Category: समाचार

  • भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला

    भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला


    काठमाडौँ, १२ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका उनले बताए । बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन् ।

    बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

    बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।

  • रवीन्द्र ढाँटको जितले दिएको आशा

    रवीन्द्र ढाँटको जितले दिएको आशा

    –लोकेश धामी–रासस
    काठमाडौँ, १२ भदौः “नेपाल बाढीपहिरोले पीडामा छ । कृपया आआफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला”, शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित दर्ता गरेपछि नेपाली मिक्स मार्सल आट्र्स ९एमएमए० फाइटर रवीन्द्र ढाँटले भने । रिङमा प्रतिस्पर्धीविरुद्ध जित हासिल गरेपछि उनले आफ्नो सफलताको खुसीभन्दा पहिले विपद्मा परेका नेपालीको पीडा सम्झिए । उनले अगाडि थपे, “हामी उठ्नेछौँ । शिर उठाऔँ नेपालीहरू ।”

    देश शोकको परिस्थितिबाट गुज्रिरहेका बेला रवीन्द्रले आफ्नो जितलाई नेपाली जनताका नाममा समर्पित गरे । उनले भनेझैँ ताजा अवस्थामा देश बुधबार गएको विनासकारी भोटेकोशी बाढीका कारण शोकमा छ । सयौँको ज्यान लिएको यस बाढीका कारण देश शोकमा छ । यस अवस्थामा रवीन्द्रले ऐतिहासिक जित दिलाउँदै केही आशाको किरण जगाएका छन् ।

    यस्तो कठिन समयमा देशका लागि खुसीको खबर ल्याउने हरेक सफलता र एकअर्कालाई सहयोग गर्न गरिएको अपिलले आशा जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्छ । रवीन्द्रको आजको जित पनि त्यही आशाको प्रतीक बन्न सक्छ ।

    ढाँटको अर्को इतिहास

    रवीन्द्रले आज चीनको साङ्घाइस्थित अक्टागनमा न्युजिल्यान्डका एमएमए फाइटर कासिब मर्डोकलाई हराउँदै रोड टु युएफसी सिजन–५ को फाइनलमा स्थान बनाए । मिक्स मार्सल आट्र्सको इतिहासमा यो उपलब्धि गर्ने रवीन्द्र पहिलो नेपाली फाइटर बनेका छन् ।

    लगातारको सफलतासँगै उनले प्रतिष्ठित एमएमए संस्था युएफसीमा छनोट हुने चरण नजिक पुगेका छन् । अब फाइनल जित्न सके रवीन्द्रको युएफसी सपना साकार हुनेछ । उनले सेमिफाइनल प्रतिस्पर्धामा कासिबविरुद्ध उत्कृष्ट खेल कौसल देखाए । सुरुआती दुई राउन्डमा अपेक्षाकृत खेल देखाउन नसके पनि रवीन्द्रले अन्तिम तथा तेस्रो राउन्डमा भने सानदार पुनरागमन गरे । यस राउन्डमा उनले कासिबविरुद्ध उत्कृष्ट प्रतिस्पर्धा गरे । रवीन्द्रको सानदार प्रहारले तेस्रो राउन्डमा कासिबले लय गुमाए ।

    रवीन्द्रले अब युएफसी प्रवेशका लागि जापानका रियो ताजिमालाई हराउनुपर्नेछ । फाइनल खेलको मिति सार्वजनिक हुन बाँकी छ । यदि त्यो प्रतिस्पर्धा जितेमा रवीन्द्र युएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन् ।

    पाँच खेलयता अपराजित छन् रवीन्द्र

    रवीन्द्र ढाँटले हालसम्म १२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा उनले ११ खेलमा जित निकालेका छन् । रवीन्द्रले सन् २०२४ यता अपराजित छन् । उनले २०२३ को डिसेम्बरमा पाकिस्तानका इस्माइल खानसँग मात्र पराजय व्यहोरेका थिए । त्यसयता रवीन्द्रले रिङमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।

    गत वर्ष भारतमा आयोजना भएको म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि उनले थप चर्चा पाए । त्यस प्रतिस्पर्धामा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गरेका थिए ।

    रवीन्द्रले गत मे महिनामा रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा पनि सहजै जित दर्ता गरेका थिए । मकाउमा आयोजित उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गरेका थिए ।

    आफ्नो जितयात्रा जारी राख्दै रवीन्द्रले आज सेमिफाइनलमा कासिब मर्डोकलाई हराउँदै अर्को इतिहास रचे । उनको यो जितसँगै मर्डोकले एमएमए करिआरमा पहिलो पराजय व्यहोरेका छन् । रवीन्द्रसँग प्रतिस्पर्धा गर्नुअघि उनले आठ खेल खेल्दा पराजय व्यहोरेका थिएनन् । तर, रवीन्द्रविरुद्धको प्रतिस्पर्धापछि मर्डोकको जित यात्रामा पूर्णविराम लागेको छ ।

  • बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने

    बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने


    काठमाडौँ, १२ भदौः एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब रू ७६ करोड) अनुदान स्वीकृत गरेको छ । एडिबीले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा सहयोग गरिनेछ ।

    एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला सहयोग पर्खन नसक्ने भन्दै प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग गर्ने बताए । एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ ।

    त्यसैगरी, विपद्पछिको आवश्यकता मूल्याङ्कन, पुनःस्थापना योजना र सम्भावित पुनःनिर्माणका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको थप सहयोगको प्रक्रिया अघि बढेको पनि एडिबीले जनाएको छ ।

  • चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ

    चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ

    प्रतीक्षा आले–रासस
    गोरखा, १२ भदौः आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छिन् । होसमा आएका बेला उनी चिच्याउँछिन्, “ए राजा, मलाई रानी बनाएर राखेका थियौ । अहिले कहाँ गयौ ?” कृष्टिनालाई आफ्नो घरमा के भइरहेको छ भन्ने जिज्ञासा त हुँदो हो मनमनै तर, उनका कलिला मनले त्यति बुझ्न भ्याएको छैन । उनलाई त आफ्नो घरभरि मान्छे आएकामा ठिकै लागेको छ । किनकी, कृष्टिनालाई काखमा राख्ने र बोक्ने मान्छेको कमी छैन त्यहाँ ।

    काखमा लिने मान्छे जतिसुकै किन भए पनि मानिसले आफ्नो आमा सम्झन्छिन् र आफ्ना बाबालाई पनि । कृष्टिना त झनै सानी बालिका । एकछिन, एकछिन खेलेपछि हजुरआमा अनि काखमा लिनेहरूलाई सोधिरहन्छिन्, “मेरो ममी बाबा कहिले आउँछ ?” अवोध ती बालिकाको यति गह्रुङ्गो प्रश्नको उत्तर न त जुनामायासँग छ, न त्यहाँ जम्मा भएका उनका छरछिमेकीसँग । कृष्टिनाले हरेकपटक आफ्नो आमा, बाबा खोज्दा जुनामायालाई भविष्यको डरलाग्दो बास्तविकताले घोचिरहेको छ ।

