Category: समाचार

  • सर्वोच्चको आदेशपछि थुनामुक्त भए राप्रपा उपाध्यक्ष मिश्र

    सर्वोच्चको आदेशपछि थुनामुक्त भए राप्रपा उपाध्यक्ष मिश्र

    २ जेठ, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
    न्यायाधीशद्वय डा कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो । आदेशमा भनिएको छ, “हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण सङ्कलन सम्पन्न भइसकेको, थप प्रमाण सङ्कलन गर्नुपर्ने भए सो बमोजिम सङ्कलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु ।”

    राप्रपा नेता मिश्रलाई गत चैत १५ गते पक्राउ गरिएको थियो । प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँबाट पटक पटक अनुमति लिएको थियो । उनलाई अनुसन्धानकै लागि हालसम्म हिरासतमा राखिएको थियो । जिल्ला अदालतबाट गत वैशाख १० मा हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट सङ्कलन गर्नुपर्ने प्रमाणहरु सङ्कलन भइसकेको अवस्था देखाइ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको हो ।

  • देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो

    देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो

    काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध हुँदा मोवाइलको बत्तिमा बैठक चलाउनु परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ । बैठकमा सहभागी सांसदहरुका अनुसार विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको हो ।

    अबेरसम्म उपसमितिमा शिक्षा विधेयकबारे छलफल भएको थियो । शिक्षक आन्दोलनपछि सरकारले शिक्षा विधेयकलाई अघि बढाउन प्राथमिकता दिइरहेको छ । उता नेपाल विद्युत प्राधिकरणले बिहीबार भारतका कारण बिजुली अवरुद्ध भएको स्पष्टीकरण दिएको थियो । तर, सोही समस्या आज पनि दोहोरिएपछि सामाजिक संजालमा सरकार र प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।

  • हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

    हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

    २ जेठ, सुनवल । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ । रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ । यसैगरी शुक्रबार बिहान कैलालीमा पनि हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो।

  • हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

    हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

    २ जेठ, काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।

    उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।

    त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ । काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।

  • सगरमाथा संवाद काठमाडौंमा सुरु

    सगरमाथा संवाद काठमाडौंमा सुरु


    जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ आयोजित सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । आजदेखि सुरु यो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ । कार्यत्रममा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन् ।

    कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताइन् । काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’

  • साउदीमा काम नपाएर अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

    साउदीमा काम नपाएर अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

    २ जेठ, काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।

    साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ ।

  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसदमा आज अर्थमन्त्रीले जवाफ दिने

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसदमा आज अर्थमन्त्रीले जवाफ दिने

    २ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२\८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।

    सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो । सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।

  • पूर्वाधार अभावमा कोरला नाका सञ्चालनमा समस्या

    पूर्वाधार अभावमा कोरला नाका सञ्चालनमा समस्या

    धर्मेन्द्र झा/रासस

    २ जेठ, मुस्ताङ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई परेको छ । नेपालतर्फको अध्यागमन कार्यालयमा ताला लागेको छ ।

    कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अन्योल छ । नाका सञ्चालन हुनका लागि भन्सारका साथै आवश्यक पशु तथा खाद्य क्वारेन्टाइन स्थापना भएको छैन । भन्सार कार्यालय सञ्चालनमा आउन क्वारेन्टाइन सञ्चालन आवश्यक छ । स्थानीयहरू सरकारले कोरलानाका सञ्चालनका लागि सक्रियता नदेखाउँदा समस्या भइरहेको गुनासो गर्छन् ।

    मुस्ताङको कोरोलास्थित नेपाल–चीन सीमा नाकामा नेपालको अध्यागमन कार्यालय रहे पनि पूर्णरुपमा अझै सञ्चालनमा आउन सकेको अवस्था छैन । तस्बिरः धर्मेन्द्र झा/रासस

    अध्यागमन कार्यालय उद्घाटन भएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिए पनि त्यसो हुन नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्यहर्वु गुरूङको बुझाइ छ । उहाँका अनुसार नाकामा सुरक्षा व्यवस्था पनि राम्रो छैन । नाका नजिकै दक्षिणतर्फ नेपालले टिनले छाएको चारकोठे भवनबाहेकका पूर्वाधार नहुँदा मानिस त्यहाँ रोकिने अवस्था छैन । यतिसम्मकि पानी पर्दा ओत लाग्ने ठाउँ पनि छैन ।

    “लोमान्थाङबाट नाका २१ किलोमिटरको दूरीमा पर्छ, नाका पुग्न १३ किलोमिटर अगाडि रहेको न्हेछुङमा प्रहरी पोष्ट (यस क्षेत्रमा अन्तिम पोष्ट) भए पनि नाकामा प्रहरीको उपस्थिति कमजोर छ”, उनले भने । नाकामा पूर्वाधार नभएका र तीव्रगतिमा चिसो हावा चल्ने भएकाले लामो समय टिकिराख्न गाह्रो हुने गरेको छ । त्यसैले प्रहरीहरू न्हेछुङबाट बिहान नाकातर्फ जाने र साँझ फर्कने गर्दै आएका छन् । कोरलानाकामा चीनतर्फ भने सुविधासम्पन्न अध्यागमन कार्यालय, भन्सार र सुरक्षाकर्मी बस्ने व्यवस्था छ ।

    लोमान्थाङबाट देखिएका पर्वतीय शृङ्खला मुस्ताङ, नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) जाने बाटोमा पर्ने पर्वतीय शृङ्खला । तस्बिरः धर्मेन्द्र झा÷रासस

