काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएकामध्ये २८९ विदेशी पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिए । उनका अनुसार हालसम्म भारतका १८०, चीनका ८९, माल्टा चार, जर्मन चार, इटाली दुई, बुल्गेरिया एक, ओमन एक, पोर्चुगल एक, रसिया दुई, स्वीजरल्याण्ड एक, टर्की दुई र अमेरिकाका दुई पर्यटकको उद्धार गरिएको हो ।
त्यस्तै, विभिन्न देशका ५९१ पर्यटक अझै सम्पर्कविहिन रहेका निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।
यसैबीच, बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा सडक र मौसमको अवस्था बुझेर यात्रा गर्न बोर्डले आग्रह गरेको छ । पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोलफ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।
काठमाडौँ, १४ भदौः बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ । विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
नयाँदिल्ली, १४ भदौ (रासस–एएफपी) । हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका छन्। युएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत–नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहावका कारण भएको थियो। घटनामा करिब तीन हजार मानिस बेपत्ता भएका छन् भने ६३३ जनाको मृत्यु पुष्टि भएको छ।
हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन्। “नेपालसँग हाम्रो सीमा जोडिएको र भौगोलिक अवस्था पनि समान भएकाले हामीले सम्बन्धित विभागलाई यस क्षेत्रका सबै हिमनदी र ज्ञात हिमनदीजन्य तालको निगरानी गर्न निर्देशन दिएका छौँ”, भारतको हिमाली राज्य उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले भने ।
“हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौँ”, उनले एएफपीलाई बताए । सरकारी तथ्याङ्कअनुसार उत्तराखण्डमा एक हजार २६६ हिमनदीजन्य ताल छन्। यसका कारण राज्यलाई भारतको संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ।
वैज्ञानिकहरूका अनुसार हिमाली हिमनदीले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउँछन्। तर जलवायु परिवर्तनका कारण ती पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेका छन्। यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई अप्रत्याशित तथा विनाशकारी विपत्तिको जोखिम बढाएको छ।
म्याड्रिड, १४ भदौ (रासस–एएफपी) : रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डि’ओर जित्न योग्य रहेको बताएका छन् । उनले भन्नुभयो, “यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताले निर्धारण गर्ने नभई ‘विश्वको उत्कृष्ट खेलाडी’ लाई दिनुपर्छ। “विश्वका उत्कृष्ट खेलाडीहरू हातमा गन्न सकिने अर्थात् दुई, तीन वा चार जना छन् र हामीलाई थाहा छ उनीहरू को हुन्,” मउरिन्होले शनिबार ला लिगामा मालागाविरुद्धको खेलअघि पत्रकारहरूसँग भने ।
एमबाप्पेको सन्दर्भमा सङ्केत गर्दै उनले भने, “मेरो विचारमा व्यक्तिगत रूपमा यस ग्रीष्मकालमा इतिहास रच्न सफल एउटा योग्य खेलाडी हुनुहुन्छ र उनी नै बालोन डि’ओरका लागि योग्य हो ।” एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । फ्रान्सका कप्तान एमबाप्पे बालोन डि’ओरका दाबेदारहरूमध्ये एक हुन् । उनी गत सिजनमा ला लिगा, च्याम्पियन्स लिग र सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । ”
उनका प्रतिद्वन्द्वीहरूमा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केन, स्पेनका मिडफिल्डर तथा विश्वकप विजेता रोद्री, र पेरिस सेन्ट–जर्मेनका युरोपियन च्याम्पियन ओउस्मान डेम्बेले र ख्विचा क्वारात्स्केलिया छन्। एमबाप्पेले बुधबार रियल सोसिएदादविरुद्ध ४–१ को जितमा ह्याट्रिक गरेका थिए । शनिबार म्याड्रिडस्थित खेलकुद दैनिक एएसको अग्रपृष्ठमा ‘एमबाप्पे बालोन डी’ओरको लक्ष्य’ शीर्षकमा उनी देखिएका छन् । “च्याम्पियन्स लिग वा विश्वकप जितेकै कारण मात्र बालोन डि’ओर दिन सकिँदैन,” मउरिन्होले भने । उनले भने, “मेरो बिचारमा बालोन डि’ओर म्याराडोना, रोनाल्डिन्हो, रोनाल्डो नाजारियो, क्रिस्टियानो रोनाल्डो, मेस्सी, जिदानजस्ता ती खेलाडीहरूलाई जानुपर्छ जो सेवानिवृत्त हुँदा सधैँ याद गरिनेछन् ।” मउरिन्होले थपे, “यदि हामी च्याम्पियन्स लिगलाई पुरस्कृत गर्न चाहन्छौँ भने लुइस एनरिकलाई दिउँ । स्पेनी राष्ट्रिय टिमका लागि (लुइस) दे ला फुएन्तेलाई दिऊ । विश्वको उत्कृष्ट खेलाडी भनेको अर्कै कुरा हो र उहाँ न त पिएसजीमा हुनुहुन्छ न स्पेनी टिममा रहनुभएको छ ।”
