Category: समाचार

  • बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    बसमा अचेत भेटिएका वृद्धको मृत्यु

    २६ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरिका करिब ७० वर्षीय गुञ्जबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

    बसबाट झारेपछि प्रहरीले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए । गगनगौंडाबाट उनी बन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक बान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

  • नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

    नेप्से परिसूचकमा २७ अङ्कको गिरावट


    २६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो । आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ३१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ३१ र लघुवित्त समूह दुई दशमलव ३५ प्रतिशतले घटेको हो । बैंकिङ शून्य दशमलव ४१, वित्त एक दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् एक दशमलव ४१ र लगानी समूह दशमलव १७ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७५, निर्जीवन बीमा एक दशमलव २४ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले घटेको छ ।

    रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ५३ करोड ८८ लाख ६० हजार ९५७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरे सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को नौ लाख २३ हजार ५४९ कित्ता शेयर किनबेच भएको छ ।

  • अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै

    अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता स् युक्रेन संकटको समाधान खोजिँदै

    २६ साउन, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सन् २०२५ अगस्ट १५ मा अलास्कामा महत्वपूर्ण शिखर सम्मेलनको आयोजना हुन गइरहेको छ । उक्त बैठकमा युक्रेनमा युद्धविरामका सम्भावनाहरू छलफल गरिनेछ । यो सन् २०२१ पछि दुबै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा युक्रेन सङ्कटलाई ‘२४ घण्टाभित्र समाधान गर्ने’ प्रतिज्ञा गर्दै आएका थिए । अलास्का सम्मेलनलाई शान्ति स्थापनाका लागि एक उच्चस्तरीय प्रयासको रूपमा हेरिएको छ ।

    यद्यपि, यस वार्ताबाट ठोस प्रगति हुनेमा विशेषज्ञहरूले आशङ्का व्यक्त गरेका छन्, किनभने ट्रम्प र पुटिन दुबै फरक–फरक अडानबाट वार्तामा सहभागी हुँदैछन् । साथै, अमेरिकाका केही प्रमुख साझेदार राष्ट्रहरूले युक्रेनको सहभागिता बिना हुने कुनै पनि सम्झौताले वैधता नपाउने चेतावनी दिएका छन् ।
    ट्रम्पका विशेष दूत स्टीभ विटकोफको मस्को भ्रमणका क्रममा पुटिनसँगको तीन घण्टा लामो कार्य बैठकपछि अलास्का बैठकको योजना सार्वजनिक भएको हो ।

    पुटिनको प्रस्ताव र ट्रम्पको प्रतिक्रिया
    द वल स्ट्रिट जर्नल अनुसार, पुटिनले हालै ट्रम्प प्रशासनलाई युद्धविरामको प्रस्ताव दिनुभएको छ, जसमा युक्रेनले केही भूभाग छोड्नुपर्ने र अन्तर्राष्ट्रिय समुदायले रुसको दावीलाई मान्यता दिनुपर्ने शर्तहरू समावेश छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार दिएको भनाइमा भू–स्वामित्वको ‘आदानप्रदान’ समेत सम्भव हुनसक्ने संकेत दिएका छन् । यद्यपि उनले विस्तृत जानकारी दिएका छैनन्, युक्रेन र उसका साझेदारहरूले उक्त भनाइप्रति तत्काल असन्तोष जनाएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अलास्का बैठकमा आफ्नो सरकारलाई सहभागी नगराइनुले दीर्घकालीन शान्ति सम्भव नहुने चेतावनी दिएका छन् । लेन्स्कीले भने, हामीबिना गरिने कुनै पनि निर्णय, त्यो हाम्रो विरुद्धमा गरिएका निर्णय हुन्। ती निर्णयहरू मृत हुनेछन्, ती कहिल्यै लागू हुने छैनन् ।”

    अन्तर्राष्ट्रिय प्रतिक्रिया
    युरोपेली आयोग, फ्रान्स, इटाली, बेलायत, जर्मनी, पोल्याण्ड र फिनल्याण्डका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनका अन्तर्राष्ट्रिय रूपमा मान्य सीमाहरूलाई जबर्जस्ती परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् । साथै, युक्रेनको सार्वभौमिकतासम्बन्धी कुनै पनि वार्तामा युक्रेनको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताएका छन् । यसअघि सन् २०२५ जुलाई २३ मा इस्तानबुलमा सम्पन्न रुस–युक्रेन वार्ता कुनै ठोस सहमति बिना समाप्त भएको थियो, तर बन्दी विनिमयका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाइएको थियो ।

    शान्ति सम्भावनामा चुनौतीहरू
    युद्धविराम कार्यान्वयन गर्नका लागि सेनाको फिर्ता, सुरक्षा प्रत्याभूति र विवादित भूभागहरूको भविष्यबारे सहमति आवश्यक पर्नेछ — जुन विषयहरू अति जटिल र विगतदेखि नै समाधानविहीन छन् । विज्ञहरूका अनुसार, यदि कुनै सम्झौता भए पनि स्पष्ट कार्यान्वयन संयन्त्र नहुनाले त्यसले दीर्घकालीन स्थायित्व पाउन सक्दैन । यस शिखर बैठकले युक्रेन सङ्कट समाधानतर्फ सार्थक प्रगति गर्छ वा हालको जटिल अवस्थालाई अझै गहिरो बनाउँछ भन्ने कुरा दुबै नेताको संवादद्वारा तय हुनेछ । विश्वासको अभाव र कठोर अडानबीच, युद्धविराम सम्भव भए पनि सहज हुने सम्भावना न्यून देखिन्छ ।

  • नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

    नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

    एजेन्सी
    २५ साउन, काठमाडौं । नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन् । शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए । अपहरितको उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीमाथि घात लगाएर गोली प्रहार गरिएको स्थानीय सांसद हामिसु फारुले जानकारी दिए ।

    फारुका अनुसार, आक्रमणपछि आक्रमणकारीहरू नजिकैको वन क्षेत्रमा लुकेका छन्, जसका कारण मृतकको शव संकलन कार्यमा कठिनाइ भएको छ । यस्तै, कैयौँ गाउँले थप आक्रमणको त्रासमा आफ्नो घर छाडेर विस्थापित भएका छन् ।
    सांसद फारुले बताएअनुसार, उक्त वन क्षेत्रमा करिब पाँच हजारभन्दा बढी आपराधिक समूहका सदस्य लुकेर बसेका छन् र निरन्तर आसपासका बस्तीहरूमा हमला गरिरहेका छन् । “उनीहरूलाई नियन्त्रणमा ल्याउन हवाई कारबाही अत्यावश्यक देखिन्छ,” उनले बताए ।

    नाइजेरियामा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सन् २०१५ देखि सेना परिचालन गरिएको छ भने राज्य सरकारले पनि स्थानीय सुरक्षा बल गठन गरेको थियो। तर, हिंसा यथावत् रहँदै आएको छ । संघीय तथा प्रादेशिक सरकारहरूले यस्ता समूहसँग बारम्बार वार्ता तथा शान्ति सम्झौता गरेका छन्, तर ती सम्झौता लामो समय टिक्न सकेका छैनन् । पछिल्लो पटक सरकारको समर्थनमा केही धर्मगुरुहरूले एक प्रभावशाली समूहसँग वार्ता गराए पनि स्थानीयहरू त्यसमा पूर्ण विश्वास गर्न सकिरहेका छैनन् ।

  • जनकपुरमा रेल र कार ठोक्किए

    जनकपुरमा रेल र कार ठोक्किए

    २५ साउन, महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका(९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१ ०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए ।

    स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

  • महाकालीमा दुई बालिका बेपत्ता

    महाकालीमा दुई बालिका बेपत्ता

    २५ साउन, दोधारा चाँदनी कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन् ।

    “महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ”, उनले भने, खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

  • गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

    गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

    २५ साउन, रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेप्त्ता भएको प्रहरीमा जाहेरी दिएका थिए । चन्दनबारी र चोलाङपाटीको बीच भागबाट यही साउन २३ गते मगर बेपत्ता भएको जाहेरीमा उल्लेख छ । चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएको क्षेत्र हो । हराएको सूचना पाउँना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

  • जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    २५ साउन, काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले राससलाई जानकारी दिए ।

    “शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उनले भने । नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

  • ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    २५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
    नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ । उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

    सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

    २५ साउन, धरान । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् ।

    कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

  • रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

    रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

    २५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा उक्त परिमाणको मल उपलब्ध रहेको तथा आवश्यक बिक्री वितरणको व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
    खेतीपातीको समयमा रासायनिक मल सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयले आवश्यक पहल र प्रयत्न गरिरहेको मन्त्रालयले जनाएको छ । सोहीअनुसार कृषि सामग्री कम्पनीमा कुल २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । त्यसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी सात हजार ६५३ मेट्रिक टन तथा पोटास चार हजार ९१५ मेट्रिक टन मौज्दातमा छ ।

    त्यसैगरी, साल्ट टे«ड्रिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । त्यसमध्ये युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी नौ सय ४२ मेट्रिक टन, पोटास एक हजार ७८५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवका लागि ६ लाख मेट्रिक टन मलको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट व्यवस्थापन गरिएको छ । हालसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ ।

    त्यसैगरी, मार्गस्थ अवस्थामा रहेको रासायनिक मल एक लाख ४० हजार ५०४ मेट्रिक टन रहेको छ । सोमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट टे«डिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ । गत आवको ३० हजार ९८३ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास छ सय ११ मेट्रिक टन छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार किसानले सहज रूपमा रायायनिक मल पाउने गरी सरकारको तर्फबाट आवश्यक पहल भएको छ ।

  • कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    कोशी र गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

    २५ साउन, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

    एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

    २५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही रु १५ लाखमा खरिद गरिएको छ ।

    दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।


    यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही रु १० लाखमा अनुबन्ध गरेको छ । यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले रु ७ लाख ७५ हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ ।

    यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही रु ५ लाखमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजलेरु रु ३ लाखमा अनुबन्ध गरेको छ ।

    यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही रु दुई लाखमा अनुबन्ध गरेको छ ।

