काठमाडौँ, २२ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी सूचनामा आफूलाई नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।
२२ साउन, काठमाडौं । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जिनेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आज सरकारले चिट्टा कार्यक्रमको पहिलो विजेता घोषणा गरेको हो । ग्राहकले ७ साउनमा सामान किनेको खुलेको छ । उनको पहिचान आन्तरिक राजस्व विभागले गर्नेछ ।
साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा गरिएको हो । जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउने छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा भएको छ । जसमा एक जनाले १० लाख रुपैयाँ नगद जितेका छन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३–८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।
बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।
काठमाडौँ, २२ साउनः वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ः० बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । लामासाँघु–रामेछाप सडकखण्डको दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् । म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौँ, २२ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछिन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछिन् । त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
संसदीय समितिको बैठक बस्दै
आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ । पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ ।
काठमाडौँ, २२ साउनः राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रुपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सोसम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ ।
सन् २०३० सम्मको दिगो विकास लक्ष्य (एसडिजी) कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ । खाद्य वस्तुको उत्पादनदेखि उपभोग, पोषण, स्वच्छता, कृषि पूर्वाधार, कृषि उपजको बजार मूल्यशृङ्खला तथा जलवायुमैत्री कृषि प्रणालीलगायत बहुआयामिक विषय उक्त रणनीतिक योजनामा समेटिएको छ । योजनालाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रमुख दस्तावेजका रूपमा समेत लिइएको छ ।
आयोगका अनुसार रणनीतिक योजनाबमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार २२ गतेको बैठकले सबै मन्त्रालय, तह र निकायले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको थियो । यस्तै, कार्यान्वयनका प्रयास र उपलब्धिको विवरण नियमित रूपमा निर्देशक समितिको सचिवालयमा उपलब्ध गराउन भनिएको थियो । राष्ट्रिय योजना आयोग उक्त समितिको सचिवालय हो ।
आयोगले स्थानीय तहमा खाद्य प्रणाली रुपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्रसङ्घको ‘युएन फुड सिस्टम को–अर्डिनेसन हब’मा पठाउनुपर्ने स्मरण गराएको छ । सबै स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण सङ्कलन गरी आयोगमा पठाउनुपर्नेछ ।
काठमाडौँ, २२ साउनः राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशतबराबर हो । यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ ।
नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।
काठमाडौँ, २२ साउनः भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
विभागले सूचनामार्फत राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा रु तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको हो । सूचनाअनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।
इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ । एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले रु पाँच लाख दस्तुर बुझाउनुपर्नेछ । यस्तै, रु पाँच करोडभन्दा बढी कारोबार गर्नेले रु १० लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ ।
अनलाइन आवेदनसँगै पेस गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेस गर्नुपर्ने विभागले जनाएको छ ।
विभागले इजाजतपत्रसम्बन्धी थप जानकारी आवश्यक परे विभागमै सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
काठमाडौँ, २२ साउनः स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाखबराबरको जरिवाना गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ । यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यस्तै, सो फर्मलाई यही साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्री वितरणको विवरण, खरिद बिक्री बिलसमेत लिएर तीन दिनभित्र उपस्थित हुन भनिएको छ । विभागले अन्य व्यावसायिक फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।
पछिल्ला दिनमा खाना पकाउने ग्यासमा देखिएको समस्या समाधानका लागि विभागले अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाएको छ । अनुगमन तथा निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशक एवं कारबाही गरिएको जनाएको छ ।
२२ साउन, काठमाडौं । आज राती सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो गएको छ । अर्थ मन्त्रालयका अनुसार १ः१५ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका वडा नं.३ स्थित भन्सार कार्यालयमा रहेको स.प्र.बल नेपाल बि.ओ.पि. तातोपानीमा उत्तर पश्रिम तर्फ रहेको २००–३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरी एक आपसमा ठक्कर खादाँ ढुगां उछिट्टेका थिए । घटनामा मानविय क्षति भने भएन ।
पहिलो लाईन ब्यारेकको झ्यालको १ वटा सिसा फुटेको छ । दोस्रो लाईन ब्यारेकको भित्तामा प्वाल परेको छ । जस्ताको छानोमा समेत ६ वटा प्वाल परेको छ । डिउटी पोष्ट एउटा पूर्ण क्षति र एउटा आंशिक क्षति भएको छ । बाथरुमको भित्तामा प्वाल परेको छ । हिमाली ज्याकेटमा ढुंगाले लागी प्वाल परेको छ । राष्ट्रिय झण्डा राखेको पोल पुर्ण क्षतिग्रस्त बनेको छ । जिन्सी स्टोर भवनमा ३ वटा प्वाल परेको छ । मेनगेट अगाडीको सिढीमा क्षति भएको छ ।
नयाँदिल्ली, २१ साउन (रासस–एपी) । बङ्गलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छिन् । उनको घोषणासँगै बङ्गलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ ।
सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाइएको दोस्रो वर्षका अवसरमा नयाँदिल्लीमा आयोजित कार्यक्रममा अडियो सन्देशमार्फत सम्बोधन गर्दै हसिनाले आफूविरुद्धको फैसला हुँदाहुँदै पनि जनताप्रतिको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किनुपर्ने बताइन् । “मलाई जेल हाल्न सक्छन्, मार्न पनि सक्छन् वा अन्य जे पनि हुन सक्छ, तर मैले फर्किनैपर्छ । डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन”, उनले भनिन् ।
