Category: समाचार

  • कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    मुस्ताङ, २६ साउनः उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

    विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । कोरला क्षेत्रमा कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात र निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण समयमै सम्पन्न हुन सकेको थिएन ।

    पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता र कारबाही गरिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा ढिलै भए पनि पुल निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख शर्माले बताए । निर्माण कम्पनीले पुल निर्माणमा बेवास्ता र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार छ महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो ।

    पटकपटक म्याद थप हुँदै आएको घमी खोला पुलका लागि सार्वजनिक खरिद ऐनको १५औँ संशोधन आएपछि निर्माण कार्य सहज भएको आयोजना प्रमुख शर्माले बताए । सम्झौताअनुसार २०७८ साल पुस ९ गतेभित्र सम्पन्न हुनुपर्ने घमी खोला पुलको पटकपटक म्याद थप हुँदै आएको थियो । आयोजना र लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोबसाङ छोम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको पाँच वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ ।

    मुस्ताङको कोरोला नाका जोड्ने ४० मिटर लामो पुलको ठेक्का सम्झौता लागत रु छ करोड ८० लाख रहेको थियो । पुलको दायाँबायाँ पिलर फाउन्डेसन, स्ल्याब ढलान तथा घमी खोलामा पुल जोड्ने प्रोटेक्सन र एप्रोच सडक निर्माणलगायत पुल फिनिसिङका काम सम्पन्न भएका छन् । यससँगै कोरोलानाकातर्फको आवतजावत सहज भएको आयोजनाले जनाएको छ ।

    यसअघि बर्खायाममा घमी खोलामा पानीको बहाव बढ्दा कोरोलाना र उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन तथा मालवाहक कन्टेनरलाई समस्या हुने गरेको थियो । चीनबाट कोरोला नाका हुँदै पैठारी गरिएका सामान बोकेका मालवाहक कन्टेनर घमी खोला पुल नहुँदा हप्तौँसम्म रोकिनुपर्ने अवस्था थियो ।

    गत वर्ष मालवाहक कन्टेनरको आवतजावत सहज बनाउन व्यापारी र गाउँपालिकाको सहयोगमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए । ढिलै भए पनि निर्माण कम्पनीले पुलको काम सम्पन्न गरेपछि बाह्रै महिना सडक आवागमन सहज भएको अध्यक्ष विष्टले बताए ।


    पुल निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा पुलको समेत उद्घाटन गरिएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्ष मुस्ताङको कैकु, सेतु खोला र लार्जुङ खोलामा पक्की पुल निर्माण सम्पन्न गरेको थियो । चालु वर्ष पनि कोरोला नाका सडकलाई थप सहज बनाउन मुस्ताङको घट्टे खोला र थापा खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । यसैगरी, मुस्ताङको छुसाङदेखि घमीसम्मको सडक कालोपत्रका लागि रु दुई अर्बको बोलपत्र आह्वान गरिएको छ ।

  • कैलालीमा छोटी भन्सार पुनःसञ्चालनको माग

    कैलालीमा छोटी भन्सार पुनःसञ्चालनको माग

    कैलाली, २६ साउनः कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ । कैलालीका सात स्थानीय तहका जनप्रतिनिधि र भजनी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि बन्द रहेको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय तत्काल पुनःसञ्चालन गर्न माग गरेका हुन् ।

    विसं २०२२ देखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार कार्यालयलाई सरकारको निर्णयअनुसार बन्द गरिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । लामो समयदेखि सञ्चालनमा रहेको सो भन्सार कार्यालय हटाइएपछि हाल सेवा अवरुद्ध भएको र यसबाट स्थानीय नागरिकले समस्या भोग्नुपरेको जनाइएको छ । भन्सार कार्यालय बन्द हुँदा कैलाली जिल्लाका सम्बन्धित स्थानीय तहका तीन लाखभन्दा बढी नागरिक, कृषक, व्यापारी तथा उद्योगीलाई ठूलो सास्ती भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

    भन्सार कार्यालय पुनःसञ्चालनका लागि भजनी नगरपालिकाले यसअघि नै भन्सार विभाग, त्रिपुरेश्वरमा पत्राचार गरिसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सो भन्सार कार्यालयले भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, बर्दगोरिया, कैलारी र जानकी गाउँपालिकाका तीन लाखभन्दा बढी नागरिक, व्यापारी, उद्योगी तथा कृषकलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कार्यालयले राजस्व सङ्कलन वृद्धि तथा राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको ज्ञापनपत्रमा उल्लेख छ ।

  • देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, २६ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।

    मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

    विभागको मौसम बुलेटिनका अनुसार देशको हिमाली भू–भागका केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

  • सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक बेपत्ता, एक घाइते

    सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृमा क्षति : एक बेपत्ता, एक घाइते

    सन्तोष गौतम\रासस

    म्याग्दी, २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । आज विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।

  • उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    बागलुङ २६ साउनः लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ ।विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ । विभागले यही साउन २० गते उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा रहेको नेपालकै सस्तो जलाशययुक्त जलविद्युत् परियोजना अघि बढ्ने आशा पलाएको हो ।

    सरकारले चालु आर्र्थिक वर्षमा नै सो आयोजना निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ । कुल ८२८ मेगावाट क्षमताको सो आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी बद्री कुइँकेलले जानकारी दिए । बागलुङको ढोरपाटन नगरपालिकास्थित ढोरपाटन उपत्यकामा उत्तरगङ्गाको पानी जम्मा गरी निसीखोलामा झारेर विद्युत् उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । विभागले आयोजनास्थल रहेको ढोरपाटन र निसीखोलालाई पत्राचार गरिसकेको छ । अनुमतिपत्रसँगै उत्तरगङ्गा नदीको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गर्ने यसअघिको स्वीकृत परियोजना संरचनाले औपचारिकता पाएको छ ।