    एनपीएलको शनिबारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम रु १० लाख र अधिकतम रु १५ लाख, ‘बी’ श्रेणीको न्यूनतम रु ५ लाख र अधिकतम रु १० लाख तथा ‘सी’ श्रेणीको न्यूनतम रु २ लाख र अधिकतम रु ५ लाख मूल्य राखिएको थियो । योसँगै आठ टोलीमा ८८ खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब आठवटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।

    आठवटै टोलीको खेलाडी सूची

    जनकपुर बोल्ट्स स् आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री ।

    सुदूरपश्चिम रोयल्स : दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा ।

    कर्णाली याक्स : सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री ।

    चितवन राइनोज: कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार ।

    काठमाण्डु गोर्खाज : करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम ।

    विराटनगर किङ्स : सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना ।

    पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री ।

    लुम्बिनी लायन्स : रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।

    शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले रु ३९ लाख, काठमाडौँले रु ३७ लाख, लुम्बिनीले रु ३२ लाख, कर्णालीले रु २९ लाख, विराटनगरले रु २७ लाख, सुदूरपश्चिमले रु २४ लाख, जनकपुरले रु १९ लाख ७५ हजार तथा पोखराले रु ११ लाख खर्च गरेको छ ।

  • रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

    रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

    २५ साउन, काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा रु ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी रु आठ करोड ७३ लाख तथा सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको बीमा दाबी भएको छ ।

    प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स रु पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा रु ४७ लाख, सिद्धार्थ प्रिमियर रु ३१ लाख र प्रभु इन्स्योरेन्स रु २८ लाख बराबरको बीमा दाबी परेको छ । लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

  • न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

    न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा तीन जना घाइते

    एजेन्सी
    २५ साउन, काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्यूयोर्क प्रहरी विभागले जनाएको छ। विभागका प्रवक्ताले एएफपीसँग भने, “स्थानीय समयअनुसार राति १ः२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरिरको तल्लो भागमा चोट लागेको छ ।

    चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ । घाइते तीनै जनालाई न्यूयोर्क शहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । “आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,” नयुयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । संदिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकोले औपचारिक रूपमा अभियोग लगाइएको छैन ।

    दैनिक दशौं हजार पर्यटक आउने शहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औं स्ट्रिट र सेभेन्थ एभिन्यूमा गोली चलेको हो । न्युयोर्क टाइम्सले सन् २०२५ को पहिलो सात महिनामा शहरमा गोली काण्ड र गोली प्रहारका घटनामा अहिलेसम्मकै न्यून रहेको यसै महिनाको सुरुमा अधिकारीलाई उद्धृत गरी बताएको थियो । गत जुलाई ३० मा म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए । ‘गन भायलेन्स आर्काइभ’का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।

  • प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

    प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

    २४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराए । प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद ।” श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ ।

  • असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

    असारे विकासको कुरुप ‘शङ्खमूल सडक’

    २४ साउन, काठमाडौं । “झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन । अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि, सडक ।” यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो, तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ । “घर आउने यो बाटोको अर्को विकल्प छैन । दिनहुँ हिँड्नै पर्छ,त् हिँडेपछि सास्ती । अस्ती सानी नातिनी हिलोमा चिप्लिएर लडी । हामी बूढाबूढी पनि हिँड्न पनि त्यस्तै जोखिम छ”, शङ्खमूल डेरा गरेर बस्ने भट्टराई भन्छिन् ।


    कोटेश्वर, बालकुमारी करिडोर सडक भएर बानेश्वर वा बबरमहल निस्किने अधिकांश यात्रीले यहाँको दुर्दशा देखिरहेका छन् । जेठ\असार लागेपछि बाटो खन्ने र समयमै सम्पन्न नभए पनि सामान्य व्यवस्थापनसमेत नगरेको भन्दै धेरैजसो आक्रोशित छन् । दैनिक यो बाटो प्रयोग गर्नै पर्ने बाध्यतामा रहेका स्थानीय झनै आक्रोसित छन् । वडाले खानेपानीका पाइप, बिजुलीको तार, ठूला ढल राख्ने भनेर बाटो भत्काए पनि सामान्य हिलोसमेत नफाली छोड्दा व्यापार व्यवसायमा पनि समस्या परेको aछ । तरकारी व्यापारी माया तामाङ हिलोका कारण आवातजावत गर्न समस्या भएकाले मान्छेको चहलपहल कम भएको र यसले व्यापारीले घाटा बेहोर्नु परेको गुनासो गर्छिन् ।


    सडक हिलाम्मे हुँदा फोहोर उठाउन पनि त्यत्तिकै सास्ती छ । स्थानीयले फोहोर बटुलेर चोकसम्मै पुग्नु परिरहेको छ । अधिवक्ता एवं स्थानीयवासी भूपेन्द्र पोख्रेलले विकासका नाममा जनताको सामान्य हिँड्डुल गर्ने स्थितिको हेक्का नै नगरी सडक खन्नु गैरजिम्मेवारपूर्ण काम भएको बताए । सडक खन्ने पनि जनताले कसरी हिँड्डुल गर्लान् भनेर हेक्का नै नराखी काम गरेको उहाँले बताउनुभयो। “मान्छे कहाँबाट हिँड्छ त, सोच्नु पर्दैन रु विकासको नाममा भत्काएर अलपत्र छोड्ने होइन, त्यो पनि बर्खामासमा”, उनले भने, “वडाले चाँडोभन्दा चाँडो हिलोबाटोलाई व्यवस्थापन गरेर हिँड्डुल गर्न सक्ने बनाउनुपर्छ ।”

