Category: समाचार

  • भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित

    भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित

    २० जेठ, काठमाडौं । सङ्घीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन् ।
    श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण”मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए ।

    छानबिनका लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष पनि प्रतिपक्षी दलको बैठकले निकालेको छ । प्रधानमन्त्रीले सदनमा आएर यस विषयको जिम्मेवारी लिइ प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग प्रतिपक्षी दलको छ । सोहीकारण आज संसद सूचना टाँस गरी स्थगित गरियो ।

  • अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री

    अन्नपूर्ण क्षेत्रमा प्रधानमन्त्री

    २० जेठ, म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

    महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गरिएको छ ।
    प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका थिए । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

    आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।


    आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उनले जानकारी दिए । यसअघि काठमाडाँै, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।

  • गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

    गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

    २० जेठ, काठमाडौं । संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता डा प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन् ।

    निवेदनमा आयोगमा दर्ता भएर सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेका र सो संविधान र कानुनविपरीत भएको जिकिर गरिएको छ ।

    संविधानको धारा २६९ ९१० मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्ने भनिएकाले सोको परिपालना हुनुपर्ने निवेदनमा उल्लेख छ ।

    यस्तै, संविधानको धारा २७४ मा संविधानको संशोधन गर्दा समेत ‘जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधानको संशोधन गर्न नसकिने’ कुराको सुनिश्चितता गरिएबाट नेपालको संविधानको आधारभूत संरचना, चरित्र र संवैधानिक प्रबन्ध लोकतान्त्रिक, गणतान्त्रिक रहेको स्पष्टै रहेकाले संवैधानिक प्रबन्धलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत २०८२ जेठ १५ गतेदेखि गरेको आन्दोलनको नाममा गम्भीर प्रकारले उल्लङ्घन गरेकाले कारबाही गर्न माग गरिएको छ ।

    अधिवक्ता डा सिलवालले विधानसमेत पेस गरेको उक्त दलसँग स्पष्टीकरण लिई आन्दोलनका नाममा भएका संविधान तथा कानुनविरोधी कार्य रोक्न र त्यस्ता कार्य गरेकाले दलको दर्ता खारेजी गर्ने सम्मको कानुनी कारबाहीका लागि नेपाल सरकारको तर्फबाट आयोगमा लेखी पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि निवेदन दिएको जानकारी दिए ।

  • महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशी निमित्त प्रमुख

    महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशी निमित्त प्रमुख

    २० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् । पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

    यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए । यससँगै महानगरपालिकामा प्रमुख बालेन शाह र गुरागाइबीचको इगो अझ बढ्ने देखिएको छ । पाण्डे बालेनको आदेश पालक नगरप्रहरी हुन् ।

  • विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड

    विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्री ओलीको जोड

    २० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । स्पेनको सेभिलामा यही जुन ३० देखि आगामी जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले आह्वान गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वच्छ प्रणालीगत सुधारका लागि पनि आग्रह गरे ।

    विभिन्न राष्ट्र प्रमुख\सरकार प्रमुख सहभागी भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले घट्दो विकास सहायता र लगानीका बीच विकासोन्मुख मुलुकले आन्तरिक स्रोतबाट मात्रै धान्न नसक्ने भएको प्रभावकारी विश्व सहकार्यमा जोड दिए । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथै नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • यातायात व्यवसायीको आन्दोलन फिर्ता

    यातायात व्यवसायीको आन्दोलन फिर्ता

    २० जेठ, काठमाडौं । विभिन्न सात सुत्रिय मागपत्र राख्दै आन्दोलनरत यातायात सम्बध महासंघहरु र यातायात मजदुर सम्बध संघ, संगठनले यातायात बन्दको कार्यक्रम फिर्ता गरेका छन् । गण्डकी प्रदेश सरकारले रायड सेयरिङ सम्बन्धित नियमावली स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलन अन्तर्गत जेठ १६ गतेदेखि गण्डकी प्रदेशभरी र जेठ १९ गतेदेखि देशव्यापी रुपमा सार्वजनिक सवारीसाधन बन्द गरिएको थियो ।

