Category: समाचार

  • न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशैभरीबाट प्रथम

    न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशैभरीबाट प्रथम

    १२ जेठ, चितवन । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो । अस्पतालले दिएको जानकारीअनुसार मन्त्रालयले देशभरिका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए । ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ ।

    ‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले बताए । सुशासन तथा व्यवस्थापन, चिकत्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो हरेक वर्ष मन्त्रालयले गर्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो ।

    मेडिकल सुपरिटेण्डेन्ट प्रा डा पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागि रहेको बताए । “अस्पतालको सिङ्गो टिम सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो”, उनले भने । मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार विसं २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

  • अनेरास्ववियुमा अब ३२ वर्षे उमेर हद

    अनेरास्ववियुमा अब ३२ वर्षे उमेर हद

    १२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताइन् ।

    उनले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताए । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।

  • फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

    फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

    १२ जेठ, सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ ।

    नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो । प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यका अनुसार जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको हो । यसअघि साताको एक दिन उडान भर्दै आएको जहाज ‘ग्राउण्डेड’ हुँदा लामो समय फाप्लुमा उडान हुन सकेको थिएन ।

    नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । सल्लेरीका व्यवसायी महेश अधिकारीले भने, “जहाज नियमित आउन थालेपछि काठमाडौँ जानआउन ‘बिपी राजमार्ग’ को कष्टकर सडक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ, केवल अस्थायी रूपमा मात्र होइन ।”

    विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । पुनः सुचारु भएको उडानबाट पर्यटकीय जिल्लामा पर्यटन व्यवसायी उत्साहित बनेको ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए ।

  • संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

    संरक्षण अभावमा हिमाली जिल्लाका लुलु गाई

    १२ जेठ, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली ९इको सिस्टम¬०मा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेका हिमाली लुलु गाई पछिल्लो समय भने लोपोन्मुख अवस्थामा रहेको छ । जुरो नभएको स्थानीय गाईका जातमध्ये लुलु गाई एक हो । अन्य गाईभन्दा हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने लुलु गाई कद केही होचो हुन्छ । यो समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइदेखि माथिको उच्चस्थानमा पालन गर्ने गरिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा लालमणि अर्यालले मुस्ताङमा सदियाँै वर्षदेखि परम्परा र संस्कृतिको रुपमा पालन गर्दैआइरहेको लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको जानकारी दिए । मुस्ताङमा दश वर्षअघि करिब १० हजार बढी लुुलु गाई रहेकोमा पछिल्लो समय मुस्ताङका पाँचौँ पालिकामा गरी करिब छ हजारको सङ्ख्यामा लुलु गाईपालन गरिएको उनले बताए ।

    “मुस्ताङमा लुलु गाईपालन बर्सेनि घट्दो अवस्थामा छ, यसको संरक्षणमा स्थानीय कृषकले खासै चासो दिएको पाइएन”, पशु चिकित्सक डा अर्यालले थपे, “दूध उत्पादन कम हुने र अन्य वैकल्पिक अवसरले गर्दा लुलु गार्ई संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन ।”

    मुस्ताङका कृषकले अन्नबाली उत्पादनका लागि मल चाहिने भएको र थोरै मात्रामा दूध उत्पादन गर्न सकिने भएकै कारण लुुलु गाई पाल्ने गरिएको हो । अन्य गाईको तुलनामा लुलु गाईले निकै कम मात्रामा दूध उत्पादन गर्ने भएकाले कृषकले लुलु गाईपालनमा बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए । “कृषकहरु लुलु गाई जोगाउनु पर्नेतर्फ संवेदनशील भएको पाइँदैन, यो निकै चिन्ताको विषय बनेको छ”, पशुु शाखा प्रमुख थकालीले भने, “गाउँपालिकाले पनि लुलु गाई संरक्षण गर्न कृषकलाई प्रोत्साहन गर्नेलगायतमा सहयोग गर्ने गरेको छ ।”

