Category: समाचार

  • अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

    अनुसन्धान भन्छ : ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ

    एजेन्सी
    ३१ वैशाख, डच वैज्ञानिकहरूको नयाँ अनुसन्धान अनुसार ब्रह्माण्ड पहिले सोचेभन्दा धेरै छिटो अन्त्य हुने अवस्थामा छ । तर आत्तिनुपर्ने ठूलो आवश्यकता छैन । यो घटना हुन अझै १० को पावर ७८ वर्ष बाँकी छ – अर्थात् एक अङ्कको पछाडि ७८ वटा शून्य । यद्यपि यो अघिको अनुमान १० को पावर एक हजार एक सय वर्षबाट ठूलो संशोधन हो । रेडबाउड युनिभर्सिटीको अनुसन्धान पेपरले जर्नल अफ कोस्मोलोजी र एस्ट्रोपार्टिकल फिजिक्समा प्रकाशित गरेको छ । “ब्रह्माण्डको अन्तिम अन्त्य अपेक्षाभन्दा धेरै चाँडै आउँदैछ तर सौभाग्यवश यसले अझै पनि धेरै लामो समय लिन्छ”, प्रमुख लेखक हिनो फाल्केले भने ।


    रेडबाउडका तीन वैज्ञानिकले सबैभन्दा ‘टिकाउ’ खगोलीय पिण्डहरू – सेतो पुड्का ताराहरू – अन्ततः कहिले मर्नेछन् भनेर गणना गर्न सुरु गरे । उनीहरूले आफ्नो गणना प्रसिद्ध ब्रिटिश भौतिकशास्त्री स्टिफन हकिङको नाममा राखिएको हकिङ विकिरणमा आधारित गरेका थिए । सन् १९७० को दशकको मध्यमा हकिङले ब्ल्याक होलले विकिरण चुहावट गर्छ, विस्तारै एक गिलास पानीमा एस्पिरिन जस्तै घुलनशील हुन्छ–जसले तिनीहरूलाई एक सीमित जीवनकाल दिन्छ भन्ने धारणा राखेका थिए । रेडबाउडका वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डका अन्य वस्तुहरूमा विस्तार गरे र ‘वाष्पीकरण समय’ घनत्वमा निर्भर गर्दछ भनी गणना गरे ।

    यसले उनीहरूलाई सबैभन्दा लामो जीवित रहने पिण्ड सेतो पुड्को ताराको सैद्धान्तिक विघटन गणना गर्न सक्षम बनायो । “यस्ता प्रश्नहरू सोधेर र चरम मामिलाहरू हेरेर हामी सिद्धान्तलाई राम्रोसँग बुझ्न चाहन्छौँ र शायद एक दिन हामी हकिङ विकिरणको रहस्य उजागर गर्न सक्छौँ”, सह–लेखक वाल्टर भान सुइजलेकोमले भन्नुभयो, “मानवजातिले ब्रह्माण्डको अन्त्यबारे धेरै चिन्ता गर्नु पर्दैन ।

    हामी पृथ्वी ग्रहबाट नभागुन्जेलसम्म केही हुँदैन ।” वैज्ञानिकहरू हाम्रो सूर्य लगभग एक अर्ब वर्षमा समुद्रहरूलाई उमाल्दै जीवनका लागि अति तातो हुनेछ भन्ने सोच्छन् । लगभग आठ अर्ब वर्षमा हाम्रो तारा अन्ततः पृथ्वीतिर विस्तार हुनेछ, अन्ततः हाम्रो बाँझो र निर्जीव ग्रहलाई डुबाएर यसलाई आगोको मृत्युमा परिणत गर्नेछ ।

  • भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

    भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

    एजेन्सी
    ३१ वैशाख, पञ्जाव । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् ।

    यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ ।
    उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए ।

    जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
    पञ्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याइने जनाएको छ ।
    पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिए । गत वर्ष मात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो ।

  • नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल

    नयाँ बजेटबारे अर्थमन्त्री र विकास साझेदारबीच छलफल

    ३० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताए ।

    “केही समयदेखि आर्थिक सुधार थालेका छौँ । त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौँ । भविष्यमा पनि आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिनेछाँै”, उनले भने, “अध्यादेशबाट गरिएका कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव, विभिन्न नीति तथा निर्णय नीतिगत सुधारका महत्वपूर्ण पक्षहरु हुन् ।”

    अर्थमन्त्री पौडेलले आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिए । स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए ।

    “वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ । पूँजीगत खर्च र त्यो खच नहुँदाकोे समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ,” अर्थमन्त्री पौडेलले भने । संसद्मा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्परक भनेर मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्रीले मुलुकको विकासमा मित्रराष्ट्र र विकास साझेदारका निरन्तर सहयोगको अपेक्षा सरकारले गरेको बताए । अर्थ सचिव घनश्याम उपाध्यायले आगामी वर्षको बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए ।

    अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गत वर्षको तुलनामा चालु आवमा अर्थतन्त्र सुधारोन्मुख भएको बताए । मुुलुकको विकास साझेदार एवं तिनका प्रतिनिधिले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयनलगायत विषयमा सुझाव दिँदै भविष्यमा पनि नेपाललाई सहायता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्याण्ड, युरोपेली सङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य सङ्गठनलगायत विकास साझेदार सहभागी थिए ।

  • अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

    अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

    ३० वैशाख, धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि सडक अवरुद्ध भएको हो ।

    सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए । यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो ।

  • राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    राप्रपाका नेता मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    ३० वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि आज अदालत लगिएको थियो ।

    राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । नेता मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि थुनामै हुनुहुन्छ । प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

    सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

    ३० वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।

    उनका अनुसार संवादमा करिब ३५० जना सहभागी हुनेछन् । बाह्र देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो । मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ ।

    “संवादको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ । हामीले १० वटा जति पूर्वसंवादलगायतका तयारी पूरा गरेका छौँ,” मन्त्री डा राणाले भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।

    कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाट्नपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा संभावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री डा राणाले बताइन् ।

    सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन् मन्त्री डा राणााले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको उल्लेख गर्दै विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको बताइन् ।

  • ५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ

    ५१ लाख ९० हजार ठगीको अभियोगमा दुई पक्राउ

    ३० वैशाख, काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    उनका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो । । पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके पठाउने भन्दै रु दश लाख लिई ठगी गरेको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

    उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

    मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

    ३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको उनले बताउनुभयो । अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ । पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको छ ।

    पछिल्लो एक घण्टामा बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भइरहेको उनले बताए । हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । भोलि कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ ।

  • म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु

    म्यान्मामा सेनाको हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु

    रासस
    २९ वैशाख, काठमाडौं । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो ।

    त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ ग¥यो र देशको बागडोर सम्हाल्यो । त्यसपछि देशभर विरोध र आन्दोलनहरू भए, तर सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास ग¥यो । अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ ।

    स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे (स्थानीय समय अनुसार) विद्यालयमाथि आक्रमण भएको थियो । यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७।७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ । “अहिलेसम्म २२ जनाको मृत्यु पुष्टि भएको छ,” विद्यालयमा कार्यरत ३४ वर्षीया एक शिक्षिकाले भनिन्, “हामीले बालबालिकालाई छरिएर बस्न आग्रह गरेका थियौं, तर लडाकु विमान धेरै छिटो बम खसाल्यो ।”

    सगाइङ क्षेत्रका एक शिक्षा अधिकारीले पनि मृत्यु सङ्ख्या उस्तै रहेको पुष्टि गरे । जुन्टातर्फबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन । सन् २०२१ मा जुन्टाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार अपदस्थ गरेपछि म्यानमार गृहयुद्धमा फसेको छ । विभिन्न सशस्त्र जातीय समूह र जनआन्दोलन लडाकुहरूसँग लगातार लडाईं हुँदै आएको छ । मार्चमा गएको भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापना कार्यको लागि भन्दै जुन्टाले मे महिनाभरि युद्धविरामको घोषणा गरेको थियो । तर यो आक्रमणले युद्धविरामको विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको छ ।

  • गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

    गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध

    २९ वैशाख, त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए । सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो ।

    ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ । साथै पुलको छेउछाउमा समेत चर्किएको छ । ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने÷नसक्ने यकिन हुने प्रमुख बञ्जराले बताए ।

  • प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

    प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

    रासस
    २९ वैशाख, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।”

    आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।

    मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए । उनले भने, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मङ्गलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”

    मौसम खराबीका कारण अबको तीन÷चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो ।

    हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ्ङ)सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ । कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरेका थिए । यस्तै मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे ।

    नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरे । इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरे । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमालको पनि आरोहण गरेका छन् । आरोहीहरु अहिले सगरमाथाको दोस्रो र तेस्रो शिविर आसपास प्रतिक्षारत छन् । त्यसैगरी यस याममा पाँच नेपाली, तीन चिनियाँ आरोही र एक किर्गिस्तानीले मकालु आरोहण गरेको विभागको फिल्ड कार्यालयले जनाएको छ ।

    वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेका थिए । योे याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।

  • उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

    उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

    २९ वैशाख, ढाका । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए । प्राध्यापक युनुसले भने, “बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सात राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।”


    उनले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे । गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो । उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । “हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ”, उनले भने ।

    त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन् । “नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ ।”

    उहाँले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् । त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ ।

    प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखिन् । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।

  • विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

    विश्वव्यापी अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध शिक्षा महत्वपूर्णः प्रधानमन्त्री

    रासस
    २९ वैशाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताए ।

    उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गरे ।

    केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उने तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए । “हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा ग¥यौँ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो”, प्रधानमन्त्री ओलीले भने । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उनको भनाइ थियो ।

    “बुद्धको सन्देशको महत्व व्यक्तिको मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि र हरेक ठाउँमा उत्तिकै छ”, प्रधानमन्त्री ओलीले भने । विश्वमा युद्ध होडबाजिका नाममा ठूलो सङ्ख्यामा हतियार निर्माण गर्ने र थुप्रो लगाउने काम भइरहेको उल्लेख गर्दै उनले यो विश्वको मानव अस्तित्वका लागि खतरनाक विषय भएको बताए । यस खालका खतरनाक चिजबाट उन्मूक्तिका लागि फेरी पनि विश्व शान्ति र स्थिरताका पक्षमै हामी उभिनुपर्ने हुन्छ भने ।


    बुद्धको जन्मथलोको विकासमा योगदान गर्नुहुने सबैलाई स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरु प्रति आभार व्यक्त गरे । लुम्बिनीको विकासका लागि गुरुयोजना निर्माण गरेर विशेष योगदान पु¥याउने प्रोफेसर केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै उनले गुरुयोजना पूरा गर्न अझै बाँकी रहेको र गुरुयोजना यथासक्य छिटो सम्पन्न गर्नेगरी काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताए । बुद्वका शिक्षा र उपदेश फैल्याउन बौद्ध विश्वविद्यालय स्थापना गरिएको बताउँदै उहाँले विश्वविद्यालयले खोज अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बुद्धको शिक्षा त्रिपिटकको निर्माण र बुद्धको शिक्षाको सङ्ग्रह गर्न भिक्षु आनन्दको योगदानको स्मरण गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखेर सुरक्षित गरिएको उल्लेख गरे । उनले भिक्षु आनन्दले तक्षशिलामा गएर त्रिपिटकलाई लिखित गर्नुभएको पहिलो दस्तावेज अहिले पनि भारतको पटना सङ्ग्रहालयमा रहेको बताए ।

  • बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

    बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

    २९ वैशाख, धुलिखेल । दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलाञ्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गरे । सो क्रममा डा यादवले बुद्धजयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको सुरूआत भएको बताए ।

    शाक्यमुनि गौतम बुद्धले कपिलवस्तुमा जन्मेर विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै उनले त्योभन्दा अगाडि पवित्रस्थल पनौतीमा अर्को अवतारका रूपमा जन्मेका कारण पनि यस ठाउँको छुट्टै महत्त्व रहेको उल्लेख गरे । सो अवसरमा उनले सारा संसारमा राम्रो सभ्यताको विकास र सहअस्तित्व कायम रहँदै शान्तिसँग बस्न पाउने अवस्थाको सिर्जना होस् भन्ने कामना गरे ।


    पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगर बुद्धभूमिका रूपमा पहिचान बनाउँदै अगाडि बढिरहेको र अझ यसको विकास र पहिचान स्थापित गर्नका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल भइरहेको बताए । पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरूषोत्तम कर्माचार्यले गौतम बुद्धको पूर्वजन्मभूमि भएको पनौतीको यात्रा गर्दा यात्रा सफल र शुभ हुने भएको बताउँदै यसले पनौतीको प्रचारमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    उनले विश्वमा शान्ति छाओस् र पनौती सबैसामु परिचित होस् भन्ने उद्देश्यले काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रको पनि साथ रहेको बताए । शान्ति पदयात्रामा सहभागी पत्रकार भीम गौतमले गौतम बुद्धको पूर्वजन्मभूमि रहेको नमोबुद्ध जति परिचित छ, त्यसको थप प्रचारका लागि आयोजना गरेको शान्ति पदयात्राले पनौतीदेखि सुन्थान, शुङ्ख र नमोबुद्धसम्म पैदलयात्रा गर्दा आनन्द प्राप्त हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    काभ्रे सेवा समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीले विगतका वर्षमा झैँ यस वर्षमा पनि विश्वसामु नमोबुद्धलाई चिनाउनका लागि शान्ति पदयात्रा आयोजना गरेको बताए । गौतम बुद्धको पूर्वजन्मस्थल पनौती र राजकुमार महासत्वले नमोबुद्धको जङ्गलमा गरेको जीवन त्यागको ऐतिहासिक कथनसँग पनौती र नमोबुद्ध जोडिएको कारण पनि धार्मिक पर्यटन प्रवर्द्धनका लागि सो शान्ति पदयात्रा आयोजना गरेको बताए । स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र स्थानीय बासिन्दाहरूको सहभागितामा पनौतीको पुरानो बजार पनौती डबलीदेखि नमोबुद्ध स्तूपासम्म आयोजना गरेको सो पदयात्रामा सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।

  • काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

    काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

    २९ वैशाख, काठमाडौं । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

    रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

    २० वैशाख, रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको छ । सो क्रममा दुई जनाको ज्यान गएको छ । थप दुई जना गम्भीर घाइते छन् । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको छ । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७ नम्बरको जीप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृत्यु हुने श्रीमान श्रीमती हुन् । दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार जीपचालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय लीलामणि भण्डारी र सोही स्थानका ५० वर्षीया दुर्गा ओली छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

    विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

    २९ वैशाख, काठमाडौं । विप्रेषण (रेमट्यान्स) आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा रु ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको छ ।

  • आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

    आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।

    मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

    आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए । दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका भट्टराईका अनुसार, बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ । लुम्बिनीको यो झकिझकाउले यहाँ आउने हरेक आगन्तुकलाई शान्ति र आनन्दको अनुभूति गराएको प्रतिक्रिया दिएका छन् । यसपटक लुम्बिनीमा जयन्तीका अवसरमा आयोजित कार्यक्रमका लागि एक करोड खर्च हुने अनुमान गरिएको छ ।

  • इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

    इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

    २८ वैशाख, काठमाडौं । गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खान युनिस क्षेत्रमा दुई बालबालिका र तिनका बाबुआमाको ज्यान गएको नासिर अस्पतालले जानकारी दिएको छ ।