    संघीय सरकारको जोडबलमा प्रदश सरकारलाई नियमावली फिर्ता लिन लगाएर सरकारले आन्दोलन फिर्ता गराएको हो । यससँगै यातायात व्यवसायीले पुनः एक पटक सरकारलाई झुकाउन सफल भएका छन् । यातायात व्यवसायी तथा मजदुरहरुका माग र मुद्दाका सन्दर्भमा जेठ १९ गते राति नेपाल सरकार र संघर्ष समिति सम्मिलित कार्यदलबीचको छलफलले ६ बुँदे निर्णय गरिसकेको थियो ।

    निर्णयको नम्बर १ का विषय गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ नियमावली स्थगनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २० गते गण्डकी प्रदेश सरकारलाई गरेको सिफारिसलाई गण्डकी प्रदेश सरकारले ग्रहण गर्दै नियमावली स्थगन गर्ने निर्णय गरेको हो ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोधको तयारीमा विपक्षी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोधको तयारीमा विपक्षी

    २० जेठ, काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ । आजको बैठक विपक्षी दलले भने अवरोध गर्ने तयारी गरेका छन् । उनीहरुले गृहमन्त्रीको राजिनामा मागिरहेका छन् ।

  • ९७ वर्षमा भट्टले पाइन् नागरिकता…

    ९७ वर्षमा भट्टले पाइन् नागरिकता…

    २० जेठ, दार्चुला । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस –६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ । ”


    जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरुलाई पायक पर्ने स्थानमैै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए । टोलीले व्याँस –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा एक सय ३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति रहेको थिए । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत एक सय ९७ ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।

    व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडामात्र रु एक हजार लाग्छ भने आवतजावत गर्न कम्तीमा रु तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताए ।
    रासस

  • सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति, तर सवारी अझै खुलेनन्

    सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति, तर सवारी अझै खुलेनन्

    २० काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको बैठकमा सहभागीले बताएका छन् । सरकार र यातायात व्यवसायीबीच वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

    सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको राससलाई जानकारी दिए ।

    छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्नेगरी सहमति भएको जनाउँदै त्यो नहुँदासम्म आन्दोलन यथावत् रहने बताए ।


    गण्डकी प्रदेश सरकारले ल्याएको निर्देशिकाका सम्बन्धमा सोमबार राति अबेरसम्म भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने जनाइएको छ । यसअघि आज बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा टोली गठन गरेको थियो ।

    उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी थिए । यातायात व्यवसायीले पनि यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली छलफलका लागि गठन गरेको थियो । सरकार र व्यवसायीका प्रतिनिधिबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो । त्यसपछि दुवै पक्षका वार्ता टोलीबीच यातायात मन्त्रालयमा भएको छलफल सोमबार अबेर राति छबुँदे सहमति गर्दै टुङ्गिएको हो ।

  • स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित, करण बने हिरो

    स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित, करण बने हिरो

    २० जेठ, काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो ।

    दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।

    कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए । गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए । भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए ।

    स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।

    स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए । कप्तान रिची बेरिङ्टन ४६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रनमा आउट भए । म्याथ्यु क्रस ५६ बलमा तीन चौकाको सहयोगमा ३९ रनमा आउट भए भने माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए ।

    ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ ।

  • भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु, छ जना बेपत्ता

    भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु, छ जना बेपत्ता

    २० जेठ, काठमाडौं । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ । मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा परी सैनिकको मृत्यु भएको हो ।

    सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ । सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ । भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । योसामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ । दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।

  • हिमानी र हृदयेन्द्रको उपस्थितिमा राजावादीले कमलादीमा गरे दीप प्रज्वलन

    हिमानी र हृदयेन्द्रको उपस्थितिमा राजावादीले कमलादीमा गरे दीप प्रज्वलन

    काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले दीप प्रज्वलन गरेका छन् । कमलादी गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्व राजपरिवारका सदस्यहरू पुगेका हुन् । मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह पनि पुगेका हुन् । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरूकी बुहारी हिमानी शाह छिन् ।


    हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ । आज कमलादीमा वाइसीएल नेपालको समेत कार्यक्रम थियो । नजिकै राजावादी पुग्दा दुबै पक्षबीच नारावाजी भएको थियो । प्रहरीको बाक्लो उपस्थितिका कारण अप्रिय घटना भने हुन पाएन ।

  • पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    १९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन गएकी उनी आज बिहान साढे १० बजेतिर स्वदेश फर्किएकी हुन् । उनीसँग चीन भ्रमणमा जानुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धि मुलुक र फलदायी रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बताए । भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन् मजबुत बनाएको उल्लेख गर्दै मन्त्री भण्डारीले भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको बताए ।


    “भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको छ”, मन्त्री भण्डारीले भने, “नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमुलक भयो ।” उनले भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीले अहिले नेपाली कांग्रेस र नेपाल कम्ष्युष्नि पार्टी (एमाले)को संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दै खुसी व्यक्त गरेको बताए । उनले पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च सम्मानसमेत गरिएको बताए ।

    चीनमा भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गरेकी थिइन् । जेठ १० पूर्वराष्ट्रपति भण्डारीसहित मन्त्री भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत चीन भ्रमणमा गएका थिए । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र गान्सु प्रान्त हुँदा चिनियाँ उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरुसँग भेटघाट गरेकी थिइन् ।

  • दिनभर चलेनन् सार्वजनिक सवारी, अत्यावश्यक सेवा चलाउन राज्य उदासित

    दिनभर चलेनन् सार्वजनिक सवारी, अत्यावश्यक सेवा चलाउन राज्य उदासित

    १९ जेठ, काठमाडौं । निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् । गण्डकी प्रदेश सरकारले गरेको निर्णयको विरोधमा व्यवसायीले यात्रुवाहक सार्वजनिक सवारीसाधन ठप्प पार्दा यात्रुहरूले सास्ती पाएका हुन् ।

    यात्रुबाहक सवारीसाधन सञ्चालन नभएपछि छोटो दूरीको यात्रा गर्ने यात्रु पैदल तथा तीन पाङग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतिक्षामा बसेका छन् । चर्को घाममा राजमार्गको छेउमा सवारीसाधन कुरेर बस्दा निकै सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटबाट बुटवलका लागि हिँड्नुभएकी राधिका क्षेत्रीले गाडी नचल्दा निकै दुःख पाएको बताइन् । उनले काखमा नाबालक छोरा बोकेर सवारीसाधन कुरिरहेकी थिइन् । “चर्को घाममा गाडी कुरेर बस्नुपरेको छ, उता गर्मीले बच्चा रोइरहेको छ,” उनले भनिन्, “जानैपर्ने काम भएर बुटवल हिँडेको गाडी कुरेर तीन घण्टा भइसक्यो ।”

    यात्रु बस बन्द भए पनि मालबाहक ट्रकमै यात्रा गर्न ट्रक रोक्दा उनीहरूलेसमेत लैजान नमानेको क्षेत्रीको भनाइ छ । “जसले जे माग राखेर आन्दोलन गर्दा पनि यात्रुले दुःख पाउँछन्,” उनले भने, “अत्यावश्यक सेवा मानिने सार्वजनिक सवारीसाधन बन्द गर्न नपाइने नियमको समेत पालना हुनसकेको छैन ।” बुटवलका केशव शर्मा वैदेशिक रोजगारबाट फर्किएर राति नारायणघाटमा बास बसेर बिहान बुटवल जान खोज्दा गाडी नपाएको बताए ।

    “हिजो आउँदा राति भयो, थकाइ लागेकाले नारायणघाटमा बास बसेँ,” उनले भने, “बिहान उठेर बुटवल जान गाडी कुर्दा गाडी नपाएपछि हिँडेर गैँडाकोटसम्म आएको छु, अहिले घर पुग्ने बेला भइसक्यो तर यतिकै बस्नुपरेको छ ।”

