Category: समाचार

  • आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

    १० जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • इजिप्टमा सवारी दुर्घटना, सात जनाको मृत्यु, सात घाइते

    इजिप्टमा सवारी दुर्घटना, सात जनाको मृत्यु, सात घाइते

    एजेन्सी
    ९ जेठ, काठमाडौं । इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    घाइतेहरूलाई मिन्या सार्वजनिक अस्पतालमा र्पुयाइएको छ । इजिप्टमा प्रत्येक वर्ष हजारौं मानिस सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । यी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियमको उल्लङ्घन र सडकको कमजोर अवस्था रहेका छन् । केही वर्षयता इजिप्टले दुर्घटना न्यूनीकरणका लागि नयाँ सडक तथा पुल निर्माण गर्दै पुराना संरचनाहरूको मर्मतसमेत गरिरहेको छ ।

  • रूस–युक्रेन युद्धबन्दी सटासटबारे राष्ट्रपति ट्रम्पको घोषणा, तीन वर्षयताकै सबैभन्दा ठूलो”

    रूस–युक्रेन युद्धबन्दी सटासटबारे राष्ट्रपति ट्रम्पको घोषणा, तीन वर्षयताकै सबैभन्दा ठूलो”

    एजेन्सी
    ९ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिएका छन् । यो सटासट तीन वर्षदेखि जारी द्वन्द्वकालीन अवधिमा सबैभन्दा ठूलो हुने बताइएको छ । गत साता इस्तानबुलमा सम्पन्न वार्तामा युक्रेन र रूसले एक अर्काका एक–एक हजार युद्धबन्दीहरू साटासाट गर्ने सहमति जनाएका थिए ।

    यद्यपि, घटनासँग नजिकबाट संलग्न एक वरिष्ठ अधिकारीका अनुसार यो सटासट प्रक्रिया अझै पूर्णरूपमा सम्पन्न भइसकेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत यस सटासट सम्पन्न भएको घोषणा गरे । तर, ती अधिकारीले सटासटको प्रक्रिया हाल जारी रहेको र औपचारिक रूपमा सम्पन्न नभएको स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले उक्त घोषणासँगै यस्तो सटासटले भविष्यमा सकारात्मक सङ्केत दिन सक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।


    तीन वर्षदेखि जारी युद्धको क्रममा दुवै देशमा हजारौं युद्धबन्दीहरू रहेका छन् । अनुमानअनुसार, रूसी पक्षले युक्रेनी युद्धबन्दीहरू ठूलो सङ्ख्यामा नियन्त्रणमा राखेको छ, जसको सङ्ख्या आठ हजारदेखि १० हजारबीचमा रहेको बताइएको छ । दुवै पक्षले युद्धबन्दीहरूमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवहार नगरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि बन्दीहरू दुवै देशमा यातना तथा अमानवीय व्यवहारको शिकार भएको पुष्टि गरेको छ ।

    रूसले केही बन्दीहरूलाई अदालती कारवाहीमा पेस गरेको, कैयौंलाई यातना दिएको र केही युक्रेनी बन्दीहरू बन्दी अवस्थामै मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् । साथै, कब्जा गरिएको युक्रेनी भूभागबाट केही नागरिकहरू रूस लैजाने गरिएको विश्वास गरिन्छ । यसै वर्ष, पत्रकार भिक्टोरिया रोश्चिनाको मृत्युपश्चात उहाँको शव रूसबाट युक्रेन फिर्ता गरिएको थियो । युक्रेनका हराइरहेका व्यक्तिहरूका लागि जिम्मेवार आयुक्त आर्तुर दोब्रोसेर्दोभले गत महिनामा सञ्चारमाध्यमलाई जानकारी दिँदै भन्नुभयो,“हाल करिब ६० हजार व्यक्ति हराइरहेका छन्, जसमध्ये १० हजार को बन्दी अवस्थाको पुष्टि भएको छ । ”

