Category: समाचार

  • निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री

    निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान निरीक्षणमा पुगे प्रधानमन्त्री

    २५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।

    उनलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराए ।

    प्रधानमन्त्री केपी शर्मा ओली आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्नुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

    प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिए । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरकफरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

  • आयल निगम गण्डकी प्रदेश प्रमुख लगायतलाई भ्रष्टाचार मुद्दा

    आयल निगम गण्डकी प्रदेश प्रमुख लगायतलाई भ्रष्टाचार मुद्दा

    २५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ । कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो ।

    बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य रु १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ । आयोगले प्रमुख दास, पश्चिमाञ्चल टे«डर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही रु चार लाख ४८ हजार ५२५ बराबरको बिगो दाबी गरिएको छ ।

  • आइतबार दिनभरको प्रयासमा पनि खुलेन संसद, विपक्षीको अवरोध पछि स्थगित

    आइतबार दिनभरको प्रयासमा पनि खुलेन संसद, विपक्षीको अवरोध पछि स्थगित

    २५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन ।

    आज दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक आजै ३ः१५ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर बैठक सरेको जनाएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सचिवालयले पुनः अर्को सूचना प्रकाशित गरी साँझ ५ः३० मा बस्ने उल्लेख गरेको थियो ।

    सो सूचना प्रकाशित भएको एक घण्टापछि अर्थात् ६ः३० बजे सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले पटक पटक सहज रुपमा सभा सञ्चालन गर्न आग्रह गरे पनि विपक्षी दलहरुले अस्वीकार गर्दै विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाई बैठक स्थगित भएको सदनलाई जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो २ः०० बजे बस्नेछ ।

    प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आव २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नुहुने कार्यसूची तय भएको थियो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायतले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन् । यही जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफलपछि प्रतिपक्षी दलको विरोध कारण चल्न सकेको छैन ।

  • नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति

    नेपाललाई स्कटल्यान्डले दियो तीन सय २४ रनको विशाल चूनौति

    २५ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनायो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले ।

    उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले । चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

    पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

    २५ जेठ, गण्डकी । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ । प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ । समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले जोगाएर राखेका छन् ।

    संस्कृतिहरूको पुस्तान्तरण गरिएको यस गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सतिघाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस गाउँमा २०६० सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले बताए । गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ गाउँका २२ घरमा होमस्टे सञ्चालन भइरहेको उनले बताए ।


    साथै प्राचीन मौलिकतालाई जोगाउँदै बढ्दो बसाइँसराइ रोक्दै गाउँमा नै पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको उनले बताए । विसं २०६० देखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भई सञ्चालनमा आएको होमस्टेमा दैनिक एक सय जनासम्म राख्न सक्ने क्षमता रहेको उनको भनाइ छ । सुरुमा तीनवटा घरबाट यहाँ होमस्टे सुरु गरिएको थियो ।

    गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढ्ङ्गाले छाएका घरलाई संरक्षण गरिएको छभने गाउँका चोक तथा बाटो छपक्क ढुङ्गाले छापिएको छ । गाउँभित्रै ठाउँठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजगार गरेको छ । यहाँका एक सय ५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका छन् ।

    गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावरसँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ । गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्यता र महत्वलाई अझै बढाएका छन् । त्यस्तै कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन् ।

    शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ । यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेका छन् । यहाँको घरबासलाई गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्द्धनका कार्यक्रम पनि सुरु गरेको छ ।

    सङ्घले पसगाउँलगायत प्राचीन गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका कार्यक्रम थालेको सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुुरुङले बताए । सङ्घकै सक्रियतामा कास्की, लमजुुङ र मनाङका विभिन्न भूभाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजनाका साथ चरणबद्ध रूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन् ।