    आयोजनाको पानी भेरीतर्फ लैजाने वा निसीखोलातर्फ फर्काउने भन्ने लामो समयदेखिको विवाद समाधान नहुँदा समस्या भएको थियो । पछिल्लो निर्णयअनुसार, अब उत्तरगङ्गा नदीको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गरिनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदन भने २०८० माघ २ गते नै स्वीकृत भएको थियो । उक्त प्रतिवेदनले पनि उत्तरगङ्गा नदीको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गर्ने निष्कर्ष निकालेको थियो ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगङ्गा पावर कम्पनी लिमिटेडले विकास गरिरहेको यो आयोजना जलाशययुक्त तथा अन्तरजलाधार स्थानान्तरण परियोजनाका रुपमा रहेको छ । उत्तरगङ्गा नदीमा अग्लो बाँध निर्माण गरी जलाशयको पानी छ दशमलव ५१ किलोमिटर लामो मुख्य सुरुङमार्फत निसीखोलातर्फ फर्काइने छ ।

    सरकारले ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजनासहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको यसै वर्ष वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्न सकिने नेपालकै सस्तो परियोजनाका रुपमा सो आयोजनालाई लिइन्छ ।

  • विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

    विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

    काठमाडौँ, २६ साउन । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाएका हुन् ।

    महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको रु १३ खर्ब बराबरको लगानी र यसमा आश्रित ४० लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नु माग गरेको हो । महासङ्घले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, मोटर बिमादर निर्देशिका २०७३ लाई समयसापेक्ष परिमार्जन गर्न र बिमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ ।

    यस्तै, इन्धन (डिजेल÷पेट्रोल) मा प्रतिलिटर एक रुपैयाँ र विद्युतीय सवारीमा प्रतियुनिट एक रुपैयाँ अतिरिक्त शुल्क उठाएर ‘दुर्घटना राहत कोष’ बनाउन प्रस्ताव गरेको छ । बिमा प्रिमियमको एक प्रतिशत र सरकारको तर्फबाट पनि रकम छुट्याइ कोष सुदृढ गर्न माग गरेको छ । महासङ्घले सवारी आयातमा कडाइ, भारतीय मालवाहक र यात्रुवाहक सवारीलाई दिइँदै आएको ७२ घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड दिएको छ ।

    यसैगरी, प्रविधिमैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासका लागि शक्तिशाली ‘यातायात प्राधिकरण’ गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर सञ्चालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन् । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा वाग्लेले यातायात क्षेत्रका जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए । उनले मन्त्रालयले व्यवसायीको मागका सम्बन्धमा आवश्यक अध्ययन गरी उचित कदम चाल्ने आश्वासन दिए ।

  • बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    काठमाडौँ, २६ साउनः बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा(एमाले)का सचेतक निता घतानी, नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।


    दर्ता गरिएको प्रस्तावमा बाँदर र बँदेलका कारण किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख छ । यो समस्या अब मानव–वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा जनाइएको छ । प्रस्तावक केरुङका अनुसार सरकारले बाँदर तथा जङ्गली बँदेल व्यवस्थापनका लागि समयसीमा र आवश्यक बजेटसहित सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुनेगरी राष्ट्रिय कार्ययोजना बनाउनुपर्छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा गरिएको अध्ययनले बाँदरबाट भइरहेको क्षतिको अवस्था गम्भीर रहेको देखाएको प्रस्तावमा उल्लेख छ । अध्ययनअनुसार अत्यधिक प्रभावित ४४ स्थानीय तहमा २० हजार ३९५ वटा रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ । मध्यपहाडी क्षेत्रमा न्यूनतम एक लाख चार हजार १३७ बाँदर रहेको अनुमान गरिएको छ । एउटा समूहमा १९८ वटासम्म बाँदर भेटिएको अध्ययनमा उल्लेख छ ।

    बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बाँदर, बँदेल र दुम्सीबाट हुने क्षति बढी देखिएको प्रस्तावमा जनाइएको छ । कोशीमा बाँदर र हात्ती तथा लुम्बिनी र मधेस प्रदेशका विभिन्न जिल्लामा बाँदर र नीलगाइका कारण किसानले समस्या भोगिरहेको उल्लेख छ । प्रस्तावक केरुङका अनुसार प्रदेशगत रूपमा पनि अवस्था चिन्ताजनक छ । गण्डकीमा मकैको ९० प्रतिशत, कर्णालीमा मकैको ८८ प्रतिशत तथा सुदूरपश्चिममा धानको ८५ प्रतिशत र गहुँको ९० प्रतिशतसम्म क्षति हुने गरेको छ ।

    प्रस्तावमा सरकारले २०८१ फागुनमा भएको संसदीय छलफलपछि गरेका निर्णय, अध्ययन, खर्च, कार्यक्रम र उपलब्धिको एकीकृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने माग गरिएको छ । साथै, राष्ट्रिय कार्ययोजनाको प्रगति प्रत्येक तीन महिनामा सम्बन्धित संसदीय समितिमा पेस गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । मानव–वन्यजन्तु द्वन्द्वलाई कुनै गाउँ, स्थानीय तह वा सत्ता पक्ष–प्रतिपक्षको मात्र समस्या नभई राष्ट्रिय सामाजिक, आर्थिक र राजनीतिक समस्याका रूपमा समाधान गर्नुपर्ने प्रस्तावमा जनाइएको छ ।

