Category: समाचार

  • ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

    ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

    २१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् । राज्यमन्त्री खर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए ।

    उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

  • गभर्नर नियुक्तिमा ढिलाई, सिफारिस समिति सदस्यमा अधिकारी नियुक्त

    गभर्नर नियुक्तिमा ढिलाई, सिफारिस समिति सदस्यमा अधिकारी नियुक्त

    २१ वैशाख, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो । यससँगै गभर्नर नियुक्ति प्रक्रिया पनि लम्बिएको छ ।

    सरकारले राष्ट्र बैंकलाई लामो समय रिक्त राखेकोमा भने आलोचना हुँदै आएको छ । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सिफारिस समितिमा नियुक्तिबारे जानकारी गराएका हुन् । यसअघि अधिकारी गभर्नर थिए । उनको कार्यकाल सकिएसँगै गभर्नर पद खाली छ ।

  • प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

    प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

    २१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी भएका थिए ।

  • कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

    कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु

    २१ वैशाख, चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ । आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    कारको ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहीटोल बस्ने ६० वर्षीय बलिराम सहनी घाइते भएकामा स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

    यसैगरी, मोटरसाइकल पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाएको थियो । उहाँको पनि उपचारकै क्रममा मृत्यु भएको हो । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको र मृतकको शवपरीक्षण गरी आफन्तलाई बुझाइए प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

  • विकासमा वेथिति : घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्रे

    विकासमा वेथिति : घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्रे

    २१ वैशाख, गोरखा । गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८।३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ । एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले रु २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले जानकारी दिए । विसं २०८१ चैत मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको हो ।

    “ठेक्का सम्झौता भएपछि कोभिड–१९ का कारण केही ढिलाइ भएको थियो”, इन्जिनियर काप्रीले भने, “सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताए । हाल सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

    “यो ट्रयाक २०५४ सालतिरै खुलेको हो । तर हालसम्म पनि कालोपत्र हुन सकेको थिएन”, उनले भने, “सधैँ कच्ची सडकमै यात्रा गर्नुपर्ने चिन्ता थियो ।” सडक कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष गुरुङ बताए । उनी भन्छन्, “पहिला कच्ची सडक हुँदा यातायातको समस्या थियो । बर्खामा ठाउँठाउँमा पहिरो जाने, सडक हिलाम्य हुँदा सास्ती थियो । सडक कालोपत्र भएपछि बर्खाको समयमा समेत सहजै यातायात सञ्चालन हुने छ ।” बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र समेत जोड्ने उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएपछि पालिकावासीलाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुने छ ।

  • वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

    वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

    २१ वैशाख, भक्तपुर । गत रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ ।

    सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।

    गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्रगतिमा काम हुन नसक्दा समस्या आएको छ ।

  • कक्षा १२ को परीक्षा सुरु, जापानमा एक परीक्षा केन्द्र

    कक्षा १२ को परीक्षा सुरु, जापानमा एक परीक्षा केन्द्र

    २१ वैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा हुने कक्षा १२ को परीक्षा देशभर एक साथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । उनले निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

    सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए । यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

    परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

    परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

    परीक्षाको मर्यादाविपरीत शिक्षक–कर्मचारी–निरीक्षक–परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च÷अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ ।

    परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।

  • आजको मौसम : देशका विभिन्न भेगमा वर्षा

    आजको मौसम : देशका विभिन्न भेगमा वर्षा

    २१ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    वर्षाका कारण नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    २१ वैशाख, नवलपुर । गत रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

    उनले गत रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।

    त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

  • सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति

    सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति

    २० वैशाख, काठमाडौं । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

    सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकले गत माघ २५ गते गरेको निर्णयबमोजिम निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा, स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवालालाई निकायलाई निर्देशन दिने, आवासीय चिकित्सकको बिदा, ड्युटी समय, अतिरिक्त सुविधालगायत विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।

    यस्तै, चिकित्सा शिक्षा आयोगको १८औँ बैठकको निर्णयबमोजिम आयोगले सबै विद्यार्थीको एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउनेगरी व्यवस्था मिलाउन मन्त्रालयले समन्वय गर्ने र चिकित्सकहरू नियमित कार्यमा फर्कने सहमति भएको छ । छलफलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।

  • नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    २० वैशाख, काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले बताए ।


    काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

    उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ ।”

  • अस्ट्रेलियामा आज निर्वाचन, महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा

    अस्ट्रेलियामा आज निर्वाचन, महँगी र अमेरिकी कर नीति प्रभाव चर्चामा

    २० वैशाख, सिड्नी । जीवनयापनको खर्च, जलवायुको चिन्ता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धि एजेन्डा बनेको आमनिर्वाचनमा शनिबार लाखौं अस्ट्रेलियाली नागरिकले मतदान गर्नेछन् । मतदाताहरूले वामपन्थी झुकाव भएका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र परम्परावादी प्रतिद्वन्द्वी पिटर डटनमध्ये एकलाई रोजिरहेका छन् । अल्बानीजको सत्तारुढ लेबर पार्टीले दोस्रो कार्यकालका लागि चुनाव जित्ने जनमत सर्वेक्षणहरूले देखाएका छन् । मतदानको पूर्वसन्ध्यामा प्रधानमन्त्री अल्बानीजले च्यानल सेभेनसँग भने, “पवित्र मतदान मतदाताले दिने एक प्रकारको अभिमत हो जसमा जीत दलहरूको आजको लक्ष्य हो ।”

    प्रधानमन्त्री अल्वानीजले भने, “यदि म अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएँ भने आगामी तीन वर्षमा मैले अष्ट्रेलियाका लागि गर्न सकिने विकासको नेतृत्व लिनेछु । सबै क्षत्रका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिनेछ ।” सर्वेक्षणमा केही प्रतिशत अङ्कले पछि परे पनि डटनले ‘शान्त अस्ट्रेलियालीहरू’ले अझै पनि आश्चर्यचकित पार्न सक्ने बताउनुभएको छ । उनले च्यानल नाइनसँग भने,“मलाई लाग्छ कि उनीहरू मतदान केन्द्रमा गएर भन्नेछन्ः ‘तपाईंलाई के थाहा छरु म एन्थोनी अल्बानीजलाई विगत तीन वर्षका कामका लागि मन पराएको छैन ।”

    आफू पराजित भए विपक्षी नेता नै रहने कि नरहने भन्ने प्रश्नमा डट्टनले आफू जितको कुरा मात्र गरिरहेको बताए । उनले भने, “म ५४ वर्षको भएँ । म अझै पनि धेरै जवान छु र म यो देशको विकासका लागि एक ज्वलन्त उदाहरण बन्नेछु ।” पहिलो मतदान अस्ट्रेलियाको पूर्वी तटमा स्थानीय समयअनुसार बिहान ८ ः०० बजे सुरु भएको थियो भने त्यसपछि देशका पश्चिमी शहर र दूरदराजका टापु क्षेत्रमा मतदान भएको थियो ।

    निर्वाचनका लागि एक करोड ८१ लाख मतदाताले नाम दर्ता गराएका छन् । तीमध्ये एक तिहाइभन्दा बढीले प्रारम्भिक मतदान गरेको निर्वाचन अधिकारीले बताएका छन् । २० अष्ट्रेलियन डलर (१३ अमेरिकी डलर) जरिवाना लागू गरिएको मतदान गर्नु अस्ट्रेलियालीहरूका लागि अनिवार्य छ र यसले गर्दा शीर्ष ९० प्रतिशतभन्दा बढी मतदान हुने विश्वास गरिएको छ ।

    मतदान निकै प्रतिस्पर्धात्मक नभए शनिबार रातिसम्ममा नतिजा आउन सक्छ । ६२ वर्षीय अल्बानीजले नवीकरणीय ऊर्जालाई अङ्गीकार गर्ने, बिग्रँदो आवास सङ्कटको सामना गर्ने र खस्कँदो स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । लिबरल पार्टीका नेता तथा पूर्व प्रहरी अधिकारी डट्टन आप्रवासनमा कटौती गर्न, अपराधनियन्त्रण गर्न र आणविक शक्तिमाथि लामो समयदेखि लगाइएको प्रतिबन्ध हटाउन चाहन्छन् ।

    केही सर्वेक्षणहरूले डट्टन ट्रम्पको पक्षमा खुलेर देखिएका छन । उनले यस वर्ष विश्वव्यापी मञ्चमा विशेष ‘गुरुत्वाकर्षण’साथ उदाएका ‘ठूलो विचारक’ को रूपमा प्रशंसा गरेका छन् । ५९ वर्षीय मतदाता एलन ह्विटम्यानले शनिबार मतदान गर्नुअघि भने “मेरो मतलब, डोनाल्ड ट्रम्प चोट लागेको सर्पजत्तिकै आक्रामक देखिनुभएको छ र हामी सबैलाई यो थाहा छ र हामीले यसको वरिपरि सुटुक्क छिप्नुपर्छ ।”

  • थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या

    थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या

    २० वैशाख, बैंकक । दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    “एकजना पीडितको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी अधिकारी वाताना थुरारतलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । उनले आक्रमणकारी विद्रोही समूहसँग सम्बन्धित रहेको आशङ्का प्रहरीले गरेको वाताउनाले बताए । थाइल्याण्डको दक्षिणका नाराथिवत, पट्टानी र याला प्रान्तमा धार्मिक पृथकतावादीहरूले सन् २००४ पछि अहिलेसम्म सात हजार भन्दा बढी मानिसको हत्या गरेको जनाएका छन् । सन् २००४ मा, थाई सुरक्षा बलले टाक बाईको प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भिडमा गोली हान्दा सात जनाको मृत्यु भएको थियो ।

  • तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

    तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

    २० वैशाख, सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए ।

    “सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो । तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ । म्याद थपको लागि निवेदन पनि दिएको छैन”, उनले भने, “सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ ।”

    यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो । पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले निर्माण सम्झौता र कारबाही प्रक्रिया के हुने भन्नेबारेमा निर्देशनालयले कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए ।

    पुलको निर्माणको अन्तिम चरणमा रहेको बेला बाढीले क्षति पु¥याएपछि कम्पनीले क्षतिबापत बिमाबाट पाउनुपर्ने रु आठ करोड रकम नपाएपछि आफूहरू अदालत जानुपरेको निर्माण कम्पनीका ‘लुम्बिनी बिल्डर्स’ का ‘साइट इञ्चार्ज’ सुदीप थापाको भनाइ छ । उक्त रकम प्राप्त नगर्दा आर्थिक अभावले पुल निर्माणको बाँकी काम रोक्नुपरेको उनले जानकारी दिए ।


    विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ । ‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो । यसबिचमा अन्तिमपटकका लागि ०८२ असारसम्मको थपिएको म्याद पनि त्यत्तिकै गुज्रिएको छ ।

    स्थानीयले वर्षौंदेखि कमलामा काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ सास्ती भोग्नुपरेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यावदले बताउनुभयो । उहाँका अनुसार सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा रू एक सय तिरेर डङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । त्यस्तै आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुनेछ ।

    तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । सम्पन्न भई उद्घाटनको तयारी भइसकेको अवस्थामा कमला नदीमा आएको बाढीले भासिएको अलपत्र पुलको पुनः निर्माण कार्यमा ढिलाइ मात्र भएको छैन, पुल बन्नेनबन्ने अनिश्चित भएको छ ।

  • विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा

    विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा

    २० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मे ८ र नोभेम्बर ११ दुवैको नाम ‘विजय दिवस’ राख्ने इच्छा घोषणा गरेका छन् । “म मे ८ लाई दोस्रो विश्वयुद्धको विजय दिवस र नोभेम्बर ११ लाई पहिलो विश्वयुद्धको विजय दिवसका रूपमा पुनः नामकरण गर्दैछु”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । मे ८ मा युरोपेली सङ्घद्वारा र मे ९ मा पूर्व सोभियत देशहरूमा मनाइने विजय दिवसले जर्मनीको बिना शर्त आत्मसमर्पणको औपचारिक स्वीकृतिको वार्षिकोत्सवलाई चिह्नित गर्दछ ।

    हिरोसिमा र नागासाकीमा आणविक बम विस्फोटपछि सन् १९४५ सेप्टेम्बरको सुरुमा जापानले आत्मसमर्पण नगरेसम्म एसियामा युद्ध जारी रहेको थियो । यद्यपि संयुक्त राज्य अमेरिकामा केहीले यो अवसर मनाउँछन् । मे ८ सार्वजनिक बिदा होइन वा युरोपमा जस्तै व्यापक रूपमा मनाइँदैन । “हाम्रा धेरै सहयोगी र साथीहरूले मे ८ लाई विजय दिवसका रूपमा मनाउँदैछन्, तर हामीले दोस्रो विश्वयुद्धमा विजयी परिणाम ल्याउन अन्य कुनै पनि देशभन्दा धेरै गरेका छौँ”, ट्रम्पको पोस्टमा भनिएको छ ।