    “सरकारले सामान्य टेन्टको पनि व्यवस्था गरेको छैन, सुरक्षाकर्मीका लागि बस्ने भवन छैन, विद्युत्को पोल भए पनि बिजुली पुगेको छैन”, उनले भने, “पूर्वाधार निर्माण गरी नाकाको प्रभावकारी सञ्चालन हुनसके मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकावासीले लाभ लिने थिए ।” नाकामा खानेपानी र ल्याण्डलाइन फोनको पनि सुविधा उपलब्ध नभएकाले पनि आफूहरूलाई समस्या भएको उनको भनाइ छ । गुरूङका अनुसार नाका सहज रूपमा सञ्चालनमा आए चिनियाँ पर्यटकको नेपाल आगमन पनि सहज हुनेछ । “अहिले पनि चीनबाट पाँच सय डलरसम्म खर्चेर नेपाल आउन चिनियाँ पर्यटक इच्छुक छन्, तर नेपालतर्फको अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा समस्या भइरहेको छ”, अध्यक्ष गुरूङले भनु ।
    कोरलानाकामा व्यापार गर्दै आएका जिग्मे आङ्मा गुरूङका अनुसार भवन नहुँदा व्यापारी खुला चौरमा व्यापार गर्न बाध्य छन् । “अहिले पनि हामी खुला चौरमै व्यापार गरिरहेका छौँ, पानी पर्दा र हुरी चल्दा समस्या हुन्छ”, उनले भने, “सरकारले आवश्यक पूर्वाधार निर्माण गरिदिए व्यापार गर्न सहज हुने थियो ।” उहाँजस्ता व्यापारीहरू बिहान ९ः०० बजे चीनतर्फ जाने र त्यहाँबाट सामान लिएर दिउँसो २ः०० बजेसम्म फर्कने गरेका छन् ।

    चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य वस्तु, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना छ । कोरलानाका राजनीतिक रूपमा पनि महत्त्वपूर्ण छ । विसं २०७२ को भूकम्पपछि तातोपानी, केरूङसँगै यो नाकाको पनि चर्चा भएको थियो । यो नाका सहज रूपमा सञ्चालनमा आउँदा यस क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने व्यापारी गुरूङको बुझाइ छ ।

    उनका अनुसार व्यापार गर्ने र नाका पुगेकालाई सहज हुनेगरी आवश्यक पूर्वाधार नहुँदा धेरै समस्या हुने गरेको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेशपास दिने भएकाले उनीहरू सहजै चीन जान पाउँछन् भने अन्यलाई विशेष पासको व्यवस्था गरिएको छ ।

    कोरलानाकामा एकीकृत भन्सार कार्यालय खोल्नका लागि सरकारले एक हजार तीन सय ४४ रोपनी जग्गा भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया चार वर्षयता सुरू गरे पनि अहिलेसम्म आवश्यक संरचना निर्माण सुरू भएको छैन । यद्यपि यसका लागि सीमाङ्कन गरी सिफारिस भने भइसकेको छ । कोरलानाकाबाट ल्याएको सामान जाँच गर्नका लागि १३ किलोमिटरको दूरीमा न्हेछुङ पुग्नुपर्ने बाध्यता छ । चीनले सीमा नजिकै जाँचपासको व्यवस्था गर्दा पनि नेपालले पूर्वाधार निर्माण गर्न नसकेको स्थानीय गुनासो गर्छन् ।

    यो नाका तिब्बतमा रहेको हिन्दूहरूको आस्थाको केन्द्र कैलाश र मानसरोवर जानका लागि पनि उपयुक्त मानिन्छ । लोमान्थाङबाट तिब्बततर्फ ४० किलोमिटरमा ढोङवासेन पर्छ । त्यहाँबाट करिब छ सय किलोमिटर दूरी पार गरेपछि मानसरोवर पुग्न सकिन्छ । नाकाको सहज सञ्चालन हुने होभने नेपालबाट कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज बाटो बन्न सक्ने स्थानीय जानकार बताउँछन् ।

    पछिल्ला केही वर्षमा आन्तरिक पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । उनीहरूका लागि खानेपानी र शौचालयको पनि व्यवस्था छैन । पर्यटक त्यहाँ रहेको २४ नम्बर पिलरमा तस्बिर लिन्छन् र फर्कन्छन् । त्यहाँ पुग्नका लागि सडकको पहुँच भए पनि बस्नका लागि सुविधा नहुँदा पर्यटक केही समय घुमेर फर्कने गरेका छन् । न्हेछुङमा रहेको प्रहरीका अनुसार पर्यटक आउने समयमा दैनिक औसतमा तीन सयवटा सवारीसाधन आउने गरेका छन् ।

    लोमान्थाङ मुस्ताङ, नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) । यो खुला र पठार क्षेत्र रहेको सिर्सिरे बतास, ऐतिहासिक गुफा, जैविक विविधतायुक्त हिमालको बीचमा रहेको उपत्यकाको रुपमा पनि परिचित छ । तस्बिरः धर्मेन्द्र झा÷रासस