    बुढेसकालमा एक्लै कलिला नाता, नातिनीलाई कसरी हुर्काउने, बढाउने ? कृष्टिनामाथिको नौ वर्षका नाति कृष्टल पण्डित पनि जुनामायाको साथैमा छ । जेठो कृष्टल बहिनीजस्तो बेखबर छैनन् । चितवनमा बस्ने अङ्कलका छोरीहरूलाई म्यासेज गर्छन् रे उनले, “मेरो ममी, बाबालाई के भा’ छ ? आमा किन रोएको ?” भनेर ।

    “कसैको मोबाइल भेट्नै हुन्न, मेरो छोरीहरूलाई म्यासेज गर्ने रहेछ”, छिमेकी नर्मदा देवकोटाले भनिन्, “बाबु बुझ्ने भइसक्यो, मोबाइलमा आको बाढीको भिडियोहरू हेर्दो हो । सुरमा कुरा गर्दैन । आउँछ, केही हुन्नमात्र भन्छ । घरमा बस्दैन ।” घरको भीडभाडले उसको मन बिच्किँदो हो ।

    सामाजिक सञ्जालमा यत्रतत्र आएका भिडियोहरूले आफ्नो मान्छेको पर्खाइमा बसेका कृष्टल र जुनामायाको घाउमाथि नुन भएजस्तै भएको छ । बुधबार भोटेकोशीमा आएको बाढीमा परेर गोसाइँकुण्ड तीर्थयात्रामा गएका पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीका जुनामायाका छोरा केदार पण्डित र बुहारी सरिता अधिकारी सम्पर्कविहीन छन् । उनीहरूसँगै ठाँटीपोखरीबाट तीर्थ गएका ३६ जनामध्ये छ जना सकुशल छन् । २९ जनाको अवस्था अज्ञात छ । एकजनाको शव चितवनमा फेलापरेको छ ।

    पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित चारकुनेका केदार र सरिता दुवैजना सरकारी विद्यालयका शिक्षक हुन् । उनीहरू बुधबार बिहान ४ः३० बजेतिर गाउँलेहरूको साथमा गोसाइँकुण्ड तीर्थका लागि घरबाट हिँडेका थिए । जुनामायाले नै छोराबुहारीलाई यात्रामा चाहिने सबै सरसामान जुटाएर पठाएकी थिइन् । आफू त्यति हिँड्न नसक्ने भएर चार दिनका लागि घर र नाति, नातिनीको जिम्मा लिएकी थिइन् उनले । छोरा बुहारीबाट लिएको त्यो चार दिनको जिम्मेवारी अब जुनामायाको सधैँ, सधैँको जिम्मेवारी बनेको छ ।

    साढे दुई वर्षअघि मात्र श्रीमान् गुमाएकी थिइन् जुनामायाले । तीर्थ गएका छोराबुहारी पनि अब फर्कन्नन् रे भन्ने हल्ला चलेको छ, गाउँमा । बूढेसकालको एक्लो ज्यान, अरुमा आश्रित हुनुपर्ने बेला कलिला बालबालिका कसरी हुर्काउने भन्ने चिन्ताको सागर भोटेकोशीझैँ फुटेको छ, उनीमाथि ।

    “नरो बाबु, नरो । यी कलिला बालबच्चालाई हुर्काइदे अब”, जुनामायाको चित्कारपछि उनकी सखी नर्मदा देवकोटाले भनिन् । नर्मदा पनि कम पीडामा छैनन् । बाढीले उनकी काइली बुहारी दुर्गादेवीलाई पनि बेपत्ता बनाएको छ ।

    गाउँका प्रायः सबै घरमा यस्तै–यस्तै पीडाले ठाँटीपोखरी यतिबेला शोकाकुल छ । स्थानीय लक्ष्मण गिरीका अनुसार माझटार टोलबाट बाढीमा मान्छे नपरेको एउटै घर छैन । कसको घरबाट कति मान्छे परे र कसको घरको अवस्था कस्तो भन्ने आधारमा उनीहरूले को बढी दुःखी भन्ने मापन गर्नुपरेको छ । सोही आधारमा बढी दुःखीको घरमा कम दुःखीहरू गएर सहानुभूति दिँदैछन् । एकअर्कालाई सम्झाउँदैछन् ।

    घरघरमा शोकमा डुबेकाहरूलाई सम्हाल्न, सहानुभूति दिन कम शोकाकूल महिलाहरूको लर्को देखिन्छ । गाउँलेहरू कहाँ बेपत्ता भए, जिउँदा वा मृतावस्थामा कहाँ भेटिएला भन्ने दौडधुपमा पुरुषहरू छन् । शोकाकूल पालुङटारवासी चोक चौतारामा भेला हुने, अब कसरी पीडा सम्हाल्ने, कसरी व्यवस्थापन गर्ने भन्ने योजना बुन्दैछन् ।

    गत भदौ १० गते करिब ८ः५० बजे नुवाकोटको लेन्देखोला आसपासबाट बाढीमा बेपत्ता भएको ग२ख ११५२ नम्बरको बस र त्यसमा सवार सो ३६ जना यात्रुमध्ये छ यात्रु हाम्फालेर ज्यान बचाएका पालुङटार नगरपालिकाले जनाएको छ ।

    सो बसमा सवार सागर देवकोटा, राममाया देवकोटा, पद्मकुमारी देवकोटा, तारा रानाभाट, रामहरि देवकोटा, सुजाता कौडाल, दुर्गादेवी देवकोटा, सपना देवकोटा, कृष्णकला सपना, मायादेवी देवकोटा, नानुमाया थापा, दुर्गा देवकोटा, चिनीमाया खत्री, शारदा देवकोटा, मुक्ति अम्गाई, मीठुमाया अम्गाईँ, घनश्याम देवकोटा, सम्झना देवकोटा, मायादेवी खड्का, सुस्मा न्यौपाने, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, दिलबहादुर खत्री, मुरारी खत्री, सुमी कुमाल, सुस्मिता कुँवर र गोमा पपने आजसम्म सम्पर्कविहीन रहेका पालुङ्टार नगरपालिकाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । कमला देवकोटाको शव भने बिहीबार चितवनको देवघाट क्षेत्रमा फेलापरेको पालिकाको भनाइ छ ।

  • रसुवा पुनः सडक संजालमा जोडियो

    रसुवा पुनः सडक संजालमा जोडियो


    १२ भदौ, काठमाडौं । बाढीले रसुवालाई सडक संजालबाट विच्छेद गरेको थियो । आज काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार यस सडकमा ४ चक्के साना सवारीसाधन सञ्चालन गर्न सम्भव छ । सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको मन्त्रालयले जनाएको छ । नुवाकोट र रसुवाको सीमानाका दुबै पक्की पुल बाढीले बगाएपछि यो हिमाली जिल्ला राष्ट्रिय सडक संजालबाट विमुख हुनु परेको थियो ।

