Category: समाचार

  • टोकियो क्षेत्रमा भूकम्पमा कम्तिमा ३७ जना घाइते

    टोकियो क्षेत्रमा भूकम्पमा कम्तिमा ३७ जना घाइते

    टोकियो, ८ भदौ (रासस–एपी) । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प पाँच दशमलव आठ म्याग्निच्युड रहेको जनाएको छ ।

    प्रिफेक्चरल अधिकारीहरू र अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन् । अधिकांश घाइते भूकम्पका बेला लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा चोट लागेको बताइएको छ ।

    कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर रूपमा घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, शिन्कानसेन बुलेट रेल सेवा सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

    प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न सरकारले कार्यदल गठन गरेको बताउनुभयो । जापान मौसम विज्ञान एजेन्सीले भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइप फुटेर सडकमा पानी बगेको थियो । पाइप मर्मत गरी चुहावट रोकिएको छ । आणविक नियमन प्राधिकरणले देशका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधाबाट कुनै असामान्य अवस्थाको रिपोर्ट नभएको जनाएको छ ।

  • प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ, ८ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । विवरणअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

  • दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    भद्रपुर (झापा),८ भदौः गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे । गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ ।

    झापाको अर्जुनधारा नगरपालिका–७ सरस्वती टोल स्थित ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को यो यात्रा केवल एउटा सामाजिक संस्थाको विस्तारको कथा होइन, विपत्तिमा परेको परिवारलाई समुदायले कसरी साथ दिनसक्छ भन्ने उदाहरण पनि हो । सानो सहयोगबाट सुरु भएको अभियान अहिले आफ्नै भवन, सामाजिक सेवा र नयाँ पूर्वाधार निर्माणको योजनासम्म आइपुगेको छ ।

    विसं २०५० तिर खसीहट्टे टोलबाट यो अभियान सुरु भएको थियो । गाउँका अगुवा पूर्णप्रसाद सिटौलाको नेतृत्वमा सुरु भएको तत्कालीन ‘दैवी प्रकोप उद्धार समिति’ नै अहिलेको ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को आधार हो ।

    त्यतिबेला गाउँमा कसैको मृत्यु हुँदा आर्थिक रूपमा विपन्न परिवारलाई मृत्यु संस्कार गर्न समस्या हुने गरेको थियो । त्यही अवस्था देखेर तत्कालीन १५ वर्षीय योगेश खपाङ्गीले गाउँमा सामूहिक रूपमा सहयोग गर्ने सोच बनाए ।

    “गरिब तथा विपन्न कसैको मृत्यु हुँदा परिवारले आर्थिक अभावमा मृत्युकर्म गर्न नसकेर तड्पिएको मैले खप्नै सकिनँ”, सङ्घका संस्थापक सचिव खपाङ्गीले पुराना दिन सम्झँदै भने, “मृत्यु पनि मान्छेपिच्छे किन फरक भयो होला भन्ने कुरा दिमागमा खेलिरह्यो । यो असमानता हटाउन आफ्नो ठाउँबाट सकेको पहल गर्नुपर्छ भनेर गाउँका अगुवा पूर्णप्रसाद सिटौलासमक्ष प्रस्ताव राखेको थिएँ ।”

    खपाङ्गीका अनुसार सिटौला गाउँका भद्रभलाद्मी तथा गन्यमान्य व्यक्तिका रूपमा परिचित थिए । उनी पञ्चायतकालीन जनप्रतिनिधि थिए । सामाजिक सेवाभावले भरिपूर्ण उनले खपाङ्गीको प्रस्तावलाई सहर्ष स्वीकार गरे । त्यसपछि गाउँका मानिसलाई बोलाएर बैठक राखियो र सामूहिक सहयोगको अभियान विधिवत् रूपमा सुरु भयो ।

    “अहिले उहाँ बितेर जानुभयो । तर त्यो समय अझै ताजै लाग्छ”, खपाङ्गीले भने, “मैले नै उहाँलाई गाउँमा सबै मिलेर यसो गरौँ भनेर प्रस्ताव लगेको थिएँ । उहाँले सहर्ष स्वीकार गर्नुभयो र गाउँका सबै मानिसलाई बोलाएर बैठक गरी विधिवत् रूपमा सुरु गरियो ।”

    दश रुपैयाँको बाकसबाट सुरु भयो सहयोग

    समिति गठन भएपछि गाउँमा कसैको मृत्यु हुँदा मृतकको घरमा एउटा बाकस राख्ने व्यवस्था गरियो । वडाभरिका मानिसले अनिवार्य रूपमा प्रतिव्यक्ति रु १० सहयोग गर्नुपर्ने नियम बनाइयो । त्यतिबेला त्यो रकम पनि सामान्य थिएन । मृत्यु संस्कारको १३औँ दिन सङ्कलित रकम मृतकको परिवारलाई हस्तान्तरण गर्ने चलन बसालियो । थोरैथोरै रकम धेरै व्यक्तिबाट सङ्कलन गर्दा दुःखमा परेको परिवारलाई राहत पुग्न थाल्यो । यसले गाउँमा सकारात्मक प्रभाव पार्यो । आर्थिक अभावकै कारण मृत्यु संस्कारमा समस्या भोग्नुपरेका परिवारले समुदायको साथ पाउन थाले । अभियानप्रति विश्वास बढ्दै गएपछि यो अभ्यास विस्तारै लोकप्रिय बन्यो ।

    दश रुपैयाँको बाकसबाट सुरु भएको सहयोगले विस्तारै गाउँमा आपसी सहकार्यको संस्कार नै विकास गर्न थाल्यो । “सुरुमा मृत्यु संस्कारका लागि आर्थिक सहयोग गर्ने उद्देश्य थियो, तर पछि यसले गाउँका मानिसलाई दुःखसुखमा एकअर्काका साथमा उभिनुपर्छ भन्ने भावना विकास गरायो”, सङ्घका सचिव कुलप्रसाद उप्रेती भन्छन् ।
    समितिले मृत्यु संस्कारमा सहयोग गर्ने काममा मात्र आफूलाई सीमित राखेन । गाउँघरमा हुने झैझगडा मिलाउने, सामूहिक छलफल गर्ने तथा टोलका अमिल्दा र अपहेलित नाम मिलाउने काम गर्न थाल्यो । त्यसपछि उक्त समिति गाउँको सामाजिक सहकार्यको साझा थलोका रूपमा स्थापित हुँदै गयो ।

    समय बित्दै जाँदा कतिपय आर्थिक रूपमा सक्षम परिवारले आफ्नो घरमा कसैको मृत्यु हुँदा उठेको रकम परिवारले नलिई संस्थाकै नाममा राख्न थाले । यसरी सङ्कलित रकम बचत हुँदै गएपछि संस्थाको कोष निर्माण हुन थाल्यो । “कतिपय आर्थिक रूपमा सक्षम परिवारले आफ्नो घरमा मृत्यु हुँदा उठेको रकम संस्थाकै नाममा राख्न थाल्नुभयो”, संस्थाका सचिव उप्रेतीले भने, “यसरी रकम बचत हुँदै गएपछि संस्थाले सामाजिक कामलाई थप विस्तार गर्न सक्ने अवस्था बन्यो ।”

    रकमको पारदर्शिताका लागि संस्थाको नाममा बैंक खाता खोली कोष सञ्चालन गरियो । विसं २०६८ मा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरियो । त्यही दर्ता प्रक्रियामा संस्थाको नाम फेरियो ।

    चन्दा र दानबाट आफ्नै भवन

    संस्थाले गाउँमा पुराण लगाउने तथा चन्दा सङ्कलन गर्ने काम अघि बढायो । त्यसबाट प्राप्त रकमबाट केही जग्गा खरिद गरियो भने केही जग्गा दानबाट प्राप्त भयो । भवन निर्माणका लागि देश तथा विदेशमा रहेका शुभेच्छुकबाट सहयोग जुटाइएको संस्थाले जनाएको छ । विसं २०६७ मा संस्थाको आफ्नै भवन निर्माण भयो । दुईतले भवनको तल्लो भागमा हल रहेको छ, जहाँ बिहान योगा सञ्चालन हुँदै आएको छ ।