वासिङ्टन, १४ भदौ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताएका छन् । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ । सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताए ।
“संयुक्त राज्य अमेरिकाले भर्खरै भेनेजुएला राष्ट्रसँग विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता गरेको छ”, ट्रम्पले लेखेका छन् । रोड्रिगेज नेतृत्वको सरकारले जारी गरेको विज्ञप्तिअनुसार सम्झौतामा ६५ अर्ब ब्यारेल प्रमाणित क्षमता भएका १७ वटा तेल क्षेत्रको विकास समावेश छ । यसबाट भेनेजुएलाको तेल उद्योगमा १०० अर्ब डलरसम्म लगानी भित्र्याउन तथा सरकारलाई २०९ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुन सक्ने अनुमान गरिएको छ । रोड्रिगेजले टेलिग्राममा सम्झौताले “राष्ट्रको पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने”, बताए ।
सम्झौताबारे जानकार एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले भेनेजुएलाको एक अज्ञात निजी सञ्चालकसँग मिलेर तेल क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ निजी कम्पनी स्थापना गर्न सक्नेछ । सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीले रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकासका लागि १०० वर्षको अधिकार दिएको बताए । ती अधिकारीका अनुसार नयाँ कम्पनीमा अमेरिकाले प्रभावकारी रूपमा ५५ प्रतिशत उत्पादन हिस्सा पाउनेछ । यसमा स्वामित्वको हिस्सा र लागत मूल्यमा तेल खरिद गर्ने अधिकारसमेत समावेश हुनेछ । उक्त कम्पनी साउदी आरामको पछि प्रमाणित तेल भण्डारको स्वामित्व राख्ने विश्वकै दोस्रो ठूलो कर्पोरेट संस्था बन्न सक्ने उनको दाबी छ ।
तेलको मूल्य घटाउन दबाब ट्रम्पको घोषणापछि अमेरिकामा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि भेनेजुएलाको तेल उत्पादन तत्काल बढ्न नसक्ने विज्ञहरूले बताएका छन् । देशको जीर्ण तेल पूर्वाधारको मर्मत तथा विस्तार गर्न वर्षौं लाग्ने र अर्बौं डलर आवश्यक पर्ने उनीहरूको भनाइ छ । अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पमाथि दबाब बढिरहेका बेला सम्झौता भएको हो । इरानविरुद्ध जारी अमेरिका–इजरायल द्वन्द्वका कारण होर्मुज जलसन्धिबाट हुने खाडी क्षेत्रको तेल ढुवानीमा ठूलो कमी आएको छ । द्वन्द्वअघि विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।
अमेरिकाले इन्धनको आपूर्ति व्यवस्थापन गर्न रणनीतिक पेट्रोलियम भण्डारसमेत प्रयोग गरेको छ । अगस्तको सुरुवातमा उक्त भण्डार ३० करोड ब्यारेलभन्दा तल झरेको थियो, जुन सन् २०२६ को सुरुआतयता १० करोड ब्यारेलभन्दा बढीको कमी हो ।
एएएका अनुसार शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन करिब चार दशमदव ०९ डलर थियो । गत वर्ष सोही समयमा औसत मूल्य तीन दशमलव २१ डलर रहेको थियो । लगानीका चुनौती
भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई पुनः लगानीका लागि आकर्षित गर्न भने राजनीतिक अनिश्चितता र दशकौँदेखि कमजोर बनेको पूर्वाधार चुनौती बन्न सक्ने देखिएको छ । मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूलाई बोलाएर भेनेजुएलामा पुनः लगानी गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले त्यहाँको सम्भावनाप्रति चासो देखाए पनि विगतको अनुभवका कारण सावधानी अपनाउनुपर्ने बताएका थिए ।
अमेरिकी सबैभन्दा ठूलो तेल कम्पनी एक्सनमोबिलका प्रमुख कार्यकारी अधिकृत ड्यारेन वुड्सले त्यतिबेला भेनेजुएलालाई लगानी गर्न नसकिने देशका रूपमा हेरेका थिए । ट्रम्पले भने आफ्नो प्रशासनले भेनेजुएलामा स्थिरता ल्याएको दाबी गरेका छन् । उनले पूर्वराष्ट्रपति ह्युगो चाभेजको सरकारले दशकौँअघि अमेरिकी तेल कम्पनीहरूको स्वामित्वमा रहेका सयौँ सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै भेनेजुएलाले अमेरिकी तेल चोरेको आरोप लगाउँदै आएका छन् ।
