Category: समाचार

  • सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

    सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

    २२ साउन, म्याग्दी । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् ।

    यस साउन १८ र १९ गते काठमाडाँैमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।


    “हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ”, उनले भने, “गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताए ।

    अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरुले शिविरमा सेवा दिए । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार ९३८ जनालाई रु १० करोड ५८ लाख चार हजार २८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।

  • वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

    वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

    २२ साउन, गलकोट । यहाँको काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो । उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन् । तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि राहत रकम प्राप्त गरे । साउदी सरकारले व्यक्तिको विवरण पत्ता लगाउन नसक्दा भएको समस्या केन्द्रले समन्वय गरी पत्ता लगायो । वैदेशिक रोजगारीमा गएर अङ्गभङ्ग भएका परिवारले उपचारका लागि आवश्यक सहयोग, शव झिकाउने, क्षतिपूर्ति दिलाउने र मनोपरामर्शजस्ता काममा केन्द्रको सक्रियता देखिएको छ ।

    केन्द्रले यहाँ एक वर्षमा १२८ वटा वैदेशिक रोजगारीसँग सम्बन्धित घटना दर्ता भएकामा ५८ वटा समस्या समाधान गरेको केन्द्रका सूचना तथा परामर्शकर्ता गङ्गा शर्माले बताए । उनका अनुसार ७२ वैदेशिक ठगीमध्ये २२ ठगीको उजुरी समाधान भएर ठगिएको रु ५५ लाख १५ हजार फिर्ता भएको छ । सम्पर्कविहीन, कागजपत्र नभएको, विदेशमा जेल जीवन बिताउँदै आएका २५ उजुरी दर्ता भएकामा १३ समस्या समाधान भएको छ ।


    त्यसैगरी एक वर्षमा १० जना विदेशमा मृत्यु भएकाको शव ल्याउने र राहत रकम परिवारलाई भुक्तानी गरेको छ । दश मृत्यु तथा छ वटा अङ्गभङ्ग भएका उजुरीमध्ये १३ वटाको समस्या समाधान गरिएको र परिवारले रु ६७ लाख छ हजार राहत रकम प्राप्त गरको शर्माले बताए । आप्रवासी स्रोत केन्द्र बागलुङका प्रमुख मीन उपाध्यायले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकाले ठगी, अङ्गभङ्ग, मृत्यु तथा जेल पर्नेजस्ता घटनाको सङ्ख्यामा वृद्धि भएको बताए ।

    उनले काम, दाम, कम्पनी फरक र पासपोर्ट जफतलगायतका १५ वटा उजुरी दर्ता भएकामा १० वटा उजुरीको समस्या समाधान गरिएको बताए । उपाध्यायले जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागबाट प्राप्त रु २१ लाख ३० हजार २५४ वैदेशिक रोजगारीसँग सम्बन्धित पीडितलाई उपलब्ध गराइएको बताए ।

  • फलामले लागेर क्रेन अपरेटरको मृत्यु

    फलामले लागेर क्रेन अपरेटरको मृत्यु

    २२ साउन, निजगढ । यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो । फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

  • घानामा हेलिकप्टर दुर्घटना, दुई मन्त्रीसहित ८ जनाको ज्यान गयो

    घानामा हेलिकप्टर दुर्घटना, दुई मन्त्रीसहित ८ जनाको ज्यान गयो

    २२ साउन, काठमाडौं । घानामा एक सैनिक हेलिकप्टर दुर्घटनामा परेको छ । जसमा परी दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् । घानाको दक्षिणी असान्ती क्षेत्रमा दुर्घटना भएको खबर छ । दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदको ज्यान गएको छ । हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन चालक दलका सदस्य थिए ।

    मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये छन् । तीन चालक दलका सदस्यमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेको समाचारमा उल्लेख छ । हेलिकप्टर राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै थियो । जेड९ हेलिकप्टर दक्षिण घानाको एक प्रमुख खानी क्षेत्रमा जाँदै थियो ।

  • देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

    देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

    २२ साउन, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

  • फ्रान्समा भीषण डढेलो : एक जनाको मृत्यु, नौ जना घाइते

    फ्रान्समा भीषण डढेलो : एक जनाको मृत्यु, नौ जना घाइते

    २२ साउन, पेरिस । फ्रान्सको दक्षिणी क्षेत्रमा फैलिएको एक भीषण डढेलोलाई नियन्त्रणमा लिन सयौं अग्निनियन्त्रकहरू खटिएका छन् । उक्त आगलागीबाट एक जना नागरिकको ज्यान गएको छ भने नौ जना घाइते भएको पुष्टि गरिएको छ । अड प्रिफेक्चरकी महासचिव लुसी रोएस्चका अनुसार, “डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन र हालको मौसमीय अवस्था—खडेरी, तीव्र गर्मी र हावाका कारण स्थिति प्रतिकूल बन्दै गएको छ ।” उक्त डढेलो मंगलबार सुरु भएको हो र यसले हालसम्म अड क्षेत्रका कम्तीमा २५ घरमा क्षति पु¥याएको छ । करिब दुई हजार अग्निनियन्त्रक उक्त आगो निभाउने कार्यमा निरन्तर जुटिरहेका छन् । यो डढेलो यस वर्षको फ्रान्समा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको जनाइएको छ ।

