Category: समाचार

  • विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरौं : सञ्चारमन्त्री

    विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गरौं : सञ्चारमन्त्री


    काठमाडौँ, २ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै दूरसञ्चार सेवा प्रदायकले कानुनी र नियामकीय व्यवस्थाअनुसार स्वच्छ तथा व्यावसायिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् । एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिले आज सञ्चार मन्त्रालयमा गरेको भेटका क्रममा उनले दूरसञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले सञ्चार मन्त्रालयका लागि सबै सेवा प्रदायक समान रहेको उल्लेख गर्दै कानुनअनुसार व्यावसायिक गतिविधि सञ्चालन गर्ने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    “एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ । कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने । उनले विगतमा भएका एनसेलका विवाद र कानुनी प्रश्नको पारदर्शी ढङ्गले छानबिन हुने स्पष्ट पार्दै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित कम्पनीले पनि आफ्नो कार्यशैली सुधार गर्नुपर्ने बताए । दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ पारिस्थितिक प्रणाली (इकोसिस्टम) निर्माण गर्न सरकार तथा नियामक निकाय तयार रहेको र त्यसका लागि सेवा प्रदायक संस्थाहरूले पनि समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ ।

    मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा मन्त्रालयको कानुन शाखा उपसचिव राजेशकुमार थापा सहभागी रहेको सो भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई स्वच्छ र व्यावसायिक बनाउन विगतका गल्ती सच्याउने तथा भविष्यमा गल्ती हुन नदिने जिम्मेवारी सरकार तथा नियामकको रहेको बताए । साथै, एनसेलका विगतका विवादको निरुपण तथा लाइसेन्स अवधि सकिएपछिको स्वामित्व हस्तान्तरणको काम विद्यमान विधि र कानुनभित्रै रहेर सम्पादन हुने स्पष्ट पारे ।


    छलफलमा एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा र व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अघि बढाएको जानकारी गराए । सब्स्क्रिप्सन मोडल सुधार र ‘पे एज यु गो’ प्रणाली लागू गर्ने तथा फाइभजी सेवा सुरु गर्ने सरकारी पहललाई पनि एनसेलले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो।

  • चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    गोरखा, २ भदौः उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो । पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ ।

    केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पु¥याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिए । चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताए । उनका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ । “पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उनले भने ।


    सदरमुकामबाट टाढा रहेको चुमनुब्री–६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताए । “पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उनल भने ।


    ढुङ्गा खसेपछि चुमनुब्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताए । हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताए । उनले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गरे ।


    क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । उनका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ । “पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उनले भने, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”

  • सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण


    रासस
    सुनसरी, २ भदौः भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भन्नुभयो, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।”

    यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । उहाँले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आउनु भएको छ । यसबाट रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उहाँको भनाइ छ ।

    जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।

    देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ । उहाँ बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म जुटको रेसा निकाल्ने काम गर्नुहुन्छ । दैनिक रु ६०० ज्याला पाउने गरेको उहाँले सुनाउनुभयो । “आफ्नो बारी छैन, अरूको ज्यालादारीमा काम गर्छु । यसले घरखर्च धान्न केही सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

    सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गर्नुभएको छ । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उहाँले एक जना मजदुरलाई ज्यालामा काममा लगाउनु भएको छ । उहाँले भन्नुभयो, “एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सयसम्ममा जुट बिक्री भइरहेको छ ।” जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरेको उहाँले बताउनुभयो ।

    जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन ।

    विगतमा नेपाली जुट उद्योगलाई आवश्यकपर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।

    किसानलाई जुटखेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

    जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उहाँले बताउनुभयो । “किसानले जुटको डाँठ दाउरा तथा बिक्री गरेर आम्दानीसमेत गर्ने भएकाले मेसिन प्रयोग गर्न अप्ठ्यारो मानेका छन्”, उहाँले भन्नुभयो ।

    जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । थप सरकारी योजना र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्षमा उत्पादन अझै वृद्धि हुने केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१८२ मा सुनसरी जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आव २०८२\८३ मा एक हजार ३३४ हेक्टरमा जुटखेती गरिएको छ ।

    जुटको मूल्य वृद्धि र माग बढेकै कारण किसानको आकर्षण बढेको छ । जिल्लामा देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

  • बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

    बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित


    रासस
    म्याग्दी, २ भदौः बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् । सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् । कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।

    यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्कविच्छेद भएको छ । नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिँदा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ ।

    गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ । उक्त पहिरोमा पुरिएर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

    अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले घुमाउने (फापरखेत), बाङ्गेपहिरो, इल्पुमा पहिरो र शिवरात्रि खोलामा बाढी आएपछि गत असार महिनादेखि सिमेन्ट, रडजस्ता निर्माण सामग्रीका साथै उपकरण बोकेका गाडीहरु आयोजना निर्माणस्थलमा पुग्न नसकेका बताए । “भएका उपकरण र मौजुदा निर्माण सामग्री परिचालन गरेर कामलाई निरन्तरता दिएका छौँ”, उनले भने, “बाढीपहिरोका कारण निर्माण सामग्री ढुवानी प्रभावित हुँदा अपेक्षाकृत गतिमा काम गर्न सकेका छैन ।”

