Category: समाचार

  • भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

    भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म


    मकवानपुर, ५ भदौः बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा सामान्य परिवारमा उनको जन्म भएको थियो ।

    प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी सानैदेखि सामाजिक गतिविधिमा चासो राख्दै आएको बताउँछन् । विसं २०४७ देखि उहाँ निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उनले जिल्ला कमिटी उपाध्यक्षको भूमिकामा समेत छन् । पार्टी सङ्गठनको जिम्मेवारीसँगै स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको थप राजनीतिक परिचय बनेको हो ।

    उनी २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला स्थानीय तहमा जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने क्रममा नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बने । स्थानीय तहको नेतृत्वका क्रममा उनले सामाजिक सेवा र जनप्रतिनिधिको भूमिकालाई सँगसँगै अघि बढाउने प्रयास गरेको देखिन्छ । विसं २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।


    प्रदेशसभा सदस्यको जिम्मेवारीसँगै उनले प्रदेश सरकारमा मन्त्रीको भूमिकासमेत सम्हाले । विसं २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उनले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हाले । उनीसँग लामो समयदेखि सामाजिक सङ्घसंस्थामार्फत समुदायसँग जोडिएको अनुभव छ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनी धार्मिक तथा सामाजिक अभियानमा समेत सक्रिय छन् ।

    नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल उनले भूमिका निर्वाह गरे । नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यका रूपमा समेत काम गरेको उनको अनुभव छ ।

    खेलकुद र आर्थिक क्षेत्रमा पनि उहाँको संलग्नता छ । नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबको संरक्षकका रूपमा उनले भूमिका निर्वाह गरे । सिपाडोल क्षेत्र परोपकार समाज र ‘आफ्नो घर आश्रम’सँग पनि उनी जोडिएका छन् ।
    राजनीति, समाज सेवाका साथै उनले आफ्नो निजी व्यवसायलाई समेत अगाडि बढाएका छन् । उनका अनुसार निजी व्यवसायबाट ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा समेत आफू सक्रिय रहेको उनी बताउँछन् । उनले वडाध्यक्षका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा पनि त्यसबाट प्राप्त हुने सुविधा नलिएको बताउँछन् । त्यस सुविधाबापत बचत भएको रु १५ लाखबराबरको अक्षयकोष स्थापना गरे । सो कोषमा हाल रु ४० लाख पुगेको उनले बताए ।


    विसं २०७२ को विनाशकारी भूकम्प, २०७५ को हनुमन्ते बाढी, उद्धार तथा राहतको कार्यमा उनले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्छन् । कोरोना महामारीका बेला पनि सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पिसीआर परीक्षणको व्यवस्था र समन्वयदेखि घरघरमा अक्सिजन तथा औषधि पुर्याउने काममा उनी सक्रिय भए ।


    प्रदेश सरकारको मुख्यमन्त्रीसम्म आइपुग्दा उनले सामाजिक संस्था, स्थानीय सरकार, प्रदेशसभा र प्रदेश सरकारका विभिन्न जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । वडाध्यक्षबाट सुरु भएको उहाँको राजनीतिक सेवाको यात्रा प्रदेशसभा सदस्य र मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको छ ।

    पार्टीभित्रको सामान्य असन्तुष्टिलाई समाधान गरी मुख्यमन्त्री बन्नुभएका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको दाबी गरिएको छ । उनलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका दललाई साथमा लिएर अघि बढ्नुपर्ने देखिन्छ । साथै, सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारलाई सञ्चालन गरी प्रदेशवासीको चाहनाबमोजिम कार्यसम्पादन गर्नुपर्ने दायित्व पनि उनको काँधमा छ।

  • प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

    प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’


    कास्की, ५ भदौः खेलकुदमार्फत प्रोटिनसम्बन्धी जनचेतना जगाउँदै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यसहित ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ । प्रोटिन, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ३ गते कास्कीको पोखरामा उक्त दौड आयोजना गर्न लागिएको हो । आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ ।

    प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुनेछ । यस्तै, कुल रु १६ लाखबराबरको पुरस्कार प्रदान गरिनेछ । यसैगरी विभिन्न विधामा चार हजारभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक समेज राजभण्डारीले जानकारी दिए । उनका अनुसार यसअघि प्रतियोगिताका चारवटै संस्करण काठमाडौँमा आयोजना गरिएकामा यसपटक पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ प्रतियोगिता आयोजना गर्न लागिएको हो । पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु हुने दौड वसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौदी–पामे हुँदै पुनः वसुन्धरा पार्कमै आएर टुङ्गिने छ ।

    प्रतियोगितामा पुरुष तथा महिला हाफ म्याराथन (२१ किलोमिटर), पुरुष १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि युवा दौड, तीन किलोमिटर दौड तथा पुरुष र महिला ह्वीलचेयर दौड गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक विधाका उत्कृष्ट पाँच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

    हाफ म्याराथनतर्फ महिला तथा पुरुष दुवै विधाका पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले जनही क्रमशः रु एक लाख ५० हजारदेखि रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘राइट टु प्रोटिन रन’ प्रोटिन र सन्तुलित पोषणबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको युएस सोयाबिन एक्सपोर्ट काउन्सिलका देशीय निर्देशक डा अशेष भट्टराईले बताए ।
    “विशेषगरी युवा, विद्यालय तथा विद्यार्थी, खेलाडी, महिला र परिवारमा दैनिक आवश्यक पर्ने प्रोटिनको मात्रा र सुलभ प्रोटिनका स्रोतबारे जानकारी बढाउन यो कार्यक्रम फलदायी हुँदै आएको छ”, उनले भने ।


    यस संस्करणले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, पनीर, दाल तथा गेडागुडीजस्ता सुलभ र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्नुका साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ । नेपालमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा, यसको गुणस्तर र उपलब्ध स्रोतबारे पर्याप्त जनचेतना नभएकाले यस्ता कार्यक्रमले पोषणसम्बन्धी जानकारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डा भट्टराईले बताए ।

  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ५ भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०२ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९७ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १७ पैसा र बिक्रीदर १६ रुपैयाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९३ पैसा र बिक्रीदर २४ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ५०० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५६ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी

    बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी


    भद्रपुर (झापा), ५ भदौः बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी । बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

    स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउनमात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन् । “शनिबार र आइतबार त पोखरी परिसर भरिभराउ हुन्छ । स्थानीयदेखि बाहिरी जिल्लाका आगन्तुकसम्म यहाँ शान्त वातावरण खोज्दै आउँछन्”, अधिकारीले भने ।


