Category: समाचार

  • स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी

    स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी

    जेनेभा, ३० साउन (रासस–एएफपी) । सन् २०१८ पछि विश्वभरका स्वास्थ्य सेवामाथि १० हजारभन्दा बढी आक्रमण भएको दावी गरेको छ । अन्तरराष्ट्रिय यस संस्थामा दर्ता भएका तर कसैलाई पनि न्यायको कठघरामा नउभ्याइएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शुक्रबार चिन्ता व्यक्त गरेको हो । यी आक्रमणहरू २९ देश र क्षेत्रहरूमा रिपोर्ट गरिएका छन्, जसका कारण करिब पाँच हजार ७०० जनाको मृत्यु र आठ हजार ५०० जना घाइते भएका डब्ल्यूएचओले जनाएको छ।

    डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्य सेवा कहिल्यै लक्ष्य बन्नु नहुने भन्दै विश्व समुदायमाथि बारम्बार जानकारी गराउदै आएका छन् ।
    डब्ल्यूएचओले स्वास्थ्य सेवामाथिका आक्रमणहरूको पुष्टि र अभिलेख राख्छ तर दोषारोपण गर्दैन किनकि यो अनुसन्धान गर्ने निकाय होइन।
    डब्ल्यूएचओको मानवीय तथा विपद् व्यवस्थापन एकाइका निर्देशक अलताफ मुसानीले जेनेभामा सञ्चारमाध्यमलाई जानकारी दिँद यी तथ्याङ्क प्रस्तुत गर्दै भने, “जवाफदेहिता राष्ट्रिय स्तरमा मात्रै हुनुपर्छ भन्ने छैन।”

    “स्वास्थ्य सुविधाहरू र समग्र स्वास्थ्य प्रणाली अन्तर्राष्ट्रिय मानवीय तथा अधिकार कानुनको संरक्षणमा पर्छन् र केही जेनेभा महासन्धिहरूद्वारा सुरक्षित छन्,” उनले भने । “मैले उल्लेख गरेका १० हजारभन्दा बढी प्रमाणित घटनाहरूमध्ये एउटै पनि जवाफदेहिता प्रणालीमा प्रवेश गरेको छैन।” “यस वर्ष मात्रै संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यमामिला हेर्ने यस निकायले ९१४ वटा आक्रमण दर्ता गरेको छ, जसबाट ९११ जनाको मृत्यु र एक हजार ४८६ जना घाइते भएका छन्,” मुसानीले भने ।


    युक्रेन, लेबनान र प्यालेस्टिनी क्षेत्रहरूले सन् २०२६ मा अधिकांश घटनाहरूको हिस्सा ओगटेका छन् । अन्य घटनाहरू म्यानमार, इरान, सुडान, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिण सुडान, रुस, सिरिया र नाइजेरियाबाट रिपोर्ट गरिएका छन्। मुसानीले भने, “यस वर्ष सबैभन्दा बढी रिपोर्ट गरिएको आक्रमणको प्रकार भारी हतियार प्रयोग गरी गरिएका आक्रमणहरू हुन्, त्यसपछि स्वास्थ्य सेवामा अवरोध र मनोवैज्ञानिक हिंसा आउँछन्।”

    उहाँका अनुसार स्वास्थ्यकर्मी र बिरामीहरूको अपहरण, गिरफ्तारी वा थुनासम्बन्धी ४४ वटा घटना रिपोर्ट भएका छन्, जसबाट १४८ जना प्रभावित भएका छन्।

    – आक्रमणको दीर्घकालीन प्रभाव –

    “जब कुनै अस्पतालमा आक्रमण हुन्छ, त्यसको प्रभाव त्यो दिन अस्पतालभित्र रहेका व्यक्तिहरूमा मात्रै सीमित हुँदैन,” मुसानीले भने । उनले भने, “यो भोलि उपचार पाउन नसक्ने बिरामी, अर्को स्थानमा जान नसक्ने एम्बुलेन्स, काममा फर्कन नसक्ने स्वास्थ्यकर्मी वा अन्य सुविधाहरूसम्म पुग्न नसक्ने औषधि आपूर्तिमा पनि पर्छ।” “गाजा क्षेत्रका सबै ३६ वटा अस्पताल सन् २०२५ को अन्त्यसम्म क्षतिग्रस्त भएका थिए,” उनले भने ।


    सन् २०२२ मा युक्रेनमा रुसको पूर्ण स्तरको आक्रमण सुरु भएयता डब्ल्यूएचओले तीन हजारभन्दा बढी आक्रमण प्रमाणित गरेको छ । गत हप्ता दिनिप्रोस्थित डब्ल्यूएचओको गोदाममाथि आक्रमण भई गोदाममा क्षति भएको थियो। “हामी युक्रेनमा आक्रमणको सङ्ख्यामा उल्लेखनीय वृद्धि देखिरहेका र प्रमाणित गरिरहेका छौँ”, मुसानीले भने, “यसले स्वास्थ्य सुविधाहरूमा आपूर्ति पु¥याउने हाम्रो क्षमतालाई स्पष्ट रूपमा असर गरिरहेको छ।”

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा घातक इबोला प्रकोप घोषणा भएयता स्वास्थ्य सेवामाथि १२ वटा आक्रमण प्रमाणित भएका छन्। “यी घटनाहरूले निगरानी, घटनाको अनुसन्धान, सम्पर्क खोज, उपचार र समुदायसँगको संलग्नतालाई बाधा पु¥याएका छन्, जसले आक्रमणले स्वास्थ्य सेवा मात्रै होइन, प्रकोप पत्ता लगाउने र नियन्त्रण गर्ने क्षमतालाई पनि कमजोर बनाउन सक्ने देखाउँछ,” मुसानीले भने ।

  • व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध

    व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध

    वासिङ्टन, ३० साउन (रासस–एएफपी । अमेरिकी ट्रम्प प्रशासनले शुक्रबार सर्वोच्च अदालतलाई सङ्केत गर्दै व्हाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन अनुरोध गरेको छ । सोलिसिटर जनरल जोन साउअरले डेमोक्र्याट् बहुल सर्वोच्च अदालतमा आपतकालीन अपीलमार्फत यो अनुरोध गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष व्हाइट हाउसको ऐतिहासिक ‘इस्ट विङ’ भत्काउन आदेश दिएका थिए । त्यसपछि बलरुमको निर्माण गर्न चाहे पनि अदालती अवरोधका कारण परियोजना अघि बढ्नबाट रोकिएको थियो ।

  • पर्यटकीय स्थलमा विद्युत् सुविधा विस्तार

    पर्यटकीय स्थलमा विद्युत् सुविधा विस्तार

    म्याग्दी, ३० साउनः अन्नपूर्ण गाउँपालिका–८ स्थित र्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो ।

    नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ । मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण–धौलागिरि पर्यटकीय गन्तव्य हुन् ।

  • परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    काठमाडौँ, ३० साउनः परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

    नेपाल र भारतबीच शताब्दीयौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै शुभकामना सन्देशमा साझा हितका क्षेत्रमा सहकार्य विस्तार हुँदै जाने अपेक्षा पनि मन्त्री खनालले गरेका छन् ।

  • पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

    पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

    काठमाडौँ, ३० साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा पनि भू्स्खलनका कारण ले घोराही–थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।

  • दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    महोत्तरी, ३० साउनः मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व आज १३ औँ दिन समापन गर्न लागेका हुन् । साउन कृष्ण पञ्चमीका दिन सुरु गरिने यो पर्व साउन शुक्ल त्रितीया तिथिका दिन समापन गर्ने मैथिल परम्परा छ ।

    पतिपत्नीबीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ । पतिले पठाइदिने पूजा सरदाम (सामग्री)बाट यो पर्व मिथिलानीले माइतीघरमा मनाउँछन् । पतिले पठाइदिने सामग्रीमा पर्वअवधिको खाद्य सामग्री, नयाँ वस्त्र परिधान र आभूषण हुने गर्छ ।

    मिथिलामा नवविवाहिता वधुले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल द्वितीयासम्म व्रत विधानमा रही १२ औँ दिनको राति देब्रे घुँडामा ‘टेमी’ (कपासको कातेको बत्ती बालेर त्यसको लप्कोले घुँडा डाम्ने चलन) लिएर भोलिपल्ट तृतीयाका दिन पर्व सम्पन्न गर्ने परम्परा छ । यसअनुसार शुक्रबार राति बर्तालुले ‘टेमी’ लिएका छन् । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास रहेको भङ्गाहा–३ की यस वर्षकी बर्तालु रञ्जु कर्ण बताउँछिन् ।