    मुस्ताङका कृषकले पालन गर्ने लुलु गाई हिमाली परम्परा र संस्कृतिको जैविक आयामको रुपमा लिने गरिन्छ । तर, यहाँको जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै हिमाली क्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने खतरा बढेको पशु शाखा प्रमुख थकालीको भनाइ छ । जिल्लामा विस्थापित हुने अवस्था रहेको लुलु गाईपालन व्यवसाय केवल कृषि प्रयोजनमा मात्रै उपयोग भएको देखिन्छ । पछिल्लो समय सडक सञ्जाल र प्रविधिको विकास हुन थालेसँगै मुस्ताङका कृषकले विस्तारै लुलु गाई पाल्न छाडिसकेका छन् । मुस्ताङमा विद्यमान अवस्थामा पालन गरिएका लुलु गाईलाई पनि कृषकले आवश्यक रुपमा संरक्षण गर्न छाडिसकेको घरपझोङका किसान अजित थकालीले बताए ।

    “अन्य बस्तुभाउभन्दा लुलु गाईलाई कृषकले बेवास्ता गर्न थाले, जथाभावी छाडिदिने गर्न थाले”, उनले भने, “कोही कृषि र होटल चलाउन थालेपछि कृषकले लुलु गाई पाल्न छाडेका हुन् ।” पहिला पहिला एउटै घरमा १०÷१२ वटासम्म लुलु गाई पाल्ने गरिएकोमा अचेल एक घरमा एउटा लुलु गाई पनि नहुने गरेको कृषक थकालीको भनाइ छ । कृषि र पर्यटनको विकाससँगै लुलु गाईतर्फ संरक्षण गर्नपर्छ भन्ने मान्यता राख्न छोडेको कृषक थकाली सुनाए ।


    लुलु गाईले बिहान र बेलुकी गरी बढीमा एक लिटरसम्म दूध उत्पादन गर्ने गर्छ । कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरु लोपोन्मुख हुन थालेका हुन् । त्यस्तै कृषकले लुलुगाई पाठापाठीको संरक्षण नगर्दा कुकुर र हिउँ चितुवाले खाइदिने गर्दा समेत मुस्ताङमा लुलु गाई संरक्षणमा चुनौती बनेको हो ।

    जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा उच्च लेक र खर्कमा पानीको मुहान सुक्दै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेकाले लुलु गाईहरु कृषकले बेवास्ता गरी छाडा रुपमा सडक र गल्लीमा छोड्ने प्रचलन रहेको छ । आफैँ आहारा व्यवस्थापन गर्ने क्षमता भए पनि लुलु गाईले आहार व्यवस्थापन गर्न नसक्दा गाउँबस्ती र सडकमा मिल्काएका कागज र अरुले फ्याकेका खानेकुरा खाएर आहार पूर्ति गर्ने गरेको पाइएको छ ।

  • अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

    अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

    रासस
    १२ जेठ, भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो ।

    यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताउ । उनका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।

    “पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ”, उनले भने, “शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ ।” चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताए । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । “यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ”, उनले भने, “शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।”

    राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन् । यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उनले बताइन् । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताइन् ।


    कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए । उनलेपछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताए ।


    यहाँ पुग्न अझै पनि दुई÷तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताए ।


    यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो । विसं २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले । स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो ।

    त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रअ थपलियाले बताए । “अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न सङ्घसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्”, उनले भने ।


    विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताए । उनका अनुसार निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उनले बताए ।

    विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उहाँले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताए । ५० जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता समेत बढेको उनले बताए ।

  • गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

    गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

    एजेन्सी
    ११ जेठ, काठमाडौं । गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए ।

    उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । मृतकमध्ये एकजना सात महिनाकी गर्भवती महिला रहेको थियो । उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उनकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ ।

    अन्य घातक आक्रमणहरू देइर अल बालाह, बेत लाहिया तथा खान युनिस जस्ता क्षेत्रमा पनि भएको जनाइएको छ । बस्सालका अनुसार, आइतबार मात्रै कम्तीमा २२ जनाको शव फेला पारिएको छ, जसमा केही बालबालिकाहरू पनि रहेका छन् । साथै दर्जनौँ घाइतेको उद्धार गरिएको छ र केही अझै बेपत्ता छन् । यी घटनाबारे हालसम्म इजरायली सुरक्षाफौजले कुनै आधिकारिक टिप्पणी दिएको छैन । हालैका दिनहरूमा इजरायली सेनाले गाजामा आफ्ना कारबाहीहरू तीव्र बनाएको छ, जसलाई उसले हमासलाई समाप्त पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