    यातायात व्यवसायीको सम्बोधन नहुने कुरामा सवारीसाधन बन्द गरेर यात्रुलाई दुःख दिन नहुने शर्माले बताए । केही यात्रु भने राइड शेयरिङ र तीन पाङ्ग्रे अटोमार्फत चर्को भाडा तिरेर गन्तव्यमा जान राजमार्गमा आउँदा सार्वजनिक सवारीसाधन नचलेपछि दुःखी छन् । “चितवनको टाँडीबाट पठाओ गरेर यहाँसम्म आएँ,” गुल्मीका प्रिन्स शाहीले भने, “बिहान ५ बजे गैँडाकोट आइपुगेको अहिलेसम्म गाडी चलेको छैन, घरमा छोरो आउँछ भनेर आमाबाले बाटो कुर्दै होलान् ।” गाडी बन्द हुन्छ भन्ने थाहा नभएर घरमा जान हिँडेको भन्दै शाहीले सरकारले व्यवसायीको कुरा नसुन्दा आफूहरूले दुःख पाएको गुनासो गरे ।


    “सरकारले व्यवसायीको माग सुनिदिएको भए बन्द हुने थिएन होला,” उनले भने, “नेपालमा आफ्नो माग पूरा भएन भने बन्द गर्‍यो, आन्दोलन गर्‍यो यो त चलेकै रीति हो । तर, यात्रुहरूलाई कहाँ जानु छ, बिरामी हुन्छन्, काममा जनुपर्छ यो बारे नसोचेपछि दुःख पाउने हामी जनताले नै हो ।” आफ्नो माग पूरा गराउने नाममा बन्द गर्नु राम्रो पक्ष नभएको उनको भनाइ छ ।

    यातायात व्यवसायी भने आफूहरूले यात्रुलाई दुःख नदिएको दाबी गर्दै आएका छन् । यातायात व्यवसायी दीपक मिश्रले सरकारले आफूहरूको कुरा नसुनेसम्म र निजी प्रयोजनका लागि खरिद गरिएको सवारीसाधनलाई यात्रु बोक्न दिने निर्णय नसच्याएसम्म गाडी नचलाउने बताए । “भाडाको गाडीले मात्रै सवारी बोक्न पाउनुपर्छ, निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न दिनु हुँदैन,” उनले भने, “हाम्रो यो माग सम्बोधन भयो भने गाडी खुल्छ होइन भने हाम्रो बन्द अनिश्चितकालीन हो ।”

    सार्वजानिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आजदेखि देशभर यात्रुवाहक सार्वजनिक सवारीसाधन अनिश्चित कालका लागि ठप्प परेको जनाएको छ । व्यवसायीले राखेको मागप्रति सरकार गम्भीर नबन्दा गरिएको सवारीसाधन बन्दले देशभरका यात्रुहरूले दुःख मात्रै पाएका छैनन् अत्यावश्यक कामसमेत ठप्प भएको छ ।

  • आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपाल भिड्दै

    आइसिसी विश्वकप लिग–२ : स्कटल्यान्ड र नेपाल भिड्दै

    १९ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो । स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन् ।

    त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई÷दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • प्रमुख तीन दलको बैठक : संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको आग्रह

    प्रमुख तीन दलको बैठक : संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको आग्रह

    १९ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    “सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राखे । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो”, प्रमुख सचेतक पाण्डेले भने, “हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाआँै भन्ने भएको छ ।”

    प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता सहभागी थिए ।

  • गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने : माओवादी केन्द्र

    गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने : माओवादी केन्द्र

    १९ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको उक्त बैठकले उक्त निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । नेता पुनले भने, “उहाँमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ, यो विपक्षीले भनिरहेका छैनन्, आमजनताले मिडियाले भनिरहेका छन्, त्यसैले उहाँले राजीनामा दिएर अख्तियारलाई छानबिनमा सहयोग गर्नुपर्छ ।”

    भिजिट भिसाको सन्दर्भमा सेटिङ भएको र अनियमितता भएको स्पष्ट तथ्य स्थापित रहेकाले त्यस विषयमा छानबिन हुनुपर्ने दलको बैठकले आज स्पष्ट निर्णय गरेको उनले जानकारी दिए । उनले हालसम्म सबै कोणबाट हेर्दा गृहमन्त्रीले राजीनामा दिने विषयबाट माओवादी पछि नहटेको र को तानिन्छ भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने बताए ।

