Category: समाचार

  • न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

    न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

    १४ जेठ, काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

  • बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

    बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

    १४ जेठ, काठमाडौं । रूपन्देही जिल्लाको बुटवलमा आमा र दुई छोरीको हत्या भएको छ । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यले पुष्टी गरेका छन् । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

    उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेको समेत पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । बालिकाहरु पुर्वपति तर्फका भने होइनन् ।

  • सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

    सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

    १४ जेठ, काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ ।

    यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नेछन् ।


    युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ ।

    यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

  • बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

    बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

    १४ जेठ, चितवन । बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ । अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए ।
    चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो ।

    वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो । अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उनले बताए । सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस गरिएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उनले बताए । भासिएको भाग मर्मत गर्न रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन् ।

  • तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

    तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

    १४ जेठ, इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।
    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

  • पर्सामा बलात्कार अभियोगमा दुई पक्राउ

    पर्सामा बलात्कार अभियोगमा दुई पक्राउ

    १४ जेठ, वीरगञ्ज । बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ ।

    अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए । पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।

  • पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

    पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

    १४ जेठ, बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडाँै महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

  • अमेरिकी बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने

    अमेरिकी बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने

    एजेन्सी
    १४ जेठ, काठमाडौं । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन् । गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीहरूले महामारी अन्त्यका लागि महत्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा व्यक्तिमा सीमित गर्ने घोषणा गरेपछि यो परिवर्तन गरिएको हो ।

    ट्रम्प प्रशासनका अधिकारीहरूले यो परिवर्तनलाई बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरूसँग अमेरिकालाई नजिक ल्याउनको लागि तयार पारेका छन् । ती मुलुकहरूले वार्षिक ‘बुस्टर खोप’हरू केवल वृद्ध र रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका व्यक्तिका लागि मात्र सिफारिस गरिन्छ। स्वास्थ्यमन्त्री केनेडीले संघीय जनस्वास्थ्य नीतिमा आमूल परिवर्तन गर्न दबाब दिइरहेका छन् । उनले खोप र विशेषगरी कोभिड खोपको बारेमा गलत सूचना फैलाएको आरोप लामो समयदेखि अमेरिकामा खेपिरहेका छन् ।


    “आजसम्म स्वस्थ बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड खोप सीडीसी (सेन्टरफर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) ले सिफारिस गरेको खोप तालिकाबाट हटाइएको छ र यो घोषणा गर्न पाउँदा म खुशी छु,” उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन् । एफडीएका अधिकारीहरूले खोप निर्माताहरूले ६५ वर्षभन्दा कम उमेरका स्वस्थ व्यक्तिहरूमा खोप प्रयोगका लागि स्वीकृति कायम राख्न चाहेमा नयाँ क्लिनिकल परीक्षणहरू सञ्चालन गर्नुपर्ने बताएका छन्।

    हालैका यी परिवर्तनहरूको आलोचना भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ अमेश अदालजाले गत साता एएफपीसँग भने, “नयाँ तरिका अन्य देशले अपनाएको तरिकासँग मिल्दोजुल्दो भए पनि मलाई लाग्छ, कोभिड–१९ विरुद्धको खोपको प्रारम्भिक शृङ्खला बाल्यावस्थामा हुने नियमित खोपको हिस्सा हुनुपर्छ ।” फिलाडेल्फियाको चिल्ड्रेन हस्पिटलका शीर्ष खोप विशेषज्ञ पल अफिटले यो परिवर्तनले विशेष गरी अमेरिकाको निजीकरण गरिएको स्वास्थ्य सेवा प्रणालीअन्तर्गत अझै पनि ‘बुस्टर खोप’हरू चाहने मानिसहरूको पहुँचमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।

    गर्भवती महिलाहरूका लागि खोप नदिने भन्ने अघिल्लो सीडीसी मार्गदर्शनभन्दा फरक निर्णय आएकाले यसले कोभिडसँग सम्बन्धित नियमबारे केही परिवर्तनको सम्भावनाहरूलाई सङ्केत गर्दछ । मंगलबार बिहानसम्म केनेडीको घोषणालाई प्रतिबिम्बित गर्न बाँकी रहेको एजेन्सीको वेबसाइटमा रहेको प्रतिवेदनमा अझै पनि गर्भवती महिलाहरू खोप प्राप्त गर्नु ‘विशेष गरी महत्त्वपूर्ण’ ती व्यक्तिहरूमध्ये एक रहेको उल्लेख छ । “भर्खरै गर्भवती भएका वा परिपक्व र्भसकेको गर्भवती महिलामा गर्भवती नभएकाहरूको तुलनामा कोभिड–१९ को सङ्क्रमण हुने हुने सम्भावना बढी हुन्छ,” प्रतिवेदनमा भनिएको छ।

  • बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    १३ जेट, बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

    उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

  • योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट, के भयो कुराकानी ?

    योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट, के भयो कुराकानी ?

    १३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ ।

    आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । मुलुकको अर्थतन्त्रमा कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्बाट परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अबलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भएको हो ।

    छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालिन खर्च संरचनालगायत विषयमा आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराएका थिए । त्यस्तै राष्ट्र बैङ्कका गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

  • राप्रपाले भन्यो : १५ जेठको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ

    राप्रपाले भन्यो : १५ जेठको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ

    १३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ ।
    राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गरे ।

    उनले भने “तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ ।” राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए । उनले भने, “शान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ ।”

    राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पु¥याउन सबैसँग अनुरोध गरे । आन्दोनल परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अंहिसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाए । उनले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

  • प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, बुधबार बस्नेगरी स्थगन

    प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, बुधबार बस्नेगरी स्थगन

    १३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । आजको बैठक सुरू भएलगतै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले बैठक अवरोध गरेका हुन् ।

    विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध गरेका थिए । उनीहरुले गृहमन्त्रीको राजिनामाको समेत माग गरेका छन् । त्यसपछि दुईपटक सूचना जारी गरी बैठक सारिएको थियो । सभामुख देवराज घिमिरेले सत्तारूढ र प्रतिपक्षी दलहरूबीच सहमति कायम गरी संसद्को अवरोध खुलाउन प्रयास गरेका थिए । तर, आज विपक्षी दलले अडान छाडेनन् ।

  • प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी

    प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी

    १३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे उनले चासो राखेका थिए ।


    विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने गरी सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशन चुस्तदुरुस्त अवस्थामा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिनेतर्फ सचेत रहन उनले आग्रह गरे ।


    विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने जानकारी दिँदै गण्डकी तथा लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

    विभागको कार्यालयमा स्थलगत रूपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएकामा खुसी व्यक्त गर्दै उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजालगायत सम्बन्धित उच्च अधिकारी सहभागी थिए ।

    रासस

  • लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्मको निर्णय

    लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्मको निर्णय

    १३ जेठ, काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

    “आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ”, जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    यस्तै, बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको विस्तृत अध्ययन, विकास तथा सञ्चालन–व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई ‘स्वीस च्यालेन्ज’ अवधारणा अनुरुप प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको छ । साथै विभिन्न मुलुकसँग हालसम्म गरिएका दोहोरो कर उन्मुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताका सम्बन्धमा अध्ययन गरी थप मुलुकसँग उक्त सम्झौता गर्नेबारे बोर्डसमक्ष प्रतिवेदन पेस गर्न एक कार्यदल गठन गरिएको छ ।

    यसैगरी, बैठकबाट ‘डिप सिबेड माइनिङ’ परियोजनाको सम्बन्धमा प्राप्त प्रस्तावउपर प्रचलित अन्तरराष्ट्रिय कानुन, राष्ट्रिय नीति तथा कानुनी व्यवस्थासहित आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्न अर्को समितिसमेत गठन गरिएको छ । नेपालमा ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्तावअनुरुप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णयसमेत बैठकले गरेको छ । लगानी बोर्डको कार्यालयको काम कारबाहीलाई थप छिटोछरितो तथा प्रभावकारी ढङ्गले अघि बढाउन बोर्डमा रहेका केही अधिकार प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ । साथै, निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताको प्रावधानअनुसार ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

  • नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : प्रचण्ड

    नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : प्रचण्ड

    १३ जेठ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन् । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।


    नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । “राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ”, उनले भने, यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।” अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।


    शान्ति, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउन दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे । “राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन”, अध्यक्ष दाहालको भनाइ थियो ।

  • नाइजेरियामा ‘पृथकतावादी समूह’ का कारण ७०० भन्दा बढीको मृत्यु

    नाइजेरियामा ‘पृथकतावादी समूह’ का कारण ७०० भन्दा बढीको मृत्यु

    एजेन्सी
    १३ जेठ, काठमाडौं । नाइजेरियाको एक प्रमुख ‘पृथकतावादी समूह’ द्वारा पछिल्ला चार वर्षयता आयोजना गरिएका प्रदर्शनहरूका कारण ७०० भन्दा बढीको ज्यान गएको एक स्थानीय गुप्तचर थिङ्क ट्याङ्कले सोमबार प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ । प्रतिबन्धित ‘इन्डिजिनस पिपल अफ बियाफ्रा’ (आईपीओबी) आन्दोलनले दक्षिणपूर्वी नाइजेरियाको स्वतन्त्रताका लागि दबाब दिँदै आएको छ । यही क्षेत्रमा सन् १९६० को दशकको अन्त्यमा भीषण गृहयुद्ध भएको थियो । समूहले नियमित रूपमा ‘घरमै बसौं’ नामक आन्दोलनको आह्वान गर्दै आएको छ ।