    शनिबार दिउँसो, सेनाले पछिल्लो २४ घण्टामा गाजाभरि १०० भन्दा बढी स्थानमा आक्रमण गरेको दाबी गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिँदै युद्धविराम अन्त्य भएको ५ मार्च यता तीन हजार ७८५ जनाको मृत्यु भइसकेको जनाएको छ । योसँगै युद्ध सुरु भएदेखि मृतकको कूल सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण नागरिकहरू रहेका छन् ।

    सन् २०२३ को अक्टोबरमा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट युद्ध सुरु भएको थियो, जसमा एक हजार २१८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणमा २५१ जना इजरायलीहरू बन्धक बनाइएका थिए, जसमा हालसम्म ५७ जना अझै गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

  • पूर्वराष्ट्रपति भण्डारी चीनमा

    पूर्वराष्ट्रपति भण्डारी चीनमा

    ११ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने चीन भ्रमणका क्रममा आज गोञ्जाओ हुँदै बेइजिङ पुगेकी छिन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीसँगै चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गरे । पूर्वराष्ट्रपति भण्डारी आजै साँझ उहाँको स्वागतमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन् । उनलाई अन्तरराष्ट्रिय विभागका मन्त्री लिउ च्यानछाउले स्वागत गरे ।

    सो अवसरमा नेपाल–चीनबीचको आपसी सम्बन्ध र त्यहाँ आयोजित कार्यक्रमको विषयमा सङ्क्षिप्त कुराकानी भएको थियो । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा सहभागी पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्ट (एमाले) का सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्णबहादुर थापा, सांसद देवी भट्टचन, पूर्वसांसद गोमा देवकोटा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, मदन भण्डारी फाउन्डेसनका डा कैलाशकुमार भण्डारी, डा भेषराज अधिकारी, विनय केसीलगायत समाजका विभिन्न क्षेत्र र उनको निजी सचिवालयका गरी १५ जना सहभागी छन् ।


    रात्रिभोजमा पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल र चिनियाँ अधिकारीका साथै अन्य विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले सोमबार ‘छिमेकी मुलुकका राजनीतिक पार्टीहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीको संवाद’ कार्यक्रमको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

  • मौद्रिक नीति समीक्षा : बैङ्क वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

    मौद्रिक नीति समीक्षा : बैङ्क वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने

    ११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै शेयर धितो कर्जाको जोखिम भार घटाइएको छ । राष्ट्र बैङ्कले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनीक गर्दै नीतिगत दर, निक्षेप संकलन दर र बैङ्कदर भने यथावत राखेको छ । “आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।

    नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैङ्क दरलाई साढे छ प्रतिशतमा यथावत राखिएको छ,” समीक्षामार्फत् राष्ट्र बैङ्कले भनेको छ, “विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैङ्क तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।”

    विद्यमान सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको छ । हाल सेयर धितो कर्जामा रहेको कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने राष्ट्र बैङ्कले जनाएको छ । कानुनी सुधारतर्फ पनि राष्ट्र बैङ्कले केही नयाँ व्यवस्था ल्याउन लागिएको छ ।

    लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी “नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने जनाइएको छ । त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

  • राप्रपा सांसद धवल शमशेरविरुद्ध कुन कुन कसुरमा भयो मुद्दा दर्ता ?

    राप्रपा सांसद धवल शमशेरविरुद्ध कुन कुन कसुरमा भयो मुद्दा दर्ता ?

    ११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका आरोपित राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणाविरुद्ध चार कसुरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए ।

    प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने लुटपाट र आगजनी भएको थियो । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई पक्राउ गरेको थियो । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा उनी पक्राउ परेका थिए । लामो समय हिरासतमा रहेका उनलाई उपचारका लागि भन्दै सरकारी वकिलको राय लिएर प्रहरीले छाडेको थियो । अहिले हिरासत बाहिर रहेका उनीविरुद्ध मुद्दा गरिएको हो ।

  • दुर्गा प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

    दुर्गा प्रसाईसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा

    ११ जेठ, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरू मध्ये आठ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए ।

    प्रसाईंसँगै हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ । तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

    सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको हो । १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमान्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो ।

  • रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर

    रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर

    ११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रर्दशनका आरोपित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चार कसुरमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।