    एक ज्येष्ठ महिलाको आफ्नै निवासमा ज्यान गएको पुष्टि गरिएको छ । एक जना अझै बेपत्ता छन् । दुई जना घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । साथै, सात जना अग्निनियन्त्रकहरू धुवाँको कारण घाइते भएका छन् । अहिलेसम्म करिब १२ हजार हेक्टर ९२७ हजार एकड० क्षेत्रफल आगलागीबाट प्रभावित भएको बताइएको छ । रोएस्चले भने, “डढेलो त्यस्ता क्षेत्रमा फैलिँदैछ जहाँ प्राकृतिक अवस्था आगो फैलिन अनुकूल छन् । यसलाई नियन्त्रणमा लिन केही दिन लाग्ने सम्भावना रहेको छ ।”
    डढेलोको जोखिमका कारण केही क्याम्पिङ स्थलहरू र कम्तीमा एक बस्ती आंशिक रूपमा सुरक्षित स्थानमा सारिएको छ भने केही सडकहरू पनि अस्थायी रूपमा बन्द गरिएका छन् । ५१ वर्षीय डेविड सेर्दानले, “मैले सबै वस्तुहरू पछि छोडेर सुरक्षित स्थानतर्फ प्रस्थान गर्नुप¥यो,” भन्दै घटनाप्रति दुःख व्यक्त गरे, उनी सान्त–लोरेन्ट–दे–ला–काब्रेरिसका बासिन्दा हुन्, जहाँ एक महिलाले घर नछोड्ने निर्णय लिएपछि उनको निधन भएको जनाइएको छ ।

    सेर्दानले थपे, “मेरो भाग्य राम्रो मान्छु, किनकि मेरो क्षति केवल भौतिक हो ।” प्रधानमन्त्री फ्राँस्वा बायरू र गृहमन्त्री ब्रुनो रेटाइयोले आज अड क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । “मानिसहरूले सबै कुरा गुमाइरहेका छन्” फ्रान्सको आपतकालीन सेवा अनुसार, यस गर्मीमा मात्रै करिब नौ हजार साना ठूला डढेलोका घटनाहरू भइसकेका छन् ।
    राष्ट्रपति इमानुएल माक्रोंले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सम्पूर्ण जनशक्तिहरू परिचालन गरिएको जानकारी दिनुहुँदै सबै नागरिकलाई ‘अत्यधिक सावधानी अपनाउन’ आग्रह गरेका छन् । अड क्षेत्रमा पछिल्ला वर्षहरूमा डढेलोबाट प्रभावित क्षेत्रको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । यसमा कम वर्षा र अङ्गुरका बगैंचाहरूको हटाइको कारणले आगो फैलिन सजिलो बनाएको बताइएको छ ।
    फाब्रेजान नगरकी स्थानीय बासिन्दा ओद डामेसिनले वर्तमान परिस्थितिलाई दुःखद् भन्दै भने, “गर्मी सुरु भएदेखि यति धेरै आगलागीका घटनाहरू देख्दा मन दुःखी हुन्छ । यो वनस्पति, वन्यजन्तु तथा घरजग्गा गुमाइरहेका मानिसहरूका लागि अत्यन्त पीडादायी अवस्था हो।” युरोपेली संघको कोपर्निकस जलवायु अवलोकन संस्थानका अनुसार, यस वर्षको प्रारम्भदेखि हालसम्म फ्रान्समा करिब २४ हजार हेक्टर भूभाग आगलागीबाट प्रभावित भइसकेको छ । यो सङ्ख्या सन् २०१९ र २०२२ का अभिलेखीय डढेलोहरूसँग तुलना गर्दा भने कम रहेको जनाइएको छ ।

  • उत्तराखण्डमा पहिरो र बाढीको प्रकोप : यसरी हुँदैछ उद्धार

    उत्तराखण्डमा पहिरो र बाढीको प्रकोप : यसरी हुँदैछ उद्धार

    २२ साउन, काठमाडौं । हिमालय क्षेत्रमा आएको विनाशकारी बाढीपछि हराइरहेका कैयौं व्यक्तिहरूको खोजीका लागि भारतीय सेनाले बुधबार तालिमप्राप्त कुकुर, मानवरहित यन्त्र, ठूला मेसिन र उद्धार टोली परिचालन गरेको छ । उत्तराखण्ड राज्यको धाराली नामक पहाडी नगरमा हिजो परेको ठूलो पहिरो र बाढीका कारण कम्तीमा चार जनाको ज्यान गएको र ५० जना भन्दा बढी अझै सम्पर्कविहीन रहेको उद्धार अधिकारीहरूले जनाएका छन् ।

    जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूले यो घटनालाई ‘सावधानीको संकेत’ भन्दै चेतावनी दिएका छन्, जसले विश्वव्यापी तापक्रम वृद्धिको गम्भीर असर देखाएको छ । हरेक वर्ष असारदेखि असोज महिनासम्म पर्ने झरीका समयमा पहिरो र बाढीका घटनाहरू सामान्य जस्तै भएका भए पनि वातावरणीय परिवर्तन र तीव्र शहरीकरणका कारण यस्ता विपत्तिहरूको सङ्ख्या र प्रभाव दिनप्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ ।

    अत्यधिक वर्षाले उद्धारकार्यमा ठूलो कठिनाइ पुर्याएको छ । सञ्चार सेवा अवरुद्ध भएका कारण सम्पर्कमा समस्या आइरहेको छ । यद्यपि, उद्धारकर्मीहरू दुर्गम स्थानहरूमा पुग्न थालेपछि हराइरहेका व्यक्तिको सङ्ख्या घटाइएको बताइएको छ। मंगलबार रातिसम्म करिब १०० जना हराइरहेका थिए ।
    राष्ट्रिय विपद् प्रतिक्रिया बलका मोहेन शाहेदीले भने, “हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ ।”
    भारतीय सञ्चार माध्यममा प्रसारित दृश्यहरूमा बाढीका कारण बहुउद्देश्यीय घरहरू क्षतिग्रस्त हुँदै बगिरहेको, स्थानीय मानिसहरू भाग्दै गरेको तथा सम्पूर्ण बस्ती नै बगाइरहेको देखिन्छ । शाहेदीका अनुसार धारालीबाट ५० जना भन्दा बढी र तल्लो गाउँ हर्सिलबाट ११ जना सैनिक अझै सम्पर्कविहीन छन् ।
    भारतीय सेनाले जनाएको छ, “थप सैनिक टुकडीहरू, तालिमप्राप्त कुकुर, मानवरहित यन्त्र, ढुंगा हटाउने उपकरण लगायतका साधनहरू प्रयोग गरेर उद्धार कार्य तीव्र बनाइएको छ।” विपद् प्रभावित क्षेत्रमा बाटो बगाइएकाले हेलिकप्टरद्वारा अत्यावश्यक सामग्री आपूर्ति गरिएको छ र मानिसहरूको उद्धार पनि भइरहेको छ, यद्यपि वर्षा र हुस्सुले उडानमा अवरोध गरेको जनाइएको छ ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो बाढी भीषण वर्षाका कारण भएको ‘मूल बादल विस्फोट’ (क्लाउडबस्र्ट)बाट उत्पन्न भएको बताउँदै, उद्धार कार्य युद्धस्तरमा अघि बढाइएको जानकारी दिए । कसैलाई पनि समयमै थाहा पाउन नदिई केही सेकेन्डमै बाढीले पुरै बस्ती बगाएको भिडिओहरूमा देखिन्छ । सुमन सेम्वालले ‘इन्डियन एक्सप्रेस’लाई बताए अनुसार उनका बाबुले माथिल्लो गाउँबाट “गडगडाहटसहित” बाढी आएको देखेका थिए ।