    कोटेश्वरदेखि शङ्खमूलस्थित स्कुलमा छोरा लिएर आउने शङ्कर कार्कीले हिलो सडकका कारण निकै समस्या भएको बताए । शङ्खमूल गणेशमार्ग नजिकै रहेको उक्त सडक बालकुमारी, कोटेश्वर, तीनकुने करिडोर भएर आउनेहरू आउजाउहरूले सास्ती भोगिरहेको उनको भनाइ छ । किराना पसल व्यापारी रमेश लामिछानेले असारे विकासका नाममा धमाधम सडक खनेर त्यत्तिकै छोड्दा आफूहरूको दैनिक गुजारा गर्ने व्यवसाय नै ठप्पजस्तै भएको बताए ।

    वर्षाभरि हिलोले सताउने भयो, चैत–वैशाखमा धुलोले पिरोल्ने”, उनी भन्छन्, “विकासको नाममा उल्टै नागरिकको दैनिकी नै नराम्ररी प्रभावित हुनेगरी काम गर्नु निन्दनीय छ ।” यस विषयमा स्थानीय मिलेर वडा कार्यालयमा ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको लामिछानेले गुनासो गर । “खाल्टो खन्दा सडकबाट निस्किएको हिलोलाई व्यवस्थापन गरेर अलिकति समथल बनाइदिए काम चल्थ्यो, तर यहाँ जसरी भत्काइयो, त्यस्तै छ । यो जनप्रतिनिधिको लापरबाही हो ।”

    काठमाडौँ महानगरपालिका–३१ का वडाअध्यक्ष सरोज ढकाल ढल व्यवस्थापनसँगै अन्य काम पनि एकैपटक गर्ने योजनाका कारण गत आर्थिक वर्षको अन्तिममा सबै काम नसकिएपछि समस्या भएको बताउँछन् । “५० वर्षअघि राखिएको छ इन्चको ढल प्रतिस्थापन गरी हाल ४२ इन्चको ठूलो ढल राखिएको छ । खानेपानीको पाइप र बिजुलीका तार एकैसाथ बिछ्याउने तयारी भएको हुँदा यस्तो भएको हो”, उनले भने, “पाइप, ढल राख्न सडक खन्नै प¥यो । हिलोमा ग्राभेल गर्न सकिँदैन । स्थानीयलाई गाह्रो भएको छ, तर अरू उपाय छैन । तीन–चार महिनापछि त पहिलेको भन्दा राम्रो सडक बनिहाल्छ नि ।”

  • पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

    पहिरोमा परी सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

    लमजुङ, २४ साउनः लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो । दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उनले जानकारी दिए । घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

    आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए । उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् । न्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • नदीले बगाएर एक जना बेपत्ता

    नदीले बगाएर एक जना बेपत्ता

    २४ साउन, दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उहाँकमो खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको थियो ।

  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    २३ साउन, नारायणगढ । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६ प्रतिशत)को जटिल प्रसूति गराइएको थियो ।

    अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको छ । हरेक वर्षको अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । सो सप्ताहको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, स्तनपानसम्बन्धी मिथ्या धारणा हटाउनु र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्नु हो । यस वर्ष विश्व स्तनपान सप्ताहको नारा, ‘स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ’ भन्ने छ । पहिलो छ महिनामा पूर्ण स्तनपानलाई बढावा दिन र आमाका लागि सुरक्षित सहयोगी वातावरण बनाउन जोड दिइएको छ ।

    अस्पतालमा सुत्केरी आमाहरूलाई स्तनपानका लागि परामर्श र दूध सङ्कलन सेवा उपलब्ध गराइँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताए । उनले भने, “हामी यहाँ जन्मने बच्चाहरूले आमाकै दूध खाउन् भन्ने चाहन्छौँ । केही आमाले आधुनिक जीवनशैली र भ्रमका कारण स्तनपान नगर्ने प्रवृत्ति देखिए पनि यो पूर्ण रूपमा गलत हो ।”

    अस्पतालले भविष्यमा ‘मिल्क बैंक’ विस्तार गर्ने योजना बनाएको छ । अस्पतालकी स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा काउन्सिलरको रूपमा कार्यरत सकुन्तला ढकालले स्तन गाँनिएका वा बच्चाले राम्ररी दूध नचुसेका आमाहरूको सल्लाह र उपचार गरिने बताइन् । उनका अनुसार यहाँ विशेष मेसिनको प्रयोगबाट दूध निकालिने र आवश्यकताअनुसार भण्डारण वा सिधै प्रयोग गरिने व्यवस्था छ ।