    एक उच्च अधिकारीका अनुसार, “प्रत्येक सटासटमा यस्ता व्यक्तिहरू समेत फिर्ता हुने गरेका छन्, जसको अवस्थाबारे पहिले केही जानकारी थिएन ।” सन् २०२२ मा मारीउपोलमा भएको सैन्य घेराबन्दीको क्रममा धेरै युक्रेनी सैनिकहरू बन्दी बनाइएका थिए । त्यसबाहेक, सन् २०१४ मा रूसले क्राइमिया कब्जा गरेयता पनि केही युक्रेनी नागरिकहरू रूसी नियन्त्रणमा रहेको जनाइएको छ । रूसी युद्धबन्दीहरूको सङ्ख्या युक्रेनी पक्षमा तुलनात्मक रूपमा कम रहेको अनुमान गरिएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युद्धकालभर रूसी सैनिकहरूलाई बन्दी बनाएर भविष्यका सटासटहरूका लागि ‘विनिमय कोष’ तयार राख्न आवश्यक भएको बताउँदै आएका छन् ।

    In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine’s President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)


    सन् २०२४ मा युक्रेनी सेनाले रूसको कुस्र्क क्षेत्रमा गरेको आक्रमणको क्रममा सयौं रूसी सैनिकहरूलाई बन्दी बनाएको थियो । त्यसक्रममा केही उत्तर कोरियाली सैनिकहरू पनि बन्दी बनाइएको उल्लेख गरिएको छ, जसले रूसको पक्षबाट लडाइँमा सहभागी भएको बताइएको छ । साथै, युक्रेनले रूसी सेनासँग मिलेर काम गरेको आरोपमा केही नागरिकहरूलाई जेल सजाय दिएको छ, जसलाई भविष्यका विनिमय सम्झौतामा समावेश गरिने अनुमान गरिएको छ ।

    गत वर्ष, रूसको आक्रमणलाई समर्थन गरेको अभियोगमा सजाय पाएका युक्रेनी आर्थोडक्स धर्मगुरुलाई पनि युद्धबन्दी सटासटमा समावेश गरिएको थियो । रूसले यस वर्षको सुरुवातमा कुस्र्क क्षेत्रबाट आफ्ना केही नागरिकहरू युक्रेनको सुमी क्षेत्रमा लगिएको जानकारी दिएको थियो र उनीहरू अझै फर्कन नसकेको जनाएको छ । इस्तानबुलमा भएको पछिल्लो वार्तासम्म, दुवै पक्षबीच कायम रहेका सीमित संचार माध्यमहरूमा युद्धबन्दी तथा शवहरूको सटासट र रूसले युक्रेनी बालबालिकाहरू फर्काउने विषय प्रमुख थिए ।

  • परराष्ट्रमन्त्री डा राणा र जाइका अध्यक्षबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा राणा र जाइका अध्यक्षबीच भेटवार्ता

    ९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरिन् । उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।


    मन्त्री डा राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेकी छिन् । भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि कुराकानी डा राणको सचिवालयले जनाएको छ ।

  • रवि थुनामै रहने, सर्वोच्चले गर्यो उच्चकै आदेश सदर

    रवि थुनामै रहने, सर्वोच्चले गर्यो उच्चकै आदेश सदर

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।

    सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो । आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । त्यसका साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए ।

  • राजावादीले गर्ने भनेको आन्दोलनलाई प्रधानमन्त्रीको खिसिटिउरी, के भने ?

    राजावादीले गर्ने भनेको आन्दोलनलाई प्रधानमन्त्रीको खिसिटिउरी, के भने ?

    ९ जेठ, पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जनताको हकअधिकार र मुलुकको स्वाधीताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको दावि गरेका छन् । राष्ट्रिय युवासङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना देखेर उत्साहित नहुन सुझाव दिए । उनले राजावादीले गर्ने भनेको आन्दोलनलाई खिसिटिउरी समेत गरे ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कनेजस्ता हल्ला फिँजाएकोतर्फ इङ्गित उनले भने, “पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली पनि हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न आग्रह गर्छु ।”