    नोभेम्बर ११ लाई मूल रूपमा पूर्व अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले पहिलो विश्वयुद्धमा सशस्त्र द्वन्द्वको अन्त्य गर्ने सन् १९१८ को युद्धविरामको वार्षिकोत्सव मनाउन ‘युद्धविराम दिवस’ (आर्मीस्टिस डे) नाम दिएका थिए । यो अब संयुक्त राज्य अमेरिकामा ‘भेटेरन्स डे’ का रूपमा मनाइने सार्वजनिक बिदा हो र यसले अमेरिकी सशस्त्र सेनामा सेवा गरेका अमेरिकीहरूलाई सम्मान गर्ने उद्देश्य राख्दछ ।

    “हामीले दुवै युद्धहरू जितेका थियौँ, शक्ति, बहादुरी, वा सैन्य प्रतिभाको सन्दर्भमा कोही पनि हाम्रो नजिक थिएन, तर हामीले कहिले पनि केही उत्सव मनाउँदैनौँ–त्यो किनभने हामीसँग अब नेताहरू छैनन्, जसले कसरी गर्ने भनेर जान्दछन् १” ट्रम्पले भने, “हामी फेरि आफ्नो विजयको उत्सव मनाउन थालिरहेका छौँ ।” दोस्रो विश्व युद्धमा सोभियत सङ्घ नाजी जर्मनीविरुद्ध बेलायत र संयुक्त राज्य अमेरिकासँग मित्र राष्ट्र थियो । सोभियत सङ्घमा रूस १५ गणराज्यमध्ये सबैभन्दा ठूलो थियो ।

    सोभियत सङ्घले युद्धमा सबैभन्दा धेरै हताहत भोगेको थियो । सोभियत सङ्घमा दुई करोडभन्दा बढी मारिएका थिए । ह्वाइट हाउसले अहिलेसम्म छुट्टीको नाम परिवर्तन गर्ने कुनै कार्यकारी आदेश वा घोषणा औपचारिक रूपमा जारी गरेको छैन । आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले बारम्बार अमेरिकी सार्वजनिक जीवनका केही भागको नाम परिवर्तन गर्न खोखेका छन् । चाहे त्यो राष्ट्रिय बिदा होस्– जस्तै ‘इन्डिजिनस पिपल्स डे’ लाई ‘कोलम्बस दिवस’ मा परिवर्तन गर्ने– वा भौगोलिक विशेषता, जस्तै ‘गल्फ अफ मेक्सिको’ लाई ‘गल्फ अफ अमेरिका’ का रूपमा पुनः नामकरण गर्ने ।

  • जापानको बेरोजगार दर २.५ प्रतिशत, सुधारको अवस्था

    जापानको बेरोजगार दर २.५ प्रतिशत, सुधारको अवस्था

    २० वैशाख, टोकियो । जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले घटेर २.५ प्रतिशतमा झरेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२५ को मार्चसम्ममा रोजगारीमा जोडिने व्यक्तिको सङ्ख्या तीन लाख ७० हजारले बढेर छ करोड ७९ लाख ३० हजार पुगेको छ । रोजगारीको गिरावट सन् १९५३ देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थाले यताकै उच्च हो भने बेरोजगारको सङ्ख्या ३० हजारले घटेर १७ लाख ५० हजारमा झरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

    मन्त्रालयका एक अधिकारीका अनुसार कामदारको अभाव कायमै रहेकाले वेरोजगार व्यक्तिले कामबाट निकालिएपछि तत्कमालै नयाँ दरबन्दी पाउन सम्भव भएको छ । मन्त्रालयका अनुसार मार्चमा मात्रै बेरोजगारी दर अघिल्लो महिनाको २.४ प्रतिशतबाट बढेर २.५ प्रतिशत पुगेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टाछुट्टै तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा जापानको औसत रोजगारी उपलब्धता अनुपात एक वर्ष अघिको तुलनामा ०.०४ बिन्दुले घटेर १.२५ मा झरेको छ, जसको अर्थ प्रत्येक १०० रोजगारी खोज्नेहरूका लागि १२५ रोजगारीका अवसर उपलब्ध थिए । मार्चमा रोजगार र आवेदकको अनुपात फेब्रुअरीको तुलनामा ०.०२ अङ्कले बढेर १.२६ पुगेको श्रम मन्त्रालयले जनाएको छ ।

  • अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने

    अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने

    २० वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ । ह्वाइट हाउसले चीनबाट संयुक्त राज्य अमेरिकामा ‘सेमीसिन्थेटिक ओपिओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न महत्वपूर्ण कदम भएको बताएको छ ।