रोड्रिगेजले सत्ता सम्हालेपछि तेल क्षेत्रलाई निजी लगानीका लागि खुला गर्ने कानुनमा हस्ताक्षर गरेका थिए । यसले दुई दशकभन्दा लामो समयदेखि देशमा शासन गर्दै आएको समाजवादी आन्दोलनको नीतिमा ठूलो परिवर्तन ल्याएको छ । रुबियोले सम्झौताले भेनेजुएलामा अर्बौं डलर निजी लगानी भित्र्याउने र अमेरिकामा ग्यासको मूल्य घटाउने दाबी गरेका थिए ।
अमेरिकी अधिकारीका अनुसार नयाँ कम्पनीबाट खरिद गरिने तेल अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार पुनः भर्न तथा सैन्य प्रयोजनमा प्रयोग गरिनेछ । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारमध्ये एक रहेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार त्यहाँ करिब ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ, जुन विश्वको कूल आपूर्तिको करिब १७ प्रतिशत हो । तर कमजोर पूर्वाधारका कारण भेनेजुएलाले विश्वको करिब एक प्रतिशत मात्र तेल उत्पादन गर्दै आएको छ । मादुरो हाल अमेरिकामा जेलमा छन् । उनले आफूविरुद्धका आरोपमा दोषी नभएको स्वीकार गरेका छन् ।
काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ । विभागका मौसमविद् डेविट ढकालले भने, “बाढीप्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ । दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । अपराह्न ४ः०० बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना रहेको छ ।”
विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैबीच, विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको र माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावनासमेत रहेकाले थप वर्षाका कारण राहत, उद्धारमा समस्या आउने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यसकिसिमको विषम परिस्थितिमा नदी तटीय क्षेत्रका प्रभावित बासिन्दा तथा खोज–उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन उनीहरुले अनुरोध गरेका छन् ।
काठमाडौँ, १४ भदौः तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ । हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।
नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।
एसियन क्रिकेट काउन्सिल ९एसिसी० का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।
नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहो¥याउने लक्ष्यमा छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताउनुभएको छ । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उहाँको भनाइ छ ।
‘‘प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ । भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ । मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई निगरानी गरेका छन् । त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ,’’ चौधरीले रासससँग भने ।
टोलीमा रहेका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उनले बताए । ‘‘देव खनाल, आसिफ शेख, अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यसपटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो,’’ उनले भने । मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताए । उनका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन् ।
‘‘नेपालले घरबाहिर खेल्दैछ । केही चुनौती अवश्य छन् । तर, प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले खेलाडीहरू केही अभ्यस्त भइसकेका छन् । प्रतियोगितामा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान र युएई हुन् । विगतमा पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्,’’ पूर्वखेलाडी चौधरीले भने ।
काठमाडौँ, १४ भदौः विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताए । “ सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ । रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पु¥याउनु पनि उत्तिकै आवश्यक छ,” उनले भने ।
बितेका नौ घण्टामा आरुघाटसहित बूढीगण्डकी जलाधार क्षेत्रमा भारी वर्षा भएकाले धादिङको बेनिघाटदेखि तल्लो त्रिशूली नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । “हिमपहिरो खसेको ठाउँमा बनेको ताल र त्यसमा मिसिने खोल्साहरू पनि लगातारको वर्षाले भरिने र बग्ने हुँदा बेलाबेलामा बाढीको जोखिम बढेको हो,” उपाध्यायले भने ।