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन


    १२ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका छन् ।

    बुधबार बिहान नेपाल(चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।


    सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रुपमा तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन् ।

    यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन् । यससँगै कोषमा बचत रकम ४ अर्व ९ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो। बिहिबार ६ घण्टा अवधिमा नेपालका निजी क्षेत्रका दाताहरुबाट मन्त्रालय मार्फत २७ करोड ३३ लाख सहयोग प्राप्त भएको थियो । यो सहायतामा रकममा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन्।

  • त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा

    त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैं फिल्डमा


    १२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् । बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगामाटो थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो। सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

    उद्धारका क्रममा सुरुङको अवरोध हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना सार्वजनिक गरिएपछि आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ। गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा खटिएर सुरुङको बाटो खुलाउने र फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

    सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन उद्धार टोलीले रातको समयमा समेत कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धारलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइएको छ। यसअघि पनि बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका थिए।

    नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रको अर्को सुरुङबाट सयौं मानिसको उद्धार गरिसकेको जनाएको छ भने अझै केही व्यक्ति फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार जारी राखिएको छ। फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी र प्राविधिक टोलीले जोखिमका बाबजुद उद्धार अभियानलाई तीव्रता दिएका छन्।

  • भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

    भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

    काठमाडौँ, १२ भदौः रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ । अझै ६२२ पर्यटक सम्पर्कविहिन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६२२ पर्यटक अझै सम्पर्कविहिन भएका जानकारी दिए ।

    उनका अनुसार नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१, चीनका आठ जना तथा अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत ३६ देशका पर्यटकसहित ६२२ जना सम्पर्कविहीन भएका हुन् । प्रमुख कार्यकारी अधिकृत ऐरले भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, अमेरिका, रुसका र इटालीका दुई/दुई तथा बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीजरल्याण्डका एक/एक जनाको उद्धार गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटनसम्बन्धी सरोकार भएका निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

  • कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री

    कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री


    काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दैै बाढी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जालमार्फत आज साँझ जानकारी गराउँदै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
    “यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ”, प्रधानमन्त्री शाहले भनेका छन्, “उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ ।”

    उनले बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोटसहितका क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन् ।

    “हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ९९ हवाई उडान भएका छन्”, प्रधानमन्त्रीले भनेका छन्, “प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ । सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको छ ।”

    बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको जानकारी दिँदै उनले हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको उल्लेख गरे । यसैगरी, प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनःस्थापनाको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गरे । उनका अनुसार रसुवालाई वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालमा जोडिएको छ भने प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ ।

    “बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि रु छ करोड ७५ लाख उपलब्ध गराइएको छ”, उनले भने, “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु एक अर्ब ९० करोडभन्दा बढी रकम सङकलन भएको छ ।” प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी जारी राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरे । उनका अनुसार हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ ।

  • विपद्मा सञ्चार : सूचना जसले जीवन जोगाउँछ

    विपद्मा सञ्चार : सूचना जसले जीवन जोगाउँछ

    एकराज पाठक/ रासस

    काठमाडौँ, १२ भदौः भनिन्छ— सूचना खान त मिल्दैत, तर सूचना नपाउँदा मासिन भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो । मानिसको दैनिक जीवनयापनकै लागि यति महत्वपूर्ण सूचना विपद अथवा प्रकोपका बेलामा झन् कति महत्वपूर्ण होला ? यसकारण अहिले प्रकोप या विपत् रिपोर्टिङलाई पनि विश्वमा पत्रकारिताको एक अलग्गै र विशेष विधाका रुपमा अध्ययन र अभ्यास गर्ने गरिएको छ । मानिसका लागि सबैभन्दा प्रिय वस्तु भनेको आफ्नो शरीर हो । उ बाँच्न र सदैव सुरक्षित रहीरहन चाहन्छ ।

    त्यसैले मानिसको बाँच्ने चाहनाको खोजीमा प्रकोप या विपदप्रति उसको सबैभन्दा ठूलो चासो एवं सरोकार रहन्छ । पत्रकारिता मानवीय अभिरुचीमा नै बढी केन्द्रित हुने भएकाले नै विश्वमै पछिल्लो समयमा वातावरण, अपराध, विकासज, खेलकूदजस्तै विपद् रिपोर्टिङलाई पनि एक अलग्गै विधा र विषयका रुपमा विकास गरेको छ । प्राकृतिक लगायतका विविध महामरीजन्य प्रकोप अथवा विपदका समयमा सूचनाले मानिसको ज्यान बचाउने काम गर्ने भएकाले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको यो विषयभन्दा अर्काे ठूलो मानवीय अभिरुची हुने कुरा पनि भएन ।

    यस्तो अवस्थाको रिपोर्टिङ मानव समुदायलाई अन्य सामान्य अवस्था या समयको भन्दा पनि बढी महत्वपूर्ण र आवश्यक रहन्छ । जस्तो कि जापान, इन्डोनेसिया लगायतका सामुद्रिक देशहरुमा भूकम्प गएपछि सुनामीको सम्भावना छ कि छैन भन्ने सूचना बडो महत्वपूर्ण हुन्छ र मानिसहरु त्यही सूचना कुरेर बसिरहेका हुन्छन् । भूकम्पपछिको यो सूचनाको प्रतिक्षामा लगमग सबै नागरिक रहन्छन् ।

    यदि सुनामीको खतरा छ भने उनीहरु समुद्र तटभन्दा टाढा या त्यस्तै सुरक्षित स्थानमा निस्कन्छन् र यसले हजारौँ मानिसको ज्यान बच्दछ । प्राकृतिक विपद र यो प्रकोपको समाचार सम्प्रेषण अति जटिल र संवेदनशील काम हो । जस्तो युद्ध या द्धन्द्धका बेलामा पत्रकारले समाचार सम्प्रेषण गर्दा समाचारदातालाई बढी गाह्रो हुन्थ्यो, यो विपद या प्रकोप समाचारको रिपोर्टिङमा पनि त्यस्तै अप्ठेरो हुन्छ । युद्धका समयमा कतिपय अवस्थामा समाचारदाता नै द्वन्द्वरत क्षेत्रमा नै खट्नुपर्ने हुदा बढी जोखिम हुन्छ । जस्तो कि मध्यपूर्वी राष्ट्रहरुमा चलेको प्रजातन्त्रको आन्दोलनमा कैयौँ युरोपेली, अमेरिकी पत्रकार यस्तो समाचारको रिपोर्टिङकै सिलसिलामा मारिएका थिए ।