    उहाँका अनुसार सङ्घले तेस्रो चरणको कार्यक्रमअन्तर्गत यही जेठ २३ गतेदेखि पोखराबाट सिङ्दी, पसगाउँलगायत गाउँ समेट्दै दूधपोखरी, गुरुङ देउरालीलगायत स्थाननसम्म अन्वेषणात्मक पदयात्रा सञ्चालन गरेको छ । पसगाउँलाई पदयात्रासँग जोड्ने गरी कार्यक्रमहरू सञ्चालन हुनुलाई आफूहरूले अर्थपूर्ण रूपमा लिएको होमस्टे सञ्चालक सदस्य मायादेवी गुरुङले बताउनुुभयो । पसगाउँ आएका पर्यटकलाई यहीँका स्थानीय उत्पादन खुवाउने गरिएको बताउँदै उहाँले पर्यटक फर्कँदा खुसी भएर फर्कने गरेको अनुुभव सुनाउनुुभयो ।

    पदयात्रासँगै जोडिएपछि यहाँको प्रकृति र संस्कृति पर्यटन बजारमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । पसगाउँमा आउने चाहने पर्यटकका लागि विभिन्न बैकल्पिक मार्ग पनि छन् । लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीसहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन भइरहेका छन् ।

    पोखरा हुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो अझै व्यवस्थित भइनसक्दा पनि यात्रीले समस्या भोग्दै आएको स्थानीयवासीको गुनासो छ । गुुरुङ सम्पदा पदमार्गको नक्साङ्कनमा समेटिएका पसगाउँलगायत गाउँको प्रवर्द्धन र विकासका लागि पनि स्थानीयवासीको उत्तिकै जागरुकता आवश्यक हुने गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताए । प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटकलाई प्रदान गरिने आतिथ्यताका लागिसमेत सबैको सामूहिक प्रयास आवश्यक हुने उनको भनाइ छ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध कायमै

    प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षीको अवरोध कायमै

    २५ जेठ, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

  • बुर्तिबाङलाई नयाँ सहर बनाउने परियोजना, के के भयो प्रगति ?

    बुर्तिबाङलाई नयाँ सहर बनाउने परियोजना, के के भयो प्रगति ?

    डम्मर बुढामगर/रासस
    २५ जेठ, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत रूपमा काम हुनसकेको छैन । २०६९ साल अगाडि नै बुर्तिबाङमा बजारको रूपमा स्थापित थियो ।

    त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको देखिन्छ । विसं २०६९ देखि २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजान सुरु भएदेखि हालसम्म रु ७८ करोड बढी रकम सरकारले विनियोजन गरेको छ । त्यसमध्ये रु ५० करोडमात्र खर्च भएको छ । नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ ।

    आयोजनाले हालसम्म १६ दशमलव तीन किलोमिटर सडक ढलान, छ दशमलव तीन किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, दुई ७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिए । अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको उनको भनाइ छ । विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशतमात्र काम भएको उनले बताए ।


    हाल तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ । बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो । बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ । नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाह बताउँछन् ।


    यो आयोजानाका लागि रु एक अर्ब समेत विनियोजन भएको छैन । सरकारले हालसम्म आव २०७२\७३ मा रु चार करोड ४७ लाख, आव २०७३\७४ मा रु आठ करोड २२ लाख, आव २०७४\७५ मा रु १६ करोड ४० लाख, आव २०७५\७६ मा रु १३ करोड छ हजार, आव २०७६\७७ मा रु सात करोड ५७ लाख, आव २०७७\७८ मा रु छ करोड ७३ लाख, आव २०७८\७९ मा रु १२ करोड छ लाख, आव २०७९\८० मा रु १८ करोड ३३ लाख, आव २०८०\८१ मा रु सात करोड ३३ लाख तथा चालु आवमा रु नौ करोड ९५ लाख विनियोजन भएको थियो ।

    हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । बर्सेनि करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचेअनुसारको काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताउनुभयो । आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उनको भनाइ छ । आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ती कुनै पनि पूर्वाधार व्यवस्थित नभएको घर्तीले सुनाए ।