    उनले भने, “यो दृश्य अकल्पनीय थियो। मानिसहरू चिच्याउन खोजे तर आवाज सुन्ने कोही थिएन । १५ सेकेन्डमै बाढीले सबै बगायो ।” बाढीले धाराली नगरको ठूलो भागमा हिलो थुपारेको छ । केही स्थानमा हिलोको गहिराइ १५ मिटर पुगेको अनुमान गरिएको छ, जसले केही घरहरू पूरै ढाकेका छन् ।
    सरकारी र सैनिक उद्धार टोलीद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमा मानिसहरू ढुंगा हटाउँदै, ठूला यन्त्रद्वारा बाटो खुलाउने प्रयास गरिरहेको देखिन्छ ।
    सरकारी मौसम विभागका अनुसार, उत्तराखण्ड राज्यका सबै ठूला नदीहरू हाल खतरा स्तरभन्दा माथि बगिरहेका छन् । सेनाले भनेको छ, “निरन्तरको वर्षाका कारण पानीको सतह बढ्दै गएकोले बासिन्दाहरूलाई उच्च स्थानमा सारिएको छ ।”
    संयुक्त राष्ट्रसंघको मौसम विज्ञान संस्थाले अघिल्लो वर्ष नै बढ्दो बाढी र खडेरी जलवायु परिवर्तनको गम्भीर सङ्केत हुन्, जसले पृथ्वीको जलचक्रलाई थप अव्यवस्थित बनाउँदै जनाएको थियो । नेपालस्थित ‘अन्तर्राष्ट्रिय हिमाली विकास केन्द्र’का जलविद् मनिष श्रेष्ठका अनुसार, २४ घण्टामा परेको २७० मिलिमिटर वर्षा “अत्यधिक घटनाको श्रेणीमा पर्छ ।”
    उनका अनुसार, “पर्वतीय क्षेत्रमा यस्ता तीव्र वर्षाले समथर क्षेत्रमा भन्दा बढी सिधा असर पार्दछ ।” सतत सम्पदा जलवायु प्रतिष्ठान, नयाँ दिल्लीका जलवायु अभियन्ता हर्जित सिंहले भने, “विकासको नाममा अवैज्ञानिक, अव्यवस्थित र लापरबाहीपूर्वक गरिएको निर्माण कार्यले प्रकृतिक संरचनाहरू नष्ट गरिरहेको छ।” उनले थपे, “वैश्विक तापक्रम वृद्धिले हाम्रो वर्षालाई चरम बनाइरहेको छ। यो विनाशकारी क्षति अब हाम्रो अन्तिम चेतावनी बन्नुपर्छ।”

  • माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष दाहाल

    माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको : अध्यक्ष दाहाल

    राष्ट्रिय समाचार समिति
    २१ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै उनले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले ‘एमसिसी’ नेपालका पक्षमा रहेको बताए । अध्यक्ष दाहालले भने, “जनताका अगाडि सर्वसम्मतरुपमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको छ, त्यो आफैँमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गर्ने ढोका बनेको छ, माओवादीले छाडेर हिँड्दा जस्ताको तस्तै पास हुने अवस्था थियो, त्यसो हुन दिएनौँ । अब त्यसमा बोल्ने ठाउँ रहेको छ ।”

    उनले अन्तरराष्ट्रिय कानुनका ज्ञाताबाट प्राप्त सुझावसहित भियना ‘कन्भेन्सन’का आधारमा केही बोल्ने ठाउँ रहने जानकारी प्राप्त भएपछि माओवादी केन्द्रको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको स्पष्ट गरे । अध्यक्ष दाहालले ‘एमसिसी’का पक्ष र विपक्षमा वकालत गर्नेहरूका लागि विमोचित पुस्तक पठनीय सामग्री भएको बताए । माओवादी केन्द्रका नेता एवं पुस्तकका लेखक पोखरेलले आफ्नो पार्टीले बाध्यात्मक परिस्थितिमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको जानकारी दिँदै सुरक्षा चुनौतीसहित समग्र पक्षलाई समेटेर पुस्तक तयार पारेको जानकारी दिए । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं माओवादी केन्द्रका नेता दीनानाथ शर्माले ‘एमसिसी’का बारेमा बुझ्न चाहने पाठकका लागि पुस्तक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

  • प्रधानमन्त्रीसँग लगानी प्रवर्द्धनसम्बन्धी महासङ्घका कार्यकारी निर्देशकको भेट

    प्रधानमन्त्रीसँग लगानी प्रवर्द्धनसम्बन्धी महासङ्घका कार्यकारी निर्देशकको भेट

    राष्ट्रिय समाचार समिति
    २१ साउन, तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व महासङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गरेका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरूबीच साइडलाइन भेट भएको हो ।

    भेटका अवसरमा नेपालमा लगानी अभिवृद्धिको सम्भावना र नेपालको लगानी प्रवर्द्धन बोर्डले महासङ्घको सदस्यता लिनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी थिए ।

  • सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

    सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

    राष्ट्रिय समाचार समिति
    २१ साउन, बोदे बर्साइन । सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय सङ्घर्ष समिति गठन भएको छ ।
    स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा सङ्घर्ष समिति गठन भएको हो । सङ्घर्ष समितिले आज साँझ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्वन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र प्रहरी उपरीक्षकलाई अविलम्ब विभागीय कारबाहीको माग ज्ञापनपत्रमा गरिएको छ ।

    यादव हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई सहिद घोषणा गर्दै परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन र सीमाक्षेत्रमा प्रहरी आतङ्क बन्द गरी शान्तिसुरक्षा कायम गर्न माग गरिएको छ । चौबिस घण्टाभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ । मङ्गलबार राति पुगेको प्रहरीले चलाएको गोली लागी यादव घाइते भएका थिए । उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो । नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुङ्गामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छभने मृतकका परिवारले नियन्त्रणमा लिइ गोली चलाएको आरोप लगाएको छ ।