    पछिल्ला केही वर्षयता भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ लिन बलेको बत्तीको लप्काले डाम्नुको सट्टा शीतल चन्दनको लेप लगाउन थालेका छन् । घुँडा डाम्नुसँग गाढा प्रणयसम्बन्धको कुनै सम्बन्ध नरहेको बताउँदै नयाँ पुस्ताका मिथिलानीले पर्वको महत्तालाई निरन्तरता दिँदै चन्दन लेप गर्न थालेका हुन् । ‘टेमी’लाई परिष्कृत गरिएको नयाँ चलन उपयुक्त रहेको शिक्षण पेसामा रहेकी गौशाला–१२ की सुनिता महतोको भनाइ छ । ‘टेमी’ विधि घर परिवारका सबैभन्दा श्रेष्ठ महिलाका हातबाट गराइने चलन छ ।

    पर्व अवधिभरि भगवान् शङ्कर, देवी गौरी (पार्वती) र विषहरा (नाग देवता)को आराधना गरिन्छ । पर्वमा बस्तीभरिकै नवविवाहित जम्मा भएर हासपरिहास र सामूहिक गायनमा रमाउँछन् । यो पर्वमा बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ ।

    शिव, पार्वती (गौरी) र विषहराको आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ । पर्व समापन भएपछि बर्तालुले पर्व अवधिभरि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन् ।

    यो पर्वको मुख्य अभीष्ट नै पतिपत्नीबीच सुमधुर प्रेमसम्बन्ध हुँदा यसले मैथिल संस्कृति र पारिवारिक सद्भाव वृद्धिमा सघाउ पु¥याएको मैथिल लोक संस्कृतिका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनको पन्छी मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मक रूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको उपप्राध्यापक झाको भनाइ छ ।

    पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । फरक भाषा , संस्कृति र परम्पराका समुदायको छ्यासमिस बसोबासले एकअर्काका चाडवाड अप्नाउने चलन बढ्दो छ । यसैले पछिल्ला वर्षहरुमा मधुश्रावणी मिथिलाको साझा पर्व बन्दै गएको जलेश्वर–५ चौरियाकी बासिन्दा माध्यमिक विद्यालयका सामाजिक शिक्षक नायडु तिवारी बताउँछन् ।


    पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको दैनिक पूजाआराधना गरेपछि बर्तालुलाई घरकी ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन् ।

    पर्वमा आफ्नो स्खलित भएको वीर्य भगवान् शङ्करले पातमा राखेका र त्यही वीर्यबाट पाँच नाग कन्याको जन्म भएको कथा प्रचलित छ । कुनै तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेको र यो वृत्तान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एकदिन छोरीहरुसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ ।

    पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएको हुँदा नवविवाहिताले यसै अभिष्टका लागि यो व्रत सुरु गरेका मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

    प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएको प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठीक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

    बर्तालुले साउन कृष्ण चौथी (चतुर्थी) का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नु पर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिँदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु बर्तालुको पर्वअवधिको दैनिकी हुन्छ । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।

    माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन) मा बसेर त्यहीँ देवता स्थापित गरेर बर्तालुले यो पर्व मनाउँछन् । विवाहपछि माइत पुग्दा सखीसहेलीसँग हुने भेट र पर्व अवधिभरि सामूहिक गान र आपसी हासपरिहास हुने हुँदा नवविवाहिता मिथिलानीलाई यो पर्वको पर्खाइ हुने पाका मिथिलानी बताउँछन् ।

  • देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ३० साउनः हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बदली तथा तराई भागमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना तथा पूर्वानुमानअनुसार अद्यावधिक रहन अनुरोध गरिएको छ ।

  • बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    मुस्ताङ,३० साउनः चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३÷०७४ देखि आव २०८२–०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।

    कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याइएको छ । उनले पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनी–जोमसोम–कोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत पुगेको छ ।

    उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको निर्माणधीन कोरला सडक योजनाको पछिल्लो संशोधित सम्पन्न अवधी आव २०८८–०८९ सम्म कायम गरिएको छ । सुरुआती बेनी÷जोमसोम ७४ किमी चारखण्ड अस्फाल्ड कालोपत्र र जोमसोम–कोरला ११९ किमी सातखण्ड ग्राभेल सडकबाट सुरुआत गरिएकोमा हालसम्म सडक तथा पुल पुलेसा गरी दर्जनौँ योजना थपिएका छन् ।

    पर्वतको मालढुङ्गादेखि नेपाल–चीन उत्तरी कोरलानाकासम्मको २०२ किमी सडक कालोपत्र तथा स्तरोन्नति गनुपर्ने दायित्व योजनाको रहेको छ । योजना प्रमुख शर्माका अनुसार मालढुङ्गादेखि कोरलासम्म २०२ किमी सडक कालोपत्र गर्नुपर्ने लक्ष्य रहेकोमा गतवर्षको असार महिनासम्म ९० किमी दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । कालिगण्डकी करिडोर अन्तर्गत मुस्ताङको छुसाङ्देखि घमीसम्मको ५० किमी सडकको थप स्तरोन्नति गरी सडक कालोपत्र गर्न दुई अर्ब बढीको ठेक्का आह्वान भइसकेको प्रमुख शर्माले जानकारी दिए ।

    उनका अनुसार चालु आवमा बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी सडकखण्डको पहिरोग्रष्त क्षेत्रमा ५०० मिटर कालोपत्रको ठेक्का खुलाइनेछ । म्याग्दीको राहुघाट हाइड्रो पावर भएको स्थानको सडकमा ३०० मिटर दुरीमा जलविद्युत कम्पनीले नै कालोपत्र गर्ने पूर्वसहमति भइसकेको छ ।

    म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ–४ घाँसा तलको खहरे खोला सडकमा करिव ५०० मिटर दुरीको सडकमा कालिगण्डकी गर्ज हाइड्रो पावर कम्पनीलेनै कालोपत्र गर्नेछ । योसँगै म्याग्दीको महभीर र भीरकाँटे सडक बाहेक पर्वतको मालढुङ्गादेखि बेनी सडकमा करिव ७०० मिटर दूरीमा सडक कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख शर्माको भनाइ छ ।

    म्याग्दीको महभीर र भीरकाँटेमा चट्टान फोरेर सडक चौडा गरी फराकिलो बनाउनेकार्य भएकोमा हाललाई उक्तकार्य स्थगित गरिएको छ । त्यहाँ कालिगण्डकी नदीबाट ग्याविक प्रोटेक्सन गरी सडक चौडा गराउन सुरु गरिएको प्रमुख शर्माले जानकारी दिए ।


    यसैगरी कोरला सडक योजना अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलानाकासम्म २६ पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएकामा आव २०८२÷०८३ सम्म १८ पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको उनले बताए । उनका अनुसार कोरला सडकमा चार पक्की पुल निर्माणधीन अवस्थामा रहेको र बाँकी आवश्यक चार पुल निर्माणको लागि बजेट विनियोजन हुन बाँकी रहेको छ ।

    कोरला सडक योजनाका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ स्थित ताङ्वे खोला र वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनी खोलामा पुल निर्माण गर्नुपर्नेछ । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोला र म्याग्दीको तातोपानीस्थित भुरुङ खोलामा पुल निर्माण गर्नुपर्नेछ । पर्वत –म्याग्दी जोड्ने बेनीस्थित कालिगण्डकी नदीमा पुल निर्माण गर्न बाँकी छ ।

    यसैगरी हाल कामचलाउको रुपमा रहेको पर्वतको मिलनचोक, लप्सी खोला, दमुवा खोलालगायतमा पुल निर्माणको आवश्यकता देखिन्छ । राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डको तीन स्थानमा पहिरो रोकथाम भइरहेको छ, म्याग्दीको गुइठेभीर, खामभित्ता र बैसरीमा पहिरो रोकथामकार्य भइरहेको योजना प्रमुख शर्माले बताए ।


    कोरला सडक योजनाका अनुसार चालु आवमा पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको सडक अन्तर्गत जुके खोला, केराबारी र लाटी खोलामा गरी तीन स्थानमा पहिरो रोकथामका योजना अघि बढाइने भएको छ । यसैगरी बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी, महभीर, नौनीबगर र सुकेबगरमा गरी चार स्थानमा थप पहिरो थोकथामका योजना थपिने जनाइएको छ।

  • चितवनमा पन्ध्र जनामा औलो रोगको सङ्क्रमण

    चितवनमा पन्ध्र जनामा औलो रोगको सङ्क्रमण

    चितवन, ३० साउनः गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।

    जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।

    आर्थिक वर्ष २०८१–०८२ मा आठ हजार ४०५ जनाको नमूना परिक्षण गर्दा ११ जनामा औलो रोग देखिएको थियो । यस्तै आर्थिक वर्ष २०८०–०८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए । नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवि पाइने गर्दछ ।

    प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवि वढि देखिने गर्दछ । फाल्सिपारम जातको परजीवि औलो रोगका सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा प्रभाव पार्ने उनले बताए ।


    भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए । औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।

  • भोजपुर डाँडागाउँमा ‘एक घर, एक धारा’ पहुँच

    भोजपुर डाँडागाउँमा ‘एक घर, एक धारा’ पहुँच

    भोजपुर, ३० साउन । भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुबिधा उपलब्ध भएको हो । घरघरमा धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।