उनले आफ्नो दल अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र राजनीतिक बन्दीहरूलाई रिहा गर्न पनि आग्रह गरिन् । हसिनाले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छिन् । हसिनाको सम्बोधनपछि बङ्गलादेशको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिँदै भारतीय भूमिबाट उनी र उनका सहयोगीहरूले बङ्गलादेश तथा त्यहाँका जनताविरुद्ध ‘विषाक्त अभिव्यक्ति’ दिएको आरोप लगाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सवकै दिन यस्तो कार्यक्रम हुनुलाई बङ्गलादेशको सार्वभौमसत्तामाथिको अपमान र आन्दोलनका शहीदहरूप्रतिको अनादरका रूपमा व्याख्या गरिएको छ । साथै यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ ।
विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा सन् २०२४ मा हसिना भारत पुगेपछि उनी त्यहीँ निर्वासनमा बस्दै आएकी छिन् । त्यसपछि सन् २०२५ मा बङ्गलादेशको अदालतले आन्दोलनमाथिको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराध अभियोगमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार त्यस दमनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।
बङ्गलादेशले पटक–पटक हसिनाको सुपुर्दगी माग गरे पनि भारतले हालसम्म उनलाई जिम्मा लगाएको छैन । यसैबीच, बुधबार बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ढाकास्थित हसिनाको पूर्व सरकारी निवासमा स्थापना गरिएको ‘जुलाई सामूहिक विद्रोह स्मारक सङ्ग्रहालय’ उद्घाटन गरे ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले सुरु गरेको उक्त परियोजनामा सन् २०२४ को आन्दोलनसँग सम्बन्धित अडियो–भिडियो सामग्री, आन्दोलनमा ज्यान गुमाएकाहरूका व्यक्तिगत सामग्री तथा त्यस समयका अभिलेखहरू राखिएका छन् । सङ्ग्रहालयमा हसिनाको १५ वर्षे शासनकालमा भएको भनिएको राजनीतिक दमनसम्बन्धी सामग्री पनि समावेश गरिएको छ ।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान अन्तरिम सरकारको निगरानीमा सम्पन्न फेब्रुअरीको निर्वाचनमा ठूलो बहुमतसहित सत्तामा आएका थिए । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।
काठमाडौं, २१ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा। डा। खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराए । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।
शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।
उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय छन् । आयोगकी नवनियुक्त सचिव श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी छिन् । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।
२१ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ।
सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ।
उहाँकाअनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ।
जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक(एक लाख रुपैयाँ नगद उपहार पाउने छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ। जसमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन्। यो पुरस्कार रकममा भने कर लाग्नेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३–८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।
बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।
काठमाडौँ, २१ साउनः त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक वर्ष २०८३–०८४ का लागि योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो ।
बैठकमा विश्वविद्यालयका उपकुलपति तथा योजना परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको समग्र गुणस्तर अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बैठकमा योजना निर्देशनालयका निर्देशक तथा योजना परिषद्का सदस्य–सचिव डा लक्ष्मीकान्त शर्माले आगामी नीति तथा कार्यक्रममा समावेश गरिएका प्रमुख विषयवस्तु तथा प्राथमिकताबारे विस्तृत जानकारी गराए ।
बैठकमा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमलाई समयानुकूल, गुणस्तरीय र प्रविधिमैत्री बनाउने विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए । छलफलमा उठेका सुझावलाई समेटेर योजना परिषद्को पूर्ण बैठकमार्फत आगामी त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रम पेस गरिने जनाइएको छ ।
काठमाडौँ, २१ साउनः ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ । नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा हालै सो कार्यक्रम गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ ।
कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई व्यापार तथा लगानी प्रवर्द्धनका लागि नेपालले महत्त्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गरे । नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण भएकामा उनले खुशी व्यक्त गरे । नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया, संस्थागत व्यवस्था तथा ओमानी लगानीकर्ताका लागि नेपाल किन आकर्षक गन्तव्य हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिए ।
प्रस्तुतिपछि उनले सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा हिमपहिरोमा परी निधन भएका अन्य पर्वतारोहीप्रति श्रद्धाञ्जली अर्पण गरे । निर्यात व्यवसारी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनहरूको सम्भावना तथा निर्यातमुखी अर्थतन्त्र प्रवर्द्धनका लागि महासङ्घले गरिरहेका प्रयासबारे जानकारी गराए ।
त्यसैगरी, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप र ओमान तथा खाडी मुलुकमा रहेका व्यापारिक सम्भावनाबारे जानकारी गराए । कार्यक्रममा विभिन्न नेपाली उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो ।
कार्यक्रममा नेपालबाट गएको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल, ओमानस्थित व्यवसाय तथा हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रतिनिधि, सञ्चारकर्मी तथा ओमानस्थित नेपाली व्यवसायीसहित ७० भन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ ।
काठमाडौँ,२१ साउनः अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३–८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो ।
निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले (निवृत्तभरण प्रयोजन)का लागि अनुसूची एक देखि आठ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताबापतको रकम पाउने छन् ।
सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्राङ्िकत विशिष्ट श्रेणीको रु ७९ हजार २९०, अतिरिक्त सचिव ९पेन्सन प्रयोजन०का लागि रु ६६ हजार ५३९ तोकेको छ । त्यसैगरी राजपत्राङ्कित प्रथमको लागि रु ६२ हजार ४६६ तोकिएको छ । त्यस्तैगरी राजपत्राङ्कित द्वितीयको रु ५३ हजार ६११, राजपत्राङ्कित तृतीयको रु ४८ हजार ५८ तलबमान तोकिएको छ ।
त्यसैगरी राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथम ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीय ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनङ्कित चतुर्थको लागि २८ हजार ६९० तोकिएको छ ।