    यसैबीच, आजै सप्तरी उद्योग वाणिज्य सङ्घले पनि लालुप्रसाद यादवको हत्यारालाई कारबाहीको माग गरेको छ । सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घट्नाको छानबिन गरी दोषीउपर कडा कारबाहीको माग गरेको हो । दोषीहरुलाई कानुनको दायरामा ल्याएर कारबाही नगरिए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी ज्ञापनपत्रमा छ ।

  • बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

    बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

    राष्ट्रिय समाचार समिति
    २१ साउन, दमौली । यहाँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् । १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरु विद्यालय नगई बेपत्ता भएका थिए । उनीहरु परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । किशोरीहरुले आफूहरुलाई खोज्न पर्दैन भनेर भनेको उनले उल्लेख गरे ।

    सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ । उता, भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन् । काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर गाँउतिर लुकेको र राति अबेरसम्म खोज्दै गर्दा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

  • इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण

    इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण

    राष्ट्रिय समाचार समिति
    २१ साउन, काठमाडौंं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयमा अध्ययनरत एमबिबिएसतर्फका आठौँ ब्याचका इन्टर्नसीप पूरा गरेका ६० जना चिकित्सकलाई प्रमाणपत्र वितरण गरिएको छ । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सो प्रमाणपत्र वितरण गरे ।

    कार्यक्रममा प्रधान सेनापतिले इन्टर्नसीप पूरा गरेका चिकित्सकलाई बधाई दिँदै आगामी कार्यकालको शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, महाविद्यालयका प्राध्यापक तथा प्राचार्य र अधिकृतहरूको उपस्थिति थियो । विसं २०६८ भदौबाट सञ्चालनमा आएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट हालसम्म आठ सय १५ जना चिकित्सकले एमबिबिएस अध्ययन पूरा गरेका छन् ।

  • राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

    राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

    २१ साउन, काठमाडौं । रासस । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०सहितका विपक्षी दलहरूले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान विपरित रहेको निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको विपक्षी दलहरुको बैठकले सो कार्यविधि स्वमूल्याङ्कनका नाममा दलमाथि नियन्त्रण गर्ने उद्देश्यका साथ ल्याउन लागिएको ठहर गरेको हो ।

    बैठकमा अध्यक्ष दाहालले सो कार्यविधि हालको संविधान, ऐन तथा कानुन विपरीत रहेकाले सम्र्पूण दलको साझा धारणा बनाउन आवश्यक रहेको बताए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले निर्वाचन आयोगलाई सो कार्यविधि जारी गर्न स्वीकृति दिएको सूचना पाएको जनाउँदै त्यसका आधारमा निर्वाचन आयोगले कार्यविधिमा राखेको प्रावधान साना दललाई नियन्त्रण गर्ने प्रयास भएको बताए ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रस्तावित कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँग मेल नखाने बताए । उनले कार्यविधिबाट प्रस्तावित समिति, त्यसका संयोजक तथा अधिकारहरू संविधान र कानुनको मर्मविपरीत रहेको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गल्तीपूर्ण भएको दाबी गर्दै आफूहरू यसको विरोधमा रहेको प्रष्ट पारे । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले निर्वाचन आयोगले साना दलहरूको अभिलेख अद्यावधिक नगरेको गुनासो गर्दै आयोग साना पार्टीलाई हटाउने रणनीतिमा लागेको बताए ।


    आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संविधान र ऐन विपरीत भएको स्पष्ट रहेको भन्दै यसविरुद्ध सङ्घर्ष आवश्यक भएको बताए । राष्ट्रिय प्रजातन्त्रज्ञ पार्टीका नेता बुद्धिमान तामाङ, लोसपाकी नेतृ रेखा यादव, जनमत पार्टीका अध्यक्ष डा सीके राउत, नागरिक उन्मुक्तिका नेता तथा अन्य दलका प्रतिनिधिले कार्यविधि संविधान, लोकतन्त्र र दलको स्वायत्तताविरुद्ध रहेको टिप्पणी गरे ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    २१ साउन, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

    अन्तरराष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
    विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

  • बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

    बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि

    २१ साउन, काठमाडौं । बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले एक सूचना सार्वजनिक गर्दै बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह बढेको र नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

    विभागले बुधबार बिहानसम्म आवश्यक सावधानी अपनाउनसमेत सबैको ध्यानाकर्षण गरेको छ । यसअघि विभागले रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो ।

  • यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    २१ साउन, काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ ।

    यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नेछन् । प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणा गरेका हुन् ।


    लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने सन्दर्भमा छलफल जारी छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन् । भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा तेस्रो सम्मेलन भइरहेको हो ।

    सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ । भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३(५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो ।

  • जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि…

    जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि…

    २१ साउन, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ । हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो । हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए । हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए ।


    “हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो”, उनले भने, “हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ ।” जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको क्षति पुर्याउने काम गर्दै आएको छ । हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै जाई र पर्सिया गाउँ पसेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए ।


    लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा पाँच जङ्गली हात्ती रहेको जानकारी दिए । उनका अनुसार हात्ती बस्ती हुँदै निकुञ्जतर्फ आउजाउ गर्ने गरेको छ । हात्ती बस्तीतर्फ जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।

  • देशका केही भागमा भारी वर्षाको सम्भावना

    देशका केही भागमा भारी वर्षाको सम्भावना

    २१ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ ।

    मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    २१ साउन, राजविराज । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

  • पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

    पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

    २१ साउन, बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

    राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

  • उच्चस्तरीय विषयगत बैठकमा प्रधानमन्त्रीको सम्बोधन

    उच्चस्तरीय विषयगत बैठकमा प्रधानमन्त्रीको सम्बोधन

    २० साउन, आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसी) मा ‘समृद्धिको चालकका रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, विज्ञान, प्रविधि र नवप्रवर्तन’ उच्चस्तरीय विषयगत बैठकमा सम्बोधन गरेका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘साइड इभेन्ट’का रूपमा प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेका हुन् । उनले भूपरिवेष्टित मुलुकहरूको रुपान्तरण कुनै छनोट नभई आवश्यकता भएकामा जोड दिए ।

  • प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

    २० साउन, आवाजा । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरुबीचको भेटवार्तामा दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको छ । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

  • अन्नपूर्ण क्षेत्रमा एक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु

    अन्नपूर्ण क्षेत्रमा एक वर्षमा लेक लागेर १८ पर्यटकको मृत्यु

    २० साउन, गण्डकी । गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एकरएकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण गतवर्ष चारजना पर्यटकले ज्यान गुमाएका एक्यापका प्रमुख डा रविन कडरियाले जानकारी दिए । अधिकांश लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेको उनको भनाइ छ ।

    आव २०८०–८१ मा अन्नपूर्ण क्षेत्रमा २० जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । लेक लागेका कतिपय पर्यटकलाई हेलिकप्टरबाट समेत उद्धार गरेर बचाइएको एक्यापका प्रमुख कडरियाले बताए । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको उनले बताए ।

    “हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, डा कडरियाले भने, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।” एक्याप कार्यालयले विगत दुई वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरू गरेको हो । पदयात्रामा क्रममा लडेर मृत्यु हुने गरेका घटना पनि बर्सेनि दोहोरिने गरेका छन् । आव २०८०–८१ मा कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको पदयात्रा क्रममा लडेर मृत्यु भएको थियो ।

    “लामो दुरीको पदयात्रामा निक्किँदा एक्लै जानुहुँदैन, समूहमा वा पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उनले भने, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”

    काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रर्दशक गुरुङले बताए । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको उनको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाव दिए ।


    शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटक पुगेका थिए ।

    अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् ।

  • अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

    अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

    २० साउन, काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

    विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो ।

    सूचनामा भनियको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदैआएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएकोइ व्यहोरा जानकारीका लागि अनुरोध छ ।” छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य हुने व्यवस्था गरिएको छ ।

    उक्त दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

  • कुलिङ अफ पिरियड : समिति सभापति र सचिव जिम्मेवार रहेको छानबिन समितिको ठहर

    कुलिङ अफ पिरियड : समिति सभापति र सचिव जिम्मेवार रहेको छानबिन समितिको ठहर

    काठमाडौँ, २० साउन स् ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले सो विधेयकलाई अन्तिमरूप दिने क्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले उत्तरदायीपूर्ण र सचिवले परिभाषित जिम्मेवारी पूरा नगरेको ठहर गरेको छ । समितिले आज प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सो प्रकरणमा संलग्न राजनीतिक व्यक्तिको राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोहीबमोजिम गर्न सुझाव दिइएको छ ।

    गत जेठ २ मा परिमार्जनसहित सर्वसम्मत पारित गरेको समितिको निर्णय र मस्यौदा प्रतिवेदनमा सभापति रामहरि खतिवडाको हस्ताक्षर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यलाई देखाई छलफल गरी सभामा पेस गर्नुपर्नेमा सो नगरी निश्चित व्यक्तिबीच अनौपचारिक बैठक बसी प्रतिवेदन पठाएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    मस्यौदा प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा सभापतिले उत्तरदायीपूर्ण र समन्वयकारी भूमिका वहन नगरेको समितिको निष्कर्ष छ । समितिका सचिव सुरजकुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रही प्रतिवेदन लेख्नेसमेत भूमिका रहेको हुँदा सचिवले पनि परिभाषित जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ ।