    “तर आजको विषयलाई विषयान्तर गर्न हुँदैन, आजको तथ्य स्थापित छ की अनियमितता भएको छ, हजारौँ मान्छेलाई सेटिङमा पठाइएकोे छ, जो सेटिङमा परेनन् उनीहरुलाई फिर्ता गरिएको छ, दुःख पनि दिइएको छ”, पुनले भने, “गृहमन्त्रीलाई दोषी भनिएको छैन, छानबिनका लागि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने दलको निर्णय भएको छ ।”

  • दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

    दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

    १९ जेठ, दोधारा चाँदनी । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिए । उनका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन् ।” उनले भने, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।”

    भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रकम लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ । नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ ।

    बन्दरगाहका लागि प्रयोग हुने ४२।३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहँुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

  • हुम्लामा दुई सबस्टेसन निर्माण हुँदै

    हुम्लामा दुई सबस्टेसन निर्माण हुँदै

    १९ जेठ, हुम्ला । यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३र३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन् ।

    सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणधीन छन् । यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत्् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत्् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ ।” जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत्् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युत्को भरमा गाउँले छन् ।

    जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत् उत्पादन गरी विद्युत् वितरण गरेको छभने अदानचुलीमा हाल स्थानीयस्तरमा उत्पादन भएका १०० किलोवाटका दुई वटा विद्युत् आयोजना भएपनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्ना लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छभने वडा नम्बर १, २ र ३ का लागि बनेको छहराखेत जलविद्युत्को पावर हाउस गतवर्ष पहिरोले बगाउँदा पुनःनिर्माण हुन सकेको छैन ।

    ती प्रसारण लाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभि प्रसारण लाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए । यतिबेला ३३ केभि सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदुरपश्चिम हुँदै ११ केभिको एलटीलाईन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रीक एण्ड प्लम्बिङ सर्भिस प्रालिका सुनिल घिसिङले बताए । उनका अनुसार बाजुराको मार्तडी सबस्टेसनबाट, कोल्टी, खत्त्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजार ओटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ ।

    हुम्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन् । हुम्ला र मुगुका चार सब स्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सब स्टेशन कुम्णामा खटिनुभएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल मुगुको खत्याड र माङ्ग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेशन निर्माण भइरहेको छ ।

    हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए । विसं २०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियोे ।

    मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सब स्टेसन निर्माण भइरहेको छ ।

  • शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो

    शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो

    रासस
    १९ जेठ, त्रिवेणी । शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते जिल्लामा रहने सबै सरकारी कार्यालय एकै ठाउँमा निर्माण गर्ने गरी सदरमुकामको शिलान्यास गरिएको थियो । जिल्लाको कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा सदरमुकाम निर्माण गर्ने महत्वकाक्षी योजनाअघि सारिएको थियो । तर शिलान्यास भएको लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । हाल आएर सदरमुकाम निर्माणले गति लिएको छ ।

    नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माणको काम अघि बढेको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माणको काम थालिएकोमा अहिले थप भवन निर्माणको काम सुरु गरिएको छ । चौधरी कष्ट्रक्सनले रु ३० करोड ६५ लाख छ हजार पाँच सय २७ को लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माणको काम गरिरहेको छ ।

    विसं २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी कामअघि बढिरहँदा अहिले दोस्रो चरणमा भ्याटबाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप काम अघि बढेको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

    समानान्तर–बुद्ध हिमाली जेभीले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभाहल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवास गृह, सदरमुकामस्थल कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोला तटबन्ध, सदरमुकामस्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तार लगायतको काम गर्ने गरी ठेक्का प्राप्त गरेको आयोजनाका प्रमुख थापाले बताए ।