    शुक्रबारदेखि व्यावसायिक रूपमा ढुवानी हुने सामानमा अब १४५ प्रतिशतको नयाँ कर लाग्नेछ, जुन चीनबाट आउने सामानमा लगाइएको करको हालको स्तर हो । अमेरिकी हुलाक सेवामार्फत पठाइने वस्तुहरूमा उनीहरूको मूल्यको १२० प्रतिशत वा १०० डलरको शुल्क लाग्नेछ, जुन अर्को महिना २०० डलरमा वृद्धि हुनेछ। न्यूनतम वस्तुसँग सम्बन्धित (डे मिनिमिस) छुटको उन्मूलनले अब कम मूल्यको आयातलाई पनि करको अधीनमा राख्नेछ,” अमेरिकी संस्था इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले ग्राहकहरूका लागि जारी हालैको सूचनामा लेखेका छन् ।


    विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धको यो पछिल्लो कदम हो । ह्वाइट हाउसले चीनबाट आउने अटोमोबाइल्स, स्टिल र आल्मुनियमलगायत विभिन्न क्षेत्रमा २५ प्रतिशत थप कर लगाएको छ । त्यसको जवाफमा बेइजिङले अमेरिकी आयातमा १२५ प्रतिशत कर लगाएको थियो ।
    मेक्सिको र क्यानडाबाहेक अन्य अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूले १० प्रतिशतको आधारभूत करको सामना गरिरहेका छन् । उनीहरूले हालको उत्तर अमेरिकाको स्वतन्त्र व्यापार सम्झौताले नसमेटेका सामानहरूमा उच्च २५ प्रतिशत करको सामना गर्नेर्छन्।

    यस कदमले चीनबाट सस्तो सामान ढुवानी गर्ने शेन र टेमुसहित धेरै ठूला फर्महरूको व्यापार मोडेलमा प्रहार गर्ने खतरा छ । यद्यपि, न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध प्राय चिनियाँ ई–कमर्स साइटहरूको शेयरमा शुक्रबार धेरै हदसम्म वृद्धि देखिएको थियो । सम्भवतः यसले बेइजिङ र वाशिङ्गटनबीचको व्यापार वार्ताको बारेमा आशावादलाई प्रतिबिम्बित गर्दछ । तथ्य यो पनि हो कि यी परिवर्तनहरूमध्ये धेरैको पहिले नै वित्तीय बजारमा मूल्य निर्धारण गरिएको थियो ।
    स्थानीय समयअनुसार १४ः४० मा टेमुको मालिक पिडिडी ३.७ प्रतिशतले बढेको थियो भने अलिबाबा ४.० प्रतिशतले बढेको थियो ।

    शेनले लण्डनको सार्वजनिक शेयर बजारमा सूचीकरण गर्ने लामो समयदेखिको योजनालाई स्थगित गरेको यसै साताको सुरुमा फाइनान्सियल टाइम्सले जानकारी गराएको थियो । ट्रम्पले पहिलो पटक फेब्रुअरीमा छूट रद्द गर्न आह्वान गर्नुभएको थियो तर यस कदमले व्यवस्थापकीय अवरोध उत्पन्न गरेपछि पछि हट्नुभएको थियो । त्यतिबेला बेइजिङले संयुक्त राज्य अमेरिकाले ‘व्यापार र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको र तिनीहरूलाई औजारको रूपमा प्रयोग गरेको’ आरोप लगाएको थियो।

  • अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

    अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

    २० वैशाख, काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली नागरिकको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए । नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्करुपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।

    स्वास्थ्य परीक्षणसँगै डा श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गर्नुभएको नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरुपमा सञ्चालन गरिएको थियो ।

    राजदूतावासले सेवा प्रवाहसँगै यूएइमा कार्यरत नेपालीलाई शारिरीक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएइले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।

    राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ ।

  • माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

    २० वैशाख, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरू भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत्गृह र पाइपलाइन जडान सकिएको आयोजनाको विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको बताए ।

    “२०८२ को वैशाख महिनासम्म परीक्षण उत्पादन सुरू गर्ने कार्यतालिका बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण अवरूद्ध भएपछि प्रभावित बनेको छ”, उनले भने, “सडकका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित विद्युत्गृहका उपकरण ढुवानी रोकिँदा जडान गर्न ढिलाइ भएको हो ।”

    सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण गर्न थालिएको छ । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ ।

    देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । रु तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवद्र्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ ।