    सो विधेयकको समिति र उपसमितिमा हुने छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि सहसचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रूपमा रहेका सहसचिव प्रारम्भदेखि नै संलग्न रहेको र विधेयकको प्रतिवेदन निज सहसचिवले जेठ ६ गते प्राप्त गरे पनि विधेयकको त्रुटि सच्याउन सम्बन्धित समितिलाई जानकारी गराई सुधार गर्न ध्यान नदिएको समितिको निष्कर्ष छ ।

    जनताको मतादेशमार्फत प्राप्त विधायिकी अधिकार सभा र संसदीय समितिले प्रयोग गर्ने संविधान र सम्बन्धित सभाको नियमावलीले व्यवस्था गरेको सम्बन्धमा सभा वा समितिले गरेका निर्णयको सम्मान र पालना गर्दै कार्यान्वयन गर्नु, गराउनु सरकारी निकाय र पदाधिकारीको कानुनी जिम्मेवारी भएको प्रतिवेदनमा उल्लेख छ । “यस संवैधानिक र कानुनी व्यवस्थाको आधारमा संसदीय समिति र सभाले पारित गरेको उक्त विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ को विषय हटाउन समूह बनाई सार्वजनिक रूपमा ‘लबिइङ’ गर्दै हिँड्नु परिभाषित जिम्मेवारी भएका पदाधिकारीको पदीय आचरण मान्न सकिन्न”, प्रतिवेदनमा लेखिएको छ ।

    राज्य व्यवस्था समितिले पारित गरेको सो विधेयकसम्बन्धी प्रतिवेदनमा रहेको विश्राम अवधि सम्बन्धमा मुख्यसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव (कानुन) को प्रत्यक्ष संलग्नता नदेखिए पनि त्यससम्बन्धमा सार्वजनिक रूपमै विपक्षमा देखिनु शोभनीय नभएको समितिले ठहर गरेको छ ।

    “विधेयकको दफा ८२ को उपदफा ९४० र ९५० का बीच कानुनी तादात्म्यता सम्बन्धमा गम्भीर त्रुटि भएको देखिँदा यसमा संलग्न पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोहीबमोजिमको सुझाव एवं निष्कर्ष छ”, प्रतिवेदनमा उल्लेख छ ।

    छानबिन समितिका सभापति जीवन परियारले सो विधेयकका सम्बन्धमा मिहीन रूपमा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन समितिका सदस्यले अन्तिममा नहेरेको र छलफल नगरिएको छानबिनका क्रममा पाइएको स्पष्ट पारे । उनले मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको र विधेयक मस्यौदामा मिलाउने जिम्मेवारीमा संलग्न पक्षले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादाम्यता नमिलेको सदनलाई जानकारी गराए ।

    प्रतिवेदनले सो त्रुटिका सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोही बमोजिमको व्यवस्था गर्न सुझाव दिएको छ । समितिले आगामी दिनमा यसखालका त्रुटि हुन नदिन मूल विधेयक र समितिको मूल प्रतिवेदन एकीकृत रूपमा हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ । विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिने, विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई त्यससम्बन्धमा बढी जवाफदेही बनाउने, संवेदनशील छलफलमा गोपनीयता र पारदर्शितालाई सन्तुलनमा राख्न सोही अनुरूप सरोकारवालाबाहेक र अन्यलाई विचार गरी प्रवेश दिन समितिले सुझाव दिएको छ ।

    “समितिका निर्णयलाई एक रूपता कायम गर्न र मानवीय त्रुटि कम गर्न मार्गदर्शन तयार गरी लागू गर्ने, सभापतिले निर्णय प्रक्रियामा सबै सदस्यलाई विधेयकमा के–के परिमार्जन गरियो भन्ने विषयलाई वाचन गरी निर्णयमा सदस्यको हस्ताक्षर गर्ने पद्धतिको विकास गर्ने तथा समितिको अन्तिम प्रतिवेदन सभामा पठाउनुपूर्व अनिवार्य रूपमा समितिको बैठक राखी छलफल गराउनुपर्ने”, छानबिनको निष्कर्ष सुनाउँदै सभापति परियारले भने ।


    समितिले राज्य व्यवस्था समितिका सभापति, सचिव, सदस्य, विज्ञ, गृहमन्त्री, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विभिन्न राजनीतिक दलका मुख्य तथा प्रमुख सचेतक, संसद्मा रहेका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र सांसदसँग अन्तरक्रिया र छलफल गरेको उनले जानकारी दिए ।