    यसबाट दैनिक जनजीवन सहज हुनुका साथै सरसफाइ र पशुपालनमासमेत सहजना भएको स्थानीयवासीले बताएका छन् ।स्थानीयवासी टिकादेवी खड्काले घरमै खानेपानीको धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको बताइन् । उनले भने, “दैनिक रुपमा घरमै पानी आएपछि सरसफाइ, चौपायालाई खुवाउनसँगै दैनिक जीवन सहज बनेको छ ।”

    स्थानीयवासी ज्ञाद्रमाया पाण्डेले विगतमा घरमा धारा नहुँदा खोलाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको सुनाए । उनले भने, “घरमै धारा आएपछि पानी ल्याउन लाग्ने समय र श्रम बचत भएको छ । घरमा धारा जडान भएसँगै बालबच्चासँगै घरयासी काममा सहजता भएको छ। ”

    निर्माण उपभोक्ता समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१\८२ बाट सुरु भएको आयोजना आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिएको हो । आयोजनाअन्तर्गत पानीको समस्यामा रहेका नागरिकको परिवारमा ‘एक घर, एक धारा’ जडान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । स्थानीय उपभोक्ताबाट रकम उठाएर रु तीन लाखमा मुहान खरीद गरेर बस्तिसम्म पानी ल्याउन सफल भएको अध्यक्षे बस्नेतले जानकारी दिए । भविष्यमासमेत योजनाको दीगो र सहज सञ्चालनको लागि उपभोक्ता समिति एकजुट बनेको उनको भनाइ छ ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोषकुमार ठाकुरले जनश्रमदान र कार्यालयको लगानीमा करिब रु. २५ लाखको लागतमा आयोजना सम्पन्न भएको जानकारी दिए । आयोजनाले स्थानीयवासीको खानेपानीसँगै सरसफाइ र पशुपालनमासमेत सहजता ल्याएको उनले बताए । कार्यालयका इन्जिनियर दीपक यादवका अनुसार आयोजनाको मुख्य पाइपलाइन एक हजार मिटर र वितरण पाइपलाइन दुई हजार एक सय मिटर रहेको छ । आयोजनाले डाँडागाउँ टोलका १५ घरपरिवारलाई नियमित खानेपानीको सुविधा उपलब्ध गराएको उनले जानकार्री दिए ।

  • बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै


    नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

    आर्थिक वर्षको २०८१–०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ । परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर उपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए । परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए ।

    विद्युतीय अपराधसँग सम्बन्धीत बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक बर्ष २०८१–०८२ को र तीन मुद्दा आर्थिक बर्ष २०८२–०८३ को रहेको प्रहरीले जनाएको छ । सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना अmभै फरार रहेको प्रहरीले जनाएको छ । यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय, कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको थियो ।

    प्रहरीका अनुसार आव २०७९–८० मा १०६, आव २०७८–७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी परेका थिए । विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । प्रहरीका अनुसार साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको छ । साइबर अपराधमा सङ्लग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।

  • वर्तमान सरकार गठनपछि बजेट कार्यान्वयनको गति बढ्यो

    वर्तमान सरकार गठनपछि बजेट कार्यान्वयनको गति बढ्यो

    काठमाडौँ, २९ साउनः वर्तमान सरकार गठन भएपछि बजेट कार्यान्वयनले गति लिएको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) र बौद्धिक साझेदार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा सार्वजनिक अध्ययनले सरकारले शासकीय सुधारका १०० बुँदे कार्यसूची जारी गरेपछि गत आर्थिक वर्ष २०८२–८३ को बजेटमा समावेश कार्यक्रमहरूको कार्यान्वयनले गति लिएको देखाएको छ । चौथो त्रैमासमा बजेट कार्यान्वयनको गति तेस्रो त्रैमासिकको तुलनामा थप तीव्र बनेको अध्ययनले देखाएको छ ।

    “आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा राजनीतिक अन्योल, आन्दोलन तथा सरकारी संरचना र कागजातमा भएको क्षतिका कारण बजेट कार्यान्वयन प्रभावित भएको थियो । तेस्रो त्रैमासिकदेखि सरकारी निकायले पुनः गति समातेका थिए भने निर्वाचनपछि नयाँ सरकारले काम सुरु गरेसँगै कार्यान्वयनमा थप सुधार आएको देखिएको छ”, अध्ययनको प्रस्तुतीकरण दिँदै सेजन अध्यक्ष भागवत भट्टराईले भने । कतिपय अधुरा घोषणा चालु आर्थिक वर्षको बजेटमा समेत दोहोरिएको, कानुन निर्माणमा उल्लेख्य प्रगति भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्नुपर्ने अवस्था रहेको सीएनआईले जनाएको छ ।

    बजेट कार्यान्वयनमा केही सुधार देखिए पनि पुँजीगत खर्चको अवस्था भने कमजोर रहेको अध्ययनले देखाएको छ । रकमगत आधारमा पुँजीगत खर्च पछिल्लो छ वर्षयताकै न्यून र कुल खर्चको प्रतिशतका आधारमा अहिलेसम्मकै न्यून रहेको जनाइएको छ ।

    ‘बजेट वाच’ले बजेट कार्यान्वयनको अवस्थालाई शून्य, आंशिक र पूर्ण गरी तीन तहमा वर्गीकरण गरेको छ । काम सुरु नभएको, अघिल्लो सरकारले ल्याएको बजेटलाई वर्तमान सरकारले अपनत्व नलिएको वा घोषणा मात्र सीमित रहेको अवस्थालाई शून्य प्रगति मानिएको छ ।

    कार्यक्रम कार्यान्वयनका लागि बैठक तथा छलफल अघि बढेको, कानुन वा कार्यविधि बनेको तर ठोस काम नभएको अवस्थालाई आंशिक प्रगति र बजेटमा घोषणा भएअनुसार कार्यक्रम कार्यान्वयनमा गइसकेको अवस्थालाई पूर्ण कार्यान्वयन मानिएको छ ।

    अध्ययनमा आव २०८२–८३ को बजेटमा निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित ७४ वटा समावेश गरिएको थियो । जसमध्ये ३४ वटा पूर्ण रूपमा कार्यान्वयन भएका छने भने ३४ वटा बुँदामा आंशिक कार्यान्वयन भएको छ भने छवटा बुँदा कार्यान्वयन हुनसकेका छैनन् । क्षेत्रगत रूपमा औद्योगिक विकासतर्फका २७ बुँदामध्ये तीनवटा शून्य, १० वटा आंशिक र १४ वटा पूर्ण कार्यान्वयन भएका छन् । ऊर्जा, पूर्वाधार तथा सहरी विकासतर्फका १४ बुँदामध्ये दुईवटा शून्य, सातवटा आंशिक र पाँचवटा पूर्ण कार्यान्वयन भएका छन् । कृषि तथा जडीबुटीतर्फका सात बुँदामध्ये तीनवटा आंशिक र चारवटा पूर्ण कार्यान्वयन भएका छन् । पर्यटन क्षेत्रका नौ बुँदामध्ये छवटा आंशिक र तीनवटा पूर्ण कार्यान्वयन भएका छन् ।

    त्यस्तै, लगानी तथा वित्तीय क्षेत्रका आठ बुँदामध्ये एउटा शून्य, तीनवटा आंशिक र चारवटा पूर्ण कार्यान्वयन भएका छन् । शिक्षा तथा रोजगारीतर्फका तीन बुँदामध्ये दुईवटा आंशिक र एउटा पूर्ण कार्यान्वयन भएको छ । सूचना प्रविधि तथा नवउद्यमतर्फका छवटै बुँदामध्ये तीनवटा आंशिक र तीनवटा पूर्ण कार्यान्वयन भएका छन् ।

  • सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ : पूर्वप्रधानमन्त्री देउवा

    सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ : पूर्वप्रधानमन्त्री देउवा


    काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनुपर्ने बताएका छन् । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतामा देखिएका निराशाा आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गरे ।


    पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भोगेको कठिनाइ र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उनले उल्लेख गरे ।


    तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएका र यसमा कांग्रेसीजनहरूले गर्व गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकका हरेक परिवर्तनमा प्रायः सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताए ।


    उनले लामो गौरवमय इतिहास भएको कांग्रेसमा विशेष महाविधेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा गरे । चार पुस्ता भएको कांग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुनेगरी अघि बढ्न सबै लाग्नुपर्नेमा उनको जोड थियो । पूर्वप्रधानमन्त्री देउवाले संविधानप्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि काम गर्न आफू सदैव तयार रहेको बताए ।

    राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श भएको बताउँदै उनले यसमा आफूले कहिल्यै पनि सम्झौता नगरेको बताए । साथै उनले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले आफू पाँच महिनापछि स्वास्थ्योपचार गरेर हिजोमात्र फर्केको र स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा आएका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गरे ।

  • लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

    लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड

    काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उनीहरुले मुलुकमा सङ्कट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गरे ।


    समारोहमा पूर्व सहमहामन्त्री डा प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउँदै यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गरे । साथै उनले असमान्य अवस्थामा मात्र सर्वोच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वोच्चबाट सिंगो पार्टीलाई न्याय हुने अपेक्षा व्यक्त गरे ।


