Category: समाचार

  • अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    एजेन्सी
    २८ जेठ, काठमाडौं । अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ । गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।

    अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् । अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो । घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

  • कोलम्बियाको सात स्थानमा बम विस्फोट, एक जनाको मृत्यु

    कोलम्बियाको सात स्थानमा बम विस्फोट, एक जनाको मृत्यु

    २८ जेठ, काठमाडौं । कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू प्रयोग गरिएको थियो। विस्फोटका कारण भवनहरू भत्किएका, पसलहरू ध्वस्त भएका र छरपस्ट भएको विवरण प्राप्त भएको छ।

    कोरिन्टो नगरमा, समाचार संस्था एएफपीका एक पत्रकारले नगरपालिका भवन नजिकै विस्फोट भएको सवारी साधनको जलेको र बिग्रिएको अवस्था देखेका थिए। सो भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। हालसम्म उक्त विस्फोट कसले गराएको भन्ने बारेमा यकिन विवरण सार्वजनिक नभए पनि यस क्षेत्रमा पहिलेका विद्रोही समूहका अलग समूहहरू सक्रिय रहेका कारण उनीहरूकै संलग्नता हुन सक्ने आशंका गरिएको छ। केही दिनअघि राजधानी बोगोटामा एक राष्ट्रपतिको उम्मेदवारमाथि भएको ज्यान लिने प्रयासपछि देशभरि नै असुरक्षा र चिन्ता फैलिएको अवस्थामा यी विस्फोटहरू भएका हुन्।

  • नेपालमा महंगी दर नियन्त्रणमा, १० महिनामा २.७७ प्रतिशत मात्र

    नेपालमा महंगी दर नियन्त्रणमा, १० महिनामा २.७७ प्रतिशत मात्र

    २७ जेठ, काठमाडौं । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । राष्ट्र बैङ्कका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ । त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४.०१ प्रतिशत रहेको छ ।

  • विदेशबाट नेपालीले एक महिनामा घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स

    विदेशबाट नेपालीले एक महिनामा घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स

    २७ जेठ, काठमाडौं । एक महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा भित्रिएको सो रेमिट्यान्स हालसम्मको उच्च हो।
    यससँगै चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । । गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको थियो ।

  • काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने

    काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने

    २७ जेठ, काठमाडौं । काठमाडौंसहित पहाडी भूभागमा वर्षा भएको छ । केही दिनदेखि बढेको तापक्रमका कारण आजित भएकोमा आज राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । काठमाडौंसहितका भेगमा भने आजै वर्षा भएको छ । महाशाखाका मौसमविद् प्रतिमा मानन्धरका अनुसार देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।

    “मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ”, उनले भनिन्, “बुधबारदेखि भने उपत्यकालगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि विस्तारै तापक्रम घट्ने छ ।”

    मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, आज दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

    महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न जनाएको छ । यसैले सम्भावित जोखिम तथा असरबाट बच्न आवश्यक तयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो

    प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो

    २७ जेठ, काठमाडौं । काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई जना कारोबारी ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको पत्ता लागेपछि प्रहरी टोली उनीहरूलाई नै प्रयोग गरेर ग्राण्डी पुगेको थियो ।

    उनीहरूसँग लागुऔषध रहेको जानकारी पाएपछि ब्यूरोको टोली त्यहाँ दिउँसो ३ः१५ बजे पुगेको थियो । थप दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई फलामको रडले प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।


    सोक्रममा उनीहरूको रड प्रहारबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङ र प्रहरी सहायक हवल्दार रवीन्द्र केसी घाइते भएका छन् । त्यसक्रममा प्रहरीले नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउण्ड गोली फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए ।


    पक्राउ पर्नेमा भारत पठाना दानपुरका २० वर्षीय सुमित कुमार, सोही ठाउँका २५ वर्षीय चन्दनकुमार जैसवाल, भारत पश्चिम बङ्गालका ४० वर्षीय शासिक आलम र विहारका २२ वर्षीय मोहम्मद मञ्जुर आलम रहेका छन् । गोली प्रहार गरी समातिएका आलमद्वयलाई बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । टोखा नगरपालिका–३ मा उनीहरूबाट स्पिकरभित्र लुकाएर राखेको अवस्थामा २०० ग्राम खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।

  • देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो

    देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो

    २७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आयोजना गरेको अन्तक्र्रियामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।


    सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गरे । फरक प्रसङ्गमा उहाँले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औँल्याए । कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताए ।


    उनले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताए ।

    साथै उनले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गरे । कृषि तथा पशुपन्छीमन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्र्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजिविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताए ।


    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गरे ।

  • महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    २७ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ ।

    कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार पत्रमा भनिएको छ, “यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम रु दुई लाख जरिवाना तोकिएको छ ।”

  • नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    २७ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रनको योगफल बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान दिए ।

    उनले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५–३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११र११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए । नेदरल्यान्डस्का लागि पउल भान मिकेरनले चार विकेट लिदाँ माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । नेदरल्यान्ड्स अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • एसियन कप फुटबल छनोट : नेपाल लाओससँग पराजित

    एसियन कप फुटबल छनोट : नेपाल लाओससँग पराजित

    २७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो ।

    लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।

    खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने । त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त ग¥यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे ।

    त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता ग¥यो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दुई खेलको समाप्तिमा नेपालले अङ्कको खाता खोल्न सकेको छैन ।

    यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए । जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए । नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।

  • क्यानडाले अमेरिकामा निर्भरता घटाउँदै सुरक्षा बलियो बनाउने

    क्यानडाले अमेरिकामा निर्भरता घटाउँदै सुरक्षा बलियो बनाउने

    २७ जेठ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार टोरन्टोमा क्यानडाले यसै वर्ष नाटोको रक्षा खर्चको दुई प्रतिशत लक्ष्य पुरा गर्ने घोषणा गरेका छन् । उनले वर्तमान विश्वव्यापी परिस्थितिहरू अझ जटिल र चुनौतीपूर्ण हुँदै गएका कारण, क्यानडाले अमेरिकामा निर्भरता घटाएर आफ्नो सुरक्षा व्यवस्था सुदृढ बनाउनु आवश्यक रहेको औँल्याए । प्रधानमन्त्री कार्नीले भने, “म आज घोषणा गर्न चाहन्छु कि क्यानडाले नाटोको दुई प्रतिशत रक्षा खर्चको लक्ष्य यस वर्ष नै पुरा गर्नेछ, जुन तय भएको समयभन्दा पाँच वर्ष छिटो हो ।” उनले भने, “हामीमाथि खतराहरू बढिरहेका छन् ।”

    यो घोषणा अन्य देशहरूले पनि यस्तै घोषणा गरेपछि आएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई आफ्नो रक्षा खर्च बढाउन दबाब दिइरहेका छन् । कार्नीले भने, “यो संसार कठिन र प्रतिस्पर्धात्मक हुँदै गएको छ । त्यसैले क्यानडाको नेतृत्व हाम्रो मूल्य र शक्ति दुवैबाट देखिन्छ ।” उनले अमेरिकाको विश्व नेतृत्व बदलिँदै गएको बताउँदै, “संयुक्त राज्यले आफ्नो बजारमा पहुँचका लागि शुल्क लिँदैछ र हाम्रो सुरक्षा सहयोग घटाइरहेको छ ।”
    “हामीले हाम्रो रक्षा खर्चको धेरै हिस्सा अमेरिका पठाउन बन्द गर्नु पर्छ ।”

    कार्नीले रूस र चीनबाट पनि नयाँ खतरा देखिएको बताए र त्यसैले क्यानडाले आफ्नो सुरक्षा बललाई बलियो बनाउनुपर्ने उल्लेख गरे । अप्रिलमा ३२ सदस्यमध्ये २२ ले दुई प्रतिशत रक्षा खर्च पुरा गरिसकेका नाटोले जनाएको छ । रूसले सन् २०२२ मा युक्रेनमाथि हमला गरेपछि युरोपेली देशहरूले आफ्नो सैनिक खर्च बढाएका छन् र नाटोले दुई प्रतिशत रक्षा खर्च न्यूनतम मानक बनाएको छ ।

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    २७ जेठ, पोखरा । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो ।


    पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटनको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।


    उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालु आवको सोही अवधिमा एक लाख एक हजार १४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन् । पोखरा बाहिरबाट कोटिहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स)को मनोरम दृष्यावलोकनमा आउने गरेकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अध्यक्ष बाँस्तोलाले बताए ।


    विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेका जनाउँदै उनले भने, “गुफामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनु कोटिहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ ।” जमिनको सतहबाट करिब १०० मिटर चट्टानबाट रसाएका पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा अवस्थित महादेवको दर्शन गर्न पाइन्छ । शिव भगवान्लाई दाँहिने पार्दै १०० मिटरको दूरीभित्र पुगेपछि खुला ठाउँ छ ।

    अध्यक्ष बाँस्तोलाले भने, “पत्रे चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थ राजमार्गको प्राकृतिक पुलमुनिबाट सिँधा उभिएर देखिने पातले छाँगोसँगै तलाउमा देखिने झरनाको प्रतिविम्बले पर्यटकलाई मनमोहक बनाउने गरेको छ भने कोटिहोमले गुफाको प्रचारप्रसार गरी पर्यटन प्रवरद्धनमा सहयोग पु¥याएको छ ।” गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरका उनले बताए । उनका अनुसार गुफा २०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा भएको हो ।

    कोटिहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी भन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ । विश्व शान्तिको कामनासहित पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रूपमा परिचित गराउँदै गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई विश्वभर परिचित गराउने लक्ष्य रहेका मानवसेवा फाउण्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिए ।


    उनका अनुसार कोटिहोमका माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरमा पु¥याउँदै पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ वैदिक ज्ञान, धर्म परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुगेको छ ।

    मन्दिरको २९ रोपनी १२ आनासहित आसपासका झण्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ । त्यसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ, तिल, चामल, घ्यू र अन्य द्रव्य मिश्रित चरु तयार गरी गत वैशाख १७ गतेदेखि सुरु गरिएको कोटिहोमको हवन आज सम्पन्न भएको महायज्ञ सङ्कल्पकर्ता महाराजले जानकारी दिए । डेढ महिनासम्म सञ्चालन भएको कोटिहोममा लाखौँ भक्तजनले सहभागिता जनाउनुका साथै १० करोडभन्दा बढी रकम सङ्कलन भएको कोटिहोम सहइञ्चार्ज युवक लामिछानेले जानकारी दिए ।


    पोखरा–१७ शीतापाइलास्थित भागवत् मञ्जली राधिका दासीलाई सदाशिव सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले कोटिहोम वाचिका भागवत् मञ्जली राधिका दासी र मानव सेवा फाउण्डेशसनका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता महाराजलाई सम्मान गरेको छ । विरौटास्थित कोटिहोमका लागि गुठी जग्गा उपलब्ध गराएको मन्दिर व्यवस्थापन समितिले कोटिहोमका माध्यमबाट पौराणिक मन्दिरको उजागर गर्न महत्त्वपूर्ण सहयोग पुगेको भन्दै एक कार्यक्रमका बीच सम्मानपत्रले सम्मान गरेको हो ।

    मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले उनीहरुलाई सम्मान गर्नुभएको हो । सो अवसरमा तीन जना पण्डितद्वारा सङ्गीतको लयमा महाआरतीसमेत प्रस्तुत गरिएको थियो । उक्त मन्दिर परिसरमा निर्माण गरिएको मुख्य कुण्डमा विधिपूर्वक हमन सञ्चालन भएको थियो । विसं १८६४ मा मन्दिरको पूजा सञ्चालनका लागि व्यवस्था गरिएको राजगुठीसहितको लालमोहर अहिले पनि सुरक्षित रहेको अध्यक्ष शर्माले राससलाई जानकारी दिए ।

  • आयोगले एकैसाथ तीन मुद्दा दायर गर्‍यो

    आयोगले एकैसाथ तीन मुद्दा दायर गर्‍यो

    २७ जेठ, काठमाडौं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले रु एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले रु १९ लाख रकम लिएको पाइएको छ ।

    ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरकफरक व्यक्तिमार्फत ३ गते रु सात लाख र रु १२ लाख बराबर रकम चेकमार्फत लिएको पाइएको छ ।


    आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।


    नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी टे«डर्सका सञ्चालकसँग रु ५० लाख घुस माग गरेकोे पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध रु ५० लाख बराबरको बिगो माग दाबी गरेको छ । नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान रु ५० लाख बराबरको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ ।

    आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौँ महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै रु पाँच लाख घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध पाँच लाख बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो ।

    आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फाुगन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो ।

    सो अवधिमा कोइरीको वैध आय रु तीन करोड ३७ लाख ७९ हजार ४०० रहेको थियो । कोइरीले रु सात करोड ९६ लाख ७६ हजार ८०४ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट रु चार करोड ५८ लाख ९७ हजार ४०३ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ ।

    इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उहाँकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।

  • अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

    अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

    २७ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए ।

    बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।

  • मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

    मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

    २७ जेठ, मुस्ताङ । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेका थिए ।

    रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनलाई खान र बस्नको असुविधा नहोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गरेका थिए । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त धर्मशालालाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिनुभएका स्वामी भरत कोइरालाले बताए ।


    उनका अनुसार प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठा छन् । “धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो । भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाका मर्मत सुरु गरिएको हो”, उनले भने ।

    मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा रु ७४ लाख बजेटमार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिए । उनका अनुसार धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने गरी स्तरोन्नति भइरहेको छ ।

    धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मत गर्नुका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले उल्लेख गरे ।


    “धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ”, उनले भने, “सम्झौताअनुसार सतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ । यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।” व्यवस्थापनमा खटिनुभएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्रा, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताए ।


    “धर्मशालाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए”, उनले भने, “सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन् । मर्मतपछि यहाँ आउनेलाई भक्तजनलाई बास बस्न सहज हुनेछ ।” धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको स्वामी कोइरालाले जानकारी दिए । “असार मसान्तसम्म सम्पन्न काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । अहिले रङरोगन, भित्ता लिपपोत र छतलाई स्तरोन्नति गरिरहेको छ”, उनले भने ।


    रानीपौवा धर्मशाला रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुुवेदीले जानकारी दिए । “मुक्तिनाथ क्षेत्रको छ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गर्नुभएको हो”, उनले भने ।


    यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जालगायत जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गरे । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्नलगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उनले बताए । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उनले बताए ।

  • आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

    आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

    २७ जेठ, काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक

    ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक

    एजेन्सी
    २७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।


    यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ । प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।

    गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताए । यो समूहले गाजामा बन्दी बनाइएका बन्धकहरूसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो भने उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो । “त्यो आक्रमणले उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा उत्पन्न गरेको चरम खतराहरूलाई जोड दिएको छ”, ट्रम्पले भने ।

    LOS ANGELES, CALIFORNIA – JUNE 08: The National Guard, police and protesters clash following two days of protests after a series of immigration raids on June 08, 2025 in Los Angeles, California. Tensions in the city remain high after the Trump administration called in the National Guard against the wishes of city leaders. More protests are scheduled for today. Spencer Platt/Getty Images/AFP (Photo by SPENCER PLATT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)


    ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ । ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाउनुभएको छ । ती देशबाट केही अस्थायी कार्य भिसाहरूलाई अनुमति दिइनेछ ।

    ट्रम्पले संसारभरि खतराहरू देखा पर्दै गए अनुसार नयाँ मुलुक थप्न सकिने चेतावनी दिए । यो प्रतिबन्ध सन् २०२६ को विश्वकप वा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा लागू नहुने ट्रम्पको आदेशमा भनिएको छ । विश्वकप संयुक्त राज्य अमेरिकाले क्यानाडा र मेक्सिकोसँग सह–आयोजना गर्दैछ । आदेश लक्षित देशका कूटनीतिज्ञहरूमा पनि लागू हुनेछैन ।

    संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले ‘नयाँ यात्रा प्रतिबन्धको व्यापक र फराकिलो प्रकृतिले अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट चिन्ता उत्पन्न गरेको’ चेतावनी दिए । अमेरिकी डेमोक्रेटिक सांसद र निर्वाचित अधिकारीहरूले प्रतिबन्धलाई कठोर र असंवैधानिक भन्दै आलोचना गरेका छन् । “मलाई ट्रम्पको क्रूर र विदेशविरोधी यात्रा प्रतिबन्धहरूले दिने पीडा थाहा छ किनभने मेरो परिवारले यसलाई प्रत्यक्ष महसुस गरेको छ”, इरानी–अमेरिकी सांसद यासामिन अन्सारीले आइतबार एक्समा भने “हामी यो प्रतिबन्धसँग हाम्रो सबै शक्तिले लड्नेछौँ ।”

