Category: समाचार

  • इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै


    काठमाडौँ, १० भदौ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।

    जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

    इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उनको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज ¥याली, सभालगायत कार्यक्रम गरिदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

  • प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौँ, १० भदौः प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।

    बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१\८२ प्रस्तुत गर्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् । आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।

  • दुई वर्षमा सक्नुपर्ने १० वर्षमा पनि उस्तै

    दुई वर्षमा सक्नुपर्ने १० वर्षमा पनि उस्तै


    बागलुङ, १० भदौः कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी भारत÷सिद्धिसाई जेभीसँग गरिएको सम्झौता तोडिएपछि पुन ठेक्काको प्रक्रिया अगाडि बढेको छ ।

    गत पुस १७ गते ठेक्का सम्झौता रद्द गरिएको आयोजनाको पुनः ठेक्का लगाउने प्रक्रिया सुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी उज्ज्वल शर्माले जानकारी दिए । पाँच पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गरी असुल उपरको प्रक्रिया सुरु गरिएको छ । नयाँ ठेक्का सम्झौताको मूल्याङ्कन, लागत अनुमानको प्रतिवेदन र स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगमार्फत अर्थ मन्त्रालय पठाइएको छ । पछिल्ला दिनमा सो सडक झनै जीर्ण बन्दै गएको छ । सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले बर्षामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नु परेको छ ।

    ठेक्का रद्द गरिएको सडकको अवस्था झनै बिग्रँदै गएको छ भने सम्पन्न भएको पूर्वाधारमा पनि क्षति पुगेको छ । “पुरानो ठेकेदारले गरेको काम र नयाँ ठेक्कामा थप्नुपर्ने पूर्वाधारलगायतको अध्ययन प्रतिवेदनसहित करिब रु २५ करोडको स्रोत सुनिश्चतताका लागि अर्थमन्त्रालयमा प्रस्ताव गरिएको छ,” इन्जिनियर शर्माले भने ।
    ठेक्का रद्द गरिएको ठेकदारबाट रु नौ करोड ३६ लाख असुल उपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । “नयाँ ठेक्का छिट्टै खोल्ने तयारीमा छौँ, सम्भवतः चार महिनाभित्र पूरा होला,” इञ्जिनियर शर्माले भने ।


    बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाईसँग दुई वर्षमा सक्नेगरी रु ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । ठेकेदारले रु ३४ करोड तीन लाख भुक्तानी लिइसकेको छ । वर्षाका कारण सडक झनै बिग्रेको छ भने कालोपत्र गरेको क्षेत्रमा खाल्टाखुल्टी परेको छ ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १० भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९० रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४० रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११ रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७८ पैसा र बिक्रीदर २३ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३४ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । –––

  • ‘नोमाड बेसक्याम्प नेपाल’ आयोजना गरिँदै

    ‘नोमाड बेसक्याम्प नेपाल’ आयोजना गरिँदै

    कास्की, १० भदौः पोखरामा यही भदौ १६ देखि २२ गतेसम्म ‘नोमाड बेसक्याम्प नेपाल २०२६’ आयोजना हुने भएको छ । पोखरालाई दक्षिण एसियाकै प्रमुख ‘रिमोट वर्क’ तथा प्रविधि नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सो कार्यक्रम गर्न लागिएको मङ्गलबार आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कार्यक्रममा ३० देशका ३०० भन्दा बढी अन्तरराष्ट्रिय उद्यमी, ‘डिजिटल’ नोमाड, प्रविधि नवप्रवर्तक तथा सिर्जनाकर्मी सहभागी हुने आयोजकले जनाएको छ ।

    सात दिनसम्म चल्ने कार्यक्रमले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), उद्यमशीलता, रिमोट वर्क र अन्तरराष्ट्रिय ‘नेटवर्किङ’लाई नेपाली प्रतिभा तथा पर्यटनसँग जोड्ने लक्ष्य राखेको नोमाड बेसक्याम्पका संस्थापक ड्यानी फ्लडले बताए । उनका अनुसार अन्नपूर्ण हिमशृङ्खलाको काखमा आयोजना हुने सम्मेलनमा प्रविधिसम्बन्धी कार्यशाला, एआई तथा लगानीसम्बन्धी विशेष छलफल, अन्तरदेशीय नेटवर्किङ र सांस्कृतिक तथा साहसिक पर्यटनसँग जोडिएका कार्यक्रम सञ्चालन हुनेछ । “पोखरामा हुन लागेको दोस्रो संस्करणले स्थानीय प्रतिभा र युवा उद्यमीलाई विशेष प्राथमिकतामा राखेको छ । कर्पोरेट साझेदारको सहयोगमा विद्यार्थी तथा उदियमान नेपाली प्रविधि उद्यमीलाई सहभागी गराइनेछ,” उनले भने ।


    कार्यक्रममा जापानका चर्चित लेखक तथा ‘ह्याप्पी मनी’का लेखक केन होन्डा, सगरमाथा र विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने पहिलो प्यालेस्टिनी नागरिक मुस्तफा सलामेहलगायत सहभागी हुनेछन् । फ्लडका अनुसार यस अभियानले पोखरा, काठमाडौँ र नेपालका अन्य क्षेत्रमा दीर्घकालीन आर्थिक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ । विदेशी डिजिटल नोमाड तथा रिमोट वर्करको बसाइ अवधि बढेसँगै होटल, रेस्टुरेन्ट, पर्यटन, यातायात तथा स्थानीय सेवा क्षेत्रमा पनि आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

  • उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    खोटाङ, १० भदौः डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो ।

    स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिए । “काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौँ”, उनले भने, “घटनाको विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । समितिको प्रतिवेदन आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।”

    साप्सुखोलाको शिरतर्फका सार्वजनिक तथा सामुदायिक वनका रुख कटान गरेर ती काठ बगाउँदै ल्याइएको बताइन्छ । मध्यपहाडी लोकमार्गस्थित साप्सुखोलाको मोटरेबल पुलमा काठका मुडा जम्मा गरिएको पाइएको थियो । अवैध रुपमा गोलिया काठ निकासी भइरहेको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय खोटाङका कर्मचारी पुग्दा कतिपय मुडा खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको तथा कतिपय मुडा खोलामै छरपस्ट भेटिएका थिए । वन कार्यालयका कर्मचारीले सबै काठ वन कार्यालयमा ल्याएका छन् ।