    “प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिनेजस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास नियन्त्रण गर्न तथा रोक्नका लागि आवश्यक तयारीसहित अग्रभागमा युवा सङ्घ आउनुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेमाथि आन्तरिक र बाहिरका विरोधीहरूबाट केन्द्रिकृत एवं चौतर्फी रुपमा आक्रमण भइरहेको छ । एमालेले गल्ती गरेको भए हामी अहिले जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी एमाले हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना काम–कर्तव्य पूरा गर्न म सबैसँग आग्रह गर्दछु ।”

    अध्यक्ष ओलीले एमालेको योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै पार्टी नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिँजाउन खोज्ने प्रयासलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको उल्लेख गर्दै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने बताए ।

    आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए । युवा सङ्घको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्वमा नअटेकाहरूको न्यायोचित व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।

  • तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

    तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

    ९ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको राससलाई जानकारी दिए । उनले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताउनुभयो । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

    आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्ति आरोपी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।

  • उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

    उपरदाङगढी बन्यो चितवनको नयाँ पर्यटकीय गन्तव्य

    रासस
    ९ जेठ, चितवन । जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । विसं२०७५ देखि घरबास सुरु गरिएको हो । सिराइचुली होमस्टेका सञ्चालक गणेशबहादुर थापाका अनुसार घरबास नै आफूहरुको आम्दानीको प्रमुख स्रात हो ।

    सुरुमा यहाँ आएका पाहुनालाई बास बस्न पनि समस्या भएपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अवधारणा अघि सारिएको थापाले बताए । हाल दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । गाउँमा एक सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक बिलबहादुर थापामगर बताउँछन् । उनले भने, “यहाँ पर्यटक आउने समय फागुन–चैतदेखि असोजसम्म हो । ”

    जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उनले बताए । चेपाङ, गुरुङ र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गरिन्छ । घरबासको कमाइले छोराछोरी पढाउने र घरखर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मङ्गलबहादुर थापामगर बताउँछन् । आफ्नो आयआर्जनको अर्को माध्यम नभएपछि घरबास र खेतीपातीमा रमाएको उनी बताउँछन् ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङ्गढीमा सञ्चालनमा रहेका घरबासलाई प्रवर्द्धनका काम गर्दै आएको बताए । घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको जानकारी दिए । गढीमा इच्छाकामना गाउँपालिकाले ऐतिहासिक किल्ला, कोतघर, धारालगायत संरचना निर्माण गरिरहेको छ । कोतघर रु एक करोड ३५ लाख खर्च गरेर बनाइएको छ ।

  • जापानमा नेपाली समूदायसँग परराष्ट्र मन्त्रीले भनिन् : अहिलेकै नकारात्मक सोचले देश बन्दैन

    जापानमा नेपाली समूदायसँग परराष्ट्र मन्त्रीले भनिन् : अहिलेकै नकारात्मक सोचले देश बन्दैन

    ९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुन्छ भनिन् ।

    उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।”

    मन्त्री डा राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन् । उनले भनिन्, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।”

    मन्त्री डा राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट गरिन् । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गरिन् ।

    आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन् ।

  • उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

    उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

    ९ जेठ, पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिएकी छिन् । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आएकी छिन् । उनले काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।

    विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्थिन् । उनले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्छिन । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी भइन् । त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाएकी हुन् । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आएकी हुन् । अहिले उनले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गरेकी छिन् । उनले हरेक वर्ष रू पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आएकी छिन् ।

    उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उनको पेसामा श्रीमान् सोमबहादुरले साथ दिएका छन् । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गरेका छन् ।

    “हाम्रो परिवारले मात्र रू सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भनिन् । “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”

    कृषिकर्म गरेर कोही पनि सानो नभइने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउँछिन् । उनले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गरिन् । उनी तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी भएकी हुन् ।

    उनीसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष रहेको छ । क्षेत्रीले भनिन् । “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।”

    क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थालेकी हुन् । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उनी त्यसको संस्थापक सचिवसमेत बनेकी थिइन् । बीस जना सेयर सदस्यबाट रु पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।

    काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आएका छन् । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गछिन् । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गरेकी हुन् । उनले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताइन् । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उनको भनाइ छ ।

    आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोहोर्याउने उनको इच्छाले समेत सार्थकता पाउँदै गएको उनको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उनले भनिन् ।

    फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यावसायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू छ करोड भित्रिने गरेको छ ।

  • बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

    बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

    ९ जेठ, बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

    लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

  • देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

    देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

    ९ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

  • चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

    चितवनमा कार र बस ठोक्किए, एक जनाको मृत्यु

    ९ जेठ, भरतपुर । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • रास्वपा सभापति लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

    रास्वपा सभापति लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

    ८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएकामा नसकिएछि हेर्दाहेर्दैमा राखिएको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ । गत मङ्गलबार संवैधानिक इजालसमा न्यायाधीश सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न सकेको थिएन । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रुपन्देहीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ सुरु भएको होे ।

  • भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

    भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

    ८ जेठ, चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् । केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ । सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो । हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले आज ७२ सिट क्षमताको एटिआर–७२ बाट परीक्षण उडान गरेको छ ।

    भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ । एटिआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ । एटिआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताउनुभयो । जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरुले जहाज उडान र अवतरण गरेको प्रतिक्रिया उनले दिए ।

    सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आजको परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताए । सम्भावना रहेमा दुई महिना भित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ ।


    द्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटिआर–४२ बाट उडान हुँदै आएको छ । धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिएपनि सार्थकता पाउन सकेको छैन ।

  • दक्षिण कोरियामा एक व्यक्तिले तीन प्रहरी अधिकारीमाथि गरे छुरा प्रहार

    दक्षिण कोरियामा एक व्यक्तिले तीन प्रहरी अधिकारीमाथि गरे छुरा प्रहार

    काठमाडौं । ८ जेठ, काठमाडौं । दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरेका छन्। सियोलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको पाजु शहरमा घरेलु हिंसाको घटनामा सहयोगका लागि पुगेका प्रहरीमाथि एक व्यक्तिले उक्त आक्रमण गरेको योन्हाप न्यूज एजेन्सीले जनाएको छ । योन्हापका अनुसार ती अधिकारीको घाँटी, पाखुरा र शरीरका अन्य भागमा छुरा प्रहार भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । शंकास्पद व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरिएको र उनी गम्भीर घाइते भएको बताइएको छ ।

    “हामीले घटनाको उद्देश्य र परिस्थितिबारे गहन अनुसन्धान गरिरहेका छौं,” एक प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग भने, चार जनालाई छुरा प्रहार गरेको केही दिनपछि एक व्यक्ति पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ । सन् २०२१ मा प्रति एक लाख मानिसमा एक जनाको हत्या हुने गरेको दक्षिण कोरिया सामान्यतया निकै सुरक्षित देश हो । यो हत्या दर विश्वव्यापी औसत प्रति एक लाख छ जनाभन्दा निकै कम हो ।

  • बजेट भाषण लेखनको तयारीमा अर्थ मन्त्रालय

    बजेट भाषण लेखनको तयारीमा अर्थ मन्त्रालय

    अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन तयारीमा व्यस्त छ । विभिन्न क्षेत्रबाट प्राप्त सुझाव समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेट लेखन तयारीमा व्यस्त भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । अर्थ प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझाव ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित रहेको सचिवालयको भनाइ छ ।

    अर्थले २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थमन्त्री पौडेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरेका थिए । अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।

    त्यसैगरी पूर्वअर्थ सचिवहरू, अर्थविद्हरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत विषयतगत संघसंस्थासँग छलफल गरेको थियो । विकास साझेदारसँग पनि छलफल भएको थियो । बजेट निर्माण सन्दर्भमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिन सार्वजनिक आह्वान गरेको थियो ।

    सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसद्‌मा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र निर्माण, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा लगायत क्षेत्रगत प्रथामिकता राखिएको छ । १४ जेठमा संसद्‌मा आर्थिक सर्वेक्षण र १५ जेठमा बजेट पेस हुनेछ ।

  • पेस्तोलसहित दुई युवा पक्राउ

    पेस्तोलसहित दुई युवा पक्राउ

    ८ जेठ, तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् ।

    मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन एक थान र गोली एक थान बरामद गरिएको हो । उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    ८ जेठ, दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनाका दुई हजार ८२८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायत वक्ताले पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना सुनिश्चितताका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे । साथै राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला सञ्जालले अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    रासस

  • इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

    इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

    ८ जेठ, भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन् ।


    पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिए । पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले बताए । रासस

  • आज देशभर मौसम अदलबदलको सम्भावना

    आज देशभर मौसम अदलबदलको सम्भावना

    ८ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।

  • चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

    चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

    ८ जेठ, भोजपुर । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक)स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् ।

    चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको उनले बताए ।
    तीनदिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उनले जानकारी दिए । कार्यशालाको बुधबार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र सांस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए ।

  • भारतमा भवन भत्किदा छ जनाको मृत्यु

    भारतमा भवन भत्किदा छ जनाको मृत्यु

    एजेन्सी
    ७ जेठ, नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी महाराष्ट्र राज्यको एउटा पुरानो भवनको भाग मङ्गलबार राति भत्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । महाराष्ट्रको ‘कल्याण एस्टे क्षेत्र’ मा भवनभित्र मर्मत सम्भार भइरहेको बेला घटना भएको भारतीय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । सञ्चारमाध्यमका अनुसार मर्मत कार्य गर्दा भवनको दोस्रो तलाको क्षत अचानक ढली भुइँमा खस्दा १२ जना उक्त भग्नावशेषमा फसेका थिए ।

    घटनामा छ जनाको तत्कालै मृत्यु भएको तथा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार अभियान तीन घण्टाभन्दा बढी चलेको प्रहरीले बताएको छ । घटनापछि, मनसुनको मौसम सुरु हुनुअघि सावधानीका रूपमा भवनका बासिन्दाहरूलाई भवनको संरचनात्मक परीक्षण गर्न चेतावनी जारी गरिएको छ ।

  • ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

    ट्रम्पद्वारा लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

    एजेन्सी
    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ’गोल्डेन डोम’ क्षेप्यास्त्र कवच प्रणालीका लागि नयाँ विवरण र प्रारम्भिक कोषको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार यस परियोजनाका लागि लगभग तीन वर्षमा सञ्चालन ल्याउने गरी २५ अर्ब अमेरिकी डलर छुट्याइएको घोषणा गरेका छन् । परियोजना सञ्चालनका लागि लगभग १७५ अर्ब डलर खर्च हुन सक्ने र तीन बर्षसम्ममा यसलाई कार्यान्वयनमा ल्याइने योजनामा उल्लेख छ । बेइजिङले बुधबार ‘गोल्डेन डोम’लाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिँदै संयुक्त राज्य अमेरिकाले हतियारको होडबाजीलाई बढावा दिएको आरोप लगाएको छ।

    स्थानीय समय अनुसार मङ्गलबार ह्वाइट हाउसमा ट्रम्पले भने, “चुनावी अभियानमा मैले अमेरिकी जनतालाई अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा कवच बनाउने वाचा गरेको थिएँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु । हामीले यस अत्याधुनिक प्रणालीको लागि आधिकारिक रूपमा ढाँचा चयन गरेका छौँ । ट्रम्पले भने, “एकपटक पूर्ण रुपमा निर्माण भएपछि ‘गोल्डेन डोम’ क्षेप्यास्त्रलाई विश्वका अन्य देशबाट प्रक्षेपण गरिए पनि र अन्तरिक्षबाट प्रक्षेपण गरिए पनि त्यसलाई रोक्न सक्षम हुनेछ ।” “यो हाम्रो देशको सफलता र अस्तित्वको लागि पनि धेरै महत्त्वपूर्ण छ,” उनले भने ।


    उनले अमेरिकी अन्तरिक्ष बलका जनरल माइकल गुएटलिनले यस प्रयासको नेतृत्व गर्ने र क्यानडाले पनि सुरक्षा प्राप्त गर्न चाहेकाले यसमा सहभागी हुन चासो व्यक्त गरेको बताए । ट्रम्पले यसको कुल मूल्य करिब १७५ अर्ब अमेरिकी डलर रहेको बताए पनि संसद्को बजेट अफिसले अन्तरिक्षमा आधारित इन्टरसेप्टरको सीमित सङ्ख्यालाई परास्त गर्न २० वर्षमा १६१ अर्ब डलरदेखि ५४२ अर्ब डलरसम्म खर्च हुने अनुमान गरेको छ ।