    कोलोराडो आक्रमणपछि नयाँ यात्रा प्रतिबन्धको अफवाह फैलिएको थियो । ट्रम्पको प्रशासनले भिसामा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ‘आतङ्ककारीहरू’ लाई पछ्याउने वाचा गरेको थियो । अमेरिकी अधिकारीहरूले अदालतको कागजातअनुसार संदिग्ध इजिप्टका नागरिक मोहम्मद साब्री सोलिमन अवैध रूपमा पर्यटक भिसामा बसेको तर सन् २०२२ सेप्टेम्बरमा शरणका लागि आवेदन दिएको बताएका छन् । ट्रम्पको नयाँ यात्रा प्रतिबन्धमा विशेष गरी इजिप्ट समावेश छैन ।

    उनको घोषणाले तालिबान शासित अफगानिस्तान र युद्धग्रस्त लिबिया, सुडान, सोमालिया र यमनमा राहदानी प्रशोधन र जाँचका लागि ‘सक्षम’ केन्द्रीय अधिकारीहरूको अभाव रहेको बताएको छ । “इरानलाई समावेश गरिएको थियो किनभने यो ‘आतङ्कवादको राज्य प्रायोजक’ हो”, आदेशमा भनिएको छ ।
    अन्य देशका लागि ट्रम्पको आदेशले मानिसहरूले आफ्ना भिसाहरूको अवधि नाघ्ने औसतभन्दा बढी सम्भावनालाई उद्धृत गरेको छ ।

  • महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    २६ जेठ, काठमाडौं । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ। रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए।

    स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चार जनाको दुःखद निधन भएको छ। गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ। अहिले सात जना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन्। मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यसलाई रेल ठोक्किने दुर्घटना नभई अत्यधिक भीडका कारण भएको घटना भएको स्पष्ट पारे ।

    प्रशासनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराखी राहत तथा उद्धार कार्यमा तिव्रता दिएको छ। साथै, घटनाबारे विस्तृत छानबिन सुरु भइसकेको जानकारी दिइएको छ। यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

  • प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, बुधबार बस्ने गरी स्थगन

    प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, बुधबार बस्ने गरी स्थगन

    २६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो । संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।


    “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ । यसअघि गृहमन्त्रीमाथि छानविनको माग राख्दै विपक्षी दलले संसद अवरुद्ध गरिरहेका छन् ।

  • काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सुरु विन्दु विवादको समाधान खोजिँदै

    काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सुरु विन्दु विवादको समाधान खोजिँदै

    २६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुुझाव दिएका हुन् ।

    सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले उक्त स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

    रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।

    यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।


    कूल ७० दशमलव ९७ किलोमिटर दूरीको रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतमा बन्ने सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजना सम्पन्न गर्नुपर्ने संशोधित अवधि २०८३ चैत मसान्तसम्म रहेको छ ।

  • हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

    हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

    २६ जेठ, झापा । यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् । साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गरेका स्थानीय शङ्कर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।
    किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उनले बताए । “वर्षौं लगाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ”, उनले बताए । “फल्न सुरु भएको थियो सबै भाँचेर नष्ट गरिदियो ।” उनले विश्व बैंकको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको बताए । सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ।

    सोको रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको बताए । उनले डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि चालु आर्थिक वर्ष २०८१–८२ मा रु आठ लाख प्राप्त भएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु सात लाख बजेट प्राप्त भएको बताए ।

    सोलार फेन्सिङको हेरचाहका लागि मासिक पाँच हजारका दरले तलब दिएर १० जना र रु १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक संस्थामार्फत राखिएको बताए । पछिल्लो समय हात्ती आतङ्क बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताए । विगत १० वर्षयता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जङ्गली हात्ती आउने क्रम घटेको थियो ।

  • लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार

    लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार

    २६ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । आज स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ।

    यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

    नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासङ्घ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तरराष्ट्रिय सहभागिताका लागि आग्रह गरे । महासङ्घको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराए ।


    उनले भने, “नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको छ, तर पनि भारत चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।” उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसर रहेको बताए ।

    हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराए । उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए ।


    सम्मेलनमा विश्वका १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् । नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासङ्घका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए ।

  • पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा

    पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा

    २६ जेठ, सोलुखुम्बु । यहाँस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भनिन्, “हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् ।

    प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीँबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।” जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ ।

    डा पङ्गेनी भन्छिन्, “एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ ।” हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ । “हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ”, अस्पतालमा कार्यरत्त स्टाफ नर्स दिप्ती चौधरीले भनिन् ।

    अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्छिन्, “छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।”