    बेवारिसे अवस्थामा भेटिएका गोलिया काठ केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले कटान गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए । ‘वन ऐन २०७६’ अनुसार सार्वजनिक जग्गामा रहेको उत्तिसलगायत निकासीका लागि खुला गरेको विभिन्न २८ प्रजातिका रुख कटान गरेको प्रमाणित भएमा रु दश हजार जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था छ । निजी जग्गामा भएका रुख कटानका लागि आदेश लिन नपरे पनि व्यावसायिक रुपमा निकासी गर्न सम्बन्धित क्षेत्रमा रहेको वन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

    दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो केही वर्षदेखि व्यापक रुपमा उत्तिस, मलातो, पात्ले, चिलाउनोलगायत विभिन्न प्रजातिका रुख कटान गरेर गोलिया काठ निकासी गर्ने काम भइरहेको छ । सक्रिय काठ व्यवसायीले ग्रामीण भेगका जग्गाधनीबाट सस्तो मूल्यमा सिङ्गो रुख खरिद गरेर कटानगरी तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरेर राम्रो कमाई गरिरहेका छन् ।

  • गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन….

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन….

    म्याग्दी, १० भदौः काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आयो । बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नाकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएका छन् ।

    “विदेशबाट पढेर आएका भाइले बनाएको कुखुरापालनको योजनालाई साथ दिएर बेनी बजार नजिकैको खबरा लभ्लीहिलमा १४ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको रिजाल एग्रो फार्म हाल रत्नेचौर, कुरिलाखर्क, बरबुटा र चुत्रेनीमा विस्तार भएको छ । व्यवसायी दीर्घले भने, “हाल सात हजार लेयर्स र पाँच हजार ब्रोइलर कुखुरा छन् । परिवारका चार जना सदस्यसहित २० जनाले रोजगारी पाएका छौ ।”

    रु दुई करोड लगानी रहेको फार्मले गत वर्ष रु १६ करोडभन्दा बढीको कारोबार गरेको उनले बताए । “सुरुआती दिनमा बैङ्कले ऋण नपत्याएको र ग्राहकलाई पनि उत्पादनको बारेमा बुझाउनुपर्ने अवस्था थियो,” उनले भने, “निरन्तरता र गुणस्तरमा जोड दिएका कारण रिजाल एग्रोको आप्mनै ब्रान्ड बनेको छ । बजारमा मासु, अण्डा र कुखुराको बिक्रीमा समस्या छैन ।”

    जिल्ला सदरमुकाम बेनी र आसपासका स्थानीय बजारमै अण्डा खपत हुने गरेको छ । फार्ममा उत्पादन भएका अण्डाका साथै उद्योगबाट दाना ल्याएर बिक्री गर्न बेनी बजारमा पसल पनि सञ्चालन गरिएको छ । कुखुराको मासुको माग उच्च रहेकाले बेनी बजार वरपरका क्षेत्रमा खाली रहेका खोरहरु भाडामा लिएर ब्रोइलर जातको कुखुरापालन विस्तार गरेको सञ्चालक रिजालले बताए ।

    म्याग्दीमा प्रोल्टी« व्यवसायको भविष्य देखेर नै विदेशमा अध्ययन गरेर त्यहाँका अवसर त्यागेर व्यवसायमा लागेको फार्मका अर्का सञ्चालक मुकुन्द रिजालले बर्ताए । “आफ्नै देशका केही गरौँ भन्ने सोचले न्युजिल्यान्डको अवसर छाडेर व्यवसायमा लागेको हो,” उनले भने, “पोल्ट्री व्यवसायलाई नै थप व्यवस्थित र विस्तार गर्ने योजनामा छौँ ।”

    स्थानीय स्तरमा प्राविधिक जनशक्ति र कामदारको अभाव तथा फार्मसम्म पुग्ने पहुँच मार्ग कच्ची भएकाले ढुवानीको चुनौती रहेको सञ्चालक रिजाल दाजुभाइको भनाइ छ ।

  • मनसुनयता सरदरभन्दा कम वर्षा

    मनसुनयता सरदरभन्दा कम वर्षा

    काठमाडौँ, ९ भदौः यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए । सो अवधिमा सामान्यतया ८३० दशमलव ६ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको ८९ दशमलव ९ प्रतिशत मात्र वर्षा भएको उनले बताए ।


    यसअनुसार मनसुनको उक्त अवधिमा सरदरभन्दा ८३ दशमलव ८ मिलिमिटर कम वर्षा भएको देखिन्छ । “यस वर्षको मनसुन अवधिमा वर्षाको मात्रा सरदरभन्दा कम देखिए पनि वर्षाको वितरण र स्थानअनुसारको अवस्थालाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ,” उनले भने । सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको थियो ।

    विभागका प्रक्षेपणअनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेस प्रदेशका पश्चिमी भू–भाग तथा कोशी प्रदेशका मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

    कर्णाली र कोशी प्रदेशका उत्तरी भू–भागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ । अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भू–भागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

    न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।

  • विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

    विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

    काठमाडौँ, ९ भदौः शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो ।

    छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । विश्वविद्यालयको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर कायम तथा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउने विषयलाई आगामी कानुनमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा सुदन झाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै ज्ञान उत्पादनमा केन्द्रित हुनुपर्ने बताए । उनले हरेक विश्वविद्यालयले अनुसन्धान र ज्ञान उत्पादनको अवधारणाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको शैक्षिक सुधार, उत्कृष्ट विश्वविद्यालय निर्माण तथा उच्च शिक्षासम्बन्धी ठोस नीति बनाउन छलफल महत्त्वपूर्ण रहेको बताए । उनले विद्यालय शिक्षा ऐनको मस्यौदा लेखन प्रक्रिया अघि बढिसकेको र सातै प्रदेशबाट सुझाव प्राप्त भएको जानकारी दिए । सचिव पौडेलका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रसँग सम्बन्धित छ वटा विधेयक अघि बढाउने तयारी गरेको छ ।

    शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले विश्वविद्यालयको सङ्ख्या, छात्रवृत्तिको पारदर्शिता, प्रभावकारितालगायत विषयलाई कानुनमा समेट्नुपर्ने धारणा राखे । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा खड्गबहादुर केसीले उच्च शिक्षाको नीतिगत सुधारका लागि छलफल महत्त्वपूर्ण भएको बताउँदै नेपालका विश्वविद्यालय अनुसन्धानमुखी संस्थाका रूपमा विकास हुनुपर्नेमा जोड दिए । विश्वविद्यालयले अध्यापन मात्र नभई ज्ञान उत्पादनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयका गतिविधिलाई प्रभावकारी र चलायमान बनाउन सम्बन्धित ऐन छिटो ल्याउनुपर्ने बताए । छलफलमा काठमाडौँ विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति तथा प्रतिनिधिले उच्च शिक्षा सुधार र ऐनमा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए ।