    यसैगरी, समितिले मुख्यसचिव, उच्चपदस्थ कर्मचारी, संसद्का महासचिव, विभिन्न मन्त्रालयका सचिवसँग पनि प्रत्यक्ष साक्षात्कार गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ पटक बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । समितिले आजै सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको थियो । सोमबार रातभर सिंहदरबारमा बैठक बसेर समितिले प्रतिवेदन तयार गरेको थियो ।

    प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए ।

  • उत्तराखण्डमा भीषण वर्षा र बाढी : कम्तिमा ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

    उत्तराखण्डमा भीषण वर्षा र बाढी : कम्तिमा ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता

    २० साउन, काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो।

    धेरै घरहरू बगाइसकिएको जनाइएको छ र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरिरहेको देखिएको छ। हालसम्म उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भइसकेका छन् र खोज तथा उद्दार कार्य तीव्र रूपमा जारी रहेको छ।

    प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ। स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया पनि तीव्र पारिएको छ। प्रशासनले आगामी दिनमा अझ भारी वर्षा हुनसक्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। पूरै क्षतिको मूल्याङ्कन भइरहेको छ र थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

  • नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

    २० साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

    उनले भने, “यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ”, झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो ।

    यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भने, “पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ ।

    कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षाको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उहाँका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।

  • मनसुनमा जुर्मुराएको प्रकृति, देशैभरीका प्रतिनिधि तस्वीर कथा

    मनसुनमा जुर्मुराएको प्रकृति, देशैभरीका प्रतिनिधि तस्वीर कथा

    यतिबेला नेपालमा मनसुन जारी छ । मनसुनमा प्रकृति प्रफुल्ल हुन्छ । रुख विरुवा मैमत्त हुन्छन् र सारा संसारमा आफ्नो वैभव देखाउँछन् । यस्तै स्वरुप झल्कने गरी देशभरीबाट प्राप्त केही प्रतिनिधि तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

    केन्जो फूलसँगै लाम पोखरी फुङ्लिङ, २० साउनः समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लाम पोखरी । यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लाम पोखरी रहेको छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिरः दिलकुमार लिम्बू÷रासस
    ढोरपाटन (बागलुङ), २० साउनः ढोरपाटन उपत्यका र पोखरा लेक ढुङ्गे देउरालीबाट देखिएको ढोरपाटन उपत्यका र पोखरा लेक । नेपालको एक मात्र सिकार आरक्षमा पर्ने यो क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः डम्मर बुढामगर÷रासस
    मुस्ताङ, (जोमसोम) २० साउनः स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र। पछिल्ला केही वर्षयता मुस्ताङमा सडक सञ्जालको पहुँच पुगेसँगै मार्फामा पनि आधुनिक घरहरु बन्ने क्रम जारी छ । पर्यटकको सेवालाई दृष्टिगत गर्दै गाउँ छेउछाउमा सुविधासम्पन्न आधुनिक घरहरु बनेको हो । तस्बिरः सुशीलबाबू थकाली÷रासस
    हरियाली धानखेत सुनसरी, २० साउनः सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको हरियाली धानखेत फाँट। जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिरः नवीन गड्तौला÷रासस
    फिक्कल (इलाम), २० साउन घोडाबाट दूध ढुवानी गर्दै कृषक दूध बिक्रीका लागि घोडालाई बोकाएर डेरीसम्म लैजाँदै इलाम सूर्योदय नगरपालिका–३ जिलगाउँका कृषक। यस क्षेत्रका कृषकहरुले विगत लामो समयदेखि दूध बोकाउन घोडा प्रयोग गर्दै आएका छन् । तस्बिरः रामकुमार लिम्बू÷रासस
  • ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    २० साउन, गाईघाट । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ ।

  • बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    काठमाडौँ, २० साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा सहजीकरणको काम गर्ने निर्णय भएको हो ।

    त्यस्तो वातावरण निर्माणका लागि पहल गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा यही साउन २१ गतदेखि विभिन्न तीन वटा टोली परिचालन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    सङ्घीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारका रूपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको हुन्छ । नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ ।

    सो अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरेर सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभासमक्ष पेस गर्नुपर्ने र सो बजेट असार मसान्तभित्र पारित गरी सक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

    स्थानीय तहमा सुशासनको प्रवर्द्धन र सेवा प्रवाहको सुनिश्चितता गर्न उपर्युक्त अनुुसारका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम समयमै बजेट पारित गरी कार्यान्वयन गर्नु अनिवार्य भए पनि केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन । सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार सङ्घ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वयको जिम्मेवारी यस मन्त्रालयमा रहेको छ । सो जिम्मेवारीअनुरुप सभाबाट समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरुका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्ने विषयलाई यस मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।