    अधिकारीका अनुसार बिर्तामोडस्थित मेची आँखा अस्पतालमा उपचारका लागि भारतका सिक्किम, आसामलगायत क्षेत्रबाट आउने बिरामी र उनीहरूका आफन्त पनि उपचारको फुर्सदमा विराट पोखरी घुम्न पुग्ने गरेका छन् । यसले धार्मिक र प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटनलाई समेत जोड्ने सम्भावना देखिएको छ ।

    पोखरी संरक्षण समिति ‘विराट सरोवर विकास समिति’का अध्यक्ष इन्द्र प्रसाईँका अनुसार बिर्तामोडको बढ्दो जनघनत्व र सहरी विस्तारले मानिसलाई हरियाली र शान्त वातावरणको आवश्यकता झन् बढाएको छ । उनले भने, “सहरको कोलाहलबाट केही घण्टा टाढा बसेर मन शान्त बनाउने ठाउँका रूपमा उक्त क्षेत्र स्थापित हुँदै गएको छ । यहाँ आएपछि मानिस तनावमुक्त भएको अनुभूति गर्छन् ।”

    उहाँका अनुसार पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न सङ्घसंस्थाका अवलोकन कार्यक्रम तथा जल सफारी ९बोटिङ० सञ्चालन भइरहेका छन् । “यसको प्रचारप्रसार र संरक्षण गर्नु सबैको साझा दायित्व छ”, उनले जोड दिए । विराट पोखरी केवल प्राकृतिक सौन्दर्यको स्थलमात्र होइन, पौराणिक इतिहाससँग जोडिएको सांस्कृतिक धरोहर पनि हो । स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटले आफ्ना गाईवस्तुलाई पानी खुवाउन यो पोखरी खन्न लगाएका थिए । यही क्षेत्रमा पाण्डवले अज्ञातबास बिताएको मान्यता पनि रहँदै आएको छ ।

    पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिरका कारण धार्मिक महत्व पनि उत्तिकै बलियो छ । प्रत्येक वर्ष बालाचतुर्दशीमा सतबीज छर्न र पूजाआजा गर्न हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन् । विसं २०५१ देखि विराट सरोवर विकास समितिले संरक्षणको काम गर्दै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावले अपेक्षित विकास हुन नसकेको अध्यक्ष प्रसाईँ बताउँछन् । उनका अनुसार आगामी दिनमा ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको यस सम्पदाको भौतिक विकास, संरक्षण र प्रवर्द्धनका लागि समितिले गुरुयोजना बनाएर काम गरिरहेको छ ।

  • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

    इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी


    मुस्ताङ, ४ भदौः चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ ।

    यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले राससलाई जानकारी दिए । गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ ।

  • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    काठमाडौँ, ४ भदौः नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।

    यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सङ्गम टोलबाट सोही स्थानका २३ वर्षीय घनश्याम बस्नेत, झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् ।

    सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चार जना, दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका–५ सुनखोलीबाट एक जना पक्राउ परेका छन् ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसमेत तीन जना पक्राउ परेका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका–२ का २९ वर्षीय सुरज लुइटेल र धरान उपमहानगरपालिका–१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्कीलाई पक्राउ गरिएको छ ।

  • बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

    बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन


    काठमाडौँ, ४ भदौः प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्मेवारी निर्धारण, नियमित अनुगमन तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिमा सांसदहरूले बागमतीको वातावरणीय पुनर्जीवनलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग एकीकृत गरी ‘हेरिटेज रिभर करिडोर’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।


    सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् । “स्वच्छ बागमतीलाई पहिलो प्राथमिकता दिई नदीमा हुने सम्पूर्ण ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गर्ने योजना बनाउनुपर्छ,” सभापति गजुरेलले भने, “बागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित, खुला, पैदलमैत्री तथा नागरिकमैत्री नदी करिडोरका रूपमा विकास गर्नुपर्छ ।”

    बैठकमा सांसदहरू राजुनाथ पाण्डे, बासना थापा, प्रदीप विष्टलगायतले काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको किनारालाई सफा र स्वच्छ बनाउने समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिए । स्वच्छ बागमती निर्माणका कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।

    समितिले बागमती नदीको संरक्षण, वातावरणीय पुनर्जीवन, अतिक्रमण नियन्त्रण तथा बाढी जोखिम व्यवस्थापनलाई छुट्टाछुट्टै कार्यक्रमका रूपमा नभई एकीकृत योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डा आनन्दसिंह भाटले खोला किनारालाई हरियाली बनाउने र नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माणलाई तीव्रता दिएको बताए ।

  • वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

    वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

    बसन्त भण्डारी–रासस

    हेटौँडा, ४ भदौः गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए । विद्यालय र घरबीच हेटौँडा उपमहानगरपालिका(१९ मा पर्ने वासुदेव खहरे खोला उनीहरूका लागि नौलो थिएन । तर, त्यस साँझ खोला अस्वाभाविक रूपमा उर्लिएको थियो ।

    खोला तर्ने क्रममा आएको अचानकको भेलले चारै बालिकालाई फरक(फरक दिशातर्फ बगायो । घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । एक बालिका भने ज्यान जोगाउन सफल भइन् । घटनाबाट जोगिएकी हेटौँडा(१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलनका अनुसार चारै जना हात समातेर खोला तर्दै थिए । सबैभन्दा पहिले आठ वर्षीया रोशनी स्याङ्तानलाई भेलले बगाएको थियो । त्यसपछि ११ वर्षीया सुमित्रा भोलन र लगत्तै सीमासहित अन्य बालिका पनि भेलमा परेका थिए ।

    भेलले लछारपछार गर्दै केही तल पुर्‍याएपछि सीमाको हातमा खोलाकिनारको झाडी परेको थियो । झाडी समातेर उनी खोलाबाट बाहिरिन सफल भइन् । सामान्य चोट लागेपछि उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । सीमा खोलाबाट बाहिरिँदा स्थानीयवासीले अन्य बालिकाको खोजी सुरु गरिसकेका थिए । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा २० जना प्रहरी खोजीमा खटिएका थिए ।

    बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बलको १४ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काको नेतृत्वमा १७ जनाको टोली पनि खोजीमा परिचालन भएको थियो । नेपाली सेना र स्थानीयवासीसमेत खोजीमा जुटेका थिए ।

    खोजीका क्रममा हेटौँडा(१९ बस्तीपुरका दीप स्याङ्तानकी आठ वर्षीया छोरी रोशनी घटनास्थलबाट करिब ६०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    टिकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनिता भने रातभर फेला परेका थिएनन् । अँध्यारोसँगै पानीको बहाव बढ्नुका साथै खोलाले बगाएर ल्याएका ढुङ्गा र गेग्रानका कारण खोजी कठिन भएको थियो ।

    बुधबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोलाको तल्लो तटीय क्षेत्रमा पुनः खोजी थालेको थियो । सोही क्रममा विनितालाई भेलले बगाएको स्थानदेखि करिब चार किलोमिटर तल मृतावस्थामा फेला पारिएको थियो । सुमित्रा भने अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बेपत्ता सुमित्राको खोजी भइरहेको जानकारी दिनुभयो । हेटौँडा(१९ का वडाध्यक्ष नरनाथ सुवेदीका अनुसार सुरक्षाकर्मी र स्थानीयवासीले वासुदेव खोलाको तल्लो क्षेत्रमा सुमित्राको खोजी गरिरहेका छन् ।

    विद्यालयबाट घर फर्किएका चार बालिकामध्ये दुई जनाको मृत्यु भएको छ, एक जना बेपत्ता छिन् भने एक जना ज्यान जोगाउन सफल भएकी छन् । वासुदेवको भेलले दुई परिवारबाट छोरी खोसेको छ भने अर्को परिवारलाई छोरी फर्किने आशामा राखेको छ ।

    यो घटना चालु आर्थिक वर्षमा मकवानपुरमा खोला तथा पानी जमेको खाल्डोका कारण भएको पहिलो मानवीय क्षति भने होइन । आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै हेटौँडा(६ रोहिणी कोलोनीस्थित कर्रा खोलाछेउको पानी जमेको खाल्डोमा डुबेर करिब १४ वर्षीय युकेश राईको मृत्यु भएको थियो ।

    त्यसको करिब दुई सातापछि बकैया गाउँपालिका–४ नयाँदमारस्थित चिरुवा खोल्सीमा आएको आकस्मिक भेलले दुई महिलालाई बगाएको थियो । खोल्सी तर्ने क्रममा ४१ वर्षीया तारा भोलन र ५० वर्षीया सुनमाया वाइवा भेलमा परेका थिए । स्थानीयवासीले दुवैलाई घाइते अवस्थामा उद्धार गरेका थिए । प्राथमिक उपचारपछि हेटौँडास्थित अस्पताल ल्याइएकी ताराको साउन १९ गते उपचारका क्रममा मृत्यु भएको थियो । सुनमाया उपचारपछि घर फर्किनुभएको थियो ।

    कर्राको खाल्डो, चिरुवा खोल्सी र वासुदेव खहरेका घटना फरक प्रकृतिका छन् । कर्रामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो भने चिरुवा र वासुदेवमा खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएको थियो । यी घटनाले वर्षायाममा जिल्लाका खोला, खोल्सा, खहरे र पानी जमेको खाल्डो जोखिमपूर्ण हुने देखाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा खोलाले बगाएर तथा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । आर्थिक वर्ष २०८२८३ मा मकवानपुरमा डुबाइ तथा बगाइका छ घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु, एक जना घाइते र एक जना बेपत्ता भएका थिए । मृतकमध्ये एक जना बालिका थिइन् ।

  • गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

    गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै


    काठमाडौँ, ४ भदौः नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकहरूको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा दुई वर्ष पदावधि थप्न सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले बताए ।

  • पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    काठमाडौँ, ४ भदौः नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो । नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै आज सम्मान गरेको हो ।

    राजदू त तोरुले नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालाई उक्त सम्मानपत्र प्रदान गरे । सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण सङ्घका लागि ठूलो उपलब्धि भएको बताए । उनले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन सङ्घले निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गरे ।


    कार्यक्रममा राजदूत तोरुले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण सङ्घले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान गरिएको बताए । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका पदाधिकारी, सदस्य तथा नेपालस्थित जापानी राजदूतावासको प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता

    पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता


    हुम्ला, ४ भदौः पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका १ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए । उनका अनुसार खार्पुनाथ १ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भन्ने खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ ।

    कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार आज बिहान करिब ११ः०० बजेतिर खाना खाइसकेपछि नदी किनारमा नुहाउन गएका खार्पुनाथ १ तल्लो लालीका दुई बालबालिकालाई अचानक कर्णाली नदीमा आएको बहावले बगाएको थियो ।

    बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको हुनसक्ने खार्पुनाथ १ का वडाध्यक्ष जयबहादुर शाहीले बताए । उनका अनुसार घटना भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरीप्रशासनलगायत सुरक्षाकर्मीले कर्णाली नदीको किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान थालेका छन् ।

    नदीमा पानीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनका अनुसार दुवै जनाको खोजीलाई तीव्र पारिएको छ ।

  • बाजुरामा पहिरोले दुई घर पूर्ण रूपमा क्षति

    बाजुरामा पहिरोले दुई घर पूर्ण रूपमा क्षति


    बाजुरा, ४ भदौः जिल्लाको गौमुल गाउँपालिका–३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर वटा पूर्ण रूपमा क्षति भएका हुन् । गौमुल–३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन् । एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा पुरिएका बताउँदै उनले आसपासका अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेका जानकारी दिए । भिरालो जमिनका कारण तलका घर जोखिममा परेका उनको भनाइ छ ।

    लगातार भारी वर्षा भइरहनुका साथै अहिले अँध्यारो भइसकेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय भरत बोहराले बताए । उनका अनुसार गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा छन् । पहिरो दिउँसोको समयमा गएकाले घरभित्र रहेका स्थानीय सुरक्षित स्थानमा गएका भन्दै मानवीय क्षति भने नभएको वडाध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार घरभित्र रहेका अन्नपात, भाँडाकँुडा, धनमाल, पशुचौपाया सबै पुरिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीसहितको टोली त्रिपाल, पाललगायत उद्धारका लागि आवश्यक सामग्रीसहित घटनास्थलमा खटिएको छ । केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बताउँदै उक्त घटनाको यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।

  • स्वास्थ्य बीमामा बजेट थपिएको छ : अर्थमन्त्री

    स्वास्थ्य बीमामा बजेट थपिएको छ : अर्थमन्त्री

    ४ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्व नामक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले यस्तो स्पष्ट पारेका हुन् ।

    गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उनले बताए । यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उनले बताए । गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ, उनले भने, यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।’


    उनले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शङ्का रहेको बताए । स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पारे ।

  • युक्रेनमा युद्धकालीन चुनावको माग

    युक्रेनमा युद्धकालीन चुनावको माग

    सियोल, ४ भदौ (रासस/एपी) : रुससँग युद्ध जारी रहेका बेला युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै अपदस्थ रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकालमै चुनाव गराउन आह्वान गर्नुभएको छ । हालसम्म राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक मानिनुभएका फेडोरोभको यो सार्वजनिक आह्वान युद्ध सुरु भएपछि जेलेन्स्की सरकारसामु देखिएको महत्त्वपूर्ण आन्तरिक चुनौतीका रूपमा आएको छ ।

    फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाउनुभएको थियो । उहाँले युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानूनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताउनुभएको छ । युक्रेनी कानूनअनुसार देशमा मार्सल ल लागू रहेसम्म चुनाव गराउन रोक लगाइएको छ । रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेको दिन अर्थात् फेब्रुअरी २४, २०२२ देखि युक्रेनमा मार्सल ल लागू छ ।

    फेडोरोभले वर्तमान शासन प्रणाली आत्मरक्षा र परिवर्तनको प्रतिरोधमा केन्द्रित भएको आरोप लगाउँदै देशले शासन सञ्चालनकै विषयमा प्रणालीगत सङ्कट सामना गरिरहेको बताउनुभयो । उहाँले कुनै अधिकारीको नाम नलिई सरकारी निकायमा व्याप्त भ्रष्टाचारको समेत आलोचना गर्नुभयो । युद्धका बेला हुने भ्रष्टाचारले युक्रेनको युद्ध लड्ने क्षमतालाई कमजोर बनाउने उहाँको भनाइ छ ।

    “युद्धका बेला भ्रष्टाचार आर्थिक विषय मात्र होइन, यो हाम्रो बाँच्ने र जित्ने क्षमतासँग जोडिएको विषय हो”, फेडोरोभले भन्नुभयो । रक्षाका लागि छुट्याइएको प्रत्येक रिभ्निया देशको सुरक्षामै खर्च हुनुपर्ने र निजी स्वार्थमा प्रयोग हुन नहुने उहाँले बताउनुभयो । फेडोरोभले आफूलाई पदबाट हटाइनुको एउटा कारण रक्षा मन्त्रालयको खरिद प्रणालीमा आफूले नेतृत्व गरेको भूमिका पनि भएको बताउनुभयो ।

    उक्त प्रणालीमार्फत सैन्य उपकरण खरिदमा खर्च हुने अर्बौँ डलरको निगरानी हुँदै आएको थियो । फेडोरोभको सम्बोधन युक्रेनी संसद्ले नयाँ रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारालाई मनोनयन गरेको केही घन्टापछि आएको हो । संसद्का अध्यक्ष रुस्लान स्टेफानचुकले मङ्गलबार सामाजिक सञ्जालमार्फत नयाँ रक्षामन्त्रीको मनोनयनबारे जानकारी दिनुभएको थियो । फेडोरोभको सम्बोधनप्रति जेलेन्स्कीको कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    फेडोरोभलाई अचानक पदबाट हटाइएपछि गत महिनादेखि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनको सुरुआती भीड केही घटे पनि सप्ताहन्तमा अझै हजारौँ मानिस सडकमा उत्रिने गरेका छन् । प्रदर्शनकारीहरूले फेडोरोभलाई पुनः पदमा फर्काउन माग गर्दै जेलेन्स्कीविरुद्ध नाराबाजी तथा हस्तनिर्मित प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् ।

    युद्ध जारी रहेका बेला चुनाव गराउने विषय भने युक्रेनका लागि सुरक्षा, कानूनी र राजनीतिक रूपमा जटिल मानिन्छ । फेडोरोभको पछिल्लो आह्वानले युद्ध सञ्चालनसँगै लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीबारे युक्रेनभित्र बढिरहेको बहसलाई थप सतहमा ल्याएको छ ।

  • जारी तनावबीच आठ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए

    जारी तनावबीच आठ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए

    जेनेभा, ४ भदौ (रासस/एएनआई) :

    पश्चिम एसियामा जारी तनावका बीच करिब आठ लाख ६० हजार विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले जनाएको छ । यद्यपि, दक्षिणी लेबनानमा पछिल्ला इजरायली हवाई आक्रमणले पुनः विस्थापनको जोखिम बढाएको तथा मानवीय सङ्कट कायमै रहेको कार्यालयले जनाएको छ । युएनएचसीआरका अनुसार, द्वन्द्वको चरम समयमा लेबनानभित्र १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।

    अहिले फर्किएकामध्ये करिब २२ हजार व्यक्ति सामूहिक आश्रयस्थलमा बसिरहेका छन् भने करिब ३६ हजार अझै आफन्तको घर वा भाडाको आवासमा विस्थापित अवस्थामा छन् । युएनएचसीआरले सामाजिक सञ्जाल ‘एक्स’ मा युद्धविराम घोषणा भए पनि सप्ताहन्तमा दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणपछि सयौँ परिवार सुरक्षाको खोजीमा उत्तरतर्फ गएको जनाएको छ । नयाँ विस्थापनले लामो समयदेखि जारी विस्थापन सङ्कट थप जटिल बनाएको र घर फर्किएका समुदायमा अनिश्चितता बढाएको कार्यालयले उल्लेख गरेको छ ।

    असुरक्षा, आफ्नो समुदायसम्मको पहुँचमा कठिनाइ तथा घर र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण धेरै परिवार अझै घर फर्कन असमर्थ छन् । द्वन्द्वका कारण स्वास्थ्य, खानेपानी र विद्युत् सेवासमेत प्रभावित भएका छन् । युएनएचसीआरका अनुसार, सुरक्षित र स्थायी रूपमा घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने निर्णय गर्नुअघि कतिपय मानिसहरू विस्थापित क्षेत्र र आफ्नो मूल स्थानबीच पटक–पटक आवतजावत गरिरहेका छन् ।

    दक्षिणी लेबनान र बेका क्षेत्रका केही भागमा हवाई आक्रमण, आवागमन प्रतिबन्ध, सैन्य गतिविधि तथा युद्धका विस्फोटक अवशेषका कारण सुरक्षा जोखिम कायमै रहेको युएनएचसीआरले जनाएको छ । द्वन्द्वको तीव्रता घटे पनि यी जोखिमले प्रभावित समुदायको सुरक्षित पुनरागमन र दीर्घकालीन पुनःस्थापनामा अवरोध सिर्जना गरेको छ ।

    मानवीय सहयोगमा सङ्लग्न संस्थाहरूले समेत स्रोतसाधनको अभाव झेलिरहेका कारण विस्थापित तथा घर फर्किएका परिवारलाई आवश्यक सहायता पु¥याउने क्षमता सीमित भएको कार्यालयले जनाएको छ । युएनएचसीआरले विस्थापित परिवार, घर फर्किएका व्यक्ति तथा प्रभावित समुदायलाई आवास पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना, आधारभूत पूर्वाधार निर्माण तथा दीर्घकालीन स्थायित्वका लागि निरन्तर अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।

  • इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    रेओ (इन्डोनेसिया) ४ भदौ (रासस/एपी) :
    शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र करिब एक हजार दुई सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठान पुनः सञ्चालनमा आएका छन् । गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि ५९ हजार ६ सयभन्दा बढी मानिस अझै पाल, उद्धार केन्द्र र अस्थायी आश्रयस्थलमा बसिरहेका अधिकारीले बताएका छन् ।

    राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पबाट ११ हजार नौ सय २५ घर, १८२ स्वास्थ्य संस्था, ६५३ विद्यालय, १८४ सरकारी कार्यालय र १७३ धार्मिक स्थलमा क्षति पुगेको छ । प्रभावित समुदायमा खाद्यान्न, पारिवारिक पाल, आश्रय सामग्री र अन्य राहत सामग्रीसहित ३९८ टन राहत सामग्री पु¥याइएको एजेन्सीले जनाएको छ । पहाडी भूभाग तथा क्षतिग्रस्त र साँघुरा सडकका कारण राहत सामग्री वितरणमा भने कठिनाइ भइरहेको अधिकारीले बताएका छन् ।

    दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सैन्य विमान, पानीजहाज र थप जनशक्ति परिचालन गरेको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता बर्टन पानजाइतानले बताउनुभयो । पूर्वी नुसा तेङ्गरा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका लेनाले भूकम्प प्रभावित सातवटै क्षेत्रका स्थानीय सरकारहरूले विपद्पछिको पुनर्लाभ तथा प्रशासनिक कामलाई गति दिन पुनः काम सुरु गरेको बताए । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो ।

    भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि हटाइएको थियो । अधिकारीहरूले बुधबारसम्म तीन हजारभन्दा बढी परकम्प रेकर्ड गरेका छन् । परकम्पको त्रासका कारण टापुभरि हजारौँ मानिस राति बाहिरै सुतिरहेका छन् । उद्धारकर्मीहरूले थप पीडितको खोजी गर्दै पहिरो र भग्नावशेष हटाइरहेका छन् । आफ्ना सामान तथा पशुधन सुरक्षित राख्न धेरै मानिस क्षतिग्रस्त घरनजिकै आश्रय लिएर बसेकाले राहत वितरण थप चुनौतीपूर्ण बनेको उद्धार अभियान संयोजक फतुर रहमानले बताउनुभयो ।

    यसैबीच, मौमेरेमा बजार तथा पेट्रोल पम्प खुलेपछि ठूलो भीड लागेको छ । अत्यधिक प्रभावित मङ्गाराई रिजेन्सीको रियोमा पनि किराना पसल खुलेपछि आवश्यक सामग्री खरिद गर्न स्थानीयवासी लामबद्ध भएका छन् । इन्डोनेसिया १७ हजारभन्दा बढी टापु भएको देश हो र प्रशान्त महासागरीय ‘आगोको घेरा’मा पर्ने भएकाले यहाँ भूकम्प तथा ज्वालामुखी विस्फोटको जोखिम उच्च छ । फ्लोरेसमा सन् १९९२ मा गएको भूकम्प र त्यसपछिको सुनामीमा करिब दुई हजार पाँच सय जनाको मृत्यु भएको थियो ।

  • जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

    खोटाङ, ४ भदौः किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् । किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबासमा पुगेका अतिथिलाई स्वागत गर्ने प्रचलनको सामान्य वर्णन हो यो । दिप्लुङस्थित निगालावासका ११ घर पुमा राईहरु मिलेर विसं २०८१ माघ १५ गतेदेखि ‘पुमा सामुदायिक ‘होमस्टे’ घरबास’ सञ्चालन गरेका छन् ।

    गाउँपालिकाको कार्यालयमा आधिकारिक रुपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टे छोटो समयमा नै पाहुनाका लागि आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका जो कोही एक रात पुमा सामुदायिक होमस्टे पुगेर मनोरञ्जन गर्ने गर्छन् । होमस्टेमा पाइने स्थानीय परिकार तथा पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।

    होमस्टेमा बस्ने पाहुनाका लागि खाजामा कोदो र फापरको रोटी, उसिनेको मकै तथा भुटेको मकै–भटमास दिने गरेका छन् । होमस्टे आउने पाहुनाका लागि खानामा कोदोको ढिँडो, मकैको भात र जौको भात, सिस्नो, स्थानीय जातका कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध छ । ढिँडो र कुखुराको मासु खाएमा प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर र राँगाको मासु खाएमा प्रतिव्यक्ति रु २५० लिने गरिएको सञ्चालकले बताएका छन् ।

    मकैको भात र सिस्नो प्रतिव्यक्ति रु २०० तथा खाजामा प्रतिव्यक्ति रु १०० का दरले लिने गरिएको जनाइएको छ । यसैगरी, स्थानीय पेयपदार्थ उपलब्ध गराइन्छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गा पनि उपलब्ध गराउनुभएको सचिव दीपक राईले जानकारी दिनुभयो । “अध्यक्षले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ ।

    गाउँपालिकाको सहयोगमा शौचालय र बाथरुम निर्माण गरिसकिएको छ,” उहाँले भन्नुभयो, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ लाख ९० हजार उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष र माथिल्लो तलामा बास बस्ने ठाउँ बनाउने योजना छ ।” होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिम पनि उपलब्ध गराएको थियो ।

    होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्न गरिने व्यवहार, सरसफाइ तथा सुरक्षाका विषयमा सञ्चालकहरुलाई जानकारी गराइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । होमस्टे सञ्चालकलाई गाउँपालिकाले उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा थारू समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे र धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जे–थुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमण गराएको थियो ।

    निगालावासका पुमा राईले सञ्चालन गरेको होमस्टे पछिल्लो समय धेरैका लागि अध्ययन गर्ने थलो बनेको छ । स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न निगालावासमा पुमा सामुदायिक होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थल छन् । यहाँ आउने पर्यटकलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको छ । यसलाई समय सान्दर्भिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ।”

    उक्त होमस्टेमा विशेषगरी पर्यटकीयस्थल जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि आउने गरेको सञ्चालकले बताएका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र वडा नं ६ दिप्लुङको सिमानामा अवस्थित पर्यटकीयस्थल जन्तेढुङ्गामा परापूर्वकालमा जन्ती लोप (अलप) भएको किंवदन्ती छ ।

    पर्यटकीयस्थल र पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि होमस्टेमा पाहुनाको आकर्षण बढेको सञ्चालकले बताएका छन् । होमस्टेमा आउने अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर बास बस्नका लागि आउने गरेका छन् । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डीथान, भानुमती आदि रमणीय स्थान छन् ।

    भिन्नभिन्न जातिले आ–आफ्नै धर्म तथा संस्कृतअनुसार फरक–फरक किसिमका चाडपर्व मनाउने भएता पनि साकेला, दसँै÷तिहार, तीज आदि चाडपर्वको विशेष महत्व छ । जिल्लाको दक्षिणी भेगमा अवस्थित यो गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्दछ । पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ)को बीचमा अवस्थित छ ।

  • लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै

    लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै

    रासस

    त्रिशूली (नुवाकोट), ४ भदौः नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ । केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन । निर्माणको बुधबार शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाले प्रवाह गर्ने सेवा र पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरे पनि आफ्नै भवन नहुँदा भोग्दै आएको समस्या अब समाधान हुने बताउनुभयो ।

    गाउँपालिकाको कार्यालय हाल विद्यालयको भवनमा सञ्चालन भइरहेको छ । आफ्नै भवन निर्माण सम्पन्न भएपछि सहज र प्रभावकारी सेवा प्रवाह गर्न सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । विसं २०७३ फागुन २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रकाशित राजपत्रमा गाउँपालिकाको केन्द्र साबिकको सूर्यमती गाविस भलादमी डाँडामा कायम गरिएको थियो ।

    उक्त स्थानमा भवन निर्माणका लागि जग्गा अभाव र बाढीपहिरोको जोखिम देखिएपछि केन्द्र सिमलचौर कायम गरिएको थियो । सिमलचौरमा पनि बाढीपहिरोको जोखिम बढेपछि कार्यालय पुनः भलादमी डाँडाबाटै सञ्चालन हुँदै आएको छ । उपाध्यक्ष शुभद्रा अधिकारीका अनुसार केन्द्र परिवर्तन र उपयुक्त जग्गा प्राप्तिको विषयमा लामो समयदेखि देखिएको विवाद समाधान भएपछि भवन निर्माणका लागि मार्ग प्रशस्त भएको हो ।

    पछिल्लो पटक गाउँपालिकाले वडा नं ४ गड्खारमा केन्द्र कायम गरी भवन निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गर्दै रु ११ करोड ३२ लाख बजेट विनियोजन गरेको छ । नयाँ बन्ने भवन बहुविपद् प्रतिरोधी प्रविधिमा आधारित हुने गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टका अनुसार भवन बालमैत्री, अपाङ्गतामैत्री तथा महिलामैत्री हुने गरी निर्माणको जिम्मेवारी दिइएको छ ।

    भवनमा आवश्यक कार्यालय कक्ष, सभाहल, विषयगत शाखाका कार्यालय, न्यायिक समितिको इजलास, स्तनपान कक्ष, ज्येष्ठ नागरिक विश्राम कक्ष र बालमैत्री उद्यानलगायत संरचना निर्माण हुनेछ । भवन निर्माणको काम १८ महिनाभित्र सम्पन्न गर्ने गरी सूर्यकिरण निर्माण सेवालाई रु सात करोड ९७ लाखमा जिम्मा दिइएको छ । पाँच वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालय यसअघि नै सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालनमा आइसकेका छन् । कुल १२ स्थानीय तह रहेको नुवाकोटमा आफ्नै प्रशासनिक भवन नभएको लिखु गाउँपालिका मात्रै हो ।

  • प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

    प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

    भद्रपुर (झापा), ४ भदौः झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् ।

    अघिल्लो आव २०८१/८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए । त्यस्तै, आव २०८०/८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअनुसार गत आव २०८२÷८३ मा ७६५ जनाले सामान्य प्रसूतिमार्फत नवजात जन्माएका थिए भने ९२२ जनाले शल्यक्रिया सेवा लिएका थिए । प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनाका लागि ‘भ्याकुम’ प्रविधिको प्रयोग गरिएको थियो ।

    अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार पछिल्लो समय प्रसूति सेवामा सेवाग्राहीको चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको हो । यसअघि ड एलिजा गौतम मात्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत रहेकामा गत वर्ष डा विपा पोखरेल र चालु वर्षको असारदेखि डा एलिजा भट्टराई थपिएपछि अस्पतालमा हाल तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन् । अस्पताल प्रशासनले सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधार हुँदा स्थानीय तथा आसपासका क्षेत्रका महिला निजी स्वास्थ्य संस्थाको सट्टा प्रादेशिक अस्पतालमा प्रसूति गराउन आकर्षित भएको जनाएको छ ।

  • नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    रासस

    नेपालगञ्ज, ४ भदौः लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताउनुभयो । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

    उहाँका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उहाँले बताउनुभयो । स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।

  • चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    बेइजिङ, ४ भदौ (रासस–एपी) । चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनःप्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक–३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काइएको हो ।

    यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो चरण पुनःप्राप्त गरेको थियो । त्यसैले भूमिमा गरिएको बुधबारको सफलता चीनले रकेट चरण पुनःप्राप्त गरेको दोस्रो अवसर हो भने भूमिमा गरिएको पहिलो सफल परीक्षण हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक–३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो । त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो । यस क्रममा पहिलोपटक तैनाथ गर्न सकिने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ । चीनले यसलाई पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा महत्त्वपूर्ण सफलता मानेको छ ।

    रकेटको प्रयोगपछि पहिलो चरणलाई पुनःप्राप्त गरी फेरि प्रयोग गर्न सकिने प्रविधिले प्रक्षेपणको लागत घटाउन सहयोग गर्छ । यस क्षेत्रमा अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेट पुनःप्राप्तिको प्रविधि प्रयोग गर्दै आएका छन् । उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाएपछि रकेटलाई फ्याँक्नुपर्ने अवस्थाको अन्त्य गर्दै एउटै हार्डवेयर पुनः प्रयोग गर्न सकिने भएकाले अन्तरिक्ष प्रक्षेपण सस्तो बनाउन यस्तो प्रविधि महत्त्वपूर्ण मानिन्छ ।

    चीनले गत जुलाई १० मा ‘लङ मार्च–१०बी’ रकेटको पहिलो चरण पनि सफलतापूर्वक पुनःप्राप्त गरेको थियो । प्रक्षेपणपछि पहिलो चरण दोस्रो चरणबाट अलग भएर समुद्री प्लेटफर्ममा फर्किएको थियो । त्यसबेला रकेटलाई जालोमा समात्ने ‘नेट–क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो ।

    चीनसँगै जापानले पनि पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा लगानी बढाइरहेको छ । जुलाई ११ मा जापानले प्रयोगात्मक पुनःप्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान गरेको थियो । उक्त रकेट उडान भरेपछि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो । दुवै देशले प्रक्षेपण लागत घटाउँदै विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिको विकासलाई प्राथमिकता दिएका छन् ।

  • आज नौवटा संसदीय समितिको बैठक बस्दै

    आज नौवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ, ४ भदौः सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । कार्यक्रमअनुसार बिहान ११ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

    बिहान ११ः०० बजेका लागि तय भएको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । सो समितिको बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । बिहान १०ः०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपालमा जैविक÷प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने’ सम्बन्धमा उत्पादकहरूसँग छलफल’ गर्ने कार्यसूची छ ।

    पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका बारेमा छलफल गरिँदैछ । बैठक बिहान १०ः०० बजे बस्दैछ । बिहान ११ः०० बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिँदैछ ।

    यस्तै, बिहान १०ः०० बजेका लागि निर्धारित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सो समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । अपराह्न १ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम छ ।

  • रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

    रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

    रासस

    म्याग्दी, ४ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी उपचारमा पहुँच बढाउने ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र आमा तथा बच्चाको पोषण अवस्था सुधारका साथै जोखिमपूर्ण तवरले घरमै प्रसुति हुनेको सङ्ख्या शून्य बनाउने उद्देश्यले ‘गर्भवती र सुत्केरीसँग’ उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो ।

    चालु आव २०८३/८४ मा रु पाँच/पाँच लाख बजेट विनियोजन भएको दुईवटै कार्यक्रमको गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार पालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले शुभारम्भ गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कार्यक्रममार्फत स्वास्थ्यकर्मी हरेक महिनाको एकपटक ६८ वर्षभन्दा बढी उमेरका नागरिकको घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, परामर्श र स्वास्थ्य संस्थामा उपलब्ध भएको औषधि उपलब्ध गराउने तथा स्थानीयस्तरमा उपचार नहुने समस्या भएकालाई अस्पताल जान सुझाउने गरेका छन् । गत वर्ष दोहोरिएका गरेर छ हजार ४०० ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य परीक्षण सेवा पाएका रघुगङ्गाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले बताउनुभयो ।

    तोकिएको चार पटक गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा आउने र अस्पताल तथा प्रसूति गृहमा सुरक्षित प्रसुति हुने सुत्केरीलाई अण्डा उपहार दिने व्यवस्था मिलाइएको छ । हरेक पटक गर्भपरीक्षण गर्न आउँदा र प्रसूति भएपछि स्वास्थ्यकर्मी घरभेटमा जाँदा अण्डा उपहार दिने गरेका छन् । गत आवमा रघुगङ्गामा संस्थागत प्रसूति सेवा लिएका ८६ जनाले यो सुविधा पाएका छन् ।

    वडा नं ६ पाखापानीका एक जना बाहेक सबैले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख जयसवालले बताउनुभयो । गर्भ र प्रसूति अवस्थामा पोषणयुक्त खानेकुराको व्यवस्था मिलाउनुपर्ने सन्देश प्रवाह गराउने तथा घरमा प्रसूति हुने सङ्ख्यालाई शून्य बनाएर मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले आव २०८१/८२ देखि सुरु भएको कार्यक्रम प्रभावकारी देखिएकाले चालु आवमा पनि निरन्तरता दिएको उपाध्यक्ष पुनले बताउनुभयो ।

  • विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ४ भदौ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ

    । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । —

  • प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    गण्डकी, ४ भदौः विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रको कानुनी, संरचनागत र प्रक्रियागत सुधारमा सरोकार भएका पक्षको माग र भावनालाई समेट्न मन्त्रालयले देशव्यापी रुपमा ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।

    कोशी प्रदेशबाट सुरु भएको उक्त संवाद अभियान गण्डकी प्रदेश हुँदै बुधबार लुम्बिनी प्रदेश पुगेको छ । सातै प्रदेशमा पुगेर मन्त्रालयले सुझाव सङ्कलन गर्नेछ । शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, बुद्धिजीवीलगायतबीच हुने प्रत्यक्ष संवादले शिक्षा क्षेत्रका समस्या पहिचान र समाधानका उपायको खोजीमा सहयोग पु¥याउने मन्त्रालयलको विश्वास छ ।

    मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले विद्यालय शिक्षा प्रणाली सुधारमा विगतदेखि पहल थालिए पनि अब अन्तिम त्यसलाई अन्तिम रुप दिनुपर्नेबेला आएको बताए । शिक्षा क्षेत्रमा जे–जस्ता समस्या र जटिलता छन् तिनलाई बुझ्न र टुङ्गोमा पु¥याउन शिक्षा संवादको अभियान सुरु गरिएको हो”, उनले भने, “संवादका क्रममा प्राप्त भएका माग, गुनासा र सुझावलाई शिक्षा क्षेत्र सुधारका विभिन्न चरणमा मन्त्रालयले सम्बोधन गर्नेछ ।”

    उनले सबैभन्दा पहिला कानुन तर्जुमामार्फत शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने भएकाले प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन मन्त्रालय लागिपरेको बताए । विद्यालय शिक्षा सुधारमा ठोस कदम चाल्नुअघि मन्त्रालयले विभिन्न तहमा छलफल तथा परामर्श गरिरहेको सहसचिव सापकोटाले बताए ।

    “लामो समयदेखि जेलिएका समस्या र जटिलताको समाधान निकाल्न मन्त्रालय प्रतिबद्ध छ”, उनले भने, “संवादका क्रममा प्राप्त सुझावलाई ग्रहण गरी तिनको सम्बोधनका लागि मन्त्रालयले इमान्दार प्रयास गर्छ ।” संवादका क्रममा शिक्षक, कर्मचारीका पेसागत सुरक्षासँग जोडिएका विषयदेखि समग्र शिक्षा प्रणाली सुधारका मुद्दा उठ्ने गरेका छन् ।

    पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित ‘शिक्षा संवाद’मा मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षा क्षेत्रका विद्यमान समस्याको समाधानका लागि राज्यले जोखिम उठाउन सक्नुपर्ने बताए । उनले शिक्षा क्षेत्र सुधारको अठोटसहित मन्त्रालयले सबै पक्षका आवाज र भावनालाई सम्बोधन गर्न संवाद अभियान सञ्चालन गरिरहेको बताए ।

    यस वर्ष देशभरका सामुदायिक विद्यालयको पूर्वाधार ‘अडिट’ गर्न लागिएको उनकाे भनाइ छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रका समस्या मात्र नदेखाई अब समाधानको बाटो पहिल्याउनुपर्ने धारणा राखे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र तोके पनि राज्यले पर्याप्त स्रोतसाधन उपलब्ध गराउन नसकेको बताए । मुलुकको समग्र शिक्षा प्रणालीलाई सही दिशामा लैजान सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने उनकाे भनाइ छ । प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरण र शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीको समन्वयमा आयोजित ‘शिक्षा संवाद’मा समूहगत छलफलबाट आएका सुझाव र निष्कर्षलाई मन्त्रालयले ग्रहण गरेको थियो ।

  • सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

    सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

    ४ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ। सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम अघि बढाइएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गर्न, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन यो पहल गरेको हो।

    उक्त अनुरोध अनुसार अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीहरूमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुहरू नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ। यसैगरी स्टेशनरी, छपाईसम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ।