    शिवरात्रिखोलामा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित मोटरेबल पुल निर्माण योजनामा ढिलाइ हुँदा बर्खायाममा सवारीसाधन वारपार गर्न समस्या भएको छ । खोलामा बाढीको सतह बढ्ने, पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्यमा असर परेको म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले जानकारी दिए ।
    “वैकल्पिक उपाय र मौजुदा सामग्री परिचालन गरेर काम गर्नुपर्दा निर्माणको गतिमा असर परेको छ”, उनले भने, “डोजरको सहायताले सामान ढुवानी गर्ने गाडी तार्ने, पहिरो पन्छाउँदै सवारीसाधन पार गराउँदै गर्नुपर्ने बाध्यता छ ।” साठी प्रतिशत भौतिक प्रगति भएको ३७ मेगावाटबाट क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले पनि बाढी पहिरोका कारण निर्माण कार्यमा असर परेको जनाएको छ ।

    बेनी–दरबाङका साथै दरबाङ–धारापानी–ताकम–मुना सडकमा पर्ने थापाचौर, गौथली, दाचौर भिरको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नपाएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताए ।

  • बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    काभ्रेपलाञ्चोक, २ भदौः बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ ।

    सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ । डिपिआरअनुसार सडक विस्तारमा रु तीन अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्न प्रतिकिलोमिटर रु १८ करोड पाँच लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

    सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए । विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ । विसं २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

    क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि रु एक अर्ब बराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो । एक सय ६० किलोमिटर लामो उक्त राजमार्ग निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।

  • सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    म्याग्दी, २ भदौः विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे । व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए । अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।

    फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ । “एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”

    आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् । बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उहाँकी श्रीमती रितुले रामरेखामा घर बनाए । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाउनुभएको छ भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताए ।


    तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताए । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”

    उहाँको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।

    उनले चिनियाँ मसकोवी जातको हाँस पालेका छन् । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थालेका छन् । स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताए । उनका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।

    चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गरे । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”

    तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उनीहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराउनुभएको बताइन् ।

  • मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, २ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना छ ।

    देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

    आज राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

  • नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

    नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

    काठमाडौँ, २ भदौः टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन् । यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ ।

    यस्तै, नेपालले यही भदौ ६ मा बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने छ । क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ ।

  • पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

    पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

    काठमाडौं — पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो। विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ। आवेदन २०८३ भदौ ९ गते शुक्रबारसम्म दिन सकिनेछ।


    पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ। पीएचडीका लागि आवेदन शुल्क रु। ३ हजार तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।

  • दुर्गा प्रसाईको समूहसँग वार्ता गर्न सरकारले बनायो टोली

    दुर्गा प्रसाईको समूहसँग वार्ता गर्न सरकारले बनायो टोली

    २ भदौ, काठमाडौं । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

    वार्ता टोलीको सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी छन् । यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो ।

    छलफलमा महाअभियानको मागबमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो । सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्रसमेत ग्रहण गरेका थिए । छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा रहेका थिए ।

  • अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    काठमाडौँ, १ भदौः काठमाडौँ उपत्यकाभित्र सहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानमा उल्लेख्य प्रगति भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रगति प्रतिवेदनअनुसार अधिकांश क्षेत्रमा तारको बन्डलिङ गर्ने काम सम्पन्न भए पनि फिनिसिङ, ट्यागिङ र बन्डल बाहिर रहेका खुला तार व्यवस्थापनमा अझै सुधार आवश्यक देखिएको छ ।

    काठमाडौँ उपत्यकाका विद्युत् पोलमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका अत्यन्त अव्यवस्थित अवस्थामा रहेका तारले सहरी सौन्दर्यसँगै सुरक्षामा पनि चुनौती थपेको भन्दै सरकारले त्यस्ता तार व्यवस्थापनको अभियान चलाइरहेको छ । त्यस अभियानका क्रममा पहिलो चरणमा प्रमुख छ वटा स्थानमा तार व्यवस्थापन गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिए । पहिलो चरणमा त्रिपुरेश्वर–कलङ्की–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रका तार व्यवस्थापन गरिएको छ ।

    तार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्राधिकरणले गत जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो । उपसमितिमा दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडका प्रतिनिधि रहेका छन् ।


    सोही दिन एनटीएले १५ दिनको समय सीमा तोकेर सूचना जारी गर्दै सम्बन्धित सेवा प्रदायकलाई तोकिएको रुटमा आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको थियो । अभियानलाई प्रभावकारी बनाउन गत जेठ १६ गते प्राधिकरणले पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटमा प्रयोगविहीन तार हटाउने र बाँकी तारमा ट्याग लगाउने काम १० दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, प्रारम्भिक चरणमै अपेक्षित गतिमा काम अघि बढ्न नसकेपछि प्रत्येक क्षेत्रका प्रमुख अपरेटर अर्थात् ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर कामको नियमित अनुगन गर्न थालिएको थियो ।