इस्लामाबाद, २१ साउन (रासस–सिन्ह्वा) । पाकिस्तानले सन् २०३५ सम्ममा आफ्नो राष्ट्रिय ऊर्जा मिश्रणमा स्वच्छ विद्युत्को हिस्सा ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको ऊर्जा विभागका मन्त्री सरदार ओवैस अहमद खान लेघारीले बताएका छन् । मङ्गलबार इस्लामाबादमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले ऊर्जा सुरक्षा सुदृढ गर्न सरकारले ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीइएसएस), स्वदेशी उत्पादन र नियामकीय सुधारमा ध्यान केन्द्रित गरिरहेको बताए ।
मन्त्री लेघारीका अनुसार हाल जलविद्युत्, आणविक, वायु र सौर्य ऊर्जालगायत स्वच्छ स्रोतले पाकिस्तानको कुल विद्युत् उत्पादनमा करिब ५५ प्रतिशत हिस्सा ओगटेको छ। उपभोक्ता–नेतृत्वको लगानीमार्फत करिब ३८ गिगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीसमेत जडान भइसकेको उनले बताए ।
उनले दिउँसो उत्पादन हुने अतिरिक्त सौर्य ऊर्जालाई उच्च माग हुने समयमा प्रयोग गर्न तथा आयातित इन्धनमाथिको निर्भरता घटाउन ब्याट्री ऊर्जा भण्डारण प्रणाली आवश्यक रहेको बताए ।
मन्त्रीले प्राथमिकताका परियोजना पहिचान गर्न र राष्ट्रिय ऊर्जा भण्डारण नीति तयार गर्न बीइएसएससम्बन्धी राष्ट्रिय निर्देशक समिति तथा प्राविधिक र नियामकीय कार्यदल गठन गरिने जानकारी दिए । सरकारले स्वदेशी ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको र वितरण कम्पनीसँगको सहकार्यमा परीक्षणका रूपमा ऊर्जा भण्डारण परियोजना सञ्चालन गर्न स्वीकृति दिइसकेको उनले बताए ।
लन्डन, २१ साउन (रासस–एएफपी) । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । उनले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताए ।
विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा परेका हुन् । छपन्न वर्षीय इन्फान्टिनोले आफ्नो ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपको २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने योजना अघि सारेका थिए । उक्त प्रस्तावलाई तीन महादेशीय फुटबल महासङ्घले अस्वीकार गरेपछि उनी योजना स्थगित गर्न बाध्य भएको थिए ।
आफ्नो योजनापछि गुमेको समर्थन पुनः प्राप्त गर्ने प्रयासमा इन्फान्टिनोले बुधबार मोरक्कोमा फिफाका निर्देशकसँग आकस्मिक छलफल गरेको स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। पोर्चुगलका पूर्वफरवार्ड फिगोले भने उक्त योजनाको आलोचना गर्दै इन्फान्टिनोको राजीनामा माग गरेका छन् । “फिफाका समस्याबारे म १० हजार शब्द लेख्न सक्छु। तर समाधानका लागि तीन शब्द पर्याप्त छन, इन्फान्टिनो जानुपर्छ,” फिगोले बेलायती अखबार ‘डेली मेल’मा लेखेका छन् ।
उनले इन्फान्टिनोले फुटबलको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए । “जसले आफू र आफ्ना सहयोगीलाई धनी बनाउन खेलमा यस्ता ठूला परिवर्तन जबर्जस्ती लागू गर्न खोज्छ, उसले फुटबलको भविष्यमा भूमिका खेल्नु हुँदैन,” फिगोले भने । इन्फान्टिनोले भने आफ्नो प्रस्तावले फिफाका सदस्य राष्ट्रको आम्दानी बढाउने दाबी गरेका थिए । तर विश्वभरका फुटबल सङ्घसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाएको भन्दै उनको आलोचना भएको थियो।
हरेक चार वर्षमा आयोजना हुँदै आएको विश्वकपलाई दुई–दुई वर्षमा आयोजना गर्ने सम्भावनाबारेको बहसले पनि फुटबल जगतमा विवाद सिर्जना गरेको थियो। फिफाका अन्य वरिष्ठ अधिकारी तथा आर्सनलका पूर्वप्रबन्धक आर्सन वेङ्गरले समेत इन्फान्टिनोको कार्यशैलीको आलोचना गरेका छन् । सन् २०१५मा फिफा अध्यक्षको दौडबाट बाहिरिएका फिगोले इन्फान्टिनोले संस्थाको प्रतिष्ठा कमजोर बनाएको आरोप लगाए ।
“इन्फान्टिनोले फिफा अध्यक्ष पदको गरिमा घटाएका छन्, जुन पदलाई उँचो बनाउने वाचा गरेका थिए,” फिगोले भने, “फुटबललाई जोगाउन अझै ढिलो भएको छैन, उनी पदबाट बाहिरिनुपर्छ ।”
चितवन, २१ साउनः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।
चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष ९आरबिसी०, सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ। बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन। यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिनुभयो । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो ।
उहाँका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक काम अघि बढ्ने छ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि तीन तलाको भवन बनाइने छ । कार्यकारी निर्देशक नेपालका अनुसार सन् २०२६ मा नै काम सुरु गर्ने तयारी चिनियाँ टोलीको तयारी छ ।
चिनियाँ सरकारले यो परियोजना सम्पन्न गर्न करिब ३७ मिलियन चिनिया रकम खर्च गर्दै छ । नेपाली रुपैयाँ अनुसार यो करिब रु ८४ करोड हुन आउने उनले जानकारी दिए । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकार र चीनको चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का बीच सम्झौता भइसकेको छ ।
बोनम्यारो युनिट पाँच श्ययाको हुनेछ । उहाँका अनुसार सुरुमा पुरानो भवनमा युनिट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यो सम्भव नहुने भएपछि नयाँ भवन बनाउन लागिएको हो । भवन बनाउने ठाउँको माटो परीक्षणलगायतका काम यसअघि नै सम्पन्न भइसकेका छन् । बोनम्यारो युनिटमा काम गर्नका लागि हाल अस्पतालका तीन जना चिकित्सक र नर्स चीनमा तालिम लिईरहेका छन् ।
कार्यकारी निर्देशक डा पौडेलले भने, “‘बोनम्यारो’ प्रत्यारोपणका लागि यसअघि नै तीन स्वास्थ्यकर्मी जनाले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम लिएर फर्किएका छन् । ”त्यहाँ काम गर्ने जनशक्तिलाई चीन सरकारको तर्फबाट थप आवश्यक तालिम दिइँदै छ । उनीहरुले निर्माण थालेको एक वर्ष छ महिनामा काम सम्पन्न गर्ने तयारी गरेको जनाइएको छ ।
यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट नेपालमा पहिलो हुने कार्यकारी निर्देशक डा पौडेलको दावी छ । अहिले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी विदेश जान बाध्य छन् । यहाँ यो सेवा सुरु भएसँगै कम खर्चमा बिरामीहरुले उच्चस्तरको सेवा पाउने उनी बताउँछन् । विसं २०५१ मा चीन सरकारको सहयोगमा क्यान्सर अस्पताल निर्माण गरिएको थियो । त्यसयता यहाँ निरन्तर चिनियाँ चिकित्सकले समेत बिरामीको उपचार गरिरहेका छन् । यहाँ नेपाल सहित भारतका बिरामी समेत उपचार गर्न आउने गर्दछ ।
स्कर्दु, २१ साउन (रासस–एएफपी) । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पु¥याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले ब्रोड पिकमा अत्यन्त चुनौतीपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार अभियानपछि नेपाली पर्वतारोही निर्मल पुर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनियाँ पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको जनाएको छ । एसीपीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।
“आजको दिन एउटा महत्त्वपूर्ण उपलब्धि हो, तर तीन जना पर्वतारोही अझै पनि बेपत्ता छन्,” क्लबले भन्यो । “हामी परिस्थितिले अनुमति दिएसम्म उनीहरूलाई पत्ता लगाउन र पुनः प्राप्ति गर्न सबै सम्भावित प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ, ताकि उनीहरूलाई पनि आफ्ना प्रियजनकहाँ घर फर्काउन सकियोस्,” क्लबले भनेको छ ।