    सोहीअनुसार अहिले निर्माणका काम अघि बढेको उहाँले बताउनुभयो । विसं २०८२ वैशाख २९ गते निर्माणको सम्झौता भएको र विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको आयोजना प्रमुख थापाले बताए । आयोजनाको काम सुरु गर्न विविध कारणले ढिलो भएको र अब निर्धारित समयमा सम्पन्न गराउनका लागि आफूहरू लाग्ने उनले बताए । “सदरमुकामस्थलमा निर्माणको काम अहिले धमाधम अघि बढेको छ, निर्धारित समयमा थालिएका काम सम्पन्न गराउने गरी हामी लागि परेका छौँ”, आयोजना प्रमुख थापाले भने ।


    नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्टाइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालयहरू निर्माण हुनेछ । अहिले सङ्घस्तरका कार्यालयहरू निर्माणको काम अघि बढेको छ । तर प्रदेश मातहतका कार्यालय निर्माणको काम थालिएको छैन ।

    नमूना सदरमुकाम निर्माणको गुरु योजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय , पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरु योजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।

  • आज देशभरी सार्वजनिक यातायात बन्द, यात्रुलाई गम्भीर मार

    आज देशभरी सार्वजनिक यातायात बन्द, यात्रुलाई गम्भीर मार

    काठमाडौं । आज सार्वजनिक सवारी सञ्चालकहरुले देशैभरी बन्द आह्वान गरेका छन् । सार्वजनिक सवारी नचल्दा यात्रुको विचल्ली भएको छ । अत्यावश्यक काममा निस्कनु पर्ने यात्रु समेत आज विचल्लीमा परेका छन् । राजधानीसहितका शहर र राजमार्ग सुनसान देखिएको छ । यात्रुले हिँडेर गन्तव्यतर्फ लम्किरहेको देखिन्छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए ।

    काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् । बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ । यसै मेसोमा राइड सेयरिङको नाममा बढी भाडा असल्ने धन्धा समेत फस्टाएको छ ।

  • जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

    जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

    १९ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो ।

    दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन् । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।

  • गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

    गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

    एजेन्सी
    १९ जेठ, काठमाडौं । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

    घटनाबारे विवरण दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले भने, “अधिकांश घाइतेहरू शरीरको माथिल्लो भागमा चोटपटक भई गम्भीर अवस्थामा छन्,जसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।” उनले क्षेत्रमै जारी सैन्य गतिविधिका कारण एम्बुलेन्सहरूलाई घटनास्थलमा पुग्न कठिन भइरहेको बताए ।


    प्रत्यक्षदर्शीहरूका अनुसार, विहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो । गाजास्थित हमास नियन्त्रित सरकारी सञ्चार कार्यालयले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई सहायता वितरण केन्द्रहरूमा पुनःपुनः लक्षित आक्रमण हुने क्रमको एक भाग भएको बताएको छ । यस कार्यालयका अनुसार, उक्त सहायता केन्द्र एक अमेरिकी इजरायली कम्पनीको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालनमा थियो ।

    यता, इजरायली रक्षा बल (आइडीएफ) ले आइतवार एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता वितरणस्थलमा आफ्ना गोलीबाट घाइते भएकोबारे जानकारी नभएको उल्लेख गरेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सञ्चारमाध्यमहरूले इजरायली सेनाको उपस्थितिको उद्देश्य ‘आतङ्ककारी तत्व’ विरुद्ध लक्षित कारबाही रहेको बताएका छन् ।

    यसबीच, इजरायलले मार्च २ तारिखदेखि गाजातर्फ जाने सीमाहरू बन्द गर्दै मानवीय सहयोगको आपूर्ति कटौती गरेको थियो । मे २२ देखि सीमित मात्रामा सहायता पुनः प्रवेश गर्न दिइएको छ । मार्च १८ मा हमाससँग दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले गाजामा पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार, आइतवारसम्म कुल चार हजार १४९ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १२ हजार १४९ जना घाइते भएका छन् ।

  • युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

    युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

    एजेन्सी
    १९ जेठ, काठमाडौं । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । यो युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो । कीभले आक्रमण कुन स्थानमा भएको हो भन्ने खुलाएको छैन, तर अधिकांश सैनिकहरू आक्रमणको समयमा सुरक्षित आश्रयमा रहेको स्पष्ट पारेको छ ।