भोजपुर, १४ भदौः भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई सम्पर्कविहीन भएका हुन् ।
भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा कार्यरत उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ, १४ भदौः काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ । सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।
निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि त्यसको अगाडि र पछाडि ब्यानर राखिएको छ । दुवै सवारीसाधनमा नगर प्रहरी राखिएको छ । उक्त सवारीसाधनमा परिचालन गरिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मानन्धर, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापालगायत सभागृहमा सहभागी थिए ।
कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा कार्यथलो भएर विपद्पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जाने व्यक्तिलाई लक्षित गरी यो सेवा थालिएको हो । यी सवारीसाधनले दिनमा दुईपटक यात्रु ओसार्नेछन् ।
चार शववाहन परिचालन
यसैबीच, काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीग्रस्त क्षेत्रमा चारवटा शववाहन परिचालन गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलका अनुसार विपद् व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले पनि सक्दो सहयोग गर्न शनिबार चारवटा शववहानको व्यवस्था गरेको हो ।
काठमाडौँ महानगरपालिकाले शनिबार नुवाकोट पठाएका चारवटा शववाहनमध्ये एउटाले पाँचवटा शव ल्याएको छ । त्रिशूली सैनिक तालिम केन्द्रबाट चार पुरुष र एक महिलाको शव लिएर फर्किएको हो । यसरी ल्याइएका शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछन् । सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहन परिचालन गरेको हो ।
काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएमध्ये १६ देशका २६१ पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिए । उद्धार गरिएका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना रहेका छन् ।
यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारकार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
वाशिङ्टन डिसी, १४ भदौः अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ । विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।
मुस्ताङ,१४ भदौः उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ ।
एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो । ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको र हाल जोखिम नदेखिएको उनले बताए । अनुगमनको दोस्रो चरणमा लोमान्थाङ माथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ । समुद्रसतहबाट करिब पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नदेखिएको पौडेलले बताए । अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रको कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उनले बताए । ती क्षेत्रमा हिमताल रहेको जिपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको उनको भनाइ छ ।
गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो । उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ । विपद्को सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद् पूर्वतयारीलाई सुदृढ बनाइने भएको छ ।
रसुवा, १४ भदौः भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिए ।
ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटबाट धेरै माथि रहेका धुञ्चेवासीसमेत माथिल्तिर अवस्थित अस्पताल क्षेत्र तथा खेलमैदानमा एकीकृत भई बसेका थिए । अहिले पानीको बहाव घट्न थालेसँगै स्थानीयवासी आआफ्नो घरतर्फ लागेका छन् ।
बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरेको र नुवाकोट प्रशासनले सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारीप्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए । यसैबीच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढीप्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको र पुनः बाढीपछिको क्षतिको विवरण प्राप्त नभएको उनले बताए ।
