Category: समाचार

  • स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली


    झापा, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन् । नेकपा (एमाले) झापाद्वारा आज बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे ।


    “हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ”, उनले भने, “देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ ।” नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आन्दोलनलाई जोगाउन पार्टीलाई विभिन्न समयमा पुनःगठन गर्दै अघि बढाइएको स्मरण गराए ।

    विसं २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव र जेल जीवनका अप्ठ्यारा दिनको चर्चा गर्दै उनले विश्वभर कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्दा सिद्धान्त तथा निष्ठाकै बलमा पार्टीलाई बलियो बनाइएको दाबी गरे । क्ष ओलीले पार्टीलाई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    “पार्टीमा वास्तविक सदस्यको मात्र नवीकरण हुनुपर्छ, गैरसदस्यको नवीकरण बन्द गरिनुपर्छ”, उहाँले भन्नुभयो । पदको पछाडि नदौडी देश र जनताका लागि त्याग तथा बलिदान गर्न तयार हुने भावना नै एमाले कार्यकर्ताको असली पहिचान भएको अध्यक्ष ओलीको भनाइ थियो । सो अवसरमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायत पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राखे ।

  • पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    ललितपुर, ३१ साउनः पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा आयोजित तीनदिने सम्मेलनको समापनका अवसरमा आज सार्वजनिक गरिएको निष्कर्षअनुसार पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने निर्णय उल्लेख छ ।

    विसं २०३३ मा महामानव बिपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय सङ्कटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कुनुभएको स्मरण गर्दै आज देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने विषय दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

    तेस्रो बुँदामा नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भन्दै नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ भनिएको छ ।

    वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकाश दिइने चौथो बुँदामा समेटिएको छ । आज सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ ।

    सम्मेलन समापनका अवसरमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक डा शशाङ्क कोइरालालगायतका नेताहरुले सम्बोधन गरे ।

  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    रासस
    काठमाडौँ, ३१ साउनः सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो ।

    कमाण्ड पोष्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ । उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

    मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

    बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरेको छ ।

    त्यस्तै, विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ । बैठकले पहिरो तथा बाढीका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    त्यसैगरी नदी कटान तथा पहिरो नियन्त्रण, प्रभावित परिवारलाई स्वास्थ्योपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने तथा स्थानीय तहले पहिचान गरेका अन्य आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन भनिएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको र हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    देशका विभिन्न स्थानमा बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानको जोखिमसमेत रहेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचना पालना गर्न आग्रह गरिएको छ ।

  • छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित

    छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित


    काठमाडौँ, ३१ साउनः लेखिका राधादेवी पाण्डेद्वारा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित भएको छ । आज यहाँ आयोजित कार्यक्रममा समाजसेवी एवं साहित्यकारले पुत्रको सम्झनामा आमाद्वारा लिखित ‘शोक काव्य’ काव्य सार्वजनिक गरेकी हुन् । युवा अवस्थामै पुत्रको असामयिक निधनबाट व्याकुल आमाले लेखेको शोक काव्य पहिलो भएको साहित्यकार डा सत्यराज थपलियाले बताए । कार्यक्रममा साहित्यकार डा दामोदर पुडासैनीले काव्यमा आमा एवं दिदीका अनुभूति रहेका उल्लेख गर्दै साहित्य क्षेत्रमा प्रकाशित यस काव्य प्रेरणाको स्रोत भएको बताए । उनले भने, “कृतिमा आमाको सामर्थ्य लेखिएको छ, शोक काव्य लेख्नसक्ने आमालाई सम्मान छ ।”

    साहित्यकार डा रामचन्द्र अधिकारीले प्रकाशित कृति एक अमर कृतिका रूपमा साहित्य जगतमा रहने विश्वास व्यक्त गरे । उनले भने, “आमाको मातृत्व भाव काव्यमा झल्किन्छ, काव्यमा जीवन दर्शन पाइन्छ, यो सम्झनाको सङ्गालो हो ।” साहित्यकार डा शैलेन्दु प्रकाश नेपालले काव्यमार्फत आमाका आँसु अक्षरमा प्रवाहित भएको आफूले अनुभव गरेको टिप्पणी गरे । उनले भने, “अक्षरमा प्रवाहित भएको आँसुका धाराहरु अमर रहनेछन् । यो कृतिले नेपाली साहित्य ठूलो योगदान पुर्‍याउने छ ।”

    आफ्नो स्वर्गीय भाइको सम्झनामा आमाले तयार पारेको काव्यबारे दिदी मन्दिरा पाण्डेले सर्जक हुनु र आमा भएर सर्जक हुनु झनै चुनौतीको विषय भएको बताइन् । उनले भनिन्, “कविताका श्लोकहरू सिर्जना र कल्पना मात्र नभई हृदयबाट लेखिएका भावना हुन् । यसले संसारलाई चेतना प्रवाह गर्नेछ ।”

    कार्यक्रममा समाजसेवी बाबुकाजी पाठकले राधादेवीद्वा लिखित कृति समाज र साहित्य जगतका लागि अमर र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । शोक काव्यका मुख्य पात्र सशांककी आमा राधादेवीले गर्भावस्थादेखि बाँचुन्जेलसम्म आफ्नो पुत्र एक असल साथी रहेको स्मरण गर्दै काव्यमार्फत सबैका लागि साझा गर्न चाहेको प्रष्ट्याइन् । प्रकाशित कृतिमा उनले १०३ श्लोकमार्फत छोरा सशांकको स्मरण गरेकी थिन् । पिता शम्भुप्रसाद पाण्डे, दिदीहरू मन्दिरा, मनिला र मनसा पाण्डेले पुस्तक प्रकाशनमा ल्याएका हुन् । विसं २०५३ मा जन्मिएका सशांकको मृत्यु २६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

  • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला समापनका अवसरमा आज उनले पञ्चायतकालदेखिनै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताए । “विगतमा मलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको हो ।

    अहिले पनि हाम्रो पार्टीको आधिकारितासम्बन्धी विषय सर्वोच्च अदालतमा छ, न्याय पाइने अपेक्षा गरेका छौँ”, पूर्वप्रधानमन्त्री देउवाले भने । उनले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराए ।
    फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र हिन्दू संस्कार मान्दै आएको उल्लेख गर्दै कसैलाई पनि हिन्दू धर्म मान्नबाट बञ्चित गर्न नपाइने जिकिर गरे ।

    उनले भने, “बुुद्ध धर्मप्रति पनि मेरो उत्तिकै श्रद्धा छ । अन्य धर्मावलम्बी र प्राकृतिक धर्म मान्ने सबैप्रति मेरो सम्मान छ ।” पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेताकार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै त्यसलाई कहिल्यै नबिर्सने बताए । उनी स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए ।


    पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशाङ्क कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन सम्मेलन गरिएको बताउँदै यही सम्मेलनका कारण सबै नेताकार्यकर्ताबीच भेट भएको उल्लेख गरे । उनले सम्मेलनले विभिन्न पाँच प्रतिवेदन पारित गरेको भन्दै धन्यवाद दिए । सम्मेलनले पार्टीको आगामी १५औँ महाविधेशन तयारी, सनातन धर्म मान्न पाउने स्वतन्त्रतासम्बन्धी, संविधानमा समसामयिक संशोधनलगायत विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।