    प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागलाई सम्बन्धित निकायका रूपमा तोकिएको छ ।

  • पहिरोका कारण म्याग्दी दोसल्लेका नौ घरपरिवार विस्थापित

    पहिरोका कारण म्याग्दी दोसल्लेका नौ घरपरिवार विस्थापित

    म्याग्दी, २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् । उक्त पहिरोबाट थप १८ घरपरिवार जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए ।


    “जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको टोलीले अनुगमन गर्दा चर्किएको फेकण्डोको भिर जुनसुकै समयमा खसेर पहिरो जाने आँकलन गरेर उच्च जोखिममा रहेकाका गाईबस्तुसहित सामग्रीसमेत सारिएको छ”, उनले भने, “क्षति हुन नदिनका लागि सतर्कता अपनाइएको हो ।”

    रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनको घरका सामग्रीसहित अन्य बसोबास गर्न थालेका अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिए । केही दिनअघि भिर चर्किएर पहिरो खस्न थालेपछि स्थानीय प्रेमबहादुर पाइजा, खगवीर पाइजा, शेरप्रताप पाइजा र वडा सदस्य बुद्धिवीर पुनको टोलीले फेकण्डो भिरको निरीक्षण गरी गाउँपालिका र प्रशासनलाई जानकारी गराएका थिए ।


    सूचना पाएपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले जोखियुक्त क्षेत्रको निरीक्षण र निर्णय गरी भूगर्वविद्को टोलीमार्फत अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेका छन् । टोलीले ‘ड्रोन’ क्यामेराको प्रयोग गरी पहिरोको अध्ययन गरेको थियो ।

    पहाडको शिरमा फेकण्डो भिर छ भने बीचमा रहेको जङ्गलमुनि दोसल्ले बस्ती छ । दोसल्लेको फेदी कालीगण्डकी नदी किनारमा रघुगङ्गा गाउँपालिका–१ को तिप्ल्याङ बजार छ । दोसल्लेका ६९ वर्षीय जितबहादुर पुर्जाले बाल्यकाल र युवा अवस्थामा हिँडडुल गरेको उक्त पहाडमा यसअघि चिरा परेका नदेखेको बताए ।
    “हामी घाँसदाउरा र लेकबेँसी गर्दा फेकण्डोको भिरबाटै ओहोरदोहोर गर्दथ्यौँ”, उनले भने, “अहिले पहाड चिराचिरा परेर खस्न थालेपछि त्रास सिर्जना भएको छ ।”

    स्थानीयवासी रामचन्द्र पुर्जाले भिरबाट खसेको ढुङ्गा सिधै घर र आँगनमा आउने भएकाले सामान सारेर माथिल्लो दोसल्लेका रहेको गोठमा बस्न थालेको बताए ।
    पानी नपरेको दिनमा दिउँसोको समयमा सुन्तला बगैँचा गोडमेल गर्न आउने गरेको उनले बताए । यसअघि उक्त ठाउँबाट पहिरो खसेको थिएन । यसपटक नयाँ पहिरो सिर्जना भएको छ । पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलको सुन्तला बगैँचा पनि जोखिममा परेको छ । पहिरो खसेमा तिप्ल्याङमा कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक र दोसल्ले हँुदै हिस्तान–राम्चे जोड्ने सडकमा पनि क्षति पुग्ने वडाध्यक्ष पुर्जाले बताए ।

  • ‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान

    ‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान

    काठमाडौँ, २६ साउनः साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा (खोटाङ) लाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आज आयोजित एक समारोहका बीच रु एक लाख ५० हजार नगद राशिसहितको उक्त पुरस्कार अधिकारी र सुब्बालाई प्रदान गरिएको हो ।

    साहित्यकार, पूर्वमन्त्री एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रुपमा प्रदान गरे । कार्यक्रममा पूर्वमन्त्री मानवीले नेपालको साहित्य क्षेत्रको विकासमा दाहालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कुना कन्दरमा रहेका रचनालाई रेडियो नेपालमार्फत आमजनतामाझ पु¥याउन दाहाल यज्ञनिधिको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

    पूर्वमन्त्री पोखरेलले शिक्षासँगै साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषा र साहित्यलाई अगाडि बढाउन उहाँले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे । सदनकी अध्यक्ष सुधा दाहालले भारतको मणिपुरमा रहेर शिक्षण पेसासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पु¥याएका निर्देशक नवीन सुब्बालाई सम्मान गरिएको बताए ।


    अधिकारीको ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन् । उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन् ।
    त्यसैगरी, विसं २०४० को दशकदेखि पत्रकारिता र सिनेमा समीक्षा हुँदै निर्देशनमा प्रवेश गरेका नवीन सुब्बा नेपाली मौलिक चलचित्र निर्माणका अग्रणी व्यक्तित्व हुन् ।

    उनले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ तथा ‘गाउँ आएको बाटो’जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरिसकेका छन् । उनी हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।


    दाहाल यज्ञनिधिका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा रु ५१ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ । दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुने गरेका छन् । हरेक वर्ष कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिन्छ ।

    उक्त पुरस्कार यसवर्ष आराध्या सिंह, प्रतिक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपसना बज्राचार्य र सफलबहादुर खड्कालाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २० हजार नगद र प्रमाणपत्र रहेको छ । यस वर्ष कक्षा ८ मा नेपाली विषयमा छ जनाले (फोर जिपिए) प्राप्त गरेकाले सबैलाई प्रदान गरिएको हो । दाहाल यज्ञनिधिले लामो समय अध्यापन गरेका दरबार स्कुलमा उहाँका नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो ।