    सिरियामै कैयौँ विदेशी पत्रकार मारिएका छन् । उनीहरुले समाचार पनि दिनुपर्छ र आइपर्ने जोखिम पनि उत्तिकै सामना गर्नुपर्छ । यतिमात्र होइन कि उनीहरुलाई द्वन्द्वरत पक्ष विपक्षले पनि आफ्ना कुरा नआएमा तारो बनाउँछ । त्यस्तै जोखिम यो विपदको समाचार दिने पत्रकारमा पनि छ । पहिलो कुरा त उनीहरु विपद या प्रकोप भइरहेको स्थानमा नै खट्नुपर्छ । त्यहाँ प्राकृतिक या मानवनिर्मित के कस्तो विपद हो त्यसको जोखिम रहन्छ ।

    त्यस घटनाको सूचना जतिसक्दो चाँडै दिनुपर्छ र आफू पनि बच्नुपर्छ । जस्तै नेपालमा विसं २०७२ को महाभूकम्पका समयमा कैयौँ रेडियो, टेलिभिजनकर्मी आ—आफ्नो स्टुडियोबाट समाचार प्रशारण गर्न बाध्य भए तर पनि ती स्टुडियो राखिएका घर भूकम्पबाट सुरक्षित थिए या थिएनन् भन्ने सूचना उनीहरुसँगै थिएन । यसरी आफू खतरामा रहेर पनि उनीहरु सूचना दिन बाध्य भएजस्तै हो प्रकोप रिपोर्टिङको अवस्था । भूकम्पको जोखिमक अवस्थामा पनि फिल्डमै खटेर समाचार सम्प्रेषण गर्नु त छँदैछ ।

    प्रायः प्रकृतिले पार्ने प्रकोप नै यसअन्र्तगत पर्दछन् जस्तो कि बाढी, पहिरो, चट्याङ, ज्वालामुखी, हुरी बतास, आँधी, भूकम्प, सुनामी, खडेरी, शीतलहर आदि । यो मानिसको काबुबाहिरको अवस्था हो । प्रकृतिले पार्ने यसलाई प्राकृतिक प्रकोप भनिएको हो । मानिसले यस्ता प्रकोप हटाउन सक्दैन तर केही प्रयासहरुबाट घटाउन भने सकिन्छ । प्रकोप या विपद भइसकेपछि मानिसलाई सुरक्षित बनाउन भने विपद रिपोर्टिङ आवश्यक पर्दछ ।

    फेरि कतिपय मानवनिर्मित प्रकोपहरु पनि हुन्छन् । युद्ध, द्वन्द्व, यातायात दुर्घटना, आगलागी आदि मानव निर्मित प्रकोप हुन् । यस्ता प्रकृतिका प्रकोपहरुलाई रोक्न पनि सकिन्छ । तर प्राकृतिक प्रकोपलाई हामीले माथि भनेजस्तै रोक्न सकिँदैन । मानिसले सिर्जना गर्ने वातावरण र परिस्थितिका कारण यस्ता प्रकोपहरु हुने भएकोले यी प्रकोपलाई हटाउन पनि सकिन्छ ।

    युद्ध र द्वन्द्वको अवस्था मानिसले नै सिर्जना गर्ने हो । त्यसैले मानवनिर्मित प्रकोप या विपद व्यवस्थापनका लागि समाचारदाताको भूमिकालाई महत्वपूर्ण मानिन्छ । सामान्यतया प्रकोप विपद् रिपोर्टिङलाई तीन चरणमा अध्ययन या अभ्यास गर्न सकिन्छ । प्रकोप या विपदअघिको सञ्चार अर्थात् रिपोर्टिङ, प्रकोप भइरहेकै समयको रिपोर्टिङ र प्रकोपपछिको रिपोर्टिङ । प्राकृतिक विपत्तिको बारेमा पहिले नै जानकारी पाएर समाचारदाताले समाचार त लेख्न सक्दैन ।

    तर पनि त्यसको पूर्वतयारीको सञ्चार भने गर्न सक्छ । विपद आउनुअघि नै सजगता अपानाएर समाचार सम्प्रेषण गर्न सकेमा यस्ता सूचनाहरुबाट नागरिकको ज्यान बच्ने र ठूलो क्षति हुनबाट जोगिनसक्छ । पत्रकारिताको काम क्षति हुन नदिने, क्षति भए पनि क्षतिको न्यूनिकरण गर्ने र क्षति प्रकोप आउनु अगावै पनि नागरिकलाई सजग, सचेत गराउने नै हो । हुनत यस्तो काम सजिलो छैन, त्यसैले पत्रकारिता जटिल जागिर नै हो ।

    भूकम्प, बाढी, पहिरो आगलागिजस्ता दैवी तथा प्राकृतिक प्रकोपहरु कहिले र कुनबेला आउँछन् भन्ने बारेमा पत्रकारलाई पहिल्यै थाहा हुने कुरा त भएन तर पनि यस्ता प्रकोपहरु आउनसक्छन् भनेर पत्रकारले ती प्रकोपबाट सामान्यतया बच्न सक्ने सूचना दिँदा त्यसले आम मानिसमा ठूलो सहायता पुग्छ । जस्तो कि भोटेकोशीमा ठूलो बाढी आउँदा तटीय क्षेत्रका नागरिकले माथि भागेर बाँच्नसक्ने, त्यो भन्दा पनि धेरै खोला किनारहरुमा बस्ती नबसाल्ने जस्ता सूचनाले सर्वसाधारणलाई सजग त गराउन सक्छ ।

    खोलामा घर बनाउनु हुँदैन भन्ने सामान्य जानकारी त सबैमा होला, तर पनि भोटेकोशीको उत्पत्तिस्थलमा ठूला हिमताल रहेका र जलवायु परिवर्तनको प्रभावका कारण ती पग्लिएर क्षति पुर्याउन सक्ने सूचना पत्रकारले पहिले नै पनि दिन सक्दछ । भूकम्प कुनबेला आउँछ भन्ने बारेको पूर्वसूचना दिन नसके पनि भूकम्पले पुर्याउने क्षतिबारे जानकारी गराएर सुरक्षित संरचना निर्माणमा सूचनाले काम गर्न सक्छ ।

    त्यस्तै भूकम्पपछि कसरी बच्ने, उद्धार कसरी गर्ने, औषधिउपचारको व्यवस्था कस्तो हुने, अस्पतालहरुले त्यस्तो अवस्थामा कसरी कामगर्ने, त्यस्तो आपतको बेलामा खानेपानी, अत्यावश्यकीय सेवाको आपूर्ति कसरी गर्ने भन्ने बारेमा सूचनाबाट व्यक्ति तथा राज्य पनि लाभान्वित हुनसक्छ ।