    अन्य स्थानमा पनि केही मानिसको ज्यान गएको छ । इजरायली पक्षले केवल लडाकुहरूलाई लक्षित गर्ने दाबी गर्दै आए पनि, सर्वसाधारणको मृत्युका घटनाहरू बढिरहेका छन् । यसैबीच, गाजामा खाद्यान्न, औषधि र पानीको गम्भीर अभाव देखिएको छ । सहयोगी संस्थाहरूले मानवीय संकट चुलिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    गाजाको उत्तर भागमा बालबालिकाहरूले पानीको ट्याङ्कर पछ्याउँदै गरेका मार्मिक दृश्यहरू देखिएका छन् । धेरै बासिन्दा नुनिलो र असुरक्षित पानी पिउन बाध्य छन् । युद्धले अहिलेसम्म ५२ हजार ८०० भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो स्थितिमा सबै पक्षहरूलाई शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आग्रह गरिन्छ ।

  • श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

    श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

    २८ वैशाख, कोलम्बो । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् । दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमार्फत् भने, “हामी यो यान्त्रिक खराबी हो वा बस गुडिरहेका समय चालक निदाएर दुर्घटना भएको हो भन्ने कारण पत्ता लगाउने प्रयासमा अनुसन्धान गरिरहेका छौँ ।”

    “दुर्घटनाका कारण घटनास्थलमा नै १५ र अन्य छ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ र हामीले अन्य १४ जना गम्भीररूपमा घाइते भएका छन्,’” नाम नबताउने शर्तमा ती अधिकारीले भने । उक्त बस श्रीलङ्काको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल). को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो। श्रीलङ्कामा वर्षेनी औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुनेगरेका कारण श्रीलङ्काका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन् ।

    श्रीलङ्काको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा सन् २००५ अप्रिलमा एक रेललाई ठक्कर दिँदा बसमा रहेका कम्तीमा ३७ जनाको मृत्यु भएको थियो । आइतबारको बस दुर्घटना श्रीलङ्कामा भएका सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो । सन् २०२१ को मार्चमा दुर्घटनास्थलबाट करिब १०० किलोमिटर पूर्व पासारामा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो ।

  • स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

    स्वार्थ समूहसँग आफ्नो चिनजान नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

    २८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको दावि गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, “पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।”

    उनले आजको बैठकमा १५ जेठमा राजावादीले गर्ने भनेको आन्दोलनबारे प्रश्न गरे । उनले संविधान भित्रको जायज माग उठाउन पाइने भन्दै नाजायज माग राखेर आन्दोलन नगर्न समेत सचेत गराए । सो दिन राजावादीले राजतन्त्र फर्काउने निर्णयक आन्दोलन नाममा आन्दोलनको घोषणा गरेका छन् ।

  • विश्व पौडेललाई गभर्नर बनाउने तयारी, गभर्नर सिफारिस समितिबाट राजिनामा

    विश्व पौडेललाई गभर्नर बनाउने तयारी, गभर्नर सिफारिस समितिबाट राजिनामा

    २८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ ।

    सोही पृष्ठभूमिमा पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए । यसअघि पनि राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अधिकारीलाई नयाँ सदस्य बनाइएको थियो । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीहरूमध्येबाट कसैलाई सदस्य नियुक्त गर्नुपर्ने छ ।

  • सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

    सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

    २८ वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरे । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् ।

    त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन् । उनले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन् । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी दिँदै उनले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन् ।

    मन्त्री डा राणाले संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताइन् । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे । उनले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताए ।

  • सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    कमलकुमार बस्नेत/रासस

    २८ वैशाख, सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । ‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो ।

    प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुुखुम्बु आइपुगेका थिए । “स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यसपटक गौरीटाप रोजाइमा प¥यो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने ।


    निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उनको भनाइ छ । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहनुभएका लौरेश्वर बाबाले बताए ।
    “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उनले भने । चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।

    नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताए । “काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवद्र्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु”, उनले भने । गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो । उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए । रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो ।

    शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न आग्रह गरे । उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने बताए ।

    बिबिसी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताए । “विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लायो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु”, उनले भने । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो ।

  • तीनकुने आन्दोलनपछि फरार शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

    तीनकुने आन्दोलनपछि फरार शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

    २८ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार उनीमाथि आवश्यक अनुसन्धान सुरु भएको छ । यसअघि उनी फरार अवस्थामा थिए । यसै घटनामा राप्रपा नेता रवीन्द्र मिश्र हिरासतमा छन् ।

  • अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक

    अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक

    २८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक रूपमा कर वृद्धि गरे बेइजिङको कडा प्रतिशोधका कारण उत्पन्न व्यापार युद्धलाई कम गर्न अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूबीच शनिबार जेनेभामा बैठक भएको छ। गत महिना ट्रम्पले चीनमाथि नयाँ कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच भएको पहिलो वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे फेङसहितका अधिकारीबीच भेटवार्ता भएको हो । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि स्विट्जरल्याण्डका राजदूतको निवासमा शनिबार मध्याह्नदेखि सुरु भएको बन्द कोठाको छलफल आइतबार पनि जारी रहने बताइएको छ ।

    एएफपीका पत्रकारहरूका अनुसार मध्याह्न भोजनको समयमा केही समयको विश्रामपछि प्रतिनिधिमण्डल जेनेभा तालको बायाँ किनारामा रहेको एउटा ठूलो पार्क नजिकै आकाशे नीलो सटर भएको एकान्त भिल्लामा फर्केको थियो। ट्रम्पले यस वर्षको सुरुदेखि नै चीनमाथि लगाएको कर हाल १४५ प्रतिशत रहेको छ भने केही चिनियाँ सामानमा अमेरिकी कर २४५ प्रतिशत पुगेको छ । त्यसको बदलामा चीनले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ, जसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार प्रतिबन्धलाई थप मजबुत बनाएको छ ।

    ट्रम्पले शुक्रबार चिनियाँ आयातमा उच्च कर घटाउन सक्ने सङ्केत दिँदै सामाजिक सञ्जालमार्फत ‘चीनमाथि ८० प्रतिशत कर लगाउनु सही देखिन्छ’ भनेका छन् । “राष्ट्रपति ट्रम्प चीनसँग मिलेर काम गर्न चाहनुहुन्छ,उहाँ स्थितिलाई कम गर्न चाहन्छन्, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले फक्स न्यूजसँगको कुराकानीमा भने । ट्रम्पकी प्रेस सचिव कारोलिन लिभिटले अमेरिकाले एकतर्फी रुपमा कर नघटाउने स्पष्ट पार्दै चीनले पनि सहुलियत दिनुपर्ने बताइन् । कुनै पनि अवस्थामा वार्ताको त्यो स्तरमा एक प्रतीकात्मक इशारा हुनेछ । करहरू निषेधात्मक रूपमा समर्पित रहनेछन्।

    ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का वरिष्ठ सल्लाहकार बिल रेइन्स्चले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध राम्रो नभएको बताए । “हामीसँग व्यापार–निषेधात्मक शुल्कहरू दुवै दिशामा जाँदैछन्”, अमेरिकी सरकारको अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगका पूर्व सदस्य रहेका रेन्सले भने, “सम्बन्ध बिग्रँदै गएको छ ।” उनले थपे, “तर यो बैठक राम्रो सङ्केत हो।”