काठमाडौँ, १३ भदौः नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमित रुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ । निगमका अनुसार भदौ १० मा १२ हजार लिटर, भदौ ११ मा हेलिकप्टर र ट्रयाङकरमार्फत १० हजार ८४० लिटर पठाएको थियो । त्यसैगरी भदौ १२ गते नौ हजार लिटर र भदौ १३ गते नौ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका पेट्रोलपम्पलाई भदौ १३ गतेसम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ ।
निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा २३२ थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ । त्यसैगरी एलपी ग्यास उद्योग सङ्घबाट पनि नुवाकोट र रसुवाका लागि १५० थान सिलिण्डर राहत कार्यमा पठाइएको जनाएको छ ।
गोरखा, १३ भदौः भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ । पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अङ्गहरूको अन्त्येष्टि गरेको प्रमख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । “गोरखामा शवगृहको अभाव छ । दैनिक शव फेला पर्नेक्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्टि गरेका हौँ”, उनले भने ।
उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए । पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्टि गर्नु परेको उनले बताए । प्रजिअ श्रेष्ठका अनुसार गोरखामा २३ वटा पहिचान खुल्नसक्ने सग्लो शव भेटिएका छन् । हालसम्म फेला परेका सग्ला शवमध्ये ११ वटा पोखरा पठाइएको छ । बाँकी शव भने प्रदेश अस्पताल गोरखा एवं एनपिआइ गोरखा अस्पतालको शवगृहमा राखिएको र केही शव अस्पतालसम्म आइपुग्दै छन् ।
जिल्ला प्रहरी कार्यालयलले २९ वटा शवको सहिदलखन गाउँपालिका–९ बुङ्कोटघाटस्थित बूढीगण्डकीको किनारमा अन्त्येष्टि गरेको छ । प्रहरीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार गाडेर शवको अन्त्येष्टि गरिएको जनाएको छ ।
काठमाडौँ, १३ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक ९डिआइजी० अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् । विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।
रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् । बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ, १३ भदौः नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् । टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।
नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिकास्थित कालिकास्थानको टावरबाट पनि सेवा पुनःसञ्चालनमा आएको छ । त्यस्तै, नुवाकोटका तुप्चे र बुङ्ताङ बिटिएस पनि आजदेखि सञ्चालनमा आएका छन् । ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ । यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका छन् ।
काठमाडौँ, १३ भदौः बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो । शवको डिएनएलगायत अन्य पहिचान सहयोग गर्ने आधारहरू सुरक्षित राखेर मात्रै सरकारले शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागेको हो । पछि आफन्त–परिवारसँग डिएनए ‘म्याच’ गराइ ती शव अन्त्येष्टिका लागि जिम्मा लगाइनेछ । निर्देशिकामा भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यद्यपि सरकारको यो कार्यलाई लिएर भ्रम सृजना गर्ने प्रयास भइरहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । उनले भने, “हामीले शव जमिनमुनि व्यवस्थापन गर्दा निर्देशिका पालना गरेका छौँ, त्यति मात्रै होइन वैज्ञानिक प्रक्रियासमेत पूरा गरेका छौँ । त्यसैले यस विषयलाई लिएर जनमानसमा भ्रम नफैलाउन आग्रह गर्दछौँ ।”
शव लामो समयसम्म अलपत्र पर्दा जनस्वास्थ्यमा असरपर्ने जोखिम बढेको थियो । त्यसकारणले पनि शवको जमिनमुनि व्यवस्थापन अत्यावश्यक भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्यविद् डा अमृत पोखरेलको भनाइ छ । “शव लामो समयसम्म व्यवस्थापन नगरी राख्दा वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्दै जाने भएकाले वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नु आवश्यक हुन्छ । पहिचान नभएका शव तथा मानव अङ्गको डिएनए नमुना सङ्कलन गरी सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गर्नु वैज्ञानिक र जिम्मेवार कदम हो”, उनले भने ।
शव आफन्तले कसरी पहिचान गर्ने ?