  • सरकारको नीति : जलवायुसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइने

    सरकारको नीति : जलवायुसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइने

    १९ वैशाख, काठमाडौं । सरकारले जलवायुसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदको संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गरिने उल्लेख गरे ।

    “जलवायु परिवर्तनका कारण नेपालले भोग्न परेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न विसं २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरिनेछ । उक्त संवादमा व्यक्त धारणाहरूका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रम लागू गरिनेछ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

    सरकारले वनस्पति उद्यान व्यवस्थापन र जडीबुटी स्रोतको संरक्षण, विकास र उपयोग गर्नुका साथै नदीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा व्यापारमा तीन तहका सरकारबीच सहकार्य हुने कानुनी प्रबन्ध गर्ने र पूर्वाधार निर्माणमा सामग्री अभाव हुन नदिने गरी नदीजन्य स्रोत परिचालन गर्ने भएको छ । जलस्रोतको बहुपक्षीय उपयोग गर्दै विद्युत्को माग अधिक हुने समयका लागि आपूर्ति व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण र जलाशययुक्त आयोजनाको कार्यान्वयन गर्ने सरकारको योजना छ ।

    त्यसैगरी सरकारले देशभरिका नदी प्रणालीहरूको समुचित संरक्षण र संवर्द्धनका लागि कानुनी र संरचनागत व्यवस्था गरी एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणा अनुरूप नदी बेसिन गुरुयोजनाको कानुनी र संरचनागत प्रबन्ध गर्ने भएको छ । “जलवायु परिवर्तन र भूकम्पजन्य सङ्कटग्रस्त क्षेत्रमा जल उत्पन्न विपद् व्यवस्थापन र सिँचाइ प्रणालीको पुनःनिर्माण गरिनेछ, जल तथा मौसम केन्द्रको सञ्जाल विस्तार र स्तरोन्नति गरिनेछ, जलस्रोतको एकीकृत तथा बहुपक्षीय विकास गर्दै कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सेवा विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    सरकारले कृषकको सुविधालाई प्राथमिकता दिई सिँचाइ प्रणालीको पुनस्र्थापना गर्नुका साथै जल पुनर्भरण, ताल तलैया संरक्षण र जलाशय निर्माणमा जोड दिने र आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गर्ने भएको छ । “ऊर्जा विकास मार्गचित्र, २०८१” कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने सरकारको योजना छ ।

    सुक्खायाममा विद्युत् आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि उपयुक्त वित्तीय मोडेल अपनाउने र तीन तहका सरकारको सहकार्यमा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गर्ने सरकारको योजना छ ।

    निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारणलाइनको विस्तार गर्ने र विद्युत् प्रसारण संरचना निर्माण गर्न ट्रान्समिसन एवं ह्विलिङ चार्ज निर्धारणलगायत अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाउने सरकारको योजना छ । सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपुँजी परिचालन गर्नुका साथै त्यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गर्ने भएको छ ।

  • युवालाई आर्थिक र सामाजिक रुपान्तरणमा परिचालन गर्ने लक्ष्य

    युवालाई आर्थिक र सामाजिक रुपान्तरणमा परिचालन गर्ने लक्ष्य

    १९ वैशाख, काठमाडौं । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वाहकका रूपमा परिचालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवामा स्वयंसेवी र सदाचारी भावना विकास गर्ने उल्लेख गरे । राष्ट्रपति पौडेलले भने, “युवाको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घको सहकार्यमा स्पोट्र्स स्कुल कार्यक्रम सुरु गरिनेछ ।” विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

    रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने र खेलकुदलाई निजी क्षेत्रका संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिने सरकारको योजना छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने सरकारको योजना छ । सरकारले अन्तरराष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ ।

  • कृषि उत्पादन बढाउन जलस्रोत उपयोगको लक्ष्य

    कृषि उत्पादन बढाउन जलस्रोत उपयोगको लक्ष्य

    १९ वैशाख, काठमाडौं । सरकारले जलस्रोतको बहुपक्षीय उपयोगमार्फत कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्ने लक्ष्य निर्धारण गरेको छ । नदी पथान्तरण र जलाशययुक्त आयोजनाको कार्यान्वयनलाई जोड दिने भएको छ । हाल भेरी बबई डाइभर्सन आयोजना र सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यान्वयनको चरणमा छन् । यी दुवै आयोजना नदी पथान्तरणतर्फका ठूला र राष्ट्रिय गौरवका आयोजना हुन् ।

