नेपाल पहिलोपटक महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । एसिया छनोटमा युएइलाइ ५ विकेटले हराउदै नेपालले इतिहास बनाएको हो । सोमबार सुपर ३ अन्तर्गत नेपाल र युएइ भिडेका थिए । युएइले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको थियो ।
नेपालले सो लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाउदै भेटाएको हो । कप्तान इन्दु बर्माले ३० रनको योगदान दिइन । उनी आउट भइनन । युएइलाई मध्यम योगफलमा समेट्न नेपालकि मनिषा उपाध्यायले ४ विकेट लिइन । अब नेपालले विश्वकप छनोटमा ठुला टिमहरुसङ्ग खेल्ने अवसर पाएको छ ।
रासस ५ जेठ, झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।” हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।
अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ ।” उनले भने, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।” नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताउनुभयो । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ ।
विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।
५ जेठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरे ।
दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले रु ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ । दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको छ ।
दिव्यज्योति कन्ट्रक्सन प्रालिले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो । दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन् । फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
“यो सडक तपाईँको व्यावसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईले यो सडक कालोपत्र समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्”, उनले भने, “कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।”
मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उनको भनाइ छ। यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो ।
रासस ५ जेठ, काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको हो । सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र सुरु गरिएको हो । धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक हाल कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए ।
हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो ।
सूर्यविनायक–धुलिखेलसम्म १६ किमी छ । जसमा सूर्यविनायक–साँगा ७ दशमलव ५ किमी र साँगा–धुलिखेल ८ दशमलव ५ किमी छ । उक्त दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो ।
सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल सुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।
साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटोदूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक दुई हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् ।
५ जेठ, बागमती । हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।
वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।
एजेन्सी ४ जेठ, काठमाडौं । पाकिस्तानमा नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सो संस्थाले सार्वजनिक गरेको सन् २०२५ सालको वैश्विक खाद्य सङ्कटसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएअनुसार, बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा करिब २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्नेछ ।
यस मध्ये १७ लाख मानिसको अवस्था आपतकालीन तहमा रहेको छ । सन् २०२३ सालको तुलनामा हालको विश्लेषणमा समावेशी जनसङ्ख्या ३८ प्रतिशतले वृद्धि भई तीन करोड ६७ लाखबाट पाँच करोड आठ लाख पुगेको छ । थप २५ जिल्ला समावेश गरिएकाले अघिल्लो तथ्याङ्कसँग सिधा तुलना गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले चरम मौसमको असरले जनताको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने जनाउँदै, अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ । सन् २०२२ को मङ्सिरदेखि माघसम्म पनि पाकिस्तानमा करिब एक करोड १८ लाख मानिस तीव्र खाद्य असुरक्षामा परेका थिए । बलुचिस्तान र सिन्धका विश्लेषण गरिएका क्षेत्रहरूमा सन् २०१८ देखि २०२३ सम्म निरन्तर अत्यधिक कुपोषण देखिएको उल्लेख छ । कतिपय जिल्लामा ३५ प्रतिशतसम्मको वैश्विक कुपोषण दर देखिएको छ । सन् २०२५ मा जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।
साथै, छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ । कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ । गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमा पनि कुपोषणको दर अत्यधिक छ । धेरै बच्चा जन्मिँदा कम तौलका हुने समस्या पनि देखिएको छ । स्वास्थ्य सेवा, पिउनयोग्य पानी तथा सरसफाइको पर्याप्त पहुँच नभएको र सडकहरू अबरुद्ध हुँदा स्वास्थ्य केन्द्रसम्म पुग्न सकिने अवस्था नरहेको जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, “सन् २०२२ मा आएको भीषण वर्षा र बाढीपछिका असरहरू अझै कायम छन्, जसले २०२५ मा स्थिति अझै खराब हुन सक्ने सङ्केत दिएका छन् ।”