    करारका चिकित्सकहरुले सक्दो योगदान दिएपनि उनीहरु लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बर चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भने, “हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति—सबै कुरामा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ भएको छैन ।”

    उनले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिए । प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपुर्ती भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ । स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भने, “हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ । अहिले प्रदेशभर जनशक्ति अभाव छ ।”

  • सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    २६ जेठ, ओखलढुङ्गा । सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

    त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश ः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कास्य पदक प्राप्त गरेका थिए ।

    दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपीए ल्याउने छात्रछात्रालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९–८० र आर्थिक वर्ष २०८०–८१ मा उत्कृष्ट जिपीए ल्याउने पाँच छात्रछात्रालाई नगद रु पाँच हजारसहित कदरपत्रले सम्मान गरिएको हो । एसइईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०–८१ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका थिए ।

    सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु २० हजारसहित कदरपत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए । शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरुको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए ।

  • नेपाल स्कटल्यान्डसँग २ रनले पराजित, इतिहास रच्नबाट चुक्यो

    नेपाल स्कटल्यान्डसँग २ रनले पराजित, इतिहास रच्नबाट चुक्यो

    २६ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।
    स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो ।

    नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए । त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । उनले सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए ।

    स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए । त्यसैगरी ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो । स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरे ।

    माइलक लिस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित ९६ रनमा अविजित रहे । यसैगरी चार्ली टियरले ६५ बलमा ९ चौकाको मद्दतले ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।

  • बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

    बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

    २६ जेठ, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो ।

    माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ । करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिइ निर्माण गरेको हो ।

    आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले जानकारी दिए । “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ । चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल प्रतिमा राखेका छौँ”, उनले भने, “आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ । यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरेका छौँ ।”

    हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा विश्वमा निर्माण भएकामध्ये हालसम्मकै अग्लो र ठूलो भनेर दाबी गरिएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पु¥याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए ।


    “यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उनले भने, “पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।”

    यलम्बर पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले रकम भुक्तानी नदिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्सन प्रालिका प्रबन्धक सुनिल राईले जानकारी दिए । “तोकिएको काम गत वैशाख १० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका थियौँ । अहिलेसम्म नगरपालिकाले हामीले पाउने रकम भुक्तानी दिएको छैन”, उनले भन ।


    राईका अनुसार यलम्बर पार्क निर्माण सम्पन्न गरेर यही जेठ १७ गते औपचारिक उद्घाटन गर्ने तयारी थियो । नगरपालिकाबाट करिब रु तीन करोड रकम भुक्तान लिन बाँकी रहेको र नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की ल्याएर उद्घाटन गर्ने तयारी रोक्न बाध्य भएको उनले बताए ।


    पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्वअन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ । प्रदेश सरकारले रु तीन करोड ९० लाख बजेट उपलब्ध गराएको छैन”, उनले भने, “प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम छ । बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याउँछौँ ।”

  • मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न

    मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न

    २६ जेठ, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।


    पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए । यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए । उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनले बताए ।


    विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । पूर्वीखण्ड अन्तरगत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ ।

    आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । यो खण्ड अन्तरगत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ ।

    यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

  • लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शन, ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ

    लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शन, ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ

    एजेन्सी
    २५ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन् । यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन भएपछि ‘अराजकता’ दमन गर्ने प्रयास भएको बताएको थियो ।

    अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाको राज्य सेनाको सङ्घीय नियन्त्रण लिएर सैनिकहरूलाई देशको दोस्रो ठूलो सहरमा धकेलेका थिए । त्यहाँ सैनिकहरूले प्रदर्शनकारीहरूको सामना गर्न सक्छन् । यो दुर्लभ कदम हो जसलाई गभर्नर गाभिन न्युसमले ‘जानाजानी उत्तेजक’ भनेका छन् ।


    ठूलो ल्याटिनो जनसङ्ख्या भएको सहरमा दर्जनौँ आप्रवासीको गिरफ्तारीमा आक्रोशित भीडतिर सङ्घीय एजेन्टहरूले फ्ल्यास–ब्याङ ग्रेनेड र अश्रु ग्यास प्रहार गरेको दुई दिनको भिडन्तपछि यो घटनाक्रम विकास भएको हो । फुटेजमा व्यस्त चौबाटोमा आगो लगाइएको कार देखाइएको छ भने सामाजिक सञ्जालमा प्रसारित भिडियोमा मोटरबाइक हेलमेट लगाएका एक व्यक्तिले द्रुत गतिमा चल्ने सङ्घीय सवारी साधनहरूमा ढुङ्गा फ्याँक्दै गरेको देख्न सकिन्छ ।