    उनले भने, “‘गोल्डेन डोम’को विस्तृत लक्ष्य छ र यसले अन्तरिक्ष, समुद्र र जमिनमा रहनेगरी ‘सेन्सर’ र ‘इन्टरसेप्टर’ सहित अर्को पुस्ताका प्रविधिहरू तैनाथ गर्नेछ।” पेन्टागनका प्रमुख पीट हेगसेथले ट्रम्पको योजनालाई समर्थन गर्दै भने, “यो प्रणालीको उद्देश्य परम्परागत वा आणविक क्रुज मिसाइल, ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक मिसाइल, ड्रोन बाट आफ्नो मातृभूमिको रक्षा गर्नु हो । यो गोल्डेन डोम योजनाको नामाकरण इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमबाट आएको हो जसले सन् २०११ मा सञ्चालनमा आएदेखि हजारौँ छोटो दूरीका रकेट र अन्य प्रोजेक्टाइलहरूलाई रोकेको छ।

    संयुक्त राज्य अमेरिकाले विरोधीहरूबाट विभिन्न क्षेप्यास्त्र खतराहरूको सामना गरिरहेको छ तर ‘गोल्डेन डोम’ इजरायलको आइरन डोमको सामना गर्न डिजाइन गरिएको छोटो दूरीका हतियारहरू भन्दा उल्लेखनीय रूपमा भिन्न छन्। सन् २०२२ को मिसाइल प्रतिरक्षा समीक्षाले चीन र रुसबाट बढ्दो खतरालाई औँल्याएको छ । ब्यालेस्टिक र हाइपरसोनिक क्षेप्यास्त्र प्रविधिको मामिलामा बेइजिङले वासिङ्टनसँगको दूरी कम गरिरहेको छ भने मस्कोले अन्तरमहादेशीय दूरीको क्षेप्यास्त्र प्रणालीलाई आधुनिकीकरण गर्दै उन्नत ‘प्रिसिजन स्ट्राइक’ क्षेप्यास्त्रको विकास गरिरहेको छ ।

    वासिङ्टनले योजना घोषणा गर्दै युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेको ड्रोनको खतरा बढ्ने सम्भावना रहेको र उत्तर कोरिया र इरानबाट ब्यालिस्टिक क्षेप्यास्त्रका साथै गैरराज्य पक्षबाट रकेट र क्षेप्यास्त्रको खतराबारे पनि चेतावनी दिएको छ । बेइजिङले बुधबार उक्त योजनाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यसले ’विश्वव्यापी रणनीतिक सन्तुलन र स्थिरता’लाई कमजोर पार्ने बताएको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थलाई पहिलो स्थान दिएको छ र आफ्नो पूर्ण सुरक्षा खोज्ने तर्फ उन्मुख छ, जुन कुनै पनि देशको सुरक्षा अरूको मूल्यमा हुनुहुँदैन भन्ने सिद्धान्तको उल्लङ्घन गर्दछ।” माओले भने, “यो योजनाले अन्तरिक्षलाई युद्धभूमि बन्ने खतरा बढाउँछ, हतियारको होडबाजीलाई बढावा दिन्छ र अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ ।

  • प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ

    प्रहरी परिसरको गेटबाटै भागेका थुनुवालाई आजै असनबाट पक्राउ

    ७ जेठ, काठमाडौं । म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका एक जना थुनुवालाई आजै प्रहरीले असनबाट पक्राउ गरेको छ । यसरी पक्राउपर्नेमा थुनुवामा दोलखाको बैदेश्वर गाउँपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपगरी ल्याउने क्रममा उनी आज १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौँको गेट नजिकबाट भागेका थिए ।

    उनको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२४ असनको याट्खा टोलबाट आजै साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बोहराले बताए । गत वैशाख ३१ गते उनलाई काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा आज यहाँ म्याद थपका लागि ल्याइएको थियो ।

  • पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

    पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

    ७ जेठ, काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिए ।

    यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई आज निर्देशन दिएको हो । उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।

  • त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

    त्रिभुवन विमानस्थल अध्यागमनमा अख्तियारको छापा, गृहका सहसचिव पक्राउ

    ७ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मापरेको छ । अख्तियारले बुधबार नै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई समेत पक्राउ गरेको छ । उनलाई बिहीबार उपस्थित हुनेगरी साँझ छाडिएको छ ।

    उनी यसअघि विमानस्थल अध्यामगन कार्यालयको प्रमुख थिए । उनलाई पक्राउ गर्नुका साथै छापा मार्नुको कारण मानव तस्करीसँग सेटिङ गरेको आरोप लागेको स्रोतले बताएको छ । उनको मोबाइल अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा संलग्नता रहेको पाइएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको समेत स्रोतको दावि छ ।


    प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागन जाँच पार गराउने गरिएको थियो । विमानस्थल अध्यागमनमा २४ घन्टा ड्यूटी हुने भएकाले तीन समूहमा कर्मचारी खटाउने गरिन्छ । त्यसमा हरेक समूहका प्रमुखसँग समेत मिलेमतो हुने आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

  • नेपालमय बन्यो न्युयोर्कको म्याह्याटन

    नेपालमय बन्यो न्युयोर्कको म्याह्याटन

    कल्पना घिमिरे , न्यूयोर्क ।

    Photo : Hamrophoto.com

    “हामी नेपालीहरुको एकताको शान, अन्तरास्ट्रिय जगतमा हाम्रो पहिचान” भन्ने नाराका साथ सातौं नेपाल डे परेड भब्य रुपमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली सङ्घसंस्थाको सहकार्य र समन्वयमा गत आईतबार म्याह्याटनको ३८ स्ट्रीट र मेडिसन एभिन्युमा नेपाल डे परेड सम्पन्न भएको हो ।

    न्युयोर्कमा सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो । बिश्वकै अर्थतन्त्रको हब मानिने न्यूयोर्कको ब्यस्त म्यानह्याट्टनका सडकहरुमा नेपाली भेषभुषा, बाजागाजा र नृत्य सहित परेड गरिरहॅदा बिभिन्न देशबाट घुम्न आएका पर्यटकको समेत ध्यान खिचेको थियो । पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले परेड गुन्जिएको थियो ।

    परेडमा बिशेष अतिथीको रुपमा न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरको उपस्थिति थियो । स्थानीय जनप्रतिनिधिहरू साथै बिभिन्न सङ्घसंस्थाका ब्यानर सहित नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

    नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको साङ्गीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो ।

    नेपाली पोसाक, झणडा र ब्यानर सहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटदेखिको नेपालीहरुको सहभागीता थियो ।

  • काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

    काठमाडौँमा बस दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति

    ७ जेठ, काठमाडौं । काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारीसाधनमा क्षति पुगेको छ । आज बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठ वटा सवारीसाधनमा क्षति भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीन वटा कार, दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ । उक्त दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौँको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाउँपालिका-२ भई हाल टोखा बस्ने २२ वर्षीय विकाश कट्टेल र खोटाङ हलेसी टुवाचुङ नगरपालिका-५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका उनले बताए ।

    अनियन्त्रित भएर पल्टिएको बा५ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए ।

  • आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

    आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

    ७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

    विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताए । “यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश “भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” उनले भने, सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

    त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जोशीले बताए । जोशीले अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ र सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भू–भाग, कर्णाली प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग, गण्डकी प्रदेशको पश्चिमी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको बताए ।


    “त्यसैगरी मधेश प्रदेशको पूर्वी भू–भाग र गण्डकी प्रदेशको मध्य भू–भागमा सरदर भन्दाबढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ,” उनले भने । विभागले न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ जनाएको छ ।

    “कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा न्यूनतम तापकम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दाबढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

    विभागका अनुसार यस आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपहरूको आँकलन र दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्च आँकलनको आधारमा तयार गरेको हो ।