    सार्वजनिक खरिद ऐन, २०६३ र अन्य प्रचलित कानुनी व्यवस्थाकै अधीनमा रही सामानको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गरेर स्वदेशी मालसामान खरिद गर्नुपर्ने कुरालाई स्पष्ट पारिएको छ। साथै, सार्वजनिक निकायहरूले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

    यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा स्वदेशी वस्तु खरिदको अनुगमन गर्नुपर्नेछ भने मन्त्रालयहरूले त्रैमासिक रूपमा यसको निरीक्षण गरी स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गराउनुपर्नेछ।

  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ, ४ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७८ रहेको छ ।

    यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

    समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

    रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु ११०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ४०० तोकिएको छ ।

    स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

    ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

  • अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र

    अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र


    काठमाडौँ, ३ भदौः रु सत्र करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौँको ठमेलबाट पक्राउ परे । रु तीस लाख ४९ हजार ७३६ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यस्तै क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल गत चैत २ गते पक्राउ परे ।

    प्रविधिको तीव्र विकास एवं सहज पहुँचसँगै यसको दुरुपयोगबाट हुने आपराधिक घटना पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अनलाइन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबार बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२–०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परे ।

    जसमध्ये २६ जना विदेशी नागरिक र २२ जना स्वदेशी नागरिक छन् । यस्तै आर्थिक वर्ष २०८१–०८२ मा अनलाइन बेटिङमा संलग्न ९३ विदेशी नागरिकसमेत गरी जम्मा १४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०–०८१ मा अनलाइन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकसमेत ६२ जना पक्राउ परेका थिए ।

    आव २०८२–०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिक र ३५ जना स्वदेशी नागरिक छन् । यस्तै आर्थिक वर्ष २०८१–०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकसमेत गरी जम्मा ११७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०–०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकसहित १० जना पक्राउ परेका थिए ।

    विशेषगरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाइन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको अनुसन्धानका क्रममा पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले अनलाइन बेटिङ नेटवर्क एवं क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्न सूचना सङ्कलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी प्रहरीले काम गर्दै आइरहेको बताउँछन् ।


    “सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिको बारेमा गोप्य सूचना सङ्कलन, अनलाइन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ)मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवं बैंकिङ तथा डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ”, उनले भने ।
    अनलाइन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ ।

    यस्तो कसुरमा मानिसलाई उत्सुकरतयारी गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ । मुलुकी अपराध संहिता, २०७४, मा सट्टाबाजीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

    यस्तै क्रिप्टोकरेन्सीमा संलग्नलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ मा अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था छ ।

  • साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

    साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात


    काठमाडौँ, ३ भदौः गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ ।

    गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ ।

    असार महिनाका तुलनामा गत साउनमा करिब नौ लाख सिलिण्डर ग्यास बढी बिक्री भएको उनले बताए । एलपी ग्यासको आयात तथा बिक्री वितरण आगामी दिनमा पनि निरन्तर हुँदै जाने उल्लेख गर्दै निर्देशक उपाध्यायले आवश्यकताअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरे ।

  • दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा

    दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा


    काठमाडौँ, ३ भदौ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि सडकमा जोखिमपूर्ण अवस्थामा धर्ना दिइरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी तत्कालका लागि गाँस, बास र स्वास्थ्योपचारको व्यवस्था गर्ने सरकारको आग्रहलाई नागरिक बचाउ महाअभियानका अगुवाहरूले अस्वीकार गरेका छन् ।

    सडकको खुला र जोखिमयुक्त स्थानमा रहेका नागरिकको जीवन रक्षाका लागि सरकारले उनीहरूलाई पहिले सुरक्षित ठाउँमा लैजाने र त्यसपछि मात्रै उनीहरूका मागहरूबारे बुँदागत रूपमा गम्भीर छलफल गर्ने स्पष्ट प्रस्ताव राखेको थियो । तर, दुर्गा प्रसाईं नेतृत्वको महाअभियानका तर्फबाट खटिएका वार्ता टोलीका सदस्यहरूले सरकारको यो मानवीय आग्रहलाई बेवास्ता गर्दै सडकमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न मानेका छैनन् ।

    सरकारी वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीका अनुसार सरकार नागरिकको सुरक्षा र माग सम्बोधनमा अत्यन्तै गम्भीर भएर वार्ताको टेबलमा बसिसकेको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत गत साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर र आज प्रेस विज्ञप्तिसमेत जारी गरी सडकमा रहेका नागरिकलाई पहिले सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास तथा सुरक्षाको प्रबन्ध मिलाउन र संवादलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेको छ ।

    सरकार नागरिकको जिउधनको सुरक्षा गर्दै आयोगको सुझावसमेतलाई ध्यानमा राखेर वार्ताबाटै समस्याको निकास निकाल्न तयार हुँदाहुँदै पनि आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं र उनको निर्देशनमा चलेको वार्ता टोलीले भने यो आग्रहलाई लगातार लत्ताइरहेको सुवेदीले बताए ।

    धर्नामा रहेका एक अगुवाले सर्वसाधारणलाई सडकमा अगाडि सारेर, उनीहरूको स्वास्थ्य र जीवनलाई जोखिममा पार्दै प्रसाईंले आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्न खोजेको बताए । उनले भने, “सरकारसँग वार्ता सुरु भइसकेको छ । अब नागरिकलाई चिसो सडकबाट सुरक्षित स्थानमा सारौँ र उहाँहरूलाई बचाऔँ भन्दा हाम्रै नाइके (दुर्गा प्रसाई)ले मान्दैनन् । वृद्ध उमेरका नागरिकलाई ६ दिनदेखि सडकमा राख्दा उहाँहरूको स्वास्थ्य बिग्रिसकेको छ ।”

    प्रसाईंले मङ्गलबार विष्णु बोहराको संयोजकत्वमा ९ सदस्यीय टोलीलाई सरकारसँग वार्ताका लागि पठाएका थियो । उक्त वार्तामा सरकारी टोलीले ‘पहिले सडकमा रहेका नागरिकलाई बचाउन सहयोग गर्नुहोस्, अनि मागबारे विस्तृत छलफल गरौँला’ भनेर आग्रह गरेको थियो । त्यसबारे प्रसाईंसँग सल्लाह गर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राति अबेर बाहिरिएको उक्त टोली बुधबार वार्तामा गएन ।

    यद्यपी प्रसाईंले उल्टै सरकारलाई आरोप लगाउँदै भिडियो सार्वजनिक गरे । पुल्चोकमा धर्नामा रहेका एक व्यक्तिले पछिल्लो अवस्थाबारे असन्तोष व्यक्त गर्दै भने “सर्वसाधारणलाई भड्काएर सडकमै जोखिममा राखिरहने प्रसाईंको यो राजनीति र हठका कारण वास्तविक पीडितहरू झन् सङ्कटमा परेका छन् ।”