    माथिल्लो तलामा मृत्युकर्मलगायत धार्मिक तथा सामाजिककार्य हुँदै आएका छन् । विवाह, व्रतबन्धलगायतका संस्कारका लागि भवन प्रयोग गर्न सकिने व्यवस्था छ । विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका लागि भवन निःशुल्क उपलब्ध गराइन्छ । आर्थिक रूपमा सक्षम परिवारलाई भने दैनिक रु ५०० भाडा लिने गरिएको सचिव उप्रेतीले बताए ।


    उनका अनुसार शव उठाउने खर्च जुटाउन नसक्ने परिवारलाई संस्थाले सहयोग गर्दै आएको छ । ज्येष्ठ नागरिक सम्मान, सामूहिक छलफल तथा सामाजिक विवाद समाधानमा संस्थाले सहजीकरण गर्दै आएको छ । अहिले मृतकको परिवारका लागि प्रतिव्यक्ति रु ५० सहयोग सङ्कलन गरिन्छ भने संस्थामा ३७७ सक्रिय सदस्य छन् ।

    दश कठ्ठा जग्गामा अखण्ड पितृमोक्ष भवन

    पुरानो भवनबाट सामाजिक गतिविधि सञ्चालन गर्दै आएको सङ्घले अब सेवा विस्तार गर्ने योजना बनाएको छ । भवनको सामुन्नेमा रहेको थप १० कट्ठा जग्गामा ‘अखण्ड पितृमोक्ष भवन’ निर्माण गर्ने योजना रहेको सङ्घका अध्यक्ष जनार्दन उप्रेतीले बताए । उक्त भवनमा कहिल्यै ननिभ्ने दियो बाल्ने योजना रहेको उनले बताए । भवनको तल्लो भागमा व्यायामशाला बनाउने योजना छ ।

    त्यसका लागि कोशी प्रदेश सरकारबाट रु १० लाख सहयोगको आश्वासन पाएको अध्यक्ष उप्रेतीले बताए । “हामीले सामाजिक कामलाई अझ व्यवस्थित र फराकिलो बनाउन खोजेका छौँ”, उनले भने, “पितृमोक्ष भवनसँगै व्यायामशाला बनाउने योजना छ । यसले ज्येष्ठ नागरिकदेखि अन्य समुदायका मानिसलाई उपयोगी हुनेछ ।” सङ्घले आगामी दिनमा क्याटरिङ सेवा सञ्चालन गर्ने, एम्बुलेन्स तथा शववाहन सेवा सञ्चालन गर्ने र थप जग्गा जोड्दै सामाजिक सेवा विस्तार गर्ने योजना बनाएको छ ।

    स्थानीय सरकारसँग सहयोगको अपेक्षा

    तीन दशकदेखि सामाजिक काम गर्दै आए पनि स्थानीय सरकारबाट अपेक्षाअनुसार सहयोग नपाएको सङ्घको गुनासो छ । वडा कार्यालयबाट केही थान कुर्सी सहयोग भए पनि नगरपालिकाबाट भने हालसम्म उल्लेख्य सहयोग नपाएको अध्यक्ष उप्रेतीले बताए । विभिन्न समयमा सहयोग गर्ने प्रतिबद्धता र आश्वासन पाए पनि व्यवहारमा सहयोग हुन नसकेको उनको भनाइ छ ।

    “यो सामाजिक काम हो, व्यक्तिगत लाभका लागि होइन । सामूहिक हितका लागि काम गरिरहेका छौँ”, उनले भने, “आर्थिक सहयोग भए कार्यालय व्यवस्थापनदेखि सामाजिक सेवा विस्तारसम्म सहज हुने थियो । आगामी दिनमा स्थानीय सरकारले सहयोग गर्छ भन्ने अपेक्षा छ ।”

    अध्यक्ष उप्रेतीका अनुसार अर्जुनधारा–७ मा सुरु भएको सामूहिक सहयोगको अभ्यास वडा नं ८ र ९ लगायत अन्य वडासँगै केही पालिका र बाहिरी जिल्लामा समेत अनुकरण हुन थालेको छ । “विपत्ति र अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्नु मानव धर्म हो”, अध्यक्ष उप्रेतीले भने, “समयसँगै जीवनशैली परिवर्तन हुँदै गए पनि आपसी सहयोग र सहकार्यको भावना जोगाइराख्नुपर्छ । सामूहिक प्रयासबाट समस्या समाधान गर्दै गाउँघरमा एकअर्काको सुखदुःखमा साथ दिने नेपाली संस्कारलाई निरन्तरता दिनुपर्छ ।”

  • दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    म्याग्दी, ८ भदौः जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो । दुखुबेँसीका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले पुलको मङ्गला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएको जानकारी दिए ।


    “यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ”, उनले भने, “यो पुल भत्किने हो भने मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।” पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ ।

    सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । पूर्वाधार विकास कार्यालयले दुखुखोला सडक पुल संरक्षणका लागि शनिबारदेखि नै काम सुरु भएको जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्ग संरक्षणको काम थालिएको बताए । जोखिमयुक्त भएकाले पुलमा यात्रा गर्ने क्रममा सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।

  • पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ


    कपिलवस्तु, ८ भदौः कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
    कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो ।


    जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर, पर्साका चुमा लामिछाने छिन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको उनले बताए ।

  • आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

    आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

    कञ्चनपुर, ८ भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छिन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उनले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताइन् । “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भनिन्, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”

    समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उनले अब माग लिएर काठमाडौँ धाउन नपर्ने बताइन् । “सरकार समाधानको बाटोमा अघि बढिसकेको छ, आयोगलाई काम गर्न सहयोग गर्नुहोस्”, उनले भनिन् । आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले समस्या समाधानको प्रक्रिया अघि बढिसकेको उल्लेख गरिन् ।

    उनले विस्थापितलाई आन्दोलनका कार्यक्रम अन्त्य गरी आयोगलाई सहयोग गर्न आग्रह गरिन् । विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार आरक्षपीडित विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन् । पीडितले आफूहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।

    त्यसैगरी, मन्त्री रावलले कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सुकुमवासीसँग भेट गरी सरकारले लालपुर्जा वितरण गर्ने भएकाले ढुक्क भएर बस्न आग्रह गरिन् । “तपाईँहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनी सुधार पनि भइसकेको छ”, उनले भनिन्, “अब जिल्ला भूमि आयोगले छिटो काम अघि बढाएर तपाईँहरूलाई लालपुर्जा दिनेछ ।”

    उनले देशभरका भूमिहीन सुकुमवासीको समस्या समाधानका लागि कानुनमा आवश्यक सुधार गर्नुपर्ने बताइन् । हालको कानुनका कारण देखिएका समस्या समाधान गर्न कानुन संशोधन गरी देशभरका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको नीति रहेको उनको भनाई छ । यस क्रममा मन्त्री रावलले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेकी थिइन् ।

  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    काठमाडौँ, ८ भदौः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छिन् । थारू कल्याणकारिणी सभाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताइन् । थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

    यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् । उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन् ।

  • दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    काठमाडौँ, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ । बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वअन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजाआजा गरेका हुन् ।

    नेपाल संवत्को दशौँ महिनाका रूपमा रहेको गुँला पर्वलाई पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा एक महिनासम्म मनाउने गरिन्छ । ‘गुँ’को अर्थ गुण गर्नु र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ । गुँला पर्वमा सहभागी भक्तजनले धार्मिककार्य गरी पुण्य सञ्चय गर्ने र आफ्नो क्षमताअनुसार दान दिने परम्परा छ । यस अवधिमा जीवनलाई शुद्ध र सात्विक बनाउने विभिन्न नियम पालना गर्ने गरिन्छ ।

    धर्मावलम्बीले एक महिनासम्म प्राणी हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, मिथ्याचार नगर्ने, झुटो नबोल्ने, लागुऔषध तथा मदिरा सेवन नगर्ने, अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण नलगाउने र ब्रह्मचार्य पालना गर्नेलगायतका अनुशासन पालना गर्ने गर्छन् ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले एकमहिने गुँला पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडान गरेको महासमिति सदस्य राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन बाजागाजासहित स्वयम्भूमा पूजाआजाका लागि आउने र पूजापछि शोभाभगवतीको परिक्रमा गर्ने परम्परा रहेको छ ।

  • वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

    वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

    मोरङ, ७ भदौः कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन् । वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उहाँहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ ।

    कतारमा छ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठ यस्तै उदाहरण हुन् । सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट अहिले मासिक सयौ किलो सुकुटी बिक्री हुन्छ । प्रतिकिलो रु दुई हजार ७०० मा बिक्री हुने सुकुटीबाट उनले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहेको प्रेमले बताए । राँगाको आलो मासु बेलबारी, हरैचालगायत स्थानीय बजारमा प्रतिकिलो रु ७०० मा किनेर सुकुटी बनाउने गरेको उनले बताए । प्रेमका अनुसार आलो मासुको बढीमा एक चौथाइसम्म सुकुटी बन्ने गरेको बताउँछन् ।


    प्रेम र दिलीप मात्र होइन, अरु युवा पनि यस व्यवसायमा लागिरेका छन् । “विदेशको कडा मेहनत र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ”, वैदेशिक रोजगारीबाट फर्केर ११ वर्षदेखि यही पेसामा जमेका शोभितमान श्रेष्ठ बताउँछन् ।

    पूर्वी–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिने मुख्य थलो बनेको विराटनगर निवासी सेन्जम फुयाल बताउँछन् । स्वदेशी बजारमा मात्र होइन, यहाँको सुकुटीको माग अहिले बेलायत र अमेरिकामा रहेका नेपालीसम्म पुगेको सुकुटी व्यवसायी दिलीप श्रेष्ठले बताउँछन् ।

    कोसेलीका रूपमा अन्तरराष्ट्रिय बजारबाट उच्च माग आए पनि परम्परागत निर्माण शैली र जनशक्तिको अभावका कारण मागअनुसार पुर्‍याउन धौ–धौ परिरहेको व्यवसायीहरू बताउँछन् । विदेशमा बगाउने पसिना र समय आफ्नै माटोमा खन्याउने हो भने स्थानीय परिकारलाई पनि सफल व्यवसाय र अन्तरराष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ भन्ने विश्वास रहेको प्रेम श्रेष्ठले बताए ।

  • चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

    चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

    काठमाडौँ, ७ भदौः नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ । एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउनको लागि मार्गप्रशस्त गर्ने बताए ।


    “हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायउबीच सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ”, उनले भने, “दुवै पक्षबीच ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदान गर्नका लागि मार्गप्रशस्त गर्नेछ ।”

    एनआरएनएका अध्यक्ष डा शर्माले नेपालका विभिन्न कानुनी जटिलताको कारणले वैदेशिक लगानी भित्राउनको लागि समस्या भइरहेको गुनासो गरे । “दुवैबीच भएको समझदारीपत्रले पक्कै पनि व्यापार प्रवर्द्धन र देशमा प्रत्यक्ष लगानी भित्राउनको लागि नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ ।”

    दुवैपक्षबीच भएको समझदारीमा एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन् । त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ ।

    त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ । क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन् । व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

    अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी र विदेशी लगानीकर्ता पूर्ण भित्राउन नसकिने बताए । “आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,” उनले भने, “यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ ।”

    अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले लएनआरएनए केवल विदेशमा बस्नेको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

  • सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

    सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

    काठमाडौँ, ७ भदौः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सगरमाथा आरोही सङ्घको २५औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा ऐनलाई समयसापेक्ष बनाउँदै आरोहीमैत्री बनाउनुपर्नेमा जोड दिइएको हो । महोत्सव उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न वर्तमान पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताए ।


    उनले विसं २०३५ मा बनेको पर्यटन ऐन अहिलेसम्म पनि पूर्ण रूपमा परिवर्तन नहुनु समस्याका रूपमा रहेको उल्लेख गे । “हामी अझै पनि २०३५ सालको कानुनमा हिँडिरहेका छौँ, अब यसलाई परिवर्तन गर्ने सुनौलो अवसर आएको छ, यसमा तपाईँहरूको साथ र सहयोगको खाँचो छ”, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्यटन प्रवर्द्धन र यससँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै प्रतिनिधिसभा सदस्य शेर्पाले आफूलाई आरोहीको आवाज बुलन्द गर्न जनताले संसद्मा जिम्मेवारीसहित पठाएकाले उक्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । सगरमाथा आरोहणको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान र सुरक्षा नपाएका उनको भनाइ छ ।

    “हामीले थुप्रै आरोहीहरू गुमाएका छौँ, कति महिला एकल भएका छन्, बालबालिका टुहुरा भएका छन् । आरोहीको अधिकारका लागि सरकारले के ग¥यो भन्ने प्रश्न अझै जीवितै छ”, शेर्पाले भने। उनले नेपाली युवा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै युवाले मुलुकको पर्यटन क्षेत्रमा भविष्य देख्ने वातावरण बनाएर अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकास भएमात्र देशको विकास हुने बताए । उनले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचारप्रसार, प्रवर्द्धन र संरक्षणमा लाग्न सबैलाई आग्रह गरे । उनले नेपाल पर्वतारोहण सङ्घले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आइरहेको जानकारी दिए ।


    सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड (पथप्रदर्शक)को सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीतिनिर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताइन् । उनले आफ्नो जीवन जोखिममा राखेर नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउने आरोही र माउन्टेन गाइडको भविष्य सुनिश्चित गर्नुपर्ने बताइन् ।

    सङ्घका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही तथा गाइडले हिमाल आरोहणका क्रममा अत्यधिक चिसो, हिमपहिरो र अन्य जोखिमसँग सामना गर्नुपरेको र कतिपयले ज्यान गुमाउनुपरेको बताए । आरोही तथा गाइडको सुरक्षा र अधिकार सुनिश्चित गर्न सङ्घ तथा प्रदेश तहमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।

    “संसारले हाम्रा अग्ला र सेता हिमाल देख्छ, तिनको सौन्दर्यको प्रशंसा गर्छ तर ती हिमालको चुचुरामा देशको झण्डा फहराउने आरोही तथा गाइडको वास्तविक दुःख, पीडा र सङ्घर्ष भने प्रायः ओझेलमा पर्ने गर्छन्”, उनले भने । सङ्घका महासचिव शिवबहादुर सापकोटाले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचार र ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

    “जबसम्म हाम्रा गाइड र आरोही सामाजिक र आर्थिक रूपमा सुरक्षित हुँदैनन्, तबसम्म नेपालको पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन”, उनले भने । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोही र पर्वतीय पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । त्यस्तै, सङ्घद्वारा २५औँ स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘रजत स्मारिका’ विमोचन गरिएको थियो ।

  • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

    काठमाडौँ, ७ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए ।


    “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उनले भने । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो ।

    “ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ”, उनले भने । पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले त्यसबाट केही-केही घटनामा राम्रो सफलता मिलेको सुनाए ।
    प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए । उनले भने, “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ ।”

    विश्वव्यापीरूपमा बदलिँदो समाज, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिकताको सम्बोधन गर्न नसक्ने बताए । “प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ”, उनले भने, “यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ ।”

    महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै त्यसबाट नागरिकलाई प्रहरी कार्यालयसम्म पुग्नु नपर्ने अवस्था सुनिश्चित गरेको बताए । “उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ ।”

    पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधका घटना वृद्धि हुँदै गइरहेको जनाउँदै उनले ती घटनाका अनुसन्धान गर्न सोहीअनुसार जनशक्ति भर्ना र परिचालनको आवश्यकता महसुस गरिएको बताए । उनले विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको पनि जानकारी दिए ।


    महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलको माध्यमबाट अन्य मुलुकका विशिष्टीकृत, विकसित र लोकप्रिय अनुसन्धानमूलक इकाइसँग आवश्यक समन्वय गरिएको जनाए । “नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ”, महानिरीक्षक कार्कीले भने । उनले प्रविधिको प्रयोगबाट भएका आपराधिक क्रियाकलाप रोक्न प्रहरी सङ्गठन सक्षम हुने विश्वास व्यक्त गरे ।


    नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनयन कायम गरी नागरिकका जीउधनको रक्षाका लागि सबै तह र तप्काको सहयोगको अपेक्षा गरे । “प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ”, उनले भने, “आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु ।”

  • विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति

    विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति

    काठमाडौँ, ७ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।

    रास्वपाका केन्द्रीय सदस्यलाई लक्षित गरी शनिबार र आजका लागि राखिएको ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यक्रमअन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनुपर्नेमा जोड दिए । उनले भने, “३५ वर्षको हिसाबको कुरा गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस् । विगतका नेतृत्वले जति सक्नुभयो गर्नुभयो, धन्यवाद । अबको ३५ वर्षमा गर्नुपर्ने कामको योजना अब हाम्रो काँधमा छ ।”

    आमनागरिकले पूरा विश्वास गरेर रास्वपालाई ठूलो दलका रूपमा स्थापित गरेका उल्लेख गर्दै सभापति लामिछानेले विश्वभरका प्रबुद्ध समुदायले पार्टी र हाम्रा कामलाई हेरिरहेकाले जनअपेक्षा पूरा गर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । “राजनीतिमा इमान्दारिता, योग्यता र क्षमता आवश्यक छ । व्यक्तिगत लाभमा देशको राजनीतिक प्रयोग नहोस्, कुनै पनि देशले यति धेरै युवा पार्टी, संसद् र मन्त्री पाएको छैन । आज तपाईं हामीले बाटो बिरायौँ भने संसारभरि के सन्देश जान्छ भने, युवाको नेतृत्वको काम छैन । युवा भनेर हुँदो रहनेछ, ‘देख्नुभयो नेपाल’ भनेर अन्य देशले भन्नेछन् । नेपाल र नेपालीको शिर झुक्नेछ”, उनले भने ।


    केही राम्रो गर्न सकिँदैन भने नराम्रो नगर्न सकिने भन्दै सभापति लामिछानले यतिको प्रतिबद्धता हामीमा आवश्यक रहेको बताए । “मेरा कारणले तपाईंहरूको शिर झुक्दैन, अञ्जानमा गल्ती कमजोरी भए होलान्, त्यसलाई सच्याउने र क्षमायाचना गर्ने हो । आगामी दिनमा झुकेको शिर उठाउने प्रयास गर्नेछु, लडेछु भने उठेर फेरि दौडनेछु”, उनले भने । सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति पार्टीमा आबद्ध भएका कारण सिङ्गो देशको ध्यान सरकार, संसद् र राजनीतिमा गइरहेकाले रास्वपा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए । इतिहासले दिएका महत्त्वपूर्ण मौकालाई सदुपयोग गर्दै हाम्रा क्रियाकलाप अघि बढ्नुपर्ने भन्दै उनले हाम्रो काम कारबाहीले लोकतन्त्र कमजोर हुन नहुने बताए ।

    “जानेर वा नजाने हामीबाट भएका क्रियाकलापले लोकतन्त्र कमजोर नबनोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो”, उनले भने, “आज विभिन्न संस्था लोकतन्त्र खतरामा पर्ने चिन्तामा छन् । लोकतन्त्र एकै पटकमा गल्र्यामगुर्लम ढल्ने घर होइन । विगतमा राजनीतिक दल र सहिदको बलिदानबाट लोकतन्त्रसहित यी संस्था बलिया भएका हुन् । त्यसकारण हामीले लोकतन्त्र रक्षाका लागि पनि अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।”

    आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रास्वपाका नेता तथा कार्यकर्ता गाउँगाउँमा जानुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले गरेका कामका बारेमा जनतालाई सूचना प्रवाह गर्नुपर्ने धारणा राखे । “स्थानीय सरकारमा बलियो उपस्थिति बनाउन हामीले अहिलेदेखि पहल गर्नुपर्छ । अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष पनि बलियो छन् । तसर्थ जनता केन्द्रित भएर काम गर्नुपर्छ”, उनले भने, “यसपटक पनि मुलुकले बर्सौंदेखि देखेका सपना पूरा गर्न सकेनौँ भने मुलुक निराशामा प्रवेश गर्छ ।”

    सुशासनको मुद्दा उठाएको रास्वपाको सरकारले आजसम्म कुनै एक ठाउँमा अनियमिता गरेको भनी प्रश्न नउठेको उल्लेख गर्दै सभापतिले भने, “यो सबैभन्दा ठूलो उपलब्धि हो । सरकारले सुधारको जग हाल्ने काम गरिरहेकाले यसलाई निरन्तरता दिन हामी एकजुट हुनुपर्छ ।” आफू चाँडै मधेस प्रदेशको राजनीतिक भ्रमणमा निस्कन लागेको जानकारी दिँदै उहाँले अन्य नेता पनि गाउँगाउँ जाने र पार्टीलाई चलायमान बनाउने बताए ।

    “सरकारका काम कारबाहीका सम्बन्धमा आमनागरिकले सोधेका जिज्ञाशाको स्पष्ट जवाफ हामीसँग हुनुपर्छ । त्यसका लागि तयार हुनुहोला”, सभापति लामिछानेले निर्देशन दिँदै भने, “आमनागरिकले के भनेर मत दिएको थिए, त्यो पूरा गर्नेतर्फ हामी लाग्नुपर्नेछ ।” सरकारलाई पार्टीप्रति जवाफदेही बनाउन विभिन्न प्रयास गरिएको जानकारी दिँदै उनले आमनागरिकले सरकारका गतिविधिका बारेमा प्रश्न गर्न सक्ने बताए ।


    पार्टीले सरकारलाई जिम्मेवार बनाउँदै आएको उल्लेख गर्दै सभापति लामिछानेले पार्टी कार्यालयमार्फत मन्त्री जनतासँग जोडिने अभ्यास नयाँ थालनी भएको बताए । उनले रास्वपा विधिभन्दा बाहिर नजाने उल्लेख गर्दै भने, “पार्टीले अनुमोदन गरेको राजनीतिक दस्तावेज, विधि, निर्देशका र नियमावलीको अक्षरशः पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौँ, हिजो समायोजनका क्रममा धेरै विषय टुङ्ग्याएका छौँ, त्यसलाई सोहीअनुसार लिनुहोला ।”

  • पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

    पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

    पर्वत, ७ भदौः पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा आज दिउँसो फलेवास–१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी अटोमा सवार बिहादी गाउँपालिका १ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिए ।


    “दुर्घटनामा चार जना घाइते भएका छन् । बिहादी-१ की २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ । पन्ध्र वर्षीया अञ्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ”, उनले भने ।

    अटो चालक फलेवास नगरपालिका–११ पङराङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको प्रहरी निरीक्षक पटेलले बताए । उनका अनुसार घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरी निरीक्षक पटेलले ओरालो बाटोमा ब्रेक नलागेकाले चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

  • युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    एल्सेनबोर्न, ७ भदौ (रासस/एपी): यस वर्षको गर्मीयाममा युरोपभर फैलिएका डढेलोले पहिलो र दोस्रो विश्वयुद्धका बेला जमिनमुनि गाडिएका बम तथा बारुदी सुरुङको जोखिम उजागर गरेका छन् । अत्यधिक गर्मीका कारण कतिपय विस्फोटक पदार्थ पड्किएका छन् भने आगो निभाउन खटिएका उद्धारकर्मीसमेत जोखिममा परेका छन् ।

    फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्यान्ड्समा पुराना विस्फोटक पदार्थ विस्फोट भएका घटना सार्वजनिक भएका छन् । नेदरल्यान्ड्सको लिम्बर्ग प्रान्तमा सन् १९४४ मा भीषण युद्ध भएको क्षेत्रमा डढेलोको जोखिम बढेपछि बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको थियो ।

    लन्डनस्थित ‘स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज’की शान्ति तथा द्वन्द्व अध्येता सारा नजेरीले जलवायु परिवर्तनका कारण डढेलो र विस्फोटका घटनाले युरोपको ‘जलवायु सुरक्षा’ कमजोर बनाउँदै लगेको बताउनुभयो । उहाँका अनुसार पहिले स्थिर अवस्थामा रहेका युद्धकालीन विस्फोटक पदार्थ अत्यधिक तापक्रम र डढेलोका कारण पुनः जोखिमपूर्ण अवस्थामा आउन सक्छन् । यस वर्षको डढेलोको जोखिम जनवरीमा भएको भारी वर्षाका कारण थप बढेको थियो ।