    पार्टीका नेता एवं पूर्वमन्त्री एनपी साउदले नियमित १५औँ महाधिवेशन तोकिएको अवस्थामा कुनै व्यक्तिको महत्वाकांक्षाका कारण हतारमा विशेष महाधिवेशन गर्नुपर्दा पार्टी समस्यामा परेको बताए । पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले सिनियर नेताहरूको योगदान र संघर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गरे ।

    पूर्व गृहमन्त्री एवं पार्टीका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा आत्तिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताए । कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले आफूहरू बिपीका अनुयाई भएको र बिपीको सिद्धान्तमा कसैसँग सम्झौता नहुने धारणा व्यक्त गरे ।


    पूर्वसञ्चार मन्त्री मोहन बस्नेतले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसाथ गर्नुपर्ने बताए । समारोहमा नेताहरू पूर्णमान तामाङ, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, दुर्लभ थापा, राजेश यादव, मेखराज श्रेष्ठ, गेहेन्द्र गिरि, शिवप्रसाद हुमागार्इं, उमा भट्टराई, गुरु बराल, सिता राना, पदमनारायण चौधरी, दीपक खड्का, सरिता प्रसाईं, रेवती भुसाल, राजु श्रेष्ठ, गणेश तिमिल्सिना, जगत बरामलगायतले कांग्रेस एक ढिक्का बनाउनका लागि अब सबै सहभागी हुने गरी पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरे ।


    कांग्रेसको संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भएको भेला सयौँ नेताकर्ताको उपस्थिति छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्द सत्र चल्नेछ ।

  • बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते

    बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते

    रौतहट, २९ साउनः बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएर बसमा सवार तीर्थयात्री गरुडा नगरपालिका–६ का ६० वर्षीय नवलकिशोर जयसवाल र निजकी श्रीमती सुन्दरबाला देवी तथा १२ वर्षीय शिवम महतोको मृत्यु भएको हो ।

    गरुडा नगरपालिका–६ का वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परी आफ्ना गाउँका तीन जना तीर्थयात्रीको मृत्यु भएको र १५ जना जति घाइते भएको जानकारी दिए । उनका अनुसार बसमा करिब ४५ जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्डअन्तर्गत सतगावाँस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीका बासिन्दा रहेका छन् ।

    बस दुर्घटनामा परेको जानकारी पाउनासाथ मृतक तथा घाइतेका आफन्तजन घटनास्थलतर्फ गएको र गरुडा–६ स्थित पोठियाही गाउँ अहिले शोकमा डुबेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।


    सोही घटनाका विषयमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले पाँच दिनअघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस आज बिहान झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किदा तीन जनाको मृत्यु र १२ जना घाइते भएको बताउ । उनले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्डस्थित प्रहरी संयन्त्रसँग पहल गरिएको र आवश्यक देखिए घटनास्थलतर्फ जाने तयारीसमेत भइरहेको जानकारी दिए ।


    यसैबीच स्थानीयवासीको तर्फबाट निधन भएकाको शव नपाल ल्याउन र घाइतेहरूको राम्रोसँग उपचार व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । रौतहटमा पछिल्ला वर्षहरूमा पहेँलो वस्त्र पहिरेर बोलबम भन्दै बाबाधाम तीर्थयात्रा जानेक्रम बढेको छ ।

  • मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

    मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

    रासस
    कास्की, २९ साउनः गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि बिरेठाँटी-घान्द्रुक बीचको सम्बन्ध टुटेको छ । अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटीमा अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्‍याउनुका साथै एउटा कच्ची घर बगाएको छ ।

    बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार बाढीका कारण बिरेठाँटी बजारका सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण ७, ८, ९, १० र ११ का सडक पनि अवरुद्ध भएका छन् ।

    “प्राकृतिक विपद्का कारण केही दिनअघि पनि भौतिक क्षति पुगेकामा हिजो राति पुनः मोदीको बाढीले तटीय क्षेत्रमा सडक, पुललगायत संरचना बगाएको छ । घान्द्रुकको पोखरासँगको सम्पर्क टुट्दा पर्यटकमा समेत असर पुगेको छ”, अध्यक्ष केसीले भने । उनका अनुसार मोदी खोलामा आएको बाढीले बिरेठाँटीका ४४ वर्षीय विजय गुरुङको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा बगाएको छ ।

    यसैगरी स्थानीय ४० वर्षीया माया पाइजाको टिनले छाएको कच्ची टहरा पनि बाढीको उच्च जोखिममा परेको अध्यक्ष केसीले जानकारी दिए । जोखिम बढेपछि पाइजासहित चार सदस्यीय परिवारलाई स्थानीय छिमेकीको घरमा सारिएको गाउँपालिकाले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

    त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–१० स्याउलीबजारमा रहेको स्याउलीबजार र वडा नं ७ हवाली जोड्ने फलामे पैदल झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग बाढीले बगाउँदा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । स्याउलीबजारमा मनप्रसाद गुरुङको ढुङ्गा-माटोबाट निर्मित दुईतले कच्ची घरमा सञ्चालन हुँदै आएको स्याउलीबजार गेस्टहाउसमा बाढी पस्दा भौतिक संरचना तथा होटलका विभिन्न सामान बगाएको बताउँदै घरसमेत पूर्ण रूपमा जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    अन्नपूर्ण गाउँपालिका(११ छुम्रुङबेदीस्थित घान्द्रुक जलविद्युत् आयोजनामा छुम्रुङ खोलामा आएको बाढीका कारण कामदार बस्ने कोठा, शौचालय, भान्साकोठा तथा जलविद्युत् आयोजनाका विभिन्न सामग्रीमा क्षति पुगेको उनले बताए । उनका अनुसार अन्नपूर्ण ५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको भने बिहान सकुशल उद्धार गरिएको थियो ।

    बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा ‘मेटल पुल’ बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पुर्‍याएको छ । बाढीले नयाँ पुल क्षेत्रमा रहेको विद्युत्का खम्बासमेत बगाएको छ भने सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

    मोदी खोलाले ठाउँठाउँमा क्षति गरेपछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानसहित जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको थियो । त्यसैगरी, मादी गाउँपालिका १ हुँगीमा मादीको नदीको बाढीले निर्माणाधीन अपरमादी जिरो हाइड्रोपावरको एउटा टिपर बगाएको बताउँदै निर्माणाधीन संरचनामा समेत क्षति पुगेको सहायक सहायक प्रजिअ बरालले जानकारी दिए ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिम, २९ साउनः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भए । सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।

    चार वर्षमा चार मुख्यमन्त्री

    प्रदेश स्थापनापछि यहाँ पहिलो कार्यकालमा पाँचै वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री बनेका थिए । यहाँ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल रहेका थिए ।

    उनले विसं २०७९ पुष २८ देखि सोही वर्षको माघ २६ गतेसम्म जिम्मेवारी सम्हाले । त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले माघ २७ देखि २०८१ वैशाख ५, दीर्घबहादुर सोडारीले वैशाख ६ देखि सोही वर्ष साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । त्यसपछि फेरि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनको हुन् । उनी पहिलोपटक एक वर्ष चार महिना आठ दिन र दोस्रोपटक दुई वर्ष आठ दिन मुख्यमन्त्री बने । शाहले सत्ता समीकरण बदलिएपछि बिहीबार पदबाट राजीनामा दिएका हुन् ।


    यसरी दोस्रो प्रदेशसभा कार्यकालको सुरुआतदेखि नै सुदूरपश्चिममा सरकार गठन र विघटनको क्रम चलिरहेको छ । यहाँ कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा बन्ने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव पर्दै आएको छ । हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज छ । यहाँ नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ५२ जना रहेका छन् ।

  • साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

    साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

    काठमाडौँ, २९ साउनः इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पु¥याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई पनि असार २४ गते पक्राउ गरियो । त्यसैगरी इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम साहलाई पनि सुरक्षाकर्मीले असार २ गते नियन्त्रणमा लिएका थिए ।

    सुरेन्द्र, विवेक र शुभम प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाइन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पु¥याउनेलगायत विद्युतीय कसुरमा संलग्नलाई सीमित स्रोतसाधनका बाबजुद उपलब्ध प्रविधिको उच्चतम प्रयोग गरी कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    आर्थिक वर्ष २०८२-८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा १६१ वटा मुद्दा दर्ता भएका थिए भने १५५ जना पक्राउ परेका थिए । दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक\म्यासेन्जरको दुरुपयोगका सात हजार १२३, टिकटकका छ हजार ७७६, ह्वाट्सएपका तीन हजार १०५, टेलिग्रामका एक हजार ३१, इन्स्टाग्रामका ६२८, इमेलका ११४, भाइबरका २१, इमोका ३८, युट्युबका ६४, वीच्याटका १४, ट्वीटरका ११, गुगलका ११, इसेवा÷खल्ती÷बैंक खाता÷एसएमएसका ७४४ र संस्थासम्बन्धी ८४६ वटा रहेका छन् ।