    उनले भने, “१०–१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरो सडकमा जोखिम मोलेर यात्री हिँड्छन्, फोहर व्यवस्थापन पनि हुनसकेको छैन, काम गरेपछि त केही फरकपन हुनुपर्ने हो, तर खासै केही परिवर्तन भएको छैन ।” अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।

  • माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

    माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

    २५ जेठ, बेनी । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गरे । योसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।

    यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ एक किलोमिटर ८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । उनका अनुसार, यस आयोजनामा बाँधबाट विद्युत्गृहसम्म पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ ।

    म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले धवलागिरि–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

    छहरीको १९८ दशमलव ९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६ दशमलव ५४ मिटर लामो सुरुङ र अडिटबाट थप एक किलोमिटर २७० दशमलव ६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ । सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख लगानीमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ ।

    भारवाङबाट एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिने छ । साभार रासस

  • किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

    किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

    २५ जेठ, गलकोट । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन् । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेकी हुन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरेकी हुन् ।


    बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ । आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका छन् । कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउँपुजीका रूपमा सापकोटालाई दिइन् ।


    सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा एक सय चार पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ । उक्त उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरे ।


    उनका अनुसार, मालिकाको उच्च भेगका विभिन्न वडामा बाख्रापालनको निकै सम्भावना छ, परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । बाख्राको पाठामात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ । नगरपालिकाका १४ मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ ।

    कार्यक्रमबाट दुई वर्षमै दुई सय आठ महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बीउपुँजीबाट सहयोग मिलिरहेको छ । समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।

  • अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

    अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

    एजेन्सी
    २५ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ ।

    डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो ।

    अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ ।

    डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ ।

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    २४ जेठ, झापा अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।

    आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्‍याएका थिए । हस्पिटलका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताउए ।

  • काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका

    काठमाडौं महानगरमा सबैभन्दा बढी उजुरी ‘भवन खाली गराइपाउँ’ भन्ने बेहोराका

    २४ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको पाइएको छ । कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

    जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँजस्ता विवाद बढी आएका छन् ।

    कामपा कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै उपप्रमुख डङ्गोलले विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नुपर्ने बताइन् । क्षेत्राधिकार बाँडिएको र प्राप्त अधिकारको प्रयोगका लागि निकायगत संयन्त्रका विषयमा कुरा गर्दै उहाँले वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वानुमान गरेर थप विग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्न सकिने पनि बताइन् ।

    सहकारीहरू सङ्कटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने प्रवृत्ति रहेको बताइएको छ ।

    कामपाको कानुन तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले कोठा खाली गराउनेबारे गुनासो बढ्नुको मुख्य कारणमा घर बहालमा लिँदादिँदा लिखित सम्झौता नगर्नु, लिखित सम्झौता गरे पनि सर्त स्पष्ट नहुनु, बहाल कर कम तिर्न बहाल अङ्क न्यून राख्नु वा दुइवटा सम्झौता गर्नुजस्ता समस्या देखिएको बताए ।

    उनले समयमा बहाल नबुझाउनु, बहाल कर कसले बुझाउने भन्ने सम्झौतामा नखुलाउनु र खुलाएको अवस्थामा पनि सहकारी संस्थाले बहाल कर नतिर्नु, घरधनीलाई सहकारी समस्यामा छ वा बन्द हुँदैछ भन्ने जानकारी नहुनु, कार्यालय बन्द भएको सहकारीका पदाधिकारी तथा कर्मचारीसँग सम्पर्क हुन नसक्नुजस्ता समस्यासँग सम्बन्धित विवाद आउने गरेको जानकारी दिए ।

  • चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

    चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

    एजेन्सी
    २५ जेठ, काठमाडौं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा हुने अनुमान गरिएको छ ।

    जिआङ्सु, आन्हुई, हुबेई र चेजियाङका केही स्थानहरूमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाइएको छ । कतिपय क्षेत्रमा एक घण्टामै ८० मिलिमिटर वा सोभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ, जससँगै मेघगर्जन र हुरीसमेत देखापर्न सक्ने अनुमान छ ।

    स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई शहरी तथा ग्रामीण क्षेत्रका ढल तथा निकास प्रणालीको निरीक्षण र पूर्वतयारी गर्न सुझाव दिइएको छ । चीनमा प्रयोग गरिने चार–स्तरीय रङ्गको चेतावनी प्रणालीअनुसार, रातो सबैभन्दा उच्च जोखिम जनाउने रङ्ग हो भने त्यसपछिका क्रमशः सुन्तला, पहेँलो र नीलो रंगले घट्दो स्तरका खतरा दर्शाउँछन् ।

  • हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

    हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

    एजेन्सी
    २४ जेठ, काठमाडौं । साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार ९जुन ६० सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल सङ्ख्या १३ पुगेको छ ।”

    “हालैका दिनहरूमा साउदी अरबका पवित्र शहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,” इरनाले भनेको छ । इर्नाका अनुसार यो बर्ष ८६ हजार ७०० इरानीहरू तीर्थयात्राका लागि साउदी अरब गएका छन् ।

    गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो । अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुन्छ, जसले गर्दा चक्कर आउने र टाउको दुख्ने देखि अङ्गहरूले काम गर्न छोड्ने र मृत्यु हुनेजस्ता लक्षणहरू देखा पर्छन्।

    शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीहरूलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरिरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न अन्य सावधानीहरू अपनाउन पनि सल्लाह दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जलवायु परिवर्तनका कारण हरेक वर्ष कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु हुने गरेको आँकलन गर्दै वास्तविक सङ्ख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ ।

  • रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    २४ जेठ, गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।

    “रिडीदेखि २५ किलोमिटरसम्म ढलान र अस्फाल्ट गर्ने कार्यक्रम छ, अहिलेसम्म आठ किलोमिटर सम्पन्न भइसकेको छ, अब १७ किलोमिटर बाँकी छ, मौसमले साथ दियो भने यस आर्थिक वर्षमा १८ देखि १९ किलोमिटर गर्ने कार्यक्रम छ”, उनले भने । निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ‘ग्रेड कटिङ’ र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । सम्झौताअनुसार कटिङ, नाली, संरचना निर्माण र ग्राभेलको काम दु्रतगतिमा भइरहेको छ ।

    पच्चीस किमी सडकअन्तर्गत दुई किमी ढलान र छ किमी कालोपत्र भइसकेको आयोजना कार्यालयका सूचना अधिकारी हुमनाथ पौडेलले राससलाई बताए । उक्त सडकखण्डमा हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । सडक निर्माणका क्रममा गत दुई वर्ष यस क्षेत्रका नागरिकले धुलो र हिलोको समस्या भोग्नुपरेको थियो । सडक निर्माणका लागि २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभीले रु एक अर्ब ५० करोडको लागतमा रिडी–रुन्खादह सडकको ग्रेड कटिङ, मोड सुधारसँगै कालोपत्र गर्ने सम्झौता भएको थियो ।

  • अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो

    अवैध भित्राइएका कुखुराका चल्ला बरामद, प्रहरीले खाल्डो खनेर पुर्यो

    २४ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए । सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

  • प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

    प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ

    २४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका(२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    “जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,” प्रधानमन्त्री ओलीले भने, “दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा होस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।”

    अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए । उनले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गरे ।

  • बाम्का आगलागी : छिनमै सखाप भयो बजार

    बाम्का आगलागी : छिनमै सखाप भयो बजार

    २४ जेठ, बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो ।

    सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताए ।


    आगलागिबाट पिडित भएकाहरुको क्षतिपुर्तिका लागि प्रहरीलाई तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र सङ्घीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए । घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधी राजनितिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र सो क्षतिपुर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका नगर प्रमख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो । बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ । यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव रहेको पाइएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।

  • ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    २४ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए ।आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

  • इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

    इस्लाम धर्मावलम्बी इद–उल–जोहा मनाउँदै

    २४ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बी (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्वमा यस धर्मावलम्बीमा रौनक ल्याउने गर्छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन यो पर्व मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाउँदैछन् । महोत्तरी इस्लाम धर्मावलम्बीको सघन बसोबास भएको जिल्ला हो । जिल्लाका १५ वटै स्थानीय तहमा धेरथोर बसोबास छ । यहाँका स्थानीयमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, बलवा र मटिहानी इस्लाम धर्मावलम्बीको बाक्लो बसोबास भएका ठाउँ हुन् ।

    यसैगरी बर्दिबास, रामगोपालपुर र भङ्गाहाका केही बस्ती पनि मुस्लिम बसोबास बाहुल्य छन् । यी बस्तीमा आज कुर्वानी (बलि) का लागि खसी, राँगा जुटाइएका छन् । पर्वले मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केपछि परिवारजनमा खुसी थपिएको छ ।

    बक्रइद पर्वमा कुर्वानीका लागि पशु किन्दा मुस्लिमहरू सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ । यो अल्लाह (ईश्वर) को मन्नत (भाकल, समर्पणका लागि) हुँदा कुर्वानीका लागि किनिने पशुमा मोलमोलाइ गरिनु ठीक नहुने पर्वको तयारीमा रहेका भङ्गाहा–४ रामनगरका सहबुल अन्सारी बताउँछन् ।

    पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना)गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर)लाई समर्पित गर्दै पशु कुर्वानी दिन्छन् । यसलाई कुविचार तथा अहङ्कारको कुर्वानीको प्रतिकात्मक रूपमा बुझ्न सकिने मोल्बीहरू (इस्लाम धर्मगुरू) को भनाइ छ । इस्लाम धर्मावलम्बीले कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ ।

    निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् । सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोराजस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्वानी भएको हुँदा यसै घटनालाई सम्झेर बक्रइदमा पशु कुर्वानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्वानी अल्लाहमा समर्पित मानिन्छ ।

    घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वीलाई कुर्वानीस्वरूप रकम पठाउने गर्छन् । बक्रइद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् ।

    यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पूज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउँछन् । आत्मशुद्धि, अल्लाहको पुकारा र अहङ्कारको त्याग यस पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरूका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने, साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो । राससबाट

  • रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

    रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

    एजेन्सी
    २४ जेठ, काठमाडौं । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर पुगेका छन् । उनले काश्मीरमा एक रणनीतिक रेलवेको उद्घाटन गरे । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहेका छन् ।


    आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो । प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मिटर माथि आर्क भएको दुई पहाडलाई जोड्दछ ।

    “वास्तुकलाको असाधारण उपलब्धि हुनुका साथै चेनाब रेल पुलले कनेक्टिभिटीमा सुधार गर्नेछ”, मोदीले आफ्नो भ्रमणअघि सामाजिक सञ्जाल पोस्टमा भनेका छन् ।
    मोदी आफ्नो आगमनको लगत्तै रेल यातायातका लागि औपचारिक रूपमा खुला भएको घोषणा गर्न विशाल भारतीय झण्डा फहराउँदै पुल पार गरे । नयाँदिल्लीले चेनाब पुललाई ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भन्छ ।

    धेरै सडक र पाइपलाइन पुलहरू अग्लो भए पनि गिनिज वल्र्ड रेकर्डले गिनिज वल्र्ड रेकर्डले चेनाबले चीनको अघिल्लो सबैभन्दा अग्लो रेलवे पुल, नजीहेलाई उछिन्ने पुष्टि गरेको छ । नयाँ दुई सय ७२ किलोमिटर (एक सय ६९ माइल) उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित ‘क्षेत्रीय गतिशीलतालाई रूपान्तरण गर्ने र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिने उद्देश्यले’ निर्माण गरिएको मोदीको कार्यालयले जनाएको छ ।