    शुक्रबारदेखि यहाँ सुरु भएको तीनदिने भेलामा शनिबार पार्टीका शीर्ष नेताहरु विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, शनिबार भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गरिएको थियो । प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रुपमा छलफल भई प्रदेशगत धारणा र प्रस्तुतिपछि सम्मेलन आज समापन गरिएको हो ।

    कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

    आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनः सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।

  • बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

    बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त


    काठमाडौँ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण पछिल्ला दिनमा देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यद्वारा आज जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

    पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण मानवीय तथा भौतिक क्षति हुनाका साथै सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको छ । विज्ञप्तिमा एमालेले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक सञ्चालनको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै, उद्धार, राहत तथा सडक सञ्चालनलगायत कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमाले आह्वान गरेको छ ।

  • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    काठमाडौँ, ३१ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरका विभिन्न स्थानबाट टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायत लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–१ सिम्पानीबाट टापेन्टाडोल दुई सय २० ट्याब्लेटसहित सन्दिप गुरुङसहित पाँच जना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा पोखरा–२५ हेम्जास्थित डेराबाट टापेन्टाडोल आठ सय ट्याब्लेटसहित २१ वर्षीय लुकास तामाङ पक्राउ पनि परेका छन् ।

    मोरङमा तीन जनालाई पक्राउ गरिएको छ । सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन सय ९० मिलिग्रामसहित २२ वर्षीय प्रसान्त मगर, लेटाङ–३ विरनटोलबाट गाँजा करिब एक सय ग्रामसहित १८ वर्षीय किशोर र कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम पाँच सय मिलिग्रामसहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका छन् ।

    सुनसरीको इटहरी–१० शिवनारायण टोलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम आठ सय ५० मिलिग्रामसहित मोहन गुरुङसहित तीन जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल–२ बाट खैरो हेरोइन करिब तीन सय ४९ ग्राम तीन सय ६० मिलिग्रामसहित ५२ वर्षीय दिवे सुनार र धनुषाको विदेह–८ बफैबाट ३९ ग्राम तीन सय ६० मिलिग्रामसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन् ।

    यसैगरी, झापाको बिर्तामोड–३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ चार सय ९० मिलिग्रामसहित ४० वर्षीय सन्तोष राजवंशी पक्राउ परेका छन् ।ललितपुरमा दुई घटनामा तीन जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२९ हरिसिद्धी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन चार ग्रामसहित सुरज तामाङसहित दुई जना तथा महालक्ष्मी–३ इमाडोलबाट टापेन्टाडोल सात सय १० र प्रेगाब्लिन २४ ट्याब्लेटसहित २९ वर्षीय खगेन्द्रबहादुर राउत पक्राउ परेका छन् ।

    कैलालीको धनगढी–८ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम एक सय ३० मिलिग्रामसहित क्रिस बमसहित चार जना, तनहुँको व्यास–९ माझफाँटबाट गाँजा करिब एक किलो पाँच सय ५० ग्रामसहित मनोज थापासहित दुई जना र उदयपुरको कटारी–३ बाट टापेन्टाडोल ६१ ट्याब्लेटसहित सलम खानसहित दुई जना पक्राउ परेका हुन् । उनीहरूलाई गत शुक्रबार र हिजो शनिबार पक्राउ गरिएको हो ।

  • जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    काठमाडौँ, ३१ साउनः अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ ।

    उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन् । उक्त पहिरोबाट आठ घरमा क्षति भएको छ ।

  • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    काठमाडौँ, ३१ साउनःपरराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका छन् ।

    “नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुनःस्थापनाको कामना गर्दै उनले लेखेका छन् ।

  • भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    नयाँदिल्ली, ३१ साउन (रासस–एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । युवाको नेतृत्वमा भएको व्यापक विरोध प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको केही सातापछि मोदीले यस्तो घोषणा गर्नुभएको हो ।

    भारतको स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँदिल्लीस्थित लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले निःशुल्क कोचिङले विद्यार्थी र उनीहरूका परिवारमाथिको आर्थिक बोझ कम गर्ने बताउनुभयो । “हामीले युवाका लागि विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न निःशुल्क अनलाइन कोचिङ उपलब्ध गराउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

    मोदीका अनुसार डिजिटल सार्वजनिक पूर्वाधार र दक्ष शिक्षक तथा शिक्षाविद्को उपयोग गरी यस्तो कक्षा सञ्चालन गरिनेछ । भारतमा चिकित्सा प्रवेश परीक्षासहित विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट तथा भर्नासम्बन्धी अनियमितताको विरोधमा पछिल्लो समय विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए । ती प्रदर्शन गत महिना शिक्षामन्त्री प्रधानको राजीनामापछि टुङ्गिएका थिए ।


    प्रदर्शनले रोजगारी तथा शैक्षिक अवसरमा पहुँचलाई लिएर भारतीय युवामा रहेको असन्तुष्टि र प्रतिस्पर्धात्मक शिक्षा प्रणालीको चर्को दबाबलाई उजागर गरेको थियो । भारतमा सरकारी कलेजमा प्रवेशलाई आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यम मानिने भएकाले विद्यार्थीहरू वषौँसम्म प्रवेश परीक्षाको तयारी गर्ने गरेका छन् । यसका कारण निजी कोचिङ उद्योग पनि तीव्र रूपमा विस्तार भएको छ । कोचिङको खर्चले विद्यार्थीका परिवारमाथि ठूलो आर्थिक भार पर्ने गरेको छ ।


    मोदीले निःशुल्क अनलाइन कक्षाले विशेषगरी गरिब र मध्यमवर्गीय परिवारलाई राहत पुग्ने बताउनुभयो । विद्यार्थीलाई परिवारबाट टाढा गएर महँगो कोचिङ लिनुपर्ने बाध्यता पनि कम हुने उहाँको भनाइ थियो । मोदीले आगामी एक वर्षभित्र एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीपको तालिम दिने योजना घोषणा गर्नुभएको छ । हामीले आगामी एक वर्षभित्र एक करोड युवालाई एआई सीपको तालिम दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।


    विद्यार्थी आन्दोलनपछि सरकारले युवालाई लक्षित गर्दै विभिन्न कदम अघि बढाएको छ । संसदले पनि परीक्षाको प्रश्नपत्र चुहावट गर्नेलाई हुने सजाय बढाएको छ । आलोचकहरूले सन् २०१४ मा मोदी सरकार सत्तामा आएयता पछिल्ला विद्यार्थी प्रदर्शनलाई सरकारसामु देखिएको महत्वपूर्ण चुनौतीमध्ये एकका रूपमा व्याख्या गरेका छन् ।

  • दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

    दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव


    सियोल, ३१ साउन (रासस–एएफपी) । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गर्नुभएको छ । उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै रुससँगको सैन्य सम्बन्ध विस्तार गरिरहेका बेला राष्ट्रपतिको यस्तो प्रस्ताव आएको हो । दुई कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सम्झौतामार्फत नभई युद्धविरामबाट अन्त्य भएको थियो ।


    जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । “आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र युद्धमा प्रत्यक्ष सङ्लग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ,” लीले भन्नुभयो । उहाँले वार्ताका माध्यमबाट उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने प्रभावकारी उपायबारे समेत छलफल गर्न सकिने बताउनुभयो ।