    त्यसै गरी विभिन्न विश्वविद्यालयका रजिस्ट्रार, डीन, प्राध्यापक, मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, नीति निर्माता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । मन्त्रालयका सहसचिव जयराम अधिकारीले विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी विद्यमान कानुनी प्रावधानमा आवश्यक सुधारका विषयमा राय तथा सुझाव लिन छलफल आयोजना गरिएको बताए । छलफलमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानको विस्तार तथा उच्च शिक्षालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

  • आइटी स्टार्टअपसँग अर्थमन्त्रीले के भने ?

    आइटी स्टार्टअपसँग अर्थमन्त्रीले के भने ?

    ९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए । “सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”


    विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उनले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र रहेको बताए । सरकारले यस वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको, एआईको विकासका लागि बजेट विनियोजन गरेको र सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई प्रोत्साहनको नीति लिएको उनले बताए । “तपाईंहरूको कुरा भन्नुहोस्। तपाईंहरूको क्षेत्र फलोस्फु-लोस्। युवाहरू विदेशिन नपरोस्। अहिले अवस्था कस्तो छ रु सरकारले के गरिदिनुपर्यो भन्नुहोस्,” अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूलाई भने ।


    सरकारले विश्वस्तरीय सूचना प्रविधिका प्रख्यात कम्पनीहरूलाई नेपाल भित्र्याउन पहल गरिरहेको पनि उनले बताए । नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने हबका रूपमा विकास गर्ने रणनीतिमा सरकार रहेको उनले बताए । काम गर्दै जाँदा आउने कमीकमजोरीहरू फुकाउँदै यो क्षेत्रको विकास गर्दै अघि बढ्ने भन्दै उनलेआफ्‌ना समस्याहरू खुलस्त भएर राख्न र सरकारसँग हातेमालो गरेर अघि बढ्न युवा उद्यमीहरूलाई आग्रह गरे । छलफलमा सहभागी भएका दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेकामा धन्यवाद दिए ।


    उनीहरूले सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि सेवा प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, विदेशी मुद्रा सटही सुविधा सहज गरिनुपर्ने र कानुनी जटिलता फुकाउनुपर्नेमा जोड दिए ।

  • कांग्रेसको १५ औँ महाधिवेशन रोक्न निवेदन दर्ता

    कांग्रेसको १५ औँ महाधिवेशन रोक्न निवेदन दर्ता

    काठमाडौँ, ९ भदौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । पार्टी पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाविधेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज कांग्रेको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो । सो निवेदन उपर यही भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।

    कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्णय रोक्न रिट निवेदन पेश गरिएको हो । कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न निस्सा (अनुमति) दिइएको छ । सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको छ ।

  • विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, ९ भदौः प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरइपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भइ काठमाडौँ महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा तथा ओखलढुङ्गा घर भइ काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पक्राउ परेका मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार, करिनाले लिथुआनिया पठाइदिने भन्दै रु दुइ लाख ५० हजार, साजनले फिनल्याण्ड पठाइदिने भन्दै रु १२ लाख, पेमाले रोमानिया पठाइदिने भन्दै रु एक लाख र तोमकुमारीले माल्टा पठाइदिने भन्दै रु एक लाख ३५ हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


    प्रहरीले सुष्मालाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१०, करिना र साजनलाई काठमाडौँ महानगरपालिका–३ तथा पेमालाई काठमाडौँ महानगरपालिका–१२ र तोमकुमारीलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरिएको जनाएको छ । उनीहरूलाई आज आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

  • राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

    राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण

    काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गरेका छन् । चाँगुनारायण कलश यात्राका पूजारीसहितका सहभागी आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरेका थिए ।

    भक्तपुरस्थित चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतिकका रूपमा तीनवटा कलश पैदल यात्रा गराएर काठमाडौँको हनुमान ढोका तथा वसन्तपुर ल्याउने गरिन्छ । त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छाँया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्ने परम्परा छ ।

  • राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    रासस
    तुलसीपुर, (दाङ), ९ भदौः नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र्रहरूले आर्थिक वर्ष २०८२–०८३ मा ३ लाख ३८ हजार ९२८ जनालाई आँखा उपचार सेवा प्रदान गरेका छन् । यस अवधिमा १४ हजार ४७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया तथा तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया गरी कूल १८ हजार १२१ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ ।

    कार्यक्रमअन्तर्गत अस्पताल तथा उपचार केन्द्र्रका साथै विभिन्न बाह्य कार्यक्रममार्फत निःशुल्क आँखा शिविर, आँखा जाँच तथा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट ९७ हजार ६६९ जनाले निःशुल्क आँखा जाँच सेवा प्राप्त गरेका छन् भने चार हजार ९१८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

    आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमका अनुसार राप्ती आँखा अस्पताल तथा उपचार केन्द्र्रबाट मात्रै उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् । आर्थिक वर्ष २०८२÷०८३ मा राप्ती आँखा अस्पताल रक्षाचौरबाट ६४ हजार ६६०, लमही आँखा अस्पतालबाट ४० हजार २५८ र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगन्ज, कपिलवस्तुबाट ८९ हजार ६६९ जनाले आँखा उपचार सेवा लिएका छन् ।

    यसैगरी, घोराही आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार ८०६, सल्यान आँखा उपचार केन्द्र्रबाट सात हजार १५, रुकुम पश्चिम आँखा उपचार सर्जिकल सेन्टरबाट सात हजार १८१, कोइलाबास आँखा उपचार सर्जिकल सेन्टरबाट दुई हजार ५९१ र कृष्णनगरस्थित बहादुरगन्ज आँखा सर्जिकल सेन्टरबाट आठ हजार १८५ जनाले सेवा लिएका छन् ।