    त्यसबाट कुन रुटको कामको नेतृत्व कसले गर्ने र समस्याका लागि कसलाई जिम्मेवार बनाउने भन्ने विषय स्पष्ट पार्ने प्रयास भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको त्यस्ता पहलबाट पनि कामले अपेक्षित गति लिन नसकेपछि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा गत असार ३१ र साउन १५ गते गरी दुईपटक उच्चस्तरीय समीक्षा बैठक बसेको थियो ।

    मन्त्रालयस्तरीय छलफल र निर्देशनपछि प्राधिकरणले नयाँ कार्ययोजना बनाएर तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेकोछ । त्यसअनुसार सेवा प्रदायकलाई पुनः जिम्मेवारी बाँडफाँड गरी १३ दिने परिमार्जित कार्ययोजना लागू गरियो । त्यसमा कुन सेवा प्रदायकले कुन क्षेत्रमा नेतृत्व गर्ने, कति दूरीमा काम गर्ने, कति पोल व्यवस्थापन गर्ने र कति जनशक्ति परिचालन गर्ने भन्ने विवरणसमेत पुनःनिर्धारण गरिएको थियो ।

    प्राधिकरणको रुटगत अनुगमनअनुसार जडीबुटी क्षेत्रमा तार व्यवस्थापनको काम सम्पन्न भएको छ । अधिकांश तार बन्डलिङ गरिएको भए पनि कामको अन्तिम ‘फिनिसिङ’ भने कमजोर देखिएको जनाइएको छ । त्यस क्षेत्रमा अत्यन्त थोरै स्थानमा मात्र सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राखिएको पाइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यहाँ बन्डलिङ गरिए पनि ‘केबल लूप’ भने अझै देखिन्छन् । त्यहाँ तारलाई एकै ठाउँमा बाँध्ने काम मात्र नभई प्रत्येक तारको पहिचान र अन्तिम व्यवस्थापन पनि आवश्यक रहेको प्राधिकरणको निश्कर्ष छ ।

    बानेश्वर क्षेत्रमा भने समग्र अवस्था सन्तोषजनक देखिएको प्राधिकरणको मूल्याङ्कन छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइएका वा व्यवस्थित गरिएका छन् । यद्यपि, केही स्थानमा ट्याग छुटेका छन् । आइस्पानले प्रयोग गरेका केही ट्यागमा च्यातिने समस्या पनि देखिएको छ । त्यस क्षेत्रमा पनि केबल लूप रहेको प्राधिकरणले जनाएको छ ।

    सामाखुसी क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि समग्र दृश्य अझै फोहोर तथा अव्यवस्थित अवस्थामै रहेको प्राधिकरणको भनाइ छ । त्यहाँ सबै स्थानमा समान ढङ्गले ट्यागिङ गरिएको पाइँदैन । अर्थात् तार बाँध्ने काम भए पनि तारको पहिचान, लूप व्यवस्थापन र अन्तिम फिनिसिङमा एकरूपता कायम हुन सकेको देखिन्न ।

    त्यस्तै, लाजिम्पाट–त्रिपुरेश्वर रुटमा आंशिक प्रगति भएको छ । अधिकांश क्षेत्रमा तार बन्डलिङ गरिएको भए पनि दरबार हाइस्कुलको विपरीत दिशामा केही खुला तार अझै देखिएका छन् । केही स्थानमा नेपाल टेलिकमका ट्याग देखिएका छन् । केही क्षेत्रमा आइस्पानका ट्याग राखिएको पाइएको छ । तर, समग्र रुटमा ट्यागिङ सम्पन्न हुन सकेको छैन । यस क्षेत्रमा पनि केबल लूप अझै छन् ।

    त्रिपुरेश्वर–कलङ्की रुटमा अभियानको प्रगति तुलनात्मक रूपमा राम्रो देखिएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न भएको छ र तारलाई व्यवस्थित गर्ने काम प्रभावकारी रूपमा अघि बढेको छ । यद्यपि, केही निश्चित स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् । अन्य रुटको तुलनामा यस क्षेत्रमा ट्यागिङ भने राम्रो देखिएको छ । सेवा प्रदायकका तारमा आवश्यक पहिचान खुल्ने ट्याग सही ढङ्गले राखिएको पाईएको प्राधिकरणले जनाएको छ ।

    कीर्तिपुर क्षेत्रमा पनि तार व्यवस्थापनमा राम्रो प्रगति भएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न गरिएको छ । तर, केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार बाँकी छन् । ट्यागिङ भने सीमित स्थानमा मात्र गरिएको पाइएको छ । त्यसैले बन्डलिङ सम्पन्न भएको भए पनि ट्यागिङ र अन्तिम फिनिसिङको काम अझै पूरा गर्नुपर्ने देखिएको छ ।