    अर्काे स्टेप हो प्रकोप या विपदको समयको रिपोर्टिङ । प्रकोप या विपद भइरहेकै बेलामा गरिने समाचार सम्प्रेषण यसअन्तर्गत पर्दछ । विपद्पूर्वको भन्दा बढी संवेदनशिल समय र कार्य दुवै हो । अझ भन्ने हो भने त समाचारको मूल्यको हिसाबले हेर्दा यो समयको रिपोर्टिङको महत्व र संवेदनशीलता धेरै ठूलो छ । किनभने यस्तो बेलामा अत्तालिएका मानिसले आफू बच्ने उपाय तथा कम क्षतिका लागि सहारा खोजिरहेको हुन्छ । यस्तो बेलाको सही सूचनाले कैयौँमा सान्त्वना दिन तथा नागरिकको ज्यान जोगाउन सक्छ ।

    यस्तो समयको सहारा भनेको रेडियो, टिभी नै हुन् र अहिले त्यो भन्दा बढी प्रभावकारी सामाजिक सञ्जाल भएका छन् । प्रकोपले पत्रकार नचिन्ने भएकाले सबैभन्दा पहिला त आफ्नो ज्यान जोगाएर काम गर्नुपर्छ । यो अरु बेलाको जस्तो सामान्य अवस्था होइन भनेर बुझ्नुपर्दछ । समाचारदाताहरु सम्भव छ भने सकेसम्म दुर्घटनास्थलमा पुगेको राम्रो । यसले नागरिकले बच्ने उपायहरु कसरी अपनाएका छन् भन्ने कुरा थाहा हुन्छ । ती उपायको रिपोर्टिङ अन्यत्रलाई पनि काम गर्नेछ ।

    जस्तो कि विसं २०७२ को भूकम्पका समयमा असन, बागबजार, नयाँ सडकका बाक्लो बस्तीका नागरिकहरु खुलामञ्चमा जम्मा भएका थिए । मिडियाले यो समाचारका साथै सबै नागरिकलाई घर, पर्खाल या कुनै संरचनाको नजिक नबस्न र खुल्ला चौरमा बस्न सुझाव दिएका थिए । नागरिकले के समस्या भोगेका छन्, अत्यावश्यकीय सेवा जस्तो पानी, औषधि या उद्धार सेवा पाएका छन् कि छैनन् भन्ने बारेको सूचना महत्वपूर्ण रहन्छ । यस्ता सूचनाले सरकारलाई उद्धारको कामगर्न, अत्यावश्यकीय सेवा पुर्याउन सहयोग गर्नेछ ।

    कहाँ के कति क्षति भयो, प्रकोप कति सयम रहन्छ, बच्ने कस्ता उपाय अवलम्बन गर्ने, भन्ने कौतुहलमा बाँचिरहेका मानिसलाई सान्त्वनायुक्त सूचनाले काम गर्छ । त्यसैले यस्तो समयको सबैको अभिभावक मिडिया नै मानिन्छ । भूकम्पका समयमा नागरिकका कान कानमा रेडियो झुण्डिएको त हामीले देखेकै हो । त्यस्तो बेलामा नागरिकलाई गलत सूचना दिइयो भने अवस्था के होला ? यस्तो समयमा सञ्चारकर्मीले आफू पत्रकार होइन कि उद्धारकर्मी नै हुँ भनेर काम गर्नुपर्छ ।

    उ आफैले उद्धारका सामग्री बोकेर जाने होइन कि यस्तो समयमा सुरक्षाकर्मी, उद्धारकर्मी, सरकार, चिकित्सकको आँखा सबैतिर नपुग्न पनि सक्छ र ती आँखा पत्रकारले पुर्याइदिनुपर्छ । प्रकोप पछिको रिपोर्टिङ अर्काे चरण हो र यतिखेर हामी भोटेकोशी बाढीको प्रकोपपछिको यही चरणमा छौँ । यो अवस्था भनेको प्राकृतिक या मानवीय प्रकोप भइसकेपछिको तत्कालैको उद्धारबाट सुरु भएर पीडितहरुको पुनस्र्थापनासम्मको हो । सुरुमा प्रकोपको तत्कालको उद्धारको कामलाई समाचारदाताले पछ्याउनुपर्छ ।

    त्यसपछिको चरण भनेको दीर्घकालीन रुपमा पीडितलाई पुनस्र्थापना गर्ने, राज्यले सहायता दिने र ती भत्किएका या क्षति पुगेका संरचनाहरको पुनर्निर्माणको कामगर्नेसम्म पर्दछ । यो चरणमा के कति क्षति भयो, कस्तो असर गर्यो भन्ने विभिन्न खालका समाचार, विश्लेषण आउँछन् । त्यसैले यस्तो बेलामा सरकार र सम्बन्धित निकायलाई सही सुझाव दिएर पीडितलाई सहयोग पुर्याउने खालका समाचारहरु दिनुपर्दछ । प्रकोप र विपदमा परेका नागरिकलाई उद्धारपछि राहातको कामका लागि रिपोर्टिङको माध्यमबाट सहयोग गर्नुपर्छ ।

    यहाँनेर आइपुग्दा उद्धारको काम लगभग सकिएर राहात सुरु भएको हुन्छ । राहातको काममा सरकारको ध्यान नपुग्न पनि सक्ने भएकाले यस्तो अवस्था आउन नदिनका लागि समाचारले निगरानी गर्नुपर्छ । प्रकोप पीडित नागरिक कहाँ छन्, कस्तो अवस्थामा बसेका छन्, उनीहरुको भौतिक सम्पत्ति के कति र कसरी गुमेको छ, परिवार गुमाएकाका लागि सरकारले तत्कालका लागि के गर्नसक्छ र गर्नुपर्छ भन्ने बारेमा निरन्तर रुपमा रिपोर्टिङ गर्नुपर्छ ।

    परिवारका सदस्य गुमाउने, घरबास गुमाउनेजस्तो पीडामा नागरिक पर्ने भएकाले यस्तो अवस्थामा सरकार उनीहरुको साथमा पुगेको छ छैन, समुदाय या अन्य दातृ संस्थाको सहयोग प्राप्त भएको छ छैन भन्ने विषयमा ध्यान दिनुपर्छ । अब यहाँ तत्कालका लागि प्रदान गरिएको राहात नभएर दिगो तथा स्थायी पुनस्र्थापनाका बारेमा पनि प्रेसले सरकार र भएका अन्यको ध्यानाकर्षण गराउनुपर्दछ ।

  • पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

    पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो


    कास्की, १२ भदौः त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ । भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए ।

    बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको जानकारी दिँदै उनले तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको क्षमता छ । शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ ।

  • भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी

    भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी


    जनकपुरधाम, १२ भदौः प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेको छ । प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन थालेका हुन् ।
    मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।

    उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।

  • भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन

    भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन


    सुनसरी, ११ भदौः रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् । रामधुनी नगरपालिका–५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन्।

    दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका–११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई, इटहरी उपमहानगरपालिका–१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका–४ का मोहन माझीसँग अझैसम्म सम्पर्क कायम भएको छैन ।

  • भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग

    भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग


    इलाम, १२ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

    बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । “भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुग्ने विश्वाससहित आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ”, अध्यक्ष केरुङले भने, “जनप्रतिनिधि तथा शिक्षक कर्मचारीको तर्फबाट रु २५ लाख सङ्कलन गरी जम्मा गर्नेछौँ ।”

    यता बिहीबार नै बसेको माई नगरपालिकाको ६५औँ कार्यपालिका बैठकले सबै जनप्रतिनिधि तर्फबाट १५ दिनको सेवासुविधा र कर्मचारीको तर्फबाट दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खम्बासिंह लिम्बूले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी रु १० लाख पुर्याइनेछ इलाममा चार नगरपालिकासहित १० स्थानीय तह छन् ।

    आठ जना सम्पर्कविहीन

    यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका इलामका आठ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । प्रजिअ ढकालका अनुसार बिहीबारसम्म प्राप्त विवरणअनुसार इलामको देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल, सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) सम्पर्कविहीन भएका हुन् । उनीहरूमध्ये न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा थिए भने सुवेदी उनीहरूका सवारी चालक हुन् ।

    त्यस्तै, माईनगरका विनोद राई, फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक), फाकफोकथुम गाउँपालिका–६ का विनु थेगिम रहेका छन् । उनीहरू तीनै जना रसुवाको मैलुङ गगनी भन्ने स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार रहेको प्रजिअ ढकालले बताउनुभयो ।
    त्यसैगरी, बैतडीको सिगास गाउँपालिका–७ घर भई हाल सबडिभिजन वन कार्यालय माई नगरपालिकामा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन भएका छन् ।

    प्रजिअ ढकालले सुरक्षाकर्मी र जनप्रतिनिधिमार्फत जिल्लाका सम्पर्कविहीनको विवरण सङ्कलन भइरहेको बताए । “बाढीमा हराएका हाम्रा जिल्लाका नागरिकको विवरण सङ्कलन भइहेको छ”, प्रजिअ ढकालले भने, “सम्पर्कविहीन भएकाको खोजी तथा उद्धारका लागि यहाँको पालिकासँग समन्वय गरिरहेका छौँ ।”

    बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझी सम्बन्धित परिवारलाई जानकारी गराउन अपिल गरिएको उनले बताए । कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन उद्धार केन्द्रको फोन नम्बर १२३४ मा जानकारी गराउन वा ०२७५२३९८८ वा ९८५२६३३३९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

  • मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै


    काठमाडौँ, १२ भदौ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

  • उद्धार र राहतमा सघाउन एमालेको आह्वान

    उद्धार र राहतमा सघाउन एमालेको आह्वान

    नुवाकोट, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार नेकपा (एमाले)का नेता तथा कार्यकर्ता उद्धार, राहात, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा खटिने बताएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उनले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताए ।
    ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेता, कार्यकर्ताले श्रमदान गरेर उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको काम गरेको स्मरण गर्दै उनले यसपटक पनि सोहीअनुसार खटिने उनको भनाइ थियो ।

    “तपाईँहरूले योजना बनाउनुहोस् । यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस् । पार्टीले त्यस्ता जनशक्ति पठाउँछ”, महासचिव पोखरेलले भने । सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले जिल्लामा बाढीले पुर्याएको क्षतिका बारेमा महासचिव पोखरेललाई जानकारी गराएकाा थिए ।

  • बाढीको पिडाबीच आज जनैपूर्णिमा पर्व मनाइँदै

    बाढीको पिडाबीच आज जनैपूर्णिमा पर्व मनाइँदै


    काठमाडौँ, १२ भदौ । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

    स्नानपछि जाँै, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

    जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

    विभिन्न थरि गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग निको हुने विश्वास छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ ।

    काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।

  • सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली

    सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली


    हेटौँडा (मकवानपुर), १२ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ । टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइते, उद्धार गरिएका तथा सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी लिएको नगरप्रमुख लामाले बताइन् ।


    बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा परिवारसँग सम्पर्क टुटेका नगरवासीको अवस्था पहिचान गर्न सम्भावित अस्पताल तथा उद्धार केन्द्रमा पुगेर विवरण सङ्कलन भइरहेको उनले जानकारी दिइन् । “हामी धादिङको गल्छी क्षेत्रसहित काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुग्यौँ”, नगरप्रमुख लामाले भनिन्, “आज अन्य सम्भावित स्थानमा पुग्नेछौँ । परिस्थिति अनुकूल भए रसुवासम्म जाने तयारी छ ।”

    टोलीले अस्पतालमा उपचाररत घाइतेको अवस्था, उद्धार गरिएका व्यक्तिको पहिचान तथा सम्पर्कविहीनको खोजी कार्यबारे सम्बन्धित निकायसँग जानकारी लिएको छ । प्राप्त विवरणलाई पीडितपरिवारबाट सङ्कलित विवरणसँग भिडाएर अवस्था एकिन गर्ने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

  • बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

    बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

    बागलुङ, १२ भदौः भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

    गलकोट नगरपालिकाले रु छ लाख ७० हजार, बागलुङ नगरपालिकाले रु पाँच लाख, बडिगाड गाउँपालिकाले रु पाँच लाख, ताराखोला गाउँपालिकाले रु दुई लाख, काठेखोला गाउँपालिकाले रु दुई लाख र जैमिनी नगरपालिकाले रु एक लाख सहयोग गर्ने भएका छन् । बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।


    बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलबभत्तासहित रु पाँच लाखबराबरको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

  • बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने

    बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने


    काठमाडौँ, ११ भदौः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिए । इप्पानसम्बद्ध जलविद्युत् कम्पनीका तर्फबाट प्रदान गरिने सहयोगको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ ।

  • विद्युत् आपूर्ति नियमित हुँदै

    विद्युत् आपूर्ति नियमित हुँदै


    काठमाडौँ, १२ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । उनले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको जानकारी दिए । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।

    मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । सो क्रममा उनले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भएको बताए । यस्तै, रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिए ।


    “अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ”, मन्त्री श्रेष्ठले भने । प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग दुई हजार ९३९ मेगावाट रहेकामा बिहीबार साँझ दुई हजार ८९१ मेगावाटमात्रै रहेको थियो । त्यसमध्ये काठमाडौँ उपत्यकाको माग बिहीबार ५७८ मेगावाट र बुधबार ५९० मेगावाट रहेको थियो ।