    आर्थिक वर्ष २०८१्-८२ मा १८ हजार ९२६ र आर्थिक वर्ष २०८०-८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए । साइबर अपराधको पछिल्लो प्रवृत्तिबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको बताए ।

    उनका अनुसार पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा विशेषगरी बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खातामा पहुँच पु¥याएर ठगी गर्ने, गिफ्ट, लोट्री तथा पार्सल पठाएको भन्दै ठगी गर्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने, टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने र अनलाइन सपिङका नाममा ठगी गर्ने प्रवृत्ति बढेको छ ।

    प्रविधिको दुरुपयोगका कारण अपराधका नयाँ शैली र प्रवृत्ति देखिन थालेपछि अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता चुनौतीको सामना गर्दै प्रविधिको प्रयोगबाट हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको हो ।

    ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीको साइबर अपराध तथा सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै आम नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रविधिको प्रयोगबाट हुने अपराधको रोकथाम तथा अनुसन्धानमा नेपाल प्रहरी सक्रिय रहँदै आएको छ । साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको छ ।

  • कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

    कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

    बोगोटा, २९ साउन (रासस–क्युएनए) । पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन् । लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन् ।

    कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त अस्पताल, विद्यालय, घर तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आपतकालीन कोष स्थापना गरिने बताए । उनले विपत्तिबाट भएको क्षति सम्बोधन गर्न आर्थिक आपतकालसमेत घोषणा गरे । यद्यपि उक्त घोषणाअन्तर्गत तत्काल कुन–कुन कदम चालिने भन्ने उनले बताएनन् ।


    राष्ट्रपति एस्प्रियेलाका अनुसार भूकम्पबाट प्रभावित परिवारको सङ्ख्या २५ हजार ८०० भन्दा बढी पुगेको छ । आधिकारिक विवरणअनुसार तीन हजार ७७० जना घाइते भएका छन् भने नौ हजार ५५० भन्दा बढी घरमा क्षति पुगेको छ । कोलम्बियाको प्रमुख कफी उत्पादन क्षेत्रको सहर पेरेरामा ८३ जना र देशको तेस्रो ठूलो सहर कालीमा ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य प्रभावित क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन् ।

    कोलम्बियाको भूगर्भीय सर्वेक्षणका अनुसार मुख्य भूकम्पपछि हालसम्म १३० वटा परकम्प रेकर्ड भएका छन् । निरन्तर आइरहेका परकम्पका कारण क्षतिग्रस्त संरचनामा प्रवेश गरी भग्नावशेषमा फसेकाको खोजी गर्न उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । अगस्ट १० मा पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काली, पेरेरा र मनिजालेसलगायत सहरमा भवन, घर तथा स्वास्थ्य संस्थामा ठूलो क्षति पु¥याएको थियो । चोको क्षेत्रका दुर्गम बस्तीसमेत प्रभावित भएका छन् । त्यहाँ भौगोलिक कठिनाइका कारण उद्धार तथा राहत सामग्री पु¥याउन थप चुनौती देखिएको छ ।

    उक्त भूकम्पलाई कोलम्बियामा २१औँ शताब्दीमा गएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एकका रूपमा वर्णन गरिएको छ । भूकम्पबाट भएको व्यापक विनाश र त्यसपछि लगातार गइरहेका परकम्पका कारण उद्धारकर्मीले जोखिमपूर्ण अवस्थामा खोजी तथा राहत कार्य अघि बढाइरहेका छन् ।
    सरकारले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै ध्वस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने जनाएको छ । यसबीच बेपत्ता मानिसको खोजी, घाइतेको उपचार र विस्थापित परिवारको व्यवस्थापनलाई उद्धार तथा राहत कार्यको मुख्य प्राथमिकता बनाइएको छ ।

  • केन्यामा हात्ती मर्ने ‘रहस्यमय’ रोग

    केन्यामा हात्ती मर्ने ‘रहस्यमय’ रोग

    किमाना, केन्या, २९ साउन (रासस–एएफपी) । दक्षिण केन्यामा अझै रहस्यमय रोगको पछिल्लो सम्भावित शिकार भएको एउटा हात्ती जमिनमा ढलेर धुलो उडाउँदै उठ्ने व्यर्थ प्रयास गर्दै बिस्तारै थियो । उ निकै थकित देखिन्थ्यो । समस्यामा परेको हात्तीलाई देख्ने बित्तिकै चिन्तित पशु चिकित्सकहरूले ग्लुकोज दिए । कारण अज्ञात भएकाले यही मात्र विकल्प थियो । ग्लुकोजको मात्रा दिँदासम्म ११ वर्षीय हात्ती ‘गेङ्गिस खान’लाई सास फेर्न गाह्रो भइरहेको थियो।

    यो रहस्यमय रोगले जुनदेखि केन्यामा प्रायः पोथी वा युवा भाले हात्ती गरी कम्तीमा १९ हात्ती मारेको छ र सबै जनावरमा आंशिक पक्षघातलगायत समान लक्षण देखिएका छन्। हात्तीका बथानले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोबाट देखिने अम्बोसेलीलाई लाभदायक पर्यटकीय केन्द्र बनाएको छ र यस क्षेत्रका हात्तीको रहस्यमय मृत्यु पर्यटनको ठूलो आम्दानीको स्रोत भएको देशमा संवेदनशील मुद्दा बनेको छ ।

    ओल्गुलुलुइ सामुदायिक भूमिका सञ्चालन प्रमुख प्याट्रिक पापाटिटीले भने, “हात्ती सङ्क्रमित भएको करिब तीन दिनसम्म उसले बाँच्नका लागि सङ्घर्ष गरिरहेको पाउनुहुन्छ । जब उसले प्राणत्याग गर्छ तबमात्र उसले पीडाबाट मुक्ति पाउँछ ।” ओल्गुलुलुइ सामुदायिक जङ्गल क्षेत्रमा रहेको ‘किटेन्डेन बी आरिजर्भ’ मा गेङ्गिस खान फेला परेको थियो ।

    जुलाईको अन्त्यमा केन्या वन्यजन्तु सेवाले विषाक्तता परीक्षण विज्ञान प्रतिवेदनमा जनावरका शवमा उच्च मात्रामा साइनाइड पाइएको बताएको थियो, जसले नजिकका खेतका बालीबाट आएको सम्भवतः कीटनाशक विषाक्तता आएका कारण उनीहरू विरामी परेको सुझाएको थियो।

    –शवहरू –

    प्रत्यक्षदर्शीहरूले मृत्युको सम्भावित कारणमाथि प्रश्न उठाएका छन् भने एएफपीसँग अन्तर्वार्ता दिएका धेरै विशेषज्ञले विषाक्ततालाई अस्वीकार गरे।
    “यो रोग हो,” स्थानीय मासाई समुदायमा जन्मिएर हुर्केका पापाटिटीले भने, त्यहाँ साइनाइड संलग्न हुने ‘कुनै उपाय छैन’ उनले भने । उनले त्यहाँ अन्य कुनै जनावर नमरेको औँल्याउँदै केडब्ल्यूएसको प्रारम्भिक निष्कर्ष सार्वजनिक रूपमा अस्वीकार गरे । उनी थोरै स्थानीय आवाजमध्ये एक हुनुहुन्छ जसले यो दावी गरेका छन् ।

    त्यहाँ विशेष गरी, कथित विषाक्त शव खाएका सफा गर्ने जनावर वा झिंगा मरेका छैनन् । जुन विषाक्त जनावर खाएपछि सामान्यतया मर्छन्।
    “यदि अर्को जनावरले त्यो शव खान्छ र मर्दैन भने, निश्चित रूपमा त्यो रसायन होइन,” काजियाडो काउन्टी अधिकारीहरूका लागि अम्बोसेली पारिस्थितिकी तंत्र प्रबन्धक जोएल न्याइकाले एएफपीसँग भने ।


    उनले केडब्ल्यूएसले अगाडि सारेको सिद्धान्त पनि अस्वीकार गरे । उनले भने, “साइनाइड कुनै प्रकारको पातबाट आएको हुन सक्ने दावी अस्वीकार्य छ किनकी त्यस षेत्रमा अन्य जनावर मरेका छैनन् । न्याइकाले भने, “वन्यजन्तु प्रबन्धकका रूपमा हामी विश्वास गर्छौं कि यो यी हात्तीलाई मात्र असर गर्ने रोग हुन सक्छ।”

    अगस्ट ७ मा केडब्ल्यूएसले ‘अहिलेसम्मका निष्कर्षले सङ्क्रामक वा सर्ने रोग नदेखाएको’ बताउँदै पर्यटकहरूले भ्रमण जारी राख्न सक्ने आश्वासन दियो।
    तर किमाना आरिजर्भमा एएफपी पत्रकारहरूले बुधबार छ वटा शव देखेका बताए । तीमध्ये केही नयाँ केही पुराना थिए । उनीहरूमा मृत्युपूर्व आंशिक पक्षघात देखेको स्थानीय बनपालेले जनाएका छन् ।