    यसअघि गत कात्तिक दोस्रो सातामा गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोलीले कोरलानाकाको निरीक्षण गरी कोरलामा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिएको थियो । जसमध्ये खानेपानी र शौचालय तथा फोहर व्यवस्थापनको काम तत्कालै गर्नुपर्ने सुझाव दिइएको थियो । यो नाका कोरोना महामारीको समयमा २०७६ सालमा पूर्ण रूपमा बन्द भएको थियो । त्यसको चार वर्षपछि २०८० साल कात्तिक २७ गते सञ्चालनमा आएको थियो । त्यसअघिका वर्षमा नाकामा वर्षमा दुईपटक वैशाख–जेठ र दसैँका समयमा अन्तरदेशीय व्यापार मेला हुँदै आएको थियो ।

    तर कोरोना महामारीपछि व्यापार मेला हुनसकेको छैन । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता भएको तत्कालीन समयमा समितिले सुझाव दिएको थियो । नाकाको प्रभावकारी सञ्चालनका विषयमा दुवै देशका अधिकारीहरूबीच पटकपटक छलफल पनि भइसकेको छ । तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणका क्रममा पनि कोरलानाका सञ्चालनका विषयमा चासोपूवर्क छलफल भएको थियो ।

    जोमसोमदेखि कोरलानाकासम्म एक सय १० किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई प्रदेशको भाग्यरेखाका रूपमा प्राथमिकता दिएर स्तरोन्नति अगाडि बढाएको छ । यो सडक निर्माणपछि आर्थिक र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

  • बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै

    बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै

    २ जेठ, काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन् । आजदेखि हुने सगरमाथा संवादमा बिटिआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ ।

    सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत भएको मन्त्री शाहीले जानकारी दिए । बिटिआर जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रतिबद्धताअन्तर्गतका राष्ट्रहरूले प्रत्येक दुई वर्षमा तयार गर्ने दस्तावेज हो । दस्तावेनजमा ती मुलुकहरुको हरितगृह ग्यास उत्सर्जन, अनुकूलन उपायहरू, वित्तीय सहयोग, प्रविधि स्थानान्तरण, क्षमताविकास, र पारदर्शितासम्बन्धी जानकारी समावेश गरिन्छ ।

    साथै सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान ९एनडिसी०को मस्यौदा स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनएफसिसिसी) का पक्ष मुलुकहरुको २१औँ शिखर सम्मेलनमा आधारित तेस्रो एनडिसीको मस्यौदा गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । “तेस्रो एनडिसी, बिटिआर र कार्बन व्यापारसम्बन्धी नियमवाली सगरमाथा संवादअघि स्वीकृत गर्ने योजना थियो ।

    तर नियमावलीमा भने सरोकारवालाको प्रतिक्रिया सङ्कलन जारी रहेकाले संवाद अघि स्वीकृत हुन सकेन”, मन्त्री शाहीले भने । जलवायु अभियन्ता राजन थापाले सगरमाथा संवादअघि बिटिआर स्वीकृतिले सकारात्मक सन्देश दिनुका साथै अन्तरराष्ट्रिय एवं क्षेत्रीय सहयोग अभिवृद्धिका साथै पर्वतीय राष्ट्रहरूबीच सहकार्यको ढोका खोल्न मद्दत पुग्ने बताए ।

  • चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

    चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

    २ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
    लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

    बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

  • अमेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्पले कतारमा अमेरिकी सैनिकहरूको भ्रमण गर्ने

    अमेरिकाको ‘हस्तक्षेपवादी’ विगतलाई अस्वीकार गर्दै ट्रम्पले कतारमा अमेरिकी सैनिकहरूको भ्रमण गर्ने

    २ जेठ, कतार । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्ने भएका छन् । त्यहाँ उनले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको ‘हस्तक्षेपवादी’ अस्वीकार गरेका छन् । ट्रम्पले कतारको अल–उदैद एयर बेसमा तैनाथ सैनिकहरूलाई सम्बोधन गर्ने योजना बनाएका छन् । यो इराक र अफगानिस्तानमा अमेरिकी युद्धहरूको समयमा एक प्रमुख आधार थियो र यमनका इरान–समर्थित हुथीहरू विरुद्ध हालैको अमेरिकी हवाई अभियानलाई समर्थन गरेको थियो ।

    ट्रम्प इरानलाई आफ्नो प्रशासनसँग उसको आणविक कार्यक्रम नियन्त्रण गर्ने सम्झौतामा आउन आकर्षित गर्न प्रयासरत छन् । उनले सऊदी अरब र कतार जस्ता खाडी राष्ट्रहरूलाई सङ्घर्षले ग्रस्त क्षेत्रमा आर्थिक विकासको आदर्शका रूपमा प्रस्तुत गरेका छन् । उनले आफ्नो भ्रमणमा सिरियाली राष्ट्रपति अहमद अल–साराको सरकारलाई मान्यता दिने र युद्धग्रस्त देशमाथिको प्रतिबन्ध हटाउने योजना पनि घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट समूहको पुनरागमनलाई दबाउनका लागि वर्षौंदेखि सिरियामा एक हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ ।

    अल–कायदासँग सम्बन्धित भएको र सिरियाली गृहयुद्धमा प्रवेश गर्नुअघि इराकमा अमेरिकी सेनासँग लडिरहेका विद्रोहीहरूसँग सामेल भएको अल–साराको प्रशंसा गर्दै ट्रम्पले बुधबार साउदी अरबमा भेट गर्नुभएको थियो । उहाँले अल–सारालाई ‘जवान, आकर्षक व्यक्तित्व । कडा व्यक्तित्व । धेरै बलियो अतीत । लडाकू’ भने । अल–सारालाई इराकमा अमेरिकी सैनिकहरूले कैद गरेको पहिलेका वर्षहरू भन्दा यो एकदम विपरीत थियो । डिसेम्बरसम्म उनको गिरफ्तारीका लागि एक करोड अमेरिकी डलरको इनाम थियो ।

    यस क्षेत्रमा आफ्नो पहिलो दिन साउदी अरबमा बोल्दै ट्रम्पले खाडी नेताहरूलाई भने, “तपाईंहरूले जे गर्नुभएको छ वास्तवमै अविश्वसनीय छ । अन्ततः, तथाकथित राष्ट्र निर्माताहरूले उनीहरूले निर्माण गरेका भन्दा धेरै राष्ट्रहरू ध्वस्त पारे र ‘हस्तक्षेपवादीहरू’ जटिल समाजहरूमा हस्तक्षेप गरिरहेका थिए जुन उनीहरू आफैँले पनि बुझेका थिएनन् ।” कतारी बेसमा लगभग आठ हजार अमेरिकी सैनिक छन् । यो सङ्ख्या इराक र अफगानिस्तान युद्धको चरममा लगभग १० हजार थियो ।

    ग्यास–समृद्ध खाडी देश कतारले दुई दशकमा बेस विकास गर्न लगभग आठ अर्ब डलर खर्च गरेको छ । यो कतारको राजधानी दोहाबाट लगभग २० माइल (३० किलोमिटर) दक्षिण पश्चिममा मरुभूमिको समतल भागमा निर्माण गरिएको हो । कुनै समय यो आधार यति संवेदनशील मानिन्थ्यो कि अमेरिकी सैन्य अधिकारीहरूले यो ‘दक्षिणपश्चिम एसियामा’ कहीँ छ भनेर मात्र भन्ने गर्थे । ट्रम्पले उनी र कतारका अमीर शेख तमिम बिन हमद अल थानीले अमेरिकी हवाई क्षमताको प्रदर्शन पनि हेर्ने बताए । यद्यपि उनले यस क्षेत्रमा रक्षा निर्यात बढाउन खोजिरहेका छन् ।


    “तपाईँले वास्तवमा ती उपकरणहरू धेरै खरिद गर्दै हुनुहुन्छ”, उनले र शेख तमीमसँग दुई देशबीच द्विपक्षीय र व्यापारिक सम्झौताको शृङ्खलामा हस्ताक्षर गर्दा ट्रम्पले भने, “अनि मलाई लाग्छ कि हामी यसको केही भाग भोलिपल्ट हवाई मेलामा हेर्नेछौँ– हामी यसलाई हवाई मेला भन्ने छैनौँ, तर यो हवाई मेला जस्तो हुनेछ । हामी एउटा यस्तो प्रदर्शन देखाउन जाँदैछौँ जुन अविश्वसनीय हुनेछ । उनीहरूसँग हाम्रा विमानहरूमध्ये नवीनतम र सबैभन्दा उत्कृष्ट र अरू सबै कुरा छन् ।” बुधबार दुई नेताले हस्ताक्षर गरेका सम्झौताहरू मध्ये एउटा दस्तावेजले कतारलाई अमेरिकी निर्मित एमक्यु–९ बी ड्रोनहरू – रिपरको निर्यात संस्करण – खरिद गर्ने बाटो खोलेको छ ।

    राससबाट

  • काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला

    काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला

    १ जेठ, काठमाडौं । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।

    उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पु¥याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


    प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई आज सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।

  • सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

    सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

    १ जेठ, काठमाडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गतराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका हुन् ।

    फिलिप चौथो शिविरमा करिब रातको ७\८ बजे थकित अवस्थामा पुगेका थिए । आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

  • भारतीय वन तथा वातावरणमन्त्री यादव नेपालमा

    भारतीय वन तथा वातावरणमन्त्री यादव नेपालमा

    १ जेठ, काठमाडौं । भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणमा आएका छन् । उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । आज अपराह्न काठमाडौँ आएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ ।

  • सांसद बस्नेत निलम्वित

    सांसद बस्नेत निलम्वित

    १ जेठ, काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन भएका हुन् ।

    टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन अर्ब २१ करोड बिगो माग दाबी गरिएको छ ।

  • पेट्रोलियम पदार्थको भाउ घट्यो

    पेट्रोलियम पदार्थको भाउ घट्यो

    काठमाडौं । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल–मट्टीतेल लिटरमा तीन रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १३९ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

    यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

  • बिजुली आपूर्ति अनियमित हुँदा सामाजिक सञ्जालमा प्राधिकरणको चर्को आलोचना

    बिजुली आपूर्ति अनियमित हुँदा सामाजिक सञ्जालमा प्राधिकरणको चर्को आलोचना

    १ जेठ, काठमाडौं । बिहीबार साँझ देशका अधिकांश स्थानमा बिजुली कटौती भयो । यससँगै सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र सरकारको चर्को आलोचना भइरहेको छ । साँज ७ बजेपछि करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको हो ।

    नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ । ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताएका छन् ।

  • टेरामक्स भ्रष्टाचार काण्ड : आरोपीबाट ३ अर्ब २१ करोड विगो दावि

    टेरामक्स भ्रष्टाचार काण्ड : आरोपीबाट ३ अर्ब २१ करोड विगो दावि

    १ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद मोहन बस्नेतसहित १६ जना विरुद्ध मुद्दा दायर गरेको छ । सो मुद्दामा आरोपीबाट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दावि गरिएको छ ।

    यसरी मुद्दा दायर हुनेमा तत्कालिन सूचना तथा सञ्चारमन्त्री तथा वर्तमान सांसद मोहन बहादुर बस्नेत, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्मक खनाल, प्राधिकरणका तत्कालिन सदस्य धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र रहेका छन् । निर्देशकहरु सुरेन्द्र लाल हाडा, दिपेश आचार्य र उपनिर्देशक सन्दिप अधिकारी समेत यस मुद्दामा मुछिएका छन् ।

    टेरामस्क सिस्टम खरीदमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयारी पारी छनोट गराएर अनियमितता गरेको आरोप अख्तियारले लगाएको छ । उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

  • कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    १ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद् अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

    बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारबाहिर गई निर्णय गरेको तथा निर्देशन दिएको अख्तियारले जनाएको छ । टेरामक्स प्रकरणमा उनको गतिविधिले राज्यलाई हानी पुग्ने काम भएको समेत अख्तियारको ठहर छ ।

  • युट्युबबाट सीप सिकेर उद्यम

    युट्युबबाट सीप सिकेर उद्यम

    १ जेठ, कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छिन् । उनले महिनामै रु ६० हजार बढीको कारोबार गर्छिन । खर्च कटाएर रु ३० हजारसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन ।

    भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् । फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । “इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निक्र्यौल गरी व्यवसाय सुरु गरेँ”, चन्दले सुनाइन् ।


    रु एक लाखबाट सुरु गरिएको व्यवसायबाट उनले हाल रु पाँच लाखको सामान थालेकी छिन् । युट्युबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले बताइन् ।

    बकसरी सामानबाहेक उहाँले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छिन् । भविष्यका लागि भनेर उनले मासिक रु आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छिन् । “घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु”, चन्दले भनिन् । राससको सहयोगमा

  • बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    १ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।

    मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोधसमेत गरेको छ ।

  • झापामा हावाहुरी, एक जनाको मृत्यु

    झापामा हावाहुरी, एक जनाको मृत्यु

    १ जेठ, भद्रपुर । हुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गत रातिको हो । रासस

  • एउटै पदयात्रा मार्गले दिन्छ तराई, पहाड र हिमाल हिँडेको अनुभूति

    एउटै पदयात्रा मार्गले दिन्छ तराई, पहाड र हिमाल हिँडेको अनुभूति

    रासस
    १ जेठ, खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेल विकास गरेको हो ।

    चतराधामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङदेखि भोजपुरको साल्पासिलिचुङसम्म मुन्दुम ट्रेल तथा सोलुखुम्बुको छेस्कामदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म अपर मुन्दुम ट्रेल निर्माण गर्ने उद्देश्यले ग्रेटर मुन्दुम ट्रेलको विकास गरिएको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिए ।

    “ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ । यो पदमार्गले तराई, पहाड र हिमाललाई समेट्छ”, उनले भने, “ग्रेटर मुन्दुम ट्रेललाई विश्वका पर्यटकको ध्यान केन्द्रित गर्नेगरी नेपालकै पहिलो पर्यटकीय पदमार्ग बनाउने लक्ष्य छ ।” सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको समन्वयमा मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको अन्वेषणका क्रममा पदमार्ग निर्धारण, यात्रा गर्न आउने पर्यटकका लागि बास बस्न मिल्ने ठाउँ तथा ग्रेटर मुन्दुम ट्रेलका विशेषताहरुको पहिचान गरिएको छ ।

    ग्रेटर मुन्दुम ट्रेलमा प्राकृतिक तथा भौगोलिक रुपमा तराईका समथर भूभागको तातो हावादेखि पहाडको चुचुरोको चिसो तुसारोसम्मको अनुभव गर्न सकिनेछ । कोशीटापुको अर्ना तथा वन्यजन्तुदेखि पहाडको घाँसे मैदानका चौरी तथा भेडा र हिमाली क्षेत्रका वन्यजन्तु देख्न सकिने छ ।

  • ‘सबैभन्दा गरिब’ राष्ट्रपतिका रुपमा चिनिएका उरुग्वेका पूर्वशासक मुजिकाको निधन

    ‘सबैभन्दा गरिब’ राष्ट्रपतिका रुपमा चिनिएका उरुग्वेका पूर्वशासक मुजिकाको निधन

    १ जेठ, काठमाडौं । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ । देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा भनेका छन्, “गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ । हामी तपाईँलाई एक पुरानो साथी, राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेताका रुपमा धेरै याद गर्नेछौँ ।’ मुजिकाले आफ्नो सन् २०१०–२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरे र साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि कमाए ।

    उहाँले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसङ्ख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरेका थिए । सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो, जुन पछि उनको कलेजोमा फैलियो । उनकी श्रीमती लुसिया टोपोलान्स्कीका अनुसार यस हप्ता उनले पोलिएटिभ हेरचाह प्राप्त गरिरहेका थिए । उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन् ।

    बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आफ्ना ‘भाइ’ मुजिकाको निधनबाट दुःखी भएको बताए । “म सधैँ अनुभव र बुद्धिले भरिएको उनको सल्लाह सम्झन्छु”, उनले भने । ब्राजिलको सरकारले उनलाई ‘हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मानवतावादीहरू मध्ये एक’ भनेर सम्मान गरेको छ भने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुजिकाले ‘जुन कुरामा विश्वास गरे, अभियान चलाए, र बाँचे, त्यो ‘एक राम्रो संसार’ थियो भनेका छन् । आफ्नो छोटो शासनकालमा मुजिकाले गर्भपतन र समलिङ्गी विवाहलाई वैधानिक बनाए । उरुग्वेलाई मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई वैधानिक बनाउने विश्वको पहिलो देश बनाए ।


    उनले क्यान्सरको निदान पाएपछि पनि वामपन्थका लागि अभियान जारी राखेका थिए । एएफपीसँगको सन् २०२४ नोभेम्बरको अन्तर्वार्तामा उनले आफ्ना राजनीतिक उत्तराधिकारी, इतिहास शिक्षक ओर्सीको राष्ट्रपति विजयलाई आफ्नो करियरको अन्त्यमा ‘पुरस्कार’ का रूपमा वर्णन गरेका थिए । ठाडो कुरा गर्ने, हिउँ–जस्तै सेतो कपाल भएका राजनीतिज्ञ उपभोक्ता संस्कृतिका कट्टर आलोचक थिए । राष्ट्रपतिका रूपमा उहाँले कार्यालयका सुविधाहरू अस्वीकार गरे ।

    उनी आधिकारिक कार्यक्रमहरूमा चप्पल लगाएर जान्थे । मोन्टेभिडियोको बाहिरी क्षेत्रमा आफ्नो सानो फार्ममा बस्न जारी राखे । त्यहाँ उनको मूल्यवान सम्पत्ति सन् १९८७ को फोक्सवागन बिटल थियो । सन् १९६० को दशकमा उहाँले माक्र्सवादी–लेनिनवादी सहरी छापामार आन्दोलन टुपामारोसको सह–स्थापना गरे । उक्त आन्दोलनले गरिबहरूलाई दिन धनीहरूबाट लुटपाट गर्न थाल्यो तर पछि यसको अभियानलाई अपहरण, बम विस्फोट र हत्याहरूमा विस्तार गर्‍यो । ती वर्षहरूमा मुजिकाले साहसिक जीवन बिताए । उनले धेरै गोलीका चोटहरू सहेका छन् । सामूहिक जेल ब्रेकआउटमा भाग लिए ।


    तर जब सन् १९७२ मा टुपामारोसको पतन भयो, उनलाई फेरि पक्राउ गरियो र उरुग्वेको सन् १९७३–१९८५ को तानाशाही शासनकालमा पूरै जेलमा बिताए । त्यहाँ उनलाई यातना दिइयो र वर्षौं एकान्त कारावास भोगे । रिहा भएपछि उनी राजनीतिमा प्रवेश गरे । सन् १९८९ मा वामपन्थी ब्रोड फ्रन्ट गठबन्धनको सबैभन्दा ठूलो सदस्य मुभमेन्ट अफ पपुलार पार्टिसिपेसन (एमपिपि) को स्थापना गरे । सन् १९९५ मा संसद्मा निर्वाचित हुनुभयो र सन् २००० मा सिनेटर र त्यसपछि उरुग्वेको पहिलो वामपन्थी सरकारमा कृषिमन्त्री बने । उनले उरुग्वेको कार्यकाल सीमाअनुसार केवल एक पाँच वर्षे कार्यकाल राष्ट्रपतिको रूपमा सेवा गरे । उनका कुनै सन्तान थिएनन् ।

  • सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त

    सत्यनिरूपण र बेपत्ता आयोग गठन, अध्यक्ष र सदस्य नियुक्त

    ३१ वैशाख, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (सङ्खुवासभा) का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन् । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला (तेह्रथुम) तथा सदस्यमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) सदस्य रहेका छन् ।

    त्यसैगरी सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ । पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहनुभएको छ भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे रहेका छन् ।

  • निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव

    निरन्तर बढ्दै बेरुजु, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गर्न सुझाव

    ३१ वैशाख, काठमाडौं । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ । तीनवटै तहका सरकार र तिनको मातहतमा रहेका सार्वजनिक निकाय तथा सङ्गठित संस्थाको आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षणबाट देखिएको बेरूजुको स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति तथा भविष्यमा गर्नुपर्ने सुधारलगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    महालेखापरीक्षक तोयम रायाले आजै उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका थिए । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु रू सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ । अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।

    त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रू पाँच खर्ब ५१ अर्ब एक करोड गरी कूल रू १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो । यसरी हालसम्मको कूल बेरूजु रू १२ खर्ब ८४ अर्ब २० करोड नाँघेको छ । प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रू ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरूजु थपिएको छ ।

    यो वर्ष सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको रू ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण सम्पन्न भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । लेखापरीक्षणबाट विभिन्न सैद्धान्तिक बेरूजुका अतिरिक्त रू ९१ अर्ब ६० करोड लगती बेरूजु देखिएको छ । सोमध्ये तीन हजार ९३ सङ्घीय सरकारी कार्यालयको रू ३१ खर्ब छ अर्ब १६ करोड लेखापरीक्षणबाट रू ४७ अर्ब ७४ करोड अर्थात् एक दशमलव ५४ प्रतिशत बेरूजु देखिएको छ ।

    प्रदेशतर्फ एक हजार १६५ कार्यालयको रू तीन खर्ब आठ अर्ब ५६ करोडको लेखापरीक्षणबाट रू चार अर्ब २० करोड अर्थात् एक दशमलव ३६ प्रतिशत देखिएको छ । त्यसैगरी स्थानीय तहतर्फ यस वर्षको ७५३ र बक्यौता आठसमेत कूल ७६१ को रू ११ खर्ब १८ अर्ब ४६ करोडको लेखापरीक्षणबाट रू २५ अर्ब ३२ करोड अर्थात् दुई दशमलव २६ प्रतिशत बेरूजु देखिएको छ । समिति र अन्य संस्थातर्फ ६९५ निकायको रू पाँच खर्ब २२ अर्ब १३ करोडको लेखापरीक्षण भएकामा रू १४ अर्ब ३३ करोड बेरूजु कायम भएको छ ।

    त्यसैगरी, ४३ सङ्गठित संस्थाको ४५ आय वर्षको रू ४४ खर्ब सात अर्ब पाँच करोडको लेखापरीक्षण गरिएको छ । सोको अतिरिक्त ४२ सङ्गठित संस्थाको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराएबमोजिम रू १५ खर्ब ७७ अर्ब ४९ करोडको लेखापरीक्षण भएको महालेखाले जनाएको छ । वित्तीय लेखापरीक्षणको अतिरिक्त ११ विषयको कार्यमूलक, एक विषयको वातावरणीय, एक विषयको सूचना प्रविधि र दुई विषयको विशेष लेखापरीक्षण गरिएको जनाइएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७९–८० वर्षसम्मको बाँकी बेरूजु रू छ खर्ब ६९ अर्ब ८६ करोड रहेकोमा समायोजन तथा फछ्र्यौट गरिएको अङ्क घटाई यो वर्षको थपसमेत रू सात खर्ब ३३ अर्ब १९ करोड बेरूजु बाँकी रहेको छ । त्यस्तै लेखापरीक्षणका क्रममा तथा सम्परीक्षणबाट यो वर्ष रू १४ अर्ब ४८ करोड असुल भएको महालेखाले जनाएको छ । कारबाही गरी टुङ्गो लगाउनुपर्ने रू पाँच खर्ब ५१ अर्ब दुई करोड रहेकोमध्ये राजस्व बक्यौता रू चार खर्ब ७२ अर्ब ३५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान रू छ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण रू १४ अर्ब ३३ करोड, जमानत बसी दिएको ऋणको भाखा नाघेको साँवा ब्याज रू ४९ अर्ब ३७ करोड र लेखापरीक्षण बक्यौता रू आठ अर्ब ७१ करोड रहेको छ ।

    प्रदेश सरकारतर्फ लेखापरीक्षण अङ्कको तुलनामा एक दशमलव ३६ प्रतिशत बेरूजु कायम भएकामा सबैभन्दा बढी मधेस प्रदेशको दुई दशमलव ५७ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको शून्य दशमलव ८२ प्रतिशत रहेको छ । स्थानीय तहतर्फ लेखापरीक्षण अङ्कको तुलनामा दुई दशमलव २६ प्रतिशत बेरूजु कायम भएको छ । यो वर्षको लेखापरीक्षणबाट पाँच प्रतिशतभन्दा कम बेरूजु हुने स्थानीय तह ६९२ वटा रहेका छन् । त्यस्तै, पाँचदेखि १५ प्रतिशतसम्म बेरूजु हुने ६८ र १५ प्रतिशतभन्दा बढी बेरूजु हुने एक स्थानीय तह रहेको छ ।

    त्यस्तै, यो वर्ष तीन हजार ९३ सङ्घीय सरकारी कार्यालयको लेखापरीक्षण गरिएकामा एक हजार १०५ कार्यालय अर्थात् ३५ दशमलव ७३ प्रतिशतमा उल्लेख्य बेरूजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी प्रदेश सरकारी कार्यालयतर्फ एक हजार १६५ निकायको लेखापरीक्षण गरेकोमा ३३३ कार्यालय अर्थात् २८ दशमलव ५८ प्रतिशतमा उल्लेख्य बेरूजु देखिएन । सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थातर्फ यो वर्ष लेखापरीक्षणबाट रू १४ अर्ब ४८ करोड ४१ लाख असुल गराएको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा दिँदै आएको राजस्व छुटमा महालेखाले प्रश्न उठाएको छ । “भन्सार विभागको तथ्याङ्क प्रणाली (आसिकुडा) को तथ्याङ्कअनुसार २०८०÷८१ मा भन्सार राजस्वतर्फ रू ७९ अर्ब ८७ करोड ३९ लाख छुट दिएको देखिन्छ । आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फसमेत छुट दिएकामा सोको अभिलेख मन्त्रालय र आन्तरिक राजस्व विभागले राखेका छैनन्”, प्रतिवेदनमा भनिएको छ । साफ्टा सुविधाअन्तर्गत मालवस्तु पैठारी गर्दा भन्सार महसुल रू चार अर्ब ८७ करोड ९९ लाख र मूल्य अभिवृद्धि करसमेत छुट भएको देखिएको महालेखाले उल्लेख गरेको छ ।

    “अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतको रू ३४ अर्ब २७ करोड ५२ लाख पैठारी मूल्यमा रू छ अर्ब ६० करोड ९९ लाखसमेत विगत चार वर्षमा रू २० अर्ब ६२ करोड ६९ लाख राजस्व छुट दिएको छ । वैदेशिक ऋण वा अनुदानमा सञ्चालित आयोजनाका लागि आयोजना विकास सम्झौताको सर्तको अधीनमा रही रू ४३ अर्ब ५६ करोड ४८ लाख ३० हजार पैठारी मूल्यका मालवस्तुमा रू सात अर्ब ५२ करोड ९८ लाख ८५ हजार राजस्व छुट दिएको देखिन्छ”, महालेखाको प्रतिवेदनमा भनिएको छ, “यसरी सुविधामा पैठारी हुने सामग्री तथा उपकरणमा लाग्ने राजस्व छुट दिएको वस्तु तथा रकमको अद्यावधिक अभिलेख अर्थ मन्त्रालयले राखेको छैन ।”

    सम्बन्धित आयोजनाले बोलपत्र आह्वान गर्नुअगावै मास्टरलिष्ट स्वीकृत गराएको अवस्थामा मात्र छुट दिने र सुविधामा पैठारी भएका मालवस्तुको उपयोग सोही आयोजनामा भएरनभएको अनुगमनसमेत हुनुपर्ने व्यवस्था मिलाउन महालेखाले सुझाव दिएको छ । पछिल्ला वर्षमा राजस्व छुटको दायरा बढ्दै गएकाले सोको प्रभाव विश्लेषण गर्नुका साथै राजस्व छुटको एकीकृत तथ्याङ्क संसद्मा पेसगरी पारदर्शिता कायम गर्न भनिएको छ ।

  • विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

    विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

    ३१ वैशाख, मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
    पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

    मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

  • सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

    ३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो ।

    हावाहुरीसँगै बर्षेको चट्याङ लागेर गम्भीर घाइते तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।

    गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ ।

  • कोरियामा नेपालले रोक्यो ‘एनओसी’

    कोरियामा नेपालले रोक्यो ‘एनओसी’

    ३१ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने काम तत्कालका लागि स्थगन गरिएको बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ ।

    ‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने र पैसा कमाउनतर्फ लागेर अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘काम पाउन नसकेकाहरू मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेका छन्, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी भर्ना भएकाले समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कोरिया अध्ययन गर्न जाने व्यवस्थामा नियमन गर्नु आवश्यक देखिएकाले एनओसी वितरण स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । यसको नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसका आधारमा थप निर्णय गर्ने गरी हाललाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं मुलुकभित्र पर्छ । गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । त्यतिबेला १ लाख १२ हजार ५ सय ९३ जना विद्यार्थीले विदेश पढ्न जान एनओसी लिएका थिए । ६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ ।

    २०८० साउनदेखि ०८१ असारसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७ सय ३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ । जापानपछि नेपाली विद्यार्थीको आकर्षण क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतमा देखिन्छ । क्यानडा पढ्न जान १५ हजार ९ सय ८२, अस्ट्रेलिया जान १४ हजार ३ सय ७२ जना, बेलायत जान १३ हजार ३ सय ३९ जना, अमेरिका जान ११ हजार २ सय ६१ जना विद्यार्थीले एनओसी लिएका छन् ।

  • अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

    अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

    एजेन्सी
    ३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट ठूलो संशोधन हो । रेडबाउड युनिभर्सिटीको अनुसन्धान पेपरले जर्नल अफ कोस्मोलोजी र एस्ट्रोपार्टिकल फिजिक्समा प्रकाशित गरेको छ । “ब्रह्माण्डको अन्तिम अन्त्य अपेक्षाभन्दा धेरै चाँडै आउँदैछ तर सौभाग्यवश यसले अझै पनि धेरै लामो समय लिन्छ”, प्रमुख लेखक हिनो फाल्केले भने ।


    रेडबाउडका तीन वैज्ञानिकले सबैभन्दा ‘टिकाउ’ खगोलीय पिण्डहरू – सेतो पुड्का ताराहरू – अन्ततः कहिले मर्नेछन् भनेर गणना गर्न सुरु गरे । उनीहरूले आफ्नो गणना प्रसिद्ध ब्रिटिश भौतिकशास्त्री स्टिफन हकिङको नाममा राखिएको हकिङ विकिरणमा आधारित गरेका थिए । सन् १९७० को दशकको मध्यमा हकिङले ब्ल्याक होलले विकिरण चुहावट गर्छ, विस्तारै एक गिलास पानीमा एस्पिरिन जस्तै घुलनशील हुन्छ–जसले तिनीहरूलाई एक सीमित जीवनकाल दिन्छ भन्ने धारणा राखेका थिए । रेडबाउडका वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डका अन्य वस्तुहरूमा विस्तार गरे र ‘वाष्पीकरण समय’ घनत्वमा निर्भर गर्दछ भनी गणना गरे ।

    यसले उनीहरूलाई सबैभन्दा लामो जीवित रहने पिण्ड सेतो पुड्को ताराको सैद्धान्तिक विघटन गणना गर्न सक्षम बनायो । “यस्ता प्रश्नहरू सोधेर र चरम मामिलाहरू हेरेर हामी सिद्धान्तलाई राम्रोसँग बुझ्न चाहन्छौँ र शायद एक दिन हामी हकिङ विकिरणको रहस्य उजागर गर्न सक्छौँ”, सह–लेखक वाल्टर भान सुइजलेकोमले भन्नुभयो, “मानवजातिले ब्रह्माण्डको अन्त्यबारे धेरै चिन्ता गर्नु पर्दैन ।

    हामी पृथ्वी ग्रहबाट नभागुन्जेलसम्म केही हुँदैन ।” वैज्ञानिकहरू हाम्रो सूर्य लगभग एक अर्ब वर्षमा समुद्रहरूलाई उमाल्दै जीवनका लागि अति तातो हुनेछ भन्ने सोच्छन् । लगभग आठ अर्ब वर्षमा हाम्रो तारा अन्ततः पृथ्वीतिर विस्तार हुनेछ, अन्ततः हाम्रो बाँझो र निर्जीव ग्रहलाई डुबाएर यसलाई आगोको मृत्युमा परिणत गर्नेछ ।