टोलीका अन्य तीन सदस्य एक अमेरिकी महिला, एक ओमानी महिला र एक नेपाली पुरुषका शव पहिले नै पहाडबाट उत्तरी पाकिस्तानी शहर स्कार्दुमा उडाइएको थियो । दुई नेपाली नागरिक र एक पाकिस्तानी नागरिकको शव अझै फेला परेको छैन । उत्तरी पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो र यसलाई आठ हजार मिटरभन्दा बढी अग्ला आरोहणमध्ये सबैभन्दा कठिन र प्राविधिक आरोहणमध्ये एक मानिन्छ । यो हिमालमा पहिलो पटक १९५७ मा अस्ट्रियाली टोलीले आरोहण गरेको थियो ।
काठमाडौँ, २१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो ।
पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र सङ्गठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ सो कार्ययोजना सार्वजनिक गरिएको हो ।
पार्टीका सचिव डा राजन भट्टराईले ‘डिजिटल’ प्रणालीको भरपुर उपयोग गरिने बताए । “विशेषगरी पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमको प्रयोग गरी अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिनेछ,” उनको भनाई छ । पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजलाई प्राकृतिक तथा अन्य सङ्कटबाट जोगाउन र कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको बताए ।
काठमाडौँ, २१ साउनः नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ ।
केन्द्रीय बैङ्कले खुला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ । खुला बजारमा नियमित र संरचनागत गरी दुई वर्गमा विभाजन गरिएको छ । वित्तीय बजारमा देखिने नयुन र अधिक तरलता व्यवस्थापन गर्न खुला बजार कारोबार सञ्चालन समितिको हरेक शुक्रबार बैठक बस्नेछ । बैठकमा कारोबारको समीक्षा वस्तुनिष्ठ समीक्षा गरिनेछ ।
बैङ्किङ प्रणालीमा आवश्यकताअनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप सङ्कलनजस्ता उपकरण सञ्चालन गरिन्छ । संशोधनले यिनै उपकरणको सञ्चालन प्रक्रियालाई अझ स्पष्ट, एकरूप र आधुनिक बनाएको छ ।
संशोधित कार्यविधिको प्रमुख व्यवस्थामा खुला बजार कारोबारमा सहभागी बैङ्क तथा वित्तीय संस्थालाई अनलाइन माध्यमबाट पनि बोलकबोल गर्ने सुविधा उपलब्ध गराइनु हो । विद्यमान प्रचलित कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ । यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
कार्यविधिअनुसार रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप सङ्कलनलगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम रु १० करोड कायम गरिएको छ । यस्तै, रु १० करोडले भाग गर्दा निःशेष भाग जाने अङ्कमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ ।
समान ब्याजदर वा समान मूल्यमा प्राप्त बोलपत्रबाट स्वीकृत रकमभन्दा बढी माग भएमा समानुपातिक रुप ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । यसबाट सहभागी संस्थाबीच समान व्यवहार कायम हुने तथा बोलकबोल प्रक्रिया थप व्यवस्थित हुने छ ।
नवौँ संशोधनले दीर्घकालीन तरलता व्यवस्थापनलाई पनि विशेष महत्व दिएको छ । कार्यविधिअनुसार आवश्यकताका आधारमा छ महिनासम्म अवधिका रिपो तथा दीर्घकालीन निक्षेप सङ्कलनका उपकरण सञ्चालन गर्न सकिनेछ ।
त्यस्ता उपकरण बहुब्याजदर प्रणालीमार्फत सञ्चालन गरिने छ । त्यसका लागि बोलकबोल, रकम बाँडफाँट, प्रमाणपत्र जारी तथा भुक्तानीसम्मका प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरिएको छ ।
कार्यविधिमा सोझै खरिद र सोझै बिक्रीका माध्यमबाट ट्रेजरी बिल कारोबार गर्ने प्रक्रियालाई थप स्पष्ट बनाइएको छ ।
बोलकबोल आह्वान, बोलपत्र पेस गर्ने तरिका, ट्रेजरी बिलको स्वामित्व हस्तान्तरण, रकम भुक्तानी तथा हिसाब मिलानका विषयलाई थप व्यवस्थित रूपमा समेटिएको छ । त्यसका साथै खुला बजार कारोबार सञ्चालन गर्दा राष्ट्र बैङ्कले आफ्नो वेबसाइट वा अन्य विद्युतीय माध्यमबाट सार्वजनिक सूचना प्रकाशन गर्ने व्यवस्था गरिएको छ ।
संशोधित कार्यविधिमा कारोबार सम्पन्न गर्ने समयसीमा र अनुशासनसम्बन्धी व्यवस्थालाई पनि कडा बनाइएको छ । स्वीकृत कारोबार सम्पन्न नगर्ने, तोकिएको समयमा आवश्यक धितोपत्र वा कागजात पेस नगर्ने तथा अन्य निर्धारित प्रक्रिया पूरा नगर्ने बैङ्क तथा वित्तीय संस्थालाई जरिवाना गरिनेछ ।
यस्तै, छ महिनासम्म खुला बजार कारोबारअन्तर्गत हुने बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । त्यसका अलावा दुई दशमलव ५० प्रतिशतका दरले हर्जानाको व्यवस्था गरिएको छ ।
कार्यविधिले रिपो, रिभर्स रिपो तथा दीर्घकालीन निक्षेप सङ्कलनबाट परिचालित रकमको लेखाङ्कन तथा नियामकीय व्यवस्थासमेत स्पष्ट पारिएको छ । यस्ता रकमलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने भए पनि नगद मौज्दात अनुपात (सिआरआर) मा गणना गरिने छैन । यस्तै, वैधानिक तरलता अनुपात (एसएलआर) तथा कुल निक्षेप अनुपातसम्बन्धी व्यवस्थामा भने गणना गर्न सकिने उल्लेख गरिएको छ ।
यसैगरी, आवेदन फाराम, प्रमाणपत्र तथा कारोबारसम्बन्धी अनुसूचीहरू पनि अद्यावधिक गरिएको छ । संशोधित कार्यविधिमा विभिन्न मौद्रिक उपकरण सञ्चालनका लागि आवश्यक प्रक्रिया, अधिकार, जिम्मेवारी र अभिलेखीकरणलाई स्पष्ट रूपमा समेटिएको छ । यसबाट खुला बजार कारोबार सञ्चालनमा एकरूपता कायम हुनुका साथै मौद्रिक नीतिको कार्यान्वयन थप प्रभावकारी हुने राष्ट्र बैङ्कले जनाएको छ ।
कार्यविधिको नवौँ संशोधनले खुला बजार कारोबारलाई कागजी प्रक्रियाबाट क्रमशः डिजिटल प्रणालीतर्फ उन्मुख गराउँदै कारोबार सञ्चालन, तरलता व्यवस्थापन, जोखिम नियन्त्रण तथा नियामकीय अनुपालनलाई थप व्यवस्थित बनाउने आधार तय गरेको छ । नवौँ संशोधनमार्फत नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालन प्रक्रियालाई थप प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाएको छ ।
काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू–भाग, कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
२० साउन, काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को सन् २०२६–२०२८ कार्यकालका लागि युविका भण्डारी अध्यक्ष पदमा उम्मेदवार बनेकी छन्। उनले पर्यटन व्यवसायमा लामो अनुभव भएका व्यवसायीहरूको सन्तुलित टोलीसहित संस्थाको नेतृत्वमा दाबी प्रस्तुत गर्दै सदस्यको हित संरक्षण, संस्थागत सुधार र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। ‘युविका एन्ड टिम’ ले पर्यटन व्यवसायमा अनुभव, जिम्मेवारी र कार्यक्षमता भएका व्यक्तिहरूलाई समेटेर सशक्त नेतृत्व प्रस्तुत गरेको जनाएको छ। टोलीले संस्थालाई आधुनिक, पारदर्शी, सदस्यमैत्री र प्रभावकारी संस्था बनाउँदै पर्यटन व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरेको छ।
टोलीका अनुसार यो केवल निर्वाचन जित्ने उद्देश्यले बनाइएको समूह नभई संस्थागत सुधार, सदस्यबीच समन्वय अभिवृद्धि, व्यवसायिक हितको संरक्षण तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट कार्ययोजनासहित चुनावी मैदानमा उत्रिएको हो। युविका नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा धाकिरनाथ काफ्ले, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल र सहकोषाध्यक्षमा बिदुर खतिवडा उम्मेदवार रहेका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा प्रदीपप्रसाद उदाया, बिवाश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा। उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी उम्मेदवार छन्। टोलीले “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने नारासहित पर्यटन उद्योगको विकास, व्यवसायीको अधिकार संरक्षण र नाट्टाको संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको जनाएको छ।