    ‘चाइना युरोप इन्टरनेसनल बिजनेस स्कूल’मा अर्थशास्त्र र वित्तका प्राध्यापक शु बिनले एएफपीसँग भने, “मलाई लाग्छ, यो मूलतः दुवै पक्षले कुराकानी गरिरहेका छन् भन्ने देखाउनका लागि हो र यो आँफैमा धेरै महत्त्वपूर्ण छ किनभने चीन एक मात्र देश हो जसले ट्रम्पको कर वृद्धिको प्रतिशोधस्वरूप चीन आयात हुने अमेरिकी सामानमा कर वृद्धि गरी ‘टिट फर ट्याट्’ नीतिलाई अवलम्बन गर्नुभएको छ । अमेरिकाले पहिले कर हटाउनुपर्नेमा जोड दिँदै आफ्नो बेइजिङले हितको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ ।

    बेसेन्टले स्विट्जरल्याण्डमा हुने बैठक ‘ठूलो व्यापार सम्झौता’ मा नभई ‘तनावलाई कम गर्ने’ उद्देश्यमा केन्द्रित हुने बताएको छ । जेनेभास्थित विश्व व्यापार सङ्गठनका प्रमुख नगोजी ओकोन्जो इवेलाले शुक्रबार वार्ताको स्वागत गर्दै यसलाई ’तनाव कम गर्ने दिशामा सकारात्मक र रचनात्मक कदम’ भएको बताए । व्यापार युद्धका बावजुत गत महिना चीनको निर्यात बढेको भन्ने समाचारले चीनका उपराष्ट्रपति शुक्रबार चर्चामा आएका थिए । यो अनपेक्षित विकासलाई विशेषज्ञहरूले अमेरिकी करको प्रभाव कम गर्न दक्षिणपूर्व एशियामा व्यापारको पुनः मार्गको लागि जिम्मेवार ठहराएका थिए।

    ट्रम्पले कुनै पनि देशसँग भएको पहिलो सम्झौता अर्थात् बेलायतसँग भएको व्यापार सम्झौता सार्वजनिक गरेको दुई दिनपछि बेसेन्ट र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता भएको होे । बेलायती कार, इस्पात र आल्मुनियममा कर समायोजन गर्ने लण्डनसँगको पाँच पृष्ठको अनौपचारिक कागजातले निराश लगानीकर्ताहरूलाई संयुक्त राज्य अमेरिका हालको कर्तव्यहरूबाट क्षेत्र–विशिष्ट करमा राहतको लागि वार्ता गर्न इच्छुक छ भन्ने पुष्टि गरेको छ ।

    त्यसको बदलामा बेलायतले अमेरिकी बीफ र अन्य कृषि उत्पादनका लागि आफ्नो बजार खुला गर्न सहमति जनाएको थियो । तर अधिकांश बेलायती सामानमा १० प्रतिशत आधारभूत कर कायमै रहेको र अमेरिकासँगको वार्तामा रहेका अन्य मुलुकका लागि पनि यसलाई कायम राख्न ट्रम्प प्रतिबद्ध रहेको लिभिटले शुक्रबार सञ्चारकर्मीसँग बताए । त्यसको केही घण्टापछि ट्रम्पले उहाँको खण्डन गर्दै सही सम्झौतामा पुग्न सकेमा मात्र आधारविन्दुमा केही लचिलोपन हुन सक्ने सुझाव दिएका थिए । “कुनै न कुनै बिन्दुमा अपवाद हुन सक्छ। हामी हेर्छौं” उनले भने, “यदि कसैले हाम्रो लागि केही असाधारण काम ग¥यो भने, त्यो सँधै सम्भव छ।”

  • पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

    पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी

    २८ वैशाख, म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ ।

    गुर्जाका बासिन्दा तुलसी छन्त्यालले तास्नाधुरीमा न्यून सङ्ख्यामा पर्यटक आउने गरेको बताए । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल समुदायको संस्कृति, रहनसहन र जीवनशैलीमा रमाउन पर्यटक आउँछन् । “पहाडको फेदीमा रहेको गुर्जाबाट डाँडाले छेक्ने भएकाले हिमाल देखिँदैन”, उनले भने, “दृष्यावलोकनका लागि पर्यटकलाई तास्ना उकाल्न सके बसाइ लम्ब्याउन सकिन्छ ।”