    राष्ट्रपति लीको प्रस्ताव उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको वार्षिक संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेका बेला आएको हो । प्योङयाङले अभ्यासलाई आक्रमणको तयारी भन्दै त्यसविरुद्ध थप सशक्त प्रतिरोधात्मक कदम चाल्ने चेतावनी दिएको छ । उत्तर कोरियाले जापानको बढ्दो सैन्य गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ । टोकियोले क्षेत्रीय सुरक्षाका लागि आफ्नो रक्षा क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएपछि प्योङयाङले पछिल्ला दुई सातामा दुईपटक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।


    सन् २०१९ मा हनोईमा उत्तर कोरियाली नेता किम जोङ–उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता विफल भएपछि प्योङयाङले आफूलाई पटक–पटक ‘अपरिवर्तनीय’आणविक राष्ट्र घोषणा गर्दै आएको छ । उक्त वार्ता आणविक निशस्त्रीकरणको दायरा र उत्तर कोरियामाथिका प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि विफल भएको थियो । दक्षिण कोरियाका राष्ट्रपति लीले जुन २०२५ मा पदभार सम्हालेपछि पूर्ववर्ती सरकारको कडा नीतिबाट अलग हुँदै आणविक हतियार सम्पन्न उत्तर कोरियासँग बिनासर्त वार्ताको प्रस्ताव गर्दै आउनुभएको छ ।


    गत जुलाईमा दक्षिण कोरियाका एकीकरणमन्त्रीले उत्तर कोरियाका आणविक हतियार नष्ट गर्न दबाब दिने अभियानबाट पछि हट्दै प्योङयाङको आणविक कार्यक्रम विस्तार रोक्नमा केन्द्रित हुने बताउनुभएको थियो । तर, उत्तर कोरियाले राष्ट्रपति लीका पछिल्ला वार्ता प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । बरु उसले रुससँगको सैन्य सम्बन्ध थप सुदृढ बनाउँदै आएको छ ।


    विश्लेषकहरूका अनुसार युक्रेनमा रुसको युद्धमा सेना र गोलाबारुद उपलब्ध गराएबापत उत्तर कोरियाले मस्कोबाट आर्थिक सहयोग, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको छ । उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यतिर रुस भ्रमण गर्ने सम्भावना रहेको र त्यस क्रममा थप हतियार आपूर्तिबारे छलफल हुन सक्ने उनीहरूको आकलन छ ।


    दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी अमेरिकाले उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । अमेरिका–दक्षिण कोरिया संयुक्त सेना कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले उत्तर कोरियाले युक्रेन युद्धबाट प्राप्त गरेको अनुभवले कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती परिवर्तन गरेको बताउनुभएको छ ।


    “उनीहरूले त्यहाँ सिकेका पाठहरू उत्तर कोरिया फर्काएर ल्याएका छन्,” सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यासबारे पत्रकारसँग कुरा गर्दै डोनाल्डले भन्नुभयो । “हाम्रो तालिमले त्यही खतरालाई ध्यानमा राखेको छ ।”

  • नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु

    नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु

    जोस (नाइजेरिया), ३१ साउन (रासस–एएफपी) । मध्य नाइजेरियामा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जना भन्दा बढी मानिसको मृत्यु भएको शनिबार एक सांसद तथा अन्य स्रोतहरूले बताएका छन् । बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै झडप नियन्त्रण गर्न सुरक्षा बल परिचालन गर्न माग गर्नु भएको छ । मुहम्मदले झडपमा यस क्षेत्रका विभिन्न जातीय समूहहरूसमेत संलग्न रहेको बताउनुभएको छ ।

    पछिल्लो झडपमा २० जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको र यसको कारण स्थानीय मिलिसिया (सशस्त्र समूह) द्वारा गरिएको झडप रहेको उहाँले जनाउनु भएको छ । उहाँका अनुसार स्थितिलाई नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बलको आवश्यकता छ । स्थानीय बासिन्दालाइ उदृत गर्दै एएफपीले उक्त लडाइँ फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ ।

    जिहादी समूहहरूले फुलानीहरूलाई आफ्नो समूहमा भर्ती गर्ने कार्यले सरकारी बल र मिलिसियाहरूबाट घातक प्रतिशोध निम्त्याएको छ, जसमा प्रायः फुलानी सर्वसाधारण नै पीडित हुने गरेको जनाइएको छ ।

    नाइजर राज्य मध्य र उत्तर–पश्चिम नाइजेरियाको ठुलो कृषि क्षेत्रमा अवस्थित छ । यो क्षेत्र वर्षौंदेखि गाईवस्तु चोर्ने र अपहरण गर्ने गिरोहहरूको आतङ्कको चपेटामा परेको छ’ यी गिरोहहरूले समुदायमाथि आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र घरहरू लुट्ने गर्छन् । हालैका वर्षहरूमा, देशको उत्तर–पूर्वमा १७ वर्षदेखि विद्रोह गरिरहेका जिहादी समूहहरूले नाइजर राज्यमा पनि आफ्नो उपस्थिति जनाएका छन् र प्रायः स्थानीय अपराधी गिरोहहरूसँग मिलेर हिसांत्मक गतिविधि गरिरहेका छन् ।

    गत मे महिनामा, सेनासँग मिलेर काम गर्ने एक मिलिसिया समूहले शुक्रबारको झडप भएको क्षेत्र नजिकै करिब ४० जना फुलानी गोठालाहरूको हत्या गरेको थियो । उनीहरूमाथि जिहादी समूह ’अन्सारु’ का लागि सुराकी गरेको आरोप लगाइएको थियो । विशेषज्ञहरूका अनुसार, यस्ता प्रतिशोधपूर्ण कारबाहीका कारण कतिपय फुलानीहरू आफ्नो सुरक्षाका लागि जिहादी समूहहरूमा सामेल हुन बाध्य भएका छन् ।

  • चीनमा डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ३ बेपत्ता

    चीनमा डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ३ बेपत्ता

    कुन्मिङ(चीन), ३१ साउन (रासस–सिन्ह्वा) । दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुबेर दुर्घटनाहुँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।

    अधिकारीहरुकाअनुसार हुआनिङ काउन्टीको नानपान नदीमा दुर्घटना भएको थियो । दुर्घटनाको समयमा डुङ्गामा छ जना सवार रहको काउन्टी सरकारले जनाएको छ । सरकारका अनुसार दुई जनाको मृत्यु पुष्टि भएको छ भने एकजनालाई सकुशल उद्धार गरिएको र अन्य पाँचजना अझै बेपत्ता रहेका छन् ।

    स्थानीय अधिकारीहरूले आपतकालीन, अग्निशमन र प्रहरी विभागहरूको समन्वयमा ४७० जना भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरी खोजी कार्य जारी राखेको जनाएका छन् । बेपत्ता व्यक्तिहरूको खोजी कार्यअझै जारी रहेको जनाउदै स्थानीय अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।

  • कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता

    कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता


    बोगोटा (कोलम्बिाया), ३१ साउन (रासस– क्युएनए) । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ । कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् । घाइतेहरू मध्ये आधा भन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरुले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।