    –मृत्यु हुने क्रम जारी–

    केही मृत्यु केही दिनअघि मात्र भएका थिए। तीमध्ये हात्तिको एउटा चार महिनाका छावाको शव आधा हाइनाले खाएको र आधा भाग झिंगाले घेरिएको थियो । लगभग एक दर्जन गिद्धहरू गर्भवती पोथी हात्तीको अवशेष खाँदै थिए, जो लगभग पूर्ण अवधिमा मरेकी थिइन् तर उनको पेटमा छावा थियो ।

    संरक्षणवादी र ‘वाइल्डलाइफ डाइरेक्ट’की प्रमुख पौला काहुम्बुले कीटनाशक सिद्धान्तलाई समर्थन गर्ने ‘प्रमाणको अभाव’ औंल्याउनुभयो । एएफपीसँगको अन्तर्वार्तामा उहाँले वयस्क नर हात्ती थोरै मरेको उल्लेख उनले गरे । जबकि बाली आक्रमण गर्ने सम्भावना सबैभन्दा बढी उनीहरूमा हुन्छ।

    ओल्गुलुलुइका पापाटिटीले जानाजानी विषाक्तता दिइएको दावीपनि अस्वीकार गरे । उनी व्यक्तिमा दोष लगाउनेभन्दा कारण पत्ता लगाउनेमा जोड दिनुपर्ने बताउँछन् । “हाम्रा हात्ती केले मारिरहेको छ भन्ने जान्न आवश्यक छ।” मृत्युको संवेदनशीलताले वन्यजन्तु समुदायलाई डराएको छ, धेरै वातावरणीय संगठनले पूर्ण अनुसन्धानको मागबाहेक एएफपीलाई टिप्पणी गर्न अस्वीकार गरे भने ‘किमाना आरिजर्भ’का रेञ्जरहरूले बोल्न अधिकार नभएको बताए। पापाटिटीले मृत्यु सङ्ख्या कम आँकिएको र यो रोग छिमेकी तान्जानियाका हात्तीलाई पनि असर गरिरहेको हुन सक्ने डर व्यक्त गरे र भने, “हामी यो रोक्न सक्नुअघि कति हात्ती मर्नेछन् ? अझै थाहा छैन ।”

  • विवादित टापुमा पुटिनको भ्रमणको जापानद्वारा विरोध

    विवादित टापुमा पुटिनको भ्रमणको जापानद्वारा विरोध

    मस्को, २९ साउन (रासस–एएफपी) । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रूसको सुदूर पूर्वी कुरिल टापुमा पहिलोपटक भ्रमण गरेका छन् । यसको जापानले विरोध जनाएको छ । जापानले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्छ । रूस–जापान सम्बन्ध लामो समयदेखि टापुका बिषयले विवादित छ । यसलाई जापानमा उत्तरी क्षेत्र भनिन्छ र यसलाई तत्कालिन सोभियत सङ्घले सन् १९४५ मा कब्जा गरेको थियो।

    क्रेमलिनले कुरिलका चार मुख्य टापुमध्ये एकमा पुगेको पुटिनको भिडियो पोस्ट गरेको छ । रूसी सञ्चारमाध्यमका अनुसार उहाँले माछा प्रशोधन प्लान्टको भ्रमण गरेको बताएका छन् । यो २०१० मा दिमित्री मेदभेदेभपछि रूसली राष्ट्रपतिको पहिलो भ्रमण हो । “उत्तरी क्षेत्र ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुन दुवै दृष्टिले जापानको अभिन्न भाग हो,” जापानी प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकारहरूसँग भनिन् ।


    “रूसी राष्ट्रपति पुटिनको भ्रमणले ‘जापानी जनताको भावना’लाई ठेस पु¥याएको छ र पूर्ण रूपमा अस्वीकार्य छ”, उनले भनिन्, “यसले ‘मध्यमदेखि दीर्घकालसम्म सम्बन्ध पुनस्र्थापना’ गर्न अझ कठिन बनाएको छ।” पुटिन बुधबार रूसी नौसेना अभ्यास गरिरहेको नजिकैको रूसी टापु साखालिन भ्रमण गरेपछि कुरिल गएका हुन् ।


    राष्ट्रपति पुटिनको भ्रमणबारे रूसी समाचार संस्था ‘आरआईए नोभोस्ती’ले लेखेको छ, “साखालिनमा ७३ वर्षीय पुटिनले ‘रूसका पूर्वी सीमाको सुरक्षा सुनिश्चित गर्ने’ बैठक गरेका थिए । बिहीबार नै जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीले जापानका लागि रूसका राजदूत निकोलाई नोज्द्रेभलाई बोलाई पुटिनको आकस्मिक कदमविरुद्ध ‘कडा विरोध’ जनाएको छ।

    मोटेगीले बैठकमा राजदूतलाई पुटिनको भ्रमणले ‘जापान–रूस सम्बन्धमा अत्यन्त नकारात्मक प्रभाव पार्ने’ बताएका थिए । जापानी मन्त्रालयको वक्तव्य अनुसार यसले मस्कोको युक्रेन आक्रमणले पहिले नै जटिल बनेको सम्बन्धलाई थप विवादमा पारेको छ ।

    युक्रेन प्रतिबन्ध –

    जापान र रूसले सन् १९०४ र सन् १९०५ मा युद्ध लडेका थिए । तर त्यसबीचको सम्बन्ध सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको द्वन्द्व सुरु भएयता बिग्रिएको छ । जापानले अन्य जी–७ देशहरूसँग मिलेर रूसमाथि प्रतिबन्ध लगाएको छ र किएभलाई पैसा तथा घातक नहुने रक्षा सहायता दिएको छ।
    पुटिनले बुधबार जापानका प्रतिबन्धलाई ‘उत्तेजित नगरिएको’ भनी प्रतिक्रिया दिएका छन् ।


    नेता पुटिनले भने, “जापानले रूसलाई खतराको मुख्य स्रोतका रूपमा पहिचान गरेको छ । म औँल्याउन चाहन्छु कि हामी जापानलाई धम्की दिइरहेका छैनौँ । यसले हाम्रो देशविरुद्ध क्षेत्रीय दाबी गरेको छ ।” रूस र चीन पनि नजिक आएका छन्, उनीहरूका नौसेना र वायुसेनाले जापान वरपरका क्षेत्रमा संयुक्त अभ्यास गर्दै जापानी युद्धक जेटहरूलाई बारम्बार उडान गर्नुपर्ने कारण निम्त्याएका छन्।

    उत्तर कोरियाले यस महिना जापानको सैन्य निर्माणलाई ‘युद्ध राज्यमा रूपान्तरण’ भनेको छ र यसले पनि रूसलाई युक्रेनविरुद्धको युद्धमा सहयोग गर्न सैनिक र तोपखाना गोली पठाएको छ । जापानको यस महिना जारी पछिल्लो रक्षा श्वेतपत्रले फेरि तीनै देशबाट बढ्दो जोखिमलाई उजागर गरेको छ।

    न्युयोर्क टाइम्सले जुलाईमा रिपोर्ट गरेको थियो,“रूसले जापानलाई ‘जासूसको अड्डा’ र युक्रेन युद्धका लागि आवश्यक दोहोरो प्रयोग प्रविधिको प्रमुख स्रोत बनाएको छ।”

    –कठोर जलवायु, थोरै मानिस–

    सोभियत सङ्घले दोस्रो विश्वयुद्धका अन्तिम दिनहरूमा होक्काइदो उत्तरको रणनीतिक रूपमा अवस्थित ज्वालामुखी द्वीपसमूह कब्जा गरेको थियो र त्यसबेलादेखि सैन्य उपस्थिति कायम राखेको छ। विवादित टापुहरू ज्वालामुखी कुरिल द्वीपसमूहको भाग हुन्, जुन रूसको कामच्यात्का प्रायद्वीपबाट जापानको मुख्य उत्तरी टापु होक्काइदोसम्म फैलिएको छ ।

    लगभग २० हजार रूसी नागरिकको जनसङ्ख्या कठोर जलवायुमा रहेको यसै क्षेत्रमा बसोबास गर्छ तर टापुहरूमा सुन र चाँदीलगायत खनिजको भण्डार छ र यो माछा समृद्ध क्षेत्र हो । सन् १९४५ मा टापुहरू कब्जा भएपछि मस्कोले लगभग १७ हजार जापानी जनसङ्ख्यालाई निर्वासन गरेको थियो।