    Indian Prime Minister Narendra Modi, left, speaks to Jammu and Kashmir Chief Minster Omar Abdullah at a public rally after inaugurating Vande Bharat Express train which will run between Katra and Srinagar, in Katra, India, Friday, June 6, 2025. (AP Photo/Channi Anand)

    यस पुलले मानिस र सामानका साथै सेनाको आवागमनलाई सहज बनाउनेछ । यो पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो । “रेलवेले सबै मौसममा सम्पर्क सुनिश्चित गर्दछ, आध्यात्मिक पर्यटनलाई बढावा दिनेछ र जीविकाका अवसरहरू सिर्जना गर्नेछ”, मोदीले भने । रेलवे लाइनले हिन्दू बहुल जम्मू क्षेत्रको कटरा सहर र मुस्लिम बहुल काश्मीरको मुख्य सहर श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टासम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

    गत महिनाको द्वन्द्वमा मिसाइल, ड्रोन र तोपखानाको गोलीबारीमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणबाट लडाइँ सुरु भएको थियो । उक्त आक्रमणलाई नयाँदिल्लीले पाकिस्तानले समर्थन गरेको आरोप लगाएको थियो । उक्त अरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ । भारतीय प्रशासित काश्मीरमा विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै ३५ वर्ष लामो विद्रोह चलाएका छन् ।

    Indian Prime Minister Narendra Modi displays a postal ticket at a public rally after inaugurating Vande Bharat Express train which will run between Katra and Srinagar, in Katra, India, Friday, June 6, 2025. (AP Photo/Channi Anand)
  • अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

    अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

    एजेन्सी
    २४ जेठ, काठमाडौं । अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि भएको छ, यद्यपि बेरोजगारी दर स्थिर रहेको छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरै कम हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमा कायम रहेको छ । विश्लेषकहरूले यस मन्दीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति विशेष गरी ट्यारिफ (कर) हरूको प्रभावसँग जोडेर हेरेका छन् ।

    व्यापार नीतिहरूको अनिश्चितताले व्यवसायहरूलाई नयाँ कर्मचारी नियुक्तिमा सतर्क बनाएको छ । यद्यपि, स्वास्थ्य सेवा, मनोरञ्जन र सामाजिक सहायता जस्ता क्षेत्रहरूमा रोजगारी वृद्धिमा वृद्धि देखिएको छ । यो रिपोर्टले अमेरिकी श्रम बजारको स्थायित्व र व्यापार नीतिहरूको प्रभावलाई स्पष्ट पार्दछ । आगामी महिनाहरूमा आर्थिक नीतिहरूको प्रभाव अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।

  • इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी

    इजरायली सेनाद्धारा गाजा सिटी भीषण आक्रमणको तयारी

    एजेन्सी
    २३ जेठ, काठमाडौं । इजरायली सेनाले गाजा सिटीका केही भागका बासिन्दालाई आक्रमणको पूर्वसन्ध्यामा स्थानान्तरण गर्न आदेश दिएको छ । सेनाका प्रवक्ताले उक्त क्षेत्रलाई ‘खतरनाक युद्ध क्षेत्र’ भन्दै बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । यो आदेश मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व इद अल–अधाहको अवसरमा आएको छ, जसले गाजा सिटीका बासिन्दामा थप तनाव र अनिश्चितता सिर्जना गरेको छ ।

    यसैबीच, हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गाजा सिटीमा स्थायी युद्धविरामको लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन तयार रहेको बताएका छन् । तर, हालसम्मका वार्ता प्रयासहरू असफल भएका छन् । गाजा सिटीमा इजरायली सेनाको आक्रमण र स्थानान्तरण आदेशले मानवीय संकटलाई थप गम्भीर बनाएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले नागरिकहरूको सुरक्षा र मानव अधिकारको सम्मान गर्न आह्वान गरेका छन् । गाजा सिटीका बासिन्दाहरूको स्थिति अत्यन्त कठिन छ, र यस सङ्कटको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको सक्रिय पहल आवश्यक देखिन्छ ।

  • उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

    उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

    २३ जेठ, काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन गरेको बताए ।

    मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे । बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतीसहित उपत्यकाका विष्णुमती, धोवीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको उनको भनाई थियो । “नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । तर, वृक्षरोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन । रूख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ,” उनले भने ।

    कार्यक्रममा रु ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा सहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए । कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको बताए ।

  • पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

    पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

    २३ जेठ, पोखरा । पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो ।

    प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती र गण्डकी प्रदेशका खेलाडी सहभागी छन् । प्रतियोगितामा महिला २२ र पुरुष ४८ गरी कुल ७० जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । प्रतियोगितामा ‘रिकर्व’ महिला÷पुरुष, ‘रिकर्व टिम इभेन्ट’, ‘रिकर्व मिक्स इभेन्ट’, ‘कम्पाउण्ड’, महिला र पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड’ महिला÷पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड मेन्स टिम इभेन्ट’ र ‘मिक्स इभेन्ट’ गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुने शेरचनले बताए ।


    कार्यक्रममा सदस्यसचिव घिसिङले निर्धारित मितिमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्दा आर्चरीसहित अन्य खेलकुद प्रभावित बनेको बताए । उनले प्राविधिक समस्याका कारणले तोकिएको मितिमा प्रतियोगिता नभएको उल्लेख गरे । “राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुँदा तयारी गरिरहेका खेलाडीलाई समस्या परेको छ । हामी तयारीलाई पूर्णता दिएर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्नेछौँ”, सदस्यसचिव घिसिङले भने । उनले इन्डोर प्रतियोगिताले खेलाडीभित्र रहेको क्षमता प्रदर्शनका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

    घिसिङले १९औँ एसियाली खेलकुदमा पनि नेपाली खेलाडीको सहभागिताले नेपालको आर्चरी खेलले प्रशंसा पाएको बताए । गण्डकी प्रदेशसभाका सांसद विकल शेरचनले ‘इन्डोर’ आर्चरीले गण्डकी प्रदेशको आर्चरी खेलको विकासमा सहयोेगी पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता यही जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकी तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको छ ।

  • नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

    नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

    २३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उनको भनाइ छ ।

    इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीको भनाइ छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । छिमेकीहरुका अनुसार आरोपित मानसिक रोगी थिए । उनले विवाह गर्ने विषयमा बुबासँग झगडा गरिरहने गरेको समेत खुलेको छ ।

  • भेरी नदीमा बेपत्ता दुई किशोर-किशोरीको शव फेला, एक वेपत्ता

    भेरी नदीमा बेपत्ता दुई किशोर-किशोरीको शव फेला, एक वेपत्ता

    २३ जेठ, काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए ।

    १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाई हुन् ।

  • बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी

    बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी

    २३ जेठ, बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ । बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

    आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले ग्यास पड्किँनुको कारण खुल्न नसकेको उल्लेख गरे । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

  • तीनपिप्लेमा माइक्रोबस दुर्घटना, आठ घाइते

    तीनपिप्लेमा माइक्रोबस दुर्घटना, आठ घाइते

    २३ जेठ, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका ३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर(३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा काभ्रे बनेपा नगरपालिका–१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । घाइते सबैको मेगा ग्रिनसिटी अस्पताल जरङ्खुमा उपचार भइरहेको छ । माइक्रोबस सडकबाट १० मिटर तल खसेको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रवक्ता बोहराले बताए ।

  • उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

    उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा

    २३ जेठ, धरान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन् । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए । उनले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राखे ।

    राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताए । उनले भने, “लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सवलीकरणको मार्गबाट अघि बढ्नुपर्छ ।”

    कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताए । राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उहाँले नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताए । उनले भने, “अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो ।”