    त्यस्तै सुलिचौर आँखा उपचार सर्जिकल सेन्टर, रोल्पाबाट चार हजार २५८, रुकुम पूर्व आँखा उपचार केन्द्र्रबाट एक हजार ३ सय ४६, भालुबाङ आँखा उपचार केन्द्रबाट चार हजार १९२, गढवा आँखा उपचार केन्द्र्रबाट एक हजार ४३९, राजपुर आँखा उपचार केन्द्रबाट ४३८ तथा राजपुर–५ स्थित केन्द्रबाट ४१९ जनाले आँखा उपचार सेवा प्राप्त गरेका छन् ।

    १८ हजारभन्दा बढीको शल्यक्रिया

    शल्यक्रियातर्फ राप्ती आँखा अस्पताल रक्षाचौरबाट दुई हजार ४४०, लमही आँखा अस्पतालबाट एक हजार ८८९ र छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगन्जबाट छ हजार ४४९ जनाको आँखाको शल्यक्रिया गरिएको छ । यसैगरी विभिन्न शल्यक्रियासहितका निःशुल्क शिविरमार्फत दुई हजार ६३४ जनाको शल्यक्रिया गरिएको वरिष्ठ अधिकृत गौतमले जानकारी दिए । सङ्घद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले अन्य तीन हजार ६५५ जनालाई सामान्य तथा अन्य प्रकारका आँखाको शल्यक्रिया सेवा प्रदान गरेका छन् । आर्थिक वर्ष २०८२\०८३ मा ७५ हजार ९५५ जनाको चस्मा जाँच गरिएकोमा ३९ हजार ५८६ जनालाई चस्मा आवश्यक रहेको पाइएको छ ।

    अस्पतालसँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    आँखा उपचार तथा शल्यक्रियासँगै कार्यक्रमले समुदायस्तरमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना र प्राथमिक स्वास्थ्य शिक्षा कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, धामीझाँक्री, पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह तथा समाजसेवी गरी ४९४ जनालाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

    विद्यालय तहमा विद्यार्थीको आँखा परीक्षण तथा प्राथमिक आँखा स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले विभिन्न समयमा विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन हुँदै आएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत गौतमले बताउनुभयो ।

    विशेषज्ञ सेवा विस्तार

    कार्यक्रमअन्तर्गतका तीनवटै आँखा अस्पतालमा नियमित रूपमा नेत्र विशेषज्ञमार्फत विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्र, सुलिचौर सर्जिकल आँखा उपचार केन्द्र, कोइलाबास सर्जिकल आँखा उपचार केन्द्र तथा घोराही फेको सेन्टर र सल्यान आँखा उपचार केन्द्रबाट आवश्यकताअनुसार विशेषज्ञ तथा शल्यक्रिया सेवा पनि प्रदान हुँदै आएको छ ।

    आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा शम्शेर थापाका अनुसार राप्ती आँखा अस्पतालमा जलविन्दु विशेषज्ञ नेत्र विशेषज्ञको नेतृत्वमा जलविन्दुसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध छ । लमही आँखा अस्पतालमा प्राध्यापक नेत्र विशेषज्ञमार्फत विभिन्न विषयमा विशेषज्ञ सेवा प्रदान भइरहेको छ भने नाक, कान तथा घाँटीसम्बन्धी विशेषज्ञ सेवा पनि उपलब्ध छ ।

    छन्द ९कालेबाबु० नारायणी आँखा अस्पतालमा अकुलोप्लास्टिक विशेषज्ञ सेवा उपलब्ध रहेको छ । साथै तीनवटै अस्पतालबाट रेटिना, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी परामर्श तथा उपचार सेवा प्रदान हुँदै आएको छ ।

    पहुँच विस्तारमा नेपाल नेत्रज्योति सङ्घको योगदान

    नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले दाङमा दुईवटा आँखा अस्पताल, कपिलवस्तुमा एउटा आँखा अस्पताल तथा विभिन्न जिल्लामा आँखा उपचार केन्द्र र सर्जिकल सेन्टरमार्फत सेवा विस्तार गरेको छ । सल्यान र रुकुम पूर्वमा आँखा उपचार केन्द्र तथा कोइलाबास, घोराही, रुकुम पश्चिम र रोल्पाको सुलिचौरलगायतका स्थानमा आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र सञ्चालनमा छन् ।

    सङ्घले अस्पतालमा आधारित उपचार सेवालाई मात्र सीमित नराखी दुर्गम तथा ग्रामीण समुदायसम्म पुगेर निःशुल्क आँखा शिविर, विद्यालय आँखा परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा आवश्यकताअनुसार शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ । यसबाट आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई समेत समयमै आँखा उपचार सेवा प्राप्त गर्ने अवसर मिलेको छ ।

    नेपाल नेत्रज्योति सङ्घले देशभर सञ्चालन गर्दै आएको आँखा स्वास्थ्य सेवाको मूल उद्देश्यअनुरूप राप्ती तथा बहादुरगन्ज कार्यक्रमले पनि ‘सबैका लागि आँखा स्वास्थ्य’ को अवधारणालाई व्यवहारमा उतार्दै उपचार, शल्यक्रिया, विशेषज्ञ सेवा, रोकथाम, जनचेतना र समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइरहेको छ ।

  • भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुर, ९ भदौः कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो । पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट विस्तारै हराउँदै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कम आम्दानी, बढी मेहनत र बजारको अभावका कारण किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका हुन् ।

    टेम्केमैयुङ गाउँपालिका–६ कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदोखेती घरायसी प्रयोजनमा सीमित हुँदै गएको छ । “कोदोखेती गरेर जीवन धान्नसक्ने अवस्था छैन”, उनले भने, “गाउँघरमा पनि व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन हराउँदै गएको छ । अहिले घरमा खानका लागि मात्र कोदो लगाउने गरिएको छ ।”

    उनका अनुसार कोदोखेती गर्न अन्य बालीको तुलनामा बढी मेहनत गर्नुपर्छ तर आम्दानी भने कम हुन्छ । त्यसैले किसानले विस्तारै यो बाली छाड्दै गएका छन् । भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फुयाँलले पनि पहिलेको तुलनामा कोदोखेती निकै घटेको बताए । “पहिले धेरै किसानले कोदो लगाउँथे”, उनले भने, “अहिले उत्पादन पनि घटेको छ र खाने चलनसमेत कम हुँदै गएको छ ।”