    त्यसपछि टापुहरूले रणनीतिक महत्त्व पाए, शीतयुद्धका बेला सोभियत सङ्घले संयुक्त राज्य अमेरिका र जापानसँग सामना गर्दा वायु र समुद्री आधार उपलब्ध गराए। टोकियो विश्वविद्यालयको सार्वजनिक नीति स्नातक विद्यालयका प्राध्यापक यी कुआङ हेङले भने, “कुरिललाई बास्टियन तटीय रक्षा मिसाइल प्रणाली र एसयू–३५ लडाकु विमानले सुदृढ बनाइएको छ। यसले रूसलाई क्षेत्रका समुद्री मार्गमा नियन्त्रणका उपकरणका साथै टापुमा जापानको दाबीविरुद्ध शक्ति दिन्छ ।” नेता पुटिनको भ्रमण उनले बोकेका कार्डहरू र युक्रेन आक्रमणपछि जापानले रूसमाथि लगाएका निरन्तर प्रतिबन्धप्रति उनको असन्तुष्टिको सम्झना हुन सक्छ,” हेङले एएफपीसँग भने ।

  • अफगानिस्थानमा ५०० किलोग्रामको सोभियतकालिन विस्फोटक पदार्थ फेला : प्रहरी

    अफगानिस्थानमा ५०० किलोग्रामको सोभियतकालिन विस्फोटक पदार्थ फेला : प्रहरी

    गजनी, अफगानिस्तान, २९ साउन (रासस–एएफपी) । पूर्वी अफगानिस्तानको निजी बगैँचामा ५०० किलोग्राम तौलको विस्फोट नभएको सोभियतकालीन बम फेला परेको प्रहरीले बिहीबार पुष्टि गरेको छ । संयुक्त राष्ट्रसङ्घ खानी नियन्त्रण सेवाका अनुसार सन् १९८९ मा सोभियत सेना फिर्ता भएयता युद्धका विस्फोटक अवशेष र बारुदी सुरुङबाट ४५ हजारभन्दा बढी अफगान मारिएका वा घाइते भएका छन् ।

    “बुधबार प्रत्यक्षदर्शी एक स्थानीय बासिन्दाले आफ्नो घरको आँगनभित्र बगैँचा क्षेत्रमा शङ्कास्पद वस्तु’ फेला पारेका थिए,” गजनी प्रान्तका प्रहरी प्रवक्ता खालिद सरहादीले भने । सूचना लगत्तै सुरक्षा बल र ‘डेनिस रिफ्युजी काउन्सिल’को वम निस्क्रिय पार्ने टोली सिर गाउँको घरमा गएको सरहादीले एएफपीलाई बताए ।
    “सोभियत कालको ५०० किलोग्राम बम भएको पुष्टि भएपछि यसलाई पहाडी क्षेत्रमा लगेर सुरक्षित रूपमा विस्फोट गराइएको थियो,” प्रहरी प्रवक्ता सरहादीले थपे । सोभियत सेना लगभग एक दशक लामो कब्जापछि अफगानिस्तानबाट फिर्ता भएको थियो, तर त्यसपछि अफगानिस्तानमा लगातार युद्धहरू भएका थिए ।

    “देशभर विस्फोट नभएका गोलाबारुद बाँकी रहे पनि समस्या समाधानका लागि तैनाथ गरिएका टोलीको सङ्ख्या विगत दुई वर्षमा ६४ प्रतिशतले कटौती गरिएको छ,” अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनको विष्फोटक पदार्थ नियन्त्रण शाखाका प्रमुख निक पन्डले जुनमा एएफपीसँग भने । बताउनुभएको थियो ।

  • अफगान नगर प्रमुखको वम आक्रमणमा मृत्यु

    अफगान नगर प्रमुखको वम आक्रमणमा मृत्यु

    काबुल, २९ साउन (रासस–सिन्ह्वा) । अफगानिस्तानको उत्तरपूर्वी बदख्शान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबीब उर रहमान मन्सूर बिहीबार बम आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यम तोलो न्यूजले जानकारी गराएको छ। मन्सूर पछिल्ला दुई हप्तामा प्रान्तमा आक्रमणमा मारिएका दोस्रो स्थानीय अधिकारी हुन् । यसअघि, प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख जबीउल्लाह अमिरीको दुई हप्ताअघि सशस्त्र व्यक्तिहरूद्वारा हानेको गोली लागी मृत्यु भएको थियो । अफगान सरकारले अहिलेसम्म घटना पुष्टि गरेको छैन।

  • चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

    चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

    बेइजिङ, २९ साउन (रासस–एएफपी) । चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधनसँगै चीनको आर्थिक रूपान्तरणको एक महत्त्वपूर्ण अध्यायको अन्त्य भएको छ ।

    सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार रोगबाट पीडित उनको उपचारका क्रममा बुधबार बिहान बेइजिङमा निधन भएको हो । चीनका शीर्ष राजनीतिक निकायले संयुक्त रूपमा जारी गरेको शोक सन्देशमा उहाँको जीवनलाई क्रान्ति, सङ्घर्ष र गौरवसँग जोडिएको जीवनका रूपमा चित्रण गरिएको छ ।

    शोक सन्देशमा उनले जनताको सेवामा आफ्नो जीवन पूर्ण रूपमा समर्पित गरेको र कम्युनिस्ट उद्देश्यका लागि योगदान दिएको उल्लेख छ । उनको निधनलाई पार्टी र देशका लागि ठूलो क्षतिका रूपमा वर्णन गरिएको छ । झु सन् १९९८ मा चीनको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीका रूपमा उनले कडा निर्णय लिन सक्ने र बजारमुखी आर्थिक सुधारप्रति दृढ नेताका रूपमा आफ्नो पहिचान बनाए । उनको कार्यकालमा चीनले राज्यनियन्त्रित अर्थव्यवस्थाबाट बजारमुखी आर्थिक प्रणालीतर्फ तीव्र गतिमा अघि बढ्ने महत्त्वपूर्ण कदम चालेको थियो ।

    उनका प्रमुख सुधारमध्ये लामो समयदेखि घाटामा रहेका राज्य स्वामित्वका उद्योगलाई निजीकरण गर्ने व्यापक कार्यक्रम, सहरी आवास प्रणालीमा सुधार तथा घरको स्वामित्वलाई प्रोत्साहन गर्ने नीति प्रमुख थिए । ती सुधारले चीनको आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याउनुका साथै निजी क्षेत्र र उपभोक्तामुखी अर्थतन्त्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेले ।

    झुको कार्यकालमा भएका सुधारले रियल स्टेट तथा निर्माण क्षेत्रमा तीव्र विस्तारको आधारसमेत तयार गरेको थियो । सन् २०२० मा गम्भीर ऋण सङ्कट देखिनुअघि चीनको अर्थतन्त्रको करिब एकचौथाइ हिस्सा यसै क्षेत्रसँग सम्बन्धित भइसकेको थियो । यद्यपि पछिल्ला वर्षमा यही क्षेत्र चीनको अर्थतन्त्रका लागि प्रमुख चुनौतीमध्ये एक बनेको छ ।

    उनलाई सन् १९९७ मा देखिएको एसियाली वित्तीय सङ्कटको प्रभावबाट चीनलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय पनि दिइन्छ । त्यसबेला क्षेत्रका धेरै अर्थतन्त्र गम्भीर वित्तीय समस्यामा परेका थिए । चीनले भने आफ्नो मुद्रा तथा अर्थतन्त्रलाई तुलनात्मक रूपमा स्थिर राख्न सफल भएको थियो । झुको अर्को महत्त्वपूर्ण योगदान चीनलाई विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्य बनाउने वार्तासँग जोडिएको छ । उनले सन् २००१ मा चीनको डब्लुटिओ प्रवेशका लागि भएको वार्तामा महत्त्वपूर्ण नेतृत्व गरेका थिए । चीनको विश्व व्यापार सङ्गठनमा प्रवेशलाई माओत्सेतुङको नेतृत्वमा लामो समयसम्म बाहिरी विश्वबाट अलग रहेको अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने ऐतिहासिक कदमका रूपमा लिइन्छ ।

    उनका आर्थिक सुधारले लाखौँ चिनियाँ नागरिकलाई गरिबीबाट माथि उठाउन योगदान पुर्‍याए पनि त्यससँगै आय तथा सम्पत्तिको असमानता बढेको आलोचना पनि भयो । बजारमुखी सुधारको यही धारणा पछि चीनको राजनीतिक नेतृत्वमा क्रमशः कमजोर हुँदै गयो । सन् २०१२ मा सी जिनपिङ सत्तामा आएपछि चीनले अर्थतन्त्रमा राज्यको भूमिकालाई पुनः बलियो बनाउँदै थप सन्तुलित विकासमा जोड दिन थाल्यो । सी नेतृत्वले अनियन्त्रित पुँजी विस्तारको आलोचना गर्दै एकाधिकारवादी व्यवहार मानिएका ठूला निजी कम्पनी तथा अत्यधिक विस्तार भएको घरजग्गा क्षेत्रमाथि समेत कडाइ गरेको छ ।

    झुको निधनपछि जारी शोक सन्देशमा उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका उत्कृष्ट सदस्य, लामो समयदेखि परीक्षित र वफादार कम्युनिस्ट योद्धा तथा पार्टी र राज्यका उत्कृष्ट नेतामध्ये एकका रूपमा वर्णन गरिएको छ । शोक सन्देशमा झुको क्रान्तिकारी भावना, उच्च चरित्र र असल आचरणबाट सिक्दै वर्तमान नेतृत्वप्रति अझ नजिकबाट एकताबद्ध हुन आह्वान गरिएको छ । यसबाट उनीप्रति पार्टीको औपचारिक सम्मान र चीनको आर्थिक इतिहासमा उनको भूमिकालाई दिइएको महत्त्व स्पष्ट हुन्छ ।