    १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो भने लुटपाट र आगजनी भएको थियो । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिश्रलाई पक्राउ गरेको थियो । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा उनी पक्राउ परेका थिए ।


    प्रहरीले उनलाई ५० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । त्यसपछि अहिले उनी हिरासत बाहिरै छन् । तीनकुने प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए ।

    प्रदर्शनकारीले व्यक्तिका निजी घर तोडफोडदेखि आगलागीसम्म गरेका थिए । भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको थियो । उक्त प्रदर्शनमा उनी तीनकुनै थिए । उनले भिडलाई उक्साएको आरोप छ ।

  • यस वर्ष मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

    यस वर्ष मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

    ११ जेठ, काठमाडौं । यस वर्ष प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो ।

    प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले राससलाई जानकारी दिए । “हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौँ, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने, “मौज्दात सामग्री के छरु कति थप आवश्यक पर्दछरु भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौँ ।”

    यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे । उनका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ । यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक÷एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए ।


    यसअघि नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ । मौसम विज्ञान विभागले सार्वजनकि गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ । सोही पूर्वानुमानका आधारमा प्राधिकरणले सबै सरोकार भएका निकायका वाला प्रतिनिधि तथा सङ्घसंस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो । जल तथा मौसम विज्ञान विभागले विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ ।

    यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिए ।

    उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

    साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

  • जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर सम्पन्न हुँदै

    जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर सम्पन्न हुँदै

    ११ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् आज बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

    जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै फ्लाईओभरबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उनले बताए । “अब पनि ढिलाइ गर्ने छुट छैन”, मन्त्री दाहालले भने, “परिस्थिति बाहिरको प्राकृतिक विपद् नआएमा जेठको अन्त्यसम्ममा सवारीसधान सञ्चालनको तयारी गर्नुपर्छ । यो एउटा प्रतिक्षाको आयोजना भएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्ने छ ।”

    फ्लाईओभरअन्तर्गत ३५ मिटर स्पानको चारलेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भइरहेको छ । फ्लाईओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ । अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका बताउँदै ती समस्या समाधान भइसकेका जानकारी दिए । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाईओभर महत्त्वपूर्ण योजनाका रूपमा रहेकाले यसलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने धारणा राखे ।

    सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छभने हाल आवश्यक भागमा कालोपत्र भइरहेको छ । विसं २०८० फागुन ११ गते सम्पन्न गर्नेगरी रु १७ करोड ६ लाख ८८ हजारको लागतमा निर्माण सुरु भएको फ्लाईओभर निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप भएको थियो ।

  • चीनमा नेपाली संस्कृति प्रदर्शन

    चीनमा नेपाली संस्कृति प्रदर्शन

    ११ जेठ, गुइलिन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । नेपालकोतर्फबाट देविका वन्धन, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कला समूहले कलाकारहरुले विशेष साङ्गीतिक प्रस्तुति दिएका भने चिनियाँ कलाकारहरुले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए । एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनको सेतु भएको बताइन् ।

    उनले नेपालको पहिचान र आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा पुर्‍याउने हाम्रो उद्देश्य यही मञ्चबाट साकार हुँदैछ भन्ने आफूले महसुस गरिरहेको उल्लेख गरिन् । “नेपाल र चीनका स्थानीय तहबीचको सहकार्य र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुद बनाउने हाम्रो यो प्रयास सामाजिक परिवर्तनतर्फको एक सकारात्मक पाइला हो”, उनले भनिन् ।


    कार्यक्रममा सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले दुई देशबीचको सम्बन्ध लामो समयदेखि रही आएको उल्लेख गर्दै अरिनको र भृकुटीले नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन इतिहासमा पुर्‍याएको योगदानको चर्चा गरे । “कार्यक्रममा हाम्रो जनताको भावनाका आकाङ्क्षाको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो । नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।

    प्राचीन बौद्ध विहारहरुदेखि लिएर आजका पूर्वाधार र पर्यटन साझेदारीसम्म हाम्रो मित्रता समयसँगै अझ बलियो, गहिरो र अर्थपूर्ण बन्दै गइरहेको छ”, उनले भनिन् । कार्यक्रमका प्रमुख अतिथि गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङले दुवै देशबीचको यस कार्यक्रमले नागरिकस्तरमा पनि सम्बन्ध विस्तारमा थय सहयोग पुगेको बताए ।

  • मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

    मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

    ११ जेठ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जनाको सनाखत समेत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०–२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

    दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।

  • गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

    गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

    एजेन्सी
    ११ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ।

    गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ। युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ। इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाही सुरु गरेको छ। शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ।

    गुटेरेसले भने, “गाजाका मानिसहरू अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो।” उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोध गरेका छन् । उनका अनुसार हालसम्म करिब ४ सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्।“अहिलेसम्मको राहत भनेको, जताततै आगो लागिरहेको बेलामा एक थोपा पानी हाल्नुजस्तै हो। जब कि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ।”

    विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएको छ । ती ट्रकहरूले स्थानीय बेकरीमा रोटी पकाउनका लागि खाद्यान्न पुर्‍याउँदै थिए। संस्थाले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ। इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गराउन आग्रह गरिएको छ।

    (250523) — GAZA, May 23, 2025 (Xinhua) — Palestinians search for survivors after an Israeli airstrike in Jabalia refugee camp, northern Gaza Strip, on May 23, 2025. The Israel Defense Forces (IDF) said in a statement on Friday that its air force struck more than 75 targets across the Gaza Strip over the past day. (Photo by Mahmoud Zaki/Xinhua)

    इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकु स्थानमा कारबाही गरिएको बताएको छ। सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ। गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ। गाजाको उत्तरमा रहेको अल-आव्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन्। दक्षिण गाजामा धेरै घरहरू भत्किएको र कालो धुवाँ उठिरहेको दृश्य एएफपीका पत्रकारले देखेका छन्।

    यो युद्ध पुनः मार्च ५ गतेबाट सुरु भएको हो, जब इजरायलले हमासमाथि कारबाही दोहोर्‍यायो। त्यसयता गाजामा तीन हजार६७३ जना मारिएका छन्। यो युद्ध सुरु भएको कात्तिकयता गाजामा कुल ५३हजार८२२ जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन्।

  • सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

    सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

    एजेन्सी
    १० जेठ, काठमाडौं । सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ । नयाँ तथ्याङ्कले १० दिनअघि मे १३ मा दुई हजार ४५ जना सङ्क्रमित र ११ जनाको मृत्यु भएको अघिल्लो अद्यावधिकको तुलनामा सङ्क्रमित दर करिब ५० प्रतिशतले वृद्धि भएको देखाउँछ ।

    एमपोक्स बिफर जस्तै सङ्क्रमित विरामीबाट सर्ने एक सङ्क्रामक रोग हो । ज्वरो आउने, रूघा लाग्ने, छालामा घाउमा देखा पर्ने र लामो समयसम्म निको नहुने यसका सामान्य लक्षण हुन् । सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिलो पटक पहिचान गरिएको यो रोग सन् २०२२ देखि व्यापक रूपमा फैलिनुअघि सामान्यतया एक दर्जन अफ्रिकी देशहरूमा मात्र सीमित थियो। डब्लुएचओले सन् २०२४ मा एमपक्स सङ्क्रमणबाट जोगिन उच्च स्तरको चेतावनी जारी गरेको थियो ।

    सङ्क्रमण बढेसँगै राजधानी फ्रीटाउनमा रहेको प्रहरी प्रशिक्षण केन्द्रलाई ४०० शैयाको अस्पताल बनाई उपचार सेवा दिन थालिएको सियरा लियोनका अधिकारीहरूले बताएका छन् । एक दशकअघि सियरा लियोन इबोला महामारीबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक थियो । इबोलाका कारण यहाँ सन् २०१४ देखि २०१६ को बीचमा करिब चार हजार व्यक्तिको मृत्यु भएको थियो । अन्य अफ्रिकी राज्यहरूमा एमपक्सको सङ्क्रमणहरू बढिरहेको देखिएको छ । विशेष गरी कङ्गो, रुवान्डा, तान्जानिया, बुरुन्डी र केन्यामा एमपक्सबाट हजारौँ व्यक्ति सङ्क्रमित भएका छन् ।

  • सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    १० जेठ, राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