    सोही आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नदी पथान्तरणका आयोजनालाई विशेष प्राथमिकतामा राखिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त सदनमा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रममा जलाशययुक्त आयोजना कार्यान्वयन गर्ने लक्ष्य राखिएको बताए ।

    देशभरका नदी प्रणालीको समुचित संरक्षण र संवर्द्धनका लागि कानुनी र संरचनागत व्यवस्था गर्ने, एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणाअनुरुप नदी बेसिन गुरुयोजनाको कानुनी र संरचनागत प्रबन्ध गर्ने कार्यक्रम समेटिएको उनले उल्लेख गरे । जलवायु परिवर्तन र भूकम्पजन्य सङ्कटग्रस्त क्षेत्रमा जल उत्पन्न विपद् व्यवस्थापन र सिँचाइ प्रणालीको पुनःनिर्माण गर्ने विषयलाई महत्वका साथ नीति तथा कार्यक्रममा समेटिएको छ । जल तथा मौसम केन्द्रको सञ्जाल विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम पनि सरकारको आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    जलस्रोतको एकीकृत तथा बहुपक्षीय विकास गर्दै कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सेवा विस्तार गर्ने, किसानको सुविधालाई प्राथमिकतामा राखेर सिँचाइ प्रणालीको पुनःस्थापना गर्ने कार्यक्रमलाई पनि महत्त्व दिइएको छ । जलस्रोतको दिगो उपयोग, भूमिगत, जल पुनःभरण, तालतलैया संरक्षण र जलाशय निर्माणमा जोड दिइएको छ ।

  • निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने

    निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले विद्युत् प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको छ । आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारणलाइन निजी क्षेत्रलाई निर्माण गर्न दिन सकिने उल्लेख गरिएको छ । “निजी क्षेत्रको समेत सहभागितामा राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका प्रसारणलाइनहरूको विस्तार गरिनेछ ।

    विद्युत् प्रसारण संरचना निर्माण गर्न ‘ट्रान्समिसन’ एवं ‘ह्विलिङ’ चार्ज निर्धारणसहित अन्य आवश्यक नीतिगत र नियामकीय व्यवस्था मिलाइनेछ”, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच कायम गरिने जनाइएको छ । ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ कार्यान्वयन गर्न कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधार गर्ने, नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्नेलगायत विषयहरू सरकारको नीति तथा कार्यक्रममा परेका छन् ।

    सुख्खायाममा समेत विद्युत् आपूर्तिको मागलाई सम्बोधन गर्न र ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि उपयुक्त वित्तीय ढाँचा अपनाइने जनाइएको छ । “तीन तहका सरकारहरूको सहकार्यमा राष्ट्रिय ‘ग्रिड’ नपुगेका स्थानमा ‘अफग्रिड’ सौर्य तथा वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् आपूर्ति विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ । ‘

    जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत जलविद्युत् निर्माणका लागि स्वःपुँजी परिचालन गराइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्ता आयोजनामा वैदेशिक रोजगारीमा गएका नागरिकको विप्रेषण रकमसमेत परिचालन गर्न प्रयास गरिने उल्लेख छ । ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण कार्य योजना, २०८०’ अनुसार घरायसी, कृषि, औद्योगिक, व्यावसायिक, पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग प्रवर्द्धन गर्ने नीति सरकारको छ ।

  • कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

    कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले ‘इन्टर्न’लाई पनि ‘स्टार्टअप’मा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागू गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने उल्लेख गर्दै योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिने बताए ।

    उनले दक्ष जनशक्ति पलायन रोक्न विगतमा भए गरेका तर हाल रोकिएका श्रम प्रोत्साहनका अभ्यासलाई निरन्तरता दिइने बताए । राष्ट्रपति पौडेलले देशभित्रै उद्यमशीलता विकासगरी युवा रोजगारी सिर्जना गर्ने र आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने बताए । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने बताइएको छ ।

    स्वरोजगारी तथा ज्याला रोजगारी दुवैका माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने राष्ट्रपति पौडेलले बताए । उनले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नीति, कानुन तथा कार्यविधि संशोधन र तर्जुमा गरिने उल्लेख गरे । “राष्ट्रिय र अन्तरराष्ट्रिय श्रमबजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

    नीति तथा कार्यक्रममा सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेगरी कोषको भूमिका र दायरालाई विस्तार गरिने उल्लेख छ । कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लखे छ ।

  • सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

    सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उनले उल्लेख गरे ।

  • सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने

    सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारीका थोरै रकम भएका बचतकर्ताको रकम फिर्ता गर्न यस्तो नीति लिइएको उल्लेख छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    यस्तै, सहकारीको तथ्याङ्क व्यवस्थित गर्न सरकारले विद्युतीय सूचना प्रणाली स्थापना गर्ने उल्लेख गरिएको छ । सहकारीको यकिन तथ्याङ्क नहुँदा समस्या समाधानमा असहज भइरहेको थियो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि समस्याग्रस्त सहकारीमा रु पाँच लाखभन्दा थोरै बचत भएका पीडितलाई बचत फिर्ता गर्ने भनी उल्लेख गरिए पनि हालसम्म फिर्ता हुन नसकेको भनी सहकारीपीडितले आन्दोलन गरिरहेका छन् ।

  • सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गरिने

    सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गरिने

    १९ वैशाख, काठमाडौं । सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिने बताए ।

    “परियोजनाको वर्गीकरण गरी आगामी आवमा सम्पन्न हुने र यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समयतालिका निर्धारण गरिनेछ”, सम्बोधनका क्रममा उनले भने । राष्ट्रपति पौडेलले विकास निर्माणका क्रममा देखापरेका कमीकमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेरिने बताए ।

  • सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने

    सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने

    १९ वैशाख, काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त वैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले भने, “सार्वजनिक सेवा प्रसारण संस्थाको सवलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ ।” सरकारले हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गरी कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यावसायीकरण पनि गर्ने भएको छ ।

    सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “एक स्थानीय तह, एक स्मार्ट हुलाक अवधारणाको कार्यान्वयन गरिनेछ, सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रुपमा सञ्चालनमा ल्याइनेछ ।” डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै सरकारले सूचना प्रविधिका क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल ‘इकोसिस्टम’ निर्माण गर्ने सरकारको योजना छ । आर्टिफिसियल इन्टिलिजेन्टको विकास र प्रयोगका लागि संस्थागत र कानुन आधार तयार गरी सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने सरकारको योजना छ ।

  • नीति तथा कार्यक्रम : सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गर्ने लक्ष्य

    नीति तथा कार्यक्रम : सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गर्ने लक्ष्य

    १९ वैशाख, काठमाडौं । सरकारले सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने, “अनावश्यक सार्वजनिक संरचना खारेज गर्ने, गाभ्ने वा पुनर्संरचना गरिनेछ । चालु खर्च वाञ्छित सीमामा राखी, सार्वजनिक क्षेत्रको लगानीलाई निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा परिपूरक हुने गरी केन्द्रित गरिनेछ ।”

    सरकारले औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नेगरी कर प्रणालीमा संरचनात्मक रूपान्तरण गर्नाका साथै कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोगबाट करदातामैत्री राजस्व प्रणाली विकास गर्ने भएको छ ।

    नीति तथा कार्यक्रममा भनिएको छ, “वैदेशिक सहायतालाई विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिनेछ । वैदेशिक लगानीलाई उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिनेछ ।” राष्ट्रपति पौडेलले जलवायु वित्त कोषमा नेपालको पहुँच, नवीन प्रविधिको विकास, निजी क्षेत्रको लगानी तथा अर्थतन्त्रको उत्पादनशीलता अभिवृद्धि हुनेगरी सहायता परिचालन गरिने उल्लेख गरे । यस्तै, परियोजना लगानीको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोष स्थापना गरिने उल्लेख गरे ।


    सरकारले वित्त परिचालनसम्बन्धी विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गर्नाका साथै सोह्रौँ योजनाको रणनीतिअनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारीमुखी आर्थिक वृद्धि एवम् संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा कार्यान्वयन गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ जोड दिइने जनाइएको छ । सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको सङ्क्रमणलाई सहज तुल्याउने रणनीति पनि लागू गर्ने भनिएको छ ।

    “व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमयसम्बन्धी कानुन निर्माण गरिनेछ । नवीन वित्तीय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा निजी पुँजी आकर्षित गर्ने र धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने छ”, राष्ट्रपति पौडेलले उल्लेख गरे ।

    उनले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने पनि उल्लेख गरे । “दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ । बैङ्क तथा वित्तीय संस्थाको गैरबैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ । सूचना प्रविधि पूर्वाधार विस्तार गरी ‘डिजिटल’ अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ”, राष्ट्रपति पौडेलले भने ।

  • बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

    बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

    १९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।


    बेलायती राजाले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको दूतावासले जनाएको छ । दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गरे ।

    राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । त्यस अवसरमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।