    विसं २०१० साउन ८ गते खोटाङमा जन्मनुभएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) लगायत जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।

  • मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल

    मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल

    २५ साउन, काठमाडौं । मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् । गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेश प्रदेशमा देखिएको पछिल्लो तनाव, त्यसका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विस्तृत छलफल भएको थियो।

    छलफलका क्रममा अधिकांश सांसदहरूले सामाजिक सञ्जालमा प्रसारित भएका भ्रामक तथा उत्तेजना फैलाउने भिडियोका कारण सर्वसाधारणमा थप आक्रोश बढेको र त्यसले आन्दोलन चर्किनसमेत भूमिका खेलेको धारणा राखे । सामाजिक सञ्जालबाट फैलिने गलत सूचना र भ्रामक सामग्री नियन्त्रणका लागि राज्यका सम्बन्धित निकाय अझ सचेत र जिम्मेवार हुनुपर्नेमा समेत सांसदहरूले जोड दिए

    ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सभापति तथा सांसद तपेश्वर यादवले मधेशमा देखिएको पछिल्लो घटनालाई सहज बनाउन गृहमन्त्री गुरुङले खेलेको भूमिकाको प्रशंसा गरे । उनले गृहमन्त्रीको सक्रियताका कारण परिस्थिति क्रमशः सहज बन्दै गएको बताए । रास्वपाकी सांसद पुनम अग्रवालले सीमाक्षेत्रमा देखिएको कडाइलाई सहज बनाउनुपर्ने प्रस्ताव राखिन् । उनले सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट पाँच सयदेखि हजार रुपैयाँसम्मका दैनिक उपभोग्य सामान सहज रूपमा ल्याउन पाउने वातावरण बनाउनुपर्ने धारणा राखिन् ।


    छलफलमा गृहमन्त्री गुरुङले मधेश प्रदेशमा देखिएको पछिल्लो अवस्थालाई साम्य बनाउन सबै राजनीतिक दल र सांसदहरूले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा मधेशमा पुनः यस्ता प्रकारका आन्दोलन तथा तनावको अवस्था सिर्जना हुन नदिन सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


    नेपाली कांग्रेसकी सांसद रेखा यादवले पनि मधेश प्रदेशमा देखिएको परिस्थितिलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले देखाएको सक्रियताको प्रशंसा गरिन् । उनले धर्मका नाममा हुने राजनीति तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई रोक्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राखिन् ।

    छलफलमा सहभागी सांसदहरूले मधेशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, सरकार र जनप्रतिनिधिबीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। मधेशमा पछिल्लो समय देखिएका तनावपूर्ण गतिविधिलाई संवाद, सहकार्य र आपसी समझदारीमार्फत समाधान गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

  • सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    २५ साउन, काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।

    सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ । यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ ।

    सहमति पत्रमा सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ । घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ ।

    त्यसैगरी, नेपाल सरकारले मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३ सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको छ । घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ ।

  • अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

    अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

    २५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गरे ।

    “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।” अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    जलविद्युत्, पेन्ट उद्योग, होटेल र पेय पदार्थलगायतका उत्पादनमूलक क्षेत्रका विभिन्न परियोजनाहरूमा आफूहरूले लगानी विस्तारको प्रक्रिया अघि बढाएको कम्पनीका उच्च अधिकारीहरूले अर्थमन्त्रीलाई जानकारी गराए । “जलविद्युत्, खाद्य, होटेल, पेन्टजस्ता उद्योगमा हामी २०० अर्ब लगानी गर्दैछौँ,” बहुराष्ट्रिय कम्पनीका प्रमुखहरूले भने, “सरकारले अनुकूल वातावरण बनाओस्, हामी लगानी विस्तार गर्न तयार छौँ। यसले रोजगारी र अर्थतन्त्र दुवैको वृद्धिमा भूमिका खेल्नेछ।”
    नयाँ सरकारले ल्याएको बजेटले विदेशी लगानीकर्ताहरूको मनोबल उल्लेख्य रूपमा उच्च बनाएको भन्दै उनीहरुले केही नीतिगत र व्यावहारिक पाटोहरूमा भने सरकारलाई उदार बन्न आग्रह गरे ।


    “नयाँ सरकार गठन भएपछि नै उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार कार्यालयहरूको प्रशासनिक कार्यहरूमा सुधार देखिएको छ,” उनीहरुले भने, “तर, अझै केही नीतिगत घोषणा र व्यावहारिक कार्यान्वयनको पाटोमा थप सहजीकरण जरुरी छ।” उनीहरुका अनुसार सरकारले नेपालमा लगानी गरिरहेका कम्पनीहरूलाई माउ (प्यारेन्ट) कम्पनीबाट पुँजी ल्याउन सहजीकरण गर्नुपर्नेछ। सरकारले आर्थिक अपराध र फौजदारी अपराधको स्पष्ट व्याख्या गर्नुपर्ने तथा आयकर ऐनको दफा ५७ संशोधन र श्रमिक कानुन परिमार्जन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको भनाइ थियो।


    बहुराष्ट्रिय कम्पनीहरूको कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, नेपालमा उपलब्ध हुने कच्चा पदार्थ प्राप्तिमा सहजीकरण र मूल्य नियन्त्रण, जग्गाको हदबन्दी फुकुवा, स्थानीय तहपिच्छेको कर निर्धारणलगायतका विषयमा सरकारले सहजीकरण गर्न जरुरी रहेको बताइएको छ। यस्तै, औद्योगिक वातावरण राम्रो बनाउन आवश्यक पर्ने आधारभूत सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउन पनि उहाँहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