    झुको निधनको समाचार सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उनको नाम छिट्टै शीर्ष प्रवृत्तिमध्ये परेको थियो । समाचार सार्वजनिक भएको केही घण्टामै यससम्बन्धी सामग्री १९ करोडभन्दा बढी पटक हेरिएको थियो । वेइबोमा धेरै प्रयोगकर्ताले उनलाई चीनको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान दिने प्रधानमन्त्रीका रूपमा सम्झिएका छन् । एक प्रयोगकर्ताले उहाँलाई ‘जनताको असल प्रधानमन्त्री’ भन्दै श्रद्धाञ्जलि दिएका थिए । उक्त टिप्पणीमा १७ हजारभन्दा बढी लाइक आएको थियो । अन्य प्रयोगकर्ताले पनि उनको सम्झनामा मैनबत्तीका इमोजी प्रयोग गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

    झु रोङ्जीको राजनीतिक विरासत चीनको तीव्र आर्थिक रूपान्तरणसँग गहिरोसँग जोडिएको छ । उनले नेतृत्व गरेको बजार सुधारले चीनलाई विश्व अर्थतन्त्रको केन्द्रतर्फ अघि बढाउन महत्त्वपूर्ण आधार तयार पारेको थियो । उनका कतिपय नीतिले पछिल्ला वर्षमा नयाँ चुनौतीसमेत जन्माए पनि चीनलाई विश्व बजारसँग जोड्ने प्रक्रियामा उनको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिन्छ ।

  • एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

    कास्की, २९ साउनः जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो । प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । प्रतियोगितामा नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले बलियो चुनौती पेस गर्दै छन् ।


    ‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका दुवै खेलाडी एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण गरिरहनुभएको छ । नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरले खेलाडीलाई अभ्यास गराइरहेका छन् । विजयले लामो समयदेखि तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा काम गरे । तमोर नदीको तीव्र बहाव, जोखिमपूर्ण जलयात्रा र कठिन परिस्थितिमा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने क्रममा हासिल गरेको अनुभवले उनलाई अहिले एसियाली खेलकुदसम्म डोहोर्याएको छ ।

    गाइडका रूपमा सिकेको अनुभव र सीपलाई खेलकुदमा रूपान्तरण गर्दै विजय अहिले नेपालको प्रतिनिधित्व गर्दै छन् । “तमोर नदीमा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने जिम्मेवारीबाट म अहिले एसियाकै ठूलो प्रतियोगितामा सहभागी हुँदैछु । ¥याफ्टिङ गाइडका रूपमा नदीसँग गरेको अभ्यासले क्यानोइङमा धेरै सहयोग गरेको छ”, विजयले भने ।


    विजयसँगै आशिष रानामगरले पनि नेपाली टोलीमा स्थान बनाएका छन् । दुवै खेलाडीले कायक स्लालम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक मगरले बताए । उनका अनुसार प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमतामा विशेष ध्यान दिइएको छ । फेवाताल तथा आसपासका क्षेत्रमा नियमित प्रशिक्षणसँगै खेलाडीलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धाको वातावरणअनुसार तयार पार्ने काम भइरहेको मगरले बताए ।


    उनले भने, “एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार पार्न आवश्यक हुन्छ । सोहीअनुसार प्रशिक्षणलाई अगाडि बढाइरहेका छौँ ।” फेवातालमा हुने नियमित प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन र प्रशिक्षणको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेको मगरले बताए ।

    नेपालका नदी तथा ताल मनोरञ्जन र पर्यटनका आकर्षणमात्र नभई अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक प्रशिक्षणस्थल बन्न सक्ने प्रशिक्षक मगरले बताए । एसियन गेम्समा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ ।

  • स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

    रासस
    मुस्ताङ, २९ साउनः आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको हो ।

    राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक ऐतिहासिक रूपमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सङ्घीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहलाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको उनले बताए । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ । साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणापत्र २०८३ जारी गरिनेछ ।

    सम्मेलनका लागि छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई एकैसाथ लिखित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिएका समस्या, विपद् तथा प्रभाव पहिचान गर्दै त्यसको न्यूनीकरणका उपाय र रणनीतिबारे छलफल हुनेछ । कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा बसेर बृहत् छलफल गरी हिमाली जिल्लाका तर्फबाट जलवायु घोषणापत्र जारी गर्ने तयारी गरिएको छ ।

    सम्मेलनबाट जारी हुने साझा घोषणापत्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज बुलन्द गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तनका असरसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ । त्यसका लागि सबै स्थानीय तहलाई भदौ १५ गतेभित्र जलवायु परिवर्तनका असर झल्कने तस्बिर पठाउन अनुरोध गरिएको छ । स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसमेत उल्लेख गरी सोही मितिभित्र मस्यौदा पठाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।


    गाउँपालिकासँग भगिनी सम्बन्ध जोडिएका स्थानीय तह तथा मुस्ताङका अन्य स्थानीय तहको सहयोगमा सम्मेलनको तयारी भइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता प्राकृतिक विपद् बढिरहेका छन् । कृषि, पशुपालन, धर्मरसंस्कृति तथा जैविक विविधतामा समेत जलवायु परिवर्तनको ठूलो असर परेको छ ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान हिमपात हुने, खानेपानीका मुहान सुक्दै जाने, चरन क्षेत्र घट्दै जाने तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने समस्या देखिएको छ । यसले पशुपालन व्यवसायसमेत प्रभावित हुन थालेको छ ।

  • खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ, २९ साउनः जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२–८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो ।

    प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाहको मुद्दा सम्बोधन गरिएको छ ।

    यस्तै, गर्भ संरक्षणविरुद्धको कसुर, लागुऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैंकिङ कसुर, पशुपन्छीसम्बन्धी कसुर, जुवा तथा मानव बेचबिखनलगायतका ८४ वटा मुद्दा फछ्रर्योट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार यसअघि आव २०८०–८१ मा २१५ वटा मुद्दा दर्ता भएकामा २१५ वटै फछ्रर्योट भएका थिए । आव २०८१–८२ मा १२० वटा मुद्दा दर्ता भएकामा ९९ वटा फछ्रर्योट भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ । त्यस्तै, आव २०८२–८३ मा जिल्लामा ७२ जनाले आत्महत्या गरेका छन् । महिला तथा बालबालिकाविरुद्धका मुद्दा आव २०८०–८१ मा ३७, २०८१र८२ मा ४७ र २०८२–८३ मा २६ वटा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    जिल्लामा ३१ महिला, १२ पुरुष र २२ बालबालिका गरी ६५ जना हराएकामा सबै फेलापरेको प्रहरीले जनाएको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट हराएका व्यक्तिको हताहतमा प्रहरी परिचालन गरेर खोजी गरी सम्बन्धित व्यक्ति तथा परिवारलाई बुझाइएको छ । त्यस्तै, ८६ वटा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् । पटकपटक दुर्घटना गराउनेमध्ये एक जना सवारी चालकलाई निलम्वनका लागि सिफारिस गरिएको छ ।

    प्रहरीले दिएको तथ्याङ्कअनुसार गत आवभरिमा ६७८ वटा उजुरी तथा निवेदन कार्यालयमा प्राप्त भएको छ । आकस्मिक सहायताका लागि दुई हजार ४४० वटा कल आएको तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७४० वटा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन र ओसारपसार नियन्त्रणबाट रु एक लाख ५५ हजार ३०० राजस्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रशासन, डिभिजन वन तथा सम्बन्धित कार्यालयसँगको समन्वयमा उक्त राजस्व रकम सङ्कलन गरिएको प्रहरीले जनाएको छ । जिल्लाको शान्तिसुरक्षा थप मजबुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आफूहरू सक्रियतापूर्वक लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    नागरिकसँग प्रहरीको सम्बन्धलाई अझ सुदृढ बनाउनेतर्फ प्राथमिकता दिने, समुदायसँगको सहकार्य बढाउँदै अपराध न्यूनीकरण तथा नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रहरीको प्रमुख दायित्व भएकाले सोहीअनुसार अगाडि बढेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।

  • रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पा, २९ साउनः रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

  • बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

    बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

    बाजुरा, २९ साउनः अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् । गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् । त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको छ ।


    उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ ।

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

    काठमाडौँ, २८ साउनः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेको जनाएको छ । बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको पनि राष्ट्र बैंकको स्पष्टोक्ति छ ।

    जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा विद्यमान बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा राष्ट्र बैंकबाट थप छलफल तथा कानुनी राय लिइने जनाएको छ । राष्ट्र बैंकले कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने व्यहोरा समेत जानकारी गराएको छ ।