४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए । अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरे ।
प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरे । प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरे । सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे । सङ्घका सचिव एवं दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुुलालले अन्तरराष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुुपर्ने आग्रह गरे ।
४ जेठ, रसुवा । चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आज बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो । ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड ११ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ । सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति भएको बताइएको छ । सुनसहित पक्राउ परेका भुजेललाई कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए । विसं २०७२ मङ्सिर यता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ ।
४ जेठ, गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् ।तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभाव हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ ।
बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि हालसम्म पनि यहाँका बासिन्दा अझै त्रिपालमुनि बास बस्दै आएका छन् । दलितबस्तीमा मुख्य समस्या शौचालयको रहेको छ । एक्कास घरधुरी रहेको दलितबस्तीमा जम्मा एउटा मात्र शौचालय छ । त्यो पनि जीर्ण अवस्थामा छ । राम्रोसँग ढोका पनि लाग्दैन ।
सिङ्गो दलितबस्तीलाई शौचालयको समस्याले पिरोलेको स्थानीय दिपासा विक बताउँछिन् । “सरकारले हामीलाई घर बनाइदिन्छौँ, जग्गा दिन्छौँ भनेर १० वर्षअघि यहाँ ल्यायो । हामीले हाम्रो पुरानो घरघडेरीको लालपूर्जा सरकारलाई दिइसक्यौँ तर, के गर्नु अहिलेसम्म घर त के, गतिलो शौचालय पनि बनाउन सकेको छैन”, उनले भनिन्, “हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसावले शौचालय बनाउन सक्दैनौँ । एक त ठाउँ नै छैन । अर्को कुरा, आफ्नो हिसाबले बनायो भने भोलि भत्काउनु पो पर्छ कि जस्तो लाग्छ ।”,
शौचालय नहुँदा विषेशगरी यहाँका महिला तथा किशोरीहरु समस्यामा छन् । १६ वर्षीया अमृता विकले घरैपिच्छे शौचालय नहुँदा धेरै दुःख सहनु परेको गुनासो गरिन् । उनी भन्छिन्, ‘सबैभन्दा धेरै समस्या महिनावारीको समयमा हुन्छ । एउटा मात्र शौचालय छ, बिहान बेलुका धुँइचो लाग्छ ।” व्यवस्थित शौचालय नहुँदा बस्तीका बासिन्दा खुल्ला रुपमा दिसापिसाव गर्न बाध्य रहेका उनको भनाइ छ ।
यतिधेरै परिवारका व्यक्तिहरुले एउटै शौचालय प्रयोग गर्दा बस्तीमा विभिन्न सरुवा रोगहरु समेत फैलिने डर छ । स्थानीय मङ्गलबहादुर सुनारका अनुसार बस्तीमा समय समयमा हैजा, ज्वरो, झाडा पखाला, रुघा खोकी लगायतका सरुवा रोगहरु फैलिरहन्छन् । “सबैले एउटै शौचालय प्रयोग गर्दा गर्मी समयमा बढी जोखिम हुन्छ”, उनले भनिन् । कोभिड महामारीको समयमा यो बस्तीका पाँच जनाको मृत्यु भएको थियो । साथै, समय समयमा बस्तीका बालबालिका तथा वृद्धवृद्धाको विभिन्न सरुवा रोगका कारण मृत्यु हुने गरेको सुनार बताउँछिन् ।
आफूहरु फोहोर मैलामा बसेका कारण सामाजिक रुपमा अपहेलित हुनु परेको स्थानीय ५७ वर्षीया मैती सुनार बताउँछिन् । सरकारी स्वामित्वमा रहेको उक्त दलित बस्तीमा सबैजसो पुग्दैनन् । सरकारी निकाय बारपाकसम्म पुग्छ, तर त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने कोही पुग्दैनन् ।
विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघार सय घरधुरी प्रभावित बनेका थिए । गाउँमा ७२ जनाको मृत्यु भयो । बाँचेकाहरु महिना दिनसम्म चौर र बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी विक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । चौध परिवार फेरि आ–आफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० वर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० वर्ष बितिसक्दासम्म टहरोकै बास छ ।
यहाँका दलित समुदायका अगुवा सुकबहादुर विक दलित समुदायलाई बास माग्दै ८६ पटक सिंहदरबार धाएको बताउँछन् । उनी भन्छन्, “तर, यो दलित बस्तीलाई पुनःस्थापना गर्न दौडधुप गर्न थालेको १० वर्षसम्म भइसक्यो, केही प्रगति भएको छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब हुन्छन्”, उनले भने ।
पूर्वसहमतिअनुसार यहाँको छ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा उत्तम विक बताउँछन् । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै वैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन् ।
रासस ४ जेठ, मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।
नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए ।उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।
उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे । यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ ।
सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ । जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए ।
पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए । “मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पु¥याउँछ”, उनले भने ।
मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो । त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो । मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पु¥याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रजी फिल्म छायाङ्कन भइसकेका छन् । यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ ।
रासस । ४ जेठ, काठमाडौं । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ देखि ४ गतेसम्म भएको थियो । संवादले जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट, वित्तीय संयन्त्रका सञ्चालन निकाय, युएनएफसीसीसी तथा पेरिस सम्झौता अन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।
संवाद हिमालका मुद्दालाई थप अन्तरराष्ट्रियकरण गर्न तथा विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकासका सवालमा उपयोगी भएको सरकारको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीको सामना गरिरहेको बेला यसको महत्व प्रस्तुत गरेका थिए । उनले चुनौतीलाई सम्बोधन गर्न ‘संवादको शक्ति’ मा जोड दिए ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संवादले जलवायुका सन्दर्भमा हिमालदेखि टापुसम्मका आवाजलाई जोडन र उजागर गर्ने सन्दर्भमा सफलता हासिल गरेको बताइन् । उनले संवादको यो संस्करणले हिमालदेखि टापुसम्मका नेता, नीति निर्माता, विज्ञ, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको उल्लेख गरिन् । सरकारले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने जनाएको छ ।
उक्त विषयहरु यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तरराष्ट्रिय सम्मेलन–२०२५, जुलाईमा हुने उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकास लक्ष्यहरूको समीक्षा र सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ८०औँ सत्र, ब्राजिलमा हुने कोप–३० लगायत मञ्चमा उठाउने बताइएको छ । सरकारले अर्को निर्णायक मुद्दामा सन् २०२७ मा सगरमाथा संवादको दोस्रो संस्करण गर्ने घोषणा गरेको छ ।
परराष्ट्र डा राणा–मन्तव्य काठमाडौँ, ४ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सगरमाथा संवादको तेस्रो दिन आइतबार समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ\रासस
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा परेका जलवायुका असर बारेमा विश्व समुदायलाई जानकारी गराउन संवाद फलदायी भएको बताए । उनले संवादमार्फत नेपालले सरंक्षणमा गरेको उपलब्धिका बारेमा विश्वलाई जानकारी गराउन र जलवायुजन्य हानिनोक्सानीको क्षतिपूर्तिमा दाबी गर्ने सन्दर्भमा संवाद उपलब्धिमूलक भएको उल्लेख गरे । कार्बन उत्सर्जनमा नगन्य योगदान हुँदाहुँदै जलवायु संकटसँग जुध्न अथक प्रयास गरिरहेका नेपालजस्ता मुलुकका समस्या समाधानमा सामूहिक प्रयासको खोजीका लागि संवाद सफल भएको ठानिएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले संवादमार्फत हिमालका विषय थप उजागर गर्न सफल भएको बताए । उनले संवादमा हिमालको विषय व्यापक रुपमा उजागर गरिएको बताउँदै यो विषय हिमाली क्षेत्रको मात्र नभई टापुसम्मका समुदायकोे चासोको विषय भएको सम्बन्धमा विभिन्न दृष्टिकोणले छलफल भएको बताए ।
जलवायुका विषयमा क्षेत्रीय र विश्वव्यापी रुपमा साझेदारीका साथ अघि बढ्ने विषयमा संवादमा अर्थपूर्ण छलफल भएको उल्लेख गर्दै उनले संवादबाट नेपालले विश्वमा आफ्नो छवि उचाइमा पु¥याउने र जलवायुका क्षेत्रमा भइरहेको चुनौती र विषयलाई थप उजागर गर्ने सफलता प्राप्त भएको बताए ।
संवादको पूर्ण सत्रमा बोल्ने १९ देश र निकायका प्रतिनिधिले जलवायु सङ्कट समाधानमा एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका थिए । संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी र त्यति नै सङ्ख्यामा नेपाली सरकारी अधिकारी तथा विज्ञसहित तीन सय ५० विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।
संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका थिए । उक्त सत्रहरुमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरुले आफ्ना अनुभव आदानप्रदान गरे । संवादकै दौरान हिन्दु कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रीस्तरीय बैठक सम्पन्न भएको थियो । बैठकले हिन्दू कुश हिमालय क्षेत्रका मुलुक जलवायुको बढी जोखिमा रहेकाले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली बचाउन थप सहकार्यका विषय पहिल्याउनुपर्नेमा जोड दिएको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं संवादको प्रचारप्रसार समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै विश्वव्यापी सहयोग र साझेदारी निर्माणका सवालमा संवाद उपयोगी सिद्ध भएको बताए । संवादमा हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानि नोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा अर्थपूर्ण छलफल भएको उनले बताए ।
सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।
संवाद सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले संवादमार्फत नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन सफल भएको बताए । जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्न समेत संवाद उपयोगीसिद्ध भएको उनले उल्लेख गरे ।
विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून रहे पनि जलवायुका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । यस परिस्थितिमा संवाद हिमालका मुद्दामा विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सफल भएको ठानिएको छ ।
४ जेठ, म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।
गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।
म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए । जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको रु ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए ।
विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।
यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको रु १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । रासस
४ जेठ, लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।
घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । खुकुरी प्रहार गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
४ जेठ, पोखरा । समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२\८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ ।
आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालका अनुसार मन्त्रालयगत रूपमा बजेटको ‘सिलिङ’ घटेको जानकारी दिए । “झण्डै तीन अर्बले बजेट घट्ने अनुमान गरिएको छ, समानीकरण र समपूरकतर्फको बजेट कटौती हुँदा बजेट निर्माणमा दबाब बढेको हो, प्रदेशको आन्तरिक स्रोत पनि बढ्न सकेको छैन”, उनले भने ।
आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको जम्मा ५२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । चालु आवमा लक्ष्यको झण्डै ७० प्रतिशतमात्र राजस्व उठ्ने देखिएको उनको भनाइ छ । प्रदेश नीति तथा योजना आयोगले सङ्घ सरकारले ल्याउने बजेटका आधारमा प्रदेशको बजेट केही थपघट हुनसक्ने जनाएको छ ।
अहिलेकै अवस्थामा भने प्रदेश सरकारले ल्याउने बजेट घटेर आउने आयोगको भनाइ छ । आयोगले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई मात्र रु नौ अर्ब ४८ करोडको ‘सिलिङ’ तोकेर पठाएको छ । चालु आवमा उक्त मन्त्रालयमा रु १२ अर्ब ७० करोड बजेट थियो ।
ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको ‘सिलिङ’ रु तीन अर्ब ९० करोड तोकिएको छ । चालु आवमा उक्त मन्त्रालयका लागि रु चार अर्ब चार करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पनि चालु आवको भन्दा कम जम्मा रु एक अर्ब ९० करोडको बजेट ‘सिलिङ’ तोकिएको छ । चालु आवमा दुई अर्ब बढीको बजेट उक्त मन्त्रालयलाई छुट्टिएको थियो ।
यस्तै स्वास्थ्य मन्त्रालयका लागि रु ती अर्ब दुई करोड ६७ लाख, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु एक अर्ब ३५ लाख, वन तथा वातावरण मन्त्रालयका लागि रु ९० करोड, उद्योग तथा पर्यटन मन्त्रालयतलाई रु ६५ करोडको ‘सिलिङ’ तोकेर बजेट निर्माणको काम भइरहेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रु एक अर्ब १५ लाख, आर्थिक मामिला मन्त्रालयतर्फ रु १३ करोड ३६ लाखको ‘सिलिङ’ तोकिएको छ । प्रदेश सरकारले आगामी बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिनेगरी बजेट बाँडफाँटको तयारी अगाडि बढाएको छ ।
प्रदेशको दास्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर बजेटका प्राथमिकता निर्धारण गरिने भएको हो । आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयसँग बजेट निर्माणबारे छलफल सुरु गरेको छ । यसअघि स्थानीय तह, निजी क्षेत्रलगायतसँग बजेटका विषयमा छलफल गरिएको थियो । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा नीतिगत सुधारका विषयलाई बढी जोड दिइने जनाएको छ ।
कार्यान्वयनयोग्य र प्रदेशको यर्थाथअनुसारको बजेट ल्याइने तयारी गरिएको हो । बजेट तर्जुमा र समन्वयका विषयमा विषयगत मन्त्रालयय र मातहतका निकायसँग छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
४ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको छ ।