    प्राधिकरणका अनुसार बुधबार ६२ मेगावाट र बिहीबार दुई मेगावाटमात्र विद्युत् आयात गरिएको थियो । मन्त्री श्रेष्ठले उद्धार तथा विद्युत् पुनःस्थापनामा खटिएका प्राधिकरणका उच्च व्यवस्थापन, कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद दिए । उनका अनुसार प्राधिकरणले वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट र बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् पठाइएको छ ।

  • बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ, १२ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासङ्घका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासङ्घको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो ।

    समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत छन् । समितिले बेपत्ता भएका सवारीसाधन, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ । यस्तै, यात्रीहरूको अवस्था र क्षतिको विवरण सङ्कलन गर्नेछ । महासङ्घका महासचिव डेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर वा यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासङ्घको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

    बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

    काठमाडौँ, ११ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् । सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदल दुवै मार्गबाट उद्धार कार्य अघि बढाएका छन् ।

    स्थलगत पहुँच कठिन भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ । नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले ६९ पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् । प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेको जनाइएको छ ।

  • बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


    काठमाडौँ, ११ भदौः सयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै राजा चाल्र्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।


    “अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकार्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ र उद्धार प्रयासमा निःस्वार्थ रूपमा खटिनुभएका सबैप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ”, उनको सन्देशमा उल्लेख छ । प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चाल्र्सले सधैँझैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको उल्लेख गरेका छन् ।

  • भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन

    भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन


    सुदूरपश्चिम, ११ भदौः भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीले यहाँका नौवटै जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा एक सयभन्दा बढी बढी सम्पर्कविहीन रहेको सूचना आएको जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले तीमध्ये कैलालीका ३१, कञ्चनपुरका २९, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुला तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिए ।


    कैलालीका मात्र ४९ जना सम्पर्कविहीन भएका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका उनीहरु हालसम्म परिवार तथा आफन्तसँग सम्पर्कमा नआएको उनले बताए । प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तजनलाई अनुरोध गरेको छ ।

  • भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

    भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

    काठमाडौँ, ११ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । यस्तै गल्छीबाट त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ । सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज छन् । पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

    सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० र निजी क्षेत्रबाट उपलब्ध १० गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।

  • बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

    बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

    नारायणगढ (चितवन), ११ भदौः बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार श्रव्यदृश्यमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्ने क्रममा भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकबाट नवलपरासीको विनयत्रिवेणी गाउँपालिका १ घर भई हाल भरतपुर १ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका ५ घर भई हाल भरतपुरका २ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रमुख पौडेलले जानकारी दिए ।

  • भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

    भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

    गोरखा, ११ भदौः भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा हालसम्म ३९ शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शवहरू फेला पारेको हो ।

    त्रिशूलीमा अधिकांश शव शारीरिक रूपमा क्षति भई चिन्न नसकिने अवस्थामा फेला परेका जनाउँदै प्रहरी नायब उपरीक्षक श्रेष्ठले ११ वटा सग्ला शव फेला परेका बताए । “हालसम्म फेला परेका ११ वटा सग्ला शव पोखरा पठाएका छौँ । शारीरिक रूपमा क्षति भएका शव गोरखा अस्पतालको शवगृहमा छन्”, उनले भने ।


    नदी किनारमा अन्य शवको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ ठेउवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट उक्त शव फेला परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

  • विपद् प्रभावित क्षेत्रमा उपचारसहितको कृषि प्राविधिक टोली परिचालन

    विपद् प्रभावित क्षेत्रमा उपचारसहितको कृषि प्राविधिक टोली परिचालन


    काठमाडौँ, ११ भदौः कृषि सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ । विपद् प्रभावित क्षेत्रमा प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रको समन्वयमा विभागले घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार मृत पशुपन्छीको सुरक्षित विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको हो ।

    विभागका महानिर्देशक उमेश दाहालका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा कृषि, वन तथा पर्यावरणमन्त्री मन्त्री गिता चौधरीको समन्वयमा सो प्राविधिक टोली पठाइएको छ । विभागले प्रभावित क्षेत्रको पशुपन्छीको प्रभावकारी उद्धार उपचार असह्य पशुपन्छीको आकस्मिक व्यवस्थापन तथा सम्भावित महामारीको रोकथाम कार्यमा जुट्न पशु सेवासँग सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, पेसागत सङ्घसंस्था उद्यमी तथा व्यवसायी पशु कल्याणसम्बन्धी संस्थाहरू नागरिक समाजलगायतलाई आग्रह गरेको छ ।

    प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको विभागले जनाएको छ । उक्त टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा खटिनुका साथै टोलीको पहलमा उद्धार तथा राहतसम्बन्धी गतिविधि सञ्चालन गरिएको महानिर्देशक दाहालले बताए । टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विभागले जनाएको छ ।

  • नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना

    नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना


    काठमाडौँ, ११ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विभिन्न देशका प्रधानमन्त्रीले मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरुले नेपालले भोगेको यस विषम परिस्थितिमा आफूहरू नेपालको साथमा रहेको पनि उल्लेख गरेका छन् ।


    जापानका प्रधानमन्त्री साने ताकाइचीले आफू नेपाल–चीनबीच गएको भीषण बाढी र त्यसबाट ठूलो क्षति भएकामा दुःखी भएको उल्लेख गरेकी छिन् । उनले बाढीका कारण ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो दुःख व्यक्त गरेकी छिन् । प्रधानमन्त्री वालेन्द्र शाहले यस दुःखद अवस्थामा ऐक्यबद्धता र समवेदनाका लागि जापानी समकक्षीप्रति आभार व्यक्त गरेका छन् । उनले यस अवस्थामा प्रधानमन्त्री ताकाइचीले देखाएको ऐक्यद्धताले दुई देशबीचको बलियो मित्रता प्रतिबिम्बित गरेको बताए ।


    बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवार तथा प्रियजनहरूले बेहोर्नुपरेको अपूरणीय क्षतिप्रति गहिरो दुःख सहानुभूति व्यक्त गरेका छन् । यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन पनि तयार रहेको बताए ।


    प्रधानमन्त्री शाहले यस विपत्तिको सामना गरिरहेको अवस्थामा उनले व्यक्त गरेको सहानुभूति र समवेदनाका लागि बङ्गलादेश सरकार र बङ्गलादेशी जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले व्यक्त गरेको ऐक्यबद्धताले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गरेको बताए ।


    पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले नेपालको रसुवा जिल्ला र अन्य प्रभावित क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस दुःखद घटनामा ज्यान गुमाउनेहरूका शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति मेरो हार्दिक समवेदना व्यक्त गरेका छन् । “यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा दृढतापूर्वक उभिएका छन् । प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा तथा सुख–समृद्धिको लागि हामी प्रार्थना गर्दछौँ,” उनले भने ।