    दोहोरो करको झन्झट हटाउन र प्रतिफल फिर्ताको प्रक्रियालाई सहज बनाउन पनि उहाँहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आग्रह गरे । छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टस् जस्ता बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरूको सहभागिता थियो।


    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनसम्बन्धी छलफललाई तीव्रता दिइरहेका छन् । यसअघि उनले उत्पादनमूलक उद्योग सञ्चालन गर्ने तीन दर्जन उद्योगीहरूसँग छलफल गरेका थिए । लगत्तै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका उनले त्यसै साता नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्र विकासका सन्दर्भमा छलफल गरेका थिए ।

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

    प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसैगरी, प्रधानमन्त्री शाहसँग आजै नेपालका लागि चीनका राजदूत चाङ माओमिङले पनि भेट गरेका छन् ।

  • विपद्का घटना बढे, एकै दिन ४१ घटना

    विपद्का घटना बढे, एकै दिन ४१ घटना

    काठमाडौँ, २५ साउनः यही साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् । उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन् । विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ ।

    सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु ३८ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ । यसैबीच, गत वैशाख १ देखि यही साउन २४ गतेसम्म देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन् ।

  • गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता

    रासस
    कास्की, २५ साउनः पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन (फिडिङ) प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।

    पृथ्वीनारायण क्याम्सका ४० विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीले मरेका जनावरका हड्डी सङ्कलन तथा व्यवस्थापन, झाडी सफाइ, वनस्पतिको पहिचानका लागि ‘नेम प्लेट’ राख्ने तथा संरक्षण क्षेत्रको वातावरणीय व्यवस्थापनलगायतका काममा प्रत्यक्ष सहभागिता जनाए ।

    विद्यार्थीलाई कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै प्रत्यक्ष रूपमा संरक्षणका गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गिद्ध संरक्षणको महत्व, वनस्पति संरक्षण, जैविक विविधता र वातावरण संरक्षणका विषयमा विज्ञ तथा संरक्षण क्षेत्रमा क्रियाशील व्यक्तिले विद्यार्थीलाई आवश्यक जानकारी दिएका थिए ।

    बोटानिकल स्टुडेन्ट्स सोसाइटी पृथ्वीनारायण क्याम्पसकी अध्यक्ष कविता त्रिपाठीले एक दिनको स्वयंसेवी कार्यक्रम नयाँ, रमाइलो र सिकाइपूर्ण बनेको बताउनुभयो । “गिद्धलाई नजिकबाट अवलोकन गर्दै यसको संरक्षण, वातावरणमा यसको भूमिका र जैविक विविधता जोगाउन यसको महत्वबारे बुझ्न पाउनु विशेष अनुभव रह्यो”, उहाँले भन्नुभयो ।

    त्रिपाठीका अनुसार कार्यक्रममा विद्यार्थीले विभिन्न वनस्पतिलाई प्रत्यक्ष रूपमा फिल्डमा अवलोकन गरी पहिचान गर्नुका साथै वनस्पतिको वैज्ञानिक तथा स्थानीय नामसहित ‘ट्यागिङ’ र अभिलेखीकरण गरेका थिए ।

    जटायु संरक्षण केन्द्रका सचिव मनिष पोखरेलले पुस्तकमा पढेरमात्र संरक्षणको वास्तविक महत्व बुझ्न नसकिने भएकाले विद्यार्थीलाई प्रत्यक्ष रूपमा प्रकृति र संरक्षणको अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    “प्राणीशास्त्र र वनस्पतिशास्त्रका विद्यार्थी यहाँ सहभागी हुनुभएको छ । उहाँहरूले गिद्धको फिडिङ प्रत्यक्ष रूपमा हेर्नुभयो, संरक्षण क्षेत्रमा सरसफाइ गर्नुभयो र वनस्पतिका नेम प्लेट राख्नुभयो । यस्ता व्यावहारिक गतिविधिले विद्यार्थीमा संरक्षणप्रतिको चासो र जिम्मेवारीबोध बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ”, पोखरेलले भन्नुभयो ।

    घाचोकमा सञ्चालित जटायु संरक्षण केन्द्रले लामो समयदेखि गिद्ध संरक्षणसँगै स्थानीय समुदायमा जैविक विविधता तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्दै आएको छ । केन्द्रमा गिद्धका लागि सुरक्षित र विषरहित आहारको व्यवस्था गरी संरक्षणको प्रयास भइरहेको छ । प्राकृतिक रूपमा मरेका जनावर खाएर वातावरण सफा राख्ने भएकाले गिद्धलाई प्रकृतिको महत्त्वपूर्ण ‘सफाइकर्मी’का रूपमा लिइन्छ । पारिस्थितिक प्रणाली सन्तुलन कायम राख्न पनि गिद्धको महत्त्वपूर्ण भूमिका रहेको संरक्षणकर्मी बताउँछन् ।

  • प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

    प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

    यूएई । राष्ट्रिय प्रजातन्त्र पार्टीको यूएई संगठन प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत चयन भएका छन् । बरदुबईको गाउँबेशी रेष्टुरेण्टको सभाहलमा ५ जुलाईमा आयोजित समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

    नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, महिला उपाध्यक्षमा वसन्ती रायमाझी, उपाध्यक्षमा रामप्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा रामप्रसाद ढकाल, सचिवमा सागर दाहाल र सन्तोषकुमार न्यौपाने (सम्पत कुमार), कोषाध्यक्षमा सञ्जीव आर्यवीर, सहकोषाध्यक्षमा विजय तिवारी, सहसचिवमा अर्पणा ढुङ्गाना र बलेन्द्र मल्ल, प्रवक्तामा कृष्ण खड्का तथा सहप्रवक्तामा मित्रलाल कुँवर निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक गोपालप्रसाद पराजुलीले उक्त कार्यसमिति घोषणा गरेका थिए ।