    सरकारी तथ्याङ्कले विपत्तिको परिमाणलाई पुष्टि गरेको छ भने पश्चिमी कोलम्बियामा हजारौँ आवासीय घर विद्यालय, तथा स्वास्थ्य सुविधाहरूका साथै सार्वजनिक पूर्वाधारहरूमा गम्भीर रूपमा क्षति पुर्याएको जनाइएको छ । भूकम्पले यस क्षेत्रको पूर्वाधारलाई प्रभावित बनाउनुका साथै हजारौँ परिवारलाई अस्थायी सुविधाहरूमा आश्रय लिन बाध्य पारेको जनाइएको छ । भकूम्प पछि आएका शक्तिशाली पराकम्पहरुको श्रृङ्खलाले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाउनुका साथै पहिले नै क्षतिग्रस्त भएका भवनहरूमा थप जोखिम बढाएको जनाइएको छ ।

  • जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    कर्णाली, ३१ साउनः अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

    उक्त पहिरोबाट सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।

    शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ ।

    त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको उनले बताए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    भद्रपुर (झापा), ३१ साउनः टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो ।

    दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

  • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, ३१ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा भासिने क्रम जारी रहेकाले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

  • मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ३१ साउनः देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
    आज राति पनि देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ ।

  • निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन माग

    निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन माग

    काठमाडौँ, ३१ साउनः मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् । उनीहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान) ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ शीर्षकमा भएको छलफलमा उनीहरुले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत् बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका हुन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत् उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न चाहन्छ भने ।

    मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट रु २९ अर्ब ३२ करोड आर्जन भएको तथा रु १८ अर्बभन्दा बढी खुद बचत भएको छ । अब पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत मुलुकलाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाइनेछ ।

    पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने सम्बन्धमा विगतमा कानुन तर्जुमा गरिएको भए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताए । नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले त्यसकै आधारमा निजी क्षेत्रलाई व्यापारको अनुमतिपत्र दिन सकिने बताए ।


    विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आफ्नो उत्पादनका लागि ग्राहक खोज्न सक्ने प्रावधानयुक्त खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारीमा आयोग रहेको जानकारी दिए । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सिर्जना हुने बताए । इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको बताए ।

  • नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    काठमाडौँ, ३० साउनः नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । आव २०८१–८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा रु दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ ।

    गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड दुई लाख थियो । यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा रु १८ अर्ब ४९ करोड ६० लाख आम्दानी भएको थियो । तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा रु ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय रु एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो ।

    कम्पनीको कुल आयसमेत बढेको छ । समीक्षा अवधिमा कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो । यसअनुसार कुल आय रु एक अर्ब एक करोड १५ लाख अर्थात् दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) रु ४९ दशमलव २५ रहेको छ ।

    ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि

    कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आवको सोही अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ । मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ । कम्पनीका अनुसार अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व रु ६४ करोड ५४ लाख अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ ।

    नेपाल टेलिकमले देशको सञ्चार सेवा प्रदायकको भूमिक निर्वाह गर्दै भौगोलिक तथा व्यावसायिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिँदै आएको जनाइएको छ । कम्पनीका अनुसार कम प्रतिफल प्राप्त हुने तथा बढी लागत लाग्ने विकट र दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्नुपर्ने भएकाले सेवा सञ्चालनमा अतिरिक्त लागत व्यहोर्नुपरेको छ ।

    दुर्गम क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता

    नेपाल टेलिकमले व्यावसायिक प्रतिफलका दृष्टिले कम आकर्षक भए पनि राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई ध्यानमा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार गरिरहेको जनाएको छ । कम्पनीले त्यस्ता क्षेत्रमा नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार तथा पहुँच अभिवृद्धिको कामलाई निरन्तरता दिएको छ । कम्पनीको वित्तीय विवरणले सञ्चालन आयमा सामान्य वृद्धि भए पनि मुनाफामा तुलनात्मक रूपमा सुधार देखिएको छ । ब्याज आम्दानी घटेको अवस्थामा पनि जिएसएम सेवाको राजस्व वृद्धि, सञ्चालन खर्च तथा वित्तीय व्यवस्थापनमा भएको सुधारलगायतका कारण समग्र मुनाफा बढाउन योगदान पुगेको देखिन्छ ।

    यससँगै कम्पनीले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार र दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै जाने जनाएको छ । दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यमान ग्राहक आधारलाई कायम राख्दै डेटा तथा डिजिटल सेवाको प्रयोग बढाउनु कम्पनीका लागि आगामी दिनको प्रमुख चुनौती र अवसरका रूपमा रहनेछ ।

  • बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

    बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

    बैतडी, ३० साउनः घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् । बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ ।

    स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउनुहुन्छ । “लामो समयदेखि मौरीपालन गरेको हुँ । व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु । घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु”, विष्टले भन्नुभयो ।

    युवापुस्ता रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाइ रहनुभएको छ । मह बेचेर नै उहाँले घरपरिवार धानिरहनुभएको छ । बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १५ सय रूपैयाँ प्रतिकिलो मह बिक्री हुने गरेको छ । वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । “चैत–वैशाखको बीचमा एकपटक र कात्तिक–मङ्सिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ”, उहाँले भन्नुभयो, “हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ ।”

    आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ । “आधुनिक घारहरू छैनन्”, उहाँले भन्नुभयो, “काठको परम्परागत घारहरूमा जङ्गली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।”

    पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताउनुभयो । “मौरीहरू फुल फुलेको ठाउँमा पुग्छन् । तरकारीखेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।”, उहाँले भन्नुभयो । उहाँ मौरीपालनसँगै बाख्रापालनमा पनि व्यस्त हुनुहुन्छ ।

  • संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

    संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

    राँझा (बाँके), ३० साउनः नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ । स्थानीय चक्र बुढाले भन्नुभयो, “सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन ।”

    कान्तितालमा विभिन्न पन्क्षीहरूको बासस्थान रहेकाले संरक्षणकर्मी तथा पर्यावरण संरक्षणमा चासो राख्नेले आवाज उठाइरहेका बेला तालको संरक्षणमा भने सरोकार भएका निकायले चासो नदिँदा समस्या भएको स्थानीय बताउँछन् । नेपालगञ्ज उपमहानगरले ताल संरक्षण गरी पर्यटकीयस्थल बनाउन रु १० करोड खर्चेको कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको स्थानीय बुढाको भनाइ छ । ताल क्षेत्र अहिले लागुऔषध दुव्र्यसनीको जमघटस्थल बनेको भन्दै रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेका स्थानीयको गुनासो छ ।

    तालको नियमित रेखदेख र सरसफाइको अभावमा करोडौँको लगानी गरिएको आयोजना अनुत्पादक र जीर्ण अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरलाई राजस्व बुझाउने गरी ठेक्का लिनुभएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेका हुनसक्ने बताउनुभयो । यस विषयमा वास्तविकता खोजी गरिने उहाँको भनाइ छ ।

    यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना बनाइरहेको बताउनुभयो । विगतमा ताल संरक्षणको लागि बनाइएका योजना सफल हुन नसकेकाले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना बनाइ संरक्षणका लागि लागू गरिने उहाँको भनाइ छ ।

  • थवाङ पहिरोबाट थप एक जनाको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो

    थवाङ पहिरोबाट थप एक जनाको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो

    राष्ट्रिय समाचार समिति
    रोल्पा, ३० साउनः रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ । योसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो । फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुनमगरकै भएको सनाखत गरेको प्रहरीले जनाएको छ । पहिरोमा परी थवाङ–५ निवासी अन्दाजी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन् ।