काठमाडौं, २० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मिएका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञ मानिन्छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख थिए । उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन् । आयोगको सचिवमा नियुक्त हुनुअघि उनी बी एण्ड बी अस्पतालको नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी हुन् ।
साथै, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गरेकी छिन् । उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक तथा पीसीएल नर्सिङ अध्ययन पनि पूरा गरेकी हुन् ।
प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी छिन् ।
नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदक बाट सम्मानित भएकी थिइन् । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।
काठमाडौँ, २० साउनः शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न गरेको छ । बैठकले मन्त्रालयको समग्र कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आगामी वर्ष परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाहमा सुधार तथा शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
बैठकमा आर्थिक वर्षभरि मन्त्रालय र मातहतका निकायले हासिल गरेका प्रगति, विकास आयोजनाको कार्यान्वयन अवस्था, सेवा प्रवाह, बजेट खर्च, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो । कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्दै समाधानका उपाय र आगामी वर्षका प्राथमिकताबारे समेत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्यसंस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षाको पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयनमा लैजान, सबै कार्यक्रमलाई परिणाममुखी बनाउन तथा शिक्षकसँग सम्बन्धित समस्याको समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मन्त्रालयको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै अब फरक कार्यशैली अपनाएर स्पष्ट परिणाम देखिने गरी काम गर्नुपर्ने बताए ।
उनले उच्च शिक्षाको पुनःसंरचनालाई अभियानका रूपमा अघि बढाउन, कार्यसम्पादन सूचक (इन्डिकेटर) लाई पुनःपरिभाषित गर्न तथा माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने विषयमा तयारी गर्नुपर्ने धारणा राखे । सचिव पौडेलले सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउँदै हासिल भएका उपलब्धिलाई ठोस परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
उनले चालु आर्थिक वर्षमा करिब रु डेढ अर्बभन्दा बढी रकम फर्छ्योट गरिएको जानकारी पनि दिए । शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मन्त्रालय र मातहतका निकायले परिणाम देखिने गरी कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उच्च शिक्षाको पुनःसंरचना अभियानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
बैठकमा मन्त्रालयका उच्च अधिकारी, मातहतका निकायका प्रमुख तथा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व, जवाफदेहिता र लागत प्रभावकारिता अभिवृद्धि गर्न अनुगमन तथा मूल्याङ्कनलाई थप तथ्यपरक, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले आयोजित बैठकमा चौथो त्रैमासिक तथा वार्षिक प्रगति, कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।
बैठकमा समग्र शिक्षा क्षेत्रको वार्षिक बजेट विनियोजन, सरकारका १०० दिनका प्रमुख उपलब्धि, माइलस्टोन प्रगति तथा निकायगत उपलब्धिको सारांश प्रस्तुत गरिएको थियो । मन्त्रालयका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण सम्पन्न गरिएको छ । साथै, ‘हेल्लो सरकार’ अन्तर्गत प्राप्त एक हजार १४१ वटा उजुरी सम्बोधन गरिएको तथा आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धा र योग्यता प्रणालीको आधारमा छनोट प्रक्रिया अपनाइएको उल्लेख गरिएको छ ।
नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टाको घरमा निर्माणको काम गरिरहेको अवस्थामा पर्खाल भत्किएर गम्भीर घाइते भएका एक व्यक्तिको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा आज मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो ।
पर्खाल भत्केर गम्भीर घाइते भएका नेपालगन्ज–१७ का ४५ बर्षीय रामफेरन कोरीको मृत्यु भएको उनले जानकारी दिए । यसअघि सो पर्खाल भत्किँदा भैयापुर–१९ निवासी ५२ वर्षीय बर्षादी लोधको घटनास्थलमा मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु भएकाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ भने रामफेरनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्जमा राखिएको छ ।
जीवनमा सबैले अवसर पाउँदैनन् । कसैले अवसर खोज्नुपर्छ, कसैले अवसर आफैं सिर्जना गर्नुपर्छ । बागलुङका गंगाप्रसाद शर्मा आचार्य अवसर आफैंले सिर्जना गर्ने सफल पात्र हुन् । पञ्चकोटकोे अभाव, पढाइको असफलता, राजनीतिमा पराजय र विदेशी भूमिमा शून्यबाट शुरु भएको संघर्षलाई उनले सफलताको उचाइमा पु¥याएका छन् । आज उनी बेल्जियमका सफल नेपाली व्यवसायीमध्ये एक हुन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय बागलुङ समाजको नेतृत्व गरिरहेका शर्मा धेरै नेपालीका लागि प्रेरणाका स्रोत बनेका छन् । यस पटकको विश्व सन्देशमा हामीले यिनै शर्माको सफलताको कथाका बारेमा चर्चा गर्नेछौं ।
विसं २०२५, भदौ २६ गते तत्कालीन लहरेपिपल–२, पञ्चकोट (हाल : बागलुङ नगरपालिका–८) मा जन्मिएका शर्माको बाल्यकाल कुनै सुविधासम्पन्न परिवारमा बितेन । चार भाइका कान्छो छोरा हुन् उनी । तर उनका दुई बहिनी पनि छन् । अरु बालबालिका खेल्ने उमेरमा उनी घाँस काट्थे, दाउरा बोक्थे, मेलापात गर्थे । बिहान विद्यालय र बेलुका परिवारको काम– यही थियो उनको दैनिक जीवन । स्थानीय मूलपानी प्राथमिक विद्यालयबाट निमाविसम्मको अध्ययन गरेपछि धौलागिरि वीरेन्द्र माध्यमिक विद्यालय, रातामाटामा भर्ना भए ।
तर, घरको कामधन्दासँगै पढ्नुपर्ने बाध्यताले उनले २०४२ सालको एसएलसी परीक्षामा सफलता प्राप्त गर्न सकेनन् । धेरैका लागि त्यो असफलता जीवनको अन्त्यजस्तो हुन सक्थ्यो । तर शर्माले त्यसलाई अन्त्य होइन, नयाँ शुरुआत बनाए । असफलतापछि उनी निराश भएनन्, बरु नयाँ–नयाँ विकल्प के हुन सक्छन् भनेर लागे ।
सफलता खोज्दै वनारस नेपालमा सम्भावना साँघुरिँदै गएको महसुस गरेपछि उनी भारतको वनारस पुगे । पहिले–पहिले पढ्नका लागि वनारस जाने चलन थियो । पाका पुरानाहरुमध्ये अधिकांशले वनारसबाटै अध्ययन पूरा गरेका थिए । वनारसमा उनले इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा अध्ययन गरे । सीप सिकेपछि आफ्नै व्यवसाय गर्ने सपना बोकेर तीन वर्षपछि नेपाल फर्किए ।