    हालका हप्ताहरूमा युक्रेनी सेनाले तालिममा रहेका सैनिकहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै छानबिनको मागको सामना गरिरहेको छ । गत महिना सीमा नजिकै तालिम लिइरहेका छ जनाको रुसी आक्रमणमा मृत्यु भएको थियो, जसलाई एक युक्रेनी विपक्षी नेताले सेनाको नेतृत्वद्वारा गरिएको ‘अपराध’ को संज्ञा दिएका थिए । “आज, जुन १ मा युक्रेनी सेनाको एक तालिम इकाई अवस्थित स्थानमा मिसाइल आक्रमण गरेको युक्रेनी सेनाले एक विज्ञप्तिमा जनाएको छ ।”

    स्थानीय समय अनुसार दिउँसो १२ः५० बजे सम्म कम्तीमा १२ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ । यसबाहेक, आइतवार नै रुसी सेनाले युक्रेनको उत्तर सुमी क्षेत्रमा अर्को गाउँ आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त क्षेत्रमा मस्कोले नयाँ स्थलआधारित आक्रमण सुरु गर्न सक्ने भन्दै कीभले चिन्ता व्यक्त गरेको छ ।

    युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार, रुसले हालका हप्ताहरूमा सुमी क्षेत्रमा कैयौं बस्तीहरू कब्जा गरिसकेको र सीमा पारि ५० हजार भन्दा बढी सैनिकहरू परिचालन गरिसकेको छ । सुरक्षा कारणवश सो क्षेत्रमा २०० भन्दा बढी गाउँहरूबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

  • भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

    भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

    १९ जेठ, पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र पहिरोले भारतको उत्तरपूर्वमा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । राज्य विपद् व्यवस्थापन अधिकारीहरूले असममा आठ जना र अरुणाचल प्रदेशमा नौ जनाको मृत्यु भएको र तीमध्ये धेरैको भूस्खलनमा मृत्यु भएको बताएका छन् ।

    छिमेकी राज्य मिजोराममा भूस्खलन हुँदा अन्य पाँच जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मेघालयमा छ जनाको ज्यान गएको छ भने नागाल्यान्ड र त्रिपुरा राज्यमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

    पछिल्ला तीन दिनमा निरन्तर मुसलधारे वर्षाका कारण यस क्षेत्रका धेरै जिल्लाका लागि चेतावनी स्तर चेतावनी जारी गरिएको छ । हिमालयबाट निस्केर भारतको उत्तरपूर्वबाट बङ्गलादेशको डेल्टातर्फ बग्ने शक्तिशाली ब्रह्मपुत्रसहित मुसलधारे वर्षाले बढेका नदीहरूले यस क्षेत्रभरि आफ्ना किनारहरू भत्काएका छन् । भारतीय सेनाले मणिपुर राज्यभरि ‘व्यापक उद्धार अभियान’ मा सयौँलाई बचाएको बताएको छ ।

    “मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ”, सेनाले शनिबार भन्यो, “खाना, पानी र आवश्यक औषधिहरू उपलब्ध गराइएको छ ।” मेघालय राज्यका मुख्यमन्त्री कोनराड के साङ्ग्माले अधिकारीहरूलाई ‘विशेष गरी भूस्खलन जोखिममा रहेका र तल्लो क्षेत्रहरूम’ उच्च सतर्कतामा रहन आदेश दिएका छन् ।
    एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा वर्षाको मौसममा अकस्मात् बाढी र पहिरोका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ ।

    जुनदेखि सेप्टेम्बरसम्म चल्ने भारतको वार्षिक मनसुन मौसमले तीव्र गर्मीबाट राहत दिन्छ र पानीको आपूर्ति पुनःपूर्तिका लागि महत्त्वपूर्ण छ, तर यसले व्यापक मृत्यु र विनाश पनि ल्याउँछ । दक्षिण एसिया तातो हुँदै गइरहेको छ र हालका वर्षहरूमा मौसमी ढाँचामा परिवर्तन देखिएको छ, तर वैज्ञानिकहरू तातो हुँदै गएको पृथ्वीले मनसुनलाई कसरी असर गरिरहेको छ भन्ने बारेमा स्पष्ट छैनन् ।