    स्थानीय बजारमा कोदो प्रतिकिलो रु १४० देखि १७० सम्ममा बिक्री हुने गरेको छ । तर मूल्य राम्रो भए पनि उत्पादन र बजारको निश्चितता नहुँदा किसानले यसलाई व्यावसायिक बालीका रूपमा लिन सकेका छैनन् । किसानका अनुसार कोदोको प्रयोग परम्परागत खानाभन्दा जाँड, रक्सी बनाउन बढी हुने गरेको छ । कोदो पौष्टिक अन्नका रूपमा चिनिन्छ । यसबाट ढिँडो, रोटी, सातु, लिटोलगायत विभिन्न परिकार बनाउन सकिन्छ । विशेषगरी चिसो मौसममा कोदोको खोले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । तर आधुनिक खानपानको बढ्दो प्रभावसँगै कोदो खाने चलन पनि घट्दै गएको छ ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब पाँच हजार हेक्टर जमिन कोदोखेतीका लागि उपयुक्त छ । तर पछिल्लो समय यसको खेती क्रमशः घटिरहेको छ । किसान नगदेबाली, तरकारी र फलफूलखेतीतर्फ आकर्षित भएपछि कोदोजस्ता परम्परागत बाली ओझेलमा पर्दै गएको केन्द्रले जनाएको छ ।

    स्थानीय किसानका लागि कोदो केबल अन्न होइन, पहाडी जीवनशैली र संस्कृतिसँग जोडिएको बाली पनि हो । त्यसैले यसको खेती जोगाउन उत्पादनसँगै बजार सुनिश्चित गर्नुपर्ने किसानको माग छ । कोदोको उत्पादन घट्दै जाँदा गाउँघरको परम्परागत खानाको स्वाद मात्र हराउने होइन, स्थानीय बालीको विविधता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषि ज्ञानसमेत कमजोर हुने जोखिम बढेको छ ।

  • खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    खोटाङ, ९ भदौः ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना सञ्चालनमा आएपछि ३७० घरधुरी लाभान्वित भएका छन् ।
    गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आयोजना र झाँक्रीबास खानेपानी आयोजना तथा वडा नं ७ माक्पामा रोलुखोला नेरुङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।

    तीनवटै आयोजनामार्फत घर तथा सार्वजनिक स्थानमा ३७२ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेककेन्द्र राजभण्डारीले जानकारी दिए । “तीनवटै खानेपानी आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । सबै घरमा निर्माण गरिएका धाराबाट पर्याप्त स्वच्छ खानेपानी उपलब्ध भएको छ”, उनले भने ।


    उनका अनुसार त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित खानेपानी आयोजनालाई प्रभावकारी बनाउन अनुगमन तथा मर्मत समिति गठन गरिएको छ । खानेपानी आपूर्ति बन्द भएमा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन हेरालुसमेत नियुक्त गरिएको छ । कुल रु एक करोड ३६ लाख ८४ हजार ७८५ लागतमा सम्पन्न बाकाचोलको लुबेरा–बादेल खानेपानी आयोजनाबाट २०४ वटा धारा निर्माण गरिएको छ । गत असार १६ गते सम्पन्न उक्त आयोजनाका लागि उपभोक्ता समितिले रु १३ लाख ६८ हजार ४७८ बराबरको श्रमदान गरेको जनाएको छ ।

    त्यस्तै, रु ४२ लाख ७२ हजार ९५८ लागतमा सम्पन्न माक्पाको रोलुखोला नेरुङ खानेपानी आयोजनाबाट ४४ घरमा र सार्वजनिक स्थानमा दुई वटा धारा निर्माण गरिएको छ । उक्त आयोजना गत जेठ ६ गतेदेखि सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । खानेपानी आयोजना सञ्चालन हुनुअघि खानेपानीको समस्या रहेको झाँक्रीबासमा आयोजनामार्फत १२२ वटा धारा निर्माण गरिएको छ । करिब सात किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत झाँक्रीबासमा पानी ल्याइएको हो । उक्त आयोजनाको गत जेठ १२ गते औपचारिक उद्घाटन गरिएको थियो ।

    गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले आगामी वर्ष गाउँपालिकाका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । “सरकारको नीतिअनुसार गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिरहेका छौँ । निर्वाचित भएर आएपछि करिब ५० प्रतिशत घरधुरीमा यो सेवा पु¥याइसकेका छौँ”, उनले भने, “गाउँपालिकामा तीन हजार ३५५ घरधुरी छन् । बाँकी सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने योजना बनाएर बजेट विनियोजन गरेका छौँ ।”

    लामो समयदेखि कुवा तथा खोलाको पानी प्रयोग गर्दै आएका स्थानीय बासिन्दा घरघरमा निर्माण गरिएका धाराबाट स्वच्छ खानेपानी पाउन थालेपछि खुसी भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाको बाकाचोलमा यसअघि कादुरीले सञ्चालन गरेको खानेपानी आयोजना जीर्ण भएपछि नयाँ आयोजना सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका दुई वडामा एकैपटक तीन वटा खानेपानी आयोजना सञ्चालन गर्न विसं २०८२ मङ्सिर २७ गते त्रिपक्षीय सम्झौता गरिएको थियो । सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बू तथा उपभोक्ता समितिका तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षले हस्ताक्षर गरेका थिए ।

  • पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    सुनसरी, ९ भदौः आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।


    उनले दुई बिघा क्षेत्रफलमा उक्त खेती गरेर वार्षिक रु ५५ लाखदेखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन् । करिब २८ वर्ष भारतीय सेनामा सेवा गर्नुभएका घलेले अवकाशपछि कृषि व्यवसायमा लागेका हुन् । उनले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा खेती सुरु गरेका थिए । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उनले ड्रागन फ्रुटखेती सुरु गरेका हुन् । सुरुमा यसको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि विस्तारै माग र मूल्य बढ्दै गएपछि उनले खेती विस्तार गरेका हुन् ।


    हाल उहाँको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन् । अन्य फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने गरेको घलेले बताए ।
    फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब रु आठदेखि नौ लाख खर्च हुने गरेको उनले बताए । फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको छ । वार्षिक रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको घलेले जानकारी दिए ।


    पहिले प्रतिबोट रु चारदेखि पाँचमा बिक्री हुने बिरुवा मागअनुसार रु ५० देखि ७० सम्ममा बिक्री हुने गरेको उनले सुनाए । फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो रु ३५० र थोकमा रु ३०० मा बिक्री हुने गरेको छ । बेमौसममा भने प्रतिकिलो रु ४५० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । फार्ममा मासिक रु १६ हजार तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक रु ८०० ज्यालामा आठ÷नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको घलेले बताए ।