पहिचान नभएका शव गाडिएपछि आफन्तले कहिल्यै पहिचान गर्न नसक्ने भन्ने होइन । सरकारले प्रत्येक शवको डिएनए नमुना सुरक्षित राख्ने व्यवस्था गरेको छ । त्यसैगरी, प्रत्येक शवलाई छुट्टै र विशिष्ट सङ्केत नम्बर दिइनेछ । शवको विवरण, सङ्केत नम्बर र डिएनए नमुनासहितको अभिलेख सुरक्षित राखिने भएकाले भविष्यमा कसैले आफ्नो आफन्त भएको दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सकिनेछ । अर्थात्, शवलाई जमिनमुनि व्यवस्थापन गरिए पनि पहिचानका लागि आवश्यक वैज्ञानिक प्रमाण सुरक्षित रहनेछ ।
पहिचान खुलेपछि शव निकाल्न मिल्छ ? ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ ले भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । संशोधित निर्देशिकाले विपद्का कारण मृत्यु भएको पुष्टि भएपछि पहिचानका लागि आवश्यक परीक्षण गर्ने प्रक्रियालाई पनि सहज बनाएको छ ।
रसुवा, १३ भदौः जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबँेसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय घले र रसुवागढी हेल्थ डेस्कका स्वास्थ्यसहायक गोविन्द यादव सम्पर्कविहीन छन् ।
यसैगरी, मैलुङ सामुदायिक स्वास्थ्य इकाइकी अनमी विनिशा शाही, उत्तरगया गाउँपालिकाका स्वास्थ्य प्रमुख बलराम न्यौपाने र जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने पनि सम्पर्कविहीन भएको प्रमुख घर्तीमगरले जानकारी दिए । बाढीका कारण प्रभावित क्षेत्रका स्वास्थ्य चौकीको भवन पूर्ण रुपमा क्षति भएका छन् । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको जनाइएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत शङ्करप्रसाद कडेलले दोबुताम्बु अस्पताल गोलजुङमा उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए ।
१३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् । सुरुङको माथिल्लो भागमा उद्धार टोली पुगेको र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको उनले बताएका छन् । अब अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाइने उनले जानकारी दिएका छन् । सुरुङमा धेरै कामदार थुनिएको खबर छ ।
१३ भदौ, काठमाडौं । रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपपछि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा कठिनाई देखिएको छ । ऊर्जा मन्त्रालयले यसमा निरन्तर प्रयास गरिरहेको बताएको छ । मन्त्रालयका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको अवस्था बारे जानकारी लिन तथा उद्धार कार्यलाइ तिव्रता दिन मन्त्रालयका सचिव सहितको विज्ञ टोली नुवाकोट र रसुवाको स्थलगत निरिक्षण भ्रमणमा पुगेको छ । सो क्रममा सुरक्षा निकाय तथा अन्य सम्वन्धित निकायलाइ उद्धार कार्य तीव्र बनाउन, प्रभावित नागरिकको जनजीवन सहज बनाउन र सुरुङभित्र फसेका व्यक्तिहरूको शीघ्र उद्धार गर्न निर्देशन दिइएको थियो ।
सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि प्रतिकूल मौसम तथा अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली ३ ए र त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेका व्यक्तिलाइ उद्धार गर्न आयोजनास्थलको रेकी, रेखाङ्कन तथा उद्धार कार्य निरन्तर अघि बढाइएको छ । सुरक्षा निकायबीच निरन्तर समन्वय गरी उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न सुरुदेखि नै घटनास्थलमा खटिँदै आएका टोली बाहेक थप उद्दार टोलि हेलिकप्टरमार्फत घटनास्थलतर्फ परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा त्रिशूली ३ ए को सुरुङ्ग भित्र फसेका व्यक्तिलाइ उद्धार गर्न उच्च प्राविधिक दक्षता भएका भारतीय विज्ञ टोलि हेलिकप्टरबाट आयोजनामा गएको तर प्रतिकुल मौसमका कारण अवतरण हुन नसकेको अवस्था छ । ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको छ । चिनियाँ टोली हेलिकप्टर मार्फत त्रिशूल ३ बी जलविद्युत आयोजना स्थल पुगेको छ । उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय गर्दै सुरुङभित्रको अवस्थाको प्राविधिक रेकी तथा प्रारम्भिक मूल्यांकन गरिरहेको बताइएको छ । उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा स्ट्यान्डबाई अवस्थामा रहेका थप चिनियाँ प्राविधिक विज्ञलाई समेत तत्काल परिचालन गर्ने तयारी गरिएको छ ।
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शनिबार साँझसम्म रसुवा बाढीको अवस्था सार्वजनिक गरेका छन् । यस्तो छ, प्रधानमन्त्रीको पुरै विवरण
…..रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ। बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ।
संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ। राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौं। प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुनःस्थापनालगायतबारे संक्षिप्त विवरण निम्न अनुसार छः
खोजी तथा उद्धारः प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज साढे पाँच बजेसम्म ७,५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा भारतीय र चिनियाँ विज्ञहरु नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८,७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ। हामीलाई प्राप्त सुझाव र गुनासोलाई समेत ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीहरूको संख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्।
तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन। ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ। उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौं।
उपचार तथा मनोपरामर्शः प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेका छौं। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौंबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ।