    उक्त वर्षाले वनस्पति वृद्धि गराएपछि गर्मीयाममा ती सुक्खा वनस्पति आगो फैलाउने इन्धन बनेका थिए । ‘वल्र्ड वेदर एट्रिब्युसन’ समूहको अध्ययनअनुसार उच्च तापक्रम, खडेरी, कम आद्र्रता र तीव्र हावाले आगो फैलिन अनुकूल वातावरण बनाएको थियो । पूर्वी बेल्जियमको लिएज प्रान्तमा डढेलोका क्रममा केही छिटपुट विस्फोट सुनिएको गभर्नर हर्भे जामारले बताउनुभएको छ ।

    आगो लागेको क्षेत्रमा पुराना हतियार रहेको सम्भावनालाई ध्यानमा राखेर आपत्कालीन टोली परिचालन गरिएको थियो । दोस्रो विश्वयुद्धका क्रममा बेल्जियमको ‘हाई फेन्स’ क्षेत्रमा नाजी जर्मनी र मित्रराष्ट्रका सेनाबीच भीषण युद्ध भएको थियो । सो क्षेत्रमा अहिले पनि बम, मोर्टारका गोला र बारुदी सुरुङका अवशेष भेटिने गरेका छन् । स्थानीय इतिहासकार बर्नार्ड कोलार्डका अनुसार, बेल्जियमले हरेक वर्ष विस्फोटक पदार्थसम्बन्धी हजारौँ सूचना प्राप्त गर्छ ।

    उहाँका अनुसार युद्धका पुराना रणभूमि अहिले जङ्गल, चरन तथा खेतीयोग्य जमिनमा परिणत भए पनि जमिनमुनि विस्फोटक पदार्थ अझै रहेका छन् । बेल्जियमको विस्फोटक पदार्थ व्यवस्थापन तथा विनाश सेवाले हरेक वर्ष देशभरबाट प्राप्त तीन हजारभन्दा बढी सूचनामा प्रतिक्रिया जनाउँदै दुवै विश्वयुद्धका करिब २०० देखि २५० टन विस्फोटक पदार्थ नष्ट गर्ने गरेको छ ।

    जलवायु परिवर्तनसँगै खडेरीले पनि पुराना विस्फोटक पदार्थ सतहमा ल्याउने जोखिम बढाएको छ । नदी तथा तालको जलस्तर घट्दा स्लोभाकिया, हङ्गेरी र जर्मनीमा दोस्रो विश्वयुद्धकालीन नौसैनिक माइन तथा बम फेला परेका छन् । एरिजोना विश्वविद्यालयकी अनुसन्धानकर्ता क्रिस्टिना ग्रीनले जलवायु परिवर्तनका कारण ‘युद्धका अवशेष फेरि सतहमा आइरहेको’ बताउनुभयो । उहाँका अनुसार यसले दशकौँदेखि ओझेलमा परेको युद्धकालीन जोखिमलाई पुनः सम्झाइरहेको छ ।

  • नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या

    नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या

    जोस (नाइजेरिया), ७ भदौ (रासस–एएफपी) । मध्य नाइजेरियाको नाइजर राज्यमा प्रार्थनाको क्रममा भएको आक्रमणमा जिहादीहरूले धेरै मानिसहरूलाई अपहरण गरी हत्या गरेको सांसदहरूलाई उद्धृत गर्दै शनिबार एएफपीले बताएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश नाइजेरियाको जिहादी समूह १७ वर्षदेखि विद्रोहीसँग लडिरहेको छ ।

    उक्त समुहले त्यस्ता अपहरणहरूलाई एक प्रमुख रणनीति बनाएको छ, जसमा सन् २०१४ मा चिबोक सहरमा सयौँ स्कुलका छात्रा अपहरण गरिएको थियो । विद्रोही समूहको गतिविधि उत्तरपूर्वी क्षेत्रमा केन्द्रित छ, यद्यपि शुक्रबारको आक्रमण देशको पश्चिममा भएको थियो । यो यस्तो क्षेत्र हो जहाँ द्वन्द्वले समुदाय विभाजित भएपछि साहेलबाट सशस्त्र समूह र उग्रवादीहरूको गतिविधि बढेको छ ।

    शुक्रबारको प्रार्थना समाप्त भएको लगत्तै लाकुवाराको सशस्त्र समूहले बन्दुक, चक्कु र अन्य धारिला हतियार लिएर आक्रमण गर्न थालेको बोर्गू क्षेत्रको डिकेरा गाउँमा भएको आक्रमणमा बाँचेका जिब्रिल अहमदले बताउनुभएको छ । आक्रमणले नजिकैको बिन्जी गाउँ पनि प्रभावित भएको अहमद र सङ्घीय प्रतिनिधि जाफरु मोहम्मदले बताउनुभयो ।

    लकुरावा यस्तो प्रतिनिधि समूह हा,े जसलाई केही शोधकर्ताहरूले इस्लामिक स्टेट साहेल प्रान्तसँग जोडेका छन् भने आइएसएसपी बुर्किना फासो माली र नाइजरमा सक्रिय छ । अहमदले भन्नुभयो, “इस्लामको व्यवहारिक शिक्षाको अभ्यास नगरेको भन्दै उनीहरूले हाम्रा केही मानिसहरूको हत्या गरे ।” लामो समयसम्म चलिरहेको हिंसाकोबीचमा महमुदा भनेर चिनिने अर्को जिहादी समूहले हस्तक्षेप गरी लकुरावा लडाकुहरूसँग झडप गरेको अहमद र मोहम्मदले बताए ।

    अहमदले भन्नुभयो, “धेरै मानिसहरू भागे जबकि लकुरावा लडाकुहरू आफ्ना महमुदा प्रतिद्वन्द्वीहरूको सामना गर्न व्यस्त थिए ।” अहमद र मोहम्मद दुवैले घटनाबारे ठोस विवरण दिन नसकेको तर नाइजेरियाको प्रहरीले अपहरणको बारेमा थाहा पाएको बताएको छ ।

  • हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै

    हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै

    गाजा, ७ भदौ (रासस–सिन्ह्वा) । प्यालेस्टिनी राष्ट्रिय मुक्ति आन्दोलन (फताह) को एक प्रतिनिधिमण्डल शनिबार कायरो प्रस्थान गरेको छ । प्यालेस्टिनी इस्लामी प्रतिरोध आन्दोलन (हमास) ले नोभेम्बरमा हुने व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनअन्तर्गत सहभागी हुने प्रतिबद्धता जनाएपछि फताहको प्रतिनिधिमण्डल कायरो गएको हो ।

    “प्रतिनिधिमण्डलले चुनावको तयारी र सफलता सुनिश्चित गर्न, प्यालेस्टिनी राष्ट्रिय एकता सुदृढ गर्न तथा अर्को चरणको मार्ग प्रशस्त गर्नका लागि प्यालेस्टिनी गुटका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछ,” अल–हायेकले भन्नुभयो । नाम नखुलाउन अनुरोध गर्ने एक फताह स्रोतले सिन्ह्वालाई बताएअनुसार आगामी व्यवस्थापकीय चुनाव र प्यालेस्टिनी मुद्दाले सामना गरिरहेका चुनौतीहरूबारे छलफल गर्न हमाससँग बैठकको तयारी भइरहेको छ।

    फताहको क्रान्तिकारी परिषद्का सदस्य तथा आन्दोलनका प्रवक्ता मुन्थर अल–हायेकले संक्षिप्त वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनी उपराष्ट्रपति हुसेन अल–शेखको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग भेट गर्न कायरो प्रस्थान गरेको छ।”

    यसैबीच, हमासका प्रवक्ता हाजेम कासेमले वक्तव्यमा भन्नुभएको छ, “हमास आगामी व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनभित्र सहभागी हुन प्रतिबद्ध छ।” कासेमले भन्नुभयो, “यो कदमले चुनावलाई सबै प्यालेस्टिनी समूहहरूलाई स्वीकार्य सहमतीय राजनीतिक प्रणाली स्थापना गर्ने अवसर बनाउने र प्यालेस्टिनी जनता तथा उनीहरूको मुद्दाले सामना गरिरहेका चुनौतीहरूका बीच राष्ट्रिय मुद्दाहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न एकीकृत राष्ट्रिय नेतृत्वको बाटो खोल्ने हमासको चाहनालाई प्रतिबिम्बित गर्छ।