    गत महिना भारतको आर्थिक राजधानी मुम्बई सामान्यभन्दा दुई हप्ता चाँडो सुरु भएको मनसुनी वर्षाले डुबानमा परेको थियो । मौसम पूर्वानुमानकर्ताहरूका अनुसार मनुसुन लगभग एक चौथाई शताब्दीमा सबैभन्दा चाँडो भएको थियो ।

  • कोटेश्वर, बल्खु र सिफलबाहेकका ठाउँमा विरोधका कार्यक्रम गर्न निषेध

    कोटेश्वर, बल्खु र सिफलबाहेकका ठाउँमा विरोधका कार्यक्रम गर्न निषेध

    १८ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए ।

    काठमाडौँ प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला÷जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गर्दै उक्त आदेश जारी गरेको जनाएको छ ।

    प्रजिअ तिवारीद्वारा आज जारी आदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो आाएको तथा सार्वजनिक सम्पत्ति र समग्र शान्तिसुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जेठ १९ गतेदेखि लागू हुनेगरी तोकिएको स्थान बाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको उल्लेख छ ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (क) बमोजिम काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको उक्त आदेश आउँदो दुई महिनासम्म कायम रहने जनाइएको छ ।

  • कमल थापा र दीपक सिंहसहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै

    कमल थापा र दीपक सिंहसहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै

    १८ जेठ, काठमाडौं । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ । यहाँको निषेधित क्षेत्र तोड्न खाजेपछि आज दिउँसो पक्राउ गरिएकामा अहिले राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

    उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको बोहराले बताए ।

    रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।

  • सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    १८ जेठ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने चेतावनी दिएका छन् । मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उनले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना चाँडो सम्पन्न गर्न आग्रह गरे ।


    प्रधानमन्त्री ओलीले सुशासन र विकासमा जोड दिँदै भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासमा बामे सर्ने नभई रफ्तारमा काम गर्नुपर्नेमा जोड दिए । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मतीको सहायक मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने लक्ष्य छ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुु¥याइने जनाइएको छ । रु ४९ अर्ब ४२ करोडको लागतमा बन्ने सो आयोजनाको ‘हेडवक्र्स’मा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।

    प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमिका रूपमा रहेको मधेश प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य र आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए । उनले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुरमा रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता काममा गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे । प्रधानमन्त्री ओलीलेसुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गरे ।

  • देखाइयो मच्छिन्द्रनाथको भोटो, राष्ट्रपतिसहित उच्च पदस्थले गरे भोटोजात्रा अवलोकन

    देखाइयो मच्छिन्द्रनाथको भोटो, राष्ट्रपतिसहित उच्च पदस्थले गरे भोटोजात्रा अवलोकन

    १८ जेठ, पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आज अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भए ।
    राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरे । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । त्यस अवसरमा उनले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीको समेत दर्शन गरे ।


    भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भए । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ ।

    ललितपुर, १८ जेठ : रातो मच्छेन्द्रनाथको भोटो देखाउँदै वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

    गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पु¥याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए ।

  • राइड सेयरिङलाई प्रदेश सरकारले मान्यता दिएसँगै देशैभरी यातायात व्यवसायी आन्दोलित, मर्कामा यात्रु

    राइड सेयरिङलाई प्रदेश सरकारले मान्यता दिएसँगै देशैभरी यातायात व्यवसायी आन्दोलित, मर्कामा यात्रु

    १८ जेठ, काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न दिएकामा आपत्ति जनाएका छन् । यातायात व्यवसायी तथा मजदुरले आज एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा निजी सवारीसाधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएकामा आपत्ति जनाएका हुन् । यातायात व्यवसायी तथा मजदुरले सोमबारदेखि सवारीसाधन थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताए । प्रदेश सरकार र सङ्घ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको उनको भनाइ थियो ।

    आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजजुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले ऐक्यबद्धता जनाएका छन् ।