    उनले भनिन्, “कतिपय नयाँ आमाहरू दूध चुसाउन अप्ठ्यारो मान्नुहुन्छ, हामी उहाँहरूलाई यसको महत्व र बच्चा स्वस्थ हुने कुरा बुझाउँछौँ, अनि उहाँहरू सहमत हुनुहुन्छ ।” अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलका अनुसार नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि स्तनपान अत्यन्त आवश्यक छ । उनले आमाको दूधमा पाइने सम्पूर्ण पोषकतत्वहरूले कुपोषण हटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए ।

  • तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    २३ साउन, दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत ७ गतेदेखि काम सुरु भएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको ‘प्याकेज १’ अन्तर्गत व्यास नगरपालिका ५ र ऋषिङ गाउँपालिका १ स्थित सेती नदी फर्काएर बाँध निर्माणलाई अघि बढाइएको उनले बताए ।


    एक सय ४० मिटर अग्लो बाँध निर्माणअन्तर्गत अहिले बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिटका ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उच्च बाँधको ठूलो कङ्क्रिटको तापमान नियन्त्रण अत्यन्त संवेदनशील मानिने भएकाले त्यसलाई ख्यालमा राखेर काम भइरहेको उनको भनाइ छ ।

    विसं २०८० कात्तिक २० गतेदेखि जग खन्ने काम सुरु भएकामा विसं २०८१ असारमा सकिएको थियो । ऋषिङ गाउँपालिका(१ र व्यास नगरपालिका ५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर काम थालिएको भण्डारीले जानकारी दिए ।

    “डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिएको छ”, उनले भने । विसं २०७८ भदौ १४ गतेदेखि प्याकेज १ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण सुरु भएकामा हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

    भण्डारीका अनुसार ‘प्याकेज २’ अन्तर्गतको विद्युत्गृहभित्र संरचनागत कार्यहरू सम्पन्न भएर उपकरण जडान भइरहेको छ । ‘प्याकेज(२’ अन्तर्गत भूमिगत विद्युत्गृहमा ६७ र ‘प्याकेज ३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनसहित आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

    एसियाली विकास बैंक (एडीबी)ले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएको छ ।

  • घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

    घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

    २३ साउन, गण्डकी । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले विधेयकको मस्यौदा तयार पारेको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा संवैधानिक मामिला महाशाखाका सचिव रामजी दनाईले मस्यौदामाथि प्राररम्भिक छलफल सुरुआत भएको बताए । “मुख्यमन्त्रीसहित सरोकार भएका पक्षहरुबीच एक चरण छलफल भइसकेको छ, मस्यौदा थप परिमार्जन तथा संशोधन हुनसक्छ”, उनले भने, “सेवनका लागि नभई गाँजाको औद्योगिक र औषधीजन्य उत्पादनलाई मात्र वैधता दिने गरी प्रदेश सरकारले कानुन ल्याउन लागेको हो ।”

    प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, विधेयकको प्राररम्भिक मस्यौदा तयारीमा प्रदेश सरकारलाई सहयोग गरिरहेको नेपाल कानुन समाजका पदाधिकारीलगायत सम्मिलित उक्त बैठकमा गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्नेमा एकमत देखिएको थियो । सचिव दनाईले प्रस्तावित विधेयकको खाकाले पूर्णता पाइनसकेकाले ऐन निर्माणको प्रक्रियाले केही समय लिने बताए । लागूऔषध सम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी कानुन ल्याउनुपर्ने उनको भनाइ छ ।

    प्रस्तावित विधेयकमा गाँजाखेती र व्यवसायका लागि कडा प्रावधान राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले गाँजाखेती सम्बन्धी नौ प्रकारका इजाजत दिने गरी विधेयकको मस्यौदा तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको रु. पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात निर्यातका लागि रु. एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ ।

    गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्मन्त्रीमा रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ । अनुमतिबिना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेल, महल जस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली ‘गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ ।

    लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई पनि नियमन तथा व्यवस्थापन गर्न प्रदेश सरकार ऐन ल्याउने तयारीमा छ । सो सम्बन्धी विधेयक विषयतगत समितिबाट पास भई दफाबार छलफलका लागि प्रदेशसभामा पेस गरिएको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अर्थ विकास समितिमा विज्ञहरुसहित सरोकार भएका पक्षहरुबीच दफाबार छलफल भएको बताए । “प्रदेशसभा अधिवेशन सुरु हुनासाथ यस विधेयकमा दफाबार छलफल हुन्छ र विधेयक पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उनले भने ।


    प्रदेश सरकारले सोसम्बन्धी विधेयकलाई गत चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो । मन्त्री बस्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुनी प्रबन्ध गर्न लागिएको बताए । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई पूर्णता दिइने मन्त्री बस्यालले बताए । परम्परागतरुपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।

    प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आएका छन् । पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्री वितरणका लागि घरेलु मदिरा वर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन ।


    सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठुलो आर्थिक लाभ मिल्ने मन्त्री बस्यालले बताए ।


    केही समयअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई कानुनी मान्यता दिन लागेको हो ।

    विधेयकमा घरेलु मदिरा उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न मनाउने व्यवस्था गरिएको छ । धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजत पत्र लिनु नपर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री बस्यालले जानकारी दिए । उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण, अन्न तथा फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ ।

    घरेलु मदिरालाई गण्डकी प्रदेश भित्रका कृषि सहकारीलेसमेत दर्ता गर्न सक्नेछन् । यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ । प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँदा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । मदिराको व्यावसायिक उत्पादनसँगै संस्कार र संस्कृतिलाई पनि ध्यान दिन जरूरी रहेको उनको भनाइ छ ।

  • ‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

    ‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

    एजेन्सी
    २३ साउन, काठमाडौं । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तीव्र गतिमा पग्लँदै गएको ‘हिमताल फुट्दा’ भारतको एक हिमाली सहर बगाएको हुन सक्ने विज्ञहरूले बिहीबार बताएका छन् । हिमनदीमा आएको बाढीका कारण भारतको उत्तराखण्ड राज्यको धाराली बजार खण्डहरमा परिणत भएको छ । बजारका स्थानीय तथा धार्मिक पर्यटनका क्रममा त्यहाँ पुगेका व्यक्तिहरूको ठूलो समूह बेपत्ता भएको छ । भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका भिडियोहरूमा हिलोसहितको पानीको छालले पुरै भवन उखेलेर फ्याँक्दा कैयौँ मानिसलाई बाढीले पुरेको र कैयौँले भागेर ज्यान बचाउन सफल भएको देख्न सकिन्छ ।

    कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ५० जना वेपत्ता छन् । सरकारी अधिकारीहरूले विपत्तिको केही समयपछि तीब्र वर्षा (आरिघोप्टे बर्षा) को कारण बाढी आएको बताएका थिए। यद्यपि, क्षतिको आँकलन गर्ने विशेषज्ञहरूले लामो समयसम्मको वर्षाले जमिनलाई पहिले नै भिजेको र खुकुलो बनाइसकेको अवस्थामा ‘हिमताल फुुटुदा’ आएको पानीले नदी वरपरको माटो सोहोरेर ल्याएको र सहरको साघुरो भागमा खोला किनारको बस्तीतर्फ मोडिएको उनीहरूको भनाइ छ ।

    नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका हिमालय जोखिमसम्बन्धी विज्ञ पीके जोशीका अनुसार अत्यधिक खडेरीका कारण तापक्रम वृद्धि भई हिमताल पहिले नै आफ्नो स्थानबाट सरेको र पछि हिमनदीबाट पग्लेको पानीको ताल जम्मा भएको ‘मोरेन’ भनिने भग्नावशेष ढलेका कारण बाढी आएको देखिन्छ ।

    जोशीले एएफपीसँग भने, “अघिल्ला दिनहरूमा लगातारको वर्षा र अचानक पानी बग्ने क्रममा हिमताल फुटेको बाढी पुनः जम्मा भएको वा मलवेले रोकेको ताल भत्किनु बाढीको मुख्य कारण भएको आशङ्का गरिएको छ।” “यसले ‘अचानक उच्चस्थान ९हिमाली क्षेत्रमा० आएको बाढी ल्याउन भूमिका खेलेको हुनसक्छ”,उनले भने, “शहरको माथिल्लो भागमा हिमताल इलाकामा ‘अस्थिर तलछट क्षेत्रहरू’ रहेका छन्।”

    उक्त क्षेत्रमा बादलले छोपिएका कारण भग्नावशेषको सही स्रोत पत्ता लगाउन स्याटेलाइट इमेजरीमा बाधा पुर्याएको भन्दै जोशीले ‘आफ्नो भनाइको स्पष्ट पुष्टि’ का लागि पर्याप्त भू–उपग्रह तथ्याङ्क नभएको बताए । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका सल्लाहकार सफी अहसान रिजवीले पनि भग्नावशेष पहिरो ९ग्लेसियो–फ्लुभियल०का कारण दुर्घटना भएको हुनसक्ने बताए । नयाँ दिल्लीको मोबियस फाउन्डेसनका हिमनदीविद् सन्दीप तनु मण्डलले पनि ‘हिउ पग्लने र वर्षा बढेका कारण तालमा ठूलो मात्रामा पानी जमेकाले पनि हिम ताल पुटेको सम्भावना औँल्याए ।
    मण्डलका अनुसार बर्षाभारी भएपनि बाढी आउनुभन्दा केही समयअघि नै उपत्यकामा ठूलो मात्रामा परेको बर्षा विपत्का लागि ‘खासै उल्लेखनीय सम्भावना’ नहुनसक्छ । यसले बाढीको स्रोत सम्भवतः ‘भत्किएको ताल’ भएको सङ्केत गर्छ। विश्वमा जलवायु परिवर्तनका कारण झण्डै दुई अर्ब मानिसलाई महत्वपूर्ण पानी उपलब्ध गराउने हिमनदीहरू पहिलेभन्दा छिटो पग्लिरहेका छन्, जसले गर्दा समुदायहरू अप्रत्याशित र महँगा विपत्तिहरूको चपेटामा पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

    तलछट (पर्माफ्रस्ट) को नरमपनले पहिरोको सम्भावना बढाउँछ। जोशीका अनुसार पछिल्लो विपत्तिले हिमालयका जोखिमको जटिल र अन्तरसम्बन्धित प्रकृतिलाई उजागर गरेको छ । जोशीले भने, “बाढीको क्षेत्रमा भू–उपयोगको शैली’ले विपत्तिको गम्भीरतालाई झनै बढाएको छ ।

  • तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

    तत्काल राजीनामा दिन इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

    एजेन्सी
    २३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । “इन्टेलका प्रमुख कार्यकारी अधिकृत निकै विवादमा हुनुहुन्छ र उहाँले तत्काल राजीनामा दिनुपर्छ,” सिनेटर टम कटनले इन्टेललाई पत्र लेखेर कार्यकारी प्रमुख लिप–बु टान र चिनियाँ कम्पनीबीचको सम्बन्धबारे प्रश्न उठाएको बताएको एक दिनपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।

    “टानको दर्जनौँ चिनियाँ कम्पनीहरूलाई नियन्त्रण गरेको र सयौँ चिनियाँ उन्नत–उत्पादन र चिप फर्महरूमा हिस्सेदारी रहेको बताइएको छ। तीमध्ये कम्तीमा आठ वटा कम्पनीको चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध रहेको बताइएको छ,” सिनेटर कटनले पत्रमा लेखेका छन् । कटनले ‘क्याडेन्स डिजाइन सिस्टम्स’को अघिल्लो प्रमुखको रूपमा टानको भूमिकालाई पनि उल्लेख गरेका थिए । उनले हालै ‘चिनियाँ सैन्य विश्वविद्यालयलाई अवैध रूपमा आफ्ना उत्पादनहरू बेचेको र लाइसेन्स प्राप्त नगरी सम्बन्धित चिनियाँ सेमीकन्डक्टर कम्पनीलाई यसको प्रविधि हस्तान्तरण गरेकोमा टान दोषी रहेको बताए ।


    “त्यतिबेला टान कम्पनीका प्रमुख थिए,’ कटनले भने । ह्वाइट हाउसको शुल्क र निर्यात प्रतिबन्धले बजारलाई अस्तव्यस्त बनाएपछि मलेसियामा जन्मेका प्रविधि उद्योगका अनुभवी टानले मार्चमा इन्टेलको नेतृत्व सम्हालेका थिए । उनले कम्पनीले सामना गर्नुपरेका चुनौतीहरूको सामना गर्न ‘सजिलो हुनेछैन’ भनेका छन् ।

    इन्टेल सिलिकन भ्यालीको सबैभन्दा प्रतिष्ठित कम्पनीहरूमध्ये एक हो, तर यसको भाग्य एसियाली विशाल प्रविधि कम्पनी टीएसएमसी र सामसुङले सीमित छ। यसले ‘मेड–टू–अर्डर’ सेमीकन्डक्टर व्यवसायमा प्रभुत्व जमाएको छ। विश्वको प्रमुख एआई चिप प्रदायकको रूपमा एनभिडियाको उदयसँगै इन्टेल पनि आश्चर्यचकित भएको थियो। इन्टेलको स्थान परम्परागत कम्प्यूटिङ प्रक्रियाहरूमा प्रयोग हुने चिप्समा रहेको छ र एआईमा छाएको विकासद्वारा लगातार छाँयामा परिरहेको छ ।

  • समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

    समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थको निर्देशन

    २३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।
    अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा रु एक खर्ब २८ अर्ब गैरकर सङ्कलन भएको थियो, जुन कूल राजस्वको १०.९ प्रतिशत हो । बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

  • नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

    नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

    २२ साउन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव १६ मा पुगेको छ । कूल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर रु आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मूल्यमा खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायवल समृद्धि योजना र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, उन्न्ती सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिवेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

    कारोबार भएका कूल ३१८ कम्पनीमध्ये १८७ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, ६२ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अन्यको भने स्थिर छ । कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन् । आजको कारोबारपछि कूल बजार पूँजीकरण रु ४७ खर्ब ५७ अर्ब ७६ करोड बराबर पुगेको छ ।

  • विपक्षी दलले भने : राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ स्वीकार्य छैन

    विपक्षी दलले भने : राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ स्वीकार्य छैन

    राष्ट्रिय समाचार समिति
    २२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका विपक्षी दलहरुले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बहुदलीय लोकतन्त्रको बर्खिलाप गर्ने उद्देश्यबाट प्रेरित रहेको जनाउँदै उक्त कार्यविधि स्वीकार्य नभएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको सो कार्यविधि सम्बन्धमा साझा धारणा व्यक्त गर्दै उनीहरुले राजनीतिक दलको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको स्पष्ट पारेका हुन् ।

    “सङ्घीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर आयोगले सङ्घीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको हुँदा यसप्रति स्पष्ट असहमति तथा विरोध छ । हामी राजनीतिक दललाई यो कार्यविधि कुनै हालतमा स्वीकार्य छैन”, विभिन्न १० विपक्षी दलद्वारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कार्यविधिको मस्यौदामा आयोगको प्रशासनिक नेतृत्वले ‘राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने’ प्रस्तावले दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने विज्ञप्तिमा जनाइएको छ ।