    गुर्जाबाट एक घण्टा पैदलयात्रा गरेपछि तास्नाधुरी पुगिन्छ । गुुर्जा गाउँको शिरमा भिरालो पाखोमा तास्नाधुरी अवस्थित छ । तास्नावरपरको पाखामा वसन्तयाममा गुराँस र बर्खामा बुकी फुलेर रङ्गिन्छ । तास्नाको बुकीपाटन घरपालुवा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्ने चरन खर्क हो । हालै गुुर्जा घुुमेर आउनुभएका बेनीका नारायण शर्माले हिमाल हेर्दै हाइकिङ गरेर तास्नाधुरी पुग्दा उकालो यात्राको थकान भुुलाएको अनुुभव सुनाए । डाँडामा बसेर पृष्ठभूमिमा हिमाललाई नजिकबाट नियाल्न पाउँदा मन प्रफुल्ल भएको उनले बताए । प्रकृतिसँग रमाउन तास्नाधुुरी उपयुक्त गन्तव्य भएको शर्माको अनुभव छ ।

    गुर्जामा पाहुनाको बसाइ लम्ब्याउन तास्नाधुरीलाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूूर्वाधार निर्माण थालिएको छ । वडाध्यक्ष झक छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट गुुर्जाको नाइलीबारीबाट तास्नाधुरी जोड्ने पदमार्ग निर्माण गरिएको बताए । बीस जना बेरोजगार युवायुवती परिचालन गरेर तीन किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ ।

    गोठला र स्थानीयवासीले घाँस, दाउरा गर्न तास्नाधुरी जावतजावत गर्न प्रयोग गरेको परम्परागत बाटोलाई स्तरोन्नति गरेर पदमार्ग बनाइएको हो । माटो काट्ने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पदमार्ग बनेपछि भिर र पाखोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने तथा बाटो बिराउने समस्या हटेको छ, यात्रा सुरक्षित भएको छ ।

    बिचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । गुर्जाबाट ढोरपाटन, गुर्जा, पुथा, चुरेन हिमालको आधार, डोल्पा र पूर्वीरुकुम जान सकिन्छ ।

  • मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

    मुग्लिन-नारायणगढ सडकमा ट्रक पल्टियो, यातायात एकतर्फी बन्द

    काठमाडौं , मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा पूर्णरुपमा बन्द भएको बाटो एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।

    कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी सूचारु हुन अझै केहीबेर लाग्ने छ ।

  • पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

    पूर्वी कङ्गोमा भीषण बाढी, कम्तिमा १०० को मृत्यु

    २८ वैशाख, काठमाडौं । (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार एएफपीलाई जानकारी दिएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए ।

    मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका उनले बताए । “मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन्”, उनले भने, “विपत्का कारण एक सयभन्दा बढीको मृत्यु भएको, २८ जना घाइते भएका र करिब १५० घर भत्किएका छन् ।”

    क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताए। अर्का एक स्थानीय बासिन्दाले एएफपीलाई बताएअनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ । टाङ्गानिका तालको छेउमा रहेको र तालबाट मात्र पुग्न सकिने उक्त गाउँमा इन्टरनेट सेवा नभएको एक स्थानीय मानवीय सहायताकर्मीले एएफपीलाई बताए ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु भएको थियो ।

  • चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

    चितवनको कान्दामा दुई घण्टा बोकेर पुर्याइयो हाते ट्रयाक्टर

    २८ वैशाख, भरतपुर । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलोपटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए । उनले भने, “युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो ।”

    राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्याएका हुन् । हाते ट्रयाक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए । यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।

    त्यसपश्चात यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् । जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरको छ ।

    स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताए । उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् । यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ ।

    त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ । हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए । उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए । “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ ।”

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रुपान्तरण ल्याउन सकिने बताए । कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्याउनका लागि सहजीकरण गर्नुभएको थियो । उहाँले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए ।

    “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उनले भने, यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।
    राससबाट