    प्रदर्शनकारीहरूले एजेन्टहरूलाई ठट्टा गरेको र उनीहरूको फोनमा छायाङ्कन गरेको देख्न सकिन्छ । अन्य दृश्यहरूमा प्रदर्शनकारीहरूले शान्ति कायम राख्न बोलाइएका स्थानीय कानून प्रवर्तनकर्ताहरूको लाइनमा आतसबाजी फ्याँकेका थिए ।

    “राष्ट्रपति ट्रम्पले अराजकता फैलाउन अनुमति दिइएको छ भनेर सम्बोधन गर्न दुई हजार नेसनल गार्ड तैनाथ गर्न राष्ट्रपतीय ज्ञापनमा हस्ताक्षर गरेका छन्”, क्यालिफोर्नियाका डेमोक्रेटिक नेताहरूलाई ‘कमजोर’ भनेर दोष लगाउँदै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शनिबार बेलुका भने, “ट्रम्प प्रशासनसँग आपराधिक व्यवहार र हिंसाका लागि शून्य सहिष्णुता नीति छ, विशेष गरी जब त्यो हिंसा कानून प्रवर्तन अधिकारीहरूले आफ्नो काम गर्न खोजिरहेका छन् ।”

    TOPSHOT – A protester waves a combined US-Mexican flag as law enforcement clashes with demonstrators during a protest following federal immigration operations, in the Compton neighborhood of Los Angeles, California on June 7, 2025. US President Donald Trump deployed 2,000 troops on June 7, 2025 to handle escalating protests against immigration enforcement raids in the Los Angeles area, a move the state’s governor termed “purposefully inflammatory.” Federal agents clashed with angry crowds in a Los Angeles suburb as protests stretched into a second night Saturday, shooting flash-bang grenades and shutting part of a freeway amid raids on undocumented migrants, reports said. (Photo by RINGO CHIU / AFP)

    आरक्षित सेना नेसनल गार्ड प्रायः प्राकृतिक प्रकोपहरूमा प्रयोग गरिन्छ । जस्तै लस एन्जलसको आगलागी पछि र विरलै नागरिक अशान्तिका घटनाहरूमा । सन् २०२० मा जर्ज फ्लोइडको हत्यापछि यसलाई लस एन्जलसमा तैनाथ गरिएको थियो । ट्रम्पका बारम्बार विरोधी र रिपब्लिकनका लामो समयका शत्रु न्युसम शनिबारको ह्वाइट हाउसको आदेशको निन्दा गर्न सामाजिक सञ्जालमा आए ।

    “त्यो कदम उद्देश्यपूर्ण रूपमा भड्काउने हो र यसले तनाव मात्र बढाउनेछ”, उनले भने, “लस एन्जलस अधिकारीहरू एक क्षणको सूचनामा कानून प्रवर्तन सहायता पहुँच गर्न सक्षम छन् । हामी सहर र काउन्टीसँग नजिकको समन्वयमा छौँ र हाल त्यहाँ कुनै अपूर्ण आवश्यकता छैन । यो गलत मिशन हो र यसले जनताको विश्वासलाई बिगार्नेछ ।”

    ट्रम्पका रक्षामन्त्री पिट हेग्सेथले नजिकैका नियमित सैन्य बलहरू संलग्न हुनसक्ने चेतावनी दिँदै तनावलाई अझ बढाउने धम्की दिए । “यदि हिंसा जारी रह्यो भने क्याम्प पेन्डलटनमा सक्रिय ड्युटी मरिनहरू पनि परिचालन हुनेछन्–तिनीहरू उच्च सतर्कतामा छन्”, उनले भने । जनवरीमा पदभार सम्हालेदेखि रिपब्लिकन ट्रम्पले कागजातविहीन आप्रवासीहरूको प्रवेश र उपस्थितिमा कडा कारबाही गर्ने वाचा गरेका छन, जसलाई उनले ‘राक्षस’ र ‘जनावर’ सँग तुलना गरे । शनिबारको गतिरोध प्यारामाउन्टको उपनगरमा भयो । त्यहाँ प्रदर्शनकारीहरू कथित सङ्घीय सुविधामा भेला भएका थिए, जसलाई स्थानीय मेयरले एजेन्टहरूको स्टेजिङ पोस्टका रूपमा प्रयोग भइरहेको बताए ।