    प्राधिकरणको अनुगमनमा एउटा समान समस्याका रुपमा ‘केबल लूप’ लगभग सबै रुटमा देखिएको छ । जडीबुटीदेखि बानेश्वर, सामाखुसी, लाजिम्पाट–त्रिपुरेश्वर, त्रिपुरेश्वर–कलंकी र कीर्तिपुरसम्मका रुटमा केबल लूपहरू रहेको प्राधिकरणले जनाएको छ । सेवा विस्तार वा मर्मतका लागि केही अतिरिक्त केबल राख्ने अभ्यास भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा यस्ता लूपले फेरि सडकको दृश्य अव्यवस्थित बनाउने जोखिम रहन्छ । त्यसैले तार व्यवस्थापन अभियानमा लूप राख्ने निश्चित मापदण्डसमेत आवश्यक देखिएको छ ।

    त्यस्तै तार व्यवस्थापन अभियानको अर्को प्रमुख कमजोरी ट्यागिङमा देखिएको छ । प्राधिकरणले तारमा सेवा प्रदायकको पहिचान खुल्ने ट्याग अनिवार्य गरे पनि सबै रुटमा समान रूपमा ट्यागिङ हुन सकेको छैन । कतिपय क्षेत्रमा ट्याग नै नभएको, कतिपय ठाउँमा ट्याग छुटेको र केही स्थानमा ट्याग च्यातिएको पाइएको छ । ट्यागिङ प्रभावकारी नहुँदा भविष्यमा बिग्रिएको वा प्रयोगविहीन तार कुन कम्पनीको हो भनेर पहिचान गर्न पुनः समस्या आउन सक्छ ।

    त्यसैले तार व्यवस्थापनसँगै ट्यागिङलाई अनिवार्य र स्थायी व्यवस्थापन प्रणालीका रूपमा लागू गर्नुपर्ने देखिएको छ । अधिकांश रुटमा तार बन्डलिङ भइसकेको भए पनि खुला तार, केबल लूप, असमान ट्यागिङ र कमजोर फिनिसिङका समस्या बाँकी छन् । त्यसैले अबको चरणमा ‘बन्डलिङ सम्पन्न’ भएको घोषणा मात्र नगरी प्रत्येक रुटको अन्तिम निरीक्षण गरेर बाँकी समस्या सच्याउनुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै विद्युत् तथा दूरसञ्चार पूर्वाधार निर्माण गर्दा भविष्यमा तार पुनःजथाभावी फैलिन नदिन साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्टको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि प्राधिकरणले औंल्याएको छ । सरकारले यसअघि पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गर्दै आएको थियो । तर, नयाँ तार थपिँदै जाने र पुराना तार समयमै नहटाउने प्रवृत्तिका कारण समस्या पुनः दोहोरिँदै आएको छ ।

  • संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य

    संसद् बैठक व्यवस्थित बनाउन रास्वपाद्वारा अनुपस्थिति आवेदन अनिवार्य

    काठमाडौँ, १ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांसदको अनुपस्थिति तथा बैठकबाट बाहिरिनुपर्ने कारणका लागि अनिवार्य रूपमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

    रास्वपाद्वारा आफ्ना सांसदलाई पठाइएको निर्देशनअनुसार संसद् बैठकमा पूर्ण रूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बीचमा छाड्नुपर्ने वा बैठकका क्रममा बाहिर गएर पुनःफर्किनुपर्ने अवस्थामा ‘संसद् बैठक अनुपस्थित आवेदन फारम’ अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको हो ।

    पार्टीले कुनै कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने वा माथि तोकिएकामध्ये कुनै पनि अवस्था आएमा अनिवार्य रूपमा आवेदन पेस गर्न सांसदलाई निर्देशन दिएको छ । यसका लागि पार्टीले अनलाइन आवेदन फारमको व्यवस्था गरेको रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

  • संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    काठमाडौँ, १ भदौः प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिए ।

  • सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै

    सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै


    काठमाडौँ, १ भदौः जिल्ला हुलाक कार्यालय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाबीच सरकारी कागजात घरघरमै पुर्याउने विषयमा सम्झौता भएको छ । हुलाक सेवालाइ ‘सरकारी कुरियर सेवा’ का रूपमा विकास गर्ने सरकारी अभियानअन्तर्गत सो सम्झौता भएको हो । हाल ७७ वटै जिल्लामा सरकारी कुरियर सेवा पुगेको छ । मन्त्रिपरिषद्को पहिलो निर्णयले हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने उद्देश्य राखेको थियो । हुलाक सेवा विभागले सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउन सुरु गरिसकेको छ ।

    हुलाक सेवा विभागले २०८३ भदौ १ गतेसम्म ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ । तीमध्ये आठ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरदैलोमै पुर्याएर वितरण गरिएको छ । त्यसैगरी, सवारीचालक अनुमतिपत्रतर्फ यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान अनुमतिपत्र सातवटै प्रदेशका यातायात व्यवस्था कार्यालयमा हुलाकमार्फत पु¥याइएको छ ।