    गत वर्ष फार्ममा २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष ३० मेट्रिकटनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ । यस्तै, धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ । धेरै व्यापारी फार्म मै आएर फल लैजाने गरेका छन् ।

    घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्नसके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ । गत वर्ष फङ्गस रोगको समस्या देखिए पनि यस वर्ष त्यसको असर कम रहेकाले उत्पादन बढ्ने उनले बताए ।
    ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ । जेठको अन्तिम सातादेखि फल टिप्न सुरु गरिने र कात्तिकसम्म लगातार फल लाग्ने गरेको घलेले बताए । बत्ती जडान गरी बेमौसमामा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्य पनि बढ्ने उनको भनाइ छ ।

    घलेले कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकिने बताए । “अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने । ड्रागन फ्रुट खेतीमा योगदान पु¥याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन् । पछिल्लो समय युवापुस्तामा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए । रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दाबढी घरधुरीले ड्रागन फ्रुटखेती गर्दै आएका छन् । विदेशबाट फर्किएका युवाले यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताए ।


    “दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन”, उनले भने, “छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुटखेती राम्रो विकल्प बन्न सक्छ ।” उनका अनुसार सुरुआतमा केही मेहनत गरेपछि ठूलो लगानी र धेरै मेहनत गरिरहनुपर्दैन । बिरुवा रोपेको एक वर्षदेखि फल दिन सुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

  • अशक्त तथा अपाङ्गता भएका नागरिकलाई अब घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकलाई अब घरमै नागरिकता

    रासस
    बैतडी, ९ भदौः बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो । उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट बञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।


    यसका लागि १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गर्न भनिएको र सम्बन्धित पालिकासँगको समन्वय र सहकार्यमा घरमै नागरिकता प्रदान गरिने उनले बताइन् । “सबै स्थानीय तहबाट अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण माग गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी भनिन्, “विवरण आएपछि उनीको घर तथा पायक पर्ने स्थानमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्छौं ।”

    शारीरिक अशक्तता र अपाङ्गता कारण प्रशासन कार्यालयसम्म पुग्न नसकी नागरिकताबाट बञ्चित नागरिकलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको प्रशासनले जनाएको छ । यसबाट विशेषगरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा प्रशासन कार्यालयसम्म पुग्न असहज हुने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । नागरिकता प्राप्त गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएकाले कार्यक्रमले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा सहज बनाउन सहयोग पुग्ने प्रजिअ अर्यालले बताइन् ।

  • मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    रासस
    बैतडी, ९ भदौः यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रुपमा सक्रिय छन् । उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रुपमा कृषि पेसामा आबद्ध छन् । “श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छाँै”, भने, “व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ ।”

    विसं २०७२ देखि व्यावसायिक रुपमा सुरु गर्नुभएको भेडेखुर्सानी खेती अहिले विस्तार भएर १६ रोपनी क्षेत्रफलमा पुगेको छ । “बजारको विस्तार भएसँगै भेडे खुर्सानी खेती व्यावसायिक रुपमा गरिरहेका छौँ”, उनले भने । बजारमा उचित मूल्य पाएको वर्ष भेडेखुर्सानीबाट मात्रै रु आठ लाखसम्म आम्दानी हुने गरेको भट्टले बताए । आधुनिक कृषि प्रविधि, विशेषगरी मल्चिङ प्रविधि तथा कृषि उपकरणको प्रयोगले उत्पादनसँगै आम्दानी बढ्दै गएको उनको अनुभव छ ।

    “कृषिलाई परम्परागत रूपमा मात्र नभई व्यवसायका रूपमा अघि बढाउनसके राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “बीउबिजन, ढुवानीलगायत अन्य खर्च कटाएर भेडेखुर्सानीबाटै रु चार लाखसम्म बचत हुने गरेको छ ।” भट्ट परिवारले सञ्चालन गर्दै आएको मल्टी एग्रो फार्ममा करिब ४० रोपनी क्षेत्रफलमा तरकारी तथा फलफूलखेती भइरहेको छ । भेडेखुर्सानी, किबी, कागती, सुन्तला खेतीसँगै कुखुरा तथा बङ्गुरपालन गर्दै आएका छन् ।


    सुरुका दिनमा प्राविधिक ज्ञानको अभावमा केही कठिनाइ भए पनि अहिले किबीखेती क्रमशः विस्तार हुँदै गएको भट्टका छोरा दिपक बताउँछन् । बजारको केही चुनौती भए तापनि पाँच रोपनीमा किबी खेती गरिएको उनले बताए । “बजार र प्राविधिक ज्ञानको अभाव छ । युट्यब हेरेर व्यवसाय सञ्चालन गरेको हुँ”, दीपकले भने, “विसं २०७६ देखि सुरु गरिएकामा अहिले पाँच रोपनी क्षेत्रफलमा विस्तार गरी किबीका २०० बोट लगाएका छौँ ।”

    दैनिक पन्ध्र सय बढी अण्डा उत्पादन

    दुई वर्षयता दीपकले कुखुरापालन व्यवसाय पनि थपेका छन् । १० लाखको लगानीमा आधुनिक खोर निर्माण गरी कुखुरापालन व्यवसाय थपिएको उनले बताए । “अण्डा उत्पादनका लागि लेयर्स जातका दुई हजारबढी कुखुरा छन्”, दीपक भन्छन्, “दैनिक एक हजार ६०० अण्डा उत्पादन हुने गरेको छ । बैतडीसहित बझाङ र दार्चुलाका विभिन्न बजारमा जाने गरेको छ ।” बजारको अभाव नभए पनि ढुवानीको समस्या हुने गरेको कृषक भट्ट परिवारको भनाइ छ । व्यवसाय विस्तारको योजना भए तापनि दाना, अण्डा, बीउबिजनलगायत उत्पादित तरकारी बजारसम्म पुर्याउन सकस हुने गरेको दीपकको भनाइ छ ।

    मेहनत गरे गाउँमै राम्रो आम्दानी

    कृषि व्यवसायबाट वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने भए पनि उत्पादन लागत, दाना, मल, औषधि, श्रम तथा ढुवानीलगायत खर्च कटाउँदा बचत भने अपेक्षाकृत कम हुने गरेको परिवारको भनाइ छ । सबै खर्च कटाएर वार्षिक रु ३० लाखसम्म खुद नाफा हुने गरेको दिपक बताउँछन् ।