  • केन्याको राजधानी नैरोबीमा आगलागी, आठको मृत्यु

    केन्याको राजधानी नैरोबीमा आगलागी, आठको मृत्यु

    एजेन्सी
    १० जेठ, काठमाडौं । केन्याको राजधानी नैरोबीको एक अनौपचारिक बस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी सुरु भएको प्रहरी अधिकारी पेट्रिसिया येगोनले जानकारी दिए । उनले भने, “आगलागीमा आठ जनाको जलेर मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

    घाइतेहरूलाई बिभिन्न स्थानमा राखी उपचार भइरहेकोले घाइते हुने व्यक्तिको स्पष्ट सङ्ख्या अझै सङ्कलन भइरहेको छ ।” आगलागी कसरी सुरू भयो यसबारे कारण खुल्न सकेको छैन । राजधानीका भीडभाड र विपन्न अनौपचारिक बस्तीहरूमा बारम्बार डढेलो लाग्ने गर्छ । केन्याली रेडक्रसका अनुसार स्थानीय समुदायको सहयोगमा अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिनुअघि ४० घर प्रभावित भएका थिए।

  • अध्यागमन काण्डमा गृह मन्त्रालयले गर्यो यस्तो खण्डन

    अध्यागमन काण्डमा गृह मन्त्रालयले गर्यो यस्तो खण्डन

    १० जेठ, काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने दावि गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको भन्दै दुःख व्यक्त गरेको छ ।

    विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धानकार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव छवि रिजालद्वारा आज जारी विज्ञप्तिमा आयोगबाट हुने छानविन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्णसहयोग रहनेसमेत उल्लेख छ ।

    मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यसमेत गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न सम्पूर्णमा आग्रह गरेको छ । अहिले अध्यागमनको सेटिङमा गृहमन्त्रीको सचिवालयलाई समेत जोडेर दावि गरिएको छ ।

  • डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच झडप

    डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच झडप

    १० जेठ, काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका(१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो ।

    स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी खटिएको छ । झडपलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिएका छन् । उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ ।

  • अनियमितता गरेको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री

    अनियमितता गरेको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री

    १० जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुमाथि उठेको प्रश्नको स्पष्टीकरण दिएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै आफुले आर्थिक अनियमितता गरेको प्रमाणित भए मन्त्री पदमात्र नभएर राजनीतिबाटै राजिनामा दिने बताएका छन् । उनीमाथि अध्यागमन विभागको सेटिङमा भिजिट भिसामा विदेश मान्छे पठाउँदा कमिसन लिएको र त्यो कार्यमा मन्त्रीको सचिवालयका मानिस समेत जोडिएको भन्दै आरोप लागिरहेको छ ।

    उनले आजै संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबस्ने दावि समेत गरे । आफुविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको दावि समेत लेखकको छ । तर, उनको दल स्वयमः नेपाली कांग्रेसका नेताहरुले समेत राजिनामा दिएर सघाउन सार्वजनिक रुपमै आह्वान गरिसकेका छन् ।

  • नेपाली समाजको कालो यथार्थ : छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको मृत्यु

    नेपाली समाजको कालो यथार्थ : छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको मृत्यु

    रासस
    १० जेठ, काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेको समता फाउन्डेशनले जनाएको छ ।

    फाउन्डेशनका अनुसार ऐन लागू भएपछि राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास (मोरङ), नवराज विक (जाजरकोट) मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाईं (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ) र अस्मिता सार्की (झापा) को हत्या भएको छ । त्यसैगरी लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालीकोट), दितीया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अङ्गिरा पासी (रुपन्देही) को पनि हत्या गरिएको फाउण्डेशनका अध्यक्ष डा मदन परियारले जानकारी दिए ।
    ऐनबमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँ जरिवाना हुने पनि व्यवस्था छ । छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गर्ने, प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता प्रकट गर्दै उजुरी दिन आनाकानी गर्ने र यदि उजुरी दर्ता गरेपनि पीडककै पक्षमा फैसला हुने गरेको अध्यक्ष परियार बताउँछन् । अन्तरजातीय विवाह गरेकै कारण थुप्रै जोडी र दलित परिवार विस्थापित भएका छन् ।