  • नुवाकोटका पहिरो प्रभावित क्षेत्रको सञ्चारमन्त्री तिमिल्सिनाद्वारा स्थलगत निरीक्षण

    नुवाकोटका पहिरो प्रभावित क्षेत्रको सञ्चारमन्त्री तिमिल्सिनाद्वारा स्थलगत निरीक्षण

    नुवाकोट, ३० साउन । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न स्थानमा पहिरोबाट प्रभावित तथा जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण गरी स्थानीयवासीका समस्या र गुनासा सुनेका छन् । मनसुनजन्य विपद्का कारण जिल्लाका विभिन्न स्थानमा सडक तथा बस्तीमा पहिरो खस्दा जनजीवन प्रभावित भएको तथा कतिपय बस्ती जोखिममा परेपछि सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।


    उनले सूर्यगढी गाउँपालिका–२ चोकदेमा रहेको राम्चे भिर, रातामाटे तथा पहरेथोकलगायतका पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरे । सडकमा पहिरो खस्दा आसपासका बस्तीसमेत जोखिममा परेको अवस्थाबारे स्थानीयवासी र सम्बन्धित निकायका अधिकारीसँग जानकारी लिए । विशेषगरी सूर्यगढी गाउँपालिका–२ स्थित राम्चे र रातामाटे क्षेत्रमा पहिरोका कारण पहरेथोक, फट्पुरलगायतका बस्ती जोखिममा परेका छन् । पहिरोको अवस्था, त्यसले बस्तीमा पारेको प्रभाव तथा तत्काल अपनाउनुपर्ने सुरक्षा उपायबारे सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीका बासिन्दा, सडक इन्जिनियर, भूगर्भविद्, जनप्रतिनिधि, स्थानीय अधिकारीसँग छलफलसमेत गरे ।


    स्थलगत निरीक्षणका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले पहिरोको जोखिममा रहेका बस्तीको जोखिम पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जोखिममा रहेका बस्तीको पहिचान, बस्ती व्यवस्थापन तथा स्थानान्तरण, प्रभावित परिवारलाई सुरक्षित आश्रय, राहत तथा पुनःस्थापनाका काममा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले अग्रसरता लिनुपर्ने बताए ।


    “विपद् आएपछि उद्धार र राहतमा मात्र सीमित भएर पुग्दैन, जोखिमको पहिल्यै पहिचान गरी नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा हुने गरी बस्ती व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयमा सम्बन्धित निकायबीच समन्वय गरेर आवश्यक पहल अघि बढाउँछौ ।”
    सञ्चारमन्त्री डा. तिमिल्सिनाले जोखिममा रहेका सबै परिवारलाई तत्कालका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले अस्थायी टहरा तथा टेन्टको व्यवस्था नभएका परिवारलाई समेत तत्काल आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

    पहिरो खसेका कतिपय स्थानमा माथिबाट ढुङ्गा खस्ने जोखिमसमेत रहेकाले नागरिकको आवतजावतलाई सुरक्षित बनाउन तथा सडकमा खसेको पहिरो तत्काल पन्छाउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिए । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग जिल्लाको विद्युत् आपूर्तिको अवस्थाबारे पनि जानकारी लिए ।

    पहिरोका कारण विभिन्न स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको अवस्थाबारे जानकारी लिँदै उनले क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न आवश्यक पहल गर्न आग्रह गरे । सञ्चारमन्त्री तिमिल्सिनाले जिल्लाको विद्युत् वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा समाधानका लागि भइरहेका पहलका विषयमा समेत प्राधिकरणका अधिकारीसँग जानकारी लिए । जोखिमयुक्त क्षेत्रमा विद्युत् संरचनाको सुरक्षासहित वैकल्पिक व्यवस्थामा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


    त्यस्तै, सडक डिभिजन नुवाकोटको टोलीसँग पनि सडकको अवस्थाबारे जानकारी लिँदै पहिरोका कारण अवरुद्ध तथा जोखिममा परेका सडकखण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिए । स्थलगत निरीक्षणका क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सूर्यगढी गाउँपालिका–१ को सेमराङ तथा वडा नं। २ का फट्पुर र पहरेथोकलगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेको जानकारी दिए ।

    जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ भने जोखिमको थप मूल्याङ्कन गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा समेत काम भइरहेको छ ।


    सञ्चारमन्त्री तिमिल्सिनाले विपद्का समयमा सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै जिल्ला प्रशासन, स्थानीय तह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विद्युत् प्राधिकरण तथा सडकसम्बन्धी निकायलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे । नागरिकको जीवनरक्षा पहिलो प्राथमिकतामा उल्लेख गर्नुहुँदै उहाँले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउन जोड दिए ।

    स्थलगत निरीक्षणकै क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–४ स्थित स्थानीय प्रकाश गिरीको पहिरो प्रभावित घरको समेत अवलोकन गरी प्रभावित परिवारसँग कुराकानी गरे । सञ्चारमन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका गुनासा तथा विकाससम्बन्धी समस्यासमेत सुनेका थिए । स्थानीयले टेलिफोन तथा इन्टरनेट सुविधा, सडक, विद्युत्, पहिरो नियन्त्रण, सुरक्षित बस्ती व्यवस्थापन तथा विपद्पछिको पुनःस्थापनाका विषयमा ध्यानाकर्षण गराएका थिए ।


    यसै क्रममा दिउँसो दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको निरीक्षण गरे । उनको तादी गाउँपालिका–३ अल्छेढुङ्गनाको पहिरो तथा शिवपुरी गाउँपालिका–६ अखौलीको पहिरो प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरी स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । लगातारको वर्षाका कारण नुवाकोटका विभिन्न ग्रामीण सडक तथा बस्तीमा पहिरोको जोखिम बढेको छ । स्थलगत निरीक्षणबाट पहिरोको वास्तविक अवस्था, जोखिममा रहेका परिवारको संख्या, सडक तथा विद्युत् पूर्वाधारमा भएको क्षति र तत्काल गर्नुपर्ने कामको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    विपद्को जोखिम रहेका बस्तीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्नुका साथै भूगर्भीय अध्ययनका आधारमा दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश तथा सङ्घीय सरकार र सम्बन्धित प्राविधिक निकायबीच समन्वय आवश्यक रहेको मन्त्री तिमिल्सिनाले जोड दिए ।

  • शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री

    शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री

    नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो। वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।

    निगमले आइतबार काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनुस राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमायास नयाँ बजार–नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ।

    चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ। निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ। बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ। साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

  • नुवाकोटमा रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

    नुवाकोटमा रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

    त्रिशूली (नुवाकोट), ३० साउनः नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ । नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ का ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस दुर्घटनालगत्तै उद्धारको लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) बिपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारको लागि काठमाडौँ पठाएकोमा दुई जनाको अस्पताल पुर्‍याएलगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका छन् । दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ का २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० का ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर का ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएकाले थप उपचारको लागी काठमाडौँ पठाइएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) बिनोद ढकालका अनुसार काठमाडौंँबाट दुप्चेश्वर धाम दर्शनको लागी तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस थानाभञ्याङ्गस्थित सडक छेउमा रोकिएको समयमा आफैँ गुडेर दुर्घटनामा परेको हो ।

    बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफैँ गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको इभी भ्यानलाई समेत ठक्कर दिई दुवै गाडी सडकबाट करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

  • यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग

    यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग

    कमलकुमार बस्नेत–रासस
    काठमाडौँ, ३० साउन । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना । बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड । सबै हुँदाहुँदै यतिबेला उदयपुर सिमेन्ट उद्योग सङ्कटमा छ । गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण हो, बोरा अभावमा ६ महिनादेखि थन्किएको सिमेन्ट ।

    उत्पादन भइ गोदाममा थन्किएको सिमेन्ट बोरा अभावमा बजारसम्म नपुग्नुको अर्थ हो, कमजोर व्यवस्थापन र नेतृत्वको अदूरदर्शी सोच । निजी कम्पनीहरूले धमाधम सिमेन्ट उत्पादन र बिक्री गरिरहेको अवस्थामा बोरा अभावमा सिमेन्ट थन्काउनुपर्ने बाध्यात्मक अवस्था आउनुले पनि उद्योग कुन अवस्थामा छ भन्ने बुझ्न कठिन छैन ।

    उद्योगका प्रशासन प्रमुख गम्भीरजङ्ग खत्रीका अनुसार १० लाख बोरा आपूर्ति गर्ने जिम्मा पाएको चितवनस्थित आशीर्वाद पोली प्याक्सले छ महिना अघिसम्म करिब पाँच लाख २७ हजार बोरा आपूर्ती गरिसकेको थियो । तर गत चैतमा कम्पनीले इन्धनको मूल्य वृद्धि भएको आफूले पहिलेको बाँकी रकम भुक्तानी नपाएकोलगायत कारण देखाउँदै रकम भुक्तानी नभएसम्म बोरा दिन नसक्ने स्पष्ट पार्‍यो ।

    “तत्कालीन समयमा कम्पनीलाई उद्योगले रु २७ लाख भुक्तानी गर्न बाँकी थियो, हामीले पैसा दिनसक्ने अवस्था थिएन, त्यसैले बोरा आपूर्ती रोकिएको थियो, तर पछि उहाँलाई अनुरोध गरेपछि ५३ हजार १८७ बोरा आपूर्ती भयो”, उहाँले भन्नुभयो । पछिल्लो पटक बोरा आपूर्ती भएपछि रु नौ लाखभन्दा बढी भुक्तानी भइसकेको छ भने अब पुरानो र नयाँ गरी करिब रु ३६ लाख भुक्तानी बाँकी छ ।

    आशीर्वाद पोली प्याक्सका शेयर सदस्य तथा बजार प्रमुख अनिल भण्डारी भने भुक्तानीको विषयमा फरक तर्क राख्छन् । उहाँका अनुसार उद्योगसँग करिब पाँच वर्षअघि दुई वर्षमा १० लाख बोरा आपूर्ती गर्ने गरी सम्झौता भएको थियो । तर उद्योगले माग नगरेपछि अहिलेसम्म पाँच लाख ८० हजार हाराहारीमा बोरा आपूर्ती गरिएको छ । उहाँका अनुसार कम्पनीले हालै रु पाँच लाख मात्रै भुक्तानी गरेको थियो भने अब करिब रु ४२ लाख लिन बाँकी छ ।

    महङ्गोमा कोइला खरिद

    उद्योगले महङ्गो मूल्यमा कोइला खरिद गरेको विषयमा चर्को आलोचना हुँदै आएको छ । निजी क्षेत्रका उद्योगहरूले औसतमा प्रतिटन रु १९ हजारदेखि २० हजारमा कोइला खरिद गरिरहेकामा उद्योगले औसतमा रु २५ हजारदेखि रु ३० हजारमा कोइला खरिद गरिरहेको छ । उदाहरणका लागि उद्योगले २०८० कात्तिक १४ गते र सोही वर्षको मङ्सिर २ गते र प्रतिटन रु २७ हजार ६६६ मा कोइला खरिद गरेको थियो भने सोही वर्षको असार ३१ गते प्रतिटन रु २३ हजार ८३८ मा कोइला खरिद गरेको थियो ।

    यसरी उद्योगले औसतमा कोइलामा प्रतिटन रु पाँच हजारदेखि रु १० हजारसम्म घाटा भइरहेको छ । उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक ५० हजार टन कोइला आवश्यक पर्छ । भन्सार विभागका अनुसार उद्योगले महङ्गो मूल्यमा कोइला खरिद गरिरहेको समयमा भने प्रतिटन रु १३ हजारमा कोइला आयात भइरहेको थियो । आयात भएको कोइलालाई उद्योगले करिब दोब्बर मूल्यमा खरिद गरिरहेको देखिन्छ ।

    त्यति मात्रै होइन, कोइलाको गुणस्तरमा पनि प्रश्न उठेको थियो । उद्योगका लागि आवश्यक कोइलाको मापदण्डमा पनि प्रश्न उठ्ने गरेको छ । उद्योगमा प्रयोग गर्न मिल्ने कोइलाको जिसिभी मापदण्ड र ‘मोस्चराइज’ को मापदण्डमा पनि चलखेल हुने गरेको अध्ययनका क्रममा पाइएको जनाइएको छ ।

    किलसेल मेसिनमा गडबडी

    उद्योगमा दुई वर्ष अघि ६० मिटर लम्बाइको किलसेलमध्ये २०।८ मिटरको किलसेल खरिद गरी ल्याउने क्रममा दुर्घटनामा पर्‍यो । जसका कारण रु पाँच करोडभन्दा बढी लागतको क्षति पुग्यो । हाल तीन वटा टुक्रा भएको किलसेल अलपत्र अवस्थामा छ । क्षतिग्रस्त भएपछि त्यसको मर्मत पनि गरिएको छैन भने अहिले बेवारिसे अवस्थामा राखिएको छ ।

    यसअघि पनि ५।८ मिटर लम्बाइको किलसेल खरिद गर्दा करिब रु ६ करोड खर्च भएको थियो, पछि सोभन्दा कम मूल्यमा २०।८ मिटरको किलसेल खरिद गरी ल्याउने क्रममा भएको दुर्घटनालाई अस्वभाविक रूपमा हेरिएको छ । यसले उद्योग सञ्चालनमा ठूलो क्षति पुगेको छ ।

    अख्तियारमा मुद्दाको चाङ

    भ्रष्टाचार र कमजोर व्यवस्थापनमा फसेको उद्योगसम्बन्धी अहिले छ वटा मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । जसमध्ये दुई वटाको हकमा मुद्दा दायर भइसकेको छ भने चार वटाको अध्ययन भइरहेको छ ।

    जसमा उद्योगका महाप्रबन्धक समेतले मिलेमतोमा टेण्डर नं। ४४–७ न्यू आयन सप्लायर्स सिद्धार्थनगर रूपन्देहीलाई १० प्रतिशत मौज्दुरमा छुट दिई अनियमितता गरेको भन्ने मुद्दामा अनुसन्धान भइरहेको छ भने तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल समेतले मिलेमतो गरी विभिन्न अनियमितता गरी उद्योगलाई धरासायी बनाएको उजुरीमा पनि अनुसन्धान भइरहेको छ ।

    आयोगका अनुसार तत्कालीन महाप्रबन्धक समेत उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा टेण्डर नं। ३१–१र०७४र०७५ मा सम्झौतामा तोकिएभन्दा बढी रकम भुक्तानी गरिएको भन्ने समेतमा पनि अनुसन्धान भइरहेको जारी छ । साथै कारखानाका तत्कालीन महाप्रबन्धक समेतले मिलेमतोमा अघिल्ला आवमा खरिद भएका कोइला रिजेक्ट भनी पुनः बिक्री वितरण गरेको भन्ने समेतमा आयोगले अनुसन्धान गरिरहेको छ ।