    “बाहिर गर्नुपर्ने मेहनत गाउँमै गरे आम्दानी राम्रो हुने दीपक बताउँछन् । “यहाँ केही पनि छैन भन्दै सयौँ नेपाली रोजगारीको खोजीमा विदेशिने गरेका छन्”, उनले भने, “तर गाउँमा पनि थुप्रै अवसर छन् । यतै मेहनत गर्यौँ भने विदेशकोभन्दा राम्रो कमाई हुन्छ ।” व्यवसाय विस्तार गर्ने योजनामा रहेका भट्टले सरकारको साथ खोजेका छन् । उनले सडकको सहज पहुँच र बजारको थप व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रहसमेत गरे ।

  • पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    रासस
    दमौली (तनहुँ), ९ भदौः तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ । आर्थिक वर्ष २०८२–८३ मा जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाविरुद्ध गरी एक लाख ९० हजार २०१ डोज खोप लगाइएको छ ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार खोप कार्यक्रमअन्तर्गत खोरेतविरुद्ध ३९ हजार ८४९, लम्पी स्किन रोगविरुद्ध १० हजार ५७८, पिपिआर रोगविरुद्ध एक लाख ३१ हजार ४७१ र बङ्गुरको हैजाविरुद्ध आठ हजार ३०० डोज खोप लगाइएको छ ।

    खोप कार्यक्रममार्फत जिल्लामा खोप योग्य गाईभैँसीमध्ये करिब ५० प्रतिशतमा खोरेतविरुद्ध खोप लगाइएको भने ५५ प्रतिशत बाख्रामा पिपिआरविरुद्ध र ३५ प्रतिशत बङ्गुरमा हैजाविरुद्ध खोप लगाइएको अधिकारीले बताए । अधिकारीका अनुसार व्यास नगरपालिकामा १६ हजार ५८४, शुक्लागण्डकी नगरपालिकामा १७ हजार ६५६, भानु नगरपालिकामा २६ हजार सात, भिमाद नगरपालिकामा २४ हजार ३५१ खोप लगाइएको छ ।

    यस्तै, आँबुखैरेनी गाउँपालिकामा १९ हजार ९५८, ऋषिङ गाउँपालिकामा २० हजार १४१, घिरिङ गाउँपालिकामा २१ हजार ५०७, बन्दीपुर गाउँपालिकामा १४ हजार ९८९, म्याग्दे गाउँपलिकामा नौ हजार २४ र देवघाट गाउँपालिकामा १९ हजार ९८४ पशुलाई खोप लगाइएको छ । अधिकारीका अनुसार खोप कार्यक्रम सञ्चालन भएपछि खोप लगाइएका क्षेत्रमा सम्बन्धित रोगको प्रकोप देखिएको छैन । पशुमा सङ्क्रामक रोगको जोखिम कम गर्न नियमित खोप कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।


    “पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि जिल्लामा खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाको प्रकोप देखिएको छैन”, अधिकारीले भने, “खोपलाई नियमित र प्रभावकारी बनाउनसके पशुधनको सुरक्षा हुनुका साथै किसानले व्यहोर्नुपर्ने आर्थिक क्षति पनि कम गर्न सकिन्छ ।” कार्यालयले १० वटै पालिकाका ८५ वडा र एक हजार ११३ टोलमा पुगेर खोप सेवा प्रदान गरेको थियो । कार्यक्रम सञ्चालनका लागि ९३ जना खोपकर्ता परिचालन गरिएको थियो । खोपकर्तालाई स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी पशुपालक किसानको पहुँचमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

    पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएकामा रु ९० लाख ४३ हजार खर्च भएको छ । पशुमा लाग्ने सङ्क्रामक रोगले किसानको पशुधनमा प्रत्यक्ष क्षति पु¥याउनुका साथै दूध तथा मासु उत्पादनमा असर पार्ने भएकाले रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ ।

    खोरेत, लम्पी स्किन र पिपिआरजस्ता रोगको सङ्क्रमण फैलिँदा ठूलो सङ्ख्यामा पशु प्रभावित हुनसक्ने भएकाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै खोपमार्फत रोकथाम गर्नु प्रभावकारी हुने अधिकारीको भनाइ छ । पशुमा पूर्ण खोपसँगै पशु स्वास्थ्य सेवा तथा पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । पशुपालक किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउने, रोगको निगरानी तथा नियन्त्रण गर्ने र पशुजन्य उत्पादन वृद्धि गर्ने उद्देश्यले सेवा विस्तार भइरहेको कार्यालय प्रमुख अधिकारीले बताए ।

  • देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

    देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौँ, ९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

    महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, ९ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नेछिन् ।


    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैबीच, बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

    प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

    काठमाडौँ, ८ भदौः प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्नुपर्ने बताएका छन् । बैठकको विशेष समयमा उनले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले सिङ्गो मुलुकलाई भावविह्वल बनाएको बताए । “कोपिलामै चुँडिएका र खुसी लुटिएका घटनाले आज यो सम्मानित सभा र सिङ्गो देश भावविह्वल भएको छ”, सांसद दुलालले भने । नले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाही मात्र गर्नेभन्दा यस्ता घटना हुनै नदिन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


    “घटना घटेपछि कारबाही गरेर दोषीलाई सजाय दिनुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ”, सांसद दुलालले भने, उनले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेटेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरे । सांसद दुलालले स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खानेपानीमा लगाइएको अनावश्यक शुल्क तथा कर हटाउन सरकारसँग माग गरे । उनले पानीलाई केवल उपभोग्य वस्तुका रूपमा नभई निर्यातयोग्य स्रोतका रूपमा विकास गर्नुपर्ने बताए ।


    नेपालमा पानीको प्रशोधन तथा उत्पादन गरी खाडी मुलुकलगायत अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सके ठूलो वैदेशिक आम्दानी गर्न सकिने सांसद दुलालको भनाइ छ । पानी उद्योगलाई प्रोत्साहन गर्दै निर्यातका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सहज बनाउनुपर्ने उनले बताए । सांसद दुलालले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नहुने धारणा राखे ।


    श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले मनसुनजन्य बाढीपहिरोका कारण ठूलो मात्रामा कृषि भूमि डुबानमा पर्ने गरेको भन्दै बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । विशेषगरी सुनसरीमा बर्सेनि बाढीका कारण कृषि उत्पादन प्रभावित हुने गरेको उल्लेख गर्दै उनले बाढी नियन्त्रण तथा कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।


    सांसद राईले दुईदिने बिदाको व्यवस्थाले स्वास्थ्य क्षेत्रमा प्रभाव परेको भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न दिँदा कतिपय परिवार घरबारविहीन हुने अवस्था बढेको भन्दै उनले क्यासिनोमा नेपालीको प्रवेश नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरे । उनले खाना पकाउने ग्यासको सहज र नियमित आपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।


    सांसद खुश्वु ओलीले बलात्कारका घटनामा संलग्न दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन् । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै यस्ता जघन्य अपराध रोक्न सजायको व्यवस्था प्रभावकारी र कडा हुनुपर्नेमा जोड दिइन् । “हाम्रा छोरीहरू कहिलेसम्म बलात्कारीको हातबाट मारिनुपर्ने हो ?”, सांसद ओलीले प्रश्न गरिन् ।

    बलात्कारपछि हत्या गरिएकी बालिका चौधरीले तीन वर्षकै उमेरमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्ता अपराधमा संलग्न व्यक्तिले अपराध गर्नुअघि सजायको डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यमान कानुनको पुनरावलोकन, दण्डहीनताको अन्त्य तथा अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

  • गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

    गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

    रसुवा, ८ भदौः जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा गठित ११ वटा उपसमितिको तर्फबाट आआफ्नो जिम्मेवारी पूरा गरी भक्तजनको धार्मिक यात्रालाई अघिल्ला वर्षहरूको भन्दा सहज, सुरक्षित र सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    यसैसन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसममा आउने प्रतिकूलतालाई ख्याल गरी निर्धक्क भई आउन अनुरोध गर्दै यात्राका क्रममा असहज परिस्थिति सिर्जना भए आवश्यकताअनुसार सवारीसाधन र त्यसबाट नभए हेलिकप्टरसमेत प्रयोग गरी निःशुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गरे ।
    हिमालय उद्धार सङ्घ, नेपालका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा यात्राका क्रममा भक्तजनलाई लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यकताअनुसार विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।
    उनका अनुसार आइतबार मध्याह्नदेखि सञ्चालनमा आएको स्वास्थ्य शिविर भदौ १३ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा आवश्यक औषधि तथा अक्सिजनसहित छ जना चिकित्सक र हिमालय उद्धार सङ्घका प्रतिनिधिका रूपमा प्रकाश खत्रीलाई खटाइएको छ । यसैबीच गोसाइँकुण्ड यात्रालाई सुरक्षित बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतका सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्पष्ट गरे ।

    सामाजिक सञ्जालमा देखाइए जस्तो गोसाइँकुण्ड जाने बाटोका कुनै पनि स्थानमा अहिले असहज अवस्था नरहेको र भारी वर्षाका कारण खसेका पहिरोसमेत तत्काल हटाउने काम भइरहेको प्रजिअ परियारले जानकारी दिए । यद्यपि यात्राका क्रममा भौगर्भिक अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गरेर मात्र अघि बढ्न सम्बद्ध सबैसँग उनको सुझाव छ ।

    गोसाइँकुण्ड यात्राका क्रममा स्वास्थ्य, सुरक्षा एवं विरामी परेमा सुरक्षाकर्मीद्वारा उद्वारसमेतका व्यवस्थापन मिलाइ सकिएकाले निर्धक्क भएर यात्रा गर्नसमेत प्रजिअ परियारले सबैसँग अनुरोध गरे ।

  • नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री

    नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री

    ८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी(२’ सार्वजनिक गरेका छन् । सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए । ‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो।

    नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो, अर्थमन्त्री डा. वाग्लेले भने । नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगाएको उनको भनाई छ । अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए । सो क्रममा उनले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

  • टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

    टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

    काठमाडौँ, ८ भदौः अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको होे । यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।

    नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे । नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए । विपिन खत्रीले एक विकेट झारे ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए । तृत राज दासले १० रन जोडे ।

  • जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

    जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

    काठमाडौँ, ८ भदौ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उनको कार्यकक्षमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो ।

    छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत मङ्सिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा गत असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदानप्रदान भएको थियो । माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

    छलफलमा जेन–जी परिषद् घोषणा, जेन–जी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेन–जीको शालिक निर्माण तथा जेन–जी पार्क निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको गृह मन्त्रालयले जनाएको छ ।

  • स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    वालिङ (स्याङ्जा), ८ भदौः गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार मृतकको परिचय खुलेको छैन । जिपमा कति यात्री सवार थिए यकिन पनि भएको छैन । जिप चालक र केही घाइतेलाई गल्याङ नगर अस्पताल पुर्याइएको छ । दुर्घटनाको विवरण सङ्कलन जारी छ ।

  • विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

    विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद


    काठमाडौँ, ८ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सूर्तीजन्य पदार्थ (चुरोट) बरामद गरिएको हो ।

    अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शङ्का लागि सोधपुछ तथा जाँच गर्दा निजको साथबाट करिब रु ७२ लाख २५ हजार बराबरको ती सामग्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । त्यस्तै कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रु प्रयोग गरी सुन ओसारपसार भएको भन्ने सूचनाका आधारमा विमानस्थलको अन्तरराष्ट्रिय पार्किङ क्षेत्रबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५का ३५ वर्षीय कृष्ण यादव पक्राउ परेका सिलवालले बताए ।


    बाह्य मुलुकबाट आगमन भएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री तीन थान, अन्दाजी ७५ ग्रामसहित उक्त सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि रु ३० हजारसहित निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

    अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

    मेलबर्न, ८ भदौ (रासस–सिन्ह्वा) । अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् । “अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो”, कोलिन्सले पत्रकारहरूलाई बताइन् ।


    सङ्क्रमित जङ्गली चराहरू वा तिनको साझा वातावरणको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उनले बताइन् । हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै प्रमाण फेला नपरेको उनले बताइन् । अधिकारीहरूका अनुसार अस्ट्रेलियाभर एच–५ बर्ड फ्लुका २९८ सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये १८३ वटा घटना दक्षिण अस्ट्रेलियामा देखिएका छन् । यद्यपि, अस्ट्रेलियाको कुखुरापालन तथा कृषि उत्पादन प्रणालीमा एच–५ बर्ड फ्लुको सङ्क्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन् ।