    सुरुमा शान्तिपूर्ण प्रदर्शनका रूपमा प्रस्तुत गरिए पनि यस्ता गतिविधि सशस्त्र समूहहरूद्वारा अपहरण गरिएका छन्, जसले सरकारी निकाय वा समर्थनकर्तामाथि आक्रमण गर्ने गरेका छन् । लागोसस्थित एसबीएम इण्टेलिजेन्सका अनुसार,“आदेश लागू गर्नका लागि प्रयोग भएका केही व्यक्ति वा समूहहरूले व्यवसायिक गाडीमा आगो लगाउने, आदेश उल्लङ्घन गर्नेहरूमाथि आक्रमण गर्नेजस्ता हिंसात्मक कार्यहरू गरेका छन्, जसले जनतालाई त्रासका आधारमा आदेश पालना गर्न बाध्य बनाएको छ ।”

    थिङ्क ट्याङ्कको अनुमानमा यस क्षेत्रले करिब ७ दशमलव ६ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेको र ७७६ जनाको मृत्यु भएको छ । रिपोर्ट अनुसार शिक्षा, शासन तथा जीविकोपार्जन प्रणालीहरू व्यापक रूपमा प्रभावित भएका छन् । ‘आईपीओबी’ले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ, तर आपराधिक गिरोह र राजनीतिक विरोधीहरूले समूहको नाम प्रयोग गरी हिंसात्मक कार्यहरू गर्ने गरेका छन् । समूहका प्रवक्ताले रिपोर्टबारे टिप्पणी गर्न एएफपीको आग्रहमा प्रतिक्रिया दिएका छैनन् ।


    नाइजेरिया सरकारले आईपीओबीलाई आतङ्ककारी सङ्गठनको रूपमा प्रतिबन्ध लगाएको र यसले इग्बो समुदायविरुद्धको कथित जातीय नरसंहारको नाममा जातीय तनाव फैलाउने आरोप लगाएको छ । यो रिपोर्ट बियाफ्रन आन्दोलनले मेको अन्त्यमा मनाउने ‘बियाफ्रा दिवस’ को केही दिनअघि प्रकाशित गरिएको हो । त्यो दिन समूहले कडाइका साथ ‘घरभित्रै बस्ने’ आदेश जारी गर्छ । यसैबीच राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यकालको दुई वर्ष पूरा गर्दै गर्दा देशको पूर्वोत्तर क्षेत्रमा १५ वर्षदेखि चलिरहेको जिहादी विद्रोहविरुद्ध सैनिक कारबाही जारी छ । पश्चिमोत्तर र मध्य राज्यहरूमा समेत सशस्त्र समूहहरूको हिंसा फेरि बढ्दै गएको छ ।

  • मनास्लु भ्रमणमा पुगे हालसम्मकै बढी पर्यटक

    मनास्लु भ्रमणमा पुगे हालसम्मकै बढी पर्यटक

    रासस
    १३ जेठ, गोरखा । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

    उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । एमक्यापले आव २०८१/८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकामा ९८ दशमलव शून्य सात प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताए । “कोभिडपछि पर्यटकको आगमन न्यून थियोे”, आयोजना प्रमुख शेरचनले भने, “आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् एक सय ९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।” सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा पाँच हजार ३३८ र २०७५/७६ मा सात हजार ६५५ रहेको थियो ।

    मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिए । उनका अनुसार पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनसक्ने व्यवस्था गरिएको छ ।

    “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ”, प्रमुख शेरचनले भने, निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ ।

    उक्त अवधिभर चुमभ्यालीका लागि पर्यटकीयसिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ ।

    साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो ।

  • अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    रासस
    १३ जेठ, कास्की । अन्नपूर्ण प्रथम हिमाल ९८,०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए ।

    नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हीरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

    आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हीरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । “हामीले पहिलोपटक आरोहण भएको सम्बन्धित स्थानमा पुगेर कार्यक्रम गर्दैछौँ । यसबाट नेपालको पर्वतीय पर्यटनको थप प्रवर्द्धन हुनेछ”, उनले भने ।

    महोत्सवमा फ्रान्सलगायत युरोप–अमेरिकालगायत देशका १२ राजदूतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले जानकारी दिए । नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


    मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उहाँका परिवारसहित १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौडसमेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले बताए ।

    उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ । आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकराण गरिएको छ । उक्त पदमार्गका साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।

  • आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

    आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

    १३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

    मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

    रासस
    १३ जेठ, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्वंको मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ । दुर्घटनामा बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

  • ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु

    ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु

    १२ जेठ, कृष्णनगर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए ।

    उपचारका लागि अस्पताल लैजाने क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । रेगुलेटर खोल्ने बित्तिकै ग्यास लिक भएर एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । प्रहरीले घट्नास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । मृतक सोनम राष्ट्रिय मावि मुरफुटवामा कक्षा १० मा अध्ययनरत रहेको प्रधानाध्यापक लालचन्द्र पाण्डेले जानकारी दिए ।

  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : कांग्रेस

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : कांग्रेस

    १२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।

    बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी र गल्ती नरहेको कुरा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताए । बैठकले गृहमन्त्री लेखकको कुरालाई पूर्णरूपमा विश्वास गरेर उनको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा महतले जानकारी गराए । साथै बैठकले भिजिट भिसा प्रकरणमा संलग्नमाथि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने मागसमेत गरेको छ ।

  • माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता

    माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता

    १२ जेठ, पाटन । नेकपा माओवादी केन्द्रले आज एकै दिन दुई पार्टीसँग एकता गरेको छ । समाजवादी पार्टी र नेपाल राष्ट्रिय पार्टीबीच माओवादीले एकता गरेको हो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताए । उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे ।


    “सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहानु भएको छ, उहाँ पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ”, अध्यक्ष प्रचण्डले भने, “गंगानारायण श्रेष्ठले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो सराहनीय छ ।” आज सुरू भएको प्रयास दूरगामी राजनीतिक महत्त्वको प्रयास भएको बताउँदै उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे ।


    आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए । उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे ।


    नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाई सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पारे । उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए ।

  • रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं

    रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं

    रासस
    १२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियानको सञ्चालन गर्ने झाले बताए ।

    भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दैै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशन समेत दिएको छ । केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ ।

  • धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

    धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

    १२ जेठ, जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

  • प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : राष्ट्रिय मानव अधिकार आयोग

    प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : राष्ट्रिय मानव अधिकार आयोग

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौंको आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । सोही दिन राजावादी समूहले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्तालाई त्यसविरुद्ध उत्रन समेत निर्देशन दिएका थिए । जसबारे ध्यानाकर्षण गराउँदै आयोगले भनेको छ, ‘यस्तो परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

    ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ,’ आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध नगरेको आयोगले स्मरण गराएको छ ।

    ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ,’ प्रधानमन्त्री ओलीलाई आयोगले भनेको छ । जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले आग्रह पनि गरेको छ ।

  • रामबहादुर बम्जन पुनः कारागार चलान

    रामबहादुर बम्जन पुनः कारागार चलान

    १२ जेठ, सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए ।

    यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर आज फेरि सम्पत्ति शुद्धिकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

  • बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

    बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

    १२ जेठ, मकवानपुर । मकवानपुरको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार आज साँझ थाहा नगरपालिका–३ विद्युत् प्राधिकरण नजिकै त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नं को यात्रुवाहक बस सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो । घाइतेमध्ये अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ ।

    त्यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र त्यहाँकै कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक अर्यालले प्रारम्भिक जानकारी अनुसार बसमा चालक थाहा नगरपालिका–५ निवासी २९ वर्षीय राजेश कार्की मात्र रहेका र मृतक तथा घाइते भएकाहरू पैदलयात्री रहेको बुझिएको बताए । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु

    ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु

    १२ जेठ, धरान । ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी गम्भीर घाइते भएका थिए ।

    दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा सर्पराजको दिउँसो १ः५० बजे र महजितको २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

    ‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

    १२ जेठ, तानसेन । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् । तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र टार्जन भण्डारीले तानसेन–७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहरबाट मोहर खोज्दै आएका हुन् ।

    तानसेन बजारबाट दैनिक निस्कने फोहरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधित गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तुहरु सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् ।

    तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै छन् । उमेशले विएस्सी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत छन् । टार्जनले विविए पूरा गरिसकेका छन् । तर उहाँहरुमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहरमुक्त सहर बनाउने ।

    सङ्कलित कवाडी वस्तुहरुको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौँ, वीरगञ्जलगायत ठूला सहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताए । केही वस्तुहरु भने आफैँ रिसाइकल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले कवाडी सङ्कलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन् । कवाडी सङ्कलनका लागि उनीहरुले छ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् ।

    सुरुमा पढेका युवाहरुले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए, तर अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । उमेश सुरुका दिन सम्झदै भन्छन्, “सुरुवातमा हामीलाई यो काम गर्न त्यति सहज थिएन, कसैले सोचेका थिएनन्, पढेका युवाले कवाडी सङ्कलन गरेर खालान भनेर, त्यति बेला नत स्थानीय सरकारले सहयोग ग(यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो, बरु हामीले फोहर सङ्कलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।”

    पहिले–पहिले फोहर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहरलाई त्यसको प्रकारका आधारमा छुट्टाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगपालिकालाई कर बुझाउँदै आएका छन् ।

    राससको सहयोगमा