    त्यसैगरी आव २०६४र६५ देखि २०७७ पुस मसान्तसम्म सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, चुनढुङ्गा, क्लिङ्करको खपत बढी उत्पादन कम रहेको मुद्दा र तत्कालीन महाप्रबन्धक समेतले आवश्यकता औचित्यता नभएको प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन, विपरीत पेसी भुक्तानी गरेको भन्ने उजुरीमा भने मुद्दा दायर भइसकेको छ ।

    पुरानो प्रविधि

    उद्योग धराशायी हुनुमा पुरानो प्रविधि र मेसिनरी प्रमुख कारण देखिन्छ । खानी उत्खननदेखि कारखाना सञ्चालनसम्म पुरानै प्रविधिमा निर्भर रहँदा रोप–वे, कोल मिल, नियन्त्रण प्रणालीलगायतका उपकरण समयअनुसार अपग्रेड हुन सकेका छैनन् । आधुनिक प्रविधि नअपनाउँदा उत्पादन लागतसमेत बढेको छ । त्यस्तै, खानी उत्खननको लागत उच्च छ । अझै पुरानो ब्लास्टिङ प्रणालीबाट चुनढुङ्गा निकाल्दा विस्फोटक पदार्थ, सुरक्षा तथा सेना परिचालनका कारण उत्खनन खर्चिलो बनेको छ । आधुनिक उत्खनन प्रविधि अपनाउन नसक्दा ठूलो र गुणस्तरीय खानी हुँदाहुँदै पनि त्यसको लाभ लिन सकिएको छैन ।

    त्यसैगरी कम उत्पादकत्व पनि उद्योगको अर्को समस्या हो । कारखानाका धेरै उपकरण बढी उत्पादन क्षमताका लागि डिजाइन गरिएका भए पनि वास्तविक उत्पादन त्यसभन्दा कम छ । सामान्य मर्मतसम्भार तथा प्रणाली सुधारबाट उत्पादन बढाउन सकिने अवस्था हुँदाहुँदै त्यसतर्फ पर्याप्त काम हुन सकेको छैन ।
    कमजोर व्यवस्थापन र जवाफदेहिताका कारण पनि उद्योगले गति लिन सकेको छैन । उद्योगको नियमित अनुगमन कमजोर हुनु, नेतृत्व परिवर्तन भइरहनु तर दीर्घकालीन योजना कार्यान्वयन नहुनु तथा उद्योगको अवस्थाबारे जिम्मेवार निकायबाट पर्याप्त निगरानी र रिपोर्टिङ नहुनु समस्या बनेको छ ।

    उद्योगमा राजनीतिक हस्तक्षेप र युनियनबाजीले पनि व्यवस्थापनमा असर पारेको स्रोतको दाबी छ । काम नगर्ने प्रवृत्ति र आन्तरिक दाउपेचले उत्पादनमा असर पुर्‍याएको बताइएको छ । त्यस्तै, जनशक्ति व्यवस्थापनको समस्या पनि छ । आवश्यकताभन्दा बढी जनशक्ति र उच्च कर्मचारी लागत रहेको, दक्ष तथा अनुभवी प्राविधिक कर्मचारी अवकाश हुँदै जाने तर प्रशासनिक प्रकृतिको जनशक्ति बढी रहने अवस्था रहेको उल्लेख छ । दक्ष जनशक्तिलाई सीपअनुसार परिचालन गर्न नसक्दा पनि उत्पादकत्वमा असर परेको जानकार बताउँछन् । साथै, ऊर्जा लागत पनि पर्याप्त रूपमा नियन्त्रण हुन सकेको छैन । पुराना प्रणाली र ठूला मोटरका कारण विद्युत् खपत उच्च रहेको र ऊर्जा अडिट तथा प्रणाली सुधारमार्फत घटाउन सकिने खर्चमा पनि पर्याप्त ध्यान नदिइएको देखिन्छ ।

    त्यसैगरी व्यावसायिक बजार रणनीतिको अभावले पनि उद्योगलाई कमजोर बनाएको छ । उच्च गुणस्तरको चुनढुंगा र क्लिङ्कर हुँदाहुँदै क्लिङ्कर बिक्री, ब्लक सिमेन्ट तथा पिपिसी जस्ता सम्भावित बजारको पर्याप्त उपयोग हुन सकेको छैन ।

    खानी हत्याउने प्रयास

    उदयपुर सिमेन्ट उद्योगको सबैभन्दा ठूलो शक्तिका रूपमा यसको खानीलाई लिइन्छ । जिल्लाको उत्तरी भेगमा पर्ने सुकौरा ९सिन्धुवा० मा अवस्थित यो खानी उद्योग स्थल त्रियुगा नगरपालिका–६, जलजलेबाट करिब २७ किलोमिटर उत्तरमा पर्छ । जापान सरकारले गरेको अध्ययनअनुसार खानीमा करिब सात करोड ३५ लाख मेट्रिक टन चुनढुंगा उत्पादनयोग्य क्षमता छ । जसमध्ये हालसम्म ४० लाख मेट्रिक टन मात्रै उत्खनन् गरिएको छ । अहिले अर्थात् ठूलो हिस्सा अझै उपयोग हुन बाँकी छ ।

    यो खानी किन पनि महत्त्वपूर्ण छ भने यसमा पाइने चुनढुङ्गा नेपालमै सबैभन्दा राम्रो भएको जानकारहरू दाबी गर्छन् । यस चुनढुङ्गामा एमजीओ औसत १।५ प्रतिशत छ । एमजिओ जति कम भयो त्यति सिमेन्टका लागि राम्रो मानिन्छ । जबकी सिमेन्टमा प्रयोग हुने एमजीओ ५ प्रतिशतसम्मलाई स्वीकार गरिन्छ ।

    नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक कुमारी ज्योति जोशीका अनुसार नेपालमा रहेका सिमेन्टका गुणस्तरमा ओपिसी (३३ ग्रेड), ओपिसी ४३ र ५३ ग्रेडका लागि अधिकतम पाँच प्रतिशत एमजिओ निर्धारण गरिएको छ भने पिपिसी सिमेन्टका लागि ६ प्रतिशत एमजिओको मापदण्ड निर्धारण गरिएको छ ।

    नेपालमा सञ्चालित अधिकांश सिमेन्ट कम्पनीलाई यो मापदण्ड पूरा धौधौ भइरहेको छ । खानीमा पाइने चुनढुङ्गामा क्याल्सियम अक्साइड ५२ प्रतिशतभन्दा बढी छ । जबकी नेपाल अन्य खानीमा औसतमा ४४–४८ प्रतिशतको हाराहारीमा क्याल्सियम अक्साइड भएको चुनढुङ्गा पाइन्छ ।

    गुणस्तरीय चुनढुङ्गा भएकाले सिमेन्ट उत्पादनका लागि ८२ प्रतिशत मात्रै चुनढुङ्गा भए पुग्छ । अन्य खानीमा पाइने चुनढुङ्गाको हकमा ९० प्रतिशतसम्म प्रयोग गर्नुपर्ने अवस्था छ । उद्योगले सिमेन्ट उत्पादनमा तीन प्रतिशत सिलिका स्यान्ड, रातो माटो १३ प्रतिशत र दुई प्रतिशत आइरन प्रयोग गर्छ । अहिले उद्योगले आइरनबाहेक अन्य कच्चा पदार्थ आयात गर्नुपर्दैन ।