२०४३ सालमा ढिकीचौरकी जमुनासँग विवाह गरेपछि उनको जीवनले अप्रत्याशित मोड लियो । विवाह भएको केही दिन नबित्दै उनलाई परिवारबाट अलग गरिए । अलग हुँदा उनले सम्पत्ति पाएनन्, बरु १२ हजार रुपैयाँ ऋणको भारी बोक्नुप¥यो । नयाँ परिवार, नयाँ जिम्मेवारी र टाउकोमा ऋण– यही नै उनको वैवाहिक जीवनको पहिलो उपहार बन्यो ।
बागलुङ बजार झरेपछि बस्न एउटा सानो छाप्रो पाए । त्यही छाप्रोको एउटा कुनामा दुई सय रुपैयाँ लगानी गरेर सानो टेबुल राखे र रेडियो मर्मत गर्ने काम शुरु गरे । बिहानदेखि साँझसम्म ग्राहकको रेडियो मर्मत गर्दा कमाइभन्दा आत्मविश्वास बढिरहेको थियो । झण्डै डेढ वर्षको अथक मेहनतपछि उनले चार हजार रुपैयाँ ऋण तिरे । तर आठ हजार रुपैयाँ अझै बाँकी थियो ।
ऋण दिने साहु तिलकबहादुर कार्की निकै कडा स्वभावका थिए । बाँकी रकमका लागि पटक–पटक ताकेता गर्थे । आर्थिक अभावभन्दा पनि त्यो मानसिक दबाबले गंगाप्रसादलाई धेरै पिरोल्थ्यो । अन्ततः उनले फेरि भारत जाने निर्णय गरे । २०४५ सालमा भारत पुगे, एक वर्षसम्म निरन्तर काम गरे र फर्किएपछि साहुको सम्पूर्ण ऋण चुक्ता गरे ।
आज उनी स्वीकार्छन्, त्यो ऋणले उनलाई दुःख दियो, तर त्यसैले जिम्मेवारी र आत्मनिर्भरताको पाठ पनि सिकायो । ऋणमुक्त भएपछि उनले फेरि बागलुङ बजारमै ’शर्मा रेडियो सर्भिस’ सञ्चालन गर्न थाले । व्यवसाय विस्तार हुँदै थियो, ग्राहकको विश्वास पनि बढ्दै थियो । तर जीवनले अर्को परीक्षा तयार गरिरहेको थियो ।
२०४८–४९ सालतिर उनकी पत्नी जमुना गम्भीर बिरामी भइन् । उपचार गर्नुपर्ने थियो, तर हातमा पैसा थिएन । अन्ततः १६० रुपैयाँ ऋण मागेर उपचार गराउनुपरेको घटना आज पनि उनको स्मृतिमा ताजै छ । ‘त्यतिबेला १६० रुपैयाँ जुटाउन नसक्ने अवस्थाबाट गुज्रिएको मान्छे हुँ’, उनी विगत सम्झिँदै भन्छन् ।
सायद त्यसैले आज पनि उनले पैसाको मूल्य केवल अंकमा होइन, संघर्षमा नाप्छन् । रेडियो, घडी तथा विद्युतीय सामग्री मर्मत गर्ने व्यवसायले उनलाई आत्मविश्वास दियो । विसं २०४४ देखि २०५१ सालसम्म उनले यही व्यवसाय सञ्चालन गरे । त्यो व्यवसाय केवल आम्दानीको स्रोत थिएन; यसले उनलाई मेहनत, अनुशासन र ग्राहकको विश्वास जित्ने कला पनि सिकायो ।
२०५१ सालमा स्थानीय निर्वाचन आयो । समाजका लागि केही गर्ने उद्देश्यले शर्मा वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बने । निर्वाचनको परिणाम आयो । उनी जम्मा तीन मतले पराजित भए । जीवनमा कहिलेकाहीँ एउटा हारले मानिसको सम्पूर्ण गन्तव्य बदलिदिन्छ । शर्माका लागि पनि त्यो तीन मतको अन्तर निर्णायक बन्यो । उनले नेपालभित्र भन्दा बाहिर सम्भावना खोज्ने निर्णय गरे ।
विदेश जाने सपना सजिलो थिएन । व्यवसाय बिस्तार गर्ने योजना बुनेका उनले सटर खोज्न थाले । शुरुमा कसैले सटर दिएनन् । तर स्थानीय देवबहादुर श्रेष्ठले बाहुनको छोरो हो, यसले भाडा तिर्छ भनेर उनलाई सटर दिए । यसले व्यवसायसँगै आम्दानी पनि बढ्यो । डेल्टन कम्पनीको डिलर पाए । चारजना छोराछोरी भएकाले सोचेजस्तो बसाइँ भने हुन सकेन ।
पसलमा बसिरहेका बेलामा एक दिन एकजना साथीले युरोप जान्छस् भनेपछि उनी खुसी भए । भने जान्छु । दलालमार्फत उनले ३ लाख ८० हजार रुपैयाँ तिरे । सांस्कृतिक टोलीका सदस्य अर्थात् ’झाक्री’ बनेर २०५२ सालमा बेल्जियम पुगे । आफू कलाकार नभए पनि जीवन बदल्ने सपना भने वास्तविक थियो । उनीसँगै गएका धेरै नेपालीजस्तै उनी पनि अपरिचित देश, अपरिचित भाषा र अनिश्चित भविष्यको सामना गरिरहेका थिए ।
बेल्जियम पुगेपछिको संघर्षको कुरा त सुनिसाध्य नै छैन । पहिलो तीन दिन उनी सडकमै सुत्न बाध्य भए । भोक, चिसो र अनिश्चित भविष्यसँग जुधिरहेका ती रातहरु उनका जीवनका सबैभन्दा कठिन दिन थिए । ‘अब के गर्ने ?’ यही प्रश्नले उनलाई सताइरहेको थियो ।
त्यहीबेला भेटिएका एक भारतीय नागरिकले उनलाई काम खोजिदिए । गंगाप्रसाद आज पनि त्यो सहयोगलाई जीवनको टर्निङ प्वाइन्ट मान्छन् । बिहान सबेरै खेतमा गोलभेंडा टिप्न जाने, साँझ भारतीय रेष्टुरेन्टमा भाँडा माझ्ने– उनको दैनिकी यही थियो । तर उनले आफूलाई मजदुरीमै सीमित राखेनन् । कामसँगै उनले बेल्जियममै कुकिङ अध्ययन शुरु गरे । डच भाषा सिके । स्थानीय समाज र बजार बुझ्न थाले ।
भारतीय नागरिकको सहयोगमा रेष्टुरेन्टमा भाडा माझ्ने कामबाट नयाँ जीवन शुरु गरे । दिनभरि काम र राति अध्ययन– उनको दिनचर्या यही थियो । श्रमसँगै उनले भाषा सिके, स्थानीय समाज बुझ्दै गए र आफूलाई युरोपेली कार्यसंस्कृतिअनुसार ढाल्दै लगे । धेरै नेपालीहरु विदेशमा राम्रो अवसरको प्रतीक्षामा समय बिताउँछन् । शर्मा भने जुन अवसर पाए, त्यसलाई नै भविष्य निर्माणको आधार बनाए ।
आज त्यही परिवारका चार सन्तान आफ्नै क्षेत्रमा स्थापित छन् । जेठो छोरा सिभिल इन्जिनियर छन् भने बुहारी स्पेनिस आर्किटेक्ट । जेठी छोरी र ज्वाइँ अमेरिकामा चिकित्सकका रुपमा कार्यरत छन् । कान्छो छोरा र कान्छी छोरी बेल्जियम सरकारको सेवामा कार्यरत छन् ।
अपमान, जसले सफलता सिकायो गंगाप्रसादको जीवनमा अभावभन्दा गहिरो चोट अपमानले दिएको छ । २०४६ सालको भारत–नेपाल नाकाबन्दीका बेला मट्टीतेलको चरम अभाव थियो । बिजुली नहुँदा रेडियो मर्मत गर्न स्टोभमा आइरन तताएर सोल्डरिङ गर्नुपथ्र्यो । त्यसका लागि दैनिक मट्टीतेल आवश्यक थियो । सीडीओ कार्यालयमा मट्टीतेलको चिट माग्न पुगेका उनलाई सहयोग गर्नुको सट्टा अपमान गरियो । जसले उनलाई विद्रोही बनायो । ‘तेरो छोराछोरी मैले पालिदिने हो र ?’ भन्ने कटु वाक्य सुन्नुप¥यो । चर्पीमा थुन्ने धम्कीसमेत दिइयो ।
त्यो दिन उनी निराश भएर फर्किन सक्थे । तर उनले हार मानेनन् । अन्ततः बागलुङका नेता तेजेन्द्र खड्काको सहयोगमा उनले दैनिक तीन लिटर मट्टीतेल पाउने व्यवस्था मिलाए । त्यो मट्टीतेल केवल इन्धन थिएन, त्यो उनको व्यवसाय जोगाउने आधार थियो । आज उनी भन्छन्, ‘जीवनमा मलाई सबैभन्दा धेरै प्रेरणा सहयोगले भन्दा अपमानले दिएको छ ।’
सन् २००७ मा उनले बैंकबाट ऋण लिएर बेल्जियममा एउटा घर किने । त्यो घर केवल बसोवासका लागि थिएन । घरको तल्लो तलामा उनले आफ्नै सुपरमार्केट शुरु गरे । सुपरमार्केट सफल भयो । त्यसपछि उनले आतिथ्य क्षेत्रमा पाइला टेके । एकपछि अर्को गर्दै रेष्टुरेन्ट सञ्चालन गर्न थाले । व्यवसाय विस्तारसँगै रोजगारी पनि सिर्जना भयो । एक समय दुई सय रुपैयाँ लगानी गरेर टेबुल राख्ने व्यक्ति आज आफ्ना व्यवसायमार्फत करिब २० जनालाई रोजगारी दिने उद्यमी बने ।
लुभेनस्थित ‘होली काउ’ रेष्टुरेन्ट अहिले नेपाली तथा विदेशी ग्राहकबीच लोकप्रिय छ । तर त्यस रेष्टुरेन्टको सफलताभन्दा पनि गंगाप्रसादलाई आफ्नो विगतले बढी छुन्छ । बागलुङबाट नुन–तेल किन्न स्याङ्जाको पुतलीखेतसम्म पैदल हिँडेको बालक, १६० रुपैयाँ ऋण खोजेर पत्नीको उपचार गराएको श्रीमान्, सडकमा तीन रात बिताएको प्रवासी, भाँडा माझ्दै भाषा सिकेको मजदुर– यी सबै पात्र आज पनि उनीभित्र जीवित छन् । सायद त्यसैले सफलता आएपछि पनि उनी जमिन छोडेका छैनन् । उनका लागि व्यवसाय भनेको केवल नाफा कमाउने माध्यम होइन; संघर्षलाई सम्मान गर्ने, रोजगारी सिर्जना गर्ने र समाजलाई केही फर्काउने अभियान हो ।
बेल्जियमले सिकाएको श्रमको सम्मान बेल्जियममा बिताएका करिब दुई दशकले गंगाप्रसाद शर्मा आचार्यलाई केवल सफल व्यवसायी मात्र बनाएन, काम गर्ने संस्कार, समयको मूल्य र प्रणालीको महत्व पनि सिकायो । उनी भन्छन्, ‘बेल्जियममा श्रमको सम्मान छ । समयको मूल्य छ । मानिसले मानिसलाई सम्मान गर्छ । मेहनत गर्नेले अवसर पाउँछ । त्यहाँ व्यक्ति होइन, प्रणाली बलियो छ ।’
नेपाल र बेल्जियमबीचको सबैभन्दा ठूलो फरक पनि उनी यही मान्छन् । उनका अनुसार नेपालमा प्रतिभा र मेहनतको अभाव छैन, तर प्रणाली कमजोर हुँदा मेहनती मानिसले आफ्नो क्षमताअनुसार अवसर पाउन सक्दैन । सायद यही अनुभूतिले उनलाई व्यवसायी मात्र होइन, समुदाय निर्माणमा सक्रिय अभियन्ता पनि बनायो ।
बेल्जियम पुगेपछि उनको परिचय केवल एक प्रवासी कामदार वा व्यवसायीसम्म सीमित रहेन । शुरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको सदस्य बने । त्यसपछि उपाध्यक्ष, अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यसम्म पुगे ।
तीन दर्जनभन्दा बढी सामाजिक तथा प्रवासी संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गंगाप्रसाद बागलुङ समाज बेल्जियमका संस्थापक अध्यक्ष हुन्् । उनी अन्तर्राष्ट्रिय बागलुङ समाजका पनि संस्थापक हुन् र हाल त्यसै संस्थाको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनीका लागि नेतृत्व पद होइन, जिम्मेवारी हो । ‘संस्था बनाउन सजिलो छ, टिकाउन गाह्रो छ’, उनी भन्छन्, ‘त्यसका लागि विश्वास जित्नुपर्छ ।’
नेपाल फर्किने तयारीमा गंगाप्रसाद जीवनको कठिन यात्रामा उनकी जीवनसंगिनी जमुना शर्मा सधैं साथमा रहिन् । आज जमुना सामाजिक अभियानमा सक्रिय छिन् । गैरआवासीय नेपाली संघलगायत विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् । उनको संघर्षमय जीवनमा आधारित ’फार वे’ पुस्तक प्रकाशित भइसकेको छ ।
गंगाप्रसादका लागि सन्तानको सफलता व्यक्तिगत गौरवभन्दा बढी संघर्षको प्रतिफल हो । ‘हामीले दुःख भोग्यौं, उनीहरुले अवसर पाए’, उनी सन्तोष व्यक्त गर्छन् । विदेशमा सफलता प्राप्त गरेपछि धेरैको लक्ष्य त्यहीँ स्थायी बसोवास गर्ने हुन्छ । तर गंगाप्रसादको सोच फरक छ । उनी अब नेपाल फर्किने तयारीमा छन् । ‘नेपाल फर्किने निर्णय गरेपछि मनमा बेग्लै आनन्द आएको छ’, उनी मुस्कुराउँदै भन्छन्् । बागलुङको पञ्चकोटमा उनले झण्डै ५० रोपनी जग्गा किनेका छन् । काठमाडौं, पोखरा र बागलुङमा आतिथ्य (हस्पिटालिटी) क्षेत्रको ठूलो लगानी गर्ने योजना बनाएका छन् ।
सरकारले लगानीमैत्री वातावरण बनाइदिए आफू एक्लै होइन, यसै वर्ष कम्तीमा १० जना प्रवासी नेपाली व्यवसायीसँगै नेपाल फर्किने उनको विश्वास छ । नेपाल फर्किने उनको उद्देश्य केवल आफ्नो व्यवसाय विस्तार गर्नु होइन । उनी पाँच सयभन्दा बढी युवालाई रोजगारी दिने लक्ष्यसहित योजना बनाइरहेका छन् ।
विदेशमा सिकेको व्यवस्थापन, सेवा संस्कृति र व्यवसायिक अनुभवलाई नेपालमै प्रयोग गर्ने उनको चाहना छ । ‘रोजगारी सिर्जना गर्न सकियो भने मात्रै वैदेशिक पलायन रोकिन्छ’, उनी भन्छन् ।
व्यवसायसँगै समाजसेवामा पनि गंगाप्रसादको योगदान उल्लेखनीय छ । उनको सक्रियतामा बलेवाको जनता धन माध्यमिक विद्यालयमा स्टेशनरी सहयोग पुगेको छ । धौलागिरि अस्पतालमा रक्तसंकलनका लागि फ्रिज उपलब्ध गराइएको छ । कारागारमा पुस्तकालय स्थापना, गोरखाको विद्यालयमा खानेपानी आयोजना, विद्यामन्दिर पुस्तकालय तथा मानव सेवा आश्रमलाई सहयोग पु¥याउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।
व्यक्तिगत रुपमा पनि धेरै विद्यार्थी, बिरामी र विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । विशेषगरी ‘महिला बचाऔं अभियान’ अन्तर्गत स्तन क्यान्सरबाट पीडित महिलालाई प्रत्येक वर्ष सहयोग गर्ने उनको अभियान अहिले पनि जारी छ । हालसम्म तीन जना महिलाले त्यसबाट प्रत्यक्ष सहयोग पाइसकेका छन् । उनका लागि समाजसेवा प्रचारको विषय होइन, जीवनको उत्तरदायित्व हो ।
जन्मभूमि बागलुङमै केही गर्ने हुटहुटी गंगाप्रसादको अहिलेको सबैभन्दा ठूलो सपना आफ्नै जन्मथलो बागलुङसँग जोडिएको छ । उनको अनुमानमा विश्वका विभिन्न मुलुकमा करिब एक लाख बागलुङेली रहेका छन् । उनीहरुको सीप, अनुभव र पूँजीलाई जिल्लामा भिœयाएर स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीमा लगानी गर्ने उनको योजना छ । उनी विश्वास गर्छन्, यदि प्रवासी नेपालीको अनुभव र स्थानीय सम्भावना जोड्न सकियो भने बागलुङलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिन्छ ।
‘विदेश पठाउने जिल्ला होइन, विदेशबाट फर्कने जिल्ला बनाउनुपर्छ’, उनी भन्छन् । प्रवासी नेपालीप्रति राज्यको दृष्टिकोणबारे भने उनी केही असन्तुष्ट देखिन्छन् । उनको बुझाइमा गैरआवासीय नेपालीहरूलाई अझै पनि पूर्ण साझेदारका रुपमा स्वीकार गरिएको छैन । ‘हामी कर तिर्छौं, लगानी गर्न चाहन्छौं, देशका लागि केही गर्न चाहन्छौं’, उनी भन्छन्, ‘तर त्यसअनुसारको वातावरण चाहियो । जन्मका आधारमा नागरिकताको अधिकार र लगानीको सुरक्षाले धेरै नेपाली फर्किन सक्छन् ।’ उनको आग्रह सरल छ– सरकारले विश्वासको वातावरण बनाओस्, बाँकी काम प्रवासी नेपालीले आफैं गर्न सक्छन् ।
विगतबाट शिक्षा र आत्मबल लिन्छु गंगाप्रसाद शर्मा आचार्य आफ्नो विगतलाई कहिल्यै बिर्सन चाहँदैनन । ‘यो ठाउँसम्म पुग्छु भन्ने मैले कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्– ‘जीवनले कल्पनाभन्दा धेरै दियो । त्यसैले विगत बिर्सनु हुँदैन ।’ कुराकानीको अन्त्यमा उनले केही क्षण मौन बसेर एउटा वाक्य सुनाए, जसले सायद उनको सम्पूर्ण जीवनको सार बोकेको छ– ‘जीवन संघर्ष हो । हार मान्ने होइन । केही गर्न नसके चुप लाग्नु राम्रो । तर जे गरे पनि समयको मूल्य बुझ्नुपर्छ । पैसा खान र लाउन मात्रै होइन, अरुलाई दिन पनि जान्नुपर्छ ।’
त्यही दर्शनले बागलुङको एउटा सामान्य गाउँका युवकलाई बेल्जियमको सफल व्यवसायी बनायो । र त्यही दर्शन लिएर उनी फेरि आफ्नै माटो फर्किन लागेका छन् । सायद अब उनको अर्को संघर्ष व्यक्तिगत सफलताका लागि होइन, आफ्नै गाउँ, आफ्नै जिल्ला र आफ्नै देशका लागि हुनेछ ।
गंगाप्रसाद शर्मा आचार्यको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ– सपना देख्न धन चाहिँदैन, तर सपना पूरा गर्न धैर्य, श्रम र इमान चाहिन्छ । जीवनले जतिसुकै अप्ठ्यारो मोड किन नदिओस्, हार नमान्नेहरु अन्ततः आफ्नै भाग्यका निर्माता बन्छन् ।
गंगाको कथा कुनै व्यक्तिको सफलताको कथा मात्र होइन । यो हजारौं प्रवासी नेपालीको सम्भावनाको कथा हो । संघर्षबाट भाग्ने होइन, संघर्षलाई अवसरमा बदल्ने साहस गर्ने हो भने असम्भव जस्तो देखिने सपना पनि पूरा हुन सक्छ भन्ने उदाहरण उनी हुन् ।
काठमाडौँ, २० साउनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिए । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले रासससँग भने ।
गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् । यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ । प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ। उनका अनुसार सरकारी कल सेन्टरलाई अन्तरआबद्ध गर्ने अवधारणा पनि अघि सारिएको छ । जसअनुसार निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ ।
“सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासोका लागि गरिएको कल पुनः हेलो सरकारमा फर्कने व्यवस्था प्रस्ताव गरिएको छ । यसबाट नागरिकले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालय गुनासो र सुझावका लागि धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ,” उनले भने । योजनामा सेवाग्राहीले यसअघि गरेका गुनासोको विवरण, त्यसको अवस्थालगायत अभिलेख पनि प्रणालीमा देखिने व्यवस्था प्रस्ताव गरिएको छ । एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरिने भएको छ ।
उनका अनुसार हालै ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ तयार पारिएको छ । उक्त दिग्दर्शनले सङ्घ, प्रदेश, स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने व्यवस्था प्रस्ताव गरेको छ । गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यति मात्रै होइन, गुनासो समाधान भइसकेपछि गुनासोकर्तालाई प्रणालीमार्फत समाधान भएको विषयको जानकारी गुनासोकर्ता कहाँ पुग्ने र समस्या समाधान भएको हो वा होइन भन्ने विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएर मात्रै गुनासो फछ्र्यौट हुने व्यवस्था गरिएको छ । हेलो सरकारका अनुसार यी सुधार विषय कार्यान्वयनमा आएपछि हेलो सरकारलाई नागरिक गुनासोमात्र दर्ता केन्द्रमा सीमित राखिने छैन । नागरिकका गुनासो व्यवस्थापनका सवै चरणमा प्रभावकारी रूपमा कार्य गर्ने, राष्ट्रिय समस्याको विद्यमान स्थितिको यथार्थ अवस्था झल्काउने, सरकारलाई नीति निर्माणको आधार र पृष्ठपोषण दिने एवम् सुशासन र शासकीय सुधारको दिशानिर्देशको गर्ने माध्यमका रूपमा हेलो सरकार बन्नेछ ।
एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा
हेलो सरकारमा गत आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२÷८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन् । उपसचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको उल्लेख गर्दै यो सरकारप्रतिको विश्वास र भरोसा बढेको छ । सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा बढेको उनको भनाइ छ ।
पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन् । तीमध्ये २०८२÷८३ मा मात्रै ६९ हजार ७२४ गुनासा प्राप्त भएका छन् । जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशतले बढी हो । आव २०७८÷७९ देखि २०८१÷८२ सम्म चार वटा आर्थिक वर्षमा कुल ५४ हजार ८५७ गुनासा प्राप्त भएका थिए भने गत आवमा मात्रै ६९ हजार ७२४ वटा गुनासा प्राप्त भएका छन् ।
तीन महिनामा ५० हजारभन्दा बढी गुनासा
हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ । हेलो सरकारका उपसचिव सापकोटाका अनुसार तीन महिनामा प्राप्त गुनासामध्ये १८ हजार ५४२ गुनासा फछ्र्यौट गरिएको छ भने ५४७ गुनासा नहेरिएको अवस्थामा छन् ।
त्यस्तै, एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका÷नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका रहेका छन् । यस्तै, हेलो सरकारको टोल–फ्री सेवामार्फत ५० हजार १९६ वटा फोन कल प्राप्त भएकामा ४० हजार १६ वटा कलको सम्बोधन गरिएको जनाइएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनको १ देखि १८ गतेसम्म मात्रै नौ हजार ६१० वटा गुनासा प्राप्त भएका छन् । जसमध्ये छ हजार ६०१ वटा गुनासा फछर्यौट भएका छन् । हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको सङ्ख््या भने यसमा समावेश नगरिएको उल्लेख गरेको छ ।
काठमाडौँ, २० साउनः काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टू इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । परियोजनालाई नमूना कार्यक्रमका रूपमा पुनस्र्थापना गरी दिगो रूपमा सञ्चालन गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सहरी क्षेत्रको बढ्दो फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोडेर वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा काम अघि बढाउन प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावअनुसार टेकुमा रहेको परियोजनालाई पुनर्जीवित गर्ने सहमति भएको हो ।
हालै मन्त्री श्रेष्ठ र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलबीच भएको छलफलमा टेकुस्थित परियोजनालाई चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने, काठमाडौँका सडक बत्तीको प्रभावकारी व्यवस्थापन तथा मर्मत, सौर्य सडक बत्ती विस्तार र सम्पदा क्षेत्रमैत्री विद्युतीकरणका विषयमा विस्तृत छलफल भएको थियो ।
सो छलफलपछि अन्तर निकायबीच वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सञ्चालक समिति सदस्य अङ्किता शाहले समन्वय गर्नुभएको थियो । केन्द्रले आगामी दिनमा सौर्य सडक बत्ती विस्तार, सम्पदा संरक्षणसँग अनुकूल विद्युतीकरण तथा फोहोरबाट ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा महानगरसँग थप सहकार्य गर्ने तयारी गरेको शाहले बताउनुभयो ।
समझदारीपत्रमा परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण तथा दीर्घकालीन व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ । समझदारीअनुसार परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
युरापेली सङ्घका करिब रु एक करोड ८० लाख सहयोगमा निर्माण गरिएको उक्त परियोजना केही समय सञ्चालन भएपछि बन्द भएको थियो । सो आयोजनाको पुनस्र्थापनाका लागि आवश्यक वित्तीय स्रोत विश्व बैङ्कको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’ मार्फत व्यवस्थापन गरिने केन्द्रले जनाएको छ ।
सो कार्यक्रममार्फत हालसम्म सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजना कार्यान्वयन भइसकेका छन् । यस्तै, २० भन्दा बढी ठूला व्यावसायिक बायोग्यास परियोजनाले सहयोग प्राप्त गरेका छन् ।
केन्द्रले देशभरका नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको जनाएको छ ।
हरित जलवायु कोषमा पेस गर्ने उद्देश्यले करिब ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव तयार भई अर्थ मन्त्रालयको सहमतिको प्रक्रियामा छ । यसका अतिरिक्त, पेरिस सम्झौताको दफा ६।२ अन्तर्गत कार्बन बजारसँग सम्बन्धित फोहोरबाट ऊर्जा परियोजनाको विकास प्रक्रिया पनि अघि बढाइएको छ । केन्द्रले संस्थागत, सामुदायिक तथा व्यावसायिक क्षेत्रका साना, मझौला र ठूला बायोग्यास परियोजनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आशयपत्र आह्वानसमेत गरिसकेको छ । सहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको अवस्थामा यस्ता परियोजनाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ, २० साउनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मङ्गलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको छ ।
यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण र वितरणलाई पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका काम पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरेको छ ।
त्यसैगरी, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत कार्य गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।