    विसं २०६८ जेठ १० गते व्यवस्थापिका–संसद्को बैठकले सर्वसम्मतिबाट ‘जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८’ पारित गरेको थियो । ऐन व्यवस्थापिका–संसद्बाट पारित भएलगत्तै दैलेख तोली गाविस–२ धनीगाउँ निवासी सन्तबहादुर दमार्इं र सोही स्थान बस्ने राजकुमारी शाहीबीच प्रेम सम्बन्ध कायम भई दुवैको आपसी समझदारीमा प्रेमविवाह गरेको निहँुमा राजकुमारी शाहीको माइतीपक्षले २०६८ साल भदौ १४ गते सन्तबहादुरका बाबु सेतेलाई साङ्घातिक आक्रमण गरेपछि निजको मृत्यु भएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेता पर्शुराम रम्तेलले ऐनको प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने बताउँछन् । “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । सामाजिक न्यायमा आधारित समाज निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ । तर कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि विभेदको जीवन बाँचिरहेको छ”, उनले भने । दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्न ऐनको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन् ।

  • गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

    गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

    रासस
    १० जेठ, पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् ।

    मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छभने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् । होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।


    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै सहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए । गाउँ र सहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ । मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ ।

    भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकाससँगै होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँहरू पर्यटकीय सम्भावनायुक्त हुने बताउँदै गाउँ पर्यटनको विकासका माध्यमबाट तिनीहरूको पर्यटकीय सम्भावना उजागर गर्न सकिने बताए । मार्ट भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • अठारौँ गणतन्त्र दिवसमा राससमा हिमालका तस्बिर

    अठारौँ गणतन्त्र दिवसमा राससमा हिमालका तस्बिर

    १० जेठ, काठमाडौं । गणतन्त्र दिवस–२०८२ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर आइतबारदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका १०० वटा तस्बिर समेटिएका छन् । प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बिहान संयुक्त रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिए ।
    जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यर्होर्नु परेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले हालै यहाँ सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमालसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिनेछ । ग्राहकहरुको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग गर्ने विश्वास महाप्रबन्धक सिद्धराज राईले व्यक्त गरे । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।


    जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवद्र्धनबाट वैदेशिक आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासले अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    विश्वका आठ हजार मिटरभन्दा उच्च १४ वटा हिमशिखरमध्ये आठ वटा नेपालमा छन् । मुलुकमा आठ हजार मिटर माथिका सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला छन् । सात हजार मिटरमाथि का ९० र छ हजार मिटरमाथिका एक हजार ३१० गरी एक हजार ७९२ वटा हिमाल छन् ।

  • नेपालमा दश महिनामा आठ हजार बढी विपद्का घटना

    नेपालमा दश महिनामा आठ हजार बढी विपद्का घटना

    १० जेठ, काठमाडौं । पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन् । ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार गत मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो । प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए । ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन् । कूल ३२ परिवार विस्थापित भएको उनले बताए ।


    विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ । केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ ।

    जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

  • पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

    पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

    हरि जिज्ञासु/रासस

    १० जेठ, सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनी ६१ वर्षका भए । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।
    भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”

    पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”

    पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण सङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।

    नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उनी भन्छन्, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।”

    काठमाडौँ,४ जेठः माउन्टेन फ्लाइटबाट आइतबार बिहान देखिएको सगरमाथा आसपास हिमश्रङ्खलाको दृश्य । तस्बिरः हरिराम भेटुवाल\रासस

    सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्नुहुन्छ, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।”

    शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आउनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्याल बताउँछन् । नी भन्छन्, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।”

    खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उहाँको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उनी बताउँछन् । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उनी प्रश्न गर्छन् ।

    file


    हालसम्म आठ पटक सगरमाथा आरोहण गर्नुभएका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउँछन् । उनी भन्छन्, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छाँै । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।”

    सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसक्नुभएका तार्केले सगरमाथा आरोहण गर्न छाडेको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उनी आरोहण दलको नेतृत्व गरिरहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ ।

    “पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उनले भने, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।”

    खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्थे । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउँछन् । उनी भन्छन्, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।”

    तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।

    सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ । नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।

  • कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

    कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

    १० जेठ काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । दूतावासले आमसञ्चारमाध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन आग्रह गरेको छ ।

  • बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

    बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

    १० जेठ, भक्तपुर । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।

    नेपालको पहिलो अन्तरराष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धिअर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

  • वर्षापछि कान्ति लोकपथ अवरुद्ध

    वर्षापछि कान्ति लोकपथ अवरुद्ध

    १० जेठ, बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।