पत्रिका प्रकाशनलगायत सञ्चार उद्यमीसमेत रहेका झा २०७७ साल फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए । करिब छ महिनाजति उक्त प्रदेशको प्रदेशको प्रमुखका रुपमा काम गरेका थिए । आज अदालतले यौन दुव्र्यवहारको कसुरमा थुनामा पठाउने आदेश गरेको हो ।

  • साङ्घाईमा आँधीका कारण करीव तीनलाख मानिसलाई सुरक्षित स्थलमा सारियो

    साङ्घाईमा आँधीका कारण करीव तीनलाख मानिसलाई सुरक्षित स्थलमा सारियो

    १४ साउन, काठमाडौं । शक्तिशाली आँधी को–मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ ।

    को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको थियो भने साँझमा साङ्घाईमा अवतरण गर्ने अपेक्षा गरिएको छ । “मङ्गलबार रातिदेखि बुधबार बिहान १०ः०० बजेसम्म प्रभावित मानिसहरूलाई स्थानान्तरण गरिएको राष्ट्रिय प्रसारणकर्ता सिसिटिभीले जनाएको छ ।

    चीनको प्रभावित तटबाट देखिएको प्रत्यक्ष दृश्यहरूले समुद्री किनारको पैदल मार्गमाथि छालहरू फैलिएको देखाएको छ भने निङ्बो सहरबाट गरिएको प्रसारणमा बासिन्दाहरूलाई पानीबाटै आवतजावत गरेको देखाएको छ । यसैबीच, चीनले रूसको कामचटका प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प आएपछि आफ्नो समुद्री तटमा सुनामीको चेतावनी पनि दिएको हो ।