    फताहको कायरो भ्रमण हमास, इस्लामिक जिहाद, प्यालेस्टाइन जनमुक्ति मोर्चा, प्यालेस्टाइन प्रजातान्त्रिक मुक्ति मोर्चा र प्रजातान्त्रिक सुधारवादी धारालगायतका समूहहरू समावेश भएको चुनावी गठबन्धन गठन गर्ने प्रयासका रिपोर्टहरूका बीच आएको हो। कायरोले हालैका दिनहरूमा गुटहरूबीचका आन्तरिक प्यालेस्टिनी बैठकहरूका साथै गाजा पट्टीमा युद्धविराम सम्झौताबारे इजिप्टका अधिकारी र मध्यस्थकर्ताहरूसँग वार्ताहरू आयोजना गरेको छ।

    प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले जुलाई ९ मा व्यवस्थापकीय चुनावको मिति नोभेम्बर २८ का लागि तोक्ने राष्ट्रपतीय आदेश जारी गर्नुभएको थियो भने राष्ट्रपतीय चुनाव अर्को वर्षको पहिलो त्रैमासिकसम्म गर्नेगरी तयारी भएको छ । प्यालेस्टिनी व्यवस्थापकीय चुनाव पछिल्लो पटक सन् २००६ मा भएको थियो । फताह र हमासबीचको राजनीतिक विभाजनका कारण त्यसपछिका चुनावहरू स्थगित गरिएका थिए ।

  • ट्युनिसियाको तट नजिक डुङ्गा डुब्दा १४ आप्रवासी बेपत्ता

    ट्युनिसियाको तट नजिक डुङ्गा डुब्दा १४ आप्रवासी बेपत्ता

    ट्युनिस, ७ भदौ (रासस–एएफपी) । ट्युनिसियाको सामुद्रिक तट नजिक १५ जना आप्रवासी बोकेको शनिबार डुङ्गा डुब्दा यसमा सवार १४ जना वेपत्ता भएका छन् । शनिबार इटालीको लाम्पेडुसा टापुबाट करिब १४५ किलोमिटर टाढा ट्यनिसियाली तटमा डुङ्गा डुबेपछि खोज तथा उद्धार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी जानकारी गराएका छन् ।

    राष्ट्रिय गार्डका प्रवक्ता हुसेम एद्दिन जेबाबलीले मोसाइक एफएम रेडियोसँग कुरा गर्दै भन्नुभयो, “शुक्रबार रातिदेखि शनिबारसम्म जार्जिसको तटबाट १४ नटिकल माइल टाढा डुङ्गा डुबेको थियो र अहिलेसम्म एक जनालाई मात्र उद्धार गरिएको छ। टुयुनिसियाली राष्ट्रिय गार्डले घटनामा कुनै मृत्यु पुष्टि भएको छ कि छैन भनेर बताएनन् ।

    ट्युनिसिया मानव अधिकार नियमन निकायका अध्यक्ष मोस्तफा अब्देलकेबिरले फेसबुकमार्फत् दिएको जानकारीमा चारवटा शव फेला परेका छन् तर ती डुङ्गाका बेपत्ता यात्रुहरूका हुन् कि होइनन् भन्ने अहिलेसम्म स्पष्ट छैन। घटनास्थल इटालीको लाम्पेडुसा टापुबाट करिब १४५ किलोमिटर (९० माइल) टाढा ट्युनिसियाको तटमा पर्छ । यो युरोपमा राम्रो जीवन खोज्दै भूमध्यसागर पार गर्ने जोखिमपूर्ण यात्रा गर्न खोज्ने आप्रवासीहरूका लागि प्रमुख प्रस्थान बिन्दु हो। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अनुसार मध्य भूमध्यसागर मार्ग विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो।

    आईओएमले यस महिनाको सुरुमा दिएको जानकारीमा भनिएको थियो, “सन् २०२६ को पहिलो चार महिनामा मध्य भूमध्यसागरमा आप्रवासी मृत्यु गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी भएको छ।” आईओएमका अनुसार यस वर्ष यस मार्गमा कम्तीमा ९१४ आप्रवासी मरेका वा बेपत्ता भएका छन् । सन् २०२३ मा ट्युनिसियाले युरोपेली सङ्घसँग २५ करोड ५० लाख युरो (२९ करोड अमेरिकी डलर) को सम्झौता गरेको थियो, जसको लगभग आधा रकम अनियमित आप्रवासन नियन्त्रणका लागि छुट्याइएको थियो । इटालीको कट्टर दक्षिणपन्थी सरकारको बलियो समर्थन प्राप्त यस सम्झौताले ट्युनिसियाको तटबाट डुङ्गाहरू जान नदिन क्षमता बढाउने लक्ष्य राखेको थियो ।

  • म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

    म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

    याङ्गोन (म्यान्मा), ७ भदौ (रासस–एएफपी) । म्यान्माको बौद्ध गुम्बामा नागरिकहरू भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुहरूले बताएका छन् । सेनाले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता पक्राउ गरेपछि म्यान्मामा गृहयुद्ध जारी रहेको छ ।

    विगत पाँच वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक विद्रोहीहरूको समुहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा एक लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । मानिसहरु प्रार्थनाको लागि भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा बिहान ९ः०० बजे गरिएको पछिल्लो हवाई आक्रमणमा ११ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ ।

    म्यान्माको वर्षाको मौसमसँग लगभग मेल खाने बौद्ध परम्पराको अवसरमा प्रार्थना गर्न वृद्ध मानिसहरू तीन महिनाका लागि उक्त ध्यान केन्द्रमा प्रवेश गरेको समयमा आक्रमण भएको जनाइएको छ । आक्रमणमा मृत्यु भएका मानिसहरु ५० देखि ७० वर्ष उमेर समुहका रहेको जनाइएको छ । जानकारीका लागि म्यान्माको सेनालाई सम्पर्क गर्न तुरुन्तै सम्भव नभएको जनाइएको छ ।

    तर दोस्रो स्थानीय विपक्षी लडाकु समुहले सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने सर्तमा मृतक पाँच जना आफ्नै गाउँका रहेको र अन्य नौ जना अन्य गाउँका रहेको उल्लेख गरेको छ । प्रत्यक्षदर्शीहरूले मानिसहरूलाई बचाउने प्रयास गरिरहेको अवस्थामा पुनः दोस्रो पटक हवाई आक्रमण भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । म्यानमाको सेनाले विद्रोहीहरूलाई तह लगाउनका लागि आपूर्ति गरिएका चिनियाँ र रूसी जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषकहरू बताउँछन् ।

    म्यान्माका लागि स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम) का संयुक्त राष्ट्रका अनुसन्धानकर्ताहरूले गत हप्ता सेनालाई नागरिकहरू विरुद्ध अन्धाधुन्ध र जानाजानी हवाई आक्रमण गरेको आरोप लगाउँदै प्रतिवेदन प्रकाशित गरेका थिए । सार्वजनिक भवनहरू, मठ–मन्दिर, विद्यालयहरूलाई लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ ।

    म्यान्माको सरकारले आइआइएमएमको दाबीलाई म्यान्माको सुरक्षा बलहरूविरुद्ध अप्रमाणित र गलत जानकारीको आधारमा गरिएको एकतर्फी आरोप भनेको छ । पाँच वर्षको सैनिक शासनपछि, म्यान्माको सेनाले सन् २०२६ को सुरुतिर चुनाव सम्पन्न गरेको थियो । आइआइएमएमले जारी गरेको प्रतिवेदनमा चुनाव अघिको समयमा हवाई आक्रमणमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