एजेन्सी ३ जेठ, काठमाडौं । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ । केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन् । केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन् । क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ । सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन् । हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नी नियन्त्रण विभागले जनाएको छ ।
३ जेठ, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर पोडेपाटी नजिक रहेको गोपाल न्यौपानेको गाई–बाच्छा मठमन्दिर बचाउ तथा समाज विकास अभियानको टहरामा विद्युत् चुहावट भई आगलागी हुँदा गएराति करिब रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ नरकटे उखुटोलस्थित काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने चरण चौधरीको नर्भिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपाली प्राइभेट लिमिटेड कम्पनीको गोदाममा समेत विद्युत् चुहावट भई आगलागी प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ वटा एलिग्रेटर ड्राफ्ट मेसिन जलेर करिब रु ७७ लाख बराबरको धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एजेन्सी ३ जेठ, काठमाडौं । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको सङ्ख्या नौ पुगेको जनाएको हो। यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ।
यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो। वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्धविराम नभएको र सम्भावित युद्धविरामका विषयमा विचारहरू आदान–प्रदान मात्र गरिएको जनाइएको छ। वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको युद्ध रोक्नका लागि ‘बिना सर्त युद्धविराम’ चाहेको स्पष्ट पारेको छ। तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदीहरू साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ।
युक्रेनका मुख्य वार्ताकार तथा रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन्। यसैगरी मस्को र वासिङ्टनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन्।
३ जेठ, बैतडी । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन् । पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार आज बिहान धनवीरले दुवै जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको पाइएको छ ।
घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छभने दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता बडूले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको जनाउँदै उनले दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ जेठ, काठमाडौं । जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएकामा जोड दिएका छन् । सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिएका हुन् ।हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
विश्ववन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले प्रमुख वक्तव्य दिएका थिए । अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल–हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभव र विज्ञतासहित धारणा व्यक्त गरे । हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसङ्ख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाइएको छ । हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषाहरू र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ । हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसङ्ख्यालाई लाभ पु¥याउन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो ।
३ जेठ, सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर भ्रमणमा पुगेका छन् । पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न भन्दै उनीहरु आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । दुवै मन्त्रीलाई लिएर गएको हेलिकप्टर बिहानै खुम्बु क्षेत्रमा अवतरण गरेको थियो ।
भ्रमणका क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै सरकारको नीति यस्तो सेवालाई सहज र संयमित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे ।
गृहमन्त्री लेखकले भने , “सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढङ्गले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।” हालसम्म सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ ।
गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । त्यसैगरी पर्यटनमन्त्री पाण्डेले सरकार नेपालको पर्यटन विकासमा गम्भीर रहेको बताए । उनले सगरमाथा जस्तो विश्व प्रसिद्ध गन्तव्यको अवस्थालाई नियालेर आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने उल्लेख गरे । “हामीले हिमाल र हिमाली क्षेत्रलाई उच्च प्राथमिकता दिएका छौँ, यसै सन्दर्भमा हामी आधार शिविरमा उपस्थित भएका छौँ र यहाँको समस्या उजागर गर्दै समाधानतर्फ उन्मुख हुनेछौँ”, मन्त्री पाण्डेले भने ।
सो अवसरमा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग प्रस्तुत गरेका थिए । तीमध्ये आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, बेसक्याम्पमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख थिए ।