    शुक्रबार मास्क लगाएका र सशस्त्र अध्यागमन एजेन्टहरूले लस एन्जलसका अलग–अलग भागहरूमा उच्च–प्रोफाइल कार्यस्थलमा छापा मारेका थिए, क्रोधित भीडलाई आकर्षित गरेका थिए र घण्टौँ लामो गतिरोध सुरु गरेका थिए । लस एन्जलसका मेयर करेन बासले सङ्घीय आप्रवासन प्रवर्तन कार्यहरूपछि सहरका केही बासिन्दाले ‘डर महसुस’ गरेको स्वीकार गरे । “सबैलाई शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार छ, तर मलाई स्पष्ट हुन दिनुहोसः हिंसा र विनाश अस्वीकार्य छ, र जिम्मेवारहरूलाई जवाफदेही बनाइनेछ”, उनले भने ।


    एफबिआईका उप निर्देशक डान बोङ्गिनोले शुक्रबारको झडपपछि धेरैलाई पक्राउ गरिएको बताए । “तपाईँले अराजकता ल्याउनुहुन्छ, र हामी हातकडीहरू ल्याउँछौँ । कानून र व्यवस्था कायम रहनेछ”, उनले एक्समा भने । शनिबार अध्यागमन र भन्सार प्रवर्तन (आइसिई) एजेन्टहरू बाहिर निस्कन भन्ने नाराका बीचमा केही प्रदर्शनकारीले मेक्सिकाली झण्डा फहराएको र अरूले अमेरिकी झण्डा जलाएको लस एन्जलस टाइम्सले रिपोर्ट गरेको छ ।

    सिमेन्टका ब्लकहरू र पल्टिएका किनमेल कार्टहरूले कच्चा सडक अवरोधका रूपमा काम गरे । भिडले नजिकैको फ्रिवेबाट बाहिर निस्किएको युएस मार्सल सर्भिस बसलाई आक्रमण गरेको थियो । अधिकारीहरूले पछि प्रदर्शनकारीहरूलाई राजमार्ग कब्जा गर्नबाट रोक्न र नयाँ मानिसहरूलाई भित्र छिर्नबाट रोक्न र्‍याम्पहरू बन्द गरे ।

    ह्वाइट हाउसले विरोध प्रदर्शनको विरुद्धमा कडा कदम चालेको छ । उप चिफ अफ स्टाफ स्टिफन मिलरले उनीहरूलाई ‘संयुक्त राज्य अमेरिकाको कानून र सार्वभौमिकता विरुद्धको विद्रोह’ भनेका छन् । संयुक्त राज्य अमेरिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको सहर लस एन्जेलस देशको सबैभन्दा विविधतापूर्ण ठाउँहरू मध्ये एक हो । अमेरिकी जनगणनाको तथ्याङ्कअनुसार करिब ५० हजार मानिसको घर प्यारामाउन्ट उपनगरमा ८२ प्रतिशत हिस्पानिक वा ल्याटिनो छन् ।

  • नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

    नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

    २५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।
    जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो ।

    अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।

    अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । उनले भने, “लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।”

    शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो । डा जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

  • टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    २५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपाल टेलिकमको जिएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेसलगायत सेवाको बिलिङका सम्बन्धमा गैरकानुनी तरिकाले खरिद बिक्री गरी अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको हो । आयोगले सोसम्बन्धी उपकरण खरिदका सम्बन्धमा बदनियत राखिएको र सार्वजनिक सम्पत्तिको हिनामिना भएको उल्लेख गरेको छ ।

    आयोगले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक सङ्गीता पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठविरुद्ध रु ३३ करोड ४८ लाख १७ हजार ४३० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ । यस्तै, तत्काली प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमूल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धक राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण, परमात्मा भट्टराइविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

    यस्तै सामान उपलब्ध गराउने तीन चिनियाँ कम्पनी र त्यसका नेपालस्थित प्रतिनिधिविरुद्ध पनि रु ३३ करोड ४८ लाख १७ हजार ४३० बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ । आपसी मिलेमतोमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पु¥याउने उद्देश्यका साथ एकीकृत बिलिङ प्रणालीका लागि पाँच वर्षको सम्झौता गरिएको आयोगको दाबी छ । आयोगले बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।