    प्रजातान्त्रिक विश्लेषकहरुले लोकप्रिय सुकीलाई छोडेर, उहाँको पार्टीलाई आलोचना गर्दै असहमति जनाउनेहरूलाई जेल सजाय दिएर सैन्य शासनलाई पुनः स्थापित गर्ने प्रक्रिया भन्दै मतदानलाई बहिस्कार गरेका थिए । मतदानको परिणामस्वरूप विद्रोही समुहका नेता मिन आङ ह्लाइङले अप्रिलमा राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो ।

    उहाँले हाल म्यान्माको निर्वाचित सरकारलालाई स्थापित गर्न तथा विदेशमा कूटनीतिक मान्यता प्राप्त गर्न कडा कूटनीतिक पहलको नेतृत्व गरिरहनु भएको छ । भारत, चीन, लाओस र थाइल्यान्डलगायतका देशहरुले हालै मान्माको भ्रमण गरेर उहाँलाई खुला रूपमा समर्थन गरेका छन् भने अभियानकर्ताहरूले आलोचना गर्दै उनीहरुलाई अनुचित वैधता दिएको गुनासो गरेका छन् । यस हप्ता, मिन आङ ह्लाइङले रूस र बेलारुसको भ्रमण गर्नुभएको छ भने उनीहरु विद्रोह पछिको म्यान्मा सरकारका दृढ सहयोगीका रुपमा रहेका छन् ।

  • दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    काठमाडौँ, ७ भदौः दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ । दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको प्रमुख उद्देश्य हो ।

    अगष्ट २३ को मिति सन् १७९१ मा हालको हाइटीको सेन्ट–डोमिङ्गमा सुरु भएको दास विद्रोहको स्मरणमा छनोट गरिएको हो । सन् १७९१ अगष्ट २२ देखि २३ को रातमा सुरु भएको उक्त विद्रोहले दासत्व तथा अन्तरराष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो । युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा तथा सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो ।

    त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तरराष्ट्रिय अवसरका रूपमा विकसित भएको छ । दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवअधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्दछ । युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगतप्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूपविरुद्ध वर्तमान र भविष्यमा सचेत रहनसमेत आवश्यक रहेकोमा जोड दिँदै आएको छ । तस्बिरःसंयुक्त राष्ट्रसङ्घ

  • कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    बागलुङ, ७ भदौः कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरेपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार भएको छ । नयाँ भवन निर्माण भएपछि लामो समयदेखि कक्षाकोठा अभावका कारण समस्या झेल्दै आएको विद्यालयमा पठनपाठन सहज भएको प्रधानाध्यापक थमप्रकाश जैसीले बताउनुभयो ।

    दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन् । कक्षाकोठा अभाव हुँदा यसअघि एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने अवस्था थियो । विद्यार्थी सङ्ख्या धेरै भएका कारण कक्षा पाँच, सात र आठलाई दुई–दुई समूहमा विभाजन गरी पठनपाठन सञ्चालन गर्नुपरेको थियो । पर्याप्त कक्षाकोठा नहुँदा ट्रसको छाप्रो र पक्की भवनको भ¥याङमुनिसमेत कक्षा सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक जैसीले बताउनुभयो ।

    “बालविकासदेखि कक्षा १० सम्मका लागि ११ वटा कोठा आवश्यक थियो । तीनवटा कक्षामा विद्यार्थी धेरै भएपछि दुई समूहमा विभाजन गरेर ट्रसको छाप्रो र पक्की भवनको भ¥याङमुनिसमेत पढाउने गरेका थियौँ,” उहाँले भन्नुभयो, “अहिले १२ नयाँ कक्षाकोठा र शौचालय थपिएपछि प्रयोगशाला, पुस्तकालयलगायतका लागि पनि पर्याप्त स्थान छ ।”नयाँ भवन निर्माणमा लगानी भएको उक्त रकममा दश प्रतिशत स्थानीयको श्रमदान पनि समावेश छ ।

  • पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    झापा, ७ भदौः पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२÷८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ ।

    यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्यमात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ । एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी रु तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्याङ्क छ ।

    फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा रु १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

  • खोटाङमा विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    खोटाङमा विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    खोटाङ, ७ भदौः हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाका देशवीर राई र हलेसी तुवाचुङ नगरपालिकाका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।

    घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका छन् । वृद्ध दम्पत्तिमात्र रहेका डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आएको थियो । लामो समयदेखि असुरक्षित कटेरोमा बस्दै आउनुभएका वृद्ध दम्पतीका लागि नगरपालिकाले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो । मङ्गलटारका चामे दमाईं र भया दमार्इं दाजुबहिनीको पीडा उस्तै रहेको थियो ।

    अपाङ्गता भएका दमाईं दाजुबहिनीका लागि पनि नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्खौलेमा जन्मिएका टेकबहादुरको परिवार अघिल्लो वर्षको भदौमा आफ्नो गाउँ फर्किएका थिए । करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँमा बस्दै आएका टेकबहादुरको परिवार दिक्तेल बस्दै आएको समयमा १२ वर्षीया छोरी मृत भेटिएपछि गाउँ फर्केर अर्खौलेमा अरुको घरमा आश्रय लिएर बस्दै आएका थिए । गाउँ फर्किएको समयमा सार्की परिवारलाई नगरपालिकाले खाद्यान्न र केही नगदसमेत सहयोग गरेको थियो ।

    सार्कीको परिवार गाउँमै बसेर जीविकोपार्जन गर्न चाहे पनि घर नहुँदा समस्यामा परेका कारण नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तीन परिवारलाई भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ ।

    आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ”, प्रमुख राईले भन्नुभयो, “राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायी रुपमा बसोबास गर्दै आएको अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने निर्णय गरेका छौँ । नगरबाहिर बसेको अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित बनेका तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएका छन् ।”

    विस्थापित परिवारहरु आफ्नो नगरपालिका फर्किएर स्थायी रुपमा बसोवास गर्न चाहेको खण्डमा उनीहरुका लागि रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुनःस्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरुको नाममा जग्गा भने हुनुपर्ने बताइएको छ । नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो ।

  • आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

    आजको मौसमः देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, ७ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता


    ७ भदौ, काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।

    सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ। त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ।

    पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गिला चौधरीले हस्ताक्षर गरेका छन्।

    पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

  • हेटौंडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिइने

    हेटौंडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिइने

    ६ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग संचालन गरिने बताएकी छिन् । मन्त्री यादवले कानुनी प्रकृया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई हेटौंडा कपडा उद्योगको स्तरउन्नति तथा सञ्चालनमा खर्च गर्ने गरी व्यवस्था मिलाउने बताइन् । आज हेटौंडामा परीक्षण सञ्चालनमा रहेको कपडा उद्योगको स्थलगत अवलोकन गर्दै मन्त्री यादवले उद्योगलाई अब परीक्षणमै सीमित नराखी नियमित र निरन्तर उत्पादनमा लैजानुपर्ने बताइन् ।


    हाल उद्योगमा १० वटा लुम सञ्चालनमा रहेर कपडा उत्पादन भइरहेको तथा थप १० वटा मेसिनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ। नेपाली सेनाका प्रतिनिधिहरूले उद्योगमा रहेका सम्पूर्ण मेसिन तथा उपकरणको अवस्था परीक्षण तथा निरीक्षण गरिरहेको र सम्भव भएसम्म थप मेसिन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी मन्त्री यादवलाई गराएका थिए। मन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न नेपाली सेनाको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

    उनले भनिन्, “अब हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालन हुनुपर्छ। त्यसका लागि अझै अग्रसर भएर आवश्यक सहयोग गर्न नेपाली सेनालाई अनुरोध गर्दछु।” मन्त्री यादवले आफूहरूले दिएको समयसीमाभित्रै उद्योगलाई परीक्षण सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली सेनालाई धन्यवादसमेत दिए । नेपालकै सबैभन्दा ठूलो टेक्सटाइल उद्योगका रूपमा हेटौँडा कपडा उद्योगलाई हेरिएको र यसमा रहेका सम्पूर्ण मेसिन सञ्चालनमा ल्याउन सके नेपाललाई पर्याप्त मात्रामा कपडा उत्पादन गर्न सकिने उद्योगमन्त्री गौरिको विश्वास छ।