यस्तै कीर्तिमानी आरोही कामी रिता शेर्पालगायत प्रतिनिधिले सम्पर्क अधिकृतको सङ्ख्या बढाउन, खुम्बु क्षेत्रमा बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई पाँच वर्षको म्याद थप गर्नुपर्ने सुझाव राखे । पर्यटनमन्त्री पाण्डेले प्रस्तुत सुझावप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै सरकारका तर्फबाट व्यवसायी तथा स्थानीयको चासो र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
३ जेठ, काभ्रेपलाञ्चोक । धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।
तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो । मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार आवश्यक भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक भएको बताए ।
“मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ”, अध्यक्ष ओलीले भने, “म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न । एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ ।” उनले मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रसङ्ग उल्लेख गर्दै उनले रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने भनाइ राखे । कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए । त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो ।
३ जेठ, काठमाडौं । मौसम परिवर्तनसँगै यतिबेला देशैभर अपर्झट वर्षा हुने क्रम जारी छ । हिमालहरु खुल्न थालेका छन् । तराई भेगमा भने चर्को गर्मी छ । वसन्त ऋतुको अन्त्य हुने क्रम जारी छ । बोटविरुवामा नयाँ पालुवा पलाएको छ । यस अंकमा शनिवारीय तस्वीर कथा राखिएको छ । जसमा जुम्लामा स्याउका बगैचादेखि वीरगन्जको गुलमोहसम्म उल्लेख छ ।
सावित्री अर्थात् वर्साइत पर्व नजिकिँदै गर्दा सुनसरीको कोसी गाउँपालिकाको लौकही बजारमा बिक्री गर्न राखिएको चङ्गेर र बैना । चङ्गेर र बैना प्रतिगोटा २५० रुपियाँले बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला / राससझापाको बिर्तामोडबाट खुदुनाबारी हुँदै इलाम जाने सडकमा पर्ने बिरिङ खोलामा भत्किएको पुलमा सवारीसाधन मार्फत जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । तस्बिर : राजकुमार ओली राससवीरगन्जस्थित मधेस विश्वविद्यालय परिसरमा ढकमक्क फुलेको गुलमोहर । शुक्रबार पानी परेपछि यहाँको मौसम खुलेको छ । तस्बिर : हिमाल लम्साल / राससजुम्लाको गुठीचौर गाउँपालिका-४स्थित स्थानीयको स्याउ बगैँचा । वैशाखको दोस्रो साता परेको असिना पानीले स्याउ बगैँचामा क्षति गरेपछि उत्पादनमा कमि आउने भएको छ । तस्बिर : विजय रावत / रासससिरहाको लहान-१ स्थित मटिहर्वा चोकमा शनिबार बिहान तरकारी तथा कृषि उपज किनबेच गर्दै स्थानीय । यहाँका किसानले आफूले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि स्थानीय बजारमा ल्याउने गरेका छन् । तस्बिर : सुदिप राउत / रासस
३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका छन् ।
विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो । विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो ।
उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ । त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।
२ जेठ, चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफँैमाथि प्रहार गरेको उनले जानकारी दिए ।
घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो । रासस
२ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौँ–३१ कात्यानी चोक तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको कात्यानी बस्ने ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको बा प्र ०१–०३१ च ९५६३ नम्बरको सुजुकी डिम्याक्स गाडीले ठक्कर दिँदा केएमसी अस्पताल सिनामङ्गल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको हो । सवारी चालक श्रेष्ठ, सवारी साधन र कागजपत्र प्रहरी बृत्त वानेश्वरको टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।
२ जेठ, गाईघाट । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको जानकारी दिए ।
उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण करिब रु २२ लाख ६० हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक दोङले बताए । जिल्लाको अन्य स्थानमा थप क्षति भएका हुनसक्ने भन्दै तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए ।
२ जेठ, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पत्ति पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी दम्पत्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
अनुसन्धानका क्रममा ती दम्पत्तिले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । आरोपित दम्पत्तिले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए । आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।