    त्यसैगरी सदस्यहरुमा पार्वती सिग्देल, दीपा सुवेदी, छविलाल पाण्डे, टीकाराम कोइराला, ज्योती खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी छेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी र दुर्गाप्रसाद कोइराला चयन भएका छन् ।


    अधिवेशन समाजका तत्कालीन कार्यबाहक अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    वसन्ती रायमाझीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयानाथ लम्सालले विदेशमा रहेका नेपालीहरु नै राष्ट्र र राष्ट्रिताको सवालमा गम्भीर हुने उल्लेख गर्दै प्रवासी नेपालीहरुको एकता, श्रमिक अधिकार, सामाजिक सेवा तथा संस्कृति संरक्षणमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

  • धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

    धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

    रासस
    तुलसीपुर (दाङ), २५ साउनः दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ । “पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”

    उहाँले धागोबाट विभिन्न सामग्री बुन्न सुरु गर्नुभएको हो । अहिले उहाँको हातमा धागोमात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ । त्यस्तै, पूर्वीरुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आउनुभएको हो । पढाइबाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहनुभएकी उहाँको दैनिकी पनि अहिले फेरिएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उहाँले धागोबाट विभिन्न सामग्री बनाउन सिक्नुभयो ।

    “अहिले त व्यस्त भइयो”, उहाँले भन्नुभयो, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।” उहाँहरूमात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् । उनीको हातमा क्रुस र सियोमात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।

    हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकिसक्नुभएको छ । उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् । ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।

    विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिनुभयो । दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।

    उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ । सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढेको छ ।”

    उहाँका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।

    सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापारमात्रै नभई स्वरोजगार सृजना गर्नु पनि हो । उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ । “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ”, उहाँले भन्नुभयो, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”

    उहाँका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु पाँच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताउनुभयो ।

    घोराहीमा विसं २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।

    उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट सुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यममात्रै नभई आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।

  • प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

    रासस
    लमजुङ, २५ साउनः कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।

    वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुनडाँडामा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको स्थल हो । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खला तथा आसपासका मनोरम भूदृश्यावलोकन गर्न सकिन्छ । वडा नं ३ मा रहेको हर्सिङडाँडा प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक महत्व बोकेको स्थल हो ।

    राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत हर्सिङडाँडालाई लिइन्छ । ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यो स्थललाई पर्यटनसँग जोडेर विकास गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति पनि अर्को महत्त्वपूर्ण आधार हो । विभिन्न समुदायले मनाउने चाडपर्व तथा परम्परागत नाचगानले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

    घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला र संस्कृतिको संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सकिने उत्तिकै सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा यी पर्यटन तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलतर्फ आकर्षित गर्न सकिने अवस्था छ ।

    विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रीलाई स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्याउन सकिन्छ । स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँछन् । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान गरी संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके स्थानीयले त्यसबाट लाभ लिन सक्ने उनको भनाइ छ ।

    हर्सिङडाँडाको पर्यटकीय सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । ऐतिहासिक व्यक्तित्व भक्ति थापासँग जोडिएको स्थल भएकाले पर्यटक आकर्षित गर्न आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको पूर्णबहादुरले बताए । प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उनको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि थप आधार तयार हुँदै गएको छ ।

    पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासलगायतका पूर्वाधारलाई व्यवस्थित बनाउन सके यहाँको पर्यटनले थप गति लिनसक्छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी गाउँपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताउँछन् । यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उनले बताए ।


    पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको उनको भनाइ छ । “यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ”, अध्यक्ष गुरुङले भने ।

    अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना छ ।

  • प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

    प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

    काठमाडौँ, २५ साउनः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

    यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।


    त्यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् ।


    यस्तै, आजै विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ः०० बजे बस्दैछ । सो समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । बिहान ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल हुनेछ ।

  • मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ, २५ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एवं लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना जनाएको छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

  • देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    काठमाडौं, २५ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ः०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८ः०० देखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका १८ः०० बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

    मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा बेलुका १७ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु पहिरोले यहाँ पनि यातायात सेवा प्रभावित भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

    यसैगरी, आज बिहान ५ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण वरुद्ध भएको छ ।

    लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले यात्रीलाई आग्रह गरेको छ । प्रहरी प्रधानकार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    चितवन, २५ साउनः महोत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिँदा
    एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

    बेइजिङ, २४ साउन (रासस–एपी) । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार चीनतर्फका उडान रद्द गरेका छन् ।


    आइतबार बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रतिघण्टा करिब १६२ किलोमिटर रहेको अनुमान गरिएको थियो । आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन् । आँधी आइतबार अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । मौसमविद्हरूले आगामी केही दिनमा ती क्षेत्रमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन् ।


    साङ्घाईको होङकियाओ र पुडोङ विमानस्थलले आइतबारका लागि निर्धारित करिब ६० प्रतिशत उडान रद्द गरेका छन् । झेजियाङको ताइझोउ सहरबाट शनिबार साँझसम्म करिब तीन लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । साङ्घाईका जोखिमयुक्त क्षेत्रबाट पनि ३० हजारभन्दा बढी मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ । झेजियाङका अधिकारीहरूले फेरी, क्रुजलगायत जलयातायातका सबै गतिविधि स्थगित गरेका छन् । अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

  • पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

    पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

    नियामे, २४ साउन (रासस–सिन्ह्वा) । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो । दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको तथा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एएनपीले जनाएको छ ।

    नाइजरमा सडक दुर्घटना बढिरहेका बेला पछिल्लो घटना भएको हो । तीव्र गति, मादकपदार्थ सेवन गरी सवारी चलाउनु तथा सवारीसाधन र सडकको खराब अवस्थालाई यहाँ हुने सडक दुर्घटनाका प्रमुख कारण मानिन्छ । नाइजर सडक सुरक्षा एजेन्सीको प्रतिवेदन उद्धृत गर्दै एएनपीले सन् २०२५ मा देशभर सात हजार एक सयभन्दा बढी सडक दुर्घटना भएको जनाएको छ । ती दुर्घटनामा एक हजार २०० भन्दा बढीको मृत्यु तथा चार हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका थिए ।

  • गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

    गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

    रसुवा, २४ साउनः जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।
    आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।

    गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् ।

    तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ ।

  • ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

    ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

    काठमाडौँ, २४ साउनः सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ ।

    लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो । रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।


    कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आमनागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुपर्ने हुनेछ । दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक र नीतिगत नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र सङ्गठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक, पार्टीको साङ्गठनिक तह, संसदीय दल र सरकार रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान गर्ने लक्ष्य सो पार्टीले लिएको छ ।

  • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा

    पाटन (ललितपुर), २४ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरुको जिम्मेवारी भएको बताए ।


    “जब राष्ट्रिय मुद्दाहरूमा आउँछौँ, जहाँ सरकारसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यो बेलामा सबैभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल सर्नुपर्छ, सँगसँगै हाम्रो अर्को जिम्मेवारी पनि छ, हामी प्रतिपक्ष हौँ, त्यसैले सरकारमाथि प्रश्न गर्ने हाम्रो जिम्मेवारी हो, तीन दल मिलेर सरकार बनाऔँभन्दा हामीले प्रतिपक्षीविहीन प्रदेश सरकारको अस्वीकार गरेका हौँ”, सभापति थापाले भने । सभापति थापाले नेपाली कांग्रेस पार्टीभित्र सम्पन्न भएको विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत, आवश्यक र औचित्यपूर्ण थियो भने ।


    “महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि यसले एउटा स्पष्ट निष्कर्ष निकालेको थियो, सोही निष्कर्ष र परिणामलाई लिएर हामी निर्वाचन आयोगमा उपस्थित भयौँ, निर्वाचन आयोगले नेपालको प्रचलित कानुन, निर्वाचनसम्बन्धी नियमहरू र आफ्नै आन्तरिक प्रशासनिक व्यवस्थाअनुसार पार्टीको महाधिवेशनबाट आएको नतिजालाई अध्ययन ग¥यौँ । आयोगले उक्त परिणामलाई आधिकारिक रूपमा स्वीकार गर्दै बुझ्यो र सोहीअनुसार पार्टीको विवरण अद्यावधिक ग¥यो । यससँगै निर्वाचन आयोगको प्रक्रिया पूरा भयो”, सभापति थापाले भने ।


    सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही साथीहरूले पूर्ण असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको भन्दै यसले थप प्रष्ट पार्ने बताए । “आयोगको निर्णयमाथि उठेका केही प्रश्नहरूमाथि पुनः एकपटक छलफल होस् भन्ने मनसायका साथ यो विषय पुनः अदालतको प्रक्रियामा पुगेको हो”, उनले भने ।


    सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै साथीहरूलाई समान अधिकार दिइनेछ भन्ने जानकारी गराए । उनले दबाबमा नपरी, पुराना र नयाँ पुस्ताका साथै सबै समावेशी समुदायलाई समेटेर रुख चिन्हप्रति प्रतिवद्ध रही पार्टी एकजुट बनाउनुपर्छ भन्नेमा जोड दिए ।

  • कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

    कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

    महेन्द्रनगर, २४ साउनः कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९\८० यता हालसम्म सवारी दुर्घटनामा परी १५४ जनाले ज्यान गुमाउनुका साथै एक हजार ७८४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका भन्दै पूर्व-पश्चिम राजमार्गमा बढी दुर्घटना भइरहेकाले सवारी चलाउँदा सचेत हुनुपर्नेमा जोड दिए ।

    “ट्राफिक जानकारीसहित सचेतना पनि फैलाइरहेकै छौँ”, उनले भने, “मोटरसाइकल र स्कुटर दुर्घटनामा बढीले ज्यान गुमाएका देखिन्छ ।” उनले ठूला सवारीसाधन दुर्घटना न्यून रहे पनि साना सवारीको दुर्घटना बढी हुने गरेको बताए । प्रहरी निरीक्षक नाथले पछिल्लो सडक जाँच बढाउँदा मादक पदार्थ सेवक गरेर सवारी चलाउने सङ्ख्यामा कमी आएको बताए । “दैनिकजसो राति १२ः०० बजेसम्म जाँच हुन्छ”, उनले भने, “बजार क्षेत्रबाट राजमार्गका विभिन्न स्थानमा जाँच नियमित हुन्छ ।” तीव्र गतिका कारण अधकिांश दुर्घटना हुने गरेका जानकारी दिए ।
    कञ्चनपुरमा आव २०७९–८० मा सवारी दुर्घटनाबाट ४३ जनाको मृत्यु र ५९ जना घाइते भएका ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०८०–८१ मा ३२ जनाको मृत्यु र ७४ घाइते, आव २०८१–८२ मा ३८ को मत्यु र ७७३ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । गत वर्ष २०८२\८३ मा कञ्चनपुरका ५६४ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक नाथको भनाइ छ ।

    गत आवमा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएका प्रहरी निरीक्षक नाथले जानकारी दिनुभयो । बितेको तीन आवमा यहाँ ३५ हजार ८६१ सवारीलाई ट्राफिक नियम उल्लङ्घन गरेका भन्दै कारबाही गरिएको छ । गत आवमा मात्रै ट्राफिक कारबाहीबाट कञ्चनपुरमा रु ५९ लाख १४ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

  • पूर्वाधार मन्त्री लम्सालले भने : गुल्मी अस्पतालको ठेक्का तत्काल तोड्दिनु

    पूर्वाधार मन्त्री लम्सालले भने : गुल्मी अस्पतालको ठेक्का तत्काल तोड्दिनु

    गुल्मी, २४ साउनः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन् । लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामका बारेमा जानकारी लिए । अनुगमनका क्रममा अस्पताल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर भए पनि काम अघि बढाउन निर्देशन दिए ।


    मन्त्री लम्सालले निर्माण व्यवसायी जोसुकै भए पनि समयमा काम सम्पन्न नगरेमा पटकपटक समय दिन नसकिने बताउँदै कामको अवस्था हेरेर प्रक्रिया अघि बढाउनुपर्ने बताए । अनुगमनका क्रममा भवन निर्माणसम्बन्धी सम्झौता अनुसारका सम्पूर्ण काम गुणस्तरीय रूपमा सम्पन्न गर्न उनले निर्देशनसमेत दिए ।
    गुल्मी अस्पताल भवन निर्माणको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत पुगेको बताइएको छ ।

    दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको भवन निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ । रु २५ करोड ९४ लाखको लागतमा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले भवन निर्माणकोे जिम्मेवारी लिएको छ ।

    पछिल्लो पटक उक्त भवन निर्माण सम्पन्न गर्नका लागि पाँचाँै पटक म्याद थप गरिएको छ । नयाँ भवनमा सघन उपचार कक्ष (आइसीयु), सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षका लागि छुट्टाछुट्टै व्यवस्था गरिने बताइएको छ । गुल्मी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्री लम्सालले अस्पतालमा ब्लड बैंक स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

  • हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो

    हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो

    गाजा सिटी, २४ साउन (रासस–एएफपी) । हमासले शनिबार अमेरिकी समर्थन प्राप्त गाजा शान्ति योजना अगाडि बढाउन तयार रहेको बताउँदै इजरायलमाथि दबाब दिन आग्रह गरेको छ । इजरायलले भने सम्झौताको पछिल्लो भागमा सहमति जनाएको छैन भन्ने अडान लिइरहेको छ । “हमासले योजनाको पछिल्लो चरणमा अडिग छ, जसअन्तर्गत लडाकुहरूले युद्धग्रस्त क्षेत्रमा गठन हुने नयाँ प्यालेस्टिनी शासन समितिलाई हतियार सुम्पिनेछन्,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित शान्ति समिति ९बोर्ड अफ पिस० लाई हमासले जानकारी गराएको छ ।

    हमास अधिकारीले एएफपीसँग भने, “हमास र अन्य गुटहरूले मध्यस्थकर्ताहरूलाई सम्झौता कार्यान्वयन सुरु गर्न र दोस्रो चरणमा जान तयार रहेको पुष्टि गरेका छन्, तर यसका लागि इजरायली स्वीकृति आवश्यक छ र इजरायलले पनि सम्झौता कार्यान्वयन सुरु गर्नुपर्छ।” नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “हमासले अमेरिकी प्रशासनलाई इजरायलमाथि दबाब दिएर सम्झौता पालना गर्न र दोस्रो चरणमा जान बाध्य पार्न आग्रह गर्दछ।”

    अक्टोबरमा कठिन पुनःनिर्वाचन सामना गरिरहेका र आफ्नो दक्षिणपन्थी आधारबाट गाजा सम्झौताप्रति व्यापक विरोध भोगिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत मङ्गलबार भन्नुभएको थियो, “इजरायलले ‘बोर्ड अफ पिस’ले प्रस्तुत गरेको ‘मस्यौदा’ मा सहमति जनाएको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता हमासले योजनाअन्तर्गत निःशस्त्रीकरणमा सहमति जनाएको बिषयलाई सफलताका रूपमा स्वागत गर्नुभएको थियो । बोर्ड अफ पिसले इजरायलले पनि समानान्तर रूपमा गाजाको ठूलो भागबाट चरणबद्ध रूपमा फिर्ता हुने प्रस्ताव मस्यौदामा गरेको थियो ।

    इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार बोर्ड अफ पिसका गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभसँग भेट गर्नुभएको थियो । म्लादेनोभले भेटपछि भन्नुभयो, “इजरायल हमासको पूर्ण निःशस्त्रीकरणपछि मात्र फिर्ता हुनेछ।” इजरायली सेनाले पनि हमासलाई निरन्तर निशाना बनाउने प्रतिज्ञा गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सबैभन्दा घातक आक्रमण गरेको थियो । गाजामा इजरायली अपरेशनहरू जारी रहे पनि पछिल्ला दिनहरूमा तीव्रता घटेको देखिन्छ । शनिबार खान युनिसको नासर अस्पतालले इजरायली सेनाको गोलीबाट तीन जना घाइते भएको रिपोर्ट गरेको छ ।

    गाजा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत अक्टोबरमा ट्रम्पको समर्थनमा युद्धविराम सम्झौता भएयता इजरायली कारबाहीहरूबाट हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी क्षेत्रमा एक हजार २५७ प्यालेस्टिनी मारिएका छन् र संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वसनीय मानेको छ । इजरायली सेनाले सोही अवधिमा आफ्ना पाँच जनाको मृत्यु भएको रिपोर्ट गरेको छ ।