    तीमध्ये एक हजार ९९ थान अनुमतिपत्र सेवाग्राहीको घरदैलोमै पुर्याइएको विभागले जनाएको छ । सवारीचालक अनुमतिपत्र घरदैलोमै पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय, सुर्खेतबीच समझदारीपत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ ।

    सुदूरपश्चिम प्रदेशमा पनि यस्तै सेवा विस्तार गर्न अन्तिम तयारी भइरहेको विभागले जनाएको छ । शैक्षिक प्रमाणपत्र घरदैलोमै पु¥याउने व्यवस्थाअन्तर्गत नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबीच गत असार ८ गते सम्झौता भई सेवा कार्यान्वयनमा आएको छ ।

    त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सम्झौताका गर्न छलफल भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवाको प्रयोग विस्तार भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सम्झौताअनुसार १७ वटा अस्पतालका एक हजार ५१० वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ ।

    स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रसँग भएको सम्झौताअनुसार ४४ हजार १८४ थान सामग्री हुलाकमार्फत् ढुवानी गरिएको छ । स्वास्थ्य बीमा बोर्डसँगको सम्झौता अनुसार १४२ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ ।

    हाल सिमकार्डबाहेक नेपाल टेलिकमका अन्य सामग्री पनि हुलाक सेवामार्फत ढुवानी भइरहेको छ । भूमि व्यवस्था तथा अभिलेख विभाग र हुलाक सेवा विभागबीच साउन ८ गते सम्झौता भई जग्गाधनी पुर्जा, सरकारी कागजातलगायत सामग्री ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    हुलाक सेवालाई परम्परागत चिठीपत्र आदानप्रदानको माध्यममा सीमित नराखी सरकारी सेवा तथा कागजात नागरिकको घरदैलोसम्म पुर्याउने भरपर्दो सार्वजनिक सेवा प्रणालीका रूपमा विकास गर्ने प्रयास भइरहेको विभागले जनाएको छ । सेवालाई थप प्रभावकारी, छरितो र कम खर्चिलो बनाउन डाँक मार्गको पुनरावलोकन गरी गत जेठ ३१ गते स्वीकृत गरिएको छ ।

    त्यसैगरी, हुलाक सङ्केत प्रणालीलाई सात अङ्कीय बनाउँदै आन्तरिक निगरानी प्रणालीमा समेत स्तरोन्नति गरिएको छ । वैदेशिक हुलाक सेवालाई सहज बनाउन हुलाक सेवा विभागको समन्वयमा वैदेशिक हुलाक भन्सार कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका सेवा बिदाका दिनसमेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट वैदेशिक हुलाक सामग्रीको ढुवानीलाई थप छरितो बनाउन त्यहाँ द्रुत जाँच सेवा लागू गरिएको छ । हुलाक सामग्रीको हवाई ढुवानी सहज बनाउन यतिलगायत विभिन्न वायुसेवा कम्पनीसँग सम्झौता तथा पूरक सम्झौता गरिएको छ । नेपाल वायुसेवासँग अन्तरराष्ट्रिय डाँक ढुवानीको रकम भुक्तानीसम्बन्धी विषयमा छलफल गरी नेपाल वायुसेवा र हुलाक सेवा विभागबीच भएको सम्झौता संशोधन गर्ने निर्णय भएको विभागले जनाएको छ ।

    हुलाक सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्न अन्तर्राष्ट्रिय हुलाक सङ्घको सन् २०२५ को निर्देशिकाअनुसार पत्र तथा पार्सलसम्बन्धी विवरण अद्यावधिक गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ भने दोस्रो चरणको काम सुरु गरिएको छ ।

    हुलाकको आन्तरिक निगरानी प्रणालीलाई थप स्तरोन्नति गरी राहदानी विभागसँग प्रत्यक्ष जोड्ने विषयमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग, केन्द्रीय हुलाक कार्यालय, राहदानी विभाग र परराष्ट्र मन्त्रालयबीच छलफल भएको छ । सरकारको नीति तथा कार्यक्रमअनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्ने अभियानसमेत अघि बढाइएको छ ।

    यसका लागि आवश्यक मापदण्ड स्वीकृत गरी ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित आधुनिक हुलाकका रूपमा विकास गर्न छनोट गरिएको छ । त्यसैगरी, स्वास्थ्य सेवा विभागसँग औषधिजन्य सामग्री ढुवानीका लागि सम्झौता गर्ने विषयमा प्रारम्भिक छलफल सम्पन्न गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । गैरकर राजस्व अभिवृद्धि तथा सेवा प्रवाहलाई सहज बनाउन सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा रु ३४ लाख ७४ हजार थान हुलाक टिकट छपाइ गरिएको छ ।

    थप हुलाक टिकट छपाइका लागि डिजाइन स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । हुलाक सेवाको प्रयोग बढाउन सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय विस्तार गरिएको छ । यस क्रममा द्रुत हुलाक, पार्सल तथा पत्र सेवासम्बन्धी अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

  • जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६

    जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६


    काठमाडौँ, १ भदौः नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ)बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ जेइ थपिएका छन् । सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । ६३ सङ्क्रमितमध्ये ३१ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

    जेइ सङ्क्रमितबाट मृत्यु भएका १६ जनामध्ये सबैले खोप नलगाएको पाइएको छ । मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन् । मृत्यु भएका १६ जनामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको महाशाखाको तथ्याङ्कले देखाउँछ । उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा जेइ सङ्क्रमणभन्दा बढी देखिएको छ । जेइबाट मृत्यु भएकामध्ये झापामा पाँच, सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जना रहेका छन् ।

    जेइ सङ्क्रमण नेपालको पूर्वी क्षेत्रमा देखिए पनि पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको छ । महाशाखाको जापानिज इन्सेफलाइटिससम्बन्धी स्थिति प्रतिवेदनअनुसार अधिकांश जेइ सङ्क्रमित धानबारी तथा सुँगुर फार्मको आसपास बसोबास गर्ने गरेका छन् । सङ्क्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ ।

    जेइ लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको मष्तिष्कमा सङ्क्रमण हुने गम्भीर रोग हो । यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुराजस्ता चरा चुरुङ्गी र सुँगुरजस्ता जनावरहरुलाई लामखुट्टेले मानिसलाई टोेकेमा यो रोग मानिसमा लाग्दछ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ ।

  • विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ

    विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ


    काठमाडौँ, १ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।


    प्रहरीका अनुसार बज्राचार्यको साथबाट अमेरिकी डलर चार हजार ३०० तथा पाण्डेको साथबाट पनि सोही बराबरको डलर बरामद भएको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए १५ बाट काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीलाई विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद मुद्रासहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रवक्ता सिलवालले बताए ।

  • पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

    पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश


    काठमाडौँ, १ भदौः सर्वोच्च अदालतले जनआस्था साप्ताहिका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले आज सुनुवाइ गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश गरेको हो ।

    “जाहेरी दरखास्तमा उल्लिखित तस्बिर जाहेरवाला आफँैले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको भन्ने देखिएकोमा उक्त तथ्यलाई विपक्षीले लिखित जवाफमा अन्यथा खण्डन गर्न सकेको देखिएन”, आदेशमा भनिएको छ, “थुनामै राखी मुद्दाको तहकीकात अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था विद्यमान देखिएकाले हाजिरी जमानीमा छाडी मुद्दाको अनुसन्धान गर्नू भनी विपक्षी मध्येका जिल्ला प्रहरी परिसर, काठमाडौँको नाउमा परमादेश जारी हुने ठहर्छ ।”

    पत्रकार श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । सोही निवेदनमाथिको सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अदालतमा पत्रकार श्रेष्ठलाई बरामद गरेका सामग्रीसहित उपस्थित गराउन आदेश दिएको थियो ।

    अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सीयुपी, ल्यापटप, आइप्याड र मोबाइलसमेत फिर्ता दिन भनेको छ । पत्रकार श्रेष्ठलाई पक्राउ गरिए लगत्तै प्रहरीले गत साउन २७ र २८ गते जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा छापा मारेर कम्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो ।

  • राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


    काठमाडौँ, १ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


    नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुगेका हुन् । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

  • ३५० रुपैयाँको सामान किनेका ग्राहकले पाए १० लाख पुरस्कार

    ३५० रुपैयाँको सामान किनेका ग्राहकले पाए १० लाख पुरस्कार


    १ भदौ, काठमाडौं । सरकारले कर प्रोत्साहन पुरस्कारको दोस्रो चरणको विजेता घोषणा गरेका छ । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले सो पुरस्कार जितेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले यो घोषणा गरेको हो ।

    साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका हुन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ।
    साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।


    यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो। यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ।

    जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक(एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन्।यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ ।

  • सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

    सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

    काठमाडौँ, १ भदौः सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए ।
    सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरे ।

    यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाए । विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ’ भन्ने प्रावधानबमोजिम आफ्नो गम्भीर ध्यानकर्षण भएको स्पष्ट गरे ।

  • काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो

    काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो


    काभ्रेपलाञ्चोक, १ भदौः खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ बर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएकोे छ ।

    पनौती–तालढुङ्गा भित्री सडकखण्डमा आज बिहान जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो । सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ । जीप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । प्रहरीले जीपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

  • नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

    नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी


    काठमाडौँ, १ भदौः नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन् । समितिको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् । उनले २६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी सिपी पौडयालले १३८ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख भक्त थापाले जानकारी दिए ।


    यसैगरी, वरिष्ठ उपसभापतिमा विनोद भट्ट, हरिप्रसाद शर्मा, निमा बोम्जम, सञ्जीव श्रेष्ठ र श्रीराम थापा, युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल विजयी भए ।

    यसैगरी, सदस्यमा खेमराज बाँस्तोला, हरिप्रसाद खनाल, राजुप्रसाद रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुङ्गाना, नेत्र केसी र अनिल पाण्डे विजयी हुनुभएको निर्वाचन प्रमुख थापाले बताए । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न जनसम्पर्क समितिको अधिवेशन सुरु भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन भने ११ वर्षपछि भएको हो ।

  • हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु

    हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु


    १ भदौ । बुडापेस्ट । हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको एम–३ राजमार्गमा पूर्वतर्फ गइरहेको अवस्थामा स्थानीय समयअनुसार बिहान करिब १ः०० बजे मेजोकरेसतेस सहरनजिकै सडकबाट तल खसेर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त स्थान राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ ।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस अनियन्त्रित भएको हुन सक्ने देखिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । पोल्यान्डका विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत हङ्गेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिँदै आफ्नो मन्त्रालय हङ्गेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको बताए ।

    पोल्यान्डका राष्ट्रपति कारोले नाभ्रोस्कीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् । हङ्गेरीका प्रधानमन्त्री पेतर म्याग्यारले सामाजिक सञ्जालमार्फत दुर्घटनामा कम्तीमा १० जना गम्भीर घाइते भएको बताए । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनास्थलमा खटिएका उद्धारकर्मीलाई धन्यवाद दिए ।

  • हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

    हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

    जेरुसेलम, १ भदौ, (रासस–एएफपी) । इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ । यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ । उक्त आक्रमणमा बालबालिकासहित ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।
    इजरायली अधिकारीहरूका अनुसार शनिबार दक्षिणी लेबनानमा गरिएको आक्रमण जुनमा युद्धविरामसम्बन्धी समझदारी भएयताकै सबैभन्दा घातक हो । इजरायलले उक्त कारबाही हिजबुल्लाहले दक्षिणी लेबनानको तथाकथित ‘सुरक्षा क्षेत्र’ मा विस्फोटक ड्रोन प्रहार गरेपछि गरिएको जनाएको छ । ड्रोन आक्रमणमा एक अधिकृतसहित तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए ।


    “कुनै पनि क्षेत्रमा हिसाबकिताब बाँकी राखिने छैन । हामी हाम्रा सैनिक र नागरिकको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौँ”, इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । इजरायली सेनाले शनिबार मारिएका व्यक्तिमध्ये अबु हसन अलाको पहिचान गर्दै उनी हिजबुल्लाहको ‘बद्र’ एकाइका वरिष्ठ कमाण्डर रहेको जनाएको छ । सेनाका अनुसार उनी इजरायली सैनिकमाथि ड्रोन आक्रमण गर्ने योजनामा सङ्लग्न थिए ।


    यसअघि इजरायलले उक्त आक्रमणमा हिजबुल्लाहको विशेष ‘रडवान फोर्स’का कमाण्डर अली समीर अल–हाज हसन पनि मारिएको जनाएको थियो ।
    इजरायली सेनाले हसनका परिवारका सदस्यहरू घटनास्थलमा उपस्थित रहेको स्वीकार गरे पनि उनीहरू आक्रमणको लक्ष्य नभएको भन्दै कारबाहीको बचाउ गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले अन्सार गाउँमा भएको आक्रमणमा पूरै परिवार मारिएको बताएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये तीन बालबालिका र दुई महिला छन् ।


    लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक इमरान रिजाले आक्रमणको निन्दा गर्दै नागरिक र बालबालिकाको सुरक्षा गर्नुपर्ने बताए । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हिजबुल्लाहले नागरिकलाई जानाजानी जोखिममा पारेको आरोप लगाएको छ । हिजबुल्लाहले उक्त आरोप अस्वीकार गर्दै आक्रमणका लागि नेतान्याहुलाई जिम्मेवार ठहर गरेको छ ।


    इजरायल र हिजबुल्लाहबीचको तनाव अमेरिकी मध्यस्थतामा भएको समझदारीपछि केही घटेको भए पनि दक्षिणी लेबनानमा बेलाबेलामा हिंसात्मक घटना भइरहेका छन् । समझदारीअनुसार इजरायली नियन्त्रणमा रहेका दक्षिणी क्षेत्रको सुरक्षाको जिम्मेवारी लेबनानी सेनाले क्रमशः सम्हाल्ने व्यवस्था गरिएको छ । तर हिजबुल्लाहले निः शस्त्रीकरण गर्न अस्वीकार गर्दै आएको छ ।

  • श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ, १ भदौः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो ।

    प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ ।

    मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए ।

    भक्तपुर, १ भदौः भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिरः रेणु त्वानाबासु/रासस

    ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

    मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हँुदैन भन्ने मान्यता छ ।

    आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

  • चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    नारायणगढ (चितवन), १ भदौः चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो ।

    बैठकले विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ । गति नियन्त्रण प्रविधि जडान नगरेका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
    विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकलाई समय–समयमा अनुशिक्षण तथा मादक पदार्थ सेवन नियन्त्रणका उपाय प्रभावकारी बनाउनसमेत बैठकले निर्णय गरेको छ ।