    गुणस्तरीय चुनढुङ्गा पाइने यही खानीको लाइसेन्स खानी तथा भूगर्भ विभागले २०८१ असोजमा खारेज गरिदियो । सरकारी उद्योगले रु ७४ लाख राजस्व नबुझाएको कारण विभागले देखायो । यसका पछाडि विभिन्न स्वार्थ समूह लागेको जानकार बताउँछन् । उक्त उद्योगबारे अध्ययन गरिरहेका एक जानकारका अनुसार सकेसम्म खानीको लाइसेन्स आफूले लिने नभए उक्त खानीबाट उत्खनन गरिएका चुनढुङ्गा भए पनि लिने प्रयास पटक पटक भएका छन् । सोही कारण पटक पटक बन्द हुने, समयमै आपूर्ती नहुने समस्या आएको हो ।

    तर वर्तमान सरकार गठन भएपछि १०० दिनभित्रै विभागलाई बुझाउनुपर्ने राजस्व दाखिला गरी लाइसेन्स नवीकरण भइसकेको छ । यसबाट खानीको स्वामित्व अन्य कम्पनीलाई दिने चलखेलमा ब्रेक लाग्यो । वर्तमान सरकारले अब उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको नियुक्त गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिरहेको छ । हाल उद्योगको उत्पादन क्षमता दैनिक ८०० मेट्रिक टन रहेको छ ।

  • इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

    माउमेरे, ३० साउन (रासस–एपी) । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए । समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।


    अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ५ः५८ बजे फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गेरा प्रान्तको एन्डे सहरबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा रहेको थियो । मुख्य भूकम्पपछि पटक–पटक परकम्पसमेत महसुस गरिएको थियो ।


    पूर्वी नुसा तेङ्गाराका प्रहरी प्रमुख रुडी डार्मकोकोका अनुसार भूकम्पका कारण भवन भत्किँदा सिक्का रिजेन्सीमा दुई तथा मङ्गराई रिजेन्सीमा तीन जनाको मृत्यु भएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्क प्रभावित भएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भएको उहाँले बताउनुभयो ।


    “हामी क्षति र हताहतीको विवरण सङ्कलन गरिरहेका छौँ, तर सञ्चार सम्पर्कमा अवरोध छ,” डार्मकोकोले भन्नुभयो । स्थानीय टेलिभिजनमा प्रसारित दृश्यमा भूकम्पपछि सावधानीस्वरूप अस्पतालका बिरामीलाई भवनबाहिर निकालिएको देखाइएको थियो । अस्पतालका कर्मचारीले ओछ्यान, अक्सिजन सिलिन्डर र अन्य उपकरण बाहिर सारेर आपत्कालीन उपचारका लागि अस्थायी क्षेत्र तयार गरेका थिए ।


    फ्लोरेसमा ठूलो क्षति
    भूकम्प फ्लोरेस टापुको अधिकांश क्षेत्रमा महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार सिक्का र माउमेरे क्षेत्रमा भवनहरूमा ठूलो क्षति पुगेको छ । सिक्का रिजेन्सीकी बासिन्दा योहाना एम्बुले भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको र त्रसित मानिसहरू अग्लो स्थानतर्फ भागेको बताउनुभयो ।

    “यहाँ धेरै भवनमा क्षति पुगेको छ । मैले माउमेरेस्थित बन्दरगाह टर्मिनलको प्रतीक्षालय भत्किएको देखेँ,” उहाँले भन्नुभयो । सिक्कास्थित सेन्ट पिटर मेजर सेमिनरीमा बिहानको प्रार्थनाका लागि भेला भएका विद्यार्थीहरू पनि भूकम्पबाट प्रभावित भएका थिए । सभाहलको छत भत्किएपछि विद्यार्थीहरू भागेका थिए । सेमिनरीका रेक्टर रेभरेन्ड गाइडेलबर्टस टाङ्गाका अनुसार भवनको दोस्रो तलाबाट हाम फाल्दा कम्तीमा एक पादरीको खुट्टा भाँचिएको थियो ।


    छिमेकी पश्चिम नुसा तेङ्गारा प्रान्तको बिमा सहरमा पनि भूकम्पले त्रास फैलाएको थियो । दक्षिणी सुलावेसी टापुका केही क्षेत्रमा पनि क्षतिको विवरण आएको छ । इन्डोनेसियाली अधिकारीहरूले सुरुमा पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा, दक्षिण सुलावेसी र दक्षिणपूर्वी सुलावेसीका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरेका थिए । बासिन्दालाई समुद्री तट तथा नदी किनारबाट टाढा रहन आग्रह गरिएको थियो ।


    भूकम्पको उच्च जोखिममा इन्डोनेसिया
    सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । यस क्षेत्रमा सक्रिय ज्वालामुखी र फल्ट लाइनहरू रहेकाले मुलुक भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको छ । सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।

    सन् २०१८ मा सात दशमलव पाँच म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र त्यसबाट भएको भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो । उक्त विपद्मा चार हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।


    सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापु नजिकै गएको नौ दशमलव एक म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार जनाको ज्यान लिएको थियो ।

  • स्वास्थ्य प्रणाली मजवुत गराउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    स्वास्थ्य प्रणाली मजवुत गराउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    ३० साउन, काठमाडौं । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित र एकरुपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल ९एसटीपी०लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढंगले लागू गर्ने भन्ने विषयमा छलफल भयो।

    छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा पवनजंग रायमाझीसहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरु सहभागी भए । उनीहरुले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेको प्रोटोकल प्रयोगका सजिला—अप्ठेरा पाटा केलाउँदै सुधारका लागि समेत सुझाव दिए । फरक फरक विभाग तथा महाशाखाले बनाउँदाखेरि प्रोटोकलमा समन्वयको अभाव भएकाले सो कुरा समाधान गरिनुपर्ने पनि बताए ।


    डा रायमाझीका अनुसार आवश्यकता हेरी अहिले १९ वटा प्रोटोकल बनाइएका छन्, जसमध्ये केहीमात्र स्वीकृत भएर लागू भइसकेका तथा कतिपय प्रक्रियामै रहेका छन्। लागू भएकाहरुमा पनि एकरुपता कायम गर्न समयानुकूल परिमार्जनको आवश्यकता छ। यस्तै, बिरामी परीक्षणकै क्रममा पनि डाक्टरले यसो गरे कसो होला भन्दै सीटी स्क्यान, एमआरआई लगायतका लागि अनावश्यक प्रिस्क्रिप्सन गरिदिने र त्यसले आर्थिक भार बिमा कार्यक्रममा थपिने भएकाले आवश्यकताको आधारमा मात्र परीक्षण गर्ने गरी निश्चित प्रोटोकल बनाउन आवश्यक रहेको र त्यसका लागि पनि छलफल प्रभावकारी हुने उनको भनाइ छ।

    प्रोटोकलको परिमार्जनसहित प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधिहरू कटौती हुने भएकाले बिरामीको उपचार खर्च घट्ने र सरकारी कोषको दुरुपयोग रोकिनुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यवस्थित बनाउन सहज पुग्ने विश्वास गरिएको छ।

  • शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    ३० साउन, काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

    मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्।

    छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।