    वर्षौंदेखि बन्द अवस्थामा रहेको सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने क्रममा सरकारको आफ्नै स्रोत परिचालन गरी उद्योगको स्तरउन्नति गर्ने मन्त्री यादवको घोषणाले हेटौंडा कपडा उद्योगलाई आत्मनिर्भर रूपमा सञ्चालन गर्ने सरकारको योजनालाई थप स्पष्ट पारेको मन्त्रालयको दावि छ ।

  • राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

    राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

    वासिङ्टन, ६ भदौ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ । “हामी हाम्रा पशुपालकहरूलाई सहयोग गर्न काम गरिरहेको भएपनि आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ‘ग्राउन्ड बीफ’ का लागि तीन लाख मेट्रिक टनसम्मको उत्पादनलाई कोटाबाहिरको भन्साररहित आयात गर्न अनुमति दिनेछ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।


    अमेरिकी राष्ट्रपतिले कुन–कुन देशले यो बीफ निर्यात गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छैन तर ‘ग्राउन्ड बीफ’ लाई बजार मूल्यभन्दा २५ प्रतिशत कममा बेच्ने प्रतिबद्धता जनाएका छन् । “यो सम्झौताले अमेरिकीहरूका लागि मूल्य घटाउनेछ र हाम्रा महान् किसानहरूलाई ठाउँ दिनेछ,” राष्ट्रपति ट्रम्पले लेखेका छन् । अमेरिकी उपभोक्ताहरू उच्च खाद्य मूल्यको निरन्तर दबाबमा छन्, जसमा इरान युद्धसँग जोडिएको ऊर्जा सङ्कटले इन्धन र यातायात खर्च बढाएर थप प्रभाव पारेको छ ।

  • पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

    पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

    वासुदेव पौडेल र वसन्त भण्डारी–रासस

    बागमती, ६ भदौः मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । हेटौँडासँगै आसपासका जिल्लाबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाउन थालेको हो । हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर दूरी र मनहरीबाट करिब १० किलोमिटर दूरी पार गरेपछि जलपरी झरना आउन सकिने राक्सिराङ(३ का वडाध्यक्ष उत्तम वाइबाले जानकारी दिए ।

    प्रशस्त रूपमा पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परिरहेको यस झरनाको प्रवर्द्धनसँगै यहाँकोे पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उनले बताए । झरनासँगै यहाँको चमेरे गुफासमेतलाई समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको वडाध्यक्ष वाइबाले बताए । “जलपरी झरनाको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी यसको संरक्षण र प्रवर्द्धनका लागि २०७४ सालयता निरन्तर प्रयास गरिएको छ”, उनले भने, “यहाँको पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म रु एक करोड २७ लाख बजेट विनियोजन भई विभिन्न काम सम्पन्न भएका छन् ।”

    झरना परिसरमा वडा कार्यालयका तर्फबाट बुद्धको मूर्ति राखिएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत परिसरमा पदमार्ग निर्माणसँगै विभिन्न फूलका बिरुवा रोपिएका छन् । पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी वनभोजस्थल पनि निर्माण गरिएका जानकारी दिँदै वडाध्यक्ष वाइबाले हाल परिसरमा दुईवटा वनभोजस्थल व्यवस्थित रूपमा रहेको जानकारी दिए । “जलपरी झरना परिसरमा घुम्न र वनभोजका लागि आउने सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दो छ”, उनले भने, “अत्यावश्यकीय पूर्वाधार विकाससँगै राम्रो प्रवर्द्धन गरिएमा यो हेटौँडाकै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने पक्का छ ।”

    जलपरी झरना र चमेरे गुफालाई पर्यटनसँग जोड्दै तल गाउँमा घरबास सञ्चालन गर्नु अपरिहार्य भएको स्थानीयवासी रामकुमार एलनले बताए । “जलपरी झरनालाई पर्यटनसँग जोड्न सकेमा यसले राक्सिराङ गाउँपालिकासँगै मकवानपुरकै पर्यटनमा विशिष्ट योगदान दिने देखिन्छ”, उनले भने, “१२ महिना नै अटुट रूपमा पानी झरिरहने यो झरनालाई पर्यटकीय उपयोगका लागि स्थानीय सरकारसँगै प्रदेश र सङ्घको संयुक्त सहयोग र सहकार्य अपरिहार्य छ ।”

    यहाँको पर्यटकीय विकासले ग्रामीण अर्थतन्त्रमा पनि विशिष्ट योगदान पुग्ने उनले बताए । पछिल्ला समयमा वनभोजका लागि निर्माण गरिएका टहरासँगै पदमार्गलाई व्यवस्थित गरिएका कारण आउने पर्यटकलाई झरनासम्म पुग्न सहज भएको छ । वडाध्यक्ष वाइबाका अनुसार यहाँको समग्र विकाससँगै व्यवस्थापनमा हरियाली सामुदायिक वनले महत्त्वपूर्ण सहयोग गरिरहेको छ । झरनाभन्दा तल विशेषगरी तामाङ, मगर र चेपाङको बस्ती रहेको जानकारी दिँदै उनले ती वस्तीमा घरबास सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।


    “हामीले घरबास सञ्चालनका लागि स्थानीयवासीलाई अभिप्रेरित गरिहेका छौँ”, उनले भने, “जलपरी झरना र चमेरो गुफाको विकाससँगै पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकका लागि घरबास सञ्चालन गर्न सकिएमा यसले गाउँमा पर्यटकको चहलपहल पनि बढ्ने, रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन वृद्धि हुने थियो ।”

    झरना परिसरमा राखिएको बुद्धको मूर्तिसँगै मृगलाई झम्टँदै गरेको बाघको मूर्ति, झरनाको छेउमा राखिएको जलपरीको मूर्तिका साथै तस्बिर खिच्नका लागि बनाइएको आकर्षक स्थान आदिले यहाँ आउने पर्यटकलाई लोभ्याइरहेको छ । पछिल्ला समयमा हेटौँडाका साथै चितवनलगायतका स्थानबाट दिनानुदिन पर्यटकहरू आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको सङ्ख्या बढी हुन्छ ।

    बर्दघाटबाट जलपरी झरना घुम्नका लागि आउनुभएका प्रदीप विकले यो झरना तथा यहाँको परिवेशले आफूलाई निकै मोहित बनाएको अनुभव सुनाए । चितवनमा आफन्तकामा आउँदा केही समय छुट्याएर आफू झरनामा आइपुगेको बताउँदै उनले यसको प्रचारप्रसार गर्न सकिएमा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राखे ।


    झरनामा परिसरमा भेटिएका चितवन भण्डाराका अभिशेक सुनारले आफू दोस्रोपटक यहाँ आएको बताए । “केही समय पहिला साथीहरूसँग यहाँ घुम्न आएको थिएँ”, उनले भने, “झरना तथा यहाँको परिवेश लोभ्याउने खालको छ । दोस्रोपटक आफन्तहरू लिएर घुम्न आएको हुँ ।”

    जलपरी झरना तथा चमेरो गुफा पार्क क्षेत्रमा पर्यटकको सुविधालाई लक्षित गरी बिजुली बत्तीको लाइन विस्तार गर्न लागिएको छ । झरनाका कारण गाउँमा चहलपहल बढ्दै गएपछि स्थानीयवासीले चिया तथा खाजा पसल थप्ने क्रम पनि बढेको छ । आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने देखेर स्थानीयवासी छेकु दोर्जे पाख्रिनले गाउँमा चिया तथा खाजा पसल सञ्चालन सुरु गरेको जानकारी दिए ।

    “ठाउँठाउँबाट झरना तथा पार्कमा पर्यटक आउन थालेका कारण चहलपहल बढिरहेको छ”, उनले भने, “आउने पर्यटकलाई चिया तथा खाजाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ मैले चिया तथा खाजा पसल सुरु गरेको छु ।” यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले योजनाबद्ध काम गर्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जन बढ्ने, आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।

  • नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबिच १४ बुँदे सहमति

    नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबिच १४ बुँदे सहमति

    ६ भदौ, काठमाडौं । नेपाल सरकार र ुराष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालु बिच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। ​

    काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। ​सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

  • बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    नारायणगढ (चितवन), ६ भदौः जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ः०० बजे मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको उनले बताए ।


    बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताए ।