Category: समाचार

  • मनसुनमा जुर्मुराएको प्रकृति, देशैभरीका प्रतिनिधि तस्वीर कथा

    मनसुनमा जुर्मुराएको प्रकृति, देशैभरीका प्रतिनिधि तस्वीर कथा

    यतिबेला नेपालमा मनसुन जारी छ । मनसुनमा प्रकृति प्रफुल्ल हुन्छ । रुख विरुवा मैमत्त हुन्छन् र सारा संसारमा आफ्नो वैभव देखाउँछन् । यस्तै स्वरुप झल्कने गरी देशभरीबाट प्राप्त केही प्रतिनिधि तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

    केन्जो फूलसँगै लाम पोखरी फुङ्लिङ, २० साउनः समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लाम पोखरी । यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लाम पोखरी रहेको छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिरः दिलकुमार लिम्बू÷रासस
    ढोरपाटन (बागलुङ), २० साउनः ढोरपाटन उपत्यका र पोखरा लेक ढुङ्गे देउरालीबाट देखिएको ढोरपाटन उपत्यका र पोखरा लेक । नेपालको एक मात्र सिकार आरक्षमा पर्ने यो क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः डम्मर बुढामगर÷रासस
    मुस्ताङ, (जोमसोम) २० साउनः स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित स्याउ बारीमा मार्फा गाउँ र आसपासमा क्षेत्र। पछिल्ला केही वर्षयता मुस्ताङमा सडक सञ्जालको पहुँच पुगेसँगै मार्फामा पनि आधुनिक घरहरु बन्ने क्रम जारी छ । पर्यटकको सेवालाई दृष्टिगत गर्दै गाउँ छेउछाउमा सुविधासम्पन्न आधुनिक घरहरु बनेको हो । तस्बिरः सुशीलबाबू थकाली÷रासस
    हरियाली धानखेत सुनसरी, २० साउनः सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको हरियाली धानखेत फाँट। जिल्लामा हालसम्म ९५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिरः नवीन गड्तौला÷रासस
    फिक्कल (इलाम), २० साउन घोडाबाट दूध ढुवानी गर्दै कृषक दूध बिक्रीका लागि घोडालाई बोकाएर डेरीसम्म लैजाँदै इलाम सूर्योदय नगरपालिका–३ जिलगाउँका कृषक। यस क्षेत्रका कृषकहरुले विगत लामो समयदेखि दूध बोकाउन घोडा प्रयोग गर्दै आएका छन् । तस्बिरः रामकुमार लिम्बू÷रासस
  • ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    २० साउन, गाईघाट । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई–७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ ।

  • बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

    काठमाडौँ, २० साउनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा सहजीकरणको काम गर्ने निर्णय भएको हो ।

    त्यस्तो वातावरण निर्माणका लागि पहल गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा यही साउन २१ गतदेखि विभिन्न तीन वटा टोली परिचालन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    सङ्घीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारका रूपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको हुन्छ । नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ ।

    सो अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य रकम आफ्नो बजेटमा व्यवस्था गरेर सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभासमक्ष पेस गर्नुपर्ने र सो बजेट असार मसान्तभित्र पारित गरी सक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

    स्थानीय तहमा सुशासनको प्रवर्द्धन र सेवा प्रवाहको सुनिश्चितता गर्न उपर्युक्त अनुुसारका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम समयमै बजेट पारित गरी कार्यान्वयन गर्नु अनिवार्य भए पनि केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन । सरकार कार्यविभाजन नियमावली, २०७४ अनुसार सङ्घ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वयको जिम्मेवारी यस मन्त्रालयमा रहेको छ । सो जिम्मेवारीअनुरुप सभाबाट समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरुका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्ने विषयलाई यस मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।

  • कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

    कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

    २० साउन, काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

    त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ ।

    प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।

  • सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

    सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

    २० साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।

    सोमबार राति १० बजेको मापनअनुसार एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ वटा मूल र चार वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । विसं २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २० साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

  • ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

    ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

    २० साउन, म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए । “गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौँ”, उनले भने, “बाँकी एक रोपनी जमिनमा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।”

    विद्यार्थीलाई तरकारीखेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफँै उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारीखेती थालिएको प्रअ सुवेदीले बताए । तरकारीखेतीका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु एक लाख ५० हजारबाट मल, बीउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ ।

    गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना आवासीय मावि र धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । हेम नमूना आवासीय माविको झिनडाँडास्थित छात्रावासमा बस्ने ५० विद्यार्थीले छ रोपनी पाखोको झाडी फाडेर तरकारीखेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए ।

  • पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    २० साउन, ढोरपाटन । काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो सडकमा आवतजावत अवरुद्ध हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिराले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।

    उनले भने, “सडक खुलाउने प्रयास भइरहेको छ । राति पहिराले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन, अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।”

  • पाकिस्तानमा बाढीका कारण, १४० बालबालिका सहित २९९ जनाको मृत्यु

    पाकिस्तानमा बाढीका कारण, १४० बालबालिका सहित २९९ जनाको मृत्यु

    एजेन्सी
    २० साउन, कराँची । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै ७०० भन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडिएमएले जुन २६ मा सुरु भएको बर्षाले देशभरि विनाश निम्त्याएको जनाएको छ । मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका रहेको तथा घाइतेहरुमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष भएको पुष्टि गरेको छ ।

    पाकिस्तानी पत्रिका डनका अनुसार मौसमी बर्षाले एक हजार ६७६ घरहरू पनि क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४२८ वटा गाईवस्तुको मृत्यु भएको छ भने प्रभावित समुदायका लागि थप कठिनाइ निम्त्याएको छ । एनडिएमएले २२३ वटा उद्धार अभियान सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रबाट दुई हजार ८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ । राहतमार्फत आवश्यक सामाग्रीहरू वितरण गरिएको जनाइएको छ ।

    यसबाहेक, अधिकारीहरूले लाइफ ज्याकेट, जनस्वास्थ्य किट, पाल र पानी तान्ने पम्पहरू आपूर्ति गरेका छन् । ७१ वटा शिविर स्थापना गरी चिकित्सा सहायतासमेत प्रदान गरिएको जनाएको छ । एनडिएमएले धेरै क्षेत्रहरू प्रभावित रहेको उल्लेख गरेको छ भने प्रान्तीय र सङ्घीय निकायहरूसँगै संयुक्त अभियानहरू सञ्चालन भइरहेको डनले जनाएको छ ।

    पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अगस्ट ४ देखि अगस्ट ७ सम्म उत्तरी क्षेत्रहरूमा भारी वर्षा र चट्याङ्को पूर्वानुमान गरेको छ । यस अवधिमा खैबर पख्तुनख्वा, पञ्जाब र इस्लामाबादमा वर्षा हुने सम्भावना छ भने गिलगिट–बाल्टिस्तानमा अगस्ट ५ देखि वर्षा हुने अनुमान गरिएको छ । बलुचिस्तानले अगस्ट ६ मा उत्तरपूर्वी र दक्षिणी भागहरूमा वर्षाको पूर्वानुमान गरेको छ भने तटीय क्षेत्रहरूमा हल्का वर्षाको साथ सिन्धमा पनि आद्र्रता बढ्ने अपेक्षा गरिएको छ ।

    पन्जाबमा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अलि काठियाले आइतबार अगस्ट ५देखि सुरु हुने अनुमान गरिएको मनसुन वर्षाको छैटौँ चरणको चेतावनी दिनुभएको छ । वर्षाले चेनाब र झेलम नदीमा बाढी आउदा जोखिम बढ्ने उहाँले बताउनुभएको छ । लाहोर, मुरी, अटक, झेलम, गुजरानवाला, फैसलाबाद र डेरा गाजी खानलगायत दर्जनौँ जिल्लाहरू प्रभावित हुने सम्भावना जनाउदै अगस्टमा जुलाईको तुलनामा वर्षा बढी हुने पिडिएमएले चेतावनी दिएको छ । डनले मुर्री र गल्लियात दुवै लोकप्रिय पर्यटन क्षेत्रमा कमजोर भवन र माटोका घरहरूमा संरचनात्मक क्षति हुन सक्ने बताएको छ ।

  • भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

    भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

    २० साउन, काठमाडौं । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको बापाट्ला जिल्लामा खानीमा काम गर्ने क्रममा भएको दुर्घटनामा छ कामदारको ज्यान गएको पुष्टि गरिएको छ । घटनामा १० जना कामदार घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार, दुर्घटना शुक्रबार साँझ भएको हो । खानीमा ढुंगा निकाल्ने कार्य भइरहेका बेला एक ठूलो चट्टान खस्दा केही कामदारहरू मलबामुनि पुरिएको जनाइएको छ । घटनाका बेला करीब १६ जना कामदार खानी क्षेत्रमा कार्यरत थिए ।

    उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालित भई जीवित व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा सक्रिय भएको थियो । घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांश कामदारहरू ओडिशा राज्यका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । यो दुःखद घटनाप्रति सम्बन्धित निकाय र सरोकारवालाहरूबाट प्रभावकारी सुरक्षा उपायको माग उठ्न थालेको छ । घटनामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रका सम्पदाको अवलोकन

    १९ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । आज प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएका उहाँले हनुमानढोका दरबार सङ्ग्र्रहालयको पनि अवलोकन गरेका हुन् ।

    राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरे ।

    सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मूलचोक, त्रिशूलचोकलगायतका स्थानको अवलोकन गरे । सो क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वज्राचार्य काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।

  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा

    तुर्कमेनिस्तान, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान आइपुपुगेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे दुबई अन्तरराष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको अवाजा सहर आइपुगेका हुन् ।

    उनलाई तुर्कमेनवासी अन्तरराष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आएका हुन् ।

  • माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

    माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

    १९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिकाअन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णय गरेको उनले बताए ।


    बैठकले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । साथै, निजी स्वार्थमा आधारित, पार्टी हितविपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहको अन्त्य गर्ने सामूहिक सङ्कल्प व्यक्त गरिएको प्रवक्ता सापकोटाले बताए । “प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ । त्यस कार्यभार पूरा गर्न पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाउन साङ्गठनिक एकता कायम गर्ने निर्णय गरिएको छ”, उनले भने ।


    नेकपा (विप्लव) लगायत क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षासमेत गरिएको छ । बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा समसामयिक राजनीतक प्रस्ताव गर्दै खबरदारी गरेको छ । यही साउन १६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।

  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    १९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।

    यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।

  • भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    १९ साउन, खलङ्गा । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

    दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा २० गते बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ । उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले आग्रह गरेका छन् ।

  • न्युयोर्कको नुवाकोटेको संस्था फोन्नाको अध्यक्षमा भुवनमान डंगोल

    न्युयोर्कको नुवाकोटेको संस्था फोन्नाको अध्यक्षमा भुवनमान डंगोल

    न्युयोर्क

    अमेरिकाको न्युयोर्क सहरमा भएका नुवाकोट मुलबासीहरुको संस्था ‘फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका’ फोन्नाको अध्यक्षमा भुवनमान डंगोल सर्वसम्मत चयन भएको छ ।

    अगष्ट ३ तारिखमा क्विन्स ब्रिज पार्कस्थित अधिवेशन आयोजना स्थलमा सम्पन्न भएको FONNA को दोश्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध भएको हो । नव निर्वाचित अध्यक्ष भुवनमान डंगोल लगायत कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई संस्थाको संरक्षक विज्ञान खनालले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    नव निर्वाचित कार्यसमिति

    अध्यक्ष: भुवन मान डंगोल
    उपाध्यक्ष: लीला अर्याल
    सचिव: अर्जुन बगाले
    कोषाध्यक्ष: रसिला पाण्डे
    सदस्यहरू:
    १, दिपक पण्डित
    २, रामेश्वर खनाल
    ३, देवेन्द्र लामा
    ४, इन्द्र प्याकुरेल
    ५, भवानी पाण्डे
    ६, राज लामिछाने
    ७, कुमार तिमिल्सेना
    स्थाई प्रवक्ता:
    योगेश आदी

    संस्थाका निवर्तमान अध्यक्ष बिष्णु राना मगरले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नु हुने र भेलामा उपस्थित हुनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
    पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाले पूर्व अध्यक्ष बिष्णु राना मगरलाई उपस्थित सम्पूर्णले सम्मान गरे ।

    संस्थाले आगामी दिनमा थप कर्यक्रमहरु र नुवाकोटको चासो र सरोकारमा कार्य गर्न जिल्ला कार्यदल समेत संचालन गर्ने प्रतिबद्दता नवनिर्वाचित अध्यक्षले जानकारी गराए । कार्यक्रममा जिल्लावासीहरुले बार्बेक्यु र नाचगान गरेर समयलाई माधुर्य बनाएका थिए ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    १९ साउन, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।

    त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् । युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

    १९ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए ।

    अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताए ।

    मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।

    नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

    मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

  • बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

    १९ साउन, गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

    लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिएका छन् ।

    उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

  • दुबई पुगे प्रधानमन्त्री

    दुबई पुगे प्रधानमन्त्री

    १९ साउन, दुबई । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः५५ बजे फ्लाइट दुुबइको उडानबाट दुुबई आएका हुन् । साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट० अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।

  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

    १९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गरे ।
    सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ ।

    सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ ।

    ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ ।

    सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पु¥याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ ।

    यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी छन् । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

  • निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    १८ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । “निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भन, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”

    सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए । “प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उनले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।”

    प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोड दिए । त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राखेका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।

  • पृथ्वी राजमार्गको ऐनापहरामा बस दुर्घटना

    पृथ्वी राजमार्गको ऐनापहरामा बस दुर्घटना

    १८ साउन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताए । मस्र्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

    सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

    १८ धनुषाधाम । तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका रूपमा हेरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सुस्त छ । राष्ट्रिय गौरवको यो आयोजना निर्माण सम्झौताको सात वर्ष बित्दासमेत हालसम्म करिब ३७ प्रतिशत मात्र काम भएको छ ।

    बागमती प्रदेशअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–८ ढुङ्गे्रबाँस (खुर्कोट)स्थित सुनकोशी नदीबाट सुरु भएको उक्त डाइभर्सन आयोजनामा हालसम्म ३६ दशमलव ८३ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ । नेपाल सरकार र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार २०७६-०७७ देखि २०८५-०८६ अर्थात् १० वर्षमा आयोजनाको काम सम्पन्न हुनुपर्नेछ, तर आयोजनाअन्तर्गत दोस्रो चरणको काम ढिलो भएपछि समयमै पूरा हुनेमा शङ्का व्यक्त गरिएको छ ।

    हाल १३ दशमलव ३१६ किलोमिटर सुरुङमार्गको निर्माण सम्पन्न भए पनि अन्य भौतिक पूर्वाधार र विद्युत् उत्पादनकार्यमा अपेक्षित प्रगति भएको छैन ।
    शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवलगायतको टोलीले आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो । टोलीले ढुङ्ग्रेबास (खुरकोट)देखि सुरुङको अन्तिम बिन्दु कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरीन खोलासम्म पुगेर आयोजना कार्यान्वयन अवस्थाबारे जानकारी लिएको थियो ।

    अवलोकनका क्रममा आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतमले आयोजना दोश्रो चरणको ठेक्का सम्झौताअनुसार २०७९ माघ ११ गतेदेखि पटेल–रमण जेभी प्रालिले काम थालेको र हालसम्म १० दशमलव १३ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार र निर्माण कम्पनीबीचको सम्झौताअनुसार दोस्रो चरणअन्तर्गतको काम २०८४ असार २५ भित्र सम्पन्न हुनुपर्नेछ । पहिलो चरणको ठेक्काको काम चिनियाँ कम्पनी चाइना ओभरसीज इन्जिनियरिङ ग्रुपले सम्पन्न गरिसकेको त्यस अवसरमा जानकारी दिइयो ।

    मुख्यमन्त्री सिंहले मधेसमा पानीको चरम अभाव भोगिरहेका बेला समस्या समाधानका लागि महत्त्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुनु दुःखद भएको बताउनुभयो । उहाँले आयोजनालाई समयमा सम्पन्न गराउन प्रदेश सरकारका तर्फबाट नेपाल सरकारलाई औपचारिक रूपमै प्रतिवेदन तयार गरी जानकारी गराइने बताउनुभयो ।

    भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको भन्दै समयमै ठेक्का सम्झौता पालना नहुने अवस्था रहे सम्झौता रद्द गर्नुपर्ने बताउनुभयो ।

    यो आयोजना रु ४९ अर्ब ४२ करोड ३१ लाख लागतमा निर्माण भइरहेको छ । मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको एक लाख २२ हजार हेक्टर अर्थात एक लाख ८३ हजार बिघा जमिनमा वर्षभर सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको सिनियर डिभिजनल इन्जिनियर गौतमले बताउनुभयो । साथै आयोजनाबाट ३१ दशमलव ०७ मेगावाट जलविद्युत् उत्पादन हुने उहाँले बताउनुभयो ।

    आयोजना सम्पन्न भएपछि कृषिबाट अनुमानित वार्षिक रु १० अर्ब ३० करोड र बिजुली उत्पादनबाट रु एक अर्ब ५५ करोड राजश्व सङ्कलन हुने अपेक्षा छ । आयोजना निर्माणमा हालसम्म रु १९ अर्ब ३३ करोड ५१ लाख बजेटमध्ये १६ अर्ब ५० करोड २७ लाख खर्च भइसकेको छ ।

    प्रारम्भिक चरणमा केही प्रगति देखिए पनि दोस्रो ठेक्का सम्झौताअनुसारको कार्य अत्यन्त सुस्त देखिएकाले गति बढाउन समन्वय भइरहेको सिनियर डिभिजनल इन्जिनियर गौतमको भनाइ छ ।

  • अझै केही दिन मनसुन सक्रिय रहने

    अझै केही दिन मनसुन सक्रिय रहने

    १८ साउन, काठमाडौं । लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ । महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, “यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।”

    आज मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ । देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उहाँले काठमाडौँमा पनि आज खण्डिन वर्षा भएको बताउनुभयो । चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।

    मौसमविद् महर्जनले आज दिउँसो विभिन्न प्रदेशका केही क्षेत्रमा भारी नै पानी परेको र अहिले पनि कोशी र मधेस प्रदेशमा वर्षा जारी नै रहेको छ । उहाँका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको अनारमनी विर्ता स्टेसनमा १५१।६ मिलिमिटर पानी परेको छ । यस्तै, दमकमा १२१ र चन्द्रगढीमा १२७ मिलिमिटर वर्षा भएको छ । उदयपुरको गाईघाटमा १३४.३ मिलिमिटर वर्षा भएको छभने बाँकेमा पनि १०७ मिलिमिटर वर्षा भएको छ । १६ भन्दा बढी स्टेशनमा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

    मधेस प्रदेशमा पनि यसपालि राम्रो वर्षा भएको छ । मधेसमा सप्तरीको बरमजियामा ९३।६ मिलिमिटर वर्षा भएको छ । यस्तै, सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरी गौशालामा ५७.८, लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ । रौतहट गौर ६५.८ मिलिमिटर, बारामा ४३ मिलिमिटर वर्षा भएको छ । पर्सा र सर्लाहीमा भने मध्याम वर्षा भएको छ । देशका धेरै मापन केन्द्रहरुमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

    योसँगै बाग्लुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, सङ्खुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही मापन केन्द्र आसपास पनि भारी वर्षा भएको विभागले जानकारी दिएको छ । हल्कादेखि मध्यम वर्षा भने देशका अधिकांश क्षेत्रमा भएको छ । विभागले आगामी २४ घण्टामा देशभर बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरेको छ । आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन सक्रिय रहने जनाइएको छ । विभागले यो समयमा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै काम गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

  • पत्नीको हत्या गर्ने पति पक्राउ

    पत्नीको हत्या गर्ने पति पक्राउ

    १८ साउन, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घरासयी विवाद हुँदा उनले २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

    मादकपदार्थ सेवन गरेका जितेन्द्रले पत्नीलाई शनिबार राति मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए ।

  • सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

    १८ साउन, इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आज बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।
    साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका उले बताए ।

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

  • दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

    दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

    १८ साउन, काठमाडौं । दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार म्पुमालांगा प्रान्तको बार्बरटन गाउँ नजिकैको खानी क्षेत्रमा एक सातासम्म चलेको अपरेशनमा यी मजदुरहरू पक्राउ परेका हुन् । खानी क्षेत्र वर्षौंदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भने, अझै पनि केही अवैध खानी मजदुरहरू भित्र लुकेका छन्। सतहमा निस्कनासाथ नियन्त्रणमा लिइनेछ ।”

    खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताए । तर पछि भित्रै अवैध रूपमा खानी सञ्चालन हुँदै आएको थाहा भएपछि प्रहरी र सुरक्षा निकायले संयुक्त रूपमा कारबाही सुरु गरेका हुन् । कम्पनीले भनेको छ, “खानीभित्र अवैध रूपमा खाद्य र अन्य सामग्री पु¥याइँदै आएको थियो । यसलाई रोक्न यो अपरेशन आवश्यक थियो ।”

    प्रहरीले अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ र गत वर्ष जोहान्सबर्ग नजिकैको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० जना अवैध खानी मजदुरको ज्यान गएको थियो । यसपटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो, जसले गर्दा भित्र रहेका मजदुरहरू बाहिर आउन बाध्य भएका थिए ।

  • बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने

    बङ्गलादेशले प्रजातान्त्रिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने

    १८ साउन, काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले विगतको निरंकुश शासन सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको उपलक्ष्यमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने शनिबार जनाएको छ । करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहले राजनीतिक परिवर्तन ल्याएको हो ।

    सन् २०२४ अगष्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य गरेपछि नयाँ सरकार गठन भएको हो । नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा नेतृत्व गरिरहेका छन । युनुसले यसअघि प्रजातान्त्रिक संस्थाहरूको सुधारका लागि ‘ठूलो प्याकेज’ सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।


    सन् २०२६ को सुरुमा हुन लागेको चुनावअघि राजनीतिक दलहरूबीच सत्ताका लागि होडबाजी चल्दा सहमतिको प्रयासमा सुस्तता छाएको छ । युनुसको सरकारले राजनीतिक शक्ति सङ्घर्षले प्राप्त उपलब्धिलाई खतरामा पार्ने चेतावनी दिएको छ । जुलाई २९ मा युनुसले आफू समावेशी, सहभागितामूलक र विश्वसनीय निर्वाचन प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीका लागि व्यापक राष्ट्रिय सहमति निर्माण गर्न लागि परेको बताएका थिए । युनुसको कार्यालयले शनिबार भनेको छ, “जनविद्रोहमा संलग्न सबै राजनीतिक दलहरूको उपस्थितिमा जुलाईको घोषणा अनुसार राष्ट्रसमक्ष कार्यक्रम प्रस्तुत गरिनेछ।”

    हसिनाको शासनकालमा उहाँका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या गर्ने लगायतका व्यापक मानव अधिकार उल्लङ्घन भएका थिए। उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गरेको, एकतर्फी निर्वाचन गराएको र आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पारेको आरोप पनि लागेको थियो ।

    आन्दोलनको चरम उत्कर्षपछि ७७ वर्षीया हसिना भागेर भारत पुगेकी थिइन् । उनलाई उनको शासनकालमा भएका भनिएका मानवताविरुद्धको अपराधको अभियोगमा चलिरहेका मुद्दाको सुनुवाइमाका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ तर उनले ती मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै आदेशको अवहेलना गरेकी छिन् ।


    सन् २०२४ जुलाई १ मा विश्वविद्यालयका विद्यार्थीहरूले सार्वजनिक क्षेत्रको जागिरका लागि कोटा प्रणालीमा सुधारको माग गर्दै सुरू गरेको विरोध प्रदर्शनले अन्ततः उहाँको शासनमाथि नै धावा बोलेको थियो । सन् २०२४ को अगष्ट ५ मा हजारौं प्रदर्शनकारीले हसिनाको दरबारमा प्रवेश गरेपछि उनी परिवारका सदस्य तथा निकट सहयोगीसहित हेलिकप्टरमार्फत् भारतमा शरण लिन पुगेकी थिइन् ।

  • उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ तिव्र

    उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ तिव्र

    १७ साउन, काठमाडौँ । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले रासससँग भने ।


    उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनले बताए ।

    अधिकारीले भने, “१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ ।” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ ।