Category: समाचार

  • गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

    गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’


    रासस
    गुल्मी, ६ भदौः गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

    धुर्कोट गाउँपालिका ६ स्थित ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदल मार्गलाई गाउँपालिकाले ‘धुर्कोट ग्रेटवाल’ नामकरण गरेको हो । उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

    विशेषगरी सार्वजनिक बिदाका दिन घुम्न, श्रव्यदृश्य सामग्री बनाउन, तस्बिर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए । उनका अनुसार ग्रेटवाल निर्माण भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

    अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । पैदलमार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेटवाल जस्तो देखिएपछि यसको नाम ‘धुर्कोट ग्रेटवाल’ राखिएको उनको भनाइ छ ।

    “धुर्कोटको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकको योजना छ । यसले आर्थिक गतिविधि चलायमान बन्नुका साथै रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन बढ्ने अपेक्षा छ”, अध्यक्ष पोखरेलले भने ।


    पालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ । कुल रु तीन करोड २३ लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा व्यापारव्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    यस क्षेत्रमा ऐतिहासिक धुर्कोटकोटमा विभिन्न पूर्वाधार निर्माण गरिएको छ भने बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचनासमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताए ।

    पर्यटकीय क्षेत्रलाई थप हराभरा र आकर्षक बनाउन गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिए । पर्यटकीय पूर्वाधार र रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको उनले बताए ।


    ग्रेटवाल हुँदै पैदलयात्रा गर्ने क्रममा नजिकै विशाल शिवको मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । त्यहाँबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताए । अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय चुरा भण्डारीले बताए । सामाजिक सञ्जालमा तस्विर, भिडियो र टिकटक सार्वजनिक हुन थालेसँगै धुर्कोट ग्रेटवाल यतिबेला नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो ।

  • प्रधानमन्त्री शाह मुस्ताङ प्रस्थान , मुक्तिनाथको दर्शन गर्दै

    प्रधानमन्त्री शाह मुस्ताङ प्रस्थान , मुक्तिनाथको दर्शन गर्दै

    गण्डकी, ६ भदौः परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए । मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।

  • भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल

    भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल

    सुदूरपश्चिम, ६ भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छिन् ।

    कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन् । मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन् ।


    यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले ६०० दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गरे । मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि आवश्यक स्रोतसाधन, जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

    समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए । मन्त्री रावल कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

  • सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ

    सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ

    अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर २०० भन्दा बढी स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू बन्द हुन पुगेका छन् । यसले यहाँका थप बालबालिकाहरूको ज्यान जोखिममा पार्ने कुपोषणको सामना गर्न बाध्य बनाएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको छ ।

    राष्ट्रसङ्घको बालबालिकामामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको ‘मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेका’ चेतावनी दिएको छ।” “आज सोमालियामा सहायता कटौतीले स्वास्थ्य सेवाका ढोका बन्द गर्दै छ, पोषण सेवाहरू बन्द गर्दै छ र पानी, शिक्षा तथा संरक्षणलाई अझ टाढा पु¥याउँदै छ,” प्रवक्ता जेम्स एल्डरले नैरोबीबाट जेनेभामा उपस्थित पत्रकारहरूको चासोलाई सम्बोधन गर्दै बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कुल २०५ वटा स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू पहिले नै बन्द भइसकेका छन्।” बालबालिकामा ‘तत्काल’ प्रभाव पर्ने भएको उहाँले चेतावनी दिनुभयो । यसै कारण यो वर्षको पहिलो छ महिनामा गम्भीर तीव्र कुपोषणका कारण स्थिरीकरण केन्द्रहरूमा भर्ना हुने बालबालिकाको सङ्ख्या ३२ प्रतिशतले बढेको देखिएको छ।

    सुविधा केन्द्रको कटौतीले आमा र बच्चाहरूका लागि लामो यात्रा (आयु) अर्थ राख्छ; ढिलो उपचार; ढिलो उपचारका कारण अझ गम्भीर बिरामी र रोक्न सकिने मृत्युको बढी जोखिम हुने देखिएको एल्डरले औँल्याउनुभयो । जुन महिनामा राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले करिब एक तिहाइ सोमालीयाली नागरिकहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्, किनकि देशले वर्षौँयताको सबैभन्दा खराब खडेरीमध्ये एक देखेको अनुमान गरेका थिए ।

    यस वर्ष सोमालियामा करिब १९ लाख बालबालिका कुपोषणबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ, जसमा करिब पाँच लाख जना सबैभन्दा घातक स्वरूपबाट पीडित छन्, एल्डरले भन्नुभयो । सोमालियाले ‘खराब जलवायु सङ्कट, उत्तरका केही भागमा गम्भीर खडेरी, द्वन्द्व र विस्थापन’ को सामना गरिरहेको उल्लेख गर्दै यो ‘पछि हट्ने गलत समय भएको’ उहाँले जोड दिनुभयो ।

    “इरान युद्धले इन्धन र मलको मूल्य बढाइरहेको छ भने अहिलेसम्मकै उच्च प्रभाव पार्ने एल निनो जलवायु ढाँचाले आउने महिनाहरूमा गम्भीर बाढीको पूर्वानुमानसहित सोमालियाको जारी मानवीय सङ्कटलाई थप जटिल बनाउने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । सहायता कटौतीले पहिले नै स्वास्थ्य तथा पोषण सेवाको कभरेजमा ३० प्रतिशत कमी ल्याएको छ भने एल्डरले स्थिति अझ बिग्रन सक्ने चेतावनी दिनुभयो ।

    “गम्भीर कोष परिदृश्यमा देशभर ६१८ वटासम्म स्वास्थ्य सुविधा केन्द्रहरू बन्द हुन सक्छन्,” उहाँले भन्नुभयो । पाँच वर्षमुनिका करिब १० लाख बालबालिका, किशोरी र महिलाहरू पोषण सेवाबाट वञ्चित हुने जोखिममा रहेको पनि उहाँको दावी छ । शिक्षा, कृषि क्षेत्र पनि कटौतीबाट गम्भीर प्रभावित भएको छ, एल्डरले भन्नुभयो, “७८ हजारभन्दा बढी विद्यार्थी पहिले नै विदालय छाडिइसकेका छन् र थप छ लाख ६० हजार जोखिममा छन् ।” सहायता कटौतीका कारण सशस्त्र समूहसँग पहिले सम्बन्धित वा भर्तीको जोखिममा रहेका बालबालिकालाई पुनः एकीकृत गर्न मद्दत गर्ने दर्जनौँ बाल संरक्षण सुविधा केन्द्रहरू पनि बन्द भएका छन्।

  • स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते

    स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते


    स्टकहोम, ६ भदौ (रासस–एएफपी) । मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरवारसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुनेगरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन् । सञ्चारमाध्यमका अनुसार आक्रमणकारीलाई प्रहरीले गोली हानी घाइते अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।

    “तरवारसहितको आक्रमणकारी विद्यालय (ब्रिनेल्स्कुलान) मा प्रवेश गरी धेरै व्यक्तिलाई घाइते बनाएको छ भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ,” फागेरस्टा नगरपालिकाद्वारा जारीे विज्ञप्तिमा जानकारी गराइएको छ । स्थानीय अफ्टनब्लाडेट पत्रिकाले हतियार बोकेको व्यक्तिलाई प्रहरीले खुट्टामा गोली हानेको रिपोर्ट गरेको छ। नगरपालिकाले घाइतेको सङ्ख्या खुलाएको छैन तर प्रहरी विद्यालय खोजिरहेको र क्षेत्रका अन्य विद्यालयहरू तत्काल बन्द गरिएको बताएको छ।

    सार्वजनिक प्रसारक एसभिटीले करिब १२ हजार बासिन्दा भएको सानो शहरको विद्यालय बाहिर एम्बुलेन्स, प्रहरी गाडी तथा प्रहरी हेलिकोप्टर रहेको बताएको छ। स्विडेनमा शैक्षिक संस्थाहरूमा उल्लेख्य केही हिंसात्मक आक्रमणहरू हुने गरेका छन्। सन् २०२५ फेब्रुअरीमा ओरेब्रोको वयस्क शिक्षा केन्द्रमा ३५ वर्षीय एक व्यक्तिले १० जना गोली हानी हत्या गरेको घटना उनीहरूबचि ताजै छ । यो स्विडेनको सबैभन्दा खराब सुरक्षा समस्या सामूहिक गोलीकाण्ड हो । प्रहरीले यो घटना हत्याराको आर्थिक तथा मनोवैज्ञानिक समस्याका कारण आफ्नो जीवन अन्त्य गर्ने चाहनाबाट प्रेरित भएको बताएको थियो।

    सन् २०२२ मार्चमा दक्षिणी शहर माल्मोको माध्यमिक विद्यालयमा १८ वर्षीय विद्यार्थीले दुई शिक्षकलाई घातक चक्कु प्रहार गरेका थिए। त्यसैगरी, सन् २०१५ अक्टोबरमा पश्चिमी सहर ट्रोलह्याटनको विद्यालयमा जातीय रूपमा प्रेरित आक्रमणमा तरवार बोकेको आक्रमणकारीले तीन जनाको हत्या गरेको थियो भने आक्रमणकारीको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

  • ‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दै

    ‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दै

    ६ भदौ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको संकटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । ८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामलाई सामना गर्न सबै निकाय तयार रहनुपर्ने उनको भनाइ थियो ।

    जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागले शुक्रबार आयोजना गरेको सुपर एल निनो र जलवायु जोखिमसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आगामी अक्टोबरदेखि फेब्रुअरीसम्म प्रभाव देखिने एलनिनोले नेपालको जलविद्युत, सिँचाइ र समग्र खाद्य सुरक्षामा पार्ने गम्भीर असरबारे समयमै चनाखो बन्नुपर्नेमा जोड दिए ।

    ‘यसमा पूर्वसूचना र पूर्वतयारी आवश्यक छ । यो नहुँदा कृषकहरु मारमा पर्छन् । तर यसबाट कोही पनि अछुतो रहँदैन । जब किसानले आफ्नो उत्पादनलाई ध्यान दिन सक्दैन, त्यसले प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्छ । ऊर्जा पनि असर गर्छ । किनभने धेरैजसो जलविद्युत उत्पादन रन अफ रिभरमा आधारित छ । त्यसै त सुख्खायाममा पानी पुगेको छैन । झन् त्यसको असर भएर पानी कम हुँदा के हुन्छ ? अथवा अर्को साइडमा हामीले के अनुमान गर्न सक्छौं भन्दा हाम्रा हिमतालहरु केही गरी पग्लेर यसले ल्यायो भने के हुन्छ ? त्यसैले गम्भीर विषय छ,’ उनले भने ।

    मन्त्री श्रेष्ठले मौसम विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय निकाय (एनओएए)का अनुसार यस वर्ष हालसम्मकै शक्तिशाली एल निनो ९० प्रतिशतभन्दा बढी सम्भावनाका साथ आउन लागेको र यसको प्रभाव अक्टोबरदेखि फेब्रुअरीसम्म देखिने बताए । यसको असर विद्युत प्रणालीमा पर्ने उनले बताए । हिउँदको मुख्य आयातको समय (नोभेम्बरदेखि अप्रिल) र एल निनोको पिक समय आपसमा जुध्ने भएकाले नेपालको जलविद्युत उत्पादन र भारतबाट हुने विद्युत आयात दुवै एकसाथ प्रभावित हुन सक्ने जोखिम रहेको मन्त्री श्रेष्ठले बताए ।

    मन्त्री श्रेष्ठले अधिकांश सिँचाइ प्रणालीहरू मनसुनमा आधारित भएकाले सुक्खायाममा पानीको अभाव हुने र यसले गहुँ तथा जौ जस्ता हिउँदे बालीको उत्पादनमा ठूलो असर पार्ने चिन्ता पनि व्यक्त गरे । त्यसैले पूर्वानुमान र पूर्वतयारीमा काम गर्नुपर्ने उनको भनाइ थियो । ‘अचानक हुने विपद्को विपरीत सुक्खापन ढिलो गरी आउने विपद् भएकाले क्षति भइसकेपछि घोषणा गर्नुको सट्टा पूर्व(निश्चित मापदण्डका आधारमा अग्रिम योजना र नीतिगत कदम चाल्नुपर्छ,’ उनले भने ।
    यो संकटविरुद्ध ऊर्जा र कृषि मन्त्रालयले संयुक्त रूपमा सिँचाइ र कृषिलाई जोडेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

    मन्त्री श्रेष्ठले विकसित देशका कारण सिर्जित जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको पनि बताए । ‘अन्तर्राष्ट्रिय समुदायलाई पनि भन्न चाहन्छु कि स्टेज अफ हर्मुजमा पेट्रोल रोकेको न्युजहरु ठूलो ठूलो बन्छ । जबकी जलवायु परिवर्तन र कार्बन उत्सर्जनको मारमा नेपाल परिरहेको छ । नखाएको विष लागेजस्तै भएको छ । यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्छ,’ उनले भने । जलवायु परिवर्तन आगामी पुस्ता, अर्थतन्त्र, ऊर्जादेखि लिएर सबैलाई असर गर्ने मुद्दा भएको बताए । यो संवेदनशील मुद्दामा सबै गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।


    छोटै समय भए पनि ऊर्जा मन्त्रालयले सम्भावित ठूलो विपद् पूर्वतयारीमा तदारुकता देखाएको, जल तथा मौसम विज्ञान विभागले राम्रो तयारी गरेको भन्दै मन्त्री श्रेष्ठले सबै मिलेर एलनिनो संकटको सामना गर्नुपर्नेमा जोड दिए । सम्भावित संकटसँग जुध्न मन्त्रालयले जेठमै तराई(मधेश सुक्खा लचकता रणनीति तयार गरिसकेको, तराईका २२ जिल्लामा जमिनमुनिको पानीको अनुगमन सुरु गरिएको बताए ।

    जल तथा ऊर्जा आयोगलाई असोज मसान्तभन्दा अगाडि नै क्षेत्रगत आकस्मिक फ्रेमवर्क तयार गर्न निर्देशन पनि दिए । यसैगरी ऊर्जा आयोगले जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, खानेपानी विभाग, विद्युत प्राधिकरण र विद्युत विकास विभागसँगको सहकार्यमा जल-ऊर्जा सुक्खा निगरानी संयन्त्र निर्माण गरी समन्वय गर्ने पनि मन्त्री श्रेष्ठले बताए ।

  • चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

    चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

    काठमाडौँ, ६ भदौः बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् । यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन् ।

    यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन् । प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ः०० बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ ।

    यही भदौ ४ देखि ५ गते बिहान ८ः०० बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ विपद्का घटना भएका छन् । ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन् । प्राधिकरणले त्यस अवधिमा विपद्का कारण अनुमानित रु नौ लाख ७२ हजार बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ ।

  • यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    काठमाडौँ, ६ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ८० रहेको छ ।

    यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

    समितिका अनुसार बोडी तने प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, भिन्डी प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ६० कायम भएको छ । रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५०, तोरीको साग प्रतिकिलो रु १२०, प्याज (हरियो) रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

    कुरिलो प्रतिकिलो रु ५००, निउरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ५००, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु १,५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु ३००,

    अनार प्रतिकिलो रु ३५०, आँप (मालदह) प्रतिकिलो रु २८०, आँप (चोसा) प्रतिकिलो रु २५०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २० काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, अमला प्रतिकिलो रु २००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

    ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु २३०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ५०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३४० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    काठमाडौँ, ६ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहो¥याएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • पहिरोले विभिन्न सडक अवरुद्ध

    पहिरोले विभिन्न सडक अवरुद्ध

    काठमाडौँ, ६ भदौः वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

    काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

    उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका –२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
    यसैगरी, रोल्पा र पाल्पाका दुई प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको हो । सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

  • देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ६ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भेग र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम हुन सक्ने तथो ती क्षेत्रमा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने जनाउँदै महाशाखाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।

  • सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

    सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

    काठमाडौँ, ५ भदौः नेपाली भाषा (खस भाषा) को उद्गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर–जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ ।

    उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच, गोडिङ्गालगायत क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालय प्रमुख पुजाराले बताउनुभयो ।

    राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोर–जी सेवा सञ्चालनमा आइसक्ने छ । सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

    यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि फोर–जी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार ४०० मिटर उचाइमा फोर–जी सेवा सुरु भइसकेको छ ।

    देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमासमेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो । हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आवमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

  • बिदा मनाउन प्रधानमन्त्री शाह पोखरामा

    बिदा मनाउन प्रधानमन्त्री शाह पोखरामा

    गण्डकी, ५ भदौः प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा पुगेका छन् । उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका छन् । प्रधानमन्त्री शाह अस्ताम आइपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो, उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उनले भने, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”

    स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिए । “अस्ताममा सडक, खानेपानीको समस्या छ, प्रधानमन्त्री नै यहाँ आउनुभएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उनले भने । प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सडकमार्ग हुँदै पोखरा आएका हुन् । उहाँ शनिबार मुस्ताङ जाने कार्यक्रम छ ।

  • रास्वपामा नौ केन्द्रीय सदस्य मनोनित, प्रवक्तामा जगदीश खरेल

    रास्वपामा नौ केन्द्रीय सदस्य मनोनित, प्रवक्तामा जगदीश खरेल

    काठमाडौँ, ५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ ।

    सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल(ललितपुर) तथा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

    उनका अनुसार पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल(ललितपुर), लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई मनोनयन गरिएको छ । विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ ।

    प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ । रास्वपाले आगामी स्थानीय निर्वाचनका लागि महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।

    स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालनको संयोजक सहमहामन्त्री निशा डाँगीलाइ ताेकिएकाे छ । बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको महामन्त्री आचार्यले जानकारी दिए ।

    मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्य रहनेछन् । रास्वपाको विधानअनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, मनोनित ५१ र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति सात गरी १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।

  • सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    काठमाडौँ, ५ भदौ : सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मुख्यसचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत कार्यालयलाई परिपत्र गरिएको जनाएको छ ।

    कार्ययोजनाअनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो । कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने, आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

    कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा कार्ययोजनाको मुख्य आधार छ ।

    कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसञ्चार, खानेपानी, सार्वजनिक यातायात एवम् बजार अनुगमनलगायत क्षेत्रमा ३० दिनभित्र सेवाग्राहीको अनुभवमा मापनयोग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ ।

    सेवा प्रवाहको दीर्घकालीन सुधारका लागि आवश्यक संरचनागत कामसँगै तत्काल कार्यान्वयन गर्न सकिने उपाय पहिचान गरी सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै लैजाने अवधारणामा कार्ययोजना ल्याइएको हो । कार्ययोजनाले अन्ततः सरकारी सेवामा सेवाग्राहीको समय, लागत र झन्झट घटाउने, सूचना प्रवाह सुधार गर्ने, गुनासोको तत्काल सम्बोधन गर्ने, कार्यालयको जवाफदेहिता बढाउने र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ ।

    कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राहीमैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक चरण तथा झन्झट घटाउने विषयमा जोड दिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीले आफूले लिन खोजेको सेवाका लागि कहाँ, कसरी र के–के कागजातसहित जाने भन्ने जानकारी पहिल्यै पाउने व्यवस्था गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

    सरकारी कार्यालयले सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नुपर्ने र सेवाग्राहीको गुनासो तथा समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने व्यवस्था पनि कार्ययोजनामा छ । ‘क्विक फिक्स’मार्फत तत्काल समस्या समाधान कार्ययोजनामा ‘क्विक फिक्स’ अवधारणालाई विशेष प्राथमिकता दिइएको छ ।

    अर्थात् दीर्घकालीन कानुनी वा संरचनागत सुधारको प्रतीक्षा नगरी तत्काल गर्न सकिने सुधारका काम पहिचान गरी कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको हो । कार्ययोजनामा ३० दिनको तत्काल सुधार कार्यान्वयन कार्ययोजनाअन्तर्गत ‘क्विक फिक्स’ सहित विभिन्न सुधारका क्षेत्र राखिएका छन् । सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्या पहिचान, तत्काल समाधान, अनुगमन तथा सुधारको चक्रलाई निरन्तर अघि बढाउनका लागि कार्ययोजना ल्याइएको जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवामा सेवाग्राहीलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने र सेवा लिन आउने नागरिकलाई प्रक्रियाबारे स्पष्ट सूचना दिने व्यवस्था गर्ने व्यवस्था गरिएको छ । कार्यालयमा उपलब्ध सेवाको प्रकृति, आवश्यक कागजात, प्रक्रिया तथा सेवाका चरणबारे नागरिकले सहज रूपमा जानकारी पाउने गरी व्यवस्था मिलाउनुपर्ने कार्ययोजनामा उल्लेख छ ।

    सेवाग्राहीको चाप हुने सेवा तथा अत्यावश्यक सेवामा प्राथमिकता दिने, सेवा प्रवाहलाई व्यवस्थित गर्ने र सेवाग्राहीले अनावश्यक रूपमा कार्यालयमा समय बिताउनुपर्ने अवस्था घटाउने विषयलाई पनि सुधारको प्राथमिकतामा राखिएको छ । यातायात व्यवस्था विभाग तथा कार्यालयको प्रवेशद्वारमै लाइसेन्स प्राप्तिको सम्पूर्ण प्रक्रिया बुझिने गरी बोर्डमा राख्ने, आवेदन, बायोमेट्रिक/सम्बन्धित प्रक्रिया, शुल्क, परीक्षा/ट्रायल, परिणामलगायतलाई सरल चित्रमा उल्लेख गर्न भनिएको छ । परीक्षा तथा ट्रायलको समय, मिति र स्थानबारे सेवाग्राहीलाई पर्याप्त जानकारी उपलब्ध गराउने, परीक्षा/ट्रायलसम्बन्धी प्रक्रियामा देखिएका समस्या पहिचान गर्ने तथा आवश्यक सूचना स्पष्ट रूपमा सार्वजनिक गर्ने विषय पनि कार्ययोजनामा समेटिएको छ ।

    राहदानी विभागले दिने सेवामा राहदानी आवेदनपूर्व कागजात जाँच, आवेदन वायोमेट्रिक चरणमा पुग्नुअघि आवश्यक विवरण तथा कागजात जाँच गर्ने, थप कागजात आवश्यक भए विवरणसहितको लिखित जानकारी दिने, सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रियाबारे अग्रिम सूचना दिने र कार्यालयमा हुने अनावश्यक भीड तथा झन्झट घटाउने उपायको व्यवस्था गरिएको छ । आवेदनमा आवश्यक कागजात, प्रक्रिया तथा सेवाको अवस्थाबारे स्पष्ट जानकारी उपलब्ध गराउने र सेवाग्राहीलाई सम्बन्धित चरणमा आवश्यक सहयोग तथा सूचना उपलब्ध गराउने कार्ययोजनाको उद्देश्य छ ।

    परीक्षा नियन्त्रण/बोर्डको सेवा सुधारलाई पाँच प्रमुख उपाय अपनाइएको छ । जसअनुसार परीक्षा, प्रमाणपत्र, ट्रान्सक्रिप्ट/लब्धाङ्कलगायत सेवाको सूचना एउटै बोर्डमा मिसाएर राख्नुपर्ने छ । साथै सबै कागजात पहिले नै जाँच गर्नुपर्ने छ भने विद्यार्थी तथा अभिभावकका लागि एक पटक मार्गदर्शन बुझाउनुपर्ने छ । कार्यालयका अनुसार नतिजा/प्रमाणपत्रसम्बन्धी जानकारी छिटो उपलब्ध गराउनुपर्ने छ भने दोहोरिने कागजी काम पहिचान गरी काम गर्नुपर्ने छ ।

    मालपोत कार्यालयमा छ प्रकारका सुधारको उपाय अपनाइएको छ । मालपोत सेवामा सेवाग्राहीले आवश्यक कागजात, प्रक्रिया तथा लाग्ने समयबारे स्पष्ट जानकारी पाउने व्यवस्था गर्न व्यवस्थाप गरिएको छ । सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी अनावश्यक ढिलाइ तथा झन्झट घटाउने, कामको अवस्थाबारे सेवाग्राहीलाई जानकारी दिने र कार्यालयको सेवा प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

    कार्ययोजनाले मालपोत सेवामा प्रक्रियागत स्पष्टता, सेवाग्राहीलाई आवश्यक सूचना र सेवा प्रवाहको व्यवस्थापनलाई तत्काल सुधारका क्षेत्रका रूपमा लिएको छ । सार्वजनिक सेवा क्षेत्रमा नागरिकका गुनासोलाई व्यवस्थित रूपमा दर्ता, वर्गीकरण र समाधान गर्ने प्रणाली विकास गर्ने व्यवस्था गरिएको छ । कार्ययोजनामा ‘नेटवर्क कम्प्लेन्ट ड्यासबोर्ड’ लगायतका माध्यमबाट गुनासो व्यवस्थापनलाई व्यवस्थित गर्ने तथा आवश्यक तथ्याङ्कलाई एक्सेल वा गुगल सिटमार्फत समेत व्यवस्थित रूपमा राख्ने उपाय उल्लेख गरिएको छ ।

    गुनासोको प्रकृति र प्राथमिकताका आधारमा सम्बन्धित निकायबाट समाधान गर्ने, समाधानको अवस्थाबारे अभिलेख राख्ने तथा सेवाग्राहीलाई गुनासोको अवस्थाबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । नेपाल टेलिकमको ‘कमजोर सिग्नल’ सूची हरेक कार्यालय/शाखाले सङ्कलन गर्नुपर्नेछ । त्यसपछि अस्पताल, सरकारी सेवा केन्द्र, शैक्षिक संस्था, मुख्य बजार, राजमार्ग, दुर्गमबस्तीलगायतका क्षेत्रलाई १० वटा प्राथमिकतामा राखेर काम सेवा सुधार गर्नुपर्नेछ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पानी आपूर्ति तथा वितरणसँग सम्बन्धित समस्या, पानीको उपलब्धता तथा वितरणको सूचना, गुनासो व्यवस्थापन र सेवाग्राहीसँग सम्बन्धित सूचनालाई व्यवस्थित बनाउने व्यवस्था गरिएको छ । पानी वितरणको तालिका सार्वजनिक गर्ने, पानी नआउने वा वितरणमा समस्या देखिँदा त्यसबारे सेवाग्राहीलाई सूचना दिने, गुनासोका लागि फोन तथा अन्य माध्यम प्रयोग गर्ने र प्राप्त गुनासोलाई सम्बन्धित प्रणालीमा दर्ता गरी समाधान गर्ने व्यवस्था गरिएको छ ।

    विद्यालय, अस्पताल तथा अन्य सार्वजनिक संस्थामा खानेपानीको व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने कार्ययोजनामा उल्लेख छ । सार्वजनिक यातायातअन्तर्गत माइक्रो तथा मिनी बस सेवामा भाडा, यात्रु सेवा, दुर्घटना तथा अन्य सेवासम्बन्धी समस्या तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको छ । यात्रुले आवश्यक सूचना सहज रूपमा पाउने, सेवा सञ्चालनमा देखिएका समस्या पहिचान गर्ने तथा सम्बन्धित निकायबाट तत्काल समाधानका लागि पहल गर्ने व्यवस्था कार्ययोजनामा समेटिएको छ ।

    सार्वजनिक यातायातमा यात्रु तथा सरोकारवालाबाट आउने गुनासोलाई ह्वाट्सएप, एसएमएस तथा क्यूआरलगायत माध्यमबाट प्राप्त गर्ने र त्यसलाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रणाली विकास गर्ने व्यवस्थाप समेत गरिएको छ । हरेक कार्यालयमा ‘फोकल पर्सन’ कार्ययोजनाको कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा फोकल पर्सन तोक्ने व्यवस्था गरिएको छ ।

    फोकल पर्सनले कार्ययोजनामा उल्लेख गरिएका सुधारका काम कार्यान्वयन भए/नभएको हेर्ने, समस्या देखिए सम्बन्धित अधिकारी तथा निकायसँग समन्वय गर्ने र सुधारको प्रगति अभिलेख राख्ने जिम्मेवारी लिनेछन् । कार्यालय प्रमुखले पनि कार्ययोजना कार्यान्वयनको नियमित अनुगमन गर्नुपर्ने र सुधारका काममा देखिएका समस्या तत्काल समाधान गर्न पहल गर्नुपर्ने व्यवस्था छ ।

    अनुगमनका लागि सूचक तय कार्ययोजनाले सुधारको प्रभाव मापन गर्न सेवाग्राहीले सेवा लिन लाग्ने समय, प्रतीक्षा समय, अनावश्यक कागजात तथा प्रक्रिया, सेवामा देखिएका समस्या र गुनासो समाधानको अवस्थालगायतका सूचकलाई आधार बनाउने व्यवस्था गरेको छ । सम्बन्धित कार्यालयले सुधारका कामको प्रगति नियमित रूपमा समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ । सुधार कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कनमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिकालाई समेत जोड दिइएको छ । कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

  • दोस्रो एकदिवसीय अभ्यास खेलः नेपालको लगातार दोस्रो जित

    दोस्रो एकदिवसीय अभ्यास खेलः नेपालको लगातार दोस्रो जित

    काठमाडौँ, ५ भदौः भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास (एसिसी प्रिमियर कपको अभ्यास)मा लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले आज त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पाँच विकेटले हरायो । आजको खेलमा कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मध्यक्रमका ब्याटर देव खनालले शतकीय पारी खेले । उनले ११३ बलमा चार चौका र दुई छक्कासहित अविजित १०० रनको पारी खेलेका हुन् ।

    आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ र रोहितकुमार पौडेलले १२ रन जोडे । अविजित रहेका बसिर अहमदले अविजित २२ रन बनाए । कर्नाटकका लागि बलिङतर्फ एल बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राई, रितेश भटकल र चीरन्थ शिवरुद्रले समान एकरएक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनाएको थियो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन बनाएका थिए ।

    नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीनतीन तथा हेमन्त धामीले दुई विकेट हात पारे । कर्नाटकविरुद्धको पहिलो अभ्यास खेलमा नेपालले ११६ रनको जित निकालेको थियो । नेपाली टिम केही दिन थप अभ्यास गरेर भारतबाटै प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ ।

  • निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    काठमाडौँ, ५ भदौः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो ।

    मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ । पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् ।

  • खबराको केरामा ‘फ्युजारियम’

    खबराको केरामा ‘फ्युजारियम’

    म्याग्दी, ५ भदौः म्याग्दीको बेनी नगरपालिका–२ खबराको केरा खेतीमा ‘फ्युजारियम’ रोग देखिएको छ । पसाउने बेलामा केराका बोट तथा टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि दुई महिनाअघि नमुना सङ्कलन गरेर परीक्षण गरिएको थियो । केरामा देखिएको सङ्क्रमणको पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय (म्याग्दी) र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले दुई महिनाअघि नमुना सङ्कलन गरेको थियो ।

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जिव बास्तोलाले खबराको केराखेतीको समस्या ‘फ्युजारियम’ भएको प्रयोगशालाबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए । “फ्युजारियम ढुसीजन्य रोग हो । समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुभा, थाम, पात, जराको भागको नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाएका थियौँ”, उनले भने, “प्रयोगशालाबाट प्राप्त प्रतिवेदनको आधारमा पहिचान भएको रोग नियन्त्रणको प्रयास थालिएको छ ।”

    समस्या देखिएका बगैँचाबाट बोटबिरुवा अन्यत्र नलैजान, रोगी बिरुवालाई सुरक्षित रूपमा व्यवस्थापन गर्न, कृषि औजारलाई अन्यत्र प्रयोग गर्दा सरसफाइ गर्न, समस्या नदेखिएका बगैँचाको सरसफाइमा विशेष ध्यान दिन कृषि विकास अधिकृत बास्तोलाले किसानहरूलाई आग्रह गरे । उनका अनुसार १२० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् ।

    केराखेती खबराको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसानहरू चिन्तित बनेको बताए । सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्रीभाग) कुहिने र बोट सुक्ने समस्या देखिएको कृषक कृष्ण सापकोटाले बताए । खबरामा ७०० रोपनी क्षेत्रफलमा केराखेती विस्तार भएकामा, १५ प्रतिशत बगैँचामा समस्या देखिएको जनाउँदै ३० प्रतिशत उत्पादन घटेको कृषक दिपक सापकोटाले बताए ।


    यहाँ केराखेतीबाट मासिक न्यूनतम रु १०÷१२ हजारदेखि रु ५० हजारभन्दा बढी कमाउने कृषक छन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगेको सापकोटाले बताए । विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याउनुभएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो ।

  • देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न


    काठमाडौँ, ५ भदौः कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

    विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोशीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ ।

    विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला रोपाइँ भएको बताउँदै पछिल्लो समय रोपाइँमा सुधार आएको जानकारी दिए । उनका अनुसार अधिकांश स्थानमा रोपाइँ गर्न आकासे पानीकै भर पर्नुपर्ने अवस्था भए पनि मनसुन सुखद् रहेका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेकाले उत्पादनमा वृद्धि हुन्छ ।

  • काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिका–१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका १७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीका अनुसार किशोर र २० वर्षीय प्रमित पटेलले आज बिहान कुटपिट गरी तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    कालाथोकीको कुटपिटका कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट प्रहरी खटिएको थियो । पाँच जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनापछि फरार रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड

    इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड

    तेहरान, ५ भदौ (रासस–एएफपी) । इरानले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई बिहीबार मृत्युदण्ड दिएको छ । इरानी न्यायपालिकाको मिजान अनलाइनका अनुसार घेम हुसेनीलाई मुद्दा पुनरावलोकनपछि सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो ।

    मध्य इस्फहान प्रान्तमा प्रहरी अधिकारीको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा दोषी ठहरिएका हुसेनीमाथि हतियार प्रयोग गरी भय र आतङ्क फैलाएको, असुरक्षा सिर्जना गरेको तथा सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा गम्भीर क्षति पुर्‍याएको आरोप लगाइएको थियो । उनको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन ।

    इरानले यही घटनासँग सम्बन्धित अभियोगमा गत जुलाईयता अन्य चार जनालाई समेत मृत्युदण्ड दिइसकेको छ । पछिल्लो समय प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको छ । इरानी अधिकारीका अनुसार जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलनमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    नर्वेस्थित इरान ह्युमन राइट्स र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीका अनुसार इरानले गत वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो । यो सन् १९८९ यताकै उच्च सङ्ख्या भएको संस्थाहरूको दाबी छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक हो ।

  • ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने


    लन्डन, ५ भदौ (रासस–एएफपी) । राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने तयारीमा छन् । बेलायती सञ्चारमाध्यमका अनुसार दम्पतीले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाएका छन् ।


    द टेलिग्राफका अनुसार उनीहरुले नयाँ घरसमेत छनोट गरिसकेका छन् । बिबिसीसहितका सञ्चारमाध्यमले ह्यारी–मेघनका सात वर्षीय राजकुमार आर्ची र पाँच वर्षीया राजकुमारी लिलिबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायती विद्यालयमा भर्ना गरिसकिएको जनाएका छन् ।

    ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेर अमेरिका बस्न थालेका थिए । पारिवारिक विवादका बीच बेलायत छाडेका उनीहरूको शाही परिवारसँगको दूरी ह्यारीको संस्मरण ‘स्पेयर’ तथा अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि थप बढेको थियो ।

    प्रेस एसोसिएसनका अनुसार राजा चार्ल्स तृतीयलाई दम्पतीले बेलायत फर्किएर बस्ने योजना बनाएको जानकारी दिइसकिएको छ । राजाले परिवारका सदस्यसँग भेटघाट गर्ने अवसरलाई स्वागत गर्ने भए पनि ह्यारी र मेघनको शाही हैसियतमा कुनै परिवर्तन हुने छैन र उनीहरूले राजपरिवारको आधिकारिक जिम्मेवारी सम्हाल्ने छैनन् ।
    बेलायतमा परिवारसहित फर्कन आफू सुरक्षित महसुस नगरेको ह्यारीले यसअघि बताएका थिए । सरकारी खर्चमा उपलब्ध हुने प्रहरी सुरक्षासम्बन्धी कानूनी विवादमा पराजित भएपछि उनले परिवारलाई सुरक्षित रूपमा बेलायत ल्याउन कठिन रहेको बताएका थिए । गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था आवश्यकताअनुसार कडा र उपयुक्त रहेको जनाएको छ ।

    ह्यारी–मेघनको पछिल्लो बेलायत भ्रमण जुलाईको सुरुआतमा भएको थियो । त्यस क्रममा उनीहरूले राजा चार्ल्ससँग निजी भेट गरेका थिए । राजा चार्ल्सलाई दुई वर्षअघि क्यान्सर भएको पत्ता लागेपछि उपचार गराउँदै आएका छन् । ह्यारीका दाजु तथा सिंहासनका उत्तराधिकारी राजकुमार विलियम र उनकी पत्नी क्याथरिनलाई दम्पतीको फर्किने योजनाबारे जानकारी दिइएको थियो वा थिएन भन्ने स्पष्ट छैन । ह्यारी र विलियमबीच लामो समयदेखि दूरी रहेको बताइन्छ ।

    राजपरिवारसम्बन्धी टिप्पणीकार रिचर्ड फिट्जविलियम्सले ह्यारी–मेघनको सम्भावित पुनरागमनलाई ‘असाधारण विकास’ भनेका छन् । उनले दम्पतीले अमेरिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गरेका छन् । सन् २०२० मा नेटफ्लिक्ससँग करिब १० करोड अमेरिकी डलरको सम्झौता गरे पनि उनीहरूका केही परियोजनाले अपेक्षाअनुसार दर्शक आकर्षित गर्न नसकेको बताइएको छ ।

    द सनका अनुसार दम्पतीले क्यालिफोर्नियाको मोन्टेसिटोस्थित घर र पोर्चुगलको घर पनि कायम राख्नेछन् । यसैबीच, ह्यारीकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले डायनाको जीवनबारे ‘स्वान सङः डायना, माई सिस्टर’ नामक पुस्तक प्रकाशन गर्ने घोषणा गरेका छन् । पुस्तक सेप्टेम्बर २२ मा १२ भाषामा प्रकाशित हुनेछ । जुलाईको सुरुआतमा ह्यारी, मेघन र उनीहरूका सन्तानले मध्य इङ्ल्यान्डस्थित अल्थर्पमा रहेको स्पेन्सर परिवारको पैतृक घर भ्रमण गरी डायनाको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गरेको बताइएको छ ।

  • इरानका साझेदारलाई ट्रम्पको चेतावनी

    इरानका साझेदारलाई ट्रम्पको चेतावनी

    वासिङ्टन, ५ भदौ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने कुनै पनि देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान घोषणा गरेका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला र हर्मुजको महत्त्वपूर्ण जलघाँटीबाट हुने आवागमन अझै प्रभावित भइरहेका बेला उहाँको घोषणाले इरानमाथिको आर्थिक दबाब थप बढाउने सङ्केत गरेको छ ।

    ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायलाई इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन दिएमा ती देशले कडा आर्थिक परिणाम भोग्नुपर्ने बताए । उनले आफ्नो कदमलाई अहिलेसम्मकै ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अभूतपूर्व स्तरमा आर्थिक युद्ध र इरानको अलगाव अघि बढाउने घोषणा गरेका छन् । यद्यपि, इरानबाहेक कुन देश वा संस्थामाथि कस्तो कारबाही गरिनेछ भन्ने उनले बताएका छैनन् ।


    ट्रम्पले तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानले प्रयोग गर्ने अगाडिका कम्पनीलगायत गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि गत साता अमेरिकी नौसेनाको नाकाबन्दीसँगै इरानलाई आर्थिक रूपमा अलग्याउने अभियान तीव्र पारिने बताएका थिए । उनले यसलाई विश्वले यसअघि कहिल्यै नदेखेको स्तरको आर्थिक अलगावको प्रयासका रूपमा व्याख्या गरेका थिए ।


    अमेरिकी अर्थ मन्त्रालयले केही महिनादेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ नामक अभियान सञ्चालन गर्दै लक्षित प्रतिबन्धमार्फत इरानको आर्थिक स्रोत सीमित गर्ने प्रयास गरिरहेको छ । यसैबीच, अमेरिकी सैन्य कारबाहीको महिनौँ सामना गरेपछि इरानले पनि कडा प्रतिक्रिया जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमले युद्धका कारण अमेरिकी हतियार भण्डारमा उल्लेखनीय कमी आएको दाबी गरे पनि पेन्टागनले त्यसलाई अस्वीकार गरेको छ ।

    द्वन्द्व फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । इरानी क्षेप्यास्त्र तथा ड्रोनको जोखिमका कारण हर्मुज जलघाँटी हुँदै हुने ढुवानीमा ठूलो कमी आएको थियो । जलघाँटी पुनः खोल्न अमेरिका र इरानबीच भएको सम्झौताको प्रयाससमेत असफल भएको छ ।

    यद्यपि, ट्रम्पले बुधबार हर्मुज हुँदै जहाज सञ्चालनमा सहयोग गर्न अमेरिकी सेनाले गरिरहेको प्रयासको बचाउ गर्दै अहिले धेरै जहाज आवतजावत गरिरहेको बताएका थिए । डिजिटल सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी सेनाले पछिल्ला साताहरूमा दैनिक करिब १५ देखि २० वटा जहाजलाई हर्मुजभित्र र बाहिर आवतजावत गर्न सहज बनाइरहेको छ । ती जहाजले युद्धअघिको तुलनामा करिब आधा परिमाणमा तेल ढुवानी गरिरहेको जनाइएको छ ।

    अमेरिका र इरानबीच पछिल्ला दिनमा सन्देश आदानप्रदान भइरहेको बताइए पनि ट्रम्पले मङ्गलबार वार्ता रोकिएको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमा हर्मुज जलघाँटीलाई अमेरिकाको नयाँ क्षेत्रका रूपमा स्थापित गर्न सकिने सङ्केतसमेत गरेका थिए । यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले मङ्गलबार इरानमाथि दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै तेहरानसँगका सबै आर्थिक सम्झौता स्थगित गर्ने घोषणा गरेको थियो ।

    युएई र इरानबीच गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहे पनि युद्धअघि युएई अमेरिकी प्रतिबन्धमा रहेको इरानको प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो । युएईमा ठूलो इरानी समुदायसमेत बसोबास गर्दै आएको छ । ट्रम्पले इरानको खतरा अलग्याउन र पराजित गर्न अमेरिकाका सबै सहयोगीले अमेरिकाको साथ दिनुपर्ने बताएका छन् । उनको पछिल्लो घोषणाले इरानमाथि मात्र नभई उससँग आर्थिक कारोबार गर्ने देशहरूमाथि समेत अमेरिकी दबाब बढ्ने सङ्केत गरेको छ ।

  • ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

    ढोरपाटनमा विदेशी सिकारीको आकर्षण


    रासस
    बागलुङ, ५ भदौः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा रु तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा रु एक करोड ४३ लाख ७४ हजार राजस्व बुझाइएको थियो ।

    आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मङ्सिर)मा ११ नाउर र आठ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । राजस्व बुझाए पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन ।

    दोस्रो सिकार याम (फागुन–वैशाख)मा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो । सो याममा सिकारीले १३ नाउर र छ झारलको सिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको सिकार हुन नसकेको सुवेदीले बताए । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन ।

    नेपालमा कानुनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकार गर्न आउने गर्छन् । नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् । सिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गर्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या हेरेर हरेक वर्ष सिकारका लागि कोटा निर्धारण गर्छ । सिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् । व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । सिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा रु २० लाखदेखि रु ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

    सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जना सिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ । विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

  • आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    काठमाडौँ, ५ भदौः आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तरराष्ट्रिय ऐक्यबद्धता प्रवद्र्धन तथा पीडितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड दिँदै आएका छन् ।

    सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतङ्कवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण प्रयास हुन् ।

    सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ । प्रस्तावले सदस्य राष्ट्रलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ ।

    सन् २०२२ सेप्टेम्बरमा राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरिएको थियो । राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम र ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ ।

    राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । साथै, पीडितलाई सहयोग गर्न नागरिक समाज र निजी क्षेत्रका संस्थासँगको सहकार्यलाई पनि यो संस्थाले प्रोत्साहन गरेको छ ।

    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल


    बाजुरा, ५ भदौः बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् । पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् । गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि अस्पताल सञ्चालन गरेको हो । जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभर २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो ।

    जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएको १० शय्याको अस्पताल रु ११ करोड ७८ लाख ४५ हजारको लागतमा निर्माण भएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालन भए पनि केही जनशक्ति र उपकरणको अभाव छ । उहाँका अनुसार २०८२ चैतदेखि एक मेडिकल अधिकृतको पद रिक्त रहेकाले गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ ।

    गौमुल गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरे । अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको गाउँपालिका अध्यक्ष रोकायाले बताए । अहिले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी सीमित स्वास्थ्य सेवा सुरु गरिएको उनले बताए ।


    अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए । उनले भने, “अब आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।”

    गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताइन् । यसअघि सामान्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीले अब थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने अपेक्षा गरेका छन् । आधारभूत अस्पताल सञ्चालनमा आएपछि गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

    जिल्लाका दुई गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य पालिकाले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए । त्यस्तै, बुढीगङ्गामा १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ भने अन्य पालिकामा पनि अस्पताल निर्माणाधीन अवस्थामा छन् ।

  • भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुर, ५ भदौः भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल उपयुक्त रहेको केन्द्रले जनाएको छ । जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल भने ६२ हजार २९९ हेक्टर रहेको छ ।

    भोजपुरका नौवटै स्थानीय तहका तल्लो भेगमा मुख्य रूपमा धानखेती हुने गरेको छ । यस वर्ष मनसुनका कारण पर्याप्त वर्षा भएपछि अधिकांश क्षेत्रमा समयमै रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्याप्त वर्षा भएकाले रोपाइँको काम समयमै सम्पन्न भएको हो । भोजपुरका किसानको प्रमुख खाद्यबाली धान भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ ।

    जिल्लाका केही क्षेत्रमा बर्खे धान लगाइने भए पनि अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरेको छ । बेँसी तथा फाँट क्षेत्रमा भने किसानले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन् । समयमा रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादनमासमेत सकारात्मक प्रभाव पार्ने देखिएको केन्द्रको भनाइ छ ।

  • एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान


    प्रतीक्षा आले –रासस

    गोरखा, ५ भदौः एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् । चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्न, झाँट्न र कुट्न थालिन्छ ।

    गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्त्याउने समय भएको लामाले बताए । चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ । चुमभ्यालीमा साइत जुराएर बाली भित्र्त्याएमा सहकाल रहने जनविश्वास रहेको स्थानीय प्रमुख लामा पासाङ फुञ्जोले बताउनुभयो। यहाँ सबै गाउँमा एकैपटक बाली काटिँदैन। छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरेर बाली थन्क्याउने गरेका छन्।

    भौगोलिक रूपमा गाउँहरू टाढा छन् चार घण्टा पैदल हिँडेर पनि गाउँले एकअर्काको खेतबारीमा काम गर्न पुग्छन् । अबको एक महिनामा चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र््याइसक्नुपर्नेछ । चुमनुब्री–७ छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा तीन हजार ३०० देखि तीन हजार ५०० मिटरको उचाइमा छ । यहाँ गहुँ पाक्न ११ महिना लाग्छ ।

    “यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ,” प्रमुख लामा फुञ्जोले भने, “बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने चलन छ।”
    एक वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ । यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौँ तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने चलन रहेको प्रमुख लामाले बताउनुभयो ।

    खेतीमा बढ्दो मेसिनको प्रयोग

    हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनमार्फत गहुँ काट्ने र कुट्ने गरेका छन् । चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने र कुट्ने मेसिन रहेका चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाले बताए । चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ। स्थानीयवासीले ढिँडोसँगै रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन् । याक र नाकको दानाका साथै घरेलु मदिरा उत्पादनमा गहुँ प्रयोग हुने गरेको छ ।

  • म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    रासस
    म्याग्दी, ५ भदौः एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए ।


    “चार सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला र एक हजार ८४० हेक्टरमा आलुखेती भएको थियो”, उनले भने, “सुन्तला प्रतिहेक्टर १०।५ र आलु प्रतिहेक्टर १८ मेट्रिक टनका दरले उत्पादन भएको छ ।” सुन्तलाको सरदर मूल्य प्रतिकिलोग्राम रु ७५ र आलुको रु ३० का दरले बिक्री भएको हो ।

    अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले रु २० करोड मूल्यबराबरको आलु उत्पादन घटेको अधिकृत बास्तोलाले बताए । म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । आव २०८०\८१ मा एक हजार ७५० हेक्टरमा ३१ हजार ४५० मेट्रिक टन आलु र रु २४ करोडबराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कृषि प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

    अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो ।

    खायन आलु र सुन्तला बगैँचा विस्तार तथा सुदृढीकरण

    कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहहरूले म्याग्दीमा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रममा जोड दिएका छन् । गत आवमा तीनै तहका सरकारले कृषि क्षेत्रमा रु नौ करोड ३९ लाख ८३ हजार बजेट विनियोजन गरेकामा ७२।८३ प्रतिशत अथवा रु छ करोड ७८ लाख ६७ हजार खर्च गरेका जनाएका छन् ।

    कृषि विकास कार्यालयले आलु प्रवर्द्धन कार्यक्रममार्फत गत आवमा ८०० घरपरिवारलाई ७०० रोपनी क्षेत्रफलमा आलु लगाउन रु ३९ लाख ७० हजार अनुदान उपलब्ध गराएकामा एक हजार ६६५ मेट्रिक टन उत्पादन भएको छ । सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रममार्फत कार्यालयको रु १९ लाख २९ हजार सहयोगमा ३२ वटा कृषि फार्मले ५९९ रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा मलखाद, सिँचाइ, औजार तथा यान्त्रिकीकरण गरेका छन् ।

    आगामी वर्ष फलफूल बगैँचा सुदृढीकरण तथा विस्तार कार्यक्रमलाई रु ४२ लाख र खायन आलु प्रवर्द्धन कार्यक्रमलाई रु ३३ लाख बजेट विनियोजन भएको कार्यालयका बाली संरक्षण अधिकृत प्रकाश पुनले बताए ।

    बजेटमा उतारचढाव

    कृषि विकास कार्यालयको बजेटमा उतारचढाव हुँदै आएको छ । आव २०७८÷७९ मा रु पाँच करोड १९ लाख ४६ हजार रहेको बजेट २०७९÷८० मा रु पाँच करोड ४७ लाख ७६ हजार पुगेको थियो । आव २०८०÷८१ मा रु सात करोड दुई लाख १४ हजार पुगेको बजेट २०८१÷८२ मा घटेर रु चार करोड ८१ लाख ८७ हजार र २०८२÷८३ मा रु चार करोड २४ लाख ६५ हजारमा झरेको थियो । चालु आव २०८३÷८४ मा भने बजेट बढेर रु चार करोड ७८ लाख ४८ हजार पुगेको बिहीबार बेनीमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख बास्तोलाले जानकारी गराए ।

    यस वर्ष प्राथमिकताप्राप्त कृषि बाली तथा वस्तुमा नयाँ ब्लक विकास कार्यक्रम स्थापनाका लागि रु २५ लाख र प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि रु १५ लाख लाख बजेट प्राप्त भएको छ । जलवायुमैत्री कृषि प्रविधि प्रवर्द्धनका लागि रु १० लाख, ग्रामीण कृषि पर्यटन प्रवर्द्धनका लागि रु पाँच लाख र प्राङ्गारिक मल वितरणका लागि रु १० लाख बजेट राखिएको छ । कृषि उद्यम विकासका लागि रु पाँच लाख तथा निर्यातजन्य कृषि वस्तु प्रवर्द्धनका लागि रु १५ लाख विनियोजन भएको छ ।

    किसानका समस्याः बाँदर र सिँचाइ

    कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट आएका किसानहरूले कृषि उपजको बजार व्यवस्थापन, बाँदरको समस्या, पर्याप्त सिँचाइ सुविधाको अभाव, गुणस्तरीय बीउबिजनको कमी र जनशक्ति अभावको समस्या औँल्याएका छन् ।

    यी समस्या समाधानका लागि बीउबिजन उत्पादन कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, युवालक्षित कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजारको सुनिश्चितता र सिँचाइमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धवलागिरि गाउँपालिका–७ का किसान तोरण थापाले बताए ।
    सांसदको ध्यानाकर्षण र मन्त्रीको प्रतिबद्धता

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सविन)ले मझौला र साना किसानसम्म पुग्नेगरी प्रदेश सरकारले कृषि कार्यक्रमका कार्यविधिलाई संशोधन गर्न मन्त्री भीमबहादुर कार्कीको ध्यानाकर्षण गराए । म्याग्दीमा कृषि उपजको बजारीकरण गर्नलाई सहज होस् भनेर ग्रामीण सडक स्तरोन्नति योजनाहरूलाई पछिल्ला केही वर्षयता प्राथमिकता दिएको बताए ।

    मन्त्री कार्कीले गण्डकीमा भएका जनशक्तिलाई पुर्याएर पनि पर्यटकका लागि समेत स्वच्छ, गुणस्तरीय कृषि उपज उपभोगको वातावरण बनाउन जोड दिइएको बताए ।
    विगतमा सञ्चालन भएको चैते धान र आलुको कार्यक्रम प्रभावकारी देखिएकाले यस वर्ष पनि पुरानासहित नयाँ ‘रिटर्न टु होम’लगायत कार्यक्रम ल्याएको जानकारी दिए । मन्त्री कार्कीले कृषि बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा कम्पनीहरूसँग छलफल गरिरहेको बताए ।

  • एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    काठमाडौँ, ५ भदौः नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो । खेल आज अपराह्न २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो ।

    लिग चरण पार गर्ने लक्ष्य

    यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ । सोही कारण नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीका केही महत्त्वपूर्ण खेलाडीलाई अष्ट्रेलिया पठाएको छ । क्यानले कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, गुलशनकुमार झाजस्ता सिनियर टोलीका लागि पटकपटक खेलिसकेका खेलाडी ‘ए’ टोलीमा समावेश छन् ।

    उनीहरूमध्ये अधिकांश खेलाडीले गत संस्करणको टप एन्ड टी–२० सिरिज पनि खेलेका थिए । एनटी स्ट्राइकविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । गत सिजनमा भएको त्यस खेलमा एनटी स्ट्राइकविरुद्ध नेपाल ४२ रनले पराजित भएको थियो । यसपालि नेपाल ‘ए’ सामु त्यो प्रदर्शनमा सुधार गर्ने मौका छ ।