    “मस्यौदाले प्रत्यायोजित विधायनको आधारभूत सिद्धान्तविपरीत, दलको अधिकार नियन्त्रित शैलीमा कटौती गरेर, सङ्घीय संसद्को अधिकार आफैँ प्रयोग गर्ने विधिशास्त्रीय सिद्धान्त प्रतिकूल प्रयास गरेको भएकाले प्रारम्भिक दृष्टिमै गलत मनसायसहित आएको हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ, “कार्यविधिले शक्ति पृथकीकरण, जनताको सार्वभौमिकता र राजनीतिक दलको आन्तरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।”

    राजनीतिक दलको मूल्याङ्कन र अनुगमन जनताले निर्वाचनमार्फत गर्ने जनाउँदै विपक्षी दलहरुले संवैधानिक निकायले प्रशासनिक आदेशमार्फत दलको मूल्याङ्कन गर्न नमिल्ने टिप्पणी गरेका छन् । आयोगले उपलब्ध गराएको कार्यविधिको मस्यौदाले दलहरूको संवैधानिक अस्तित्व र स्वतन्त्रतालाइ कुण्ठित गर्ने प्रयास गरेको उनीहरुको भनाइ छ । विपक्षी दलहरुले कार्यविधिको मस्यौदालाई अघि बढाउने कार्य तुरुन्त रोकी संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न आयोगको ध्यानाकर्षण गराएका छन् ।

    विज्ञप्तिमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीका अध्यक्ष तथा पदाधिकारीको हस्ताक्षर छ ।

  • शिक्षा विधेयकः उपसमितिको प्रतिवेदनमाथि छलफल सकियो

    शिक्षा विधेयकः उपसमितिको प्रतिवेदनमाथि छलफल सकियो

    राष्ट्रिय समाचार समिति
    २२ साउन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथिको छलफल सकिएको छ । सिंहदरवारमा आज बसेको बैठकमा विधेयकका सम्बन्धमा समिति परामर्श तथा समन्वय उपसमितिको प्रतिवेदनमाथिको छलफल सकिएको हो । विधेयकमाथिको छलफल सकिएसँगै विधेयकसम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको समितिका सभापति अमरबहादुर थापाले जानकारी दिए । बैठकमा नेपाल शिक्षक महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने र निज प्रधानाध्यापक रहँदासम्म महासङ्घको कुनै पनि गतिविधिमा संलग्न हुन नपाइने प्रस्ताव गरिएको छ ।

    यस्तै विधेयकमा विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ राख्ने सहमति भएको छ । शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन औषत ८० प्रतिशत राख्ने सहमति भएको छ । बैठकमा समितिका सदस्य रेखा शर्माले बालविकासका शिक्षकलाई कुनै न कुनै रुपमा प्रतिस्पर्धा गरेर स्थायी नियुक्तको बाटो खोल्नुपर्ने बताउनुभयो । समितिका सदस्य विद्या भट्टराईले शिक्षक नेतालाई कर्तव्यनिष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य कालुराम राईले विधेयकलाई जतिछिटो पारित गरेर अगाडि बढ्नुपर्ने बताए ।
    समितिका सदस्य दीपा शर्माले अभिभावक नभएका बालबालिकाको अभिभावक राज्य हुनुपर्ने कुरा विधेयकमा राख्नुपर्ने बताए । समितिका सदस्य सुमना श्रेष्ठले महासङ्घका पदाधिकारीलाई शिक्षण पेशामा लगाउनुपर्ने बताइन् । समितिका सदस्यहरु छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, विनिताकुमार सिंह, श्याम घिमिरे, डिगबहादुर लिम्बू, चन्द्र भण्डारी, ज्ञानु बस्नेत सुवेदीलगायतले विधेयकलाई चाँडै ल्याउनुपर्ने बताए ।
    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले धेरै मेहेनत परामर्श समितिले विधेयकका दफामा संशोधन गरेर ल्याएको हुनाले समितिका सदस्यहरुलाई आवश्यक सुझाव दिन आग्रह गरे । मन्त्री पन्तले शिक्षक बढुवा व्यवस्था शिक्षक महासङ्घसँग छलफल गरेर ल्याइएको जानकारी दिए । बैठकले शिक्षक बढुवामा कार्यक्षमता मूल्याङ्कन, ज्येष्ठता र आन्तरिक प्रतियोगिता राख्ने प्रस्ताव पारित गरेको छ । बैठकमा माध्यमिक तह ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

  • नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

    नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

    राष्ट्रिय समाचार समिति
    २२ साउन, काठमाडौं । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमा एक सम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए)बीच आज नयाँ दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको आईआरजीडीडीले जनाएको छ ।

    सम्झौताअनुसार दुई संस्थाबीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवर्द्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गरिने बताइएको छ । यसले अर्थपूर्ण संवाद र साझेदारीलाई सहज बनाउन कूटनीति, सामाजिक विज्ञान, सञ्चार र अन्तरराष्ट्रिय सम्बन्धलगायतका विभिन्न क्षेत्रमा दुवै देशका महत्वपूर्ण व्यक्तित्वहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ ।

  • भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

    भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

    राष्ट्रिय समाचार समिति
    २२ साउन, काँक्रेविहार । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिए । उनले भने, “बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।”

    बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरे । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताए । “जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम सङ्कलन गर्न निर्देशन दिएको छु । गृहमन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु”, उनले भने ।