    विद्यालयले सवारी चालकलाई जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्नेछ । बैठकमा जिल्ला सुरक्षा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षक, प्राविधिक कम्पनीका प्रतिनिधि तथा विद्यालय र शिक्षासँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।

  • तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान


    रासस
    तुलसीपुर (दाङ), १ भदौः तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारीखेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो । जब त्यहाँ सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले तरकारीखेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्छन् ।


    “बस्ती बसेको लामो समय भयो, तर तरकारीखेती हुँदैनथ्यो”, उनले भने, “घरायसी प्रयोजनका लागिमात्रै खेती गरिन्थ्यो । अहिले भने अधिकांशले व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।” आफूले पनि अहिले डेढ बिघामा तरकारीखेती गर्ने गरेको उनले बताए । यहाँका स्थानीयले पक्की घरसमेत बनाउन थालेको उनको भनाइ छ । “पहिले दैनिकी चलाउन नै समस्या हुन्थ्यो, के खाने, के लाउने हुन्थ्यो”, उनले भने, “अहिले तरकारी बेचेरै भएको आम्दानीले धेरैले घर निर्माण गरेका छन्, बच्चाबच्चीलाई सहजै पढाउन सकिएको छ ।” स्थानीय किसानले तरकारी बेचेर आर्थिक उपार्जन गरेका छन् । फुसका घरमा बस्दै आएकाले पनि पक्की घर बनाएको उनको भनाइ छ ।

    अर्का स्थानीय किसान दीपक चौधरी सात कट्ठामा तरकारीखेती गर्छन् । उनले त्यसबाट वार्षिक रु चार लाख बढी आम्दानी गर्छन् । “मैले तरकारीखेती गर्न थालेको १२ वर्ष भयो”, उनले भने, “राम्रो आम्दानी गर्दै आएको छु ।” हिउँदे सिजनमा भने उहाँले १७ कट्ठाभन्दा बढीमा काउली, बन्दा, लौका, करेला, आलुलगायत उत्पादन गर्छन् । खेतीबाटै भएको आम्दानीले घरव्यवहार चलाउन, छोराछोरीलाई राम्रो विद्यालय पढाउन सहज भएको उनको भनाइ छ ।

    त्यस्तै सोही ठाउँका किसान जुगराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी, लौकाको व्यवसाय गर्दै आएका छन् । उनले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारीखेती गरेको सुनाए । त्यसबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

    त्यो कमाइले आफ्नो दैनिकी फेरिएको उनको भनाइ छ । अहिले मोतिपुरका अधिकांश किसान यसरी नै तरकारीखेतीमा व्यस्त छन् । स्थानीय उत्पादनको बजारीकरण पनि राम्रो भएकाले किसान हर्षित छन् । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा, सिड संस्थालगायतले तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएका छन् । किसानलाई टनेल, पावर टिलर उपलब्ध भएको छ । बीउ बैंक सञ्चालन भएको छ । त्यसबाट किसान उत्पे्ररित भएको स्थानीय जगुराम चौधरीले जानकारी दिए ।

  • विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    बागलुङ, १ भदौः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ । क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले जानकारी दिए ।


    उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयको सहयोगमा रु तीन करोड ५० लाखको लागतमा ७० जना विद्यार्थी बस्न मिल्ने पुरुष छात्रावास निर्माण भइरहेको छ । भवनको तेस्रो तलाको ढलान भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । क्याम्पसले बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा विस्तार गरेको हो । बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीले क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका छन् ।

    क्याम्पस प्रमुख सिलवालका अनुसार तीन वर्षअघि रु तीन करोडको लागतमा निर्माण गरिएको छात्रा छात्रावासमा हाल ४२ विद्यार्थीले सुविधा लिइरहेका छन् । नयाँ पुरुष छात्रावास निर्माण सम्पन्न भएपछि थप ७० विद्यार्थीलाई आवासीय सुविधा दिन सकिनेछ । उनले भने, “कोठा भाडामा लिएर अध्ययन गर्न नसक्ने दुर्गम क्षेत्रका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार त्यसका लागि विद्यार्थी छनोट गरी निःशुल्क आवासीय सुविधा दिने व्यवस्था छ ।”

    क्याम्पसले छात्रावासमा बस्ने विद्यार्थीबाट सरसफाइ शुल्क मात्र लिँदै आएको छ । छात्रावासको सुविधा नहुँदा केही विद्यार्थी अध्ययनका लागि पोखरा तथा काठमाडौँ जाने गरेका थिए । छात्रावासको सुविधासँगै दुर्गम तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज वातावरण बन्ने छात्रावास संयोजक हिरालाल रेग्मीले बताए ।

    धवलागिरि बहुमुखी क्याम्पसमा हाल करिब दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् । विगतका वर्षको तुलनामा विद्यार्थी सङ्ख्या घट्दै गए पनि क्याम्पसले बिबीए कार्यक्रम थपेपछि विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ । क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, १ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

  • भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा


    काठमाडौँ, ३१ साउनः प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आगामी भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।