    प्रधानमन्त्री शाहले पाकिस्तानी समकक्षी सरिफ तथा पाकिस्तानका जनताले व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गरेका छन् । साथै इस्लामावादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा बुधबार भएको दुःखद घटनाबाट प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीर्घ स्वास्थ्यलाभको कामना गरेका छन् ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा आएको ठूलो बाढीबाट प्रभावित सबैप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन् । उनले प्रभावित क्षेत्रमा रहेका अष्ट्रेलियाली नागरिकले स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन तथा सल्लाह पालना गर्न अनुरोध पनि गरेका छन् । “प्रभावित क्षेत्रमा केही अष्ट्रेलियाली नागरिक रहेको हामीलाई जानकारी छ र उनीहरूको अवस्था तथा सुरक्षाबारे यथाशीघ्र पुष्टि गर्न अधिकारीहरू तत्काल काम गरिरहेका छन् । यसका लागि हामी स्थानीय अधिकारीहरू तथा भ्रमण–पर्यटन सञ्चालकहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भनेका छन् ।


    प्रधानमन्त्री अल्बानिजले आफूहरू आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन तयार रहेको पनि बताए । आकस्मिक कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले डिएफएटीको कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न सक्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले अष्ट्रेलियाका समकक्षीले व्यक्त गरेको हार्दिक समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको बताए ।


    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी अत्यन्तै विनाशकारी रहेको उल्लेख गर्दै क्यानडाका जनताका सङ्कटमा परेका सबै, आफन्त प्रियजन गुमाएका व्यक्तिहरू तथा अझै जवाफको प्रतीक्षामा रहेका सबैको साथमा रहेको बताए । उनले भनेका छन्, “हाम्रो सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा रहेका सबै क्यानडाका नागरिकलाई यथाशीघ्र आरओसिए प्रणालीमा दर्ता हुन पनि आग्रह गर्दछ ।” उनले उद्धारका प्रयासहरू जारी रहँदा क्यानडा आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।


    प्रधानमन्त्री शाहले यस दुःखको घडीमा क्यानडाले देखाएको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्जले नेपाल र चीनमा आएको विनाशकारी बाढीको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन् ।

    उनले आफूहरू बाढीबाट प्रभावित पीडितहरू र उनीहरूका प्रियजनहरूसँग साथमा रहेको उल्लेख गर्दै आगामी घण्टा र दिनहरूमा स्थलमै खटिएर सहयोग गरिरहेका सबैलाई शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् । उनले आफूहरू नेपाललाई हामी सहयोग गर्न तयार रहेको पनि बताए ।


    प्रधानमन्त्री शाहले जर्मनीका समकक्षी कार्नीले यस घटनाप्रति देखाएको समवेदना र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा नेपालप्रति व्यक्त गरेको सद्भावपूर्ण भावना र सहयोगको प्रस्तावका कदर व्यक्त गरेका छन् ।
    लिथुनियाका प्रधानमन्त्री मिन्डाउगास सिन्केभिचियुसले नेपाल र चीनमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यस पीडादायी घडीमा शोकसन्तप्त परिवारहरू, प्रभावित सबै व्यक्त तथा स्थलमै खटिएर सहासपूर्वक उद्धार कार्यमा जुटिरहेका टोलीहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले लिथुनियाको विदेश मन्त्रालयमार्फत आफूहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।


    प्रधानमन्त्री वालेन्द्र शाहले लिथुआनियाका समकक्षीले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा लिथुआनियाले व्यक्त गरेको सद्भावपूर्ण भावना तथा निरन्तर सहयोग र चासोप्रति हामी गहिरो कदर गर्दछौँ भनेका छन् ।


    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट आफू अत्यन्तै मर्माहत भएको बताएका छन् । “मलेसिया सरकार तथा मलेसियाली जनताका तर्फबाट नेपाल र चीनका सरकार तथा जनताप्रति, साथै आफ्ना प्रियजन गुमाउनेहरू र बेपत्ता आफन्तहरूको खबरको प्रतीक्षामा रहेका सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, उनले भनेका छन् ।


    उनले काठमाडौँस्थित मलेसियाको दूतावास प्रभावित मलेसियाली नागरिकहरूलाई सहयोग गर्न सम्बन्धित अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बताए । यी प्रयासहरूलाई स्थलमै थप सुदृढ गर्न ढाकास्थित मलेसियाली उच्चायोगका अधिकारीहरूलाई पनि परिचालन गरिएको बताए ।

    “प्रभावित मलेसियाली नागरिकहरूको अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभएसम्म र उनीहरूका परिवारले आवश्यक सहयोग नपाएसम्म सरकार पूर्ण रूपमा संलग्न रहनेछ । अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका खोज तथा उद्धारमा संलग्न कर्मचारीहरूको साहस र समर्पणको म प्रशंसा गर्दछु । प्रभावित सबैप्रति हाम्रो विचार र प्रार्थना छ,” उनले भनेका छन् । प्रधानमन्त्री शाहले मलेसियाका समकक्षीले व्यक्त गरेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए ।


    सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सिङ्गापुरका नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न विदेश मन्त्रालयले नेपाली र चिनियाँ अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बता्रए । “हाम्रो विचार नेपाल र चीनका जनताका साथै उद्धार तथा पुनःस्थापनाका प्रयासमा खटिरहनुभएका सबैसँग छ । अझै बेपत्ता रहेकाहरू सकुशल फर्कून् भन्ने हाम्रो कामना छ,” उनले भने ।


    प्रधानमन्त्री शाहले सिङ्गापुरका समकक्षीले व्यक्त गरेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए ।


    न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भनेका छन्, “आकस्मिक बाढीपछि नेपाल र चीनबाट बाहिर आइरहेका दृश्यहरू अत्यन्तै हृदयविदारक छन् । प्रभावित सबै तथा प्रभावित समुदायहरूप्रति मेरो गहिरो समवेदना छ । प्रभावित हुन सक्ने न्युजिल्यान्डका नागरिकका सम्बन्धमा न्युजिल्यान्डले नेपालका अधिकारीहरूसँग सम्पर्कमा रहेर समन्वय गरिरहेको छ ।”

    उनले प्रभावित क्षेत्रमा रहेका न्युजिल्यान्डका नागरिकहरूले सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी आफ्ना परिवार तथा साथीहरूलाई गराउन आग्रह गरेका छन् । यदि तत्काल सहयोग आवश्यक परेमा २४ घण्टा, सातै दिन उपलब्ध कन्सुलर आपत्कालीन सेवाको नम्बर ं६४ ९९ २० २० २० मा सम्पर्क गर्न पनि उनको आग्रह छ ।

    प्रधानमन्त्री शाहले न्युजिल्यान्डका समकक्षीलाई यस कठिन समयमा उनले व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिँदै न्युजिल्यान्डले व्यक्त गरेको ऐक्यबद्धता र मित्रताप्रति नेपाल गहिरो आभार व्यक्त गरेका छन् ।