यस्तै, काठमाडौंबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा २ गरी ५ स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ। साथै, घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान गरिरहेका छौं। अस्पतालहरूमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ। प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिसकेका छौं। विभिन्न अस्पतालहरूमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी छ।
नागरिक व्यवस्थापनः प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा ३, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ। यी शिविरहरूका लागि संघीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रहरू समेत परिचालित छन्।
बाढीबाट विस्थापित करिब ३,५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनहरूमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
राहत संकलनः नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शीरूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ कोड र खाताको नाम ९प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष० मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। पीडितहरूका तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरुको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ।
यसैक्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ। संकलित राहत सामाग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याउने काम भइरहेको छ। साथै, मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याउने गरिएको छ।
त्यहाँ संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरु सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिरहेको छ। आज मात्रै एमआइ—१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। साथै,आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ। विभिन्न संघसंस्था र सहयोगी निकायहरुले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरुमा राहत सामग्री पठाउने क्रम जारी छ।
अन्तर्राष्ट्रिय सहयोगः प्रभावितको व्यवस्थापन र पुनःस्थापनाका लागि एशियाली विकास बैंक ९एडीबी०बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर ९नगद सहयोग०, एशियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता आएको छ।
साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीबिज्र सहयोग अनुरोध गरिएको छ। भारतबाट २ हजार र चीनबाट २ हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ। स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्र्याङ्क ९संयुक्त राष्ट्र संघ० बाट खर्च हुनेगरी प्राप्त भएको छ। यस्तै, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट सहयोग प्राप्त हुनेक्रम जारी छ।
सञ्चार सम्पर्कः प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो। सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनः सञ्चालनमा ल्याएको छ।
जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ। वैकल्पिक सडक सञ्चालनः बाढीले मुख्य सडकहरूमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ।
यो सडकखण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।
शव व्यवस्थापनः हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिदैछ। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरुलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरु सुरक्षित राखी सरकारले आफै व्यवस्थापन गर्न लागेको हो। परिवारले पहिचान गरेका शव भने उहाँहरुलाई जिम्मा लगाउने काम भइरहेको छ। त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौं।
विपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्थाहरूले देखाउनुभएको धैर्यता, तत्परता र सहयोगप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ। विपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्य—तथ्य खोजिरहेको हुन्छ। त्यसैले पीडितहरुको जीवन रक्षा र उहाँहरुको मनोवल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत अनुरोध समेत गर्दछौं। नेपाल सरकार प्रभावित नागरिकहरुको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ। धन्यवाद
काठमाडौँ, १३ भदौः जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको राससलाई जानकारी दिए । “एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उनले भने ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् । यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पु¥याइएको छ भने यो क्रम जारी छ ।
प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ । जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ । साथै धादिङमा संकलन गरिएका २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेशनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ ।
तनहुँमा फेला परेका शवमध्ये नौ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । गोरखामा भेटिएका शवमध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ । नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवमध्ये ६ मध्यविन्दु नगरअस्पताल चोरमारामा, ३६ गैँडाकोट नगर अस्पतालमा, २२ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा, चार शव जिल्ला अस्पताल पाल्पा, दुई मिसन अस्पताल पाल्पा, दुई लुम्बिनी अस्पताल पाल्पा र ४१ गण्डकी अस्पताल पोखरामा राखिएको छ ।
पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये ८ पृथ्वी चन्द्र अस्पताल परासी, ११ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही, तीन वा शव भीम अस्पताल भैरहवा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ । अन्य शवहरुलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शवहरु संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ ।
काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा रु ६ करोड ७५ लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ ।
प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार उक्त रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित स्थानीय वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा उक्त अनुदान वितरण गरिनेछ ।
प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई विपद्् व्यवस्थापन कोष सञ्चालन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत स्वरुप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थमन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णय गरेको थियो ।
भक्तपुर १३ भदौः भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व शुक्रबार साँझबाट सुरुआत भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो । प्रत्येक वर्ष जनै पूर्णिमाको दिन साँझ भक्तपुरको तलेजुबाट घिन्तागिसी नाच निस्केर टोलटोलमा प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु हुने परम्पराअनुसार नै आज साँझ तलेजुको घिन्तागिसी निस्कालेर जात्रा सुरु भएको हो ।
आज तलेजुको घिन्तागिसी नाच निस्किए पछि टोलटोलमा अरु नाच पनि निस्किएको छ । गाईजात्राको दिन बिहानैबाट भक्तपुरमा विशेष जात्रा सुरु हुन्छ । बिहान डोकोमा गाई बोकेर, जिउँदो गाई नगर परिक्रमा गराउने र त्यसपछि भने दिनभरि मृतक परिवारबाट ताहमचासहित घिन्ताडगिसी नाच प्रर्दशन गर्ने, माटोबाट बनेको गाईसँगै भजन प्रदर्शन गर्ने गरिन्छ ।
भक्तपुरको गाईजात्राको विशेष आकर्षण साँझ लाकुलाछें (पोटरीस्क्वायर)बाट निकालिने भैलद्य (परालबाट बनाइएको गाईको प्रतीक)सहितको घिन्तागिन्सी परिक्रमा गराए पछि त्यस दिनको जात्रा सम्पन्न हुन्छ । प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु भई कृष्ण जन्माअष्टमीसम्म चल्ने गाईजात्रामा गाईजात्राको दिन दिनभरी नै विशेष जात्रा हुने र जात्राको अवधिमा प्रत्येक दिन साँझ नगरका टोलटोलमा घिन्तान्गिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गरिन्छ ।
संस्कृतिविद् डा कमलभक्त जोशीले भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धूमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन प्रदर्शन गरिने बताए । गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा रहेको बताउदै त्यस क्रममा गाईजात्राका दिन ताहमचासहित विशेष नाच घिन्तान्गिसी प्रदर्शन हुने बताउँछन् ।
नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइ राख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ । यसवर्ष पनि नगरपालिकाले जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्याङ्कन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधालाई नगद पुरस्कार वितरण गर्ने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
काठमाडौँ, १३ भदौः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।
यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष भने शनिबारको सार्वजनिक बिदाकै दिनमा यो पर्व परेको छ ।
काठमाडौँ, १३ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।
एक हजार ४७३ जनाको उद्धार
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् । बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घरफिर्ता (डिस्चार्ज) भएका गरी हालसम्म ९७ जना रहेका छन् ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।
बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।
चितवन, १३ भदौः यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ । नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ ।
भरतपुर अस्पतालमा ल्याइएका शवलाई टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताए । उनले भने, “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।”
भरतपुर अस्पतालमा शवको सरसफाई गरी अनुहारको तस्बिर लिने, शरीरमा भएका कुनै चिह्नको पहिचान गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शव गृहमा राख्ने गरिएको छ । यसको व्यवस्थापन जटिल हुँदा नदीमा फेला परे लगत्तै शव ल्याउन कठिन भएको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले शव व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । अस्पतालसँग केवल २४ शव राख्ने ठाउँ भएको जनाउँदै अहिले २३३ शव आएको बताए । तीमध्ये चार जनाको पहिचान भएको छ । पहिचान हुनेमा रसुवाका मदन थापा मगर, भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी र नुवाकोटका रामकाजी पौडेल छन् ।
यहाँ ठाउँ अभावमा शवगृह बाहिर टेन्ट राखेर शवहरु राखिएका छन् । भरतपुर अस्पतालमा भर्ना भएका बिरामी निजी अस्पताल र मेडिकल कलेजले निःशुल्क रूपमा बाँडेर उपचार गरिदिए आफूलाई शव व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । उनले भने, “बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ ।” प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले भने, “शव गृह नजिक रहेका भवनका बिरामीलाई बढी प्रभावित हुन नदिन सचेत छौँ ।”
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरे शवको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्ने बताए । यस्तो अवस्थामा झाडापखालादेखि फोक्सोसम्मको सङ्क्रमणको जोखिम फैलिन सक्ने उनी बताउँछन् ।